निर्णय नं. १०७५१ - बैंक डकैती

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७७।११।१७
मुद्दाः- बैंक डकैती
०७१-CR-०५९६
पुनरावेदक / वादी : जिल्ला झापा, दमक नगरपालिका वडा नं.१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय, दमकको शाखा प्रबन्धक मुरारी पुडासैनीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी शिविर पथरी क्याम्प सेक्टर नं. ई.१ हर्ट नं.२५ बस्ने गम्भीर गुरूङको छोरा धनवीर भन्ने राजु गुरूङसमेत
०७१-CR-०७२९
पुनरावेदक / प्रतिवादी : जिल्ला पाँचथर, ओयाम गा.वि.स वडा नं. ४ मा घर भई जिल्ला झापा दमक नगरपालिका वडा नं.११ मा बस्ने नरबहादुर लिम्बूको छोरा रघु भन्ने अमृत योङया लिम्बू
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला झापा, दमक नगरपालिका वडा नं.१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय, दमकको शाखा प्रबन्धक मुरारी पुडासैनीको जाहेरीले नेपाल सरकार
बैंक डकैती जस्तो सङ्गठित अपराध गर्न दुई तीन व्यक्तिको मात्र मनसाय वा कार्यले सम्भव नहुने हुनाले यस्तो अपराध गर्नको निम्ति तीन जनाभन्दा बढी व्यक्तिको संलग्नता रही ती व्यक्तिहरूबिच कार्य विभाजन गरी सम्पन्न गर्ने हेतु
राखिन्छ । बैंक डकैती जस्तो सङ्गठित अपराधमा सबै प्रतिवादीहरू उत्तिकै मात्रामा संलग्न रहने हुँदा सजाय निर्धारण गर्दा पनि निजहरूलाई निजहरूका साथबाट बरामद भएको रकमको आधारमा जरिवाना गर्नु विधायिकी मनसायविपरीत हुन जाने ।
(प्रकरण नं.८)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी
अवलम्बित नजिर :
ने.का.प.२०७५, अङ्क १२, नि.नं.१०१४९
ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९
ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८
ने.का.प.२०६१, अङ्क ३, नि.नं.७३४८
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री गोपाल भट्टराई
झापा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल
माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य
पुनरावेदन अदालत इलाम
फैसला
न्या.दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) र हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
तथ्य खण्ड
मिति २०६५।१।२२ गते लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकमा एक जमातले हुल हुज्जत गरी लुटेको हुनाले प्रारम्भिक सूचना गर्दछु । आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकको पत्र ।
जिल्ला झापा दमक नगरपालिका वडा नं.१३ स्थित पूर्वमा पक्का घर, पश्चिममा खड्का होटल, उत्तरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग, दक्षिणमा खाली जमिन यति चार किल्लाभित्र रहेको लक्ष्मी बैंक लिमिटेडको दुई तले भवनको दक्षिणतर्फ सिँढी रहेको सिँढीबाट माथि चढी हेर्दा बिच तलामा रहेको ५ वटा कोठामा लक्ष्मी बैंक लिमिटेड सञ्चालन रहेको, सोमा रहेको किचन र प्यासेज हलमा डाँका गर्न आएका डाँकाहरूले गार्डलाई नियन्त्रणमा लिई टेलिफोन लाइन काटी बैंकका कर्मचारीलाई किचन कोठामा लगी थुनी डाँका गरी रू.७९,००,०००।– लिई गएको प्रहरी टोलीले उद्धार गर्दा किचन कोठाको सिसा फुटेको अवस्थामा रहेको भन्नेसमेत बेहोराको मिति २०६५।१।२२ को घटनास्थल मुचुल्का ।
म लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकको कार्यालय कोठामा बसी मोबाइलमा कुरा गरिरहेको अवस्थामा दिनको करिब १२:१५ बजेको समयमा बैंकको मूल गेटबाट १ जना मानिस एक्कासी मेरो पछाडि आई जबरजस्ती फोन बन्द गर्न लगाई मेरो फोन खोसी बैंकमा रहेका सबै कर्मचारीलाई नियन्त्रणमा लिई हतियारसमेत देखाई घुँडा टेक्न लगाई डरत्रासमा पारी भल्टसमेत खोल्न लगाई जम्मा रकम रू.७८,९०,००२।– डाँका गरेका हुँदा निजहरूलाई खोजतलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय, दमकको शाखा प्रबन्धक मुरारी पुडासैनीको मिति २०६५।१।२२ को जाहेरी दरखास्त ।
म लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकमा कार्यरत रहेको हुँदा मिति २०६५।१।२२ गते पनि सदाझैं बैंकमा आई काम गरिरहेको अवस्थामा एक जना बाहुन क्षेत्री जस्ता देखिने मानिसले खाता खोल्न के गर्नुपर्छ भनी आग्रह गर्दा मैले कस्तो खालको खाता खोल्ने, फर्म भर्नुपर्छ भन्दा ए भनी अलिक पर गए । त्यसपछि निजको साथीहरूसमेत आई ए उठ भनी मसमेतका सम्पूर्ण कर्मचारीहरूलाई छुरी, पेस्तोल देखाई कपालमा समातेर किचन कोठामा लगी थुनी दिए । सो समयमा मोबाइल तथा आई.डि. कार्डसमेत लगी ढोकामा बाहिरबाट चुकुल लगाइदिएपछि मेनेजरले गार्डको मोबाइलबाट काठमाडौं तथा प्रहरीलाई खबर गरेको हो । उक्त वारदातमा डाँकाहरूले रू.७९,००,०००।– लुटी लगे भनी सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको तारा खतिवडाले गरेको कागज ।
म विगत दुई महिनादेखि लक्ष्मी बैंक लिमिटेडमा सुइपरको काम गर्दै आएको छु, म आफ्नो काम बिहान गर्ने भएकोले मिति २०६५।१।२२ गतेका दिन दिउँसो तलब लिन भनी १२:१५ बजेको समयमा लक्ष्मी बैंकमा आई गार्डसँग कुरा गर्दै बसेको थिएँ । सोही समयमा २ जना मानिस झोला बोकी आएकोले गार्डले झोला देखाउनुपर्छ भन्दा केही छैन भने गार्डले झोला देखाउनै पर्छ भन्दा पछाडि फर्की झोलाबाट पेस्तोल निकाली गार्डको पेटमा ताकी मसमेतलाई धकेल्दै सेतो पर्स, निलो जिन्स पेन्ट, कालो चश्मा लगाउनेले हामीलाई पैसा चाहिएको छ, अनि आएको तिमीहरूले हल्ला नगरी बस भन्दै बैंकको सबै कर्मचारीहरूलाई कुटपिटसमेत गरी किचन कोठामा लगी आई डि. कार्ड र मोबाइलसमेत खोसी थुनिदिएपछि गार्डले खुसुक्क मोबाइलबाट प्रहरीलाई खबर गरी प्रहरी आई उद्धार गरेको हो । उक्त वारदातमा डाँकाहरूले रू.७९,००,०००।– लिई गए भन्ने कुरा मेनेजरले भन्दा थाहा पाएको हुँ भन्नेसमेत बेहोराको बुझिएका मानिस राजु मल्लिकले गरेको कागज ।
मिति २०६५।१।२२ गतेका दिन दिउँसो म लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकमा खाता खोल्न भनी बैंकमा आई सिँढी चढ्न लाग्दा मुखमा पट्टी बाँधेको मानिस झर्दै गरेका थिए । अलिक माथि चढेपछि अर्को मान्छे झोलामा सामान बोकी झर्दै
थिए । म बैंकमा पुग्दा एक जना क्षेत्री बाहुन जस्तो देखिने मानिसले मलाई समातेर बैंकका गार्ड तथा कर्मचारीहरू थुनेको कोठामा लगी हल्ला गरिस् भने मारिदिन्छु भनी ढोका थुनिदिए । केही समयपश्चात् बैंकका कर्मचारीले फोन गरेपछि प्रहरीहरू आई, ढोका फोरी हामीहरूलाई बाहिर निकालेका हुन् । डाँकाहरूलाई मैले चिनिनँ, के कति रकम डाँका गरे मलाई थाहा भएन भन्नेसमेत बेहोराको बुझिएका मानिस भीमबहादुर बस्नेतले गरेको कागज ।
म लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकको सुरक्षा गार्ड हुँ । मिति २०६५।१।२२ गतेका दिन म आफ्नो डिउटीमा बसी रहेको अवस्थामा २ जना मानिसहरू झोला बोकी आएकोले झोला देखाउनु होस् भन्दा निजहरूले हतियार, पेस्तोल, छुरी देखाई प्रवेश गरी अर्को गार्ड तथा मसमेतलाई नियन्त्रणमा लिई मेनेजरको कोठामा लगी, मेनेजर को हो भनी सोध्दा मेनेजरले म हुँ भनेपछि एक थप्पड हिर्काई सबै कर्मचारीलाई मेनेजरको कोठामा लगी मोबाइल खोसी टेलिफोनको तार काटिदिए । गोरो राई, लिम्बू जस्तो अनुहारको चश्मा लगाएको मानिसले तपाइँहरू हाम्रो बुबा जस्तो मानिस तपाइँहरूलाई केही गर्दैनौं, पैसा लान्छौँ भनी चाबी मागेकोले मेनेजरले चाबी दिएकोले रमेश कटुवालले भल्ट (सेफ) खोल्नको लागि चाबी लिएर गए । २ जनाले हामीलाई रूँगेर बसे, केही समयपछि रमेशलाई लिएर आई हामी सबैजनालाई किचन कोठामा थुनी निजहरू रूपैयाँ लिई गएका
हुन् । बैंकबाट के कति रकम डाँका गरी लगे मलाई थाहा भएन भन्नेसमेत बेहोराको बुझिएका पर्शुराम आचार्यले गरिदिएको कागज ।
म दमक स्थित लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकको सुरक्षा गार्डको रूपमा कार्यरत रहेको छु । मिति २०६५।१।२१ गते आफ्नो डिउटी सकी घर धरमपुरमा आई बसेको थिएँ । मिति २०६५।१।२२ गते मेरो रातको डिउटी भएकोले दिउँसो म आफ्नै घरमा पाथीभरा एफ.एम. सुनिरहेको बेलामा बैंकमा डाँका लागेको कुरा समाचारबाट थाहा पाएकोले बैंक गएको हुँ । घटना भएको मैले देखिनँ । के कुन समूहले डाँका गरेका हुन् मलाई थाहा भएन । उक्त बैंकमा पैसा ल्याउँदा लाँदा गार्डबेगर नै ल्याउने गर्छन् । उक्त वारदातमा के कति धनमाल डाँका भयो थाहा भएन भन्ने बेहोराको बुझिएका नवराज भट्टराईले गरेको कागज ।
लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकको सुरक्षा गार्ड भएकोले मिति २०६५।१।२२ गतेको दिन म आफ्नो डिउटीमा थिएँ । मेरो डिउटी कार्यालयभित्र र मेरो साथी पर्शुराम आचार्यको डिउटी बाहिर गेटमा थियो । म कार्यालयको सि.सि.टि.भी. भएको ठाउँमा थिएँ, गेटमा २ जना मानिसहरू आएको देखेँ । केही क्षणमा ती २ जना मानिसहरूले मलाई समातेर बाहिर लगे र हामी दुवै जनालाई एकै ठाउँमा बाँधी पेस्तोल, छुरा देखाई सबैलाई भित्र थुन भनी मेनेजरको कोठामा लगे र सबै कर्मचारीहरूलाई मेनेजरको कोठामा लगे । धिमाल जस्तो देखिने मानिसले चाबी कहाँ छ भनेपछि मेनेजरले चाबी दिए र बैंकको कर्मचारी रमेश कटुवाललाई साथमा लिएर
गए । ती मानिसले आई.डि. कार्ड र मोबाइल सेटहरूसमेत खोसी मलाई थाहा छ कहाँ थुन्नुपर्छ भनी सबैलाई किचन कोठामा लगी थुनेका हुन् । निज डाँकाहरूले बैंकबाट के कति रकमहरू डाँका गरी लगेका हुन् मलाई थाहा भएन । केही क्षणपछि प्रहरीलाई खबर गरी प्रहरी टोली आएका हुन् । मेनेजरले डाँकाहरूले ८०।९० लाख डाँका गरी लग्यो भन्दै थिए भन्नेसमेत बेहोराको देवीप्रसाद ढकालको कागज ।
म लक्ष्मी बैंक लिमिटेडमा क्यासियरको रूपमा काम गर्दछु । उक्त दिन एक जना मानिस एकाउन्ट खोल्छु भनी आएकोले मैले निजलाई काउन्टरतर्फ पठाइदिएँ । निजले हामी सबैलाई नियन्त्रणमा लिएपश्चात् एक जना मानिस बन्दुक बोकी आई हामी सबैलाई मेनेजरको कोठामा लगी राख्यो र क्यास कहाँ छ भनी
सोध्यो । मैले क्यास खोली दिएँ र मलाई फेरी भित्र लिएर आयो । भल्टको चाबी कहाँ छ भनेर सोधेकाले नवराजले मलाई चाबी दियो । सो चाबी मात्रले नखुलेकोले पुनः मेनेजरको कोठामा आई मेनेजरसँग चाबी मागी भल्ट खोली मलाई किचनमा लगी थुनी दिए । गार्डको मोबाइल बचेकोले प्रहरीलाई फोन गरी केही समयमा प्रहरी आई उद्धार गरेको हो भन्नेसमेत बेहोराको बुझिएका रमेश कटुवालले गरेको कागज ।
मिति २०६५।१।२२ गतेका दिन दिउँसो म आफू कार्यरत रहेको कार्यालय लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकको कार्यालयमा बसी टेलिफोन गरिरहेको थिएँ । एक जना मानिसलाई गार्डले चेक गरिरहेको देखेँ । म आफ्नो फोनमा व्यस्त थिएँ, एक्कासी मलाई फोन राख भनी पछाडिबाट हिर्कायो । बैंकको सबै कर्मचारीहरूलाई मेरै कोठाभित्र राखे र भित्र २ जना मानिस पसी एकले गाली गर्थे भने अर्कोले नम्र बोल्थे । यो हाम्रो बाध्यता हो साँचो कहाँ छ भनी रमेशलाई सोधे र रमेशलाई लिएर गएँ । त्यसपछि दुवैजना फिर्ता आई भल्टको साँचो मागे । रमेशले नवराजसँग भल्टको साँचो मागे र दुवैजनाले भल्टको चाबी खोली मसमेत सबैलाई किचन कोठामा लगी थुनी दिए । गार्डसँग मोबाइल भएकोले मैले हेड अफिस र प्रहरीलाई फोन गरेकोले प्रहरी टोली आई हामीलाई उद्धार गरेको हो भन्नेसमेत बेहोराको बुझिएका जाहेरवाला मुरारी पुडासैनीले गरेको कागज बेहोरा ।
मिति २०६५।१।२२ गतेका दिन म लक्ष्मी बैंकमा काम गरिरहेको समयमा २२–२५ वर्षका पुरूष मानिसले मलाई छातीमा समाते भने बैंक मेनेजरलाई पनि समाती सकेका थिएँ । सो समयमा मेरो र मेनेजरको मोबाइल खोसी सकेको थिएँ । हामीलाई र अन्य कर्मचारीहरू सबैलाई मेनेजरको कोठामा लगी मेनेजरलाई दुई थप्पड हिर्काई पेस्तोल देखाई हल्ला गरे मारिदिन्छु भनी धम्की दिई सबैलाई घुँडा टेक्न लगाए र क्यास कहाँ छ भनी सोध्दा हामीले रमेश कटुवाललाई देखायौं । उक्त समयमा टेलिफोनको तारसमेत काटी रमेशलाई लिएर गए । उक्त चाबीले मात्र नखुलेकोले म तथा मेनेजरको साथमा भएको चाबीसमेत लिएर
गए । पेस्तोल, छुरा देखाई हामीलाई नियन्त्रणमा लिई किचन कोठामा थुने । केही समयपछि मेनेजरले गार्डको मोबाइलबाट काठमाडौंमा र प्रहरीलाई खबर गरेपश्चात् प्रहरी टोली आई हामीलाई उद्धार गरेको हो भन्नेसमेत बेहोराको बुझिएका नवराज बस्नेतले गरिदिएको कागज बेहोरा ।
जिल्ला मोरङ शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी क्याम्पको सेक्टर नं.ए.४ को पूर्वमा मनबहादुर अधिकारीको छाप्रा, पश्चिममा क्याम्पकै खाली जमिन, उत्तरमा जसबहादुर राईको छाप्रा, दक्षिणमा क्याम्पकै खाली जमिन यति चार किल्लाभित्र रहेको हर्ट नं.१९ को लक्ष्मण गुरूङको दक्षिणतर्फ फर्केको चित्राको छाना, बाँसको बेरा भएको छाप्रामा किचनसहित ३ कोठा । २ कोठामा मानिस सुत्ने गरेको, सोमध्ये पश्चिमतर्फको मानिस सुत्ने कोठाको पूर्वतर्फ सिरानी भएको पलंग रहेको, सिरानीतर्फ पलंगमुनि सेतो टिनको बाक्सा रहेको उक्त बाक्सामा रू.५००।– दरको १००।– वटा भएको ७ ठेलीको रू.३,५०,०००।–, रू.१,०००।– को दरको १०० वटा भएको १ ठेलीको रू.१,००,०००।–, रू.५०।– को दरको १०० वटा भएको ४ ठेलीको रू.२०,०००।–, रू.१०।– को १०० वटा भएको १ ठेलीको रू.१,०००।– समेत जम्मा रू.४,७१,०००।– फेला परेकोले प्रहरी टोलीले बरामदसमेत गरी लिई गएको भन्नेसमेत बेहोराको लक्ष्मण गुरूङको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी क्याम्पको सेक्टर नं.इ १ को पूर्वमा हर्ट नं.२४ को इन्द्रमाया सुवेदीको छाप्रो, पश्चिममा हर्ट नं.२३ को भीमबहादुर गुरूङको छाप्रा, उत्तरमा चन्द्रबहादुर राईको छाप्रा, दक्षिणमा प्रेमबहादुर तामाङको छाप्रा रहेको हर्ट नं.२५ को राजु गुरूङको घरको पूर्वतर्फको कोठाभित्र उत्तरतर्फ पलंग रहेको, पलंगको पूर्वतर्फ सिरानीमुनि कालो रंगको अटेजी रहेको, सो अटेजीभित्र रू.५००।– को ६० वटा भएको १ ठेली रू.३०,०००।–, रू.५००।– को ७० वटा भएको १ ठेलीको रू.३५,०००।–, रू ५००।– दरले १०० वटा भएको ३ ठेलीको रू.१,५०,०००।–, रू.१०००।– दरको ७० वटा भएको १ ठेलीको रू.७०,०००।–, रू.५००।– दरको ६८ वटा भएको १ ठेलीको रू.३४,०००।– समेत जम्मा रू.३,१९,०००।– समेत फेला परेकोले प्रहरी टोलीले बरामदसमेत गरी लिई गएको ठिक साँचो हो भन्नेसमेत बेहोराको राजु गुरूङको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी शिविर सेक्टर नं.इ १ हर्ट नं.२५ मा विगत १६ वर्षदेखि बस्दै आएको छु । मिति २०६५।१।२२ गते बिहान लिम्बू कान्छा शिविरमा आई शिविरकै साथी मिलन भन्ने लक्ष्मण गुरूङसँग भेट गरी आज दमकमा रहेको लक्ष्मी बैंकमा डाँका गर्ने योजनाअनुसार अन्य साथीहरू हातहतियारसहित १२ बजे दमकमा आउँछन् । तिमीहरू मलाई सहयोग गर्नु, डाँका गर्दा धेरै रकम हुन्छ, काम सफल भएपछि तिमीहरूलाई चित्त बुझ्दो रकम दिउँला भनेकोले म तथा साथी भन्ने लक्ष्मण गुरूङ १० बजे दमकमा पुगी नाम थाहा नभएको होटलमा बसी चिया नास्ता खाँदा लिम्बू कान्छाको गाउँको सुदिप धिमाल, शेरबहादुर लिम्बू, भीम सुब्बा, गोविन्द दमाई, राम राई, सुरेन सुब्बा, सुरेन्द्र लिम्बू, शेरसिंह माझी, तारावीर राई, मेसक भन्ने कुमार अमरा, लुङ्गा साइला र हाल मसँग पक्राउ परेको हर्कसिंह राईसमेत आई लिम्बू कान्छा र सुदिप धिमालसमेतले सबैलाई डाँका गर्दा गर्ने काम जिम्मा दिए । डाँका गरेपछि एक्लै एक्लै भाग्ने र रकम पछि भागबन्डा गर्ने योजना बनाई म र हाल पक्राउ परेको लक्ष्मण गुरूङलाई बैंकको तल माथि गर्ने जिम्मा दिएको हुँदा ६/७ जना गई बैंकको तल माथि रहेको गार्ड तथा कर्मचारीलाई नियन्त्रण लिई किचनमा थुन्ने जिम्मा दिएकोले सोही योजनाअनुसार १२:१५ बजे लक्ष्मी बैंकमा गई सबै आ–आफ्नो काम गरी लिम्बू कान्छाले सबै रकम लिएर एक्लै एक्लै भागेका थियौँ । म बसमा चढी शिविरमा गई ग्राउण्डमा बसिरहेको अवस्थामा लिम्बू कान्छा आई मलाई बोलाई कालो प्लाष्टिकको झोला दिई यो डाँका गरेको रकम हो, कसैलाई नभन्नु लुकाएर खर्च गर्नु भनेको हुँदा मैले नगनी घरमा अटैचीमा राखी चाहिने रकम झिकी खर्च गर्दै थिएँ । यस्तैमा मिति २०६५।२।७ गते प्रहरीले मलाई फेला पारी सोधपुछ गर्दा मैले स्वीकार गरेकोले मेरो घर खानतलासी गर्दा बरामदी मुचुल्कामा उल्लेख भएअनुसारको नगद रूपैयाँ बरामद भएको हो । उक्त रकम मैले लक्ष्मी बैंक दमकमा डाँका वारदात गर्दा भागबन्डाबाट पाएको रकम हो भन्नेसमेत बेहोराको प्रतिवादी धनवीर भन्ने राजु गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला मोरङ शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी शिविर पथरी क्याम्पमा विगत १६ वर्षदेखि बस्दै आएको छु । मिति २०६५।१।२२ गते बिहान ७:०० बजेको समयमा शिविरकै राजु गुरूङ र लिम्बू कान्छा भन्ने गोविन्द लिम्बू मेरो घरमा आई लिम्बू कान्छाले दमकमा रहेको लक्ष्मी बैंक डाँका गर्ने योजना छ साथीहरू हातहतियार लिएर दमकमा आउँछन् भनेकोमा सो कुरामा राजु सहमत भई मसमेतलाई हिँड काम सफल भएपछि रकम बाँडौंला भनेकाले मसमेत सहमत भएँ । म, गोविन्द लिम्बू, राजु गुरूङसमेत दमक–१० स्थित पश्चिम बस स्टेन्डमा रहेको एक होटलमा गई नास्ता खाँदै गर्दा लिम्बू कान्छासँग गाउँको मैले सामान्य चिनेको सुदिप धिमाल, शेरबहादुर लिम्बू, भीम सुब्बा, सुरेन्द्र लिम्बू, गोविन्द दमाई, राम राई, मेसक भन्ने कुमार अमरा, लुङ्गा साइला, शेरसिंह माझी, तारावीर राई र हर्कसिंह राईसमेत आई पुगेपछि हामी सबै केही पर गई लिम्बू कान्छा, शेरसिंह माझी, सुदिप धिमालसमेतले योजना बनायौँ । गोविन्द लिम्बू, शेरसिंह माझी, सुदिप धिमाल, कुमार अमरासमेतले हातहतियार देखाई रकम लिई भाग्ने, गोविन्द दमाइले टेलिफोनको तार छुटाउने, मलगायत राजु गुरूङ, हर्कसिंह राई, तारावीर राईसमेत तल माथि रहेका बैंकको कर्मचारीहरूलाई नियन्त्रणमा लिई किचनमा थुन्न सफल भएपछि अलगअलग भाग्ने, रकम पछि भागबन्डा गर्ने सहमतिअनुसार उक्त लक्ष्मी बैंकमा गई आ–आफ्नो काम गरी रकम लुटी म बजारको भित्री बाटो हुँदै बसपार्कबाट बसमा चढी शिविर गएको थिएँ । मिति २०६५।१।२३ गते बिहान ८:०० बजे लिम्बू कान्छा भन्ने गोविन्द लिम्बू एक्लै मेरो घरमा आई लक्ष्मी बैंक लुटेको रकम गन्न भ्याइएन बण्डल छ लुकाएर राख्नु भनी कालो प्लाष्टिकमा रकम दिएको हुँदा मैले नगनी घरभित्र म सुत्ने कोठाको पलंग मुनि टिनको बाकसमा राखेको थिएँ । मिति २०६५।२।७ गते पथरी बजारमा प्रहरीले मलाई पक्राउ गरी सोधपुछ गर्दा बैंक डकैती गरेको स्वीकार गरेको हुनाले मेरो घर खानतलासी गर्दा बाकसमा लुकाई राखेको बरामदी मुचुल्कामा उल्लेख भएअनुसारको नगद रूपैयाँ मेरै घरबाट बरामद भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मिलन भन्ने लक्ष्मण गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला मोरङ शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी शिविर बस्दै आएको छु । मिति २०६५।१।२२ गते बिहान ६:०० बजे म बाटोमा बसिरहेको अवस्थामा लिम्बू कान्छा आई आज १२ बजे दमकमा रहेको लक्ष्मी बैंक लुट्ने योजना छ, अन्य साथीहरू दमकमा नै आउँछन्, तिमीले केही गर्नु पर्दैन, १५।२० मिनेट खटे पुग्छ, डाँका गर्दा धेरै रकम हुन्छ, तिमीलाई चित्त बुझ्दो रकम दिउँला भनेकोले म सो कुरामा मन्जुर भएँ । म सिधै दमक बसपार्कमा गई लिम्बू कान्छालाई भेटेँ र निजले दिएको पैसाले होटलमा गई नास्ता खाएँ । ग्यारेजनजिक राजु गुरूङ, लक्ष्मण गुरूङ, सुदिप धिमाललाई देखेँ । लिम्बू कान्छाले किन ढिला आएको हामीले योजना बनाएका छौं, तिमी, राजु गुरूङ, लक्ष्मण गुरूङसमेत ग्रुपमा बस तिमीहरूको काम बैंकमा रहेको गार्ड तथा कर्मचारीहरूलाई नियन्त्रणमा लिई किचनमा थुन्ने हो भनेकोले मसमेतले सोहीअनुसारको काम गरेको हो । लिम्बू कान्छा भन्ने गोविन्द लिम्बू, सुदिप धिमाल, राम राई, तारावीर राई, लुङ्गा साइला, शेरसिंह माझीसमेतले बैंकको रकम झोलामा हाल्न सफल भएपश्चात् सबैजना भाग भनेपछि आ–आफ्नो तरिकाले भागेका हौं । म फर्की घर पुगेपछि घरमा लिम्बू कान्छा भन्ने गोविन्द लिम्बू, सुदिप धिमाल, शेरबहादुर लिम्बूले हामी हिँडेर आएका हौं, बैंकमा डाँका गरेको रकम राख भनी सुदिपले बोकेको कालो रंगको झोलाबाट झिकी गन्न भ्याइएन, मानिसहरू आउँछन् भनी रू. ५००।– दरका ६ वटा ठेली दिई निजहरू दक्षिणतर्फ गए । मैले सोही नजिकै फोहर फाल्ने गरेको ठाउँमा गई कालो प्लाष्टिक टिपी प्लाष्टिकमा हाली कहाँ राख्ने भनी सोच्दै घरतर्फ जाँदै गर्दा सोही शिविरको मिल्ने साथी वीरेन तामाङलाई भेटेकोले निजलाई मैले आज हामी दमकको लक्ष्मी बैंक लुट्न गएका थियौँ, सुदिपले मलाई रूपैयाँ दिएको छ, रूपैयाँ धेरै छ, कोही कसैले थाहा नपाउने गरी राख, १५।२० दिनपछि बाँडौला भन्दा हुन्छ भनेकोले ठेलीबाट केही रकम झिकी ५ वटै ठेली निजलाई दिएँ । मैले झिकेको रकम गन्दा रू.५००।– दरका १४ वटा रहेछ । ३ वटा वीरेन तामाङलाई दिई बाँकी म आफैँले राखी घरतर्फ गएँ । भोलिपल्ट निज वीरेन तामाङलाई भेट्न जाँदा निज घरमा थिएनन् । निजले उक्त रकम के कहाँ लगी राखे हालसम्म भेट भएको छैन । उक्त दिन लक्ष्मी बैंकबाट के कति रकम डाँका गरे यकिन भएन । मसँग भएको रकम वीरेन तामाङलाई दिएको छु भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर भन्ने हर्कसिंह राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा धान खेत, पश्चिममा कच्ची बाटो, उत्तरमा धान खेत, दक्षिणमा धानखेत यति चार किल्लाभित्र रहेको टिनको छाना सेन्टीबेरा भएको पाँच कोठे पदमबहादुर लिम्बूको छोरा शेरबहादुर लिम्बूको घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको प्रतिवादी शेरबहादुर लिम्बूको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा खाली जग्गा, पश्चिममा बारी, उत्तरमा खाली जग्गा, दक्षिणमा धान खेत यति चार किल्लाभित्र उत्तर ढोका भएको टिनको छाना, टाटीबेरा भएको एकतले तीनकोठा भएको विष्णु धिमालको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तुहरू फेला नपरेको भन्नेसमेत बेहोराको प्रतिवादी सुदिप धिमालको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं.८ स्थित पूर्वमा धान खेत, पश्चिममा पैनी, उत्तरमा नारायण धिमालको घर, दक्षिणमा भक्तबहादुर नेपालीको गोठ यति चार किल्लाभित्र दक्षिण ढोका फुसको छाना, टाटीबेरा लगाएको तीनकोठा भएको भक्तबहादुर नेपालीको घर खानतलासी गर्दा कुनै चिजवस्तु फेला नपरेकोले घरदेखि पूर्वतर्फ रहेको धान खेतभित्र २ वटा झोला लुकाई राखेको देखी उक्त झोला खोली हेर्दा रू.१,०००।– दरका नोट १०० वटाको रू.१,००,०००।–, रू.५००।– दरको नोट १०० वटाको रू.५०,०००।– र अर्को झोलामा रू.५००।– दरका २ गड्डिको रू.१,००,०००।– जम्मा रू.२,५०,०००।– फेला परेकोले प्रहरी टोलीले बरामद गरी लिई गएको ठिक साँचो हो भन्नेसमेत बेहोराको गोविन्द नेपाली दमाईको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा खाली खेत, पश्चिममा धान खेत, उत्तरमा धान खेत, दक्षिणमा धान खेत, यति चार किल्लाभित्र पश्चिम ढोका भएको एकतले फुसको छाना भएको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको प्रतिवादी लिम्बू कान्छा भन्ने गोविन्द लिम्बूको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा कच्ची बाटो, पश्चिममा खाली खेत, उत्तरमा साइला दमाइको घर, दक्षिणमा आँगन यति चार किल्लाभित्र पश्चिम ढोका भई ३ कोठे फुसको छाना काठको बेरा भएको कालीमाया सुब्बाको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तुहरू फेला नपरेको भन्नेसमेत बेहोराको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा धान खेत, पश्चिममा धानखेत उत्तरमा मानबहादुर बोहोराको भान्साघर दक्षिणमा कच्ची बाटो, यति चार किल्लाभित्र सिमेन्टले बनाएको पक्की गारो टिनको छाना भएको ५ कोठे घरको उत्तरतर्फको बरन्डाको कोठा खोली हेर्दा रू.१,०००।– दरको ३९८ थानको रू.३,९८,०००।–, रू.५००।– दरको १५ गड्डी १४९८ थान रू.७,४९,०००।– समेत जम्मा रू.११,४७,०००।– समेत फेला परेकोले प्रहरी टोलीले बरामदसमेत गरी लगेको ठिक साँचो हो भन्नेसमेत बेहोराको प्रतिवादी भीम सुब्बाको ससुरा मानबहादुर बोहोराको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं.८ स्थित पूर्वमा भीम सुब्बाको घर, पश्चिममा बाँसघारी, उत्तरमा कच्ची बाटो, दक्षिणमा मकैबारी यति चार किल्लाभित्र उत्तर ढोका टिनको छाना भएको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तुहरू फेला नपरेको भन्ने बेहोराको प्रतिवादी मेसक भन्ने कुमार अमराको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं. १ स्थित पूर्वमा शेरबहादुर लिम्बूको घर, पश्चिममा सत्ते लिम्बूको घर, उत्तरमा मंगलसिंह मगरको घर, दक्षिणमा सुब्बा थरीको घर यति चार किल्लाभित्र उत्तर ढोका भई दुईतले पक्की सिमेन्टले बनाएको हस्तबहादुर लिम्बूको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तुहरू फेला नपरेको भन्नेसमेत बेहोराको प्रतिवादी सुरेन्द्र लिम्बूको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला मोरङ पथरी क्याम्प भुटानी शरणार्थी शिविर सेक्टर नं.ए.३ स्थित पूर्वमा कालीराम राईको हर्ट नं. ३३, पश्चिममा जीतबहादुर राईको हर्ट नं. ३१, उत्तरमा पूर्व पश्चिम जाने गारेटो बाटो, दक्षिणमा ट्वाइलेट यति चार किल्लाभित्र हर्कराम राईको हर्ट नं. ३२ को छाप्रा घर भएको खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्ने बरामदी मुचुल्का ।
जिल्ला मोरङ पथरी क्याम्प सेक्टर नं.वि.२ स्थित पूर्वमा छविलाल राइको हर्ट नं.९ को घर, पश्चिममा अविरसिंह राईको हर्ट नं. ११ को घर, उत्तर गुरूङको हर्ट नं. ८३ को घर, दक्षिणमा हर्ट नं. ४२ को टीकाराम गौतमको घर यति चार किल्लाभित्र रहेको हर्ट नं.१० को रहरसिंह राईको घर भएको तलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।
जिल्ला मोरङ पथरी क्याम्प सेक्टर नं.जि.३ स्थित पूर्वमा कुलबहादुर राइको हर्ट नं.१९ को घर, पश्चिममा हर्कमान राईको हर्ट नं.१६ को घर, उत्तरमा बिर्खबहादुर राईको हर्ट नं.२१ को घर, दक्षिणमा कर्णबहादुर राईको हर्ट नं.१ को घर यति चार किल्लाभित्र रहेको खड्गबहादुर राईको हर्ट नं.२० को घर भएको तलासी गर्दा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको बरामदी तथा खानतलासी मुचुल्का ।
जिल्ला मोरङ पथरी क्याम्प सेक्टर नं.डि.२ स्थित पूर्वमा साङ्गे तामाङको हर्ट नं.१६ पश्चिममा के.वि नेपालको हर्ट नं.१०, उत्तरमा ट्वाइलेट, दक्षिणमा गोरेटो बाटो यति चार किल्लाभित्र बिर्खबहादुर तामाङको हर्ट नं.१३ घर भएको प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको बरामदी खानतलासी मुचुल्का ।
मिति २०६५।१।२२ गते म आफ्नै घरमा थिएँ । मेरो छोरा गोविन्द (दमाई) नेपाली हाल के कहाँ छन् मलाई थाहा भएन । आजभन्दा एक महिनाअगाडि घरमा थियो र एउटा झोला ल्याएर यसमा सामान छ राख्नु है भनी मलाई दिएको हुँदा मैले घरमा राखेको थिएँ । मिति २०६५।२।२४ गते बिहान मात्र उक्त झोला खोली हेर्दा पैसाको गड्डी रहेछ र सोही दिन प्रहरीहरू आएको देखी मैले डरले उक्त पैसा भएको झोला खेतमा लगी फाली दिएको हुँ । मैले उक्त पैसा मेरो छोरा गोविन्द नेपाली दमाइले कहाँबाट ल्याएका हुन् थाहा भएन । मैले उक्त पैसा लुकाएको होइन, छोराले दिएकोले नहेरी राखेको हुँ । प्रहरीले खेतबाट बरामद गरी रू. २,५०,०००।– (दुई लाख पचास हजार) लगेको
हो । मेरो श्रीमान् भक्तबहादुर परियार गाँउघरमा मजदुरी गर्न जाने हुनाले घरमा म मात्रै भएको अवस्थामा छोरा गोविन्द नेपाली दमाईले पैसा भएको झोला मलाई राख्न दिई गएको हो । उक्त रकम के कहाँबाट छोरा गोविन्द नेपाली दमाईले ल्याएका हुन् मलाई थाहा भएन भन्नेसमेत बेहोराको दिलमाया परियार (दमाईले) गरेको घटना विवरण कागज ।
मिति २०६५।१।२२ गते म आफ्नै घरमा
थिएँ । मिति २०६५।२।२४ गते मेरो घर कोठाबाट प्रहरीले नगद रू.११,४७,०००।– (एघार लाख सत्चालिस हजार) बरामद गरी लगेको हो । मिति २०६५।२।१८ गते मेरो ज्वाइँ भीम सुब्बा आई उक्त रकम घरको कोठामा लुकाई राखी गएको रहेछन्, मलाई थाहा भएन । ज्वाइँ मेरो घरमा आउने जाने गरेका हुनाले के कुन समयमा उक्त पैसा राखी गएका हुन् मलाई थाहा भएन । मेरो श्रीमान् बाहिर भारततिर काम गर्ने गरेको हुनाले म नै घरको मूली भई घर व्यवहार हेरचाह गर्दै आएको छु । हाल मेरो ज्वाइँ भीम सुब्बा के, कहाँ छन् मलाई थाहा भएन । उक्त मेरो घर कोठामा लुकाई राखेको नगद रू.११,४७,०००।– (एघार लाख सत्चालिस हजार) के कहाँबाट लुटी ल्याएका हुन् मलाई थाहा भएन । निजले मलाई नभनी उक्त रकम मेरो घरमा लुकाई राखेको हुँदा प्रहरी टोलीले खानतलासी गर्दा उक्त रकम बरामद गरी लगेको हो भन्नेसमेत बेहोराको लिलामाया बोहोराले गरेको घटना विवरण कागज ।
मिति २०६५।१।२२ गते दिनको १२.४१ बजेको समयमा हामी घटनास्थल नजिकै थियौं । सो समयमा जिल्ला झापा दमक न.पा.१३ स्थित लक्ष्मी बैंक लिमिटेडमा ७ जना हतियारधारी अज्ञात समूह आई बैंकमा भएका सुरक्षा गार्ड र कर्मचारीहरूलाई किचनमा थुनी बैंकमा भएको नगद रू.७८,००,००२।– (अठहत्तर लाख दुई रूपैयाँ) लुटी लगेको हो । उक्त वारदात घटनामा संलग्न डाँकाहरूलाई प्रहरीले पक्राउ गरेको छ भन्ने सुनी हेर्दा धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, हर्कसिंह राईसमेत रहेछन् निजहरूलाई सोधखोज गर्दा निजहरूसँग अन्य डाँकासमेत संलग्न रहेछन् । निजहरू जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं.८ र ७ भुटानी शरणार्थी शिविर पथरीका समेत संलग्न रही पूर्वयोजनासाथ डाँका गरी नगद रूपैयाँसमेत बाँडफाँट गरी निज प्रतिवादीहरू हाल फरार भएका रहेछन् । निज फरार प्रतिवादीहरू लिम्बू कान्छा भन्ने गोविन्द लिम्बू, सुदिप धिमाल, शेरबहादुर साँवा लिम्बू, भीमबहादुर, गोविन्द परियार (दमाई), मेसक भन्ने कुमार अमरा, शेरसिंह माझी, सुरेन सुब्बा, सुरेन्द्र लिम्बू, तारावीर राई, वीरेन तामाङ, लुङ्गा माइलासमेत उक्त घटनामा संलग्न भई बैंक लुट्न सफल भएका हुन् । निज प्रतिवादीहरूले लुटेको रकम भागबन्डा गरी लुकाई राखेको अवस्थामा भीम सुब्बाको भागमा परी ससुरालीमा लुकाई राखेको अवस्थामा रू.११,४७,०००।– (एघार लाख सत्चालिस हजार) बरामद भएको र गोविन्द परियार (दमाई) को घरबाट रू.२,५०,०००।– बरामद भएको हुँदा निज फरार प्रतिवादी तथा हाल पक्राउ परी आएका प्रतिवादीहरूको मिलेमतोबाट पूर्वयोजनासाथ उक्त लक्ष्मी बैंक लिमिटेड लुटेको हुँदा निजहरूलाई कडाभन्दा कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको दलबहादुर राई, खुसक अग्रवाल, दलबहादुर राई र सन्तोष कुँवरसमेतले गरेको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मिति २०६५।१।१८ गते बुधबार closing balance रू.७५,११,५६८।– (पचहत्तर लाख एघार हजार पाँच सय अठ्सठ्ठी) मात्र बेलुका सो बैंकको भल्टमा राखिएको थियो । २०६५।१।१९ गते मई दिवस बिदा, मिति २०६५।१।२ गते N.T.C को लिङ्कको समस्या र सेवाग्राहीको अनुपस्थितिको कारण भल्ट खोलिएन । मिति २०६५।१।२१ शनिबार सार्वजनिक बिदा भएकोले बैंक खोलिएन र मिति २०६५।१।३ गते बैंकिङ कारोबार गर्ने प्रयोजनले भल्ट खोलिएको हो । सो दिन बैंकिङ कारोबार भएको दिन भएकाले रू. ७५,११,५६८।– (पचहत्तर लाख एघार हजार पाँच सय अठ्सठ्ठी) रहेको थियो । सो रकममध्ये रू. १९,६१,५६८।– (उन्नाइस लाख एकसठ्ठी हजार पाँच सय अठसठ्ठी) काउन्टरमा निकालिएको थियो । बाँकी रू.५५,५०,०००।– (पचपन्न लाख पचास हजार) भल्टमा नै थियो । बैंकको कारोबारको सिलसिलामा विभिन्न व्यक्तिहरूबाट रू.६,१६,७१७।– (छ लाख सोह्र हजार सात सय सत्र) जम्मा हुन आयो । त्यस्तै विभिन्न व्यक्तिबाट रू.२,३५,९५०।– (दुई लाख पैंतिस हजार नौ सय पचास रूपैयाँ) चेकद्वारा झिकी लगेको थियो । यसप्रकार भल्टमा रहेको रू.५५,५०,०००।– (पचपन्न लाख पचास हजार) र काउन्टरमा भएको रू.२३,४२,३३५।– (तेइस लाख बयालिस हजार तीन सय पैंतिस रूपैयाँ) मध्ये काउन्टरमा छोडी गएको रू.२,३३३।– (दुई हजार तीन सय तेत्तिस) का खुद्राखुद्री रूपैयाँबाहेक जम्मा रू. ७८,९०,००२।– (अठहत्तर लाख नब्बे हजार दुई) मात्र डाँका गरी लगेका हुन् । माथिको हिसाबको सम्पूर्ण विवरण चेक तथा जम्मा भौचरको प्रतिलिपिहरू प्रतिवेदनसाथ प्रस्तुत गरिसकेको छु भन्नेसमेत बेहोराको जाहेरवाला बैंक प्रबन्धक मुरारी पुडासैनीको बयान कागज ।
यस कार्यालयको कोठामा लहरै पूर्व मोहडा गरी उभ्याएको ५ जनामध्ये उत्तरबाट दक्षिण चौथो र दक्षिणबाट उत्तर दोस्रो व्यक्ति हाल नाम थाहा भएको भुटानी शरणार्थी शिविर पथरी बस्ने धनवीर भन्ने राजु गुरूङ उक्त दिन समूहमा लक्ष्मी बैंकको कार्यालयको कोठामा आई मसमेतलाई नियन्त्रणमा लिई बैंकमा रहेको नगद रू.७८,९०,००२।– बराबर डाँका गरी लगेको हो भनी चिनी सनाखत गर्ने जिल्ला इलाम कन्याम–१ घर भई हाल दमक न.पा.–१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकका कस्टमर सर्भिसेज एसिस्टेन्ट रमेश कटुवालले गरिदिएको कागज ।
कोठामा लहरै पूर्वमोहडा गरी उभ्याएको ५ जनामध्ये उत्तरबाट तेस्रो र दक्षिणबाट तेस्रो मानिस म आफू कार्यरत बैंकमा काम गरिरहेको अवस्थामा ८।९ जनाको समूहमा आई मसमेतलाई कब्जामा लिई जाहेरीमा उल्लेख भएअनुसारको धनमाल डाँका गरी लगेमध्येको हाल नाम थाहा हुन आएको भुटानी शरणार्थी शिविर पथरी क्याम्प बस्ने मिलन भन्ने लक्ष्मण गुरूङलाई हेरी वर्ण गोरो, बोके दारी पालेको केश कालो शरीर कसिएको चिनी सनाखत गरेँ भन्नेसमेत बेहोराको रमेश कटुवाल, मुरारी पुडासैनी, देवीप्रसाद ढकाल तथा तारादेवी खतिवडाले गरेको छुट्टाछुट्टै बेहोराको एकै मिलानको सनाखत कागज ।
कोठामा लहरै पूर्वमोहडा गरी उभ्याएको ५ जनामध्ये उत्तरबाट दोस्रो र दक्षिणबाट चौथो मानिस म आफू कार्यरत लक्ष्मी बैंकमा काम गरिरहेको अवस्थामा ८।९ जनाको समूहमा आई मसमेतलाई कब्जामा लिई जाहेरीमा उल्लेख भएअनुसारको धनमाल डाँका गरी लग्नेमध्येको हाल नाम थाहा हुन आएको भुटानी शरणार्थी शिविर पथरी क्याम्प बस्ने धनबहादुर भन्ने हर्कसिंह राई हेरी निधारमा सानो नील कोठी भएको चिनी सनाखत गरेँ भन्नेसमेत बेहोराको रमेश कटुवाल, मुरारी पुडासैनी, देवीप्रसाद ढकाल र तारादेवी खतिवडाको एकै बेहोराको छुट्टाछुट्टै सनाखत कागज ।
यस कार्यालयको महिला सेल कोठामा लहरै पूर्वमोहडा गरी उभ्याएको ५ जनामध्ये उत्तरबाट चौथो र दक्षिणबाट दोस्रो मानिस हाल नाम थर थाहा हुन आएको भुटानी शरणार्थी शिविर पथरी क्याम्प बस्ने मिलन भन्ने लक्ष्मण गुरूङले वारदातको समयमा मुखमा पट्टी बाँधी चश्मा लगाई समूहमा आई मसमेतलाई आफ्नो नियन्त्रणमा लिई बैंकबाट रू.७८,९०,००२।– डाँका गरी लग्नेमध्येको मानिस हो, हेरी देखी पहिचानसमेत गरी दिएँ भन्नेसमेत बेहोराको मुरारी पुडासैनी, रमेश कटुवाल, देवीप्रसाद ढकाल तथा तारादेवी खतिवडाले गरेको एकै मिलानको छुट्टाछुट्टै बेहोराको सनाखत कागज ।
जि.प्र.का. झापा पश्चिमतर्फ रहेको कार्यालय भवनको महिला सेल कोठामा उत्तरबाट दक्षिण लहरै पूर्व मोहडा गरी उभ्याएका मानिसहरूमध्ये उत्तरतर्फबाट दोस्रो र दक्षिणतर्फवाट चौथो व्यक्ति हाल नाम थाहा भएको धनवीर भन्ने राजु गुरूङ र उत्तरबाट दोस्रो लहर पूर्व मोहडा गरी उभ्याएको मानिसहरूमध्ये उत्तरतर्फबाट दोस्रो दक्षिणतर्फबाट चौथो व्यक्ति हाल नाम थाहा भएको धनबहादुर भन्ने हर्कसिंह राई र उत्तरतर्फबाट दोस्रो, दक्षिणतर्फबाट चौथो व्यक्ति हाल नाम थाहा भएको मिलन भन्ने लक्ष्मण गुरूङ उक्त वारदात मिति, समयमा ग्रुपमा आई कब्जामा लिई बैंक डाँका गरी लाने व्यक्ति नै हुन् भनी पृथक्पृथक् रूपमा बैंकका कष्टमर सर्भिसेज एसिस्टेन्ट नवराज बस्नेतले गरी दिएको सनाखत कागज ।
बैंकका कर्मचारी तारादेवी खतिवडाको Nokia 6300 Model को सिम नं.९८०३२००२०९ को मोबाइल सेट थान १ मूल्य रू.१४,०००।– पर्ने, नवराज बस्नेतको Nokia 2760 Model सिम नं.९८४२६२२५४१ को मोबाइल सेट थान १ मूल्य रू.७,०००।– पर्ने, जाहेरवाला मुरारी पुडासैनीको सोनी इरेक्सन कम्पनीको सिम नं.९८४१४१०४२० को मोबाइल मूल्य रू.५,०००।– पर्ने र कर्मचारी पर्शुराम आचार्यको नोकिया फोल्डिङ सिष्टम सिम नं.९८०४९६१३३५ को सेट थान १ सहित रू.५,०००।– पर्ने भनी मूल्य खुलाएको मुचुल्का ।
यसमा प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई, राम राई, वीरेन तामाङ, सुदिप धिमाल, शेर भन्ने शेरबहादुर साँवा लिम्बू, अमरा साइला भन्ने कुमार अमरा, गोविन्द दमाई नेपाली, गोविन्द लिम्बू, भीम सुब्बा, शेरसिंह माझी, सुरेन सुब्बा, सुरेन्द्र लिम्बू, तारावीर राई, लुङ्गा माइलासमेतको पूर्वयोजना सरसल्लाह र सक्रियतामा दमक–१३ स्थित लक्ष्मी बैंक लिमिटेडमा मिति २०६५।१।२२ गते दिउँसो हातहतियारसमेत लिई गार्ड तथा कर्मचारीलाई डर त्रास देखाई किचेन कोठामा थुनी ढुकुटीको साँचोसमेत लिई खोली खोलाई नगद रू.७८,९०,००२।- र बैंक कर्मचारीको मोल रू.३०,०००।– को मोबाइल थान ४ समेत मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. मा उल्लिखित रीतसँग डाँका गरी कसुर गरेकोले निज प्रतिवादीहरूलाई ऐ.१४(४) नं.बमोजिम कारबाही गरी ऐ. महलको १० र २१ नं.बमोजिम लक्ष्मी बैंक लिमिटेड दमकलाई बरामद नगद रू.२१,८७,०००।– तथा बाँकी रू.५७,०३,००२।– प्रतिवादीहरूबाट दिलाई भराई तथा मोबाइलबापतको रकम सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादीहरूबाट दिलाई भराउनुका साथै फरार प्रतिवादीहरूलाई अदालतबाटै म्याद जारी गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।
मिति २०६५।१।२२ गते बिहानदेखि बेलुकासम्म म आफ्नै घरमा छु । जिल्ला मोरङ बयरवन–८ बस्ने कान्छो भन्ने गोविन्द लिम्बू म नभएको बेलामा मेरो घरमा आई, पैसा राख्न दिएको रहेछ । पछि फोन गरी तेरो घरमा पैसा राखेको छु यताउति नगर् भनेका हुन् । छिटो पैसा लिएर जा भन्दा, मलाई ल्याइदिन भनेकाले मैले सक्तिन भनेकाले मलाई बोलाए र म निजलाई भेटेर आउँदै गर्दा पक्राउ परेको हुँ । मेरो घरबाट रू.४,७१,०००।– बरामद भएको हो । गोविन्द लिम्बूले लक्ष्मी बैंक डकैती गरी ल्याएको रूपैयाँ रहेछ, घटनामा मेरो संलग्नता छैन । मैले डाँका गरेको होइन । मिति २०६५।१।२२ गते म दमक गएको थिएँ भन्नेसमेत बेहोराको लक्ष्मण गुरूङले सुरू अदालतमा गरेको बयान ।
मोरङ बयरवन–८ बस्ने कान्छा भन्ने गोविन्द लिम्बूले हाम्रो क्याम्पकै केटीसँग विवाह गरेकोले चिनजान भएको हो । मिति २०६५।१।२२ को बेलुका कान्छा भन्ने गोविन्द लिम्बूले क्याम्पको ग्राउन्डमा बोलाई एउटा कालो पोलेथिनको पोकामा सामान दिई राखी दे भनेकोमा के हो राख्दिन भन्दा राख भनी कर गरेकोले मैले राखी दिएको हो । २ दिनपछि लान्छु भनेको थियो तर लिन आएन । मिति २०६५।२।१ गते निजले पैसा लिएर आइज भन्दा मलाई डर लागी पैसा लिएर निजको घरमा जान नसकेकोले भोलिपल्ट निजै आएर लाने भएकोले म, लक्ष्मण र हर्कसिंह राई घरमा आई बस्यौँ । मिति २०६५।२।२ मा पक्राउ
परेँ । मेरो घरबाट प्रहरीले रू.३,१९,०००।- बरामद गरेको हो । उक्त पैसा कान्छा भन्नेले मलाई राख्न दिएको हो । मैले बैंक डकैती गरेको छैन । कान्छा भन्ने गोविन्द लिम्बूसमेतले बैंक डकैती गरेको हुन सक्छ भन्नेसमेत बेहोराको प्रतिवादी राजु गुरूङले सुरू अदालतमा गरेको बयान ।
कान्छा भन्ने गोविन्द लिम्बूले धरानबाट फोन गरी बोलाएकोले भेट्न गएको थिएँ । त्यहाँ मिलन भन्ने लक्ष्मण गुरूङ, वीरेन तामाङ, कान्छा भन्ने गोविन्द लिम्बू थिए । केहीबेरमा राजु गुरूङ पनि आईपुगे । कान्छा भन्ने गोविन्द लिम्बूले धनकुटा मेरो पुरानो घर जाउँ, भोलि फर्कनुपर्छ भनेकाले हामी त्यसतर्फ
गयौं । भोलिपल्ट गोविन्द लिम्बूलाई घर बयरवन पुर्याई आउँदै गर्दा राजु गुरूङ र मलाई प्रहरीले पक्राउ गरेको हो । वारदातमा मेरो संलग्नता छैन, मैले लक्ष्मी बैंक डाँका गरेको होइन । मबाट केही बरामद भएको छैन, को-कसबाट बरामद भयो, मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी हर्कसिंह राईले सुरू अदालतमा गरेको बयान ।
अ.बं.११८ को देहाय २ को अवस्था विद्यमान हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादीहरू राजु गुरूङ, लक्ष्मण गुरूङ र हर्कसिंह राईलाई कानूनबमोजिम सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई कारागार शाखा झापामा पठाइदिनु र बरामदी रूपैयाँ रू.२१,८७,०००।– धरौटीमा आम्दानी बाँध्नु भन्नेसमेतको मिति २०६५।३।४ मा सुरू अदालतबाट भएको आदेश ।
बैंक डकैत वारदातपश्चात् फरार रहेका प्रतिवादीको सुराक पत्ता लगाउँदा झापा जिल्ला दमक–११ स्थित सम्झना नामक होटल सञ्चालक अमृत योङयाको होटलमा बसी योजना बनाएको र बैंक डकैत गरेको वारदातमा अमृत लिम्बूले बैंकको आसपासमा बसी रेक्की गरेको र डकैतपश्चात् निजले रू.१,००,०००।– माग गरेकोमा योजना बनाउने एल वि.भन्ने लालबहादुर गुरूङ, गोविन्द लिम्बू, हर्कसिंह भन्ने धनबहादुर राई, भीम लिम्बू, लक्ष्मण गुरूङ, राजु गुरूङसमेतले रू.५०,०००।– दिएको भन्ने विशेष सुराकबाट थाहा हुन आएकोले अमृत योङया लिम्बूको खोज तलास गर्दा फेला पारेकोले दाखिला गरेको
छु । कानूनबमोजिम गरिपाउँ भन्ने प्रतिवेदक प्र.ना.नि. राजेन्द्र चुडालले दिएको प्रतिवेदन ।
मिति २०६५।१।२२ का दिन दिउँसो म आफ्नै होटलमा बसिरहेको थिएँ । मिति २०६५।१।२२ का दिन म बसिरहेको अवस्थामा लालबहादुर गुरूङ, लक्ष्मण गुरूङ, राजु गुरूङ, हर्कसिंह राई, सुदिप धिमालसमेतका मानिस आई नास्ता खाई बैंक डकैत गर्ने कुरा गरी तपाइँले समेत सहयोग गर्नुपर्यो भनेकोले म बैंक डकैत गर्न जान्न, बाटोमा बसी सहयोग गरौंला भनेको थिएँ । दिनको १२:०० बजे लालबहादुर गुरूङसमेत मेरो पसलबाट गएका थिए, म बाटोमा बसी दायाँबायाँ हेरिरहेको थिएँ । यस्तैमा केही समयपश्चात् लालबहादुर गुरूङ मेरो पसलमा आई सहयोग मागेकोले मैले निजलाई मोटरसाइकलको व्यवस्था गरिदिएको थिएँ । निजहरूसँग डाँका गरेपछि भेट नभएकोले मिति २०६५।१।२३ गते पथरी स्थित भुटानी शरणार्थी क्याम्पमा जाँदा लालबहादुर गुरूङ, अकलबहादुर तामाङलाई भेटी बैंक डकैत गरेको रकममध्ये मैले रू.२,००,०००।– माग गर्दा लालबहादुर गुरूङले मलाई रू.५०,०००।– मात्र दिए । उक्त रकम मैले खाई मासी सकेँ । उक्त वारदातमा लालबहादुर गुरूङ, राजु गुरूङ, लक्ष्मण गुरूङ, हर्कसिंह राई, रामप्रसाद राई, वीरेन तामाङ, सुदिप धिमाल, शेरबहादुर साँवा लिम्बू, कुमार अमरा, गोविन्द दमाई (नेपाली), गोविन्द लिम्बू, भीम सुब्बा, शेरसिंह माझी, सुरेन लिम्बू, सुरेन्द्र लिम्बू, तारावीर राई, अकलबहादुर तामाङसमेतको संलग्नता रहेको छ भन्नेसमेत बेहोराको प्रतिवादी रघु भन्ने अमृत योङया लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
झापा दमक–१३ स्थित लक्ष्मी बैंक लिमिटेडमा डकैती गर्नेमा मसमेतको १९।२० जनाको समूह थियो । अमृत योङया लिम्बूले सञ्चालन गरेको सम्झना भन्ने सिक्टिन कुल कर्नर नामक होटलमा बेला बेलामा म गई राख्थें र अमृत लिम्बूसँग बसेर योजना बनाई राख्थ्यौं । यस्तैमा मिति २०६५।१।२१ गतेका दिन मोरङस्थित पथरी शिविरमा गएको बेला लक्ष्मण गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई, धनवीर भन्ने राजु गुरूङसमेत मसँग भेट गर्न आए । निजहरूले लक्ष्मी बैंक डाँका गर्ने टोली तयार गरिसक्यौं, जम्मा २०।२१ जना भइयो । मिति २०६५।१।२२ गते पक्कापक्की हान्नुपर्छ भनेपछि मैले दमक–११ बस्ने अमृत लिम्बूसँग कुराकानी गरिसकेको छु भनी सम्झाए । मिति २०६५।१।२२ गते बिहान म र लक्ष्मण गुरूङ बसमा चढी दमक आयौं । दमकको पश्चिम लाइनमा रहेको होटलमा बसी चिया नास्ता खाई बसिरहेको अवस्थामा दिनको १२:०० बजेको समयमा रामप्रसाद राई, वीरेन तामाङ, सुदिप धिमाल, शेरबहादुर साँवा लिम्बू, अमरा माइला भन्ने कुमार अमरा, गोविन्द दमाई (नेपाली), गोविन्द लिम्बू, भीम सुब्बा, सुरेन सुब्बा, सुरेन्द्र लिम्बू, तारावीर राई, अमृत योङया लिम्बूसमेतका व्यक्तिहरू थियौं । मलाई, सुदिप धिमाल, गोविन्द लिम्बू, राजु गुरूङ, गोविन्द दमाई नेपाली, अकलबहादुर तामाङसमेतका ६।७ जनाको टोलीलाई बैंकभित्र पसी पैसा झिक्ने र कर्मचारीहरूलाई नियन्त्रणमा लिने जिम्मा थियो । अमृत योङया लिम्बू स्थानीय भएकोले पुलिसको निगरानी गर्ने डिउटी कहाँ कहाँ बसेका छन् हेर्ने जिम्मा दिइएको थियो । सबै कामको बाँडफाँट गोविन्द लिम्बू, भीम सुब्बा, गोविन्द नेपाली, सुदिप धिमाल, अमृत लिम्बू र मसमेतको सहमतिमा योजना बनाएका थियौं । बैंकबाहिर कुमार अमरासमेतका अन्य साथीहरूलाई बैंकको बाहिरी भागको जिम्मा दिइएको थियो । योजनाअनुरूप मसमेत बैंकभित्र पसी कर्मचारीहरूलाई नियन्त्रणमा लिएर सुदिप धिमालले मलाई दिएको कटुवा पेस्तोल मैले सुरक्षा गार्डको भुँडीमा तेर्स्यार्इ कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो । साथी हर्कसिंह राईले पनि पेस्तोल तेर्स्याए, पैसा झिक्न सफल भएपछि अकल तामाङले १ वटा कालो ब्याग मलाई दिए, अर्को छालाको ब्याग सुदिप धिमालले बोकेको थियो । म बैंकबाहिर रहेको को.२ प ७०८९ नं.को मोटरसाइकल चढी कच्ची बाटो हुँदै पथरीको जंगलमा पुग्यौँ । मोटरसाइकल चलाउने मानिस मतवाली जस्तो थियो । निजको नाम मलाई थाहा भएन, देखे चिन्दछु । मैले बोकेको ब्यागमा रू.३५,००,०००।– (पैंतिस लाख) र सुदिप धिमालले बोकेको ब्यागमा रू.३६,००,०००।– (छत्तिस लाख) रहेछ । डकैतीबापतको रकम कसैले रू.४,००,०००।-, कसैले रू.३,००,०००।– र कसैले रू.२,००,०००।– का दरले बाँडेका थियौं । रघु भन्ने अमृत योङया लिम्बूले पथरी शिविरमा गई मसँग रू.१,००,०००।– माग गरेकोमा मैले मेरो ग्रुपको सबैबाट रकम उठाई रू.५०,०००।– (पचास हजार) दिएको हुँ भन्नेसमेत बेहोराको पक्राउमा परेका प्रतिवादी एल.वि. भन्ने लालबहादुर गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला झापा दमक न.पा. वडा नं.११ स्थित पूर्वमा पर्खाल, पश्चिममा पक्की सडक उत्तरमा पान पसल दक्षिणमा किराना पसल यति चार किल्लाभित्र रहेको पूर्व पश्चिम मोहडाको सम्झना लिम्बूको पसल खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै चिजवस्तुहरू फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला झापा दमक न.पा. वडा नं.११ स्थित पूर्वमा पर्खाल, पश्चिममा पक्की सडक उत्तरमा पान दोकान दक्षिणमा किराना पसल यति चार किल्लाभित्र रहेको घरको उत्तर साइडको कोठा खोली हेर्दा को.२ प ७०८९ नं. को चाइनिज लिफान मोटरसाइकल प्रतिवादी अमृत योङया लिम्बूले लुकाई राखेको अवस्थामा फेला परेकोले बरामद गरी लगेको ठिक हो भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला झापा बेलडाँगी १ सेक्टर नं.ई ३ स्थित पूर्वमा नरबहादुर घिमिरेको घर, पश्चिममा मानध्वज तामाङको घर, उत्तरमा मानबहादुर राइको घर, दक्षिणमा गंगाप्रसाद ढकालको घर यति चार किल्लाभित्र नरिमाया भन्ने सनमाया गुरूङको फुसको घर छाना टाटी बेरा पश्चिम ढोका भएको घर रहेको, सो घरमा चारवटा कोठा रहेको, सो घरको खानतलासी गर्दा घरको उत्तरपूर्वको कोठामा एकवटा टिनको बाक्सा रहेको सो बाक्सा खोल्न लगाई हेर्दा कालो किनारा भएको कलेजी रंगको रूमालको पोको रहेको, उक्त रूमालको पोको खोली हेर्दा रू.५००।– दरका थान ७० को जम्मा रू.३५,०००।– (पैंतिस हजार) फेला परेकोले प्रहरीले बरामद गरी लगेको ठिक साँचो हो भन्नेसमेत बेहोराको नरीमाया भन्ने सनमाया गुरूङको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला झापा बेलडाँगी १ सेक्टर नं.वि.२ स्थित पूर्वमा गंगा घिमिरेको घर, पश्चिममा आसबहादुर राइको घर, उत्तरमा चम्पासिंह राईको घर, दक्षिणमा कृष्ण तिवारीको घर यति चार किल्लाभित्र प्रतिवादी लालबहादुर गुरूङको दाजु बिर्खबहादुर गुरूङको टाटीबेरा चित्राको छाना पश्चिम मोहडा भएको चार कोठे घर रहेको उक्त घरमा चारवटा कोठाहरू रहेकोमध्ये पूर्वउत्तरको पहिलो कोठामा बाँसको र्याक रहेको उक्त र्याकको बिचको कोठामा रहेको कपडाहरू चेक जाँच गर्दा लुकाई राखेको रू.५००।– दरका ६० वटाको रू.३०,०००।– (तिस हजार) नगद फेला परेको हुँदा प्रहरी टोलीले बरामद गरी लिई गएको ठिक साँचो हो भन्नेसमेत बेहोराको प्रतिवादी लालबहादुरको दाजु बिर्खबहादुर गुरूङको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला झापा बेलडाँगी १ सेक्टर नं.सी ३ स्थित पूर्वमा बलराज राईको घर, पश्चिममा रामबहादुर गुरूङको घर, उत्तरमा रामबहादुर गुरूङको घर, दक्षिणमा चन्द्रबहादुर गुरूङको घर यति चार किल्लाभित्र टाटीबेरा चित्रा प्लाष्टिकको छाना भएको प्रतिवादी लालबहादुर गुरूङको चार कोठा भएको पश्चिम मोहडा भएको घर रहेको सो घरका कोठाहरू खानतलासी गर्दा प्रमाण लाग्ने चिजवस्तुहरू केही पनि फेला नपरेको भन्नेसमेत बेहोराको प्रतिवादी लालबहादुर गुरूङको घर खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला झापा बेलडाँगी १ सेक्टर नं.सी ४ स्थित पूर्वमा रणबहादुर मगरको घर, पश्चिममा नर्सरी जंगल, उत्तरमा निमा डाल्पा तामाङको घर, दक्षिणमा सम्फाकला मगरको घर यति चार किल्लाभित्र प्रतिवादी अकलसिंह तामाङको टाटीबेरा फुसको छाना भएको घर रहेको पूर्व ढोका ३ कोठा रहेकोमध्ये दक्षिण पश्चिमतर्फको कोठामा पलंग रहेको सो नजिक चामल रहेको ४ वटा बोराहरू रहेको उक्त चामल रहेको बोराहरू खोतली हेर्दा सोमध्ये पश्चिमतर्फ घर रहेको चामलको बोरा खोतली हेर्दा बोराको बिच भागमा गुलाबी रंगको कपडाको पोका रहेको देखिएको पोका बाहिर निकाली हेर्दा रू.१,०००।– दरका नोट थान ३५ को रू.३५,०००।–, रू ५००।– दरको नोट तीन ठेली २९९ थानको रू.१,४९,५००।–, रू ५०।– दरका नोट ४ ठेली ३९९ को रू.१९,९५०।–, रू.५।– को दरको थान १५ को रू.७५।– समेत जम्मा नगद रू.२,०४,५२५।– समेत फेला परेकोले प्रहरी टोलीले बरामद गरी लिई गएको ठिक साँचो हो भन्नेसमेत बेहोराको अकलसिंह तामाङको बुबा मानसिंह तामाङको घर खानतलासी तथा बरामदी मुचुल्का ।
म आफ्नो घर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको अवस्थामा मेरो छोरा अकलसिंह तामाङ गते याद भएन २०६५ साल जेष्ठ महिनाको पहिलो हप्ता बेलुकी १७:०० बजे घरमा आई घरको कोठाहरूमध्ये दक्षिण पश्चिमपट्टिको कोठामा पसी सामसामसुमसुम गर्दै थियो । म खाना पकाइरहेको थिएँ । प्रतिवादी छोरा अकलसिंह तामाङले सानोसानो बोराको चामल खाँदै गर्नु र ठुलो प्लाष्टिकको बोराको चामल नचलाउनु नखानु भनेर हतारहतार घरबाट बाहिर निस्किएको थियो । बेलुका पनि आएन र अहिलेसम्म पनि आएको छैन । सो समयमा मेरो पति पनि हुनु हुन्नथ्यो । छोरा अकल तामाङले मलाई यस्तो चिज छ भनेर केही भनेको थिएन । अनुसन्धानको सिलसिलामा सुरक्षाकर्मी आई घर खानतलासी गर्ने क्रममा चारवटा चामलको बोरामध्ये ठुलो चामलको बोरा खोली हेर्दा चामलको बोराको बिच भागमा गुलाबी रंगको कपडाको पोको फेला परी खोली हेर्दा जम्मा रू.२,०४,५२५।– रकम रहेकोले सुरक्षाकर्मीले रीतपूर्वक बरामद गरी लगेको हो भन्नेसमेत बेहोराको बुझिएकी प्रतिवादी अकलसिंह तामाङको आमा याङखु डोल्मा तामाङले गरेको कागज ।
मिति २०६५ साल जेष्ठ महिनाको पहिलो हप्तातिर धागो काती बसिरहेको अवस्थामा एल.वि. भन्ने लालबहादुर गुरूङ मेरो घरमा आई हतारहतार मेरो घरभित्र पसी मलाई बोलाई कलेजी रंगको रूमालको पोको देखाई दिदी यो पैसा राख्नु म केही दिनमा आउँछु भनी राख्न दिएकोले मैले टिनको बाक्सामा नहेरीकन राखेको थिएँ अनुसन्धानको क्रममा सुरक्षाकर्मी आई घर खानतलासी गर्दा रू.५००।– दरका ७० थानको रू.३५,०००।– फेला परेकोले उक्त रकम बरामद गरी ल्याएको हो । बरामद भएको रकम चोरीको हो भनी मलाई भनेको थिएन । निज कहिलेकाहीँ मादकपदार्थ खान मेरो घरमा आउने गरेका थिए । उक्त रकम के कहाँबाट ल्याएका थिए मलाई थाहा भएन भन्नेसमेत बेहोराको बुझिएका सनमाया गुरूङले खुलाई लेखाई दिएको कागज ।
म आफ्नो घर झापा बेलडाँगी शिविरमा खाना पकाइरहेको थिएँ । मिति २०६५ साल जेष्ठ महिनाको दोस्रो हप्तातिर दिउँसो १७:०० बजे एल.वि. भन्ने लालबहादुर गुरूङ एक्कासी मेरो घरमा आई घरभित्र पसी पूर्वउत्तर कोठामा जानुभयो र रू.५००।– दरका पैसा खुल्ला देखाई बाँसको र्याकको बिच घर्रामा राखी कपडाले छोपी पैसा यहाँ छ भाउजू भनी गएका थिए । के कति पैसा छ मलाई भनेन र उक्त पैसा मैले चलाएको पनि थिइनँ । अनुसन्धानको क्रममा सुरक्षाकर्मी आई घर खानतलासी गर्दा रू.५००।– दरका ६० थानको रू.३०,०००।– फेला परेकोले बरामद गरी लगेको
हो । लालबहादुर गुरूङले के कहाँबाट ल्याएका हुन् मलाई थाहा भएन । हाल बुझ्दा दमक–१३ स्थित लक्ष्मी बैंक लिमिटेडबाट मिति २०६५।१।२२ गते डाँका गरी ल्याएको रकम हो भन्ने थाहा हुन आयो, निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको आइतमाया गुरूङले गरेको कागज ।
विभिन्न स्थानहरूबाट बरामद गरी ल्याएको विभिन्न दरका नोटहरू देखाउँदा देखेँ, हेरेँ, पहिचानसमेत गरेँ । उक्त बरामद भएको रकमहरू लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय दमकबाट डाँका वारदात गरी लगेकोमध्येको रकम नै हो भन्नेसमेत बेहोरा उल्लेख गरी जाहेरवाला लक्ष्मी बैंक लिमिटेड शाखा दमकका शाखा प्रबन्धक मुरारी पुडासैनीले गरी दिएको सनाखत कागज ।
मिति २०६५।१।२२ गतेका दिन दिउँसो दमक न.पा. वडा नं.१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालयमा डकैती भएको कुरा सुनी थाहा पाएको हुँ । पक्राउ परेका प्रतिवादी रघु भन्ने अमृत योङया लिम्बू र एल.वि. भन्ने लालबहादुर गुरूङसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा बैंक डकैती गरेको स्वीकार गरेका छन् । प्रतिवादी लालबहादुर गुरूङले विभिन्न समयमा विभिन्न मानिसलाई कर्तव्य गरी मारेका हुन् । लालबहादुर गुरूङले लुकाई छिपाई राखेको नगद रू.२,६९,५२५।– बरामद गरी प्रहरीले लगेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रामप्रसाद वाग्ले, साङपाङ राई तथा विजय राईले लेखाइदिएको एकै बेहोराको छुट्टाछुट्टै वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी लालबहादुर गुरूङ, रघु भन्ने अमृत योङया लिम्बू र अकलसिंह तामाङले मिसिल संलग्न कागज प्रमाणबाट मुलुकी, ऐन चोरीको महलको १ नं. विपरीत ६ नं.अनुसार कसुर अपराध गरेकोले निज प्रतिवादीहरूलाई ऐ.ऐन, महलको दफा १४(४) बमोजिम सजाय गरिपाऊँ । बरामद भई दाखिला हुन आएको दशीको सामान रू.२,६९,५२५।– र को.२ प ७०८९ को मोटरसाइकल पेस गरिएको र बरामद तथा बाँकी बिगो चोरी महलको १० र २१ नं.बमोजिम प्रतिवादीहरूबाट दिलाइपाऊँ । फरार रहेका प्रतिवादी अकलसिंह तामाङलाई अदालतबाटै म्याद जारी गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको मिति २०६५।४।१ मा दर्ता भएको पूरक अभियोगपत्र ।
म आफ्ना आफन्त भेट्न मिति २०६५।१।२१ गते मोरङ गएको थिएँ । २३ गते मात्र घर बेलडाँगी आएको छु । वारदात भएको भनिएको समयमा म दमकमा
थिइनँ । मैले बैंक डाँका गरेको होइन, घटनामा मेरो संलग्नता छैन । शरणार्थी शिविर बेलडाँगी–१ बस्ने यादव गुरूङले सामान्य विवादका कारण ममाथि गोली चलाएकोले घाइते भई उपचारको क्रममा रहेको अवस्थामा प्रहरीले पक्राउ गरी डाँका गरेको हो भन्न बाध्य बनाएका हुन् । को-कसले डाँका गरे म भन्न सक्तिन । मैले पैसा यहाँ छ भनी देखाएको होइन, के कसरी कहाँबाट बरामद भयो मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादी लालबहादुर गुरूङको सुरू अदालतमा भएको बयान ।
म ने.क.पा. माओवादीसँग आवद्ध भूमिगत अवस्थादेखिकै कार्यकर्ता हुँदा संविधानसभा निर्वाचन २०६४ मा पार्टीमा पाँचथर जिल्लामा सघाउनको लागि बोलाएको हुँदा मिति २०६४।१२।७ मा पाँचथर गई पार्टी निर्देशनबमोजिम निर्वाचन अवधिभर र मिति २०६५।१।२२ सम्म पाँचथरमै रही मिति २०६५।१।२३ गते बेलुका ७ बजे मात्र दमक आइपुगेको हुँ । निर्वाचनमा पछि पार्टीको पराजय समीक्षाको लागि मिति २०६५।१।२२ सम्म पार्टीको निर्देशानुसार पाँचथरमै रही काम गरेको हुँ । वारदातमा मेरो संलग्नता छैन । मैले डाँका गरेको होइन, पैसा मबाट बरामद भएको छैन । मोटरसाइकल मेरो हो, चोरीमा प्रयोग भएको छैन । मेरै घरबाट प्रहरीले बरामद गरी लगेको हो भन्नेसमेत बेहोराको प्रतिवादी अमृत योङया लिम्बूले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी लालबहादुर गुरूङको हकमा अ.बं.११८ को देहाय (२) को अवस्था विद्यमान हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न कारागार शाखा झापामा पठाइदिनु र अर्का प्रतिवादी अमृत योङयाको हकमा अ.बं.११८ को देहाय २ को अवस्था विद्यमान नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अ.बं.४७ नं.बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु, अभियोगसाथ दाखिला भएको नगद र मोटरसाइकल आम्दानी बाँध्नु भन्ने सुरू झापा जिल्ला अदालतबाट मिति २०६५।४।१।मा भएको आदेश ।
प्रतिवादीहरूबाट रू.२४,५६,५२५।– रूपैयाँ बरामद भएको र उक्त रकम अभियोगपत्रसाथ अदालतमा दाखिला भई अदालतको धरौटी खातामा जम्मा गरिएको हुँदा फिर्ता पाउँ भन्ने जाहेरवाला मुरारी पुडासैनीको निवेदन परी खोजी भएका बखत दाखिला गर्ने गरी निवेदन मागबमोजिमको रकम फिर्ता दिनु भन्ने सुरू झापा जिल्ला अदालतबाट मिति २०६५।५।२३ मा भएको आदेश ।
मिति २०६५।४।१ मा तारावीर राईको मृत्यु भइसकेको भन्ने Camp Secretary शरणार्थी समन्वय इकाईलाई लेखी निजको नाम हटाएको भनी शरणार्थी समन्वय इकाई शनिश्चरे मोरङले प्रमाणित गरेको मृत्यु दर्ता प्रमाणपत्र मिसिल सामेल रहेको ।
मिति २०६५।१।२२ गतेका दिन दिउँसो जिल्ला झापा दमक न.पा. वडा नं.१३ स्थित लक्ष्मी बैंक लिमिटेड शाखा कार्यालय डकैती भएको मुद्दामा अनुसन्धानको सिलसिलामा मिति २०६५।३।६ गते पक्राउ परेको प्रतिवादी लालबहादुर गुरूङले आफ्नो बयान कागज लेखाउँदा अशोक राईसमेतको संलग्नता रहेको भनी खुलाई लेखाइदिएको हुँदा निज अशोक राइको खोजतलास गर्दै जाने क्रममा दमक बसपार्कनजिक फेला पारी पक्राउ गरी दाखिला गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
जिल्ला मोरङ पथरी भुटानी शरणार्थी शिविर पथरी क्याम्प बस्ने धनविर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई, राम राई, वीरेन तामाङ, ताराविर राई, ऐ ऐ. झापा बेलडाँगी बस्ने लालबहादुर गुरूङसमेतलाई म राम्ररी
चिन्दछु । मसँग निजहरू बेलाबखत घुम्ने, खाने गरेकोमा मिति २०६५।१।२२ गते बिहान छिमेकी राजु गुरूङ, लक्ष्मण गुरूङसमेतसँग भेट हुँदा आज हाम्रो दमक जाने कार्यक्रम छ भनेका थिए । पछि म क्याम्पको गेटमा आउँदा निजहरू हिँडिसकेका रहेछन् । म पनि कामको सिलसिलामा दमकमा आई बेलुकी घर गई बसेको
थिएँ । यस्तैमा मिति २०६५।१।२६ गते लक्ष्मण गुरूङसँग भेट हुँदा निजले मलाई आफूले बोकेको रकममध्ये रू.३५,०००।– दिएको र पुनः मिति २०६५।१।२७ गते क्याम्पभित्र रहेको लक्ष्मण गुरूङसँग भेट हुँदा रू.१,०००।– दिएका र छिमेकी हर्कसिंह राईको घरमा जाँदा निजले मलाई रू.८००।– दिएका थिए । उक्त रकम मैले प्राप्त गरेको १५ दिनपछि प्रहरी टोली लक्ष्मण गुरूङ र हर्कसिंहको घर खानतलासी गर्दा रकम बरामद गरी लगेको सुनी थाहा पाएँ । निजहरूले मिति २०६५।१।२२ गते लक्ष्मी बैंकबाट रू.७९,९०,००२।– डकैती गरी सो रकममध्येबाट मलाई पटकपटक गरी रू.५,३००।– दिएका रहेछन् । उक्त लक्ष्मी बैंक डकैती गर्ने राजु गुरूङ, लक्ष्मण गुरूङ, हर्कसिंह राई, राम राई, वीरेन तामाङ, तारावीर राई, लालबहादुर गुरूङसमेत शिविरको हुँदा मैले चिनेको छु । जिल्ला मोरङ बयरवन बस्ने सुदिप धिमाल, शेरबहादुर सुब्बा, कुमार अमरा, गोविन्द दमाई, गोविन्द लिम्बू, भीम सुब्बा, शेरसिंह माझीसमेतको समूहले डकैती गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी अशोक राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला मोरङ शनिश्चरे गा.वि.स. वडा नं.१ स्थित भुटानी शरणार्थी शिविर पथरी क्याम्प सेक्टर नं.ए ४ स्थित पूर्वमा वरपिपलको रूख, पश्चिममा धानबाली भएको खेत, उत्तरमा यामबहादुर गुरागाईको छाप्रा दक्षिणतर्फ शिविरको कम्पाउन्ड तार यति चार किल्लाभित्र पूर्व पश्चिम लम्बाइ दक्षिण मोहडा टाटीबेरा चित्रा तथा प्लाष्टिक र चित्राको छाना भएको भान्सा कोठासहित ४ कोठा घर रहेको प्रतिवादी अशोक राईसमेत बस्ने गरेको उक्त घरको खानतलासी गर्दा लक्ष्मी बैंक डकैतीमा सबुत लाग्ने चिजवस्तुहरू केही फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मिति २०६५।१।२२ गते दिउँसो दमक–१३ स्थित लक्ष्मी बैंक लिमिटेडबाट रू.७९,००,०००।– डकैती गरी मानिसहरू भागी गएको भनी सुनी थाहा पाएको थिएँ । उक्त वारदातमा संलग्न रहेको व्यक्तिहरूमध्ये अनुसन्धानको क्रममा पक्राउ परेका राजु गुरूङ, लक्ष्मण गुरूङ, हर्कसिंह राई, लालबहादुर गुरूङसमेतले बयान कागज लेखाउँदा अशोक राईसमेतको संलग्नता रहेको भनी बताएको र निजहरूको घर खानतलासी गर्दा बैंक डकैती गरेको रकमहरूसमेत प्रहरीले बरामद गरी लगेको हो । हाल पक्राउ परेको प्रतिवादी अशोक राईसमेत उक्त लक्ष्मी बैंक डकैतीमा संलग्न देखिएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको एकै मिलान बेहोराको नवराज भट्टराई, धर्मराज थापा तथा ध्रुव खत्रीले गरेको छुट्टाछुट्टै वस्तुस्थिति मुचुल्का ।
मिसिल संलग्न वस्तुस्थिति मुचुल्का कागजसमेतबाट प्रतिवादी अशोक राईले मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ६ नं.अनुसारको कसुर गरेको प्रमाणित भएकाले निजलाई ऐ. महलको १४(४) नं.बमोजिम सजाय गरी बरामदी बाँकी बिगोसमेत ऐ. महलको १० र २१ नं.बमोजिम जाहेरवालालाई भराई पाउँ भन्ने बेहोराको मिति २०६५।७।५ को वादी नेपाल सरकारको पूरक अभियोगपत्र ।
मिति २०६५।१।२२ का दिन म मेरो साथी झरना मगरसँग सेक्टर सी ४ छाप्रा नं.४३ मा निजको घरमा थिएँ । दिउँसो २ बजे रेडियोको समाचारबाट लक्ष्मी बैंक डकैत भएको खबर सुनेँ । बैंक डकैत वारदातमा मेरो संलग्नता छैन । प्रतिवादी लक्ष्मण गुरूङको घरबाट रूपैयाँ बरामद गरेको सुनेको हुँ । निजको संलग्नता हुन सक्छ प्रतिवादी लालबहादुरको हकमा मलाई थाहा भएन भन्ने बेहोराको प्रतिवादी अशोक राईले सुरू अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी अशोक राईलाई अ.बं. ४७ नं.बमोजिम तारेखमा राखी पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०६५।७।७ को आदेश ।
मिति २०६५।१।२२ मा म पाँचथरको फिदिममा थिएँ । २०६४ चैत्रको अन्तिम हप्तातिर म पाँचथर गएको छु, लक्ष्मी बैंक डकैतीको विषयमा पछि पत्रिकामा पढेर थाहा पाएको हुँ । सो घटनामा मेरो संलग्नता छैन । मलाई सजाय हुनुपर्ने होइन भन्ने हातहतियार खरखजाना मुद्दामा पाँचथर कारागारमा रही अदालतको आदेशानुसार झिकाइएका प्रतिवादी सुरेन्द्र लिम्बूले सुरू अदालतमा गरेको बयान ।
हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारागार कार्यालय, पाँचथरमा कैदमा रहेको देखिँदा सो मुद्दाबाट कैद मुक्त भई जाने भएमा प्रस्तुत मुद्दामा थुनछेकको लागि उपस्थित गराइदिनु भनी प्रतिवादी सुरेन्द्र लिम्बूलाई पूर्ववत् कैदमा राख्न कारागार कार्यालय पाँचथर पठाइदिनु भन्ने सुरू अदालतको मिति २०६७।८।६ को आदेश र निज प्रतिवादीलाई लागेको जरिवाना तिरे बुझाएकोले पुनः अदालतमा दाखिल हुँदा अ.बं.११८ को देहाय २ नं.को अवस्थासमेत विद्यमान नहुँदा प्रतिवादी सुरेन्द्र लिम्बूबाट नगद रू.२०,०००।– वा सो बराबरको जेथा जमानत लिनु, दिन नसके थुनुवा पुर्जी दिई जिल्ला कारागार कार्यालय, झापामा पठाइदिनु भन्ने सुरू अदालतबाट मिति २०६८।३।२६ मा भएको आदेश ।
मसमेत भई बैंक डकैत गरेको होइन,
छैन । उक्त दिन म घरायसी काम गरी बसेकोले म दमक आएको थिइनँ । बैंक डकैत भएको कुरा समाचार सुनेर थाहा पाएको हुँ । बैंक कसले डाँका गरेको हो मलाई थाहा छैन । मैले निज राजु गुरूङलाई चिनेको छैन, के कारणले मेरो नाम उल्लेख गरी बयान गरेका हुन् म भन्न सक्दिनँ । फरार प्रतिवादी भनी मिसिल सामेल रहेको फोटो म धरानमा पक्राउ पर्दा खिचेको फोटो होला । म डाँका गरी फरार भएको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने बेहोराको प्रतिवादी शेरबहादुर साँवा लिम्बूले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी शेरबहादुर सावाँ लिम्बूलाई मुलुकी ऐन, अ.बं.११८ को देहाय २ नं.बमोजिम कारागार कार्यालय, झापामा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न अ.बं.१२१ नं.बमोजिम थुनुवा पुर्जी दिनु भन्ने बेहोराको झापा जिल्ला अदालतबाट मिति २०६७।८।१५ मा भएको आदेश ।
प्रतिवादीहरू शेरसिंह माझी, लुङ्गा माइला र सुरेन सुब्बाको यकिन वतन खुली आएमा सोही बखत पेस गर्नू । प्रतिवादीहरू रामप्रसाद राई, वीरेन तामाङ, तारावीर राई, अकलसिंह तामाङ भुटानी शरणार्थी देखिँदा अंश रोक्का गर्नुपर्ने देखिएन, अन्य प्रतिवादीहरू सुदिप धिमाल, अमरा साइला भन्ने कुमार अमरा, गोविन्द दमाई नेपाली, गोविन्द लिम्बू र भीम सुब्बाको हकमा कानूनबमोजिम अंश रोक्का गर्नु भन्ने बेहोराको झापा जिल्ला अदालतबाट मिति २०६८।३।१२ मा भएको आदेशबमोजिम मिति २०६८।९।२ मा मोरङ जिल्ला अदालतमार्फत अंश रोक्का मुचुल्का भई मिसिल सामेल रहेको ।
मिति २०६५।१।२२ गते मेरो र अमृत योङया लिम्बूको पाँचथर थर्पु बजारमा भेट भएको
हो । प्रतिवादीउपरको अभियोग झुट्ठा हो किनभने उक्त मितिमा हामीहरूसँगै छौं र बेलुका म तराई झर्छु भनेर छुटेर गएको हुँ । यसरी पाँचथरमा मसँगै भएको व्यक्तिले बैंक डकैत गर्न सक्दैन भन्ने बेहोराको प्रतिवादी अमृत योङया लिम्बूको साक्षी ध्रुव सुवेदीले गरेको बकपत्र ।
मिति २०६५।१।२२ गते म आफ्नै घर जिल्ला मोरङ बयरवन गा.वि.स. वडा नं.८ आफ्नै गाउँघरमा थिएँ । सो दिनको बिहानको खाना खाई अं.१०।११ बजेदेखि बेलुका अं.४।५ बजेसम्म प्रतिवादी शेरबहादुर लिम्बू र म सँगै गाउँको चिया पसलमा गफ गरी क्यारेमबोर्ड खेली समय बिताई बसेको हुँदा प्रतिवादीले बैंक डकैत गरेको होइन भन्ने बेहोराको प्रतिवादी शेरबहादुर लिम्बूको साक्षी रबी लिम्बूले गरेको बकपत्र ।
मिति २०६५।१।२२ गते म पथरी क्याम्प अफिसमा काम गर्दछु । उक्त दिन म शिविरमा नै
थिएँ । सो दिनको दिउँसो २।३ बजेको समयमा प्रतिवादी लक्ष्मण गुरूङलाई अफिस नजिकको पथरी शिविरमा देखेको हुँ । प्रतिवादीले उक्त मितिमा बैंक डकैत गरेको होइन र उक्त कार्यमा संलग्न पनि छैन भन्ने बेहोराको प्रतिवादी लक्ष्मण गुरूङका साक्षी मनबहादुर दर्जीले गरेको बकपत्र ।
प्रतिवादीले डकैत गरेको मलाई थाहा छैन । सानैदेखि सँगै बसेकाले निजले यस्तो डकैती गरेको कुरा सुनेको पनि थिएन र आजसम्म यस्तो काम गरेको थाहा थिएन भन्नेसमेत बेहोराको प्रतिवादी राजु गुरूङका साक्षी सीता महतले गरेको बकपत्र ।
मिति २०६५।१।२२ गते म बैंकको ड्युटी सकेर घर गएको थिएँ, बैंक डकैत भएको कुरा रेडियोबाट सुन्ने बित्तिकै म बैंक गएको थिएँ । कर्मचारीलाई कोठामा थुनेर डाँका गरेका रहेछन् । पछिबाट ढोकाको सिसा तोडेर कर्मचारीहरू बाहिर निस्केको थाहा पाएँ । डाँका गरेको मैले देखिन, डाँकाहरूलाई चिन्दिन भन्ने बेहोराको घटना विवरणका साक्षी नवराज भट्टराईले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६५।३।६ को प्रतिवेदन बेहोरा र सहीछाप मेरो हो भन्ने बेहोराको प्रतिवेदक राजेन्द्र चुडालले सुरू अदालतमा गरेको बकपत्र ।
म लक्ष्मी बैंकमा सेक्युरिटी गार्डको काम गर्ने गर्दछु । मिति २०६५।१।२२ गते दिनको १२:१५ बजे म भित्र काउन्टरमा उभिएको थिएँ । गार्ड पर्शुराम आचार्य झोला चेक गर्न बाहिर बसेका थिए । अचानक १ जना डाँका भित्र पसी मेरो हात समाती यसलाई पनि बाहिर लगेर एकै ठाउँमा बाँधेर लडाउनुपर्छ भनी गाली गर्दै अर्को गार्डसँगै राखे । त्यसपछि गार्ड, कर्मचारी सबैलाई एकै ठाउँमा लगे र बैंक मेनेजरको कोठामा राखे, हातमा छुरी बोकेको डाँका आई मेनेजर को हो भन्दै चाबी माग्यो । मेनेजरले क्यासिएर रमेश कटुवाललाई चाबी दिनु भन्नुभयो र सेफको चाबी कब्जामा लिई सेफतिर लागे । हामीलाई चिया पकाउने कोठामा थुनी, आइडेन्टी कार्ड खोसी प्रहरीलाई खबर गरे घरमै आएर मार्छौँ भनी धम्की दिई मोबाइल खोसे । मेरो मोबाइल बचेको हुँदा सो मोबाइलबाट प्रहरीलाई खबर गर्यौँ र हामीलाई कोठामा थुनी बाहिरबाट चाबी लगाई गएका हुन् । कुटपिट गरी उँभो हेर्न नदिएकोले डाँकाको संख्या कति हो यकिन भएन । ६।७ जना डाँकाहरूले बैंक डकैत गरेका थिए । प्रहरीहरू आई ढोका खोल्न खोज्दा नखुलेर भित्र भएको मार्तेलले सिसा फुटाएर पियनलाई बाहिर निकाली अर्को चाबीले ढोका खोलेर प्रहरीले हामीलाई बाहिर निकालेको हो । प्रतिवादीहरू अमृत योङया लिम्बू र शेरबहादुर लिम्बू थिए थिएनन् मैले देखिन भन्ने बेहोराको देवीप्रसाद ढकालले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरवाला मुरारी पुडासैनी डि.भी. परी अमेरिका गएको, अनुसन्धानमा कागज गर्ने नरिमाया भन्ने सनमाया, याङखु डोल्मा र आइतमाया गुरूङ तेस्रो मुलुक पुनर्वास गएका कारण साक्षी गवाह फेला नपरेको भन्ने मुचुल्का मिसिल सामेल रहेको ।
मिसिल संलग्न कागजातहरूका आधारमा प्रतिवादीमध्येका शेरसिंह माझी र लुङ्गा माइलाको हकमा यकिन वतन खुली नआएको र प्रतिवादीमध्येका सुरेन लिम्बूको हकमा बेपत्ते म्याद तामेल भई हालसम्म यकिन वतन खुल्न नआएको हुँदा निजहरूको हकमा जिल्ला अदालत नियमावली, २०५२ को नियम १९(४) बमोजिम तामेलीमा राखिदिनू । प्रतिवादीमध्येका तारावीर राईको मिति २०६५।४।१ मा मृत्यु भइसकेकोले अपराधीसँगै अपराधको मृत्यु हुने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेत रहेको हुँदा प्रस्तुत वारदातका सम्बन्धमा निजको मृत्युसँगै दायित्व पनि समाप्त भइसकेकोले निजको हकमा केही गरिराख्नु परेन । प्रतिवादीहरू राम राई, वीरेन तामाङ, अक्कलसिंह तामाङ भुटानी शरणार्थी देखिएकाले निजहरूका हकमा केही गर्नु नपरी प्रतिवादी संदिप धिमाल, अमरा साइला भन्ने कुमार अमरा, गोविन्द दमाई, कान्छा भन्ने गोविन्द लिम्बू र भीम सुब्बा मौकादेखि हालसम्म फरार रहेको हुँदा निजहरूका हकमा अंश रोक्का मुचुल्का भएकोले अ.बं.१९० नं.बमोजिम मुल्तबीमा राखिदिनू । प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ र धनबहादुर भन्ने हर्कसिंह राईसमेतका प्रतिवादीहरू जमात भई बैंक डकैत गर्ने मनसाय लिई, योजना बनाई विभिन्न डर, त्रास देखाई वारदात स्थल बैंकमा रहेका कर्मचारी, सुरक्षा गार्ड र बैंक कष्टमरसमेतलाई नियन्त्रणमा लिई थुनी ढोका बन्द गरी चोरीको १ र ६ नं.अनुसारको कसुर गरेको देखिँदा निजहरूलाई ऐ. चोरीको १४(४) नं.बमोजिम जनही ६ वर्ष कैद र प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङलाई बरामद भएको बिगोको आधारमा ऐ.बमोजिम डेढी जरिवाना हुने देखिन्छ । प्रतिवादीमध्येका धनबहादुर भन्ने हर्कसिंह राईको हकमा बिगो बरामद नभएको हुँदा ऐनबमोजिम कैद मात्र हुने देखियो । प्रतिवादीहरू सेरबहादुर सावा, सुरेन्द्र लिम्बू, अमृत योङया लिम्बू र अशोक राईको कसुरमा संलग्नता रहेको तथ्य शंकारहित तवरबाट पुष्टि हुन नसकेको हुँदा सफाइ पाउने गरी सुरू झापा जिल्ला अदालतबाट मिति २०६८।१२।१६ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा फरार रहेका प्रतिवादी कुमार अमरालाई जिल्ला प्रहरी कार्यालय, झापाको मिति २०६९।५।१० को च.नं.२०८ को पत्रसाथ उपस्थित गराएको हुँदा प्रस्तुत मुद्दामा मिति २०६८।१२।१६ गतेको फैसलाले प्रतिवादी कुमार अमराको हकमा अ.बं.१९० नं.बमोजिम मुल्तबीमा रहेका हुँदा उक्त मुल्तबीबाट जगाई दिएको छ भन्ने बेहोराको झापा जिल्ला अदालतबाट मिति २०६९।५।१० मा भएको आदेश ।
म अन्य प्रतिवादीहरूलाई चिन्दिन । २०५७ सालमा सरकारी सशस्त्र प्रहरीमा जागिरे भई २०६२ सालमा जागिरबाट अवकाश पाएको छु । जागिरमा रहँदा उपदानसमेत पाएको छु । मैले मिति २०६५।१।२२ मा दमकको लक्ष्मी बैंक डाँका गरेको छैन, संकटकाल भएकाले त्यसबेला जागिर छोडेको हुँ । बैंक डकैती भएको मलाई थाहा भएन । बैंक डकैत भएको कुरा मलाई हातहतियार मुद्दामा पक्राउ गरेपछि बैंक पनि डाँका गरिस् भनी प्रहरीले भन्दा थाहा पाएको हुँ उक्त डकैत कार्यमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी अमरा साइला भन्ने कुमार अमरा “क्षेत्री” को सुरू झापा जिल्ला अदालतमा भएको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी अमरा साइला भन्ने कुमार अमरालाई मुलुकी ऐन, अ.ब.११८ नं. को देहाय ५।१० बमोजिम रू.२०,०००।– नगद धरौट वा सो बराबरको जेथा जमानतमा दिए लिई तारेखमा राख्नु भन्ने बेहोराको मिति २०६९।५।११ को सुरू झापा जिल्ला अदालतबाट भएको आदेश ।
मिति २०६५।१।२२ मा म नेपालमा छैन, भारत बैङ्गलोरमा थिएँ । उक्त दिन समयमा मैले लक्ष्मी बैंक डाँका गरेको छैन, अरू प्रतिवादीहरूले गरे गरेनन् मलाई थाहा छैन, बैंक डाँका वारदातमा मेरो संलग्नता छैन । बैंक डकैत भएको घटनामा मेरो नामको म्याद मेरो घर वतनमा आएकोले घरका परिवारले टेलिफोनमार्फत मलाई भारतमा जानकारी गराएको हुँदा नेपाल आउँदासमेत निवेदनसाथ हाजिर हुन आएको हुँ भन्ने बेहोराको प्रतिवादी वीरेन तामाङले सुरू झापा जिल्ला अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल वीरेन तामाङलाई मुलुकी ऐन, अ.ब.११८ नं. को देहाय १० नं.बमोजिम रू.२०,०००।– नगद धरौट वा सो बराबरको जेथा जमानतमा दिए लिई तारेखमा राख्नु भन्ने बेहोराको मिति २०६९।६।७ मा सुरू झापा जिल्ला अदालतबाट भएको आदेश ।
प्रतिवादी कुमार क्षेत्री बैंक डकैती गर्ने मानिस होइनन् । बैंक कसले डकैती गर्यो थाहा भएन । मिति २०६५।१।२२ गते यी प्रतिवादी काहाँ थिए मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी कुमार क्षेत्रीको साक्षी हेमसागर खतिवडाले सुरू अदालतमा गरेको बकपत्र ।
यसमा प्रतिवादीहरूले अदालतमा बयान गर्दा बैंक डकैतीको कसुरमा आफ्नो संलग्नता नरहेको भनी इन्कारी बयान गरेको पाइन्छ । मौकामा प्रतिवादीहरूको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला परेको देखिएन । अदालतसमक्ष बकपत्र गर्ने वादी पक्षका देवीप्रसादसमेतले यी प्रतिवादीहरूको घटनामा संलग्नता रहेको भन्ने उल्लेख गर्न सकेको देखिँदैन । समान प्रकृतिका प्रतिवादीहरूले प्रस्तुत मुद्दामा पूर्वफैसला हुँदा अभियोग कायम नभएकोसमेत हुँदा, यी प्रतिवादी कुमार अमरा भन्ने कुमार क्षेत्री र प्रतिवादी वीरेन तामाङ विरूद्धको अभियोग प्रमाणित हुन नसकेकाले अभियोग दाबीबाट सफाइ पाउने गरी झापा जिल्ला अदालतबाट मिति २०६९।९।३ मा भएको फैसला ।
प्रतिवादीहरूले लक्ष्मी बैंक लिमिटेड दमक शाखाबाट रू.७८,९०,००२।– नगद डकैती गरी लगेकोमध्ये रू.२४,५६,५२५।– पक्राउ परेका प्रतिवादीहरूबाट बरामद भएको भन्ने तथ्यलाई अदालतले स्वीकार गरेको अवस्था छ । बैंक कर्मचारीहरूसँग भएको ४ थान मोबाइलसेट डाँकाहरूले लुटी कब्जामा राखेको सप्रमाण पुष्टि भइरहेको छ । प्रतिवादीहरूको जमातले बैंक डकैती गर्ने मनसाय लिई योजना बनाई विभिन्न डर, त्रास देखाई बैंक कर्मचारीहरू, सुरक्षा गार्डसमेतलाई नियन्त्रणमा लिई डाँका चोरी गरी फरार रहेको भनी तथ्यलाई स्वीकार गरी ठहर भएका प्रतिवादीहरू राजु गुरूङसमेतलाई बरामद नगदको डेढी बढाई सजाय गरेकोमा समान हैसियतका प्रतिवादी हर्कसिंह राईलाई बरामद बिगोसम्म कायम नगर्ने गरी फैसला गरिएको
छ । सफाइ पाएका प्रतिवादीहरू शेरबहादुर साँवा, अमृत योङया लिम्बू, सुरेन्द्र लिम्बू र अशोक राईले मौकाको बयानमा कसुर अपराधमा साबित रही बयान गरेका छन् । उक्त वारदात घटित गराउन सामूहिक योजना र मत सल्लाहअनुसार आफ्नो कार्यको जिम्मेवारीसमेत लिई डाँका गराउन सक्रिय रही डाँका गरेको सम्पत्ति बाँडीचुँडी लिए खाएको साथै वारदातमा संलग्न सम्पूर्ण डाँकाहरूले नै उक्त अपराध गरेको भनी एकआपसमा पोल गरी मौकाको बयानमा साबित बयान लेखाएबाट उक्त बयानलाई अदालतसमक्ष अन्यथा भनी खण्डित गर्न नसकेबाट समेत सफाइ पाएका उल्लिखित प्रतिवादीहरूको समेत डाँका अपराधमा संलग्नता भएको सप्रमाण स्थापित भइरहेको अवस्थामा बिगोको हकमा दाबी पुग्न नसक्ने भनी गरिएको, प्रतिवादी हर्कसिंह राईको हकमा बिगो कायम नगरिएको र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी सुरू झापा जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी प्रत्यर्थीहरूलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेतको बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा दायर भएको पुनरावेदनपत्र ।
प्रतिवादीद्वय वीरेन तामाङ र कुमार अमरा कसुर वारदात घटाउनमा प्रत्यक्ष रूपमा संलग्न रही डाँका गरेको रकमसमेतको भागिदार बनेको तथ्यले पुष्टि गर्दछ । कसुरदार ठहरी सजाय भोगिरहेका प्रतिवादीहरू लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई, लक्ष्मण गुरूङले किटानीसाथ प्रतिवादीद्वय वीरेन तामाङ र कुमार अमराको कसुर वारदातमा प्रत्यक्ष संलग्नता रहेको भनी सहअभियुक्तको उपर पोल गरी बयान गरेका छन् । वादी पक्षका साक्षीको रूपमा बकपत्र गरिदिने वारदात घटनाका प्रत्यक्षदर्शी तथा पीडितसमेत रहेका देवीप्रसादसमेतले बकपत्र गर्दा प्रतिवादीहरूको नाम किटान गरेरै यिनीहरूको संलग्नता नरहेको भनी लेखाइदिएको अवस्था होइन । मुखमा मास्क लगाएर नचिनिने स्वरूपमा वारदात घटाउन गएका यी प्रतिवादीहरूलाई अनुसन्धानको सिलसिलामा सनाखत गराउन तत्काल फरार रहेका कारण सम्भव प्रतिवादी हर्कसिंह राईको भागको नगद लिई फरार भएका प्रतिवादी वीरेन तामाङको घर खानतलासी गर्ने अवस्था रहेको थिएन । घर खानतलासी भएका कुमार अमराको छाप्रोबाट दशीको रूपमा केही बरामद हुन नसकेको कुरालाई स्वतन्त्र प्रमाणको रूपमा गाह्य हुने प्रत्यक्ष प्रमाणहरूद्वारा यी प्रतिवादीको आरोपित कसुरमा संलग्नता पुष्टि भइरहेको अवस्थामा पनि आरोपित कसुरबाटै सफाइ पाउने आधारका रूपमा लिन मिल्दैन । दशीको सामान वा बिगो केवल बिगोको आधारमा ठहर हुन सक्ने जरिवानासम्मका लागि मात्र निर्णायक तत्त्व हुने हुँदा प्रतिवादीद्वयहरूलाई सफाइ दिने गरी झापा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण भएको हुँदा अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरू अशोक राई, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा, वीरेन तामाङ र कुमार अमरासमेतको घर खनतलासी गर्दा अपराधसँग सम्बन्धित दशी नगद बरामद भएको पाइएन । निजहरको वारदातमा संलग्नता देखाई कसैले सनाखतसमेत नगरेको र मिसिल संलग्न अन्य कागजातसमेतबाट निजहरू कसुरदार हुन् भन्न सकिने ठोस र अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको हुँदा निजहरूलाई सफाइ दिने गरी भएको फैसला मिलेकै देखियो । यस्तै अन्य प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.बि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई र अमृत योङयाले डाँका गरेको देखिँदा निज प्रतिवादीहरूलाई कसुरदार कायम गरी सजाय गर्नुपर्नेमा अमृत योङया लिम्बूलाई कसुरदार कायम नगरेको सुरू झापा जिल्ला अदालतको फैसला नमिलेकोले केही उल्टी भई निज प्रतिवादी अमृत योङयालाई मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. को कसुरमा ऐ.ऐ महलको १४(४) नं.बमोजिम ६ वर्ष कैद गर्ने गरी पुनरावेदन अदालत इलामबाट मिति २०७०।१२।२४ मा फैसला भएको देखियो ।
प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ र एल.वि भन्ने लालबहादुर गुरूङलाई जनही ६ वर्ष कैद र उनीहरूबाट बरामद बिगो क्रमश: रू.३१९,०००।-, रू.४,७१,०००।-, र रू.६५,०००।- को डेढी क्रमशः रू.४,७८,५००।-, रू. ७,०६,५००।- र रू.९७,५००- मात्र जरिवाना गरिएको छ भने अर्कोतर्फ फैसलामा बरामद भएको जम्मा बिगो रू.२४,५६,५२५।- डाँका भएको ठहर गरिएको छ । प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ र एल.वि. भन्ने लालबहादुर गुरूङ ३ जनालाई निजहरूबाट बरामद बिगोका आधारमा मात्र जरिवाना गरिएको छ । प्रतिवादीहरू धनबहादुर भन्ने हर्कसिंह राई र अमृत योङया लिम्बू २ जनालाई जरिवाना नगरिएको एवं प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा र अशोक राई ५ जनालाई सफाइ दिइएको हदसम्म पुनरावेदन अदालत इलामको मिति २०७०।१२।२४ को फैसला त्रुटिपूर्ण भएकोले सो फैसला सो हदसम्म बदर गरी अभियोग दाबीबमोजिम बिगो रू.७९,२०,००२।- डाँका भएको कायम गरी कसुर ठहर भएका प्रतिवादीहरूलाई सोही बिगोको डेढी जरिवाना गरिपाउन, सफाइ पाएका ५ जना प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी पाउन र बरामद हुन बाँकी नगद बिगो रू.५४,३३,४७७।- लक्ष्मी बैंक लिमिटेड दमक शाखालाई तथा मोबाइलबापतको बिगो रू.३०,०००।- बैंक कर्मचारीलाई प्रतिवादीहरूबाट भराइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
पुनरावेदन अदालत इलामबाट अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा साबिती रहेको भन्ने तथ्यलाई आधार लिई डाँका गरेको ठहर गरेको पाइन्छ । जबकि मैले झापा जिल्ला अदालतसमक्ष अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान स्वेच्छापूर्व नभई प्रहरीले जबरजस्ती तरिकाले गराएको र उक्त बयानमा भएको बेहोरा मेरो होइन, सहीछाप मेरो हो भनी बयान गरेको छु । मलाई प्रतिवादी एल.वि भन्ने लालबहादुर गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा शंकाको भरमा अभियोग लगाइएको छ । मेरो साथबाट रकम बरामद भएको छैन र मोटरसाइकल घटना घटेको दुई महिनापछि मात्र घरबाट फेला परेको छ । म ने.क.पा. माओवादीसँग आवद्ध भूमिगत अवस्थादेखिकै कार्यकर्ता भएको हुँदा मिति २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा सघाउनको लागि पाँचथर जिल्ला ओयाम गा.वि.स. वारेवुङ ४ आफ्नो स्थायी घर मिति २०६४।१२।७ गतेदेखि नै गएको थिएँ । उक्त मितिदेखि पार्टीको निर्देशनबमोजिम पार्टीलाई सघाउन पाँचथर गएकोमा संविधानसभा निर्वाचनमा पार्टीको पराजय भएको कारणले समिक्षाको लागि मिति २०६५।१।२२ गतेसम्म पार्टीको निर्देशनमा पाँचथरमा रही पार्टीको काम गरी बसी आएको थिएँ । मिति २०६५।१।२३ गते साँझ मात्र झापा जिल्ला दमक स्थित अस्थायी बसोबास रहेको ठाउँमा होटल व्यवसाय सञ्चालन गर्न आएको छु । मिति २०६५।१।२२ गतेको घटना हुँदाको म झापा जिल्लाको दमकमा रहेको छैन र सो कुरालाई अन्यथा हो भनी कुनै पनि चश्मदिद गवाहले भन्न नसकेको हुँदा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयानलाई आधार लिई गरिएको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदरभागी रहेको छ । पहिलो जाहेरी दरखास्तमा र झापा जिल्ला अदालतसमक्ष पेस भएको अभियोगपत्रमा समेत मेरो नाम समावेश भएको छैन, थिएन । म निर्दोष भएकोले आफू सहभागी नभएको अपराधमा डाँका जस्तो सङ्गीन फौजदारी अपराधमा डाँका गरेको कायम गर्ने गरी भएको फैसला त्रुटिपूर्ण एवं अन्यायिक भएकोले उल्टी गरी सुरू जिल्ला अदालत झापाको फैसला सदर कायम गरी न्याय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक अमृत योङया लिम्बूको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी अमृत योङया लिम्बूको साथबाट चोरीको सामान बरामद हुन नसकेकोले निजलाई चोरीको महलको १४(४) नं.बमोजिम ६ वर्ष कैद सजाय गरी जरिवाना नहुने ठहरी पुनरावेदन अदालतबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिंदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. प्रयोजनार्थ प्रतिवादी अमृत योङया लिम्बूको पुनरावेदनको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई र नेपाल सरकारको पुनरावेदनको जानकारी प्रतिवादी अमृत योङया लिम्बूलाई दिई अन्य प्रतिवादीहरूलाई झिकाई लगाउको ०७१-CR-०७२९ को मुद्दा साथै राखी नियमानुसार गरी पेस गर्नुहोला भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७५।२।२२ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनीले मिति २०६५।१।२२ मा लक्ष्मी बैंक शाखा कार्यालय दमकमा रू.७८,९०,००२।– डाँका भएको र बैंकका कर्मचारीहरूको बिगो रू.३०,०००।– बराबरको ४ थान मोबाइल सेटसमेत डाँका भएको हुँदा जम्मा बिगो रू.७९,२०,००२।– प्रतिवादीहरूबाट डाँका भएको
छ । प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ र एल.बि भन्ने लालबहादुर गुरूङलाई निजबाट बरामद बिगोको आधारमा जरिवाना गरिएको छ भने प्रतिवादीहरू धनबहादुर भन्ने हर्कसिंह र अमृत योङया लिम्बूलाई जरिवाना गरिएको छैन । प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राईलाई सफाइ दिने गरी भएको फैसला बदर गरी अभियोग दाबीबमोजिम बिगो रू.७९,२०,००२।–डाँका भएको कायम गरी कसुर गरेका प्रतिवादीहरूलाई सोही बिगोको डेढी जरिवाना, सफाइ पाएका प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय र बरामद हुन बाँकी नगद बिगो रू.५४,३३,४७७।– लक्ष्मी बैंक लि. दमक शाखालाई तथा मोबाइलको बिगो र.३०,०००।– बैंकका कर्मचारीहरूलाई प्रतिवादीहरूबाट भराइपाउँ भनी बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादी अमृत योङया लिम्बूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारीले वारदात भएपछि दिइएको पहिलो जाहेरी र अभियोगपत्रमा प्रतिवादी अमृत योङया लिम्बूको नाम समावेश नभएको अवस्थामा पछि पूरक अभियोगपत्रले मात्र अभियोग लगाइएको छ । घटना घटेको २ महिनापछि मात्र निजको मोटरसाइकल बरामद गरिएको छ भने डकैत भएको रकमसमेत निजबाट बरामद भएको स्थिति
छैन । यसरी प्रतिवादी अमृत योङया लिम्बू सामेल नभएको डाँकामा, डाँका गरेको भनी सजाय गर्ने गरी पुनरावेदन अदालत इलामबाट भएको फैसला उल्टी गरी सुरू झापा जिल्ला अदालतको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्य मिसिल संलग्न कागजात एवम् विद्वान् वरिष्ठ अधिवक्ता एवम् अधिवक्ता तथा उपन्यायाधिवक्ताले गर्नुभएको बहससमेतको सन्दर्भमा पुनरावेदन अदालत इलामबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र प्रतिवादी अमृत योङया लिम्बूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०६५।१।२२ गते झापा जिल्ला दमक शाखा कार्यालय रहेको लक्ष्मी बैंक लिमिटेडमा डकैती भएकोले प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई, राम राई, विरेन तामाङ, सुदिप धिमाल, शेर भन्ने शेरबहादुर साँवा लिम्बू, अमरा साइला भन्ने कुमार अमरा, गोविन्द दमाई नेपाली, गोविन्द लिम्बू, भिम सुब्बा, शेर सिंह माझी, सुरेन सुब्बा, सुरेन्द्र लिम्बू, तारावीर राई, लुङ्गा माइला, लालबहादुर गुरूङ, रघु भन्ने अमृत योङया लिम्बू, अकलसिंह तामाङ र अशोक राईसमेतको पूर्वयोजना सल्लाहमा नगद रू.७८,९०,००२।– र बैंक कर्मचारीको रू.३०,०००।– को मोबाइल थान-४ समेत डाँका गरी मुलुकी ऐन, चोरीको महलको १ र ६ नं.बमोजिम कसुर गरेकोले ऐ.ऐ. १४(४) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङलाई जनही ६ वर्ष कैद र निजहरूबाट बरामदित रकम क्रमश: रू.३,१९,०००।- रू.४,७१,०००।–, रू.६५,०००।– को डेढी जरिवाना र धनबहादुर भन्ने हर्कसिंह राईलाई छ वर्ष कैद, प्रतिवादीहरू सेरबहादुर सावा, सुरेन्द्र लिम्बू, अमृत योङया, अशोक राई, कुमार अमरा, विरेन तामाङले सफाइ तथा प्रतिवादीहरू रामप्रसाद राई, अक्कल सिंह तामाङ, सुदिप धिमाल, गोविन्द दमाई, गोबिन्द लिम्बू र भिम सुब्बा फरार रहेकाले निजहरूका हकमा मुलतबी रहने गरी झापा जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा पुनरावेदन परेकोमा अमृत योङयाको हकमा मात्र फैसला केही उल्टी भई निजलाई ६ वर्ष कैद र अरू प्रतिवादीको हकमा सुरू झापा जिल्ला अदालतको फैसला सदर गर्ने गरी मिति २०७०।१२।२४ मा फैसला भएकोमा उक्त फैसलाउपर चित्त नबुझेकाले अभियोग माग दाबीबमोजिम डाँका गरिएको रकम रू.७९,२०,००२।- को डेढी जरिवाना गरिपाउँ भनी वादी नेपाल सरकार र पुनरावेदन अदालत इलामको फैसला बदर गरी अभियोगबाट सफाइ पाउँ भनी प्रतिवादी अमृत योङया लिम्बूको यस अदालतमा पुनरावेदन परेको देखियो ।
३. मिति २०६५।१।२२ गते लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय दमकस्थित बैंकका कर्मचारीलाई नियन्त्रणमा लिई हतियारसमेत देखाई डर त्रासमा पारी भल्टसमेत खोल्न लगाई जम्मा रकम रू.७८,९०,००२।– डाँका गरेका हुँदा निजहरूलाई खोजतलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भनी बैंकका प्रबन्धक मुरारी पुडासैनीको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
४. प्रहरी टोलीले लक्ष्मण गुरूङको घरबाट रू.४,७१,०००।–, राजु गुरूङको घरबाट रू.३,१९,०००।–, गोविन्द नेपाली दमाईको घरबाट रू.२,५०,०००।–, भीम सुब्बाको ससुरा मानबहादुर बोहोराको घरबाट रू.११,४७,०००।– तथा अक्कलसिंह तामाङको घरबाट रू.२,०४,५२५।, सनमाया गुरूङको घरबाट रू.३५,०००।-, लालबहादुर गुरूङको दाजु बिर्खबहादुर गुरूङको घरबाट रू.३०,०००।– रूपैयाँसमेत गरी जम्मा रू.२४,५६,५२५।- खानतलासीबाट बरामद भएको देखिन्छ । उक्त बरामदित नगद बैंक डकैत गरी लगेको रकम हो भनी बैंकका प्रबन्धक मुरारी पुडासैनीले सनाखतसमेत गरेको पाइयो ।
५. प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङलाई जनही ६ वर्ष कैद र निजहरूबाट बरामदित रकम क्रमश: रू.३,१९,०००।-, रू.४,७१,०००।– रू.६५,०००।– को डेढी जरिवाना र धनबहादुर भन्ने हर्कसिंह राईलाई छ वर्ष कैद हुने गरी सुरू जिल्ला अदालतबाट भएको फैसलाउपर निजहरूले पुनरावेदन नगरी चित्त बुझाई बसेको देखिँदा निजहरूको कसुरमा संलग्नता रहेको भन्ने नै देखिन आयो ।
६. अब, पुनरावेदक प्रतिवादी अमृत योङया लिम्बूको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, निज प्रतिवादी अदालतसमक्ष कसुरमा इन्कारी रही बयान गरेको भए तापनि अनुसन्धान अधिकारीसमक्ष म होटल व्यवसाय सञ्चालक गर्ने मानिस भएकोले मेरो होटलमा लालबहादुर गुरूङसमेत आई बैंक डकैत गर्ने कुरा गरेको थिए । मिति २०६५।१।२२ का दिन लालबहादुर गुरूङ, लक्ष्मण गुरूङ, राजु गुरूङ, हर्क सिंह राई, सुदिप धिमालसमेतका मानिस आई नास्ता खाई बैंक डकैत गर्ने कुरा भएकोले सहयोग गरौंला भनेका
थिए । म बाटोमा बसी दायाँ बायाँ हेरिरहेको थिएँ, यस्तैमा केही समयपश्चात् लालबहादुर गुरूङ मेरोमा आएकोले जानको लागि मोटरसाइकलको व्यवस्था गरिदिएको थिएँ भनी बयान गरेको देखिन्छ । उक्त को.२ प ७०८९ नं. को मोटरसाइकल प्रतिवादी अमृत योङया लिम्बूको घरबाट बरामद भएको अवस्थासमेत छ । जसले निजको कसुरमा संलग्नता रहेको तथ्यलाई समर्थन गरेको अवस्था छ । यस स्थितिमा निजको अनुसन्धान अधिकारीसमक्ष भएको बयानलाई नजरअन्दाज गर्न मिल्ने अवस्था देखिएन । यसै सन्दर्भमा, कोशिला देवी महतो विरूद्ध नेपाल सरकार (ने.का.प २०७५, अङ्क ७, नि.नं. १००५९) भएको मुद्दामा “सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्वस्फूर्त रूपमा आरोपित कसुरसँग स्वभाविक सामाञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्न पर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने” भनी सिद्धान्त प्रतिपादित भएको छ । उक्त सिद्धान्त प्रस्तुत मुद्दामा समेत आकर्षित हुने देखियो ।
७. प्रतिवादी अमृत योङयाले वारदातको हुँदाको समयमा आफू पाँचथर जिल्लामा रहेकोले वारदातमा संलग्नता छैन भनी जिकिर लिएको देखिए तापनि निजले सो तथ्यलाई कुनै साक्षी तथा अन्य प्रमाणद्वारा निश्चयात्मक रूपमा प्रमाणित गर्न सकेको नदेखिँदा निजको उक्त अदालतसमक्ष अन्यस्थानमा छु भनी गरेको बयान प्रमाणयोग्य देखिएन । यसै सम्बन्धमा “कुनै अभियुक्तहरूले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी alibi को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्यस्थल alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिका विरूद्ध नै प्रमाण लाग्न जाने भनी चाल्स गरूमुख शोभराज विरूद्ध नेपाल सरकार (ने.का.प २०६७, अङ्क ५, नि.नं. ८३७८) भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि उक्त सिद्धान्त आकर्षण हुने नै देखिन्छ ।
८. सिद्धान्तत: कुनै पनि आपराधिक कार्य स्थापित हुन मनसाय र कार्य तत्त्वको आवश्यकता रहन्छ । कुनै पनि कार्यको पहिलेबाट परिणामको अन्दाज गरी सो परिणाम हासिल गर्ने काम गरिन्छ भने त्यस्तो कार्यलाई मनसायपूर्वक गरिएको कार्य मानिन्छ । बैंक डकैत जस्तो सङ्गठित अपराध गर्न दुई तीन व्यक्तिको मात्र मनसाय वा कार्यले सम्भव नहुने हुनाले यस्तो अपराध गर्नको निम्ति तीन जनाभन्दा बढी व्यक्तिको संलग्नता रही ती व्यक्तिहरूबिच कार्य विभाजन गरी सम्पन्न गर्ने हेतु राखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई र अमृत योङयाबिच लक्ष्मी बैंक डकैत गर्ने सम्बन्धमा पहिल्यै छलफल भई अमृत योङयाले पुलिसको निगरानी गर्ने र साथीहरूलाई सहयोग गर्ने गरी कार्य विभाजनसमेत भएको देखिन्छ । यसरी यी प्रतिवादीले बैंक डकैत गर्ने मनसाय लिई योजना बनाई योजनाअनुरूप मिति २०६५।१।२२ मा बैंक डकैत गर्ने कार्य गरेको
देखिन्छ । साथै प्रतिवादी अमृत योङया लिम्बूको घरबाट को.२ प ७०८९ नं. को मोटरसाइकल बरामद हुनु र उक्त बरामद भएको मोटरसाइकल नं. प्रतिवादी लालबहादुर गुरूङले बताएको मोटरसाइकलको नं. सँग मेल खानुले पनि यी प्रतिवादीहरूको उक्त वारदातमा संलग्नता थियो भन्ने प्रस्ट हुन आउँछ ।
९. मुलुकी ऐन, चोरीको महलको ६ नं. ले “चार जनाभन्दा बढ्ताको जमात भई जबरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको डाँका गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको
देखिन्छ । यस परिप्रेक्ष्यमा प्रतिवादी अमृत योङया लिम्बू अन्य प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, धनबहादुर गुरूङसमेतसँग मिली लक्ष्मी बैंकभित्र जबरजस्ती बैंकको गार्डलाई पेस्तोल तेर्स्याई बैंकभित्र प्रवेश गरेको देखिन्छ । यसरी निजहरू भित्र पसी सबै कर्मचारीहरूलाई नियन्त्रणमा लिई डर त्रासमा पारी कार्य विभाजनअनुसार बैंकमा भएको रकम लुटी गएको देखिँदा निज अमृत योङयाले उक्त कानूनी प्रावधानको उल्लङ्घन गरेको होइन भन्न मिल्ने देखिएन ।
१०. यसै सन्दर्भमा, चोरीको महलको १४ नं. मा “डाँका गर्नेलाई बिगोको डेढो जरिवाना गरी पहिलो पटकलाई ६ वर्ष, दोस्रो पटकलाई नौ वर्ष र तेस्रो पटकदेखिकालाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम यी प्रतिवादी अमृत योङयाले अन्य प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, लालबहादुर गुरूङ, हर्कसिंह राईसँगको मिलेमतोमा लक्ष्मी बैंक डकैत गरेको देखिँदा निजलाई ६ वर्ष कैद गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला कैदको हकमा मिलेकै देखिँदा अन्यथा मान्न सकिएन ।
११. अब प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राईलाई सफाइ दिने गरी पुनरावेदन अदालत इलामबाट भएको फैसला त्रुटिपूर्ण छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ तथा लक्ष्मण गुरूङले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा शेरबहादुर लिम्बू, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बूउपर पोल गरेको भए तापनि सहअभियुक्तले गरेको पोल पुष्टि हुनको निम्ति कुनै विश्वसनीय, ठोस एवं स्वतन्त्र प्रमाणको आवश्यक पर्दछ । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि यी प्रतिवादीहरूउपर लगाइएको पोल पुष्टि हुने कुनै आधार, प्रमाणहरू मिसिल संलग्न रहेको देखिँदैन ।
१२. प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी प्रावधानअनुसार वादी नेपाल सरकारले प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राईको कसुरमा संलग्नता छ भन्ने बेहोरा यथेष्ट प्रमाणको आधारमा प्रमाणित गर्न नसकेको हुँदा benefit of doubt goes to the accussed भन्ने सर्वमान्य सिद्धान्तसमेतको आधारमा प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राईसमेतको संलग्नतामा बैंक डकैत भएको भनी वादी पक्षले शंकारहित तवरबाट पुष्टि गर्न सकेकोसमेत देखिएन ।
१३. यसै सन्दर्भमा, “प्रमाणको भार शङ्कारहित तवरले दाबी पुष्टि गर्ने भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादीले कसुर गरेको कुरा वस्तुनिष्ठ रूपमा वादी पक्षले पुष्टि गर्न सकेको नदेखिँदा सहप्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानकै आधारमा कसुरदार ठहर्याउनु न्यायोचित नहुने ।” भनी विमलकुमार यादव विरूद्ध नेपाल सरकार (ने.का.प. २०७५, अङ्क-१२, नि.नं.१०१४९) भएको डाँका मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि यी प्रतिवादीहरूको साथबाट बैंकबाट लुटिएको रकम फेला परेको स्थिति छैन भने अर्कोतर्फ यी प्रतिवादीहरूको कसुरमा के-कसरी संलग्नता थियो भनी यकिन रूपमा खुलाउन सकेको नदेखिँदा निज प्रतिवादीहरूको कसुरमा संलग्नता थियो भनी मान्न मिल्ने अवस्था नदेखिँदा पुनरावेदन अदालत इलामबाट प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राईलाई सफाइ दिने गरी भएको फैसला सो हदसम्म मिलेकै देखियो ।
१४. अब वादी नेपाल सरकारको अभियोग दाबीबमोजिम बिगो रू.७९,२०,००२।- को डेढी जरिवाना गरिपाउँ भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ तथा फरार रहेका प्रतिवादीहरूको घर खानतलास गर्दा जम्मा रकम रू.२४,५६,५२८।– बरामद भएको भन्ने देखिन आयो । यस अवस्थामा उक्त बरामदित रकमबाहेक अभियोगमा उल्लिखित रकम कहाँ के-कस्तो अवस्थामा छ भनी अभियोजनकर्ताले अभियोगमा उल्लेख गर्न र सोको पुष्टि गर्न सकेको देखिएन । अभियोग दाबीबमोजिम दाबी प्रमाणित गर्ने भार वादी पक्षको हुने हुँदा सोको पुष्टि वादी पक्षले गर्न सकेको नदेखिँदा अभियोग दाबीबमोजिमको बिगो कायम गर्न मिल्ने अवस्था रहेन । यसै सन्दर्भमा “बरामद भएको बाहेक अरू रूपैयाँ प्रतिवादीहरूले कहाँ कुन ठाउँमा राखेका छन् भन्ने कुरा खुल्न आएको पाइँदैन । अदालतमा साबित भई बयान गर्ने प्रतिवादीहरूले र मौकामा प्रहरीसमक्ष गरेको साबिती बयानमा पनि बरामद भएको बिगो मात्र डाँका गरेको भन्ने उल्लेख गरेको देखिन्छ । बरामद भएको बाहेक अरू रकम प्रतिवादीहरूले खाई मासेको वा अरू कसैलाई दिएको भन्ने कुरा पनि पुष्टि हुने कुनै आधार प्रमाण भएको देखिएन । यस स्थितिमा बरामद भएभन्दा बढी रकम प्रतिवादीहरूले डाँका गरी लगेको मान्न नमिल्ने ।” भनी अन्सारी मियासमेत विरूद्ध नेपाल सरकार (ने.का.प २०६१, अङ्क-३, नि.नं.७३४८) भएको डाँका मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा पनि अभियोग दाबीमा उल्लिखित रू.७९,२०,००२।– नगद बैंक डकैत भएको भनी जिकिर लिए पनि उल्लिखित रकम कहाँ के कस्तो अवस्थामा छ भनी निश्चयात्मक रूपमा पुष्टि हुन नसकेकोले अभियोग दाबीमा उल्लिखित रकम बिगो कायम गर्नुभन्दा प्रतिवादीहरूबाट बरामदित रकम रू.२४,५६,५२८।– नै बिगो कायम गर्नु न्यायोचित हुन देखिन आयो ।
१५. जरिवानासम्बन्धी कानूनी व्यवस्थातर्फ हेर्दा, तत्काल प्रचलित मुलुकी ऐन, चोरीको महलको ६ नं. मा “चार जनाभन्दा बढ्ताको जमात भई जबरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको डाँका गरेको ठहर्छ ।” र ऐ. ऐनको १४ नं. मा “डाँका गर्नेलाई बिगोको डेढो जरिवाना गरी पहिलो पटकलाई ६ वर्ष, दोस्रो पटकलाई नौ वर्ष र तेस्रो पटकदेखिकालाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद गर्नुपर्छ ।” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङया लिम्बूको समूहले हुलहुज्जत गरी बैंकका कर्मचारीहरूलाई डर, धम्की देखाई बैंक डकैत गरेको भनी स-प्रमाण पुष्टि भइरहेको परिप्रेक्ष्यमा प्रतिवादीहरू धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङयाको साथबाट डकैत भएको रकम बरामद नहुनुले मात्र निजहरूलाई कानूनले निर्धारण गरेकोभन्दा कम सजाय गर्न मिल्ने देखिएन । बैंक डकैतजस्तो सङ्गठित अपराधमा सबै प्रतिवादीहरू उत्तिकै मात्रामा संलग्न रहने हुँदा सजाय निर्धारण गर्दा पनि निजहरूलाई निजहरूका साथबाट बरामद भएको रकमको आधारमा जरिवाना गर्नु विधायिकी मनसायविपरीत हुन जान्छ । यस स्थितिमा यी प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङयाको जमातले लक्ष्मी बैंकका कर्मचारीहरूलाई डर, धम्की देखाई बैंकबाट रू.२४,५६,५२८।– डकैत गरेको देखिँदा निजहरूलाई कुल बिगो रू.२४,५६,५२८।– को डेढी रू.३६,८४,७९२।– जनही जरिवाना गर्नुपर्ने देखिन्छ ।
१६. निज प्रतिवादीहरूले बैंक डकैतको कार्य गर्दा मुलुकी ऐन लागु भइरहेको अवस्थामा सोअन्तर्गत चोरीको महलमा भएको व्यवस्थाअनुसार जरिवाना गर्नुपर्ने भए तापनि हाल उक्त मुलुकी ऐनलाई प्रतिस्थापन गरी मुलुकी फौजदारी संहिता, २०७४ कार्यान्वयनमा रहेको अवस्था छ । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा हाल प्रचलित संहितामा भएको व्यवस्थालाई अनुशरण गर्नुपर्ने देखियो । मुलुकी अपराध संहिता, २०७४ को दफा २४४(२) मा कसैले देहायबमोजिमको चोरी गरेमा निजले डाँका गरेको मानिने छ भनी उक्त (२)(ख) मा “तत्कालै कसैको ज्यान लिने वा कसैलाई चोट पुर्याउने वा नियन्त्रणमा लिने डर त्रास देखाई वा आपराधिक लाभ लिई कुनै रकम वा आर्थिक लाभ प्राप्त गरेमा” भनी परिभाषा गरेको छ भने ऐ. को उपदफा (३) मा डाँका कसुर गर्ने व्यक्तिलाई हुने सजायको बारेमा सोको खण्ड (क) मा “उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसुर भए सात वर्षदेखि चौध वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँदेखि एक लाख चालिस हजार रूपैयाँसम्म जरिवाना” हुने कानूनी व्यवस्था रहेकोले केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) बमोजिम निज प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङया लिम्बूले बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई बैंक डकैत गरी आर्थिक लाभ लिने कसुर गरेको देखिँदा निज प्रतिवादीहरूलाई जनही रू.१,४०,०००।– का दरले सम्म जरिवाना गर्नुपर्ने देखियो ।
१७. प्रतिवादी अमृत योङया लिम्बूको अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिर र अन्य प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राई, धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.बि. भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई, अमरा साइला भन्ने कुमार अमरा, सरेन्द्र लिम्बू, रघु भन्ने अमृत योङया लिम्बू, अशोक राईलाई अभियोग दाबीबमोजिम कारबाही गरिपाउँ भन्ने हदसम्म वादी नेपाल सरकारको पुनरावेदन जिकिरका साथै विद्वान् उपन्यायाधिवक्ता तथा विद्वान् वरिष्ठ अधिवक्ताद्वय र अधिवक्ताको बहस जिकिरसँगसमेत सहमत हुन सकिएन ।
१८. अतः उल्लिखित तथ्य कानूनी व्यवस्था एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारबाट प्रतिवादीहरू वीरेन तामाङ, कुमार अमरा भन्ने कुमार क्षेत्री, सुरेन्द्र लिम्बू, शेरबहादुर साँवा लिम्बू र अशोक राईको बैंक डकैत गर्ने कार्यमा संलग्नता नदेखिएकोले निजहरूले सफाइ पाउने, प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङयाले मुलुकी ऐन, चोरीको महलको १ र ६ नं. को कसुर गरेको देखिँदा ऐ. महलको १४(४) नं.बमोजिम ६ वर्ष कैद गर्ने गरी पुनरावेदन अदालत इलामबाट भएको फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । जरिवानाको हकमा प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.बि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङयालाई चोरीको महलको १४(४) नं.बमोजिम जनही बरामदित बिगोको डेढी जरिवाना गर्नुपर्नेमा सो नगरी प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.बि भन्ने लालबहादुर गुरूङलाई मात्र निजहरूबाट बरामदित बिगोको आधारमा जरिवाना गर्ने गरी पुनरावेदन अदालत इलामबाट मिति २०७०।१२।२४ मा भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.बि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङयालाई चोरीको महलको १४(४) नं.बमोजिम बरामदित बिगो रू.२४,५६,५२८।– को डेढी रू.३६,८४,७९२।– जरिवाना हुन सक्नेमा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४४ को उपदफा (३) को देहाय खण्ड (क) बमोजिम निज प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ र मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्कसिंह राई तथा अमृत योङयालाई जनही रू.१,४०,०००।- (एक लाख चालिस हजार रूपैयाँ) जरिवाना हुने ठर्हछ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत इलामको मिति २०७०।१२।२४ को फैसला केही उल्टी भई प्रतिवादीहरू धनवीर भन्ने राजु गुरूङ, मिलन भन्ने लक्ष्मण गुरूङ, एल.वि भन्ने लालबहादुर गुरूङ, धनबहादुर भन्ने हर्क सिंह राई र अमृत योङया लिम्बूलाई मुलुकी ऐन, चोरीको महलको १४(४) नं.बमोजिम जनही ६ वर्ष कैद र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४४ को उपदफा (३) को देहाय खण्ड (क) बमोजिम जनही रू.१,४०,०००।- (एक लाख चालिस हजार रूपैयाँ) जरिवाना हुने ठहरेकोले सोहीबमोजिम निजहरूलाई लागेको कैद तथा जरिवाना असुलउपर गर्नु भनी सुरू झापा जिल्ला अदालतमा लेखी पठाउनू--------------१
प्रतिवादी अमृत योङया लिम्बूको हकमा निजलाई लागेको कैद वर्ष ६ मध्ये निज मिति २०६५।३।६ देखि मिति २०६५।४।१ सम्म हिरासतमा बसेको देखिँदा हिरासतमा बसेको दिन २५ कट्टा गरी बाँकी कैद ५ वर्ष ११ महिना ५ दिन हाल निज प्रतिवादी अमृत योङया लिम्बू बेरूजु रहेकोले लगत कसी असुलउपर गर्नु र निज प्रतिवादी अमृत योङया लिम्बूलाई लागेको जरिवाना रू.१,४०,०००।– को हकमा निजले यस अदालतमा पुनरावेदन दायर गर्दा मिति २०७१।९।१८ मा र. नं. २२९१ मार्फत रू.५४,०००।- धरौटी राखेको देखिँदा निज प्रतिवादीलाई लागेको जरिवाना सो धरौटीबाट कट्टा गरी बाँकी नपुग हुने जरिवाना रकम रू.८६,०००।– को लगत कसी असुलउपर गर्नु भनी सुरू झापा जिल्ला अदालतमा लेखी पठाउनू--------२
प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालय र प्रतिवादीहरूलाई दिनू---------------------------------------------------३
सरोकारवालाले नक्कल मागेमा नियमानुसार नक्कल उपलब्ध गराउनू--------------------------------------४
दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू--------------------------------------------५
उक्त रायमा सहमत छु ।
न्या.सुष्मालता माथेमा
इजलास अधिकृत:- श्रद्धा विष्ट
इति संवत् २०७७ साल फागुन १७ गते रोज २ शुभम् ।