निर्णय नं. ४४३३ - निखनाई पाउँ

निर्णय नं. ४४३३ ने.का.प. २०४८ अङ्क १२
पूर्णइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०४६ सालको दे.पु.इ.नं. ९०
फैसला भएको मिति: २०४८।१२।२५।३ मा
निवेदक/वादी: राजविराज न.पं. वार्ड नं. २ बस्ने छूतहरु यादव
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.वार्ड नं. ९ बस्ने सुनयना झा
मुद्दा : निखनाई पाउँ
(१) वादीले थैली थाहा पाउन उचित र पर्याप्त प्रयास गरेको कुरा फिरादमा लेखी देखाउन नसकेकोले लेनदेन व्यवहारको १६ नं. अन्तर्गत प्रस्तुत फिराद परेको भन्न नमिल्ने ।
(प्रकरण नं. १२)
निवेदक वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
अवलम्बित नजीर: सूर्यबहादुर श्रेष्ठ विरुद्ध रमेश श्रेष्ठ समेत भएको २०३५ सालको दे.फु.नं. १९ को निखनाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०३५।१२।३१।६ मा प्रतिपादित सिद्धान्त । (ने.का.प. २०३५, अड्ढ १२, पृष्ठ २५६ मा प्रकाशित सं.)
–ने.का.प. २०४५, अड्ढ ११, पृष्ठ १२२१ को संयुक्त इजलासको फैसलालाई सदर गरी फैसला भएको ।
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. श्री ५ महाराजाधिराजका जुनाफमा सर्वोच्च अदालत संयुक्त (साविक पेज नं. ८४०) इजलासबाट भएको मिति २०४५।११।८ को निर्णय दोहोर्याई पाउँ भनी निवेदकले चढाएको विन्तिपत्रमा “उक्त मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु” भन्ने मौसूफबाट हुकुम बक्से बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. राजविराज नगरपञ्चायत वार्ड नं. ९ कि.नं. ११० को ०–१०–० साविक देखि मैले जोती आएको उक्त जग्गा जग्गाधनी शान्तिदेवीले बिक्री गर्नु परेमा म मोहीलाई सुनाई लेनदेन व्यवहारको १२ नं. अनुसार मैले नलिएमा अरुलाई बिक्री गर्नु पर्नेमा मलाई थाहा नै नदिई उक्त जग्गा २०३९।३।१० गतेमा राजीनामा पारित गराई लिएको कुरा यही पौष ९ गते प्रमाणका मानिसबाट थाहा पाएकोले नालेश गर्न आएको छु । उक्त जग्गा मेरो मोहियानी हुँदा शान्तिदेवीले सुनयना झालाई के कति रुपैयाँमा कहाँबाट पारित गरी दिएको हो विपक्षीबाट लिखत दाखिल गराई थैली मबाट धरौट दाखिल गराई सो थैली विपक्षी सुनयना झालाई बुझाई उक्त कि.नं. ११० को ०–१०–० जग्गा म मोहीलाई हक सफा गराई मेरा नाउँमा दर्ता गराई पाउँ भन्ने समेत २०३९।१०।१२।४ को फिरादपत्र ।
३. फिराद लेख बमोजिम वादी जग्गा कमाउने मोही होइन । त्यसो हुनाले वादीले मैले खरिद गरेको जग्गा निखनाई पाउने होइन फिराद लेख झुठ्ठा हो म संग वादीको बराबर सम्पर्क आवत जावत भएको हुँदा पारित भएको कुरा थाहा नभएको फिराद लेख झुठ्ठा हो भन्ने समेत सुनयना झाको २०४०।१।१४।४ को प्रतिउत्तरपत्र ।
४. एकासगोलको लोग्ने जयनारायण साहले २०४०।१।७।४ मा बुझी लिएको इतलायनामाको म्याद गुजारी प्र.शान्तिदेवी बसेको ।
५. लेनदेन व्यवहारको १२ नं. मा हकवालाले ननिखनेमा र म्यादभित्र उजूर गरे मोहीले निखन्न पाउँछ भन्ने लेखेको देखिनुका साथै प्रतिवादीले नै पेश गरेको लेखतमा वादी मोही भन्ने लेखेको देखिएकोले वादी दावा अनुसार कि.नं. ११० को ०–१०–० जग्गाको हक निखन्न पाउने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको २०४०।९।११।२ को फैसला ।
६. शुरु जिल्ला अदालतको इन्साफमा चित्त नबुझी प्र.सुनयना झा तर्फबाट सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदन लेनदेन व्यवहारको १२ नं. को देहाय १ बमोजिम निखनाई पाउन सक्ने व्यक्ति भएको र सोही ऐनको ११ नं. को म्याद भित्र फिराद दावी भई प्रतिउत्तर परी थैली रजिष्ट्रेशन दस्तूर यकीन भएपछि थैली र रजिष्ट्रेशन दस्तूर दाखिल भएको देखिनाले प्रत्यर्थी वादीले फिराद दावी बमोजिम हक निखनाई पाउने ठहर्याई शुरु जिल्ला अदालतले गरेको निर्णय मनासिब देखिँदा पुनरावेदनको जिकिर नपुग्ने ठहर्छ भन्ने सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको २०४२।७।१३।३ को फैसला ।
७. स.अं.अ. (राजविराज बेञ्च) को उक्त फैसलामा समेत चित्त नबुझी पुनरावेदन गर्ने अनुमति प्राप्त गरी प्र.सुनयना झा तर्फबाट पू.क्षे.अ.मा पुनरावेदन परेकोमा प्रस्तुत मुद्दामा वादीले थैली थाहा पाउन प्रयास गरेको भन्ने केही पनि उल्लेख गरेको देखिएन । २०३९।३।१० गतेमा राजीनामा पारित भएको जानकारी पाएको भनेकोमा रजिष्ट्रेशन पनि वादी प्रतिवादीको घर भएकै इलाकाको मालपोत कार्यालयबाट भएको देखिँदा यस्तोमा यदि रजिष्टे«शनको २६ नं. बमोजिम वादीले मालपोत कार्यालयमा गई प्रयास गरेको भए थैली थाहा पाउने हुँदा थैली थाहा पाउने उद्योग नै नगरी थैली थाहा भएन भन्दै रजिष्ट्रेशनको ३५ नं. ले निर्देशित उपायको खिलाप सोझै अदालतमा नालेश दिएकोबाट स.अ.फुलबेञ्चको २०३५।१२।२१।६ मा प्रतिपादित सिद्धान्त बर्खिलाप हुँदा वादी दावी पुग्न नसक्नेमा निखन्न पाउने ठहर्याएको शुरु अञ्चल अदालतको इन्साफ गल्ती हुँदा उल्टी (साविक पेज नं. ८४१) हुन्छ । वादी दावी पुग्न सक्दैन भन्ने व्यहोराको पु.क्षे.अ.को २०४४।९।१९।१ को फैसला ।
८. पू.क्षे.अ.को उक्त फैसलामा चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी तर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालत मार्फत पर्न आएको निवेदनमा नि.नं. २१२०, ने.का.प. २०४१, पृष्ठ ८१९ पु. वादी गणेशलाल मरी मु.स. गर्ने श्याम विहारीलाल समेत विपक्षी प्र.अम्बरनाथ समेत भएको हकसफा मुद्दामा स.अ. डिभिजनबेञ्चबाट २०४१।९।२४ मा भएको निर्णयमा प्रतिपादित सिद्धान्त विपरीत प्रस्तुत मुद्दामा निर्णय भएको देखिन आएकोले न्या.प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(५)(ग) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको २०४५।२।२४।६ को आदेश ।
९. हाल प्रचलित लेनदेन व्यवहारको १६ नं. मा थैली थाहा नहुने मनासिब कारण परी थाहा नपाएकोमा प्रतिउत्तर परेको मितिले ३५ दिनभित्र भन्ने व्यवस्था भएबाट थैली थाहा नभएको आधारमा रजिष्ट्रेशनको ३५(२) नं. अनुसार मालमा दर्खास्त नदिई अदालतमा सिधा फिराद दिंदा थैली थाहा नहुनुको मनासिब कारण आफ्नो फिरादमा लेखी देखाउनु अनिवार्य गरेको छ । फिरादमा लिखत पास भएको मिति थाहा पाएको भनी देखाएपछि सो मितिको आधारमा थैली यकीन गर्नुपर्छ । वादीले कुनै किसिमबाट थैली थाहा पाउन प्रयास गरेको कुरा आफ्नो फिरादमा लेखी देखाउन नसकेको लेनदेन व्यवहारको १६ नं. अनुसार निखन्न नपाउने ठहर्याएको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।११।८ को फैसला ।
१०. सर्वोच्च अदालत संयुक्त इजलासको उक्त निर्णय दोहर्याई पाउँ भनी निवेदक वादीले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको विन्तिपत्रमा उक्त मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफ सरकारबाट हुकुम बक्से बमोजिम पेश हुन आएको रहेछ ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले लिखत रजिष्ट्रेशन पास गर्ने कार्य अधिराज्यको जुनसुकै जिल्लाको मालपोत कार्यालयबाट हुन सक्ने हुँदा सबै ठाउँमा गई पत्ता लगाउन संभव हुँदैन । निखनाई पाउँ भनी दावी लिएको जग्गाको वादी मोही हुन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार जग्गा किन्ने बेच्नेले मोहीलाई जानकारी दिनुपर्ने कानुनी कर्तव्य तोकी राखेको छ । सो बमोजिम यी वादीलाई सूचना दिएको छैन । यस्तो अवस्थामा लेनदेन व्यवहारको १६ नं. बमोजिम फिराद गर्न पाउने नै हुँदा वादी दावी बमोजिम हुनु पर्ने भन्ने र विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले राजीनामा पारित भएको मिति थाहा पाएको भनी वादीले स्वीकार गरेको छ । आफू बसेको इलाकाको मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास भएको छ । यस्तो अवस्थामा रजिष्ट्रेशनको २६ नं. बमोजिम वादीले लिखत र थैली समेत थाहा पाउन प्रयास गरेको भए थैली थाहा हुन सक्दथ्यो । थाहा पाउने प्रयास नै नगरी फिराद दिएबाट तत्काल प्रचलित कानुन तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत हुँदा वादी दावी पुग्न नसक्ने ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।११।८ को फैसला सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।
१२. निर्णयतर्फ हेर्दा यसमा वादीले दिएको फिरादमा प्रतिवादीले मलाई थाहा नै नदिई गुपचुप नमालुम के कति रुपैयाँमा हो जग्गा राजीनामा गरी मिति २०३९।३।१० मा पारित गराई लिएको रहेछ । सो कुरा पौष ९ गते प्रमाणका मानिसले सुनाएबाट थाहा भयो । थैली अड्ढ र पास भएको अड्डा थाहा नहुँदा थैली यकीन (साविक पेज नं. ८४२) हुन सकेन प्रतिउत्तर परी यकीन हुन आएपछि थैली धरौटी राख्ने छु” भन्ने उल्लेख भएको पाइन्छ । अचल सम्पत्ति निखन्न चाहनेले रजिष्ट्रेशनको ३५ नं. अनुसारको कार्यविधि अपनाउनु पर्ने हुन्छ । वादीले लेनदेन व्यवहारको १६ नं. को आधार लिई नालेश गरेको पाइन्छ उक्त लेनदेन व्यवहारको १६ नं. मा “थैली तिरी निखनी लिन पाउने गै¥ह कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैली र रजिष्ट्रेशन गराउँदा तिरेको दस्तूर ल्याई धरौट राख्नु पर्दछ । थैली थाहा नहुने मनासिब कारण परी थाहा नभएकोमा प्रतिउत्तर परेको ३५ दिन भित्र धरौट राख्नु पर्दछ” भन्ने उल्लेख भएको पाइन्छ । यसबाट थैली थाहा पाउन नसक्ने मनासिब कारण भएमा मात्र प्रतिउत्तर परेपछि धरौट राख्न सकिने प्रष्ट छ । रजिष्ट्रेशनको महलको २६ नं. मा रजिष्ट्रेशन गर्न आउँदा वा अघिपछि जोसुकैले पनि अरुलाई लेखिएको छ छैन भनी रजिष्ट्रेशन भएको लिखत हेर्न वा नक्कल लिन आएमा हेर्न वा नक्कल दिनु पर्छ” भन्ने उल्लेख भएको पाइन्छ । यसबाट रजिष्ट्रेशन भएको मिति थाहा भइसकेको अवस्थामा वादीले कम्तीमा आफ्नो इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा गई नक्कल लिई वा सम्बन्धित कागज हेर्ने प्रयास गरेको भए थाहा पाउन नसक्ने कुरै थिएन । विवादित लिखत वादी रहे भएकै इलाकाको मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास भएको देखिन्छ । यसरी आफ्नो इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा गई दर्खास्त दिई लिखत थाहा पाउनको लागि वादीले उद्योगसम्म पनि गरेको भन्ने देखिन्न र सो बमोजिम थाहा पाउन उद्योग वा प्रयास गरेको थियो भनी फिरादमा उल्लेख गर्न सकेको पनि पाइन्न । यसबाट निजले लिखत र थैली थाहा पाउन उचित र पर्याप्त प्रयास गरेको भनी भन्न मिलेन । यस्तै विषयवस्तु भएको सूर्यबहादुर श्रेष्ठ विरुद्ध रमेश श्रेष्ठ समेत भएको २०३५ सालको दे.फु.नं. १९ को निखनाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०३५।१२।३१ मा “थैली थाहा पाउनलाई आफूले थाहा पाउने उद्योग गर्नु पर्दछ र त्यस निम्ति रजिष्ट्रेशनको २६ नं. बमोजिम नक्कल लिन वा हेर्न सकिन्छ । यदि रजिष्ट्रेशन पारित गरेको अड्डा थाहा छैन भनी नक्कल लिन वा हेर्न नपाउने प्रष्ट छ तर साहु रहेको इलाकाको अड्डामा दर्खास्त गरेपनि हुने हुनाले उक्त अड्डामा गएपनि लिखतको खोजी हुन सक्ने यस मुद्दामा संभव छ किनभने पारित गर्ने अड्डा र साहु रहेको अड्डा इलाकाको अड्डा हो । जब थैली थाहा पाउने उद्योग गरेकै छैन भने नालेश गरेकोबाट रजिष्ट्रेशनको ३५ नं. खिलाप हुँदा वादी दावी पुग्न सक्दैन” भनी निर्णय भई सिद्धान्त समेत प्रतिपादित भइसकेको पाइन्छ । यसर्थ वादीले थैली थाहा पाउन उचित र पर्याप्त प्रयास गरेको कुरा फिरादमा लेखी देखाउन नसकेकोले लेनदेन व्यवहारको १६ नं. अन्तर्गत प्रस्तुत फिराद परेको भन्न नमिल्ने हुँदा माथि उल्लेखित प्रतिपादित सिद्धान्त समेतका आधारमा वादी दावी पुग्न नसक्ने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४५।११।८ को निर्णय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.ओमभक्त श्रेष्ठ,
न्या.कृष्णजङ्ग रायमाझी
इति सम्वत् २०४८ साल चैत्र २५ गते रोज ३ शुभम् ।