शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६९० - वैदेशिक रोजगार कसुर

भाग: ६३ साल: २०७८ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री कुमार रेग्मी 

फैसला मिति : २०७७।९।१५

०७४-CR-०९९८

 

मुद्दा:- वैदेशिक रोजगार कसुर

 

पुनरावेदक / वादी : मनोजकुमार राना मगरको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, टिकाथली गा.वि.स. वडा नं.१ बस्ने सन्तोष महर्जन

 

वैदेशिक रोजगार ठगी जस्तो मुद्दामा, लिखत, भौचर र अन्य कागजातहरू जस्ता भौतिक एवं स्वतन्त्र प्रमाण र सोका परीक्षणले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा केवल सहप्रतिवादीले पोल गरेकै आधारमा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय अध्यक्ष श्री रेवन्तबहादुर कुँवर 

सदस्य श्री कृष्णजीवी घिमिरे

सदस्य श्री देवेन्द्रराज ढकाल

वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं

 

फैसला

न्या.तेजबहादुर के.सी.: वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- 

तथ्य खण्ड

प्रतिवादी रामचन्द्र पुडासैनीले मलाई वैदेशिक रोजगारीको लागि कम्बोडियाको क्यासिनोमा यु.एस. डलर १०००।- पारिश्रमिक हुने गरी पठाई दिउँला भनी विश्वास तथा प्रलोभनमा पारी विभिन्न मितिमा जम्मा रू.२,८०,०००।- बुझिलिएकोमा भनेबमोजिमको वैदेशिक रोजगारमा पठाउन नसकी मबाट बुझिलिएको रकम मिति २०७०।१।२१ गतेभित्र फिर्ता बुझाउने छु भनी मिति २०६९।११।२० गते लिखत कागजसमेत गरी भाखाभित्र रकम नदिई आलटाल गरी लिएको रकम फिर्ता नगरेको हुनाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम कारबाही गरी बिगो र हर्जानासमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मनोजकुमार राना मगरको मिति २०७१।५।२४ मा वैदेशिक रोजगार विभागमा परेको जाहेरी दरखास्त ।

प्रतिवादी रामचन्द्र पुडासैनीले जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारमा कम्बोडिया मुलुकमा पठाइदिन्छु भनी रू.२,८०,०००।- रकम बुझिलिई यी प्रतिवादीले मिति २०६९।११।२० मा गरिदिएको लिखत कागज खामबन्दी थान-१ ।

मैले निज जाहेरवालालाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिने सम्बन्धमा टिकाथली बस्ने सन्तोष महर्जनले मानिस भए ल्याउनु भनेकोले मेरो सम्पर्कमा आएका जाहेरवाला मनोजकुमार राना मगरलाई निज सन्तोष महर्जनसँग भेट गराई कुराकानी भई निज जाहेरवालासँग सोबापत लाग्ने रू.२,००,०००।- लिई सन्तोष महर्जनको इन्भेष्टमेन्ट बैंकको खातामा हालिदिएको भौचर खोजी गरी भेटेमा पेस गर्ने छु । सन्तोष महर्जनले भनेबमोजिम जाहेरवालालाई कम्बोडिया नपठाई दिएकोले जाहेरवालाले तपाइँले भनेर मैले रकम दिएको हुनाले तपाइँले नै मलाई रकम फिर्ता गर्नुपर्छ भनी विवाद गरेको हुँदा मैले उक्त रकम लिएको भनी लिखत कागज गरिदिएको हो । लिखत कागजमा भएको सहीछाप मेरै हो, मैले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र पुडासैनीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

प्रतिवादी रामचन्द्र पुडासैनीले जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारका लागि कम्बोडिया मुलुकमा पठाइदिन्छु भनी जाहेरवाला मनोजकुमार राना मगरसँग रू.२,८०,०००।- लिई मिति २०६९।११।२० मा गरेको कागजमा भएको सहि मेरो हो । म उक्त कागज गर्दा साक्षी बसेको हुँ । उक्त कागजमा वैदेशिक रोजगारका लागि कम्बोडिया मुलुकमा पठाउने प्रयोजनको लागि रामचन्द्र पुडासैनीले उक्त रकम लिएको कुरा साँचो हो । सो कागज जबरजस्ती गराएको होइन प्रतिवादी रामचन्द्र पुडासैनीले उक्त कागज राजीखुसीले गरेको हो भन्नेसमेत बेहोराको लिखत कागजको साक्षी ललितबहादुर क्याप्छाकीले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज । 

प्रतिवादी रामचन्द्र पुडासैनी र सन्तोष महर्जनले वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत अनुमति नलिई जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी झुट्ठा आश्वासन र प्रलोभनमा पारी जम्मा रू.२,८०,०००।- लिई भनेबमोजिमको मुलुकमा पठाउन नसकेको प्रतिवादीहरूको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध भए गरेको देखिँदा निज प्रतिवादीहरू रामचन्द्र पुडासैनी र सन्तोष महर्जनलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालाको बिगो रू.२,८०,०००।- (दुई लाख असी हजार) र सोको ५० प्रतिशतले हुने हर्जाना रकम रू.१,४०,०००।- (एक लाख चालिस हजार) समेत जम्मा रू.४,२०,०००।- (चार लाख बिस हजार) यी प्रतिवादीहरूबाट जाहेरवाला मनोजकुमार राना मगरलाई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।

जाहेरी बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । मैले जाहेरवालालाई वैदेशिक रोजगारको लागि पठाइदिन्छु भनी रकम लिएको होइन । मैले जाहेरवालालाई सन्तोष महर्जनसँग चिनजान गराई दिएको हो । कारोबार सन्तोष महर्जन र जाहेरवालाबिच नै भएकोमा सन्तोष महर्जन सम्पर्कविहीन भएपछि जाहेरवालाले मलाई यो झुट्टा उजुरी दिएका हुन् । लिखत कागज जबरजस्ती गराएको हो । मैले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति लिएको छैन । मैले अभियोग माग दाबीबमोजिमको कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र पुडासैनीले वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंमा (यसपछि न्यायाधिकरण भनिएको) गरेको बयान ।

तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी रामचन्द्र पुडासैनीले आरोपित कसुर गरेको रहेछ भनी विश्वास गर्ने मनासिब आधारहरू विद्यमान देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुद्दाको पुर्पक्षको लागि मुलुकी ऐन अ.बं.११८ नं. को देहाय ५ एवं १० बमोजिम प्रतिवादी रामचन्द्र पुडासैनीबाट नगद धरौट रू.२,८०,०००।- वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्‍नु, दिन नसके कानूनबमोजिमको सिधा खान पाउने गरी अ.बं.१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्‍न पठाइदिनु भन्ने न्यायाधिकरणको मिति २०७१।७।५ को आदेश ।

प्रतिवादीमध्ये सन्तोष महर्जनका नाममा यस न्यायाधिकरणबाट जारी भएको समाह्वान मिति २०७१।१०।१५ गते रीतपूर्वक तामेल भएकोमा निज म्यादभित्र हाजिर नभई म्यादै गुजारी बसेको ।

जाहेरवाला मनोजकुमार राना मगरलाई प्रतिवादी रामचन्द्र पुडासैनीले विदेश पठाउने भनी रकम लिएको नभई सन्तोष महर्जनले आफ्नो व्यापार व्यवसाय गर्नको लागि रकम चाहियो भनी प्रतिवादी रामचन्द्र पुडासैनीलाई ब्याजमा पैसा दिने कोही मानिस भए भेटाइदिनुहोस् भनेको हुँदा जाहेरवाला मनोजकुमार राना मगर र निजका साथी दुर्गबहादुर रानामगरसँग चिनजान मात्र गराएको हो । सन्तोष महर्जनले समयमा पैसा फिर्ता नगरेपछि जाहेरवालाले प्रतिवादी रामचन्द्र पुडासैनीलाई तिमीले चिनाएको व्यक्तिले रकम लिएको हुँदा लेनदेनको कागज गरिदेउ भनी कागज गराएका थिए तर कागजको बेहोरा वैदेशिक रोजगारसम्बन्धी रहेछ । प्रतिवादी रामचन्द्र पुडासैनी वैदेशिक रोजगारीसम्बन्धी कुनै कार्यमा संलग्न नहुँदा प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र पुडासैनीका साक्षी भिमबहादुर बल तामाङले न्यायाधिकरणमा गरेको बकपत्र ।

मैले प्रतिवादी रामचन्द्र पुडासैनीलाई उपचार गर्नको लागि रू.२,८०,०००।- (दुई लाख असी हजार) सापटी स्वरूप दिएको हुँ र हाल उक्त सम्पूर्ण रकम फिर्ता पाइसकेको छु । रकम वैदेशिक रोजगारीको लागि भनी दिएको होइन । रकम उठाउन सजिलो हुन्छ भनी वैदेशिक रोजगारको कागज गराएको हो । अभियोग मागदाबी झुट्टा हो, अर्का प्रतिवादी सन्तोष महर्जनलाई चिनेको छैन । प्रतिवादीले अभियोग माग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको जाहेरवाला मनोजकुमार राना मगरले न्यायाधिकरणमा गरेको बकपत्र ।

अभियोग माग दाबीबमोजिम प्रतिवादीमध्ये रामचन्द्र पुडासैनीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिमको कसुर गरेको पुष्टि भएकोले निजलाई सोही ऐनको दफा ४३ बमोजिम १।६।० (एक वर्ष छ महिना) कैद र रू.१,५०,०००।- (एक लाख पचास हजार) जरिवाना हुने ठहर्‍याई अर्का प्रतिवादी सन्तोष महर्जनको अभियोग दाबी प्रमाणित हुन नसकेकाले निजले अभियोग दाबीबाट सफाइ पाउने र जाहेरवाला मनोजकुमार राना मगरले प्रतिवादीबाट लिनुपर्ने रकम पाइसकेको भनी न्यायाधिकरणको बकपत्रमा उल्लेख गरेको देखिँदा बिगो र हर्जाना भराइपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर गरी वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट मिति २०७३।१२।७ मा भएको फैसला ।

प्रतिवादी सन्तोष महर्जनउपर किटानी जाहेरी नपरे तापनि कसुर ठहर भएका प्रतिवादी रामचन्द्र पुडासैनीले अनुसन्धानको क्रममा बयान गर्दा जाहेरवालालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने सम्बन्धमा टिकाथली बस्ने सन्तोष महर्जनले मानिस भए ल्याउनु भनी भनेकोले जाहेरवालालाई सन्तोष महर्जनसँग भेट गराई दिएको हो । जाहेरवालासँग रकम लिई सन्तोष महर्जनको खातामा हालिदिएको हो भनी आफू कसुरमा साबित रही, सहअभियुक्तलाई समेत पोल गरेको अवस्था छ । प्रतिवादी रामचन्द्र पुडासैनीले न्यायाधिकरणमा मौकाको अनुसन्धानको बयान मैले भन्नेबमोजिम लेखिएको हो, बयानको शीर पुच्छरमा लागेको सहीछाप मेरो हो भनी लेखाएको अवस्थामा एकै अवस्थाका सहअभियुक्तलाई कसुर ठहर गरी अर्का प्रतिवादी सन्तोष महर्जनलाई सफाइ दिनु कानूनविपरीत छ । प्रतिवादी सन्तोष महर्जनले आरोपित कसुर गरेको स्पष्ट हुँदाहुँदै सबुत प्रमाणहरूको तथ्यपरक मूल्याङ्कन नगरी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी यी प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजात अध्ययन 

गरियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनीले जाहेरवालासँग रकम लिई सन्तोष महर्जनको खातामा हालिदिएको हो भनी प्रतिवादी रामचन्द्र पुडासैनीले आफू कसुरमा साबित रही, सहअभियुक्तलाई समेत पोल गरेको अवस्था छ । प्रतिवादी रामचन्द्र पुडासैनीले मौका र न्यायाधिकरणको बयानमा उक्त कुरा स्वीकार गरी मैले भन्नेबमोजिम लेखिएको ठिक हो भनी उल्लेख गरेबाट एकै अवस्थाका सहअभियुक्तलाई कसुर ठहर गरी अर्का प्रतिवादी यी सन्तोष महर्जनलाई आरोपित कसुरबाट सफाइ दिने गरी न्यायाधिकरणबाट भएको उक्त फैसला कानूनत: त्रुटिपूर्ण हुनाले बदर गरी अभियोग मागदाबीबमोजिम नै सजाय हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तानुसारको तथ्यगत विषय र बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितका मिसिल संलग्न प्रमाणहरूको अध्ययन गरी हेर्दा वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ?  सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी रामचन्द्र पुडासैनी र सन्तोष महर्जनले वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत अनुमति नलिई जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भनी झुट्ठा आश्वाशन र प्रलोभनमा पारी जम्मा रू.२,८०,०००।- लिई भनेबमोजिमको मुलुकमा पठाउन नसकेको प्रतिवादीहरूको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध भएकोले यी प्रतिवादीहरूलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालाको बिगो रू.२,८०,०००।- र सोको ५० प्रतिशतले हुने हर्जाना रकम रू.१,४०,०००।- समेत गरी जम्मा रू.४,२०,०००।- यी प्रतिवादीहरूबाट जाहेरवाला मनोजकुमार राना मगरलाई दिलाई भराइपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा दाबीबमोजिम प्रतिवादीमध्ये रामचन्द्र पुडासैनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिमको कसुरमा सोही ऐनको दफा ४३ बमोजिम १ वर्ष ६ महिना कैद र रू.१,५०,०००।- जरिवाना हुने ठहर्‍याई अर्का प्रतिवादी सन्तोष महर्जनले अभियोग दाबीबाट सफाइ पाउने र जाहेरवाला मनोजकुमार राना मगरले प्रतिवादीबाट लिनुपर्ने रकम पाइसकेको भनी न्यायाधिकरणमा बकपत्र गरेको देखिँदा बिगो र हर्जानातर्फको दाबी पुग्न नसक्ने ठहर्‍याई न्यायाधिकरणबाट भएको फैसलामा चित्त नबुझाई अभियोग दाबीबाट सफाइ पाएका प्रतिवादी सन्तोष महर्जनको हकमा दाबीबमोजिम नै सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो । अर्का प्रतिवादी रामचन्द्र पुडासैनीको हकमा कुनै दाबी नलिएकोले निजका सम्बन्धमा केही गरिरहनु परेन । 

३. अब यी प्रतिवादी सन्तोष महर्जनलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला कानूनत: त्रुटिपूर्ण हुनाले बदर गरी अभियोग मागदाबीबमोजिम नै सजाय हुनुपर्दछ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादी रामचन्द्र पुडासैनीले मलाई वैदेशिक रोजगारीको लागि कम्बोडियाको क्यासिनोमा यु.एस. डलर १०००।- पारिश्रमिक हुने गरी पठाई दिउँला भनी विश्वास तथा प्रलोभनमा पारी विभिन्न मितिमा जम्मा रू.२,८०,०००।- लिई भनेबमोजिमको वैदेशिक रोजगारमा पठाउन नसकेको र मबाट लिएको रकम लिखत कागजसमेत गरी भाखाभित्र रकम फिर्ता नगरेको हुनाले वैदेशिक रोजगार ऐनअनुसार कारबाही गरी मेरो बिगो र हर्जानासमेत दिलाई भराइपाउँ भन्ने जाहेरवाला मनोजकुमार राना मगरको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।

४. प्रतिवादीमध्येका सन्तोष महर्जन सुरू अनुसन्धानमा उपस्थित नहुनुका साथै न्यायाधिकरणबाट निजको नाममा जारी भएको समाह्वान म्याद रीतपूर्वक तामेल भएकोमा म्यादभित्र हाजिर नभई म्यादै गुजारी बसेको देखिन्छ । 

५. प्रतिवादीहरूमध्ये रामचन्द्र पुडासैनीले जाहेरवालालाई गरिदिएको मिति २०६९।११।२० गतेको सक्कल लिखत हेर्दा जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारको लागि कम्बोडियाको क्यासिनोमा रोजगारी दिलाइदिने सर्तमा विभिन्न मितिमा आई.एम.ई मार्फत, NIC Bank मा Deposit गर्न लगाई र नगदसमेत गरी रू.२,८०,०००।- (दुई लाख असी हजार) बुझिलिएको, वैदेशिक रोजगारीमा पठाउन नसकेको हुँदा उक्त रकम मिति २०७०।१।३० भित्रमा फिर्ता बुझाइसक्ने र सो मितिमा फिर्ता बुझाउन नसकेमा प्रचलित कानूनबमोजिम कारबाही गरी सावाँ ब्याज जाहेरवालाले असुलउपर गरी लिनु भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ ।

६. प्रतिवादीमध्ये रामचन्द्र पुडासैनीले न्यायाधिकरणमा आफ्नो साथी सन्तोष महर्जनलाई चिनाई दिएको मात्र भनी कसुरमा इन्कार रही बयान गरे तापनि जाहेरवाला मनोजकुमार राना मगरलाई निज सन्तोष महर्जनसँग भेट गराई कुराकानी गरी निज जाहेरवालासँग रू.२,००,०००।- लिई सन्तोष महर्जनको इन्भेष्टमेन्ट बैंकको खातामा हालिदिएको हो । सन्तोष महर्जनले भनेबमोजिम जाहेरवालालाई कम्बोडिया नपठाई दिएकोले जाहेरवाला र मबिच विवाद भई मैले रकम लिएको हुँ भनी लिखत कागज गरिदिएको हो भनी जाहेरवालालाई वैदेशिक रोजगारमा पठाउन रकम लिएको स्वीकार गरी अनुसन्धानमा बयान गरेको देखिन्छ ।

७. प्रतिवादी रामचन्द्र पुडासैनीले आफूलाई वैदेशिक रोजगारमा कम्बोडिया मुलुकमा रोजगारीको लागि पठाइदिन्छु भनी पटकपटक गरी रू.२,८०,०००।- लिई मिति २०६९।११।२० मा कागज गरिदिएको भनी किटानी जाहेरी दिनुका साथै प्रमाणमा सो कागज पेस गरेको देखिन्छ भने प्रतिवादी रामचन्द्र पुडासैनीले आफूले जाहेरवालाबाट रकम लिई अर्का प्रतिवादी सन्तोष महर्जनको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हुँ भने तापनि सोको ठोस प्रमाणसमेत पेस गर्न सकेको मिसिलबाट देखिँदैन ।

८. जाहेरी दिएको लामो समयपश्चात् जाहेरवाला मनोजकुमार राना मगरले आफूले दिएको जाहेरी दरखास्त र सोसाथ प्रमाणमा पेस गरेको लिखत कागजविपरीत गरेको निजको बकपत्र आफैँमा विश्वसनीय देखिँदैन । लिखत कागजका साक्षी ललितबहादुर क्याप्छाकीले प्रतिवादी रामचन्द्र पुडासैनीले जाहेरवाला मनोजकुमार राना मगरसँग वैदेशिक रोजगारमा पठाई रोजगारी दिलाइदिने भनी राजीखुसीका साथ रकम बुझिलिई लिखत कागज गरिदिएका हुन् भनी अनुसन्धानमा जाहेरीलाई समर्थन हुने गरी कागज गरेसमेतबाट प्रतिवादी रामचन्द्र पुडासैनीले बिनाइजाजत जाहेरवालालाई वैदेशिक रोजगारमा कम्बोडिया पठाइदिन्छु भनी झुट्टा आश्वासन दिई प्रलोभनमा पारी रकमसमेत लिई भनेबमोजिम वैदेशिक रोजगारमा नपठाएको तथ्य पुष्टि भएको देखिन्छ ।

९. यी प्रतिवादी सन्तोष महर्जनउपर जाहेरवालाले उक्त कसुरमा निजको पनि संलग्नता थियो भनी जाहेरीमा प्रतिवादी सन्तोष महर्जनको नामसम्म पनि उल्लेख गर्न सकेको पाइँदैन । त्यसैगरी जाहेरवालाले यी प्रतिवादी सन्तोष महर्जनलाई आफूले नचिनेको भनी न्यायाधिकरणमा बयान गरेको देखिन्छ । जाहेरवाला मनोजकुमार राना मगरबाट रकम बुझिलिएको कागज प्रतिवादी रामचन्द्र पुडासैनीले गरेको देखिन्छ । प्रतिवादी रामचन्द्र पुडासैनीले जाहेरवालाबाट बुझेको रकम यी प्रतिवादी सन्तोष महर्जनको बैंक खातामा जम्मा गरेको हो भने तापनि उक्त रकम सन्तोष महर्जनको खातामा जम्मा गरेको बैंक भौचर र निजको खाताको स्टेटमेन्ट जस्ता कुनै ठोस प्रमाण पेस गर्न सकेको पनि 

देखिँदैन । यी प्रतिवादी सन्तोष महर्जनले जाहेरवाला तथा सहप्रतिवादी रामचन्द्र पुडासैनीबाट कुनै प्रकारको रकम बुझिलिएको वा त्यस्तो कुनै लिखत कागज गरिदिएको समेत मिसिलबाट देखिँदैन । वैदेशिक रोजगार ठगी जस्तो मुद्दामा, लिखत, भौचर र अन्य कागजातहरू जस्ता भौतिक एवं स्वतन्त्र प्रमाण र सोका परीक्षणले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा केवल सहप्रतिवादीले पोल गरेकै आधारमा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न मिल्दैन । प्रतिवादीको बयान कागज र सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभएको अवस्थामा केवल शंकास्पद प्रमाण वा तथ्यगत विश्लेषणबाट गरिएको अनुमानको भरमा मात्र कसैलाई कुनै फौजदारी कसुर गरेको ठहर गरी प्रतिवादीलाई सजाय गर्नु न्यायसङ्गत र कानूनसम्मत नहुने देखिँदा केवल प्रतिवादी रामचन्द्र पुडासैनीको पोल बयानबाहेक अन्य स्वतन्त्र प्रमाणबाट अभियोजन पक्षले यी प्रतिवादी सन्तोष महर्जनउपरको अभियोग दाबीलाई प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रमाणित गर्न नसकेको देखिँदा यी प्रतिवादी सन्तोष महर्जनलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन र उक्त पुनरावेदनलाई समर्थन हुने गरी विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहस जिकिरसँग सहमत हुन सकिएन ।

१०. तसर्थ, माथि विवेचित तथ्यगत आधार र कारणसमेतबाट प्रतिवादीमध्ये रामचन्द्र पुडासैनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिमको कसुरमा सोही ऐनको दफा ४३ बमोजिम १।६।० (एक वर्ष छ महिना) कैद र रू.१,५०,०००।- (एक लाख पचास हजार) जरिवाना हुने ठहर्‍याई र साथै यी प्रतिवादी सन्तोष महर्जनलाई अभियोग दाबी प्रमाणित हुन नसकेको आधारमा अभियोग दाबीबाट सफाइ दिने र जाहेरवाला मनोजकुमार राना मगरले प्रतिवादी रामचन्द्र पुडासैनीबाट लिनुपर्ने रकम पाइसकेको देखिँदा बिगो र हर्जाना भराई दिइरहन नपर्ने ठहर गरी वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट मिति २०७३।१२।७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत : माधव भण्डारी

इति संवत् २०७७ साल पौष १५ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु