निर्णय नं. १०७२० - अपहरण तथा शरीर बन्धक

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७७।३।२१
मुद्दाः अपहरण तथा शरीर बन्धक
०७३-CR-०४६५
पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, हरिवन गा.वि.स. वडा नं.४ घर भई हाल कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको प्रल्हाद महत
विरूद्ध
प्रत्यर्थी / वादी : शिव शाहीसमेतको जाहेरीले नेपाल सरकार
०७४-CR-१४७६
पुनरावेदक / प्रतिवादी : पाल्पा जिल्ला, झडेवा गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय, रूपन्देही थुनामा रहेको विदुर भन्ने विष्णुबहादुर जि.सी.
विरूद्ध
प्रत्यर्थी / वादी : शिव शाहीसमेतको जाहेरीले नेपाल सरकार
घटना घटेको देख्ने चश्मदिद व्यक्ति कोही नभएको अवस्थामा पनि अन्य परिस्थितिजन्य प्रमाणहरू (Circumstantial Evidences) बाट अभियोग दाबी पुष्टि हुन नसक्ने
होइन । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुने ।
कुनै प्रतिवादीले आफू संलग्न वारदातका सम्बन्धमा अनुसन्धान अधिकारीसमक्षको बयानमा आरोपित कसुर स्वीकार गरी अदालतसमक्षको बयानमा असत्य वा झुठो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको हुन्छ । अप्रत्यक्ष प्रमाणको आधारबाट पनि अदालतले विवादको सही निरूपण गर्नुपर्ने ।
(प्रकरण नं.१२)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र अधिवक्ताहरू श्री सुनिल पोखरेल, श्री बद्रिप्रसाद पौडेल र दिपकमणी निरौला
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या. श्री विष्णुप्रसाद कोइराला
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र
माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
पुनरावेदन अदालत पाटन
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
मिति २०६४।०९।०२ गते साँझ १९:१५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं.३४ बासुकी मार्गबाट महेश मुरारकालाई बा.४.च.३२९८ नं. को कार नियन्त्रणमा लिई उद्योगपति महेश मुरारका तथा चालकसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी निलो रङको गाडी प्रयोग गरी बलजफ्ती अपहरण गरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति
मुचुल्का ।
मिति २०६४।०९।०२ गते बबरमहलबाट महेश मुरारकालाई बत्तिसपुतली घरतर्फ जान बा.४ च.३२९८ नं. को मैले चलाई महेश मुरारका सोही कारमा बसी पुरानो बानेश्वरको बाटो हुँदै जाँदै
थियौं । बेलुका अं.१९:३० बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं.३४ बासुकी मार्गमा पुग्नासाथ ५/६ जनाको समूहले नम्बर याद नभएको निलो रङको गाडीले बाटो छेकी अवरोध खडा गरी बोल्न कराउन नदिई हातपात तथा हातहतियारको बिँडले हानी ज्यान मार्ने धम्की दिई २/३ जना निज अपहरणकारीहरूले प्रयोग गरेको सवारीमा राखी दायाँ बायाँ हेर्न नदिई मैतीदेवी सेतो पुलनजिक पुर्याई घोप्टो पारी छाडी बोलिस् भने मर्छस् भन्ने धम्की दिई सो गाडी लिई यस घटनाका बारेमा प्रहरीसमेतलाई जानकारी गराई खोजतलास भएको हो । भोलिपल्ट मैले चलाउने गरेको महेश मुरारकाको गाडी गौशाला तिलगंगा आँखा अस्पतालनजिक छाडेको अवस्थामा फेला परेछ । महेश मुरारकाको अवस्था अज्ञात थियो । ६।७ दिनपछि अपहरणकारीले महेश मुरारकालाई छाडेको थाहा भयो । मेरो भेटघाट भएको छैन । रूपैयाँ लिने खाने उद्देश्यले अपहरण गरेको हुनपर्छ । अपहरणकारीमध्ये २।३ जनालाई देखे चिन्दछु । हाल त्रसित छु भन्नेसमेत बेहोराको शिव शाहीको जाहेरी दरखास्त ।
बा.४.च.३२९८ नं. को कारमा फेला परेको चिजवस्तु बरामद भएको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
रामकुमार प्याकुरेलको साथबाट बरामदी मुचुल्काको ३ महलमा उल्लिखित सामानहरू फेला परी बरामद भएको भन्ने बेहोराको तलासी एवं बरामदी मुचुल्का ।
रामकुमार प्याकुरलेबाट फेला पारेको सामान बरामद गरी मुचुल्कासाथ पेस गरेको भन्नेसमेत बेहोराको भुपेन्द्रबहादुर खत्रीसमेतको प्रतिवेदन ।
बा.४ च.३२९८ नं. को सवारीसहित महेश मुरारका र निजको चालकलाई अपहरण तथा शरीर बन्धक बनाई महेश मुरारकाबाट फिरौतीसमेत लिएको हो । यसका मुख्य योजनाकार अमर टन्डन हुन् भन्नेसमेत बेहोराको रामकुमार प्याकुरेलको मौकाको कागज ।
महेश मुरारकालाई अपहरण गर्ने अपहरणकारीमध्येका एकजना यिनै देखाइएका रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोराको शिव शाहीको २०६४।११।१२ को सनाखत कागज ।
अमर टन्डनको तलासी लिँदा बरामद मुचुल्कामा उल्लिखित सामान फेला परी बरामद भएको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
मिति २०६४।०९।०२ गते बेलुका अं.१९:३० बजे काठमाडौं महानगरपालिका वडा नं.३४ बासुकी मार्गबाट उद्योगपति महेश मुरारका, चालक शिव शाही तथा बा.४ च.३२९८ नं. को सवारीसहित अपहरण गरेको हो । महेश मुरारकाका चालकलाई हामीले प्रयोग गरेको गाडीमा मैतीदेवीनजिक लगी डर त्रास देखाई छाडेको हो । महेश मुरारकालाई निजको गाडी त्यहीँ छाडी गाडीमा कुखुराको रगत गोली राखी पशुपतिबाट हामीले प्रयोग गरेको सवारीमा राखी पूर्वयोजना सल्लाहअनुसार भाडामा लिएको मण्डिखाटारको घरकोठामा बन्धक बनाई विभिन्न किसिमको डर त्रास देखाई आफन्तजनहरूबाट फिरौती असुल्ने विषयमा अमर टन्डनबाट डिल भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलको २०६४।११।१५ को अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।
अपहरण तथा शरीर बन्धक बनाई फिरौती आर्जनबाट किनी अपहरणसमेतका घटनामा रामकुमार प्याकुरेलसमेतले सामूहिक प्रयोग हुने गरेको बा.३ च.९३२५ नं. को सवारी तेज एन्ड करनबाट खरिद बिक्री सम्झौतापत्रसहित बरामद भएको भन्नेसमेत बेहोराको २०६४।११।१५ को बरामदी मुचुल्का ।
हाम्रो योजना सल्लाहअनुसार नै महेश मुरारकालाई पनि अपहरण गरी बन्धक बनाई पहिलो किस्ता ८० हजार यु.एस. डलर हुण्डीमार्फत छाडिसकेपछि प्राप्त भएको हो । ९० हजार यु.एस. डलर साथी जियान हगले पाउने गरी लक्जम्बरमा रहेको
छ । बाँकी ३० हजार डलर हात पर्यो । साथीहरूलाई काम बिग्रियो भनी बताए । केही रकम हातहतियार, बन्धक बनाउने स्थानको सवारी साधनसमेतको बन्दोबस्त मिलाउँदा खर्च भयो । मेरो उद्देश्य मोटो रकम हात पार्ने योजना सल्लाह र डिलिङ गरी विभिन्न भाषाबाट धम्काई फिरौती असुल्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी अमर टन्डनको २०६४।११।१७ को अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज ।
पक्राउ भई सार्वजनिक भएका अपहरणकारी अमर टन्डन र रामकुमार प्याकुरेललाई पहिचान गरे । सबै घटनाको विवरणअनुसार यिनै जाहेरीको विरूद्ध खण्डमा लेखिएका व्यक्तिहरूबाटै अपहरण गरी सो फिरौती रकम लिएका हुन् भन्नेसमेत बेहोराको २०६४।११।२६ को रामबाबु गर्गको जाहेरी ।
मिति २०६४।२।२४ गते मेरो छोरा सुमित शेरचन गाडी सिक्न गएको अवस्थामा अपहरणकारीले अपहरण गरी ३० लाख हुन्डीमार्फत फिरौती बुझाएपछि छोरालाई छाडेका हुन् । अपहरणकारी रामकुमार प्याकुरेल र अमर टन्डन पक्राउ भई सार्वजनिक भएको र घटनाका प्रकृतिबाट यी पक्राउ भएका व्यक्तिहरूसमेतबाट अपहरण भएको हो भन्नेसमेत बेहोराको ओमकार शेरचनको २०६४।११।२७ को कागज ।
महेश मुरारकालाई अपहरण गर्दा अर्जुनबाट एक राउन्ड गोली चलेको, सो गोली महेश मुरारकाको छातीको छालामा लागी साथी सुदिप मैनालीको टाउकोको भागमा लागी घाइते भएका थिए । उपचार गर्न अस्पताल लैजाँदा पुलिस केस हुने र पक्राउ हुन सक्ने भएको हुँदा मण्डिखाटारको बन्धक बनाउने कोठामा लगी राख्यौं । सुदिप रोई कराई गर्न
थाले । गम्भीर अवस्था भएको र अरू कुनै तरिकाबाट समाधान नहुने हुँदा डिसकस हुन थाल्यो । सबै जनाको सल्लाहअनुसार अर्जुनलाई एक राउण्ड हान्ने मत मिलाई पुनः गोली हान्दा सुदिपको मृत्यु भएको हो । लासलाई मैले गाडी चलाई तन्नामा बेरी पशुपतिको बागमती खोलानजिकै सडकबाट निकाली राखी सनाखत नहोस् भनी ढुङ्गाले अनुहारमा हानी छाडेको हो । अनुसन्धानमा तोडमाड गर्न बा.४ च.३२९८ नं. को गाडीमा भएको रगत कुखुराको हो भनी बयानमा लेखाएको थिएँ । यो घटनाको सम्बन्धमा हाम्रो ग्रुपका सबै जनालाई जानकारी छ भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलको २०६४।११।३० को अधिकारप्राप्त अधिकारीसमक्ष भएको ततिम्बा बयान ।
मैले अपहरण गर्ने बन्धक व्यक्तिका आफन्तजनबाट फिरौती असुल्ने कुरामा योजना सल्लाह निर्देशन दिने गरेको हो । महेश मुरारकालाई अपहरण गर्दा हाम्रो समूह एक्सन ग्रुपमा संलग्न अर्जुन भन्ने अविनास, रामकुमार प्याकुरेलसमेतले सुदिप मैनालीलाई गोली चली घाइते भएको र गोली अर्जुनले चलाएको र मरेको कुरा २/३ दिनपछि फोनमार्फत जानकारी गराएका थिए । त्यतिबेला म मुम्बई भारतबाट घटनाहरूको अनुगमन तथा अपहरणबाट असुल्ने फिरौतीको डिल गरी अपहरण तथा फिरौती हासिलमा मात्र नेतृत्व र निर्देशन दिएको थिएँ । गोली चलेको र हाम्रै ग्रुपका सदस्य घाइते भएको समेत खबर पाएको थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी अमर टन्डनको २०६४।११।३० को अधिकारप्राप्त अधिकारीसमक्ष भएको ततिम्बा बयान ।
महेश मुरारकालाई अपहरण गर्ने अपहरणकारीमध्ये अमर टन्डन र रामकुमार प्याकुरेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेपछि थाहा भयो । निज अपहरणकारीले एक जना मान्छे गोली मारेको भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको घटनाको सम्बन्धमा बुझिएका मानिसहरू दिपक गिरीसमेतले गरेको २०६४।१२।१ को घटना विवरण कागज ।
मिति २०६४।०९।०२ गते म तथा चालकलाई गाडीसहित हतियारले कुटी ताकी छुट्टाछुट्टै ठाउँमा लगेको अपहरणकारीले पशुपतिबाट आफ्नो गाडीमा जबरजस्ती हालेपछि थाहा पाएको मण्डिखाटारमा पुर्याई आँखामा पट्टी बाँधी विभिन्न तरिकाबाट धम्की दिई २७ गते रू.७७ लाख फिरौती पाएपछि छाडेका हुन् । अपहरणको क्रममा अपहरणकारीले ४ तोला सुनको ब्रासलेट, ४ तोला सुनको चेन, २ थान मोबाइल, विभिन्न किसिमका कागज पत्रहरू र नगद रू.१० हजार लगेका हुन् । मलाई छाड्ने बेलामा पनि केही नभन्नु भनी ज्यान मार्ने धम्की दिएका थिए । हाल म उपचारको क्रममा बाहिर भएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महेश मुरारकाको २०६४।१२।०१ को निवेदन ।
म अनमोल क्याटरिङको सञ्चालक तथा व्यवास्थापक हुँ । मिति २०६३।११।२३ गते सेतो मारूती गाडीमा आएका ५ जनाको समूहले मेरो गाडीलाई ओभरटेक गरी छेकी म तथा मेरो चालकलाई बोल्न चल्न नदिई अपहरणकारीमध्येका मोटो, गालामा कोठी जस्तो भएका व्यक्तिले मेरो गाडी स्पिडमा चलाई आँखामा पट्टी बाँधी लगेका हुन् । महाराजगन्ज एरियामा पुर्याए छ, मेरो चालकलाई कुटपिट गरी कहीँ खबर नगर्न धम्की दिई त्यहीँ छाडेका रहेछन् । मलाई अपहरणकारीले कारपेट भएको घर कोठामा बन्धक बनाई राखे । पछि रू.१० लाख फिरौती लिई छाडेका हुन् । मसमेतलाई विभिन्न व्यक्तिलाई अपहरण गर्ने यिनै व्यक्ति रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोराको शिव सराओगीको २०६४।१२।०१ को कागज ।
मेरो बाबु लक्ष्मीनारायण गर्गलाई अपहरणकारीहरूले मिति २०६४।०४।२८ गते टेकुबाट अपहरण गरी डर, त्रास धाकधम्की दिई रू.२० लाख महाराजगन्जबाट अध्यारोमा लिई ६/७ दिनपछि छाडेपछि पनि यी कुरा कहीँकतै नभन्नु, भने फेरि घटना हुन्छ भनेकाले उजुरी नभएको हो । बाबु उपचारको क्रममा हुनुहुन्छ । अपराध र अपराधीको बारेमा बुझ्दा निज पक्राउ भएको अमर टन्डन, रामकुमार प्याकुरेलसमेतबाट यो घटना पनि भएको हो भन्नेसमेत बेहोराको विक्रान्त कुमार गर्गको २०६४।१२।०३ को घटना विवरण कागज ।
प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी. र सविन भन्ने प्रल्हाद महतसमेतले गरेको उल्लिखित कार्य अपहरण तथा शरीर बन्धक गर्ने महलको १ र २ नं.बमोजिमको कसुर अपराध हुँदा निज प्रतिवादीहरूलाई सोही महलको ३ नं. तथा ७ नं.बमोजिम सजाय गरी सोही महलको १२ नं. अनुसार पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइदिनेसमेतको मागदाबी लिई अभियोग पत्र दायर भएको ।
मेरो साथबाट पक्राउ पर्दाको अवस्थामा कालो झोला, सुनको सिक्री, डेबिट कार्ड इन्भेष्टमेन्ट बैंकको रू.२३ हजार, नगद रू.५००।– का दरका नोटहरू, राहदानी, नागरिकता, औंठी सुनको २ वटा र सेतो औंठी र १ फलामको औंठी बरामद भएको हो । स्काई फोन अन्य सिम कार्ड मेरो होइन । सोनी इरेक्सन एम.पी.थ्री मोबाइल र अर्को सिमकार्डसहित ९८०६८१८३८१ को मोबाइलसमेत मेरो होइन । ती सरसामान कसको हुन् थाहा भएन । बा.३ च.९३२५ नं. को गाडी मेरो हो । मुचुल्कामा मेरो नभएका सामानसमेत लेखिएको छ । घटनाबारे मलाई थाहा भएन । अपहरण गर्ने कार्यमा म थिइनँ भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलको अदालतको बयान ।
मैले मोबाइल र टेलिफोन प्रयोग गरेको
छैन । भारतमा मेरो Landline फोन थियो । नम्बर अहिले याद भएन । सो फोन घरबेटीको हो । मसँग बरामद भएको तीन तोला सुनको सिक्री, Tommy Hilfiger घटी रू.६००।– भारतीय रूपैयाँ मात्र बरामद भएको ती मोबाइलहरू सिमकार्ड, डेबिटकार्डसमेत मसँग बरामद भएको होइन । सुनको सिक्री उल्लेख नगरी अन्य सामान उल्लेख गरेको छ । मलाई प्रहरीले बम्बईमा पक्रेको हो । म अपहरण गरी फिरौती लिने कार्यमा संलग्न छैन । मैले कसैबाट धाकधम्की दिई रकम उठाउने गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी अमर टन्डनको अदालतको बयान ।
प्रतिवादी अमर टन्डन र रामकुमार प्याकुरेललाई थुनामा राखी मुद्दाको कारबाही गर्नु भन्ने सुरू अदालतको मिति २०६४।१२।०७ को आदेश पर्चा ।
प्रतिवादी अमर टन्डनले मिति २०६४।०९।०२ गते निर्देशन दिई महेश मुरारकालाई अपहरण गरेको होइन । सो दिन निज प्रतिवादी अमर टन्डन भारतको बम्बईको गोरे गाउँमा आफ्नो व्यापार व्यवसाय गरी कम्प्युटरसम्बन्धी काम गर्दै गरेका थिए भन्नेसमेत बेहोरा प्रतिवादी अमर टन्डनको साक्षी कृष्णबहादुर बुढाथोकी, यज्ञ प्रताप राणाको बकपत्र ।
प्रतिवादी रामकुमार प्याकुरेलले अपहरण गरेको होइन । जाहेरी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलको साक्षी विकेश डंगोलको बकपत्र ।
मिति २०६४।०९।०२ गते महेश मुरारका सर र म अफिसबाट घरतर्फ जाँदै गर्दा पुरानो बानेश्वरबाट ४/५ जनाले लिई गएका हुन् । अपहरण गर्ने व्यक्तिहरूलाई चिन्दिन भन्नेसमेत बेहोराको जाहेरवाला शिव शाहीको बकपत्र ।
पीडित महेश मुरारका मैले नचिनेको मानिस भएकाले निजको अपहरणबारे मलाई कुनै जानकारी छैन । अभियोग दाबीअनुसार मैले अपराध नगरेको, उक्त कार्यमा म संलग्न नभएको, अन्य प्रतिवादीहरूसँग मेरो चिनजान एवं सम्बन्धसमेत नभएकोले मलाई बोलाएपछि गएको बखत प्रहरीले थुनामा राखेको हुँदा अभियोग दाबीबमोजिम मैले सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी विष्णु जि.सी. को अदालतको बयान ।
बरामदी मुचुल्का एवं प्रहरी प्रतिवेदन सम्बन्धमा मलाई कुनै जानकारी छैन । अभियोग पत्रमा उल्लिखित सविन भन्ने प्रल्हाद भन्ने व्यक्ति म
होइन । म आपराधिक कार्यमा संलग्नसमेत नभएकोले मैले अभियोग मागदाबीअनुसार सजाय पाउनुपर्ने
होइन । मउपरको अभियोग झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रल्हाद महतको अदालतको बयान ।
प्रतिवादीहरू विष्णु जि.सी. र प्रल्हाद महतलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखी मुद्दाको कारबाही गर्नु भन्ने सुरू अदालतको मिति २०६६।१।२७ को आदेश पर्चा ।
यसमा मिति २०६४।०९।०२ गते साँझ १९:१५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. ३४ बासुकी मार्गबाट महेश मुरारकालाई बा.४ च.३२९८ नं. को कार नियन्त्रणमा लिई चालकसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी निलो रंगको गाडी प्रयोग गरी जबरजस्ती अपहरण गरेकोले यी प्रतिवादीहरूउपर अपहरण तथा शरीर बन्धक गर्ने महलको १ र २ नं.बमोजिमको कसुर अपराध गरेकाले निज प्रतिवादीहरूलाई ऐ. महलको ३ नं. तथा ७ नं.बमोजिम सजाय हुन दायर भएको अभियोग दाबीमा मौकाको जाहेरी दरखास्तलाई प्रतिवादीहरूले मौकामा गरेको बयानसमेतका आधार, कारण, प्रमाणहरूले श्रृङ्खलाबद्ध पुष्टि गरेको हुँदा प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल विदुर भन्ने विष्णु जि.सी. र सरिन सविन भन्ने प्रल्हाद महतलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. अनुसार जनही ९ (नौ) वर्ष कैद र सङ्गठित रूपमा अपहरण गरेको देखिँदा ऐ. ७ नं. अनुसार जनही थप २ वर्ष गरी जम्मा जनही ११ वर्ष र जनही रू. ७५,०००।– जरिवाना हुने ठहर्छ । ऐ. १२ नं. अनुसार पीडित अपहरण भएको मिति २०६४।०९।०२ देखि अपहरणयुक्त भएको मिति २०६७।९।७ सम्मको क्षतिपूर्तिबापत रू.१,०००।– का दरले प्रतिवादीहरूबाट क्षतिपूर्ति पीडितले भराई लिन पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।०७।२२ को फैसला ।
प्रस्तुत मुद्दाको घटनामा मेरो संलग्नता छैन । बैंकमा खाता र पैसा हुनु अपराधको प्रमाण होइन । जाहेरवाला शिव शाहीको प्रहरीको सनाखत कागजलाई निजले अदालतमा गरेको बकपत्रबाट पुष्टि भएको छैन । प्रस्तुत मुद्दासँगैको हातहतियार मुद्दामा मैले सफाइ पाएको हुँदा फौजदारी सिद्धान्तविपरीत भएको गैरकानूनी फैसला बदर गरी कैदयुक्त हुने गरी हक इन्साफ पाउँ भन्ने रामकुमार प्याकुरेलको पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दामा मैले दाबीबमोजिमको कसुर अपराध गरेको छैन । मलाई प्रहरीले समाती जबरजस्ती कथित साबिती बयान गराएको हो । मेरो रोल के-कस्तो थियो, के सामान बरामद भयो, नखुलेको अवस्थामा फौजदारी सिद्धान्तविपरीत कसुरदार ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्ने विदुर भन्ने विष्णु जि.सी. को पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दामा म संलग्न नभएको र मैले अपहरण नगरेको हुँदा सफाइ पाउनुपर्छ शिव शाहीले प्रहरीमा सनाखत गरेपनि अदालतमा आई बकपत्र गर्दा मेरो नाम लिन सकेका छैनन् । महेश मुरारकाले प्रहरीको कागजलाई अदालतमा आई पुष्टि गर्न नसकेको अवस्थामा प्रतिपादित सिद्धान्तविपरीत कसुरदार ठहर गरेको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रल्हाद महतको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
मेरो निर्देशनमा रामकुमार प्याकुरेलसमेतको संलग्नतामा अपहरण गरेको भन्ने अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान झुठ्ठा हो । मैले अपहरण गरेको छैन, अपहरण गर्न मैले कुनै मोबाइल प्रयोग गरेको छैन । मबाट कुनै सामान बरामद भएको छैन । बरामद मुचुल्का मानिस अदालतमा आई आफ्नो भनाइलाई दाबी पुष्टि गर्न नसकेको मेरो अदालतमा भएको बयानलाई मेरा साक्षीले पुष्टि गरी गरेको बकपत्रको मूल्याङ्कन नगरी तथ्यहीन प्रमाणलाई एकतर्फी आधार, प्रमाण लिई भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्ने अमर टन्डनको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसुरलाई अस्वीकार गरेका, पीडितको बकपत्र हुन नसकेको र प्रत्यक्षदर्शी भनिएका शिव शाहीले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरू कसैलाई चिनेको होइन भनी बेहोरा लेखाएको स्थितिमा प्रतिवादी रामकुमार प्याकुरेलले अनुसन्धानको क्रममा गरेको बयानलाई आधार बनाई पुनरावेदक प्रतिवादीहरूलाई कसुरदार ठहर गरेको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएकोले छलफलको लागि अ.बं. २०२ नं.बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई पुनरावेदनको प्रतिलिपि साथै राखी सूचना दिई नियमानुसार गरी पेस गर्नुहोला भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६९।०८।१९ को आदेश ।
प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी., सरिन सविन भन्ने प्रल्हाद महतलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं.बमोजिमको कसुरमा ऐ. महलको ३ नं. तथा ७ नं.बमोजिम जनही ११ वर्ष कैद र रू.७५,०००।– जरिवाना हुने ठहर गरी ऐ. को १२ नं. अनुसार पीडित अपहरण भएको मिति २०६४।०९।०२ देखि अपहरण मुक्त भएको मिति २०६४।०९।०७ सम्मको क्षतिपूर्तिबापत दैनिक रू.१,०००।– का दरले प्रतिवादीहरूबाट पीडितले भराई लिन पाउने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।०७।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।२७ मा भएको फैसला ।
सम्मानित काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरले मलाई सजाय गर्ने गरी फैसलाले म पुनरावेदकको अदालतसमक्षको इन्कारी बयान, साक्षी बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गर्न इन्कार गरी, जाहेरवाला शिव शाहीको मौकाको जाहेरीलाई सनाखत गरी गरेको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गरेको छ । यस मुद्दाका जाहेरवाला शिव शाहीले मिति २०६४।०९।१६ गते महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका थिए, उक्त जाहेरीमा यस मुद्दाका पीडित भनिएका महेश मुरारकालाई कस्ले अपहरण गरेको भन्ने सन्दर्भमा कुनै पनि व्यक्तिलाई प्रतिवादी बनाइएको छैन, वा जाहेरीको अपराध गर्ने व्यक्तिको नाम, थर, वतन उमेर खण्डमा नामथर थाहा नभएका ५/६ जना व्यक्तिहरू भनी उल्लेख गरिएको
छ । यसबाट के कुरा निर्विवादरूपमा स्थापित भएको छ भने यस मुद्दाको जाहेरीबाट प्रस्तुत घटना को कस्ले घटाएको भन्ने कुरा पुष्टि हुँदैन । फौजदारी मुद्दामा घटना घट्नु र घटनामा कुनै व्यक्तिहरूको संलग्नता हुनु वा नहुनु दुई अलग कुराहरू हुन् । यस्तो प्रकृत्तिको मुद्दामा प्रथमत: घटना घटेको कुरा अभियोजन पक्षले वस्तुनिष्ठ प्रमाणका आधारमा पुष्टि गर्नुपर्दछ तत्पश्चात् उक्त घटनामा के कुन व्यक्तिहरूको के कस्तो संलग्नता थियो छ भन्ने कुरा पुष्टि गर्नुपर्ने हुन्छ । त्यस्तो संलग्नता पुष्टि गर्ने ग्रहणयोग्य प्रमाण भएमा जो कोही व्यक्तिलाई अभियोगबमोजिम गडाउ गर्ने काम अदालतको हो र प्रमाणबाट पुष्टि हुन नसकेमा शंकाको भरमा, हचुवाको भरमा, प्रमाणको कानूनको मान्य सिद्धान्तविपरीत गई गरिने फैसला न्यायिक फैसला हुन सक्दैन । यस मुद्दाको सन्दर्भमा जाहेरी स्वयंले यस मुद्दासँग सम्बन्धित घटना को कस्ले घटाएको भन्ने कुरा स्थापित गर्न सकेको छैन । अर्कोतर्फ हामीले प्रतिपादन गरेको सिद्धान्तहरू, फौजदारी कानूनको स्थापित मान्यताको आधारमा हेर्ने हो भने जाहेरी स्वयं प्रमाण बन्न सक्दैन, जाहेरी अपराध/घटना अनुसन्धान गर्नको लागि एउटा आधार एवं सूचना मात्र हो । यस परिवेशमा हुलिया जाहेरीलाई अदालतमा आई सनाखत गरेको भन्ने काठमाडौं जिल्ला अदालतको प्रथम निर्णयाधार कानूनी आधार शून्य र प्रमाणको मान्य सिद्धान्तविपरीत छ । यस्तो हचुवा निर्णयाधारको आधारमा भएको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसला बदरयोग्य छ ।
काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसलाको दोस्रो निर्णयाधार रामकुमार प्याकुरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र बरामदी मुचुल्का रहेको छ । मिति २०६४।०९।०३ गते खडा भएको बरामदी मुचुल्कामा Super लेखिएको गोलीको खोका र बा.४ च.३२९८ नं.को कारसमेत बरामद भएको र सो कार पीडित महेश मुरारकाको भएको र सो गाडीमा रहेको महेश मुरारकालाई अपहरण गरी लगेको भन्ने कथनलाई प्रमाणको रूपमा काठमाडौं जिल्ला अदालतले ग्रहण गरेको छ । प्रथमतः उक्त बरामदी मुचुल्का मुलुकी ऐन अ.वं.१७२ नं. विपरीत छ, उक्त बरामदीमा लेखिएको र कथनलाई पुष्टि गर्ने अरू कुनै वस्तुनिष्ठ प्रमाण छैन, अर्कोतर्फ उक्त गाडी बरामद हुनु वा गोली बरामद हुनु नै मेरो उक्त घटनामा संलग्नता छ भन्ने कुरा पुष्टि गर्ने प्रमाण बन्न सक्दैन, मिल्दैन । त्यसै गरी कुनै पनि प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई अन्य स्वतन्त्र एवं ग्रहणयोग्य प्रमाणले समर्थन नै नगरेको अवस्थामा मेरो विरूद्ध प्रमाणको रूपमा ग्रहण गरिएको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसला बदरभागी छ ।
त्यसैगरी यस मुद्दाका जाहेरवाला शिव शाहीले प्रहरीसमक्ष गरेको सनाखतलाई मेरा विरूद्ध प्रमाणको रूपमा ग्रहण गरेको छ । सो प्रहरीसमक्ष भएको सनाखत सम्बन्धमा निज शिव शाहीले सम्मानित काठमाडौं जिल्ला अदालतसमक्ष गरेको मिति २०६५।०८।०२ को बकपत्रको प्रत्येक स.ज.मा मेरो नाम लिइएको छैन । मिति २०६४।११।१२ को सनाखत कागज बारेमा थाहा छैन भन्दै स.ज. १० मा उक्त मिति २०६४।११।१२ मा सनाखत कागज मैले गरेको हैन भनी स्पष्टरूपमा लेखाइ दिएका छन् । यस स्थितिमा, निज शिव शाहीले गरेको भनिएको कथित अदालत बाहिर खडा / तयार गरेको कागजले प्रमाणित महत्त्व ग्रहण गरी ग्रहणयोग्य प्रमाण बन्ने तर स्वयं अदालतसमक्ष गरेको कागज बकपत्रले प्रमाणित महत्त्व नपाउने ? यो प्रमाणको कुन मान्य एवं स्थापित सिद्धान्तको आधारमा मिल्छ ? यसरी केवल पूर्वाग्रही भई प्रमाण ऐन, प्रमाणको मान्य सिद्धान्त, प्रतिपादित सिद्धान्तसमेतको स्पष्टरूपमा प्रतिकूल हुने गरी गरिएको काठमाडौं जिल्ला अदालतको फैसला सर्वथा बदरभागी छ । साथै कुनै व्यक्तिको बैंक खातामा रकम हुनु कुनै अपराध होइन त काठमाडौं जिल्ला अदालतले बैंक खातामा रकम छ भन्ने कुरालाई पनि विरूद्ध प्रमाणको रूपमा ग्रहण गरेको छ । बैंक खाता हुनु, खातामा केही रकम हुनु अपराध हो भनी अक्कल काट्ने हो भने संसारका सबै व्यक्तिलाई अपराधी घोषित गर्न मिल्छ । यसरी संसारको कुनै पनि मुलुकको कानूनी आधारमा यस्तो हचुवा कुरालाई प्रमाण मान्दैन, मान्नु हुँदैन ।
काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसलाको अर्को आधार सहप्रतिवादीको निजी बा.३ च.९३२५ नं.को बरामद भएको गाडी पीडित भनिएका मुरारकालाई अपहरण गरी फिरौती लिन प्रयोग गरिएको भनी उल्लेख गरिएको छ । काठमाडौं जिल्ला अदालतको फैसलाको पृष्ठ १० को प्रथम हरफमा बा.४ च.३२९८ को गाडी अपहरणमा प्रयोग भएको भनी उल्लेख गरिएको छ भने पृष्ठ ११ मा गाडी अपहरणमा प्रयोग भएको भनी उल्लेख गरिएको छ ।
काठमाडौं जिल्ला अदालतको यो आधार हास्यास्पद छ, आफैँले लेखेको फैसलाको पृष्ठ १० र ११ को सुरूमा फिरौती रकम हङकङ हुँदै हात पारेको भन्ने उल्लेख गरिएको छ । कसैको व्यक्तिगत बा.३ च. ९३२५ नं. को गाडी हङकङ दुबई गएको मान्नुपर्ने भयो, यदि त्यसो हो भने यो कसरी सम्भव हुन्छ ? यसरी मात्र कोरा कल्पनाका आधारमा भएको काठमाडौं जिल्ला अदालतको फैसला बदरयोग्य छ, अन्यथा नेपालमा फौजदारी न्यायको अन्त्य भएको मान्नुपर्न हुन्छ ।
त्यसैगरी यस मुद्दाको पीडित भनिएका महेश मुरारकाले अनुसन्धानको क्रममा दिएको निवेदनमा उल्लेख गरेको कथनलाई प्रमाणको रूपमा ग्रहण गरिएको छ । कानूनतः कुनै पनि व्यक्तिले अदालतभन्दा अन्यत्र व्यक्त गरेको कुरालाई अन्य ग्रहणयोग्य वस्तुनिष्ठ प्रमाणले निर्विवादरूपमा पुष्टि नगरेमा प्रमाणको रूप ग्रहण गर्न सक्दैन । निज मुरारकाले आफूले प्रहरीसमक्ष व्यक्त गरेको कथन/भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ एवं ने.का.प. २०६० अङ्क १ र २ पृष्ठ ६४, नि.नं.७१६७ समेतका प्रतिपादित सिद्धान्तअनुसार ७ पटक अदालतले बोलाउँदासमेत साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेको अवस्था
छैन । यस परिवेशमा त प्रमाण ऐन, २०३१ को दफा १८ एवं सम्मानित सर्वोच्च अदालतबाट सो सम्बन्धमा प्रतिपादित सिद्धान्तलाई अङ्गीकार गर्नु नपर्ने मान्नुपर्यो या महेश मुरारकाले प्रहरीसमक्ष गरेको कागजलाई प्रमाणको रूपमा ग्रहण नगर्नुपर्ने हुन्छ । यसरी काठमाडौं जिल्ला अदालतको फैसला स्पष्टरूपमा प्रमाण ऐनको कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्तविपरीत छ ।
समग्ररूपमा माथि उल्लिखित कानूनी एवं संवैधानिक आधारहरूमा काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरले प्रमाणको रूपमा ग्रहण गरेको, घटनास्थल, मुचुल्का, जाहेरी दरखास्त, बरामद भएको भनिएको चिजवस्तु, प्रहरी प्रतिवेदन, अनुसन्धानको बयान, जाहेरवालाको सनाखत कागज, बैंक स्टेटमेन्ट कल विवरण, घटनास्थल विवरण कागज, महेश मुरारकाको निवेदनसमेत प्रमाणको मान्य सिद्धान्त, प्रतिपादित सिद्धान्तसमेतको विपरीत भई प्रमाणको रूप दिई गरेको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसला बदरभागी छ ।
माथि प्रकरणहरूमा उल्लेख गरिएका आधार प्रमाणका अतिरिक्त यसै मुद्दामा प्रमुख अभियुक्तको रूपमा प्रतिवादीको रूपमा प्रस्तुत गरिएका अलिअन्ना, अविनाश अर्जुन, समिर जसपाल भन्ने उदय सेठ्ठीले सम्मानित काठमाडौं जिल्ला अदालतमा गरेको बयानमा म पुनरावेदक प्रस्तुत घटनामा संलग्नता नरहेको बेहोरा उल्लेख गरिदिएको अवस्था छ । यसरी मुद्दाका प्रमुख अभियुक्त देखाइएको व्यक्तिले प्रस्तुत मुद्दासँग सम्बन्धित घटनामा मेरो संलग्नता नभएको भनी अदालतसमक्षको बयानमा लेखाइ दिएको अवस्थामा विना कुनै आधार, प्रमाण प्रस्तुत मुद्दामा मलाई गडाउ गर्ने गरी फैसला भएको छ ।
अतः श्री काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरले मलाई सजाय गर्ने गरी गरेको फैसला माथि उल्लिखित आधार, फौजदारी कानूनको मान्य सिद्धान्त, प्रमाणको मान्य सिद्धान्त, सम्मानित सर्वोच्च अदालतबाट विभिन्न फौजदारी मुद्दामा प्रतिपादित नजिर सिद्धान्त प्रमाण ऐन, २०३१ दफा ९(२) समेतको आधारमा गैरकानूनी भएको हुँदा, मिसिल संलग्न प्रमाण कागजहरूको प्रचलित ऐन, कानून सिद्धान्तसमेतको आधारमा निष्पक्ष मूल्याङ्कन गरी काठमाडौं जिल्ला अदालतको मिति २०६८।०७।२२ र पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०६९।१२।२७ गतेको गैरकानूनी फैसला बदर गरी म पुनरावेदकउपर लागेको अभियोग गैरकानूनी घोषित गरी म पुनरावेदकलाई कैदमुक्त हुने गरी हक इन्साफ गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रल्हाद महतको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
सम्मानित काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरले मलाई सजाय गर्ने गरी गरेको फैसलाले म पुनरावेदकको अदालतसमक्षको इन्कारी बयान, साक्षी बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गर्न इन्कार गरी, जाहेरवाला शिव शाहीको मौकाको जाहेरीलाई सनाखत गरी गरेको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गरेको छ । यस मुद्दाका जाहेरवाला शिव शाहीले मिति २०६४।०९।१६ गते महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका थिए, उक्त जाहेरीमा यस मुद्दाका पीडित भनिएका महेश मुरारकालाई कस्ले अपहरण गरेको भन्ने सन्दर्भमा कुनै पनि व्यक्तिलाई प्रतिवादी बनाइएको छैन, वा जाहेरीको अपराध गर्ने व्यक्तिको नाम, थर, वतन उमेर खण्डमा नाम, थर थाहा नभएका ५/६ जना व्यक्तिहरू भनी उल्लेख गरिएको
छ । यसबाट के कुरा निर्विवादरूपमा स्थापित भएको छ भने यस मुद्दाको जाहेरीबाट प्रस्तुत घटना को कस्ले घटाएको भन्ने कुरा पुष्टि हुँदैन । फौजदारी मुद्दामा घटना घट्नु र घटनामा कुनै व्यक्तिहरूको संलग्नता हुनु वा नहुनु दुई अलग कुराहरू हुन् । यस्तो प्रवृत्तिको मुद्दामा प्रथमतः घटना घटेको कुरा अभियोजन पक्षले वस्तुनिष्ठ प्रमाणका आधारमा पुष्टि गर्नुपर्दछ तत्पश्चात् उक्त घटनामा के कुन व्यक्तिहरूको के कस्तो संलग्नता थियो छ भन्ने कुरा पुष्टि गर्नुपर्ने हुन्छ । त्यस्तो संलग्नता पुष्टि गर्ने ग्रहणयोग्य प्रमाण भएमा जो कोही व्यक्तिलाई अभियोगबमोजिम गडाउ गर्ने काम अदालतको हो र प्रमाणबाट पुष्टि हुन नसकेमा शंकाको भरमा, हचुवाको भरमा, प्रमाणको कानूनको मान्य सिद्धान्तविपरीत गई गरिने फैसला न्यायिक फैसला हुन सक्दैन । यस मुद्दाको सन्दर्भमा जाहेरी स्वयंले यस मुद्दासँग सम्बन्धित घटना को कस्ले घटाएको भन्ने कुरा स्थापित गर्न सकेको छैन । अर्कोतर्फ हामीले प्रतिपादन गरेको सिद्धान्तहरू, फौजदारी कानूनको स्थापित मान्यताको आधारमा हेर्ने हो भने जाहेरी स्वयं प्रमाण बन्न सक्दैन, जाहेरी अपराध घटना अनुसन्धान गर्नको लागि एउटा आधार एवं सूचना मात्र हो । यस परिवेशमा हुलिया जाहेरीलाई अदालतमा आई सनाखत गरेको भन्ने काठमाडौं जिल्ला अदालतको प्रथम निर्णयाधार कानूनी आधार शून्य र प्रमाणको मान्य सिद्धान्तविपरीत छ ।
काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसलाको दोस्रो निर्णयाधार रामकुमार प्याकुरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र बरामदी मुचुल्का रहेको छ । मिति २०६४।०९।०३ गते खडा भएको बरामदी मुचुल्कामा Super लेखिएको गोलीको खोका र बा.४ च. ३२९८ नं.को कारसमेत बरामद भएको र सो कार पीडित महेश मुरारकाको भएको र सो गाडीमा रहेको महेश मुरारकालाई अपहरण गरी लगेको भन्ने कथनलाई प्रमाणको रूपमा काठमाडौं जिल्ला अदालतले ग्रहण गरेको छ । प्रथमतः उक्त बरामदी मुचुल्का मु.ऐन अ.बं.१७२ नं. विपरीत छ, उक्त बरामदीमा लेखिएको र कथनलाई पुष्टि गर्ने अरू कुनै वस्तुनिष्ठ प्रमाण छैन, अर्कोतर्फ उक्त गाडी बरामद हुनु वा गोली बरामद हुनु नै मेरो उक्त घटनामा संलग्नता छ भन्ने कुरा पुष्टि गर्ने प्रमाण बन्न सक्दैन, मिल्दैन । त्यसैगरी कुनै पनि प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई अन्य स्वतन्त्र एवं ग्रहणयोग्य प्रमाणले समर्थन नै नगरेको अवस्थामा मेरो विरूद्ध प्रमाणको रूपमा ग्रहण गरिएको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसला बदरभागी छ ।
त्यसै गरी यस मुद्दाका जाहेरवाला शिव शाहीले प्रहरीसमक्ष गरेको सनाखतलाई मेरा विरूद्ध प्रमाणको रूपमा ग्रहण गरेको छ । सो प्रहरीसमक्ष भएको सनाखत सम्बन्धमा निज शिव शाहीले सम्मानित काठमाडौं जिल्ला अदालतसमक्ष गरेको मिति २०६५।०८।०२ को बकपत्रको प्रत्येक स.ज.मा मेरो नाम लिइएको छैन । मिति २०६४।११।१२ को सनाखत कागज बारेमा थाहा छैन भन्दै स.ज. १० मा उक्त मिति २०६४।११।१२ मो सनाखत कागज मैले गरेको हैन भनी स्पष्टरूपमा लेखाइदिएका
छन् । यस स्थितिमा, निज शिव शाहीले गरेको भनिएको कथित अदालत बाहिर खडा तयार गरेको कागजले प्रमाणित महत्त्व ग्रहण गरी ग्रहणयोग्य प्रमाण बने तर स्वयं अदालतसमक्ष गरेको कागज बकपत्रले प्रमाणित महत्त्व नपाउने ? यो प्रमाणको कुन मान्य एवं स्थापित सिद्धान्तको आधारमा मिल्छ ? यसरी केवल पूर्वाग्रही भई प्रमाण ऐन, प्रमाणको मान्य सिद्धान्त, प्रतिपादित सिद्धान्तसमेतको स्पष्टरूपमा प्रतिकूल हुने गरी गरिएको काठमाडौं जिल्ला अदालतको फैसला सर्वथा बदरभागी छ । साथै कुनै व्यक्तिको बैंक खातामा रकम हुन कुनै अपराध होइन न त काठमाडौं जिल्ला अदालतले बैंक खातामा रकम छ भन्ने कुरालाई पनि विरूद्ध प्रमाणको रूपमा ग्रहण गरेको छ । बैंक खाता हुनु, खातामा केही रकम हुनु अपराध हो भनी अक्कल काट्ने हो भने संसारका सबै व्यक्तिलाई अपराधी घोषित गर्न मिल्छ । यसरी संसारको कुनै पनि मुलुकको कानूनी आधारमा यस्तो हचुवा कुरालाई प्रमाण मान्दैन, मान्नु हुँदैन ।
काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसलाको अर्को आधार सहप्रतिवादीको निजी बा.३ च. ९३२५ नं.को बरामद भएको गाडी पीडित भनिएका मुरारकालाई अपहरण गरी फिरौती लिन प्रयोग गरिएको भनी उल्लेख गरिएको छ । काठमाडौं जिल्ला अदालतको फैसलाको पृष्ठ १० को प्रथम हरफमा बा.४ च.३२९८ को गाडी अपहरणमा प्रयोग भएको भनी उल्लेख गरिएको छ भने पृ.११ मा गाडी अपहरणमा प्रयोग भएको भनी उल्लेख गरिएको
छ । काठमाडौं जिल्ला अदालतको यो आधार हास्यास्पद छ, आफैँले लेखेको फैसलाको पृ.१० र ११ को सुरूमा फिरौती रकम हङकङ हुँदै हात पारेको भन्ने उल्लेख गरिएको छ । कसैको व्यक्तिगत बा.३ च. ९३२५ नं. को गाडी हङकङ दुबई गएको मान्नुपर्ने भयो, यदि त्यसो हो भने यो कसरी सम्भव हुन्छ ? यसरी मात्र कोरा कल्पनाका आधारमा भएको काठमाडौं जिल्ला अदालतको फैसला बदरयोग्य छ, अन्यथा नेपालमा फौजदारी न्यायको अन्त्य भएको मान्नुपर्ने हुन्छ ।
त्यसैगरी यस मुद्दाको पीडित भनिएका महेश मुरारकाले अनुसन्धानको क्रममा दिएको निवेदनमा उल्लेख गरेको कथनलाई प्रमाणको रूपमा ग्रहण गरिएको छ । कानूनतः कुनै पनि व्यक्तिले अदालतभन्दा अन्यत्र व्यक्त गरेको कुरालाई अन्य ग्रहणयोग्य वस्तुनिष्ठ प्रमाणले निर्विवादरूपमा पुष्टि नगरेमा प्रमाणको रूप ग्रहण गर्न सक्दैन । निज मुरारकाले आफूले प्रहरीसमक्ष व्यक्त गरेको कथन भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ एवं ने.का.प. २०६० अङ्क १ र २, पृष्ठ ६४, नि.नं. ७१६७ समेतका प्रतिपादित सिद्धान्तअनुसार ७ पटक अदालतले बोलाउँदासमेत साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेको अवस्था
छैन । यस परिवेशमा त प्रमाण ऐन, २०३१ को दफा १८ एवं सम्मानित सर्वोच्च अदालतबाट सो सम्बन्धमा प्रतिपादित सिद्धान्तलाई अङ्गीकार गर्न नपर्ने मान्न पो या महेश मुरारकाले प्रहरीसमक्ष गरेको कागजलाई प्रमाणको रूपमा ग्रहण नगर्नुपर्ने हुन्छ । यसरी काठमाडौं जिल्ला अदालतको फैसला स्पष्टरूपमा प्रमाण ऐनको कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्तविपरीत भएको छ ।
समग्ररूपमा माथि उल्लिखित कानूनी एवं संवैधानिक आधारहरूमा काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरले प्रमाणको रूपमा ग्रहण गरेको, घटनास्थल, मुचुल्का, जाहेरी दरखास्त, बरामद भएको भनिएको चिजवस्तु, प्रहरी प्रतिवेदन, अनुसन्धानको बयान, जाहेरवालाको सनाखत कागज, बैंक स्टेटमेन्ट कल विवरण, घटनास्थल विवरण कागज, महेश मुरारकाको निवेदनसमेत प्रमाणको मान्य सिद्धान्त, प्रतिपादित सिद्धान्तसमेतको विपरीत भई प्रमाणको रूप दिई गरेको काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटन ललितपुरको फैसला बदरभागी छ ।
अतः श्री काठमाडौं जिल्ला अदालत तथा श्री तत्कालीन पुनरावेदन अदालत पाटन ललितपुरले मलाई सजाय गर्ने गरी गरेको फैसला माथि उल्लिखित आधार, फौजदारी कानूनको मान्य सिद्धान्त, प्रमाणको मान्य सिद्धान्त, सम्मानित सर्वोच्च अदालतबाट विभिन्न फौजदारी मुद्दामा प्रतिपादित नजिर सिद्धान्त प्रमाण ऐन, २०३१ दफा ९(२) समेतको आधारमा गैरकानूनी भएको हुँदा, मिसिल संलग्न प्रमाण कागजहरूको प्रचलित ऐन, कानून सिद्धान्तसमेतको आधारमा निष्पक्ष मूल्याङ्कन गरी काठमाडौं जिल्ला अदालतको मिति २०६८।०७।२२ र पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०६९।१२।२७ गतेको गैरकानूनी फैसला बदर गरी म पुनरावेदकउपर लागेको अभियोग गैरकानूनी घोषित गरी म पुनरावेदकलाई कैदमुक्त हुने गरी हक इन्साफ गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विदुर भन्ने विष्णुबहादुर जि.सी.को तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा पुनरावेदक / प्रतिवादी रामकुमार प्याकुरेलले प्रस्तुत मुद्दाको पुनरावेदन पत्रमा लिएको जिकिर प्रमाणित गर्न नसक्ने हुँदा मुलुकी ऐन, अ.बं. ९२ अनुसार प्रस्तुत मुद्दा फिर्ता लिन अनुमति पाउँ भनी कारागार कार्यालय रामेछापमार्फत मिति २०७२/०३/२० मा निवेदन दिई सनाखतसमेत गरेको देखिँदा निवेदन मागअनुसार मुलुकी ऐन अ.बं. ९२ नं.बमोजिम प्रस्तुत मुद्दा फिर्ता लिने अनुमति प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७२/०३/२३ को आदेश ।
यसमा यसै लगाउको ०७३-CR-०४८४ मुद्दामा आजै यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि उक्त मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को १४०(३) को प्रयोजनार्थ विपक्षीलाई सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।०५।०१ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी पुनरावेदक प्रतिवादी सविन भन्ने प्रल्हाद महतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र अधिवक्ताहरू श्री सुनिल पोखरेल, श्री बद्रिप्रसाद पौडेल र दिपकमणी निरौलाले मेरो पक्ष अदालतमा आई इन्कारी बयान गरेको, सो कुरा साक्षीबाट पुष्टि भइरहेको अवस्थामा दाबीबमोजिम कसुरदार ठहर गरेको फैसला मिलेको छैन । उक्त फैसला उल्टी भई मेरो पक्षले सफाइ पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्टले प्रतिवादीहरू मौकामा साबित रहेको र सो कुरा तथ्ययुक्त प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा सुरू जिल्ला अदालतले समग्र प्रमाणको उचित मूल्याङ्कन गरी यी प्रतिवादीहरूलाई कैद र सजाय गर्ने गरेको फैसला मिलेकै हुँदा पुनरावेदन अदालत पाटनबाट समेत मिति २०६९।१२।२७ मा सो फैसला सदर हुने ठहर गरी फैसला भएकोले फैसला कानूनसम्मत हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा महेश मुरारकालाई अपहरण गरी शरीर बन्धकसमेत राखेको भनी प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी. र सविन भन्ने प्रल्हाद महतसमेतले गरेको उल्लिखित कार्य अपहरण तथा शरीर बन्धक गर्ने महलको १ र २ नं.बमोजिमको कसुर अपराध हुँदा निज प्रतिवादीहरूलाई सोही महलको ३ नं. तथा ७ नं.बमोजिम सजाय गरी सोही महलको १२ नं. अनुसार पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइदिनेसमेतको मागदाबी लिई सुरू जिल्ला अदालतमा अभियोगपत्र पेस भएको देखियो । सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिमको कसुर गरेको भनी मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. अनुसार जनही ९ (नौ) वर्ष कैद र सङ्गठितरूपमा अपहरण गरेको देखिँदा ऐ. ७ नं. अनुसार जनही थप २ वर्ष गरी जम्मा जनही ११ वर्ष र जनही रू.७५,०००।– जरिवाना हुने र ऐ.१२ नं. अनुसार पीडित अपहरण भएको मिति २०६४।०९।०२ देखि अपहरणमुक्त भएको मिति २०६७।९।७ सम्मको क्षतिपूर्तिबापत रू.१,०००।– का दरले प्रतिवादीहरूबाट क्षतिपूर्ति पीडितले भराई लिन पाउने ठहर गरी मिति २०६८।०७।२२ मा भएको फैसलामा चित्त नबुझी सबै प्रतिवादीहरूको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सुरू फैसला मनासिब मानी काठमाडौं जिल्ला अदालतको मिति २०६८।०७।२२ को फैसला मनासिब नै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको फैसला भएको पाइयो । सो फैसलासमेत चित्त नबुझाई प्रतिवादीहरू रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी. र सविन भन्ने प्रल्हाद महतले दुवै तहको फैसला बदर गरी आरोपित कसुरबाट छुट्कारा दिलाइपाउँ भनी यस अदालतमा पुनरावेदन गरेको पाइयो । प्रतिवादी रामकुमार प्याकुरेलले प्रस्तुत मुद्दाको पुनरावेदन पत्रमा लिएको जिकिर प्रमाणित गर्न नसक्ने हुँदा मुलुकी ऐन अ.ब. ९२ अनुसार मुद्दा फिर्ता लिन अनुमति माग गरी यस अदालतबाट मिति २०७२/०३/२३ मा मुद्दा फिर्ता लिने अनुमति लिई निजले यस अदालतमा गरेको पुनरावेदन मुद्दा फिर्ता लिएको पाइयो ।
प्रतिवादी रामकुमार प्याकुरेलले यस अदालतबाट मिति २०७२/०३/२३ मा मुद्दा फिर्ता लिने अनुमति लिई निजले यस अदालतमा गरेको पुनरावेदन मुद्दा फिर्ता लिएको र अर्का प्रतिवादी अमर टन्डनले पुनरावेदन लाग्ने म्यादसम्म पुनरावेदन नगरी बसेको देखिँदा निजहरूको हकमा केही बोलिरहनु
परेन ।
अब, पुनरावेदक प्रतिवादी प्रल्हाद महतको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू एवं प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिर सुनी प्रस्तुत मुद्दाको पुनरावेदन अदालत पाटनबाट भएको फैसलासहितको सुरू मिसिलसमेत अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।२७ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीहरू प्रल्हाद महत र विष्णु जि.सी.को पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, सुरू जाहेरी दरखास्तमा नाम किटान नभएको, अनुसन्धानमा भएको बयान खुसीराजीबाट भएको होइन । अदालतमा इन्कारी भई बयान गरेको अवस्था छ । सुरू जिल्ला अदालतबाट अनुसन्धानको क्रममा भएको साबिती बयानलाई आधार लिएर कसुरदार ठहर गरी भएको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्ने प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर लिएको पाइयो ।
३. अब, प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेका हुन्, होइनन् ? भन्ने सम्बन्धमा विचार गर्दा, मिति २०६४।०९।०२ गते साँझ १९:१५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. ३४ बासुकी मार्गबाट महेश मुरारकालाई बा.४ च. ३२९८ को कार नियन्त्रणमा लिई उद्योगपति महेश मुरारका तथा चालकसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी निलो रंगको गाडी प्रयोग गरी बलजफ्ती अपहरण गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का भएको देखिन्छ ।
४. मिति २०६४।०९।०२ गते बेलुका अं. १९:३० बजेको समयमा काठमाडौं नगरपालिका वडा नं. ३४ बासुकी मार्गमा पुग्न साथ ५/६ जनाको समूहले नम्बर याद नभएको निलो रंगको गाडीले बाटो छेकी अवरोध खडा गरी बोल्न कराउन नदिई हातपात तथा हातहतियारको बिँडले हानी ज्यान मार्ने धम्की दिई २/३ जना निज अपहरणकारीहरूले प्रयोग गरेको सवारीमा राखी दायाँ बायाँ हेर्न नदिई मैतीदेवी सेतो पुलनजिक पुर्याई घोप्टो पारी छाडी बोलिस् भने मर्छस् भन्ने धम्की दिई गएका । घटना बारेमा प्रहरीसमेतलाई जानकारी गराई खोजतलास भएको हो । भोलिपल्ट मैले चलाउने गरेको महेश मुरारकाका गाडी गौशाला तिलगंगा आँखा अस्पतालनजिक छाडेको अवस्थामा फेला परेका महेश मुरारकाको अवस्था अज्ञात थियो । ६/७ दिनपछि अपहरणकारीहरूले महेश मुरारकालाई छोडेको थाहा भयो । रूपैयाँ लिने खाने उद्देश्यले अपहरण गरेको हुनुपर्छ । अपहरणकारीमध्ये २/३ जनालाई देखे चिन्दछु भन्नेसमेत बेहोराको शिव शाहीको जाहेरी दरखास्त परेको देखिन्छ ।
५. बा.४.च. ३२९८ को सवारीसहित महेश मुरारका र निजको चालकलाई अपहरण तथा शरीर बन्धक बनाई महेश मुरारकाबाट फिरौतीसमेत लिएको हो । यसको मुख्य योजनाकार अमर टन्डन हुन् भन्नेसमेत बेहोराको रामकुमार प्याकुरेलले मौकामा कागज गर्दा बेहोरा लेखाएको पाइन्छ । साथै महेश मुरारकालाई अपहरण गर्ने अपहरणकारीमध्येका एक जना यिनै देखाइएका रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोराको शिव शाहीले मिति २०६४।११।१२ मा सनाखत कागज गरेको देखिन्छ ।
६. मिति २०६४।०९।०२ गते बेलुका अं. १९:३० बजे काठमाडौं महानगरपालिका वडा नं. ३४ बासुकी मार्गबाट उद्योगपति महेश मुरारकाका चालक शिव शाही तथा बा.४ च. ३२९८ नं. को सवारीसहित अपहरण गरेको हो । महेश मुरारका चालकलाई हामीले प्रयोग गरेको गाडीमा मैतीदेवीनजिक लगी डर, त्रास देखाई छाडेको हो । महेश मुरारकालाई निजको गाडी त्यहीँ छाडी गाडीमा कुखुराको रगत गोली राखी पशुपतिबाट हामीले प्रयोग गरेको सवारीमा राखी पूर्वयोजना, सल्लाहअनुसार भाडामा लिएको मण्डिखाटारको घरकोठामा बन्धक बनाई विभिन्न किसिमको डर, त्रास देखाई आफन्तजनहरूबाट फिरौती असुल्ने विषयमा अमर टन्डनबाट डिल भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ ।
७. हाम्रो योजना, सल्लाहअनुसार नै महेश मुरारकालाई पनि अपहरण गरी बन्धक बनाई पहिलो किस्ता ८० हजार यु.एस. डलर हुण्डीमार्फत छाडिसकेपछि प्राप्त भएको हो । ९० हजार यु.एस. डलर साथी जिमान हगले पाउने गरी लक्जम्बरमा रहेको छ । बाँकी ३० हजार डलर हात पर्यो । साथीहरूलाई काम बिग्रियो भनी बताए । केही रकम हातहतियार, बन्धक बनाउने स्थानको सवारी साधनसमेतको बन्दोबस्त मिलाउँदा खर्च भयो । मेरो उद्देश्य मोटो रकम हात पार्ने योजना, सल्लाह र डिलिङ गरी विभिन्न भाषाबाट धम्काई फिरौती असुल्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी अमर टन्डनले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ ।
८. पक्राउ भई सार्वजनिक भएका अपहरणकारी अमर टन्डन र रामकुमार प्याकुरेललाई पहिचान गरे, सबै घटनाको विवरणअनुसार यिनै जाहेरीको विरूद्ध खण्डमा लेखिएका व्यक्तिहरूबाटै अपहरण गरी सो फिरौती रकम लिएका हुन् भन्नेसमेत बेहोराको रामबाबु गर्गको जाहेरी परेको देखिन्छ ।
९. महेश मुरारकालाई अपहरण गर्दा अर्जुनबाट एक राउण्ड गोली चलेको, सो गोली महेश मुरारकाको छातीको छालामा लागी साथी सुदिप मैनालीको टाउकोको भागमा लागी घाइते भएका थिए । उपचार गर्न अस्पताल लैजाँदा पुलिस केस हुने र पक्राउ हुन सक्ने हुँदा मण्डिखाटारको बन्धक बनाउने कोठामा लगी राख्यौ । सुदिप रोइकराई गर्न थाले । गम्भीर अवस्था भएको र अरू तरिकाबाट समाधान नहुने हुँदा डिसकस हुन थाल्यो, सबै जनाको सल्लाहअनुसार अर्जुनलाई एक राउण्ड हान्ने मत मिलाई पुनः गोली हान्दा सुदिपको मृत्यु भएको हो । लासलाई मैले गाडी चलाई तन्नामा बेरी पशुपतिको बागमती खोला नजिकै सडकबाट निकाली राखी सनाखत नहोस् भनी ढुङ्गाले अनुहारमा हानी छाडेको हो । अनुसन्धानमा तोडमोड गर्न बा.४.च. ३२९८ नं. को गाडीमा भएको रगत कुखुराको हो भनी बयानमा लेखाएको थिएँ । यो घटनाको सम्बन्धमा हाम्रो ग्रुपका सबै जनालाई जानकारी छ भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलले अनुसन्धानको क्रममा ततिम्बा बयान गर्दा बेहोरा लेखाएको पाइन्छ ।
१०. अनुसन्धानको क्रममा प्रतिवादी अमर टन्डन र रामकुमार प्याकुरेलले आफूहरू कसुरमा साबित भई अन्य प्रतिवादीहरू सरिन सविन भन्ने प्रल्हाद महत, विदुर भन्ने विष्णु जि.सी.समेतलाई उक्त अपराध गर्ने कार्यमा संलग्न भएको भनी पोल गरेको देखिन्छ । यी प्रतिवादीहरू अदालतमा आफूउपर लगाएको कसुरमा इन्कारी भई बयान गरे पनि माथि उल्लिखित जाहेरीको बेहोरा, अनुसन्धानको क्रममा प्रतिवादी रामकुमार प्याकुरेल र अमर टन्डनले गरेको बयान, मिसिल संलग्न बरामद मुचुल्का घटनास्थल मुचुल्कासमेतबाट यी प्रतिवादीहरूले नै अभियोग दाबीबमोजिमको कार्य गरेका हुन् भन्ने पुष्टि हुन आएको देखिन्छ । अदालतमा बयान गर्दा इन्कारी भए पनि यी प्रतिवादीहरूउपर किटानी जाहेरी दिनुपर्ने अन्य कारण अदालतको बयानमा खुलाउन सकेको पाइँदैन । अनुसन्धानमा बयान गर्दा, साबित हुनेहरूले निजहरूलाई अनुसन्धान अधिकारीले डर, धाक, त्रासमा साबिती बयान गराएको हो भन्ने तथ्ययुक्त कारणसहितको कुनै आधार खुलाउन सकेको नदेखिँदा यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेका हुन् भन्ने देखिन आयो ।
११. अब, पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको भए तापनि मौकाको जाहेरी दरखास्तलाई प्रतिवादीहरूले मौकामा गरेको बयानसमेतका आधार, कारण, प्रमाणहरूले श्रृङ्खलाबद्ध पुष्टि गरेको देखिन्छ । सामान्यतया अनुसन्धानमा भएको बयानलाई प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्ने
हुँदैन । अनुसन्धानमा गरेको साबिती हुनुपर्ने कारण, अवस्था र स्थिति तथा सो बयानलाई अन्य प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने नै हुन्छ । प्रस्तुत मुद्दामा पीडित महेश मुरारकाका सवारी चालक शिव शाहीले हामी चढेको कार नियन्त्रणमा लिई आफूसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी अर्को माडी प्रयोग गरी जबरजस्ती अपहरण गरी शरीर बन्धकसमेत राखेको भनी मौकामा जाहेरी दिएको र जाहेरवाला शिव शाहीले मिति २०६४।११।१२ मा महेश मुरारकालाई अपहरण गर्ने अपहरणकारीमध्येका एक जना यिनै देखाइएका रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोरा उल्लेख गरी मौकाको सो जाहेरी दरखास्तलाई समर्थन गर्ने गरी सनाखत कागजसमेत गरिदिएको देखिन्छ । साथै मुख्य योजनाकार अमर टन्डन हुन् भन्नेसमेत बेहोराको रामकुमार प्याकुरेलले मौकामा कागज गर्दा बेहोरा लेखाएको पाइन्छ भने यो घटनाको सम्बन्धमा हाम्रो ग्रुपका सबै जनालाई जानकारी छ भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलले अनुसन्धानको क्रममा ततिम्बा बयान गर्दा बेहोरा लेखाएको पाइन्छ । त्यसैगरी मलाई अपहरणकारीले कारपेट भएको घर कोठामा बन्धक बनाई राखे । पछि रू.१० लाख फिरौती लिई छाडेका हुन् । मसमेतलाई विभिन्न व्यक्तिलाई अपहरण गर्ने यिनै व्यक्ति रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोराको शिव सराओगीले २०६४।१२।०१ मा सनाखत कागज गरेको
पाइन्छ । पक्राउ भई सार्वजनिक भएका अपहरणकारी अमर टन्डन र रामकुमार प्याकुरेललाई पहिचान गरेँ, सबै घटनाको विवरणअनुसार यिनै जाहेरीको विरूद्ध खण्डमा लेखिएका व्यक्तिहरूबाटै अपहरण गरी सो फिरौती रकम लिएका हुन् भन्नेसमेत बेहोराको रामबाबु गर्गको जाहेरी बेहोरासमेतबाट जाहेरवाला शिव शाहीको जाहेरी र मौकाको सो जाहेरी दरखास्तलाई समर्थन गर्ने गरी निजले गरिदिएको सनाखत कागजलाई प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी., सरिन सविन भन्ने प्रल्हाद महतले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको बेहोरासमेतले समर्थन गरेको देखिँदा प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी., सरिन सविन भन्ने प्रल्हाद महतले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान सत्य रहेको र अदालतमा कसुरबाट उन्मुक्ति पाउनका लागि इन्कारी रहेको भन्ने पुष्टि हुन्छ ।
१२. घटना घटेको देख्ने चश्मदिद व्यक्ति कोही नभएको अवस्थामा पनि अन्य परिस्थितिजन्य प्रमाणहरू (Circumstantial Evidences) बाट अभियोग दाबी पुष्टि हुन नसक्ने होइन । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुन्छ । न्यायकर्ताले न्यायिक मनको प्रयोग गर्दा कसुरदारहरू पटके अपराधी भए नभएको, सङ्गठित आपराधिक समूहमा रहे नरहेको, नाबालक वा वृद्ध वा अशक्त आदिलाई प्रयोग गरे नगरेकोसमेतका अपराध गर्दाको अवस्थामा प्रयोग भएका साधन, प्रक्रिया र पद्धतिका अतिरिक्त दसीको प्रकृति मात्रासमेतलाई मध्यनजर राख्नुपर्ने हुन्छ । कुनै प्रतिवादीले आफू संलग्न वारदातका सम्बन्धमा अनुसन्धान अधिकारीसमक्षको बयानमा आरोपित कसुर स्वीकार गरी अदालतसमक्षको बयानमा असत्य वा झुठो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको
हुन्छ । अप्रत्यक्ष प्रमाणको आधारबाट पनि अदालतले विवादको सही निरूपण गर्नुपर्ने हुन्छ । अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दसी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनु पर्ने बाध्यता रहन्छ । कुनै पनि प्रतिवादीले प्रत्यक्ष प्रमाण (Direct Evidence) नष्ट गर्न सक्ने र प्रत्यक्षदर्शीको अभाव रहेको अवस्थामा पनि दोषी पत्ता लगाउनु पर्ने अवस्थामा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहारा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले परिस्थितिजन्य प्रमाणलाई दबाउन, लुकाउन वा तोडमोड गर्न कठिन हुने हुँदा प्रत्यक्ष प्रमाणभन्दा यो बढी विश्वासयोग्य मानिने हुन्छ ।
१३. प्रस्तुत मुद्दासँगै लगाउमा रहेको कर्तव्य ज्यान मुद्दामा समेत मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा यी प्रतिवादीहरूले लास सनाखत हुन नसकोस् भनी ढुङ्गाले प्रहार गरी आफ्नै समूहको साथी सुदिपको लास फालेको भनी गरेको बयानको तथ्यलाई मृतकको नाक, निधारको भागमा थिचिएको, दबिएको, नाकको दुवै प्वालबाट रगत बगेको, दुवै हातको नाडीदेखि पाखुरासम्म चोट रहेको भन्ने लास जाँच मुचुल्का, मृत्युको कारण Blunt Force Head injury Associated with Blunt Force Injuries to Chest भन्नेसमेत बेहोराको पोष्टमार्टम रिपोर्ट र सोही बेहोरालाई समर्थन गरी चिकित्सकले गरेको बकपत्र र मृतक रहेको स्थानमा रातो रगत जस्तो लत्पतिएको ढुङ्गा भेटिएको देखिँदा यी प्रतिवादीहरूमध्येका प्रल्हाद महत र विष्णु जि.सी.समेतको कर्तव्यबाट नै सुदिप मैनालीको मृत्यु भएको देखिएको र लगाउमा रहेका अन्य व्यक्तिहरूको अपहरण तथा शरीर बन्धक गरेको मुद्दामा भएका बयान र प्रमाणहरूलाई समेत विचार गरी हेर्दा, यी प्रतिवादीहरूले सङ्गठितरूपमा योजना बनाई सामूहिक संलग्नतामा विभिन्न व्यक्तिहरूको अपहरण गर्ने, शरीर बन्धक राख्ने, अपहरण गरेको व्यक्तिहरूको परिवारलाई ज्यान लिने धम्कीसमेत दिई फिरौती रकम असुल गरी अपहरणमुक्त गर्ने जस्ता आपराधिक कार्यहरू श्रृङ्खलाबद्धरूपमा गर्दै आएको मिसिल संलग्न प्रतिवादीहरूको प्रहरीमा भएको साबिती बयान, बरामदी मुचुल्का, सुदिप मैनालीको लासजाँच प्रतिवेदन, घटनास्थल, मुचुल्का, जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन, अनुसन्धानको बयान, जाहेरवालाको सनाखत कागज, प्रतिवादीहरूको बैंक स्टेटमेन्ट कल विवरण, घटनास्थल विवरण कागज, महेश मुरारकाको निवेदन र मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणहरूसमेतबाट पुष्टि भइरहेको अवस्थामा अदालतमा इन्कारी बयान दिएको आधारमा मात्र यी प्रतिवादीहरू निर्दोष हुन् भन्न मिल्ने अवस्था रहेको नदेखिँदा पुनरावेदक प्रतिवादीहरूको सुरू तथा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदन जिकिर पुग्न सक्ने देखिन आएन ।
१४. अब पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।२७ मा भएको फैसला मिलेको छ वा छैन ? भन्नेतर्फ विचार गर्दा, मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. मा "कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई, डर त्रास देखाई, जोरजुलुम गरी, हातहतियार देखाई, छलकपट गरी, झुक्यानमा पारी वा नशालु वा मादक पदार्थ सेवन गराई वा कुनै यातायातको साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई कुनै ठाउँमा जान बाध्य गराउन वा कुनै व्यक्तिलाई निजको मन्जुरीविना वा नाबालक र मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई निजको हितको निमित्त निजको बाबु, आमा वा संरक्षकको मन्जुरीबाहेक कुनै ठाउँमा लैजान हुँदैन । सो गरे अपहरण गरेको मानिने छ" भन्ने व्यवस्था भएको पाइन्छ । ऐ. २ नं. मा "मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मन्जुरी लिई असल नियतले निजको हितको निमित्त थुनिएकोमा बाहेक कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई, डर त्रास देखाई, जोरजुलुम गरी, हातहतियार देखाई, छलकपट गरी, झुक्यानमा पारी वा नशालु वा मादक पदार्थ सेवन गराई वा कुनै यातायातको साधन वा ठाउँ कुनै किसिमले कब्जामा लिई वा त्यसउपर अनधिकृत तवरले नियन्त्रणमा लिई थुन्न हुँदैन । सो गरे शरीर बन्धक लिएको मानिने छ" भन्ने व्यवस्था भएको पाइन्छ । त्यसैगरी ऐ. ३ नं. मा "कसैलाई ज्यान लिने, कुटपिट गरी चोट पुर्याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, बिक्री गर्ने, दास बनाउने, निजको इच्छाविरूद्ध काममा लगाउने, यातना दिने, वेश्यावृत्तिमा लगाउने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, छुटकारा रकम (फिरौती) लिने वा शरीर बन्धकमा लिइएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने, व्यवसाय समर्पण गराउने वा प्रचलित कानूनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले यस महलको १ वा २ नं.बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिएबाहेक अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएमा चार वर्षदेखि आठ वर्षसम्म कैद र पच्चिस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । साथै ऐ. ७ नं. मा "दुई वा दुईभन्दा बढी व्यक्ति मिली वा सङ्गठित रूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नु पर्छ" भन्ने कानूनी व्यवस्था भएको
पाइन्छ । त्यसैगरी ऐ.१२ नं. मा "यस महलको १, २ वा ३ नं.बमोजिम कसुर गरे गराएको कुरा प्रमाणित हुन आएमा मुद्दा हेर्ने अड्डाले पीडित व्यक्तिलाई पुग्न गएको शारीरिक तथा मानसिक क्षतिको विचार गरी सो कसुर गर्ने गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई कसुर भएको दिनदेखि प्रत्येक दिनको कम्तीमा पाँच सय रूपैयाँको दरले क्षतिपूर्तिसमेत
भराइदिनुपर्छ । पीडित व्यक्तिको मृत्यु भइसकेकोमा त्यस्तो क्षतिपूर्ति निजको नजिकको हकदारले
पाउँछ । अपहरण गर्ने वा शरीर बन्धक लिने व्यक्तिले छुटकारा रकम (फिरौती) वा अन्य कुनै लाभ लिइसकेको रहेछ भने सोसमेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराई त्यस्तो व्यक्तिलाई यस महलबमोजिम हुने सजायको अतिरिक्त बिगोबमोजिम जरिवानासमेत गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।
१५. माथि विवेचना गरिएको आधार, प्रमाणबाट यी प्रतिवादीहरूले मिति २०६४।०९।०२ गते साँझ १९:१५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. ३४ बासुकी मार्गबाट महेश मुरारकालाई बा.४ च. ३२९८ नं. को कार नियन्त्रणमा लिई चालकसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी निलो रंगको गाडी प्रयोग गरी जबरजस्ती अपहरण गरी मिति २०६४।०९।०२ देखि मिति २०६४।०९।०७ सम्म शरीर बन्धकसमेत राखेकोले यी प्रतिवादीहरूले अपहरण गर्ने तथा शरीर बन्धक गर्ने महलको १ र २ नं.बमोजिमको कसुर अपराध गरेकाले निज प्रतिवादीहरूलाई ऐ. महलको ३ नं. तथा ७ नं.बमोजिम सजाय हुन दायर भएको अभियोग दाबीमा मौकाको जाहेरी दरखास्तलाई प्रतिवादीहरूले मौकामा गरेको बयानसमेतका आधार, कारण, प्रमाणहरूले श्रृङ्खलाबद्ध पुष्टि गरेको देखिँदा प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल विदुर भन्ने विष्णु जि.सी. र सरिन सविन भन्ने प्रल्हाद महतलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं.बमोजिमको कसुरमा ऐ. महलको ३ नं. तथा ७ नं.बमोजिम जनही ११ वर्ष कैद र रू. ७५,०००।– जरिवाना हुने ठहर गरी ऐ. को १२ नं. अनुसार पीडित अपहरण भएको मिति २०६४।०९।०२ देखि अपहरण मुक्त भएको मिति २०६४।०९।०७ सम्मको क्षतिपूर्तिबापत दैनिक रू.१,०००।– का दरले प्रतिवादीहरूबाट पीडितले भराई लिन पाउने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।०७।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।२७ मा भएको फैसला मिलेकै देखिन आयो ।
१६. अब, पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गरेको भए तापनि मौकाको जाहेरी दरखास्तलाई प्रतिवादीहरूले मौकामा गरेको बयानसमेतका आधार, कारण, प्रमाणहरूले श्रृङ्खलाबद्ध पुष्टि गरेको देखिन्छ । सामान्यतया अनुसन्धानमा भएको बयानलाई प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्ने
हुँदैन । अनुसन्धानमा गरेको साबिती हुनुपर्ने कारण, अवस्था र स्थिति तथा सो बयानलाई अन्य प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने नै हुन्छ । प्रस्तुत मुद्दामा पीडित महेश मुरारकाका सवारी चालक शिव शाहीले हामी चढेको कार नियन्त्रणमा लिई आफूसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी अर्को गाडी प्रयोग गरी जबरजस्ती अपहरण गरी शरीर बन्धकसमेत राखेको भनी मौकामा जाहेरी दिएको र जाहेरवाला शिव शाहीले मिति २०६४।११।१२ मा महेश मुरारकालाई अपहरण गर्ने अपहरणकारीमध्येका एक जना यिनै देखाइएका रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोरा उल्लेख गरी मौकाको सो जाहेरी दरखास्तलाई समर्थित हुने गरी सनाखत कागजसमेत गरिदिएको देखिन्छ । साथै मुख्य योजनाकार अमर टन्डन हुन् भन्नेसमेत बेहोराको रामकुमार प्याकुरेलले मौकामा कागज गर्दा बेहोरा लेखाएको पाइन्छ भने यो घटनाको सम्बन्धमा हाम्रो ग्रुपका सबै जनालाई जानकारी छ भन्नेसमेत बेहोराको प्रतिवादी रामकुमार प्याकुरेलले अनुसन्धानको क्रममा ततिम्बा बयान गर्दा बेहोरा लेखाएको पाइन्छ । त्यसैगरी मलाई अपहरणकारीले कारपेट भएको घर कोठामा बन्धक बनाई राखे । पछि रू.१० लाख फिरौती लिई छाडेका हुन् । मसमेतलाई विभिन्न व्यक्तिलाई अपहरण गर्ने यिनै व्यक्ति रामकुमार प्याकुरेल हुन् भन्नेसमेत बेहोराको शिव सराओगीले २०६४।१२।०१ मा सनाखत कागज गरेको
पाइन्छ । पक्राउ भई सार्वजनिक भएका अपहरणकारी अमर टन्डन र रामकुमार प्याकुरेललाई पहिचान गरे, सबै घटनाको विवरणअनुसार यिनै जाहेरीको विरूद्ध खण्डमा लेखिएका व्यक्तिहरूबाटै अपहरण गरी सो फिरौती रकम लिएका हुन् भन्नेसमेत बेहोराको रामबाबु गर्गको जाहेरी बेहोरासमेतबाट जाहेरवाला शिव शाहीको जाहेरी र मौकाको सो जाहेरी दरखास्तलाई समर्थित हुने गरी निजले गरिदिएको सनाखत कागजलाई प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी., सरिन सविन भन्ने प्रल्हाद महतले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको बेहोरासमेतले समर्थित गरेको देखिँदा प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी., सरिन सविन भन्ने प्रल्हाद महतले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान सत्य रहेको र अदालतमा कसुरबाट उन्मुक्ति पाउनका लागि इन्कारी रहेको भन्ने पुष्टि हुन्छ । यसप्रकार माथि विवेचना भएबमोजिम यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको यी पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने देखिन आएन । यस अदालतको संयुक्त इजलासबाट प्रत्यर्थी झिकाउँदा उल्लेख गरिएको आधारसँग सहमत हुन सकिएन ।
१७. तसर्थ, माथि उल्लेख गरिएका आधार, प्रमाणबाट यी प्रतिवादीहरू अमर टन्डन, रामकुमार प्याकुरेल, विदुर भन्ने विष्णु जि.सी., सरिन सविन भन्ने प्रल्हाद महतलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं.बमोजिमको कसुरमा ऐ. महलको ३ नं. तथा ७ नं.बमोजिम जनही ११ वर्ष कैद र रू.७५,०००।– जरिवाना हुने ठहर गरी ऐ. को १२ नं. अनुसार पीडित अपहरण भएको मिति २०६४।०९।०२ देखि अपहरणमुक्त भएको मिति २०६४।०९।०७ सम्मको क्षतिपूर्तिबापत दैनिक रू.१,०००।– का दरले प्रतिवादीहरूबाट पीडितले भराई लिन पाउने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।०७।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर गरी भएको मिति २०६९।१२।२७ को पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको विद्युत्तीय प्रति अभिलेख गरी मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्न अभिलेख शाखामा
बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत : कृष्णप्रसाद अधिकारी
इति संवत् २०७७ साल आषाढ २१ गते रोज १ शुभम् ।