निर्णय नं. ८५३२ - लेनदेन.

निर्णय नं. ८५३२
सर्वोच्च अदालत, वृहद पूर्ण इजलास
का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौला
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कमलनारायण दास
दे.पु.इ.नं. ०६५–DF–०२५
फैसला मितिः २०६७।११।२६।५
मुद्दा :– लेनदेन ।
पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, देवानगञ्ज गा.वि.स. वडा नं. ३ बस्ने महन्थी भन्ने महेन्द्रप्रसाद महतो
विरूद्ध
प्रत्यर्थी/वादीः जिल्ला सुनसरी, देवानगञ्ज गा.वि.स. वडा नं. ३ बस्ने दुखनीदेवी महतो
शुरु मुद्दा फैसला गर्नेः—
मा.जि.न्या. श्री एकराज आचार्य
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री उद्धबप्रसाद बाँस्कोटा
मा.न्या.श्री केशवप्रसाद मैनाली
सर्वोच्च अदालत संयुक्त इजलासः
मा.न्या.श्री रामप्रसाद श्रेष्ठ
मा.न्या.श्री रामकुमार प्रसाद शाह
सर्वोच्च, अदालत पूर्ण इजलासः
मा.न्या.श्री प्रेम शर्मा
मा.न्या.श्री अवधेशकुमार यादव
मा.न्या.श्री गिरीश चन्द्र लाल
§ विशुद्ध प्रकारले साहू आसामीबीच भएको कपाली सरहको लिखत कागजबाट सिर्जित विवादमा अदालतले लिखत कागजमा उल्लेख नभएको पक्ष विपक्षको मौखिक भनाई र व्यवहारलाई आधार लिई विवादित विषयको सन्दर्भमा अन्यथा अर्थ गरी न्याय निरुपण गर्न नमिल्ने ।
(प्रकरण नं.३)
§ देवानी प्रकृतिको लिखत व्यवहारको सम्बन्धमा जहाँ लिखत स्वयंमा प्रष्ट छ त्यसको विषयमा पक्ष विपक्षको आपसी मौखिक समझदारी, निजहरू बीच अन्य घरायसी व्यवहार भएको छ भन्ने कुराले र साक्षीको बकपत्रले अन्यथा हुने अवस्था नहुने ।
(प्रकरण नं.४)
§ कानूनले तोकेको प्रक्रिया नपुर्याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने ।
§ लेनदेन व्यवहारको ५ नं.मा रहेको कानूनी व्यवस्थाको शाब्दिक अर्थ नगरी साक्षी बकपत्र एवं पक्षहरू बीचको व्यवहार हेरिनु पर्छ भन्ने जिकीर रहेपनि स्पष्ट रुपमा रहेको कानूनी व्यवस्थाविपरीत मौखिक भनाई एवं पक्षहरूका बीच भएका अदृश्य व्यवहार र आचरणलाई प्रमाणमा लिन नमिल्ने ।
(प्रकरण नं.५)
§ राजीनामा लिखत व्यवहार अलग अलग प्रकृतिबाट भएको देखिएको, तमसुकी लिखतबाट रुपैयाँ लिनुदिनु गरेको व्यवहार तथा जग्गा राजीनामा पारित गरेको व्यवहारमा दुवै लिखतको एकआपसमा सम्बन्ध (Nexus) रहेको भन्ने कुरा कहीं कतै उल्लेख भै आएको नदेखिएको अवस्था रहेको तथा आम व्यवहार र प्रचलनमा एकै व्यक्तिसंग भिन्नभिन्न व्यवहार हुन सक्ने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादीः वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी/वादी तर्फबाटः
अवलम्बन नजीरः
सम्बद्ध कानूनः
§ लेनदेन व्यवहारको ५ नं.
फैसला
का.मु.प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी महन्थी भन्ने महेन्द्र प्रसाद महतोको तर्फबाट यस अदालतमा पुनरावेदन परी संयुक्त इजलासमा मत्यैक्यता कायम हुन नसकी तीन जना माननीय न्यायाधीशको पूर्ण इजलासमा पेश भएकोमा पूर्ण इजलासका तीनजना न्यायाधीशबीच वेग्लावेग्लै राय कायम भै वहुमत राय कायम हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(३) बमोजिम यस बृहद पूर्ण इजलाससमक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
विपक्षीले मबाट घरखर्च गर्न भनी रु.४९,०००।– (उन्चास हजार) रुपैयाँ कर्जा लिई २०५३ साल फाल्गुण महिनाभरमा साँवा र ब्याज समेत बुझाउने शर्त गरी मिति २०५३।५।२० मा कपाली तमसुक लेखी दिनु भएकोमा भाखाभित्र साँवा ब्याज नदिएको र तत्पश्चात पनि पटकपटक ताकेता गर्दा समेत आलटाल गरी विपक्षीले उक्त साँवा ब्याज नबुझाएकोले मुलुकी ऐन लेनदेन व्यवहारको २ नं.को म्याद भित्रै अ.बं.८२ नं. समेतका आधारमा फिराद गर्न आएको छु । अतः लिखत मिति २०५३।५।२० देखि आज फिराद मिति तक २ बर्ष ५ महिना ९ दिनको हुने ऐनबमोजिमको ब्याज रु. ११,९६४।१९ पैसा र साँवा रु.४९,०००।– समेत जम्मा रु.६०,९६४।१९ र भरी भराउ मिति तकको हुने ब्याज, कोर्ट फी समेत लेनदेन व्यवहारको ४, ६ नं बमोजिम विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको दुखनी देवी महतोको फिराद पत्र ।
विपक्षी बादीको दावी झुठ्ठा एवं बनावटी मात्र हो । वास्तविकता के हो भने विपक्षी वादीले मबाट जग्गा खरीद गर्ने इच्छा गर्दा र मलाई पनि जग्गा विक्री गर्न आवश्यक भएकोले जग्गा लिने दिने दुवै थरको मन्जुरी भै म प्रतिवादीको नाउँ दर्ताको जि.सुनसरी देवानगञ्ज गा.वि.स वडा नं.३ कि.नं ४६५ को ज.वि.०–५–२ मध्ये ०–३–० जग्गा मात्र विक्री गर्ने सहमति भएको थियो । जग्गामा वाली लागी सकेको हुँदा मैले लगाएको सो वाली म प्रतिवादीले नै खाने हुँदा तत्काल जग्गाको मूल्य लिनुदिनु गरी रजिष्ट्रेशन गराउन अनुकूल भएन । लिएदिएको रुपैयाँको विश्वासको लागि तमसुक लिखत गरी दिएको र पछि जग्गा पारित भएपछि तमसुक च्यातल गरी दिने समझदारी भए अनुरुप मैले ईमान्दारीपूर्वक मेरा नाउँको उक्त कि.नं.४६५ को ०–५–२ जग्गामध्ये दक्षिणतर्फबाट कित्ताकाट गरी कि.नं.४७० को ०–३–० जग्गा र.नं.६१४५ मिति २०५३।१०।३ मा राजीनामा पारित गरिदिएको छु । लिखत च्यातल गरी माग्दा तमसुक ल्याउन विर्सिएको हुँदा घरमा नै च्यातल गरी दिन्छु भनी विपक्षी वादीले भन्दा विश्वासमा परी पुनः सोधखोज गर्दा तमसुक च्यातल गरी दिएँ भनी विपक्षीले भनेको हुँदा चुप लागी बसेको थिएँ । के कुन तमसुक पेश गरी नालेश गरेका हुन् ? वादीलाई जग्गाको मोल वापत लिएको रुपैयाँको तमसुक वाहेक अन्य कुनै लिखत तमसुक गरी दिएको छैन । वादीबाट सक्कल तमसुक दाखिला भै देखाएका अवस्थामा अ.बं.७८ नं. बमोजिम नामाकरण गर्नेछु । वादीलाई मैले कुनै पनि रुपैयाँ तिर्न बुझाउन बाँकी छैन भन्ने समेत व्यहोराको महेन्द्रप्रसाद महतोको प्रतिउत्तर पत्र ।
वादीबाट सक्कल लिखत तमसुक दाखिला गराई अ.बं ७८ नं बमोजिम प्रतिवादीलाई सनाखत गराई पेश गर्नु भन्ने मिति २०५६।७।९ को आदेशानुसार दावीको मिति २०५३।५।२० को सक्कल लिखत तमसुक दाखीला भै मिसिल संलग्न रहेको ।
वादीबाट पेश भएको मिति २०५३।५।२० को लिखतमा भएको लेखात्मक तथा रेखात्मक सहीछाप मेरो हो । सो लिखत तमसुक विश्वासको निमित्त हामी वादी प्रतिवादी भै मेरा नाउँ दर्ताको ०–३–० जग्गा निज वादीलाई पास गरी दिएपछि च्यातल गरी दिने मन्जुरी भए अनुरुप तत्काल यी वादीबाट जग्गाको मोल वापतमा रु.३१,०००।– लिई गाऊँ घरमा साँवा भन्दा बढीको कागज बनाउने प्रचलन अनुरुप रु.४९,०००।– को कागज वादीले गराएको हो । मैले निज वादीलाई उक्त ०–३–० जग्गा पास गरी दिएपछि सो लिखत वादीले मलाई नदिई सोही लिखतका आधारमा प्रस्तुत मुद्दा गरेको मात्र हो भन्ने समेत व्यहोराको प्रतिवादी महन्थी भन्ने महेन्द्रप्रसाद महतोले अ.वं. ७८ नं. बमोजिम गरेको वयान ।
मबाट पेश भएको लिखत तमसुक जग्गा लिनेदिने शर्तमा भएको नभै प्रतिवादीले रु.४९,०००।–नगदै लिई गरी दिएको तमसुक हो । मेरो रुपैयाँ पचाउने नियत लिई प्रतिवादीले झुठ्ठा बयान गरेको हो । दावी अनुसारको साँवा ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको वारेस सदानन्द महतोले अ.वं. ७८ नं. बमोजिम गरेको बयान ।
लिखत कागज सद्दे व्यहोराको हो । जग्गा पारित गरी दिने शर्तमा भएको तमसुक कागज वादीले च्यातल गर्न आलटाल गरेकी हुन् । वादीको दावी बमोजिमको रकम प्रतिवादीले बुझाउनु पर्ने होईन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी रामकृष्ण मेहताले गरेको वकपत्र ।
रु.४९,०००। दुखनीदेवीबाट महन्थी भन्ने महेन्द्र महतोले लिएको हो । जग्गा दुखनी देवीका पतिको हुँदा त्यसै पारित गरी दिएका हुन् । रुपैयाँ घर खर्च गर्न लिएका हुन् भन्ने समेत व्यहोराको वादीका साक्षी गणेश पण्डितले गरेको वकपत्र ।
दावीको रुपैयाँ वापतमा जग्गा पारित गरी दिई सो पारित गरी दिएको जग्गा समेतमा मुद्दा परी राजीनामा विक्री व्यवहार सदर ठहरी फैसला भैरहेको यस स्थितिमा दावीको रुपैयाँ तिर्न बुझाउन बाँकी नदेखिँदा वादी दावीको साँवा र ब्याज समेत प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्दैन । वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०५७।३।२१ को फैसला ।
विपक्षी प्रतिवादी र म वादीबीच मिति २०५३।५।२० मा भएको लिखतलाई प्रत्यर्थीले अन्यथा भन्न सक्नु भएको छैन । म वादीबाट जग्गाको मोलवापत रुपैयाँ लिएको नभै प्रतिवादीले घरखर्च गर्नको लागि भनी रुपैयाँ लिएको प्रमाणित तथ्य विपरीत वादी दावी नपुग्ने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी शुरु फिराद दावी बमोजिम ईन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
वादी दावीको लिखत गरी दिएकोमा प्रतिवादी सावितै देखिएको, जग्गा पास गरी दिएपछि वादी दावीको लिखत च्यातल गरी दिने गरी लिखत भएको भए सोही व्यहोरा उल्लेख हुनुपर्ने सो केही कुरा उल्लेख हुन नसकेबाट लिखत मै प्रतिवादी ऋणीको दाजु भनी लिखतमा साक्षी बस्ने रामकृष्ण महतोको बकपत्रको कथनलाई साँचो भनी सोही कुराको समेत आधार लिई शुरुले वादी दावी नपुग्ने ठहराई गरेको इन्साफ फरक पर्ने देखिंदा अ.बं.२०२ नं बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश ।
लेनदेन व्यवहारको ५ नं. बमोजिम लिखत च्यातल पनि नभएको र लिखतमा रुपैयाँ बुझेको वा जग्गापास गरी लिएको भन्ने कुनै प्रकारको कानूनी रीत पुर्याएको नदेखिएको अवस्थामा अनुमानको भरले वादी दावीको ०५३।५।२० को लिखत वापतमा मिति ०५३।१०।३ मा र.नं.६१४५ बाट जग्गा पास गरी दिएको भनी भन्न मिल्ने नदेखिंदा शुरु सुनसरी जिल्ला अदालतले वादीलाई लिखत दावीको रुपैयाँ प्रतिवादीले तिर्न बुझाउन नपर्ने ठहर्याई गरेको मिति ०५७।३।२१ को फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । वादीलाई दावीको लिखतको साँवा ब्याज प्रतिवादीले तिर्नु बुझाउनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०५८।६।१० को फैसला ।
पुनरावदेन अदालतको फैसलामा चित्त बुझेन । मेरा नामदर्ताको कि.नं.४६५ को ज.वि ०–५–२ मध्ये ०–३–० कठ्ठा जग्गा वादीलाई विक्री गर्ने गरी मूल्य समेत तय भई सो वापत मैले रु.३१,०००।– लिई तत्काल वाली लागेको कारण राजीनामा पारित गराउन नमिल्ने भै चलन अनुसार कपाली तमसुक गरिदिएको हो । सो रुपैयाँ वापत मिति २०५३।१०।३ मा सो ०–३–० (तीन कठ्ठा) जग्गा वादीलाई पास पनि गरिदिई सकेको छु । सो तथ्य लिखतका साक्षी रामकृष्णको बकपत्रबाट पुष्टी भएको छ । एउटा ऋण रकम बाँकी नै राखेको भए वादीले मलाई अर्को ऋण दिेने र सो वापत जग्गा पास हुने अवस्था पनि पर्दैनथ्यो । यस्तो स्थितिमा मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन नै नगरी पुनरावेदन अदालतले मलाई हराई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरुले वादी दावी नपुग्ने ठहर गरेको फैसला सदर गरिपाऊँ भन्ने प्रतिवादी महन्थी भन्ने महेन्द्रप्रसाद महतोको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादीका साक्षी रामकृष्ण मेहताले अदालतमा उपस्थित भै बकपत्र गर्दा तमसुकको रकम वापत प्रतिवादीले उल्लेखित जग्गा बादीको नाममा पारित गरिदिएको भनी गरेको बकपत्रले प्रतिवादीको जीकिरलाई समर्थन गरिरहेको देखिएकोले पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।१।२३ को आदेश ।
वादी प्रतिवादीबीच भएको लेनदेन व्यवहारका प्रत्यक्ष साक्षी समेतको बकपत्रबाट जग्गा पास गरिदिने शर्तमा लेनदेन भएको तथ्य उजागर भएको र सोहीबमोजिम प्रतिवादीले वादीलाई जग्गा समेत पास गरी दिइसकेको अवस्थामा वादीले प्रतिवादीबाट दोहोरो फाइदा लिन मिल्ने गरी मिति २०५३।५।२० को कपाली तमसुकबमोजिमको रकम भराई पाउने अर्थ गर्न मिल्ने देखिएन । तसर्थ शुरुले वादी दावी पुग्न नसक्ने ठहर गरेको फैसला उल्टी गरी वादी दावी बमोजिम साँवा ब्याज भराई पाउने ठहर्याएको पुनरावेदन अदालत, विराटनगरको मिति २०५८।६।१० को फैसला मिलेको नदेखिंदा उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु सुनसरी जिल्ला अदालतको मिति २०५७।३।२१ को फैसला सदर हुने ठहर्छ । पुनरावेदन अदालत, विराटनगरको फैसला सदर गर्ने गरी सहयोगी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहबाट छुट्टै राय व्यक्त भएकोले संयुक्त इजलासको लगत कट्टा गरी प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय ।
कपाली तमसुकको साँवा ब्याज वापत नै उक्त जग्गा पास गरी दिएको भन्ने राजीनामा लिखतमा उल्लेख नभएको, लेनदेन व्यवहारको ५ नं.बमोजिम लिखतको पीठमा असूली जनाएको वा लिखत फट्टा वा छुट्टै भरपाई गरेको समेत नदेखिंदा साक्षीको बकपत्रको आधारमा मात्र प्रतिवादीको जिकीर स्थापित हुन नसक्ने हुनाले वादीले प्रतिवादीबाट साँवा ब्याज भरी पाउने नै देखिन्छ । तसर्थ शुरुले वादी दावी पुग्न नसक्ने ठहर गरेको फैसला बदर गरी वादी दावी बमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्याएको पुनरावदेन अदालत, विराटनगरको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला उल्टी गर्ने गरेको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत हुन नसकेको हुँदा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय सहितको मिति २०६५।५।२६ को संयुक्त इजलासको फैसला ।
उक्त संयुक्त इजलासको छुट्टा छुट्टै रायउपर तीनजना माननीय न्यायाधीशको पूर्ण इजलासमा पेश हुँदा प्रस्तुत मुद्दामा देहाय बमोजिम राय व्यक्त भएको पाईन्छ ।
जग्गा पारित गरी लिनेदिने शर्त व्यहोरा पारी विवादित कपाली तमसुक नभएको, राजीनामा लिखतमा तमसुकको रकम वापत जग्गा पारित गरिएको भन्ने व्यहोरा उल्लेख भएको नदेखिएको, त्यस सम्बन्धी कुनै कैफियतसम्म पनि नजनिएको, तमसुकबमोजिमको साँवा ब्याज बुझाई सकेको देखिने तथ्ययुक्त सवुद प्रमाणको अभाव भै मुलुकी ऐन लेनदेन व्यवहारको ५ नं. ले सीमाङ्कन वा निर्धारित गरेका कुनै पनि प्रावधान वा दायित्वको पालना भएको नदेखिएको स्थितिमा केवल मौखिक जिकीर र अनुमानका आधारमा पुनरावेदक प्रतिवादीले दावीको साँवा ब्याज बुझाउनु नपर्ने भन्ने ठहर निश्कर्षमा पुग्न कानूनसंगत नदेखिदा बादी दावी नपुग्ने ठहर गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर हुने गरी व्यक्त भएको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसँग सहमत हुन सकिएन ।
अतः वादी दावी पुग्ने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको मिति ०५८।६।१० को फैसला सदर गरेको माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिब ठहर्छ । सहयोगी माननीय न्यायाधीशहरू बीच मत्यैक्यता हुन नसकी बहुमत कायम हुन नसकेकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (३) बमोजिम तीनजना भन्दा बढी सदस्य रहेको पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री प्रेम शर्माको राय ।
विवादित राजीनामा लिखतमा उल्लेख भएको थैली रकम र जग्गाको क्षेत्रफल हेर्दा पनि सो थैली रकम र जग्गाको अनुपातको बीचमा कुनै सामाञ्जस्यता नभई अस्वभाविकता देखिन्छ । रु. १०,०००।– थैली वापत सुनसरीको देवानगञ्जमा तीन कठ्ठा जग्गा राजीनामा हुन सक्ने अवस्था सामान्य देखिन्न । जग्गाको क्षेत्रफल र प्रकृति हेर्दा पनि राजीनामा लिखतमा उल्लेख भएको थैलीभन्दा विवादित कपाली तमसुक लिखतको थैलीसँग तादाम्यता रहने देखिन्छ । मिसिल संलग्न उल्लिखित तथ्यबाट लिखत साक्षी र वादीकै साक्षीले दावी प्रतिकूल हुने गरी गरेको बकपत्र समर्थन भैरहेको देखिंदा वादी दावी पुग्ने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको शुरू सुनसरी जिल्ला अदालतको इन्साफ सदर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिब देखिंदा सो राय सदर कायम हुने ठहर्छ । सहयोगी माननीय न्यायाधीशहरू बीच मत्यैक्यता हुन नसकी बहुमत कायम हुन नसकेकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (३) बमोजिम तीनजना भन्दा बढी सदस्य रहेको पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय ।
लेनदेन भएको मितिपछि तमसुकको धनीलाई ऋणीले लेनदेनको रकम मध्येको आंशिक रकम वापत जग्गा राजीनामा पारित गरी दिएको देखिनाले मिति २०५३।५।२० मा लेनदेन भएको रु.४९,०००।– को जग्गा राजीनामा भएको मिति २०५३।१०।३ सम्मको ब्याज जोडी जम्मा हुन आउने रकममध्ये उक्त राजीनामा लिखतको थैली रु १०,०००।– कटाई त्यसपछि बाँकी रहन आउने रकमलाई पुनः साँवा कायम गरी लेनदेन व्यवहारको २ नं. अनुसार भरी पाउने साँवा र ब्याज समेत वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ । सम्पूर्ण वादी दावी पुग्ने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ । संयुक्त इजलासबाट व्यक्त गरिएका रायका सम्वन्धमा यस पूर्ण इजलासमा समेत बहुमत कायम हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (३) बमोजिम तीनजना भन्दा बढी संख्या रहेको पूर्ण इजलाससमक्ष पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालको मिति २०६६।९।३० को राय ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादीले वादीसंग रु. ३१,०००। मात्र कर्जा लिई सो वापत २०५३।१०।३ मा तीन कठ्ठा जग्गा निज वादीलाई पारित गरी दिनु भएको छ । राजीनामा लिखतमा उल्लेख भएको थैली रकम रु.१०,०००। मात्र तीन कठ्ठा जग्गा खरीद विक्री हुने अवस्था छैन । लिखतलाई प्रतिवादीले इन्कार नगरे पनि वादी प्रतिवादीबीचको लिनु दिनु व्यवहार फछ्र्यौट भैसकेको कुरा प्रतिउत्तर पत्रमा उल्लेख भएको छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीका साक्षीले गरेको बकपत्रलाई समेत महत्वपूर्ण रुपमा हेरिनु आवश्यक छ । जग्गा पास गरी दिने समझदारीबाट तमसुक भएको व्यवहारबाट देखिएको हुँदा जग्गा पास भैसकेपछि सो तमसुक उपर वादीले दावी गर्ने अवस्था रहंदैन । वादी र प्रतिवादी बीच भएको लेनदेन व्यवहार छुट्टा छुट्टै हो भन्ने अवस्था मिसिलको तथ्यबाट देखिएको छैन । मुद्दामा भएका तथ्य प्रमाणले पक्षको व्यवहार र आचरणलाई स्पष्ट गरेको स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ७ (ग) बमोजिम सो कुरा प्रमाणमा लिन मिल्ने हुन्छ । ग्रामीण समाजमा कर्जाको भुक्तानीको तरिका पक्षले आफै निर्धारण गर्ने गरेको प्रचलनलाई पनि हेरिनु पर्छ । प्रस्तुत विवादमा तथ्य र प्रमाणले प्रष्ट गरेको विषयमा लेनदेन व्यवहारको ५ नं.को शाब्दिक व्याख्या गर्दा प्रतिवादी अन्यायमा पर्ने स्थिति छ । पक्षहरू बीच भएको व्यवहारको समष्टि रुपमा विश्लेषण गरी संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नु भएको राय मनासिव ठहर गरेको माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
विद्वान वरिष्ठ अधिवक्ताले गर्नु भएको उपर्युक्त वहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी महन्थी भन्ने महेन्द्रप्रसाद महतोले घर खर्च गर्न भनी २०५३ साल फाल्गुण महिना भरमा साँवा ब्याज बुझाउने भाखा शर्त गरी मिति २०५३।५।२० मा कपाली तमसुक गरी रु.४९,०००। लिएकोमा भाखाभित्र साँवा ब्याज नबुझाएको र पटकपटक ताकेता गर्दा समेत रकम नबुझाएकोले उक्त साँवा रकम र कानूनबमोजिम हुने ब्याज रकम समेत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादीको मुख्य फिराद दावी रहेको पाइयो । वादीलाई मैले जग्गा विक्री गर्ने समझदारीअनुरुप जग्गाको मोलवापतको रुपैया लिंदा तत्काल जग्गा पास गर्ने अनुकूल नमिलेको कारण विश्वासको लागि तमसुक लिखत गरिदिएको थिएँ । लेनदेन वापत म प्रतिवादीको नाम दर्ताको सुनसरी देवानगञ्ज गा.बि.स.वडा नं.३ कि.नं.४६५ को जग्गा विगाहा ०–५–२ मध्ये दक्षिणतर्फबाट कित्ताकाट गरी कि.नं.४७० को ०–३–० जग्गा र.नं.६१४५ मिति २०५३।१०।३ मा राजीनामा पारित गरी दिएको र जग्गा पारित भएपछि तमसुक च्यातल गरी माग्दा घरमा नै च्यातल गरी दिन्छु भनी विपक्षी वादीले भनेको कारण विश्वासमा परी बसेको थिँए । २,४ दिन पछि तमसुकको बारेमा सोधखोज गर्दा तमसुक च्यातल गरी दिएँ भनेका हुन् । के कुन तमसुक पेश गरी नालेस गरेका हुन्, वादीबाट लिखत तमसुक दाखिल भएका अवस्थामा अ.बं.७८ नं.बमोजिम नामाकरण गर्ने छु । वादीलाई मैले कुनैपनि रुपैयाँ तिर्न बुझाउन बाँकी छैन भन्ने प्रतिवादीको प्रतिउत्तर जिकीर रहेको पाइयो ।
यी पुनरावेदक प्रतिवादीले विवादको तमसुक लिखतको सम्बन्धमा मुलुकी ऐन, अ.बं.७८ नं.बमोजिम बयान गर्दा वादी दुखनीदेवीले मिति २०५३।५।२० मा मसंग जग्गा खरीद गर्ने कुरा गरेकी र तत्काल जग्गामा वाली लगाएको हुँदा विश्वासका लागि गाउँ घरको प्रचलनअनुसार रु.३१,०००।– लिई रु.४९,०००।– को लिखत कागज गरी दिएको हुँ । सो रकम वापत शर्त अनुरुप ३ कठ्ठा जग्गा पास गरी दिएको हुँदा दावीबमोजिमको रकम तिर्न बुझाउन पर्ने होइन भन्ने समेत व्यहोरा उल्लेख गरेको र प्रत्यर्थी वादी दुखनीदेवीका वारेस सदानन्द महतोले जग्गा लिने दिने शर्तमा सो लिखत कागज भएको नभई रु.४९,०००। नगद रुपैया बुझी प्रतिवादीले गरिदिएको तमसुक हो भन्ने बयान गरेको देखियो ।
उल्लिखित विवादको विषयवस्तुमा वादी दावी पुग्न नसक्ने ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावीबमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्याई भएको पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेकोमा संयुक्त इजलासका माननीय न्यायाधीशहरू वीच मतैक्यता हुन नसकी तीनजना माननीय न्यायाधीशहरूको पूर्ण इजलासमा पेश हुँदा संयुक्त इजलासबाट व्यक्त गरिएको रायका सम्बन्धमा छुट्टाछुट्टै राय व्यक्त भई बहुमत कायम हुन नसकी यस वृहद पूर्ण इजलासमा पेश हुन आएको देखियो ।
पूर्ण इजलासका माननीय न्यायाधीशहरू मध्ये माननीय न्यायाधीश श्री प्रेम शर्माबाट मौखिक जिकीर र अनुमानका आधारमा पुनरावेदक प्रतिवादीले वादीको साँवा ब्याज बुझाउनु नपर्ने भन्ने ठहर निष्कर्षमा पुग्न कानूनसंगत नदेखिंदा वादी दावी नपुग्ने ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर हुने गरी व्यक्त भएको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत हुन सकिएन । वादी दावी पुग्ने ठहर्याएको पुनरावेदन अदालत, विराटनगरको फैसला सदर गरेको माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिव ठहर्छ भनी राय व्यक्त भएको र माननीय न्यायाधीश श्री अवधेश कुमार यादवले मिसिल संलग्न तथ्य प्रमाणको आधारमा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको सुनसरी जिल्ला अदालतको इन्साफ सदर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सदर कायम हुने ठहर्छ भनी राय व्यक्त भएको तथा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालले तमसुकको धनीलाई ऋणीले लेनदेन रकम मध्येको आंशिक रकम वापत जग्गा राजीनामा पारित गरी दिएको देखिनाले मिति २०५३।५।२० मा लेनदेन भएको रु.४९,०००।– को जग्गा राजीनामा भएको मिति २०५३।१०।३ सम्मको ब्याज जोडी जम्मा हुन आउने रकम मध्ये उक्त राजीनामा लिखतको थैली रु.१०,०००। कटाई त्यसपछि बाँकी रहन आउने रकमलाई पुनः साँवा कायम गरी लेनदेन व्यवहारको २ नं.अनुसार साँवा र ब्याज समेत वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । सम्पूर्ण वादी दावी पुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्ने राय व्यक्त गरेको पाइयो । पूर्ण इजलासका माननीय न्यायाधीशहरू वीच बहुमत कायम हुन नसकी छुट्टा छुट्टै राय व्यक्त भई पेश भएको प्रस्तुत विवादमा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ वा छैन ? विशेष इजलासका माननीय न्यायाधीशहरूले व्यक्त गरेको रायमध्ये कुन चाहीं राय कायम हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो ? सोही विषयमा केन्द्रित भई निर्णय दिनुपर्ने हुन आएको छ ।
२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीले मिति २०५३।५।२० मा कपाली तमसुक गरी प्रत्यर्थी वादीबाट रु.४९,०००। कर्जा लिएको भन्ने तथ्यमा विवाद देखिएको छैन । यी प्रतिवादीले आफ्ना नाममा दर्ता रहेको कि.नं.४६५ को क्षेत्रफल ०–५–२ मध्ये ०–३–० जग्गा रु.१०,०००। थैली राखी र.नं.६१४५ मिति २०५३।१०।३ मा वादी दुखनीदेवी महतोलाई विक्री गरेको तथ्यमा पनि दुवैपक्षको मुख मिलेको देखिन्छ । केवल २०५३।५।२० मा भएको कपाली तमसुकबमोजिमको रकमवापत उक्त कि.नं.४६५ को जग्गा मध्येबाट ३ कठ्ठा जग्गा पारित गरी दिएको हुँदा उक्त लेनदेनको रकम वादीलाई तिर्न बुझाउन बाँकी छैन भन्ने प्रतिवादीको मुख्य जिकीर भै प्रस्तुत विवादको सिर्जना भएको देखिन्छ ।
३. विवादमा रहेको वादी प्रतिवादीबीच मिति २०५३।५।२० मा भएको लेनदेनको लिखत कागज हेर्दा, धनी दुखनीदेवी महतो ऋणी महन्थी भन्ने महेन्द्रप्रसाद महतो भई ऋणी महेन्द्र प्रसादले सयकडा बार्षिक दश प्रतिशतका दरले ब्याज समेत बुझाउने भनी कर्जा लिएको रु.४९,०००। घर खर्च गर्न वापत उल्लेख भएको र उक्त रुपैयाको साँवा ब्याज २०५३ साल फाल्गुण महिनाभरमा साहूलाई बुझाउने र भाखाभित्र नबुझाएमा अरु जेथाबाट ऐनबमोजिम साँवा ब्याजउपर गरी लिनु भन्ने व्यहोरा पारी कपाली तमसुकको लिखत कागज भएको देखिन्छ । कपाली तमसुकको व्यहोरामा रकम लेनदेन हुँदाका बखत सो रकमवापत कुनै समयमा प्रतिवादीले वादीलाई जग्गा पारित गरी दिने शर्त लगायतका कुनै पनि कुरा उल्लेख भएको देखिएन । प्रतिवादीले मिति २०५३।१०।३ मा र.नं.६१४५ को लिखतबाट वादीलाई पारित गरी दिएको कि.नं.४६५ मध्येको ३ कठ्ठा जग्गाको मिसिल संलग्न प्रतिलिपि हेर्दा जग्गाको मोल वापत रु.१०,०००। थैली राखी पारित भएको भन्ने देखिएको र उक्त लिखतमा २०५३।५।२० मा वादी प्रतिवादी बीच भएको कपाली तमसुकी रुपैयाँको बारेमा कुनै कुरा उल्लेख गरी पारित लिखतको कैफियत व्यहोरामा समेत अन्य कुनै कुरा जनाइएको पाइएन । रकम लेनदेनको समयमा सो रकमवापत प्रतिवादीले जग्गा पास गरी दिने शर्त भएको भए तत्काल जग्गा पास हुन नसक्ने अवस्था सो लिखतको व्यहोरामा उल्लेख गर्नुपर्नेमा कपाली तमसुक लिखतमा सो कुराको चर्चासम्म गरेको पाइएन । विशुद्ध प्रकारले साहू आसामीबीच भएको कपाली सरहको लिखत कागजबाट सिर्जित विवादमा अदालतले लिखत कागजमा उल्लेख नभएको पक्ष विपक्षको मौखिक भनाई र व्यवहारलाई आधार लिई विवादित विषयको सन्दर्भमा अन्यथा अर्थ गरी न्याय निरुपण गर्ने अवस्था हुँदैन ।
अर्कोतर्फ यसै लेनदेन व्यवहारको विषयमा आफूले वादीलाई जग्गा पारित गरी दिएको भनी प्रतिवादीले उठाएको मूल विवादतर्फ हेर्दा, मिति २०५३।१०।३ मा पारित राजीनामा लिखतउपर आफ्नो अंश हकजतिको लिखत वदरको माग गरी यिनै पुनरावेदकका पत्नी प्रतिमादेवी महतो र छोरा सन्तोषकुमार महतोले दायर गरेको लिखत दर्ता बदर दर्ता कायम मुद्दामा यी प्रतिवादी महेन्द्र महतोले आफ्ना नाउँको म्याद बुझी प्रतिवाद नगरी बसेका र उक्त मुद्दामा वादी दावी पुग्न नसक्ने गरी मिति २०५५।८।२७ मा सुनसरी जिल्ला अदालतबाट फैसला भएको प्रमाणमा रहेको संवत् २०५४ सालको दे.दा.नं.१७६४ को लिखत दर्ता बदर दर्ता कायम मुद्दाको सक्कल मिसिलबाट देखिन आएको छ । आफ्ना श्रीमती तथा छोराले उक्त २०५३।१०।३ को राजीनामा लिखत बदरको माग गरी आफू समेतउपर नालिस गरेको अवस्थामा यी पुनरावेदक प्रतिवादीले सो राजीनामा लिखत आफूले वादीसंगबाट लिएको रकम वापत पारित गरी दिएको भनी आफ्नो व्यहोरा लेखाई प्रतिवाद गरेको अवस्था समेत देखिएन ।
४. यसका अतिरिक्त यी वादी प्रतिवादीबीच मिति २०५३।५।२० मा भएको कपाली तमसुक र मिति २०५३।१०।३ मा जग्गा लिनुदिनु गरी भएको पारित राजीनामाको लिखत व्यहोराको एकआपसमा अन्तर सम्वन्ध (Nexus) रहेको भन्ने तथ्ययुक्त आधार मिसिल कागजबाट देखिन आएको छैन । आम जनसाधारणले तमसुक अनुसारको व्यवहार यथावत कायम राखेर छुट्टै अर्को लिखत व्यवहार गर्न नसक्ने र यस्तो प्रचलन आम समाजमा हुन नसक्ने तथा व्यवहारमा नभएको भन्न सकिने अवस्था हुँदैन । जग्गा पास गरी दिने शर्तमा कपाली तमसुकको लिखत भएको र दावीबमोजिमको रकम प्रतिवादीले बुझाउनु पर्ने होइन भन्ने प्रतिवादीका साक्षी रामकृष्ण मेहताले गरेको बकपत्र तथा वादीका साक्षी गणेश पण्डितले पारित भएको जग्गा दुखनीदेवीका पतिको हुँदा त्यसै पास गरिदिएका हुन् । पैसा लिनु दिनु गरेको होइन । पैसा घर खर्च गर्न लिएका हुन् भनी गरेको अपत्यारिलो बकपत्रको व्यहोराले विवादित विषयको सन्दर्भमा न्याय निरुपण गर्न सहयोग र सहजता पुग्ने अवस्था देखिदैन । देवानी प्रकृतिको लिखत व्यवहारको सम्बन्धमा जहाँ लिखत स्वयंमा प्रष्ट छ त्यसको विषयमा पक्ष विपक्षको आपसी मौखिक समझदारी, निजहरू बीच अन्य घरायसी व्यवहार भएको छ भन्ने कुराले र साक्षीको बकपत्रले अन्यथा हुने अवस्था हुँदैन । लिखतले नै प्रष्ट रुपमा पक्षहरूको दायित्व तोकेको अवस्थामा कानूनले पनि लिखतलाई नै मान्यता दिएको हुन्छ । विवादसँग सान्दर्भिक मुलुकी ऐन, लेनदेन व्यवहारको ५ नं.ले अन्य कुराको अतिरिक्त देहायबमोजिमको कानूनी व्यवस्था गरेको देखिन्छ ।
साहू असामीले साँवा ब्याज समेत लिंदा बुझाउँदा देहायबमोजिमको रीत पुर्याई लिनु दिनु पर्छ । सो बमोजिम नगरेको सदर हुँदैन..................
साँवा जम्मै बुझाउँदा असामीले सो सम्बन्धमा गरिदिएको लिखत फट्टा गराई वा सोही लिखतमा असूली जनाउन लगाई बुझाउनु पर्छ । कुनै कारणले सो लिखत फेला नपरेमा सोही व्यहोरा जनाई साहूबाट भरपाई गराई लिनुपर्छ..............
५. माथि उल्लिखित कानूनी व्यवस्थाले साहू र असामी वीच भएको लेनदेनको विषयमा साँवा ब्याज समेत लिंदा बुझाउँदा साहू असामीको दायित्व निर्धारण गरेको र असामी ऋणीले सो सम्बन्धमा गरेको लिखत फट्टा गराउनु पर्ने वा सो लिखतमा असूली जनाउन लगाई मात्र साहूलाई साँवा ब्याज बुझाउनु पर्ने व्यवस्था गरेको र लिखत फेला नपरे सोही व्यहोरा जनाई साहूबाट असामीले भरपाई गराई लिनुपर्ने दायित्व निर्धारण गरेको पाइन्छ । कानूनले तोकेको प्रक्रिया नपुर्याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन सक्ने अवस्था देखिएन । पुनरावेदक प्रतिवादीले विवादमा रहेको कपाली तमसुक कागजको विषयमा जे जस्तो जिकीर लिए तापनि उक्त तमसुक कागजको व्यहोरामा त्यस्तो कुनै शर्त तोकेको भन्ने नदेखिनुका अतिरिक्त तमसुक लिखत बमोजिमको साँवा ब्याज रकम बुझाएको भन्ने पनि नहुँदा उक्त कपाली तमसुकको अस्तित्वमा प्रश्न गर्ने अवस्था समेत देखिन आएन । लेनदेन व्यवहारको ५ नं.मा रहेको कानूनी व्यवस्थाको शाब्दिक अर्थ नगरी साक्षी बकपत्र एवं पक्षहरू वीचको व्यवहार हेरिनु पर्छ भन्ने विद्वान वरिष्ठ अधिवक्ताको वहस जिकीर रहेपनि स्पष्ट रुपमा रहेको कानूनी व्यवस्था विपरीत मौखिक भनाई एवं पक्षहरूका वीच भएका अदृश्य व्यवहार र आचरणलाई प्रमाणमा लिन मिल्ने स्थिति देखिएन ।
६. अतः माथि विवेचना गरिएको मुद्दाको तथ्य एवं कानूनी व्यवस्था समेतको आधार र कारणबाट पुनरावेदक प्रतिवादी र वादी बीच भएको मिति २०५३।५।२० को कपाली तमसुक लिखत र निजहरू बीच जग्गा लिनुदिनु गरी मिति २०५३।१०।३ मा भएको राजीनामा लिखत व्यवहार अलग अलग प्रकृतिबाट भएको देखिएको, तमसुकी लिखतबाट रुपैयाँ लिनुदिनु गरेको व्यवहार तथा जग्गा राजीनामा पारित गरेको व्यवहारमा दुवै लिखतको एकआपसमा सम्बन्ध (Nexus) रहेको भन्ने कुरा कहीं कतै उल्लेख भै आएको नदेखिएको अवस्था रहेको तथा आम व्यवहार र प्रचलनमा एकै व्यक्तिसंग यस प्रकारका भिन्नभिन्न व्यवहार हुन नसक्ने भनी मान्न नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला उल्टी गरी वादीलाई दावीको लिखतको साँवा ब्याज प्रतिवादीले तिर्नु बुझाउनु पर्ने ठहर्याएको पुनरावेदन अदालत, विराटनगरको मिति २०५८।६।१० को फैसला सदर गरेको यस अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिव ठहराएको पूर्ण इजलासका माननीय न्यायाधीश श्री प्रेम शर्माको मिति २०६६।९।३० को राय सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरु तपसिलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला सदर हुने ठहरेकोले वादीले प्रतिवादीबाट भरी पाउने ठहरेको कोर्ट फी रु.२४१३।७५ प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत, विराटनगरमा र.नं.६०६ मिति २०५८।१०।९ मा धरौटी राखेको देखिंदा उक्त रकम फिर्ता पाउँ भनी कानूनका म्यादभित्र वादीको दरखास्त परे केही दस्तूर नलिई फिर्ता दिनु भनी पुनरावेदन अदालत, विराटनगरमा लेखी पठाई दिनु–––––––१
दायरीको लगत कटृा गरी मिसिल नियमबमोजिम बुझाई दिनु–––––२
उक्त रायमा सहमत छौ ।
न्या. मोहन प्रकाश सिटौला
न्या. सुशीला कार्की
न्या. वैद्यनाथ उपाध्याय
न्या. कमलनारायण दास
इति संवत् २०६७ साल फागुन २६ गते रोज ५ शुभम्
इजलास अधिकृतः पुनाराम खनाल