शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४३१ - कर्तव्य ज्यान

भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२

निर्णय नं. ४४३१     ने.का.प. २०४८      अङ्क १२

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको फौ.पु.इ.नं. ३०

फैसला भएको मिति: २०४८।१०।१४।३ मा

निवेदक/प्रतिवादी: जि.का. कारागार शाखा दाङ तुल्सीपुर थुनामा रहेका प्रेम बक्स मियाँ

विरुद्ध

विपक्षी/वादी: चन्द्रकला समेतको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    नाबालकले निजको बकाई अनुसार १२ जनाको हुलले घुस्सा मुक्काले हानेको भनेको अवस्था कुनै हल्ला खल्ला नगरी रुनु कराउनु केही नगरी त्यसै हेरिरहेको होला भनी सम्झन मिल्ने हुँदैन, सो बकाइलाई आधारमा लिन नमिल्ने ।

(प्रकरण नं. ६५)

(२)   पोल गरेको आधारमा शंकासम्म गरेको पाइन्छ, त्यस्तो शंकाको भरमा अपराधी ठहराउन फौजदारी न्याय सिद्धान्तले नमिल्ने ।

(प्रकरण नं. ६५)

(३)   आरोप लगाउँदैमा पर्याप्त हुँदैन सो आरोपको पुष्टि हुने आधार देखाउन सक्नु पर्ने ।

(प्रकरण नं. ६५)

(४)   केवल लेनदेन र कुलोपानीमा झगडा भएको तथा लगाएको लुगा नफुकाली लाश जलाएको, लाश हतार हतार गरी जलाएको, लाश जलाउँदा डरले कामेको आदि शंकास्पद आधारमा प्रतिवादीहरुलाई दोषी ठहर गर्न न्यायको दृष्टिले नमिल्ने ।

(प्रकरण नं. ६५)

निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का

विपक्षी वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     श्री ५ महाराजाधिराज सरकारका जुनाफमा प्रतिवादीले मुद्दा दोहर्‍याई पाउँ भनी चढाएको वि.जा.वि. सवारी शिविरमा चढाएको द.नं.सु. १०४३ मिति २०४५।११।९ को विन्तिपत्रमा व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको मुद्दा दोहराई हेरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४६।३।५ मा तोक लागी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    विपक्षी प्रेमबक्ससंग लेनदेन विषयमा ०३७ साल बैशाख २३ गते दिउँसो हाम्रो पति खिमबहादुर शाहीको झगडा भएको र मानबहादुर रानासंग कुलोमा झगडा हुँदा तँ उम्केर कहाँ जालास् भनेका रहेछन ऐ.२३ गते साँझ उक्त झगडा भएको कुरा खिमबहादुरले कान्छी श्रीमती म चन्द्रकलासंग भनेका थिए, साँझ खाना खाई लोग्ने खिमबहादुर बाहिर ढिक्यारमा र नाबालक छोरी २ र म भित्र कोठामा, ढोकाको संघारमा वर्ष १२ को जंगबहादुर सुतेको, राति अं. ११ बजेतिर अन्यायवाला मानबहादुर राना, सुकलाल, मोतिलाल, हिरा सिंह, प्रेमबक्स मियाँ, डिल्लीबहादुर विष्ट१ र नचिनेका अरु २ जना आई खिमबहादुरलाई बोल्न चल्न नपाउने गरी कर्तव्यबाट मारेछन् । खुला रहेको ढोकाबाट घर्‍याक घुरुकको आवाज सुनी म बिउँझी बाहिर आउँदा अन्यायवालाहरु घरको पेटीमा बसेका खिमबहादुरको दायाँ हात सिरानमा लागेको बायाँ हात भाँचिएको, मुख निलो भएको देखी बोलाउँदा नबोलेकाले मारेछन् भन्ने ठानी रिस उठी बन्चरो लिई निजहरुलाई हान्न जाँदा निजहरुले हुल गरी मेरो बन्चरो खोसी यो कुरा हल्ला गरिस् भने तेरो ज्यान रहने छैन भनी डर त्रास देखाएकोले चुप लागी बसें । भोलिपल्ट बिहानै लुहामज्यूला चौकी नजीक पीपलको रुखमा साधारण पोशाक लगाएको प्रहरीलाई सबै कुरा भन्दा तपाई जानुहोस कारवाही गरौंला भनेकाले म फर्की घरतर्फ आउँदा घरमा नपुग्दै को को मानिस भई मृतक लोग्नेको लाश घाटतर्फ लगी सकेछन् । खिमबहादुरकै जेठी श्रीमती म बेलामति फलावाङ बुकी चौरमा बस्ने गरेकी र ऐ. २४ गते चुकिले पुन बोलाउन गएकाले आउँदा रुनु कराउनु सिवाय अरु काम भएन । क्रिया बस्नु पर्छ भनी विपक्षीले क्रिया बसाले क्रिया सकिएपछि पनि डर त्रास देखाई पिछा गरी रहेकाले हाल मात्र फुर्सत पाई जाहेर गर्न आएका छौं । सरजमीन समेत बुझी विपक्षीहरुलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०३७।२।१७ को चन्द्रकला शाही र बेलमति शाहीको संयुक्त जाहेरी दर्खास्त ।

३.    ०३७ साल बैशाख २३ गते म आफ्नो घरमा थिएँ । मर्ने खिमबहादुरसंग मेरो देखभेट र झगडा समेत भएको होइन । प्रेमबक्ससंग झगडा भएको कुरा मलाई थाहा छैन । ऐ.२४ गते बिहान रामबहादुरले खिमबहादुर मरेछन भनी बोलाएकोले त्यहाँ जाँदा च्याप्टे पुन, जंगबहादुर र मर्नेकी श्रीमती चन्द्रकला समेत थिए । मृतक खिमबहादुरलाई मृगी रोग लागेकोले पहिले देखि देखेको थिएँ । खिमबहादुरको लाश कम्बलले छोपेको थियो । कम्बल उठाई हेर्दा निज मरी सकेको थाहा पाई निजकी जेठी श्रीमतीलाई बोलाउन चेप्टे पुनलाई पठाएँ । जिम्वाल बाहुन बोलाउन म गएँ र सबै मान्छे जम्मा भई लाश दाह संस्कार गर्न घाटतिर लगेका हौं । दागवती दिने जंगबहादुर हुन् । म समेत भई खिमबहादुरलाई कर्तव्य गरी मारेको होइन । ०३७ सालमा भएको प्रधानपञ्च चुनावमा भु.पु.प्र.पं. माधव बस्नेतलाई भोट नदिई प्र.पं.मा (साविक पेज नं. ८२४) हारेकोले सोही कुराको इवी साधनको लागि चन्द्रकला समेतलाई हात लिई झुठ्ठा जाहेरी दिन लगाएका हुन भन्ने समेत सुकबहादुर बस्नेतले प्रहरीमा गरेको बयान कागज ।

४.    म प्रेमबक्सको घरमा काम गर्ने भएको र निजले उधारो कपडा बेचेको पैसा माग्न बैशाख २० गते धनबहादुरको घरमा पुगी ऐ.२४ गते मात्र घर आएको हुँ । खिमबहादुर मरे भन्ने कुरा ऐ.२४ गते थाहा पाएको हुँ । प्रेमबक्सको काम गर्ने हुँदा रिसइवीबाट म समेतले खिमबहादुरलाई कर्तव्य गरी मारेको भनी झुठ्ठा उजूरी दिएका हुन भन्ने समेत डिल्लीबहादुरले प्रहरीमा गरेको बयान कागज ।

५.    ०३७।१।२३ गतेका दिन म र श्रीमती खाना खाई डेढकोष टाढा पर्ने जंगलमा ढोकाको पल्ला लिन गई साँझ घरमा आएका हौं । पानी परेकोले मेरो गोठको कुलेसो काट्न लाग्दा खिमबहादुरलाई ज्यूलाबाट हातमा चप्पल समाई आउन लागेको देखेको थिएँ सो अवस्था निज रक्सी खाएर आएका थिए । भोलिपल्ट बिहान जंगबहादुरले ठुलाबा मरे भनेपछि मृतकका घरमा जाँदा २।४ जना मानिस जम्मा भएका थिए । त्यसपछि सबै जम्मा भई खिमबहादुरको लाशलाई मसानघाटमा लगी जंगबहादुरले दागवत्ति दिएको हुन । निजलाई कर्तव्य गरी मारेको होइन गाउँका मानिसको भनाइमा लागी झुठ्ठा उजूरी दिएको हुन सत्य साँचो कुरा भए लोग्नेको काजकृया नै नगरी समयमा नै जाहेर गर्नु पर्ने भन्ने समेत मानबहादुर रानाले प्रहरीमा गरेको बयान कागज ।

६.    ०३७।१।२३ गते दाजु मोतिलाल सामान खरिद गर्न तुल्सीपुर गई ऐ.२४ गते घर आएका उक्त दिन बुवा सुकबहादुर घरमै हुनुहुन्थ्यो । म बारीमा घाँस काट्न गई घाँस काटी आउँदा खिमबहादुर मर्‍यो रे भन्ने सुनेपछि काठ दिन मसानघाटमा जाँदा लाश आधा जली सकेको थियो क्रिया सकिएपछि चोखो नुन खान म बाबु सुकलाल दाइ मोतिलाल समेत गएका थियौं । मृतक खिमबहादुर कर्तव्यबाट मारेको होइन भन्ने समेत प्र.सुकबहादुरको छोरा प्र.हिरा सिंले प्रहरीमा गरेको बयान कागज ।

७.    ०३७।१।२३ गते घरायसी सामान ल्याउन तुल्सीपुर गई ऐ.२४ गते बिहान फलावाङ आई पुगी नाम नजानेको खत्रीको घरमा खाना पकाउन लगाई बसेको अवस्था निज खत्रीले आज खिमबहादुर मर्‍यो रे भनेपछि थाहा पाएँ अं. ११।१२ बजे तिर घर आई पुग्दा खिमबहादुर मसान घाटमा लिई दागवत्ती दिइरहेका थिए । गाउँ घरको रितिथिति अनुसार काठ हाल्न म पनि गएँ । निज खिमबहादुरलाई म समेतले कर्तव्य गरी मार्नु पर्ने कुनै कारण थिएन जाहेरी झुठ्ठा हो भन्ने समेत प्र.मोतिलालले प्रहरीमा गरेको बयान कागज ।

८.    ०३७।१।२४ गते बिहान जाहेरवाली चन्द्रकलीले मलाई बोलाइन र म निजको घरमा आउँदा खिमबहादुर मरेका थिए म समेत भई निजको लाश घाटमा लगी दाहसंस्कार गरेको हौं जाहेरी दर्खास्त अनुसार मानबहादुर समेतले कर्तव्य गरी मारेको होलान भन्ने समेत रामबहादुर बस्नेतले प्रहरीमा गरेको बयान कागज ।

९.    ०३७।१।२३ गते दिनभर म आफ्नो घरमा छु । ऐ.२४ गते बिहान खिमबहादुर मरेको थाहा पाई बिहान ९।१० बजे तिर निजको घरमा जाँदा लाश मसान घाटमा पुर्‍याएका थिए । म पनि धर्म काठ दिन गई घर तर्फ गएँ लाश कपडै संग जलाएका हुन वा कपडा फुकाली जलाएका हुन आँखाले देखिन निज खिमबहादुर शाहीलाई कर्तव्य गरी मारेको भन्ने जाहेरी दर्खास्त झुठ्ठा हो भन्ने समेत प्र.प्रेम बक्स मियाँले प्रहरीमा गरेको बयान कागज ।

१०.    ०३७।१।२३ गते ठूला बाबु खिमबहादुरको घरमा आई बसेको थिएँ । साँझको समयमा खिमबहादुर, बीजुले बस्नेतको भट्टी तर्फबाट रक्सी खाई आएका रहेछ । खरको पाली मुनी ओछ्यान लगाएपछि निज सुते मैले काम्लो ओढाई दिएँ । त्यसपछि निज ठूलो बुबा खिमबहादुर उठी वान्ता गरे म भित्र ढोकाको सिंगारमा सुते राती कुनै मानिस आएको र हल्ला भएको समेत थाहा पाइन । विहान ठुली आमा चन्द्रकली धान कुट्न जाँदा (साविक पेज नं. ८२५) खिमबहादुरलाई उठाउन निजले ओढेको कम्वल तान्दा निज मरी सकेका रहेछ । पछि चन्द्रकलाले मेरो बाबुलाई बोलाई आएपछि खिमबहादुरको जेठी स्वास्नीलाई बोलाउन फलावाङ गएँ । अरु गाउँका मानिसहरु समेत जम्मा भई खिमबहादुरको लाश मसानघाटमा लगी जलाएको हो, जाहेरीमा लेखिएका प्रेमबक्स समेतले कर्तव्य गरी मारेको मैले देखिन मर्नेको जेठी श्रीमतीले मलाई प्रेमबक्स समेतले मारेको देखेको हुँ भनी भन्नु भनी सिकाएकी थिइन । चन्द्रकलालाई समेत तलाई केही हुँदैन भनी सिकाई उजूर गर्न लगाएकी हुन भन्ने समेत मिति ०३७।२।२४ मा प्रहरीमा जंगबहादुरले गरेको कागज ।

११.    ०३७।१।२३ गते लोग्ने खिमबहादुर खाना नखाई बाहिर पालीमा सुतेका थिए पछि वान्ता गरेर मैले फाले । कम्बल ओढाई म भित्र सुते बिहान लोग्ने सुतेका ठाउँमा गई निजले ओढेको कम्बल फाल्दा लोग्ने चिसो भई मरी सकेका रहेछन् । पछि गाउँका मानबहादुर समेतका मानिसहरु आई मेरी जेठी सौतालाई बोलाउन पठाई लोग्नेको लाश खोलामा लगी जलाएका हुन् । जाहेरीमा लेखिएका प्रेमबक्स समेतले लोग्नेलाई कर्तव्य गरी मारेको देखेको होइन । जंगबहादुरलाई माधव बस्नेतले के कसरी फकाई म समेतको सामुन्नेमा जाहेरी लेखिएका प्रतिवादीहरुले मारेको देखेको हुँ भनी भन्न लगाएका हुन् मृतक खिमबहादुरलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत निज खिमबहादुरकी कान्छी श्रीमती जाहेरवाली चन्द्रकलाले प्रहरीमा ०३७।२।२४ मा गरेको कागज ।

१२.   ०३७।१।२४ गते बिहान खिमबहादुरको मृत्यु भयो संख बजाउन जानु पर्‍यो भनेकाले म गई संख बजाएको र काज क्रिया समेत गराई ऐ.जेष्ठ ४ गते चोखिने काम भएको हो मृतक खिमबहादुरलाई कसैले कर्तव्य गरी मारेको होलान जस्तो लाग्दैन भन्ने समेत नारायणप्रसाद लामिछानेले ०३७।२।२४ मा गरेको कागज ।

१३.   ०३७।१।२३ गते राती आफ्नो कालगतिले खिमबहादुरको मृत्यु भएको हो । कसैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसहरुको बकपत्र भएको मिति ०३७।२।२९ को सरजमीन मुचुल्का ।

१४.   खिमबहादुरलाई कर्तव्य गरी मारेको भन्ने केही कतैबाट भरपर्दो प्रमाण गुज्रन नआएको र ०३७।१।२३ गते वारदात घट्ना घटेको सत्य भए लगभग ।१ महीना सम्म उजूर नदिई बस्नु पर्ने र १ महीना पछि मात्र परेको चन्द्रकला र बेलमतिको जाहेरी आधारबाट ज्यान जस्तो अपराधमा जाहेरीमा लेखिएका मानबहादुर समेत उपर मुद्दा चलाउन कुनै ठोस प्रमाण नभएकोले पछि अदालतबाट खोजी भएका बखत हाजिर गराउने गरी हाल हाजिर जमानीमा छाडी कसै उपर माग दावी नगरी मिसिल पेश गरेका छौं भन्ने समेत मिति ०३७।२।३१ को प्रहरी प्रतिवेदन ।

१५.   ०३७।१।२३ गते साँझ आज प्रेमबक्स र मानबहादुरसंग झगडा भयो भनी खिमबहादुरले कान्छी श्रीमती चन्द्रकलासंग भनेका थिए सो दिन म जाहेरवालीको घरमा थिएँ । साँझ खाना नखाई मर्ने खिमबहादुर ढिक्यारमा सुते सुत्ने वित्तिकै २ पटक वान्ता गरे र कान्छी श्रीमतीले फालीन । राती ९।१० बजे तिर खिमबहादुर उठी भित्र आई सुते राती सानो ढोकाबाट भित्र पसी ठूलो ढोका खोली मानबहादुर र सुकबहादुरले तँलाई मार्न आएका हौं भनी भन्दा खिमबहादुरसंग हानाहान भयो । त्यसपछि प्रेमबक्स मिया, डिल्लीबहादुर र हिरासिंह, मोतिलाल समेत र अरु नचिनेका ६ जना सबैले खिमबहादुरलाई कुटपिट गरी बाहिर ढिक्यारमा लगेका र म ढोकाबाट लुकी हेर्दा मानबहादुरले घाँटीमा समातेको, प्रेमबक्सले खुट्टामा समातेको, डिल्लीबहादुरले हातमा समातेको र अरुले घुस्सा मुक्काले हानी मारेका हुन् । प्रहरीमा बयान गर्दा खेमराज के.सी. र हरीप्रसाद श्रेष्ठले आफ्नो कालगतिले मरेको भन भनी भनेकाले भनेको हुँ भन्ने समेत ०३७।३।१४ गतेमा अ.बं. ११५ नं. बमोजिम बुझिएका जंगबहादुर पुनले अदालतमा गरेको बयान । (साविक पेज नं. ८२६)

१६.    काज क्रिया सकिएपछि भू.पू.प्र.पं. माधव बस्नेतले म, चन्द्रकली र छोरा जंगबहादुरलाई बोलाई खिमबहादुर के भएर मर्‍यो भनी सोद्धा जंगबहादुरले प्रेमबक्स, मानबहादुर समेतले कर्तव्य गरी मारेको देखेको हुँ भनी भन्दा जाहेरी दिन लगाएका हुन । जाहेरीमा लेखिएका प्रेमबक्स मिया मानबहादुर समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत अ.बं. ११५ नं. बमोजिम बुझिएका चुकिलो पुनले अदालतमा गरेको बयान ।

१७.   माधव बस्नेतले प्रेमबक्स समेतले कर्तव्य गरी मारेको भनी किटानी जाहेरी दिनु पर्छ नदिए तिम्रो नाउँमा उजूर पर्छ भनी डर त्रास देखाई जाहेरी दिन लगाएका हुन लोग्ने खिमबहादुलाई कसैले कर्तव्य गरी मारेको होइन भन्ने समेत जाहेरवाली चन्द्रकलाले ०३७।३।१६ मा अदालतमा बकेको बकपत्र ।

१८.   ०३७।१।२३ गते राति प्रेमबक्स, सुकलाल, मानबहादुर, मोतिलाल, हिरासिं डिल्लीबहादुर समेतले मेरो लोग्ने खिमबहादुरलाई कर्तव्य गरी मारेछन् दोश्रो दिन मलाई बोलाई म नयाँ गाउँ आउँदा लास खोलामा लगी सकेको रहेछन् । पछि काजक्रिया सकिएपछि जंगबहादुरले खिमबहादुर कर्तव्यबाट मरेका हुन् भनी भन्दा थाहा पाई उजूर गर्न आउँदा मैले पनि मारेको देखेकी हुँ उजूर गर्न जाउँ भनी चन्द्रकला समेत साथमा लागी आई जाहेर गरेका हौं भन्ने समेत वेलामति शाहीले ०३७।३।१६ मा अदालतमा बकेको बकपत्र ।

१९.    म कान नसुन्ने भएकीले खिमबहादुर कालगतिले मरेका हुन् वा कर्तव्यबाट मरेका हुन केही थाहा छैन भन्ने समेत चिम्सी कमीनीले ०३७।४।५ मा अदालतमा बकेको बकपत्र ।

२०.   २०३७।१।२३ गते राती मोतिलाल समेतले खिमबहादुरलाई कर्तव्य गरी मारेको भन्ने किटानी जाहेरी दर्खास्त र जाहेरी दर्खास्तमा उल्लेखित कुनै प्रतिवादी उपर मुद्दा चलाउन सबूद प्रमाण नपुग्ने भन्ने प्रहरी प्रतिवेदन भएकोमा बुझिएका जंगबहादुर, चुकिलो पुन समेतले खिमबहादुरलाई कर्तव्य गरी प्रेमबक्स समेतले मारेका हुन् भनी बयान गरेको हुँदा प्रस्तुत मुद्दामा सरजमीन बुझ्न आवश्यक देखिएको पुनः सरजमीन गराउन स.अ. तथा स.अ. र रा.अं.एस.पी.का. बाट खटाइएका कम्तीमा डि.एस.पी. दर्जा सम्मका प्रहरी अधिकृत भई सरजमीन तहकिकात गरी मुद्दा चलाउन पर्ने वा नपर्ने भन्ने प्रष्ट विवरण खोली प्रहरी प्रतिवेदन साथ सक्कल मिसिल अविलम्ब पठाई दिनु भनी कारवाहीका निमित्त मिसिल स.अ. तथा स.अ.का. दाङमा पठाई आएपछि पेश गर्नु भन्ने समेत ०३७।४।२३ को सल्यान जिल्ला अदालतको आदेश ।

२१.   खिमबहादुर शाही के भएर मरेका हुन् म निजको घरमा नगएको हुँदा केही थाहा छैन भन्ने समेत डिलबसी बुढाथोकीले पुन सरजमीन डोर प्रहरीमा गरेको कागज ।

२२.   ०३७।१।२३ गते खिमबहादुरलाई प्रेमबक्स समेतले कर्तव्य गरी मारेका हुन् भनी जंगबहादुरले भनेका र चन्द्रकलालाई सोद्धा पनि हो भनेकी थिइन निजलाई मानबहादुर समेतले कर्तव्य गरी मारोको शंका लाग्छ भन्ने समेत ०३७।६।१ मा डम्बरबहादुर बस्नेतले पुनः सरजमीन डोर प्रहरीमा गरेको कागज ।

२३.   प्रहरी थानेदार समेतले खिमबहादुर के भई मरेको भनी जंगबहादुर संग सोद्धा मानबहादर मोतिलाल हिरासिं प्रेमबक्स समेतले मारेका हुन् भनी भन्यो भन्ने चन्द्रकलाले भन्दा सुनेको हुँ भन्ने समेत सार्के घर्तिले पुनः सरजमीन डोर प्रहरी समक्ष गरेको कागज ।

२४.   ०३७।१।२४ गते खिमबहादुर मरे भन्ने सुनी मसान घाटमा जाँदा लगाएको कपडा नफुकाली खिमबहादुरको लास जलाउन लागेको देख्दा किन लुगा नफुकाली लास जलाउन लागेको भने र जलिहाल्छ भनी मानबहादुर र सुकबहादुर बाँसको धारो लिई शरीर थर थर कमाउँदै लास पल्टाउन लागेको देखें । जंगबहादुरले खिमबहादुरलाई मानबहादुर समेतका ६ जनाले २३ गते (साविक पेज नं. ८२७) राति मारेका हुन् भनेको चन्द्रकलासंग सोद्धा पनि हो भनेकीले खिमबहादुरलाई प्रेमबक्स हिरासिंह समेतले कुटपिट गरी मारेको संका लाग्छ भन्ने समेत पुनः सरजमीन डोर प्रहरी समक्ष मोतिप्रसाद भण्डारी, भीमबहादुर विष्ट, तिलकबहादुर बस्नेत, कृष्णबहादुर, चेतबहादुर, लालबहादुर समेतले गरेको कागज ।

२५.   बैशाख २१ गते खिमबहादुरसंग भेट भई कुराकानी गर्दा मेरी कान्छी श्रीमतीसंग प्रेमबक्सले ठट्टा मस्करी गर्न लागेको देखेर प्रेमबक्ससंग भनाभन झगडा भयो । अब मलाई नयाँ गाउँमा बस्न नहुने भयो प्रेमबक्सले झगडा गर्ने निहुँ खोजी रहन्छ भनी मसंग भनेका थिए र जंगबहदुरले पनि प्रेमबक्स समेतले खिमबहादुरलाई कुटपिट गरी मारे भनेकाले खिमबहादुरलाई प्रेमबक्स समेतले कर्तव्य गरी मारेको हो भन्ने समेत पुनः सरजमीन डोर प्रहरी समक्ष छविलाल बुढाले गरेको कागज ।

२६.   मर्ने खिमबहादुरलाई जाहेरी दर्खास्तमा लेखिएका प्रेमबक्स समेतले कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत लालबहादुरले प्रहरीमा गरेको कागज ।

२७.   खिमबहादुर के भई मरेका हुन् थाहा छैन भन्ने समेत हिरामणी बुढाथोकी, फाजीबक्स मियाँ, करिमबक्स मियाँ, कालीबहादुर, बिनोदप्रसाद, लालबहादुर बस्नेत, हिराबहादुर खत्री समेतले प्रहरीमा गरेको कागज ।

२८.   जंगबहादुरले बैशाख २३ गते राती प्रेमबक्स समेतले खिमबहादुरलाई कर्तव्य गरी मारेका हुन् भनेकाले जाहेरीमा लेखिएका व्यक्तिहरुले खिमबहादुरलाई कर्तव्य गरी मारेका हुन् भन्ने समेत टेकबहादुर विष्टले प्रहरीमा गरेको कागज ।

२९.   चन्द्रकलाकी सानी ५ वर्षकी छोरीलाई तिम्रो बाबु के भई मरेका हुन् भन्दा भट्टीका मानिस आई राति मारेका हुन् भनेकी र जंगबहादुरसंग सोद्धा पनि मानबहादुर सुकबहादुर र निजका छोरा ३ र प्रेमबक्स समेतले रातिमा कुटपिट गरी मारेका हुन् भन्ने निजलाई प्र.पं. खेमराज के.सी. को घरमा लिई सोद्धा पनि सोही कुरा भनेकाले प्र.पं. खेमराजले तिम्रो बाबु चकिलो पुनले मानबहादुर र सुकबहादुरबाट २२००।लिनु छ त्यो रुपैयाँ र अरु पनि दिलाई दिन्छु निजहरुले मारेका हुन् भनी नभन्नु भनी जंगबहादुरलाई सिकाएको मैले सुनेको हुँ भन्ने समेत विष्णुप्रसाद थापाले प्रहरीमा गरेको कागज ।

३०.   खिमबहादुर मरेको खबर पाएपछि म पनि धर्म काठ दिन गएको हुँ लाश घाँटी सम्म निलो थियो निज मानबहादुर समेतको कर्तव्यबाट मरेको हुनुपर्छ भन्ने समेत बुद्धिबहादुर वलीले प्रहरीमा गरेको कागज ।

३१.   मर्ने खिमबहादुरकी जेठी श्रीमती आई नपुग्दै लाश घाटमा लगी जलाएकोले कर्तव्य गरी मारेको जस्तो लाग्छ भन्ने समेत छविलाल राना, कर्णबहादुर पुना राम थापा, सोमबहादुर सुनार सोभाराम सुनार समेतले प्रहरीमा गरेको कागज ।

३२.   ०३७।१।२४ गते विहान रामबहादुर बस्नेतले खिमबहादुरको मृत्यु भयो कात्रो दिनु पर्‍यो भनेकाले रु. ५०।को कपडा दिएको हँु । खिमबहादुर मरेकोमा उजूरी परी प्रेमबक्स समेत पक्राउमा परेका छन् भन्ने सुनेकोले जेष्ठ २३ गते नयाँ गाउँ जाँदा त्यहाँ उपस्थित भएका जंगबहादुरलाई प्र.पं. खेमराजले सोद्धा खिमबहादुरलाई प्रेमबक्स समेतले मार्दा मैले देखिन भन्यो । म र खेमराजले प्रेमबक्स समेतले मारेका हुन् भनी नभन भनेका होइनौ भन्ने समेत हरिप्रसाद श्रेष्ठले प्रहरीमा गरेको कागज ।

३३.   सरजमीन डोरमा पत्र लेखेकोले प्र.पं. को नाताले आएको थिएँ जंगबहादुर भन्ने केटासंग साँचो सत्य कुरा के हो भन भन्दा मैले मारेको देखेको होइन भनी सबैको रोहवरमा भनेको हो मैले डर धाक देखाई हप्काई भन्न लगाएको होइन भन्ने समेत प्रहरीमा खेमराज के.सी.ले गरेको कागज ।

 

३४.   खिमबहादुर मरेको कुरा ०३७।१।२४ गते विहान थाहा पाई काठ दिन घाटमा गएको हुँ पछि (साविक पेज नं. ८२८) चन्द्रकलाले म समेत उपर उजूर दिंदा सरजमीनमा जंगबहादुरले म समेतले खिमबहादुरलाई मारेको हो भनी भनेको थियो । खिमबहादुरलाई मिर्गि रोग थियो सोही रोगबाट निज मरेको हुनुपर्छ भन्ने समेत प्रहरीमा प्रेमबक्सले गरेको कागज ।

३५.   ०३७।१।२४ गते बिहान म घरमा बसेको अवस्था जंगबहादुरले खिमबहादुर मर्‍यो भनेकाले निजको दाइ भाइ कोही नभएकोले म समेत भई लाश घाटमा लागेका हौं जंगबहादुरले दागवत्ती दिएको हो म समेतले खिमबहादुरलाई कर्तव्य गरी मारेको भनी जंगबहादुरले सरजमीन हुँदा भनेको थियो । किन मर्‍यो थाहा छैन । म समेत भई खिमबहादुरलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत मानबहादुर रानाले प्रहरीमा गरेको कागज ।

३६.   ०३७।१।२४ गते विहान म आफ्नो घरमा थिएँ । गाउँका रामबहादुरले खिमबहादुर मरेछन् जानु पर्‍यो भनेकाले गएको हुँ । मानबहादुर र मैले कात्रो किन्न पठायौं र लाश बोकी घाटमा पुर्‍यायौं जंगबहादुरले दागवत्ती दिए, दागवत्ती समेतको काम गराउने नारायणप्रसाद थिए डोर सरजमीनमा जंगबहादुरले प्रेमबक्स समेतले ०३७।१।२३ गते राती खिमबहादुरलाई कुटपिट गरी मारेका हुन् भनेका थिए । मानबहादुर र प्रेमबक्ससंग खिमबहादुरको भनाभन झगडा भएको हुँदा निजहरुले मारेको जस्तो लाग्छ भन्ने समेत प्रहरीमा सुकबहादुर बस्नेतले गरेको बयान ।

३७.   खिमबहादुर मरेको ०३७।१।२४ गते विहान थाहा पाएको हुँ के भई मरे थाहा छैन भन्ने समेत हिरासिंहले प्रहरीमा गरेको कागज ।

३८.   चन्द्रकली समेतको उजूर परेपछि तहकिकात सरजमीन हुँदा जंगबहादुरले प्रेमबक्स समेत आई राति खिमबहादुरलाई मारे भनेका थिए । लाशको कपडा नफुकाई जंगबहादुरलाई दागवत्ति दिन लगाएको समेतबाट कर्तव्य गरी मारेको जस्तो लाग्छ भन्ने समेत रामबहादुर बस्नेतले प्रहरीमा गरेको कागज ।

३९.   ०३७।१।२३ गते विहान दांग तुल्सीपुर गई ऐ.२४ गते अं. ११२ बजे दिउँसो घरमा पुग्दा खिमबहादुरको लाश घाटमा जलाउन लगेको देखी काठ हाल्न गएको हुँ पछि जंगबहादुरले सरजमीन हुँदा प्रेमबक्स समेतले कुटपिट गरी मारेको भनेका थिए । म समेत भई कर्तव्य गरी मारेको होइन प्रेमबक्स, डिल्लीबहादुर, मानबहादुर समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत मोतिलालले प्रहरीमा गरेको बयान ।

४०.   जंगबहादुरले सरजमीन हुँदा प्रेमबक्स समेतले खिमबहादुरलाई कुटपिट गरी मारेका हुन् भन्थ्यो म भई कर्तव्य गरी मारेको होइन भन्ने समेत डिल्लीबहादुरले प्रहरीमा गरेको कागज ।

४१.   मर्ने खिमबहादुरको लाश कसैलाई हेर्न नदिई जलाएकाले सुकबहादुर, मानबहादुर समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत जंगबहादुर बोहराले प्रहरीमा गरेको कागज ।

४२.   खिमबहादुर शाही के भई मरेका हुन थाहा छैन । कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने केही सरजमीन र लाशले लगाएको कपडा नफुकाली जलाएको र जेठी श्रीमती आई नपुग्दै घाटमा लगेको समेतबाट मृतक खिमबहादुरको कान्छी श्रीमती चन्द्रकलाको सहमतिले प्रेमबक्स समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत केही सरजमीनका मानिसहरुले बकी लेखाई दिएको पुनः तहकिकात डोरबाट भएको मिति ०३७।६।६ को सरजमीन मुचुल्का ।

४३.   संकलित सम्पूर्ण प्रमाण परिबन्धबाट खिमबहादुर शाही कर्तव्यबाट मरेको देखिन आएको र निजलाई मार्नमा मुख्य मानबहादुर राना, सुकबहादुर बस्नेत, प्रेमबक्स मियाँका हकमा ज्यानसम्बन्धीको १३ को देहाय ३ बमोजिम, मतलबी मोतिलाल बस्नेत, हिरा सिं बस्नेत, रामबहादुर बस्नेत, डिल्लीबहादुर विष्ट, जंगबहादुर समेतलाई ज्यानसम्बन्धीको महलको १७ (साविक पेज नं. ८२९) नं. को देहाय ३ र खेमराज के.सी. र हरिप्रसाद श्रेष्ठलाई ज्यानसम्बन्धीको २५ नं. अनुसार सजायँ हुनु पर्ने भन्ने समेत स.अ. तथा स.अ. र रा.अं.प्र.का.को मिति ०३७।६।१२ को संयुक्त प्रहरी प्रतिवेदन ।

४४.   ०३७।१।२४ गते बिहान खिमबहादुर मरे भनी चुकिलो पुन बोलाउन आएकोले म गएको हुँ । मृतकको लाशलाई कपडासंग जलाएको होइन सबै कपडा खोली कच्छा मात्र लगाएको हो लाश जलाउँदा म समेतले तिघ्रा कमाएको होइन । खिमबहादुरलाई मैले कर्तव्य गरी मारेको होइन उजूर झुठ्ठा हो भन्ने समेत मानबहादुर रानाले अदालतमा गरेको बयान ।

४५.   ०३७।१।२३ गते राती खिमबहादुर मरेछन् भोलीपल्ट विहान नारायणप्रसाद संग भेट हुँदा सो कुरा बताएकाले थाहा पाई काठ हाल्न घाटमा गएको हुँ मर्ने खिमबहादुर संग रु. ५००।लिन बाँकी थियो र ०३७ साल ज्येष्ठ महीनामा बुझाउने भाखा थियो निजलाई कर्तव्य गरी मार्नु पर्ने कुनै कारण थिएन र म समेतले मारेको भन्ने उजूरी झुठ्ठा हो भन्ने समेत प्रेमबक्स मियाँले अदालतमा गरेको बयान ।

४६.   ०३७।१।२४ गते विहान खिमबहादुर मरेको थाहा पाई निजको घरमा गई लगाएको कपडा फुकाली लाशलाई घाटमा लगी निजका सन्तान नभएकाले जंगबहादुरले दागवत्ति दिई दाहसंस्कार गर्ने काम भएको हो । म समेतले कर्तव्य गरी मारेको भन्ने उजूरी झुठ्ठा हो । प्रेमबक्ससंग झगडा भए नभएको थाहा छैन मर्ने खिमबहादुर आफ्नो कालगतिले मरेका हुन् कसैको कर्तव्यबाट मरेको शंका लाग्दैन भन्ने समेत सुकबहादुरले अदालतमा गरेको बयान ।

४७.   ०३७।१।२४ गते विहान चन्द्रकलाले रुदै मलाई बोलाएकोले निजको घरमा जाँदा खिमबहादुर मरेको देखे । मानबहादुर र सुकाबहादुरले तेरो बाबुसंग पैसा माग कात्रो किनी ल्याउनु पर्‍यो भनेकाले रु. ७०।मागी लिई करिम बक्स र म कात्रो किन्न गई ल्याएँ, लाश घाटमा लगी खिमबहादुरको सन्तान नभएकोले जंगबहादुरलाई रु. ३००।दिने कबूल गरी दागवत्ति दिन लगाएका हुन् । खिमबहादुरलाई मार्ने कुरामा मतलवमा पसेको समेत नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत रामबहादुर बस्नेतले अदालतमा गरेको बयान ।

४८.   ०३७।१।२४ गते बिहान रामबहादुरले खिमबहादुर मरेका छन् मलामी जानु पर्‍यो भनेकाले गएको हुँ लाश घाटमा लगी लगाएको केही लुगा कपडा सम्म अंगमै च्यातिएको निजको कुनै घा चोट नभएको निज खिमबहादुरको कोही दाजु भाइ नहुँदा तपाइले दागवति दिनु पर्‍यो भनी भनेकाले मैले दागवत्ति दिएको हुँ खिमबहादुरलाई कर्तव्य गरी मारेको नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत जंगबहादुर बोहराले अदालतमा गरेको बयान ।

४९.   ०३७।३।२३ गते विहान तुल्सीपुर गई ऐ.४ गते घरमा आउँदा खिमबहादुर मरेको कुरा थाहा पाई घरमा पुगी काठ लिई अं. १२१२ बजेतिर घाटमा पुग्दा लाश आधा जली सकेको थियो । मर्ने खिमबहादुरलाई म समेतले कर्तव्य गरी मारेको होइन दावी झुठ्ठा हो भन्ने समेत मोतिलाल बस्नेतले अदालतमा गरेको बयान ।

५०.   ०३७।१।२४ गते विहान घाँस काटन गएको मौकामा डम्बरबहादुरले खिमबहादुर मरे भनेकाले वन तिरबाट काठ ल्याई जाँदा मुर्दा घाटमा थियो काठ फाली म घरतर्फ आए जंगे पुनले म समेतलाई पोल उजूर गर्न पर्ने कारण थाहा छैन खिमबहादुरलाई म समेतले कर्तव्य गरी मारेको होइन । दावी झुठ्ठा हो भन्ने समेत हिरा सिं बस्नेतले अदालतमा गरेको बयान ।

५१.   खिमबहादुर आफ्नो कालगतिले मरे भन्ने गाउँघरमा हल्ला सुनेका हुँ ०३७।२।२।३ गते सरजमीन हुँदा मलाई पत्र आएकोले म गएको हुँ जंगबहादुर पुनः मर्ने केटो पनि त्यही त्यही थियो मैले सत्य कुरा केही भनी निजलाई सोद्धा कर्तव्य गरी खिमबहादुरलाई मारेका होइनन् बेलमतिले मलाई लोभ देखाई कर्तव्यबाट मरेको (साविक पेज नं. ८३०) भन्न लगाएकी हुन् भनेको हो मैले र हरिप्रसादले निजलाई हप्काएको होइन भन्ने समेत प्रतिवादी प्र.पं. खेमराज के.सी.ले अदालतमा गरेको बयान ।

५२.   ०३७।१।२३ गते राती खिमबहादुर मरेछ ऐ.२४ गते विहान रामबहादुर समेत मेरो दोकानमा सेतो कपडा लिन आएकोले थाहा पाएको हुँ पछि ऐ.ज्येष्ठ २३ गते सरजमीन हुने कुरा थाहा पाएकोले सो सरजमीनमा गएको हुँ । खिमबहादुर कालगतिले मरेको हो भन्न भनी जंगबहादुरलाई हप्काएको समेत होइन भन्ने समेत हरिप्रसाद श्रेष्ठले अदालतमा गरेको बयान ।

५३.   ०३७।१।२४ गते विहान तिलकराम बुढाथोकीले खिमबहादुरको मृत्यु भयो । शंख बजाउन जानु पर्‍यो भन्दा म गएको हुँ । निज कर्तव्यबाट मरे वा के भै मरे थाहा थिएन लाश घाटमा पुर्‍याएपछि दागवत्ति दिंदा मृतकले लगाएको कपडा फुकाल्नु पर्छ भन्दा मानबहादुरले फुकाई सक्यो तपाईले आफ्नो काम गर्नुहोस भनेकाले विश्वासमा परी मैले आफ्नो काम गरेको हुँ । प्र.मानबहादुरले बयान गर्दा कपडा नफुकाली जलाएको भनेकाले हाल थाहा भयो मौकामा कर्तव्य गरी मारेको थाहा पाएको भए जाहेर गर्ने थिएँ । हाल मानबहादुर समेतको कर्तव्यबाट खिमबहादुर मरेको विश्वास लाग्छ भन्ने समेत अ.बं. १३९ नं. बमोजिम बुझिएका ब्राहमण नारायणप्रसाद लामिछानेले अदालतमा गरेको बयान ।

५४.   खिमबहादुर मरेको थाहा पाएपछि ०३७।१।२४ गते म पनि काठ हाल्न मलामी गएको हुँ घाटमा पछि लाश चित्तामा राखेका थिए र कपडा नफुकाएको देख्दा किन कपडा नफुकाई दागवत्ति दिएको भनी सोधे र जलिहाल्ला भनी कपडा फुकाएनौ भनी मानबहादुर समेतले भने । मृतक खिमबहादुरकी जेठी श्रीमती नआउँदै लाश जलाएको र कपडासंग लाश जलाएकोबाट प्रेमबक्स सुकबहादुर समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत अ.बं. ११५ नं. बमोजिम बुझिएका सरजमीन समेतका मानिस तिलकबहादुर, लालबहादुर थापा समेतले अदालतमा बकेको बकपत्र ।

५५.   मर्ने खिमबहादुर कसैको कर्तव्यबाट नमरी निजलाई मिर्गि रोग हुँदा आफ्नै कालगतिले मरेका हुन् । प्र.मानबहादुर, सुकबहादुर, प्रेमबक्स समेतका उपर किटानी जाहेरी दर्खास्त किन दिए थाहा छैन भन्ने समेत अ.बं. ११५ नं. बमोजिम बुझिएका सरजमीन समेतका मानिस हिरामणी बुढाथोकी, टिकाराम, अलि बक्स मियाँ, कर्णबहादुर, तिलकराम बुढाथोकी, मोहमद रफि मियाँ, मेबु खड्का, सोभाराम सुनार, हिवबहादुर सुनार, हेमलाल बुढाथोकी, दिलबहादुर विष्ट, पूर्णबहादुर विष्ट, कर्णबहादुर खड्का, लालबहादुर बस्नेत, कृष्णबहादुर कामी, हरिबहादुर खत्री समेतले अदालतमा बकेको बकपत्र ।

५६.   बारदात स्थानमा रहे भएकी चिम्सी कमेनिले समेत खिमबहादुरलाई कर्तव्य गरी मारेको थाहा पाएको भन्ने दावी भएकोमा निजले अदालतमा बकपत्र गर्दा मलाई केही थाहा छैन भनेकी र मृतक खिमबहादुरकी जेठी श्रीमती खिमबहादुरको मृत्यु भएको घर जिता ठानमा नभई ३४ कोश टाढाको घर बुकिचौरमा रहेकी र कान्छी श्रीमती चन्द्रकलाले अदालतमा बकपत्र गर्दा लोग्ने खिमबहादुरलाई प्रतिवादीहरुले कर्तव्य गरी मारेको देखिन, शंका लाग्दैन भनी बकपत्र गरेकी साथै १२ वर्षको नाबालक जंगबहादुरले प्र.मानबहादुर समेतका प्रतिवादीहरुले खिमबहादुरलाई कर्तव्य गरी मार्दाको अवस्था देखेको भएमा सो अवस्था हार गुहार गर्नु पर्ने सो समेत गरेको नदेखिँदा निज जंगबहादुरले अर्काको ललाई फकाईमा बकपत्र गरेको देखिन आई निजको बयानलाई साँचो भन्न सक्ने स्थिति देखिएन । यस्तो शंकास्पद स्थितिमा प्रतिवादीहरुलाई दोषी ठहराउन न्यायसंगत नहुने र फौज्दारी अभियोगमा शंकाको सुविधा प्रतिवादीहरुले पाउने न्यायिक सिद्धान्त अनुसार प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत शुरु सल्यान जिल्ला अदालतको मिति ०३९।५।३० को फैसला । (साविक पेज नं. ८३१)

५७.   ०३७।१।१३ गतेका दिन मानबहादुर, सुकलाल, मोतिलाल, हिरासिंह, प्रेमबक्स, डिल्लीबहादुर समेतको कुलापानी विषयमा खिमबहादुरसंग झगडा हुँदा पर्खी तेरो के हालत हुन्छ भनेका र सोही दिनको साँझ ११ बजेको समयमा निजहरु समेत आई खिमबहादुरलाई कर्तव्य गरी मारेको जंगबहादुरले देखेको भन्ने समेत मिसिलबाट देखिएको र प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्र.हरुलाई सजायँ गर्नु पर्नेमा सफाई दिई गरेको शुरुको इन्साफ कानुनी त्रुटिपूर्ण हुँदा शुरुको इन्साफ बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ हुनु पर्ने भन्ने समेत म.प.क्षे.अ.मा परेको पुनरावेदन ।

५८.   सबै प्रतिवादीहरु आरोपित कसूरमा अधिकार प्राप्त अधिकारी र अदालतमा समेत इन्कारी छन् । ०३७।१।२३ मा वारदात भएकोमा करीब १ महीनापछि ०३७।२।१७ मा मात्र जाहेरी पर्न आएको स्वयं जाहेरवाली मृतककी कान्छी श्रीमतीले बकपत्र गर्दा यी प्रतिवादीहरुले आरोपित कसूर गरेको होइन निजहरुलाई मैले मेरो घरमा देखेको समेत होइन भनी सफाई दिई बकपत्र गरेको देखिन्छ । अभियुक्तहरुले गरे बिराएको भन्ने ठोस प्रमाणको अभावमा दोषी ठहर्‍याउन नमिल्ने हुँदा आरोपित कसूरबाट सफाई दिने ठहर्‍याएको इन्साफ मनासिब भन्ने मा.न्या.श्री लिलाप्रसाद गिरीको राय, मृतककी कान्छी श्रीमतीसंगको गुप्त बसउठ विषयमा विवाद भई रिसइवी भएको प्रतिवादीहरुको आपसमा पोलापोल गरेकोलाई जंगबहादुरको बयान तथा सर्जमीनबाट पुष्टी भएको देखिन्छ । पोल खुल्ला भन्ने डरले मृतककी जेठी श्रीमती आउनु अगाडि नै हतार हतार गरी प्र.प्रेमबक्स समेतले कात्रो किन्न लगाई दागवत्ति दिने व्यक्तिलाई प्रलोभनमा पारी दागवत्ति दिन लगाई लाश जाँच समेत हुन नदिई कसूर ढाक छोप गर्न खोजेको देखिँदा प्रेम बक्स मियाँ, मानबहादुर र सुकबहादुर समेतले कसूर गरेको ठहर्‍याई मा.न्या. श्री हरिप्रसाद शर्माको राय नमिली तेस्रो बेञ्च समक्ष पेश हुँदा अपराध गरेका ठोस प्रमाणको अभावमा केवल शंकाको भरमा मात्र अपराध ठहर्‍याउन नमिल्ने हुँदा प्र.प्रेमबक्स, मानबहादुर र सुकबहादुर समेतलाई सफाई दिने ठहर्‍याएको मा.न्या.श्री लिला प्र.गिरीको राय मनासिब ठहर्छ भन्ने समेत मा.न्या.श्री रुद्रबहादुर सिंहको राय भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

५९.   प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरेको शुरुको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

६०.   अभियुक्त प्रेमबक्स मानबहादुर र सुकबहादुरलाई अ.बं. २०२ नं. बमोजिम छलफलमा झिकाउने भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको २०४३।८।२३ को आदेश ।

६१.    प्रेमबक्स, मानबहादुर र सुकराज समेतले खिमबहादुरलाई कर्तव्य गरी मारेको भनी किटानी जाहेरी दर्खास्त परेको छ । प्रत्यक्षदर्शी जंगबहादुर पुनले खिमबहादुरले प्रेमबक्स, मानबहादुरसंग कुलो बारे झगडा भयो भनी भन्नु भयो राती प्रेमबक्स समेतका मानिसले पिटी मारेका हुन् भनी बकपत्र गरेको छ । खिमबहादुर र मानबहादुर बीच कुलो पानी विषय झगडा भई ढुंगा उठाव उठाव भएको देख्ने डम्बरबहादुरले बकपत्र गरेको देखिन्छ । अदालतबाट बुझिएका भीमबहादुर, गंगाबहादुर, छविलाल, मोतिप्रसाद समेतका व्यक्तिले प्रेमबक्ससंग मृतकको लेनदेन विषयमा र प्रेमबक्सले चन्द्रकलासंग हासखेल ठट्टा तथा गुप्त उठबस समेत भएको विषयलाई लिएर खिमबहादुरसंग प्रेमबक्सको झगडा भएको र प्रेमबक्स समेतले कात्रो किन्न लगाई हतार हतार गरी घाट लगेको कपडा नफुकाली लाश जलाएको दागवत्ति दिन नमान्दा प्रलोभन देखाएको भनी बकपत्र गरी दिएको देखिन्छ । यसरी मृतककी श्रीमतीसंग प्रेम (साविक पेज नं. ८३२) बक्सको प्रेमभएको लेनदेन विषयमा झगडा भएको र मानबहादुरसंग कुलोपानी विषयमा झगडा भई रिसइवी रहेको देखिन्छ । जंगबहादुरले मानबहादुर समेतले कुटपिट गरी मारेको भनी प्रष्ट किटानी लेखिदिएकोबाट प्रेमबक्स, सुकबहादुर समेतको मद्दतबाट हमला गरी मारेको भन्ने पुष्टि हुन आयो । कर्तव्यबाट मरेको कुराको पोल नखुलेको भनी दवाई छिपाई कालगतिले मरेको हो भन्ने देखाउन जल्दीबाजी गरी लाशको सदगद गर्न प्रतिवादीहरु आफैं अग्रसर भएकोबाट पुष्टि हुँदा प्रतिवादी मध्येका प्र.प्रेमबक्स मियाँ, मानबहादुर राना तथा शुकबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्म कैदको सजायँ हुने ठहर्छ । अरु प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । प्रेमबक्स, मानबहादुर, शुकबहादुरलाई सफाई दिने ठहराएको शुरुको सदर गरेको सम्म म.प.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको २०४४।२।११ को फैसला ।

६२.   श्री ५ महाराजाधिराज सरकारका जुनाफमा पूर्णइजलासबाट इन्साफ जाँची पाउँ भनी प्रतिवादी प्रेमबक्स मियाँले चढाएको वि.जा.वि. सवारी सिविर र द.नं.सु. १०४३ मिति २०४५।११।९ को विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट मुद्दा दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।३।५ मा तोक लागी आएकोले मुद्दाको लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।

६३.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी प्रेम बक्स मियाँको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्काले २०३७।१।२३ मा वारदात भएको भन्ने छ । ०३७।२।१७ मा मात्र मर्नेकी श्रीमतीहरुको जाहेरी परेकोले सो जाहेरीलाई किटानी जाहेरी भन्न मिल्दैन । जंगबहादुर पुनले प्रहरीमा बयान गर्दा वारदातको रात कोही आएको थिएन भनेको छ । अदालतमा र प्रहरीमा गरेको बयान फरक छ । वत्ति नभएको राती अमुक व्यक्तिले अमुक अंग समातेको देख्ने स्थिति नहुँदा निजको भनाई तथ्यहिन छ । मार्नु पर्ने सम्मको रिसइवी छैन । मलामी गएको कारणले सजायँ गर्न मिल्दैन । एकपटक एक किसिमको र दोस्रो पटक दोस्रो किसिमको प्रहरी प्रतिवेदन पेश गर्न प्रतिपादित सिद्धान्तले मिल्दैन । मुद्दा चलाउन मिल्ने नमिल्ने राय पेश गर्नु सम्म भनेको छ । प्रतिवादीको पुनः कागज गराई अर्को प्रतिवेदन पेश गर्नु भन्ने आदेश छैन । जंगबहादुरको बकपत्रमा संरक्षक बाबु चुकिलो पुन छँदाछँदै अर्कै संरक्षक भएको र प्रतिवादीहरुको जिरह समेत नभएकोले प्रमाण योग्य छैन । ठोस र तथ्ययुक्त प्रमाण नहुँदा प्रतिवादीले सफाई पाउनु पर्दछ भनी बहस गर्नु भयो । विपक्षी श्री ५ को सरकार तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले लेनदेन कुलो पानीमा झगडा परेको भन्ने छ । प्रतिवादीहरुको नाम जाहेरीमा किटेको छ । जेठी वेलमतिलाई खबर नगरी रातारात गरी जलाएको, लाश जलाउनेहरु थर थर कामेको, दागवत्ति अरुले दिएको, लुगा सहित लाश जलाएको पुष्टि भएको छ । सबै परिस्थिति जन्य प्रमाणबाट कर्तव्य नै हो भन्नेमा विवाद छैन । सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(६) अनुसार पुनः तहकिकात भएको हो । तसर्थ सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

६४.   यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा भर पर्दो सबूद कतैबाट खुल्न नआएको केबल चन्द्रकला र बेलमति शाहीको जाहेरी दर्खास्तको आधारमा जाहेरी लेखिएका मानबहादुर राना, सुकलाल बस्नेत, हिरासिंह बस्नेत प्रेमबक्स मियाँ, डिल्लीबहादुर बस्नेत र मोतिराम बस्नेत समेत ६ जना उपर मुद्दा चलाउन सबूद नभएकोले सजायँको माग दावी नगरिएको भन्ने शुरु मिति (साविक पेज नं. ८३३) २०३७।२।३१ का प्रहरी प्रतिवेदन परेको देखिन्छ । शुरु सल्यान जिल्ला अदालतले जंगबहादुर पुनः चुकिलो पुनलाई अ.बं. ११५ नं. बमोजिम र गवाह जाहेरवाला चन्द्रकला र बेलमतिलाई समेत बुझी बयान बकपत्र गराई सरजमीन बुझ्न आवश्यक देखिएकोले कम्तिमा डि.एस.पी.सम्मको प्रहरी अधिकृत समेत भई सरजमीन तहकिकात गरी कसै माथि मुद्दा चलाउनु पर्ने भए मुद्दा चल्न सक्ने सम्पूर्ण आधार उल्लेख गरी र मुद्दा चलाउनै नपर्ने भए कारण समेत खुलाई प्रहरी प्रतिवेदन पठाई दिनु भन्ने भएका सल्यान जिल्ला अदालतको ०३७।४।२३ का आदेश बमोजिम मिसिल स.स.अ. तथा स.स.अ.का. सल्यान पठाएको देखिन्छ । त्यसपछि पुनः सरजमीन तहकिकात समेत गरी खिमबहादुरलाई कर्तव्य गरी मार्ने देखिएका मानबहादुर राना, शुकलाल भन्ने शुकबहादुर बस्नेत, प्रेम बक्स मियाँको हकमा ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ दफाले र मतलबी मोतिलाल बस्नेत, हिरासिंह बस्नेत, रामबहादुर बस्नेत, डिल्लीबहादुर विष्ट र जंगबहादुर बोहरालाई ज्यानसम्बन्धीको १७ नं. को देहाय ३ दफा बमोजिम र खेमराज के.सी., हरिप्रसाद श्रेष्ठलाई ज्यानसम्बन्धी २५ नं. अनुसार पुरै सजायँ गरी पाउँ भन्ने माग गरी प्रहरी प्रतिवेदन दावी परेको पाइन्छ प्रतिवादी प्रेमबक्स मियाँ, शुकलाल भन्ने शुकबहादुर बस्नेत र मानबहादुर राना बाहेकका अरु प्रतिवादीहरुलाई सफाई दिएको इन्साफलाई सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला अन्तिम रहेकोले त्यसतर्फ विचार गर्न परेन । प्रतिवादी प्रेमबक्स मियाँ, शुकलाल भन्ने शुकबहादुर बस्नेत र मानबहादुर रानालाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत जन्म कैदको सजायँ गरे उपर प्रतिवादी प्रेमबक्सले चढाएको विन्तिपत्रबाट दोहराई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आए अनुसार सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ छैन हेर्नु परेको छ । मर्ने खिमबहादुर शाहीले रक्सी खाई आएको कुरामा विवाद देखिन्न । आरोपित कसूर गरेमा प्रतिवादीहरु प्रहरी तथा अदालतमा समेत इन्कार रही बयान गरेको देखिन्छ । मिति २०३७ साल बैशाख २३ गतेका राती अं. ११ बजेको वारदातका प्रतिवादी मानबहादुर, शुकलाल, प्रेमबक्स मियाँ समेतको कर्तव्यबाट खिमबहादुर शाही कर्तव्यबाट मारिएको भनी लाश जलाई कृया समाप्त भएपछि मिति ०३७।२।१७ मा मात्र जाहेरी दर्खास्त परेको छ । तर मौकामा लाश जाँच लाश प्रकृति मुचुल्का हुन सकेको देखिँदैन । जाहेरवाला मध्येका बेलमति शाहीले आफ्नो लोग्ने खिमबहादुरलाई कर्तव्य गरी मारेको आफैंले देखेको भनी अदालतमा बकपत्र गर्न सकेको छैन । चन्द्रकलाको ५ वर्षकी छोरी र जंगबहादुरले कर्तव्यबाट मारेको भनेबाट थाहा पाएको भनेका छन् । मर्ने खिमबहादुर शाहीकासंग साथमा रहेका निजकी कान्छी श्रीमती चन्द्रकला शाहीले मृतक खिमबहादुरलाई कसैले कर्तव्य गरी मारेको होइन भनी प्रष्ट साथ प्रहरी र अदालतमा समेत बकपत्र गरेको पाइन्छ । आफ्नो लोग्नेलाई कर्तव्य गरी मारेको भए त्यसरी बकपत्र गर्नु पर्ने अवस्था थिएन । मर्ने खिमबहादुर शाहीको घरमा बस्ने जंगबहादुर पुनले मौकामा प्रहरी समक्ष कागज गर्दा ठूलाबाबु खिमबहादुरले रक्सी खाई आई ढिकीनेर सुते मैले कम्बल ओडाई दिएँ । त्यसपछि उठी वान्ता गरे । राती कुनै मानिस आएको वा हल्ला भएको थाहा पाइन । कर्तव्य गरी मारेको मैले देखिन भनी आफ्नो बाबुको रोहवरमा बयान गरेको छ । तर अदालतमा बकपत्र गर्दा मानबहादुरले घाटीमा समातेको, प्रेमबक्सले खुट्टामा समातेको, डिल्लीबहादुरले हातमा समातेको र अरुले घुस्सा मुक्काले हानी मारेको भनी पोल गरेको पाइन्छ । सो बकसपत्रमा रोहवर टेकबहादुर विष्ट बसेको देखिन्छ । तर अ.बं. २४ नं. मा व्यवस्था भए अनुसार संरक्षक वा हकवालाको रोहवरमा बकपत्र भएको देखिन्न । साथै निज जंगबहादुर नाबालक वर्ष १२ को निजको बयानबाट देखिन्छ । प्रहरी र अदालतको बकपत्रमा एक रुप नभई फरक भएको पाइन्छ । त्यस्तो नाबालखले निजको बकाई अनुसार १२ जनाको (साविक पेज नं. ८३४) हुलले खिमबहादुरलाई घुस्सा मुक्काले हानेको भनेको अवस्था कुनै हल्ला खल्ला नगरी रुनु कराउनु केही नगरी त्यसै हेरिरहेको होला भनी सम्झन मिल्ने हुँदैन । सो बकाइलाई आधारमा लिन मिलेन सोही वारदात भएको घरमा सुतेका भनेका चिम्सी कमिनीले राती कुनै मानिस आएको थाहा पाइन, खिमबहादुर कालगतिले मरेका हुन वा कर्तव्यबाट मरेको हुन् केही थाहा छैन भनी बकपत्र गरेका छन् । यसबाट पनि निज जंगबहादुरको अदालतमा गरेको पोल समर्थित हुन सकेको छैन । प्रहरीमा कागज गर्ने मानिसहरु डम्बरबहादुर बस्नेत, समेतलाई अदालतबाट बुझेकोमा जंगबहादुर पुनले प्रतिवादीहरुले कर्तव्य गरी मारेको भनेकोबाट र लाश जलाउँदा थरर कामेको, लुगा सहित लाश जलाएकोबाट कर्तव्य गरी मारेमा शंकासम्म व्यक्त गरी बकपत्र गरेको छ । वारदातका अवस्था मर्ने खिमबहादुर शाहीलाई प्रतिवादीहरुले कुटपिट गरेका अवस्था देखेको भनी कसैले भन्न सकेको छैन । लाशमा यो यस ठाउँमा घा खत थिए भन्न पनि सकेको छैन । जंगबहादुर पुनले पोल गरेको आधारमा शंकासम्म गरेको पाइन्छ । त्यस्तो शंकाको भरमा अपराधी ठहराउन फौजदारी न्याय सिद्धान्तले मिल्ने देखिँदैन । हरिबहादुर खत्री समेतका अधिकांश सरजमीनका व्यक्तिहरुले मर्ने खिमबहादुरलाई मिर्गी रोग हुँदा आफ्नै कालगतिले मरेका हुन भनी अदालतमा समेत आई बकपत्र गरी दिएका छन् । सो बकपत्रलाई विश्वास मान्न नपर्ने आधार कुनै देखिँदैन । आरोप लगाउँदैमा पर्याप्त हुँदैन । सो आरोपको पुष्टि हुने आधार देखाउन सक्नु पर्छ । तर सो आधारहरु वादीतर्फबाट देखाउन सकेको छैन । केवल लेनदेन र कुलोपानीमा झगडा भएको तथा लाशले लगाएको लुगा नफुकाली लाश जलाएको, लाश हतार हतार गरी जलाएको, लाश जलाउँदा डरले कामेको आदी शंकास्पद आधारमा प्रतिवादीहरुलाई दोषी ठहर गर्न न्यायको दृष्टिले मिल्ने देखिँदैन । यस स्थितिमा प्रतिवादी प्रेमबक्स मियाँ उपरको प्रहरी प्रतिवेदन दावी पुग्न सक्ने देखिन आएन । तसर्थ निज प्रतिवादी प्रेमबक्स मियाँलाई अभियोगबाट सफाई दिने ठहराएको शुरु सल्यान जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको संयुक्त इजलासको माननीय न्यायाधीश श्री लिलाप्रसाद गिरीको राय सदर गरेको सोही अदालतको तेश्रो इजलासका माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ ।

६५.   अभियुक्त मानबहादुर राना र शुकलाल भन्ने शुकबहादुर बस्नेतका हकमा अ.बं. २०५ नं. अनुसार हेर्दा निजहरु आरोपित कसूर गरेकोमा इन्कार रहेको देखिन्छ । निजहरुले आरोपित कसूर गरेको भन्ने उपर्युक्त प्रमाणबाट शंकारहित तवरबाट पुष्टि भएको देखिन नआएको हुनाले निजहरु उपरको प्रहरी प्रतिवेदन दावी पनि पुग्न सक्ने देखिन आएन । तसर्थ अभियुक्त मानबहादुर राना र शुकलाल भन्ने शुकबहादुर बस्नेतलाई अभियोगबाट सफाई दिने गरेको सल्यान जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालत संयुक्त इजलासको माननीय न्यायाधीश श्री लिलाप्रसाद गिरीको राय सदर गरेको सोही अदालत तेश्रो इजलासका माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ ।

६६.   प्रतिवादीहरुलाई कसूरदार ठहर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु

तपसील

देहायका प्रतिवादीहरु के सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।२।११ का फैसलाले जन्मकैद गर्ने गरेकोमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकोले सो जन्मकैद नलाग्ने हुँदा असूल गर्न पर्दैन सो लगत काटी दिनु भनी सल्यान जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..१

प्र.प्रेमबक्स मियाँ १, प्र.शुकबहादुर बस्नेत १, प्र.मानबहादुर राना १ (साविक पेज नं. ८३५) इन्साफ केही उल्टीमा तत्कालीन म.प.क्षे.अ.का मा.न्या.रुद्रबहादुर सिंहको रेकर्ड राख्ने गरेकोमा सो रेकर्ड राख्न परेनं..२, अभियोगबाट सफाई भई निर्णय भएको सूचना देहायका प्रतिवादीहरुलाई दिनु..३, प्रेमबक्स मियाँ १, शुकबहादुर बस्नेत १, मानबहादुर राना १, मिसिल नियम बमोजिम गरी बुझाई दिनु..४

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या. मोहनप्रसाद शर्मा,

न्या. लक्ष्मणप्रसाद अर्याल

 

इति सम्वत् २०४८ साल माघ १४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु