निर्णय नं. १०७११ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७८।३।१७
०७६-CR-१२३५
मुद्दा:- जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाग्लुङ गलकोट नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३१ बानेश्वर बस्ने महेन्द्र कार्की
प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ । यसरी लामो समयदेखि शारीरिक सम्बन्धमा रहेका, प्रतिवादी र पीडित सँगै गई पटकपटक गर्भपतन गराएको, होटल रेष्टुरेन्टमा भेटघाट गर्ने गरेको, प्रतिवादी र पीडितबिच विवाहको विषयलाई लिएर खटपट भई वारदात भएको करिब ५ महिना १२ दिनपछि जाहेरी परेको देखिँदा निजहरूबिचको शारीरिक सम्बन्धमा प्रतिवादीले विवाह गर्ने गलत वा छलकपटपूर्ण विश्वास दिलाएर मात्र शारीरिक सम्बन्ध गरेको हो वा निजहरूबिचमा सहमतिमा सम्बन्ध भई विवाह गर्ने विन्दुमा विवाद भई सम्बन्धमा तिक्तता आई अनुसन्धान, अभियोजन र अदालती प्रक्रिया सुरू भएको भन्ने सम्बन्धमा अभियोजन अस्पष्ट देखिएको हुँदा यस्तो अस्पष्ट अनुसन्धान र अभियोजनका आधारमा गरिएको जबरजस्ती करणी ठहर गर्ने फैसलालाई उल्टी गरी अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला मिलेकै देखिने ।
(प्रकरण नं.१२)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री भुवन सिंह थापा
काठमाडौं जिल्ला अदालत
उच्च तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री यज्ञराज भट्ट
माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने
उच्च अदालत पाटन
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मलाई करिब एक वर्षअगाडिदेखि प्रलोभनमा पारी विवाह गर्छु भनी महेन्द्र कार्कीले जबरजस्ती करणी गर्दै आएको र मिति २०७४।५।२० गते दिउँसो अं.१५.०० बजेको समयमा कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा खाजा खाउँ भनी म पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई प्रतिवादी महेन्द्र कार्कीले गेष्ट हाउसको २०५ नं. कोठामा लगी भित्रबाट चुकुल लगाई मैले लगाएको पाइन्ट र कट्टुसमेत खोली मैले नमान्दा नमान्दै २ पटक जबरजस्ती करणी गरिसकेर यो कुरा बाहिर गएर कसैलाई नभन्नु, भनेमा मारिदिन्छु भनी धम्की दिई गेष्ट हाउसबाटै बाहिर निस्की बेपत्ता भई हालसम्म फेला नपरेको, निजलाई खोजतलास गरी पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को जाहेरी दरखास्त ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बासुकीनगर मार्गस्थित पूर्वमा पाँच तल्ले पक्की घर, पश्चिममा तिनकुनेतर्फ जाने पक्की सडक, उत्तरमा पुरूषोत्तम पौडेलको चार तल्ले पक्की घर र दक्षिणमा मानसिंह कार्कीको तीन तल्ले पक्की घर रहेको यति चार किल्लाभित्र सुर्यबहादुर पौडेलले सञ्चालन गरेको पश्चिम मोहडा भएको कान्तिपुर गेष्ट हाउस रहेको चार तल्ले पक्की घर सो घरको दोस्रो तल्लाको पूर्वतर्फको तीनवटा कोठाहरूमध्ये पहिलो कोठा नं.२०५ रहेको सोकोठामा पूर्वतर्फ काठको टेबुलमा टि.भि. रहेको टि.भि. छेउमा सानो टेबुल रहेको दक्षिणतर्फ भित्तामा टाँसिएर राखेको अवस्थामा ओछ्यानसहितको लो बेड रहेको सो लो बेडमा महेन्द्र कार्कीले वर्ष २४ की परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काको कागज ।
परिवर्तिन नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को स्वास्थ्य परीक्षण गर्दा निजको शारीरिक तथा मानसिक अवस्था सामान्य रहेको, निजको कन्याजाली पुरानो च्यातिएको देखिन्छ भन्नेसमेत बेहोराको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
प्रतिवादी महेन्द्र कार्कीसँग मेरो चिनजान छैन, निज प्रतिवादीले जाहेरवाली वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई करिब एक वर्षअगाडिदेखि विवाह गर्छु भनी पटकपटक जबरजस्ती करणी गर्दै आएकोमा मिति २०७४।०५।२० गते दिउँसो अ.१५.०० बजेको समयमा खाजा खान जाउँ भनी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसको २०५ नं. कोठाभित्र पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई लगी कोठाको भित्रबाट चुकुल लगाई प्रतिवादी महेन्द्र कार्कीले परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई धाक धम्की दिई डर, त्रासमा पारी जबरजस्ती करणी गरी हाल फरार छन् । विवाह गर्छु भन्दै पटकपटक धाक धम्की जबरजस्ती करणी गर्ने निज प्रतिवादी महेन्द्र कार्कीलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको उषा वि.क. र बुद्धकुमारी राईसमेतले लेखाई दिएको करिब एकै बेहोराको कागज ।
प्रतिवादी महेन्द्र कार्की तथा पीडितसँग मेरो चिनजान छैन, निज प्रतिवादी महेन्द्र कार्की तथा जाहेरवाली वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ कहिलेकाहीँ मैले सञ्चालन गरेको गेष्ट हाउसमा आई केही समय तथा रातभर बस्ने गरेका थिए । मिति २०७४।५।२० गते दिउँसो अ.१५.०० बजेतिर प्रतिवादी महेन्द्र कार्की तथा जाहेरवाली वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ दुवैजना हामी एकछिन कोठामा बसेर जान्छौँ भनी कान्तिपुर गेष्ट हाउसमा रहेको रजिस्ट्रर बुकमा महेन्द्र कार्कीको नाम उल्लेख गरी बसेर गएका थिए, सो समयमा पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई जबरजस्ती करणी भएको मलाई थाहा भएन, मिति २०७४।११।२८ गतेका दिन जाहेरवाली वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ सहित प्रहरी टोली मेरो गेष्ट हाउसमा आएपछि घटनाको सम्बन्धमा थाहा पाएको हुँ, मेरो गेष्ट हाउसको २०५ नं. को कोठामा प्रतिवादी महेन्द्र कार्कीले पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई जबरजस्ती करणी गरेको पीडितले बताएपछि थाहा पाएको हुँ, निजहरू मेरो गेष्ट हाउसमा आई इन्ट्री गरेको बुकको प्रतिलिपि यसैसाथ पेस गरेको छु भन्नेसमेत बेहोराको गेष्ट हाउस सञ्चालक सुर्यबहादुर पौडेलले सुरू अदालतमा गरेको कागज ।
वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेन्द्र कार्की भएको जबरजस्ती करणी मुद्दामा वारदातपश्चात् फरार रहेका प्रतिवादी महेन्द्र कार्कीको खोजतलास गर्दा गराउँदा फेला नपरेको र निजको वतन जिल्ला बाग्लुङ गलकोट नगरपालिका वडा नं.७ मल्म बतासेडाँडा घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३१ बानेश्वर बस्ने शिव कार्कीको छोरा वर्ष २२ को महेन्द्र कार्की भन्ने खुल्न आएको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
प्रतिवादी महेन्द्र कार्कीले पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई विवाह गर्छु भनी ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र अन्तिम पटक मिति २०७४।५।२० गते दिउँसो अं.१५:०० बजे काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसको कोठा नं.२०५ मा वर्ष २५ की पीडित जाहेरवाला वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई प्रतिवादी महेन्द्र कार्कीले विवाह गर्छु भन्ने प्रलोभनमा पारी ललाई फकाई, धाक धम्की दिई डर त्रासमा पारी जबरजस्ती करणी गरेको सप्रमाण पुष्टि हुन आएकोले यी प्रतिवादी महेन्द्र कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा परिभाषित ३(५) नं.बमोजिमको कसुर अपराधमा सोही महलको ३(५) नं.बमोजिम सजाय हुन र १० नं.बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाऊँ । साथै प्रतिवादी महेन्द्र कार्की हालसम्म फरार रहेको हुँदा निजको नाममा म्याद जारी गरी कानूनबमोजिम हुनसमेतको माग दाबी लिएको अभियोगपत्र ।
जाहेरवाला परिवर्तित नाम नयाँ बानेश्वर २६(८) ०७४/०७५ कक्षा ११ र १२ मा प्रिमियर कलेजमा सँगै अध्ययन गर्ने मेरो साथी हुन् । निजसँग कलेजमा अध्ययन गर्दा सँगै खाजा खाने र कुराकानी हुनेसम्म गर्दथ्यो । निज कक्षा १२ मा असफल भएको र म पास भई हाल कन्सल्टेन्सीमार्फत विदेश जान पोखरामा तयारी गरिरहेको छु । निज जाहेरवालालाई मैले विवाह गर्छु भनेको छैन । मिति २०७५।५।२० गते काठमाडौं आएको अवस्थामा फोन गरी निज जाहेरवालीले कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा खाजा खान बोलाएको र म त्यहाँ पुग्दा निजले विशेष कुराकानी गर्नु छ, कोठामा बसी कुराकानी गर्नुपर्यो भनेकाले कोठा लिई बसेको र कुराकानी हुँदा निजले मलाई विवाहको लागि भनेकी र मैले निजलाई हाल विवाह गर्न असमर्थ छु भनेपछि निजलाई मैले निजको घरमा लगी छाडी दिएको थिएँ । कुरा गर्ने भनेबाट आफ्नो नामसहित होटलको रजिस्ट्ररमा सही गरी कुराकानीसम्म भएको करणी भएको थिएन । होटलवालाले पेस गरेको उक्त रजिस्ट्ररमा लेखिएको महेन्द्र कार्की, ठेगाना र फोन नम्बर लेखिएको अक्षरहरू मेरो होइन सही मेरो
हो । जाहेरवालीले स्कुटी चलाउने गर्दथिन् । निजको कन्याजाली कसरी च्यातिएको हो सो सम्बन्धमा मलाई केही थाहा छैन । मैले करणी गरी निजको कन्याजाली च्यातिएको होइन । जाहेरवालीलाई मैले कहिले पनि विवाह गर्छु भनी डर, त्रासमा पारी करणी गरेको छैन । मैले भदौ २० गते जबरजस्ती करणी गरेको र पीडित भएको भनी छ महिनापछि अर्थात् फाल्गुण २ गते जाहेरी दिएकी छिन्, निजलाई मैले जबरजस्ती करणी गरेको भए सो गेष्ट हाउस नजिक कोटेश्वर प्रहरी चौकीमा उजुर गर्नुपर्नेमा नयाँ बानेश्वरमा उजुरी दिएकी छिन् । जाहेरवाली सायद मलाई प्रेम गर्दथिन् होला र निजको विवाहको प्रस्ताव मैले अस्वीकार गरेको कारण होटलमा सही गरेको आधारमा मलाई विवाह गर्न बाध्य पार्न झुठ्ठा जाहेरी दिइन्, मलाई लागेको अभियोग दाबी सत्य साँचो नभई झुठ्ठा रहेकोले मैले अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महेन्द्र कार्कीले सुरू अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी महेन्द्र कार्कीलाई साबिक मुलुकी ऐन अ.बं.११८ को देहाय (२) नं.बमोजिम थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने सिलसिलामा नियमानुसारको सिधा खान पाउने गरी यी प्रतिवादीलाई थुनामा राख्न मुलुकी ऐन अ.बं.१२१ नं.बमोजिमको थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाउने गरी मुलुकी ऐन, अ.बं.१२४(ग) नं.बमोजिम यो आदेश पर्चा गरिदिएको छ । प्रतिवादी चुक्ता भइसकेको र प्रस्तुत मुद्दा साबिक मुलुकी ऐनअन्तर्गत दायर भएको हुँदा साबिक जिल्ला अदालत नियमावली, २०५२ को नियम २३(ग) सँग सम्बन्धित निरन्तर सुनुवाइ हुने मुद्दा हुँदा प्रतिवादीको साक्षी प्रतिवादीमार्फत र वादी नेपाल सरकारका साक्षी गवाह जाहेरवाला, घटना विवरणमा कागज गर्ने मानिस र मौकामा कागज गर्ने सूर्यबहादुर पौडेलसमेतलाई मिति २०७५।६।९ गतेका दिन उपस्थित गराइदिनु भनी सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गरी सोको जानकारी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई दिई नियमानुसार गर्नु भन्ने मिति २०७५।५।३१ को सुरू काठमाडौं जिल्ला अदालतको आदेश ।
उक्त आदेशानुसार निज प्रतिवादी महेन्द्र कार्कीलाई मुद्दा पुर्पक्षको लागि नियमानुसारको सिधा खान पाउने गरी मुलुकी ऐन अ.बं.१२१ नं.बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा राख्न पठाइएको मिसिलबाट देखिएको ।
प्रतिवादी महेन्द्र कार्कीलाई म सानैदेखि चिन्दछु । ऊ त्यसरी कसैलाई जबरजस्ती गर्ने आचरण भएको मानिस होइन । यी प्रतिवादीले निज जाहेरवालालाई जबरजस्ती करणी नगरेकोले सजाय हुनुपर्ने होइन किनभने उसको चालचलन बानी बेहोरा असल छ । साथीसाथीबिचमा मनमुटाव भई अदालतमा विनाकारण मुद्दा गर्ने हो भने समाजमा अराजकता ननिम्तेला भन्न पनि त सकिँदैन । उनीहरूबिचको आपसी मनमुटावले गर्दा यो मुद्दा दायर भएको हो जस्तो लाग्छ भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी दिपक के.सी. ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी नगरेकोले जबरजस्ती करणी मुद्दामा सजाय हुनुपर्ने होइन । म प्रतिवादीलाई राम्रोसँग चिन्दछु । उसको चालचलन व्यवहार असल छ । हामी सँगै एकै कोठामा बस्दै आएका साथी हौं भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी राजेन्द्र बोहराले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७४।११।९ गतेको घटना विवरण कागजमा भएको बेहोरा महेन्द्र कार्कीसँग पटकपटक यौन सम्पर्क गरेको तथा म तिमीलाई विवाह गर्छु भनी जबरजस्ती करणी गर्दै आएको भन्ने कुरा पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ ले मलाई बताएकाले थाहा पाएको हुँ । त्यस समयमा कोठाभित्र के कसो भएको हो मलाई थाहा छैन । कानूनबमोजिम कारबाही हुने नहुने के कसो हो मलाई थाहा छैन । उक्त भनाइ बेहोरा मेरो होइन । उक्त कागजमा भएको सहीछाप मेरो हो । उक्त मितिमा होटलमा इन्ट्री गरेर भर्याङबाट माथि गए, दुवैजना हाँसी खुसी नै आएका थिए । उक्त गेष्ट हाउसको २०५ नं. कोठामा करिब २ घण्टाजति बसी हाँसी खुसीसाथ रमाइलोसँग काउन्टरमा आई केटीले आफ्नो पर्स झिकी होटलको बिल तिरी गएका हुन् । उक्त मितिभन्दा अगाडि पनि पटकपटक मेरो होटेलमा आई बस्ने, खाजा खाने गरेर जाने गर्दथे र पीडितले निजलाई जबरजस्ती भएको कुरा उल्लेख गरेकी थिइनन् भन्नेसमेत बेहोराको वादीको साक्षी एवं गेष्ट हाउसका मालिक सूर्यबहादुर पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्तमा भएको बेहोरा र सहीछाप मेरो हो । मलाई प्रतिवादी महेन्द्र कार्कीले विगत केही समय अगाडिदेखि नै मसँग विवाह गर्छु भनेर हामीबिचमा शारीरिक सम्पर्क हुने गरेको थियो । तर पछि ०७४ साल भदौ २० गते मलाई प्रतिवादीले कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा लग्यो र यौन सम्पर्कका लागि प्रस्ताव गर्यो मैले विवाह गर्दैनौ भने यो प्रस्ताव मलाई स्वीकार छैन भन्दा उसले मलाई त्यस समयमा जबरजस्ती करणी गरेको हो । पहिलो पटक करणी गर्दा मलाई अलिअलि लाज र डर भएको थियो, त्यसैले यस्तो कुरा कसरी भन्ने पनि भयो । अर्कोतिर मलाई प्रतिवादीले विवाह गर्छुसमेत भनेको थियो त्यसैले उजुर गरिनँ । प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो । पछि विवाह नगर्ने भएर नै उजुरी दिएको होइन किनभने त्यस घटनाको समयमा उसको यौन प्रस्तावलाई अस्वीकार गर्दा पनि आफ्नो पुरूषार्थ देखाएर करणी गरेकोले उजुरी दिएको हो । डर र लाजले गर्दा मैले उक्त दिन कतै पनि उजुरी गर्न सकिन भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी महेन्द्र कार्की र जोहरवालीबिच प्रेम सम्बन्ध रहेको बहानामा तिमीलाई विवाह गर्छु भनेर जबरजस्ती करणी गरेका हुन् । जाहेरवाली र म सँगै नोकरी गर्दथ्यौं । त्यस समयमा जाहेरवालीले नै भनेर थाहा पाएकी हुँ । जाहेरवालीले मसँग महेन्द्र कार्कीलाई चिनाउँदा मेरो केटा साथी हो । उसले मलाई पटकपटक जबरजस्ती करणी गर्ने गर्छ भनेर चिनाउनु हुन्थ्यो भन्नेसमेत बेहोराको वादीको साक्षी बुझिएका मानिस उषा वि.क.ले सुरू अदालतमा गरेको बकपत्र ।
यसमा पीडितको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टरलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत उपस्थित गराउनु भनी सम्बन्धित प्रहरी कार्यालयलाई पत्र लेखी पठाई उपस्थित भएपछि बकपत्रको लागि इजलाससमक्ष पेस गर्नु भन्ने मिति २०७५।८।२७ को काठमाडौं जिल्ला अदालतको आदेश ।
परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को स्वास्थ्य परीक्षण मैले गरेको
हो । स्वास्थ्य परीक्षण गर्दा पीडितको शारीरिक तथा मानसिक अवस्था सामान्य देखिन्थ्यो । निजको कन्याजाली पुरानो च्यातिएको थियो । निजको शरीरमा तत्कालीन सङ्घर्षका लक्षण केही पनि देखिएको
थिएन । शारीरिक सम्पर्क भएको २४ घण्टाभित्रै परीक्षण भयो भने त्यसको लक्षण रहिरहन्छ । सोभन्दा पछि भयो भने यकिनसाथ भन्न सकिँदैन । पीडितले दिएको बयानअनुसार निजलाई विगत ३ वर्षदेखि प्रतिवादीले Sexually and Physically Abuse गरेको र निजको बयानअनुसार अन्तिम पटक २०७४ साल भदौमा भएको थियो र पीडितको शारीरिक परीक्षण मैले २०७४।१०।२८ मा गरेको थिएँ । पीडितको बयानअनुसार प्रतिवादी चाहीँ पीडितको कलेजको साथी रहेको र उनीहरू दुईबिच प्रेम सम्बन्ध रहेको ४ वर्ष भएको र प्रेम सम्बन्ध सुरू भएको १ वर्षपछि प्रतिवादीले पीडितलाई इच्छाविपरीत यौन सम्पर्क राखेको र नमानेबापत निजलाई शारीरिक यातना दिने गरेको र साथै ज्यान मार्नेसमेत धम्की दिने गरेको बताएकी थिइन् र विगत ३ वर्षभित्र पीडितले २ पटक गर्भपतन पनि गरिसकेको कुरा बताएकी थिइन् भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डा. सुजिता श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी महेन्द्र कार्कीलाई अभियोग माग दाबीबमोजिम साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा परिभाषित सोही महलको ३(५) नं. बमोजिमको कसुर अपराधमा सोही महलको ३(५) नं. बमोजिम ५ (पाँच) वर्ष कैद साजय गरी सोही महलको १० नं.बमोजिम यी प्रतिवादीबाट पीडितलाई रू.५०,०००।– हजार क्षतिपूर्तिसमेत दिलाई भराइदिने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।११।२ मा भएको फैसला ।
जाहेरवाला र प्रतिवादी एकै कलेजमा पढ्ने, एक आपसमा मिल्ने साथी भएकोले केही समय अगाडिदेखि सँगसँगै हिँड्डुल गर्ने, खाजा खाने, शारीरिक सम्बन्धसमेत राख्ने गरी आएको Girl Friend, Boy Friend भएको अवस्था हो । निज पीडितको उमेरले परिपक्क वर्ष २५ छ । वारदात भएको मितिभन्दा ५ महिना ८ दिनपछि मात्र स्वास्थ्य परीक्षण भएको र ५ महिना १२ दिनपछि मिति २०७४।११।२ मा मात्र जाहेरी दर्खास्त परेको छ । वारदातको लामो समयको अन्तरालमा गरिएको स्वास्थ्य परीक्षणको कुनै प्रामाणिक महत्त्व हुँदैन । जबरजस्ती करणी वारदातले हुने हो । विवाह गरे जबरजस्ती करणी नहुने विवाह नगरे जबरजस्ती करणी हुने भन्ने होइन । अतः म प्रतिवादीले पीडितलाई करणी नै नगरेको र करणी गरेको भए पनि दुवैजनाको सहमतिबाट उमेर पुगेको महिलासँग यौन सम्बन्ध भए जबरजस्ती करणी नहुने भन्ने पुष्टि हुँदाहुँदै पनि अभियोग दाबीबमोजिम सजाय ठहर गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला बदर गरी म पुनरावेदक प्रतिवादीलाई आरोपित कसुर तथा सजायबाट पूर्णतः सफाइ दिलाई न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी महेन्द्र कार्कीको उच्च अदालत पाटनमा परेको पुनरावदेनपत्र ।
यसमा मौकामा कागज गर्ने गेष्ट हाउस सञ्चालक सूर्यबहादुर पौडेलले मौकामा गरेको कागज तथा निजको अदालतमा भएको बकपत्रसमेतबाट सुरू फैसला विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम उच्च सरकारी वकिल कार्यालय, पाटनलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७५।२।२८। को आदेश ।
यसमा Sofy नामबाट Facebook Message प्रिन्ट गरी पेस गरेको र सो Message मिसिल संलग्न रहेको देखिँदा उक्त Message को कुराकानी को-को बिच भएको हो ? प्रतिवादीमार्फत पेस भएको हो, होइन निजलाई यस अदालतमा झिकाई कागज गराई खुलाउन लगाई सोको रेकर्ड बाँकी रहेको भए पुनः प्रतिलिपि पेस गराई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७६।३।१६ को आदेश ।
मिसिल सामेल Facebook Message प्रिन्ट देखेँ सुनेँ । कुराकानी म र यी जाहेरवालाबिच भएको हो । मेरोउपर जाहेरी दिनुभन्दा ४/५ महिना अगाडि निज जाहेरवालाले मलाई गरेको Message हुन् । उक्त message हरूको क्रममा मैले पेस गर्न ल्याएको हुँ । उक्त message हरूमा मैले जवाफ फर्काएको थिइनँ । सो बेला मेरो Account Block थियो भनी प्रतिवादी महेन्द्र कार्कीले उच्च अदालत पाटनमा उपस्थित भई गरेको सनाखत बयान ।
प्रतिवादी महेन्द्र कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम पाँच वर्ष कैद र सोही महलको १० नं.बमोजिम यी प्रतिवादीबाट पीडितलाई रू.५०,०००।– हजार क्षतिपूर्तिसमेत दिलाई भराइदिने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।११।२ मा भएको फैसला नमिलेकोले उल्टी भई बदर हुने ठहर्याई आरोपित कसुर पुष्टि हुने प्रमाण नहुँदा निज प्रतिवादी महेन्द्र कार्कीलाई आरोपित कसुर अपराधबाट सफाइ दिने ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७६।४।१४ मा भएको फैसला ।
प्रस्तुत मुद्दाको मूल आधार नै विवाह गर्ने आश्वासन दिई पीडितलाई अनुचित दबाब, प्रभावमा पारी आफूले जहाँ बोलायो त्यहीँ आउने, जहाँ भन्यो त्यहाँ जाने, जे गर्न भन्यो त्यो गर्न दिने जस्ता माया प्रेमका कुरा रची गरिएका दुराशययुक्त कार्यले पीडितलाई उसले भनेको मान्न बाध्य बनाएको र पटकपटक यौन हिंसाको सिकार बनाएको अवस्था छ । फरार अभियुक्तको रूपमा मुद्दा दायर भएको अवस्थामा अदालतमा आई यी प्रतिवादीले आफू फरार रहनुको कुनै कारणसमेत उल्लेख गरेको अवस्था पनि छैन । शारीरिक सम्पर्क भएको २४ घण्टा बितेपछि त्यसका लक्षणहरू यकिनसाथ भन्न नसकिने भनी पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. सुजिता श्रेष्ठको बकपत्रबाट समर्थित भएकोले वारदातको ५ महिना १२ दिनपछि जाहेरी परेको कारणले जबरजस्ती करणीका चिह्नहरू नदेखिनु स्वाभाविक हो । आफूलाई विवाह गर्ने भए किन उजुर गर्ने भनी अन्तिम समयसम्म पीडितले प्रतिक्षा गरी बसेको यथार्थलाई शंका गरी प्रचलित हदम्यादको बाध्यात्मक व्यवस्था उल्लङ्घन हुने गरी कानूनबमोजिमको म्यादभित्र उजुरी गरेको अवस्थालाई गलत व्याख्या गरी उच्च अदालत पाटनबाट यी प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी सुरू सदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजातहरूको अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनालले प्रतिवादीले पीडितलाई विवाह गर्ने आश्वासन दिई अनुचित दबाब, प्रभावमा पारी माया प्रेमका कुरा रची गरिएका दुराशययुक्त कार्यले पीडितलाई उसले भनेको मान्न बाध्य बनाएको र पटकपटक यौन हिंसाको सिकार बनाएको अवस्था छ । अदालतमा आई यी प्रतिवादीले आफू फरार रहनुको कुनै कारणसम्म पनि उल्लेख गर्न सकेको छैन । शारीरिक सम्पर्क भएको २४ घण्टा बितेपछि त्यसका लक्षणहरू यकिनसाथ भन्न नसकिने भनी स्वास्थ परीक्षण गर्ने चिकित्सकले भनेको र ढिलो गरी जाहेरी परेको कारणले जबरजस्ती करणीका चिह्नहरू नदेखिनु स्वाभाविक रहेकोतर्फ विचार नगरी उच्च अदालत पाटनबाट यी प्रतिवादीलाई सफाइ दिने गरी भएको त्रुटिपूर्ण फैसला बदर गरी यी प्रतिवादी महेन्द्र कार्कीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्यगत विषय र बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई विवाह गर्छु भनी ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र अन्तिम पटक मिति २०७४।५।२० गते दिउँसो अं.१५:०० बजे कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसको कोठा नं.२०५ मा यी पीडितलाई प्रतिवादी महेन्द्र कार्कीले विवाह गर्छु भन्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले यी प्रतिवादी महेन्द्र कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा परिभाषित ३(५) नं.बमोजिमको कसुर अपराधमा सोही महलको ३(५) नं.बमोजिम सजाय हुन र सोही महलको १० नं.बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेतको अभियोग मागदाबी भएकोमा प्रतिवादी महेन्द्र कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम पाँच वर्ष कैद र सोही महलको १० नं.बमोजिम यी प्रतिवादीबाट पीडितलाई रू.५०,०००।– हजार क्षतिपूर्तिसमेत दिलाई भराइदिने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला बदर गरी यी प्रतिवादी महेन्द्र कार्कीले आरोपित कसुर अपराधबाट सफाइ पाउने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसलामा चित्त नबुझाई पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखियो ।
३. अब प्रतिवादीले सफाइ पाउने गरी भएको उच्च अदालत पाटनको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गर्ने गरेको सुरू अदालतको फैसला सदर कायम गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, करिब एक वर्ष अगाडिदेखि प्रलोभनमा पारी विवाह गर्छु भनी महेन्द्र कार्कीले जबरजस्ती करणी गर्दै आएको र मिति २०७४।५।२० गते दिउँसो अं.१५:०० बजे कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसको कोठा नं. २०५ मा खाजा खान भनी लगी भित्रबाट चुकुल लगाई मैले नमान्दा नमान्दै प्रतिवादी महेन्द्र कार्कीले मलाई २ पटक जबरजस्ती करणी गरेपछि यो कुरा कसैलाई भने मारिदिने धम्की दिई बाहिर निस्की बेपत्ता भई हालसम्म फेला नपरेकोले निजलाई खोजतलास गरी कारबाही गरिपाउँ भन्ने परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखियो ।
४. पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको शारीरिक र मानसिक अवस्था सामान्य
रहेको । पीडितको शरीरमा सङ्घर्षको लक्षण केही पनि नदेखिएको, Hymen no intact, old tear present भन्ने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्वास्थ परीक्षण प्रतिवेदनबाट देखिन्छ ।
५. प्रतिवादी महेन्द्र कार्कीले विगत केही समय अगाडिदेखि नै मसँग विवाह गर्छु भनेर हामीबिचमा शारीरिक सम्पर्क हुने गरेको थियो । पछिल्लो पटक २०७४ साल भदौ २० गते मलाई प्रतिवादीले कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा लग्यो र यौन सम्पर्कका लागि प्रस्ताव गर्यो मैले विवाह गर्दैनौ भने यो प्रस्ताव मलाई स्वीकार छैन भन्दा उसले मलाई त्यस समयमा जबरजस्ती करणी गरेको हो । प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो । उक्त घटनाको समयमा उसको यौन प्रस्तावलाई अस्वीकार गर्दा पनि आफ्नो पुरूषार्थ देखाएर करणी गरेकोले उजुरी दिएको हो । डर र लाजले गर्दा मैले उक्त दिन कतै पनि उजुरी गर्न सकिन भनी जाहेरी बेहोरालाई समर्थन हुने गरी केही फरक तथ्यसमेत उल्लेख गरी जाहेरवाली परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ ले अदालतमा बकपत्र गरेको देखिन्छ ।
६. जाहेरवाला कक्षा ११ र १२ मा प्रिमियर कलेजमा सँगै अध्ययन गर्ने मेरो साथी हुन् । निजसँग कलेजमा अध्ययन गर्दा सँगै खाजा खाने र कुराकानीसम्म हुने गर्दथ्यो । मिति २०७५।०५।२० मा कान्तिपुर गेष्ट हाउसमा पीडित जाहेरवालाले खाजा खान बोलाएकोले गएको हुँ । निजले मलाई त्यहाँ विवाह गर्ने भनेकोमा मैले निजलाई हाल विवाह गर्न असमर्थ छु भनी निजको घरमा लगी छाडिदिएको
थिएँ । मैले निजलाई जबरजस्ती करणी गरेको होइन भनी आरोपित कसुरमा पूर्णइन्कार रही अदालतमा बयान गरेको देखिन्छ ।
७. पीडितको स्वास्थ्य परीक्षण मैले ०७४।१०।२८ मा गरेको हुँ । स्वास्थ्य परीक्षण गर्दा पीडितको शारीरिक र मानसिक अवस्था सामान्य देखिन्थ्यो । निजको कन्याजाली पुरानो च्यातिएको थियो । निजको शरीरमा सङ्घर्षका लक्षण केही पनि देखिएको थिएन । पीडितले बताएनुसार निजलाई विगत ३ वर्षदेखि प्रतिवादीले Sexually and Physically Abuse गर्ने र अन्तिम पटक २०७४ साल भदौमा जबरजस्ती करणी भएको थियो । प्रतिवादी पीडितको कलेजको साथी रहेको र उनीहरू दुईबिच प्रेम सम्बन्ध भएको ४ वर्ष भएको र प्रेम सम्बन्ध सुरू भएको १ वर्षपछि प्रतिवादीले पीडितको इच्छाविपरीत यौन सम्पर्क राखेको र विगत ३ वर्षभित्र पीडितले २ पटक गर्भपतन पनि गरिसकेको कुरा बताएकी थिइन् भनी पीडितको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डा. सुजिता श्रेष्ठले बकपत्रमा उल्लेख गरेको पाइन्छ ।
८. प्रतिवादी महेन्द्र कार्कीसँग पटकपटक यौन सम्पर्क गरेको तथा विवाह गर्छु भनी जबरजस्ती करणी गर्दै आएको भन्ने कुरा पीडितले मलाई बताएकाले थाहा पाएको हुँ । त्यस समयमा कोठाभित्र के कसो भएको हो र कानूनबमोजिम कारबाही हुने नहुने के कसो हो मलाई थाहा छैन । मिति २०७४।५।२० गते होटलमा इन्ट्री गरेर माथि कोठामा गए, दुवैजना हाँसी खुसी नै आएका थिए । गेष्ट हाउसको २०५ नं. कोठामा करिब २ घण्टाजति बसी हाँसी खुसीसाथ रमाइलोसँग काउन्टरमा आई केटीले आफ्नो पर्स झिकी होटलको बिल तिरी गएका हुन् । उक्त मितिभन्दा अगाडि पनि पटकपटक मेरो होटेलमा आई बस्ने, खाजा खाने गरेर जाने गर्दथे र पीडितले उक्त दिन निजलाई जबरजस्ती भएको कुरा उल्लेख गरेकी थिइनन् भनी मिति २०७४।११।९ को घटना विवरण कागज गर्ने वादीको साक्षी एवं गेष्ट हाउस सञ्चालक सूर्यबहादुर पौडेलले अदालतमा बकपत्र गरेको पाइन्छ ।
९. पीडित र प्रतिवादी एउटै कलेजमा पढ्ने साथी साथी भई निजहरूबिच विगत ४ वर्षदेखि प्रेम सम्बन्ध रही आएकोमा करिब एक वर्ष अगाडिदेखि विवाह गर्छु भनी महेन्द्र कार्कीले जबरजस्ती करणी गर्दै आएको र वारदातको दिन गेष्ट हाउसमा खाजा खान भनी कोठामा लगी मैले नमान्दा नमान्दै प्रतिवादी महेन्द्र कार्कीले मलाई जबरजस्ती करणी गरेको हो भन्ने पीडितको बयान रहेको छ । मिति २०७४।५।२० मा भएको उक्त वारदातको जाहेरी पीडितले ढिलो गरी मिति २०७४।११।२ मा दिएकोमा यी प्रतिवादी महेन्द्र कार्की उक्त कसुरमा इन्कार रहेका छन् । मिति २०७४।५।२० गते होटलमा इन्ट्री गरेर माथि कोठामा गई करिब २ घण्टाजति बसी हाँसी खुसीसाथ रमाइलोसँग काउन्टरमा आई केटीले होटलको बिल तिरी गएका हुन् । पीडितले निजलाई जबरजस्ती भएको कुरा उल्लेख गरेकी थिइनन् । यसभन्दा अगाडि पनि पटकपटक होटेलमा आई बस्ने, खाजा खाने गर्दथे भनी उक्त गेष्ट हाउस सञ्चालक सूर्यबहादुर पौडेलको बकपत्रबाट देखिन्छ । त्यसैगरी पीडितको शारीरिक र मानसिक अवस्था सामान्य रहेको र निजको कन्याजाली पुरानो च्यातिएको र शरीरमा सङ्घर्षका कुनै पनि लक्षण नदेखिएको भन्ने स्वास्थ परीक्षण गर्ने चिकित्सकको बकपत्रबाट देखिन्छ ।
१०. स्वास्थ्य परीक्षण हुँदा पीडितको शारीरिक र मानसिक अवस्था सामान्य रहेको र पीडितको शरीरमा जबरजस्ती करणीका सङ्घर्षको लक्षण केही पनि नदेखिएको, Hymen no intact, old tear present देखिँदैन भन्ने स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्रबाट देखिन्छ । वारदात मिति समयमा पीडित चिच्याएको कराएको वा आफूलाई जबरजस्ती गरेको कुरा गेष्ट हाउसका कुनै पनि कर्मचारीलाई तत्काल भन्न सकेको पनि मिसिलबाट देखिँदैन । पीडित जाहेरवाली जबरजस्ती करणीको कसुर अपराधबाट अन्यायमा परेको भए नजिकको प्रहरी कार्यालयमा उजुर गर्नुपर्नेमा हदम्यादभित्रै भए पनि वारदातपछि निकै विलम्ब गरी जाहेरी दर्खास्त दिएको पाइन्छ ।
११. प्रस्तुत मुद्दामा यी प्रतिवादीले गेष्ट हाउसमा पीडितले विवाहको प्रस्ताव राखेको र निजले अस्वीकार गरेपछि पीडितलाई निजको घरमा छोडेको, पीडितले भने जस्तो जबरजस्ती करणी नगरेको भनी मौकामा गरेको बयान बेहोरालाई समर्थन हुने गरी कसुरमा इन्कार रही अदालतमा बयान गरेको
पाइन्छ । वारदात भएको भनिएको मितिबाट लामो समयको अन्तरालपछि गरिएको स्वास्थ परीक्षण प्रतिवेदन प्रमाणयोग्य नदेखिएको, अभियोजन पक्षका साक्षीहरूले गरिदिएको बकपत्रले उक्त वारदातमा जबरजस्ती करणी भएको हो भनी पुष्टि गर्ने प्रयाप्त र विश्वासिलो आधारहरू नहुनुका साथै वारदात भएको भनिएको गेष्ट हाउसका सञ्चालक सूर्यबहादुर पौडेलले उक्त दिन पीडित र यी प्रतिवादी गेष्ट हाउसको कोठामा गई करिब दुई घण्टा जति बसी हाँसीखुसीसाथ रमाइलोसँग काउन्टरमा आई केटीले होटलको बिल तिरी गएका हुन् । पीडितले निजलाई जबरजस्ती भएको कुरा उल्लेख नगरेको र यसभन्दा अगाडि पनि पटकपटक होटेलमा आई बस्ने, खाजा खाने गर्दथे भनी उल्लेख गरिदिएसमेतबाट पीडित र यी प्रतिवादी एउटै कलेजमा पढ्ने साथी भई निजहरूबिच विगत लामो समयदेखि सम्बन्ध रहेको परिप्रेक्ष्य्यमा भएको भनिएको शारीरिक सम्बन्धको प्रस्तुत वारदात विवादास्पद देखिन आयो ।
१२. प्रतिवादी महेन्द्र कार्कीले विगत केही समय अगाडिदेखि नै पीडितलाई विवाह गर्छु भनी शारीरिक सम्पर्क हुने गरेकोमा पछिल्लो पटक २०७४ साल भदौ २० गते प्रतिवादीले गेष्ट हाउसमा लगी यौन सम्पर्कका लागि प्रस्ताव गर्यो मैले विवाह गर्दैनौ भने यो प्रस्ताव मलाई स्वीकार छैन भन्दा निजले जबरजस्ती करणी गरेको हो । प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ । यसरी लामो समयदेखि शारीरिक सम्बन्धमा रहेका, यी प्रतिवादी र पीडित सँगै गई पटकपटक गर्भपतन गराएको, होटल रेष्टुरेन्टमा भेटघाट गर्ने गरेको र उक्त दिन यी प्रतिवादी र पीडितबिच विवाहको विषयलाई लिएर खटपट भई वारदात भएको करिब ५ महिना १२ दिनपछि जाहेरी परेको देखिँदा निजहरूबिचको शारीरिक सम्बन्धमा प्रतिवादीले विवाह गर्ने गलत वा छलकपटपूर्ण विश्वास दिलाएर मात्र शारीरिक सम्बन्ध गरेको हो वा निजहरूबिचमा सहमतिमा सम्बन्ध भई विवाह गर्ने विन्दुमा विवाद भई सम्बन्धमा तिक्तता आई अनुसन्धान, अभियोजन र अदालती प्रक्रिया सुरू भएको भन्ने सम्बन्धमा अभियोजन अस्पष्ट देखिएको हुँदा यस्तो अस्पष्ट अनुसन्धान र अभियोजनका आधारमा गरिएको जिल्ला अदालतको जबरजस्ती करणी ठहर गर्ने फैसलालाई उल्टी गरी यी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेकै देखिँदा उक्त फैसला बदर गरी सुरू सदर गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन र बहस जिकिरसँग सहमत हुन सकिएन ।
१३. तसर्थ, माथि विवेचित तथ्यगत आधार र कारणसमेतबाट यी प्रतिवादी महेन्द्र कार्कीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम पाँच वर्ष कैद र सोही महलको १० नं.बमोजिम यी प्रतिवादीबाट पीडितलाई रू.५०,०००।– (पचास हजार) क्षतिपूर्तिसमेत दिलाई भराइदिने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।११।२ मा भएको फैसला बदर गरी यी प्रतिवादी महेन्द्र कार्कीलाई आरोपित कसुर अपराधबाट सफाइ दिने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७६।४।१४ मा भएको फैसला मनासिब नै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत : माधव भण्डारी
इति संवत् २०७८ साल असार १७ गते रोज ५ शुभम् ।