शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४३५ - जालसाजी

भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२

निर्णय नं. ४४३५    ने.का.प. २०४८      अङ्क १२

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४६ सालको फौ.पू.इ.नं. ३२

फैसला भएको मिति: २०४८।१२।११।३ मा

पुनरावेदक/वादी : का.न.पा. वडा नं. १६ बस्ने जमुना आले मगर

विरुद्ध

विपक्षी/प्रतिवादी: ल.पु.नं.पा. वडा नं. १ बस्ने शम्भुबहादुर थापासमेत

मुद्दा : जालसाजी

(१)    अरु अंशियार समेतको अंश हक लाग्ने सम्पत्तिमा अरुको हक नै मेट्ने उद्देश्यले लिए दिएकोमा उक्त कार्य कीर्ते कागजको ३ नं. अनुसार जालसाजी हुने ।

(प्रकरण नं. १७) (साविक पेज नं. ८४९)

(२)   जहाँ कानुनले दुइवटा उपचारको व्यवस्था गरेको हुन्छ त्यहाँ दुई उपचार मध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने हो सो वादीको इच्छामा निर्भर रहने कुरा हो ।

(प्रकरण नं. १७)

पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वशन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री शम्भु थापा

अवलम्बित नजीर: ०४१ सालको फौ.पु.नं. २३ कृष्णप्रसाद श्रेष्ठ समेत विरुद्ध सर्वज्ञमुनी बज्राचार्य (ने.का.प. २०४३, अंक ११, पृष्ठ १०६२सं.)

फैसला

न्या.केशवप्रसाद उपाध्याय

१.     सर्वोच्च संयुक्त इजलासमा राय बाझी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    का.जि.बालाजु गा.पं. वडा नं. ३(ख) को कि.नं. ९५ को क्षेत्रफल ३० जग्गा कमाई जोति भोगी सोही जग्गामा १३।१८ को तीन तल्ले पक्की घर समेत बनाई बसोवास गरी आएकोमा भूमिसुधार ऐन लागू भएपछि भूमिसुधार ऐन, २०२१ को दफा १५ को उपदफा २ र ऐ.ऐनको दफा २६ र २६(क) बमोजिम समेतको हक भोगको घरवासको जग्गा विपक्षी दलबहादुरका बाबु म फिरादीका ससुरा, परलोक भएपछि विपक्षी दलबहादुरका नाममा नापी हुँदा फिल्डबुकमा निजको नाम दर्ता भई निजको नाममा जोताहाको अस्थायी निस्सा प्राप्त भएको घरवासको जग्गा हो । विपक्षी दलबहादुरले विपक्षी लक्ष्मी थापा, शम्भु थापाको मिलेमतो जाल परिपञ्च ललाई फकाई नसापान इत्यादिमा लागी मलाई धोका दिने मेरो हानी नोक्सानी गर्न समेतको नियत लिई घरवास गरी बसेको उक्त बालाजु गा.पं. वडा नं. ३(ख) को कि.नं. ९५ को लम्बाई १८ फि. चौडाई १३ फिटको ३ तल्ले टायल छाना लगाएको पुरानो पक्की घर र सो घरले चर्चेको ३० घरवासको जग्गा समेत विपक्षी लक्ष्मी थापालाई मालपोत कार्यालय, काठमाडौंबाट र.नं. ६९६१ मिति २०३७।१२।३।२ मा रु. ५,०००।को बिगो देखाई राजीनामा पारीत गरी दिइसकेको भन्ने मैले दलबहादुरका नाममा अंश दिलाई पाउँ भनी दिएको अंश मुद्दाको प्रतिउत्तरमा उल्लेख गरिएबाट थाहा पाएँ । तसर्थ विपक्षीहरुका मिलोमतोले मेरो गाँस बाँस उठाउने नियत रची पूर्व सुनियोजित परिपञ्च गरी उक्त जग्गा दिने दलबहादुर लिने लक्ष्मी थापा, लेख्ने शम्भु थापा र वासुदेव कार्की र सीताराम श्रेष्ठ किनारा साक्षी बसी निज विपक्षीहरुले म माथि यस्तो घोर अन्याय गरी जाल परिपञ्च पारी दलबहादुर आले मगरले विपक्षी लक्ष्मी थापालाई उपरोक्त बमोजिम पारीत गरी दिएको लिखत कीर्ते कागजको ३ नं. अनुसार जालसाजी ठहर्‍याई बदर गरी कीर्ते कागजको १०, १५ नं. अनुसार विपक्षीलाई हदैसम्मको सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको जमुना आले मगरको फिरादपत्र ।

३.    विपक्षी एकासगोलमा भएको र सहमति नभएको भए विपक्षीले त्यसै समयमा राजीनामा बदर गर्न नालिश गर्नु पर्ने थियो । त्यसरी राजीनामा गरी लिएको कुरा चित्त नबुझेमा लेनदेन व्यवहारको १० नं. को एक वर्ष भित्र नालेश गर्नु पर्ने थियो । सो नगरी हदम्याद नाघेपछि नालेश दिन आएकोले झुठ्ठा आधारहिन नालेशबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४०।२।११ गतेको प्रतिवादी शम्भु थापा र लक्ष्मी थापाको संयुक्त प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी मध्येका दलबहादुर आले मगर, (साविक पेज नं. ८५०) सीतारामले शुरु म्यादै गुजारी बसेको र वासुदेवको हकमा निजको वतन पत्ता नलागेको भनी म्याद वापस आएको र वादीले वतन खुलाउन समेत नसकेको ।

५.    फिरादीले लेनदेन व्यवहारको १० नं. को हदम्यादभित्र उजूर गरी आफ्नो हक जति फिर्ता गराउन पर्ने कानुनी व्यवस्था देखिन आएको र सो बमोजिम उजूर गरी फिरादीले फिर्ता गराई आफ्नो हक गराएको देखिन नआएको र फिरादीले अंश मुद्दा दिएपछि बिक्री गरेको नभई सो भन्दा पहिले बिक्री गरेको र मोहियानीमा दर्ता भएको घर जग्गा पैत्रिक भए पनि सो दर्तावाला घरको मुख्य व्यक्ति भए बिक्री गर्न पाउने र मञ्जूर नहुनेले आफ्नो हक जति फिर्ता गर्न पाउने कानुनी व्यवस्था देखिनाले त्यस्तो कार्यलाई जालसाजी भन्न मिल्ने नभएकोले कीर्ते कागजको ३ नं. अनुसार जालसाजी ठहर गरी लिखत अमान्य हुने गरी बदर गरी सजायँ गरिपाउँ भन्ने फिराद दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।८।१४ गतेको फैसला ।

६.    काठमाडौं जिल्ला अदालतबाट मलाई हराई लिखत जालसाजी नठहर्ने गरी भएको फैसलामा चित्त बुझेन सो फैसला बदरगरी न्याय पाउँ भन्ने समेत व्यहोराको मिति २०४१।१०।१८ गतेको वादीको वा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

७.    प्रतिवादी दलबहादुरले घरको मुख्य व्यक्तिको नाताले आफ्नो हक समेतको घर जग्गा बिक्री गरेको देखिँदा यस्तो कार्यलाई कीर्ते कागजको ३ नं. अनुसार जालसाज गरी वादी दावीको जग्गा बिक्री गरेको भनी भन्न नमिल्ने भई शुरुको इन्साफ मनासिबै देखिँदा पुनरावेदन जिकिरपुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको वा.अं.अ.को मिति २०४१।१२।२९।२ को फैसला ।

८.    वा.अं.अदालतबाट मलाई हराई गरिएको फैसलामा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि विद्यमान हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी जमुना आले मगरको म.क्षे.अ.मा पर्न आएको निवेदनपत्र ।

९.    विवादित लिखतको घर जग्गामा वादीको हक रहे भएकै देखिएको र निवेदक वादी आधा सम्पत्तिको अंशियार ठहरिएकै यस्तो स्थितिमा वादीको हक समेत जाने गरी निवेदक वादीलाई थाहा नदिई स्वीकृत समेत नलिई गरी दिए लिएको लिखतलाई जालसाजी नठहर्‍याई वागमती अञ्चल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान रहे भएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ नियम बमोजिम पेश गर्नु भन्ने व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।८।१२ गतेको आदेश ।

१०.    यसमा विवादित जग्गामा बनेको घर मोही दलबहादुरले बनाएको र सो मोहियानी घरवारी दर्तावाला मोहीले बिक्री गर्न सक्ने नै देखिन्छ तर उक्त जग्गा बिक्री गर्दा अंशबण्डाको १९(१) को व्यवस्था लाग्न सक्ने देखिँदैन । साथै विवादित जग्गामा यी वादीको हक पुग्ने भए लिखत बदर समेत गराउन माग गर्नु पर्नेमा जालसाजी भनी दावी लिएको आधार प्रमाणहरुबाट वादी दावी पुग्न नसक्ने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको वागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।१।५।१ को फैसला ।

११.    पिता पूर्खाका पालादेखि घर बनाई भोगि आएको मोहियानी घर जग्गा मोहीले बिक्री गर्न सक्ने भूमिसम्बन्धी ऐनमा व्यवस्था भएको छ । परापूर्वकाल देखि मोहियानी जग्गामा घर बनाई भोगी आएको त्यस्तो सम्पत्तिलाई पैतृक सम्पत्ति मान्न पर्ने हुँदा त्यस्तो पैतृक सम्पत्तिमा मेरो समेत हक लाग्ने निर्विवाद छ । विवादित घर जग्गा पैतृक होइन भन्ने विवाद पनि उठेको छैन । ससुराको पालोदेखि बनेको घर पैतृक सम्पत्ति हुँदा कानुनले मेरो समेत अंश हक लाग्ने उक्त घर जग्गा भएको र मोहीको (साविक पेज नं. ८५१) नाममा दर्ता भएको नाताबाट मोहीले मात्र बेच बिखन गर्न पाउने भन्ने कुनै ऐनमा व्यवस्था नहुँदा अंश बण्डाको १९(१)(२)(३) को त्रुटि गरी गरिएको म.क्षे.अ.को फैसलाउपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको जमुना आले मगरको सर्वोच्च अदालतमा पर्न आएको निवेदनपत्र ।

१२.   यसमा विवादित पक्की घर यी प्रतिवादीको आर्जन नभई पैतृक सम्पत्ति भएकोमा विवाद छैन । सर्वोच्च अदालत फुलबेञ्चबाट ने.का.प. २०३० अंक १ भाग १५ पृष्ठ ३५ नि.नं. ७२२ मा र ने.का.प. २०३० अंक १ पृष्ठ ४१ मा प्रतिपादित सिद्धान्त समेतले विपरीत हुने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको देखिँदा पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।२।२५।३ को आदेश ।

१३.   कि.नं. ९५ मा बनेको घर २०२२ सालको सर्भे नक्शाबाट स्पष्ट छ वादी जमुना आलेमगर र प्रतिवादी दलबहादुर आलेमगर अंशियार पति पत्नी भन्ने कुरामा विवाद छैन मोहियानी जग्गामा पिता पुर्खाले बनाएको ३ तल्ले घर बाहेक अन्य पैतृक सम्पत्ति जमुना र दलबहादुरको नरहेको प्रष्ट छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) अनुसार मोहीले मोहियानी जग्गामा परापूर्वदेखि बनाएको पक्की घर छ भने त्यस्तो घर र घरबारीको जग्गा समेत बिक्री गर्न सक्दछ भने सगोल परिवारका अंशियारहरु बीच उक्त घर बण्डा लाग्न सक्दैन भन्न मिल्दैन । यस्तो सगोल परिवारको अंश हक लाग्ने पैतृक सम्पत्ति बिक्री व्यवहार गर्दा सगोल परिवारका उमेर पुगेका जहान परिवार समेतको मञ्जूरी नलिई त्यस्ता अंशियारको अंश हक मेट्ने उद्देश्यले थाहा जानकारी नै नदिई लिने दिने र त्यस्तो कागज लेख्ने व्यक्ति समेतले जालसाजी गरेको देखिँदा वादी दावी बमोजिम जालसाजी गरेको ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ उल्टी हुन्छ भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय रहेछ ।

१४.   विवादको घर जग्गा प्रतिवादी मध्येका दलबहादुरले मोहीमा कमाई घरबास गरी भोगी आएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) अनुसार मोही लागेको जग्गामा मोहीले पक्की घर बनाई भोगी आएको रहेछ भने त्यस्तो घरबारीको जग्गा मोहीले बिक्री गर्न वा अन्य प्रकारले हक छोडी दिन सक्दछ । यस्तो घर जग्गा बिक्री गर्दा अन्य अंशियारको मञ्जूरी लिनु पर्ने ऐनमा बाध्यात्मक व्यवस्था भएको देखिन्न । ऐनले आफूखुस गर्न पाउने त्यस्तो घर जग्गा प्रतिवादी मध्येका दलबहादुरले अंशियारा वादी जमुना आले मगरको मञ्जूरी लिइरहनु पर्ने आवश्यकता देखिन्न । यसरी अरु अंशियारहरुको मञ्जूरी लिनु नपर्ने सम्पत्ति अन्य व्यक्तिलाई बिक्री गर्दा वा हक छाडी दिंदा जालसाजी गरेको भनी भन्न मिल्ने नहुँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु तथा वा.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । सहयोगी माननीय न्यायाधीशको रायसंग सहमत नहुँदा पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेत मा.न्या. श्री हरगोविन्द सिंह प्रधानको राय रहेछ ।

१५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले वादी जमुना आले मगर र प्रतिवादी मध्येका दलबहादुर आले मगर एकाघर सगोलका पति पत्नी नाताका अंशियार रहे भएकोमा विवाद छैन । अंशबण्डा हुने पैतृक सम्पत्तिको रुपमा विवादित घर मात्र हो । २०२२ सालको सर्भे नापीको नक्शामा पनि विवादित घर भएको देखिन्छ । सगोल परिवारको अंश हक लाग्ने सम्पत्ति बिक्री व्यवहार वा अन्य कुनै पनि किसिमबाट हक छोडी दिंदा लिंदा उमेर पुगेका अन्य हकवालाहरुको समेत मञ्जूरी लिनु पर्दछ यस्तोमा एका अंशियारले अन्य अंशियारको हक मेट्ने गरी उसको मञ्जूरी समेत नलिई (साविक पेज नं. ८५२) राजीनामा गरी लिए दिएको व्यवहार जालसाजीपूर्ण हुँदा वादी दावी बमोजिम जालसाजी गरेको ठहर्‍याएको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने र विपक्षी प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री वशन्तराम भण्डारी र श्री शम्भु थापाले प्रतिवादी दलबहादुरले मोहियानी हकको जग्गामा घर बनाएको कुरामा विवाद छैन । यो परापूर्वकालदेखिको घर नभई दलबहादुरले स्वआर्जनले बनाएको घर हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) अनुसार मोहीको घरवास भएको जग्गा मोहीले बिक्री गर्न सक्दछ । यसरी बिक्री गर्दा अरु अंशियारको मञ्जूरी लिनु पर्दैन । आफ्नो समेत हक लाग्ने एकाघरका परिवारका अन्य अंशियारले कसैलाई कुनै व्यहोराबाट हक छोडी दिएको अवस्थामा आफ्नो हक जतिमा लिखत बदरतर्फ नालेश गर्नुपर्छ । केवल मञ्जूरी नलिएको आधारमा जालसाजी गरेको भन्न मिल्दैन भनी बहस प्रस्तुत गर्नु भयो ।

१६.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा यसमा ससुरा नरबहादुरका पालादेखि न्हुछे महर्जनको जग्गा मोहियानीमा जोती भोगी पक्की घर समेत बनाई बसोवास गरी आएकोमा ससुराको मृत्यु पछि नापी हुँदा उक्त जग्गा कि.नं. ९५ मा नापी भई दलबहादुरको नाममा मोहियानी हक कायम भएकोमा उक्त घरवासको जग्गा मेरो अंश हक लाग्ने नियतले विपक्षी लक्ष्मी थापालाई विपक्षी दलबहादुरले मिति २०३७।१२।३।२ मा जालसाजीपूर्ण तरिकाले राजीनामा पास गरी लिनु दिनु गरेकोले लेखत रजिष्टे«शनको मान्यता लोप गरी जालसाज गरेमा सजायँ समेत गरिपाउँ भन्ने वादी दावी, कि.नं. ९५ को जग्गा दलबहादुरको मोहियानी हकको जग्गा हो । त्यसमा बनेको घर पैतृक नभई स्वआर्जनको हो । मोहियानी जग्गामा बनेको मोहीको घर निजले बेच्न सक्दछ । यस्तोमा कोही कसैको मञ्जूरी लिनु नपर्ने हुँदा वादी दावी झुठ्ठा हो भन्ने प्रतिउत्तर जिकिर भएको पाइन्छ ।

१७.   विवादित कि.नं. ९५ को जग्गामा घर रहे भएको २०२२ सालको सर्भे नापीको नक्शाबाट देखिन्छ । उक्त घर दलबहादुरको स्वआर्जनको हो भन्ने कुनै भरपर्दो प्रमाण प्रतिवादीले पेश गर्नसकेको छैन । त्यसैले सो घर पैतृक सम्पत्ति रहेछ भन्नु पर्ने हुन्छ । वादी जमुना आले र प्रतिवादी मध्येका दलबहादुर आले पति पत्नी नाताका अंशियार हुन् भन्नेमा विवाद छैन । विवादित कि.नं. ९५ मा बनेको घर बाहेक प्रतिवादी दलबहादुर वादी जमूनाको अरु कुनै पैतृक सम्पत्ति नभएको भन्ने कुरा उनीहरु बीच चलेको प्रमाणको अंश मुद्दाको मिसिलबाट देखिन्छ । सगोलको अरु अंशियारहरु समेतको अंश हक लाग्ने यस्तो पैतृक सम्पत्ति बिक्री व्यवहार गरी लिंदा दिंदा उमेर पुगेका सगोलका अन्य अंशियारहरुको समेत मञ्जूरी लिनु पर्ने हुन्छ । अरु अंशियारहरुको मञ्जूरी नलिई लिखत गरी दिएको भए दिनेको हक सम्म मात्र लिखत सदर हुने हो, यसरी अरु अंशियारा समेतको अंश हक लाग्ने सम्पत्तिमा अरुको हक नै मेट्ने उद्देश्यले लिए दिएकोमा उक्त कार्य कीर्ते कागजको ३ नं. अनुसार जालसाजी हुने स्पष्ट छ । जहाँ कानुनले दुइवटा उपचारको व्यवस्था गरेको हुन्छ, त्यहाँ दुई उपचार मध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने हो सो वादीको इच्छामा निर्भर रहने कुरा हो । दुइ मध्ये उपचारको मार्ग अवलम्बन गरी आएकोमा अर्को मार्ग तर्फ जानु पर्ने भनी अदालतले भन्न मिल्दैन भनी २०४१ सालको फौ.पु.ई.नं. २३ को कृष्णप्रसाद श्रेष्ठ समेत विरुद्ध सर्वज्ञमुनि बज्राचार्य भएको जालसाजी मुद्दामा वृहत फुलबेञ्चबाट सिद्धान्त समेत प्रतिपादित भइसकेको हुँदा लिखत बदरतर्फ वादीले नालेश गर्न जानु पर्ने भन्ने प्रतिवादी तर्फका विद्वान कानुन व्यवसायीको बहस जिकिर मिल्दो देखिएन । यसर्थ प्रतिवादी दलबहादुरले आफ्नो पत्नी वादी जमुना आले मगर समेतको हक पुग्ने घर जग्गा प्रतिवादी मध्येका लक्ष्मी थापालाई बिक्री गर्दा वादी जमूना आले मगरको अंश हक नै मेट्ने उद्देश्यले राजीनामा लिखत गरी दिएको र प्रतिवादी मध्येका लक्ष्मी थापाले पनि अर्काको अंश हक (साविक पेज नं. ८५३) मार्ने उद्देश्यले जानी बुझिकन जालसाजबाट राजीनामा लिखत गरी लिएको देखिँदा जमुना आले मगरको समेत अंश हक लाग्ने कि.नं. ९५ मा भएको घर जग्गा मध्ये आधासम्मको मिति २०३७।१२।३ को राजीनामा लिखत जालसाजी ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी मध्येका दलबहादुर आलेमगर र प्रतिवादी लक्ष्मी थापाले मिति २०३७।१२।३ को लिखत गरी लिए दिएको आधा खण्ड जालसाजी ठहरेकोले बिगो रु. २५००।को कीर्ते कागजको १० नं. अनुसार सयकडा २५% ले हुने रु. ६२५।जरिवाना हुने हुँदा दुवै जनाबाट दामासाहीले असूल उपर गर्नु भनी का.जि.अ.त.मा लगत दिनु..१,

मिसिल नियम बमोजिम गरी बुझाई दिनु..२

 

उक्त रायमा हामी सहमत छौं ।

 

प्र.न्या.विश्वनाथ उपाध्याय,

न्या.ओमभक्त श्रेष्ठ

 

इति सम्वत् २०४८ साल चैत्र ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु