निर्णय नं. १०६८७ - बैंकिङ कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।९।१३
मुद्दाः बैंकिङ कसुर
०७१-RB-०२५२
पुनरावेदक / वादी : हिमालयन बैंक भरतपुर शाखाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला धादिङ, बुढाथुम गा.वि.स. वडा नं.७ घर भई चितवन जिल्ला भरतपुर न.पा. वडा नं.९ बस्ने शेरबहादुर थापासमेत
०७१-RB-०२५१
पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, गा.वि.स. गैंडाकोट, वडा नं.२ बस्ने प्रकाश बराल
विरूद्ध
प्रत्यर्थी / वादी : हिमालयन बैंक भरतपुर शाखाको जाहेरीले नेपाल सरकार
०७१-RB-०१४५
पुनरावेदक / प्रतिवादी : जिल्ला धादिङ, साबिक बुढाथुम गा.वि.स. वडा नं.७ हाल जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं.९ गोन्द्राङ घर भई हाल कारागार भिमफेदी मकवानपुरमा थुनामा रहेको शेरबहादुर थापा
विरूद्ध
प्रत्यर्थी / वादी : हिमालयन बैंक भरतपुर शाखाको जाहेरीले नेपाल सरकार
अभियोगपत्रमा सजायको माग दाबी गर्दा सम्बद्ध कानूनको दफा उपदफा खण्ड सबै खुलाई स्पष्ट दाबी लिनुपर्ने ।
(प्रकरण नं.४)
सर्वसाधारणको निक्षेप स्वीकार गरी बैंकिङ व्यवसाय गर्ने बैंकले आफूसमक्ष सङ्कलित हुन आएको रकमको हिसाब किताब दुरूस्त छ वा छैन, आफूले जिम्मा लिएको रकम कहीँकतैबाट हिनामिना भएको छ वा छैन, भनी समुचित सुरक्षाको प्रबन्ध नगरेको कारणबाट निक्षेपकर्ताको रकम जोखिममा पर्ने गरी बैंकको बिगो नै अलपत्र पार्ने गरी सफाइ दिन मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः
जिल्ला चितवन जुटपानी गा.वि.स. वडा नं.२ सुर्यपुर बस्ने टुँगकुमारी घिमिरेको खाता नं.००८००७८९६७००१७ बाट यस बैंकमा सुपरभाइजर पदमा कार्यरत शेरबहादुर थापाले रू.४४,२२,०००।- झिकी मासी खाएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको हिमालयन बैंक भरतपुर शाखाको पत्र ।
म इ.सं.२००४ सालमा रोजगारको लागि साइप्रस गएकी हुँ । जानुभन्दा पहिले हिमालयन बैंकमा खाता खोलेकी र विदेशमा कमाएको पैसा पटकपटक गरी सो खातामा जम्मा हुने गरी पठाएकी थिएँ । पैसा जम्मा भयो भएन भनी फोन गरी सोध्ने क्रममा फोनमार्फत सो बैंकका कर्मचारी शेरबहादुर थापा भन्नेसँग चिनजान भयो । निजले मोबाइल नं. समेत दिएका थिए । २०६९ साल चैत्र महिनाको अन्ततिर नेपाल आएपछि बैंकमा गई शेरबहादुर थापालाई मेरो एकाउन्टमा कति पैसा छ हेरी दिनुहोस् भन्दा पैंतालिस लाखजति छ, अहिले कम्प्युटर बिग्रेकोले हेर्न मिल्दैन भनेका थिए । मिति २०७०।१।२२ गते काठमाडौंमा गई आफ्नो खाताको पैसा झिक्न बैंकमा जाँदा जम्मा रू.११,०००।– मात्र भएको थाहा पाएँ । निज शेरबहादुर थापाले मेरो खाताको रू.४४,२२,०००।- रकम हिनामिना गरेका रहेछन् भन्नेसमेत बेहोराको टुँगकुमारी घिमिरेले गरेको कागज ।
मैले यस बैंकको कनिष्ट सहायक पदमा रही काउन्टरमा बसी पैसा जम्मा गर्ने र दिने काम गरी आएको छु । यसैक्रममा सन्ध्याकालीन काउन्टरमा रहँदा इन्चार्ज शेरबहादुर थापाको धम्की र करकापले गर्दा लगभग रू.५९,००,०००।– रकम हिनामिना भएको छ । उक्त रकममध्ये लगभग रू.१५,००,०००।- जति मैले चलाएको छु भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश बरालले हिमालयन बैंकमा पेस गरेको निवेदन ।
टुँगकुमारी घिमिरेको खाता नं.००८००७८९६७००१७ बाट यस बैंकमा सुपरभाइजर पदमा कार्यरत शेरबहादुर थापाले सन् २०१० भन्दा पहिले रू.४४,२२,०००।- झिकी मासी खाएको हुँदा निजलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको हिमालयन बैंक भरतपुर शाखाको तर्फबाट ऐ. बैंकका सहायक प्रबन्धक शिवचन्द्र अधिकारीको जाहेरी दरखास्त ।
यस बैंकका सुपरभाइजर शेरबहादुर थापाले टुँगकुमारी घिमिरेको खाताबाट रू. ४४,२२,०००।- झिकी खाएको र बैंकको सन्ध्याकालीन ढुकुटीबाट समेत बैंकको कनिष्ट सहायक प्रकाश बरालको मिलेमतोमा निज शेरबहादुर थापाले रू.४४,००,०००।- र प्रकाश बरालले रू.१५,००,०००।- गरी रू.५९,००,०००।- हिनामिना गरी मासेको भनी प्रकाश बरालले निवेदन पेस गरेको हुँदा प्रकाश बराललाई समेत आवश्यक अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको हिमालयन बैंक भरतपुर शाखाको पत्र ।
जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं.४ स्थित मणिरत्न कँडेलको घरमा रहेको हिमालयन बैंकमा रहेको टुँगकुमारी घिमिरेको खाताबाट सोही बैंकको सुपरभाइजर शेरबहादुर थापाले विभिन्न मितिमा रू.४४,२२,०००।- झिकी हिनामिना गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
शेरबहादुर थापा र प्रकाश बराललाई पक्राउ गरी दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्र.स.नि. पुर्णबहादुर बस्नेतको प्रतिवेदन ।
खातावालाको रकम के कसरी भुक्तानी गरिन्छ भनी सोधनी हुँदा चेक सकिएको अवस्थामा ए.टि.एम. समेत नचलेमा खातावालालाई Cash Withdrawal Slip बाट समेत रकम भुक्तानी दिने प्रचलन छ भन्नेसमेत बेहोराको हिमालयन बैंकले लेखेको जवाफ पत्र ।
प्रतिवादीहरू शेरबहादुर थापा र प्रकाश बरालको आपसी मिलोमतोमा आफ्नो User Right को दुरूपयोग गरी यस बैंकको सन्ध्याकालीन ढुकुटीबाट रकम झिकेको र टुँगकुमारी घिमिरेको खाताबाट रकम झिक्दा निज शेरबहादुर थापाले आफ्नो हस्ताक्षर नगरी आफ्नो कम्प्युटरको User Right को दुरूपयोग गरी अन्य खातावाला व्यक्तिहरू अनुराधाकुमारी थापाको खातामा 19 June, 2011 मा
रू.३०,०००।-, विरबहादुर गुरूङ र आशमाया गुरूङको संयुक्त खातामा 6 January, 2011
रू.९०,०००।-, देवबहादुर थापाको खातामा 13 Oct, 2010 मा रू.१,००,०००।-, 14 Nov, 2010 मा रू.५०,०००।-, 3 Dec, 2010 मा
रू.५०,०००।-, 12 Dec, 2010 मा रू.५०,०००।- 4 Mar, 2011 मा रू.१,००,०००।-, 8 Apr, 2011 मा
रू.१,००,०००।-, 20 May, 2011 मा रू.१.००,०००।-, धनमाया गुरूङको खातामा 26 Feb, 2010 मा रू.५०,०००।-, 28 Oct, 2010 मा रू.२,०९,०००।-, गितादेवी अधिकारीको खातामा 5 Sep, 2010 मा रू.५३,०००।-, कालीराम चौधरीको खातामा 15 May, 2011 मा
रू.१,५०,०००।-, 15 Mar, 2011 मा रू.१,००,०००।- 22 Apr, 2011 मा
रू.१,००,०००।-, 25 May, 2011 मा रू.१,००,०००।- 1 June, 2011 मा
रू.२,००,०००।-, 5 June, 2011 मा
रू.२,००,०००।-, 12 June, 2011 मा रू.३,००,०००।-, मन्जिता थापाको खातामा 8 Aug, 2010 मा रू.१,००,०००।-, 18 January, 2011 मा रू.२५,०००।-, 3 Jul, 2011 मा
रू.५०,०००।-, 10 Jul, 2011 मा रू.२,००,०००।-, 14 Jul, 2011 मा रू. ३५,०००।-, 22 Jul, 2011 मा रू.२५,०००।-, 11 Sept. 2011 मा रू.५०,०००।-, मा सुमराज अमात्यको खातामा 24 Feb, 2010 मा रू.१,००,०००।-, सिद्धबहादुर मल्लको. खातामा 25 Oct, 2010 मा रू.५०,०००।-, 16 Dec, 2010 मा रू.२,००,०००।-, 7 Dec, 2011 मा
रू.१,००,०००।-, 14 May, 2011 मा रू.१,००,०००।-, 3 Aug, 2011 मा
रू.१,००,०००।-, 17 Aug, 2011 मा रू.१,३०,०००।-, 5 Sept, 2011 मा
रू.६०,०००।-, 18 Sept, 2011 मा
रू.३०,०००।-, 23 Sept, 2011 मा
रू.१,२०,०००।-, 14 Oct, 2011 मा
रू.२,००,०००।-, 6 Nov, 2011 मा
रू.१,००,०००।-, 24 Nov, 2011 मा रू.१,००,०००।- र सोमसिंह थापाको खातामा 20 January, 2011 मा रू.१,००,०००।- ट्रान्सफर गरेको र 1 June, 2012 मा रू.१५,०००।- Cash Withdrawal Slip बाट झिकेको देखिन्छ भन्नेसमेत बेहोराको हिमालयन बैंक भरतपुर शाखाको पत्र ।
मैले १३ वर्षदेखि हिमालयन बैंकमा काम गर्दै आएको छु । हाल सुपरभाइजर पदमा रहेको छु । २०६३ सालमा खाता खोलेकी टुँगकुमारी घिमिरेको खातामा भएको रकम विश्वासिलो मानिसको खातामा ट्रान्सफर गरी Cash Withdrawal Slip द्वारा खाएको हुँ । पटकपटक गरी निज टुँगकुमारी घिमिरेको रू. ४४,२२,६८०।- निकाली खाएको र बैंकको सन्ध्याकालीन काउन्टरमा कनिष्ट सहायक प्रकाश बराल र मेरो डिउटी सँगै पर्ने भएकोले निजसमेतको सहयोग तथा मिलोमतोमा बैंकको सन्ध्याकालीन ढुकुटीबाट समेत पटकपटक गरी रू.५९,००,०००।- निकाली सोमध्ये रू.१५,००,०००।- प्रकाश बराललाई दिई अन्य रकम मैले हिनामिना गरेको
हुँ । उक्त रकमबाट केही रकम मैले चिनजानका व्यक्ति तथा आफन्तहरूलाई सापटी दिएको छु भन्नेसमेत बेहोराको प्रतिवादी शेरबहादुर थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म ४ वर्षदेखि हिमालयन बैंकमा काम गर्दै आएको छु । हाल कनिष्ट सहायक पदमा रहेको छु । सुपरभाइजर शेरबहादुर थापाको अण्डरमा बसी काम गर्नुपर्ने हुन्थ्यो । सन्ध्याकालीन काउन्टरमा निज शेरबहादुर थापा र मेरो डिउटी पर्ने भएकोले सँगै काम गर्ने क्रममा करिब १ महिनाअगाडिदेखि निज शेरबहादुर थापाले १ लाख, २ लाख गरी मलाई दिने गर्थे र निजले समेत लैजाने गरेका थिए । मैले पटकपटक गरी जम्मा १५ लाख लगेको छु । शेरबहादुरले कति लैजान्थ्यो मलाई थाहा भएन । पछि बुझ्दा सन्ध्याकालीन काउन्टरबाट ५९ लाख रूपैयाँ हिनामिना भएको रहेछ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश बरालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं.९ स्थितमा रहेको प्रतिवादी शेरबहादुर थापाको घर खानतलासी गर्दा बैंकिङ कसुर अपराध मुद्दामा प्रमाणमा लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला नवलपरासी, गैंडाकोट गा.वि.स. वडा नं.२ स्थितमा रहेको प्रतिवादी प्रकाश बरालको घर खानतलासी गर्दा बैंकिङ कसुर अपराध मुद्दामा प्रमाणमा लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
हिमालयन बैंकका सुपरभाइजर शेरबहादुर थापाले सो बैंकमा खाता रहेको टुँगकुमारी घिमिरेको खाताबाट रू.४४,२२,०००।- झिकी खाएको र निज शेरबहादुर थापा र निजसँगै कनिष्ट सहायक पदमा काम गर्ने प्रकाश बरालसमेतको मिलोमतोमा बैंकको सन्ध्याकालीन काउन्टरको ढुकुटीमा भएको रकमबाट पटकपटक गरी जम्मा रू.५९,००,०००।- हिनामिना गरेका रहेछन् । निजले मलाई / हामीलाई कुनै रकम सापटी दिएका छैनन् भन्नेसमेत बेहोराको शेरबहादुर थापाले रकम सापटी दिएको भनी लेखाई दिएका मानिसहरू गिरबहादुर मल्ल, मामबहादुर थापा, थमबहादुर थापा, केहर सिंह थापा, प्रमिला थापाले गरिदिएको घटना विवरण कागज ।
हाम्रो हिमालयन बैंक नारायणगढ शाखामा खाता छ । सो बैंकको सुपरभाइजर हाल पक्राउ परेका शेरबहादुर थापा चिनजानका व्यक्ति हुन् । निजले तपाइँको खातामा मेरो पैसा आएको छ, मलाई चेक दिनुहोस् भनेपछि खातामा हेर्दा बढी रकम देखिन गएकोले बढी भएको रकमको चेक काटी दिएको हुँ । निजले टुँगकुमारी घिमिरेको खाताबाट हामीहरूको खातामा रकम ट्रान्सफर गरी रकम बढी देखाई चेक काट्न लगाई झिकी खाई टुँगकुमारी घिमिरेको खाताको रकम हिनामिना गरेका रहेछन् । निज शेरबहादुर थापाले बैंकको कनिष्ट सहायक प्रकाश बरालको मिलोमतोमा बैंकको आन्तरिक रकमसमेत हिनामिना गरेका रहेछन् भन्नेसमेत बेहोराको आशमाया गुरूङ, अनुराधा कुमारी थापा र सिद्धबहादुर मल्लले गरेको कागज ।
प्रतिवादी हिमालयन बैंकका सुपरभाइजर शेरबहादुर थापाले सोही बैंकका खातावाला टुँगकुमारी घिमिरेको खाताबाट रू.४४,२२,०००।- रकम अन्य मानिसहरूको खातामा ट्रान्सफर गरी झिकी खाएका हुन् । निज र कनिष्ट सहायक प्रकाश बराल भई बैंकको सन्ध्याकालीन ढुकुटीबाट समेत विभिन्न मितिमा गरी रू.५९,००,०००।- झिकी खाएका रहेछन् । यसरी निज प्रतिवादीहरूले बैंकको खातावालाको रकम र बैंकको आन्तरिक रकमसमेत हिनामिना गरी बैंकिङ कसुर अपराध गरेका हुन् भन्नेसमेत बेहोराको बुझिएका रेमप्रसाद कँडेल, रमेशकुमार श्रेष्ठ र विजय गुरूङले गरेको घटना विवरण कागज ।
प्रतिवादी शेरबहादुर थापाले आफू कार्यरत हिमालयन बैंकको खातावाला टुँगकुमारी घिमिरेको खाता नं. ००८००७८९६००१७ मा जम्मा भएको रकममध्ये आफ्नो User Right प्रयोग गरी सो खाताबाट अन्य व्यक्तिहरूका खातामा रकम ट्रान्सफर गरी चेक र Cash Withdrawal Slip प्रयोग गरी रू.४४,२२,०००।- अनधिकृत रूपमा निकाली हिनामिना गरेको र सोही बैंकको सन्ध्याकालीन काउन्टरमा कनिष्ठ सहायक पदमा कार्यरत कर्मचारी प्रकाश बरालसँग मिलेमतो गरी बैंकको आन्तरिक रकम रू.५९,६८,८४०।- निकाली सोमध्ये रू.१५ लाख प्रकाश बराललाई दिई बाँकी रकम आफूले खाई मासी हिनामिना गरेको देखिँदा प्रतिवादीहरूको सो कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ५(क)(ग) ६ र ९(१)(२) विपरित कसुर अपराध हुँदा निजहरूलाई सोही ऐनको दफा १५(२) बमोजिम कैद र बिगो भराई बिगोबमोजिम जरिवानासमेत गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
अभियोग दाबी झुट्ठा हो । मैले बैंकको कुनै रकम हिनामिना गरेको छैन । म बैंकको तल्लो तहको कर्मचारी भएको हुँदा मेरो कुनै निर्णय
चल्दैन । मलाई शेरबहादुरले रकम दिएका छैनन् । मैले बैंकमा दिएको भनिएको निवेदन मलाई जबरजस्ती दिन लगाइएको हो । सो निवेदन मेरो राजुखुसीले दिएको होइन । अनुसन्धानको क्रममा भएको बयान मेरो होइन । बैंकका स्टाफहरूले भनेबमोजिम लेखी मलाई सहीछाप गराइएको हो । म निर्दोष रहेको हुँदा अभियोग माग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोरा प्रतिवादी प्रकाश बरालले पुनरावेदन अदालत हेटौंडामा गरेको बयान ।
म हिमालयन बैंकको सुपरभाइजर पदमा कार्यरत थिएँ । सो पदमा कार्यरत रहँदा Cash Customer Service, Bills Remittance लगायतको काम गर्थें । हिमालयन बैंकमा खाता खोली सन् २००९ मा साइप्रस गएकी टुँगकुमारी घिमिरेको खातामा जम्मा भएको रू.४४,२२,०००।- रकम विभिन्न व्यक्तिका नाममा ट्रान्सफर गरी निकाली खाई मासेको हुँ । हिमालयन बैंकको रू.५९,६८,८४०।- अनधिकृत रूपले निकाली रू.१५ लाख प्रकाश बराललाई दिई बाँकी रकम मैले खाए मासेको भन्ने अभियोग दाबी झुठ्ठा हो । मैले बैंकको आन्तरिक रकम खाए मासेको छैन र प्रकाश बराललाई समेत दिएको
छैन । टुँगकुमारी घिमिरेको रकम मैले खाए मासेको मौका छोपी ममाथि बदनियत चिताई सो जाहेरी परेको हुँदा बैंकको रकम दुरूपयोग गरेकोमा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी शेरबहादुर थापाले सुरू पुनरावेदन अदालत हेटौंडामा गरेको बयान ।
मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट निज प्रतिवादीहरू शेरबहादुर थापा र प्रकाश बराल हालै कसुरदार होइनन् भन्न मिल्ने मनासिब आधारको अभाव रहेको देखिएको र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२)(घ) अनुसार सजाय हुन सक्ने अवस्था विद्यमान रहेको हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं.११८(२) बमोजिम दुवैजना प्रतिवादीहरूलाई मुद्दा पुर्पक्षको लागि कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न सम्बन्धित कारागारमा पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०७०/०३/०७ को पुनरावेदन अदालत हेटौंडाको थुनछेक आदेश ।
पुनरावेदन अदालत हेटौंडाको थुनछेक आदेशउपर यस अदालतमा अ.बं. १७ नं. बमोजिम परेको ०७०-RE-००८३ को निवेदनमा भएको यस अदालतको मिति २०७०।१०।२९ को आदेशबमोजिम प्रतिवादी प्रकाश बराल रू.२०,००,०००।– (बिस लाख रूपैयाँ) बराबरको बैंक ग्यारेन्टी दिई पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।१२।११ को आदेशानुसार साधारण तारेखमा रहेको अवस्था रहेछ ।
प्रतिवादी शेरबहादुर थापाले टुँगकुमारीको खाताबाट रू.४४,२२,०००/- र प्रतिवादी प्रकाश बराल र शेरबहादुर थापाले बैंकको सन्ध्याकालीन काउन्टरबाट रू.६०,००,०००।- को हाराहारीमा आफ्नो अधिकार दुरूपयोग गरी एक अर्काको खातामा ट्रान्सफर गरी हिनामिना गरी खाएको बैंकको रेकर्डबाट देखिन्छ । दैनिक कारोबारबाट दैनिक हिसाब मिलान गर्ने जिम्मेवारी प्रतिवादी शेरबहादुरको नै हो । समय समयमा निरीक्षण हुँदा एक अर्काको Till (टीलमा) खातामा सार्ने ल्याउने गरेर हिसाब मिलाउने गरेको रेकर्डबाट देखिन्छ । टुँगकुमारीको जाहेरी परेपछि त्यो कुरा थाहा भयो भन्नेसमेत बेहोराको जाहेरी दरखास्त दिने बैंकका सहायक प्रबन्धक शिवचन्द्र अधिकारीले सुरू पुनरावेदन अदालत हेटौंडामा गरेको बकपत्र ।
टुँगकुमारीको खाताबाट रू.४४,२२,०००/- मैले लिएको हुँ । बैंकको सन्ध्याकालीन काउन्टरबाट लिएको रकम मैले लिएको होइन । प्रतिवादी प्रकाश बरालले लिएको हुनुपर्छ भनी शेरबहादुरले कारागार कार्यालयमा भेट हुँदा भनेका थिए । सो सम्बन्धमा अरू थाहा छैन भन्नेसमेत एकै मिलान बेहोराको प्रतिवादी शेरबहादुर थापाका साक्षीहरू कालु रानाभाट र रेमप्रसाद कँडेलसमेतले सुरू पुनरावेदन अदालत हेटौंडामा गरेको बकपत्र ।
प्रतिवादी प्रकाश बराल निम्नवर्गीय परिवारका हुन् । बैंकमा जागिर खाए पनि निजको घरपरिवारको आर्थिक स्थितिमा खासै फरक थिएन । समाजमा राम्रो चरित्रको व्यक्तिको रूपमा चर्चित थिए । त्यसैले त्यस्तो गैह्रजिम्मेवार काम गरेनन् होला, निर्दोष छन् जस्तो लाग्छ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश बरालको साक्षी रविन्द्रराज घिमिरेले सुरू पुनरावेदन अदालत हेटौंडामा गरेको बकपत्र ।
यस अदालतका आदेशानुसार माग भई आएको हिमालयन बैंकको आन्तरिक लेखा परीक्षण रिपोर्ट र नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको रकम दुरूपयोग भएको सबन्धमा गरेको निरीक्षण प्रतिवेदनसमेतका मिसिल प्रमाणबाट हिमालयन बैंक लिमिटेडको रू.५९,६८,८४०।- मध्ये प्रतिवादी प्रकाश बरालले लिए खाएको रू.१५,००,०००।- कट्टा गरी बाँकी हुन आउने रू.४४,६८,८४०।- र टुँगकुमारी घिमिरेको खाताबाट निकालिएको रू.४४,२२,०००।- समेत जम्मा रू.८८,९०,८४०।- प्रतिवादी शेरबहादुर थापाले लिए खाएको देखिन आई निजले आरोपित कसुर गरेको देखिँदा प्रतिवादी शेरबहादुर थापालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२)(ग) बमोजिम सो बैंकको रू.४४,६८,८४०।- र टुँगकुमारी घिमिरेको रू.४४,२२,०००।- बिगो भराई दुवै बिगोबमोजिम रू.८८,९०,८४०।- जरिवाना गरी दुई वर्ष कैद हुने र अर्का प्रतिवादी प्रकाश बरालले बैंकको रू.१५,००,०००।- लिए खाएको देखिँदा ऐ. ऐनको दफा १५(२)(ख) बमोजिम बिगो रू.१५,००,०००/- हिमालयन बैंक लिमिटेडलाई भराई बिगोबमोजिम रू.१५,००,०००/- जरिवाना गरी एक वर्ष कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१/०८/९ मा भएको फैसला ।
हिमालयन बैंक भरतपुर शाखामा रहेको जाहेरवालामध्येका टुँगकुमारीको खातामा रहेको रकम रू.४४,२२,०००।- निकाली खाए मासेकोमा भएको सजायको सम्बन्धमा मेरो स्वीकारोक्ति छ । तर बैंकको सन्ध्याकालीन काउन्टरमा रहेको रकमबाट रू.५९,६८,८४०।- लिई खाएको भन्ने आरोपमा मेरो इन्कारी बयान मेरो साक्षी कालु रानाभाटले गरिदिएको बकपत्र बेहोराबाट समेत समर्थित छ । अभियोजन पक्षले सो आरोप पुष्टि हुनसक्ने वस्तुनिष्ठ प्रमाण पेस गर्नसकेको अवस्था छैन । नेपाल राष्ट्र बैंकले समेत रकम हिनामिना भएको सम्बन्धमा स्पष्ट प्रमाण दिन सकेको छैन । यस अवस्थामा सन्ध्याकालीन काउन्टरको रकममध्ये रू.४४,६८,८४०।- समेत जम्मा रू.८८,९०,८४०।- मैले लिए खाएको देखिन आएको हुनाले रू.८८,९०,८४०।- जरिवाना र २ वर्ष कैद हुने ठहर्छ भनी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला प्रमाणको अभावमा भएको हुँदा सो फैसला बदर गरी बैंकको आन्तरिक रकम रू.४४,६८,८४०।- तर्फको अभियोग दाबी र सोअनुरूपको सजायबाट मुक्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शेरबहादुर थापाले यस अदालतमा गरेको पुनरावेदन ।
हिमालयन बैंक लि. भरतपुर शाखाको तर्फबाट मिति ०७०।१।२४ मा दिइएको जाहेरीमा मलाई दोषी देखाइएको छैन । अनुसन्धानमा बयान गर्दा शेरबहादुरले मलाई रू.१५,००,०००।- दिएको भन्ने कुरालाई मेरो विरूद्धमा प्रमाणमा लिन
मिल्दैन । अनुसन्धानको मेरो बयानलाई मैले अदालतसमक्ष इन्कार गरेको छु । रू.१५००,०००।- लिएको भनी गरेको कागज करकापबाटै गराइएको
हो । उक्त कागज अन्य कागजातबाट समर्थित हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको परीक्षण रिपोर्टबाट मलाई दोषी देखाइएको छैन । मिसिल संलग्न तथ्यबाट पनि मबाट अनधिकृत रूपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्ने, रकमान्तर गर्ने, रकम भुक्तानी दिने काम गरेको देखिएको छैन । मबाट बैंकको सम्पत्ति दुरूपयोग गरेको एवं बैंकको हित प्रतिकूल खर्च गरेको भन्ने नदेखिएकोमा ममाथि आकर्षित नै नहुने कानूनको दफाबाट मलाई कसुरदार ठहर गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी मलाई सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश बरालले यस अदालतमा दिएको पुनरावेदन ।
प्रतिवादी शेरबहादुर थापाले पीडित टुँगकुमारी घिमिरेको खाताको रकम रू.४४,२२,००० र बैंकको आन्तरिक रकम रू.५९,६८,८४०।- समेत गरी रू.१,०३,९०,८४०।- हिनामिना गरेको र सहप्रतिवादी प्रकाश बरालले बैंकको सन्ध्याकालीन काउन्टरबाट आन्तरिक रकम (निजले लिएको कबुल गरेको रू.१५,००,०००।- सो बाहेकको
रू.४४,६८,८४०।-) समेत हुने रू.५९,६८,८४० हिनामिना गरेको बेहोरा मिसिल संलग्न निजहरूको मौकाको बयान, बैंकबाट प्राप्त पत्र तथा सूचनाहरूको आधारबाट देखिन आएको छ । यसबाट प्रतिवादी शेरबहादुर थापाउपर रू.१,०३,९०,८४०।- तथा अर्का प्रतिवादी प्रकाश बरालउपर रू.५९,६८,८४०।- को बिगो कायम गरी सोहीबमोजिम निजहरूलाई कैद, जरिवाना र बिगो भराउने सजाय गर्नुपर्नेमा सो नगरी वादी दाबीभन्दा कम सजाय हुने गरी तथा अभियोजनकर्ताले गोश्वारा रूपमा ऐनको दफा १५(२) नं. बमोजिम मागदाबी लिइएको कुरालाई द्विविधापूर्ण र अस्पष्ट मानी सोको सुविधा प्रतिवादीहरूले पाउने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा १५(२) को प्रयोग एवं व्याख्यामा त्रुटि भई बदरभागी हुँदा उक्त फैसला बदर गरी अभियोग माग दाबीबमोजिम नै गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पेस हुन आएको पुनरावेदन ।
यसमा वादी नेपाल सरकार, प्रतिवादीहरू शेरबहादुर थापा र प्रकाश बरालसमेतको दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ नेपाल सरकारतर्फको पुनरावेदनको जानकारी प्रतिवादीहरूलाई दिई र प्रतिवादीहरूतर्फको पुनरावेदनको जानकारीसहितको पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७४/१२/२५ मा भएको आदेश ।
यस अदालतबाट कारागार कार्यालयमार्फत थुनुवा प्रतिवादी शेरबहादुर थापालाई दिइएको मिति २०७६।२।७ को पेसीको सूचना पत्रमा कारागार कार्यालय भिमफेदी मकवानपुरले निज प्रतिवादी शेरबहादुर थापा मिति २०७६।१।२४ गते थुनामुक्त भइसकेको बेहोरा अनुरोध छ भनी लेखी पठाएको
रहेछ ।
ठहर खण्ड
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थीले प्रतिवादीहरू शेरबहादुर थापा र प्रकाश बराल दुवैजना हिमालयन बैंकका कर्मचारी भई आपसी मिलेमतोमा बैंकको सन्ध्याकालीन काउन्टरबाट आन्तरिक रकम रू. ५९,६८,८४०।– हिनामिना गरेको देखिँदा प्रतिवादी प्रकाश बरालउपर निजले लिएको कबुल गरेको रू.१५,००,०००।- सोबाहेकको रू.४४,६८,८४०।- समेत जोड्दा हुने रू.५९,६८,८४०।-को र प्रतिवादी शेरबहादुरउपर जाहेरवाला टुँगकुमारी घिमिरेको खाताबाट हिनामिना गरी लिएखाएको रू.४४,२२,०००।– र बैंकको आन्तरिक हिनामिना भएको पूरै रकम रू.५९,६८,८४०।– गरी जम्मा रू.१,०३,९०,८४०।- बराबरको बिगो कायम गरी सोही बिगोबमोजिम सजाय गर्नुपर्नेमा कम बिगो कायम गरी सोबमोजिम नै सजाय हुने गरी भएको सुरू फैसला उल्टी गरी अभियोग मागदाबीबमोजिम नै बिगो कायम गरी बिगोबमोजिम सजाय गरिपाउँ भनी तथा दुवैजना प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मीले बैंकको आन्तरिक रकमतर्फको बिगो रू.५९,६८,८४०।– को सम्बन्धमा प्रतिवादीहरू दुवैजनाले अदालतमा इन्कारी बयान गरी अनुसन्धानको बयान करकापबाट भएको कुरा लेखाएको छ । सो रकम हिनामिना भएकै हो भन्ने सम्बन्धमा बैंकको आन्तरिक अडिट र नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनले समेत तथ्यगत विवरण दिन नसकी हिनामिना गरेको कुराको प्रमाण नै पेस हुन सकेको छैन । यस अवस्थामा दुवै बिगो कायम गरी प्रतिवादीहरूलाई बिगोअनुरूपको सजाय गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला प्रमाणको अभावमा भएको हुँदा सो फैसला उल्टी गरी आन्तरिक रकम रू.५९,६८,८४०।– तर्फको बिगोको हदसम्म दुवैजना प्रतिवादीहरूलाई भएको सजाय बदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
दुवै पक्षको तर्फबाट प्रस्तुत भएको बहस जिकिर सुनी पुनरावेदन पत्रहरूसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादीहरू दुवैजनाको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।
२. निर्णयतर्फ विचार गर्दा सर्वप्रथम वादी नेपाल सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा हिमालयन बैंकमा खाता खोली रकम सङ्कलन र बचत गर्ने निक्षेपकर्ता टुँगकुमारी घिमिरेको खाताबाट रू.४४,२२,०००।– रकम अनधिकृत रूपमा निकालेको र सोही बैंकको सन्ध्याकालीन काउन्टरको रकमबाट जम्मा रू.५९,६८,८४०।- नगद हिनामिना भएको भन्ने कुरा मिति २०७०।१।२२ को हिमालयन बैंक र टुँगकुमारी घिमिरेको जाहेरी दरखास्त, हिमालयन बैंक लिमिटेडले मिति २०७०।११।१३ को पत्रसाथ पठाएको अडिट रिपोर्ट, सो बैंकको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनसमेतबाट देखियो । सोभन्दा बढी बैंकको आन्तरिक र निक्षेपकर्ताको रकम हिनामिना भएको भन्ने देखिन आएन । बैंकको आन्तरिक रकम रू.५९,६८,८४०।- मध्ये रू.१५,००,०००।– प्रतिवादी प्रकाश बराललाई दिएको हुँ भनी प्रतिवादी शेरबहादुर बरालले अनुसन्धान अधिकारीसमक्षको बयानमा बताएको तथा प्रतिवादी प्रकाश बरालले समेत अनुसन्धानको क्रममा भएको बयानमा सो कुरा स्वीकार गरेको पाइन्छ । देवानी मिश्रित फौजदारी दायित्व वहन गराउँदा जसले जति लिएखाएको छ सोहीअनुसार दायित्व वहन गराउनु पर्दछ भन्ने कानूनी मान्यता रहेको छ । सोही मान्यताको आधारमा मुलुकी ऐन, चोरीको महलको १०(३) नं. मा “…..चोरी मुद्दामा जसले जति खाएको ठहर्छ उसबाट उति उति असुल गरी लिनुपर्दछ” भन्ने कानूनी प्रावधानले यो मान्यतालाई हाम्रो कानूनले पनि ग्रहण गरेको देखिन्छ । यसरी बैंकको वास्तविक रूपमा हिनामिना भएको भन्ने दाबी र पुष्टि भएको रकम रू.५९,६८,८४०।- मध्ये रू.१५,००,०००।– प्रतिवादी प्रकाश बरालले लिएखाएपछि निजले लिएखाएको रकमको दायित्व निजैले बेहोर्नुपर्ने र सोबाट बाँकी देखिने रकम रू.४४,६८,८४०।- को दायित्व प्रतिवादी शेरबहादुर थापाले नै बेहोर्नुपर्ने हुन्छ । नलिए नखाएको रकमसमेतको दायित्व बेहोर्न लगाउनु न्यायिक मान्यताविपरीत हुन्छ ।
३. माथि विवेचना गरिएअनुसार यथार्थमा लिएखाएको बिगो भराई त्यसको मात्र दायित्व वहन गराउँदा न्यायिक र तर्कसम्मत हुन्छ भन्ने न्यायिक मान्यतालाई आत्मसात् गर्दा प्रतिवादी शेरबहादुर थापालाई निक्षेपकर्ता टुँगकुमारी घिमिरेको खाता नं.००८००७८९६७००१७ बाट अनधिकृत रूपमा लिई खाएको रकम रू.४४,२२,०००।– एवं बैंकको सन्ध्याकालीन काउन्टरबाट हिनामिना भएको रकम रू. ५९,६८,८४०।- समेत जोडी रू.१,०३,९०,८४०।– र प्रतिवादी प्रकाश बरालको हकमा निजले लिएको कबुल गरेको रू.१५.००,०००।- सोबाहेकको रू.४४,६८,८४०।- समेत जोडी रू.५९,६८,८४०।– बिगो कायम गरी सो बिगोबमोजिम सजाय गर्न मिल्ने देखिएन ।
४. अब अभियोजनकर्ताले गोश्वारा रूपमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२) नं. बमोजिम मागदाबी लिइएको कुरालाई द्विविधापूर्ण र अस्पष्ट मानी सोको सुविधा प्रतिवादीहरूले पाउने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा सो ऐनको दफा १५(२) को प्रयोग एवं व्याख्यामा त्रुटि रहेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को १५(२) मा खण्ड (क) (ख) (ग) (घ) को व्यवस्था भई प्रत्येक खण्डमा भिन्न-भिन्न अवस्था उल्लेख गरिएको पाइन्छ । सो प्रावधानअनुसार प्रस्तुत मुद्दामा प्रतिवादी शेरबहादुर थापाले बैंकको निक्षेपकर्ता टुँगकुमारी घिमिरेको खाताबाट रू.४४,२२,०००।– र हिमालयन बैंक लिमिटेडको रू.५९,६८,८४०।– लिई खाएको भन्ने आरोप रहेकोमा यी दुवै रकमलाई खण्डीकृत गरेको अवस्थामा प्रतिवादीलाई घटी सजाय हुने र एकीकृत गरिएको अवस्थामा बढी सजाय हुने अवस्था रहन्छ । यस अवस्थामा अभियोजनकर्ताले सो ऐनको खण्ड नछुट्याई दफा १५(२) भनी गोश्वारा रूपमा दाबी लिएको पाइयो । यस्तो अवस्था सिर्जना नहोस् भन्ने कुरामा अभियोजन पक्ष सचेत रही अभियोजन गर्दा प्रतिवादीलाई हुने सजायको माग दाबी गर्दा सम्बद्ध कानूनको नम्बर दफा उपदफा खण्ड सबै खुलाई स्पष्ट दाबी लिनुपर्ने हुन्छ । सो नगरी गोश्वारा रूपमा दाबी लिइएबाट द्विविधाको अवस्था सिर्जना भई सोको सुविधा प्रतिवादीले पाउने नै हुन्छ । तसर्थ, प्रस्तुत मुद्दामा प्रतिवादीहरूले लिएखाएको देखिएको भन्दा बढी बिगो कायम कायम गरिपाउँ र अभियोग पत्रमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२) को गोश्वारा दाबी लिएकोमा अदालतबाट भिन्नभिन्न सजाय नगरी सो कानूनको प्रयोग एवं व्याख्यामा त्रुटि रहेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम हुन सक्ने देखिएन ।
५. पुनरावेदक प्रतिवादीहरूमध्ये शेरबहादुर थापाको बैंकको सन्ध्याकालीन काउन्टरको आन्तरिक रकम मैले नलिए नखाएको हुँदा सोतर्फको दायित्वबाट मुक्ति पाउँ भन्ने र प्रकाश बरालको मैले बैंकको काउन्टरबाट लिएको भनिएको रू.१५,००,०००।- नलिएको हुँदा मलाई पूर्ण सफाइ दिलाइपाउँ भन्ने पुनरावेदन जिकिर एकअर्कामा अन्तरसम्बन्धित भई दुवै जिकिरको सम्बन्धमा समग्रतामा विवेचना हुनु उपयुक्त हुने देखिई सोतर्फ विचार गर्दा, हिमालयन बैंकको सन्ध्याकालीन काउन्टरमा रहेको रकमबाट रू.५९,६८,८४०।– लिएखाएको सम्बन्धमा अदालतमा दुवै प्रतिवादीहरूले आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि अनुसन्धान अधिकारीसमक्ष दुवै प्रतिवादीहरूले साबिती बयान दिएको पाइयो । अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी शेरबहादुर थापाले मैले २०६३ सालमा खाता खोलेकी टुँगकुमारी घिमिरेको खातामा भएको रू.४४,२२,०००।- रकम विश्वासिलो मानिसको खातामा ट्रान्सफर गरी Cash Withdrawal Slip द्वारा खाएको हुँ र बैंकको सन्ध्याकालीन काउन्टरमा कनिष्ट सहायक प्रकाश बराल र मेरो डिउटी सँगै पर्ने भएकोले निजसमेतको सहयोग तथा मिलोमतोमा बैंकको सन्ध्याकालीन ढुकुटीबाट समेत पटकपटक गरी रू.५९,००,०००।- निकाली सोमध्ये रू.१५,००,०००।- प्रकाश बराललाई दिई अन्य रकम मैले हिनामिना गरेको हुँ भनी बयान बेहोरा लेखाएको पाइन्छ भने प्रतिवादी प्रकाश बरालले म ४ वर्षदेखि सुपरभाइजर शेरबहादुर थापाको अन्डरमा बसी काम गरी आएको छु । सन्ध्याकालीन काउन्टरमा हामी दुईजनाको डिउटी पर्ने भएकोले सँगै काम गर्ने क्रममा करिब १ महिनाअगाडिदेखि निज शेरबहादुर थापाले १ लाख, २ लाख गरी मलाई दिने गर्दथे र निजले समेत लैजाने गरेका थिए । मैले पटकपटक गरी जम्मा १५ लाख लगेको छु भनी बयान बेहोरा लेखाएको पाइएबाट निज दुवैजनाले आपसमा पोल गर्दै एक अर्काको कसुरलाई पुष्टि गरिदिएको पाइयो । अनुसन्धानको क्रममा भएको सो बयान प्रमाणयोग्य हुन नसक्ने भरलाग्दो अन्य कुनै प्रमाण निज प्रतिवादीहरूले पेस गरी मिसिल संलग्न रहेको पाइएन ।
६. जाहेरवाला हिमालयन बैंकको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको स्थलगत निरीक्षण गरिदिएको प्रतिवेदनमा प्रतिवादीहरूले सो रकम लिएखाएको उल्लेख भएको पाइयो । प्रतिवेदनमा “बैंकको सिस्टममा भएका कमी कमजोरी, आफ्नो कार्यदक्षता, सो शाखामा माथिल्लो तहमा कार्यरत कर्मचारीको कमजोर सुपरिवेक्षण आदिको दुरूपयोग गरी उक्त रकम अपचलन गरेको देखिन्छ” भन्ने उल्लेख भएको
पाइयो । सो प्रतिवेदनमा रहेको बेहोरालाई अन्यथा प्रमाणित गर्ने प्रमाण प्रतिवादीहरूले पेस गर्न सकेको पाइएन । यस अवस्थामा सर्वसाधारणको निक्षेप स्वीकार गरी बैंकिङ व्यवसाय गर्ने बैंकले आफूसमक्ष सङ्कलित हुन आएको रकम कलमको हिसाब किताब दुरूस्त छ वा छैन, आफूले जिम्मा लिएको रकम कहीँकतैबाट हिनामिना भएको छ वा छैन, भनी समुचित सुरक्षाको प्रबन्ध नगरेको कारणबाट निक्षेपकर्ताको रकम जोखिममा पर्ने गरी बैंकको बिगो नै अलपत्र पार्ने गरी प्रतिवादीहरूलाई सफाइ दिन मिल्ने अवस्था देखिएन । तसर्थ, यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिइएको आधार कारणसँग समेत सहमत हुन नसकी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलालाई अन्यथा गरिरहनुपर्ने भएन ।
७. प्रतिवादी प्रकाश बरालले सो निवेदन आफूलाई केन्द्रीय बैंकबाट आएका प्रतिनिधिसमेतले करकाप गरी दिन लगाएकोले दिएको हुँ भनी बयानमा बेहोरा लेखाई यस अदालतसमक्षको पुनरावेदनमा समेत सोही बेहोराको जिकिर लिएको पाइयो । तर केन्द्रीय बैंकबाट आएका प्रतिनिधिसमेतको बैंक व्यवस्थापनको सो कार्य विरूद्ध कहीँकतै उजुरबाजुर गरी कानूनी उपचारको बाटो खोजेको पाइएन । निजको सो बयान र जिकिर अन्य तथ्ययुक्त प्रमाणबाट पुष्टि भएको पनि देखिएन । मिसिल कागजातबाट प्रतिवादी शेरबहादुर थापा मिति २०७०।१।२४ मा पक्राउ परी निजले मिति २०७०।२।२७ मा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइयो भने प्रतिवादी प्रकाश बरालले बैंकको प्रबन्धकलाई सम्बोधन गरी बैंकको आन्तरिक रकम हिनामिनासम्बन्धी रिपोर्टिङ गरी दिएको निवेदन मिति २०७०।१।२२ मा दिएको पाइयो । यसप्रकार प्रतिवादी शेरबहादुरको बयान हुनुभन्दा अगाडि नै दिएको प्रतिवादी प्रकाश बरालको निवेदनको बेहोरा र प्रतिवादी शेरबहादुर थापाले गरेको बयानको बेहोरा एकै किसिमको “बैंकको सन्ध्याकालीन काउन्टरमा दुवैजनाको सँगै डिउटी पर्ने भई दुवैको मिलेमतोमा रू.५९,००,०००।- जति लिएका हौं र रू.१५,००,०००।– प्रतिवादी प्रकाश बरालले, बाँकी प्रतिवादी शेरबहादुरले लिएको हो” भन्ने देखिएबाट प्रतिवादी प्रकाश बरालले बैंकमा दिएको निवेदन कागज करकापबाट दिएको हुँ भन्ने भनाइ पुष्टि हुन सक्ने आधार रहेको पाइएन । करकाप विषयमा अन्त कतै उजुर गरी करकाप प्रमाणित भएको अवस्थासमेत छैन । प्रतिवादी शेरबहादुर थापाले पनि प्रकाश बराललाई १५ लाख रूपैयाँ दिएको अनुसन्धानको बयानमा उल्लेख गरेको र प्रकाश बरालले पनि उक्त रकम आफूले लिएको भन्ने स्वीकार गरी उक्त १५ लाख रूपैयाँ प्रकाश बराललाई दिएकोमा मुख मिलेकै देखियो । मिसिल प्रमाणबाट देखिएको उल्लिखित अवस्थामा प्रतिवादी प्रकाश बरालको आफूले बैंकको कुनै पनि रकम लिएखाएको नहुँदा अभियोग दाबीबाट उन्मुक्ति पाउँ भन्ने र अर्का प्रतिवादी शेरबहादुर थापाको हिमालयन बैंकको सन्ध्याकालीन काउन्टरबाट लिएको बैंकको आन्तरिक रकम रू.४४,२२,६८०।- तर्फको दाबी र सजायबाट उन्मुक्ति पाउँ भन्ने पुनरावेदन जिकिर पुष्टि हुन सक्ने अवस्था देखिएन ।
८. अतः माथि विवेचित आधार, कारण र प्रमाणसमेतबाट प्रतिवादी शेरबहादुर थापाले हिमालयन बैंक लिमिटेडको रू.५९,६८,८४०।- मध्ये प्रतिवादी प्रकाश बरालले लिए खाएको रू.१५,००,०००।- कट्टा गरी बाँकी हुन आउने रू.४४,६८,८४०।- र निक्षेपकर्ता टुँगकुमारी घिमिरेको खाताबाट निकालिएको रू.४४,२२,०००।- समेत जम्मा रू.८८,९०,८४०।- लिए खाएको देखिन आई निजले आरोपित कसुर गरेको देखिँदा निजबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२)(ग) बमोजिम सो बैंकलाई रू.४४,६८,८४०।- र टुँगकुमारी घिमिरेलाई रू.४४,२२,०००।- बिगो भराई निजलाई दुवै बिगोबमोजिम रू.८८,९०,८४०।- जरिवाना र दुई वर्ष कैद हुने र अर्का प्रतिवादी प्रकाश बरालबाट बैंकको बिगो रू.१५,००,०००।- ऐ. ऐनको दफा १५(२)(ख) बमोजिम हिमालयन बैंक लिमिटेडलाई भराई निजलाई बिगोबमोजिम रू.१५,००,०००/- जरिवाना र एक वर्ष कैद हुने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०७१/०८/९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरू वादी नेपाल सरकार तथा प्रतिवादीहरू शेरबहादुर थापा र प्रकाश बराल दुवैजनाको पुनरावेदन जिकिर पुग्न सक्तैन । कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेका प्रतिवादी प्रकाश बराल मिति २०७०।१२।११ गतेबाट साधारण तारेखमा रहेको तथा प्रतिवादी शेरबहादुर थापा मिति २०७६।१।२४ गतेबाट थुनामुक्त भइसकेको मिसिल प्रमाणबाट देखिएको हुँदा सोतर्फ केही गरिरहनु परेन । प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गर्नू । प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृत:- फणेश्वरी घिमिरे
इति संवत् २०७७ साल पुष १३ गते रोज २ शुभम् ।