शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७१२ - अंश दपोट

भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७६।५।१७

०७०-CI-१२७१

 

मुद्दाः- अंश दपोट

 

पुनरावेदक / प्रतिवादी : गणेशबहादुरको छोरा भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं. ७ बस्ने रामचन्द्र बुढाथोकी

विरूद्ध

प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं. ७ हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१४ कुलेश्‍वर नयाँबस्ती डेरा गरी बस्ने निर्मला बुढाथोकी

 

दबाए छिपाएको प्रश्‍न सबै अंशियारहरूबिच अंश मुद्दा चली सबैले अदालतको आदेशबमोजिम तायदाती फाँटवारी पेस गर्दा दबाए छिपाएको छैन भनी कागज गरेको तर अंशबन्डा गर्नुपर्ने सम्पत्ति नदेखाई दबाए छिपाएको अवस्थामा उपस्थित हुने विषय हो । अंश मुद्दा पर्दा व्यवहार प्रमाणबाट पहिले नै छुट्टी भिन्‍न भएको ठहर फैसला भएको अंशियारले दबाए छिपाएमा नालिस गर्न पाउने नदेखिने । 

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी "संभव" तथा विद्वान् अधिवक्ता श्री हरिकृष्ण कायस्थ

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कुश्माश्‍वर सापकोटा

अवलम्बित नजिर :

ने.का.प.२०४४, अङ्क ७, नि.नं.३१५२

ने.का.प.२०४७, अङ्क ४, नि.नं.४२२७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री पुरूषोत्तमप्रसाद ढकाल

भक्तपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री राजेन्द्रप्रसाद राजभण्डारी

मा. न्यायाधीश श्री सत्यराज गुरूङ

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.प्रकाशकुमार ढुंगाना : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

पिता गणेशबहादुर र माता वेदकुमारीका ६ भाइ छोराहरूमा जेठा विपक्षी दिलबहादुर-१, माहिला रामचन्द्र-१, साँहिला कृष्णबहादुर-१, काँहिला शारदाको पति गोविन्द-१, ठाँहिला म विष्णुबहादुर-१ र कान्छा निर्मलाको पति भरतबहादुर बुढाथोकी-१ समेतका परिवारमा तीनवटी छोरीहरू विवाह भई माताको मिति २०४७।३।३० मा परलोक भइसकेको बाँकी अंशियारहरूमा रीतपूर्वक अंशबन्डा भए पनि वादी दिलबहादुर र प्रतिवादी गणेशबहादुर भएको अंश मुद्दामा वादीले छुट्याई लिन पाउने ठहरी, भक्तपुर जिल्ला अदालतबाट मिति २०५०।३।१३ मा फैसला भई पुनरावेदन अदालतबाट मिति २०५१।१।२१ मा सुरू सदर भएको र म वादी विष्णुबहादुर बुढाथोकी र प्रतिवादी विपक्षीहरूसमेत भएको २०६३।५।२७ मा अंशचलन मुद्दा दर्ता भई भक्तपुर जिल्ला अदालतबाट मिति २०६४।९।४ मा वादीले साबिक अघिल्लो मुद्दामा अंश पाइसकेको वादी पुग्न नसक्ने ठहराई फैसला भएको छ । सोहीबमोजिम गणेशबहादुरका नाउँमा दर्ता हुन बाँकी कि.नं. १०६, १०७, १७८ र १८० को जग्गामध्येबाट रामचन्द्रकी पत्‍नी माहिली बुढाथोकीको नाममा क्षेत्रफल २-०-० हक छाडी कि.नं. ३५१ र बाँकी कि.नं. ३५२ कायम भई आएको जग्गाहरू विपक्षीहरूले भोगचलन गरी आएको तथ्यलाई लुकाई छिपाई खाने नियतले उल्लिखित अंश मुद्दामा तायदाती फाँटवारी पेस गरेको हुँदा दपोट ठहराई उक्त कित्ता जग्गाबाट समेत अंशपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६५।९।९ गतेको वादी विष्णुबहादुर बुढाथोकीको फिराद दाबी । 

भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं.७(क) कि.नं. १०६, १०७, १७८, १८० को जग्गादपोट गरेको फिराद सम्बन्धमा विवादित कि.नं. १०६ र १०७ का दर्ता बाँकी जग्गाहरू म एकासगोलको बुहारीको हैसियतले दर्ता नामसारी गरी पाउने अवस्थाका जग्गाहरू हुन् । मैले कि.नं. १७८ बाट कित्ताकाट भई कायमी कि.नं. ३५१ को जग्गाबाट मोही बाँडफाँट गरी लिई कायम भएको क्षेत्रफल १-०-० जग्गा दपोट नठहर्ने र साबिक मुद्दामा म प्रतिवादी कारणी नभएको हुँदा प्रस्तुत फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी निर्मला बुढाथोकीको मिति २०६६।१।२८ को प्रतिउत्तर जिकिर । 

विपक्षी विष्णुबहादुरले अंश मुद्दाको फिराद दिएको र दाबी नपुग्ने भनी फैसला भएको तथ्य फिरादीले स्वीकार गरेको अवस्थामा कि.नं. १७८ बाट कायमी कि.नं. ३५१ माहिली बुढाथोकीका नाममा रहेको पैतृक सम्पत्ति होइन, सो जग्गाको मोही सम्बन्धमा निर्मला बुढाथोकीले विवाद गरेकाले हाल पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ, सो तथ्य विपक्षीमा जानकारी हुँदाहुँदै उक्त तथ्यलाई लुकाई गरेको फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र बुढाथोकीको प्रतिउत्तर जिकिर ।

अंशबन्डाका सम्बन्धमा पेस भएको तायदातीमा मसँग तायदाती नमागी केवल गणेशबहादुरसँग मात्र तायदाती मागेको हामीलाई अ.बं. १३९ नं.बमोजिम बुझिएको उक्त फैसलामा मिति २०३१।१।१ भन्दा अघि नै मानो छुट्टी भिन्‍न भई बसेको बेहोरा स्थापित भएको हुँदा कि.नं. १७८ र१८० का जग्गा निजी आर्जनका हुँदा बन्डा गर्नुपर्ने सम्पत्ति नभएको विपक्षीले कहिले मोहियानी नामसारी र कहिले अंश दपोट गरिपाउँ भनी ल्याएको विबन्धनयुक्त फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी कृष्णबहादुर बुढाथोकीको प्रतिउत्तर जिकिर ।

चाँगुनारायण गा.वि.स. वडा नं.७ कि.नं. १०६ र १०७ का जग्गा पुर्ख्यौली हकको सम्पत्ति होइन । उक्त जग्गा ससुरा मोही रहेको बिर्ता जग्गा 

हो । हाल अर्का अंशियार रामचन्द्र बुढाथोकीले जोतभोग गरी आउनु भएको छ । बिर्तावालाले रै.प.नगरेको हुँदा मोहीले रै.प. गरी लिन पाउने जग्गा हो र कि.नं. ३५१ र ३५२ जग्गामा वादीको हक पुग्ने होइन । स्रेस्ता कायम भएको व्यक्तिको जग्गा भएकाले वादी दाबी बनावटी भएकाले खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी शारदा बुढाथोकीको मिति २०६५।४।२३ गतेको प्रतिउत्तर जिकिर । 

दाबीको कि.नं. १०६, १०७, १७८ र १८० को जग्गामा वादीको अंश हकै कायम हुनसक्ने नदेखिएकोले अंश हक कायम हुन नसक्ने जग्गा अंशबन्डाको २७ नं.बमोजिम दपोटसमेत ठहर्न नसक्ने हुँदा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६६।११।११ को फैसला ।

कि.नं. १०६, १०७, १७८ र १८० को जग्गा पिता गणेशबहादुरका नाममा रहेका पैतृक सम्पत्ति हुन् । तीमध्ये कि.नं १०६ र १०७ दर्ता हुन बाँकी जग्गा हुन् भने कि.नं. १७८ र १८० का जग्गा पिता गणेशबहादुरको नामबाट विपक्षी कृष्णबहादुरको नाममा कायम भई निजबाट कि.नं. १७८ मध्ये कित्ताकाट भई कि.नं. ३५१ माहिली बुढाथोकीको र कि.नं. ३५२ निज कृष्णबहादुरका नाममा कायम रहेको अवस्थामा उक्त कि.नं. का जग्गा सुरूको अंश मुद्दामा तायदाती फाँटवारीमा नदेखाई दबाई लुकाई राखेकाले अंश दपोट ठहर्‍याउनुपर्नेमा दाबी पुग्न नसक्ने ठहयाएको सुरू फैसला अंशबन्डाको २७ नं. विपरीत छ । पैतृक सम्पत्तिमा अंशियारको स्वतः अंश हक हुने हुँदा हक कायम गराई राख्‍नुपर्ने अवस्था नै रहँदैन । तसर्थ, सुरू फैसला बदर गरी दाबीबमोजिम दपोट ठहर्‍याई पाउँ भन्‍नेसमेत बेहोराको वादी विष्णुबहादुर बुढाथोकीको मिति २०६७।०६।०३ मा पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

विवादको जग्गामा निर्मलाको हक पुग्ने होइन, बिर्ता जग्गा हो । जोताहा मोहीको हैसियतले मैले जोत कमोद गरी रै.प.मा कारबाही चलाएको जग्गा 

हो । तसर्थ, मोही लागेको बिर्ता जग्गा देखिँदा दपोटमा लिएको दाबी खारेज हुने ठहर्छ भनी फैसला गर्नुपर्नेमा बिर्ता जग्गाका सम्बन्धमा नबोली लगाउको मुद्दामा निर्मला बुढाथोकीको नाममा दर्ता नामसारी हक कायम हुने ठहरी फैसला भएकोले भन्‍ने बुँदा उल्लेख गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्‍नेसमेत बेहोराको रामचन्द्र बुढाथोकीको मिति २०६७।०६।१९ मा पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा लगाउको दे.पु.नं. ०६७-DP-०३१५ को दर्ता नामसारी हक कायम मुद्दामा आजै प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा उक्त मुद्दाको अन्तरप्रभावी देखिँदा यसमा पनि छलफलको लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने मिति २०६८।५।८ को पुनरावेदन अदालत पाटनको 

आदेश ।

यसमा दिलबहादुर बुढाथोकी वादी र गणेशबहादुर बुढाथोकी प्रतिवादी भई चलेको अंश मुद्दामा रामचन्द्र बुढाथोकीसमेतका अन्य अंशियारहरूलाई अ.बं.१३९ नं.बमोजिम झिकाई बुझिँदा भरतबहादुर बुढाथोकीबाहेक अन्य हामी सबै अंशियारहरूले बाबुसँग पाउनुपर्ने सबै अंश भाग पाइसकेका छौं, पाउन बाँकी छैन भनी कागज गरेकाले मिति २०३१।१।१ देखि सबै अंशियारहरू छुट्टाछुट्टै खति उपति गरी आएको देखिई व्यवहार प्रमाणबाट पहिले नै छुट्टी भिन्‍न भएको देखिँदा अंश पाउँ भन्‍ने दाबी नपुग्ने ठहर फैसला गरेकोले यी पुनरावेदक रामचन्द्र बुढाथोकी अंश मुद्दा दिनुपूर्व नै बाबु गणेशबहादुरबाट घटिबढी जे भए पनि अंश लिई पाई छुट्टी भिन्‍न भएको देखिएको हुँदा निजले बाबु गणेशबहादुरको स्वर्गे भइसकेपछि प्रस्तुत दपोट मुद्दा दिन पाउने अवस्था देखिँदैन । तसर्थ, सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६९।६।१ मा भएको फैसला ।

यसमा सुरू भक्तपुर जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहर्‍याई गरेको फैसला सो हदसम्म मनासिब देखिएको भए पनि सोही फैसलाको पेटबोलीमा गणेशबहादुरको नामको जग्गा एकासगोलको बुहारीको नाताले निजको शेषपछि प्रतिवादी निर्मला बुढाथोकीको नाममा दर्ता नामसारी हक कायम हुने ठहरी लगाउको हक कायम मुद्दामा आजै फैसला भएकोले दाबी खारेज हुने भनी भएको फैसलाको सो बुँदासम्म मिलेको नदेखिँदा बदर गरिपाउँ भनी पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा मेरो पुनरावेदन जिकिरमा बोल्दै नबोली सुरू फैसला यथावत् कायम गर्ने गरी फैसला भएको देखिन आयो । यसरी मैले पुनरावेदन गरेको हदसम्म पुनरावेदन अदालत पाटनले गरेको फैसलाको ठहर खण्डमा कहीँकतै नबोली भएको उक्त फैसला अ.बं.१९२ नं.को रोहमा त्रुटिपूर्ण देखिन्छ । साथै विवादको जग्गा निर्मलाको हक पुग्ने जग्गा नभई बिर्ता जग्गा हो । जोताहा मोहीको हैसियतले मैले जोत कमोद गरी रै.प. दर्ताको लागि कारबाही चलाएको अवस्था छ । यसप्रकार मैले दिएको पुनरावेदन जिकिरको सम्बन्धमा न्यायिक मनको प्रयोग नगरी भएको उल्लिखित फैसला अ.बं. १८४(क) एवम् सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प. २०४१, नि.नं. २१०३, पृ.७६२ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क)(ख) को समेतका आधारमा मुद्दा दोहोर्‍याई हेरी सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला बदर गरिपाउँ भन्‍नेसमेत बेहोराको रामचन्द्र बुढाथोकीको तर्फबाट मिति २०६९।९।२४ मा यस अदालतमा परेको निवेदनपत्र ।

यसमा यसै लगाउको यिनै निवेदक र विपक्षी भएको ०६९-RI-१११६ को दर्ता नामसारी हक कायम मुद्दामा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्ने आदेश भएकोले प्रस्तुत मुद्दा पनि सोही मुद्दासँग अन्तरप्रभावी भएकोले सोही मुद्दामा उल्लिखित आधार कारणबाट प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गरी पेस गर्नु भन्‍ने मिति २०७१।२।१६ मा यस अदालतबाट भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको मिसिल तथा संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी "संभव" तथा विद्वान् अधिवक्ता श्री हरिकृष्ण कायस्थले विवादित कि.नं. १०६ र १०७ को जग्गा बिर्ता हो । सो जग्गाको मोही गणेशबहादुर रहेकोमा विवाद देखिँदैन । बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(४) र ७(क) बमोजिम बिर्ता जग्गा मोहीका नाममा मात्र रै.प. हुने कानूनी व्यवस्था रहेको परिप्रेक्ष्य्यमा मिति २०५०|१|२ मा गणेशबहादुर बुढाथोकीले रामचन्द्र बुढाथोकीलाई गरिदिएको बकसपत्रमा रामचन्द्र बुढाथोकीले निजलाई पालनपोषण गरेको भन्‍ने उल्लेख भएको तथ्यले गणेशबहादुर बुढाथोकीलाई रामचन्द्र बुढाथोकीले नै पालनपोषण गरेको देखिई निजको अपुताली रामचन्द्र बुढाथोकीले पाउने देखिन्छ । यसरी गणेशबहादुर बुढाथोकीको अपुताली पाउने यी पुनरावेदक रामचन्द्र बुढाथोकीले मोहीका हैसियतले उक्त जग्गा रै.प. दर्ताको लागि मालपोत कार्यालय भक्तपुरमा मिति २०६५।९।१३ मा निवेदन दिई कारबाही चलेको अवस्थामा गणेशबहादुर बुढाथोकीको सम्पत्तिमा रामचन्द्र बुढाथोकीको हक नलाग्ने भनी अंश दपोटलाई जायज ठहर्‍याई गरेको सुरू भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा बदर गरी पुनरावेदन मागबमोजिम गरिपाउँ भनी तथा प्रत्यर्थी प्रतिवादी निर्मला बुढाथोकीको तर्फबाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ता श्री कुश्माश्‍वर सापकोटाले गणेशबहादुर बुढाथोकी र भरतबहादुर बुढाथोकी सगोलमा रही अरू अंशियारहरू छुट्टी भिन्‍न भई अलग भएको तथ्य यसअघि चलेको अंश मुद्दाहरूमा रामचन्द्र बुढाथोकीले गरेको बयान, प्रतिउत्तपत्र र सर्वोच्च अदालतबाट उत्प्रेषणयुक्त परमादेशको रिट निवेदनमा भएको आदेशमा उल्लिखित बेहोराले समेत पुष्टि गरेकाले गणेशबहादुर बुढाथोकीको नाउँको सम्पत्ति भरतबहादुर बुढाथोकीबाहेक अरूले पाउने अवस्था रहेको नहुँदा अंशदपोट गरेको भन्‍ने जिकिर आधारविहीन रहेको देखिन्छ । अतः सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रस्तुत मुद्दामा सुरू भक्तपुर जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

यसमा स्व. गणेशबहादुर बुढाथोकी यी रामचन्द्र बुढाथोकीसमेतका छोराहरूसँग छुट्टी भिन्‍न भई कान्छो छोरा स्व. भरतबहादुर बुढाथोकीसँग सगोलमा बसेको अवस्था भई स्वतः गणेशबहादुर बुढाथोकीको अंश भागको सम्पत्ति भरतबहादुर बुढाथोकीको अंशमा सन्‍निहित हुने हुँदा छुट्टी भिन्‍न भई बसेका छोराहरू यी रामचन्द्र बुढाथोकीसमेतले गणेशबहादुर बुढाथोकीको सम्पत्तिमा अपुताली हक लाग्ने अवस्था नदेखिँदा विवादित जग्गाहरूमा निजहरूको हक कायम हुन सक्ने अवस्था नदेखिई स्व. भरतबहादुर बुढाथोकीको श्रीमती निर्मला बुढाथोकीको हक कायम हुने अवस्था देखिन आएकोले सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर चित्त नबुझाई विवादको जग्गा निर्मलाको हक पुग्ने होइन बिर्ता जग्गा हो । जोताहा मोहीको हैसियतले मैले जोत कमोद गरी रै.प.मा कारबाही चलाएको जग्गा हो । तसर्थ, मोही लागेको बिर्ता जग्गा देखिँदा दपोटमा लिएको दाबी खारेज हुने गरी फैसला गर्नुपर्नेमा बिर्ता जग्गाका सम्बन्धमा नबोली लगाउको मुद्दामा निर्मला बुढाथोकीको नाममा दर्ता नामसारी हक कायम हुने गरी फैसला भएकोले भन्‍ने बुँदा उल्लेख गरी भएको फैसलाको हदसम्म उक्त फैसला उल्टी गरी न्याय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक रामचन्द्र बुढाथोकीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाउन निवेदन परी उक्त निवेदनउपर यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई सुनुवाइको लागि पेस हुन आएको देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, वादी दिलबहादुर बुढाथोकी प्रतिवादी गणेशबहादुर बुढाथोकी भएको अंश मुद्दामा भएको फैसला बेहोरामा दिलबहादुरले गणेशबहादुरलाई मात्रै प्रतिवादी बनाई माताको स्वर्गे भइसकेको हामी ६ भाइ छोराहरू र पिता गणेशबहादुरसमेत अलग बस्ने भएकाले र रीतपूर्वक अंश गराई माग्दा नमानेकाले मिति २०२०।२।५ लाई मानो छुट्टिएको मिति कायम गरी ७ खण्डको १ खण्ड अंश दिलाइपाउँ भन्‍ने दाबी लिएकोमा गणेशबहादुरले मेरो पैतृक सम्पत्ति नभएको र आफ्नो पालामा आर्जेको सम्पत्ति खुस गर्न पाउने हुँदा कान्छो छोरा भरतबहादुर बुढाथोकीबाहेक सबै छोराहरूलाई अंशहक दिइसकेको छु । यी पुनरावेदक प्रतिवादी रामचन्द्र बुढाथोकीले पनि आफ्नो भाग लिई पाई भोग गरेको हुँदा अंश दिनुपर्ने होइन भनी र अ.बं. १३९ नं.बमोजिम बुझिएका अन्य प्रतिवादीहरू कृष्णबहादुर बुढाथोकी, गोविन्दबहादुर बुढाथोकी र विष्णुबहादुर बुढाथोकीसमेतले बयान गर्दा घरसारमै विभिन्‍न लिखतबाट हामी सबै छोराहरूले अंश पाइसकेका छौं, अंश पाउन बाँकी छैन भन्‍ने बेहोरा लेखाएको देखिन्छ । 

३. यसरी गणेशबहादुर बुढाथोकी र अन्य अंशियारहरूले अंश लिन दिन बाँकी छैन भन्‍ने जिकिर लिए पनि सुरू जिल्ला अदालतले गणेशबहादुर बुढाथोकीसँग तायदाती फाँटवारी माग्दा तायदातीमा जम्मा ३७ रोपनी १० आना जग्गा देखिई ७ भाग लगाउँदा एक अंशियारको भागमा ५ रोपनी ६ आना जग्गा पर्न आउने देखिएको र यी पुनरावेदक प्रतिवादी रामचन्द्र बुढाथोकीलगायत अन्य अंशियारहरूले घटीबढीसमेतलाई अंश पाएको स्वीकार गरेको र विष्णुबहादुर बुढाथोकीले ५ रोपनी ६ आनामध्ये ३ रोपनी अंश पाइसकेको र २ रोपनी ६ आना अंश पाउन बाँकी देखिएकाले उक्त नपुग अंशसम्म गणेशबहादुर बुढाथोकीको नाउँमा रहेको जग्गाबाट छुट्याइदिई चलन चलाइदिने गरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत पाटनबाट सदर भएको देखिन्छ ।

४. यसैगरी दिलबहादुर बुढाथोकी वादी भई चलेको अंश मुद्दामा यी पुनरावेदक रामचन्द्र बुढाथोकीले अ.बं. १३९ नं.बमोजिम बयान गर्दा प्रस्ट रूपमा बाबु गणेशबहादुरबाट पाउनुपर्ने अंश पाइसकेको छु, पाउन बाँकी छैन भन्‍ने बेहोरा लेखाएको आधारमा निजबाट तायदाती फाँटवारी माग नगरी गणेशबहादुर बुढाथोकीले पेस गरेको तायदाती फाँटवारीअनुसार सम्पूर्ण सम्पत्तिको हिसाब गरी अरू अंशियारले घटीबढी अंश पाएको भए पनि सोलाई नै स्वीकार गरी बसेकाले दिलबहादुर बुढाथोकीले हिसाबशान्ति पाउने २ रोपनी ६ आनासम्म थप अंश पाउने फैसला भएकाले उक्त मुद्दामा यी रामचन्द्र बुढाथोकीसमेत पहिले नै बाबुबाट अंश लिई व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको देखियो ।

५. अंश पाउने सम्पत्ति दबाए छिपाएको सम्बन्धमा प्रचलित कानून हेर्दा, मुलुकी ऐन अंशबन्डाको महलको २७ नं. मा “दबाए छिपाएको छैन भनी कागज गरिसकेपछि दबाए छिपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन । नदबाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन् । दबाए छिपाएकोमा सजाय हुँदैन" भन्‍ने र ऐ.३५ नं. ले “दबाए छिपाएको पाउँ भन्‍न आएमा भिन्‍नभिन्‍न जिउसम्म मात्र नालिस लाग्छ” भन्‍ने व्यवस्था रहेको देखिन्छ । मुनिलाल साह कानु विरूद्ध सुन्दरलाल साह कानुसमेत भएको अंश दपोट मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट “अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्‍नु अंशबन्डाको २७ नं. को आशयविपरीत हुने" (ने.का.प. २०४७, अङ्क ४, पृष्ठ ३५६, नि.नं. ४२२७) भनी र रामेश्‍वर यादवसमेत विरूद्ध रामलखन यादवसमेत भएको अंश दपोट मुद्दामा “अंशबन्डाको २७ नं. को व्यवस्था हेरिएमा दबाए छिपाएको छैन भनी कागज गरिसकेपछि दबाए छिपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन अरू नदबाउने अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन् भन्‍नेसमेतको व्यवस्था भएको पाइन्छ" (ने.का.प.२०४४, अङ्क ७, पृष्ठ ७५४, नि.नं. ३१५२) भन्‍ने नजिरसमेत कायम भएको देखिन्छ । उक्त कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट स्थापित नजिरले प्रस्ट रूपमा अंशबन्डाको २० र २१ नं. बमोजिम तायदाती फाँटवारी माग भई तायदाती दिनुपर्नेले तायदाती पेस गर्दा “दबाए छिपाएको छैन” भनी कागज गरिसकेपछि अंशबन्डा गर्नुपर्ने सम्पत्ति तायदाती फाँटवारीमा उल्लेख नगरी जानी जानी दबाइछिपाई खाने नियतले लुकाएको ठहरे त्यस्तो सम्पत्ति दबाउनेले नपाई नदबाउनेले पाउने र दबाए छिपाएको कुरामा भिन्‍नभिन्‍न जिउसम्म मात्र अर्थात् दबाउने व्यक्ति जीवित रहँदाकै अवस्थामा नालेस दिनुपर्ने भन्‍ने देखिन्छ । यस मुद्दाको तथ्य हेर्दा यी पुनरावेदकले दिलबहादुर वादी भई चलेको अंश मुद्दामा आफूले बाबुबाट पहिले नै अंशबापत जग्गा लिई पाई सकी लिन बाँकी छैन भनी बयान गरेको आधारमा व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको ठहर फैसला भएको कारणले उक्त मुद्दामा निजले तायदाती पेस गरी दबाए छिपाएको छैन भनी कागज गरेकोसमेत देखिँदैन भने सो मुद्दामा तायदाती फाँटवारी पेस गरी दबाए छिपाएको छैन भनी कागज गर्ने गणेशबहादुर बुढाथोकीको धेरै वर्षपहिले अर्थात् २०५५ सालमा स्वर्गे भइसकेकोले अंशबन्डाको ३५ नं.को हदम्यादभित्र पनि प्रस्तुत मुद्दा दायर भएको देखिँदैन । दबाए छिपाएको प्रश्‍न सबै अंशियारहरूबिच अंश मुद्दा चली सबैले अदालतको आदेशबमोजिम तायदाती फाँटवारी पेस गर्दा दबाए छिपाएको छैन भनी कागज गरेको तर अंशबन्डा गर्नुपर्ने सम्पत्ति नदेखाई दबाए छिपाएको अवस्थामा उपस्थित हुने विषय हो । अंश मुद्दा पर्दा व्यवहार प्रमाणबाट पहिले नै छुट्टी भिन्‍न भएको ठहर फैसला भएको अंशियारले दबाए छिपाएमा नालिस गर्न पाउने देखिँदैन ।

६. यसप्रकार माथि विवेचित मुद्दाको तथ्य, आधार र कारणबाट स्व. गणेशबहादुर बुढाथोकी यी रामचन्द्र बुढाथोकीसमेतका छोराहरूसँग छुट्टी भिन्‍न भई कान्छो छोरा स्व. भरतबहादुर बुढाथोकीसँग सगोलमा बसेको अवस्था भई माथि उल्लिखित कानूनी व्यवस्था र सिद्धान्तको आधारमा अंश दपोटको प्रश्‍न उठ्ने कानूनी आधार देखिँदैन । त्यसैले पुनरावेदन जिकिरअनुसार दबाई छिपाई अंश दपोट गरेको नठहरी स्वतः गणेशबहादुर बुढाथोकीको अंश भागको सम्पत्ति भरतबहादुर बुढाथोकीको अंशमा सन्‍निहित हुने हुँदा छुट्टी भिन्‍न भई बसेका छोराहरूसमेतको गणेशबहादुर बुढाथोकीको सम्पत्तिमा अंश दपोट हक लाग्ने अवस्था नदेखिँदा विवादित जग्गाहरूमा स्व. भरतबहादुर बुढाथोकीको श्रीमती निर्मला बुढाथोकीको हक कायम हुने अवस्था देखियो ।

७. तसर्थ, माथि विवेचित मुद्दाको तथ्य, आधार र कारणहरूबाट समेत सुरू भक्तपुर जिल्ला अदालतबाट उल्लिखित जग्गाहरूमा यी पुनरावेदक प्रतिवादीको समेत अंश हक कायम हुन सक्ने नदेखिएकोले अंश हक कायम हुन नसक्‍ने जग्गा अंशबन्डाको २७ नं.बमोजिम दपोट ठहर्न नसक्ने र विवादित जग्गा बिर्ता जग्गा नभएकोले यी पुनरावेदकको नाममा रै.प. दर्ता नहुने भई स्व. गणेशबहादुरसँगै सगोलमा बसेका स्व. भरतबहादुर बुढाथोकीको श्रीमती निर्मला बुढाथोकीको हक कायम हुने गरी भएको फैसलालाई सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०६९।६।१ मा भएको फैसला कानूनसम्मत मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर तथा मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिएको आधारसँग मिसिल सम्बद्ध मुद्दाको तथ्य र प्रमाणको आधारमा सहमत हुन नसकिई निजको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय माध्यममा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृतः गगनदेव महतो

इति संवत् २०७६ साल भाद्र १७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु