शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७१८ - बहुविवाह

भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका 

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७७।१०।२०

०७३-CR-०५०९

 

मुद्दा: बहुविवाह

 

पुनरावेदक / प्रतिवादी : भीमबहादुरको छोरा, ओखलढुङ्गा जिल्ला, नर्मदेश्‍वर गा.वि.स. वडा नं. ३ घर भई हाल रामेछाप जिल्ला, साँघुटार गा.वि.स. वडा नं. १ बस्ने सोकर्ण श्रेष्‍ठ

विरूद्ध

प्रत्यर्थी / वादी : राजकुमारको पत्‍नी रामेछाप जिल्ला, साँघुटार गा.वि.स. वडा नं. १ बस्ने मायादेवी श्रेष्‍ठको जाहेरीले नेपाल सरकार

 

हदम्याद र हकदैयासम्बन्धी कानूनी प्रश्‍नमा मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि उक्त अदालतले सो सम्बन्धमा निर्णय गर्न सक्ने नै 

देखिन्छ । मुद्दामा हदम्याद र हकदैयाको प्रश्‍न समावेश भएको देखिएमा मुद्दा जुनसुकै तहमा विचाराधीन रहेको भए तापनि पहिले हदम्याद र हकदैयाको सम्बन्धमा निर्णय गरेपछि मात्र मुद्दाको विषयमा प्रवेश गर्नुपर्ने । कानूनले कुनै मुद्दा दायर गर्नुपर्ने समय सीमा हदम्याद तोकेको छ भने सो तोकिएको हदम्यादभित्र मुद्दा अनिवार्य रूपमा दायर भइसकेको हुनुपर्ने । 

जुनसुकै मुद्दा जहिलेसुकै पनि दायर गर्न सकिने भए कानूनले नै हदम्यादसम्बन्धी व्यवस्था गर्नु आवश्यक नै नहुने । मुद्दा जहिलेसुकै लाग्छ भन्‍ने सोच नहोस् अर्थात् मुद्दा पर्ने अवधि अनिश्‍चित नहोस् भन्‍ने मनसाय राखेर नै विधायिकाले कानूनमा हदम्यादको व्यवस्था गरेको हुने । यदि कुनै मुद्दा दायर गर्न हदम्याद कानूनले तोकेको छ भने मुद्दा गर्ने पक्ष चाहे त्यो व्यक्ति होस् वा सरकारी निकाय नै किन नहोस् त्यस्ले कानूनले तोकेको हदम्यादभित्र अनिवार्य रूपमा उक्त मुद्दा दायर गरिसक्नुपर्ने । यदि कसैले हदम्याद नाघेर मुद्दा दर्ता गराउन ल्याउँछ भने त्यसलाई अदालतले मद्दत गर्न नसक्ने ।

(प्रकरण नं.११)

तत्काल विद्यमान सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ अनुसार बहुविवाह मुद्दा सरकार वादी हुने फौजदारी मुद्दा भएको र सरकारवादी फौजदारी मुद्दामा जाहेरी दरखास्त परेपछि प्रहरी कार्यालयले कानूनले तोकेबमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनुपर्ने देखिएमा हदम्यादभित्र सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरी कसुरदारलाई सजाय दिलाउने निजको कर्तव्य हुन्छ । जाहेरी दरखास्त परेपछि कानूनबमोजिम अनुसन्धान तहकिकात नगरी प्रहरी कार्यालयले त्यसै बस्न मिल्ने नदेखिने ।

(प्रकरण नं.१४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल र विद्वान्‌ अधिवक्ता श्री शंकर सुवेदी

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी

अवलम्बित नजिर :

ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७८

सम्बद्ध कानून :

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९

 

सुरू तहमा फैसला गर्ने :

मा.जिल्ला न्या. श्री किरणप्रसाद शिवाकोटी

ओखलढुङ्गा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की

माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.मीरा खडका : यस अदालतबाट तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

म जाहेरवालाको बहिनी अञ्‍जना श्रेष्‍ठ र सोकर्ण श्रेष्‍ठबिच २०५७।११।२७ मा विवाह भई निजको सहवासबाट मिति २०५९।०८।२६ मा एक छोराको जन्म भएको प्रतिवादी नीता मगर (श्रेष्‍ठ) समेत लाई थाहा थियो । सो थाहा हुँदाहुँदै नीता मगर र सोकर्ण श्रेष्‍ठले मेरी बहिनी अञ्‍जना श्रेष्‍ठ काठमाडौं रहे भएको मौका पारी मिति २०६५।०१।१५ गते ओखलढुङ्गा नर्मदेश्वर गा.वि.स. वडा नं. २ स्थित मन्दिरमा गई सिन्दुर पोते लिनुदिनु गरी सोकर्ण श्रेष्‍ठ र नीता मगर (श्रेष्‍ठ) ले जानी बुझी बहुविवाह गरेको हुँदा बुझ्नुपर्ने प्रमाण बुझी निज प्रतिवादीहरूलाई हदैसम्मको कानूनी कारबाही गरिपाउँ भन्‍ने सोकर्ण श्रेष्‍ठको जेठीसासू मायादेवी श्रेष्‍ठको जाहेरी दरखास्त । 

ओखलढुङ्गा जिल्ला, नर्मदेश्वर गा.वि.स. वडा नं. २ स्थित पूर्वमा ताराबहादुर मगरको घर पश्‍चिममा नमर्देश्‍वर खोला उत्तर र दक्षिणमा लिखु खोला यति ४ किल्लाभित्रको नर्मदेश्‍वर महादेव मन्दिरमा मिति २०६५।०१।१५ गते सोकर्ण श्रेष्‍ठले नीता मगरलाई दोस्रो श्रीमतीको रूपमा विवाह गरी कान्छी श्रीमती बनाएको भन्‍नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । 

प्रतिवादी सोकर्ण श्रेष्‍ठ र नीता मगरलाई खोजतलास गर्दा फेला नपरेको, जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठ पनि गाउँघरमा नभएको निजहरूलाई सम्पर्कमा ल्याउन नसकिएको भन्‍नेसमेत बेहोराको भीमबहादुर बस्नेतसमेतको संयुक्त प्रतिवेदन । 

जाहेरवालाको बहिनी अञ्‍जना श्रेष्‍ठ र प्रतिवादी सोकर्ण श्रेष्‍ठबिचमा सामाजिक परम्पराअनुसार २०५७।११।२७ गते विवाह भई निजहरूको सहवासबाट एक छोराको जन्म भएको 

छ । सोकर्ण श्रेष्‍ठले मिति २०६५।०१।१५ गतेका दिन नीता मगरलाई फकाई फुल्याई मन्दिरमा ल्याई सिन्दुर पोते दिई विवाह गरेका हुन्‌ । नीता मगरलाई सोकर्ण श्रेष्‍ठको जेठी पत्‍नी र छोरासमेत छ भन्‍ने कुरा थाहा थियो । जाहेरीमा उल्लिखित फोटो सोकर्ण श्रेष्‍ठ र अञ्‍जना श्रेष्‍ठबिच विवाह हुँदा खिचेको र छोरासँग बसेको फोटो हुन् भन्‍नेसमेत बेहोराको सन्दकुमार खड्काले गरेको कागज ।

मिति २०५७।११।२७ मा सोकर्ण श्रेष्‍ठले अञ्‍जना श्रेष्‍ठसँग परम्पराअनुसार मागी विवाह गरेका हुन् । निजहरूबाट १ (एक) छोरा विशाल श्रेष्‍ठको जन्म भएको छ । सोकर्ण श्रेष्‍ठले जेठी श्रीमती हुँदाहुँदै र नीता मगर श्रेष्‍ठले पनि सोकर्णको श्रीमती र १ छोरा छ भन्‍ने थाहा हुँदाहुँदै सोकर्ण श्रेष्‍ठ र नीता मगरले २०६५।०१।१५ गतेका दिन सिन्दुर पोते लिनुदिनु गरी बहुविवाह गरेका हुन्‌ भन्‍नेसमेत एकै मिलान बेहोराको वेदबहादुर श्रेष्‍ठ, रूद्रबहादुर घिमिरे र भीमबहादुर श्रेष्‍ठसमेतले गरेको छुट्टाछुट्टै कागज । 

प्रतिवादी सोकर्ण श्रेष्‍ठले जाहेरवालाको बहिनी अञ्‍जना श्रेष्‍ठसँग मिति २०५७।११।२७ गतेका दिन जातीय रीतिरिवाजअनुसार विवाह गरी मिति २०५९।०८।२६ मा निजहरूबाट १ छोराको जन्म भएको छ । मिति २०६५।०१।१५ गते सोकर्ण श्रेष्‍ठले पहिलो श्रीमती अञ्‍जना श्रेष्‍ठ हुँदाहुँदै दोस्रो श्रीमतीको रूपमा नीता मगरसँग विवाह गरी दुवै जनाले बहुविवाहको अपराध गरेको ठिक साँचो हो भन्‍नेसमेत बेहोराको दिनानाथ ढुंगेलसमेत ३ जनाले एकै मिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी सोकर्ण श्रेष्‍ठ र अञ्‍जना श्रेष्‍ठ, बिचमा मिति २०५७।११।२८ मा सामाजिक परम्पराअनुसार र त्यसै गरी प्रतिवादी सोकर्ण र नीता मगरबिच २०६४।११।२८ गते विवाह भएको हो । प्रतिवादी सोकर्ण श्रेष्‍ठ र अञ्‍जना श्रेष्‍ठबिचबाट मिति २०५९।०८।२६ मा एक छोरा विशाल श्रेष्‍ठको जन्म भएको हो भन्‍नेसमेत बेहोराको स्थानीय पञ्जिकाधिकारीको कार्यालय, नर्मदेश्वर गा.वि.स. को कार्यालयबाट जारी गरिएका विवाह दर्ता तथा जन्मदर्ताको बेहोराको पुष्‍ट्याईं हुने गरी नर्मदेश्वर गा.वि.स. को कार्यालय ओखलढुङ्गाबाट पठाएको च.नं. ९१ मिति २०६६।०२।१३ गतेको पत्र ।

प्रतिवादी सोकर्ण श्रेष्‍ठले श्रीमती र छोरा हुँदाहुँदै अर्को श्रीमती विवाह गरेको र प्रतिवादी नीता मगरले पनि सोकर्ण श्रेष्‍ठको श्रीमती र छोरा छ भन्‍ने कुरा थाहा हुँदाहुँदै पनि एकापसमा मिली दुवै प्रतिवादीले एकापसमा लोग्ने स्वास्नी भई बसेको हुँदा प्रतिवादीहरूमध्ये सोकर्ण श्रेष्‍ठले मुलकी ऐन, विवाहवारीको ९ र ९(क) नं. अनुसारको कसुर अपराध गरेको र नीता मगर (श्रेष्‍ठ) ले ऐ.ऐन महलको १० नं. अनुसारको कसुर अपराध गरेको हुँदा प्रतिवादीहरूलाई सोही ऐन महलको १० नं.बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी । 

मैले दोस्रो विवाह नीता मगरसँग गरेको ठिक हो । जेठी श्रीमतीले छोडेको ५ वर्षपछि मैले अर्को विवाह गरेको हो । जेठी श्रीमती घरमा नआउने, माइतमा नै बस्ने, छोरालाई अनाथालयमा राख्‍ने, गुण्डा लगाएर मलाई कुटाउने र मेरो सम्पत्तिसमेत लुटी माइतमा नै लाने र जेठी श्रीमतीले घर व्यवहार लथालिङ्ग पारेको हुनाले मैले दोस्रो विवाह गरेको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी सोकर्ण श्रेष्‍ठले अदालतसमक्ष गरेको बयान ।

प्रतिवादी सोकर्ण श्रेष्‍ठले पहिलो पत्‍नी हुँदाहुँदै दोस्रो विवाह गरी बहुविवाह गरेकोमा साबित रही बयान गरेको देखिँदा यी प्रतिवादी कसुरदार होइनन् भनी मान्‍न सक्ने अवस्था विद्यमान नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई मुलुकी ऐन, अ.बं.११८(५) बमोजिम प्रतिवादीबाट रू.१५,०००।- (पन्ध्र हजार रूपैयाँ) नगद, धरौट वा जमानत लिई तारेखमा राख्‍नु भन्‍नेसमेत बेहोराको सुरू अदालतको मिति २०६७।०५।२३ भएको थुनछेकको आदेश ।

प्रतिवादीको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठ श्रीमान्‌सँग नबसी आफ्नो दिदीसँग बसेको, प्रतिवादीले लिन जाँदा इन्कार गरी पति मरेको भनी छोरालाई अनाथालयमा राखेको, पतिलाई गुण्डा लगाई कुटपिट गराएकोले यी प्रतिवादीले बाध्य भएर दोस्रो विवाह गरेको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी सोकर्ण श्रेष्‍ठका साक्षी थीरबहादुर जोगीले अदालतमा गरेको बकपत्र । 

नीता मगरसँग विवाह हुनुभन्दा अगाडि अञ्‍जना श्रेष्‍ठ काठमाडौं गई बसेकी हुन् । बाध्यता भएर सोकर्ण श्रेष्‍ठले दोस्रो विवाह गरेको हो । सोकर्ण श्रेष्‍ठलाई दुःख दिने नियतले नै दिदीले निजलाई मुद्दा दिएको हो भन्‍नेसमेत बेहोराको बुझिएका व्यक्ति रूद्रबहादुर घिमिरेले गरेको बकपत्र । 

सुरू अदालतबाट जारी म्याद मिति २०६७।०३।२७ मा प्रतिवादी नीता मगर आफैँले बुझे पनि म्यादै गुजारी बसेको पाइन्छ । 

प्रतिवादी सोकर्ण श्रेष्‍ठले घरमा श्रीमती हुँदाहुँदै मुलुकी ऐन, बिहावारीको महलको ९ नं. र ९ (क) नं. विपरीत हुने गरी दोस्रो श्रीमतीको रूपमा नीता मगर श्रेष्‍ठलाई विवाह गरी श्रीमती तुल्याएको देखिँदा निजले मुलुकी ऐन, बिहावारीको महलको ९ र ९ (क) नं. को कसुर गरेको स्पष्ट हुन आएकोले निजलाई सोही ऐन महलको १० नं.बमोजिम १ (एक) वर्ष कैद र रू.५,०००।- (पाँच हजार रूपैयाँ) जरिवाना हुने 

ठहर्छ । प्रतिवादी नीता मगर श्रेष्‍ठले मुलुकी ऐन, बिहावारीको महलको १० नं. अनुसारको कसुर गरेको पुष्टि भएकाले निजलाई सोही ऐन, महलको १० नं. बमोजिम १ (एक) वर्ष कैद र रू.५,०००।- (पाँच हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू ओखलढुङ्गा जिल्ला अदालतको फैसला । 

पसलमा नोक्सानी गरी, झगडा गरी विनाकारण अञ्‍जना श्रेष्‍ठ माइत गई ३ वर्षभन्दा बढी बसेको र पटकपटक लिन जाँदा पनि नआएको, उल्टो म पुनरावेदकमाथि मान्छे लगाई साङ्घातिक आक्रमण गराएको अवस्थामा २०६४।११।२८ मा नीता मगरसँग दोस्रो विवाह गरेपछि उक्त तथ्यलाई स्वीकार गरी अञ्‍जना श्रेष्‍ठले मिति २०६५।०४।१२ मा सा.दे.मु.नं. ६६।०२९ को ओखलढुङ्गा जिल्ला अदालतमा अंशचलन मुद्दा दर्ता गरेको र उक्त मुद्दामा मलगायत सौता नीता मगरलाई समेत प्रतिवादी बनाइएको छ । मेरो जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले दायर गरेको अंश मुद्दामा निजले हामीउपर बहुविवाह गरेकोमा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा जाहेरी दिएको कुरा उल्लेख गरेकी छिन् । निजले जाहेरी दरखास्त दिएको कुरा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट प्रमाणित भएर आएको छ । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा मेरो जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले मिति २०६५।०४।१२ भन्दा अगाडि नै हामीहरूउपर बहुविवाह गरेकोमा कारबाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तमा केही नगरी मायादेवी श्रेष्‍ठले दिएको मिति २०६५।११।२७ को जाहेरी दरखास्तबाट मात्र जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले अनुसन्धान तहकिकात गरी मेरो जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले दिएको जाहेरी दरखास्तको मितिबाट तीन महिनाको हदम्याद नघाई मिति २०६६।०२।१८ मा ओखलढुङ्गा जिल्ला अदालतमा मुद्दा दायर गरको अवस्था छ । प्रस्तुत मुद्दा हदम्यादको अभावमा खारेज गर्नुपर्नेमा मसमेतलाई अभियोग मागदाबीबमोजिम बहुविवाहको कसुरमा सजायसमेत गरेको ओखलढुङ्गा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी हदम्यादको अभावमा प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी सोकर्ण श्रेष्‍ठले पुनरावेदन अदालत राजविराजमा पेस गरेको पुनरावेदनपत्र । 

यी पुनरावेदक प्रतिवादीले घरमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो श्रीमतीको रूपमा नीता मगर श्रेष्‍ठलाई विवाह गरी मुलुकी ऐन, बिहावारी महलको ९ र ९(क) नं. को कसुर गरेकोमा यी पुनरावेदक प्रतिवादी सोकर्ण श्रेष्‍ठलाई सोही ऐनको बिहावारी महलको १० नं.बमोजिम १(एक) वर्ष कैद र रू.५,०००।-(पाँच हजार रूपैयाँ) जरिवाना हुने ठहर गरी भएको सुरू ओखलढुङ्गा जिल्ला अदालतको मिति २०६८।०२।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०७०।०६।०२ को फैसला ।

मेरो जेठी श्रीमतीले पत्‍नीको दायित्व पूरा नगरी ५ वर्षभन्दा बढी समयदेखि घरमा नबसी मेरो र छोराको हितविपरीत काम गरी, छोरालाई बाबु छैन भनी अनाथालयमा राखी गैरजिम्मेवार काम गरी घर छोडी हिँडेको कारण बाध्य भई मैले दोस्रो विवाह गरेको तथ्य स्थानीय गाउँ समाज र जेठी श्रीमती र प्रहरी प्रशासन सबैलाई तत्काल थाहा भएको विषय हो । जेठी श्रीमतीले अंशसमेत लिइसकेको र कान्छी श्रीमतीतर्फबाट ५ वर्षको छोरासमेत भइसकेको अवस्थामा मलाई सजाय गर्नु अन्यायपूर्ण छ । जेठी श्रीमती स्वयंले मिति २०६५।०४।१२ भन्दा अगाडिकै मितिमा मुद्दाको अनुसन्धान गर्न अधिकारप्राप्‍त निकाय जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गासमक्ष पेस गरेको जाहेरी दरखास्तअनुसार कुनै कारबाही नगरी उनाउ मायादेवी श्रेष्‍ठको मिति २०६५।११।२८ को जाहेरीको आधारमा मिति २०६६।०२।१८ मा अभियोगपत्र दर्ता गरेकोले प्रस्तुत अभियोगपत्र वारदात भएको मिति २०६४।११।२८ को मितिबाट र जाहेरी परेको मिति २०६५।०४।१२ को मितिबाट ३ महिनाको हदम्याद नाघी दायर भएको देखिँदा खारेज गर्नुपर्नेमा इन्साफ गरेको सुरू तथा पुनरावेदन अदालत राजविराजको फैसलामा मुलुकी ऐन, बिहावारीको महलको ११ नं. को व्याख्‍यामा गम्भीर त्रुटि हुनुका साथै सर्वोच्च अदालतबाट प्रतिपादित नजिर पालन नगरी गलत किसिमले व्याख्या गरी प्रयोग गरेको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी हदम्यादको अभावमा प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी सोकर्ण श्रेष्‍ठले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।

यसमा अञ्‍जना श्रेष्‍ठले मिति २०६५।०४।१२ मा दायर गरेको अंश मुद्दाको फिरादको प्रकरण नं. २ मा सोकर्ण श्रेष्‍ठले दोस्रो पत्‍नी नीता मगरसित विवाह गरेको सम्बन्धमा जाहेरी दिएको कुरा लेखाई दिएकोमा सो जाहेरी जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा फेला परे तापनि कुनै कारबाहीको प्रक्रिया अगाडि नबढेको र निवेदकको दिदी मायादेवी श्रेष्‍ठको जाहेरीबाट मात्र कानूनी कारबाही अगाडि बढाएको कुरा सो कार्यालयले निवेदनमा जनाइदिएको भन्‍ने बेहोराको कागज बहसको क्रममा विद्वान्‌ कानूनी व्यवसायी श्री शंकर सुवेदीले पेस गर्नु भएको देखिएबाट मिति २०६५।०४।१२ मा नै परिसकेको जाहेरीअनुसार अनुसन्धान कारबाही नचलाई मिति २०६५।११ । २८ मा मायादेवी श्रेष्‍ठको जाहेरीअनुसार अनुसन्धान कारबाही अगाडि बढाई मिति २०६६।०२।१८ मा ओखलढुङ्गा जिल्ला अदालतसमक्ष मुद्दा दायर भएको देखिँदा प्रस्तुत बहुविवाह मुद्दामा मुलुकी ऐन, बिहावारीको महलको ११ नं. मा उल्लिखित हदम्यादसम्बन्धी व्याख्यात्मक प्रश्न समावेश रहेकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नुहोला भन्‍नेसमेत बेहोराको यस अदालतबाट मिति २०७३।०६।०९ मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल र विद्वान्‌ अधिवक्ता श्री शंकर सुवेदीले यी पुनरावेदक प्रतिवादी सोकर्ण श्रेष्‍ठको जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले आफ्नै श्रीमान्‌ प्रतिवादी सोकर्ण श्रेष्‍ठलाई साङ्घातिक आक्रमण गराएको, ५ वर्षदेखि घरमा नबसी माइतीमा गई बसेको, छोरालाई बाबु छैन भनी अनाथालयमा राखेको, छोराको हितविपरीत कार्य गरेको तथा हाल निज जेठी श्रीमती अंश लिई छुट्टै बसिसकेको अवस्थामा यी प्रतिवादीलाई बहुविवाहको कसुरमा सजाय गरेको अन्यायपूर्ण र कानूनविपरीत छ । यी प्रतिवादी सोकर्ण श्रेष्‍ठको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले यी प्रतिवादी सोकर्ण श्रेष्‍ठ र निजकी कान्छी पत्‍नी अर्का प्रतिवादी नीता मगरसमेत उपर मिति २०६५।०४।१२ मा अंश मुद्दा दायर गर्दा यसै घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा जाहेरी दिएको भनी फिरादपत्रमा उल्लेख गरेको देखिँदा अंश मुद्दा परेको मिति २०६५।०४।१२ भन्दा अगाडि नै दोस्रो विवाह गरेको पुष्‍टि हुन्छ । यी प्रतिवादीको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले दिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट प्राप्‍त जाहेरी दरखास्तको प्रतिलिपिको पीठमा यसैबमोजिमको जाहेरी दरखास्त यस कार्यालयमा फेला परे तापनि कुनै कानूनी प्रक्रिया अगाडि नबढेको र निवेदकको दिदी मायादेवी श्रेष्‍ठको जाहेरी दरखास्तबाट मात्र कानूनी कारबाही अगाडि बढाएको भनी जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले प्रमाणित गरिदिएको छ । यसबाट यसै घटनाको सम्बन्धमा यी प्रतिवादीको जेठी पत्‍नीले फिराद दायर गरेको मिति २०६५।०४।१२ भन्दाअगाडि नै ओखलढुङ्गा जिल्ला अदालतमा जाहेरी दिएको पुष्‍टि भइरहेको अवस्था छ । जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले दिएको पहिलो जाहेरी दरखास्तबाट नै जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले घटनाको जानकारीप्राप्‍त गरेकोमा उक्त जाहेरी दरखास्तमा कुनै कारबाही नगरी पछि दिदी मायादेवी श्रेष्‍ठले मिति २०६५।११।२८ मा दिएको जाहेरीको आधारमा अनुसन्धान भई मिति २०६६।०२।०८ मा अभियोगपत्र दर्ता गराएकोले प्रस्तुत अभियोगपत्र मुलुकी ऐन, बिहावारी महलको ११ नं. ले तोकेको थाहा पाएको मितिबाट ३ महिना नाघी दायर भएको हुँदा प्रस्तुत मुद्दा हदम्यादको अभावमा खारेज हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

त्यस्तै प्रत्यर्थी प्रतिवादी नेपाल सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनीले यी पुनरावेदक प्रतिवादी सोकर्ण श्रेष्‍ठले आफ्नो जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठ रहे भएको अवस्थामा अर्का प्रतिवादी नीता मगरलाई दोस्रो श्रीमतीको रूपमा विवाह गरी निज प्रतिवादीसमेतले बहुविवाहको कसुर गरेको हुँदा यी प्रतिवादीसमेतलाई बुहविवाहको कसुरमा सजायसमेत गरेको सुरू ओखलढङ्गा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला कानूनसम्मत छ । यी प्रतिवादीको पहिलो श्रीमती अञ्‍जना श्रेष्‍ठको जाहेरी दर्ता नभएको र मायादेवी श्रेष्‍ठले दर्ता गराएको जाहेरी दरखास्तको आधारमा हदम्यादभित्रै प्रस्तुत मुद्दा दायर भएकोले हदम्यादको आधारमा प्रस्तुत मुद्दा खारेज हुने अवस्था विद्यमान नदेखिँदा यी प्रतिवादीलाई बहुविवाहको कसुरमा सजाय गरी भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको देखिँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

उपर्युक्त संक्षिप्त तथ्य तथा बहस जिकिर भएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा निम्न प्रश्‍नहरूमा निर्णय दिनुपर्ने देखिन आयो ।

क. वादीको अभियोगपत्र हदम्यादभित्र दर्ता भएको छ, छैन ?

ख. पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ, छैन ? 

ग. यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? 

 

२. पहिलो प्रश्‍नतर्फ विचार गर्दा, मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादीले अदालतमा गरेको बयान, घटना विवरण कागज, साक्षीहरूको बकपत्र, गाउँ विकास समितिबाट प्राप्‍त विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रतिवादीले यस अदालतमा पेस गरेको पुनरावेदनपत्रको बेहोराबाट समेत यी प्रतिवादी सोकर्ण श्रेष्‍ठले आफ्नो जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठ हुँदाहुँदै नीता मगरसँग दोस्रो विवाह गरेकोमा विवाद देखिँदैन । 

३. प्रतिवादी सोकर्ण श्रेष्‍ठको पहिलो पत्‍नी अञ्‍जना श्रेष्‍ठले मिति २०६५।०४।१२ मा पति सोकर्ण श्रेष्‍ठउपर ओखलढुङ्गा जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा नीता मगरलाई समेत प्रतिवादी बनाएको र फिरादपत्रको प्रकरण २ मा यी प्रतिवादी सोकर्ण श्रेष्‍ठले प्रतिवादी नीता मगरसित मिति २०६५।१।१५ मा दोस्रो विवाह गरेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा जाहेरी दिएको कुरा उल्लेख गरेको मिसिल संलग्न उक्त फिरादपत्रको प्रतिलिपिबाट देखिन्छ । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट प्राप्त यी प्रतिवादीको जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले यसै घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा दिएको मिसिल संलग्न जाहेरी दरखास्तको सक्‍कल प्रति हेर्दा, यी प्रतिवादी सोकर्ण श्रेष्‍ठसँग मेरो मिति २०५७।११।२७ मा विवाह भई हाम्रो एउटा छोरासमेत भएको अवस्थामा मेरो पति सोकर्ण श्रेष्‍ठले नीता मगरसँग दोस्रो विवाह गरी बहुविवाह गरेको हुँदा निजहरूलाई कानूनी कारबाही गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा जाहेरी दरखास्त दिएको उक्त जाहेरी दरखास्तको बेहोराबाट देखिन्छ भने सो जाहेरी दरखास्तको किनारामा अधिवक्ता टुकराज निरौलाले मस्यौदा गर्ने भनी सहीछाप गरेको र जाहेरवाला अञ्‍जना श्रेष्‍ठले ल्याप्चे र हस्ताक्षर दुवै सहीछाप गरेको देखिन्छ । साथै यी पुनरावेदकले यस अदालतमा प्रस्तुत मुद्दा दोहोर्‍याइपाउँ भनी दिएको निवेदनसाथ पेस गरेको उक्त जाहेरी दरखास्तको प्रतिलिपि हेर्दा उक्त दरखास्तको पीठमा यसै नक्कलबमोजिमको जाहेरी दरखास्त यस कार्यालयमा फेला परे तापनि कुनै कानूनी कारबाहीको प्रक्रिया अगाडि नबढेको र निवेदकको दिदी मायादेवी श्रेष्‍ठको जाहेरीबाट मात्र कानूनी कारबाही अगाडि बढाइएको बेहोरा प्रमाणित गरिन्छ भनी नक्‍कल दस्तुरबापतको टिकट रद्द गरी अड्‍डाको छाप लगाई जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट प्रमाणित गरिदिएको समेत देखिन्छ । 

४. जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट प्राप्‍त उक्त सक्‍कल जाहेरी दरखास्त तथा जाहेरी दरखास्तको प्रतिलिपिमा प्रमाणित गरी दिएको उक्त बेहोराबाट यी पुनरावेदक प्रतिवादी सोकर्ण श्रेष्‍ठउपर निजको जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठको पहिलो जाहेरी परेको तथ्य पुष्‍टि भएको छ । अञ्‍जना श्रेष्‍ठले यी प्रतिवादीउपर मिति २०६५।०४।१२ मा दायर गरेको अंश मुद्दाको फिरादपत्रमा नै यी प्रतिवादी सोकर्ण श्रेष्‍ठले नीता मगरसँग दोस्रो विवाह गरेको सम्बन्धमा जाहेरी दरखास्त दिएको छु भनी उल्लेख गरी निज नीता मगरलाई समेत प्रतिवादी कायम गरेबाट यी प्रतिवादीले नीता मगरसँग बहुविवाह गरेकोमा कारबाहीको लागि मिति २०६५।०४।१२ मा नै निजको जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठको जाहेरी दरखास्त साधिकार निकाय जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा परिसकेको देखियो ।

५. तत्काल विद्यमान सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ अन्तर्गत बहुविवाह मुद्दा पनि परेकोले यो मुद्दा सरकारवादी हुने र ऐ. ऐनको दफा ३(३) अनुसार बहुविवाहसम्बन्धी जाहेरी दरखास्त लिई अनुसन्धान तहकिकात गर्ने अधिकार सम्बन्धित प्रहरी कार्यालयमा रहेको छ । यसरी बहुविवाह मुद्दामा अनुसन्धान तहकिकात गरी मुद्दा चलाउन कानूनले अधिकार क्षेत्र प्रदान गरिएको सक्षम निकाय जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा यी प्रतिवादी सोकर्ण श्रेष्‍ठको जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठको घटीमा मिति २०६५।०४।१२ सम्ममा वा सोअघि नै जाहेरी दरखास्त परिसकेको देखिन्छ । आफूसमक्ष परेको उक्त जाहेरी दरखास्त परेपछि त्यसमा अनुसन्धान तहकिकात गरी आफ्नो रायसहित मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न र अभियोगपत्र तयार गरी मुद्दा दायर गर्नको लागि सक्‍कल मिसिल तथा दसी प्रमाणसहित सरकारी वकिल कार्यालय पठाउनुपर्ने कानूनी दायित्व ऐ. ऐनको दफा १७ ले प्रहरी कर्मचारीलाई सुम्पेको छ । तर प्रस्तुत मुद्दामा प्रतिवादीहरूबिच बहुविवाह भएको कुराको जानकारी प्रतिवादी सोकर्ण श्रेष्‍ठको जेठी श्रीमती अञ्‍जना श्रेष्‍ठले मात्र पाएको नभई सक्षम निकाय जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले मिति २०६५।०४।१२ मा नै पाइसकेकोमा सो प्रहरी कार्यालयले उक्त जाहेरी दरखास्तउपर ऐ. ऐनको दफा ३ अनुसार तुरून्त अनुसन्धान तहकिकात नगरी मिति २०६५।११।२८ मा निज अञ्‍जना श्रेष्‍ठको दिदी मायादेवी श्रेष्‍ठले दिएको जाहेरी दरखास्तको आधारमा अनुसन्धान तहकिकात सुरू गरी मिति २०६६।०२।१८ मा मात्र ओखलढुङ्गा जिल्ला अदालतमा मुद्दा दायर भएको देखिन्छ । 

६. बहुविवाह मुद्दामा कहिलेसम्म मुद्दा दर्ता गर्नुपर्ने हो भन्‍ने हदम्यादसम्बन्धी कानूनी व्यवस्थामा तत्काल विद्यमान मुलुकी ऐन, बिहावारी महलको ११ नं. ले व्यवस्था गरेको देखिन्छ । उक्त ११ नं. हेर्दा, "यसै महलमा लेखिएको कुरा सो कुरा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस नदिए लाग्न सक्दैन" भन्‍ने उल्लेख भएको देखिन्छ । यस नम्बरले बहुविवाहको घटना भएको थाहा पाएको मितिले तीन महिनाभित्र अदालतमा मुद्दा दायर भइसकेको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको देखिन्छ ।

७. यसै सन्दर्भमा नेपाल सरकार विरूद्ध महेश महरसमेत भएको बहुविवाह (ने.का.प. २०७६ साल, अङ्क १, नि.नं. १०१७८) मुद्दामा यस अदालतबाट "मुद्दा चलाउन हकदैया रहेको निकाय वा व्यक्तिलाई हदम्याद लाग्ने हो कानूनमा थाहा पाएको मितिबाट हदम्याद कायम हुने गरी व्यवस्था भएको कुराको अर्थ अरू जोसुकैले थाहा पाएर हदम्याद सुरू हुँदैन । मुद्दा चलाउन अधिकार पाएको वा हकदैया रहेको व्यक्ति वा निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने भन्‍ने नै हो । यसरी गणना गर्ने प्रचलन तथा यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्तप्रतिकूल हुने गरी बहुविवाह मुद्दामा जेठी पत्‍नीले थाहा पाएको मितिबाट हदम्याद कामय हुन्छ भन्नु मनासिब नदेखिने" भनी सिद्धान्तसमेत प्रतिपादित भएको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई विचार गर्दा बहुविवाह मुद्दामा बिहावारी महलको ११ नं.बमोजिम हदम्यादको गणना गर्दा कानूनबमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा चलाउने अधिकारप्राप्त गरेको निकाय अर्थात् प्रहरी कार्यालयमा जाहेरी परेको मितिबाट हदम्याद गणना गर्नुपर्ने देखिन आयो । 

८. अब प्रस्तुत मुद्दामा कानूनले तोकेको उक्त हदम्यादभित्र वादीले अभियोगपत्र दायर गरेको छ, छैन ? भन्‍नेतर्फ विचार गरौं । मुलुकी ऐन, बिहावारी महलले गरेको हदम्यादसम्बन्धी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबाट समेत यी प्रतिवादी सोकर्ण श्रेष्‍ठको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले यी प्रतिवादीहरूउपर बहुविवाहको कसुर गरकोमा कानूनबमोजिम कारबाही गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा मिति २०६५।०४।१२ मा जाहेरी दरखास्त दिएबाट जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गालाई प्रतिवादी सोकर्ण श्रेष्‍ठले प्रतिवादी नीता मगरसँग बहुविवाह गरेको जानकारी सोही मितिमा प्राप्‍त गरेको देखियो । यसरी सो कसुरबारे जानकारीप्राप्‍त भएपछि उक्त जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट कानूनबमोजिम अनुसन्धान तहकिकात गरी ३ महिनाभित्रै ओखलढुङ्गा जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्नेमा केही नगरी बसेको र यी जाहेरवाला मायादेवी श्रेष्‍ठले दिएको मिति २०६५।११।२८ को जाहेरी दरखास्तको आधारमा अनुसन्धान तहकिकात गरी पहिलो जाहेरी दरखास्त परेको मितिबाट ३ महिनाको हदम्याद नघाई यी प्रतिवादीहरूउपर मिति २०६६।०२।१८ मा ओखलढुङ्गा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको देखिँदा प्रस्तुत अभियोगपत्र ऐनले तोकेको हदम्यादभित्र दायर भएको पाइएन ।

९. अब पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ, छैन ? भन्‍ने दोस्रो प्रश्‍नको सम्बन्धमा विचार गर्दा, यी प्रतिवादी सोकर्ण श्रेष्‍ठसमेतलाई अभियोग मागदाबीबमोजिम बहुविवाह गरेकोमा मुलुकी ऐन, बिहावारी महलको ९ र ९(क) नं. को कसुरमा सोही महलको १० नं.बमोजिम १(एक) वर्ष कैद र रू.५,०००।- (पाँच हजार रूपैयाँ) जरिवाना हुने ठहर गरेको सुरू ओखलढुङ्गा जिल्ला अदालतको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत राजविराजबाट फैसला देखिन्छ ।

१०. प्रतिवादी सोकर्ण श्रेष्‍ठले पुनरावेदन अदालत राजविराजमा पुनरावेदन गर्दासमेत मेरो जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले दिएको पहिलो जाहेरी दरखास्तमा कुनै कारबाही नगरी मेरो जेठी सासू मायादेवी श्रेष्‍ठले दिएको दोस्रो जाहेरी दरखास्तको आधार अनुसन्धान तहकिकात गरी जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले हदम्याद नघाई ओखलढुङ्गा जिल्ला अदालतमा मुद्दा दायर गरेकोले प्रस्तुत अभियोगपत्र हदम्यादको अभावमा खारेज गरिपाउँ भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । पुनरावेदन अदालत राजविराजले यी प्रतिवादीको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले दिएको पहिलो जाहेरी दरखास्तको सम्बन्धमा केही नबुझी तथा केही विवेचनासमेत नगरी मुद्दाको तथ्यभित्र प्रवेश गरी फैसला गरेको पाइयो । 

११. हदम्याद र हकदैयासम्बन्धी कानूनी प्रश्‍नमा मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि उक्त अदालतले सो सम्बन्धमा निर्णय गर्न सक्ने नै देखिन्छ । मुद्दामा हदम्याद र हकदैयाको प्रश्‍न समावेश भएको देखिएमा मुद्दा जुनसुकै तहमा विचाराधीन रहेको भए तापनि पहिले हदम्याद र हकदैयाको सम्बन्धमा निर्णय गरेपछि मात्र मुद्दाको विषयमा प्रवेश गर्नुपर्छ । कानूनले कुनै मुद्दा दायर गर्नुपर्ने समय सीमा हदम्याद तोकेको छ भने सो तोकिएको हदम्यादभित्र मुद्दा अनिवार्य रूपमा दायर भइसकेको हुनुपर्छ । जुनसुकै मुद्दा जहिलेसुकै पनि दायर गर्न सकिने भए कानूनले नै हदम्यादसम्बन्धी व्यवस्था गर्नु आवश्यक नै हुँदैन । मुद्दा जहिलेसुकै लाग्छ भन्‍ने सोच नहोस् अर्थात् मुद्दा पर्ने अवधि अनिश्‍चित नहोस् भन्‍ने मनसाय राखेर नै विधायिकाले कानूनमा हदम्यादको व्यवस्था गरेको हुन्छ । यदि कुनै मुद्दा दायर गर्न हदम्याद कानूनले तोकेको छ भने मुद्दा गर्ने पक्ष चाहे त्यो व्यक्ति होस् वा सरकारी निकाय नै किन नहोस् त्यसले कानूनले तोकेको हदम्यादभित्र अनिवार्य रूपमा उक्त मुद्दा दायर गरिसक्नुपर्दछ । यदि कसैले हदम्याद नाघेर मुद्दा दर्ता गराउन ल्याउँछ भने त्यसलाई अदालतले मद्दत गर्न सक्दैन ।

१२. प्रस्तुत मुद्दामा प्रतिवादीले आफ्नो जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा पेस गरेको जाहेरी दरखास्तको आधारमा प्रस्तुत मुद्दा हदम्यादभित्र दायर भएको छैन भन्‍ने पुनरावेदन जिकिर लिएकोमा पुनरावेदन अदालत राजविराजले सो सम्बन्धमा बुझ्नुपर्ने प्रमाण बुझी सो सम्बन्धमा भएको कानूनी व्यवस्था र सर्वोच्‍च अदालतबाट प्रतिपादित सिद्धान्तको आधारमा पहिले हदम्यादको सम्बन्धमा निर्णय गरी मुद्दाको विषयमा प्रवेश गर्नुपर्नेमा यी प्रतिवादीले जिकिर लिएको निजको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा दर्ता गराएको जाहेरी दरखास्तको सम्बन्धमा केही नबुझी हदम्याद सम्बन्धमा कुनै विवेचना नै नगरी प्रस्तुत मुद्दाको विषयमा प्रवेश गरी यी प्रतिवादीसमेतलाई अभियोग मागदाबीबमोजिम बहुविवाहको कसुरमा सजायसमेत गरेको ओखलढुङ्गा जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा बिहावारी महलको ११ नं. को त्रुटि रहेको देखियो ।

१३. अब पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्‍ने तेस्रो प्रश्‍नको सम्बन्धमा विचार गर्दा, उपर्युक्त विवेचित आधार र कारणहरूबाट यी प्रतिवादी सोकर्ण श्रेष्‍ठकी जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले मिति २०६५।०४।१२ मा ओखलढुङ्गा जिल्ला अदालतमा यिनै प्रतिवादीउपर अंश मुद्दाको फिराद दायर गर्नुभन्दा अगाडि नै निज अञ्‍जना श्रेष्‍ठले साधिकार निकाय जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा जाहेरी दरखास्त पेस गरेकोमा जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले उक्त जाहेरी दरखास्तमा कानूनबमोजिम अनुसन्धान तहकिकात गरी ऐनले तोकेको ३ महिनाको हदम्यादभित्र मुद्दा दायर गर्नुपर्नेमा केही नगरी त्यसै बसेको र यी प्रतिवादीको जेठीसासू मायादेवी श्रेष्‍ठले मिति २०६५।११।२८ मा दिएको जाहेरी दरखास्तको आधारमा अनुसन्धान तहकिकात गरी प्रतिवादीको जेठी पत्‍नी अञ्‍जना श्रेष्‍ठले दिएको जाहेरी दरखास्तको मितिबाट ऐनले तोकेको ३ महिना अवधि नघाई मिति २०६६।०२।०८ मा ओखलढुङ्गा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको देखियो । यसरी हदम्याद नघाई दायर भएको अभियोग पत्र हदम्यादको अभावमा खारेज गर्नुपर्नेमा मुद्दाको तथ्यभित्र प्रवेश गरी यी प्रतिवादीसमेतलाई अभियोग मागदाबीबमोजिम बहुविवाहको कसुरमा सजायसमेत गरेको ओखलढुङ्गा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०७०।०६।०२ को फैसला कानूनी त्रुटिपूर्ण हुँदा उल्टी भई प्रस्तुत अभियोगपत्र हदम्यादको अभावमा खारेज हुने ठहर्छ ।

१४. तत्काल विद्यमान सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ अनुसार बहुविवाह मुद्दा सरकार वादी हुने फौजदारी मुद्दा भएको र सरकारवादी फौजदारी मुद्दामा जाहेरी दरखास्त परेपछि प्रहरी कार्यालयले कानूनले तोकेबमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनुपर्ने देखिएमा हदम्यादभित्र सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरी कसुरदारलाई सजाय दिलाउने निजको कर्तव्य हुन्छ । जाहेरी दरखास्त परेपछि कानूनबमोजिम अनुसन्धान तहकिकात नगरी प्रहरी कार्यालयले त्यसै बस्न मिल्ने देखिँदैन । नेपाल सरकार वादी हुने फौजदारी कसुरमा जाहेरी दरखास्त परेपछि सो जाहेरी दरखास्त सम्बन्धमा कानूनले तोकेबमोजिम अनुसन्धान तहकिकात गर्ने अधिकारप्राप्‍त गरेको जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले यी प्रतिवादीका जेठी पत्‍नीले पेस गरेको जाहेरी दरखास्तमा कुनै कारबाही नगरी कानूनले तोकेको जिम्मेवारी पूरा नगरेको कारण प्रस्तुत मुद्दा हदम्यादभित्र दायर नभई हदम्याद नाघेको आधारमा खारेज हुने ठहरेकोले अब उपरान्त नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा जाहेरी दरखास्त दर्ता भएपछि अविलम्ब कानूनले तोकेबमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा दायर गर्नुपर्ने भएमा सम्बन्धित निकायमा कानूनले तोकेको हदम्यादभित्रै मुद्दा दायर गर्न गराउन जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गालाई सचेत गराउनेसमेत ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

क. प्रस्तुत मुद्दा खारेज हुने ठहरेकोले प्रतिवादीहरू सोकर्ण श्रेष्‍ठ र नीता मगरको हकमा सुरू ओखलढुङ्गा जिल्ला अदालतले गरेको फैसलाअनुसार राखेको कैद तथा जरिवानासमेतको लगत कट्टा गरिदिनु भनी सुरू ओखलढुङ्गा जिल्ला अदालत तहसिल शाखामा लेखी पठाइदिनू .......................................१

ख. प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालय तथा जिल्ला प्रहरी कार्यायलय, ओखलढुङ्गासमेतलाई दिनू .......२

ग. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ..............................................३ 

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : अरूणकुमार कोइराला

इति संवत् २०७७ साल माघ २० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु