निर्णय नं. १०६९६ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७७।७।२५
०७६-CR-१०८४
मुद्दा:- सवारी ज्यान
पुनरावेदक / वादी : पतिराम महतोको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सुन्दर सिंह ठकुरीको छोरा जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. १० प्रसौनी बस्ने सुभाष सिंह ठकुरी
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्थामा मानिस मार्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागि सामान्यतया तीन अवस्था हुनुपर्दछ: १. सम्भावित परिणामको पूर्वानुमान (knowledge) २. स्वेच्छिक कार्य (voluntary act) ३. चालकको अनुचित खतरा मोल्ने वा जोखिम लिने प्रयास (Recklessness) । फौजदारी कानूनमा लापरवाहीको परिभाषा गर्दा, चालक वा कर्तालाई सम्भावित परिणामबारे पूर्वज्ञान (knowledge) हुँदाहुँदै चालक वा कर्ताले आफ्नो कार्यमा सजगता अपनाएको वा होस पुर्याएको भए सम्भावित परिणामलाई टार्न सकिने अवस्था थियो / थिएन भन्ने परिघटनाबाट मापन गरिने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००४३
सम्बद्ध कानून :
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ
चितवन जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी
माननीय न्यायाधीश श्री नागेन्द्र लाल कर्ण
उच्च अदालत पाटन, हेटौंडा इजलास
फैसला
न्या.कुमार रेग्मी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ ।
सुरूको जाहेरी दरखास्त, लास जाँच तथा घटनास्थल प्रकृति मुचुल्का, सडक दुर्घटना प्रतिवेदन, शव परीक्षण प्रतिवेदन, प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष गरेको बयान, अभियोग मागदाबी, साक्षीहरूको बकपत्र, चितवन जिल्ला अदालतको फैसला, प्रतिवादीले उच्च अदालत पाटन, हेटौंडासमक्ष पेस गरेको पुनरावेदनको बेहोरा र उच्च अदालत पाटन, हेटौंडाको फैसलाको बेहोरासमेत उच्च अदालत पाटन, हेटौंडाबाट भएको मिति २०७६।०५।३१ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन ।
यस अदालतको निर्णय
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारीले मृतक सञ्जय चौधरी आफ्नै बायाँ साइडबाट मोटरसाइकल चलाई टाँडीतर्फ जाँदा विपरीत दिशाबाट सुभाष सिंह ठकुरीले चलाएको बा.३ ख. १८६० नं.को तीव्र गतिमा आइरहेको मिनीबसले दाहिने साइड च्यापी ठक्कर दिँदा सोही कारण सञ्जय चौधरीको मृत्यु भएको भनी प्रतिवादीको कसुर पुष्टि हुने गरी जाहेरवालाको जाहेरी दरखास्त एवं निजको अदालतसमक्ष भएको बकपत्र, प्रत्यक्षदर्शी सुमन भट्टराईको बकपत्र एवं सडक प्रतिवेदनसमेतबाट प्रतिवादीको उच्च लापरवाही रहे भएको पुष्टि हुँदाहुँदै सुरू चितवन जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी सुभाष सिंह ठकुरीलाई कम सजाय गरेको उच्च अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा यी प्रतिवादी सुभाष सिंह ठकुरीलाई अभियोग मागदाबीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
विद्वान् उपन्यायाधिवक्ताको उपर्युक्त बहस जिकिर सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा देहायको प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियो :
(१) प्रस्तुत मुद्दामा प्रतिवादी सुभाष सिंह ठकुरीले चलाएको मिनीबसले मोटरसाइकल चालक सञ्जय चौधरीलाई ठक्कर दिई मृत्यु हुन गएको कार्य लापरवाहीपूर्ण कार्य हो वा हेलचेक्र्याईंपूर्ण कार्य हो ?
(२) यी प्रतिवादी सुभाष सिंह ठकुरीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर कायम हुने हो वा १६१(३) को कसुर कायम हुने हो ?
(३) उच्च अदालत पाटन, हेटौंडाले गरेको फैसला मिलेको छ, छैन ? तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ?
यसमा पहिलो प्रश्नमा प्रवेश गर्नुपूर्व मुद्दाको तथ्य सङ्क्षेपमा राख्नु सान्दर्भिक देखिन्छ । प्रतिवादी सुभाष सिंह ठकुरीले लापरवाहीपूर्वक बा. ३ ख १८६० नं. को मिनीबस चलाई भण्डाराबाट नारायणगढतर्फ आउने क्रममा विपरीत दिशामा गइरहेको मृतक सञ्जय चौधरीले चलाएको मोटसाइकललाई ठक्कर दिई दुर्घटना गराउँदा मोटरसाइकल चालक गम्भीर घाइते भई उपचारको लागि ल्याउँदा निज सञ्जय चौधरीको मृत्यु भएकोले प्रतिवादी सुभाष सिंह ठकुरीलाई सजाय गरिपाउँ भनी जाहेरवाला पतिराम महतोको जाहेरी दरखास्तको आधारमा अनुसन्धान भई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) को कसुरमा सोही दफा १६१ को उपदफा (२) बमोजिम सजायको मागदाबी लिई अभियोगपत्र दायर भएकोमा प्रतिवादी सुभाष सिंह ठकुरीले चलाएको बस आफ्नो साइड छाडेर विपरीत दिशाबाट सवारी आउने कुराको विचारै नगरी अर्थात् कसैको ज्यान जान सक्छ भन्ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई लापरवाही गरी सवारी चलाएको कारण प्रतिवादीले चलाएको बसले मृतक सञ्जय चौधरीले चलाएको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भई सो दुर्घटनाबाट सञ्जय चौधरीको मृत्यु भएको देखिन आएकोले प्रतिवादी सुभाष सिंह ठकुरीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) को कसुर अपराधमा सोही ऐनको दफा १६१ को उपदफा (२) बमोजिम ४ (चार) वर्ष कैद र ५०,०००।– (पचास हजार रूपैयाँ) सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू चितवन जिल्ला अदालतले मिति २०७६।०२।१६ मा फैसला गरेको देखिन्छ ।
मृतक मोटरसाइकल चालक सञ्जय चौधरी १२ फिटको बाटोमा स्वतन्त्र रूपमा आफ्नै साइड हिँड्न सक्ने अवस्था रहँदारहँदै ट्रकलाई ओभरटेक गरेकै कारण प्रतिवादीले चलाएको मिनीबसमा ठोक्किएको कुरा सडक दुर्घटना प्रतिवेदनले स्पष्ट पारिरहेको अवस्थामा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) को कसुर अपराधमा सोही ऐनको दफा १६१ को उपदफा (२) बमोजिम सजाय भएको सुरू चितवन जिल्ला अदालतबाट मिति २०७६।०२।१६ मा भएको त्रुटिपूर्ण फैसला बदर गरी सोही ऐनको दफा १६१(३) बमोजिम न्यूनतम सजाय गरिपाउँ भनी प्रतिवादी सुभाष सिंह ठकुरीको उच्च अदालत पाटन, हेटौंडामा पुनरावेदन परेकोमा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) को कसुर अपराधमा सोही ऐनको दफा १६१ को उपदफा (२) बमोजिम सजाय गरेको सुरू चितवन जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उच्च अदालत पाटन, हेटौंडाबाट मिति २०७६।०५।३१ मा केही उल्टी भई प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) बमोजिमको कसुर अपराधमा ऐ. ऐनको दफा १६१(३) बमोजिम ९(नौ) महिना कैद र रू.२०००।– (दुई हजार) जरिवाना गरेको देखिन्छ ।
उक्त फैसलामा समेत चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ । पुनरावेदनपत्रमा मृतक सञ्जय चौधरी आफ्नै बायाँ साइडबाट टाँडीतर्फ जाँदा विपरीत दिशाबाट सुभाष सिंह ठकुरीले चलाएको बा.३ ख. १८६० नं. को मिनीबसले अत्यन्त तीव्र गतिमा दाहिने साइड च्यापी ठक्कर दिई सोही कारण सञ्जय चौधरीको मृत्यु भएको भनी प्रतिवादीको कसुर पुष्टि हुने गरी बेहोरा उल्लेख भई परेको जाहेरवालाको जाहेरी दरखास्त एवं निजको अदालतसमक्ष भएको बकपत्र, प्रत्यक्षदर्शी सुमन भट्टराईको बकपत्र एवं सडक प्रतिवेदनबाट निज प्रतिवादीले चलाएको मिनीबसले अगाडिबाट प्रत्यक्ष देखिने गरी ठक्कर दिई सोही ठक्करबाट उछिट्टिएर किनारामा सञ्जय चौधरी लडी उपचार गर्दा मृत्यु भएबाट प्रतिवादीको उच्च लापरवाही देखिँदादेखिँदै सुरूको इन्साफ उल्टी गरी कम सजाय गरेको उच्च अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा १० र दफा १८ को व्याख्यात्मक त्रुटि र नेपाल सरकार विरूद्ध कालु चौधरी (ने.का.प. २०७१, नि.नं. ९२०७, अङ्क ७) भएको सवारी ज्यान मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा सो फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारले पुनरावेदन जिकिर लिएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सुभाष सिंह ठकुरीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, प्रतिवादीले बा. ३ ख १८६० नं. को बस चलाई भण्डाराबाट नारायणगढतर्फ आउने क्रममा ना. १ प. ७६३० नं. को मोटरसाइकल ट्रकलाई ओभरटेक गरी आएको र निजले हर्न बजाई बायाँतर्फ आफ्नो साइड च्याप्दा पनि मोटरसाइकल चालक मृतक सञ्जय चौधरीले मोटरसाइकलको गति कम नगर्दा बसमा ठक्कर खाई दुर्घटना भएको हो, मैले चलाएको बसले सडकको बिच भागमा नभई बिच भागबाट बायाँतर्फ मेरो साइडमा ठक्कर लागेको हुँदा उक्त दुर्घटना मैले लापरवाही गरी चलाएको कारणबाट दुर्घटना भएको होइन भनी आरोपित कसुरमा इन्कार रही मौकामा बयान गरेको र सोही बयानलाई समर्थन हुने गरी अदालतसमक्ष मैले लापरवाहीपूर्वक सवारी चलाएको कारणले दुर्घटना घटेको होइन भनी बयान गरेको देखिन्छ ।
३. यसरी २४ फिट चौडाइ भएको पक्की सडकको सेन्टरमा मोटरसाइकल र मिनीबस एकआपसमा ठक्कर खाई दुर्घटना हुन गएको, सडक खण्डको बिच सेन्टरबाट २(दुई) फिट उत्तरतर्फ ना.१ प. ७६३० नं.को मोटरसाइकलको अगाडिको भाग क्षतिग्रस्त भई सडकमा पल्टिएको अवस्थामा रहेको, उक्त मोटरसाइकलबाट १०(दश) फिट उत्तरतर्फ सडकको पहेँलो घेरो वरपर रगत जस्तो देखिने रातो टाटाहरू रहेको, उक्त सडकको बिच सेन्टरबाट २०(बिस) मिटर दक्षिण पश्चिमतर्फ बा.३ ख १८६० नं.को मिनीबस भरतपुरतर्फ मोहडा भई रोकिरहेको अवस्थामा रहेको भन्ने तथ्यहरू निर्विवाद रूपमा देखिएका छन् भने सडक दुर्घटना प्रतिवेदनमा प्रतिवादी मिनीबस चालक सुभाष सिंह ठकुरी र मोटरसाइकल चालक मृतक सञ्जय चौधरीको गल्ती छैन भनी उल्लेख भएको, घटनाका प्रत्यक्षदर्शी सुमन भट्टराईले अदालतसमक्ष बयान गर्दासमेत उक्त दुर्घटना सडकको बिच भागको देब्रे साइडमा भएको हो भनी बयान गरेको र सडक दुर्घटना प्रतिवेदनमा दुवै सवारी साधनहरू तीव्र गतिमा चलाई आएको भन्ने तथ्य पनि मिसिलमा सामेल छन् । यसरी प्रतिवादीले लापरवाहीपूर्ण रूपले मिनीबस चलाई मोटरसाइकल चालकलाई ठक्कर दिएको हो वा निज मोटरसाइकल चालक आफैँ चलिरहेको मिनीबसमा ठोक्किन आएको हो भन्ने कुरामा समेत विवाद रहेको देखिन्छ ।
४. अब उपर्युक्त तथ्यसमेतलाई दृष्टिगत गरी लापरवाहीको अवस्थाबारे कानूनी र तथ्यगतरूपमा निर्णय निष्कर्षमा पुग्नुपर्ने हुन आएको छ । यस सम्बन्धमा, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप एक्काइस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तिस हजार रूपैयाँदेखि एक लाखसम्म रूपैयाँसम्म जरिवाना हुने छ भन्ने व्यवस्था रहेको छ भने दफा १६१(३) मा कसैको ज्यान मर्न सक्दछ भन्ने नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
५. उपर्युक्त कानूनी व्यवस्थालाई सूक्ष्म तवरले विश्लेषण गर्दा, दफा १६१ को उपदफा (२) ले लापरवाहीपूर्ण तरिकाले सवारी चलाउँदा कसैको ज्यान मरेमा सजाय गर्ने व्यवस्थालाई इङ्गित गरेको देखिन्छ भने सोही ऐनको दफा १६१ को उपदफा ३ मा ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा हेलचेक्र्याईं गरी सवारी चलाउँदा कसैको ज्यान मर्न गएको अवस्थामा सजाय गर्न सकिने व्यवस्था गरेको देखिन्छ ।
६. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्थामा मानिस मार्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागि सामान्यतया तीन अवस्था हुनुपर्दछ: १. सम्भावित परिणामको पूर्वानुमान (Knowledge) २. स्वेच्छिक कार्य (Voluntary Act) ३. चालकको अनुचित खतरा मोल्ने वा जोखिम लिने प्रयास
(Recklessness) । फौजदारी कानूनमा लापरवाहीको परिभाषा गर्दा, चालक वा कर्तालाई सम्भावित परिणामबारे पूर्वज्ञान (Knowledge) हुँदाहुँदै चालक वा कर्ताले आफ्नो कार्यमा सजगता अपनाएको वा होस पुर्याएको भए सम्भावित परिणामलाई टार्न सकिने अवस्था थियो / थिएन भन्ने परिघटनाबाट मापन गरिन्छ । प्रस्तुत मुद्दामा घटनास्थल मुचुल्काबाट २४ फिट चौडाई भएको पक्की सडकको सेन्टरमा मोटरसाइकल र बस एकआपसमा ठक्कर खाई दुर्घटना हुन गएको भनी उल्लेख भएको देखिन्छ । प्रतिवादीले सम्भावित दुर्घटनाबारे पूर्वाज्ञान हुँदाहुँदै अनुचित खतरा मोल्ने वा जोखिम लिने कार्य गरेको देखिँदैन । वादी पक्षले नै पेस गरेको सडक दुर्घटना प्रतिवेदनमा प्रतिवादी आफ्नै साइडमा रहेको भन्ने देखिएको साथै प्रतिवादी चालकको गल्ती नभएको उल्लेख भएबाट यी प्रतिवादी सुभाष सिंह ठकुरीले चलाएको बा.३ ख.१८६० नं.को मिनिबस भण्डाराबाट नारायणगढतर्फ र मृतक सञ्जय चौधरीले चलाएको भरतपुरबाट टाँडीतर्फ गइरहेको ना.१.प ७६३० नं. को मोटरसाइकल दुवै सवारी साधनहरू तीव्र गतिमा चलाई विपरीत दिशाबाट आइरहेको अवस्थामा नियन्त्रित हुन नसकी एकआपसमा ठोक्किन पुग्दा दुर्घटना हुन गएको अवस्था स्थिति देखिन्छ । यसबाट यी प्रतिवादी सुभाष सिंह ठकुरीले मानिस मर्न सक्छ भन्ने जानी जानी वा लापरवाहीपूर्ण रूपले मिनीबस चलाई मोटरसाइकल चालकलाई ठक्कर दिएको नदेखिई दुवै सवारी साधन तीव्र गतिमा विपरीत दिशाबाट आइरहेको कारण नियन्त्रित हुन नसकी एक आपसमा ठोक्किएको कारणबाट मृतक सञ्जय चौधरीको मृत्यु भएको देखिन्छ । प्रतिवादीले लापरवाहीपूर्ण सवारी चलाएको कारणबाट मृतक सञ्जय चौधरीको मृत्यु भएको भन्ने पुष्टि हुने खालको कुनै तथ्ययुक्त र स्वतन्त्र प्रमाण वादी पक्षबाट पेस गर्न सकेको नदेखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्था आकर्षित हुन सक्ने देखिएन ।
७. अब सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (३) को दफाको व्यवस्थाबारे विचार गर्दा, कसैको ज्यान मर्न सक्दछ भन्ने नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । यस उपदफामा गरिएको व्यवस्थामा corpus delicti एउटै प्रकृतिको भए पनि मनसाय तत्त्वको भूमिकामा रहने लापरवाहीको भन्दा तलको अवस्थाका आधारमा कम सजाय निर्धारण गरिएको छ । फौजदारी कानूनको सैद्धान्तिक अवधारणामा यसलाई भवितव्यभन्दा बढी र लापरवाहीभन्दा न्यून मात्राको मानिन्छ ।
८. मिसिल संलग्न सडक दुर्घटना प्रतिवेदनमा दुवै सवारी साधनहरू तीव्र गतिमा चलाई आएका कारण नियन्त्रित हुन नसकी दुर्घटना हुन गएको उल्लेख भएको देखिन्छ । यसबाट यी प्रतिवादीले कानूनले तोकेको चालकले तीव्र गतिमा सवारी साधन चलाउन नहुने भन्ने कर्तव्य (positive ) पूरा नगरी हेलचेक्र्याईं गरेको परिणाम स्वरूप नै उक्त दुर्घटना घटेको
देखिन्छ । सावधानीपूर्वक निर्धारित गतिमा गाडी चलाउनु पर्ने चालकको कतर्व्य र दायित्व हो । प्रतिवादी सुभाष सिंह ठकुरीले चलाएको मिनीबस तीव्र गतिमा भएकै कारण निजले नियन्त्रित गर्न नसकेको देखिन्छ । यसरी यी प्रतिवादीले आफूले चलाएको सवारी नियन्त्रित गर्न सक्ने गरी निर्धारित गतिमा सावधानीपूर्वक चलाउनुपर्नेमा तीव्र गतिमा चलाएको कारणबाट यसमा प्रतिवादीले हेलचेक्र्याईं गरेको देखिन्छ । यस सम्बन्धमा नेपाल सरकार विरूद्ध सन्नी महर्जन (ने.का.प.२०७५, नि.नं.१००४३, अङ्क ७, भाग ६०) भएको सवारी ज्यान मुद्दामा “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) मा लापरवाही (Recklessness) भन्ने शब्द प्रयोग भएको छ भने उपदफा (३) मा जानी जानी वा लापरवाही गरी भन्ने शब्दहरू प्रयोग गरिएको छैन । बरू “कसैको ज्यान मर्न सक्ने नदेखिएको” अवस्थाबारे चित्रण गरिएको छ । तर उपदफा (३) को अवस्था पनि दोषरहित दुर्घटना (Blameless Accident or Misfortune) को अवस्था होइन । यस उपदफाअन्तर्गत हुने दुर्घटना दोषपूर्ण नै हुन्छ । ऐनले यस्तो कार्यलार्इ दोषपूर्ण मानेको कारण उक्त उपदफामा हेलचेक्र्यार्इं भन्ने शब्द प्रयोग नभए तापनि यहाँ सवारी चालकको कार्यलाई हेलचेक्र्याईंपूर्ण (Negligent) मानिएको रहेछ भनी अर्थ गर्नुपर्ने हुन्छ । वस्तुत: कानूनले सवारी चालकलाई कुनै कर्तव्य (Positive Duty) तोकेको छ र सो कर्तव्य उसले पूरा गर्दैन भने उसको कार्य हेलचेक्र्याईंपूर्ण नै हुन्छ । यस्तो हेलचेक्र्याईंपूर्ण कार्यको परिणामस्वरूप देवानी वा फौजदारी दायित्व सिर्जना हुन सक्ने” भन्ने सिद्धान्त प्रतिपादन भएको देखिँदा उक्त सिद्धान्तबाट समेत यी प्रतिवादीले चालकले पालना गर्नुपर्ने निर्धारित गतिमा सावधानीपूर्वक सवारी चलाउनुपर्ने कर्तव्य पालना नगरी सवारी चलाउँदा विपरीत दिशाबाट तीव्र गतिमा अर्को सवारी साधन आउँदा नियन्त्रित हुन नसकी एकआपसमा ठोक्किदा दुर्घटना भई मोटरसाइकल चालक सञ्जय चौधरीको मृत्यु भएको हुँदा यी प्रतिवादी सुभाष सिंह ठकुरीलाई अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरी भएको सुरू चितवन जिल्ला अदालतको फैसलालाई सो हदसम्म केही उल्टी गरी निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) को कसुरमा सोही ऐनको दफा १६१(३) बमोजिम ९ (नौ) महिना कैद र रू.२,०००।– (दुई हजार) जरिवाना हुने ठहर्याएको उच्च अदालत पाटन, हेटौंडाको फैसला मिलेकै देखियो ।
९. अतः माथि विवेचित आधार, प्रमाण र कारणबाट प्रतिवादी सुभाष सिंह ठकुरीलाई अभियोग मागदाबीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को १६१(२) बमोजिम सजाय गर्ने गरी भएको सुरू चितवन जिल्ला अदालतको मिति २०७६।०२।१६ को फैसला केही उल्टी गरी निज प्रतिवादीलाई ऐ. ऐनको दफा १६१(३) को कसुरमा सोही ऐनको दफा १६१(३) बमोजिम ९(नौ) महिना कैद र रू.२,०००।– (दुई हजार) जरिवाना हुने ठहर्याएको उच्च अदालत पाटन, हेटौंडाबाट मिति २०७६।०५।३१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. मीरा खडका
इजलास अधिकृत : लक्ष्मी राना
इति संवत् २०७७ साल कार्तिक २५ गते रोज ३ शुभम् ।