निर्णय नं. १०६९७ - मानव बेचबिखन तथा ओसारपसार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।३।९
मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार
०७५-CR-१९६१
पुनरावेदक / वादी : परिवर्तित नाम थानकोट च को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, ठोरी गा.वि.स. वडा नं.८ (हाल सुवर्णपुर गाउँपालिका वडा नं.२) घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, बानेश्वर डेरा गरी बस्ने हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको सम्बरबहादुर थापाको छोरा राजकुमार चौहान भन्ने लक्षुमण थापा
०७५-CR-२६३२
पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, ठोरी गा.वि.स. वडा नं.८ (हाल सुवर्णपुर गाउँपालिका वडा नं.२) घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, बानेश्वर डेरा गरी बस्ने हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको सम्बरबहादुर थापाको छोरा राजकुमार चौहान भन्ने लक्षुमण थापा
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम थानकोट च को जाहेरीले नेपाल सरकार
वस्तुत: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ को कार्यान्वयनको प्रसङ्गमा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था भनेको पीडितको हकमा बनेको कानूनी व्यवस्था हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको अवस्थामा नभराइदिने हो भने पीडितमाथि अन्याय हुन जान्छ । नेपालको संविधानको धारा २१ को अपराध पीडितको हकभित्र पीडितको क्षतिपूर्ति पाउने हक पनि अन्तरनिहित भएको मान्नुपर्दछ । संविधान र कानूनले पीडितले क्षतिपूर्ति पाउने कुरालाई सुनिश्चित गरेको अवस्थामा सुरू जिल्ला अदालत र उच्च अदालतबाट पीडितले क्षतिपूर्ति पाउनेबारे मौन बस्दा उक्त फैसला संविधान एवं प्रचलित कानूनी व्यवस्थासमेतको विपरीत भई न्यायको रोहमा मान्य नदेखिने ।
(प्रकरण नं.९)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्याय
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कूलराज लामिछाने र विद्वान् अधिवक्ता श्री मनोजकुमार चौधरी
अवलम्बित नजिर :
ने.का.प.२०६९, अङ्क २, नि.नं.८७६४
ने.का.प.२०७५, अङ्क ८, नि.नं.१००७०
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्या. श्री रामप्रसाद अधिकारी
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री किशोर सिलवाल
माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे
उच्च अदालत पाटन
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
दुई वर्षअघि ललितपुर, टिकाथली स्थित सनि रेडिमेन्ट गार्मेन्टमा काम गर्ने क्रममा सोही गार्मेन्टमा काम गर्ने राजकुमार चौहान भन्ने हाल नाम थाहा भएको लक्षुमण थापासँग चिनजान बोलचाल थियो । मैले ९/१० महिनाअगाडि सो गार्मेन्टको काम छोडी डेरामा बस्दै आएकी थिए । प्रतिवादीले फोन गरी इन्डिया गई काम गरौं भन्दा मैले जान्न भनेकोमा कसैलाई नभन्नु तिमी र म विवाह गरी इन्डिया गई काम गरी धन कमाएर नेपाल आउने भनी पटकपटक फोन गरेको, मैले मेरो विवाह भइसक्यो विवाह गर्दिन भन्दा भेटी कुरा गरौं भनी नेपाल बसी उँभो लाग्दैन भनी लालच देखाई फकाई फुलाई विश्वास दिलाएकोले मैले जाउँला भनेकोमा मिति २०७३।३।२७ गते निजले ट्याक्सीमा निजसँग इन्डिया जाने गाडी लाग्ने ठाउँ स्वयम्भु लगी गाडी चढ्न लगाई आफू पनि सँगै बसी सोधखोज गरेमा श्रीमान् श्रीमती हौं भन्नु भनी सिकाउँदै आएकोमा नागढुङ्गा पुग्दा माइती नेपालका टोलीले सोधपुछ गरेको र मैले निजको नाम राजकुमार चौहान बताएकी मेरो नागरिकता र कागजात केही नभएकोले निजको दुईवटा नाम भएकोले निजले मलाई मानव बेचबिखन तथा ओसारपसारको लागि ल्याएको पुष्टि भएकोले कारबाही गरिपाउँ भन्नेसमेत जाहेरी दरखास्त ।
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं.३ नागढुङ्गा स्थित सडक खण्डमा काठमाडौंदेखि भारततर्फ गइरहेको यात्रुबाहक बसमा राजकुमार चौहान भन्ने लक्षुमण थापाले विभिन्न प्रलोभन देखाई थानकोट च (परिवर्तित नाम) लाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंदेखि दिल्लीसम्म जाने बसमा ओसारपसार गरी लगिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं.३ नागढुङ्गा स्थित सडक खण्डमा पक्राउपश्चात् नाम, थर, वतन खुल्न आएको राजकुमार भन्ने लक्षुमण थापाले लगाएको पाइन्टको अगाडिको दाहिनेतर्फको खल्तीमा चेकजाँच गर्दा निजकै लक्षुमण थापा नाम गरेको नागरिकता र NORLING TOURS SERVICE को KATHMANDU TO DELHI को बसको टिकेट फेला पारी बरामद गरेको भन्ने बेहोराको बरामदी तथा खानतलासी मुचुल्का ।
दुई वर्षअगाडि ललितपुर जिल्ला स्थित सनि रेडिमेन्ट गार्मेन्टमा काम गर्ने क्रममा सोही गार्मेन्टमा राजकुमार चौहान भन्ने हाल नाम थाहा भएका लक्षुमण थापा पनि काम गर्ने भएकोले एक आपसमा चिनजान बोलचाल थियो । मैले ९/१० महिनाअगाडि सो गार्मेन्टबाट काम छोडी डेरामा बस्दै आएकी थिएँ । निजले केही समयपछि मैले पनि काम पाएको छैन, तिम्रो पनि काम छैन, इन्डिया गई काम गरौं भन्दै विभिन्न प्रकारले ललाई फकाई लालच देखाई मैले विश्वास गरी जाउँला भनेको थिएँ । मैले मिति २०७३।३।२७ गते घरमा कसैलाई केही नभनी हाल नाम थाहा भएका लक्षुमण थापा पनि म चढी गएको ट्याक्सीमा चढी इन्डिया जाने गाडी लाग्ने ठाउँ स्वयम्भु लगी भारत काठमाडौं मैत्री बसमा चढ्न लगाई आफू पनि सोही बसमा चढी सँगै बसी बाटोमा प्रहरीलगायतले सोधे श्रीमान् श्रीमती भन्नु भनी सिकाउदै कलंकी हुँदै थानकोट नागढुङ्गा पुग्दा त्यहाँ गाडी रोकी माइती नेपालका तथा प्रहरीले सोधपुछ गर्दा निजको नाम लक्षुमण थापा रहेछ भन्ने थाहा भयो । निजले मलाई आफ्नो नाम राजकुमार चौहान भन्ने गरेका दुई वर्षसम्म माया प्रेम गरे जस्तो गरी आफ्नो नामसमेत ढाँटी छली भारतको दिल्लीसम्म ओसारपसार गरी बेचबिखन गर्न सक्ने देखिएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने पीडित थानकोट च को बयान र उक्त बयान अदालतबाट प्रमाणित भएको देखियो ।
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० थानकोट चेकपोष्ट स्थित महानगरीय प्रहरी वृत्त, थानकोटको हिरासत कक्षभित्र प्रतिवादी लक्षुमण थापालाई चेक जाँच गरी शरीरको खानतलासी गर्ने क्रममा निजले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीबाट पीडित जाहेरवाली थानकोट च ले दिएको भनिएको नगद रू.३४,०००।- र निज प्रतिवादीकै नगद रू.४,०००।- फेला पारी बरामद गरिएको भन्ने बेहोराको बरामदी मुचुल्का ।
थानकोट च (परिवर्तित नाम) को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी लक्षुमण थापा भएको मानव बेचबिखन तथा ओसारपसार अनुसन्धानको क्रममा प्रहरीद्वारा पक्राउमा परी लक्षुमण थापालाई प्रहरी हिरासतभित्र राख्नको लागि निजको शरीरको खानतलासी गर्ने क्रममा निजको साथबाट पीडित जाहेरवाली थानकोट च ले दिएको भनिएको नगद रू.३४,०००।- निजकै भनिएको नगद रू.४,०००।- फेला परेकोमा उक्त नगद फेला पारी बरामद गरी प्रतिवेदनसाथ दाखिला गरेको छु भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।
दुई वर्षअगाडि गार्मेन्टमा काम गर्ने क्रममा जाहेरवालीसँग चिनजान भई माया प्रेम बसी सँगै बस्न थालेका थियौं । मेरो घरमा श्रीमती, छोराछोरी छन् भन्ने जाहेरवालीलाई थाहा थियो । जाहेरवालीले ४ महिनाअगाडि अब हामी यहाँ नबसौं, कतै टाढा भारततिर घुम्न जाउँ, उतै काम गरौं भनेकोले मैले मसँग जम्मा १५/१६ हजार रूपैयाँ छ भनेपछि अब भारततिर घुम्न जाने हो भनी मिति २०७३।३।२६ गते भारतीय नोट बनाउन रू.३४,०००।- दिएकी थिइन् । उक्त रूपैयाँ र मसँग भएको रूपैयाँको भारतीय नोट बनाई मिति २०७३।३।२७ गते काठमाडौंदेखि दिल्लीको टिकट लिएको र निजले आफ्नो श्रीमान्लाई माइत जान लागेको भनी सबै कपडा लिई आउँछु भनी आफ्नो डेराकोठाबाट एयरपोर्ट ट्याक्सीमा आइन् । एयरपोर्टबाट मलाई पिकअप गरी दुवैजना ट्याक्सीमा स्वयम्भु गई त्यहाँ टिकट लिई गाडीमा सामान राखी गाडीमा बसी जाने क्रममा नागढुङ्गामा प्रहरीले सोधपुछ गर्दा हामीहरू श्रीमान् श्रीमती हौं भनी दुवैजनाले भनेका थियौं । मैले जाहेरवालीलाई मलाई श्रीमान् भन्ने भनी सिकाएको होइन । मेरो वास्तविक नाम लक्षुमण थापा भए पनि राजकुमार चौहान भनी सबैले चिन्ने हुँदा लक्षुमण थापा भनी जाहेरवालालाई भनेकी थिइन् । सो मेरो गल्ती हो निजलाई मैले बेचबिखन गर्न लगेको होइन । निज जाहेरवालाकै सल्लाहमा हामी दुवैजना घुम्न तथा काम गर्न जान लागेको हो । मैले ललाई फकाई लान लागेको भनी जाहेरवालीले किन जाहेरी र बयानमा लेखाइन् थाहा भएन भन्नेसमेत प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले गरेको बयान ।
मिति २०७३।३।२७ गतेको दिन म माइती नेपाल स्थित नागढुङ्गा चेक पोष्टमा डिउटीमा
थिएँ । प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापा तथा जाहेरवाली थानकोट च (परिवर्तित नाम) लाई नागढुङ्गामा काठमाडौंबाट दिल्ली जाने नेपाल भारत मैत्री बस सेवाको बा.३ ख.४१६९ नं. को बसमा चेक जाँच गर्दा निज दुवैजनालाई शंकास्पद अवस्थामा भेट्टाएकोले निजहरूलाई सोधपुछ गर्दा पछि नाम, थर थाहा भएको लक्षुमण थापाले आफ्नो नाम राजकुमार चौहान हो र जाहेरवाली मेरो श्रीमती हो हामी दुवैजना भारतको दिल्लीमा काम गर्न जाने र उतै बस्ने हो भनी भनेको र जाहेरवालीसँग निजको श्रीमान्को नाम के हो भनी सोधपुछ गर्दा निज जाहेरवालीले मेरो श्रीमान्को नाम राजकुमार चौहान हो भनी भनेकी र प्रतिवादीसँग भएको नागरिकता हेर्दा निजको नाम लक्षुमण थापा उल्लेख भएको देखिँदा जाहेरवालासँग सोधपुछ गर्दा निजले वास्तविक नाम बताएको थिएन, निजले नै मलाई ललाई फकाई अनेक प्रलोभन देखाई कसैले सोधेमा हामी श्रीमान् श्रीमती हौं भन्ने सिकाएको भनी भनेकोले निज प्रतिवादीसँग जाहेरवालीको विवाह दर्ता भएको प्रमाणपत्र तथा अन्य नाता कायम हुने कुनै प्रमाण नभएको हुँदा प्रतिवादीले जाहेरवालालाई ललाई फकाई गरी भारतमा बेचबिखन गर्ने उद्देश्यले नै लगेको भन्ने विश्वास लागेको भन्नेसमेत सम्झनाकुमारी शाहीले गरेको घटना विवरण कागज ।
मिति २०७३।३।२७ गतेको दिन म माइती नेपाल स्थित नागढुङ्गा चेक पोष्टमा डिउटीमा थिएँ । नागढुङ्गामा सवारी साधनहरू चेक जाँच गर्दा दिल्ली जाने बसमा शंकास्पद अवस्थामा रहेका लक्षुमण थापा र जाहेरवालालाई सोधपुछ गर्दा दुवैजना श्रीमान् श्रीमती भएको र भारतको दिल्ली काम गर्न जान लागेको भनेकोमा जाहेरवालालाई प्रतिवादीले वास्तविक नाम नबताई राजकुमार चौहान भनी ललाई फकाई गरी भारतमा बेचबिखन गर्ने उद्देश्यले लगेको भन्ने देवकी वि.क.ले गरेको घटना विवरण कागज ।
जाहेरवाला परिवर्तित नाम थानकोट च मेरी श्रीमती हुन् । प्रतिवादीसँग मेरो चिनजान रिसइवी केही छैन । मेरो श्रीमतीलाई निजले काम गर्ने गार्मेन्टमा काम गर्ने लक्षुमण थापाले भारतमा राम्रो कमाई हुन्छ भनेर प्रलोभन देखाई निजको बहकाउमा लागी श्रीमती निजसँग भारत जान तयार भई मिति २०७३।३।२७ गते दिल्ली जाने बसमा जाँदा थानकोटमा चेकजाँचको क्रममा प्रतिवादीको नाम लक्षुमण थापा भएको थाहा पाएकी रहिछन् । प्रतिवादीले मेरो श्रीमतीलाई ललाई फकाई रू.३४,०००।- समेत लिई दिल्लीसम्म पुर्याई बेचबिखन गर्ने योजना गरेको हुनुपर्छ भन्नेसमेत रवि लामाले गरेको घटना विवरण कागज ।
मिसिल संलग्न जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन, पीडितको प्रमाणित बयान, घटनास्थल मुचुल्का, बरामदी खानतलासी मुचुल्का, प्रतिवादीको बयान, बुझिएका मानिसहरूको घटना विवरण कागजसमेतबाट प्रतिवादी लक्षुमण थापाले पीडित परिवर्तित नाम थानकोट च लाई ललाई फकाई प्रेम गरेको नाटक गरी दिल्ली गई, राम्रो काम गरौंला, धेरै पैसा कमाउँला अनि नेपाल फर्कौंला भनी प्रलोभन देखाई आफ्नो वास्तविक नाम ढाँटी स्वयम्भुबाट दिल्ली जाने बसको टिकट काटी दिल्ली लाँदै गर्दा पक्राउ परी आएकोसमेतबाट निज प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसार गरेको पुष्टि भएकोले निजको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत कसुर अपराधमा सोही ऐनको दफा ४(२)(क)(ख) बमोजिम कसुर अपराध गरेको देखिएकोले सोही ऐनको दफा १५(ङ)(१) बमोजिम सजाय हुन तथा सोही ऐनको दफा १७ बमोजिम पीडित परिवर्तित नाम थानकोट च लाई मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई प्रतिवादीले नैतिक पतन देखिने फौज्दारी कसुर गरेको हुनाले ऐ. ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइएको अभियोगपत्र ।
जाहेरवालाले मलाई रू.३४,०००।- दिई भा.रू.मा परिवर्तन गरी राख भनी दिएको र निज र मेरो दुई वर्षअगाडिदेखि टिकाथली गार्मेन्टमा काम गर्दा प्रेम बसेको थियो । निजकै सल्लाहबमोजिम हामी दुवैजना भारत जान भनी लागेको अवस्थामा माइती नेपालले सोधखोज गरी पक्राउ गरेको हो । मैले निजलाई भारतमा लगी बिक्री गर्ने उद्देश्यले लगेको होइन । मबाट बसको टिकट र रू.३८,०००।- बरामद भएको हो, सो रकममध्ये रू.३४,०००।- जाहेरवालीले मलाई दिएको हो । मलाई फसाउने नियतले जाहेरी तथा बयान गरेको हुनुपर्छ । दुवैको मन्जुरीले १/२ महिना भारत गई घुमी पुन: नेपाल फर्की आउने सल्लाहअनुसार जान लागेको हो । मैले मानव बेचबिखन तथा ओसारपसार नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत राजकुमार चौहान भन्ने लक्षुमण थापाले सुरू जिल्ला अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) ले परिभाषित कसुर गरेकोले ऐ.१५(ङ)(१) नं.बमोजिम सजाय गरी क्षतिपूर्तिसमेत भराइपाउँ भन्ने अभियोग दाबी भई प्रतिवादी कसुरमा इन्कार रही अधिकारप्राप्त अधिकारी र यस अदालतमा बयान गरेको देखिन्छ । तर पीडितका साथमा भारत जान लागेको कुरा भने स्वीकार नै गरेको देखिन्छ । दुई वर्षअघिदेखि नाम राजकुमार चौहान मात्रै भन्ने गरेका थिए । नामसमेत ढाँटेको कारण जाहेरी दिएको र कानूनबमोजिम कार्यबाही गरिपाउँ भन्नेसमेत पीडितको (थानकोट च को) कागज
देखिन्छ । अन्य बेहोराहरूबाट प्रतिवादी र पीडितका बिच प्रेम सम्बन्ध रहेको कुरामा विवाद छैन । लामो समयसम्म प्रेम सम्बन्ध रहेकी पीडितलाई आफ्नो सत्य नामसमेत नबताएको अवस्थाले प्रतिवादीको नियतमा स्वच्छता मात्र थियो भन्न मिल्ने देखिन आएन । तसर्थ, अरू कुराहरूका हकमा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं. १८८(२) र १२१ नं.बमोजिमको थुनुवा पुर्जी दिई कानूनबमोजिमको सिधा खान पाउने गरी थुनामा राख्न कारागार शाखा, जगन्नाथदेवल, काठमाडौंमा पठाउनु भनी अ.बं.१२४(ग) नं.बमोजिम यो आदेश पर्चा गरिदियाँ । साथै अभियोगपत्रसाथ दाखिल नगद रू.३८,०००।- धरौट वा आम्दानी बाँधिराख्नु र जाहेरवाला, पीडित, प्रतिवेदक बुझिएका व्यक्ति र प्रतिवादीका साक्षीहरूलाई नियमानुसार गरी बुझी पेस गर्नु भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।४।२४ मा भएको थुनछेक आदेश ।
जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरो हो । मेरो तीन वर्षअगाडि बिहे भइसकेको
छ । मैले टिकाथली स्थित सनी गार्मेन्टमा काम गर्ने
गर्थें । सो गार्मेन्टमा काम गर्ने क्रममा प्रतिवादी राजकुमार चौहानसँग भेटघाट भएको, निजले नेपालमा बसेर केही हुँदैन दिल्ली जाउँ, ४/५ वर्ष काम गरेर पैसा कमाएर फर्कौंला भन्ने गरेका थिए । मैले उक्त गार्मेन्टमा काम गर्न छोडेपछि पनि निजले मलाई फोन गरी इन्डिया जाउँ भन्ने गरेका र मसँग पैसा मागेकाले मैले मिति २०७३।३।२६ गते रू.३४,०००।- दिएकी थिएँ । मिति २०७३।३।२७ गते निज प्रतिवादीले मलाई फोन गरी सिनामङ्गल आएको छु इन्डिया जाउँ भनी लिन आएकाले म निजसँगै ट्याक्सीमा बसी स्वयम्भूसम्म पुगी दिल्ली जाने बस चढी दिल्ली जाने क्रममा माइती नेपालका सदस्य आई सोधखोज गर्दा प्रतिवादीले सिकाएबमोजिम हामी श्रीमान् श्रीमती हौं भनी मैले भनेको र नाम सोध्दा राजकुमार चौहान बताएकी
थिएँ । निजसँग सोधखोज गर्दा निजले नागरिकता देखाएका र नागरिकतामा लक्षुमण थापा नाम भएको थाहा पाएकी थिएँ । निजको नाम फरक परेकाले निजलाई पक्राउ गरी लगेको हो भन्नेसमेत जाहेरवाली थानकोट च को बकपत्र ।
प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापालाई मैले विगत ११/१२ वर्षदेखि चिन्दै आइरहेको छु । निजलाई सबैले राजकुमार भनी बोलाउने गर्थे, निज परिवारसहित मेरो घरमा भाडामा बस्दै आएका छन् । यी जाहेरवालीसँग प्रेम प्रसङ्ग चलेका कारण श्रीमतीसँग विवाद पर्ने गरेको थियो । निज भागेर इन्डिया जाँदै छन् भन्ने हल्ला मैले पनि सुनेको
थिएँ । निज मानव बेचबिखन तथा ओसारपसार गर्ने चरित्र भएका मानिस होइनन् भन्नेसमेत प्रतिवादीका साक्षी त्रिलोकराज राईले गरेको बकपत्र ।
प्रतिवादी जाहेरवालासँग विवाह गरी भाग्न लागेको भन्ने कुरा सुनेको थिएँ । निज मानव बेचबिखन तथा ओसारपसार गर्ने चरित्र भएका मानिस होइनन् भन्नेसमेत प्रतिवादीका साक्षी शमसेर बरामले गरेको बकपत्र ।
मिति २०७३।३।२७ गते म नागढुङ्गा स्थित माइती नेपालका तर्फबाट ड्युटीमा रहेकी
थिए । हामीले उक्त स्थानमा बसी सो रूटबाट जाने प्रत्येक प्राइभेट गाडीहरू चेकजाँच गर्ने क्रममा यी जाहेरवाला र प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापालाई दिल्ली जाने बसमा सोधपुछ गर्दा शंकास्पद लागी प्रतिवादीलाई पक्राउ गरेको हो भन्नेसमेत बुझिएका सम्झना कुमारी शाहीले गरेको बकपत्र ।
मिति २०७३।३।२७ गते म नागढुङ्गा स्थित माइती नेपालका तर्फबाट ड्युटीमा रहेकी थिएँ । हामीले उक्त स्थानमा बसी सो रूटबाट चल्ने प्रत्येक प्राइभेट गाडीहरू चेकजाँच गर्ने क्रममा यी जाहेरवाला र प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापालाई दिल्ली जाने बसमा सोधपुछ गर्दा शंका लागी प्रतिवादीलाई पक्राउ गरेको हो भन्नेसमेत बुझिएका देवकी वि.क.ले गरेको बकपत्र ।
जाहेरवाला मेरो श्रीमती हुन् । निजले आफूले काम गर्ने गार्मेन्टमा प्रतिवादी राजकुमार चौहानले समेत काम गर्ने भन्ने कुरा बताएकी
थिइन् । मिति २०७३।३।२७ गते मैले श्रीमतीलाई घरमा रोपाइँको लागि भनेर पठाएको थिएँ र मसँग भएको रू.५०,०००।- समेत छोडी गएको थिएँ । मलाई प्रहरी चौकी थानकोटबाट फोन गरी तपाइँको श्रीमतीलाई राजकुमार चौहान भन्ने लक्षुमण थापाले बिक्री वितरणको लागि भारत लैजान लागेकाले हामीले पक्राउ गरेका छौं भनी भनेकाले म उक्त स्थानमा गई बुझेको हुँ । प्रतिवादीको साथबाट मेरो श्रीमतीले दिएको रू.३४,०००।- समेत बरामद भएको हो भन्नेसमेत बुझिएका रवि लामाले गरेको बकपत्र ।
यी जाहेरवालीले आफूलाई वास्तविक नाम नभनेको अरू नै नामबाट मात्र परिचित रहेको कारण बेचबिखन गर्न लगेको आरोप लगाएकी छन् । प्रतिवादी र जाहेरवालीबिच करिब दुई वर्षअघि चिनाजान भएको कुरा निजहरूको भनाइबाट देखिन्छ । यति लामो समयसम्म वास्तविक नाम नभन्नुको पछाडि पति पत्नीको पवित्र उद्देश्य नै रहेको थियो भन्न मिल्ने
देखिन्न । कतिपय कसुरदारहरूले महिलालाई अनेक प्रलोभन दिई प्रेमजालमा पार्ने, यौन शोषण गर्ने र भारतमा लगी बेचबिखन गर्ने गरेको देखिन्छ । प्रस्तुत मुद्दामा खरिद गर्ने व्यक्ति, बेचबिखनको मूल्य निर्धारण भएको देखिन्न । तर भारत लैजाँदै गर्दाका अवस्थामा पक्राउ परेको देखिन्छ । तसर्थ, बेचबिखन गर्ने उद्योगसम्म गरेको बेचबिखन गर्न नपाएको, अर्थात् उद्योगसम्मको प्रयास भएको अवस्थाको विद्यमानता देखियो । प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले अभियोग दाबीबमोजिम कसुरको उद्योगसम्म गरेको देखिँदा निजलाई ५(पाँच) वर्ष कैद र रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।६।१० मा भएको फैसला ।
मैले गरेको इन्कारी बयान, जाहेरवालीले दिएको जाहेरी दरखास्त, निजको प्रमाणित बयान मानव बेचबिखन ओसारपसार कसुरको परिभाषाभित्र पर्ने अवस्थाको छैन । अपराध हुन क्रिया र मनसायको तत्त्व विद्यमान हुनुपर्दछ । सो नभई अड्कल र अनुमानको भरमा दाबीको कसुरको उद्योग गरेको ठहर गरेको फैसला मिलेको छैन त्रुटिपूर्ण छ । त्रुटिपूर्ण फैसला उल्टी गरी पुनरावेदन जिकिरबमोजिम सुरू अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले उच्च अदालत पाटनमा दिएको पुनरावेदनपत्र ।
प्रतिवादीले पीडितलाई भारतसम्म पुर्याई नसकेको, खरिद गर्ने व्यक्ति यकिन नभएको र मूल्य निर्धारण नभएको आधारमा दाबीको कसुरमा सजाय नगरी उद्योगतर्फ मात्र सजाय गरेको फैसला मिलेको
छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) को व्यवस्था हेर्दा किन्ने वा बेच्ने उद्देश्यले मानिस विदेशमा लैजाने र दफा ४(२)(ख) मा जुनसुकै तवरले कसैलाई घर वा व्यक्तिबाट छुट्टाई लैजाने आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक स्थानबाट अर्को स्थान वा विदेशमा लैजाने अरू कसैलाई दिने कार्यलाई मानव ओसारपसारको काम मानिने उल्लेख भएकोमा सोतर्फ ध्यान नदिई दाबीमा प्रवेश नै नगरी उद्योगसम्म ठहर गरेको क्षतिपूर्तिसमेतमा कुनै कुरा नबोली गरेको सुरू फैसला सङ्कलित प्रमाणविपरीत हुँदा बदर गरी सुरू अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) को कानूनी व्यवस्थाको सन्दर्भमा सुरू फैसला विचारणीय भएकाले मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदनको जानकारी एकअर्कालाई दिई नियमानुसार पेस गर्नुहोला भन्ने बेहोराको मिति २०७४।४।२३ मा उच्च अदालत पाटनबाट भएको आदेश ।
जाहेरवालीलाई प्रतिवादीले ललाई फकाई राम्रो काम पाउने लालचामा लिएर हिँडेकोसम्म देखिन आयो । यति मूल्यमा बेचबिखन गर्न लागेको भन्ने किटानी रूपमा मूल्य खुलाई उल्लेख गरेको भनी वादी पक्षले खम्बिर प्रमाण पेस गर्न सकेको देखिन आउँदैन । के कस्तो प्रयोजनका लागि लैजान लागेको भन्नेसमेत पुष्टाईं गर्न सकेको नदेखिएको परिप्रेक्ष्य्यसमेतलाई आधार मानी आरोपित कसुरको उद्योगमा प्रतिवादीलाई ५(पाँच) वर्ष कैद र रू.२५,०००।- जरिवाना गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।६।१० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने उच्च अदालत पाटनको मिति २०७४।५।२७ को फैसला ।
प्रस्तुत मुद्दामा पीडित जाहेरवाली परिवर्तित नाम थानकोट च लाई प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले आफ्नो वास्तविक नामसमेत ढाँटी ललाई फकाई बसमा चढाई भारततर्फ लैजाँदै गर्दाको अवस्थामा नागढुङ्गामा फेला परेको भन्ने मिसिल संलग्न कागज प्रमाणबाट देखिन आएको छ । प्रतिवादीले पीडितलाई बेचबिखनकै उद्देश्यले भारततर्फ लिई गएकोमा समेत विवाद देखिँदैन । जहाँसम्म प्रतिवादीले पीडितलाई भारतसम्म पुर्याई नसकेको, खरिद गर्ने व्यक्ति यकिन नभएको, मूल्य निर्धारण नभएको भन्ने सन्दर्भ छ, त्यसतर्फ हेर्दा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) को व्यवस्था हेर्दा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने र दफा ४(२)(ख) मा जुनसुकै तवरले कसैलाई घर स्थान वा व्यक्तिबाट छुटाई लग्ने आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक स्थानबाट अर्को स्थानमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने कार्यलाई मानव ओसारपसार गरेको कसुर मानिने भनी उल्लेख रहेको पाइन्छ । त्यस्तै सोही ऐनको दफा १५(ङ)(१) मा किन्ने बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई १०/१५ वर्ष कैद र पचास हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने दफा १५(ङ)(२) मा सो उद्देश्यले नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० वर्ष कैद र ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको
छ । यस प्रकार कानूनको व्यवस्था हेर्दा मानिस किनबेच एवं मोलमोलाइको अवस्था विद्यमान नरहे पनि सो उद्देश्यले गरिएको कार्य पूर्ण कसुर हुने अवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा पीडितलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको अवस्था विद्यमान रहेको देखिँदादेखिँदै कानूनको मनसायविपरीत उद्योगसम्म गरेको ठहर गरी भएको फैसला त्रुटिपूर्ण छ । पीडितलाई बेचबिखन उद्योगसम्म गरेको ठहर गरी यी प्रतिवादीलाई ५ वर्ष कैद र रू.२५,०००।- जरिवाना हुने गरी फैसला भएको पाइन्छ । ऐनको दफा १७(१) को व्यवस्था हेर्दा कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था भएकोमा सुरूको फैसला सोतर्फसमेत मौन रहेको अवस्था
छ । तसर्थ, पीडितलाई क्षतिपूर्ति भराइदिने सम्बन्धमा केही उल्लेख नगरी भएको उक्त फैसलामा कानूनी त्रुटि देखिएकाले बदरभागी छ । प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापालाई अभियोग दाबीभन्दा कम सजाय हुने उद्योगको कसुर ठहर भएको उच्च अदालत पाटनको फैसलामा कानूनी त्रुटि रहेकाले मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरी त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
काठमाडौं जिल्ला अदालतबाट मलाई अभियोग दाबीबमोजिम उद्योगसम्म गरेको ठहर गरी कैद जरिवाना गर्दा जाहेरी दरखास्त, प्रतिवादीको मौकाको र अदालतको इन्कारी बयान र सो बयानमा हामी दुईबिच प्रेम सम्बन्धमा विवाद नभएको तर लामो प्रेम सम्बन्ध रहेको पीडितलाई आफ्नो सत्य नाम नबताएको अवस्थाले प्रतिवादीको नियतमा स्वच्छता थियो भन्ने मिल्ने देखिन आएन भन्ने अनुमानित तथ्यलाई मूल आधारको रूपमा लिइएको छ । यथार्थमा जाहेरवालीले मिति २०७३।३।२९ मा दिएको जाहेरी दरखास्तमा उल्लेख गरेको तथ्यहरू र तत्पश्चात् अनुसन्धानका क्रममा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ५ बमोजिम जाहेरवालीले लेखाई दिएको अदालतसमक्षको प्रमाणित मिति २०७३।४।१८ को बयान कागजको बेहोरा एक आपसमा नमिली अन्तरविरोध रहेको र जाहेरी दरखास्तमा उल्लिखित तथ्यभन्दा फरक पारी म प्रतिवादीको बयान बेहोरासँग मेल खाने गरी थप अन्य नयाँ तथ्यहरू उल्लेख गरी दिएको प्रमाणित कागजलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्छ वा मिल्दैन, हामीबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र पीडितको बयानबाट समेत सो कुरा पुष्टि भइरहेकोमा तथ्यगत कुराहरूको स्वीकारोक्तिलाई अपराधमा नै साबिती भएजस्तो गरी हेर्न मिल्छ, मिल्दैन भन्ने सम्बन्धमा विचारसमेत गरिएको छैन । त्यसै गरी मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र सम्मानित अदालतसमक्ष भएको बयानमा नै आफ्नो भएको सम्पूर्ण सत्य तथ्य कुराहरू उल्लेख गरी लेखाई दिएकोमा सो बयान बेहोरा जाहेरवालीकै भनाइ र कथनसँग मेल खाइरहेको अवस्थामा सोतर्फ विवेचना नै नगरी भएको फैसला बदरभागी छ । मलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत कसुर अपराधमा सोही ऐनको दफा ४(२)(क)(ख) को कसुर अपराध गरेको देखिएको भन्ने अभियोग लगाइएको अवस्था छ । दफा ३(१) ले कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्न गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ भने दफा ४(२)(क)(ख) ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन गरेको मानिने छ भनी परिभाषित गरेको छ । तर मैले मानव बेचबिखन गर्ने उद्देश्यले नै भारत लैजान लागेको तथ्य नै स्थापित हुन नसकेको अवस्थामा दुवै एकअर्कामा साथी साथीको सम्बन्ध स्थापति भई सँगै हिँड्डुल गरेको तथ्यलाई शंका गरी त्यस्तो क्रियालाई मानव बेचबिखनको उद्योग हो भनी जबरजस्ती कानूनको व्याख्या गरी मलाई उद्योगमा सजाय गर्ने गरी भएको सुरू फैसलालाई सदर गर्ने गरी भएको फैसलामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१), ४(२)(क)(ख) तथा दफा १५(१)(ङ)(१) समेतको गम्भीर व्याख्यात्मक त्रुटि रहेभएको हुँदा प्रस्तुत निवेदनको रोहमा दोहोर्याई हेर्नुपर्ने अवस्थाको छ । अतः काठमाडौं जिल्ला अदालतबाट मलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(क) विपरीत कसुर गरेकोले दफा १५(१)(ङ)(१) बमोजिमको अभियोग दाबीबमोजिमको कसुरको उद्योगसम्म गरेको देखिँदा ५ वर्ष कैद र रू.२५,०००।- जरिवानासमेत हुने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी भएको श्री उच्च अदालत पाटनबाट मिति २०७४।५।२७ मा भएको फैसलामा कानूनको व्याख्यात्मक त्रुटि रहन गएको हुँदा दोहोर्याई हेरी उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(ङ)१ बमोजिम वर्ष ५(पाँच) कैद र रू.२५,०००।- जरिवाना गरेकोमा ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था भएकोमा त्यसतर्फ फैसलामा उल्लेख नगरी भएको उच्च अदालत पाटनको मिति २०७४।५।२७ को फैसलामा उक्त दफा १७ को कानूनी व्यवस्थाको व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नुहोला भन्ने बेहोराको यस अदालतबाट मिति २०७५।११।२८ मा भएको मुद्दा दोहोर्याई हेर्ने आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्यायले पीडितलाई बेचबिखन गर्ने उद्देश्यले प्रतिवादीले भारततर्फ लैजाँदै गरेको अवस्था विद्यमान रहेको देखिँदादेखिँदै कानूनको मनसायविपरीत उद्योगसम्म गरेको ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको साथै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७(१) ले कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था भएकोमा उच्च अदालत पाटनको फैसलामा सोतर्फसमेत मौन रहेको अवस्था देखिएबाट उक्त फैसलामा कानूनी त्रुटि भएकाले बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउने गरी फैसला गरिपाउँ भनी र पुनरावेदक प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कूलराज लामिछाने र विद्वान् अधिवक्ता श्री मनोजकुमार चौधरीले नाम ढाँटेकै आधारमा शंका गरी बिनाआधार, प्रमाण यी प्रतिवादीलाई सजायसमेत गरेको फैसला मिलेको छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(क) विपरीत कसुर गरेकोले दफा १५(१)(ङ)(१) बमोजिमको अभियोग दाबीबमोजिमको कसुरको उद्योगसम्म गरेको ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी भएको श्री उच्च अदालत पाटनको मिति २०७४।५।२७ को फैसलामा कानूनको व्याख्यात्मक त्रुटि रहन गएको देखिँदा उक्त फैसला उल्टी गरी मेरो पक्षलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात हेर्दा, प्रतिवादी लक्षुमण थापाले पीडित परिवर्तित नाम थानकोट च लाई ललाई फकाई प्रेम गरेको नाटक गरी दिल्ली गई राम्रो काम गरौंला, धेरै पैसा कमाउँला अनि नेपाल फर्कौंला भनी प्रलोभन देखाई आफ्नो वास्तविक नाम ढाँटी स्वयम्भुबाट दिल्ली जाने बसको टिकट काटी दिल्ली लाँदै गर्दा पक्राउ परी आएकोसमेतबाट निज प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसार गरेको पुष्टि भएकोले निजको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत कसुर अपराधमा सोही ऐनको दफा ४(२)(क)(ख) बमोजिम कसुर अपराध गरेको देखिएकोले सोही ऐनको दफा १५(ङ)(१) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम पीडित परिवर्तित नाम थानकोट च लाई मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई प्रतिवादीले नैतिक पतन देखिने फौजदारी कसुर गरेकोले ऐ. ऐनको दफा २२ बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखियो । जाहेरवालीले आफूलाई वास्तविक नाम नभनेको, अरू नै नामबाट मात्र परिचित रहेको कारण बेचबिखन गर्न लगेको आरोप लगाएकी छन् । प्रतिवादी र जाहेरवालीबिच करिब दुई वर्षअघि चिनजान भएको कुरा निजहरूको भनाइबाट देखिन्छ । यति लामो समयसम्म वास्तविक नाम नभन्नुको पछाडि पति पत्नीको पवित्र उद्देश्य नै रहेको थियो भन्ने मिल्ने देखिएन । प्रस्तुत मुद्दामा खरिद गर्ने व्यक्ति, बेचबिखनको मूल्य निर्धारण भएको
देखिएन । तर भारत लैजाँदै गर्दाका अवस्थामा पक्राउ परेको देखिन्छ । तसर्थ, बेचबिखन गर्ने उद्योगसम्म गरेको, बेचबिखन गर्न नपाएको अर्थात् उद्योगसम्मको प्रयास भएको अवस्थाको विद्यमानता देखियो भन्ने आधारमा प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले अभियोग दाबीबमोजिम कसुरको उद्योगसम्म गरेको देखिँदा निजलाई ५(पाँच) वर्ष कैद र रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने गरी मिति २०७३।६।१० मा काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त सुरू जिल्ला अदालतको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकार र प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापा दुवैको पुनरावेदन परेकोमा प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले अभियोग दाबीबमोजिमको कसुरको उद्योगसम्म गरेको ठहर्याई प्रतिवादीलाई ५(पाँच) वर्ष कैद र रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।०६।१० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने उच्च अदालत पाटनबाट मिति २०७४।५।२७ मा फैसला भएको देखिन्छ । तत्पश्चात् सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकार र प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन दायर भई यस अदालतबाट मिति २०७६।२।२० मा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहबाट पेस हुन आएको देखियो ।
अब, प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७४।५।२७ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, ललितपुर टिकाथली स्थित सनी रेडिमेन्ट गार्मेन्टमा काम गर्ने क्रममा सोही गार्मेन्टमा काम गर्ने राजकुमार चौहान भन्ने हाल नाम थाहा भएको लक्षुमण थापासँग चिनजान बोलचाल थियो । निजले विवाह गरी इन्डिया गई काम गरी केही समयपछि धन कमाएर नेपाल आउने भनी पटकपटक फोन गर्ने गरेको र मैले आफ्नो विवाह भइसक्यो विवाह गर्दिन भन्दा भेटी कुरा गरौं भनी नेपाल बसी उँभो लाग्दैन भनी लालच देखाई फकाई फुलाई विश्वास दिलाएकोले मैले जाउँला भनेकोमा मिति २०७३।३।२७ मा निजले भारत जाने गाडी लाग्ने ठाउँ स्वयम्भुमा ट्याक्सीमा लगी गाडी चढ्न लगाई आफू पनि सँगै बसी सोधखोज गरेमा श्रीमान् श्रीमती हो भन्नु भनी सिकाउँदै आएकोमा नागढुङ्गा पुग्दा माइती नेपालका टोलीले सोधपुछ गरेको र मैले निजको नाम राजकुमार चौहान हो भनी बताएकी र मेरो नागरिकता र कागजात केही नभएकोले निजको दुईवटा नाम भएकोमा नाम ढाँटी मलाई मानव बेचबिखन तथा ओसारपसारको लागि ल्याएको पुष्टि भएकोले हदैसम्म कारबाही गरिपाउँ भनी मौकामा पर्न आएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । मौकाको घटनास्थल प्रकृति मुचुल्का हेर्दा काठमाडौंबाट भारततर्फ गइरहेको यात्रुबाहक बसमा प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापाले विभिन्न प्रलोभन देखाई पीडित थानकोट च लाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंदेखि दिल्लीसम्म जाने बसमा ओसारपसार गरी लगिरहेको अवस्थामा माइती नेपालसमेतको पहलमा प्रहरीले फेला पारी राजकुमार चौहान भन्ने लक्षुमण थापालाई पक्राउ गरेको भन्ने देखियो । निज लक्षुमण थापाले लगाएको पाइन्टको अगाडिको दाहिनेतर्फको खल्ती चेक गर्दा लक्षुमण थापा नाम गरेको नागरिकता र NORLING TOURS SERVICE को Kathmandu to Delhi को बसको टिकट बरामद भएको खानतलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ । पीडित थानकोट च ले मौकामा गरेको बयानमा अन्दाजी दुई वर्षसम्म माया प्रेम गरेको जस्तो गरी आफ्नो नामसमेत ढाँटी छली भारतमा राम्रो काम पाइन्छ भन्ने प्रलोभन देखाई मलाई भारतको दिल्लीसम्म ओसारपसार गरी बेचबिखन गर्न सक्ने देखिएकोले मैले जाहेरी दरखास्त दिएको हो भनी जाहेरी दरखास्तलाई समर्थन गर्दै बयान कागज गरेको र आफ्नो मौकाको बयान कागजलाई पीडितले अदालतमा समेत आफूले भनेबमोजिम लेखिएको ठिक हो भनी अदालतबाट प्रमाणित भएकोसमेत देखियो । त्यसैगरी पीडितले अदालतसमक्ष बकपत्र गर्दासमेत आफूले मौकामा दिएको जाहेरी दरखास्त अनुसन्धान अधिकारीसमक्ष गरी दिएको कागज बेहोरालाई समर्थन गर्दै प्रतिवादीले आफूलाई ढाँटेर बेच्न लगेको कुरा किटानीसाथ लेखाइदिएको पाइयो ।
३. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६(३) मा "उपदफा-२ बमोजिम बयान प्रमाणित गरिएकोमा त्यस्तो पीडित मुद्दाको कारबाहीको सिलसिलामा अदालतमा उपस्थित नभए पनि त्यसरी प्रमाणित गरिएको बयान अदालतले प्रमाणमा लिन सक्ने छ" भन्ने तथा प्रमाण ऐन, २०३१ को दफा १८ ले "कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ ।" भन्ने कानूनी व्यवस्था गरेको देखियो ।
४. साथै यस अदालतबाट पुनरावेदक वादी ओजराज विष्टको जाहेरीले नेपाल सरकार र प्रत्यर्थी / प्रतिवादी यज्ञबहादुर थापासमेत भएको (ने.का.प.२०६९, अङ्क-२, नि.नं. ८७६४) को कर्तव्य ज्यान मुद्दामा "जाहेरी दरखास्तको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधारको रूपमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति अर्थात् जाहेरवाला स्वयं साक्षीका रूपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा बकपत्र गरी समर्थन गरेको स्थिति विद्यमान हुनुपर्दछ । अन्यथा कुनै पनि जाहेरीको बेहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्त्व ग्रहण गर्न नसक्ने" भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । सो कानूनी व्यवस्था एवं प्रतिपादित सिद्धान्तअनुसार अनुसन्धानका क्रममा कुनै कुरा व्यक्त गर्ने व्यक्ति साक्षीका रूपमा अदालतमा उपस्थित भई बकपत्र गरेमा निजको बकपत्र बेहोरालाई प्रमाणका रूपमा लिन हुन्छ भन्ने देखिन्छ ।
५. प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दासमेत आफ्नो नाम राजकुमार चौहान भन्ने लक्षुमण थापा हो भन्ने उल्लेख गरेको र मेरो करिब दुई वर्षअगाडिदेखि टिकाथलीको गार्मेन्टमा काम गरी माया प्रेम बसेको थियो । निजकै सल्लाहअनुसार हामी दुवैजना भारत जान लागेको अवस्थामा माइती नेपालले सोधपुछ गरी पक्राउ गरेको हो । हामीहरूको मन्जुरीले जान लागेको हो भनी उल्लेख गरेको
देखियो । यस स्थितिमा पीडितलाई प्रतिवादीले दिल्ली लानका लागि बसमा चढेको र गन्तव्यमा पुग्नुअगावै नेपालभित्र नै पक्राउ परेको कुरामा विवाद देखिँदैन । प्रतिवादी र जाहेरवाली (पीडित) बिच दुई वर्षअगाडिदेखि चिनजान भएको कुरामा पनि विवाद देखिएन । प्रतिवादीले पीडितलाई निजकै सल्लाहमा भारत जान लागेको भनी उल्लेख गरे तापनि सो कुरालाई पीडितले इन्कार गरेको तथा प्रतिवादीले आफ्नो भनाइ पुष्टि गर्ने तथ्यगत एवं वस्तुनिष्ठ प्रमाणसमेत पेस गर्न सकेको पाइएन ।
६. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ मा "प्रमाणको भार प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनुपर्ने छ" भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा ३(१) मा "कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्नु गराउनु हुँदैन" र दफा ३(२) मा "कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐनबमोजिमको कसुर गरेको मानिने छ" भन्ने कानूनी व्यवस्था रहेको छ । त्यसैगरी प्रतिवादीउपर दाबी लिइएको अभियोगपत्रमा उल्लिखित दफा ४(२)(क) हेर्दा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, दफा ४(२)(ख) मा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई प्रलोभनमा पारी, झुक्काई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने भन्ने उल्लेख गरेको पाइन्छ भने दफा १५(ङ)(१) अनुसार सजाय हुने व्यवस्था रहेको छ । दफा १५(१)(ङ)(१) मा "विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बिस वर्षसम्म कैद र एक लाख रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना" हुने र ऐ. को दफा १५(१)(ज) मा "मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न दुरूत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय" हुने भन्ने उल्लेख छ ।
७. साथै पुनरावेदक वादी सङ्केत नाम बौद्ध ९५ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रेम भन्ने शंकर वि.क. भएको मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी (ने.का.प.२०७५, अङ्क-८, नि.नं.१००७०) मुद्दामा यस अदालतबाट "मुख्यत: अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्नेबारेमा सोच्दछ वा मनसायको उत्पत्ति गर्दछ । दोस्रो हो तयारी चरण; यसमा मनले सोचेको कुरालाई कार्यरूप दिनका लागि आवश्यक पूर्वाधारहरू तयार वा वातावरण निर्माण गरिन्छ । तेस्रो हो उद्योग चरण; यसमा अपराधको तयारीपश्चात् तयारीकर्ताले मनसायपूर्वक अपराध घटाउन वास्तविक कार्यमा उत्रन्छ तर केही अवरोधका कारणबाट अपराध पूरा हुन नपाई खाली पूर्ण अपराधको प्रयत्न मात्र हुन्छ । चौथो तथा अन्तिम चरण; यसरी अवरोध नआएको भए पूर्ण रूपमा आपराधिक कार्य सम्पन्न हुन्छ । यसबाट अभियुक्तलाई लगाइएको कसुरप्रति निजको अन्तिम प्रयास असफल भएको अवस्था नै आपराधिक उद्योग हो भन्ने स्पष्ट हुन्छ । यदि उद्योग सफल भएको भए उसको इच्छित अपराध पूरा हुने थियो भन्ने अवस्था नै अपराधको उद्योग हो । यसरी अपराधको उद्योग भन्नाले अपराध गर्नका लागि आपराधिक मनसायसहित आपराधिक कार्य प्रक्रिया सुरू गरिसकेको तर कुनै कारणवश इच्छित परिणाम प्राप्त गर्न नसकेको अवस्था हुने ।" भन्ने सिद्धान्त प्रतिपादन भएको देखियो ।
८. प्रस्तुत मुद्दाको सन्दर्भमा प्रस्तुत कानूनी व्यवस्था एवं प्रतिपादित सिद्धान्तसमेतलाई भिडाई हेर्दा, प्रतिवादीले पीडितलाई भारतको दिल्ली लगी बेचबिखन गर्ने मनसायअनुसार अपराधको तयारीअनुरूप आफ्नो सक्कली नाम लुकाई अन्य नामबाट आफूलाई पीडितसमेतसँग चिनाउँदै दुई वर्षसम्म माया प्रेमको जाल रची अनुचित प्रभावमा पारी पीडित बस्ने स्थानदेखि छुट्याई भारततर्फ लैजानको लागि बसमा चढाई बाटोमा लैजाँदै गर्दा काठमाडौं, नागढुङ्गामा माइती नेपालको प्रतिनिधिसहित प्रहरीद्वारा चेक जाँच गर्ने क्रममा प्रतिवादी पक्राउ परेको र पीडितको उद्धार भएको कारण प्रतिवादीको पीडितलाई विदेश भारतमा लगी बेचबिखन गर्ने आपराधिक मनसाय पूरा हुन सकेको देखिएन । माइती नेपाल तथा प्रहरीद्वारा अवरोध नभएको भए प्रतिवादीको पीडितलाई भारतमा लगी बिक्री गर्ने उद्देश्य पूरा हुने देखिन्छ । यसरी प्रतिवादीले पीडितलाई भारतको दिल्लीमा लगी बिक्री वितरण गर्नको लागि ओसारपसार गर्ने क्रममा काठमाडौंको नागढुङ्गामा पक्राउ परेको देखिन्छ । पीडित ओसारपसार गर्ने क्रममा नेपालबाट नै उद्धार गरिएकोले प्रतिवादीले पीडितलाई बिक्री गर्न नपाई निज प्रतिवादीले पीडितलाई बिक्री गर्ने उद्देश्यसम्म राखी लैजाने कार्य गरेको तर उक्त कार्य पूर्ण हुन नसकेको देखियो । तसर्थ, बिक्री गर्ने उद्देश्यसहितको अपूर्ण कार्यतर्फ सुरू जिल्ला अदालत र उच्च अदालत पाटनले गरेको फैसला मिलेकै देखिन आयो । अत: अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर र अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. जहाँसम्म कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ मा "अदालतले कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरी निजबाट पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति भराइदिनुपर्ने छ ।" भन्ने उल्लेख भएको देखिन्छ । वस्तुत: क्षतिपूर्तिसम्बन्धी व्यवस्था भनेको पीडितको हकमा बनेको कानूनी व्यवस्था
हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको अवस्थामा नभराइदिने हो भने पीडितमाथि अन्याय हुन जान्छ । नेपालको संविधानको धारा २१ को अपराध पीडितको हकभित्र पीडितको क्षतिपूर्ति पाउने हक पनि अन्तरनिहित भएको मान्नुपर्दछ । संविधान र कानूनले पीडितले क्षतिपूर्ति पाउने कुरालाई सुनिश्चित गरेको अवस्थामा सुरू जिल्ला अदालत र उच्च अदालत पाटनबाट पीडितले क्षतिपूर्ति पाउनेबारे मौन बस्दा उक्त फैसला संविधान एवं प्रचलित कानूनी व्यवस्थासमेतको विपरीत भई न्यायको रोहमा मान्य देखिएन । उपर्युक्त कानूनी व्यवस्थाअनुसार प्रतिवादीलाई ठहर भएको जरिवानाको कम्तीमा पचास प्रतिशत रकम क्षतिपूर्तिबापत प्रतिवादीबाट पीडितले भराई पाउने नै देखियो ।
१०. अत: प्रतिवादी राजकुमार चौहान भन्ने लक्षुमण थापालाई मानव बेचबिखन तथा ओसारपसारको कसुरको उद्योग गरेकोमा निजलाई ५(पाँच) वर्ष कैद र रू.२५०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७३।६।१० मा भएको फैसला सदर गरेको उच्च अदालत पाटनको मिति २०७४।५।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । साथै पीडितले क्षतिपूर्ति पाउने, नपाउने सन्दर्भमा केही नबोली उच्च अदालत पाटनबाट मिति २०७४।५।२७ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीलाई ठहर भएको जरिवाना रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) को ५० प्रतिशत रकम (आधा) रू.१२,५००।- (बाह्र हजार पाँच सय रूपैयाँ) पीडितले प्रतिवादीबाट क्षतिपूर्तिबापत भराइपाउने ठहर्छ । अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पीडितले प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.१२,५००।- (बाह्र हजार पाँच सय रूपैयाँ) भराई पाउने ठहरी फैसला भएकाले उक्त क्षतिपूर्तिको रकम प्रतिवादीबाट असुलउपर गरी पीडितलाई भराइदिनु भनी सुरू जिल्ला अदालतसमक्ष लेखी पठाइदिनू ...................१
प्रस्तुत फैसलाको जानकारी पीडित, महान्यायाधिवक्ताको कार्यालय तथा प्रतिवादीसमेतलाई दिनू.............................................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ............................३
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : अरूणकुमार कोइराला
इति संवत् २०७७ साल असार ९ गते रोज ३ शुभम् ।