निर्णय नं. १०७२८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७७।१२।३१
०७४-CR-०९७१
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : जालिमी गिरीको छोरा प्युठान जिल्ला खवाङ गाउँ विकास समिति वडा नं. ६ घर भई हाल कारागार कार्यालय, प्युठानमा कैदमा रहेको केशे भन्ने केशु गिरी
विरूद्ध
प्रत्यर्थी / वादी : मैते भन्ने मुगे गिरीको जाहेरीले नेपाल सरकार
घटनास्थल वरपर उपस्थित भई घटनास्थलमा जान इन्कार गर्नु र कसैलाई कर्तव्य गरी मार्नु दुई फरक कुरा हुन् । कसैको रगताम्य रूपमा हत्या भएको वारदातस्थलमा जान डराउनु र जाँदा आफूलाई नै आरोप आइलाग्छ कि भनेर सोच्नु स्वाभाविक मानवीय भावना हो । प्रतिवादी वारदातस्थलको वरपर उपस्थित रहेको र निजले वारदातस्थलमा जान इन्कारी गरेको तथ्य मात्र निजलाई कसुरदार ठहर्याउनका लागि पर्याप्त नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लोकमणि पोखरेल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शुशिल देवकोटा
अवलम्बित नजिर :
ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५०
ने.का.प.२०६९, अङ्क १, नि.नं.८७५८
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने:
माननीय न्यायाधीश श्री वासुदेव न्यौपाने
प्युठान जिल्ला अदालत
पुनरावेदन फैसला गर्ने:
माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट
माननीय न्यायाधीश श्री श्रीमणकुमार गौतम
उच्च अदालत तुलसीपुर
फैसला
न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ८(३) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:-
तथ्य खण्ड
जिल्ला प्युठान, खवाङ गा.वि.स. वडा नं. ६ पुतलीवाङ स्थित पाखो बारीभित्र रहेको मृतकको १६ हात लम्बाइ, ८ हात चौडाइ भएको ढुङ्गाको छाना भएको २ तले कच्ची घर रहेको, सो घरको पश्चिमपट्टि पाली जोडेको कोठामा ढोका खोली हेर्दा दक्षिणतर्फ सिरान, उत्तरतर्फ गोडा गरी घोप्टो अवस्थामा दाहिने कानदेखि पछाडि ६ इन्च लम्बाइ, ३ इन्च चौडाइ भई काटिएको र बायाँ कानको भागको बिचबाट ३ इन्च लम्बाइ भएको काटिएको अवस्थामा रहेको र घाँटीदेखि माथि गर्धनको भागमा धारिलो हतियारले काटिएको, दाहिने आँखा बाहिर निस्केको, अनुहारको भाग रगताम्य भएको मृतक रूना गिरीको घोप्टो अवस्थामा लास रहेको भन्ने मिति २०७२।९।१७को घटनास्थल लास जाँच मुचुल्का ।
मिति २०७२।९।१७ गते मेरा घरमा मेरी आमा वर्ष ७२ की रूना गिरी एक्लै रहेको समयमा जिल्ला प्युठान, खवाङ गा.वि.स. वडा नं. ६ पुतलीवाङ बस्ने जालिम गिरीको छोरा वर्ष अ. २४ को केशे भन्ने केशु गिरीले पूर्वरिसइवीको कारणले धारिलो हतियार प्रयोग गरी मेरो घरमा पश्चिमतर्फको कोठामा कर्तव्य गरी मारेकोले निजलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलबमोजिम हदैसम्मको कानूनी कारबाही गरिपाउँ भन्ने मिति २०७२।०९।२१ गतेको जाहेरी दरखास्त ।
Cause of Death मा Sharp Force Injury to Head भन्नेसमेत बेहोराको मृतक रूना गिरीको शव परीक्षण प्रतिवेदन (पोष्टमार्टम रिपोर्ट) ।
उक्त घटना घटाउँदा प्रत्यक्ष रूपमा आफूले नदेखेको हुँदा निज रूना गिरीलाई कसले कर्तव्य गरी मार्यो म यकिनसाथ भन्न सक्दिन भन्नेसमेत बेहोराको जेनी के.सी. ले गरेको घटना विवरण कागज ।
केशुसँग मृतक रूना गिरीको पूर्वरिसइवी थियो, थिएन मलाई थाहा छैन । रूना गिरी मर्नुभन्दा ६/७ दिनअगाडि केशु गिरीको आमा बिरामी परेकी छिन् भन्ने सुनेको हुँ भन्नेसमेत बेहोराको रूना गिरीले गरेको घटना विवरण कागज ।
उक्त दिन केशु गिरी आफ्नो घरमा नै रहेकोले उक्त दिन निज केशु गिरीले नै मृतक रूना गिरीलाई धारिलो हतियारले प्रहार गरी कर्तव्य गरी मारेकोमा शंका लाग्दछ भन्ने बेहोराको झगे गिरीले गरेको घटना विवरण कागज ।
मिति २०७२।०९।१७ गते रूना गिरीलाई मैले हत्या गरेको होइन । निजको हत्या कसले गर्यो यो सम्बन्धमा मलाई थाहा छैन । म घटनास्थलको अ. ३०/४० मिटरको दुरीमा वारदात स्थलको पश्चिममा रहेको मृतकको बारीमा थिएँ र म रहेको स्थानमा वारदात स्थलसमेत स्पष्टसँग देख्न सकिने ठाउँमै
थियो । घटना घटेको ठाउँमा पनि देख्नुपर्ने हो, तर मैले देखेन । बुझिएका मानिसहरू र जाहेरवालाले समेत मलाई किटानी गर्नुको कारण के हो थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी केशे भन्ने केशु गिरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
वृद्ध महिला एक्लै घरमा रहेको अवस्थामा कर्तव्य गरी मारी घटनास्थलमा जाउँ भन्दासमेत प्रतिवादी केशु गिरीले आफू बच्नको लागि घटनास्थलमा समेत नगएको हो, निज प्रतिवादी पहिला गाउँ समाजमा रहँदा बस्दासमेत रिसाहा स्वभावको भएको र जतिबेला जसलाई पनि काटिदिन्छु भन्ने गरेको साथै केही दिनअघि मात्र आफ्नै बुबा जालिमे गिरीलाई समेत काटिदिन्छु भनी कुटपिट गरेको हुँदा प्रतिवादी केशु गिरीले नै मृतक मेरो सासु रूना गिरीलाई कर्तव्य गरी मारेको हो भन्नेसमेत बेहोराको करिब एकै मिलानको गुमी गिरी र हुमा गिरीले गरेको घटना विवरण कागज ।
मिति २०७२।०९।१७ गतेका दिन केशु दादाको बाख्रा गहुँबारीमा आएको देखेपछि जाउ नानी बाख्रा हान, म त त्यहाँ जान्न भनी केशुले हामीलाई पठाएकोले हामीले बाख्रा हानी फर्केपछि गाउँका अन्य मानिसहरू घटनास्थलमा भेला भएको देखी हामी पनि त्यहाँ गई हेर्दा पिठो चाली रहेको ठाउँमा घोप्टो परेको र छेउमा रगत बगेको देखेका थियौँ । अरू के के भएको हो थाहा भएन । त्यो दिनभरी मृतक बोईको घरअगाडिको बारीको पाटामा केशु दादाले बाख्रा चराएको र साग टिप्ने बेलामा समेत हामीलाई हेर्दै गरेको हो भन्नेसमेत बेहोराको सूचना के.सी.ले गरेको घटना विवरण
कागज ।
मिति २०७२।०९।१७ गते प्रतिवादी मृतकको घरबाट अन्दाजी २५/३० मिटरको दुरीमा रहेको हुँदा निजले नै मृतक एक्लै भएको समयमा कुरा गर्ने बहानामा पश्चिमपट्टिको कोठामा पिठो चालिरहेको अवस्थामा गई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको र घरदेखि केही पर आफ्नो घरनजिकै रहेको अवस्थामा रूमा गिरी गई साँहिली आमै त लडेकी छिन् भन्दासमेत हामी त्यहाँ जानु हुँदैन फसाउँछन् भनेको हो, यसरी मृतक रूना गिरीलाई कर्तव्य गरी मार्ने प्रतिवादी केशु गिरी नै हो भन्नेसमेत बेहोराको करिब एकै मिलानको कृष्ण गिरी, बलबहादुर खत्री र दरू गिरीसमेतले गरेको गाउँ वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी केशे भन्ने केशु गिरीको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं. को कसुर अपराध देखिँदा उक्त कसुर गरेकोमा निज प्रतिवादी केशे भन्ने केशु गिरीलाई ऐ. महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग पत्र ।
साग टिप्ने बेलामा म, बोई (हजुरआमा) र बहिनी सपना थियौँ । केशु दादा हेर्दै बारीको ढिकतिर गएका हुन्, बोईले हामीलाई भोलि पनि घरमा आउनु, मैले गोभी तरकारी दिउँला भन्नु भएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सूचना के.सी.ले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी निर्दोष छन्, अभियोग दाबी झुट्टा हो, प्रतिवादीलाई यसअघि निजको चाल चलन, आनीबानी हेर्दा त्यसप्रकारको अभियोग लगाउनु गलत हो, त्यस समयमा निज घटना स्थलमा नभई आफ्नै बारीमा बाख्रा चराउन गएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी बुद्धिमान गिरीले अदालतमा गरेको बकपत्र ।
मेरो आमालाई हत्या गर्ने यी प्रतिवादीबाहेक अरू कोही होइन, जाहेरीमा उल्लेख गरेबमोजिम पुरानो रिसइवीको कारण आमाको प्रतिवादीले हत्या गरेका हुन् भन्नेसमेत बेहोरा जाहेरवाला मुगे गिरीले अदालतमा गरेको बकपत्र ।
मृतकलाई को कसले धारिलो हतियार प्रयोग गरी मारेको हो, मेरो आँखाले नदेखेको हुँदा थाहा छैन । प्रतिवादीले मृतकलाई मारेकोमा विश्वास लाग्दैन, त्यस घटनाभन्दा पहिले मृतक र प्रतिवादीबिच रिसइवी झै-झगडा थिएन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी चिन्तु गिरीले अदालतमा गरेको बकपत्र ।
मैले प्रहरीमा गरेको घटना विवरण कागजको बेहोरामा कसैले सिकाएर भनेको होइन, मैले आफैँ भनेको हुँ । मैले प्रतिवादीले मृतकलाई हानेको देखिनँ, शंका लागेर भनेको हुँ । म त्यस समयमा स्कुलको झारामा काम गर्न गएको थिएँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने गुमी गिरीले अदालतमा गरेको बकपत्र ।
मृतकलाई मैले प्रहार गरेको देखिनँ, को कसले मार्यो मलाई थाहा छैन । प्रतिवादीको चाल चलन मैले जाने बुझेसम्म राम्रो थियो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रेश्मा भन्ने ठमी गिरीले अदालतमा गरेको बकपत्र ।
उक्त दिन घटेको घटना विवरण मैले सुनेर लेखाएको हो, देखेर होइन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का कागज गर्ने दरू गिरीले अदालतमा गरेको बकपत्र ।
म घटनास्थलमा करिब साढे एक बजेतिर गएको थिएँ होला । म त्यहाँ जाँदा केशु गिरी आफ्नै घरमा थियो । मृतक र प्रतिवादीबिच भनाभन भएको र केशु गिरीले प्रहार गरेको देखेन । त्यहाँ घटनास्थलमा र वरपर अन्य मानिसहरू कोही पनि थिएनन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने रूमा गिरीले अदालतमा गरेको बकपत्र ।
हामीले प्रतिवादीप्रति शंका गरेर भनेका हौँ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का कागज गर्ने बलबहादुर खत्री र कृष्णा गिरीको करिब एकै मिलानमा अदालतमा गरेको बकपत्र ।
घटनाबारेमा मैले प्रत्यक्ष देखेको होइन, सुनेको हो, मृतकलाई को कसले कर्तव्य गरी मारे मलाई थाहा भएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने झगे गिरीले अदालतमा गरेको बकपत्र ।
घटनाको बारेमा मैले प्रत्यक्ष देखेको
होइन । मृतकलाई को कसले मार्यो मलाई थाहा भएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्न जेनी के.सी.ले अदालतमा गरेको बकपत्र ।
घटनाको बारेमा मैले प्रत्यक्ष देखेको होइन, मृतकलाई को कसले मार्यो मैले आँखाले देखेको होइन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने हुमा गिरीले अदालतमा गरेको बकपत्र ।
मृतकको शव परीक्षण मैले गरेको हुँ, मृतकका शव परीक्षण गर्दा टाउकोको पछाडिको भागमा लम्बाइ १२ सेन्टिमिटर, चौडाइ ६ सेन्टिमिटिर, गहिराइ ५ सेन्टिमिटर र देब्रे कानको बिच भागमा लम्बाइ ८ सेन्टिमिटर, चौडाइ ४ सेन्टिमिटर, गहिराइ २ सेन्टिमिटर भई मृतकको टाउकोमा धारिलो ठुलो हतियारले हानेको घाउ थियो भन्नेसमेत बेहोराको मृतकको शव परीक्षण गर्ने डा. नविन देवकोटाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी केशे भन्ने केशु गिरीले मृतक रूना गिरीलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारी अभियोग दाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं.बमोजिम कर्तव्य गरी ज्यान मारेको कसुर अपराध गरेको देखिएकोले निज केशे भन्ने केशु गिरीलाई ऐ.ऐनको ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने सुरू प्युठान जिल्ला अदालतबाट मिति २०७३।३।२१ मा भएको फैसला ।
म मौकादेखि आरोपित कसुरमा इन्कारी रहेको, वारदातमा मेरो प्रत्यक्ष संलग्नता नभएको, वारदातको चश्मदिद नभएको अवस्था रहेको, वादीतर्फबाट म विरूद्ध वस्तुनिष्ठ प्रमाणसमेत पेस हुन नसकेको र घटनास्थल सुरक्षित राखी कर्तव्य निभाई सूचना गरेको व्यक्ति हुँदा शंकाको भरमा जाहेरी दिएको, घटना विवरण वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूले पनि शंकाकै भरमा दोष लगाएकोले सो कुरा अदालतमा निजहरूको बकपत्रबाट स्पष्ट रूपमा देखिएको अवस्थामा सुरू अदालतले मलाई अभियोग माग दाबीबमोजिम सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर उल्टी गरी अभियोग दाबीबाट फुर्सद दिलाइपाउँ भन्ने प्रतिवादी केशे भन्ने केशु गिरीको पुनरावेदन ।
यसमा सुरू प्युठान जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्नको रोहमा विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम उच्च सरकारी वकिल कार्यालय तुलसीपुरलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत तुलसीपुरको आदेश ।
प्रतिवादी केशे भन्ने केशु गिरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.विपरीत १३(१) नं. को कसुरमा ऐ.ऐनको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी सुरू प्युठान जिल्ला अदालतबाट मिति २०७३।३।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग मागदाबीबमोजिमको कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न
सक्दैन । वारदात हुँदाका बखत पुनरावेदक प्रतिवादीको उमेर, निजले वारदातपश्चात् आफ्नो मोबाइलबाट आफ्नो बाबु जालिमी गिरीलाई वारदातको बारेमा जानकारी गराएको र परिस्थितिजन्य अन्य प्रमाणहरूसमेतबाट निज पुनरावेदक प्रतिवादीलाई उल्लिखित सजाय गर्दा चर्को पर्ने देखिएको परिप्रेक्ष्यमा निजलाई मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम १०(दश) वर्ष कैद सजायका लागि राय व्यक्त गर्दा मनासिब देखिन्छ भन्ने उच्च अदालत तुलसीपुरबाट मिति २०७४।६।२४ मा भएको फैसला ।
प्रतिवादी मौकादेखि नै आरोपित कसुरमा इन्कार रहेको, घटना विवरणमा कागज गर्ने व्यक्तिहरू प्रत्यक्षदर्शी नभएको र वस्तुनिष्ठ प्रमाणबाट आरोपित कसुर प्रमाणित हुन नसकेको अवस्थामा शंकाका भरमा प्रतिवादी केशे भन्ने केशु गिरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी प्रमाणित गर्ने गरी सर्वस्वसहित जन्मकैद हुने गरी सुरू प्युठान जिल्ला अदालतको फैसला र सो फैसलाउपर चित्त नबुझी सम्मानित उच्च अदालत तुल्सीपुरमा गरेको पुनरावेदनमा उक्त अदालतले सुरू अदालतको फैसला सदर गरी मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम १० वर्ष कैद हुने ठहर गरी गरेको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी केशे भन्ने केशु गिरीको यस अदालतमा दायर हुन आएको पुनरावेदन ।
यसमा पुनरावेदक प्रतिवादीले मृतकमाथि प्रहार गरेको कुरा पुष्ट्याईं गर्ने तथ्ययुक्त प्रमाण नभएको र आरोपित कसुरमा प्रतिवादी इन्कार रहेको अवस्थामा पनि प्रतिवादीलाई कसुरदार ठहर गरेको उच्च अदालत तुलसीपुरको मिति २०७४।६।२४ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७५।७।२५ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादी केशे भन्ने केशु गिरीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री लोकमणि पोखरेलले प्रतिवादी मौकादेखि नै आरोपित कसुरमा इन्कारी रहेको, घटना विवरण कागज गर्ने व्यक्तिहरूले केवल शंकाको आधारमा अदालतसमक्ष बकपत्र गरेको तथा वारदातमा प्रतिवादीको संलग्नता पुष्टि गर्ने कुनै वस्तुनिष्ठ प्रमाण नभएको अवस्थामा वारदातस्थलमा मात्र प्रतिवादीको उपस्थिति रहेको कारणबाट प्रतिवादी केशे भन्ने केशु गिरीलाई कसुरदार कायम गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसला मिलेको नहुँदा प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सुशिल देवकोटाले प्रतिवादीउपर किटानी जाहेरी परेको तथा उक्त जाहेरीलाई वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले अदालतसमक्ष गरेको बकपत्रले समेत समर्थन गरेको अवस्था छ । मृतक रूना गिरीलाई प्रतिवादीसमेतले बोक्सीको आरोप लगाई बोलचाल बन्द रहेको, पाँच सात दिनदेखि प्रतिवादीको आमा बिरामी भएकोमा स्वास्थ्य चौकीबाट समेत औषधी ल्याएर खुवाउँदा सन्चो नभएको हुँदा मृतककै कारणबाट सन्चो नभएको भन्ने रिसइवी रहेको र गाउँका सम्पूर्ण व्यक्तिहरू झारा गएको अवस्थामा केवल प्रतिवादी मात्र वारदातस्थलबाट ३०/४० मिटरको दुरीमा उपस्थित रहेको जस्ता परिस्थितिजन्य तथ्यहरूसमेतबाट प्रतिवादीले नै मृतक रूना गिरीलाई कर्तव्य गरी मारेको प्रस्ट भएको हुँदा प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस गर्नुभयो ।
प्रतिवादी केशे भन्ने केशु गिरीले पूर्व रिसइवीको कारणले मिति २०७२।९।१७ मा धारिलो हतियार प्रयोग गरी रूना गिरीलाई कर्तव्य गरी मारेको भन्ने मैते भन्ने मुगे गिरीको किटानी जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा रूना गिरीलाई कर्तव्य गरी मारेकोले प्रतिवादी केशे भन्ने केशु गिरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको पाइयो । उक्त अभियोग दाबी पेस भएपछि सुरू प्युठान जिल्ला अदालतबाट निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई फैसला भएको देखिन आयो । उक्त फैसला पुनरावेदन अदालत तुलसीपुरबाट सदर गरी मुलुकी ऐन, अ.बं.१८८ नं.बमोजिम १० वर्ष कैद हुने ठहर गरी फैसला भएकोमा सोउपर चित्त नबुझाई प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुल्सीपुरको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी केशे भन्ने केशु गिरीले पूर्वरिसइवीको कारण धारिलो हतियार प्रयोग गरी रूना गिरीलाई कर्तव्य गरी मारेकोले निजलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्ने मैतै भन्ने मुगे गिरीको किटानी जाहेरी दरखास्त, मृतक रूना गिरीको मृत्युको कारण टाउकोको चोट (Cause of Death Sharp Force Injury to Head) भन्ने शव परीक्षण प्रतिवेदन तथा मृतक रूना गिरीको दाहिने कानदेखि पछाडि ६ इन्च लम्बाइ, ३ इन्च चौडाइ भई काटिएको र बायाँ कानको भागको बिचबाट ३ इन्च लम्बाइ भएको काटिएको अवस्थामा रहेको र घाँटीदेखि माथि गर्धनको भागमा धारिलो हतियारले काटिएको, दाहिने आँखा बाहिर निस्केको, अनुहारको भाग रगताम्य भएको, घोप्टो अवस्थामा लास रहेको भन्ने घटनास्थल लास जाँच मुचुल्कासमेतका मिसिल संलग्न कागजातहरूबाट मृतक रूना गिरीको मृत्यु कर्तव्यबाट भएको देखिन्छ ।
३. अब मृतक रूना गिरीको मृत्युमा प्रतिवादी केशे भन्ने केशु गिरीको संलग्नता छ छैन भन्ने सम्बन्धमा विचार गर्दा, यी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्षको बयानको स.ज. १० मा "मेरो हजुरआमा रूना गिरीसँग कुनै झै-झगडा रिसइवी थिएन । बोलचाल राम्रो थियो । रूना गिरीलाई मैले हत्या गरेको होइन । निजको हत्या कसले गर्यो सो सम्बन्धमा मलाई थाहा छैन ।" भनी र अदालतसमक्ष बयान गर्दा स.ज. ४ मा "जाहेरीमा लेखिएको बेहोरा झुट्टा हो, सो दिन म मेरै घरमा बसी दिउँसो बाख्रा चराई घटना घटेको कुरा थाहा पाएपछि म गाउँका अन्य मानिसहरूलाई बोलाई सोधखोज गर्ने काममा लागेको हुँ, जाहेरवालाले जाहेरीमा मलाई किन किटान गरी लेखाए मैले मृतकलाई कर्तव्य गरी मारेको होइन /
छैन ।" भनी कसुरमा पूर्णरूपमा इन्कार रही बयान गरेको देखिन्छ ।
४. त्यसैगरी प्रस्तुत मुद्दामा घटनाको कुनै प्रत्यक्षदर्शी रहेको देखिँदैन । घटना विवरण कागजका मानिस जेनी के.सी.ले "प्रत्यक्षरूपमा आफूले वारदात नदेखेको हुँदा यकिन बेहोरा भन्न सक्दिन" भनी घटना विवरण कागजमा लेखाएको पाइन्छ र अदालतसमक्ष गरेको बकपत्रको स.ज. ४ मा समेत "मृतकलाई कसले मार्यो मलाई थाहा भएन" भनी उल्लेख गरेको
पाइन्छ । घटना विवरण कागजका अर्का मानिस रूमा गिरीले "मृतक रूना गिरीलाई कसले मार्यो भन्ने सम्बन्धमा मलाई कुनै थाहा जानकारी छैन" भनी घटना विवरण कागजमा लेखाएको पाइन्छ र अदालतसमक्ष गरेको बकपत्रको स.ज. ६ मा "म घटनास्थलमा १:३० बजे गएको थिएँ । म जाँदा केशु गिरी आफ्नै घरमा थियो...केशु गिरीले प्रहार गरेको देखिनँ, घटनास्थल वरपर अरू कोही मानिस थिएनन्" भनी उल्लेख गरेको पाइन्छ । घटना विवरण कागजका अर्का मानिस झगे गिरीले अदालतसमक्ष गरेको बकपत्रको स.ज. ४ मा "घटनाको बारेमा मैले प्रत्यक्ष देखेको होइन, सुनेको हुँ" र स.ज. ६ मा "घटना घटेको दिन लोग्ने मान्छे भनेको प्रतिवादी मात्र रहेको र सो घटना घटेको हुँदा शंका व्यक्त गरी लेखाई दिएको हुँ" भनी उल्लेख गरेको पाइन्छ । घटना विवरण कागजका अर्का मानिस सूचना के.सी.ले अदालतसमक्ष गरेको बकपत्रको स.ज. ६ मा "बोई रूना गिरीलाई केशु दादाले केही पनि भनेनन् र हानेको पनि होइन" भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै वस्तुस्थिति मुचुल्काका मानिसहरू बलबहादुर खमी, कृष्ण गिरी र दरू गिरीले अदालतसमक्ष गरेको बकपत्रको स.ज. ५ मा आफूहरूले प्रतिवादीउपर शंका लागेर वस्तुस्थिति मुचुल्का लेखाएको भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ । यसरी घटना विवरण कागज र वस्तुस्थिति मुचुल्काका मानिसहरूको बकपत्रबाट केवल शंकाको भरमा प्रतिवादीलाई आरोप लगाएको तथ्य प्रस्ट भइरहेको छ ।
५. अब प्रतिवादीउपर किटानी जाहेरी परेको भन्ने सम्बन्धमा हेर्दा, जाहेरवाला मैते भन्ने मुगु गिरीले प्रतिवादीउपर किटानी जाहेरी दिएको भए तापनि निजले अदालतसमक्ष गरेको बकपत्रको स.ज. ५ मा "मैले आफैँ शंकाले जाहेरी दिएको हुँ...पुरानो रिसइवीको कुनै वस्तुनिष्ठ प्रमाण छैन" भनी उल्लेख गरेको
देखिन्छ । जाहेरी दरखास्त कसुरको बारेमा सूचना दिने एक माध्यम मात्र हो । प्रतिवादीउपर केवल किटानी जाहेरी परेको आधारमा निजलाई कसुरदार ठहर्याउनु न्यायसङ्गत हुँदैन । जाहेरी दरखास्त आफैँमा कुनै स्वतन्त्र प्रमाण नभएकोले अन्य प्रमाणहरूबाट पुष्टि नभएसम्म जाहेरी दरखास्तको कुनै प्रामाणिक मूल्य हुँदैन । प्रस्तुत मुद्दामा जाहेरवालाले दिएको उक्त जाहेरीलाई कुनै वस्तुनिष्ठ प्रमाणले समर्थन गरिरहेको अवस्थासमेत देखिँदैन । यसै सन्दर्भमा वादी नेपाल सरकार प्रतिवादी उजैर भन्ने सफिउर रहमान मुसलमान भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०७६ अङ्क ९ नि.नं. १०३५०) मा "जाहेरी दरखास्तले आफैँमा प्रमाणको रूप ग्रहण नगर्ने, घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी बेहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रामाणिक मूल्य प्राप्त गर्ने" भनी सिद्धान्तसमेत प्रतिपादन भएको छ ।
६. जहाँसम्म गाउँका सम्पूर्ण व्यक्तिहरू झारामा काम गर्न गएको अवस्थामा केवल प्रतिवादी मात्र वारदातस्थलबाट ३०/४० मिटरको दुरीमा उपस्थित रहेको र रूमा गिरीले वारदातस्थलमा जाउँ भन्दा प्रतिवादीले इन्कार गरेको भन्ने जिकिरको सन्दर्भमा हेर्दा, घटनास्थल वरपर उपस्थित भई घटनास्थलमा जान इन्कार गर्नु र कसैलाई कर्तव्य गरी मार्नु दुई फरक कुरा हुन् । कसैको रगताम्य रूपमा हत्या भएको वारदातस्थलमा जान डराउनु र जाँदा आफूलाई नै आरोप आइलाग्छ कि भनेर सोच्नु स्वाभाविक मानवीय भावना हो । प्रतिवादी वारदातस्थलको वरपर उपस्थित रहेको र निजले वारदातस्थलमा जान इन्कारी गरेको तथ्य मात्र निजलाई कसुरदार ठहर्याउनका लागि पर्याप्त हुँदैन । यसै सन्दर्भमा वादी नेपाल सरकार प्रतिवादी जसमान लिम्बूसमेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०६९, अङ्क १, नि.नं.८७५८) मा "कुनै वारदातस्थलमा कसैको भौतिक उपस्थिति (Physical Presence) हुँदैमा वारदातमा संलग्नता थियो भनी ठहर्याउनु न्यायसङ्गत नहुने" भनी सिद्धान्तसमेत प्रतिपादन भएको छ । साथै प्रतिवादीले घटनास्थलमा जान इन्कार गरेको भए तापनि मोबाइलबाट फोन गरी आफ्नो बाबु जालिमी गिरीलाई घटनाबारे जानकारी दिएको भन्ने प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयानबाट समेत देखिन्छ । प्रतिवादीले नै मृतक रूना गिरीको हत्या गरेको भए वारदातबारे कसैलाई सूचना दिई मद्दतको लागि बोलाउने कार्य प्रतिवादीबाट हुँदैन थियो ।
७. त्यसैगरी पाँच सात दिनदेखि प्रतिवादीको आमा बिरामी भएकोमा स्वास्थ्य चौकीबाट समेत औषधी ल्याएर खुवाउँदा सन्चो नभएको हुँदा मृतककै कारणबाट सन्चो नभएको भन्ने रिसइवी रहेको भन्ने जाहेरवालाको पोल र जिकिरका सम्बन्धमा हेर्दा, प्रतिवादी केशे भन्ने केशु गिरीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानको स.ज. १० मा "मेरो हजुरआमा रूना गिरीसँग कुनै झै-झगडा रिसइवी थिएन" र अदालतसमक्ष गरेको बयानको स.ज.३ मा "मृतकसँग मेरो रिसइवी लेनदेन केही छैन" भनी उल्लेख गरेको पाइन्छ । मृतकसँग प्रतिवादीको कुनै रिसइवी छैन भनी गरिएको प्रतिवादीको उक्त बयानलाई समर्थन गर्ने गरी जाहेरवाला स्वयंले "पुरानो रिसइवीको कुनै वस्तुनिष्ठ प्रमाण छैन" भनी अदालतसमक्ष स.ज. ५ मा बकपत्र गरेको पाइन्छ । यसरी प्रस्तुत मुद्दामा प्रतिवादी केशे भन्ने केशु गिरीसँग मृतकलाई मार्नुपर्नेसम्मको कुनै रिसइवी रहेको भन्ने मिसिल संलग्न अन्य कागजहरूबाट पुष्टि भइरहेको अवस्थासमेत छैन ।
८. प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार निरपेक्षरूपमा अभियोजन पक्षमा राखेको
छ । जसले दाबी गर्छ, उसैले प्रमाणित गर्नुपर्छ भन्ने फौजदारी विधिशास्त्रको सामान्य सिद्धान्त रहेको छ । प्रस्तुत मुद्दामा जाहेरी दरखास्तको बेहोरा कुनै वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । यी प्रतिवादीले नै अभियोग दाबीअनुसारको कसुर गरेको भनी यकिनरूपमा बुझिएका कुनै व्यक्तिले पनि भन्न सकेको पाइँदैन । केवल सुनेको आधारमा मात्र यी प्रतिवादीउपर कसुरको आशंका गरिएको देखिन्छ । शंका र अनुमानको आधारमा खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न मिल्दैन । शंकारहित तवरबाट कसुरको पुष्टि नभएसम्म कसैलाई पनि शंका र अनुमानका आधारमा कसुरदार ठहर गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुन जाने हुन्छ । यस स्थितिमा तथ्यतः प्रमाणित हुन नसकेको जाहेरी र कसुर (अभियोग) पुष्टि हुने अन्य विवादरहित परिस्थितिजन्य प्रमाणको अभावमा प्रतिवादीलाई कसुरदार ठहर गर्नु मिल्ने देखिन आएन ।
९. अतः माथि विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीले कसुर गरेको देखिने शंकारहित प्रमाणको अभाव रहेको देखिँदा प्रतिवादी केशे भन्ने केशु गिरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने भनी सुरू प्युठान जिल्ला अदालतबाट मिति २०७३।०३।२१ मा भएको फैसला सदर गरी प्रतिवादीलाई मुलुकी ऐन, अ.बं.१८८ नं.बमोजिम १० वर्ष कैद हुने गरी उच्च अदालत तुलसीपुरबाट मिति २०७४।६।२४ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी केशे भन्ने केशु गिरीलाई अभियोग दाबीअनुसार कसुर गरेको ठहर्याई दाबी सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको उच्च अदालत तुल्सीपुरको फैसला उल्टी भई निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकोले प्रतिवादीलाई आजै थुनाबाट छोडिदिनु भनी छुट्टै आदेशद्वारा लेखी पठाई सकिएकोले अन्य केही बोलिरहनु परेन ..............................................१
प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालय एवम् प्रतिवादी केशे भन्ने केशु गिरीलाई दिनू ...................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा नियमानुसार बुझाई दिनू ...........३
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत:- मतिना शाक्य
इति संवत् २०७७ साल चैत्र ३१ गते रोज ३ शुभम् ।