निर्णय नं. १०६८५ - अंश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७७।९।१२
०७२-CI-१३९९
मुद्दाः- अंश
पुनरावेदक / प्रतिवादी : जिल्ला कञ्चनपुर कृष्णपुर गा.वि.स. वडा नं.५ मौवाफाटा बस्ने जोगी रावतसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला कञ्चनपुर कृष्णपुर गा.वि.स. वडा नं. ३ बस्ने बलबहादुर रावत
रीतपूर्वक लिखत गरी रजिस्ट्रेसन पास गरिदिएको हुनुपर्ने अनिवार्यता कानूनले निर्धारण गरेको अवस्थामा मौखिक रूपमा “मेरो भोगको सम्पत्ति तिमीले मलाई खुशी पारेबापत दिएँ” भनी भनेको आधारमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.६)
एकासगोलका अंशियारका नाममा रहेको सम्पत्ति दर्तावाला व्यक्तिको निजी ठहरी एकलौटी हकभोगको पुष्टि हुन नसकेपछि सो सम्पत्तिबाट सगोलका अंशियारलाई अंश हक हिस्सा प्राप्त गर्नबाट वञ्चित गर्न नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा अधिवक्ता श्री नन्दप्रसाद अधिकारी
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भेषराज पन्त
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, २०२०
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्नेः-
माननीय न्यायाधीश श्री भोजराज अधिकारी
कञ्चनपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रामेश्वरनाथ अमात्य
माननीय न्यायाधीश श्री बिमलप्रसाद ढुङ्गेल
पुनरावेदन अदालत महेन्द्रनगर
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:-
बाजे लक्ष्मी रावतका २ छोरा जेठो बुबा स्व. गोरे रावत र कान्छो काका डम्मरसिंह रावत हुन् । बुबा गोरे रावतकी २ श्रीमतीमा जेठी विपक्षी जोगी रावतकी आमा र कान्छी मेरी आमा चन्द्रादेवी रावत हुन् । जेठी आमाबाट विपक्षी जोगी रावत र कान्छी चन्द्रादेवी रावतबाट म फिरादीको जन्म भएको हो । विपक्षी गोरे रावतकी आमाको कालगतिले मृत्यु भइसकेको छ भने मेरी आमा चन्द्रादेवी रावत जीवित रहेकी छिन् । घरमा अंशियारका रूपमा विपक्षी जोगी रावत, आमा चन्द्रादेवी रावत र म फिरादी बलबहादुर रावत छौं । हालसम्म हामी एकासगोलमा बस्दै आएका छौं । बुबा गोरे र काका डम्मर रावतले यस जिल्लामा आई ऐलानी जग्गा फटाई कमोद गरी आई भोगचलन गर्दै आएका हुन् । पछि बुबा र काकाको मृत्यु भएकोले आ-आफ्ना भागमा पर्ने जग्गा अलग-अलग नापजाँच गराई काकाका भागमा पर्ने जग्गा निजका छोरा टेकबहादुर रावत र बुबाका भागमा पर्ने जग्गा दाजु जोगी रावतका नाउँमा नापजाँच भएको हो । मेरो हिस्सा लाग्ने जग्गा दाजु जोगी रावतले भाउजू पार्वतीदेवी रावतका नाउँमा जग्गाधनी प्रमाणपुर्जा लिएका हुन् । पहाड डडेल्धुराको जग्गाको मरूवाको सरूवा पनि भएको छैन । पछिल्लो समयमा दाजु भाउजूले म र मेरी आमाप्रति नराम्रो व्यवहार गर्दै आएका र मैले अंशबन्डा गरी दिनुहोस् भनी दाजु भाउजूलाई पटकपटक अंश माग गर्दा अंश दिन्नौं, पहाडको अंश खाउ, तराईमा हाम्रा नाउँमा रहेको सम्पत्तिबाट तपाइँलाई अंश पाइन्न जे गर्न सक्छौ गर् भनी ठाडो जवाफ दिई अन्यायमा पारेकाले फिराद गर्न आएको छु । यसरी हामीलाई अंशहकबाट विमुख गरी अन्याय गरेकाले मेरो अंश लाग्ने जे जति सम्पत्ति छ, विपक्षीहरूका नाउँ र जिम्मामा रहे भएकाले मुलुकी ऐन अंशबन्डाका २०, २१, २२, २३ नं. बमोजिम विपक्षीहरूबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी लिई सोबाट विपक्षी दाजु १ आमा चन्द्रादेवी १ म फिरादी १ गरी ३ भाग लगाई ३ भागको १ भाग अंश दिलाई भराइपाउँ भन्ने बेहोराको वादी बलबहादुर रावतको फिराद पत्र ।
विपक्षीले हामीउपर लिनुभएको वादी दाबी झुट्टा हो । विपक्षीले उल्लेख गर्नुभएबमोजिम बुबा ससुरा गोरे रावतले कमाएको जग्गा म प्रतिवादी जोगी रावतले आफ्ना नाउँमा नापजाँच गराएको भन्ने तथा सोही जग्गालाई म प्रतिवादी पार्वतीदेवी रावतले दर्ता गराएको भन्ने जिकिर विपक्षीको कपोलकल्पित एवं बदनियतपूर्ण छ । म जोगी रावत २०२२ सालमा नै पहाड जिल्ला डडेल्धुराबाट भारत बम्बईमा काम गर्न गएको थिएँ । ३५ वर्ष भारतमा काम गरी आएको अवस्था छ । मैले यस सरहदभित्र कुनै ठाउँमा आफ्नो नाउँमा कुनै जग्गा जेथा नापजाँच गराएको छैन । हाम्रा बुबा गोरे रावतले पनि यस जिल्लामा कुनै पनि ठाउँमा जग्गा आवाद गरेका वा भोग गरेका छैनन् । विपक्षी र मेरो सगोलको सम्पत्ति पहाड डडेल्धुरामा रहेको भए तापनि हामी अलग-अलग भोग व्यवहार गरी बसेका छौं, सगोल रहे बसेका छैनौं । म पार्वतीदेवी रावतका कान्छा ससुरा डम्मर रावतको मृत्यु भएकोले २०४४ सालमा म र नाबालक छोराहरू साथमा लिई कान्छीसासू पदमादेवी रावतको आश्रयमा यसै कञ्चनपुर जिल्लामा बसोबास गरी आएकी र लोग्ने जोगी रावत भारतमा नै काम गरी बसेको अवस्थामा कान्छी सासूको नै सेवा सत्कार गर्दै निजको आश्रयमा बसेकोमा २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा भोग चलनका आधारमा स्थलगत सर्जमिन गरी जग्गा वितरण गर्ने प्रक्रिया सुरू हुँदा कान्छीसासूले आफ्नो भोग चलनमा रहेको कि.नं १३ र ८४ बाट आफ्ना छोरा टेकबहादुर रावतका नाममा जग्गा दर्ता गराएका र सोही कित्ताहरूबाट केही जग्गा बनाई खाउ भनी मेरा नाममा कान्छी सासूको स्याहार सुसार गरेबापत निजको सहमतिले आयोगबाट प्राप्त गरेकी हुँ । कान्छा ससुरा डम्मर रावतका नाममा कायम फिल्डबुकको जग्गा प्राप्त गरेकोले सो सम्पत्ति मेरो एकलौटी भई निजी आर्जनको हो । म पार्वतीदेवी रावत जिम्मा विपक्षीको अंशभाग लाग्ने जग्गा जेथा केही छैन । मैले प्राप्त गरेको जग्गा मुलुकी ऐन, अंशबन्डाका १८ नं. बमोजिम बन्डा गर्न नमिल्ने भएकाले मउपरको दाबी अमान्य गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर-पत्र ।
वादी प्रतिवादीका नाउँमा के कति जग्गा सम्पत्ति रहेका छन् । ती जग्गाहरू के कुन स्रोतबाट निजहरूका नाउँमा दर्ता कायम हुन पुगेको हो । सो कुरा वादी प्रतिवादीहरूबाट कागज गराई खुलाउन लगाई दर्ता स्रेस्तासमेत झिकाउनु भन्ने सुरू कञ्चनपुर जिल्ला अदालतको आदेश ।
कान्छा बुबा डम्मर रावत र मेरा बुबा गोरे रावतले २०२५।०२६ सालतिर ऐलानी फडान गरी भोग चलन गरी आएका र पछि कान्छा बुबा डम्बर रावत र बुबा गोरे रावतको मृत्युपश्चात् सोही जग्गा चलन भोगको आधारमा दाजु जोगी रावतले आफ्नी श्रीमती पार्वतीदेवी रावतका नाममा दर्ता गराएको हो । सोमा मेरो पनि अंश हक लाग्ने हो भन्ने बलबहादुर रावतको वारेस टेकबहादुर दमाईले सुरू अदालतमा गरेको कागज ।
जोगी रावतका नाउँमा कुनै जग्गा दर्ता
छैन । प्रतिवादी पार्वतीदेवी रावतका नाउँमा कि.नं ३२७, ३२० को क्रमश: ०-१५-१ र ०-१०-२ जग्गा दर्ता रहेको छ । पहाडको सम्पत्ति ससुराका नाउँमा दर्ता छ । तराइको कृष्णपुरको जग्गा म पार्वतीदेवीका नाम दर्ता रही मेरै चलनभोगमा रहेको छ । सो जग्गा डम्मर रावतको श्रीमती पदमा रावतले स्याहार सुसार गरेबापत मलाई दिएको जग्गा हो । सोबाहेक अन्य जग्गा छैन भन्ने जोगी रावतसमेतको वारेस दिलबहादुर विष्टले सुरू अदालतमा गरेको कागज ।
प्रतिवादीका काका ससुरा डम्मर रावत ०२२ सालतिर यस तराई जिल्लामा आउनु भई कृष्णपुर गा.वि.स. मा ३, ४ बिगाहा जग्गा आवाद गरी बसेका डम्मर रावतको २०४३ सालमा मृत्यु भएकोले पदमादेवी रावतले आफ्नी बुहारी नाताकी पार्वतीदेवी देवी रावतलाई सेवा सत्कार गरेबापत निजलाई आफ्नोतर्फबाट केही जग्गा दिन चाहन्छु भनी निजलाई आयोगबाट दर्ता गरी केही जग्गा निज पार्वतीदेवी रावतलाई दिएको हो भन्ने बेहोराको प्रतिवादीका साक्षी लक्ष्मीराज ओझाले सुरू अदालतमा गरेको बकपत्र ।
डम्मर रावत तराईमा आई कृष्णपुर गा.वि.स. मा जग्गा फडान गरी बसेका हुन् । गोरे रावतले तराईमा कुनै जग्गा आवाद फडान गरेका होइनन् । वादी प्रतिवादीहरूको कारोबार व्यवहार अलग अलग
छ । पार्वतीदेवी रावतले आफ्नी कान्छी सासूलाई सेवा सत्कार गरी आएकाले निजका लोग्ने डम्बर रावतका नाउँमा फिल्डबुक कायम भई आएको जग्गालाई आयोगमा दर्ता गर्न सहमति दिई प्रतिवादी पार्वतीदेवी रावतले प्राप्त गरेकाले निजको एकलौटी सम्पत्ति हो । सोमा वादीको अंश हक लाग्ने होइन भन्ने एकै मिलान बेहोराको प्रतिवादीका साक्षीहरू नरबहादुर दियाल, चन्खु डगौरा तथा वासुदेव पनेरूले सुरू अदालतमा गरिदिएको बकपत्र ।
सुरू अदालतका आदेशानुसार प्राप्त हुन आएका विवादित जग्गाको दर्ता स्रेस्ता तथा फिल्डबुक उतार मिसिलसाथ संलग्न रहेछ ।
वादी प्रतिवादीहरू अंशियार नाताका व्यक्ति देखिएका र उनीहरूबिच विधिवत् अंशबन्डा भइसकेको अवस्था नहुँदा वादीले अंश पाउने नै अवस्था देखिए तापनि आदेशानुसार माग भएको तायदातीमा उल्लिखित पार्वतीदेवी रावतको कि.नं. ७०५, ९४३, ९४५, ९६० को जग्गाहरू निजको निजी आर्जनको देखिएको हुँदा सोबाट वादीले अंश पाउने देखिएन । डडेल्धुरामा पैतृक सम्पत्ति रहेको भनी वादी प्रतिवादीले फिराद प्रतिउत्तरमा उल्लेख गरेको र सो जग्गा देखाई दाबी लिई आएका बखत वादीले ठहरेबमोजिम अंश छुट्याई लिन पाउने नै हुँदा प्रस्तुत मुद्दाबाट सम्पत्ति नभएको हुँदा वादीलाई अंश दिलाई रहनु नपर्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०७१।३।११ को फैसला ।
वादी प्रतिवादी अंशियार रहेको कुरामा विवाद नभएको र उनीहरूको हालसम्म अंशबन्डा नभएको कुरासमेत स्वीकार गरी पहाड डडेल्धुराको सम्पत्ति देखाई दाबी गरेका बखत कानूनबमोजिम अंश छुट्याई लिन पाउने तर प्रतिवादी पार्वतीदेवी रावतको नाममा रहेका कि.नं. ७०५, ९४३, ९४५, ९६० का जग्गाहरू उहाँको निजी आर्जनको ठहर्याई गरेको सुरू जिल्ला अदालतको फैसला बदर गरी तराई पहाडको सम्पूर्ण सम्पत्ति पैतृक सगोल आर्जनको भएकोले सम्पूर्ण सम्पत्तिबाट फिरादमा ३ खण्डको १ खण्ड दाबी भए तापनि मुद्दा चल्दैका बखत आमाको मृत्यु भइसकेको र हाल दुई अंशियार दाजु जोगी रावत र म मात्र भएकोले २ खण्डको १ खण्ड अंश म फिरादीले दिलाइपाउँ भन्नेसमेत बेहोराको वादी बलबहादुर रावतको तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन ।
यसमा प्रतिवादी पार्वतीदेवी रावतको नाममा दर्ता भएको कि.नं. ७०५, ९४३, ९४५, ९६० को जग्गा निज पार्वतीदेवीको नाउँमा के कुन बेहोराबाट दर्ता हुन आएको हो ? मालपोत कार्यालय कञ्चनपुरमा बुझ्नु तथा २०५१ सालको सर्जमिन मुचुल्कासमेत सुकुम्बासी समस्या सामाधान आयोगबाट झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।०८।१० को आदेशबमोजिम पत्राचार हुँदा जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पठाइएको
छ । सुकुम्बासी समस्या समाधान आयोगको सर्जमिन मुचुल्का फेला नपरेको भन्ने बेहोराको मालपोत कार्यालय कञ्चनपुरको पत्र जवाफ मिसिल सामेल रहेछ ।
यसमा पार्वतीदेवीको कि.नं.३२७ र ३२० को जग्गाधनी प्रमाण पुर्जामा सुकुम्बासी आयोगको मिति २०५१।१२।२७ को निर्णयानुसार पार्वतीदेवी रावतको नाममा कृष्णपुर गा.वि.स. को प्लट नं. ४ र ७ को साबिक कि.नं. ३२० र ३२७ को जग्गा दर्ता गरेको भन्ने देखिँदा उक्त आयोगको निर्णयको प्रमाणित प्रतिलिपि सम्बन्धित मालपोत कार्यालयबाट अविलम्ब झिकाई पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालतको आदेशबमोजिम पत्राचार हुँदा सुकुम्बासी समस्या समाधान आयोगबाट सो मितिमा निर्णय भएको नभई मिति २०५२।२।११ मा निर्णय भएको हुँदा सो निर्णय र दर्ता उतारको प्रतिलिपि पठाइएको भन्ने मालपोत कार्यालय कञ्चनपुरको पत्रसाथ प्राप्त हुन आएका निर्णय र दर्ता उतारको प्रमाणित प्रतिलिपि मिसिल सामेल रहेछ ।
यसमा पार्वतीदेवीको कि.नं.३२७ र ३२० को जग्गाधनी प्रमाणपुर्जामा सुकुम्बासी समस्या समाधान आयोगको २०५१।१२।२७ को निर्णयानुसार भनी उल्लेख भएको हुँदा सो मितिको निर्णय मिसिल मालपोत कार्यालयबाट झिकाउने । कि.नं. ८४, ८५ र १३ का फिल्डबुक झिकाई सो जग्गा हालको कति नं. कित्तामा कायम छ ? नापी कार्यालयबाट बुझी पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७१।१०।२० को आदेशबमोजिम पत्राचार हुँदा सुकुम्बासी समस्या समाधान आयोगको मिति २०५१।१२।२७ को मिसिल यस कार्यालयमा प्राप्त नभएको भन्ने बेहोराको मालपोत कार्यालय कञ्चनपुरको र साबिक कि.नं.१३ बाट हाल कि.नं. ५२३ र ५२४ तथा कि.नं.८४ र ८५ बाट हाल कि.नं.९४४, ९४५, ९४६, ७०५ र ७०२ कायम भएको भन्ने बेहोराको जवाफसाथ कि.नं.१३, ८४ र ८५ को फिल्डबुक उतारसमेत प्राप्त भई मिसिल सामेल रहेछ ।
यसमा वादीले अंश लिएको नपाएको अवस्थामा दाबी नपुग्ने गरी भएको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित हुन आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत महेन्द्रगरको मिति २०७१।११।१० को आदेश ।
वादी प्रतिवादीका काकाका छोरा टेकबहादुर रावतको वतन वादीबाट खुलाउन लगाई निजलाई प्रतिवादी पार्वतीदेवी रावतको जग्गा दर्ता सम्बन्धमा अ.बं.१३९ नं बमोजिम बुझी पेस गर्नु र प्रतिवादी पार्वतीदेवी रावतको नाममा रहेको कि.नं. ७०५ र ९४५ साबिक कि.नं. ८४ र ८५ को हो भनी नापी कार्यालयको पत्रबाट देखिन आएको र कि.नं.९४३ र ९६० को जग्गाको स्रोत खुल्न नआएकोले अ.बं.१३३ नं. बमोजिम कागज गराई निज प्रतिवादीबाटै खुलाई सोको प्रमाणित प्रतिलिपि नापी कार्यालय र मालपोत कार्यालय कञ्चनपुरबाट झिकाई पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत महेन्द्रगरको मिति २०७२।३।३० को आदेशबमोजिमको कार्य सम्पन्न भई मिसिल सामेल रहेछ ।
कित्ता नं.८४ र ८५ को जग्गा प्रतिवादी पार्वतीदेवी रावतले मेरी आमा पदमा रावतको स्याहार सुसार गरेबापत आमाले पार्वतीदेवी रावतका नाउँमा दर्ता गराएकी हुन् भन्ने बेहोराको अ.बं.१३३ नं. अनुसार बुझिएका व्यक्ति वादी / प्रतिवादीका काकाका छोरा टेकबहादुर रावतले पुनरावेदन अदालत महेन्द्रनगरमा उपस्थित भई गरी दिएको कागज मिसिल सामेल
रहेछ ।
फिल्डबुकमा डम्बरबहादुर रावतको नाम जनिएका र सुकुम्बासी समस्या सामाधान आयोगबाट भोग चलनको आधारमा प्रतिवादी पार्वतीदेवीको नाममा कायम हुन आएका विवादित कि.नं.७०५, ९४३, ९४५, ९६० का जग्गाहरू कान्छी सासू पद्मादेवीले प्रतिवादी पार्वतीदेवीलाई आफूलाई रिझाएबापत दिएको हो भन्ने भनाइ रहेको भए तापनि सो जग्गाहरू प्रतिवादी पार्वतीदेवीलाई रिझबापत दिने पद्मादेवीको नाममा आएको र सो जग्गा लिखित रूपमा दिएको देखिएन । भोगको आधारमा प्राप्त भएको सम्पत्ति निजी आर्जनको हुने व्यवस्था अंशबन्डाको १८ नं. मा नदेखिएको र वादी प्रतिवादीबिच अंशबन्डा नभई एकासगोलमा रहे बसेको अवस्थामा जोसुकै अंशियारको नाममा रहे भएको सम्पत्ति बन्डा लाग्ने सम्पत्ति नै हुने भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) मा व्यवस्था भएको हुँदा कि.नं. ७०५, ९४३, ९४५, ९६० का जग्गामा वादीको अंश हक नलाग्ने भनी भएको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०७१।३।११ को फैसला कानूनसम्मत नदेखिँदा सो फैसला उल्टी भई वादीले तायदातीमा उल्लिखित जग्गाहरूसमेतबाट दुई भागको १ भाग अंश पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत महेन्द्रनगरबाट मिति २०७२।७।१८ मा भएको फैसला ।
विवादित कि.नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गा हाम्रा पिता ससुरा गोरे रावतले कमाई भोगचलन गरेका जग्गा नभई हाम्रा काका/काका ससुरा डम्मर रावतले कमाई भोग कब्जा गरी फिल्डबुकमा आफ्नो नाम चढाएका जग्गा हुन् । हाम्रा पिता र काकाबिच अंशबन्डा भइसकेपछि सो कित्ता जग्गाहरू काकी सासू पद्मादेवीले म पार्वतीदेवीलाई निजको स्याहार संहार र सहयोग गरेबापत खुसी भई मेरा नाउँमा दर्ता गर्ने सहमति दिएको कारण मेरा नाममा दर्ता भएका जग्गा हुन् । सो कुरा सुकुम्बासी समस्या समाधान आयोगले फिल्डबुकमा डम्बरबहादुरको नाम भएका जग्गा २०५१ सालमा मेरा नाउँमा दर्ता गरी दिएबाट प्रस्ट हुन्छ । फिल्डबुकमा आफ्ना स्वर्गीय पतिको नाम जनिएको जग्गा काकीसासू पद्मादेवीले सहमति नदिई मेरा नाउँमा कायम हुन सक्ने अवस्थै रहँदैन । यसरी पिता/ससुरा र काका/काका ससुराबिच अंशबन्डा भइसकेपछि काकी/काकी सासूले रिझबापत म पार्वतीदेवीका नाममा दर्ता गर्ने सहमति दिई मैले प्राप्त गरेको जग्गा सगोलको मानी विपक्षी वादी हाम्रा भाइ/देवरको समेत अंश भाग लाग्ने ठहर गरी भएको पुनरावेदन अदालतको फैसला अंशबन्डाको १८ नं. को गलत व्याख्या गरी भएको छ । उक्त फैसला मुलुकी ऐन, स्त्री अंशधनको ४ नं., दानबकसको १, ५नं., अ.बं. १८४(क), १८५ नं. र प्रमाण ऐनको दफा ३, ५४ एवं. सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त (ने.का.प. २०५७, अङ्क १०, नि.नं. ६९४८) समेत विपरीत भई त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी कि.नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गाहरू अबन्डा कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको तर्फबाट यस अदालतसमक्ष पर्न आएको संयुक्त पुनरावेदन ।
यसमा साबिक कि.नं. ३२०, ३२७ को हाल कायम ७०५, ९४३, ९४५ र ९६० का जग्गा र घरसमेत अंशहक लाग्ने होइन भनी पुनरावेदक प्रतिवादीले तायदाती पेस गरेकोसमेत देखिँदा पुनरावेदन अदालत महेन्द्रनगरबाट मिति २०७२।७।१८ मा भएको फैसलामा मुलुकी ऐन, अंशबन्डाको १८ र १९ नं. को व्याख्यात्मक त्रुटि भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७५।१।१९ मा यस अदालतको आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा अधिवक्ता श्री नन्दप्रसाद अधिकारीले वादी प्रतिवादीका बाबुहरू गोरे रावत र डम्बरबहादुर रावतबिच पहिल्यै अंशबन्डा भई आ-आफ्नो व्यवहार गरी बसेको अवस्थामा फिल्डबुकमा डम्बरबहादुरको नाम जनिएका जग्गा निजको मृत्युपश्चात् निजकी पत्नी पद्मादेवीले सहमति दिई भतिजी बुहारी यी प्रतिवादी पार्वतीदेवीका नाममा दर्ता हुन आएकोमा सो कित्ता जग्गाहरू प्रतिवादी पार्वतीदेवीको निजी भई अबन्डा हुन नसक्ने भनी निजको देवर वादी बलबहादुर रावतसमेतलाई बन्डा लगाई दिनेगरी भएको पुनरावेदन अदालतको फैसलामा अंशबन्डाको १८ र १९ नं. को व्याख्यामा त्रुटि भई फैसला अन्यायपूर्ण भएको हुँदा सो फैसला उल्टी गरी विवादित कित्ता जग्गाहरू पुनरावेदक प्रतिवादीको अबन्डा जग्गा कायम गरिपाउँ भनी तथा प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भेषराज पन्तले वादी र प्रतिवादीहरूबिच अंशबन्डा हुन बाँकी रहेको अवस्थामा वादी / प्रतिवादीकी काकी / काकी सासू पद्मादेवीले व्यवहारतः भतिजी बुहारी पार्वतीदेवीलाई रिझबापत दिएको भए तापनि सो कार्य लिखित रूपमा नभएको र मौखिक रूपमा दिइएको रिझले कानूनी मान्यता पाउन नसक्ने हुँदा प्रतिवादी पार्वतीदेवीको नाम दर्ताका जग्गासमेत वादी प्रतिवादीबिच बन्डा लाग्ने ठहर गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको हुँदा सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
दुवै पक्षको तर्फबाट प्रस्तुत भएको बहस जिकिर सुनी पुनरावेदनसहितको मिसिल कागजात अध्ययन गरी सुरू फैसला उल्टी गरी विवादित जग्गाबाट समेत वादीले अंशभाग छुट्याई लिन पाउने ठहर गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीहरूको सो जग्गाहरू अबन्डा कायम गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
२. निर्णयतर्फ विचार गर्दा हामी वादी प्रतिवादीहरूको पुर्ख्यौली बसोबासको जिल्ला डढेलधुरा हो । बाजे लक्ष्मी रावतका दुई छोरा जेठो गोरे रावत र कान्छो डम्बरबहादुर रावत भई जेठाका २ छोरा प्रतिवादी जोगी रावत र म वादी बलबहादुर रावत तथा कान्छाको छोरा टेकबहादुर रावत हौं । पिता र काका पहिले नै कञ्चनपुर जिल्लामा आई ऐलानी जग्गा जोतकमोद गरी बसेको र पिता र काका दुवैको मृत्यु भएपश्चात् सो जग्गा नापजाँच गरी काकाको भाग काकाका छोरा टेकबहादुरको नाममा र पिताको भाग जग्गा मेरा दाजु जोगी रावतका नाममा दर्ता गरी राखेकोमा दाजुले पिताको भागको सबै जग्गा नापजाँच गरी भाउजू पार्वतीदेवीका नाउँमा जग्गाधनी प्रमाणपुर्जा बनाएका र डडेल्धुराको जग्गा मरूवा सरूवासमेत नगरिएको हुँदा सबै सम्पत्तिबाट बन्डा छुट्याइपाउँ भन्ने फिराद दाबी र फिराद दाबी झुट्ठा हो, हाम्रा पिता कञ्चनपुर आएका थिएनन् । कञ्चनपुर काका मात्र आएका र म प्रतिवादी जोगी रोजगारीको लागि भारततर्फ गएकोले काकाको मृत्युपश्चात् म प्रतिवादी पार्वतीदेवी काकी सासूलाई सहयोग गरी काकीसँगै बसेकीमा २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगबाट भोगको आधारमा जग्गा दर्ता प्रमाणपुर्जा दिँदा कान्छी सासू पद्मादेवीले मैले निजलाई सहयोग गरेबापत खुसी भई फिल्डबुकमा निजको पतिको नाम जनिई निजको भोगमा रहेका साबिक कि.नं. १३, ८४ र ८५ बाट हाल कायम कि.नं.३२० र ३२७ र सोबाट कित्ताकाट भई कायम भएका कि.नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गाहरू मेरो नाममा दर्ता गर्ने सहमति दिएको कारण मेरो नाममा दर्ता कायम हुन आएको हुँदा सो जग्गाबाट बन्डा लाग्ने होइन । सोबाहेक अन्य कुनै सम्पत्ति हाम्रो नाममा छैन भन्ने प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर रहेकोमा सुरू अदालतले वादी प्रतिवादीबिच बन्डा हुन बाँकी नै रहेको देखिएको र कि.नं.७०५, ९४३, ९४५ र ९६० का जग्गा प्रतिवादी पार्वतीदेवीले रिझबापत प्राप्त गरी निजको निजी देखिँदा सोबाट वादीले अंश नपाउने र अन्य सम्पत्ति देखाई आएका बखत अंश पाउने ठहर गरेउपर प्रतिवादीको पुनरावेदन नपरेको र वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत महेन्द्रनगरले सुरू फैसला उल्टी गरी कि.नं.७०५, ९४३, ९४५ र ९६० का जग्गासमेतबाट वादीले अंश भाग छुट्याई लिन पाउने ठहर गरेको देखियो । सो फैसलाउपर प्रतिवादीहरूले यस अदालतसमक्ष प्रस्तुत पुनरावेदन गरेको रहेछ ।
३. यस अदालतसमक्षको पुनरावेदनमा पुनरावेदन अदालतले साबिक कि.नं. १३, ८४ र ८५ बाट कि.नं. ३२० र ३२७ र सोबाट कित्ताकाट भई कायम भएका कि. नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गा रिझबापत दिएको लिखित प्रमाण नरहेको र मौखिक भनाइको आधारमा रिझबापत पाएको भनी निजी आर्जनको मान्न नसकिने भनी अंशबन्डाको १८ नं. को गलत व्याख्या गरेको हुँदा सो फैसला उल्टी गरी आफूले रिझबापत पाएको जग्गालाई अबन्डा कायम गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको मुख्य जिकिर रहेको पाइयो ।
४. प्रस्तुत विवादमा यी वादी प्रतिवादीका पिता गोरे रावतका अंशियाराबिच अंशबन्डा भइसकेको र वादी प्रतिवादीका अंशियारमा वादी बलबहादुर रावत र प्रतिवादी जोगी रावत दुई दाजु भाइ मात्र रही निजहरूबिच रीतपूर्वक अंशबन्डा नभएको तथ्यमा विवाद देखिएन । निजहरूमध्ये वादी बलबहादुर डडेल्धुराको पुर्ख्यौली घरजग्गामा बसोबास गरी आएको एवं प्रतिवादी जोगी र निजकी श्रीमती प्रतिवादी पार्वतीदेवी कञ्चनपुरमा बसोबास गरी आएको भन्ने भनाइ छ । वादी प्रतिवादीका बाबु र काकाबिच रीतपूर्वक अंशबन्डा भई आ-आफ्नो खतिउपति गरी बसेको अवस्थामा प्रतिवादी पार्वतीदेवीले सुकुम्बासी समस्या समाधान आयोगबाट फिल्डबुकमा पहिल्यै छुट्टी भिन्न भएका काका ससुरा डम्बरबहादुरको नाउँ जनिएका कञ्चनपुर जिल्ला कृष्णपुर गा.वि.स. का साबिक कि.नं. १३, ८४ र ८५ बाट कि.नं. ३२० र ३२७ हुँदै हाल कि.नं. ७०५, ९४३, ९४५ र ९६० कायम भएका जग्गाहरू आफ्नो नाउँमा दर्ता गराई जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको मिसिल सामेल रहेको डम्बरबहादुर रावतको नाम जनिएको फिल्डबुक र विवादित कित्ता जग्गाको पार्वतीदेवीको नामको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपिसमेतबाट
देखियो । फिल्डबुकको जोताहाको नाम थरको महलमा डम्बरबहादुरको नाम र किसानको बेहोरा र कैफियत महलमा “यो जग्गा सरकारी हो । २०२४ सालदेखि सुकुम्बासीको फाराम छैन । जग्गा जोती भोग गरी खाएको छु । अन्यत्र मेरो नाउँमा जग्गा छैन” भनी सही गर्ने कृष्णपुर-५ बस्ने डम्बरबहादुर रावत भन्ने बेहोरा उल्लेख भएको पाइन्छ भने सुकुम्बासी समस्या समाधान आयोगको मिति २०५२।२।११ को निर्णयमा “विभिन्न मितिमा भएको घटनास्थल सरजमिन मुचुल्का तथा अन्य आवश्यक प्रमाणहरूको आधारमा साबिकमा नाप नक्सा फिल्डबुक कायम भई आफैँ भोग चलन गरेका वा साबिकमा नापनक्सा भई फिल्डबुक एक व्यक्तिका नाममा कायम भई हाल चलन भोग अर्को व्यक्तिले गरी आएको निम्न व्यक्तिलाई चलन भोगको आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने निर्णय गरियो” भन्ने बेहोरा उल्लेख गरी सो निर्णयमा कृष्णपुर गा.वि.स. अन्तर्गत जग्गाधनी प्रमाणपुर्जा पाउने व्यक्तिको सूचीमा पार्वतीदेवीको नामसमेत उल्लेख भएको पाइन्छ ।
५. उक्त फिल्डबुकमा रहेको बेहोरा र सुकुम्बासी समस्या समाधान आयोगको निर्णय बेहोरासमेतबाट पार्वतीदेवीले फिल्डबुकमा काका ससुरा डम्बरबहादुरको नाम जनिएका साबिक कि.नं. १३, ८४ र ८५ बाट कि.नं. ३२० र ३२७ र सोबाट हाल कायम कि.नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गाहरू काका ससुराको परलोक भइसकेपछि २०५१ सालमा प्राप्त गरेको हो भन्ने भनाइ पुष्टि भएको
देखिन्छ । सोही आधारमा सुरू कञ्चन्पुर जिल्ला अदालतले तायदातीमा उल्लिखित जग्गा प्रतिवादी पार्वतीदेवीलाई रिझबापत प्राप्त भई निजी हुँदा अबन्डा रहने र अन्य सम्पत्ति देखाई आएका बखत वादीले आफ्नो अंशभाग छुट्याई लिन पाउने ठहर फैसला गरिदिएको देखियो । पुनरावेदन अदालत महेन्द्रनगरले सुरू फैसला उल्टी गरी हाल पार्वतीदेवीको नाममा दर्ता कायम भएका कि.नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गाहरूसमेतबाट वादीले अंश छुट्याई लिन पाउने ठहर गरेको पाइयो । यी प्रतिवादीहरूले सुरू अदालतसमक्ष प्रतिउत्तर फिराउँदा पहाड डडेल्धुरामा रहेको पैतृक घरजग्गामा वादी बलबहादुरले नै भोगचलन गरी रहेको कुरा उल्लेख गरेको भए तापनि तायदाती फाँटवारी पेस गर्दा सो पैतृक सम्पत्ति उल्लेख नगरी कञ्चनपुरमा रहेको कि.नं. ७०५, ९४३, ९४५ र ९६० का जग्गाहरू मात्र उल्लेख गरेको र पैतृक सम्पत्तिबारे मौन रही भएको सुरू फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन नगरी बसेको देखियो । अबन्डा सम्पत्ति देखिएकोमा कानूनतः बन्डा पाउने हक वादी प्रतिवादीलाई हुने भएकोले हाल स्रेस्ता नखुलेको डडेल्धुरातर्फको जग्गाबारे बोल्नु आवश्यक भएन ।
६. अब पुनरावेदन अदालतले सुरू फैसला उल्टी गरी विवादित कित्ता जग्गाहरूसमेत बन्डा लाग्ने ठहर गरेको फैसला मिले नमिलेको सम्बन्धमा हेर्दा, विवादित कित्ता जग्गाहरू छुट्टी भिन्न भएका प्रतिवादीहरूका काका / काका ससुरा डम्बरबहादुरको नाममा फिल्डबुक जनिएको कुरा माथि उल्लेख भएको सुकुम्बासी समस्या समाधान आयोगको निर्णयमा उल्लिखित बेहोरासमेतबाट विवादित कित्ता जग्गा पार्वतीदेवीको नाममा दर्ता हुन आएको कुरा पुष्टि भएको पाइयो । पार्वतीदेवीले रिझबापत नै पाएको भन्ने भनाइलाई पुष्टि गर्ने लिखित प्रमाण केही रहेको
देखिँदैन । प्रतिवादी पार्वतीदेवी प्रतिवादी जोगी रावतको श्रीमती भन्ने देखिएको छ । डम्बरबहादुरले ऐलानी जग्गा फडानी गरी २०२८ सालमा फिल्डबुकमा आफ्नो नाम लेखाएको, सो जग्गा निज डम्बरबहादुरको मृत्यु भइसकेपछि सुकुम्बासी समस्या समाधान आयोगबाट पार्वतीदेवीले आफ्नो नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरी आफ्नो भोग र स्वामित्वमा राखेको देखिन्छ । मुलुकी ऐन, २०२० को अंशबन्डाको १८ नं., स्त्री अंशधनको ४ नं तथा दानबकसको १ नं. मा रहेको कानूनी व्यवस्थाले कुनै सम्पत्ति निजी हुनको लागि दाताले रीतपूर्वक लिखत गरी रजिस्ट्रेसन पारित गरिदिएको हुनुपर्ने अनिवार्यता रहेको देखिन्छ । मौखिक रूपमा मेरो भोगको सम्पत्ति तिमीले मलाई खुसी पारेबापत दिएँ भनी भनेको आधारमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ भनी अर्थ गर्न मिल्ने देखिन आएन ।
७. यसप्रकार कुनै सम्पत्तिलाई आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको भनी अर्थ गर्न नमिल्ने भएपछि सो सम्पत्तिलाई सगोलको सम्पत्ति नै मान्नुपर्ने हुन्छ । एकासगोलका अंशियारका नाममा रहेको सम्पत्ति दर्तावाला व्यक्तिको निजी ठहरी एकलौटी हकभोगको पुष्टि हुन नसकेपछि सो सम्पत्तिबाट सगोलका अंशियारलाई अंशहक हिस्सा प्राप्त गर्नबाट वञ्चित गर्न मिल्ने हुँदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने उल्लेख भएबाट एकासगोलमा रहेको अवस्थामा प्रतिवादी जोगी रावतको श्रीमती प्रतिवादी पार्वतीदेवी रावतको नाममा रहेको सो सम्पत्तिमा जोगी रावतका भाइको अंश भाग लाग्ने नै देखिई यस अदालतबाट प्रत्यर्थी झिकाउँदा आधार लिइएको मुलुकी ऐन, अंशबन्डाको १८ र १९ नं. को व्याख्यात्मक त्रुटि भएको भन्ने भनाइ पुष्टि हुन सक्ने देखिएन ।
८. अतः माथि विवेचित आधार, कारण र प्रमाणबाट प्रतिवादी पार्वतीदेवीको नाम दर्ता रहेको साबिक कि.नं. १३, ८४ र ८५ बाट कि.नं. ३२० र ३२७ बाट हुँदै हाल कायम हुन आएका कि.नं. ७०५, ९४३, ९४५ र ९६० को जग्गा निजले काकी सासू पद्मादेवीबाट रिझबापत प्राप्त गरेको प्रमाणित हुन नसकी निजको एकलौटी हकाधिकारको हुन नसक्ने देखिएको हुँदा सो सम्पत्तिबाट समेत वादीले २ भागको १ भाग अंश छुट्याई लिन पाउने ठहर गरी भएको तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७२।७।१८ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गर्नु र पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सपना प्रधान मल्ल
इजलास अधिकृत: फणेश्वरी घिमिरे
इति संवत् २०७७ साल पुस १२ गते रोज १ शुभम् ।