शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२७२ - अंश चलन

भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११

निर्णय नं. ८२७२         फागुन, २०६६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०६४ सालको दे.पु.नं. (०६५CI) ०३४४

फैसला मितिः २०६६।७।४।४

 

मुद्दा :–  अँश चलन ।

 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ बस्ने टेकबहादुर     थापा समेत

विरुद्ध

विपक्षी वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ डेरा गरी बस्ने इन्दिरा थापा          अधिकारी लेखाएको इन्दिरा अधिकारी

 

शुरु फैसला गर्ने

मा.जि.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री लक्ष्मणमणी रिसाल

मा.न्या. श्री शम्भुबहादुर खड्का

 

§  नातामा विवाद भई अन्य सम्वद्ध सबूद प्रमाणबाट सो विवादका वारेमा निष्कर्षमा पुग्न नसकिने भएमा DNA जस्तो अत्याधुनिक वैज्ञानिक परीक्षण गराई निष्कर्षमा पुग्नुलाई अस्वाभाविक मान्न सकिदैन तर अन्य प्रमाणबाट नातासम्बन्धी विवाद कायम रहेको नदेखिएमा सो परीक्षणको औचित्य अकाट्य रुपमा हुनुपर्दछ भन्न नमिल्ने ।

§  माना चामल मुद्दामा पुनरावेदन अदालतबाट भएको फैसलालाई स्वीकारी पुनरावेदन समेत नगरी वसेको अवस्थामा एकपटक आफुले विपक्षीलाई स्वास्नी लगायतको नाताकी मानिस हुन् भनी स्वीकार गरी वसेको कुरामा माना चामल मुद्दामा भएको अन्तिम फैसलालाई प्रत्यक्षतः प्रभावित हुने गरी DNA परीक्षण गराउने आदेश गर्न न्यायोचित देखिन नआउने।

§  माना चामल मुद्दामा भएको फैसलालाई स्वीकार गरेको अवस्थामा DNA परीक्षणको औचित्य नै कायम नरही समाप्त भएको तथा अन्य वस्तुगत प्रमाणबाट नातासम्बन्धी विवाद कायमै रहिरहेको अवस्थामा वा पेश भएका सबूद प्रमाण शंकास्पद रही नातासम्बन्धी विवादलाई टुंगोमा पुर्‍याउन सहयोग नगर्ने प्रकृतिका देखिएको अवस्थामा मात्र DNA परीक्षण गराई निष्कर्षमा पुग्न सकिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता सुकदेव काफ्ले

विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रमेशराज सिग्देल र श्री शान्तिराम खतिवडा

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  अ.वं. ८० नं.

 

फैसला

न्या. प्रेम शर्माः पुनरावेदन अदालत पाटनको फैसला उपर प्रतिवादीहरूको तर्फबाट परेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

विपक्षीमध्येका टेकबहादुर थापा मेरो पति, बालकुमारी थापा सासू, शारदा थापा सौता, धनबहादुर थापा, बाबुराम थापा, मदन थापा ३ भाई मेरो देवर हुनुहुन्छ । पति टेकबहादुर थापासँग मेरो २०५६ साल जेष्ठ महिनामा मनकामना मन्दिरमा प्रेम विवाह भएको थियो । सो वेला निज पति दुग्ध विकास संस्थानमा महाप्रवन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । विपक्ष पतिको बीर्य र मेरो गर्भबाट २०५७।३।२२ मा छोरा मोहन विक्रम थापाको जायजन्म भएको छ । विवाह भए पश्चात सँगोलमा मिली वसी आएका थियौं । त्यस्तै अवस्थामा सँगै रहदावस्दा विपक्ष सौता शारदाले लोग्नेलाई हुँदै नभएको कुरा लगाई मसँग फाटो वनाउने प्रयास गर्दथिन तर लोग्नेले त्यसतर्फ ध्यान नदिई मेलमिलाप गरी रही आएका थियौं । केही समय यता आएर विपक्ष पतिले जेठी श्रीमतीको कुरा सुनेर म सँग निहुँ खोज्न, कुटपीट गर्ने कार्य गर्न थाल्नु भयो । मिति २०५८।२।४ गते विपक्ष पति, सौता, सासू समेतले मलाई कुटपीट गरी खान समेत नदिई नावालक छोरा र म समेतलाई घरबाट निकाला गरी अँश माग्दा अँश दिन समेत इन्कार गरेको हुँदा अँशबण्डाको २०, २१, २२, २३ र २४ नं. बमोजिम फिराद दायर भएको मितिलाई मानो छुट्टिएको मिति कायम गरी ५ भागमध्ये टेकबहादुरको एक भागबाट २ भाग अँश छुट्याई चलन समेत चलाइ पाऊँ भन्ने फिराद दावी ।

टेकबहादुर थापाले वादीलाई सौता वनाई ल्याएको जानकारी समेत दिनु भएको थिएन । विपक्ष इन्दिरासँग मेरो कहि कतै चिनजान देखाभेट समेत भएको छैन । २०५८ सालदेखि विपक्षले मेरो घरमा फोन गर्ने, अपशब्द प्रयोग गरी डरधाक धम्की दिदै आएकी थिइन् । छोरा टेकबहादुर थापाको शारदा थापासँग विवाह वन्धन भै छोरा १ छोरी १ जायजन्म भै सकेको  छ । म वालकुमारी उक्त परिवारमा सन्तुष्ट छु । वादीले पटक पटक फोनबाट अपशब्द प्रयोग गरी विभिन्न किसिमका गाली गलौज धम्की दिई प्रहरी समेत लगाई पक्राउ गर्न पठाउने कार्य गर्दा मात्र यी विपक्षको नाम सुनेको हुँ । विपक्ष वादीलाई विवाह गरी घरमा स्वास्नी वनाई ल्याई छोराको जायजन्म भएको हामीले नदेखेको हुँदा निराधार मिथ्या कुरालाई भूमिका बनाई हामीहरूको पहिलादेखि लोग्ने स्वास्नीबीच कायम रहँदै आएको वैवाहिक जीवनमा आँच आउने गरी अर्काको लोग्नेलाई लोग्ने कायम गराई छाड्ने दृढता लिई छोराको जायजन्म समेत भएको भनी माग दावी लिएको हुँदा विपक्षलाई अँश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी शारदा थापा प्रतिवादी बालकुमारी थापा समेतको संयुक्त प्रतिउत्तर पत्र ।

म दुग्ध विकास संस्थानमा महाप्रवन्धक पदमा कार्यरत हुँदा यी वादी कामको सिलसिलामा कहिले काहि काम विशेषले आउने जाने गर्दथिन् । त्यसवेला सामान्य चिनजान मात्र थियो । केही समय पछि मेरो महाप्रवन्धकको पदावधि सकिएपछि यी विपक्ष र मेरो भेटघाट समेत भएको थिएन । म मेरी श्रीमती शारदा थापा समेतका परिवार शान्तिपूर्वक वसोवास गर्दै आएको, २०५८ सालदेखि विपक्षीले घरमा फोन गर्ने अपशब्द प्रयोग गरी डरधाक धम्की दिदै आएकीमा मैले पुनरावेदन अदालतमा प्रतिरक्षाको निवेदन समेत दिएको थिए । म र मेरो श्रीमती शारदा थापासँगको दाम्पत्य जीवन माथि समेत आँच आउने गरी विवाह गरी घरमा ल्याई राखेको र नमालुमको कोसँगको सम्बन्धबाट जायजन्म भएको कसको छोरालाई मबाट जायजन्म भएको भन्ने जस्ता मनगढन्ते कुरा लिई अदालतमा आउँदैमा कसैको लोग्ने स्वास्नी जस्तो सम्वेदनशील सम्बन्ध कायम हुन नसक्ने हुँदा विपक्षीको झूठा दावीबाट फुर्सद गरी मेरो प्रतिउत्तर जिकीर बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर थापाको प्रतिउत्तर जिकीर ।

विपक्ष पति टेक वहादुले मलाई जबरजस्ती केवुलकारबाट मनकामना मन्दिर लगी सो दिन लजमा वसी २०५६।२।२ गते सोही मन्दिरमा विवाह गर्न प्रस्ताव गर्नु भएअनुसार हाम्रो विवाह भएको हो । विवाह भएपछि हामी काठमाडौं आई म आफ्नो कोठामा वसे । त्यसपछि समेत होटल लजमा हाम्रो शारिरिक सम्पर्क भै रहन्थ्यो । उहाँको र मेरो सम्पर्कबाट छोरा समेत जन्मिई का.म.न.पा. वत्तिसपुतलीमा मिठुराणाको घरमा डेरा गरी वसेकी थिएँ । पति नेपालमा नभएकोले सासूले मेरो छोराको न्वारन गर्नु भएको हो भन्ने समेत व्यहोराको वादी इन्दिरा थापाले नाता सम्बन्धमा गरेको बयान ।

२०५८ साल श्रावणको पहिलो हप्तादेखि विपक्षीले घरमा डरधाक धम्की दिने किसिमको फोन गर्दा मात्र विपक्षको नाम सुनेको हो । सोभन्दा अघि यी वादीलाई कहिले कहिँ कतै नदेखेको, सामान्य चिनजानसम्म मात्र भएको अवस्थामा विपक्षलाई विवाह गरी घरमा ल्याई छोरा जायजन्म भएको भनी विपक्षीले गरेको बयान झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी वा सञ्जय केसीले गरेको बयान ।

वादी इन्दिरा थापा र प्रतिवादी टेकबहादुर थापा पति पत्नी हुन् । मोहन विक्रम थापा एक छोरा निजहरूबाट जायजन्म भएको हो । वादी इन्दिरा डेरा गरी वसेकोले प्रतिवादी टेकबहादुर थापाको आवतजावत भै रहन्थ्यो । वादी इन्दिराले प्रतिवादी टेकबहादुर थापाबाट अँश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीका साक्षी माधव लुईटेल, ज्योती कार्की समेतको एकै मिलानको वकपत्र ।

वादी ईन्दिरा अधिकारी प्रतिवादी टेकबहादुर थापाको श्रीमती होइनन् । निजहरूले विवाह गरेको छैनन् । निजहरू बीच कुनै किसिमको नाता सम्बन्ध छैन । टेकबहादुरको घरमा वसेको देखेको छैन । निजहरू बीच नाता कायम हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी मञ्जू थापा, सुशीला अर्याल समेतले गरेको बकपत्र ।

प्रतिवादी टेकबहादुर समेत हामी ५ अँशियार छौं । हामीबीच अँशबण्डा २०३१, ०३२ सालतिर भएको हो । आआफ्नो खति उपति व्यहोरी खाई आएका छौं । वावुको जीउ छंदै सवैबीच अँशबण्डा भएको हो । टेकबहादुरसँग हाम्रो कुनै अँश लिनु दिनु छैन भनी अ. वं. १३९ नं. बमोजिम वुझिएका धनबहादुर थापाले गरेको बयान ।

वादी इन्दिरा थापालाई मैले चिन्दिन । टेकबहादुर थापा मेरो माईलो दाजु हुन् । हामी ५ अँशियार छौं । २०३१०३२ सालतिर घरसारमा बण्डा भएको हो । आमा समेत छ अँशियार छौं हामी अँशियारमा आआफ्नो खति उपति व्यहोरी खाएका छौं भनी अ.नं. १३९ नं. बमोजिम वुझिएका वावुराम थापाले गरेको बयान ।

मेरो वुवा टेकबहादुर थापा, आमा शारदा थापा, दाजु जोहेव थापा र म छोरी अनुश्री थापा समेत ४ अँशियार छौं । मेरो पिताको ६ जना दाजुभाइ र आमा एक समेत अलगअलग वसेका छन् । मेरो परिवारमा सँगोलमा हामी ४ जना छौ भनी अ. वं. १३९ नं. बमोजिम वुझिएकी अनुश्री थापाले गरेको बयान ।

मेरो वावु टेकबहादुर थापा हुन् । आमा शारदा थापा हुन् । मेरो वहिनी अनुश्री थापा समेत हामी ४ अंशियार छौं । यी वादी ईन्दिरा थापाको वारेमा मलाई केही थाहा छैन मेरो वावुको ६ जना दाजुभाइ सवै अलग अलग वसी आएका छन्, मैले अँश पाएको छैन । मेरो पिताको ४ परिवार छौं मैले अँश पाउनु पर्छ भनी अ. वं. १३९ नं. बमोजिम वुझिएका जोहेव थापाले गरेको बयान ।

बण्डा दिनुपर्ने अशियारकै नाउँमा दर्ता भई नसकेको र घर व्यवहारबाट अरु छुट्टिभिन्न वसेका अँशियार नाताका व्यक्ति समेत रहेको अवस्थामा तायदातीमा उल्लेख भएदेखि वाहेकका अरु सम्पत्ति हाल बण्डा गर्न मिलेन । तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई २ भाग लगाई सोमध्ये १ भाग टेकबहादुर थापाको छुट्याई सो १ भागलाई ६ भाग लगाई सोमध्ये २ भाग वादीहरूले अँश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत शुरु जिल्ला अदालतको फैसला ।

अँशियारहरूमा ससुराको पहिल्यै परलोक भएको, देवरहरू पहिल्यै छुट्टी वसेका भन्ने तथ्यलाई साँचो मानी बाँकी २ अँशियार मेरा पति तथा सासू मात्र मूल सँगोलका अँशियार मानिए पछि परलोक भएका ससुराको नामको पैत्रिक सम्पत्ति स्वतः सासू तथा मेरा पतिका नाममा आउने भई सोबाट हामी अँशियारहरूले अँश पाउने गरी ठहर गर्नुपर्नेमा पैतृक तथा बण्डा लाग्ने सम्पत्तिको विश्लेषण नगरी भएको फैसला मिलेको छैन । ससुराको नामको जग्गा समेतबाट हामीले अँश पाउने ठहर नगरेको हदसम्मको फैसला त्रुटि भई बदरभागी छ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

सँगै खिचेको भनी पेश भएको फोटोले विपक्षी र म टेकबहादुरबीच विवाह भएको वा भै रहेको भन्ने कुनै पनि कुरा पुष्टि गर्न सक्दैन । मैले शारदा थापासँग वैवाहिक सम्बन्ध गासी उनी वाहेक अरु कुनै पनि परस्त्रीसँग शारीरिक सम्बन्ध राखेको समेत छैन । यस्तो अवस्थामा मैले डी.एन.ए. टेष्ट समेत गराई पाऊँ भनी माग गरेतर्फ वास्तै नगरी भएको फैसला त्रुटिपूर्ण छ । साथै वच्चा जन्माउँदा हस्पिटलमा लेखिएको टि. वि. थापा भन्ने व्यक्ति म नै हुँ भन्ने पुष्टि नभएकोमा अँशबण्डाको १८ नं. तथा स्त्री अँशधनको १ नं. बमोजिम आफूखुसी गर्न पाउने निजी आर्जनको सम्पत्ति समेत बण्डा लाग्ने ठहर गरी भएको शुरु फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरिपाऊँ भन्ने समेतको प्रतिवादीको पुनरावेदन पत्र ।

जिल्ला अदालतको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिदा दुवै पक्षको पुनरावेदन एक अर्का पक्षलाई परस्पर सुनाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

यसमा, प्रतिवादी टेकबहादुर थापातर्फ ६ जना अँशियार देखिएकोले मूल अँशियार टेकबहादुर थापा र वालकुमारीको दुई भाग लगाई सोमध्ये १ भाग टेकबहादुर थापाको छुट्याई सो १ भागलाई ६ भाग लगाई सो मध्ये २ भाग अंश वादीहरूले छुट्याई लिन पाउने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।

सँगै खिचिएका फोटाहरूको आधारमा मात्र लोग्ने स्वास्नी हुन् भनी ठहर गर्न मिल्दैन । वादी इन्दिरा म टेकबहादुरको चिनजानकी मानिस हुँदा सँगै वसी फोटाहरू खिच्नु अस्वाभाविक हुन सक्दैन । त्यसमा पनि पेश भएका फोटाहरूबाट हाम्रो विवाह नै भएको थियो भनी प्रमाणित हुन सक्दैन । त्यसैगरी अस्पतालमा जन्मिएको नवजात शिशुको पिताको नाम T.B. थापा लेखिएकै भरमा T.B. थापाको पुरा नाम के हो ? अस्पतालमा डेलिभरी गर्न सो नाम गरेको व्यक्ति गएको थियो थिएन भन्ने जस्ता प्रश्नको निष्कर्षमा नपुगी नवजात शिशुको वावु म टेकबहादुर थापा नै हो भनी हचुवाको भरमा निष्कर्षमा पुगिएबाट म अन्यायमा परेको छु । नाता जस्तो गम्भीर बिषयमा DNA लगायतको परीक्षणबाट सत्य तथ्य पत्ता लगाई यकीन हुनुपर्नेमा कुनै वैज्ञानिक परीक्षणविना अनुमानको आधारमा भएको फैसला त्रुटिपूर्ण छ । त्यसका अलावा वादीले २०५६ सालमा विवाह भएको दावी लिएकोमा २०५७ सालमा निजले जग्गा खरीद गर्दा पतिको नाम उल्लेख नगरी माइती तर्फको तीनपुस्ते उल्लेख गरेबाट वादीले म सँग विवाह भएको भनी लिएको दावी नै झूठा भएको पुष्टि भैरहेको छ ।

त्यसका साथै का.जि.का.म.न.पा. वडा नं. ९ मा रहेको घर जग्गा म शारदा थापाको निजी आर्जनको भई अंशबण्डाको १८ नं. र स्त्री अँशधनको १ नं. ले बण्डा नलाग्नेमा सो सम्पत्ति समेत बण्डा लगाउने ठहराएको पुनरावेदन अदालतको  फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको तर्फबाट परेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन ।

यसमा निवेदक र विपक्षी केवलसँगै वसेको भनेको फोटो र नवजात शिशुको जन्म दर्ता प्रमाणपत्रमा बाबुको नाम T.B. Thapa भन्ने लेखेको आधार लिई DNA Test गराई पाऊँ भनी जिकीर लिंदा लिंदै सो कुरालाई वेवास्ता गरी नाता कायम गराई अँश समेत पाउने ठहराएको पुनरावेदन अदालत पाटनको  फैसला अ. वं. १८४, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको प्रमाणको मूल्याङ्कन र व्याख्यात्मक त्रुटि देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा    १२(१) को खण्ड (क) बमोजिम मुद्दा  दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।९।१८ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुकदेव काफ्लेले वादीसँग यी टेकबहादुरको सामान्य चिनजान मात्र भएको हो । यसै क्रममा खिचिएका फोटाहरू पेश गरेकै आधारमा विवाह भएको हो भनी निष्कर्षमा पुग्न सकिदैन । वच्चाको जन्म दर्ता प्रमाणमा लेखिएको T.B. Thapa भन्ने व्यक्ति यी टेकबहादुर हुन् होइनन् भन्ने सम्बन्धमा वच्चा र टेकबहादुरको DNA परीक्षण गराई नातासम्बन्धी कुरामा निष्कर्षमा पुग्नु पर्नेमा सो केही नगरी वादीले प्रतिवादीहरूबाट अँश पाउने ठहराई भएको  फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भनी बहस गर्नुभयो भने विपक्षीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता रमेशराज सिग्देल र शान्तिराम खतिवडाले पुनरावेदक टेकबहादुरसँग वादी इन्दिरा थापाको २०५६ सालमा मनकामना मन्दिरमा प्रेम विवाह भएको तथ्य पेश भएको फोटो समेतको प्रमाणबाट पुष्टि भएको छ । त्यसका अतिरिक्त यिनै पक्षहरू बीच चलेको माना चामल मुद्दाबाट लोग्ने स्वास्नी भन्ने तथ्य ठहर भै उक्त मुद्दा अन्तिम भै सकेबाट प्रस्तुत मुद्दामा नाता तर्फ विवाद रही रहेको मान्न नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अँश पाउने ठहर गरी भएको पुनरावेदन अदालत पाटनको  फैसला सदर गरिपाऊँ भनी गर्नु भएको बहस सुनी मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी पुनरावेदन अदालत पाटनबाट भएको  फैसला मिले नमिलेको के रहेछ ? भनी निर्णय गर्नुपर्ने देखियो ।

२.    निर्णयतर्फ विचार गर्दा, यी पुनरावेदक प्रतिवादीहरूले प्रत्यर्थी वादीलाई आफ्नो अँशियार नाताका व्यक्ति होइनन् भनी नातातर्फ नै विवाद सिर्जना गरेको पाइन्छ । सोतर्फ विचार गर्दा विवाहको पुष्ट्याई गर्न मनकामना मन्दिरमा वादी इन्दिरा र प्रतिवादी टेकबहादुरले सँगै रहेका फोटोहरू पेश भएको देखिन्छ भने मोडेल अस्पताल काठमाडौंमा छोरा मोहन विक्रम थापा जन्मदाको Birth Certificate मा इन्दिरा थापाको पतिको नाम T.B. थापा भन्ने उल्लेख भएको देखिन आउँछ । साथै यिनै पक्ष विपक्षबीच चलेको संवत् २०६३ सालको दे.पु.नं. १२, १३ को माना चामल मुद्दामा पुनरावेदन अदालत पाटनबाट २०६३।५।२७।३ मा भएको फैसलाबाट यी पुनरावेदक टेकबहादुर थापा र विपक्षी इन्दिरा थापा लोग्ने स्वास्नी नाताको प्रमाणित भई टेकबहादुरबाट इन्दिरा थापाले माना चामल भराई लिन पाउने ठहरी भएको फैसलामा दुवै पक्षले स्वीकार गरी वसेको तथ्यले शंकारहीत रुपमा नाताको विवाद अन्त गरेको देखिन आउँछ ।

३.    उल्लिखित तथ्यगत आधार एका तर्फ विद्यमान देखिन्छ भने अर्को तर्फ प्रस्तुत मुद्दामा यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्दा DNA Test को अभावमा नाता कायम हुने ठहराएको फैसला नमिलेको भन्ने आधारमा निस्सा प्रदान भएको भन्ने देखिन आयो । नातामा विवाद भई अन्य सम्वद्ध सबूद प्रमाणबाट सो विवादका वारेमा निष्कर्षमा पुग्न नसकिने भएमा DNA जस्तो अत्याधुनिक वैज्ञानिक परीक्षण गराई निष्कर्षमा पुग्नुलाई अस्वाभाविक मान्न सकिदैन तर अन्य प्रमाणबाट नातासम्बन्धी विवाद कायम रहेको नदेखिएमा सो परीक्षणको औचित्य अकाट्य रुपमा हुनुपर्दछ भन्न मिल्दैन । यहाँ यिनै पक्षहरू बीच चलेको माना चामल मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसलाले वादी टेकबहादुर र प्रतिवादी इन्दिरा लोग्नेस्वास्नी नाताको कायम भई यी वादीले प्रतिवादीबाट माना चामल भराई पाउने गरी भएको फैसला अन्तिम भएको अवस्थामा अव मागबमोजिम DNA लगायतको परीक्षण गरी सो परीक्षणबाट वादी प्रतिवादी लोग्नेस्वास्नी नाताको पर्ने तथ्यगत आधारभन्दा भिन्न प्रकृतिको परीक्षण प्रतिवेदन प्राप्त भएको अवस्थामा उक्त माना चामल मुद्दामा भएको अन्तिम फैसलालाई प्रभाव नपर्ने तथ्यमा विवाद गरी रहनु आवश्यक हुँदैन । उक्त माना चामल मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसलालाई स्वीकारी यी प्रतिवादीले पुनरावेदन समेत नगरी वसेको अवस्थामा एकपटक आफुले विपक्षी इन्दिरालाई स्वास्नी लगायतको नाताकी मानिस हुन् भनी स्वीकार गरी वसेको कुरामा माना चामल मुद्दामा भएको अन्तिम फैसलालाई प्रत्यक्षतः प्रभावित हुने गरी DNA परीक्षण गराउने आदेश गर्न न्यायोचित देखिन आउदैन । तसर्थ माना चामल मुद्दामा भएको फैसलालाई स्वीकार गरेको अवस्थामा DNA परीक्षणको औचित्य नै कायम नरही समाप्त भएको देखिन्छ । त्यसका अलावा अन्य वस्तुगत प्रमाणबाट नातासम्बन्धी विवाद कायमै रही रहेको अवस्थामा वा पेश भएका सबूद प्रमाण शंकास्पद रही नातासम्बन्धी विवादलाई टुंगोमा पुर्‍याउन सहयोग नगर्ने प्रकृतिका देखिएको अवस्थामा DNA परीक्षण गराई निष्कर्षमा पुग्न सकिने हुन्छ । तर प्रस्तुत विवादमा वादीले नातातर्फ अ.वं. ८० नं. बमोजिम गरेको वयान, नावालक मोहनविक्रम थापाको जन्म दर्ताको प्रमाणपत्रमा इन्दिरा थापाको लोग्नेको नाम T.B. Thapa उल्लेख हुनु, पेश भएका फोटोबाट प्रतिवादी टेकबहादुर र वादी सँगै देखिनु निजकी आमासँग वादी इन्दिरा र नावालक वच्चा देखिनुका साथै माना चामल मुद्दामा भएको अन्तिम फैसलाबाट विपक्षी वादी इन्दिरा टेकबहादुर थापाकी श्रीमती तथा नावालक मोहन विक्रम थापा निजको छोरा नाताको भन्ने तथ्य विवादरहित रुपमा प्रमाणित भएको देखिन्छ । यस्तो अवस्थामा नाताका सम्बन्धमा थप प्रमाण बुझ्नुको कुनै औचित्य रहदैन । माथि उल्लिखित आधार कारणको विश्लेषण तथा वस्तुनिष्ठ प्रमाणको अभावमा प्रतिवादी टेकबहादुरको हकको सम्पत्तिबाट ६ भागको २ भाग अँश पाउने ठहराई भएको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।२७ को फैसलालाई अन्यथा गरिरहनु नपर्ने अवस्थाको विद्यमानता नदेखिँदा यस अदालतबाट निस्सा प्रदान गर्दा लिइएका आधार कारणसँग यो इजलास सहमत हुन सकेन । अतः पुनरावेदन अदालत पाटनबाट भएको फैसला मनासिव नै हुँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई  दिनू ।

           

उक्त रायमा सहमत छु ।

 

न्या.भरतराज उप्रेती

 

इति संवत् २०६६ साल कात्तिक ४ गते रोज ४ शुभम्

इजलास अधिकृतः रमेशप्रसाद ज्ञवाली

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु