निर्णय नं. १०७१४ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७७।९।२८
०७५-CR-१३०७
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला साबिक रूद्रपुर गा.वि.स. वडा नं.२ हाल कन्चन गाउँपालिका वडा नं.३ मौजा पिपरीचापा घर भई हाल कारागार कार्यालय पाल्पामा थुनामा रहेकी शिला पुन बुढामगर
विरूद्ध
प्रत्यर्थी / वादी : कृष्ण बुढाको जाहेरीले नेपाल सरकार
आत्मरक्षाको अधिकार भन्नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउँछ । मृतकले ज्यानै लिन सक्ने स्थितिको सिर्जना रहेभएको भन्ने तथ्य स्थापित नभएको अवस्थामा आफ्नो ज्यानको रक्षाका लागि मृतकलाई धारिलो हतियार खुकुरी, फलामको हथौडाले टाउको अनुहार जस्ता शरीरको संवेदनशील अङ्गमा पटकपटक प्रहार गरेको सत्यतथ्य आत्मरक्षाको अधिकारभित्र नपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री वोर्णबहादुर कार्की र विद्वान् अधिवक्ताहरू श्री देवकुमार मोक्तान, श्री शिव अर्याल र श्री फडिन्द्र कार्की
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५१
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री शंकरराज बराल
रूपन्देही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री लोहितचन्द्र शाह
माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी
उच्च अदालत तुलसीपुर, बुटवल इजलास
फैसला
न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
तथ्य खण्ड
मिति २०७३/०९/११ को अं. ०१:०० बजे रूपन्देही जिल्ला रूद्रपुर गा.वि.स. वडा नं.२ पिपरीचापा स्थित पूर्व खेमबहादुर बोटेको घर, पश्चिम नरबहादुर बुढाथोकीको घर, उत्तरमा पिपरीचापा सामुदायिक वन, दक्षिण ओले बुढाको खेत यति चारकिल्लाभित्र पर्ने उत्तर मोहडा गरेको ३ तले पक्की घरको भुइँ तलाको पूर्वतर्फको कोठामा शिला पुन बुढामगरले आफ्नै पत्नी श्याम बुढालाई धारिलो हतियार खुकुरीसमेतले प्रहार गरी गम्भीर घाइते बनाएको भनिएको स्थान कोठामा पति श्याम बुढामगर, पत्नी शिला पुन बुढामगर घाउचोट लागि रगताम्य भई घाइते अवस्थामा भुइँमा पल्टिएका, विस्तरा रगतले भिजेको, भुइँमा समेत रगत लागेको, निज घाइते दुवैलाई तत्काल उपचारको लागि पठाइएको, सो कोठाबाट रगत जस्तो पदार्थ लागेका २ वटा मोबाइल चार्जर, फलामे हथौडा-१, धारिलो खुकुरी-१, विस्तराको कलेजी रंगको तन्ना-१, फुस्रो( खरानी) रङको ज्याकेट-१, जिन्स पाइन्ट-१ प्रहरीले सो स्थानबाट बरामद गरी उठाई लिई गएका भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०७३/०९/११ को अं ०१:०० बजे रूपन्देही जिल्ला रूद्रपुर गा.वि.स. वडा नं.२ पिपरीचापा स्थित आफ्नै घर कोठामा सुतेका मेरो भाइ वर्ष २३ को श्याम बुढालाई निजकी पत्नी मेरी बुहारी शिला पुन बुढामगरले मार्ने मनसायले धारिलो खुकुरीसमेतले मेरो भाइको संवेदनशील अङ्ग टाउको अनुहारसमेतमा प्रहार गरी गम्भीर घाइते बनाई आफूले आफ्नो हातमा समेत प्रहार गरेकी हुँदा दुवै जनालाई तत्काल उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याई उपचार गराउँदा निज भाइको मृत्यु भएको हुँदा निज बुहारी शिला पुन बुढामगरले मार्ने मनसाय राखी कर्तव्य गरी मारेकी हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कृष्ण बुढाको जाहेरी दरखास्त ।
लुम्बिनी अञ्चल अस्पताल, बुटवलको शव गृहमा राखिएको श्याम बुढाको लास हेर्दा शरीरको सम्पूर्ण भागमा रगत लागी सुकेको, टाउको पछाडिको चोटबाट रगत बगिरहेको, कपडामा पूरै रगत लागेको, टाउको पछाडिको भागमा १४ वटा ३/३ से.मि. लामो काटिएको चोट लागी रगत बगेको, टुप्पीको भागको २ वटा चोट जोडिएको ५ से.मि. लम्बाइ ४ से.मि. चौडाइ भएको, सोभित्र हड्डीसमेत काटिएको प्वाल रहेको देखिएको भन्ने लास जाँच प्रकृति मुचुल्का ।
कृष्ण बुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शिला पुन बुढामगर भएको कर्तव्य ज्यान मुद्दाको प्रतिवादी शिला पुन बुढामगर उपचारपश्चात् डिस्चार्ज भएकी हुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवलबाट निजलाई पक्राउ गरी दाखिला गरेका छौं भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
बायाँ हातको नाडीमा काटेको घाउहरू, बायाँ घुडामा समेत चोट रहेको देखिएको, अन्य शारीरिक तथा मानसिक अवस्था ठिक रहेको भन्ने प्रतिवादीको स्वास्थ परीक्षण प्रतिवेदन ।
पति श्याम बुढामगर र मेरो विवाह भएको घर परिवारलाई चित्त बुझेको रहेनछ । मैले पतिसँग मेरो विवाह दर्ता गराइदेउ, अलग्गै व्यावसाय गरी बसौं भन्दा घर परिवारबाट हुँदैन भनेपछि त्यतिकै रहेको थियो । मैले बाँसगढीमा पसल गरेको कुरासमेत परिवारलाई चित्त बुझेको थिएन । त्यसै क्रममा मिति २०७३/०९/१० को बेलुका खाना नखाई पति श्याम बुढामगर गाउँतिर मरी परेको स्थानमा गई मिति २०७३/०९/११ को अं ०१:०० बजेको समयमा घरमा आई कोठाभित्र पसेपछि, मैले काहाँ जानुभएको थियो ? किन यति रातिसम्म बस्नु भएको हो भनी सोध्दा आपसमा भनाभन वादविवाद भई धकेला धकेल हुन जाँदा, निज पतिले सिरानीमुनिबाट खुकुरी निकाली मलाई हान्न लागेपछि मेरो बायाँ हातको माझी औंलाको टुप्पोमा लागेको हुँदा मलाई रिस उठेपछि मैले कोठाको टेवलमाथि भएको फलामे हथौडाले निज पतिको टाउकोमा प्रहार गर्दा निज विस्तरा माथि लड्न गएपछि निजको हातैमा भएको उक्त फलामको धारिलो खुकुरी मैले तान्न खोस्न लाग्दा उक्त खुकुरीले मेरो बायाँ घुँडामा सामान्य र बायाँ हातमा अली बढी
काट्यो । त्यसपछि मैले निज पतिलाई टाउको अनुहारसमेतमा धेरै पटक उक्त धारिलो हतियार खुकुरीले प्रहार गर्दा निज घाइते भई छट्पटिँदै बिस्तराबाट तल भुइँमा खसी लडी छट्पटिएको अवस्थामा घरका अन्य परिवारले थाहा पाई हाम्रो कोठामा आएका हुन् । त्यसपछि मेरो हातबाट समेत रगत धेरै बगेको र कोठामा रगताम्य अवस्थामा पतिको त्यो अवस्था देख्दा मलाई रिँगटा लागी मसमेत पति लडेको ठाउँमा पल्टिएको कुरा याद छ । पछि होसमा आउँदा लुम्बिनी अञ्चल अस्पतालमा भएको र निज पति श्याम बुढामगरको मृत्यु भइसकेको कुरा थाहा पाएकी हुँ । मेरो हातमा समेत टाँका लगाई उपचारपश्चात् मिति-२०७३/०९/१२ मा मलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी शिला पुन बुढामगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
Massive Hemorrhage Following STAB Wound Injury over Head Leading to Cardio-Pulmonary arrest को कारणबाट श्याम बुढाको मृत्यु भएको भन्नेसमेतको शव परीक्षण प्रतिवेदन ।
Cut injury in wrist, Sharp object (khukuri) भन्नेसमेत बेहोराको प्रतिवादी शिला पुन बुढामगरको घाउ जाँच प्रतिवेदन ।
प्रतिवादी शिला पुन बुढामगरको तत्काल उपचार गर्दा लुम्बिनी अञ्चल अस्पतालमा फेरबदल गरिएका रगत जस्तो पदार्थ लागेका कलेजी रंगको सुरूवाल-१, पहेँलो रंगको स्वीटर-१, पहेँलो रंगको हाफ टिसर्ट-१ तथा सोही अस्पतालबाट मृतक र प्रतिवादीको शरीरबाट नमुनाको लागि निकालिएको १/१ सिसी रगत लिई दशी प्रमाणको लागि दाखिला गरिएको भन्ने प्रहरी प्रतिवेदन ।
मिति २०७३/०९/११ को बिहान अं ०१:०० बजे एक्कासी भुइँमा फलामको हतियार खसेको चर्को आवाज सुनी उठी हेर्न भनी तल छोरा श्यामको कोठामा आउँदा बुहारी शिलाले ए साले बोल्दैनस् भन्दै कराएको सुनी के भएछ भनी ढोका लात्तीले धकेली भित्र पसी हेर्दा बुहारी शिला पुन बुढाले छोरा श्याम बुढालाई धारिलो हतियार खुकुरी तथा फलामे हथौडाले अति संवेदनशील अङ्ग टाउकोसमेतमा प्रहार गरी रगताम्य भई बेहोस हुने गरी गम्भीर घाइते बनाई बिस्तराबाट भुइँमा लडाई पल्टाई निज बुहारीले उक्त खुकुरीले आफ्नो बायाँ हातसमेत आफैँले काटी दाहिने हातले खुकुरी समातेकी हुँदा मैले खुकुरी खोसी फालिदिएपछि निजसमेत छोरा पल्टिएको भुइँमा पल्टिन पुगिन् तत्काल दुवैलाई उपचारको लागि बुटवल लगिएकोमा निज छोराको सोही दिन मृत्यु भएको हो, प्रतिवादी बुहारीले पहिलादेखि नै मार्ने मनसाय राखी पूर्वयोजनाअनुसार उक्त खुकुरी र हथौडा आफ्नो सुत्ने कोठामा लगी राखेकी र छोरा श्याम बुढालाई पटकपटक खुकुरी र हथौडाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेकी हुँदा निजलाई कडा कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको ओले बुढाको घटना विवरण कागज ।
मिति २०७३/०९/११ मा अं ०१:०० बजे प्रतिवादी शिला पुन बुढामगरले मार्ने मनसाय राखी आफ्नो पति श्याम बुढालाई आफ्नै कोठामा धारिलो हतियार खुकुरी र फलामे हथौडाले प्रहार गरी गम्भीर घाइते बनाई सोही खुकुरीले आफ्नो बायाँ हातसमेतमा हानी घाइते भएकी हुँदा तत्काल दुवैलाई उपचारको लागि बुटवल पठाइएकोमा निज श्याम बुढाको सोही दिन मृत्यु भएको हो । निज प्रतिवादी शिला पुन बुढामगरले मार्ने मनसाय राखी खुकुरीसमेतले प्रहार गरेकोमा पूर्ण विश्वास लाग्दछ । निजले पूर्वयोजनाअनुसार उक्त हथौडा र खुकुरी आफ्नो कोठामा लगी राखेको
हुनुपर्दछ । यसरी पूर्वयोजनाअनुसार आफ्नै पतिलाई कर्तव्य गरी मार्ने यी प्रतिवादीलाई कडा सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको बुझिएका जुद्दबहादुर खाम्चासमेतका मानिसहरूको एकै मिलानको बेहोराको वस्तुस्थिति मुचुल्का कागज ।
प्रतिवादी शिला पुन बुढामगर भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा मृतक श्याम बुढा, प्रतिवादी शिला पुन बुढामगर सुकेको रगत लागेको तन्ना, बरामद खुकुरी तथा हथौडा, घाइते अवस्थामा समेत खिची हाल धुलाई गरी ल्याएको ८ प्रति फोटाहरू आवश्यक प्रमाणका लागि प्रतिवेदनसाथ पेस गरिएको छ । मिसिल संलग्न गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
प्रतिवादी शिला पुन बुढामगरले मृतक श्याम बुढामगरलाई धारिलो हतियार खुकुरी र जोखिमी हतियार फलामे हथौडाले टाउकोसमेतका शरीरका संवेदनशील अङ्गमा चोट प्रहार गरी कर्तव्य गरी मारेको तथ्य सप्रमाण पुष्टि हुन आई निज प्रतिवादी शिला पुन बुढामगरले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ (१) नं.बमोजिमको कसुर गरेकोले ऐ. ऐनको १३ (१) नं.बमोजिम सजायको मागदाबी लिई वादी नेपाल सरकारको तर्फबाट दायर हुन आएको अभियोग पत्र ।
मिति २०७३/०९/११ मा मेरो पति श्याम बुढामगर राति अबेर गरी ०१:०० बजेतिर घरमा आएका थिए । हाम्रो सल्लाहविना मेरो पतिलाई विदेश पठाउने विषयमा मेरो सबै परिवारसँग झगडा भएको थियो । उक्त राति छिमेकमा भएको वर्थडे पार्टीमा जाने विषयमा विवाद हुँदा मेरो पतिले मलाई धकेलेपछि हामी दुवैजना धकेला धकेल गर्यौं । पतिको हातको खुकुरी खोस्न खोज्दा मलाई खुकुरीले घुँडामा हानेका हुन् । अनि मैले टेवलमा भएको हथौडा समाती पतिको घाँटीमा हानेकी हुँ । त्यसपछि मैले खुकुरीले हानेको
हो । हान्दा टाउकोसमेतका अन्य भागमा कता कता लाग्यो थाहा भएन । मैले पटकपटक हानेकी हुँ कति पटक हानेँ थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी शिला पुन बुढामगरले सुरू अदालतमा गरेको बयान ।
मेरो छोरालाई प्रतिवादी शिला पुनले खुकुरी र घनले प्रहार गरी मारेकी हुन् । आवाज आएपछि म भित्र जाँदा प्रतिवादी शिला पुनले हातमा खुकुरी लिएकी थिइन् । उक्त खुकुरी प्रहार गरी मेरो छोराको कर्तव्य गरी मारेकी हुन् भन्नेसमेत बेहोराको ओले बुढाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी शिला पुनले मेरो भाइ श्याम बुढा राति सुतेको अवस्थामा खुकुरी प्रहार गरी मारेकी हुन् । उक्त कोठामा घन र खुकुरी थियो खुकुरी प्रहार गरी मेरो भाइको हत्या भएको हो भन्नेसमेत बेहोराको जाहेरवाला कृष्ण बुढाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी शिला पुन र मृतकबिच हानाहान भएको र आफ्नो ज्यान बचाउनको लागि प्रतिवादी शिला पुनले मृतकलाई हानेको होइन । दुवै जनाबिच पूर्वरिसइवी केही थिएन । दुवै जनाबिच तत्काल रिस उठी घटना घटेको हो भन्नेसमेत बेहोराको प्रतिवादी शिला पुन मगरको साक्षी मिना थापाले गरेको बकपत्र ।
घटनास्थल तथा लास विवरण मुचुल्का, शव परीक्षण प्रतिवेदन, मृतकका फोटोहरू, लास परीक्षण प्रतिवेदनसमेतले यी प्रतिवादी शिला पुनले लोग्ने श्याम बुढासँगको विवादले जोखिमी हतियार खुकुरीले पति श्याम बुढामगरको टाउकोमा पटकपटक प्रहार गरी कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले यी प्रतिवादी शिला पुन बुढामगरलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय १ नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७४/०४/२४ मा भएको फैसला ।
घटना वारदातको पृष्ठभूमि, घटना घटाउनुमा कसको भूमिकाको सुरूवात र कुन अवस्थामा प्रतिवादीले आत्मरक्षाको लागि प्रहार गर्नुपर्ने बाध्यताको सिर्जना भएको हो सोतर्फ विवेचना नै नगरी, नबुझ्ने प्रमाण बुझेको, त्रुटिपूर्ण आधार लिइएको, बुझिएका प्रमाणको उचित मूल्याङ्कन नगरिएको, प्रमाणको सतही अर्थ लगाइएको तथ्य र प्रमाणको विश्लेषण नै नगरी गरिएको सुरू रूपन्देही जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी म प्रतिवादीले सफाइ पाउने गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी शिला पुन बुढामगरको तर्फबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासमा परेको पुनरावेदन पत्र ।
यसमा मार्नेसम्मको योजना र मनसायको अभावमा प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहबाट फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं.२०२ नं. प्रयोजनार्थ प्रतिवादीको पुनरावेदनको प्रतिलिपिसहितको जानकारी उच्च सरकारी वकिल कार्यालय बुटवललाई दिनु र प्रस्तुत मुद्दामा प्रतिवादी थुनामा रहेको र प्रतिरक्षा गर्न कोही नआएको हुँदा प्रतिवादीलाई यो आदेशको जानकारी दिनु र निजको तर्फबाट प्रतिरक्षा गर्न यस अदालतका वैतनिक वकिललाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५/०१/०४ मा भएको आदेश मिसिल सामेल रहेको ।
प्रतिवादी शिला पुन बुढामगरले पति श्याम बुढालाई फलामको हथौडा र खुकुरीले प्रहार गरी सोही प्रहारको चोटबाट मृतकको मृत्यु भएको पुष्टि हुन आएकोले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७४/४/२४ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५/०३/३१ मा भएको फैसला ।
मृतक श्याम बुढामगर मेरो पति हुन् जोसँग मेरो प्रेम विवाह भएको थियो । निजले मलाई मार्नुपर्नेसम्मको रिसइवी, झैझगडा केही थिएन । मैले आशयपूर्ण तवरले मार्छु भन्ने नियतका साथ खुकुरी प्रहार गरेकी पनि होइन । मृतक पति घटना घटेको अघिल्लो दिन घरबाट हिँडी सोको भोलिपल्ट मिति २०७३/०९/११ गते रातिको १ बजे मात्रै घर फर्किएको हुँदा मैले के कति कारण, किन भन्ने प्रश्न सोध्ने क्रममा मृतकले झगडा गरी सिरानीमुनि राखिएको खुकुरी झिकी मलाई प्रहार गरेका हुन् । मैले तत्कालै केही सोच्न, बुझ्ने अथवा ज्यान बचाउन बाहिर भागी जाउँ भन्ने मनस्थितिमा नभई अचानक पर्न गएको सो परिस्थितिमा परेकी हुँदा टेबुलमा रहेको फलामे हथौडाले आफ्नो रक्षाका निम्ति मृतकलाई हान्न पुगेकी हुँ, मृतकको हातमा रहेको खुकुरीले के कसरी कति पटक मृतकलाई प्रहार गरेँ मलाई थाहा भएन, मसमेत घाइते भएको अवस्था थियो । अचानक घट्न गएको आवेगपूर्ण / आवेशपूर्ण दुर्घटनामा परी पतिको ज्यान गएकोमा मैले मनसायपूर्वक, नियतपूर्ण तवरबाट कर्तव्य गरी ज्यान मारेको मान्नु न्यायोचित हुँदैन । फौजदारी न्यायको सिद्धान्तअनुरूप कुनै पनि कसुर अपराध घट्नुको पछाडि पूर्वरिसइवी मनसाय, तयारी एवं उद्योगसम्मको कार्य गरिसकेको हुनुपर्दछ । मैले मृतक पतिकाउपरमा कुनै रिसइवी राख्नुपर्ने कारण नभएको र निजसँग रिसइवी राखेको भन्ने कहीँकतैबाट पुष्टि भएको छैन । मार्नेसम्मको योजना रहन्थ्यो भने निजले मेराउपरमा खुकुरी प्रहार नगर्दै मैले घर पस्नासाथ लुकीछिपी प्रहार गरी रातको समयमा कोही प्रत्यक्षदर्शी नभई म सो ठाउँबाट भागी जाने सम्भावना पनि रहन्थ्यो । म स्वयं पनि घाइते भई आएको अवस्थामा आवेशप्रेरित भई आफ्नो आत्मरक्षार्थ प्रहार गर्दा मृतक पति घाइते भई मृत्यु हुन गएको हुँदा मलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को परी अत्यन्त अन्याय हुने हुँदा सुरू जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी साबिक मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको प्रतिवादी शिला पुन बुढामगरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री वोर्णबहादुर कार्की र विद्वान् अधिवक्ताहरू श्री देवकुमार मोक्तान, श्री शिव अर्याल र श्री फडिन्द्र कार्कीले प्रतिवादीलाई मृतकले खुकुरीले प्रहार गरेपश्चात् आफ्नो रक्षाका लागि फलामे हथौडाले हान्दा आवेशपूर्ण दुर्घटना हुन गएको हो । प्रतिवादीले मृतक पतिकाउपरमा कुनै रिसइवी लिई नियतपूर्वक कर्तव्य गरेको भन्ने कहीँकतैबाट देखिँदैन । मनसाय राखी योजना बनाई मृतकलाई कर्तव्य गरेको भन्ने अवस्था नहुँदा प्रतिवादीले आफ्नो आत्मरक्षार्थ आवेशमा आई मृतकमाथि प्रहार गर्दा मृतक पतिको उपचारार्थ अवस्थामा मृत्यु हुन गएको हुँदा सर्वस्वसहित जन्मकैदको सजाय चर्को परी अत्यन्त अन्याय हुने भएकोले सुरू रूपन्देही जिल्ला अदालतबाट प्रतिवादीलाई दोषी करार गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको फैसलालाई उच्च अदालत तुलसीपुर, बुटवल इजलाससमेतबाट सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी भएको फैसला उल्टी गरी साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम मात्र सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रतिवादी शिला पुन बुढामगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. अनुसारको कसुरमा ऐ. को १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुने ठहर्याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७४/०४/२४ मा फैसला भएको देखियो । सो फैसलाउपर प्रतिवादीको चित्त नबुझी पुनरावेदन परेकोमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सुरू फैसला सदर हुने ठहर्याई मिति २०७५/०३/३१ मा भएको फैसलाउपर प्रतिवादी शिला पुन बुढामगरले साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिम सजाय गरिपाउँ भनी पुनरावेदनपत्र दर्ता भई यस इजलासमा निर्णयार्थ पेस हुन आएको देखियो ।
अब उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट भएको फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादी शिला पुन बुढामगरको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०७३/०९/११ मा बिहानको अं ०१:०० बजेको समयमा मृतक श्रीमान् श्याम बुढालाई प्रतिवादी शिला पुन बुढामगरले मार्ने मनसायले धारिलो हतियार खुकुरी र हथौडाले टाउको अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाई उपचारको क्रममा मृत्यु भएको हो भन्ने तथ्य सप्रमाण पुष्टि हुन आएकोले प्रतिवादी शिला पुन बुढामगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं.बमोजिमको कसुर गरेकोमा ऐ. १३(३) नं.बमोजिम सजायको अभियोग मागदाबी रहेको देखियो । सुरू रूपन्देही जिल्ला अदालतबाट निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी फैसला भएकोमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सुरू अदालतको फैसला सदर हुने गरी फैसला भएको र सो फैसलाउपर प्रतिवादी शिला पुन बुढामगरले साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम सजायको माग दाबी लिई यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।
३. प्रतिवादी शिला पुन बुढामगरले मृतक भाइ श्याम बुढामगरलाई मार्ने मनसायका साथ धारिलो हतियार खुकुरीले शरीरको संवेदनशील अङ्ग टाउको अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएकोले तत्काल उपचार गराउँदा गराउँदै मृत्यु भएकोले प्रतिवादीको कर्तव्यबाट भाइ श्याम बुढाको मृत्यु भएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने मौकामा किटानी जाहेरी दिएको देखिन्छ । प्रतिवादी शिला पुनले मृतक भाइको टाउको अनुहारमा खुकुरी प्रहार गरी मारेकी हुन् भनी जाहेरवाला कृष्ण बुढामगरले अदालतमा उपस्थित भई किटानी जाहेरी बेहोरालाई पुष्टि हुने गरी बकपत्रसमेत गरेको देखियो ।
४. प्रतिवादी शिला पुन बुढामगरले मिति २०७३/०९/११ गते बिहान ०१:०० बजेको समयमा मृतक पति श्याम बुढालाई कहाँ जानुभएको, किन यति रातिसम्म बसेको भन्ने कुरा सोध्दा आपसमा वादविवाद भई धकेलाधकेल हुन जाँदा श्रीमान्ले सिरानीमुनिबाट खुकुरी निकाली प्रहार गरेपछि मैले पनि टेवुलमा रहेको फलामको हथौडाले श्रीमान्को टाउकोमा हिर्काएँ । त्यसपछि अनुहारसमेतमा धारिलो खुकुरीले पटकपटक गरी प्रहार गरेकी हुँ भनी अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुरमा साबिती बयान गरेको देखिन्छ । मैले पहिला हथौडाले मृतक पति श्याम बुढाको घाँटीमा हानेकी हुँ, त्यसपछि खुकुरीले टाउकोसमेतका अन्य भागमा पटकपटक हानेकी हुँ भनी प्रतिवादीले मौकामा गरेको साबिती बयान साथै जाहेरवालाको किटानी जाहेरी बेहोरालाई समर्थन गरी अदालतसमक्ष उपस्थित भई बकपत्र गरेको देखिन्छ ।
५. मृतक श्याम बुढामगरलाई प्रतिवादीले घारिलो हतियार खुकुरी तथा फलामको हथौंडाले मृतकको संवेदनशील अङ्ग टाउको, अनुहारमा पटकपटक प्रहार गरी सख्त घाइते बनाई सोही चोट पीरको कारण मृतकको मृत्यु भएको हो भनी स्वतन्त्र अदालतमा उपस्थित भई प्रतिवादी शिला पुन बुढामगरले गरेको साबिती बयान बेहोरा, घटनास्थल प्रकृति मुचुल्का र मृतक श्याम बुढामगरको "Massive Hemorrhage Following Stand Wound Injury ovec Head Leadings to Cardio-Pulmonary arrest " को कारणबाट मृत्यु भएको भन्ने बेहोराको शव परीक्षण प्रतिवेदन र Cut injury in wrist, Sharp object (khukuri) भन्ने उल्लेख भएको प्रतिवादी शिला पुन बुढामगरको घाउ जाँच प्रतिवेदनसमेतबाट यी प्रतिवादी शिला पुन बुढामगरको कर्तव्यबाट मृतक श्याम बुढाको मृत्यु भएको भन्ने देखिन आयो ।
६. प्रमाण ऐन, २०३१ को दफा १८ मा “ कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्थासमेतको आधारमा साक्षीका रूपमा लिएका मौकामा कागज गर्ने ओले बुढाले वारदातको समयमा आफू घरमा नै थिएँ, कोठाबाट आवाज आएपछि म ढोका खोलेर भित्र जाँदा प्रतिवादी शिला पुनले हातमा खुकुरी लिएकी थिइन् सो खुकुरी मैले खोसी फालिदिएँ, प्रतिवादी शिला पुनले उक्त खुकुरी प्रहार गरी मेरो छोरा मृतक श्याम बुढालाई कर्तव्य गरी मारेकी हुन् भनी अदालतमा उपस्थित भई मौकामा भएको घटना विवरणलाई पुष्टि हुने गरी गरिदिएको बकपत्र तथा जाहेरवाला कृष्ण बुढासमेतले किटानी जाहेरी बेहोरालाई पुष्टि हुने गरी गरेको बकपत्रलाई प्रतिवादीले अकाट्य प्रमाणबाट अन्यथा हो भनी प्रमाणित गर्न नसकेको अवस्थामा सो कुराहरू प्रमाणको रूपमा ग्राह्य हुने हुँदा प्रतिवादी शिला पुन बुढामगर आरोपित कसुरका कसुरदार भन्ने नै देखिन्छ ।
७. मैले मनसायपूर्वक, नियतपूर्ण तवरबाट कर्तव्य गरी मारेको होइन अचानक घट्न गएको आवेगपूर्ण दुर्घटनामा मैले आवेशप्रेरित भई आफ्नो आत्मरक्षार्थ खुकुरी प्रहार गर्दा मृतक पति घाइते भई मृत्यु भएको हुँदा मलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा पेस भएको पुनरावेदन जिकिरतर्फ हेर्दा- प्रतिवादीले आत्मरक्षाको अधिकार प्रयोग गर्न पाउने सम्बन्धमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. को कानूनी व्यवस्था हेर्दा "कसैले हात हतियार लिर्इ वा नलिर्इ आफ्नो ज्यान लिनासम्मको जोरजुलुम गर्न लागेकोमा त्यस्तालार्इ पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउनसमेत फुर्सत नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भर्इ ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेमा" ज्यानमाराको बात लाग्दैन भन्ने उल्लेख भएको
पाइन्छ । आत्मरक्षाको अधिकार भन्नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउँछ । मृतकले ज्यानै लिन सक्ने स्थितिको सिर्जना रहेभएको भन्ने तथ्य स्थापित नभएको अवस्थामा मैलै आफ्नो ज्यानको रक्षाका लागि मृतकलाई धारिलो हतियार खुकुरी, फलामको हथौडाले टाउको अनुहार जस्ता शरीरको संवेदनशील अङ्गमा पटकपटक प्रहार गरेको सत्यतथ्य आत्मरक्षाको अधिकारभित्र पर्ने देखिँदैन ।
८. प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार कानूनबमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने छ भन्ने कानूनी व्यवस्था भएअनुसार प्रतिवादीले आफ्नो ज्यानको जोखिम भएको अवस्थामा प्रस्तुत वारदात हुन गएको हो भनी निजले आत्मरक्षार्थको जिकिरलाई पुष्ट्याईं गर्ने कुनै सबुद प्रमाण पेस गर्न सकेको
पाइँदैन । नेपाल सरकार विरूद्ध राजु बोगटी ( ने.का.प. २०७६, अङ्क ९, नि.नं.१०३५१) भएको मुद्दामा "आत्मरक्षाको अधिकार भन्नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउने ।" भनी सिद्धान्त प्रतिपादित भएको अवस्थासमेतका आधारमा यी प्रतिवादीउपर आरोपित कसुरलाई पुष्टि गर्ने विश्वसनीय आधार र प्रमाण प्रतिवादीले पेस गर्न सकेको छैन । मृतक श्याम बुढामगरको गैरकानूनी आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने अवस्थामा मृतकलार्इ धारिलो हतियार खुकुरी, हथौडा प्रहार गरेको हो भन्ने वस्तुनिष्ठ आधार प्रमाण पेस गरी पुनरावेदन जिकिरलाई पुष्ट्याईं गर्न सकेको मिसिलबाट देखिँदैन । प्रतिवादीले आत्मरक्षार्थको सुविधा पाउनुपर्ने अवस्थाको विद्यमानता भएको स्थापित गर्न सक्नुपर्छ दाबी लिनु मात्रै दायित्वबाट उन्मुक्तिको आधार हुन सक्दैन ।
९. मृतक श्याम बुढाले सिरानीबाट खुकुरी निकाली हान्न खोजेको अवस्थामा आफ्नो ज्यान बचाउन उक्त कर्तव्य हुन गएको हो । साथै मृतकसँग कुनै रिसइवी नभएको, तत्काल उठेको रिस थाम्न नसकी आवेशमा आई वारदात घट्न गएको हुँदा सर्वस्वसहित जन्मकैद सजाय चर्को परेकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर हुँदा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम "ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक आधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ ।" भन्ने कानूनी व्यवस्था देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार मृतकसँग कुनै रिसइवी नभएको, मार्ने मनसाय नभएको, जोखिम हतियार प्रयोग नभएको, तत्काल उठेको रिस थाम्न नसकी आवेशमा आई वारदात घट्न गएको हो भन्ने अवस्थालाई पुष्टि गर्न प्रतिवादी शिला पुन बुढामगरले यथेष्ट प्रमाणहरू पेस गर्न सकेको
देखिएन । प्रतिवादीले मृतक श्याम बुढालाई मनसाय नराखी आवेशप्रेरितबाट मृत्यु हुन गएकोले सजाय कम गरी पाउन भन्ने पुनरावेदन जिकिरलाई पुष्टि हुने वस्तुनिष्ठ एवं ठोस सबुद प्रमाण मिसिल संलग्न कागजातबाट देखिन आएन ।
१०. वारदात बिहानको ०१:०० बजेको समयमा प्रतिवादीले मृतकलाई घरमा किन ढिलो आएको भन्ने विषयमा भनाभन भई वारदात घट्न गएको अवस्था देखिन्छ । प्रतिवादी र मृतक एकआपसमा वादविवाद भई मृतकले सिरानीमुनि रहेको खुकुरी निकाली हान्ने प्रयास गर्दा प्रतिवादीले टेवलमाथि रहेको फलामको हथौडाले मृतकको संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी पुनः मृतकको हातबाट धारिलो हतियार खुकुरी खोसी अनुहार टाउकोमा पटकपटक प्रहार गरी घाइते बनाई उपचार गर्ने क्रममा मृतकको मृत्यु भएको हो भन्ने बेहोरा प्रतिवादीको भनाइबाट देखिएको छ । साथै जाहेरवाला तथा प्रतिवादीको अनुसन्धानको क्रममा तथा अदालतमा गरेको बयान बेहोरा र वारदातको प्रकृति, परिणाम, घटनास्थल मुचुल्कामा बुझिएका मानिसले गरेको कागज, प्रतिवादीको घाउजाँच प्रतिवेदन तथा शव परीक्षण प्रतिवेदन बेहोरासमेतबाट प्रतिवादीले मृतकलाई ज्यान मार्ने मनसाय राखी आक्रमण गरेको वारदात स्थापित भइरहेको अवस्थामा प्रतिवादीले मृतकलाई मार्ने मनसाय नराखेको, आवेशमा आई वारदात भएको हो भन्ने तथ्य विश्वसनीय देखिँदैन ।
११. मृतक श्याम बुढामगरलाई मरणासन्न हुने गरी टाउको अनुहारमा पटकपटक खुकुरी तथा हथौडा प्रहार गर्दा श्रीमान् रगतपच्छे भई बोल्न छोडी भुइँमा ढलेपछि प्रहार गर्न छोडेको हुँ भनी अनुसन्धान तथा अदालतमा आरोपित कसुरलाई स्वीकार गरी गरेको बयान बेहोराबाट यी प्रतिवादीले मृतकलाई मार्ने नियत राखी धारिलो हतियार खुकुरी तथा फलामको हथौडा प्रहार गरेको देखिन्छ । उक्त अवस्थाको परिकल्पना गर्दा मृतक श्याम बुढा खुकुरी लिई प्रतिवादीमाथि जाइलाग्दा प्रतिवादीले मृतकको हातबाट खुकुरी खोसेको, मृतकबाट प्रतिवादीको ज्यान जान सक्ने अवस्थाको सिर्जना भएको रहेछ भनी मान्न सक्ने अवस्था देखिएन । यी प्रतिवादीलाई रिस उठ्यो भन्दैमा आफू भाग्न सक्ने अवस्था हुँदाहुँदै अर्काको ज्यान लिने गरी गरिएको अपराधलाई आवेशप्रेरितमा हत्या भएको हो भनी स्वीकार गर्न मिल्दैन ।
१२. उल्लिखित वारदातमा प्रतिवादीको ज्यानै जान सक्ने परिस्थिति नदेखिएको अवस्थामा मृतकलार्इ धारिलो हतियार खुकुरी, फलामको हथौडाले टाउको अनुहारजस्तो संवेदनशील अङ्गमा पटकपटक प्रहार गरी सोही चोट पीडाको कारण मृतकको मृत्यु भएको भन्ने घटनास्थल प्रकृति, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको भनाइ तथा शव परीक्षण प्रतिवेदनसमेतबाट देखिन्छ । प्रतिवादी शिला पुन बुढामगरले धारिलो हतियार प्रयोग गरी मृतक श्याम बुढामगरको मृत्यु भएको भन्ने देखिइरहेको हुँदा सो कानूनी व्यवस्थाअनुसार प्रस्तुत वारदातमा प्रतिवादी शिला पुन बुढामगरले आत्मरक्षार्थको जिकिर लिन सक्ने अवस्था सिर्जना भएको थियो भनी अनुमान गर्नु न्यायसङ्गत हुँदैन ।
१३. प्रतिवादी र मृतकबिच किन ढिलो आएको भन्ने विषयमा वादविवाद हुँदा प्रतिवादी शिला पुन बुढामगरले मृतक पति श्याम बुढालाई टाउको तथा अनुहारमा पटकपटक धारिलो हतियार खुकुरी र फलामको हथौडाले प्रहार गर्दा मृतकको मृत्यु भएको प्रस्तुत वारदातमा हाल आएर मनसायपूर्वक तथा नियतपूर्वक मृतक पतिलाई मार्नुपर्नेसम्मको कुनै रिसइवी नभएको केवल आवेशप्रेरित भई आफ्नो आत्मरक्षार्थको लागि मृतकमाथि खुकुरी हथौडा प्रहार गरेको अवस्थामा सर्वस्वसहित जन्मकैद सजाय चर्को परेकोले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम सजाय गरिपाउँ भनी लिएको जिकिर वस्तुनिष्ठ नदेखिएको अवस्थामा आधार प्रमाणविना ज्यानमाराको बात नलाग्ने भनी प्रस्तुत वारदातलार्इ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. प्रयोग गरी प्रतिवादीलार्इ मृतक श्याम बुढालाई मार्नेसम्मको आपराधिक कार्य गर्ने मनसाय यी प्रतिवादीमा रहेको देखिइरहेको अवस्थामा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर तथा विद्वान् कानून व्यवसायीहरूको बहस जिकिरसँग सहमत हुन सकिएन ।
१४. माथि विवेचित तथ्यगत आधार र कारणसमेतबाट प्रतिवादी शिला पुन बुढामगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.बमोजिमको कसुर गरेको ठहर्याई सोही महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद सजाय हुने भनी सुरू रूपन्देही जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट फैसला भएको देखिएकोमा केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२) (ख) ले सर्वस्वको सजाय कायम रहन सक्ने देखिन आएन । सोबाहेक प्रतिवादी शिला पुन बुढामगरलाई जन्मकैदको सजाय हुने गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५/०३/३१ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी शिला पुन बुढामगरलाई सर्वस्वको सजाय नहुने भएकाले सर्वस्व गर्ने गरी कसेको लगत संशोधन गरी जन्मकैदको लगत कसी असुलउपर गर्नु भनी सुरू रूपन्देही जिल्ला अदालतमा लेखी पठाउनू ।
२. प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी कारागार कार्यालय पाल्पामा थुनामा प्रतिवादी शिला पुन बुढामगरलाई दिनू ।
३. सरोकारवालाले फैसलाको प्रतिलिपि माग गर्न आएमा नियमानुसार गरिदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृत:- ऋतु राई
इति संवत् २०७७ साल पौष २८ गते रोज ३ शुभम् ।