शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७०० - कर्तव्य ज्यान

भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।३।१४

०७५-CR-२४७८

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला बर्राचौर वडा नं.२ परिवर्तित बिहादी गा.पा. वडा नं.२ घर भई हाल कारागार कार्यालय पर्वतमा थुनामा रहेका विक्रम भन्ने प्रदिप पराजुली

विरूद्ध

प्रत्यर्थी / वादी : भुमिराज शर्माको जाहेरीले नेपाल सरकार

 

मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को व्यवस्थामा कसुरको गम्भीरता घटाउने अवस्थाहरू देखिन्छ । कुनै पनि कसुरमा कसुरदार देखिँदादेखिँदै पनि उक्त व्यवस्थामा उल्लेख भएका अवस्था तथा परिस्थितिहरू विद्यमान भएमा न्यायकर्ताले आफ्नो स्वविवेकको अधिकार प्रयोग गरी सजाय निर्धारण गर्दाको बखत सो कुरालाई आधार मान्न सक्ने ।

गर्भवती महिलालाई घाँटीमा सलले कसी मारी लतार्दै लगी पुलबाट नदीमा फाल्ने जस्तो क्रूर अमानवीय अपराध गर्ने प्रवृत्तिको हकमा कसुरको गाम्भीर्य घटाउने मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को प्रावधान आकर्षित नहुने । 

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री दर्शन बराल

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६८, अङ्क ५, नि.नं.८६१६

सम्बद्ध कानून :

मुलुकी फौजदारी संहिता, २०७४

 

सुरू तहमा फैसला गर्ने :

मा.न्या. श्री ध्रुवप्रसाद सापकोटा

पर्वत जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या. श्री हरिप्रसाद पौडेल

मा.न्या. श्री शकुन्तला धिमिरे

उच्च अदालत पोखरा, बाग्लुङ इजलास

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:

तथ्य खण्ड

जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ४ स्थित कालीगण्डकी नदीको किनारमा साप्राको भागदेखि तल खुट्टाको भाग पानीमा र सोदेखि माथिको भाग कालीगण्डकी नदीको बगरतर्फ भई तल लगाएको पेन्टी र सुरूवाल कम्मरको भागदेखि तल भई योनि तथा पुठ्ठादेखि दायाँ कोल्टे गरी पश्चिम टाउको, पूर्व नदीतर्फ घुँडा गरी घोप्टो अवस्थामा वर्ष २२ की कमला शर्माको मृत लास फेला परेको, उक्त लासलाई सुरक्षितसाथ नदीबाट बाहिर निकाली जमिनमा राखी ओल्टाई पल्टाई हेर्दा नङ सेतो भएको, छाला खुइलिएको, दुवै खुट्टा खुइलिएको, पैतालाको भाग खुइलिई सेतो भएको, कपाल चिसो धुलो बालुवा लागी तान्दा उप्किने, नाकबाट रगत जस्तो रातो पदार्थ निस्केको, केही मात्रामा सुन्निएको हल्लाउँदा हल्लिने, दुवै कानको वरिपरि रातो कालो दाग, घाँटीमा गुलाबी रङ्गको सलले दुई वटा गाँठा पारी कसिएको, घाँटीको छाला खुइलिएको, छातीको छाला खुइलिएको, पेट फुलेको, मृतकको अनुहारमा रातो निलो डाम भएको शरीरको सम्पूर्ण भागको छाला खुइलिएको, मृतकले लगाएको गुलाबी रङ्गको ज्याकेटको दायाँतर्फको खल्तीमा रू.१,०००।- का २ थान, रू.५००।- का २ थान गरी जम्मा रू.३,०००।- फेला परेको, मृतकको घाँटीमा अगाडिपट्टि दुईवटा गाँठो पारी कसिएको अवस्थामा गुलाबी रङ्गको सल फुकाई नाप्दा ६ फिट ११ इन्च र चौडाइ २ फिट ८ इन्च रहेको भन्ने बेहोराको मिति २०७४।१०।१७ गते जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेको घटनास्थल लास जाँच मुचुल्का ।

मृतक कमला शर्माको मोबाइल नं. साथीमार्फत पाई मिति २०७४ सालको तिहारपछि निजसँग फोन सम्पर्क गरेको हुँ । यसै क्रममा यही मिति २०७४ साल मङ्सिर महिनातिर दिनको समयमा भेट्ने कुरा भएपश्चात् मैले निज कमला शर्मालाई भेट्नको लागि जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. १ बाच्छा भन्ने ठाउँमा बोलाई सोही स्थानमा बाटोको छेउमा भएको सार्वजनिक पौवामा मैले निजलाई शारीरिक सम्पर्क गर्ने प्रस्ताव राखेकोमा निजले सहमति जनाएकीले सोही पौवामा कण्डम प्रयोग गरी निज कमला शर्मा र मबिच एक पटक शारीरिक सम्पर्क भएको हो । तत्पश्चात् हामीबिच फोन सम्पर्क हुँदा निजले मेरो मिन्स रोकिएको छ भनेकी थिइन् । निजले मलाई भेट्न आउनु भनी जिद्दी गरेको हुँदा म मिति २०७४।१०।०४ गते चितवनदेखि घरमा आई ऐ. ५ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा बाग्लुङ जिल्लाको छिस्ती भन्ने स्थान पैदल हिँड्दै जाँदा उनी पनि छिस्तीतर्फ आइरहेकी रहिछन् । बिहानको ११:०० बजेको समयमा हरी ढकालको मेडिकल पसलमा हामीहरूको भेट भई सोही स्थानदेखि केही तल रहेको खरबारीमा गई दिनको अं. १५:३० बजेसम्म बस्दै कुरा गर्ने क्रममा विवाहको विषयमा विवाद भएको हो । निजलाई मैले घरमा जाउ भनी पटकपटक सम्झाई बुझाई गर्दासमेत निजले नमानेपछि मैले मोटरसाइकलमा पछाडि राखी गुल्मी जिल्लाको कालीगण्डकी घुमाउनेतर्फ आउँदै गर्दा बाटोमा जिल्ला पर्वत विहादी गा.पा. वडा नं. २ बस्ने राजन शर्मा र ऐ.ऐ. बस्ने आकाश नेपाली आफ्नो मोटरसाइकलमा मेरो पछाडिबाट आइरहेको मैले भेटेपछि निज कमला शर्मालाई गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ६ स्थित बरलबाको भिरनजिकै ओर्लन भन्दा निजले नमानेको हुँदा निजलाई जबरजस्ती मोटरसाइकलबाट ओराली मेरो साथीहरू राजन शर्मा र आकाश नेपाली भई घुमाउने भन्ने स्थानमा आई बाटोभन्दा माथि रहेको एक होटलमा गई चिया खाएका हौं । चिया खाएपश्चात् निज राजन शर्मा र आकाश नेपाली आफ्नो मोटरसाइकलमा आफ्नो घरतर्फ लागेका हुन् । निज कमलाले मलाई देख्ने बित्तिकै कालीगण्डकी नदीमा रहेको गुल्मी जिल्ला र पर्वत जिल्ला जोड्ने झोलुङगे पुलतर्फ जाने बाटो हुँदै झरेकी हुँदा मैले बाटोमा मोटरसाइकल रोकी निजलाई पर्ख पर्ख भन्दा निजले नमानेको हुँदा निजको पछिपछि जाँदा पुलपारि पर्वत जिल्लाको विहादी गा.पा. वडा नं. २ बउर भन्ने स्थानमा भेटाई पटकपटक घर जाउ भनी सम्झाउँदा निजले मानिनन् । मलाई मार् कि विवाह गर् भनी जिद्दी गर्न थालेपछि आज यसलाई यही मारिदिन्छु भन्ने मेरो मनमा सोच आयो । त्यतिबेला साँझको अन्दाजी १८:३० बजेको थियो, निज अगाडि फर्केर उभिइएकी थिइन् सोही अवस्थामा मौका छोपी निजले घाँटीमा बेरेको गुलाबी रङको सललाई पछाडिबाट दुवै टुप्पामा समाई बेस्करी जोडले कसेको हुँ निजले कुनै प्रतिवाद नगरी भुइँमा ढलिन् । निज लल्याक लुलुक भई भुइँमा लडेपछि निजको शरीरमा खुट्टाले टेकी उक्त सलको गाँठो बनाई निजको घाँटीमा दुवै हातले कसेको हुँ, निज छटपटाउँदै थिइन् । कोही कसैले थाहा पाउलान् भनी पुनः घाँटीमा रहेको सललाई जोडले कसेपछि निज कमला शर्मा केही समयपछि चल्न छटपटाउन छाडेपछि मरिन् होला भन्ने ठानी सोही सलको टुप्पोमा समाती निजलाई घिसार्दै नजिकै रहेको पर्वत र गुल्मी जोड्ने झोलुङगे पुलमा लगी उक्त पुलको बिच भागमा पुर्‍याई उचाली उक्त पुलबाट कालीगण्डकी नदीमा फालिदिएको हुँ । तत्पश्चात् म कोही कसैलाई केही नभनी आफ्नो घरमा गई बसी अर्को दिन मिति २०७४।१०।०६ गते बिहान म पुर्तीघाट हुँदै चितवन गई बसेको हुँ । यस्तैमा निजको दाजु रामप्रसाद शर्माले मेरो विरूद्धमा किटानी गरी उजुरी दिएकोमा मलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट फोन गरी उपस्थित हुन भनेकोले मिति २०७४।१०।१५ गते म उक्त कार्यालयमा उपस्थित भई कमलाको मसँग कुनै सम्पर्क तथा जानकारी छैन भनी ढाँटी बताएपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले मलाई मिति २०७४।१०।१८ गते पुनः सोही कार्यालयमा उपस्थित गराउने गरी जिम्मा लगाई छाडेको हो भन्ने बेहोराको मिति २०७४।१०।१८ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रदिप पराजुलीले गरेको कागज ।

म जाहेरवालाको छोरी कमला शर्मा मिति २०७४।१०।०५ गते बिहान पेट दुखेको छ, महिनावारी बिग्रेर हो कि भनी छिस्ती वाङलिङ स्थित हरि ढकालको औषधी पसलमा जान्छु भनी गएकीमा साँझसम्म पनि घर नफर्किएकोले खोजतलास गर्ने क्रममा मिति २०७४।१०।१७ गते गुल्मी जिल्लाको कालीगण्डकी गा.पा. वडा नं. ४ घुमाउने भन्ने ठाउँमा कालीगण्डकीको तिरमा घाँटीमा सलले दुईवटा गाँठो कसी घाँटी थिचिएको अवस्थामा मृत लास फेला परेकोले छोरीको मृत्यु के कसरी भएको भनी बुझ्दै जाँदा जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ बर्राचौर बस्ने विक्रम भन्ने प्रदिप पराजुलीले मेरी छोरीलाई प्रेम गर्दछु भनी माया जालमा पारी निजसँग सम्बन्ध गाँसी विवाह गर्नुपर्दछ भन्ने डरले उम्कनको लागि कालीगण्डकी नदी किनारमा कसैले नदेख्ने ठाउँमा लगी घाँटीमा सलले कसी हत्या गरी कालीगण्डकी नदीमा फालेकोले निज प्रदिप पराजुलीलाई कानूनबमोजिम कारबाही गरी मेरो छोरीको हत्यामा अरू कोही कसैको संलग्नता भए निजबाटै पत्ता लगाई निजहरूलाई समेत कडाभन्दा कडा कारबाही गरी न्याय पाउँ भन्ने बेहोराको भुमिराज शर्माको जाहेरी दरखास्त ।

जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ स्थित पूर्वमा हिमलाल पराजुलीको खेत, पश्चिममा कालीगण्डकी नदी, उत्तरमा हिमलाल पराजुलीको खेत र दक्षिणमा भैरम पुरीको खरबारी यति चार किल्लाभित्र राम गिरीको बाँझो खेत रहेको, उक्त खेतको उत्तर पूर्वतर्फको कुनामा जिल्ला बाग्लुङ जैमिनी न.पा. वडा नं. ८ बस्ने वर्ष २२ की कमला शर्मालाई मिति २०७४।१०।०५ गते अन्दाजी १८:३० बजेको समयमा निज कमला शर्माले घाँटीमा लगाएको गुलाबी रङ्गको कपडाको सलले घाँटीमा कसी कर्तव्य गरी मारी उक्त खेतबाट सोही घाँटीमा सलले गाँठो पारी घिसार्दै लगी उक्त खेतबाट १८ फिट उत्तर पश्चिमतर्फ रहेको पर्वतदेखि गुल्मी जोड्ने झोलुङ्गे पुलको बिच भागमा लगी उचाली सोही पुलबाट तल कालीगण्डकी नदीमा फालिदिएको भनी प्रदिप पराजुलीले देखाए बताएको र उक्त वारदात स्थानदेखि १९ फिट ५ इन्च पूर्वतर्फ रहेको बनमाराको झ्याङमुनि लुकाई राखेको अवस्थामा खैरो सल र खैरो रातो फिता भएको महिलाले लगाउने पछाडिपट्टि hot-7 लेखेको ३७ नं. को एक जोर चप्पल फेला परेको भन्ने बेहोराको मिति २०७४।१०।१९ गतेको घटनास्थल मुचुल्का । 

Cause of Death: Mechanical Asphyxia (ligature strangulation); Genital organs: 6-7 weeks of gestational sac उल्लेख भएको मृतक कमला शर्माको शव परीक्षण प्रतिवेदन ।

वारदात स्थान जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ बउर स्थित घटनास्थलदेखि १९ फिट ५ इन्च पूर्वतर्फ रहेको बनमाराको झ्याङमुनि लुकाई राखेको अवस्थामा खैरो सोल र खैरो रातो फिता भएको महिलाले लगाउने पछाडिपट्टि hot-7 लेखेको ३७ नं. को एक जोर चप्पल देखाउँदा देखेँ, पहिचान गरी सनाखतसमेत गरेँ उक्त चप्पल मिति २०७४।१०।०५ गते बिहान घरबाट मेडिकल जान भनी हिँड्दाको बखत छोरी मृतक कमला शर्माले लगाएको चप्पल यही हो भन्ने बेहोराको भूमिराज शर्माले गरिदिएको सनाखत मुचुल्का ।

मिति २०७४।१०।०४ गते चितवनदेखि जिल्ला पर्वत साबिक बर्राचौर गा.वि.स. वडा नं. २ हाल बिहादी गा.पा. वडा नं. २ स्थित घरमा आई अर्को दिन ऐ. ५ गते बिहान अं. ०८:०० बजेको समयमा म घरदेखि मोटरसाइकल चलाई बाग्लुङ जिल्लाको छिस्ती भन्ने स्थानतर्फ जाने क्रममा छिस्तीनजिकै बाटोमा पहिरो गई बाटो अवरोध भएको हुँदा मैले मोटरसाइकल उक्त स्थानमा राखी पैदल हिँड्दै जाँदा कमला पनि घरबाट निस्की छिस्तीतर्फ आइरहेकी रहिछन् । बिच बाटोमा करिब बिहानको ११:०० बजेको समयमा हरी ढकालको मेडिकल पसलमा हामीहरूको भेट भई सोही स्थानदेखि केही तल रहेको खरबारीमा गई दिनको अं. १५:३० बजेसम्म बस्दै कुरा गर्ने क्रममा हामीहरूबिचमा विवाहको विषयमा विवाद भएको हो । निजले विवाह गरौं भनी जिद्दी गर्दा मैले वैशाख जेष्ठमा गरौंला भनी सम्झाउँदासमेत निजले मानेकी 

थिइनन् । केही समयपछि निज कमला शर्मा घरमा जान्छु भनी माथितिर लागेकी र म उक्त स्थानदेखि तलतिर मेरो मोटरसाइकल भएको स्थानतर्फ गएकोमा पछि निज कमला शर्मा पुनः मलाई पछ्याउँदै आइरहेकी रहिछन् । निजलाई मैले घरमा जाउ भनी पटकपटक सम्झाई बुझाई गर्दासमेत निजले नमानेपछि मैले मोटरसाइकलमा पछाडि राखी गुल्मी जिल्लाको कालीगण्डकी घुमाउनेतर्फ आउँदै गर्दा बाटोमा जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ बस्ने राजन शर्मा र ऐ.ऐ. बस्ने आकाश नेपाली आफ्नो मोटरसाइकलमा मेरो पछाडिबाट आइरहेको मैले भेटेपछि निज कमला शर्मालाई गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं.६ स्थित बरलबाको भिरनजिकै ओर्लनभन्दा निजले नमानेको हुँदा निजलाई जबरजस्ती मोटरसाइकलबाट ओराली घर जाउ भनी पछाडिबाट आउँदै गरेका मेरो साथीहरू राजन शर्मा र आकाश नेपाली भई घुमाउने भन्ने स्थानमा आई बाटोभन्दा माथि रहेको एक होटलमा गई चिया खाएका हौं । चिया खाएपश्चात् निज राजन शर्मा र आकाश नेपाली आफ्नो मोटरसाइकलमा आफ्नो घरतर्फ लागेका हुन् भने म निज कमला कता गइन्, निजलाई अलि परसम्म छोडिदिनुपर्ला भनी पुनः फर्की निजलाई ओरालेको स्थानतर्फ जाने क्रममा निजले मलाई देख्ने बित्तिकै उक्त स्थानबाट तलतिर कालीगण्डकी नदीमा रहेको गुल्मी जिल्ला र पर्वत जिल्ला जोड्ने झोलुङ्गे पुलतर्फ जाने बाटो हुँदै झरेकी हुँदा मैले बाटोमा मोटरसाइकल रोकी निजलाई पर्खपर्ख भन्दा निजले नमानेको हुँदा निजको पछिपछि जाँदा पुलपारि पर्वत जिल्लाको बिहादी गा.पा. वडा नं. २ बउर भन्ने स्थानमा भेटाई निजलाई पटकपटक घर जाउ भनी सम्झाउँदा निजले मानिनन् । विवाह गर भनी जिद्दी गर्न थालेपछि आज यसलाई यहीँ मारििदिन्छु भन्ने मेरो मनमा सोच आयो । साँझको अ. १८:३० बजेको थियो, निज अगाडि फर्केर उभिइएकी थिइन् सोही अवस्थामा मौका छोपी निजले घाँटीमा बेरेको गुलावी रङको सललाई पछाडिबाट दुवै टुप्पामा समाई बेस्करी जोडले कसेको हुँ निजले कुनै प्रतिवाद नगरी भुइँमा ढलिन् । निज लल्याक लुलुक भई भुइँमा लडेपछि निजको शरीरमा खुट्टाले टेकी उक्त सलको गाँठो बनाई निजको घाँटीमा दुवै हातले कसेको हुँ, निज छट्पटाउँदै थिइन् मैले कराइन् भने कोही कसैले थाहा पाउलान् भनी पुनः घाँटीमा रहेको सललाई जोडले कसेपछि निज कमला शर्मा केही समयपछि चल्न छट्पटाउन छाडेपछि मरिन् होला भन्ने ठानी सोही सलको टुप्पोमा समाती निजलाई घिसार्दै नजिकै रहेको पर्वत र गुल्मी जोड्ने झोलुङ्गे पुलमा लगी उक्त पुलको बिच भागमा पुर्‍याई उचाली उक्त पुलबाट कालीगण्डकी नदीमा फालिदिएको हुँ । तत्पश्चात् म कोही कसैलाई केही नभनी आफ्नो घरमा गई बसी अर्को दिन मिति २०७४।१०।०६ गते बिहान म पुर्तीघाट हुँदै चितवन गई बसेको हुँ । निज मृतक कमला शर्मालाई म एक्लैले कर्तव्य गरी मारेको हुँ र मृतकले लगाएको चप्पल घटनास्थल नजिकै मैले लुकाएकोमा प्रहरीले बरामद गरी ल्याएका हुन् उक्त चप्पल मेरो रोहबरमा मृतकको बुबा भूमिराज शर्माले सनाखत गरेका हुन् भन्ने बेहोराको मिति २०७४।१०।२८ गतेको प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

म जिल्ला बाग्लुङ जैमिनी न.पा. वडा नं. ८ छिस्ती भन्ने ठाउँमा २ वटा मेडिकल हल सञ्चालन गर्दै आएको छु । मिति २०७४ साल पौष महिनाको अन्तिम म मेरो मेडिकल हलमा बसिरहेको थिएँ । बिहान अ. ०९:३० बजेको समयमा यी हाल मृतक कमला शर्मा मेरो मेडिकलमा आई मसँग मिन्स नभएको कुरा गरिन् र तत्कालै निज कमला शर्माले यी हाल पक्राउमा परेका प्रदिप पराजुलीलाई फोन गरी मलाई बोल्न 

लगाइन । मसँग निज प्रदिप पराजुलीले कुराकानी गर्दा दाइ तपाइँको मेडिकलमा आएको बहिनीको पिसाबको जाँच गरिदिनुपर्‍यो भन्ने कुरा गरेपछि निज कमला शर्मालाई पिसाब लिन लगाई जाँच गर्दा गर्भ रहेको (positive) देखिएको भनी मैले कमला शर्मालाई जानकारी गराएको हुँ । त्यसपछि निज कमला शर्माले यो कुरा घरमा बाबा आमाले थाहा पाए भने म बाँच्नु पर्दैन भन्ने कुरा मलाई गरेकी हुन् । मैले निज कमलालाई आफैँ समझदारीमा समस्याको हल गर्नु भनी सुझाव दिएको थिएँ । यसै क्रममा मिति २०७४।१०।०५ गते बिहान म आफ्नो मेडिकलमा बसिरहेको अवस्थामा बिहानको अ. ०९.३० बजेको समयमा हाल मृतक कमला शर्मा मेरो मेडिकलमा आई बाहिरपट्टि बरण्डामा रहेको खाटमा बसिन् । केहीबेरमा यी हाल पक्राउमा परेका प्रदिप पराजुली मेरो मेडिकल हलबाहिर आई कमला शर्मासँग वादविवाद गरेका थिए । कमलाले मलाई विवाह गरी लैजानु पर्दछ भनेकी थिइन् भने प्रदिपले होइन वैशाख महिनामा विवाह गर्छु अहिले होइन, अहिले गर्भपतन गरौं भनी दुवैजना वादविवाद गरेका थिए । बेलुका रिठाबोटको मेडिकलबाट कोठामा फर्किंदा निजहरू दुई जना मेरो मेडिकलदेखि केही तल खरबारीमा दिनभरि बसेको भन्ने गाउँलेहरूबाट सुनेको हुँ । साँझ म मेडिकलमा नै सुतेको हुँ । भोलिपल्ट मिति २०७४।१०।०६ गते बिहान अं. ०८:०० बजेको समयमा हाल मृतक कमला शर्माको बुबा भूमिराज शर्माले मलाई फोन गरी हिजो मेरी छोरी तपाइँको मेडिकलमा औषधी लिन आएकी थिइन् र भनी सोधेका थिए, आएकी थिइन् टाउको दुखेको कुरा गरेकी थिइन्, तातो पानी खानु भनेको हुँ अरू केही कुरा भएन भनेपछि हो र भनी फोन राखेका हुन् । निज मृतक कमला शर्मा हराइरहेकीमा खोजतलास गर्ने क्रममा मिति २०७४।१०।१७ गते गुल्मी जिल्ला स्थित कालीगण्डकी नदीको किनारामा पानीमा डुबिरहेको मृत अवस्थामा लास फेला परेको भन्ने सुनी थाहा पाएको हुँ । पछि बुझ्दै जाँदा यी हाल पक्राउमा परेका प्रदिप पराजुलीले मिति २०७४/१०/५ गते साँझको अ. १८:३० बजेको समयमा जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ बउर भन्ने स्थानमा कमला शर्मालाई निजले घाँटीमा बेरेको सलले कसी कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने थाहा पाएको हुँ । कमला शर्मालाई कर्तव्य गरी मारी फालेको हुँदा निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही तथा सजाय हुनुपर्दछ भन्ने बेहोराको मिति २०७४।१०।२९ गते हरि ढकालले गरेको कागज ।

मिति २०७४।१०।०५ गते म र मेरो साथी आकाश भन्ने चन्द्रबहादुर नेपाली मेरो ध.१ प. २८८२ नं. को मोटरसाइकल चढी छिस्तीको वाइनकुना भन्ने ठाउँमा गएका हौं । हाम्रो टिमले भलिबल जितेको र भोलिपल्ट पनि खेल्नुपर्ने भएकोले खेली आकाश भन्ने चन्द्रबहादुर नेपाली मेरो मोटरसाइकलमा बसी मैले चलाई घरतर्फ फर्किंदै गर्दा गुल्मी जिल्ला स्थित बरलबादेखि अं.२०० मिटर पर उर्लेनी र बरलबाको बिचतिर प्रदिप पराजुलीले आफ्नो मोटरसाइकल डबल स्टेन्ड लगाई रोकी राखेका रहेछन् । मैले निजलाई हटिया जाने भनेको मान्छे यता कता हो भनी सोध्दा म हटिया गई आएको यता ल्याबको काम थियो र आएको भनेका हुन् । मैले मोटरसाइकल यहाँ राखेर कहाँ गएको थिइस् भनी सोध्दा हिजो चितवनबाट आउँदा बाटोमा मासु खाएको पेट काटेर दिसा बस्न गएको भन्ने कुरा गरेपछि मैले जाउँ घर भन्दा मैले हतार हतारमा आउँदा हेल्मेट दिसा गर्ने ठाउँमा छोडेको छु म लिएर आउँछु तपाइँहरू जानु भनी निजले आफ्नो मोटरसाइकल लिई बरलबातिर गए । केहीदिनपछि बाग्लुङ छिस्ती घर हुने कमला शर्मा हराएको र प्रदिप पराजुलीले भगाएको भन्ने हल्ला सुनेको हुँ । पछि बुझ्दै जाँदा यी हाल पक्राउमा परेका प्रदिप पराजुलीले मिति २०७४।१०।०५ गते कमला शर्मालाई जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ बउर स्थितमा साँझको अ. १८:३० बजेको समयमा निज कमला शर्माले घाँटीमा बेरेको सलले कसी कर्तव्य गरी मारी गुल्मी पर्वत जोड्ने बिहादी बउरको पुलबाट कालीगण्डकी नदीमा फालेको भन्ने थाहा पाएको हुँ भन्ने बेहोराको मिति २०७४।१०।२९ गते राजन शर्मा पौडेल र आकाश भन्ने चन्द्रबहादुर नेपालीले गरेको कागज ।

मृतक कमला शर्माले लगाएको गुलाबी रङको ज्याकेटको दायाँतर्फको खल्तीमा रू.१०००।- को २ थान, रू. ५००।- को २ थान गरी जम्मा रू.३०००।- नगद पैसा र मृतक कमला शर्माले घाँटीमा बेरेको सलसमेत निज मृतक कमला शर्माको हो भनी सनाखत गरिदिएको भन्ने बेहोराको मिति २०७४।११।०५ गते भुमीराज शर्माले गरिदिएको सनाखत मुचुल्का ।

मृतक कमला शर्मालाई मिति २०७४।१०।०५ गते औषधी गर्न भनी बोलाई लगी जिल्ला पर्वत बिहादी गा.पा. वडा नं. २ बउर स्थितमा साँझको अ. १८:३० बजेको समयमा मृतक कमला शर्माले घाँटीमा बेरेको सलले घाँटीमा जोडले कसी कर्तव्य गरी मारी सोही सलले घिसार्दै लगी पर्वत र गुल्मी जोड्ने झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा फालेकोमा मृतकको लास गुल्मीको कालीगण्डकी किनारामा फेला परेको ठिक साँचो हो । निजले आफूले गरेको कसुरसमेत स्वीकारसमेत गरेको हुँदा निज विक्रम भन्ने प्रदिप पराजुलीलाई कर्तव्य ज्यानअन्तर्गत हदैसम्मको सजाय हुनुपर्दछ भन्ने बेहोराको भविश्वर अधिकारीले गरेको कागज ।

मिति २०७४।१०।०५ गते बिहान अ. ०९:३० बजेको समयमा कमला शर्मा र प्रदिप पराजुली छिस्तीमा रहेको हरि ढकालको मेडिकलबाहिर कुराकानी गरी बसेको हुँदा निजलाई झिकाई अनुसन्धान गरिपाउँ भनी मृतकको दाजु रामप्रसाद शर्माले निवेदनसहित जानकारी गराएपश्चात् निज हाल पक्राउमा परेका प्रदिप पराजुलीलाई झिकाई सोधपुछ गर्दा निजले मिति २०७४।१०।०५ गते साँझको अ. १८:३० बजेको जिल्ला पर्वत साबिक बर्राचौर हाल बिहादी गा.पा. वडा नं. २ बउर स्थितमा मृतक कमला शर्माले घाँटीमा बेरेको गुलाबी रंगको सलले घाँटीमा गाँठो पारी कसी कर्तव्य गरी मारी सोही सलले घिसारी पर्वत र गुल्मी जोड्ने पुलको बिचबाट कालीगण्डकी नदीमा फालेको भन्ने खुलाइदिएको हुँदा विक्रम भन्ने प्रदिप पराजुलीले यी हाल मृतक कमला शर्मालाई आफ्नो माया जालमा पारी विवाह गर्छु भनी शारीरिक सम्बन्ध कायम गरी कमला शर्मालाई गर्भवती बनाई विवाह गर्नुपर्दछ भनी आफू उम्कनको लागि मृतक कमला शर्माले घाँटीमा बेरेको सलले घाँटीमा जोडले कसी कर्तव्य गरी मारी सोही सलले घिसार्दै लगी पर्वत र गुल्मी जोड्ने झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा फालेकोमा मृतकको लास गुल्मीको कालीगण्डकी किनारामा फेला परेको निजले आफूले गरेको कसुरसमेत स्वीकारसमेत गरेको हुँदा निज विक्रम भन्ने प्रदिप पराजुलीलाई कर्तव्य ज्यानअन्तर्गत हदैसम्मको सजाय हुनुपर्दछ भन्ने बेहोराको खुमराज ढकालले गरेको कागज ।

मिति २०७४।१०।१७ गते जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ४ घुमाउने स्थित कालीगण्डकी नदीको किनारमा निज कमला शर्माको लास फेला परेको, मृतक कमला शर्मालाई विवाह गर्ने नाटक गरी मायाजालमा पारी यौन सम्मर्क गरी गर्भ बोकाई विवाह गर्नुपर्छ भनी उम्कनको लागि कर्तव्य गरी मार्ने विक्रम भन्ने प्रदिप पराजुलीलाई हदैसम्म कारबाही हुनुपर्छ भन्ने मिति २०७४।११।०६ गते शालिकराम पौडेल, भोजराज रेग्मी र एकनाथ रिजालसमेतको एकै मिलान बेहोराको वस्तुस्थिती मुचुल्का ।

भाइ प्रदिप पराजुलीले यही मिति २०७४ सालको तिहारपछाडि चितवनमा बसी कोरियन भाषा पढ्दै आएका थिए, यही मिति २०७४ सालको मङ्सिर महिनाको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा घरमा आई केही दिन बसी पुन: चितवन गएका हुन् भने निज भाइले मलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले केही कुरा बुझ्न भनी बोलाएको छ भनेपछि मिति २०७४।१०।१५ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङमा गएका हौं । हामी त्यहाँ गई बुझ्दा यी हाल मृतक कमला शर्मा हराएको घटनाको सम्बन्धमा भाइलाई बुझ्नको लागि बोलाएका रहेछन्, दुवै पक्षबिच छलफल हुँदा मलाई केही थाहा नभएको भनेपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले निज मेरो भाइ प्रदिप पराजुलीलाई मिति २०७४।१०।१८ गते उपस्थित गर्ने गरी मेरो मामा रूद्रप्रसाद शर्माको रोहबरमा मैले जिम्मा लिई भाइलाई घरमा लिई गएका हौं । ऐ.साँझ अन्दाजी १८:०० बजे घरमा पुगेपछि खाना खाई भाइ प्रदिप पराजुलीलाई उक्त घटनाको सम्बन्धमा सोधखोज गर्दा मैले गल्ती गरेको छु, मैले पहिल्यै भन्नुपर्ने कुरा भन्न सकिन मेरो गल्ती भयो, म भन्न डराएँ, अहिले मलाई पछुतो लागेको छ भनी भनेको हुँदा निज भाइ प्रदिप पराजुलीलाई मिति २०७४।१०।१६ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङमा लगी जिम्मा लगाएको हुँ भन्ने बेहोराको मिति २०७४।११।०९ गते बिमल पराजुलीले गरेको कागज ।

प्रदिप पराजुलीले कमला शर्मासँग फोन सम्पर्क गरी माया जालमा पारी विवाह गर्छु भनी शारीरिक सम्पर्क गरी गर्भ बोकाएकोमा मृतकले विवाह गर्न भन्दा नमानी विवाद गरी गर्भपतन गराउन खोज्दा मृतकले नमानेपछि आफ्नो कर्तुत लुकाउन मिति २०७४।१०।०५ गते साँझ अन्दाजी १८:३० बजेको समयमा जिल्ला पर्वत विहादी गाउँपालिका वडा नं. २ वउर भन्ने एकान्त ठाउँमा लगी षड्यन्त्र गरी निज कमला शर्माले घाँटीमा लगाएको सलले घाँटीमा कसी ढलाई गाँठो पारी खुट्टाले टेकी, कुल्ची, थिची घाँटीमा सलकै गाँठो पारी कर्तव्य गरी मारी सोही सलले घिसार्दै लगी पर्वत र गुल्मी जोड्ने कालीगण्डकी नदीको झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा फालेकोले प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले मुलुकी ऐनको ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही महलको १३(३) नं.बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐन महलको १३(३) नं. बमोजिम सजाय होस भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट पेस भएको अभियोग पत्र ।

प्रहरी प्रतिवेदनमा मलाई बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १ मालढुङ्गा स्थित सडकमा लुकीछिपी हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको भनी लेखेको बेहोरा झुट्टा हो । अरू बेहोरा सत्य हो । म आफैँ दाजु विमल पराजुली र मामा रूद्रप्रसाद पौडेलको साथमा जिल्ला प्रहरी कार्यालय बागलुङ गएको हुँ । मलाई मृतकले महिनावारी रोकिएको छ भन्थिन् मैले युरिन टेष्ट गरौँ क्लियर हुन्छ भन्दा उनीले मेरो कुरालाई कुनै चेष्टा दिइनन् । नेगेटिभ देखिएमा वैशाख जेष्ठतिर विवाह गरौंला र पोजेटिभ देखिएमा घर परिवारसँग सल्लाह गरी २/३ दिनभित्र विवाह गरौँला भन्दा निजले सो कुरालाई चेष्टा नदिई कि मलाई मार कि म मर्छु तँलाई पार्छु भन्ने कुरा मात्र गरिन् । निजलाई धेरै फकाउने प्रयास गरेको हुँ । मेरो कुरालाई अलिकति पनि मनमा लिइनन् र आफ्नो मात्र घमण्डी 

देखाइन् । त्यो बेलामा एक्कासी मलाई के भयो के भयो थाहा भएन । निज मृतकले लगाएको सल हातले समात्न पुगी निजको घाँटीमा कस्न पुगेँ र निज ललाङलुलुङ भइन् र भुँइमा लडिन् । त्यसपछि मलाई डर लागी आत्मग्लानी भई उनीलाई घाँटीमा कसेको सल समातेर लतारी पर्वतको साबिक बर्राचौर गा.वि.स. र गुल्मीको साबिक खड्ककोट जोड्ने कालीगण्डकी नदीको झोलुङ्गेपुलको बिचमा लगी पुलबाट तल नदीमा फालेको हुँ । मलाई यो घटनाले एकदमै नै आत्मग्लानी, पछुतो र पश्चाताप भइरहेको छ । नियतवश मैले घटना घटाएको होइन । अन्जानमा के कसरी यस्तो घटना भयो म आफैँलाई थाहा छैन । घटना घटेपछि मैले आफ्नो गल्ती स्वीकार गरी सजायको भागीदार हुनको लागि म आफैँ स्वयं जिल्ला प्रहरी कार्यालय बागलुङमा गई घटनाको सम्पूर्ण बेहोरा बताएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले सुरू अदालतमा गरेको बयान ।

मैले अनुसन्धानको क्रममा गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । मृतक मिति २०७४।१०।५ मा हराएकी रहिछन् । मिति २०७४।१०।१६ गते प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले बर्राचौरभन्दा तलको पुलबाट गुलाबी रङको सलको गाँठो घाँटीमा पारी मारी फालेको हुँ भनी स्वीकार गरेपछि त्यसको भोलिपल्ट लास खोज्दै जाने क्रममा गुल्मीको घुमाउने भन्ने ठाउँमा लास फेला पारेको हौं भन्ने मैले सुनी थाहा पाएको 

हुँ । प्रतिवादीलाई कानूनबमोजिम सजाय हुनुपर्छ भन्ने बेहोराको वस्तुस्थिति मुचुल्काका भोजराज रेग्मी र एकनाथ रिजालले सुरू अदालतमा गरेको बकपत्र ।

मैले अनुसन्धानको क्रममा गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । मृतक मिति २०७४।१०।५ मा हराएकी थिइन् । मिति २०७४।१०।१६ गते प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले बर्राचौरभन्दा तलको पुलबाट सलको गाँठो घाँटीमा पारी मारी फालेको हुँ भनी स्वीकार गरेपछि त्यसको भोलिपल्ट लास खोज्दै जाने क्रममा गुल्मीको घुमाउने भन्ने ठाउँमा लास फेला पारेका हौँ । प्रतिवादीलाई कानूनबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने हिरामणी पौडेल, हरि ढकाल, खुमराज ढकाल, शालिकराम पौडेल, भविश्वर अधिकारी र भूमिराज शर्माले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७४।१०।२९ गते मैले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । प्रतिवादीले घटना घटाई प्रहरीसमक्ष गई स्वीकार गरेको रहेछ । पछि लास खोज्दै जाँदा लास फेला परेको कुरा थाहा भएको 

हो । मैले लास देखेको होइन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने आकाश भन्ने चन्द्रबहादुर नेपाली र राजन शर्माले सुरू अदालतमा गरेको बकपत्र ।

मृतक हराएको भन्ने गाउँमा हल्ली खल्ली भएको थियो । मैले भाइलाई तैंले विवाह गरी भगाएको छस्, कहाँ लगिस् भनी सोध्दा पहिला निजले मलाई मैले भगाएको छैन भनी भनेको थियो । पछि मृतकले विवाह गरे गर् नगरे म मर्छु भन्ने जिद्दी गरेकी हुँदा मारेर पुलबाट फालेको हुँ भनी भाइले स्वीकार गरेपछि मैले नै निजलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा लगेर बुझाएको हुँ भन्ने बेहोराको प्रतिवादीका साक्षी विमल पराजुली र धनराज पुरीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७४।१०।२६ मा मैले मृतकको शरीरिक परीक्षण गरेको प्रतिवेदनमा भएको बेहोरा तथा सहीछाप मेरो हो भन्नेसमेत बेहोराको डा. सागर राजभण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।

मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले मृतकलाई घाँटीमा सलले कसी कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालिदिएको पुष्टि भई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत सोही महलको १३(३) नं.बमोजिमको कसुर गरेको शंकारहित तवरले पुष्टि हुन आएकोले निज प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीलाई सोही ऐन महलको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारी र यस अदालतसमक्ष गरेको बयानमा कसुर गरेकोमा साबित भई अनुसन्धानको प्रक्रियामा सहयोग गरेको, निजको अपराध गरेकोमा आत्मग्लानी पछुतो भइरहेको छ भनी बयानमा उल्लेख गरेको निजको उमेरसमेतलाई हेर्दा सुधार हुन सक्ने देखिएकोले उपर्युक्त सजाय गर्दा चर्को पर्न जाने देखिएको हुँदा मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम १५(पन्ध्र) वर्ष कैद गर्न उपयुक्त हुने देखिएको बेहोरासमेतको रायसमेत साधक जाहेर गर्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू पर्वत जिल्ला अदालतको मिति २०७५।२।१० को फैसला । 

मृतक कमला शर्मा र मेरोबिचमा वास्तविक रूपमा प्रेम सम्बन्ध नै भएको हो । हामी दुवैको आपसी सहमतिमा शारीरिक सम्बन्ध पनि भएको थियो । म आर्थिक रूपमा आत्मनिर्भर नभइसकेको कारण विवाहपश्चात् हामी दुईबिचको सम्बन्ध बिग्रन सक्ने हुँदा मेरो योग्यताअनुसारको पेसामा लागिसकेपछि केही समयपश्चात् विपक्षीसँग विवाह गरी दाम्पत्य जीवन सुरू गर्ने मोडमा थिएँ । मैले मृतक र मेरो सम्बन्धको बारेमा घरका बाबु, आमा र दाजुलाई पनि भन्नसकेको 

थिइनँ । वारदातका दिन कमला र मेरो भेट भएपछि कमलाले मेरो महिनावारी रोकिएको छ तत्काल विवाह गरौं भनिन्, मैले हामीले त सुरक्षित यौन सम्पर्क गरेका हौं नहुनुपर्ने युरिन टेष्ट गरौं नेगेटिभ भए जेठमा विवाह गरौंला पोजिटिभ भए दुई तीन दिनभित्र विवाह गरौंला भन्दा मेरो कुराप्रति ध्यान नदिई निजले कि मलाई मार कि म मर्छु र तँलाई पार्छु भन्ने मात्र कुरा गरिन् । मैले नियतवश योजना बनाएर मृतक कमलाको हत्या गरेको होइन । विपक्षीको एकोहोरो जिद्दी यता घर परिवारले के भन्ने हुन् भन्ने डरले मैले सही निर्णय गर्ने क्षमता गुमाएर यस्तो घटना घट्न पुगेको हो । त्यसप्रति पश्चतापको उत्कर्षमा 

छु । मबाट गैरकानूनी अपराध भयो भन्ने बोध गरेर नै आत्मसमर्पण गरी अनुसन्धान र न्याय सम्पादनलाई सहयोग गरेको हुँ । प्रस्तुत तथ्यका आधारमा अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको १३(३) आकर्षित हुने होइन । मिसिल संलग्न प्रमाणहरूको समग्र यथोचित मूल्याङ्कन गरी सुरू पर्वत जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी गरेको पर्वत जिल्ला अदालतको फैसला सो हदसम्म बदर गरी मलाई उचित सजाय गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा दायर गरेको पुनरावेदन पत्र ।

प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले मृतक कमला शर्मालाई कर्तव्य गरी मारी लासलाई गायब गराउने मनसायले पुलबाट फालेको पुष्टि भएको हुनाले निजलाई पर्वत जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी फैसला भएको सदर हुने भए तापनि हाल प्रचलित मुलुकी फौजदारी संहिता, २०७४ को दफा ४०(२) बमोजिम सर्वस्व नहुने हुनाले जन्मकैद मात्र हुने ठहर्छ । सुरू अदालतबाट साबिक मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम प्रतिवादीले अपराध अनुसन्धानको प्रक्रियामा सहयोग गरेको, अपराध गरेकोमा आत्मग्लानी गरेको र निजको उमेर अवस्थासमेतलाई विचार गरी १५ वर्ष कैद सजाय गर्न उपयुक्त देखिएको भनी व्यक्त गरिएको राय मनासिब देखिँदा साधक जाँचका लागि सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने मिति २०७५।१०।१६ को उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला ।

घटना घटेको, घटनामा मृतकको मृत्यु भएको र सो मृत्युमा मेरो परोक्ष संलग्नता रहेको कुरामा दुविधा छैन । तर घटना कसरी भयो कुन अवस्थामा 

भयो ? त्यसतर्फ न्यायकर्ताको ध्यान पुगेको छैन । मृतक आफैँले विवाह गर्ने भनी जिद्दी गरेको, घर जाउभन्दा पनि नमानी मेरो पछिपछि आई जबरजस्ती कार्य गरेको र सो लगातारको जबरजस्तीले म पुनरावेदकले आफ्नो होस गुमाई उक्त वारदात हुन गएको हो । घटना भएको केही समयसम्म पनि नियन्त्रणभन्दा बाहिर गएको 

रहेछु । जब म आफ्नो नियमित अवस्थामा फर्कें तब मबाट अनायासै ठुलो गल्तीको प्रायश्चितका लागि म स्वयम् प्रहरी कार्यालयमा हाजिर भई आफ्नो सम्पूर्ण बेहोरा बताएको थिएँ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३९ मा कसुरको गाम्भीर्य घटाउने प्रावधानको देहाय (ङ),(च),(ञ) र (ट) बमोजिमको सबै प्रक्रियाहरू पूरा भएका छन् । म पुनरावेदकले दुवै निकायमा बयान गर्दा कसुरमा स्वीकार गरी बयान गरेको आधारमा मलाई जन्मकैद नगरी घटी सजाय हुनुपर्ने हो । सबै कुरा नढाँटी व्यक्त गरेको छु । हत्या मनसाय प्रेरित होइन । हत्या गर्ने न त कुनै योजना थियो न त योजनाबद्ध रूपमा हत्या भएको हो । तसर्थ, मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३९ मा कसुरको गाम्भीर्य घटाउने प्रावधानसमेत दृष्टिगत गरी उच्च अदालत पोखरा, बाग्लुङ इजलासको त्रुटिपूर्ण फैसला उल्टी गरी कम सजाय कायम गरी उचित न्याय दिलाइपाउँ भन्ने बेहोराको प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

ठहर-खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिलसमेत अध्ययन गरियो ।

प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री दर्शन बरालले प्रस्तुत वारदात मृतकको जिद्दी तथा जबरजस्तीको कार्यबाट नै भएको हो । प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले निज मृतकलाई घर जाउ भनी सम्झाई बुझाई गर्दा निजले नमानी जबरजस्ती गरेको कारण प्रतिवादीले आफ्नो होस तथा नियन्त्रण गुमाई उक्त घटना घट्न गएको हो । उक्त घटनापछि प्रतिवादी आफैँ प्रहरीको सम्पर्कमा आई कसुर स्वीकार गरी बयान गरेको र निजलाई आफूले गरेको कसुरको पश्चातापसमेत भएको अवस्थामा प्रतिवादीलाई उच्च अदालत पोखरा, बाग्लुङ इजलासको फैसलाले गरेको जन्मकैद सजाय उल्टी गरी मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३९ मा कसुरको गाम्भीर्य घटाउने प्रावधानसमेत दृष्टिगत गरी कम सजाय गरी न्याय दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्त तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७५।१०।१६ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

निर्णयतर्फ विचार गर्दा, प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले मृतक कमला शर्मालाई सलले घाँटी कसी कर्तव्य गरी मारी सोही सलले घिसार्दै कालीगण्डकी नदीको झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा फालेको हुनाले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी 

देखिन्छ । मिसिल संलग्न प्रतिवादीउपर परेको किटानी जाहेरी, घटनास्थल मुचुल्का, शव परीक्षण प्रतिवेदन, मौकामा कागज गर्ने व्यक्तिहरू तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको बकपत्र तथा प्रतिवादीले गरेको स्वीकारोक्ति बयानसमेतको आधारमा निज प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले मृतकलाई घाँटीमा सलले कसी कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको शंकारहित तवरले पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ तर निजलाई सो सजाय चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम १५(पन्ध्र) वर्ष कैद गर्न उपयुक्त हुने रायसमेत व्यक्त गरिएको छ भन्ने सुरू पर्वत जिल्ला अदालतबाट फैसला भएको देखिन्छ ।

उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई मुलुकी फौजदारी संहिता, २०७५ को दफा ४०(२) बमोजिम जन्मकैदको मात्र सजाय हुने तथा निजलाई मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम १५ वर्ष मात्र कैद सजायको राय व्यक्त भएकोमा सो रायसमेत सदर गर्ने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले चित्त नबुझाई पुनरावेदन दर्ता गराएकोमा आज यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।

पुनरावेदन पत्रमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३९ मा कसुरको गाम्भीर्य घटाउने प्रावधानसमेत दृष्टिगत गरी प्रतिवादीलाई उच्च अदालत पोखरा, बाग्लुङ इजलासले जन्मकैद सजाय गरेको फैसला उल्टी गरी कम सजाय गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । 

२. सो सम्बन्धमा विचार गर्दा, मिति २०७५।१०।०५ देखि कमला शर्मा हराएकोमा निजको खोजतलास गरी बुझ्दै जाँदा विक्रम भन्ने प्रदिप पराजुलीले कमला शर्मालाई मायामा पारी विवाहबाट उम्कनको लागि घाँटीमा सलले बेरेर हत्या गरी मृत शरीरलाई कालीगण्डकीको पुलबाट फालेको भन्ने थाहा पाएको भन्ने बेहोराको मृतकका बुबा भूमिराज शर्माको जाहेरी दरखास्त परी सोही बेहोरा समर्थन हुने गरी निज जाहेरवालाले अदालतमा बकपत्रसमेत गरेको देखिन्छ । 

३. “मिति २०७४।१०।०५ को दिन बिहान मृतक कमला शर्माले मेडिकलमा आई पिसाब जाँच गर्दा गर्भ रहेको रिजल्ट आई मेडिकलको बाहिर बसिरहेको अवस्थामा निज प्रतिवादी आई वैशाखतिर विवाह गरौंला, अहिलेलाई गर्भपतन गरौं भनी दुई जनाबिच वादविवाद भएको थियो । मिति २०७४।१०।१७ मा निजको मृत शरीर फेला परी बुझ्दै जाँदा यिनै प्रतिवादी प्रदिप पराजुलीले सलले घाँटी कसेर कर्तव्य गरी मारी कालीगण्डकी पुलबाट नदीमा फालेको थाहा भएको हो” भन्ने बेहोराको हरी ढकालले मौकामा घटना विवरण कागज गरी सोही बेहोराको निजले अदालतमा बकपत्रसमेत गरेको देखिन्छ ।

४. गुल्मी जिल्ला कालीगण्डकी गा.पा. वडा नं. ४ स्थित कालीगण्डकी नदीको किनारमा घोप्टो परेको अवस्थामा कमला शर्माको मृत लास फेला परी लासको घाँटीमा गुलाबी रंगको सलले दुईवटा गाँठा पारी कसिएको, मृतकको अनुहारमा रातो निलो डाम भई शरीरको सम्पूर्ण भागको छाला खुइलिएको भन्ने बेहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु घाँटी कस्सिएर श्वासप्रश्वास अवरूद्ध भएको कारण (Mechanical Asphyxia: Strangulation) भन्ने उल्लेख हुनुका साथै मृतकको गर्भमा ६-७ हप्ताको गर्भ (६-७ weeks of Gestational sac) रहेको भन्नेसमेत उल्लेख भएको देखिन्छ । 

५. प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत बयान गर्दा “निज मृतक कमला शर्मालाई घर जाउ भन्दा नमानी एकोहोरो विवाह गर्ने जिद्दी गरेको हुँदा निजले लगाएको सलले निजको घाँटीमा कसी निज लल्याक लुलुक भई भुइँमा लडेपछि निजको शरीरमा खुट्टाले टेकी सलको गाँठो बनाई पुनः जोडले घाँटी कसी चल्न छटपटाउन छोडेपछि मरिन् होला भन्ने ठानी सोही सलले घिसारेर कालीगण्डकी पुलको बिचमा लगी तल नदीमा फालेको हुँ” भनी कसुर स्वीकारै गरी बयान गरेको देखिन्छ । प्रतिवादीको उक्त बयान बेहोरा मिसिल संलग्न किटानी जाहेरी, घटनास्थल लास जाँच मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन, मौकामा गरेको घटना विवरण कागज तथा सो व्यक्तिहरूको बकपत्रसमेतबाट समर्थित भएको देखिँदा निज प्रतिवादीले नै सलले मृतकको घाँटी कसेर हत्या गरी लासलाई कालीगण्डकी पुलबाट खोलामा फालेको तथ्य पुष्टि हुन आएको देखिन्छ ।

६. अब, यस अवस्थामा प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ मा कसुरको गाम्भीर्य घटाउने प्रावधानलाई दृष्टिगत गरी उच्च अदालतबाट भएको फैसला उल्टी गरी कम सजाय गरिपाउँ भनी लिएको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा, मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को व्यवस्थामा कसुरको गम्भीरता घटाउने अवस्थाहरू देखिन्छ । कुनै पनि कसुरमा कसुरदार देखिँदादेखिँदै पनि उक्त व्यवस्थामा उल्लेख भएका अवस्था तथा परिस्थितिहरू विद्यमान भएमा न्यायकर्ताले आफ्नो स्वविवेकको अधिकार प्रयोग गरी सजाय निर्धारण गर्दाको बखत सो कुरालाई आधार मान्न सक्ने हुन्छ । गर्भवती महिलालाई घाँटीमा सलले कसी मारी लतार्दै लगी पुलबाट कालीगण्डकी नदीमा फाल्ने जस्तो क्रूर अमानवीय अपराध गर्ने प्रवृत्तिको हकमा कसुरको गाम्भीर्य घटाउने प्रावधान आकर्षित हुने होइन । अतः प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम कसुर गरेको ठहर्‍याई सजाय गर्ने गरी उच्च अदालत पोखरा, बाग्लुङ इजलासको फैसला मिलेकै देखियो । 

७. प्रतिवादीलाई तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भए तापनि हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा यो संहिता प्रारम्भ भएपछि सर्वस्व हुने गरी सजाय हुने छैन भन्ने व्यवस्था रहेको पाइन्छ । सोही संहिताको दफा १७७(२) मा ज्यान मार्नेसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने प्रावधान रहेको र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ग) को प्रतिबन्धात्मक वाक्यांशअनुसार साबिक मुलुकी ऐनभन्दा प्रचलित मुलुकी फौजदारी संहिताले घटी सजायको व्यवस्था गरेकोमा घटी सजाय गर्नुपर्ने कानूनी व्यवस्थाबमोजिम पुनरावेदक प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद नभई जन्मकैदको सजाय मात्र हुने गरी उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट भएको फैसला मिलेकै देखिन आयो ।

८. माथि उल्लेख भएबमोजिम प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय हुने ठहर भए तापनि प्रतिवादीले कसुर स्वीकार गरी बयान गरेको, निजले अपराध गरेकोमा आत्मग्लानी पछुतो भइरहेको भनी बयानमा उल्लेख गरेको र निजको उमेरसमेतलाई हेर्दा सुधार हुनसक्ने देखिएको कारणहरूबाट निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिँदा निजलाई १५ वर्षको कैद सजाय हुने भनी साबिक मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम सुरू पर्वत जिल्ला अदालतबाट राय व्यक्त भएकोमा उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट पनि सो राय सदर भएको देखिन्छ । 

९. सो सम्बन्धमा हेर्दा, उक्त मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोगको सन्दर्भमा सर्वोच्च अदालतबाट मधुमाया तामाङ वि. नेपाल सरकार भएको कर्तव्य ज्यान (ने.का.प.२०६८, अङ्क ५, नि.नं. ८६१६) मुद्दामा “अ.बं. १८८ नं. को प्रयोग अक्सर गरी घटनाको अवस्था र प्रकृति, मृतकका क्रियाकलाप, वारदात घटाउन अभिप्रेरित गर्ने तत्त्व, वारदात घटाउँदा अपनाएको कार्यशैली, अभियुक्तको मानसिक अवस्था, मृतक र अभियुक्तबिच भएका क्रियाकलाप जस्ता कुराहरूमा निर्भर रहने । अपराध र सजायबिच सन्तुलन कायम गर्ने सम्बन्धमा अ.बं. १८८ नं. को प्रयोग मनासिब आधारबिना आपराधिक मनसाय, तयारी र योजनाबद्ध ढङ्गले क्रूर कार्यशैली अपनाई गरिने हत्याका सम्बन्धमा सजाय घटाउने अस्त्रको रूपमा विकसित गर्नु उचित नहुने ।” भनी न्यायिक व्याख्या भएको पाइन्छ । 

१०. प्रस्तुत मुद्दामा प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीले कसुर गरेको स्वीकारै गरी बयान गरेको भए तापनि मुद्दाको तथ्य हेर्दा मृतक गर्भिणी रहेको र यी प्रतिवादीलाई सो कुराको जानकारी हुँदाहुँदै निजले विवाह गर्न इन्कार गर्दै वादविवाद गरी बच्चा गर्भमा रहेको महिलालाई मार्ने मनसायले सलले घाँटीमा बेरेर क्रूरतापूर्वक हत्या गरी अपराध लुकाउन तथा दबाउने दुष्प्रयास गर्दै मृत लासलाई कालीगण्डकी पुलबाट नदीमा फालेको देखिन्छ । साथै, उक्त घटनापश्चात् निज प्रतिवादी भागेर चितवन गएको अवस्था भई लास फेला नपरेसम्म निजले मृतक हराएकोबारे केही जानकारी नभएको भनी ढाँटिरहेको क्रियाकलापलाई समेत दृष्टिगत गर्दा यी प्रतिवादीलाई साबिक मुलुकी ऐन, अ.बं. १८८ को राय लगाई कम सजाय गर्न न्यायोचित हुने देखिएन । तसर्थ, निज प्रतिवादीलाई साबिक मुलुकी ऐन, अ.बं. १८८ बमोजिम १५ वर्षको कैद सजाय मात्र हुने भनी सुरू पर्वत जिल्ला अदालतबाट व्यक्त भएको रायलाई सदर गर्ने गरी उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट व्यक्त भएको राय मनासिब देखिन आएन । 

११. अतः उल्लिखित आधार, कारणबाट पर्वत जिल्ला अदालतबाट भएको फैसला सदर गरी पुनरावेदक प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने गरी सुरू पर्वत जिल्ला अदालतबाट भएको फैसला सदर हुने भए तापनि हाल प्रचलित मुलुकी अपराध संहिता, २०७५ को दफा ४०(२) बमोजिम निजलाई जन्मकैदको सजाय मात्र हुने ठहर्‍याई उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट मिति २०७५।१०।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । साबिक मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम १५ वर्ष कैद गर्ने गरी सुरू जिल्ला अदालतबाट व्यक्त भएको राय सदर गर्ने गरी उच्च अदालत पोखरा, बाग्लुङ इजलासको राय मनासिब नदेखिँदा सो राय कायम नहुने भई प्रतिवादीलाई ठहर भएबमोजिमको जन्मकैदको सजाय नै हुन्छ । प्रस्तुत फैसलाको जानकारी सम्बन्धित कारागार कार्यालयमार्फत थुनामा रहेका प्रतिवादी विक्रम भन्ने प्रदिप पराजुलीलाई दिई फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.सुष्मालता माथेमा

 

इजलास अधिकृत : मनिता गुरूङ

इति संवत् २०७७ साल असार १४ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु