शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७०८ - कर्तव्य ज्यान

भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७८।५।८

०७५-CR-१५२०

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी, बबिया गा.वि.स. वडा नं.८ परिवर्तित जिल्ला सुनसरी, इनरूवा नगरपालिका वडा नं.९ घर भई हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा कैदमा रहेका जगन ऋषिदेवको छोरा अर्जुनकुमार ऋषिदेव

विरूद्ध

प्रत्यर्थी / वादी : सोमन ऋषिदेवसमेतको जाहेरीले नेपाल सरकार

 

मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई प्रतिवादीले घटना घटाएको होइन भनी बकपत्र गरेको देखिए पनि भौतिक एवम् वैज्ञानिक प्रमाणबाट स्थापित तथ्यलाई मौखिक प्रमाणले खण्डन गर्न सक्ने अवस्था नरहने । 

वारदात तथ्य र परिस्थितिले कहिल्यै झुट बोल्दैन तर साक्षी वा मौखिक प्रमाण जहिले पनि मानवीय संवेदनाबाट प्रभावित हुने र अनपेक्षित प्रभाव पर्न सक्ने सम्भावना रहने हुनाले मौखिक प्रमाण ग्रहण गर्दा मिसिलका अन्य प्रमाणबाट समर्थित भए नभएको सतर्कतापूर्वक हेरिनुपर्ने ।

(प्रकरण नं.११)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवाल

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

 

जिल्ला अदालतमा फैसला गर्नेः

मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल

सुनसरी जिल्ला अदालत

उच्च अदालतमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री उमेशराज पौड्‍याल

माननीय न्यायाधीश श्री उमेशकुमार सिंह

उच्च अदालत, विराटनगर 

 

फैसला

न्या.नहकुल सुवेदी : न्‍याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

मेरो छोरा वर्ष २६ को दिपनारायण सदाको पत्‍नी अं.वर्ष २५ की तारादेवी ऋषिदेव मेरो बुहारी हुन् । छोरा हाल विदेशमा बसी आएको छ । बुहारी छुट्टै बसी आफैँ कमाउने आफैँ सबैथोक गर्ने गरेकी 

छन् । मिति २०७३।८।२ गते बिहानै मेरो आमा वर्ष ६५ की भूलिदेवी ऋषिदेव बुहारीकहाँ सँगै बस्दै गरेकाले मेरो आमालाई सोधी म दिसा पिसाब गर्न जान्छु भनी घरबाट बाहिर गएका बखत मेरो छोरा बुहारी घरदेखि पूर्व शंकरपुर शाखा नहरको डिलमा बिहानै ६ बजेको समयमा नहरको डिलमा मृत अवस्थामा फेला परेको हो र बुहारी के कसरी नहरको डिलमा टाउको हिलोमा भएको शरीर सुख्‍खा ठाउँमै घोप्टो परेर मृत अवस्थामा रहेकोले पोष्टमार्टम गराई दाह संस्कारको निमित्त लास जिम्मा बुझाएपछि अनुसन्धानको क्रममा घटना सम्बन्धमा खुल्ने बित्तिकै जाहेरी दरखास्त दिन आउने छु भन्‍नेसमेत बेहोराको शोभन ऋषिदेवको जाहेरी दरखास्त ।

जिल्ला सुनसरी जल्पापुर गा.वि.स. वडा नं.९ स्थित पूर्वमा रजाक मियाँको धान खेत, पश्‍चिममा धिरेन्द्र शर्माको धान खेत र विनोद ऋषिदेवको घर, उत्तर तथा दक्षिणमा शाखा नहर यति चार किल्लाभित्र उत्तर दक्षिणमा रहेको सो नहरको पानीपेट १५ फिट ६ इन्च रहेको, सो नहरको पश्‍चिम भागको डिलको पूर्वीपेटीमा रहेको लहरमा साडीको केही भाग अल्झिएको, पश्‍चिमपट्टिको पूर्वपट्टिको पूर्व भित्री पानी डिलको छेउमा मृतकको दायाँ खुट्टामाथि बायाँ खुट्टा तल खप्टिएको, मृतकको टाउको केही पानी हिलो आएको ठाउँमा अनुहार तलतिर गाडिएको, टाउकोमाथि हिलो माटो राखिएको जस्तो देखिएको, मृतकको टाउको पूर्व खुट्टा पश्‍चिम घोप्टो अवस्थामा मृतकको लास रहेको, मृतकको दायाँ हातमाथि फर्की पेटमुनि रहेको, बायाँ हात छाती तलबाट दक्षिणतर्फ हत्केला माथि फर्केको, मृतकको टाउकोदेखि उत्तरमा मोबाइल हिलो पानीमा केही भाग डुबेको अवस्थामा रहेको र केही भाग बाहिर रहेको, मृतकले रातो, पहेँलो, हरियो र केही धर्के बुट्टा भएको ब्लाउज रातो गुलाबी र कालो रहेको पिङ्कमा कालो बुट्टा भएको ब्रा लगाएकी र ब्रा ब्लाउज केहीमाथि सरेको, हातमा कालो रङ्गको चुरा लगाएकी, मृतकको खुट्टादेखि ५४.३ फिट, टाउकोदेखि ५५.८ फिट पश्‍चिम दक्षिण र खुट्टादेखि १८९.१ फिट, टाउकोदेखि १९३ फिट पश्‍चिम उत्तरमा बिजुलीको पोल रहेको, मृतकको टाउकोदेखि १ फिट उत्तरमा कालो रङ्गको मोबाइल रहेको, मृतकको माथिको दाँत देखिएको, बायाँ भागको कपाल दाँतले दबेको देखिएको, चिउँडोमुनि एक ठाउँमा छाला कोतरिएको, टाउकोमाथि केही हिलो माटो रहेको, पेटको छाला कोतरिएको जस्तो देखिएको, दायाँ हातको कुहिनाको पछाडिको भागको छाला पिल्सिएको भन्‍नेसमेत बेहोराको घटनास्थल तथा लास जाँच मुचुल्का ।

मिति २०७३।८।२ गते बिहान ०६:३० बजेको समयमा नहरमा लास छ भनी हल्ला खल्ला भएपछि स्थानीय मानिसहरूसमेत गएकाले म पनि गई हेर्दा तारादेवी ऋषिदेवको लास मृत अवस्थामा देखेको हुँ, निजको मृत्यु के कसरी भयो मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको सुन्दर ऋषिदेवले गरेको घटना विवरण कागज । 

मिति २०७३।८।२ गते बिहान ४:०० बजेको समयमा हामी दुवैजना धान काट्न गएका थियौं, धान काट्दै जाँदा अं. ६:१५ बजेको समयमा मेरो देवरकी छोरी रिना आई सिंगीयावाली भाउजूलाई नहरमा मारी फालेको छ भन्दा हामी दुवै जना उक्त नहरमा आएका हौं । निज बुहारीले पहिला पहिला फोनमा निक्‍कै कुरा 

गर्थिन् । निजसँग कसलाई फोन गरेको भन्दा मैले मेरो माइती घरमा फोन गरेकी भन्‍ने गर्थिन् । छोराले विदेशबाट रकम पठाए पनि गाउँघरका मानिससँग सापटी लिई चलाउने गर्थिन् । मैले आफ्नो सासूआमालाई रातको समयमा कति बेला घरबाट निस्केकी भनी सोध्दा मलाई थाहा भएन भनी बताउनुभयो । गाउँका मानिसहरू सुतेपछि घरबाट बाहिर निस्की जाने गरेको कुरा थाहा पाएकी हुँ भन्‍नेसमेत बेहोराको बच्चीयादेवी ऋषिदेवले गरेको घटना विवरण कागज ।

मेरो भाइ र म आमासँग बस्दै आएका र मेरो बुबा पैसा कमाउन भनी विदेश जानुभएको छ । मेरो हजुरआमाको नाममा पैसा पठाउनु हुन्छ । मेरो आमा फोनमा कुरा गर्नुहुन्थ्यो, मिति २०७३।८।१ गते साँझको समयमा मेरो हजुरबुबा शोभन ऋषिदेव र सुन्दर अङ्कलले पनि प्रमिलाको आँगनमा रक्सी खानुभयो । मेरो आमाले माछा, बनाएको अचार पनि दिनुभयो । हजुरबुबा खाई घर जानुभयो । हामीहरू आमा, भाइ र मसमेत खाटमाथि सुत्यौं, आमा राति कतिखेर बाहिर जानुभयो मलाई थाहा भएन, मेरी आमाको मरेको लास नहरमा भेटियो, कसले मारे मैले देखिन भन्‍नेसमेत बेहोराको दिपिका ऋषिदेवले गरेको घटना विवरण कागज ।

Sperm present in vagina भन्‍नेसमेत बेहोरा खुलाई the body for further investigation & higher center for suspected homicide भन्‍नेसमेत बेहोराको जिल्ला जनस्वास्थ कार्यालय, इनरूवा अस्पतालको च.नं.१६७८ को पत्रसहितको प्रतिवेदन ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको पत्रानुसार सम्बन्धित निकायबाट प्राप्त भएको Call detail मिसिल संलग्न रहेको । 

तारादेवी ऋषिदेव मिति २०७३।८।२ गते बिहान अं. ६:३० बजेको समयमा ऐ. स्थितमा रहेको शंकरपुर शाखाको नहरमा मृत अवस्थामा फेला परेकोले ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा मृतक तारादेवी ऋषिदेवले प्रयोग गर्ने मोबाइल नम्बर ९८०४३६६५०२ र ९८६२२७५८१५ को फोनबाट कल डिटेल्स चेक जाँच गर्दा मिति २०७३।८।१ गते बिहानका राति मोबाइल नम्बर ९८११०४४७३४ बाट र सोही मितिको राति २२:०१ सेकेन्ड र २२:०७ मा मोबाइल नम्बर ९८२४३५५९२४ बाट फोन गरेको देखी सो नम्बरको बारेमा बुझ्दा उल्लिखित मोबाइल नम्बरहरू जिल्ला सुनसरी बबिया गा.वि.स. वडा नं. ९ बस्ने जगनलाल सदाको छोरा वर्ष १८ को अर्जुन सदाले प्रयोग गर्ने गरेको बुझिएकाले निज अर्जुन सदालाई खोजतलास गरी पक्राउ गरी उक्त घटनाका बारेमा सोधपुछ गर्दा मृतक तारादेवी ऋषिदेव निज अर्जुनको छिमेकी भएको र तारादेवी ऋषिदेवसँग २०७३ को भाद्र महिनादेखि सहमतिका साथ शारीरिक यौनसम्पर्क हुँदै आएकोमा निज तारादेवीले हामीबिचको सम्बन्धको कारण गर्भवती भएको कुरा सुनाएपछि आफू अविवाहित भएको कारणले गाउँघरमा मेरो गर्भ रहेको भन्‍ने कुरा खुल्ने डर लागी मिति २०७३।८।१ गते बिहान मैले मोबाइल नम्बर ९८११०४४७३४ बाट निज तारादेवीको मोबाइल नम्बर ९८०४३६६५०२ मा फोन गरी बोलाउँदा निज सो दिन नआएपछि मैले फेरी मिति २०७३।८।१ गते राति मेरो मोबाइल ९८२४३५५९२४ बाट निज तारादेवीको मोबाइल नम्‍बर ९८०४३६६५०२ मा फोन गरी मेरो घरनजिकमा रहेको बाँसघारीनजिक बोलाई निज सो स्थानमा आएपछि पुन: सहमतिमा नै यौनसम्पर्क भइसकेपश्‍चात् निज तारादेवी भुइँमा सुतिरहेका बखत निजको जिउमा घोडा चढी एउटा हातले निज तारादेवीको मुख थुनी अर्को हातले घाँटीमा समात्दा निज हलचल गर्न छाडी मरेपछि लासलाई सोही स्थानबाट बोकी ऐ.९ स्थित शंकरपुर शाखाको नहरमा लगी सुताई टाउकोमा माटोले छोपी निजको मोबाइल नजिकै पानीमा फालिदिई घरमा गई सुतेको हुँ भनी बताएकाले निज अर्जुन सदालाई पक्राउ गरी यसै प्रतिवेदनसाथ आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्‍नेसमेत बेहोराको मिति २०७३।८।११ गतेको प्रहरी प्रतिवेदन ।

म जाहेरवाला बुबा आमासँग भिन्‍नै भई छोरा छोरी र श्रीमतीलाई घर बनाई राखी म विगत १३ महिनाअगाडि वैदेशिक रोजगारको लागि विदेश कतार गएको थिएँ । मिति २०७३।८।२ गतेका दिन बिहान अं. ६:३० बजेको समयमा मेरी श्रीमती वर्ष २५/२६ की तारादेवी ऋषिदेव घरदेखि पर रहेको शंकरपुर शाखाको नहरमा कसले मारी फालिदिएको अवस्थामा फेला परेकी छन् घरमा तुरून्त आउन भनी खबर पाउनसाथ म तत्काल छुट्टी मागी मिति २०७३।८।४ गतेका दिन घरमा आइपुगेँ, मेरी श्रीमतीलाई पोष्‍टमार्टमको लागि वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा लगी पोष्टमार्टम गरी ल्याएकाले मेरी श्रीमतीको लास देखी हेरेको हुँ । मेरी श्रीमतीलाई को, कसले मारी फालेको रहेछ भनी प्रहरीले मेरी श्रीमतीले प्रयोग गर्ने मोबाइल ९८०४३६६५०२ नम्बरको एन.सेल मोबाइल र ९८६२२७५८१५ नम्बर नमस्ते मोबाइलको कल डिटेल्स चेक जाँच गर्दा मेरी श्रीमतीलाई बिबया ९ बस्ने वर्ष १८ को अर्जुन सदाले कर्तव्य गरी मारी दिएको भन्‍ने खुल्न आएकोले निज अर्जुन सदालाई पक्राउ गरी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको दिपनारायण सदाको जाहेरी दरखास्त ।

शोभन ऋषिदेवको छोरा दिले भन्‍ने दिपनारायण सदा मेरो गाउँले दाजु नाताका हुन्, निज १ वर्षअगाडि वैदेशिक रोजगारको सिलसिलामा कतार जानुभएको थियो । निजको श्रीमती तारादेवी ऋषिदेवले छोरा छोरीहरूलाई आफ्नै घरमा पालन पोषण गर्दै आएको, निज भाउजू नाता पर्ने भएको हुँदा निजसँग बोलचाल, ठट्टा, मस्करी हुँदै आएकोमा हामी दुवै जनाबिच प्रेम सम्बन्ध हुन गयो । त्यसैक्रममा आजभन्दा तीन महिना अगाडिदेखि नै निजसँग मेरो शारीरिक सम्पर्क रहँदै आएको थियो । हामी दुवै जना बिच दिउँसो राति जुनसुकै समयमा फोनमा कुरा हुने गर्थ्यो । म ज्याला मजदुरी गर्न धरान गएको थिएँ । निजसँग फोनमा कुरा हुँदा घर आउनु एउटा कुरा छ भनी भन्दा म तिहारमा आउँछु भनी लक्ष्मीपूजाभन्दा २ दिनअगाडि नै आफ्नो घर आएको र निजसँग भेटी कुरा गर्दा मेरो महिनावारी रोकिएको भनी भन्दा मैले निजलाई केही हुँदैन भनी आश्‍वासन दिँदै आएको थिएँ । तत्पश्‍चात् पनि निजसँग कहिले घरमा त कहिले खेतको आली घटनास्थलभन्दा पूर्वतर्फको नहर डिल, खेत, आलीसमेतमा शारीरिक सम्बन्ध हुन्थ्यो । निजले अब तपाइँसँग विवाह गरी बस्छु भनी भन्दै आएकोमा मैले निजलाई बच्चा गर्भपतन गराउनु भनी भन्दा निजले नमानी मलाई विवाह गर्न दबाब दिन थालिन् । निजलाई आफ्नो पिछा कसरी छोडाउने भन्‍ने सोची निजलाई नमारी पिछा छुट्दैन, मार्नै पर्दछ भन्‍ने मनमा सोची रातको समयमा बोलाई मार्ने योजना बनाई निजलाई मिति २०७३।८।१ गते राति मैले निज तारादेवी ऋषिदेवलाई फोन गरी बोलाउँदा निज नआएकाले मैले फेरि निजलाई मिति २०७३।८।१ गते राति अं. २२:०५ बजेको समयमा शारीरिक सम्पर्क राख्‍न निजको घरछेउ बाँसघारी र शौचालय भएको स्थानमा बोलाएकोमा निज आई निजलाई फकाई निजको मोबाइल आफ्नो साथमा लिई निजको संवेदनशील अङ्गहरू चलाई भुईँमा सुताई निजको तथा आफ्नो कपडा खोली निजलाई १ पटक यौनसम्पर्क राखेको 

हो । शारीरिक सम्बन्ध भएपश्‍चात् मैले निजलाई बेफिकर भई सुती नै रहेको मौका छोपी निजको छातिमाथि चढी निजको दुवै हात आफ्नो खुट्टा तिघ्राले च्यापी आफ्नो बायाँ हातले निजको कपाल निजकै मुखमा खाँदी थुनी आफ्नो दाहिने हातले निजको घाँटी जोडले थिचेको हो । केही समयपछि निज बोल्न छट्पटाउन छाडेपछि आफ्नो हात छाडी हेर्दा निजको सास बन्द भएछ । निजको मृत्यु भइसकेको थियो, त्यसपछि मैले निजलाई उठाई आफ्नो बायाँ साइडको काँधमा बोकी उक्त स्थानदेखि पूर्व केही पर ऐ. जाल्पापुर वडा नं. ९ मा रहेको शंकरपुर नहरमा लगी फालिदिएँ । बाँच्छकी भन्‍ने लागी म नहरमा गई पुन: निजको टाउको नहरको हिलोमा गाडी टाउकोको माथि हिलो थुपारी राखिदिएँ, निजको मोबाइल त्यही नहरमा फालिदिएँ । त्यहाँबाट म आफ्नो घरतर्फ गएको हुँ । मैले उक्त वारदात घटना घटाउँदा कोही पनि थिएन कोही कसैले देखको थिएन तर पनि प्रहरीले के कसरी थाहा पाई मिति २०७३।८।११ गते मलाई पक्राउ गरी ल्याएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी अर्जुनकुमार सदाले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

Cause of death is asphyxia due to throttling भन्‍नेसमेत बेहोराको तारादेवी ऋषिदेवको शव परीक्षण प्रतिवेदन (Autopsy Report) ।

मेरो छोरा शोभन ऋषिदेव सदाको दुई भाइ छोराहरू छन् । जेठा छोरा दिले भन्‍ने दिप नारायण सदा, कान्छो छोरा परमानन्द सदा हुन् । जेठा छोरा आफ्नो आमा बुबा, भाइसमेतसँग अलग भई भिन्दै बसेका 

छन् । निज नाति दिले भन्‍ने दिपनारायण सदा रोजगारको सिलसिलामा आजभन्दा करिब १३ महिनाअगाडि नै विदेश कतार गएका थिए । निजको श्रीमती तारादेवी ऋषिदेव, छोरा र छोरी मसमेत सँगै एउटै घरमा बस्दै आएका थियौं । मिति २०७३।८।१ गते बेलुका हामी सबैले खाना खाई निज तारादेवी सुत्‍ने घरमा तल भुइँमा ओछ्यान लगाई सुतेकी, तारादेवीसमेत सोही घरमा रहेको खाटमा सुतेकी थिइन् । रातको समयमा के, कति, को, को थिए मलाई थाहा थिएन, बुहारी तारादेवीले आफ्नो बच्चा मलाई दिई बाहिर जान्छु भनी गएकी र मैले आफ्नो साथमा बच्चालाई राखी सुतेकोमा बुहारी फर्की नआएकोले मैले केही थाहा पाइनँ । भोलिपल्ट नातिनी बुहारीलाई मारी नहरमा फालेको थाहा पाएँ । निज तारादेवी ऋषिदेवलाई अर्जुन सदाले करणी गरी घाँटी थिची कर्तव्य गरी मारी उक्त नहरमा फालेको खुल्न आएको छ निज अर्जुन सदालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको झुली ऋषिदेवले गरिदिएको घटना विवरण कागज ।

अर्जुनकुमार ऋषिदेव मेरो मिल्ने साथी 

थियो । तारादेवी ऋषिदेवलाई करणी गरी कर्तव्य गरी मारी नहरमा लगी फालेको भनी निजलाई प्रहरीले पक्राउ गरी लगेको हो । अर्जुनकुमार ऋषिदेवको मोबाइल नं.९८२४३५५९२४ र ९८११०४४७३४ हो । अरूको घटनामा संलग्नता छ छैन अर्जुनलाई नै थाहा हुनुपर्छ । निजले तारादेवीलाई कर्तव्य गरी मारेकोमा मलाई पूर्ण विश्‍वास लाग्छ भन्‍नेसमेत बेहोराको सुजित ऋषिदेव सदाले गरिदिएको घटना विवरण कागज ।

घटनास्थल र तारादेवीको लास भेट्टिएको नहरसमेतको दृश्य देखिने गरी तयार पारिएको नक्सा स्केच तथा मिति २०७३।८।२१ मा गरिएको झार माडिएको जस्तो देखिएको भन्‍नेसमेत बेहोरा उल्लेख भएको घटनास्थल मुचुल्का मिसिल संलग्न रहेको ।

प्रतिवादीले प्रयोग गरेको ९८२५३०८८८५ सिमसहितको कालो रङ्गको स्यामसुङ मोबाइल प्रतिवादीको घरको कोठाबाट बरामद भएको र उक्त नयाँ नम्बर तारादेवीलाई कर्तव्य गरी मारेपछि प्रयोग गरेको भनी प्रतिवादीले बेहोरासमेत खुलाएको मिति २०७३।८।२१ को बरामदी मुचुल्का ।

म कक्षा ७ मा श्री सरस्वती माध्यमिक विद्यालय बविया १ सुनसरीमा अध्यनरत छु, म सधैँ आफ्नै गाउँघरमा बस्छु मिति २०७३।८।२ गते बिहान अं. ७:०० बजेको समयमा ऐ. स्थित शंकरपुर नहरमा एकजना महिलाको लास नहरमा छ भन्‍ने कुरा सुनी मसमेत अन्य मानिसहरू उक्त स्थानमा गई हेर्दा निज मृतक तारादेवी ऋषिदेव रहिछिन् भन्‍ने बुझिएको हुँ । ऐ.बविया ९ बस्ने अर्जुनकुमार सदाले कर्तव्य गरी मारेको हो । निजलाई प्रहरीले पक्राउ गरी लगको 

हो । निजको मोबाइल सम्पर्क नम्बर ९८२४३५५९२४ र ९८११०४४७३४ हो । निजले कहिलेकाहीँ उक्त नम्बरहरूबाट मेरो ९८०५३१८६१५ मा फोन गरी सम्पर्क गर्ने गरेको थियो । निज मेरो मिल्ने साथी नै हो, निज अर्जुन सदालाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरी हुनुपर्छ भन्‍नेसमेत बेहोराको नरेशकुमार खत्वेको घटना विवरण कागज ।

मैले जिल्ला सुनसरी, इनरूवा नगरपालिका, वडा नं. ७ स्थित रामधन मेहताको तल्लो तलाको एउटा कोठा भाडामा लिई श्याम सिता मोबाइल पसल सञ्चालन गर्दै आएको छु । मिति २०७३।८।२ गते बिहान ०६:३० बजेको समयमा जिल्ला सुनसरी, जाल्पापुर गा.वि.स., वडा नं. ९ स्थित नहरमा जाहेरवालाको श्रीमती तारादेवी ऋषिदेवको लास रहेको कुरा सुनी थाहा पाएको र त्यसको केही दिनपछि निजलाई कर्तव्य गरी मार्ने बविया गा.वि.स. वडा नं. ९ बस्ने अर्जुनकुमार ऋषिदेवलाई प्रहरीले पक्राउ गरी लगेको भन्‍ने कुरा सुनी थाहा पाएको हुँ । निज प्रतिवादीलाई मैले ९८२४३५५९२४ नं. को सिम दिएको हुँ । उक्त सिम लिन आएका बेलामा निजले कुनै कागजातहरू बोकी ल्याएका थिएनन् । उक्त सिम जिल्ला भोजपुर, तिवारी भन्ज्याङ गा.वि.स., वडा नं. २ बस्ने दुर्गादेवी कार्कीको नाममा दर्ता रहेको छ भन्‍नेसमेत बेहोराको श्यामदेव यादवले गरेको घटना विवरण कागज । 

मिति २०७३।।८।२ गते बिहान ०६:३० बजेको समयमा मेरो घरदेखि पूर्वमा रहेको शंकरपुर शाखाको नहरमा जाहेरवालाको श्रीमती तारादेवी ऋषिदेवको मृत लास रहेको भन्‍ने कुरा मसमेतका मानिसहरू उक्त स्थानमा गई हेर्दा निजलाई को कसले कर्तव्य गरी मारेको भन्‍ने कुरा खुल्न आएको 

थिएन । केही दिनपछि निजलाई मेरै ठुलो बुबाको छोरा अर्जुनकुमार सदाले कर्तव्य गरी मारी नहरमा फालेको कुरा प्रहरीले पत्ता लगाएपछि निजलाई पक्राउ गरी लगेको हो । निजलाई कहाँ कसरी मारेको हो मलाई थाहा भएन । हाल बुझेअनुसार मेरो घरको दक्षिणपट्टि निजले आफ्नै शौचालयको पछाडि पूर्वपट्टि तारादेवीलाई करणी गरी घाँटी थिची सोही ठाउँमा मारी सोही राति नै नहरमा फालेको कुरा सुन्‍नमा आएको छ । निज अर्जुनकुमार सदाले मोबाइल नं. ९८२४३५५९२४ र ९८११०४४७३४ बोक्ने गरेको थियो, निजलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्‍नेसमेत बेहोराको प्रेम ऋषिदेवले गरेको घटना विवरण कागज । 

मिति २०७३।८।२ गते बिहान करिब ०६:३० बजेको समयमा गाउँदेखि पूर्वमा रहेको शंकरपुर शाखा नहरमा जाहेरवालाको बुहारी तारादेवी ऋषिदेवको लास छ भन्‍ने सुनी मसमेतका स्थानीय मानिसहरू उक्त स्थानमा गई हेर्दा मृत लास देखेको हो । प्रहरीको टोली आई मुचुल्का गरी लास लगेको हो । निजलाई को को भई के कसरी मारेको हो भन्‍ने कुरा खुलेको थिएन । त्यसको केही दिनपछि जाहेरवाला दिले भन्‍ने दिपनारायण सदाको श्रीमती तारादेवी ऋषिदेवलाई ऐ. बविया गा.वि.स वडा नं. ९ बस्ने अर्जुनकुमार ऋषिदेवले कर्तव्य गरी मारी उक्त लास नहरमा फालेको भन्‍ने कुरा खुल्न आएकोले निजलाई प्रहरीले पक्राउ गरी लगेको हो । निज प्रतिवादी मृतकको घर एकै ठाउँमा नै छ । निजहरू देवर भाउजू नाता पर्ने भएकाले कहिलेकाहीँ जिस्किने गरेका थिए । निज तारादेवी ऋषिदेवलाई प्रतिवादी अर्जुनकुमार सदाले करणी गरी घाँटी थिची मारी नहरमा फालेकोमा मलाई विश्‍वास लाग्छ भन्‍नेसमेत बेहोराको पार्वती ऋषिदेवसमेतले एकै मिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी अर्जुनकुमार ऋषिदेवले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. अन्तर्गतको कसुर गरेको हुँदा निज प्रतिवादीलाई सोही महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।

जाहेरी दरखास्त सम्बन्धमा मलाई केही थाहा छैन । मृतक तारादेवी ऋषिदेवलाई मैले मारेको होइन । के कसले मारे सो मलाई सोसमेत थाहा 

छैन । मोबाइलहरूमध्ये ९८०४३६६५०२ को मोबाइल तारादेवी ऋषिदेवको हो । ९८६२२७५८१५ नं. को मोबाइल कसको हो मलाई थाहा छैन । निज मृतकसँग मेरो कहिल्यै पनि फोन सम्पर्क भएको 

थिएन । वस्तुस्थिति मुचुल्का तथा घटना विवरण कागज गर्ने व्यक्तिहरूले मउपर किन यस्तो बेहोरा लेखाए मलाई केही थाहा छैन । बरामद भई अभियोगपत्रसाथ दसीको रूपमा रहेको मोबाइलमा एउटा तारादेवी ऋषिदेवको तथा एउटा मेरो काकाको छोरा प्रेम ऋषिदेवले विदेशबाट पठाई दिएका हुँदा मैले चलाउने गरेको मोबाइल हो । अभियोग दाबीअनुसार मैले कुनै कसुर अपराध गरेको छैन । म निर्दोष छु । अभियोग दाबीबमोजिम मलाई सजाय हुने होइन । अभियोग दाबीबाट फुर्सद दिलाइपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी अर्जुन ऋषिदेवले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी अर्जुनकुमार ऋषिदेवलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ को देहाय २ नं.बमोजिम मुद्दा पुर्पक्षको निमित्त थुनामा राख्‍न कारागार कार्यालय, झुम्का सुनसरीमा पठाइदिनु भनी भएको सुनसरी जिल्ला अदालतको आदेशानुसार सोही मितिमा निज प्रतिवादीलाई थुनामा राख्‍न पठाइएको ।

प्रतिवादी अर्जुनकुमार ऋषिदेवसँग गाउँघरमा नै भेट भएको हो । घटना घटेको भनेको मिति र समयमा अर्जुन ऋषिदेव र म सँगै छौँ । तारादेवी र अर्जुनबिच अवैध सम्बन्ध केही थिएन, निजले तारादेवीलाई कर्तव्य गरी मारेको मलाई विश्‍वास लाग्दैन । अभियोग दाबी झुट्टो हो, भन्‍नेसमेत बेहोराको प्रतिवादी अर्जुनकुमार ऋषिदेवका साक्षी करण ऋषिदेवले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।

अर्जुनकुमारले तारादेवीलाई कर्तव्य गरी मार्नुपर्ने कुनै कारण देखिँदैन । निजले मारेको होइन । को कसले के गरी मारे मलाई थाहा छैन । सर्जमिन गर्दा मान्छे नपुगेकोले मलाई सहीछाप गराएको हो । मृतक र प्रतिवादीबिचको शारीरिक सम्‍बन्ध रहेको थाहा पाइएन, भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा रहेकी सतियादेवी खत्वेले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।

प्रतिवादी अर्जुनले तारादेवीलाई मारेकोमा विश्‍वास लाग्दैन । को कसले कसरी मारे मलाई त्यो मलाई थाहा भएन । निज त्यस्तो मार्ने मान्छे होइन । वस्तुस्थिति मुचुल्कामा मलाई नसोधी लेखी सहीछाप गराएको हो । प्रतिवादी निर्दोष छन् भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका रामप्रसाद खत्वेले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।

तारादेवीलाई को कसले मारे मलाई थाहा 

छैन । मैले देखिनँ । घटना विवरण कागजमा भएको बेहोरा मेरो होइन । सो बेहोरा झुट्टा हो । सँगै सुत्‍ने साथीलाई थाहा हुनुपर्ने थियो भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने प्रेम ऋषिदेवले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।

तारादेवी ऋषिदेवलाई के कसले, के कुन रीतले मारी फाले मलाई थाहा छैन । प्रहरीमा भएको कागज बेहोरा मलाई भनेर लेखेको होइन । अर्जुन र म मिल्ने साथी हौँ । निजहरूको मोबाइल नं. मलाई थाहा छैन । मृतक र अर्जुनबिच केही सम्बन्ध थिएन भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सुजित ऋषिदेवले अदालतमा उपस्थिति भई गरिदिएको बकपत्र ।

बुहारी तारादेवी ऋषिदेवको मृत्यु के कसरी भयो थाहा भएन । निज नहरको डिलमा मरेको अवस्थामा देखेको हुँ । बुहारी तारा ऋषिदेवलाई कसले कसरी मार्‍यो त्यो थाहा भएन । जाहेरी दरखास्तमा भएको ल्याप्चे सहीछाप मेरो हो । बुहारीको प्रेम सम्बन्ध, शारीरिक सम्बन्ध र फोन आउ जाउ भएको भन्‍ने मलाई केही थाहा थिएन । प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारण म देख्दिन भन्‍नेसमेत बेहोराको जाहेरवाला सोमन ऋषिदेवले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।

Human semen was detected on exhibit nos.1, 3 and 7 तथा blood group of exhibit no.6 could not be detected due to decomposition भन्‍नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको ।

सुरू अदालतबाट प्रतिवादी अर्जुनकुमार ऋषिदेवको भागको अंश रोक्‍का गर्नु भन्‍ने आदेशअनुरूप अंश रोक्‍का मुचुल्का गर्दा निज प्रतिवादीको भाग लाग्ने सम्पत्ति नरहेको भनी भई आएको मुचुल्का मिसिल संलग्न रहेको । 

प्रतिवादी अर्जुनकुमार ऋषिदेवले तारादेवी ऋषिदेवलाई घाँटी थिची कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादी अर्जुनकुमार ऋषिदेवलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा ऐ.१३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्‍ने सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला ।

मृतक र आफूबिच अवैध यौन सम्बन्ध हुँदै आई गर्भसमेत रहेकोले लोक लज्जाबाट बच्न कर्तव्य गरी मारी लास फालेकोले कारबाही गरिपाउँ भनी जाहेरी प्रतिवेदन परे पनि निज मृतक र आफूबिच अवैध यौनसम्बन्ध भएको देख्‍ने सुन्‍ने मानिस रहेको देखिँदैन । गर्भसमेत रहेको भन्‍ने कुनै मेडिकल जाँच वा रिपोर्टबाट नदेखिएको, केबल अनुमानसम्म गरिएकोमा त्यो अनुमान कहीँकतैबाट पुष्टि भएको छैन । मृतकले प्रयोग गर्ने गरेको ९८०४३६६५०२ र ९८६२२७५८१५ मा मिति २०७३।८।१ गते राति ०:१५ बजे ९८११०४४७३४ र सोही मितिको २२:०१ र २२:०७ मा ९८२४३५५९२४ बाट फोन सम्पर्क गरेको छ तर उक्त कुनै फोन नम्बरहरू आफ्नो हो भन्‍ने कहीँकतैबाट पुष्टि भएको छैन । आफ्नो नाममा दर्तासमेत रहेको अवस्था नदेखिएको नभए नगरेको कुरालाई मनगढन्ते आधार मानी आफ्नो उक्त घटना वा वारदातमा कुनै संलग्नता नभई निर्दोष रहेको अवस्थामा सुनसरी जिल्ला अदालतले अभियोग दाबीबमोजिमको कसुर ठहर गरेको मिति २०७४।९।११ गतेको फैसला दोषपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी अर्जुनकुमार ऋषिदेवको उच्च अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।

मृतक र प्रतिवादीबिच शारीरिक सम्बन्ध रही मृतकको पेटमा गर्भ रहन गएपछि मृतकले प्रतिवादीलाई विवाह गर्न दबाब दिएको कारण मृतकलाई मारिएको भन्‍ने अभियोग दाबी रहेकोमा मृतकको पेटमा गर्भ रहेको मिसिल संलग्न प्रमाण कागजातबाट नदेखिएको, ९८२४३५५९२४ नं. को मोबाइल नं.प्रतिवादीको नाममा नरहेको, प्रतिवादीले अदालतसमक्ष इन्कारी बयान गरेकोसमेतका कागज प्रमाणको मूल्याङ्कनको रोहमा सुरूको फैसला विचारणीय हुँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ छलफलको लागि उच्च सरकारी वकिल कार्यालय, विराटनगरलाई जानकारी दिनु भन्‍नेसमेत बेहोराको उच्च अदालत विराटनगरको मिति २०७५।४।१६ गतेको आदेश ।

प्रतिवादी अर्जनकुमार ऋषिदेवले अनुसन्धानको क्रममा साबिती बयान गरेको र सो बयान Call detail, घटनास्थल मुचुल्का, शव परीक्षण प्रतिवेदन, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन र मिसिलबाट घटनामा यी प्रतिवादी अर्जुनकुमार ऋषिदेवबाहेक अन्य व्यक्ति संलग्न रहेको नदेखिएकोसमेतका मिसिल संलग्न स्वतन्त्र प्रमाण र आधारहरूबाट यी प्रतिवादीले नै तारादेवी ऋषिदेवलाई कर्तव्य गरी मारेको पुष्टि भएको देखिँदा सुरू सुनसरी जिल्ला अदालतबाट प्रतिवादी अर्जुनकुमार ऋषिदेवलाई मुलकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहर गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मुलुकी अपराध संहिताको दफा ४०(२) बमोजिम सर्वस्वतर्फ सजाय नहुने हुँदा सर्वस्वको सजाय कार्यान्वयन नगर्नु भन्‍नेसमेत बेहोराको मिति २०७५।८।२ को उच्च अदालत विराटनगरको फैसला । 

साबिती बयान आफैँमा अकाट्य प्रमाण 

होइन । साबिती घटनाको श्रृङ्खलाले समर्थित र पुष्टि हुनुपर्दछ । अनुसन्धानको क्रममा सङ्कलित प्रमाणहरूले प्रतिवादीको साबितीलाई पुष्टि गर्न सकेको छैन । स्वतन्त्र प्रमाणबाट वारदातमा प्रतिवादीको संलग्नता पुष्टि हुन नसकेको अवस्थामा प्रहरीको साबिती भएको भन्‍ने आधारमा मात्रै दोषी करार गर्न मिल्दैन । साथै स्वतन्त्र प्रमाणले पुष्टि नभएसम्म अदालतले त्यस्तो साबिती बयान मात्रलाई आधार मानेर कसुर कायम गर्नु न्यायसङ्गत र विवेकपूर्ण मान्‍न मिल्दैन । बरामद भएको मोबाइलमा रहेको सिमकार्ड प्रतिवादीको नाममा रहेको छैन । शव परीक्षण प्रतिवेदन पनि अपूर्ण छ । मृतक तारादेवीको गर्भ रहेकोसमेत देखिएको छैन । मृतकको योनिमा रहेको वीर्य र प्रतिवादीको वीर्य भिडेको परीक्षण प्रतिवेदनबाट 

देखिँदैन । वीर्य नभिडेको अवस्थामा शंका र अन्दाजको भरमा कसुरमा प्रतिवादीको संलग्नता मान्‍न मिल्ने देखिँदैन । जाहेरवालालगायत अदालतमा उपस्थित भई बकपत्र गर्ने व्यक्तिहरूले प्रतिवादीउपर किटान गर्न नसकी पूर्ण सफाइ दिई बकपत्र गरेको अवस्था छ । प्रतिवादीका साक्षीले इन्कारी बयानलाई पुष्टि गरिदिएको अवस्था पाइन्छ । प्रतिवादी र मृतकबिच अवैध सम्बन्ध रहेको देख्‍ने, सुन्‍ने र थाहा पाउने कोही देखिँदैन । फौजदारी अभियोग प्रमाणित हुनका लागि सो कार्य गर्ने मनसाय तयारी तथा परिणाम स्वरूप क्रिया भएको हुनुपर्छ । अस्पष्ट र विरोधाभाषपूर्ण प्रमाणको आधारमा कसैलाई दोषी सिद्ध गर्न मिल्दैन । तसर्थ, फौजदारी न्यायको सिद्धान्त र सर्वोच्च अदालतबाट ने.का.प.०५७, अङ्क ४, नि.नं.६८८३, पृष्ठ २६८ मा प्रतिपादित सिद्धान्तसमेतलाई दृष्टिगत गरी सुनसरी जिल्ला अदालतले कसुर ठहर गरेको फैसला सदर गरेको उच्च अदालत विराटनगरको मिति २०७५।८।२ को फैसला बदर गरी सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णायार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरियो । प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवालले जाहेरी शंकाको भरमा परेको छ, घटना घटेको देख्‍ने प्रत्यक्षदर्शीको कोही छैन । अन्य स्वतन्त्र प्रमाणहरूले समर्थित नभएसम्म प्रतिवादीको साबिती बयानलाई अकाट्य प्रमाण मानी प्रतिवादीलाई दोषी करार गर्नु न्यायोचित हुँदैन । बरामद भएको मोबाइलहरूको सिम प्रतिवादी अर्जुनकुमार ऋषिदेवको नाममा छैन । जाहेरवालालगायत मौकामा कागज गर्ने व्यक्तिहरूले मेरा पक्षलाई सफाइ हुने गरी बकपत्र गरिदिएको अवस्था छ । मृतकको योनिमा भएको वीर्य प्रतिवादीको हो भनी प्रमाणित भएको छैन साथै रक्त समूहहरू परीक्षण भई भिडेको अवस्था 

देखिँदैन । मृतक गर्भवती रहेको शव परीक्षण प्रतिवेदनबाट पुष्टि भएको छैन । उल्लिखित तथ्यहरूतर्फ विचार नगरी भएको फैसला कानून, फौजदारी न्यायको सिद्धान्त तथा प्रतिपादित सिद्धान्त प्रतिकूल रही इन्साफको रोहमा फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाउने आदेश गरिपाउँ भनी बहस गर्नुभयो ।

यसमा प्रतिवादी अर्जुनकुमार ऋषिदेवले तारादेवी ऋषिदेवलाई कर्तव्य गरी मारेकाले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. अन्तर्गतको कसुरमा सोही महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुनसरी जिल्ला अदालतबाट निज प्रतिवादी अर्जुनकुमार ऋषिदेवलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भएकोमा उच्च अदालत विराटनगरबाट सुरू फैसला सदर गरी मुलुकी अपराध संहिताको दफा ४०(२) बमोजिम सर्वस्वतर्फ सजाय कार्यान्वयन नहुने र जन्मकैदसम्म हुने गरी फैसला भएकोमा उक्त फैसलामा प्रतिवादी अर्जुनकुमार ऋषिदेवले चित्त नबुझाई यस अदालतमा पुनरावेदन परेको देखियो ।

प्रतिवादीले आफ्नो पुनरावेदनमा अदालतले स्वतन्त्र प्रमाणले पुष्टि नभएको साबिती बयानलाई मात्र आधार मानेर कसुर कायम गर्न मिल्दैन । मृतकको योनिमा भेटिएको वीर्य र आफ्नो वीर्य भिडेको भन्‍ने परीक्षण प्रतिवेदनबाट देखिँदैन । बरामद भएको मोबाइलमा भएको सिम मेरो नाममा छैन । जाहेरवालालगायत अदालतमा उपस्थित भई बकपत्र गर्ने व्यक्तिहरूले आफूउपर किटान गर्न नसकी पूर्ण सफाइ दिई बकपत्र गरेको र आफ्नो मृतकसँग अवैध सम्बन्ध रहेको देख्‍ने, सुन्‍ने र थाहा पाउने कोही नभएको अवस्थामा सुनसरी जिल्ला अदालतले मलाई कसुरदार ठहर गरेको फैसला सदर गरेको उच्च अदालत विराटनगरको मिति २०७५।८।२ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ दिलाई पाउँ भन्‍ने मुख्य जिकिर लिएको देखियो ।

उल्लिखित तथ्य तथा पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताको तर्कपूर्ण बहससमेत सुनी उच्च अदालत विराटनगरबाट भएको फैसला मिलेको छ वा छैन? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. अब निर्णयतर्फ विचार गर्दा मिति २०७३।८।२ मा बुहारी तारादेवी ऋषिदेव मृत अवस्थामा फेला परेको भन्‍ने शोभन ऋषिदेवको प्रारम्भिक जाहेरी भएकोमा घटनास्थलबाट बरामद भएको तारादेवी ऋषिदेवको मोबाइलको call detail चेकजाँच गर्दा यी प्रतिवादी अर्जुनकुमार ऋषिदेवले प्रयोग गर्ने गरेको मोबाइल नम्बरबाट पटकपटक तारादेवीको मोबाइलमा सम्पर्क गरेको देखिएको र निजले निज तारादेवीसँगको आफ्नो अवैध सम्बन्ध रहेको र मृतकले गर्भवती छु भनी बताएकाले निजलाई कर्तव्य गरी मारेको हुँ भनी बताएकाले प्रतिवादी अर्जुनकुमार ऋषिदेवउपर कारबाही गरिपाउँ भन्‍ने प्रहरी प्रतिवेदन तथा तारादेवीका पति दिपनारायण सदाको जाहेरी दरखास्तसमेतबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।

३. मृतकको दायाँ हात अर्धखुम्चेको, अनुहार र टाउकोमाथि हिलो राखिएको तथा दाँत दबेको भन्‍नेसमेत बेहोराको लास प्रकृति मुचुल्का तथा घाँटी थिचेर निस्सासिएका कारण मृत्यु भएको (Cause of death is asphyxia due to throttling) भन्‍ने शव परीक्षण प्रतिवेदनसमेतका मिसिल प्रमाणबाट मृतक तारादेवी ऋषिदेवको मृत्यु स्वाभाविक रूपमा भएको नभई कर्तव्यबाट भएको तथ्य स्थापित हुन आउँछ ।

४. अब को कसको के कस्तो कर्तव्यबाट मृतक तारादेवीको मृत्यु भएको रहेछ भन्‍नेतर्फ हेर्दा प्रतिवादी अर्जुनकुमार ऋषिदेवले सुरू अदालतमा बयान गर्दा आफ्नो तारादेवी ऋषिदेवसँग अवैध सम्बन्ध रहेको र निजलाई कर्तव्य गरी मारेको कसुरमा इन्कार रहेको देखिए तापनि मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा “गाउँले दाजु नाताका मृतकका श्रीमान्‌ दिले भन्‍ने दिपनारायण सदा वैदेशिक रोजगारको सिलसिलामा १ वर्ष अगाडि कतार गएका, भाउजू नाताकी मृतकसँग बोलचाल ठट्टा मस्करी हुँदै आएकोमा प्रेम सम्बन्ध हुन गई करिब ३ महिना अगाडिदेखि शारीरिक सम्बन्ध रहेको, लक्ष्मीपूजाभन्दा २ दिनअघि निजसँग मेरो कुरा गर्दा मृतकले मेरो महिनावारी रोकिएको छ भन्दा केही हुँदैन भनी आश्‍वसन दिई तत्‍पश्‍चात् पनि निजसँग शारीरिक सम्बन्ध राख्दै आएको, मृतकले अब तपाइँसँग विवाह गरी बस्छु भन्दा मृतकलाई गर्भपतन गराउन भनेको, निजले सो कुरा नमानी विवाह गर्न दबाब दिन थालेकी, निजलाई नमारी आफ्नो पिछा छुट्दैन भन्‍ने मनमा सोची रातको समयमा बोलाई मार्ने योजना बनाई मिति २०७३।८।१ गते बिहान फोन गरी बोलाउँदा नआएपछि पुन: सोही दिन राति २२:०५ बजे फोन गरी बाँसघारीमा बोलाई १ पटक यौन सम्पर्क राखेपछि निज बेफिकर भई सुतिरहेको मौका छोपी निजको छातीमाथि चढी निजको दुवै हात आफ्नो खुट्टा तिघ्राले च्यापी बायाँ हातले निजको कपाल निजकै मुखमा खाँदी थुनी दाहिने हातले निजको घाँटी थिची निज बोल्न छटपटाउन छाडेपछि निजलाई उठाई काँधमा बोकी जल्पापुर वडा नं. ९ स्थित शंकरपुर नहरमा लगी फाली बाँच्ने हो कि भन्‍ने लागि निजको टाउको हिलोमा गाडी निजको मोबाइल त्यहीँ फाली घरतर्फ गएको हुँ" भनी घटनाको सिलसिलेवार विवरण उल्लेख गरी आरोपित कसुरमा साबित रही बयान गरेको 

देखियो । उक्त बयानमा प्रतिवादीले वारदातका दिन आफ्नो ९८२४३५५९२४ नम्बरको मोबाइलबाट मृतक तारादेवीको ९८०४३६६५०२ नम्बरको मोबाइलमा फोन गरी मृतकलाई बोलाएको भनी आफ्नो र मृतकको फोन नम्बरसमेत उल्लेख गरेको देखिन्छ । 

५. प्रतिवादीले अदालतमा गरेको बयान हेर्दा आरोपित कसुरमा इन्कार रहे तापनि वारदातका दिन मिति २०७४।८।१ गते राति १० बजे फोन सम्पर्क भएको मोबाइल नम्बरमध्ये ९८२४३५५९२४ को नम्बरको मोबाइल आफ्नो र ९८०४३६६५०२ नम्बरको मोबाइल तारादेवी ऋषिदेवको हो भनी आफ्नो र मृतक तारादेवीको मोबाइल नम्बरसमेत सनाखत गरिदिएको देखिन आउँछ । मिसिल संलग्न जिल्ला प्रहरी कार्यालयमार्फत प्राप्त Call detail हेर्दा प्रतिवादीको प्रयोगमा रहेको ९८२४३५५९२४ नम्बरको मोबाइल र मृतक तारादेवीको प्रयोगमा रहेको ९८०४३६६५०२ नम्बरको मोबाइलबिच वारदात मिति र समयलगायत विभिन्‍न समयमा पटकपटक सम्पर्क भएको देखिएबाट आफ्नो तारादेवी ऋषिदेवसँग कहिल्यै फोन सम्पर्क भएको छैन, वारदात मिति र समयमा फोन गरी बोलाएको होइन भनी प्रतिवादीले सुरू अदालतमा गरेको बयान खण्डित भएको देखियो ।

६. अब मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट प्रतिवादी अर्जुनकुमार ऋषिदेवले मौकामा गरेको साबिती बयान वा अदालतको इन्कारी बयान के कुन समर्थित हुन्छ भन्‍नेतर्फ हेर्दा प्रतिवादीले मौकाको साबिती बयानमा मार्नुअघि निजसँग यौन सम्पर्क राखेको, तत्पश्‍चात् तारादेवी बेफिकर (निष्फिक्री) सुतिरहेको अवस्थामा दुवै घुँडाले हात टेकी बायाँ हातले कपाल मुखमा हाली दिई दायाँ हातले घाँटी थिची चल्न छटपटाउन छाडेपछि बोकेर नहरमा लगी हिलोमा मुख गाडी दिई टाउकोमा हिलो हाली छोडी हिँडेको हुँ भनी उल्लेख गरेको देखिएकोमा मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको दाँतले कपाल टोकेको, मुख हिलोमा गाडिएको र टाउकोमा हिलो माटो राखिदिएको भन्‍ने देखिन आउँदा प्रतिवादीले प्रस्तुत गरेको वारदातको विवरण घटनास्थल/लास जाँच मुचुल्काबाट समर्थित हुन आउँछ । यसै गरी तारादेवी ऋषिदेवको भेजिनल स्वावमा मानव वीर्य (Human semen) पाइएको भन्‍ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट निजले मार्नुअघि मृतकसँग यौन सम्बन्ध राखेको भनी बयानमा उल्लिखित बेहोरा समर्थित हुन आएको देखियो । साथै मृतकको घाँटी थिची हत्या गरेको भन्‍ने प्रतिवादीको कथन तारादेवीको शव परीक्षण प्रतिवेदनमा उल्लिखित “Cause of death is asphyxia due to throttling” अर्थात् घाँटी थिचिएको कारण निस्सासिएर मृत्यु भएको भन्‍ने मृत्युको कारणका सम्बन्धमा चिकित्सकले व्यक्त गरेको रायबाट समर्थित देखिन आयो । 

७. यसबाहेक प्रतिवादीले मौकाको बयानमा तारादेवीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र निजसँग पटकपटक फोन सम्पर्क हुने गरेकोसमेत बताएकोमा उक्त तथ्य मिसिल संलग्न Call detail बाट पुष्टि हुन आउँछ । यसबाट प्रतिवादीले सुरू अदालतमा बयान गर्दा मृतकसँग कहिल्यै फोन सम्पर्क नभएको गाउँकी भाउजू नाताकी व्यक्ति हुन् भनी व्यक्त गरेको कथन पुष्टि हुन सक्दैन । अदालतको बयानमा प्रतिवादीले तारादेवीले प्रयोग गरेको नम्बर ९८०४३६६५०२ हो भनी खुलाइदिएबाट पनि कहिल्यै फोन नगरेको व्यक्ति भए निजको नम्बर खुलाउन सक्ने अवस्था नरहने भएकाले समेत प्रतिवादीको कथन विश्‍वसनीय देखिन आएन ।

८. जहाँसम्म मृतकलाई फोन गरेको भनेको मोबाइल नम्बर आफ्नो नाममा नभएको, मृतक गर्भवती भएको भन्‍ने मिसिल प्रमाणबाट पुष्टि नभएको, मृतकको योनिमा भएको वीर्य प्रतिवादीको हो भनी जाँचबाट पुष्टि नभएको र मौकामा कागज गर्ने व्यक्तिहरूले प्रतिवादी निर्दोष रहेको भनी गरेको बकपत्रबाट साबिती बयान खण्डित भएको भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर छ सो सम्बन्धमा हेर्दा प्रतिवादीको सुरू अदालतको बयानबाट ९८२४३५५९२४ नम्बरको सिम दुर्गादेवी कार्कीको नाममा रहेको र दुर्गादेवी कार्कीले फर्मसमेत भरी नलगेको सो सिम प्रतिवादीले श्याम सीता मोबाइल सेन्टरबाट रू.१५०।– मा खरिद गरिलिएको भन्‍ने देखिन आउँछ । मौकामा जाहेरवाला प्रेम ऋषिदेवलगायतको व्यक्तिले सो नम्बर यिनै प्रतिवादीको हो भनी खुलाइदिएको अवस्था छ । मिति २०७३।८।२१ मा प्रतिवादीको घरबाट कालो रङ्गको सामसुङ मोबाइल बरामद भएको र उक्त मोबाइलमा ९८२५३०८८८५ नम्बरको सिम प्रयोग भएको देखिएकोमा सो सम्बन्धमा प्रतिवादीले बरामदी मुचुल्काको रोहबरमा बसी मैले ९८२४३५५९२४ को सिम प्रयोग गर्ने गर्थें, तारादेवी ऋषिदेवलाई मारिसकेको ५।६ दिनपछि मैले उक्त सिम भाँची फाली दिई नष्ट गरिदिएको हो र हाल मोबाइलमा रहेको ९८२५३०८८८५ नं. को सिम प्रयोग गरिरहेको भनी नयाँ नम्बरको सिमकार्ड प्रयोग गर्नु पर्नाको कारण उल्लेख गरेको पाइन्छ । प्रतिवादीले बरामदी मुचुल्काको उक्त बेहोराप्रति कुनै प्रश्‍न उठाएको नदेखिँदा Call detail मा उल्लेख भएको मोबाइल नम्बर आफ्नो नभएको भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर मिसिलबाट समर्थित हुन आएन । 

९. मृतक गर्भवती भए वा नभएको तथ्य प्रस्तुत मुद्दामा ठहर गर्नुपर्ने प्रश्‍नसँग सम्बद्ध कुरा देखिन आउँदैन । अदालतले इन्साफ गर्दा ठहर गर्नुपर्ने कुरा र त्योसँग सम्बद्ध कुराको प्रमाण बुझ्ने हो । प्रस्तुत मुद्दामा मृतक गर्भवती थिइन् वा थिइनन् भन्‍ने प्रश्‍न न त ठहर गर्नुपर्ने प्रश्‍न हो न सोसँग सम्बद्ध कुरा । उक्त तथ्य प्रतिवादी आफैँले मौकाको बयानमा मृतक तारादेवीले आफू गर्भवती भएको भनी विवाह गर्न दबाब दिएको भनी उल्लेख गरेको देखिन्छ । उक्त तथ्य चिकित्सकीय जाँचबाट स्थापित तथ्य नभई प्रतिवादी आफैँले व्यक्त कथन भएकोमा मृतकको शव परीक्षण प्रतिवेदनबाट उक्त तथ्य स्थापित नहुँदैमा सो तथ्य प्रतिवादीको निर्दोषिताको प्रमाण हुन सक्दैन ।

१०. मृतकको योनिमा भेटिएको वीर्य प्रतिवादीसँग भिडाएको नदेखिने भन्‍ने जिकिरका सम्बन्धमा विचार गर्दा मिति २०७४।२।२८ को केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन हेर्दा रगत र वीर्यको नमुना कुहिएको (decomposition) कारण परीक्षण हुन नसकेको उल्लेख छ । प्रस्तुत मुद्दाको वारदात परिदृश्य (Crime scene) मा न त वादी पक्षले वारदातमा यी प्रतिवादीभन्दा अन्य व्यक्तिहरूको उपस्थितिलाई देखाएको छ न त प्रतिवादीले नै अन्य कोही कसैलाई पोल गरेको देखिन्छ । प्रतिवादीले मौकामा गरेको बयान लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन र Call detail समेतका प्रमाणबाट समर्थित भएको स्थितिमा प्रतिवादीले मृतकलाई मार्नुपूर्व निजसँग यौन सम्पर्क गरेको भनी गरेको बयान Vaginal swab मा भेटिएको मानव वीर्यबाट पुष्टि हुन आउँछ । वारदातमा प्रत्यक्ष परोक्ष कुनै पनि तरिकाले अन्य व्यक्तिको उपस्थिति देखिँदैन । मिसिलबाट प्रतिवादीको संलग्नताका सम्बन्धमा आशंका गर्ने आधार भएमा निश्‍चयात्मक प्रमाणका लागि वीर्य परीक्षण गरी भिडे नभिडेको यकिन गर्नु अनिवार्यता मान्‍न सकिन्थ्यो तर मिसिल प्रमाणबाट प्रतिवादीको वीर्य होइन कि भनी आशंका गर्नुपर्ने स्थिति नदेखिएको अवस्थामा वीर्य परीक्षण गरी नभिडाइएको भन्‍ने आधारबाट प्रतिवादीले शङ्काको सुविधा प्राप्त गर्न सक्ने अवस्था देखिएन ।

११. यसैगरी मिसिल संलग्न भौतिक, वैज्ञानिक, चिकित्सकीय एवम् परिस्थितिजन्य प्रमाणले यी प्रतिवादीको संलग्नता पुष्टयाइँ गरिरहेको अवस्थामा मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई प्रतिवादीले घटना घटाएको होइन भनी बकपत्र गरेको देखिए पनि भौतिक एवम् वैज्ञानिक प्रमाणबाट स्थापित तथ्यलाई मौखिक प्रमाणले खण्डन गर्न सक्ने अवस्था रहँदैन । मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा आई बकपत्र गर्दा व्यक्त गरेका कुरा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले समर्थन भएको हदसम्म मात्र प्रमाणमा ग्राह्य हुन्छ । वस्तुतः वारदात तथ्य र परिस्थितिले कहिल्यै झुट बोल्दैन तर साक्षी वा मौखिक प्रमाण जहिले पनि मानवीय संवेदनाबाट प्रभावित हुने र अनपेक्षित प्रभाव पर्न सक्ने सम्भावना रहने हुनाले मौखिक प्रमाण ग्रहण गर्दा मिसिलका अन्य प्रमाणबाट समर्थित भए नभएको सतर्कतापूर्वक हेर्न आवश्यक हुन्छ । प्रस्तुत मुद्दामा घटना विवरण कागज गर्ने व्यक्तिहरूको बकपत्र शव परीक्षण प्रतिवेदन, विधि विज्ञान प्रयोगशालाको परीक्षण र Call detail समेतका प्रमाणबाट स्थापित तथ्यको विपरीत देखिँदा मिसिलबाट स्थापित तथ्य विरूद्धको त्यस्तो बकपत्र कथनलाई प्रमाणमा ग्राह्य मान्‍न मिल्ने देखिएन ।

१२. यसप्रकार प्रतिवादी अर्जुनकुमार ऋषिदेवले मौकामा अनुसन्धान अधिकारीसमक्ष आरोपित कसुरमा साबित भई र सुरू अदालतमा कसुरमा इन्कार रही बयान गरेको देखिएकोमा निजको अदालतको वा अनुसन्धान अधिकारीसमक्षको कुन भनाइ सत्य रहेछ भनी परीक्षण गर्दा निजको अदालतको इन्कारी बयान मिसिल संलग्न अन्य प्रमाणहरूबाट समर्थित हुन सकेको पाइएन । वस्तुत: प्रतिवादी साबित रही गरेको कथनले आफैँमा प्रमाणको स्थान ग्रहण गर्न सक्दैन तथापि निजको साबिती बयान मिसिल संलग्न घटनास्थल तथा लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन र Call detail लगायतका तथ्य प्रमाण एवम् मृतकको लोग्ने वैदेशिक रोजगारीमा गएको अवस्थामा प्रतिवादीको निजसँग सम्बन्ध कायम रहेको र मृतक तारादेवीले आफू गर्भवती छु भनी प्रतिवादीलाई भनेपछि निजबाट छुटकारा पाउन कर्तव्य गर्नुपर्नेसम्मको कारण देखिएको एवं धरानमा काम गर्न प्रतिवादी वारदातको समयमा वारदातस्थल नजिक घरमै रहेको बेहोरा निजले सुरू अदालतमा बयान गर्दा उल्लेख गरेको देखिएकोलगायतका वारदात परिस्थितिबाट समर्थित भइरहेको देखिएको हुँदा मृतकलाई कर्तव्य गरी मारेको भन्‍ने प्रतिवादीको साबिती बयान पुष्टि हुन आएकोले प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुरमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुनेमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम जन्मकैदको सजाय गरेको उच्च अदालत विराटनगरको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । प्रतिवादीको अदालतको इन्कारी बयान कुनै स्वतन्त्र र ठोस प्रमाणबाट समर्थित हुन आएको नदेखिएकाले प्रत्यर्थी झिकाइपाउँ भनी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता र विद्वान् अधिवक्ताहरूले गर्नुभएको बहस जिकिरसँग सहमत हुन सकिएन ।

१३. अतः माथि उल्लिखित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादी अर्जुनकुमार ऋषिदेवलाई मुलकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं.को कसुर अपराधमा ऐ.१३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहर गरेको सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर गरी मुलकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम निजलाई सर्वस्वको सजाय नहुने भएकोले जन्मकैदको सजाय ठहर गरेको उच्च अदालत विराटनगरको मिति २०७५।८।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

प्रस्तुत फैसलाको प्रतिलिपि संलग्न गरी फैसला भएको जानकारी थुनामा रहेका पुनरावेदक प्रतिवादी र महान्यायाधिवक्ताको कार्यालयलाई दिनू .............१

सरोकारवालाले फैसलाको प्रतिलिपि पाउँ भनी रीतपूर्वकको निवेदन साथ माग गरेमा नियमबमोजिम प्रतिलिपि उपलब्ध गराइदिनू .............................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ...........................३

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः किरणकुमार सिंह 

इति संवत् २०७८ साल भाद्र ८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु