शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७२२ - अपहरण तथा शरीर बन्धक

भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७८।३।३०

०७३-CR-०१७०

 

मुद्दा : अपहरण तथा शरीर बन्धक

 

पुनरावेदक / प्रतिवादी : सिराहा जिल्ला हनुमाननगर गा.वि.स. वडा नं.७ घर भई हाल कारागार कार्यालय सिराहामा थुनामा रहेको रामस्वरूप पासवानको छोरा राजन पासवान

विरूद्ध

प्रत्यर्थी / वादी : सिराहा जिल्ला चन्द्रअयोध्यापुर गा.वि.स. वडा नं.५ बस्ने विद्यासागर तामाङको जाहेरीले नेपाल सरकार

 

अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुरको मुद्दामा पीडित स्वयं प्रत्यक्षदर्शी प्रमाणको कोटीमा रहन्छ । अपराध हुँदा देखेर, अनुभव गरेर, जानेर आफूउपर के कसरी कसले कसुर गर्ने कार्य गरेका थिए, को को व्यक्तिले के कस्तो भूमिका निभाएका थिए, वारदातस्थलदेखि अपहरणमुक्त हुँदाको अवस्थासम्मको बारेमा चित्रण गरी बेहोरा उजागर गरिदिने दायित्व स्वयं पीडित व्यक्तिको नै हुने । 

(प्रकरण नं.१०)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री तुल्सी शंकर अधिकारी

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कमलराज पन्थी 

अवलम्बित नजिर : 

ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९

सम्बद्ध कानून : 

                                                                                                                                            

सुरू फैसला गर्ने :

मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा

सिराहा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल

माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

मिति २०६४।८।२८ गते राति अं. २२:०० बजे मलगायत घरका सम्पूर्ण सदस्यहरू खाना खाई सुत्ने तरखरमा बरन्डामा नै रहेको अवस्थामा ६/७ जना नकाब लगाएका हतियारधारी व्यक्तिहरू मेरो घरमा आई हतियार देखाउँदै बल प्रयोग गरी जबरजस्ती मलाई समाती अपहरण गरी घरबाहिर धान खेततिर लगी धान खेतमा अझै १५/१६ जना हतियारधारीहरू बसिरहेको ठाउँमा लगी मेरो हातमुख बाँधी अपहरण गरी लगी सिराहा जिल्लाको पदमपुर तथा धनुषा जिल्लाको लकड गा.वि.स. अन्तर्गत विभिन्‍न ठाउँमा कहिले कमलाको पश्‍चिमी किनारमा कहिले उखु घारीमा राखी कुटपिटलगायत विभिन्न यातना दिई, अभद्र व्यवहार गरी राखेको थियो । मलाई अपहरण गरी घरबाहिर ल्याएपछि नकाब उठाउँदा मैले पहिलेदेखि चिनेका राजन पासवान र गजलाल यादव रहेछन् भनी चिनेको हो । मलाई अपहरण गरी लिई गई आफ्नो कब्जामा राखी फिरौती रकम मोलतोल गरिरहेकै अवस्थामा गाउँलेहरूले राजन पासवानलाई फेला पारी मलाई लुकाई छिपाई राखेको स्थान निज राजन पासवानबाट पत्ता लगाई गाउँलेहरूको सहयोगमा मलाई कमला नदीको पश्‍चिम किनारमा रहेको उखुघारीबाट मिति २०६४।०९।०५ गते बेलुकी अं. १५:३० बजे अपहरणमुक्त गरी ल्याएको हुँदा अपहरणकारीहरूलाई पक्राउ गरी हदैसम्मको सजाय गरी मलाई क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्‍ने बेहोराको जाहेरवाला विद्यासागर तामाङको किटानी जाहेरी दरखास्त ।

मिति २०६४।०८।२८ गते राति अं. २२:०० बजेको समयमा मलाई आफ्नै घरबाट अपहरण गरी घरबाहिर ल्याइसकेपछि नकाब हटाउँदा मैले पहिलेदेखि नै चिनेका जिल्ला सिराहा हनुमाननगर गा.वि.स. वडा नं. ७ बस्ने राम स्वरूप पासवानको छोरा राजन पासवान भन्‍ने व्यक्ति यिनै हुन्, मलाई देखाउँदा देखी, चिनी सनाखतसमेत गरिदिएँ भन्‍ने जाहेरवाला विद्यासागर तामाङले गरेको सनाखत कागज ।

जाहेरीमा उल्लिखित प्रतिवादीहरू सबै L.T.T.E. पार्टीमा आवद्ध छन् । जसमध्ये नेमलाल पासवान र गुलसन पासवान मेरा भिनाजु हुन् । सिंहेश्‍वर पासवान भिनाजुका बुबा हुन् । जाहेरवाला विद्यासागर तामाङलाई अपहरण गर्नुभन्दा दुई / तीन दिनअघि भिनाजु नेमलाल पासवान र स्वामी भन्‍ने उमेश यादव मेरो घरमा आई जाहेरवालालाई अपहरण गरी फिरौती रकम लिने योजना बनाई सकेका छौँ, अपहरण गर्नको लागि तपाईं र जगलाल यादव दुई जनाले एकान्त चोरबाटो देखाई दिनुपर्छ, तपाइँलाई पनि फिरौती रकमको भागबन्डा दिन्छौँ भनेकाले बाटो देखाउन र अपहरण गर्नमा म पनि सहमत 

भएँ । मिति २०६४।०८।२८ गते अं. १८:०० बजेतिर मेरा भिनाजु, स्वामी भन्‍ने उमेश यादव, जगलाल यादव र जाहेरीमा उल्लिखित मैले नचिनेका १५/१६ जना मानिसहरूसमेत हातहतियारसहित मेरो घरमा आएपछि हामी सबैजना विद्यासागरको घरनजिक धान खेतमा अं. २२:०० बजेतिर पुगी अन्य मानिसहरूलाई धानखेतमै तयारी अवस्थामा राखी आफू तथा जगलाल यादव, नेमलाल पासवान, लालचन पासवान, देवचन पासवान, गुलसन पासवान, रोहित पासवान र स्वामी भन्‍ने उमेश यादवसमेतले साथमा हतियारसमेत बोकी नकाब लगाई विद्यासागर तामाङको घरमा गई निजलाई नियन्त्रणमा लिई आफ्नै गाउँ पदमपुरसम्म ल्याई दिई त्यहाँबाट स्वामी भन्‍ने उमेश यादवको जिम्मा लगाई म आफ्नो घरमा गई सुतेको हो । भोलिपल्ट विद्यासागरलाई कहाँ राखेको छ भनी भिनाजु नेमलाललाई सोधी राखेको स्थान पत्ता लगाई सो ठाउँमा गई फिरौती रकमको बारेमा विद्यासागरसँग कुरा गर्दा कुरा नमिलेपछि ४/५ दिन म त्यहीँ बसी घरमा आउँदा स्थानीय मानिसहरूले के कसरी विद्यासागर तामाङलाई मसमेतले अपहरण गरेको थाहा पाई मलाई नियन्त्रणमा लिई कुटपिट गरी विद्यासागरलाई अपहरणमुक्त नगरे मारी दिन्छौँ भनी मलाई धम्की दिएपछि मैले विद्यासागर तामाङलाई लुकाएको स्थान गाउँलेहरूलाई देखाएपछि गाउलेहरूले विद्यासागर तामाङलाई अपहरणमुक्त गरेका हुन् । भिनाजु नेमलाल पासवान र स्वामी भन्‍ने उमेश यादवले फिरौती रकमबाट भागबन्डा दिन्छौँ भनेकाले उक्त वारदातमा म पनि संलग्न भएको थिएँ भन्‍नेसमेत प्रतिवादी राजन पासवानले अधिकारप्राप्त अधिकारीसमक्ष गरी दिएको साबिती बयान । 

मिति २०६४।०८।२८ गते राति अन्दाजी २२:०० बजेको समयमा जिल्ला सिराहा, चन्द्रअयोध्यापुर गा.वि.स., वा.नं. ५ स्थित जाहेरवाला विद्यासागर तामाङको घरबाट निज जाहेरवालालाई राजन पासवानसमेतले अपहरण गरी लगेको हो भन्‍नेसमेत घटनास्थल मुचुल्का ।

मिति २०६४।०८।२८ गते राती अं. २२:०० बजेतिर जाहेरवाला विद्यासागर तामाङको घरतर्फ हल्लाखल्ला गर्दा मसमेतले सुनी थाहा पाई गाउँमा अन्य स्थानीय मानिसहरू भई निजको घरमा आई हेर्दा बुझ्दा जाहेरवाला विद्यासागर तामाङलाई ६/७ जना नकाब लगाएका हतियारधारी मानिसहरूले अपहरण गरी पश्‍चिमतर्फ लगेको भन्‍ने बुझिएको र छरछिमेकीहरूले तत्कालै खोजतलास गर्दा कहीँकतै फेला नपरेको, हामी गाउँलेहरू सबैले विद्यासागर तामाङलाई अपहरण गर्नमा राजन पासवानको समेत संलग्नता छ भन्‍ने थाहा जानकारी पाई हामी स्थानीय मानिसहरू मिति २०६४।०९।०५ गते निज राजन पासवानको घरमा आई विद्यासागर तामाङलाई तपाइँहरूले अपहरण गरी लगेको भन्‍ने बुझिएको छ, विद्यासागर हाल कहाँ छन् भनी निज राजन पासवानलाई भन्दा निज राजन पासवानले धनुषा लक्‍कड गा.वि.स. अन्तर्गत कमला खोलाको पश्‍चिम किनारमा रहेको उखुघारीमा राखेको छ भनी बताएअनुसार हामी गाउँलेहरू उक्त स्थानमा गई विद्यासागर तामाङलाई अपहरणकारीको पञ्‍जाबाट अपहरणमुक्त गरी ल्याएका हौं भन्‍ने सुरजकुमार तामाङ, वसन्त चौधरी र राम विलाश ठाकुरसमेतले गरी दिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

मिति २०६४।०८।२८ गते राति अं. २२:०० बजेको समयमा आफ्नै घरको बरन्डामा बसिरहेका जाहेरवाला विद्यासागर तामाङलाई बल प्रयोग गरी डर त्रास देखाई जोरजुलुम गरी हतियार देखाई नियन्त्रणमा लिई निजको मन्जुरीविना अपहरण गरी विभिन्न ठाउँमा लुकाई राखी फिरौती रकम माग गरी शरीर बन्धक लिनेजस्ता जघन्य अपराध गरिरहेको अवस्थामा स्थानीय गाउँलेहरूले अपहरण गरी कब्जामा राखेको ठाउँबाट अपहरणमुक्त गराएको तथ्य सप्रमाण पुष्टि हुन आएकोले प्रतिवादीहरू राजन पासवानसमेतलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. को कसुरमा ऐ. महलको ३ नं.बमोजिम सजाय भई दुई वा सोभन्दा बढीको समूहले अपहरण गरी शरीर बन्धक बनाएकोले ऐ. महलको ७ नं.बमोजिम थप सजाय गरी ऐ. १२ नं. अनुसार जाहेरवालालाई पुग्न गएको शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति प्रतिवादीहरूबाट जाहेरवाला पीडितलाई दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको अभियोग-पत्र ।

मिति २०६४।०८।२८ गते राति २२:०० बजेको समयमा म आफ्नै घरमा थिएँ । जाहेरी बेहोरा झुठ्ठा हो । म ६/७ वर्षदेखि बसको ड्राइभर काम गर्दै आएको छु । मैले जाहेरवालालाई अपहरण गरेको 

होइन । निज जाहेरवालाले किन ममाथि किटानी जाहेरी दिएका हुन् निजैले जानुन् । जाहेरवालाको अपहरण भएको ठिक हो । प्रतिवादी नेमलाल पासवान मेरो भिनाजुको भाइ भएकोले माओवादीहरू मेरो घरमा आई विद्यासागरलाई नेमलालसमेतले अपहरण गरी लगेकाले विद्यासागरलाई अपहरणमुक्त नगराए तँलाई मारी दिन्छौं भनी मलाई नियन्त्रणमा लिई चन्द्रअयोध्यापुर लगी सोबाट पुनः मलाई लकडतर्फ लगे । लकड पुग्नुअघि नै मेरो घरबाट बाबुआमा नेमलाल पासवानको घरमा गई मलाई माओवादीले नियन्त्रणमा लिएको र विद्यासागरलाई अपहरणमुक्त नगरेमा मलाई मारिदिने कुरा बताएपछि विद्यासागरलाई अपहरण गर्ने नेमलालसमेतले विद्यासागरलाई मुक्त गरिदिएका हुन् । अनुसन्धान अधिकारीसमक्ष भएको बयानमा मैले विद्यासागरलाई अपहरण गरेको होइन भनी लेखाएकोमा मलाई बयान बेहोरा पढ्न नदिई, डर त्रास देखाई, कुटपिट गरी, जबरजस्ती सहीछाप गर्न लगाएका हुन् । वस्तुस्थिति मुचुल्काको मानिसहरूले के कसरी कागज गरेका हुन् मलाई थाहा छैन भन्‍ने राजन पासवानले सुरू अदालतमा गरेको बयान ।

किटानी जाहेरी, जाहेरवालाले गरेको सनाखत कागज, प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जाहेरवाला विद्यासागर तामाङलाई अपहरण गरी शरीर बन्धक बनाउने कार्यमा आफ्नोसमेत संलग्नता रहेको भनी गरेको स्वीकारोक्ति बयान, घटनास्थल मुचुल्का र वस्तुस्थिति मुचुल्कासमेतका तत्काल प्राप्‍त प्रमाणबाट यी प्रतिवादी राजन पासवान कसुरदार होइनन् भन्‍न सकिने अवस्था विद्यमान रहेको नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल पुर्पक्षका लागि प्रतिवादी राजन पासवानलाई थुनामा राख्‍न पठाइदिनु भन्‍ने सुरू सिराहा जिल्ला अदालतको आदेश ।

मिति २०६४।०८।२८ गते अं. २२:०० बजेको समयमा जाहेरवाला विद्यासागरको घरमा होहल्ला भएको सुनी निजको घरमा गई बुझ्दा निज विद्यासगरलाई हतियारधारीहरूले अपहरण गरी लगेको थाहा पाएको र पछि बुझ्दै जाँदा राजन पासवानसमेत भई अपहरण गरेको थाहा पाई राजन पासवानको घरमा आफूसमेतका स्थानीय व्यक्तिहरू गई निजलाई तिमीले नै विद्यासागरलाई अपहरण गरेको हो, विद्यासागर कहाँ छ देखाउ भन्दा राजन पासवानले भनेअनुसारको स्थान धनुषाको लकडस्थित कमला खोलाको पश्‍चिम किनारको उखुबारीमा लुकाई राखेको अवस्थामा अपहरणकारीहरूबाट विद्यासागरलाई अपहरणमुक्त गरी ल्याएको भन्‍ने वस्तुस्थिति मुचुल्काका मानिस सुरजकुमार तामाङ र वसन्त चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६४।०८।२८ गते राति म घरमा सुतिरहेको अवस्थामा ६/७ जना हतियारधारी आई मलाई समाती अपहरण गरी घर बाहिर धान खेततिर लगेको र सो धानखेतमा अरू १५/१६ जना हतियारधारीहरू बसेका थिए, त्यहाँ मलाई मुख बाँधेर पदमपुर हुँदै जिल्ला धनुषाअन्तर्गत कमला पश्‍चिमको उखुबारीमा राखी कुटपिट गरी यातना दिने जाहेरीमा उल्लिखित प्रतिवादीहरू राजन पासवान, जगलाल यादवलाई नकाब खोलेपछि चिनेको हुँ । पछि गाउँलेले प्रतिवादी राजन पासवानलाई समाती निजबाट मलाई राखेको ठाउँ थाहा पाई मलाई अपहरणमुक्त गरेका हुन् भन्‍ने जाहेरवाला विद्यासागर तामाङले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीको नातेदारले अपहरण गरेकोमा प्रतिवादीलाई नियन्त्रणमा लिई नातेदारबाट जाहेरवालालाई मुक्त गराएको अवस्था मिसिलबाट समर्थित छ छैन भन्‍नेतर्फ हेरिएमा जाहेरवालाले २०६४।०८।२८ को वारदातमा अपहरण परी २०६४।०९।०५ मा नै मुक्त भएको अवस्थामा २०६४।०९।३० मा जाहेरी दर्ता गरेको सो जाहेरीमा प्रतिवादी राजन पासवानलाई आफूलाई अपहरण गरी राखेको ठाउँबाटै पक्राउ गरेको भन्‍ने उल्लेख गरेको बुझिएका व्यक्तिहरू, वस्तुस्थितिका व्यक्तिहरूको भनाइमा राजन पासवानलाई निजकै घरमा फेला पारी जाहेरवालालाई अपहरणमुक्त गरा नत्र तँलाई पनि अप्ठ्यारो पर्छ भनी प्रतिवादी राजन पासवानलाई नियन्त्रणमा लिएको भन्‍ने बेहोरा उल्लेख भएबाट जाहेरी विरोधाभाष रहेको देखिन आएको छ । त्यस्तै प्रतिवादी राजन घटनास्थलमा चिनिएको छैन । अज्ञात समूहले अपहरण गरी लगेको भनेको र मानिस सनाखत गर्ने कानूनी प्रक्रियाविपरीत सनाखत गराइएको अवस्थासमेतले जाहेरवालालाई अपहरण गर्ने गराउने वा शरीर बन्धक लिने व्यक्ति प्रतिवादी राजन पासवान नै हो भन्‍ने निश्चयात्मक प्रमाणबाट पुष्टि भएको नदेखिँदा निश्चयात्मक प्रमाणको अभावमा प्रतिवादी राजन पासवानउपरको दाबी पुग्न सक्तैन । प्रतिवादी राजन पासवानले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍ने सुरू सिराहा जिल्ला अदालतबाट मिति २०६६।११।१० मा भएको फैसला ।

फरार प्रतिवादी लालचन पासवानको हकमा मुल्तबीबाट जगाई सरकारवादी फौजदारी दायरीमा दर्ता गरी बयान कार्यको लागि निजलाई इजलाससमक्ष पेस गर्नु भन्‍ने सुरू सिराहा जिल्ला अदालतबाट मिति २०६८।०३।०२ मा भएको आदेश ।

जाहेरवाला विद्यासागर तामाङलाई मैले अपहरण गरी बन्धक बनाएको होइन, को कसले अपहरण गरी बन्धक बनाए थाहा भएन । जाहेरी बेहोरा झुठ्ठा हो । प्रतिवादी राजन पासवानले किन मेरो नाम पोल गरी बयान गरे उनै जानुन् भन्‍नेसमेत बेहोराको प्रहरीद्वारा पक्राउ परी आएका फरार प्रतिवादी लालचन पासवानले अदालतमा गरेको बयान । 

प्रतिवादी राजन पासवानको पोल बयान र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको भनाइ तथा किटानी जाहेरी रहेकाले अ.बं. ११८ को देहाय २ को अवस्था विद्यमान हुँदा प्रतिवादी लालचन पासवानलाई पुर्पक्षका लागि थुनामा राख्‍न पठाइदिनु भन्‍नेसमेत सुरू जिल्ला अदालतबाट भएको थुनछेक आदेश ।

मिति २०६४।०८।२४ गते नै भैंसीहरू लिएर धरान गई धरानमा बसी भैंसीहरू बेची २०६४।०९।१० गते मात्र म आफ्नो घर फर्की आएको हुँ । जाहेरवालालाई मैले अपहरण गरी बन्धक बनाएको होइन । कसले अपहरण गर्‍यो मलाई थाहा छैन । जाहेरी बेहोरा झुठ्ठा 

हो । प्रतिवादीमध्येका राजन पासवानले मेरो नाम पोल गरी बयान गरेको हुँदा सोही आधारमा मउपर जाहेरी दिएको हुनुपर्छ । प्रतिवादी राजन पासवानको बहिनीको मेरो दाजु गुलचनसँग विवाह भएकोमा निजको बहिनीको कालगतिले मृत्यु भएकोमा सो दिनदेखि मेरो परिवारसँग मनमुटाव भई रिसइवी राखी मेरो नाउँसमेत पोल गरेको हुनुपर्छ । म निर्दोष छु । मैले यसअघि ज्यान मुद्दामा सजाय पाएको छु भन्‍नेसमेत बेहोराको फरार प्रतिवादी नेमलाल पासवानले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी राजन पासवानले मौकामा बयान गर्दा यी प्रतिवादीलाई पोलसम्म गरेको, तर उक्त कुरा अन्य प्रमाणबाट पुष्टि हुन नसकेकोले प्रतिवादी नेमलाल पासवानलाई अ.बं. ४७ नं.बमोजिम तारेखमा राख्‍नु भन्‍ने सुरू जिल्ला अदालतबाट भएको आदेश ।

प्रतिवादी नेमलाल पासवानको साक्षी राजदेव पासवानले प्रतिवादी नेमलाल र आफू २०६४।०८।२४ मा सुनसरीको धरानमा भैंसी व्यापार गर्न गई २०६४।०९।१० गते मात्र फर्केको, नेमलालले जाहेरवालालाई अपहरण नगरेको, जाहेरी झुठा हो भनी सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी लालचन पासवानको साक्षी श्रीप्रसाद पासवान र राजकुमार पासवानले घटना भएको भनिएको २०६४।०८।२८ गते राति ११/१२ बजेसम्म प्रतिवादी लालचन पासवानको घरमा निजसँग आगो तापेर बसेका थियौँ । लालचनले विद्यासागरलाई अपहरण गरेको होइन । जाहेरी झुठा हो, किन किटानी जाहेरी दिए थाहा छैन भनी सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी नेमलाल पासवानको हकमा विचार गर्दा ज्यान मुद्दामा थुनामा रहेको अवस्थामा बयानका लागि उपस्थित गराउँदा निज कसुरमा इन्कार रहेका छन् । तर निजसमेत भई अपहरण गरेको भनी जाहेरवालाले किटानी जाहेरी दिएको, उक्त जाहेरी समर्थित हुने गरी अदालतमा बकपत्र गरेको, मौकामा पक्राउ परेका प्रतिवादी राजन पासवानले मौकाको बयान र अदालतमा गरेको बयानमा प्रतिवादी नेमलालसमेतले जाहेरवालालाई अपहरण गरी लगेकोमा गाउँलेले मलाई पक्री केरकार गर्दा अप्ठ्यारो परेपछि नेमलाललाई भनी पीडितलाई मुक्त गरेको भनी लेखाई दिएको सहअभियुक्तको पोलसमेतबाट प्रतिवादी नेमलाल पासवान कसुरदार देखिन आएकोले निजलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.बमोजिम कैद वर्ष ७ (सात) र ऐ. महलको ७ नं.बमोजिम थप कैद वर्ष २ (दुई) समेत कैद वर्ष ९ (नौ) हुने र ऐ. महलको १२ नं.बमोजिम पीडितलाई प्रतिवादीबाट रू.५,०००।– क्षतिपूर्ति भराइदिने ठहर्छ र अर्का प्रतिवादी लालचन पासवानको हकमा अभियोग दाबी पुष्टि हुन नसकेकोले सफाइ पाउने ठहर्छ भन्‍ने सिराहा जिल्ला अदालतबाट मिति २०७०।०५।१७ मा भएको फैसला ।

किटानी जाहेरी दरखास्त, अनुसन्धानको क्रममा बुझिएका व्यक्ति, जाहेरवालासमेतको कागज र बकपत्र, वस्तुस्थिति मुचुल्काका वसन्त चौधरीसमेतले गरेको कागज र बकपत्रबाट प्रतिवादी राजन पासवानसमेतको संलग्नतामा जाहेरवालालाई अपहरण गरेको तथ्य स्थापित हुँदाहुँदै निज प्रतिवादीलाई सफाइ दिने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदनपत्र ।

प्रतिवादी राजन पासवानले सुरू अदालतमा गरेको बयानमा प्रतिवादी नेमलाल पासवान मेरो भिनाजुको भाइ भएकोले माओवादीहरू मेरो घरमा आई विद्यासागरलाई नेमलालसमेतले अपहरण गरी लगेकोले विद्यासागरलाई अपहरण मुक्त गर् नत्र भने तँलाई मारी दिन्छौँ भनी मलाई नियन्त्रणमा लिई चन्द्रअयोध्यापुर लगी त्यहाँबाट पुनः धनुषा लक्‍कडतर्फ लगे, लक्‍कड पुग्नुअघि नै मेरो घरबाट बाबुआमा नेमलाल पासवानको घरमा गई बोलाई माओवादीले नियन्त्रणमा लिएको, विद्यासागरलाई अपहरणमुक्त नगरेमा मलाई मारिदिने कुरा बताएपछि विद्यासागरलाई अपहरणमुक्त गरिदिएपछि मलाई समेत माओवादीले नियन्त्रणमुक्त गरिदिएका हुन् । नेमलालसमेतका प्रतिवादीहरूले जाहेरवालाको अपहरण गरेका हुन् भनी लेखाएबाट प्रतिवादी नेमलालसमेत उपरको दाबी पुष्टि भइरहेको हुँदा सहअभियुक्त लालचन पासवानसमेतलाई सफाइ दिन मिल्ने होइन, सजाय ठहर गरिनुपर्छ र नेमलाल पासवानलाई कसुर ठहर भएपछि अभियोग दाबीअनुसार जरिवानासमेत गरिनुपर्नेमा सो नगरिएको त्रुटिपूर्ण फैसला बदर गरी जरिवानासमेत गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदनपत्र ।

जाहेरवाला विद्यासागर तामाङलाई मैले अपहरण तथा शरीर बन्धक नगरे नगराएको हुँदा प्रस्तुत मुद्दाबाट सफाइ पाउँ भनी प्रतिवादी नेमलाल पासवानले पुनरावेदन अदालत राजविराजमा दिएको पुनरावेदनपत्र ।

अनुसन्धानको क्रममा बुझिएका वस्तुस्थितिका मानिसहरू क्रमशः सुरजकुमार तामाङ र वसन्त चौधरीले अदालतमा गरेको बकपत्रबाट प्रतिवादी राजन पासवानको संलग्नता स्पष्ट खुल्न आएको अवस्थामा निजलाई समेत अभियोग दाबीको कसुरदार ठहर गर्नुपर्नेमा नगरी सुरू सिराहा जिल्ला अदालतले निजलाई सफाइ दिने गरेको उक्त मिति २०६६।११।१० गतेको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । निज प्रतिवादी राजन पासवानलाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं.बमोजिम ७ वर्ष र सोही महलको ७ नं. ले थप २ वर्षसमेत जम्मा ९ वर्ष कैद हुन्छ । साथै सोही महलको ३ नं. ले निजलाई रू.५०,०००।- (पचास हजार) जरिवाना हुने र जाहेरवाला पीडितले क्षतिपूर्तिबापत रू.५,०००।- (पाँच हजार) निजबाट भराई पाउनेसमेत ठहर्छ भन्‍ने तत्कालीन पुनरावेदन अदालत राजविराजको मिति २०७१।१०।०९ गतेको फैसला । 

अभियोग मात्र लगाएर पुग्ने अवस्था 

हुँदैन । अभियोग पुष्टि गर्ने अकाट्य प्रमाणहरूसमेतबाट उक्त अभियोग पुष्टि हुनुपर्ने र शंकारहित वस्तुनिष्ट प्रमाणबाट अभियोग पुष्टि भएको हुनुपर्दछ । तर प्रस्तुत मुद्दामा केवल अभियोग दाबीलाई आधार लिई कसुरदार ठहर गरेको छ । फैसला गर्दा जाहेरवाला विद्या सागर तामाङको जाहेरीमा नकाब खोलेको अवस्थामा प्रतिवादी राजन पासवानलाई चिनेको भनी पेटबोलीमा लेखाई जाहेरी दिएको भनी मलाई सो पेटबोली बेहोराको आधारमा कसुरदार कायम गरिएको छ । तर मैले निज विद्यासागर तामाङलाई अपहरण नगरेको र निजलाई अपहरण गर्ने गराउने कार्यमा मेरो सहभागिता र संलग्नता नरहेको अवस्थामा केवल जाहेरी दरखास्तको पेटबोलीमा लेखिएको बेहोरालाई प्रस्तुत मुद्दामा अकाट्य प्रमाण मानी मलाई कसुरदार कायम गरी पु.वे.अ. राजविराजबाट फैसला भएको छ । अधिकारप्राप्त अधिकारीसमक्ष बयान गराउँदासमेत मैले अपहरणमा संलग्नता थिएन छैन, केवल मैले नेमलाल पासवानसमेतले बाटो देखाउनु भनेकोले बाटोसम्म देखाइदिएको हुँ भनेको हुँ । सुरू अदालतसमक्ष बयान गर्दा आफन्तले जाहेरवालालाई अपहरण गरेकोमा सो थाहा पाई गाउँलेहरूले मलाईसमेत नियन्त्रणमा लिएको, जाहेरवालालाई अपहरणमुक्त गरा भनेको र मेरा आमा बाबुसमेत नेमलालको घरमा गई अपहरण गरी राखिएको ठाउँमा मलाई पनि लगी निजलाई अपहरणमुक्त गरिएको हो भन्‍ने मेरो बयान बेहोरालाई सम्मानित पुनरावेदन अदालतले नजरअन्दाज गरी मलाई कसुरदार ठहर गरेको छ । मिति २०६४।१०।१३ गते मानिस सनाखत गर्ने कानूनी रीत नपुर्‍याई सनाखत गराइएको छ । अतः पुनरावेदन अदालत राजविराजले सिराहा जिल्ला अदालतको फैसला बदर गरी मलाई कसुरदार ठहर गरेको मिति २०७१।१०।०९ फैसला बदर गरी न्याय पाउँ भन्‍ने राजन पासवानको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । 

पुनरावेदक प्रतिवादी राजन पासवानको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री तुल्सी शंकर अधिकारीले वस्तुनिष्ठ प्रमाणबाट प्रतिवादी राजन पासवानउपरको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा प्रतिवादी राजन पासवानलाई आरोपित कसुरबाट सफाइ दिनुपर्नेमा, प्रतिवादीले सफाइ पाउने ठहरी सुरू सिराहा जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको मिति २०७१।१०।०९ को फैसला बदर गरी पुनरावेदक प्रतिवादी राजन पासवानले आरोपित कसुरबाट सफाइ पाउनुपर्दछ भन्‍नेसमेत बहस गर्नुभयो । 

प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री कमलराज पन्थीले प्रतिवादी राजन पासवान उक्त अपहरण तथा शरीर बन्धक लिने वारदातका मुख्य व्यक्ति भएको, निजले देखाएको स्थान कमला खोलाको पश्चिमतर्फको उखुघारीबाट पीडितलाई अपहरणमुक्त गर्न सफल भएकोसमेतका आधार कारणबाट प्रतिवादी राजन पासवानलाई अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सफाइ दिने गरी सुरू सिराहा जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादी राजन पासवानलाई सजाय हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।१०।०९ मा भएको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

उपर्युक्त बहससमेत सुनी तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।१०।०९ मा भएको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, पुनरावेदक प्रतिवादी राजन पासवानसमेतलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं.को कसुरमा ऐ. महलको ३ र ७ नं.बमोजिम सजाय गरी, ऐ. महलको १२ नं.बमोजिम क्षतिपूर्ति दिलाइपाउँ भन्‍नेसमेत वादी नेपाल सरकारको अभियोग दाबी रहेको पाइन्छ । निश्‍चयात्‍मक प्रमाणको अभावमा प्रतिवादी राजन पासवानउपरको अभियोग दाबी पुग्न सक्तैन भन्‍ने सुरू सिराहा जिल्ला अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा निज प्रतिवादी राजन पासवानलाई अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं.ले ७ वर्ष र सोही महलको ७ नं.ले थप २ वर्षसमेत जम्मा ९ वर्ष कैद तथा सोही महलको ३ नं.बमोजिम रू.५०,०००।- जरिवाना हुने र पीडितले प्रतिवादीबाट रू.५,०००।- क्षतिपूर्तिसमेत पाउने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत राजबिराजले गरेको फैसलाउपर चित्त नबुझाई उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्‍ने प्रतिवादी राजन पासवानको यस अदालतमा पुनरावेदन दर्ता हुन आएको रहेछ ।

३. प्रतिवादीहरूमध्ये पुनरावेदक प्रतिवादी राजन पासवानका अतिरिक्त जगलाल यादव, सिंहेश्वर पासवान, नेमलाल पासवान, लालचन पासवान, देवचन पासवान, गुलचन पासवान, रोहित पासवान र स्वामी भन्‍ने उमेश यादव रहेकोमा प्रतिवादी सिंहेश्वर पासवानको मृत्यु भइसकेको, प्रतिवादी स्वामी भन्‍ने उमेश यादवको हकमा जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क बमोजिम तामेलीमा रहेको, प्रतिवादीहरू जगलाल यादव, नेमलाल पासवान, लालचन पासवान, देवचन पासवान, गुलचन पासवान र रोहित पासवानका हकमा मुलुकी ऐन, अ.बं. १९० नं.बमोजिम मुल्तवी रहेकोमा प्रतिवादीहरूमध्ये लालचन पासवान र नेमलाल पासवानको हकमा मुल्तबी जागी प्रतिवादी लालचन पासवानले अभियोग दाबीबाट सफाइ पाउने र प्रतिवादी नेमलाल पासवानलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं.बमोजिमको कसुरमा ऐ. ३ र ७ नं.बमोजिम जम्मा ९ वर्ष कैद र पीडितले निज प्रतिवादी नेमलाल पासवानबाट रू.५,०००।- क्षतिपूर्ति भराई पाउने ठहरी भएको सुरू फैसला प्रतिवादी लालचन पासवानको हकमा सदर हुने र प्रतिवादी नेमलाल पासवानको हकमा सुरू फैसला केही उल्टी भई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.बमोजिम रू.५०,०००।- जरिवानासमेत हुने ठहर्‍याई, प्रतिवादी राजन पासवानले सफाइ पाउने ठहर्‍याएको सुरू फैसला उल्टी भई निजलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं.बमोजिमको कसुरमा ऐ. ३ र ७ नं.बमोजिम जम्मा ९ वर्ष कैद, ऐ. महलको ३ नं.बमोजिम रू.५०,०००।- जरिवाना र पीडितले प्रतिवादी राजन पासवानबाट रू.५,०००।- क्षतिपूर्ति भराई पाउने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत राजविराजबाट भएको फैसलाउपर निज प्रतिवादी राजन पासवानको यस अदालतमा पुनरावेदन परेको हुँदा निजको पुनरावेदनको हकमा सम्म विचार गर्नुपर्ने भएको छ । 

४. पुनरावेदक प्रतिवादी राजन पासवानको पुनरावेदन जिकिरतर्फ हेर्दा, वस्तुनिष्ठ प्रमाणबाट अभियोग दाबी पुष्टि हुनुपर्नेमा जाहेरवाला विद्या सागर तामाङको जाहेरीमा नकाब खोलेको अवस्थामा प्रतिवादी राजन पासवानलाई चिनेको भनी जाहेरी दरखास्तको पेटबोलीमा लेखाई दिएको बेहोराको आधारमा मलाई कसुरदार कायम गरिएको छ । मैले निज विद्यासागर तामाङलाई अपहरण गरेको छैन र निजलाई अपहरण गर्ने गराउने कार्यमा मेरो सहभागिता र संलग्नता छैन । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मैले अपहरणमा संलग्नता नभएको, केवल नेमलाल पासवानसमेतले बाटो देखाउनु भनेकोले बाटोसम्म देखाई दिएको हुँ भनेको हो । अदालतसमक्ष गरेको बयानमा आफन्तले जाहेरवालालाई अपहरण गरेकोमा सो थाहा पाई गाउँलेहरूले मलाईसमेत नियन्त्रणमा लिई जाहेरवालालाई अपहरणमुक्त गर् भनेको र मेरा आमा बाबुसमेत प्रतिवादी नेमलालको घरमा गई अपहरण गरी राखिएको ठाउँमा मलाई पनि लगी विद्यासागरलाई अपहरणमुक्त गरिएको हो भन्‍ने मेरो बयानलाई पुनरावेदन अदालतले नजरअन्दाज गरी मलाई कसुरदार ठहर गरेको छ । अतः पुनरावेदन अदालत राजविराजको मिति २०७१।१०।०९ को फैसला बदर गरी सफाइ पाउँ भन्‍ने प्रतिवादी राजन पासवानको मुख्‍य जिकिर रहेको पाइन्छ ।

५. मिति २०६४।८।२८ गते राति अं. २२:०० बजे ६/७ जना नकाबधारी हतियारसहित मेरो घरमा आई हतियार देखाई बल प्रयोग गरी मलाई जबरजस्ती समाती अपहरण गरी घरबाहिर ल्याएपछि नकाव उठाउँदा अपहरणकारीमध्ये प्रतिवादी राजन पासवान र गजलाल यादवलाई देखी चिनेँ । बाहिर खेतमा अरू १५/१६ जनासमेत भई मेरो हातमुख बाँधी सिराहाको पदमपुर हुँदै धनुषाको लकड गा.वि.स. अन्तर्गत कमलाको पश्‍चिमी किनारको उखुघारीमा राखी कुटपिट गरी, यातना दिई राखेको र फिरौती रकम मोलतोल गरिरहेकै अवस्थामा गाउँलेहरूले प्रतिवादी राजन पासवानलाई फेला पारी मलाई लुकाएको स्थान निज राजनबाट पत्ता लगाई उक्त उखुघारीबाट मिति २०६४।०९।०५ गते अपहरणमुक्त गरी ल्याएको भन्‍नेसमेत किटानी बेहोराको पीडित विद्यासागर तामाङको जाहेरी दरखास्त रहेको छ ।

६. प्रतिवादी राजन पासवानले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान हेर्दा, जाहेरवाला विद्यासागर तामाङलाई अपहरण गर्नुभन्दा दुई / तीन दिनअघि आफ्नो घरमा प्रतिवादीहरू नेमलाल पासवान र स्वामी भन्‍ने उमेश यादव आई जाहेरवालालाई अपहरण गरी फिरौती लिने योजना छ । निजलाई अपहरण गर्नको लागि तिमीले एकान्त बाटो देखाई देउ, फिरौती रकम भागबन्डा गरौँला भनेपछि बाटो देखाउन र पीडितलाई अपहरण गर्न आफू पनि सहमत भई मिति २०६४।०८।२८ गते जाहेरीमा उल्लिखित मानिसहरू र आफूसमेत भई राति अं. २२:०० बजेतिर पीडितको घरमा गई निजलाई नियन्त्रणमा लिई आफ्नै गाउँ पदमपुरसम्म ल्याई प्रतिवादीमध्ये स्वामी भन्‍ने उमेश यादवको जिम्मा लगाई आफू घरमा गई सुतेको, भोलिपल्ट पीडितलाई राखेको स्थानबारे प्रतिवादीमध्ये नेमलाल पासवानलाई सोधी सो ठाउँमा गई फिरौतीको बारेमा पीडितसँग कुरा गर्दा कुरा नमिलेको, पछि पीडितलाई आफूसमेतले अपहरण गरेको गाउँलेहरूले थाहा पाई आफूलाई मार्ने धम्की दिएपछि आफूले पीडितलाई लुकाएको स्थान गाउँलेलाई देखाएपछि गाउँलेहरूले सो स्थानबाट पीडितलाई अपहरणमुक्त गरेका हुन् भनी लेखाइदिएको पाइन्छ । तर अदालतमा बयान गर्दा आफू आरोपित कसुरमा इन्कार रही अन्य प्रतिवादीहरूलाई पोल गरी बयान गरेको देखिन्छ ।

७. अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादी राजन पासवानलाई देखाउँदा अपहरणमा संलग्न प्रतिवादीहरूमध्ये जाहेरीमा उल्लिखित राजन पासवान यिनै व्यक्ति हुन्, मलाई अपहरण गरी घरबाहिर ल्याएपछि नकाब खोल्दा मैले देखी चिनेको भनी पीडितले सनाखत गरेको देखिन्छ ।

८. वारदातको समयमा पीडितको घरमा होहल्ला गरेको सुनी जाँदा नकाबधारीहरूले पीडितलाई अपहरण गरेको भन्‍ने थाहा भएकोमा पछि बुझ्दा अपहरण गर्नमा प्रतिवादी राजन पासवानसमेतको संलग्नता रहेको थाहा पाई स्थानीयहरूले राजन पासवानलाई पीडित कहाँ छन् भनी सोध्दा धनुषाको लक्‍कडस्थित कमला खोलाको पश्‍चिम किनारमा रहेको उखुघारीमा राखेको भन्‍ने बताएकोले आफूसमेतका स्थानीयहरू उक्त स्थानमा गई पीडितलाई उक्त स्थानबाट अपहरणमुक्त गरेको भनी बुझिएका मानिसहरू सुरजकुमार तामाङ र वसन्त चौधरीसमेतले वस्तुस्थिति मुचुल्कामा लेखाई, सोही बेहोरा समर्थन हुने गरी अदालतमा निजहरूले बकपत्रसमेत गरेको पाइन्छ ।

९. आफू घरमा सुतिरहेको अवस्थामा ६/७ जना हतियारधारीहरू नकाब लगाएर आई आफूलाई अपहरण गरी घरबाहिर धान खेततिर लगेको, धानखेतमा अन्य १५/१६ जना हतियारधारीहरूसमेत भई आफूलाई धनुषाको कमला पश्‍चिमको उखुबारीमा राखी कुटपिट गरी यातना दिनेमध्येका प्रतिवादीहरू राजन पासवानसमेतलाई नकाव खोलेपछि चिनेको र पछि स्थानीयले निज प्रतिवादी राजन पासवानलाई समाती निजबाट आफूलाई राखेको स्थान पत्ता लगाई आफूलाई अपहरणमुक्त गरेको भनी घटनाको प्रत्यक्षदर्शीको रूपमा रहेका जाहेरवाला विद्यासागर तामाङले सुरू अदालतमा गरेको बकपत्रमा लेखाई दिएको देखिन्छ ।

१०. अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुरको मुद्दामा पीडित स्वयं प्रत्यक्षदर्शी प्रमाणको कोटीमा रहन्छ । अपराध हुँदा देखेर, अनुभव गरेर, जानेर आफूउपर के कसरी कसले कसुर गर्ने कार्य गरेका थिए, को को व्यक्तिले के कस्तो भूमिका निभाएका थिए, वारदातस्थलदेखि अपहरणमुक्त हुँदाको अवस्थासम्मको बारेमा चित्रण गरी बेहोरा उजागर गरिदिने दायित्व स्वयं पीडित व्यक्तिको नै हुने हुन्छ । मिति २०६४।०८।२८ गते राति जाहेरवाला विद्यासागर तामाङलाई अपहरण गरी कमला नदीको पश्‍चिम किनारमा रहेको उखुघारीमा राखेको भनी यिनै पुनरावेदक प्रतिवादी राजन पासवानले सो ठाउँ देखाई गाउँलेहरूको सहयोगमा मिति २०६४।०९।०५ मा अपहरणमुक्त गराएको भन्‍ने मिसिल संलग्न प्रमाणहरूबाट देखिन आएको छ । तत्काल जाहेरवालालाई अपहरणमुक्त गर्ने सिलसिलामा यिनै पुनरावेदक प्रतिवादीले देखाएको स्थानबाट अपहरणमुक्त गर्ने कार्यमा संलग्न अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरू सुरजकुमार तामाङ र वसन्त चौधरीसमेतले मौकामा गरेको वस्तुस्थिति मुचुल्काको बेहोरा तथा अदालतमा आई गरेको बकपत्रबाट समेत पुनरावेदक प्रतिवादी राजन पासवानसमेत कसुरमा संलग्न रहेको पुष्टि हुन्छ ।

११. रातको समयमा घरबाट बाहिर लगी हुल समूह भई डर त्रास देखाई जाहेरवालाको घर परिवारलाई थाहा जानकारी नहुने गरी एकान्त कमला नदीको किनारमा रहेको उखुघारीमा लगी लुकाई छिपाई राखी कुटपिट गरी यातना दिएको भन्‍ने पीडित जाहेरवालाको बकपत्रबाट देखिन्छ । यस प्रकार जाहेरवाला अपहरणमा परी करिब ८ दिनपछि अपहरणमुक्त हुन पुगेको भन्‍ने बुझिएको प्रमाणबाट देखिएको छ । पीडितलाई अपहरण गर्ने कार्यमा यी पुनरावेदक प्रतिवादीको समेत संलग्नता नरहेको भए जाहेरवालालाई कहाँ लुकाएर राखेका छन् भन्‍ने निजलाई जानकारी हुने स्थिति रहँदैन । अन्य प्रतिवादीहरूसँगको सम्पर्क र जानकारी यी पुनरावेदक प्रतिवादीले पाउने र लिने कार्य गर्नसक्ने स्थिति पनि देखिएको छ । अतः पीडित जाहेरवाला तथा पीडितलाई अपहरणमुक्त गर्ने कार्यमा संलग्न बुझिएका मानिसहरू सुरजकुमार तामाङ र वसन्त चौधरीसमेतको बकपत्रमा उल्लिखित बेहोराबाट प्रतिवादीले अधिकारप्राप्‍त अधिकारीसमक्ष कसुर स्वीकार गरी गरेको बयान समर्थित भइरहेको पाइयो । विनाकारण यी पुनरावेदक प्रतिवादीलाई फसाउनुपर्ने झुठ्‍ठा जाहेरी दिनुपर्ने कुनै मनासिब आधार पनि प्रतिवादीले भन्‍न सकेका छैनन् । 

१२. यी पुनरावेदक प्रतिवादी राजन पासवानले अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुर स्वीकार गरी बयान गरेको भए तापनि अदालतमा पीडित विद्यासागर तामाङलाई आफूले अपहरण नगरेको, अपहरण गर्ने गराउने कार्यमा आफ्नो सहभागिता र संलग्नता नभएको, तर अन्य प्रतिवादीहरूले पीडितलाई अपहरण गरेको भनी आरोपित कसुरमा इन्कार रहेर गरेको बयानका सन्दर्भमा हेर्दा, ने.का.प. २०७५, अङ्क ७, नि.नं. १००५९ मा “सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्‍त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्व:स्फूर्त रूपमा आरोपित कसुरसँग स्वाभाविक सामञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्नुपर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने” भन्‍ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यी पुनरावेदक प्रतिवादी राजन पासवानले मौकामा गरेको साबिती बयानलाई घटनाका प्रत्यक्षदर्शीको रूपमा रहेका पीडित विद्यासागर तामाङले दिएको जाहेरी दरखास्त तथा सो जाहेरी बेहोरा पुष्टि हुने गरी निजले अदालतमा गरेको बकपत्र, वस्तुस्थिति मुचुल्कामा बुझिएका मानिसहरू सुरजकुमार तामाङसमेतले लेखाई दिएको बेहोरा र निजसमेतले अदालतमा गरेको बकपत्रसमेतका स्वतन्त्र प्रमाणबाट पुनरावेदक प्रतिवादी राजन पासवानले मौकामा गरेको साबिती बयान समर्थित भई आरोपित कसुर पुष्टि भइरहेको देखिँदा उक्त साबिती बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नै देखियो । 

१३. अतः पुनरावेदक प्रतिवादी राजन पासवानसमेतले आफूलाई हातहतियार देखाई बल प्रयोग गरी जबरजस्ती अपहरण गरेको र नकाब खोलेपछि निजसमेतलाई आफूले चिनेको भन्‍नेसमेत पीडितको जाहेरी दरखास्त र सनाखत कागजको बेहोरा, अदालतमा आई अपहरण गरी शरीर बन्धक लिने यी प्रतिवादी राजन पासवानसमेतलाई नकाब खोलेपछि चिनेको भन्‍ने जाहेरी दरखास्त तथा सनाखत कागज बेहोरा समर्थन हुने गरी पीडितले गरेको बकपत्र, अदालतमा आरोपित कसुरमा आफू इन्कार रही अन्य प्रतिवादीहरूलाई पोल गरी बयान गरेको भए तापनि मौकामा पक्राउ परी बयान गर्दा अपहरण गरी फिरौती रकम भागबन्डा गर्ने योजना र अपहरण गर्ने कार्यमा आफूसमेत सहमत भई पीडितलाई अपहरण गरी पीडितसँग फिरौती रकम माग गर्दा कुरा नमिलेको भनी आरोपित कसुर स्वीकारी प्रतिवादी राजन पासवानले गरेको साबिती बयान, स्थानीय व्यक्तिहरूले पीडितलाई अपहरण गर्नमा प्रतिवादी राजन पासवानसमेतको संलग्नता रहेको भन्‍ने थाहा पाई पीडित कहाँ छन् भनी सोध्दा निज प्रतिवादी राजन पासवानले पीडित विद्यासागर तामाङलाई लुकाई राखेको भनी बताएको स्थान धनुषाको लक्‍कडस्थित कमला खोलाको पश्‍चिम किनारमा रहेको उखुघारीबाट पीडितलाई अपहरणमुक्त गर्न आफूसमेतका स्थानीयहरू सफल भएको भनी बुझिएका मानिसहरू सुरजकुमार तामाङ र वसन्त चौधरीसमेतले मौकामा गरेको वस्तुस्थिति मुचुल्का र सो वस्तुस्थिति मुचुल्काको बेहोरा समर्थन हुने गरी निजहरूले अदालतमा गरेको बकपत्रसमेतबाट पुनरावेदक प्रतिवादी राजन पासवानसमेतले पीडित विद्यासागर तामाङलाई अपहरण गरी निजबाट फिरौती रकम असुलउपर गर्ने योजना बनाई, सो मुताबिक वारदातलाई अन्जाम दिई पीडितलाई कमला खोलाको पश्‍चिम किनारमा रहेको उखुघारीमा बन्धक बनाई लुकाई राखी फिरौतीको बारेमा निज पुनरावेदक प्रतिवादी राजन पासवान स्वयंले पीडितसँग कुरा गर्दा कुरा नमिलेको र यिनै पुनरावेदक प्रतिवादी राजन पासवानसमेतले अपहरण गरी शरीर बन्धक लिई सोही स्थानमा पीडितलाई लुकाई राखेकोमा स्थानीय व्यक्तिहरू उक्त स्थानमा प्रतिवादी राजन पासवानसमेतलाई लिएर गई निज राजन पासवानसमेतका अपहरणकारीहरूको कब्जाबाट पीडितलाई अपहरणमुक्त गरेको तथ्य पुष्टि हुन आयो ।

१४. तसर्थः माथि उल्लिखित तथ्य, प्रमाण र आधार कारणबाट रातको समयमा आफ्नो घरमा सुतिरहेका पीडित विद्यासागर तामाङलाई प्रतिवादी राजन पासवानसमेतले सङ्गठित रूपमा आई हातहतियार देखाई बल प्रयोग गरी जबरजस्ती अपहरण गरी धनुषाको लक्‍कड स्थित कमला खोलाको पश्‍चिम किनारमा रहेको उखुघारीमा राखी शरीर बन्धक लिई कुटपिट गरी यातना दिई फिरौती रकमको मोलतोल गरी सो सम्बन्धमा कुरा नमिलेपश्चात् पनि पीडितलाई सोही स्थानमा लुकाई छिपाई राखेको अवस्थामा यिनै पुनरावेदक प्रतिवादी राजन पासवानले स्थानीय व्यक्तिहरूलाई पीडितलाई अपहरण गरी शरीर बन्धक लिई लुकाई छिपाई राखेको स्थानको बारेमा जानकारी दिएपश्‍चात् स्थानीय व्यक्तिहरू सो स्थानमा गई अपहरणकारीको कब्जाबाट पीडितलाई अपहरणमुक्त गरेको तथ्य पुष्टि हुन आएकोले यी पुनरावेदक प्रतिवादी राजन पासवानलाई अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा नगरी सफाइ दिने ठहर गरी सुरू सिराहा जिल्ला अदालतबाट मिति २०६६।११।१० मा भएको फैसला उल्टी गरी वादी नेपाल सरकारको अभियोग दाबीबमोजिम यी पुनरावेदक प्रतिवादी राजन पासवानलाई साबिक मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं.बमोजमको कसुरमा ऐ. महलको ३ नं.बमोजिम ७ वर्ष कैद तथा ऐ. महलको ७ नं.बमोजिम दुई वा दुईभन्दा बढी व्यक्ति मिली वा सङ्‍गठित रूपमा पीडितलाई अपहरण गरी शरीर बन्धक लिएतर्फ थप २ वर्ष कैदसमेत गरी जम्मा ९ (नौ) वर्ष कैद तथा ऐ. महलको ३ नं.बमोजिम रू.५०,०००।- (पचास हजार) जरिवाना हुने र ऐ. महलको १२ नं.बमोजिम यी पुनरावेदक प्रतिवादी राजन पासवानबाट पीडित विद्यासागर तामाङले रू.५,०००।- (पाँच हजार) क्षतिपूर्तिसमेत भराई पाउने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।१०।०९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी राजन पासवानको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी, प्रस्तुत फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई, प्रस्तुत फैसलाको विद्युतीय प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी, प्रस्तुत मिसिल संलग्न सुरू, रेकर्ड तथा प्रमाण मिसिलहरू तत्‍तत् अदालतमा फिर्ता पठाई, प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृतः- कृतिबहादुर बस्नेत

इति संवत् २०७८ साल असार ३० गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु