निर्णय नं. १०६८२ - जबरजस्ती करणी र गर्भपतन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।४।१४
०७४-CR-०२०५
मुद्दा : जबरजस्ती करणी र गर्भपतन
पुनरावेदक / प्रतिवादी : जिल्ला बैतडी, दशरथचन्द नगरपालिका वडा नं.९ घर भई हाल कारागार कार्यालय बैतडीमा थुनामा रहेका गोपाल दत्त भट्टका छोरा दुर्गादत्त भट्ट
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम ‘प’ कुमारीको जाहेरीले नेपाल सरकार
महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ कृत्रिम र बनावटी देखिएको जस्ता अवस्थाहरूमा बाहेक सामान्यतः अदालतले पीडितको भनाइलाई प्रमाणको रूपमा लिनुपर्ने ।
(प्रकरण नं.७)
वारदातको प्रकृति तथा संवेदनशीलता, पीडितको सानो उमेर, शारीरिक र मानसिक अपरिपक्वता, शारीरिक र मानसिक अपाङ्गता, न्यून शैक्षिक चेतनास्तर, पारिवारिक तथा सामाजिक प्रतिष्ठामा आँच आउने डर, भौगोलिक विकटता, न्यून आर्थिक अवस्था, सांस्कृतिक परिवेशसमेतका कारण समाजमा कलंकित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्तताका साथै समाजले पुर्याउन सक्ने थप पीडाको डर (Fear of being more Victimized) र समाजमा पीडकको हैसियत जस्ता तत्त्वहरूले जबरजस्ती करणी जस्ता महिलाको अस्तित्वसँग जोडेर हेरिने अपराधमा ढिलो जाहेरी पर्न सक्ने अवस्थाको विद्यमानता रहन्छ । त्यसकारण न्यायकर्ताले यस्ता जघन्य अपराधको पीडित तथा पीडित रहेको समाजको पृष्ठभूमि र परिवेशलगायतका वास्तविकताहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने ।
(प्रकरण नं.११)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रजितभक्त प्रधानाङ्ग र श्री कृष्णप्रसाद सापकोटा
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायावधिक्ता श्री सोमकान्त भण्डारी
अवलम्बित नजिर :
ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९
ने.का.प.२०७४, अङ्क १२, नि.नं.९९१०
ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९६९
ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री ध्रुवकुमार शाह
बैतडी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल
माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ख) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
मिति २०७२।०८।०६ गते‚ ८ गते, ९ गते र १० गते गरी ४ पटक विद्यालयको छुट्टी भइसकेपश्चात् अन्दाजी ४ बजेको समयमा म अध्ययन गर्ने श्री शिव प्राथमिक विद्यालयका शिक्षक दुर्गादत्त भट्टले मेरो हात समाती कक्षा ४ को कोठामा लगी झाडी सफा गर्ने र दाउरा बनाउने बनास देखाई कसैसँग भन्यो भने काटी दिन्छु भनी डराई धम्काई जबरजस्ती करणी गरेको र सोही करणीका कारण म गर्भवती भएपश्चात् मलाई औषधी खुवाई मिति २०७२।१०।२० गते मेरो गर्भपतन भएको हुँदा निजलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ‘प’ कुमारीको मिति २०७२।१२।०७ को जाहेरी दरखास्त ।
जिल्ला बैतडी दशरथचन्द नगरपालिका, वडा नं. ९ स्थित श्री शिव प्राथमिक विद्यालयको पूर्वमा सामुदायिक वन जङ्गल, पश्चिममा भाटिपौडादेखि बरतोली जाने कच्ची सडक, उत्तरमा शंकर दत्त भट्टको घर पसल, दक्षिणमा भवानी दत्त भट्टको बाँझो जमिन खरफगालो यति ४ किल्लाभित्र श्री शिव प्राथमिक विद्यालयका तीनवटा भवनहरूमध्ये उत्तरतर्फको भवनको दक्षिणतर्फको कक्षा ४ को कोठामा मिति २०७२।०८।०६ गते‚ ८ गते‚ ९ गते र १० गते गरी ४ पटकसम्म विद्यालयको छुट्टी भइसकेपश्चात् श्री शिव प्राथमिक विद्यालयको शिक्षक वर्ष ४८ का दुर्गादत्त भट्टले ‘प’ कुमारीलाई धारिलो हतियार बनास देखाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको मिति २०७२।१२।०६ को घटनास्थल मुचुल्का ।
पीडित परिवर्तित नाम ‘प’ कुमारीको योनि तथा शरीरमा कुनै घाउ चोटपटक नभएको‚ निजको कन्याजाली (HYMEN) केही समयपहिला नै च्यातिएको‚ निजको रक्त समूह B Positive भएको‚ योनि तथा कपडामा मानव वीर्य नपाइएको, पिसाब जाँच गर्दा (UPT) Urine for Pregnancy Test – Positive देखिएको, पाठेघर ठुलो भएको, सुन्निएको र पाठेघरभित्र जमेको रगत देखिएको-केही समयअघि गर्भपतन भएजस्तो देखिएको भन्नेसमेत बेहोराको जिल्ला स्वास्थ्य कार्यालय बैतडीबाट मिति २०७२।१२।०७ मा प्राप्त भएको पीडित ‘प’ कुमारीको स्वास्थ्य परीक्षण रिपोर्ट ।
प्रतिवादी दुर्गादत्त भट्टको शरीरमा घाउचोट नभएको, लिङ्गमा सङ्घर्षका चिह्नहरू नदेखिएको, ढाडमा पुरानो चोट नदेखिएको र लिङ्ग कडा नहुने समस्या रहेको भन्ने बेहोराको प्रतिवादी दुर्गादत्त भट्टको मिति २०७२।१२।०७ को जिल्ला स्वास्थ्य कार्यालय बैतडीबाट भएको स्वास्थ्य परीक्षण रिपोर्ट ।
मैले पीडितलाई डराई धम्काई जबरजस्ती करणी गरेको होइन । मिति २०७२।११।३० मा जाहेरवालीको बुबा परिवर्तित नाम ‘फ’ बहादुर मैले अध्यापन गर्ने विद्यालयमा आई मेरी छोरी गर्भवती भएकी छ । निजलाई सोधपुछ गर्दा तपाइँले जबरजस्ती करणी गरेको र सोही कारणले गर्भवती भएकी रहेछ भनी भन्दा उक्त घटना सम्बन्धमा थाहा पाएको हुँ । निजलाई को कस्ले गर्भवती बनाएका हुन् मलाई थाहा छैन । जाहेरवाली विद्यालयमा चकचक गरी राख्ने कक्षा छोड्ने भएकीले मैले निजलाई हकार्ने गर्दथेँ । सोही रिसइबीका कारण मेरो नाममा जाहेरी दिएको हुनुपर्छ । वारदात मिति र समयमा विद्यालयमा नै
थिएँ । मैले कुनै पनि महिलालाई गर्भपतनको औषधी दिन पठाएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गादत्त भट्टले मिति २०७२।१२।१० मा अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला प्रहरी कार्यालय, बैतडीबाट मिति २०७२।१२।१० मा पीडितको शारीरिक तथा मानसिक अवस्था जाँच हुँदा शारीरिक अवस्था ठिक रहेको तर भर्खरै भनेका कुराहरू याद नहुने मानसिक अवस्था छ निज सुस्तमनस्थितिकी भएको पाइयो भन्ने खुल्न आएको ।
‘प’ कुमारीको Urine Analysis बाट निज गर्भवती नरहेको (Pregnancy Test- Negative) भन्ने बेहोराको मिति २०७२।१२।१० को जिल्ला अस्पताल कार्यालय बैतडीको Pathology Test Report ।
पीडित परिवर्तित नाम ‘प’ कुमारी शारीरिक रूपमा कमजोर र सुस्तमनस्थिति भएको अपाङ्गता भएको भन्नेसमेत बेहोराको निजका नामको जिल्ला प्रशासन कार्यालय बैतडीबाट मिति २०६५।१०।२२ मा जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि मिसिल संलग्न रहेको ।
पीडितको के कति हप्ताको गर्भपतन गरिएको हो थाहा हुन नसक्ने, गर्भपतन गरिएको हो भन्ने कुरा तत्कालीन समयको पाठेघरको भिडियो एक्सरे गरेर थाहा भएको, मानसिक अवस्थाको निम्ति मनोविशेषज्ञले जाँच गर्नुपर्ने, गर्भपतन गराएको ३/४ हप्तासम्म सामान्यतया गर्भ रहेको देखिन्छ तर गर्भपतन हुँदा B-hcg रसायन उत्पादन गर्ने Trophoblast cells केही मात्रामा पाठेघरमा बाँकी रहे पनि पछि केही हप्तासम्म Upt positive देखिन्छ भन्नेसमेत बेहोराको मिति २०७२।१२।१८ मा जिल्ला स्वास्थ्य कार्यालय, बैतडीबाट भएको स्वास्थ्य परीक्षण रिपोर्ट ।
प्रतिवादी दुर्गादत्त भट्ट र जाहेरवालीका बिचमा कुनै पनि पुरानो रिसइवी थिएन । पीडित परिवर्तित नाम ‘प’ कुमारी सुस्तमनस्थितिकी थिइन् । वारदात मिति र समयमा प्रतिवादी दुर्गादत्त भट्टले विद्यालयको कक्षा ४ को कोठाभित्र पीडित जाहेरवालीलाई डराई धम्काई जबरजस्ती करणी गरी गर्भवती तुल्याएको र एउटा अपरिचित महिलाले पीडितलाई गर्भपतन गराउने औषधी दिएपछि पीडितको गर्भपतन भएको हो भन्ने कुरा जाहेरवालीबाट समेत सुनी थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको धाना महराले गरेको घटना विवरण कागज ।
पीडित परिवर्तित नाम ‘प’ कुमारी सुस्तमनस्थितिकी थिइन् । वारदात मिति र समयमा प्रतिवादी दुर्गादत्त भट्टले कक्षाकोठाभित्र पीडित जाहेरवालीलाई डराई धम्काई जबरजस्ती करणी गरी गर्भवती तुल्याएको र एउटा अपरिचित महिलाले पीडितलाई गर्भपतन गराउने औषधी दिएपछि पीडितको गर्भपतन भएको हो भन्ने कुरा जाहेरवालीसमेतबाट सुनी थाहा पाएकी हुँ । निज गर्भपतन गराउने महिला को थिइन् मलाई थाहा छैन भन्नेसमेत बेहोराको जानकी देवी महराले गरेको घटना विवरण कागज ।
पीडित र म दुवैजना विद्यालय जाँदा र घर फर्कने क्रममा सँगै आउने जाने गर्दथ्यौं । मिति २०७२।०८।०६ गतेको १६ बजेको समयमा विद्यालयको छुट्टी भएपश्चात् पीडित र म घर फर्कने क्रममा म अलि अगाडि पुगिसक्दासमेत पीडित सँगसँगै नआएको देखी पछाडि फर्की हेर्दा निज पीडित सोही विद्यालयको धारामा हातखुट्टा धोइरहेको अवस्थामा देखेकी थिएँ । सोही समयमा प्रतिवादी दुर्गादत्त भट्ट आई पीडितको हात समाती तानी विद्यालयको कोठातर्फ लगिरहेको देखेकी हुँ । निज प्रतिवादीले विद्यालयको बगैंचाबाट बनास (ठुलो हँसिया) समेत समातेको
थियो । निज प्रतिवादीले पीडितलाई विद्यालयको कक्षा ४ को कक्षाकोठाभित्र लगेपश्चात् म विद्यालयभन्दा अन्दाजी ५०/६० मिटरको दूरीमा रहेको बाटोमा पीडितलाई पर्खी बसेकी थिएँ । निज पीडित आधा घण्टापछि विद्यालयको कोठाबाट म भएको ठाउँमा आउँदा निजको मुख रातो र निजले लगाएका लुगाहरूमा धुलोमाटो लागेको थियो । मैले निजलाई किन ढिला आएकी भनी सोध्दा निजले प्रतिवादी दुर्गादत्त भट्टले जबरजस्ती करणी गरेको कुरा बताएकी हुन् । उक्त दिनभन्दा पछि पनि निज पीडित विद्यालयबाट ढिला गरी घरमा आउने गर्दथिन् । पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरी गर्भवती तुल्याएकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको ‘ब’ कुमारीले गरेको घटना विवरण कागज ।
प्रतिवादी दुर्गादत्त भट्टले जाहेरवालीको हात समाती कक्षाकोठाभित्र लगेर जबरजस्ती करणी गरेको र तत्पश्चात् ८, ९ र १० गते पनि सोही कोठामा जबरजस्ती करणी गरी गर्भवती तुल्याएको र पछि एउटा महिलाले निज पीडितलाई गर्भपतन गराउने औषधी दिएर निजको गर्भपतन गराएको हो भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको चन्द्री महरसमेतका ३ जनाले गरेको करिब एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी दुर्गादत्त भट्टले पीडितलाई जबरजस्ती करणी गरे नगरेको र वारदात मितिमा पीडित विद्यालयमा हाजिर छन् छैनन् मलाई थाहा छैन । पीडितका बुवा चैत्र महिनामा विद्यालयमा आएर आफ्नी छोरी गर्भवती भएको र उक्त गर्भ प्रतिवादीको हो भनी सुनेको हुँ भन्नेसमेत बेहोराको खडक सिंह बोहराले गरेको घटना विवरण कागज ।
वारदात मिति र समयमा म श्री शिव प्राथमिक विद्यालय डुङराको चौकीदार भएकाले विद्यालयको समय तालिकाअनुसार १५:३० बजेको समयमा छुट्टी हुने भएकाले छुट्टी भएपश्चात् विद्यालयको बाहिर रहेका कुर्सीलगायत सामानहरू भित्र राखी घरतर्फ गएको थिएँ । पीडितका बुबा चैत्र महिनामा विद्यालयमा आएर आफ्नी छोरी गर्भवती भएको र उक्त गर्भ मेरो हो भनी भन्दैछ भनी प्रतिवादीले भनेपछि घटनाको बारेमा थाहा पाएको हो भन्नेसमेत बेहोराको केशव दत्त भट्टले गरेको घटना विवरण कागज ।
प्रतिवादी दुर्गादत्त भट्टले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. तथा ज्यानसम्बन्धी महलको २८ नं. को कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(३) नं. तथा ज्यानसम्बन्धी महलको २८ नं. बमोजिम सजाय गरी जबरजस्ती करणीको महलको ३क. बमोजिम थप सजाय हुनका साथै पीडितलाई सोही महलको १० र १०ग. बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
पीडित सुस्तमनस्थितिकी भएकीले निजलाई भर्ना गर्नु हुन्न भनी मैले भनेकाले पीडितका बुबा र मेरो पहिला वादविवाद भएको थियो । ‘प’ कुमारी विद्यालयमा आई अस्वाभाविक व्यवहार गरिराख्ने हुँदा निजलाई शिक्षकको नाताले सम्झाउँदा रोई कराई गरी घरतर्फ जाने र मैले सम्झाउँदा उल्टै निजको बुबा मसँग छोरीलाई किन हप्काउनु हुन्छ भनी विवाद गर्न आउने गर्दथेँ । ‘प’ कुमारीले को कससँग कहिले करणी गराएको र गर्भपतन गराएको रहेछ थाहा छैन । ‘प’ कुमारीको बुबा आमाले मलाई अनाहकमा आरोप लगाएको हो । जाहेरी बेहोरा झुठ्ठा हो । परिवर्तित नाम ‘ब’ कुमारी वारदात भनिएको मितिभन्दा १ महिना पहिलेदेखि विद्यालयमा हाजिर छैन दिल्ली गइसकेकी थिइन् । मैले अभियोग दाबीअनुसारको कसुर नगरेकाले अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गादत्त भट्टले सुरू अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणहरूका आधारमा प्रतिवादी दुर्गादत्त भट्टलाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय दफा (२) अनुसार पुर्पक्षका लागि थुनामा राख्नु भन्ने सुरू बैतडी जिल्ला अदालतको मिति २०७२।१२।२८ को थुनछेक आदेश ।
वारदात मिति २०७२ मङ्सिर ६, ८, ९ र १० गते विद्यालय बन्द भएपछि प्रतिवादी दुर्गादत्त भट्ट र अन्य शिक्षक सँगसँगै घर गएका हुन् । म विद्यालय बन्द गरी ४ बजेपछि घरतर्फ गएको हुँ । प्रतिवादी दुर्गादत्त भट्टले जबरजस्ती करणी गरेको होइन । झुठ्ठा मुद्दा हाल्न लगाएका हुन् । गर्भ दुर्गादत्त भट्टको
होइन । ४, ५ जनासँग निज ‘प’ कुमारीको करणी चलखेल चलिरहने कुरा सुनेको थिएँ । निजहरूलाई बचाउन प्रतिवादी दुर्गादत्तमाथि झुठ्ठा आरोप लगाएको हो भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी केशव दत्त भट्टले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मलाई कक्षा ४ को कोठामा बनास देखाई दुर्गादत्त भट्टले लगेका हुन् । कोठाभित्र लगेपछि भुइँमा बेन्च मिलाएर सुताएर करणी गरेको हो । मेरो पेटमा गर्भ दुर्गादत्त भट्टले राखेको हो । मलाई मम्मीले कस्को गर्भ हो भनी ४ थप्पड हान्यो । मैले जंगलमा बाख्रा चराउन लगे, जंगलमा १ जना आइमाईले मलाई औषधी
दियो । सो औषधी मैले ३ दिन सेवन गरेँ र मेरो गर्भपतन भयो । आइमाईलाई म चिन्दिन । गर्भ ढाई महिनाको हो । मेरो गर्भपतन गराउने प्रतिवादी दुर्गादत्त भट्ट हो । जिल्ला प्रहरी कार्यालय बैतडीमा दिएको जाहेरी ठिक छ, सहीछाप मेरै हो । म जन्मेदेखि सुस्तमनस्थितिकी हुँ भन्नेसमेत बेहोराको पीडित जाहेरवाली ‘प’ कुमारीले सुरू अदालतसमक्ष मिति २०७३।०१।१४ मा गरेको बकपत्र ।
पीडित ‘प’ कुमारीलाई जबरजस्ती करणी गरी गर्भ बोकाउने प्रतिवादी दुर्गादत्त भट्ट हुन् । स्कुलमा कोठाभित्रबाट पीडित बाहिर आएपछि पीडितले कसैलाई नभन्नु भनेको हो । पीडित ‘प’ कुमारीलाई प्रतिवादी दुर्गादत्त भट्टले हात समाती बाहिरबाट लगेको हो । ‘प’ कुमारी भित्रबाट आएपछि मैले सोध्दा तपाईलाई प्रतिवादीले किनभित्र लगेको भन्दा मलाई दुर्गादत्त भट्टले यसरी नै लग्छ, ३/४ दिन भइहाल्यो लगेपछि मलाई करणी गर्छ भनी भनेकी हुन् । पीडितले मलाई कसैलाई नभन्नु सरले मलाई कसैसँग नभन्नु भनी डराएको छ भनी भनेकी थिइन् । पीडित कोठाबाट बाहिर आउँदा कपालका रौं खुला थिए । मुख अनुहार डराएको थियो । गालामा हानेको जस्तो रातो थियो । शरीरमा लगाएको ड्रेस अलि अलि च्यातिएका थिए । मैले २०७२।०८।१० गतेका दिन करणी गरेको आफ्नै आँखाले देखेको हुँ । भित्र कोठाबाट बाहिर आउँदा पीडित अगाडि आएका थिए । सर अलि पछाडि आएका थिए । पीडितलाई कोठाभित्र लाने बेला प्रतिवादी दुर्गादत्त भट्टको हातमा हँसिया समातेको थियो । घटना घटेको दिनदेखि लगातार स्कुलमा पढ्न गएकी छु । एकदिन गएकी छैन, कुन दिन हो थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने ‘ब’ कुमारीले सुरू अदालतसमक्ष मिति २०७३।०१।१५ मा गरेको बकपत्र ।
विद्यालयमा जबरजस्ती करणी गर्ने वातावरण नै छैन । जाहेरी झुट्टा हो । प्रतिवादीले जाहेरवाली ‘प’ कुमारीको गर्भपतन गराउन औषधी दिएको
होइन । जाहेरवाली ‘प’ कुमारीलाई गाउँका ३, ४ जना व्यक्तिहरूले यौन सम्पर्क राखेको कुरा सुनेकी हुँ । जाहेरवाली ‘प’ कुमारी र निजका आमा, बाबु, दिदीले उक्त स्कुलमा २०७२ साल फागुन ३० गते विद्यालयमा आएर हत्या गरिएको गर्भ दुर्गादत्त भट्ट सरको हो । वहाँले स्कुलभित्रै कक्षा ४ को कोठामा आफ्नी छोरीसँग जबरजस्ती करणी गरी गर्भ लगाएको कुरा उल्लेख गरेका हुन् । जाहेरवालीलाई मैले कक्षाको कोठासम्म लगी सोध्दासमेत उसले मलाई केही थाहा छैन भनेकी हुन् भन्ने बेहोराको प्रतिवादीका साक्षी मन्जु भट्टले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
उक्त वारदात मितिमा प्रतिवादीले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन । अपरिचित महिलाको साथमा औषधी पठाई गर्भपतन गराएकोसमेत होइन । प्रतिवादीको सिधापन पैसाको लालचसमेतबाट उजुरी दिएको हुन सक्छ । ५ महिनाको गर्भपतन गराएको भन्ने सर मेडमहरूबाट सुनी थाहा पाएको हुँ । गर्भ कस्को हो थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सुना थापाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
पीडित ‘प’ कुमारीलाई प्रतिवादी दुर्गादत्त भट्टले विद्यालयमा करणी गरी गर्भ बोकाई महिलाले सेवन गर्न दिएको औषधीको सेवनबाट गर्भपतन भएको हो भनी पीडितले भन्दा सुनी थाहा पाएकी हुँ । गर्भ दुई ढाई महिनाको हो भनी भन्दथी । प्रतिवादी दुर्गादत्त भट्टले स्कुलको कक्षा ४ को कोठामा ३, ४ दिन करणी गरेको हो भनी जाहेरवालीले सो कुरा मलाई २ महिना पहिले भनेको हो । घटना विवरण कागजको बेहोरा ठिक छ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने जानकीदेवी महरले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
पीडित परिवर्तित नाम ‘प’ कुमारीलाई प्रतिवादी दुर्गादत्त भट्टले विद्यालयमा करणी गरी गर्भ रहेको र पछि गर्भपतन गराएको हो । करणी ३/४ दिन गरेको हो भनी पीडितले भन्दा थाहा पाएकी हुँ । एकजना अपरिचित महिलाले औषधी दिएको हो, सो औषधी सेवन गरी गर्भपतन भएको भनी पीडितले भन्दा थाहा पाएको हुँ । प्रतिवादी दुर्गादत्त भट्टले प्रहरीमा उजुर नगर गाउँमा नै मिलाउँ भन्दा तुरून्तै उजुर नगरेको हो । वारदात मितिको बारेमा मैले पीडितलाई सोध्दा पनि सोधिन र मलाई पीडितले बताउँदा पनि बताएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गीता महरले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
पीडित परिवर्तित नाम ‘प’ कुमारीलाई प्रतिवादी दुर्गादत्त भट्टले स्कुलमा करणी गरी गर्भ बोकाएको भन्ने कुरा गाउँमा हल्ला हुँदा सुनी थाहा पाएको हुँ । पीडितलाई प्रतिवादीले औषधी दिन लगाई पीडितको गर्भपतन गराएको भन्ने पीडित महिलाको मुखबाट सुनेकी हुँ । वस्तुस्थिति मुचुल्का कागज ठिक छ । पीडितले प्रतिवादीले जबरजस्ती करणी गरेको भनी मलाई मङ्सिर महिनामा भनेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काकी मानमती महरले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीले जबरजस्ती करणी गरी गर्भ बोकाएको भन्ने आरोप झुट्टा हो । साढे तीन बजे स्कुल बन्द हुन्छ । स्कुल र मेरो घर १५ मिनेटको दूरीमा छ । वारदात भनिएको मिति समयमा जाहेरीमा लेखेअनुसारको वारदात भएको छैन । २०७२ साल चैत्र मसान्तको दिनमा जाहेरवालीलाई निजको दिदीले साथै लगी स्कुलमा गई दुर्गादत्त भट्टलाई करणी गरेको दोषारोपण गर्दै २, ३ थप्पड हानेको मैले देखेको हुँ । ‘प’ कुमारीका गाउँका ५ जना केटाहरूले ‘प’ कुमारीलाई करणी गरी गर्भ बोकाएका हुन् भनी च्याउरे महरले भनेका थिए भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी पदमराज भट्टले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी दुर्गादत्त भट्टले ‘प’ कुमारीलाई जबरजस्ती करणी गरेको छ भन्ने कुरा गाउँमा हल्ला चल्दा मङ्सिरको महिनामा सुनेको हुँ । गर्भपतन को कस्ले गर्यो थाहा छैन । मिति २०७२।१२।२२ गते मैले गरेको कागज सुनाउँदा सुनिपाएँ सोमा भएको बेहोरा र सहीछाप मेरै हो सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका बिरूवा महरले गरेको बकपत्र ।
विद्यालयमा जबरजस्ती करणीको घटना हुन सम्भव छैन । गर्भपतन सम्बन्धमा गाउँघरमा हल्ला सुनी थाहा पाएको हुँ । २०७२ फागुन मसान्तका दिन जाहेरवाली निजका बाबु आमा दिदी हाम्रो स्कुलमा आई प्रतिवादीमाथि गर्भधारण गराएको दोषारोपण लगाएका हुन् । मेरो बुझाईअनुसार गाउँघरका मानिसहरूको केही प्रलोभन र पूर्वाग्रहका कारण दोष लगाएको हुन
सक्छ । गर्भपतनबारे मलाई थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने खडक सिंह बोहराले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
पीडितको शरीरमा जबरजस्ती करणीका कुनै लक्षणहरू देखिएन । कन्याजाली च्यातिएको अवस्थामा थियो । योनिमा कुनै घाउ थिएन । योनिको स्वाब जाँच गर्दा मृत कोषिकाहरू Pus cells, Epithelial cells र Rod, shaped Bacteria देखिएको थियो, जो सामान्य हो । मिति २०७२।१२।०६ मा पीडितको पिसाब जाँच गर्दा केही समयअगाडि गर्भवती रहेको देखिएको
थियो । मिति २०७२।१२।१८ मा पुनः जाँच गर्दा गर्भवती रहेको केही लक्षणहरू देखिएन । यो नदेखिएको कारण पाठेघरमा केही अवशेष बाँकी नभएको अवस्थामा देखिँदैन । पीडितको पहिलो चोटी चेक जाँच गर्दा उक्त लक्षणहरू देखिएका थिए । दोस्रो पटक जाँच गर्दा उक्त लक्षणहरू देखिएको थिएन । उपर्युक्त चेक जाँचका आधारबाट पीडितको गर्भ कहिले पतन भएको हो भन्न सकिँदैन । तर पीडितको केही समयअगाडि गर्भवती भई पतन भएको लक्षणहरू उक्त जाँच र भिडियो एक्सरेबाट देखिएको थियो । पतन भएको गर्भ के कति अवधिको थियो खुलाउन सकिँदैन । प्रतिवादीको चेकजाँच गर्दा निजको शरीरमा कुनै चोटपटकका लक्षणहरू थिएन निजको लिङ्गमा घर्षणका चिह्नहरू थिएनन् भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य जाँच गर्ने डा. विदुर भण्डारीले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
जाहेरवाला पीडित ‘प’ कुमारीको जाहेरी र बकपत्र, प्रत्यक्षदर्शी ‘ब’ कुमारीको अनुसन्धानमा भएको कागज र अदालतमा भएको बकपत्र, पीडितको गर्भ रही पतन भएको देखाउने स्वास्थ्य जाँच प्रतिवेदन तथा अदालतमा बकपत्र गर्ने वादी पक्षका साक्षी जानकीदेवी महरसमेतका मानिसहरूको बकपत्रका आधारमा प्रतिवादी दुर्गादत्त भट्टले पीडित जाहेरवाली ‘प’ कुमारीलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. अनुसार जबरजस्ती करणी गरेको ठहरेकाले निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय (३) नं. अनुसार तजबिजी सजाय न्यूनतम ६ वर्ष र पीडित सुस्तमनस्थितिकी अपाङ्ग भन्ने मिसिल संलग्न अपाङ्गतासम्बन्धी प्रमाण पत्रबाट खुली आएकोले सोही महलको ३क नं. अनुसार थप ५ पाँच वर्ष कैद सजाय हुने ठहर्छ र पीडितले प्रतिवादीबाट रू.५०,०००।– (अक्षरूपी पचास हजार रूपैयाँ) क्षतिपूर्तिबापत भराइदिन पाउने ठहर्छ र गर्भपतनमा अभियोग दाबी पुग्न सक्दैन भन्ने सुरू बैतडी जिल्ला अदालतको मिति २०७३।०३।१२ को फैसला ।
बुझिएका विभिन्न साक्षी प्रमाणहरूबाट गाउँकै अन्य केटाहरूसँगको यौन सम्बन्ध खुलासा भएको
छ । अन्तर्विरोधी साक्षी प्रमाणहरूबाट पीडित भनिएकी जाहेरवालीमाथि विश्वास गर्न नसकिने निजको सुस्त अपाङ्गताको प्रमाणबाट सिद्ध भइरहेको स्थितिमा अनुसन्धान र अदालतमा समेत पूर्ण इन्कारी हुँदाहुँदै जीवन समाप्त पार्ने गरी निरपराध व्यक्तिलाई दण्डित गर्नु न्यायदर्शनका मान्य सिद्धान्तहरूका साथै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित मान्य कानूनी सिद्धान्त प्रतिकूल हुने भएकाले मेरा विरूद्धको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गादत्त भट्टले उच्च अदालत दिपायलमा दर्ता गराएको पुनरावेदन पत्र ।
पीडितले अदालतमा बकपत्र गर्दा आफ्नो गर्भपतन गराउनमा यी प्रतिवादीको संलग्नता रहेको भनी लेखाउनुका साथै वस्तुस्थिति मुचुल्काका मानमती महरले अदालतमा बकपत्र गर्दासमेत गर्भपतन गराउने औषधी पीडितलाई यी प्रतिवादीले नै दिन लगाएका हुन् भनी लेखाइदिएको तथा पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट समेत गर्भपतन गराएको देखिएको अवस्थासमेतबाट यी प्रतिवादी नै पीडितको गर्भपतन गराउन संलग्न देखिएको अवस्थामा औषधी दिने महिलाको भौतिक उपस्थिति नरहेको भनी गरेको सुरू फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत दिपायलमा दर्ता भएको पुनरावेदन पत्र ।
सुरू बैतडी जिल्ला अदालतबाट मिति २०७३।३।१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट मिति २०७३।०९।२७ मा भएको
फैसला ।
पीडित ‘प’ कुमारीको किटानी जाहेरीको भनाइलाई प्रमाणित गर्ने कुनै प्रत्यक्ष र अप्रत्यक्ष प्रमाणहरू मिसिल संलग्न रहेको छैन । सुस्तमनस्थितिकी नाबालिका पीडितले महिनौं महिनाअगाडि भएको भनिएको जबरजस्ती करणीको वारदातका सम्बन्धमा जाहेरी बेहोरामा उल्लेख गर्नुभएको बेहोरा आफैँमा विश्वसनीय नरहेको प्रस्ट हुँदाहुँदै निजको भनाइलाई मात्र आधार लिई शंका र अनुमानको भरमा मात्र भएको फैसला त्रुटिपूर्ण छ । प्रत्यक्षदर्शी भनिएकी ‘ब’ कुमारीले गरेको बकपत्र बेहोरा आफैँमा विरोधाभाष भई कपोलकल्पित रहेको छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र डा. को विवादास्पद एवं शंकास्पद भनाइलाई विश्वासिलो प्रमाणको रूपमा लिन नसकिने र नमिल्नेमा डा. को बकपत्रलाई मात्र आधार लिई आरोपित कसुरमा कसुरदार कायम गरी भएको फैसला त्रुटिपूर्ण छ । यसरी जाहेरवालीको जाहेरी दरखास्त, निजको बकपत्र, पीडितको विवादास्पद स्वास्थ्य परीक्षण प्रतिवेदनहरू र डा. को अस्पष्ट र विरोधाभाषपूर्ण बकपत्रबाहेक अन्य कुनै आधार प्रमाणहरूले पीडित ‘प’ कुमारीको जाहेरी बेहोरालाई पुष्टि गर्न नसकेको अवस्थामा कसुरदार साबित गरी भएको उच्च अदालत दिपायलको फैसला कानून र मान्य सिद्धान्तहरू विपरीत रहेको हुँदा उक्त फैसला उल्टी गरी पूर्ण रूपमा सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको यस अदालतमा दर्ता हुन आएको पुनरावेदनपत्र ।
यसमा वारदात भएको भनिएको मिति २०७२/०८/०६, ८, ९ र १० गतेको ४ महिनापछि अर्थात् मिति २०७२/१२/०७ मा पीडित परिवर्तित नाम ‘प’ कुमारीले जाहेरी दरखास्त दिएको, जाहेरी दरखास्त दिँदा कक्षाको समय सकिएपछि ४ बजेको समयमा २०७२ मङ्सिर ६, ८, ९ र १० गते जबरजस्ती करणी गरेको भनी उल्लेख गरेकोमा निजको हाजिरी पुस्तिका हेर्दा निज ६ गते र ९ गते स्कुलमा उपस्थित भएको देखिएको छैन भने प्रत्यक्षदर्शी भनिएका परिवर्तित नाम ‘ब कुमारी’ मंसिर महिनाभरि नै विद्यालयमा उपस्थित भएको हाजिर पुस्तिकाबाट नदेखिएको स्थितिमा निजको भनाइलाई नै शङ्कारहित प्रमाण मानी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट मिति २०७३/०९/२७ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७४।१२।२० मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो । प्रतिवादी दुर्गादत्त भट्टको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रजितभक्त प्रधानाङ्ग र श्री कृष्णप्रसाद सापकोटाले, प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन सकेको छैन । पीडितलाई जबरजस्ती करणी गरिएको भनिएको दिन पीडित र प्रत्यक्षदर्शी भनिएकी व्यक्ति विद्यालय नै आएको देखिँदैन । पीडितको गर्भपतन गरिएको भनिए तापनि कति समयको गर्भपतन गरिएको हो भन्ने कुरा स्पष्ट रूपमा खुलाउन सकेको अवस्था छैन । स्वास्थ्य परीक्षण प्रतिवेदन र चिकित्सकको बकपत्र शंकास्पद रहेको छ । यस अवस्थामा पीडितको गर्भपतन गरिएको थियो भन्दैमा प्रतिवादीले नै पीडितलाई जबरजस्ती करणी गरेको हो भन्ने अभियोग दाबी स्थापित हुन
सक्दैन । केबल शंका र अनुमानको आधारमा विरोधाभाषपूर्ण प्रमाणहरूलाई आधार मानी जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको कसुरमा प्रतिवादीलाई सजाय गरेको सुरू बैतडी जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला बदर गरी पुनरावेदक प्रतिवादीलाई सफाइ दिलाइपाउँ भन्नेसमेत बहस गर्नुभयो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले, प्रतिवादी दुर्गादत्त भट्टले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट स्थापित भएको
छ । पीडित बालिका रहेको र सुस्तमनस्थितिको समेत रहेको अवस्थामा त्यसको फाइदा उठाउँदै प्रतिवादीले करणी गरेको देखिन्छ । प्रतिवादीले नै करणी गरेको कारण पीडित गर्भवती भएकोमा गर्भपतन गराइएको हो । जुन कुरा जिल्ला स्वास्थ्य कार्यालय, बैतडीको प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्रबाट समेत स्पष्ट हुन्छ । प्रतिवादीउपर पीडितले जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाउनुपर्ने अरू कुनै कारण छैन । यस अवस्थामा प्रतिवादीलाई सजाय गर्ने गरी भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू बैतडी जिल्ला अदालतको फैसलालाई सदर गरी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट मिति २०७३।०९।२७ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादी दुर्गादत्त भट्टको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी दुर्गादत्त भट्टले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. तथा ज्यानसम्बन्धी महलको २८ नं. को कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(३) नं. तथा ज्यानसम्बन्धी महलको २८ नं. बमोजिम सजाय गरी जबरजस्ती करणीको महलको ३क. बमोजिम थप सजायका साथै पीडितलाई सोही महलको १० र १०ग. बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत अभियोग दाबी रहेकोमा सुरू बैतडी जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को कसुरमा, ३ नं. को देहाय (३) नं. बमोजिम ६ वर्ष तथा सोही महलको दफा ३क नं. बमोजिम थप ५ वर्ष कैद र पीडितले प्रतिवादीबाट रू. ५०,०००।- भराई पाउने तथा गर्भपतनमा अभियोग दाबी पुग्न नसक्ने ठहरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर प्रतिवादीको र गर्भपतनमा अभियोग दाबी पुग्न नसक्ने भनी भएको फैसलाको हकमा वादी नेपाल सरकारको पुनरावेदन परेकोमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट सुरू अदालतको फैसलालाई सदर गरेको देखियो । गर्भपतनको कसुरमा समेत सजाय गरिपाउँ भनी लिएको दाबीतर्फ कसुरदार नठहर्याई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको नदेखिँदा सो हदसम्मको अभियोग दाबीको सम्बन्धमा यस इजलासले विचार गरिरहनुपर्ने देखिएन । जिल्ला प्रशासन कार्यालय, बैतडीबाट मिति २०६५।१०।२२ मा जारी भएको पीडित ‘प’ कुमारीको अपाङ्गता परिचय पत्रको प्रतिलिपिबाट निजको जन्ममिति २०५७।०१।१२, अपाङ्गताको किसिमः सुस्तमनस्थिति “ख”, अपाङ्गताको अवस्थाः सुस्तमनस्थिति र कमजोर भएको भन्नेसमेत उल्लेख भएको देखिँदा निज पीडित १५ वर्ष ६ महिना १४ दिनकी सुस्तमनस्थिति भएकी बालिका रहेको तथ्य पुष्टि भएको छ । उक्त परिचय पत्रको सम्बन्धमा अन्यथा हो भनी प्रतिवादीले खण्डन गर्न सकेको पनि देखिँदैन । अतः पीडित ‘प’ कुमारीको उमेर र शारीरिक अवस्थाको बारेमा कुनै विवाद देखिएन ।
३. प्रतिवादी दुर्गादत्त भट्टको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, जाहेरवालीको जाहेरी दरखास्त तथा निजको बकपत्र, पीडितको विवादास्पद स्वास्थ्य परीक्षण प्रतिवेदनहरू र डा. को अस्पष्ट र विरोधाभाषपूर्ण बकपत्रबाहेक अन्य कुनै आधार प्रमाणहरूले पीडित ‘प’ कुमारीको जाहेरी बेहोरालाई पुष्टि गर्न नसकेको अवस्थामा कसुरदार साबित गरी भएको उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला बदर गरी पूर्ण रूपमा सफाइ दिलाइपाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको देखियो । सोतर्फ विचार गर्दा, जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि यौन समागम ( Sexual Intercourse) र सहमतिको अभाव (Lack of Consent) गरी दुई तत्त्वको आवश्यकता पर्नेमा प्रस्तुत मुद्दाको पीडित १५ वर्ष उमेरकी सुस्तमनस्थिति भएकी बालिका भएको देखिँदा प्रस्तुत मुद्दामा जबरजस्ती करणीको कसुर स्थापित गर्नको लागि करणी गर्दा सहमति थियो वा थिएन भन्नेतर्फ विचार गरिरहनुपर्ने देखिएन । केवल प्रतिवादीले पीडितलाई करणी गरेको हो वा होइन भन्ने प्रश्नको मात्र निरूपण गर्नुपर्ने देखिन्छ ।
४. प्रस्तुत मुद्दाको तथ्यगत अवस्थाको विश्लेषण गरी हेर्दा‚ मुद्दाको उठान स्वयं पीडित परिवर्तित नाम ‘प’ कुमारीको जाहेरी दरखास्तबाट भएको देखिन्छ । उक्त जाहेरी दरखास्तको बेहोराको अध्ययन गरी हेर्दा‚ मिति २०७२।०८।०६ गते‚ ८ गते‚ ९ गते र १० गते गरी ४ पटक विद्यालयको छुट्टी भइसकेपश्चात् अन्दाजी ४ बजेको समयमा दुर्गादत्त भट्टले मेरो हात समाती कक्षा ४ को कोठामा लगी झाडी सफा गर्ने र दाउरा बनाउने बनास देखाई कसैसँग भन्यो भने काटी दिन्छु भनी डराई धम्काई जबरजस्ती करणी गरेको र सोही करणीका कारण म गर्भवती भएपश्चात् मलाई औषधी खुवाई मिति २०७२।१०।२० गते मेरो गर्भपतन भएको हुँदा निजलाई कारबाही गरिपाउँ भनी उल्लेख गरेको देखिन्छ । साथै‚ निज पीडित जाहेरवालीले सुरू अदालतसमक्ष उपस्थित भई उक्त जाहेरी दरखास्त सनाखत गरी जाहेरी बेहोरालाई समर्थन गरी बकपत्रसमेत गरेको देखिन्छ ।
५. त्यसैगरी‚ अनुसन्धानको क्रममा घटना विवरण कागज गर्ने परिवर्तित नाम ‘ब’ कुमारीले पीडित र म दुवैजना विद्यालय जाँदा र घर फर्कने क्रममा सँगै आउने जाने गर्दथ्यौं । मिति २०७२।०८।०६ गतेको १६ बजेको समयमा विद्यालयको छुट्टी भएपश्चात् पीडित र म घर फर्कने क्रममा म अलि अगाडि पुगिसक्दासमेत पीडित सँगसँगै नआएकोले पछाडि फर्की हेर्दा निज पीडित सोही विद्यालयको धारामा हातखुट्टा धोइरहेको अवस्थामा देखेकी थिएँ । सोही समयमा प्रतिवादी दुर्गादत्त भट्ट आई पीडितको हात समाती तानी विद्यालयको कोठातर्फ लगिरहेको देखेकी हुँ । निज प्रतिवादीले विद्यालयको बगैँचाबाट बनास (ठुलो हँसिया) समेत समातेको थियो । निज पीडित आधा घण्टापछि विद्यालयको कोठाबाट म भएको ठाउँमा आउँदा निजको मुख रातो र निजले लगाएका लुगाहरूमा धुलोमाटो लागेको थियो । मैले निजलाई किन ढिला आएकी भनी सोध्दा निजले प्रतिवादी दुर्गादत्त भट्टले जबरजस्ती करणी गरेको कुरा बताएकी हुन् भनी घटनाको सम्बन्धमा खुलाएको देखिन्छ भने अदालतमा पनि सोही बेहोरा उल्लेख गर्दै मिति २०७२।०८।१० गतेका दिन प्रतिवादी दुर्गादत्त भट्टले ‘प’ कुमारीलाई जबरजस्ती करणी गरेको आफ्नै आँखाले देखेको हुँ भनी बकपत्र गरेको देखिन्छ ।
६. जिल्ला स्वास्थ्य कार्यालय‚ बैतडीबाट मिति २०७२।१२।०७ मा प्राप्त भएको पीडितको स्वास्थ्य परीक्षण रिपोर्टमा पीडितको योनि र शरीरमा कुनै घाउ चोट नभएको भए तापनि निजको कन्याजाली (HYMEN) केही समय पहिला नै च्यातिएको‚ पिसाब जाँच गर्दा (UPT) Urine for Pregnancy Test - Positive देखिएको, पाठेघर ठुलो भएको, सुन्निएको र पाठेघरभित्र जमेको रगत देखिएको-केही समयअघि गर्भपतन भए जस्तो देखिएको भन्नेसमेत उल्लेख भएको देखिन्छ । साथै, पीडितको स्वास्थ्य जाँच गर्ने डा. विदुर भण्डारीले पनि सुरू अदालतमा गरेको बकपत्रमा मिति २०७२।१२।०६ मा पीडितको पिसाब जाँच गर्दा केही समयअगाडि गर्भवती रहेको देखिएको थियो । मिति २०७२।१२।१८ मा पुनः जाँच गर्दा गर्भवती रहेको केही लक्षणहरू देखिएन । पाठेघरमा केही अवशेष बाँकी नभएको अवस्थामा देखिँदैन । उपर्युक्त चेक जाँचका आधारबाट पीडितको गर्भ कहिले पतन भएको हो भन्न सकिँदैन तर पीडितको केही समयअगाडि गर्भवती भई पतन भएको लक्षणहरू उक्त जाँच र भिडियो एक्सरेबाट देखिएको थियो भनी उल्लेख गरेको देखिन्छ ।
७. प्रमाण ऐन, २०३१ को दफा १०(१) ले “कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा देहाएका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः- (क) सो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्ष रूपमा देख्ने वा थाहा पाउने व्यक्ति, (ख) सो काम घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति” भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । साथै, ऐ. ऐनको दफा १८ ले “कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा प्रस्तुत मुद्दामा जबरजस्ती करणी कसुरको पीडित स्वयंले निजमाथि घटेको घटनाको सम्बन्धमा जाहेरी दिई उक्त जाहेरी बेहोरालाई समर्थन गरी अदालतमा समेत सनाखत बकपत्र गरेको देखिँदा उक्त प्रमाणलाई अन्यथा प्रमाणित नभएसम्म न्यायको रोहमा सर्वश्रेष्ठ र अकाट्य प्रमाणको रूपमा लिनुपर्ने देखिन्छ । जबरजस्ती करणी मुद्दामा पीडितको भनाइ र जाहेरीले सर्वाधिक महत्त्व राख्छ । महिलाको शरीर र अस्मिता विरूद्ध हुने यस प्रकारको जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ कृत्रिम र बनावटी देखिएको जस्ता अवस्थाहरूमा बाहेक सामान्यतः अदालतले पीडितको भनाइलाई प्रमाणको रूपमा लिनुपर्ने हुन्छ । हाम्रो न्यायिक अभ्यासलाई हेर्दा पनि जबरजस्ती करणीको मुद्दामा पीडितको भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा मान्यता दिँदै आएको
देखिन्छ । उदाहरणको लागिः “जबरजस्ती करणी मुद्दामा वारदातको प्रमाणको पहिलो कडी भनेको पीडित स्वयं हो भने दोस्रो कडी भनेको पीडितको शारीरिक परीक्षण हो ” (ने.का.प.२०६७, अङ्क ९, नि.नं. ८४६९, पृ. १६१०) । “जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकोले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन
सक्दैन । यस अवस्थामा अन्यथा प्रमाणित नहुँदासम्म पीडितको भनाइलाई नै सर्वमान्य प्रमाणको रूपमा लिनुपर्ने हुन्छ ” (ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००७, पृ. ८७४) “वारदातको देखी जान्ने मात्र होइन भोगी जान्ने साक्षी पीडित स्वयंले अदालतमा उपस्थित भई बकपत्र गरेको र सो बकपत्रले जाहेरी दरखास्तमा उल्लिखित व्यवस्थालाई समर्थन गरेकोले त्यसले प्रामाणिक मूल्य पाउने कुरालाई नकार्न नमिल्ने” (ने.का.प. २०७४, अङ्क १२, नि.नं.९९१०) भनी व्याख्या भएको देखिन्छ । उल्लिखित न्यायिक सिद्धान्तहरूको सन्दर्भमा समेत पीडित ‘प’ कुमारीले आफूलाई प्रतिवादी दुर्गादत्त भट्टले करणी गरी गर्भवती बनाएको भनी उल्लेख गरेको र निजको शारीरिक परीक्षणबाट समेत केही समयअगाडि गर्भपतन भएको देखिएको अवस्थामा पीडितको भनाइलाई अन्यथा मान्नुपर्ने अवस्था देखिएन ।
८. साथै, प्रस्तुत वारदातस्थल भनी देखाइएको श्री शिव प्राथमिक विद्यालयको भौतिक स्थिति र अवस्थितिको बारेमा पनि उल्लेख हुनु मनासिब देखिन्छ । मिति २०७२।१२।०६ को घटनास्थल मुचुल्काबाट जिल्ला बैतडी, दशरथचन्द नगरपालिका, वडा नं. ९ स्थित श्री शिव प्राथमिक विद्यालयको पूर्वमा सामुदायिक वन जंगल, पश्चिममा भाटिपौंडादेखि बरतोली जाने कच्ची सडक, उत्तरमा शंकर दत्त भट्टको घर पसल, दक्षिणमा भवानी दत्त भट्टको बाँझो जमिन खरफगालो यति ४ किल्लाभित्र श्री शिव प्राथमिक विद्यालयका तीनवटा भवनहरूमध्ये उत्तरतर्फको भवनको दक्षिणतर्फको कक्षा ४ को कोठामा विद्यालयको छुट्टी भइसकेपश्चात् सोही श्री शिव प्राथमिक विद्यालयको शिक्षक वर्ष ४८ का दुर्गादत्त भट्टले ‘प’ कुमारीलाई धारिलो हतियार बनास देखाई जबरजस्ती करणी गरेको भन्ने देखिन्छ । उक्त मुचुल्काको बेहोराबाट एकान्तस्थलमा अवस्थित रहेको विद्यालयमा वारदात भएको देखिन्छ । विद्यालयको कार्यालय समयपश्चात् अर्थात् छुट्टी भई सम्पूर्ण कर्मचारीहरूसमेत घर फर्किसकेपछि वारदात भएको देखिन्छ । विद्यालयको चौकीदारको रूपमा कार्यरत केशवदत्त भट्टको मौकाको कागजबाट समेत उक्त विद्यालय ३:३० को समयमा छुट्टी भएपछि सबै काम सकेर ४ बजेतिरको समयमा सबैभन्दा अन्तिममा आफू पनि घर जाने गरेको भन्नेसमेत खुल्न आएको छ । यसरी एकान्तस्थलमा अवस्थित रहेको विद्यालय छुट्टी भई सम्पूर्ण विद्यार्थी तथा कर्मचारीहरू आ-आफ्नो घर गइसकेपश्चात् सुस्तमनस्थिति भएकी बालिका पीडितलाई एक्लै धारामा देखी मौका छोपी प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने देखिन्छ । वारदातको भौतिक अवस्थितिबाट निज पीडितले हारगुहार गरेकोसमेत कसैले सुन्न नसक्ने भन्ने देखिन्छ भने पीडित र पीडकको उमेर तथा शारीरिक क्षमता र शिक्षक विद्यार्थीको सम्बन्धको संरचनासमेतलाई विचार गर्दा पीडितले प्रतिवाद गर्न नसक्ने अवस्थाको सिर्जना हुनु स्वाभाविक भई एक सुस्तमनस्थिति भएकी बालिका विद्यार्थी आफ्नै अभिभावकको रूपमा रहने शिक्षकबाटै जबरजस्ती करणीको शिकार हुन पुगेको देखिन्छ ।
९. प्रस्तुत मुद्दामा प्रतिवादी दुर्गादत्त भट्टले अनुसन्धान अधिकारी तथा अदालतमा गरेको बयानमा आफूले पीडितलाई जबरजस्ती करणी नगरेको भनी इन्कारी बयान गरेको भए तापनि मुद्दाको तथ्य र प्रमाणले प्रतिवादीको उक्त बयानलाई समर्थन गरेको देखिँदैन । प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा गरेको बयानमा जाहेरवाली विद्यालयमा चकचक गरी राख्ने, कक्षा छोड्ने भएकीले आफूले निजलाई हकार्ने गरेको कारण आफूउपर सोही कुरामा रिसइवी राखी जाहेरी दिएको भनी उल्लेख गरेको बेहोरा अपत्यारिलो छ । शिक्षकले गाली गर्यो भन्दैमा एउटा सुस्तमनस्थिति भएको बालिकाले जबरजस्ती करणी गरेको भनी अभियोग लगायो भनी विश्वास गर्न सकिँदैन । फेरी, प्रस्तुत मुद्दामा पीडित र प्रतिवादीबिचको सम्बन्ध असन्तुलित शक्ति संरचनामा आधारित रहेको छ । एकातर्फ, प्रतिवादी एक शिक्षित व्यक्ति भई गाउँको विद्यालयमा शिक्षकजस्तो जिम्मेवार पदमा कार्यरत व्यक्ति रहेको देखिन्छ भने अर्कोतर्फ पीडित सुस्तमनस्थिति भएकी बालिका रहेकी छन् । योनाङ्ग पूर्णरूपमा विकसित नभएकी, यौन समागमको लागि शारीरिक परिपक्वता नै भई नसकेकी बालिका पीडितले केवल रिसइवी साँध्नको लागि आफ्नै शिक्षकलाई जबरजस्ती करणी जस्तो गम्भीर अपराध गरेको आरोप लगाउँछ भनी अनुमान गर्नु पनि न्यायोचित देखिन आएन ।
१०. अब, सुस्तमनस्थितिकी बालिका पीडितले महिनौं महिनाअगाडि भएको भनिएको जबरजस्ती करणीको वारदातका सम्बन्धमा जाहेरी बेहोरामा उल्लेख गर्नुभएको बेहोरा आफैँमा विश्वसनीय नरहेको भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, साबिक मुलुकी ऐन, २०२० को जबरजस्ती करणीको महलको ११ नं. मा “जबरजस्ती करणीको कुरामा सो भए गरेको मितिले ६ महिनाभित्र नालिस नदिए लाग्न सक्तैन” भनी हदम्यादको व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०७२ मङ्सिर ६, ८, ९ र १० मा यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको देखिन्छ भने यी प्रतिवादीउपर मिति २०७२।१२।०७ मा जाहेरी दरखास्त परेको देखिन्छ । यसरी एकातर्फ, वारदात भएको मितिले ४ महिनापछि जाहेरी दरखास्त परेको भए तापनि कानूनले नै घटना भएको ६ महिनाभित्र नालिस दिनुपर्ने भन्ने उल्लेख गरेको अवस्थामा कानून निर्धारित हदम्यादभित्र नै प्रस्तुत मुद्दाको अभियोगपत्र दायर भएको देखिन्छ । अर्कोतर्फ, मुद्दाका सम्पूर्ण वस्तुनिष्ठ प्रमाणहरूबाट कसुर स्थापित भइरहेको अवस्थामा केवल पीडितले केही समय ढिलो गरी जाहेरी दिएको भन्ने मात्र आधारमा वास्तविक न्याय सम्पादनतर्फ न्यायालय उदासीन हुन कदापि मिल्दैन ।
११. कुनै पनि अपराधको सम्बन्धमा यथासम्भव समयमै जाहेरी दिँदा अपराधको अनुसन्धान तथा तहकिकात र प्रमाण सङ्कलनलगायत कार्यहरू छिटो सम्पन्न भई न्याय सम्पादनमा समेत शीघ्रता आउने कुरामा दुईमत छैन । यद्यपि वारदातको प्रकृति तथा संवेदनशीलता, पीडितको सानो उमेर, शारीरिक र मानसिक अपरिपक्वता, शारीरिक र मानसिक अपाङ्गता, न्यून शैक्षिक चेतनास्तर, पारिवारिक तथा सामाजिक प्रतिष्ठामा आँच आउने डर, भौगोलिक विकटता, न्यून आर्थिक अवस्था, सांस्कृतिक परिवेशसमेतका कारण समाजमा कलंकित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्तताका साथै समाजले पुर्याउन सक्ने थप पीडाको डर (Fear of being more Victimized) र समाजमा पीडकको हैसियत जस्ता तत्त्वहरूले जबरजस्ती करणी जस्ता महिलाको अस्तित्वसँग जोडेर हेरिने अपराधमा ढिलो जाहेरी पर्न सक्ने अवस्थाको विद्यमानता रहन्छ । त्यसकारण न्यायकर्ताले यस्ता जघन्य अपराधको पीडित तथा पीडित रहेको समाजको पृष्ठभूमि र परिवेशलगायतका वास्तविकताहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा पीडित आफ्नो हक अधिकारप्रति उदासीन भई वा लापरवाही गरी उजुरी नगरेको अवस्था नभई आफू सुस्तमनस्थिति भएकी, शारीरिक र मानसिक रूपमा परिपक्व भई नसकेकी, देशको विकट भूगोलमा बसोबास गर्दै आएकी न्यून आर्थिक पृष्ठभूमि भएकी नाबालिग भई आफूमाथि के-कस्तो अपराध भयो, त्यसको असर र प्रभाव के हुन्छ तथा त्यसको बारेमा कहाँ कसरी न्यायिक उपचार खोज्ने भन्ने जस्ता कुरा बुझ्न नै नसक्ने अवस्थामा भएको कारण जाहेरी दिन केही समय ढिला भएकोसम्म देखिन्छ । “जाहेरी ढिला गरी परेको कारण सम्बन्धमा विवेचना गर्दा पीडितको परिवेशतर्फ पनि विचार पुर्याउनुपर्ने
हुन्छ । अशिक्षा, अभाव, अज्ञानतासमेत रहेको समाजमा ढिलो गरी जाहेरी पर्दैमा सोही कारणले मात्र वारदात नै नभएको निष्कर्षमा पुग्दा अन्यायको पृष्ठपोषण गरेसरह हुन जाने” (ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९६९) भनी यसै अदालतबाट व्याख्या भएको सन्दर्भमा समेत वारदात भएको मितिबाट केही ढिला गरी जाहेरी पर्दैमा त्यसलाई अन्यथा मान्नुपर्ने अवस्था देखिँदैन ।
१२. फेरी, वारदातको समयमा पीडित र प्रत्यक्षदर्शी उपस्थित रहेको भन्ने हाजिर पुस्तिकाबाट नदेखिएको अवस्थामा वारदात पुष्टि नै हुन नसक्ने भनी प्रतिवादीतर्फबाट लिइएको पुनरावेदन तथा बहस जिकिरतर्फ विचार गर्नुपर्ने देखियो । सो सम्बन्धमा विचार गर्दा, निज पीडित र प्रत्यक्षदर्शी 'ब' कुमारीले आफूहरू नियमित स्कुल जाने गरेको भनी बकपत्र गरेका छन् भने वारदातको दिनहरूमा स्कुलमा अनुपस्थित रहेको भनी अनुसन्धानको क्रममा कागज गर्दा स्वयं प्रधानाध्यापक, चौकीदार तथा अरू बुझिएका मानिसहरू कसैले पनि स्पष्ट रूपमा खुलाउन सकेको देखिँदैन । निजहरूको हाजिरीको सम्बन्धमा अनुसन्धानको क्रममा कसैले प्रश्न उठाएको पनि देखिँदैन । पेस गरिएको भनिएको हाजिरी कपीसमेत मिति २०७२।१२।०७ मा जाहेरी र मिति २०७२।१२।२८ मा अभियोगपत्र दायर भएपछि मात्र मिति २०७३।०१।१४ मा अदालतको आदेशमार्फत सरकारी वकिलबाट पेस भएको
देखिन्छ । पेस भएको उक्त हाजिर कपीमा आधिकारिक अधिकारीले सहीछाप गरी प्रमाणित गरेको देखिँदैन भने विद्यालयको छापसमेत रहेको देखिँदैन । विद्यालयको शिक्षक नै प्रतिवादी भएको प्रस्तुत मुद्दामा विद्यालयको शिक्षककै प्रत्यक्ष नियन्त्रण र रेखदेखमा रहने उक्त हाजिर कपीमा रहेका धेरै तथ्यहरू स्वाभाविक
देखिँदैन । उदाहरणको लागि प्रत्यक्षदर्शी ‘ब’ कुमारीको माघ महिनामा १ रोल नं. राखिएको छ भने पुष महिनामा ९ रोल नं. राखी लेखिएको छ । हाजिर कपीमा केरमेट गरी सच्चाइएको पनि देखिन आएको छ । यसरी जुन हाजिर कपीको आधारमा पीडित र प्रत्यक्षदर्शी वारदात भएको दिन अनुपस्थित थिए भनी जिकिर लिइएको छ उक्त हाजिर कपीको आधिकारिकता नै शंकास्पद देखियो । जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा प्रमाणको रूपमा पेस भएको हाजिर कपी आधिकारिक र अकाट्य प्रमाणको रूपमा पेस हुन नसकी मिसिल संलग्न अन्य सम्पूर्ण प्रमाणहरूले प्रतिवादीउपरको आरोपित कसुर प्रमाणित गरिरहेको अवस्थामा उक्त हाजिर कपीको आधारमा मात्र वारदातको दिन पीडित र प्रत्यक्षदर्शी विद्यालयमा अनुपस्थित थिए भन्ने कुरा विश्वसनीय देखिन आएन ।
१३. साबिक मुलुकी ऐन, २०२० को जबरजस्ती करणीको महलको १ नं. ले, “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ ।” ऐ. महलको ३(३) नं. ले, “चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने छ ।” ऐ. महलको ३ क. नं. ले, “कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षण वा हेरविचारमा रहेका महिलालाई जबरजस्ती करणी गरेमा वा जुनसुकै उमेरका महिलाउपर सामूहिक रूपमा जबरजस्ती करणी गरेमा यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ ।” भन्ने कानूनी व्यवस्था रहेको देखियो ।
१४. तसर्थ, प्रस्तुत मुद्दामा पीडित ‘प’ कुमारी स्वयंले किटानी जाहेरी दिई अदालतसमक्ष जाहेरी बेहोरालाई समर्थन गरी गरेको बकपत्र, अनुसन्धानको क्रममा कागज गर्ने घटनाको प्रत्यक्षदर्शी व्यक्ति ‘ब’ कुमारीले मौकाको कागजलाई पुष्टि गरी गरेको बकपत्र, पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट र उक्त रिपोर्ट तयार पार्ने विशेषज्ञ डा. विदुर भण्डारीले अदालतसमक्ष गरेको बकपत्रलगायतका सम्पूर्ण वस्तुनिष्ठ र प्रत्यक्ष प्रमाणहरूबाट प्रतिवादी दुर्गादत्त भट्टले पीडित ‘प’ कुमारीलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित भयो । पीडित १५ वर्षकी नाबालक भई मानसिक अपाङ्गता सुस्तमनस्थिति भएकी भन्नेसमेत मिसिल संलग्न निजको अपाङ्गताको प्रमाणपत्रबाट पुष्टि भएको देखिँदा निज प्रतिवादीलाई उल्लिखित साबिक मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को कसुरमा सोही महलको ३ नं. को देहाय (३) बमोजिम ६ वर्ष र सोही महलको ३क. नं. अनुसार थप ५ पाँच वर्ष कैद सजाय र पीडितले प्रतिवादीबाट रू. ५०,०००।– (अक्षरूपी पचास हजार रूपैयाँ) क्षतिपूर्तिबापत भराइदिन पाउने ठहर्याएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला अन्यथा देखिन आएन ।
१५. अतः माथि विवेचित मुद्दाको तथ्य प्रमाण कानूनी व्यवस्था र नजिर सिद्धान्तहरूसमेतका आधार र कारणबाट प्रतिवादी दुर्गादत्त भट्टले १५ वर्षीया सुस्तमनस्थिति भएकी पीडित ‘प’ कुमारीलाई जबरजस्ती करणी गरेको देखिँदा यी प्रतिवादी दुर्गादत्त भट्टलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को कसुरमा सोही महलको ३ नं. को देहाय (३) बमोजिम ६ वर्ष र पीडित सुस्तमनस्थितिकी अपाङ्गता भएकी व्यक्ति भन्ने मिसिल संलग्न अपाङ्गतासम्बन्धी प्रमाण पत्रबाट खुली आएकोले सोही महलको ३क. नं. अनुसार थप ५ पाँच वर्ष कैद सजाय र पीडितले प्रतिवादीबाट रू. ५०,०००।– (अक्षरूपी पचास हजार रूपैयाँ) क्षतिपूर्तिबापत भराइदिन पाउने ठहर्याएको सुरू बैतडी जिल्ला अदालतको मिति २०७३।०३।१२ को फैसलालाई सदर गरेको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७३।०९।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृतः हेमा पाण्डे
इति संवत् २०७७ साल साउन १४ गते रोज ४ शुभम् ।