निर्णय नं. १०७५४ - बैंकिङ कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७7।३।५
०७५-RB-०६३३
मुद्दाः बैंकिङ्ग कसूर
पुनरावेदक / वादी : रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं.७ बस्ने लक्ष्मण वि.क. समेतको जाहेरीले वादी नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला, सिलुवा ३ घर भई हाल रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं.७ बस्ने शंखराज गुरुङको छोरी तारा गुरुङ
§ चेक काटेर दिने र लिने बीचको व्यवहारमा चेक काटेर दिने पक्षको मनसाय कस्तो छ, दुर्भावनायुक्त छ, छैन; उसको उद्देश्य चेक लिने पक्षलाई नोक्सान पार्ने प्रवृत्तभावनाबाट प्रेरित थियो, थिएन र पीडितले नोक्सान व्यहोर्नु पर्यो, परेन जस्ता कुराहरू न्यायको रोहमा हेर्नु आवश्यक देखिन्छ।आर्थिक दायित्व (Economic liability) पुरा हुँदैमा फौजदारी दायित्व (Criminal liability) समाप्त हुँदैन भन्ने कुरालाई शतप्रतिशत अस्वीकार गर्न मिल्ने देखिंदैन तापनि इन्साफको रोहमा प्रतिवादीबाट विवादमा सम्बन्ध राख्ने विषयमा भएको व्यवहार, निजको उद्देश्य र सो अनुरूपको तैयारी, अर्कोलाई नोक्सानी पुर्याई आफूलाई फाइदा हुनेगरी काम कारवाही भएको हो वा होइन; भएको व्यवहारलाई समाधान गरिएको अवस्था के, कस्तो छ; त्यसतर्फ दृष्टि पुर्याउनु पनि आवश्यक हुन्छ।न्यायको अन्तिम लक्ष्य सजाय नै होइन।सजाय इन्साफको रोहमा सटिक र सर्वमान्य समेत देखिनुपर्ने र हुनुपर्ने।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्बान् उपन्याधिवक्ता श्री टेकराज भुसाल
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
§ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल
माननीय न्यायाधीश श्री गोकर्ण डाँगी
उच्च अदालत तुलसीपुर, बुटवल इजलास
फैसला
न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला पाल्पा, सिलुवा ३ घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ७ बस्ने शंखराज गुरुङको छोरी वर्ष २६ की तारा गुरुङले विभिन्न मितिमा सामानहरू र नगदसमेत लगेकी हुँदा निजसँग पैसा माग्दा मिति २०७४।११।२० गतेका दिन रु.५३,०००।– को चेक काटी दिएकी र उक्त चेक सम्बन्धित साट्नको लागि जाँदा बैंकले बाउन्स गरेको हुँदा निज तारा गुरुङलाई झिकाई आवश्यक कारवाही गरिपाउँ भन्ने बेहोराको हर्क कुँवरको निवेदन।
विगत १ महिना अगाडि तारा गुरुङले घरायसी कारोबार मिलाउनको लागि भनी नगद रु.५३,०००।– लिई गएकोमा उक्त रकम मैले पटक पटक फिर्ता माग्दा आलटाल गरी रहेकीमा मिति २०७४।१२।२० का दिन मलाई कुनै फरक पर्दैन भनी ग्लोवल आई.एम.ई. बैंकबाट भुक्तानी पाउने गरी ००२२८८५३३५ नं.को चेकबाट रु.५३,०००।–(त्रिपन्न हजार) पाउने गरी चेक काटी दिएकी हुँदा उक्त चेक लिई सम्बन्धित बैंकमा साट्नको लागि जाँदा निजको खातामा चेकमा उल्लेख भए जति रकम नभएकोले चेकसमेत बाउन्स गरिदिएको हुँदा उक्त रकम निजबाटै दिलाई भराई कारवाहीसमेत गरिपाउँ भन्ने बेहोरा हर्क कुँवरले दिएको जाहेरी दरखास्त।
विपक्षी तारा गुरुङले आफ्नो घरायसी कारोबार मिलाउनको लागि भनी मबाट नगद रु.३,२०,०००।– (तीन लाख वीस हजार) लिई गएकोमा तोकिएको मितिमा रकम फिर्ता नदिएपछि मैले पटक पटक उक्त रकम रकम फिर्ता माग्दा निज प्रतिवादीले मिति २०७५।२।८ गतेका दिन मलाई आफ्नो घरमा बोलाई ग्लोवल आई.एम.ई. बैंकबाट मैले भुक्तानी पाउने गरी रु.३,२०,०००।– को चेक काटी दिएकीमा मैले उक्त चेक साट्नको लागि सम्बन्धित बैंकमा जाँदा उक्त काटिएको चेकमा उल्लेख भए जति खातामा रकम नभएको भनी चेक बाउन्स गरिदिएको हुँदा उक्त मैले पाउनु पर्ने रकम निजबाटै दिलाई भराई निज प्रतिवादीलाई कारवाही गरिपाउँ भन्ने बेहोराको उत्तम मानन्धरले दिएको जाहेरी दरखास्त।
विपक्षी तारा गुरुङले आफ्नो घरायसी कारोवार मिलाउनको लागि भनी मबाट नगद रु.१,४१,०००।– (एक लाख एक्चालिस हजार) लिई गएकीमा आफैँले तोकेको समयमा उक्त रकम फिर्ता नदिएपछि मैले उक्त रकम पटक पटक फिर्ता माग्दा निजले विभिन्न बरबहाना बनाई फिर्ता नगरेकीमा मिति २०७५।१।१५ गतेका दिन निजसँग भेट हुँदा निजले मलाई दिनु पर्ने रकम रु.१,४१,०००।– को ग्लोवल आई.एम.ई. बैंकको चेक नम्बर ००२२८८५३३९ को चेक दिएकीमा उक्त चेक लिई सम्बन्धित बैंकमा साट्नको लागि जाँदा उक्त चेकमा उल्लेख भएजति खातामा रकम नभएको भनी सो चेकलाई बाउन्स गरी दिएको हुँदा मैले निजबाट पाउनु पर्ने रकम निजबाटै दिलाई भराई कारवाहीसमेत गरिपाउँ भन्ने बेहोराको लक्ष्मण वि.क.ले दिएको जाहेरी दरखास्त।
मैले हर्क कुँवरसँग रकम सरसापटी गर्दै आएकोमा पछिल्लो समयमा मैले निजबाट घर व्यवहार मिलाउनको लागि १ महिनाको भाखा राखी रु.५३,०००।– लिएकीमा तोकिएको समयमा मैले उक्त रकम दिन नसकेपछि मैले मिति २०७४।१२।२१ का दिन ग्लोवल आई.एम.ई. बैंकबाट हर्क कुँवरले भुक्तानी पाउने गरी रु.५३,०००।– को चेक काटी दिएकी थिए। मैले निजलाई दिनुपर्ने रकम बैंकमा जम्मा गर्न नसकेपछि निजले बारम्बार ताकेता गर्न थालेपछी मिति २०७५ सालको वैशाख महिनामा नगदै रु.३३,०००।– दिएकी हुँ। त्यसपछि निजसँग मैले काटेको चेक फिर्ता माग्दा फरक पर्दैन भनी आफैँले राखी बाँकी रकम माग्दा मैले दिन नसकी सोही चेक बैंकमा लगी बाउन्स गराई जाहेरी दिएका हुन्। अर्का जाहेरवाला उत्तम मानान्धरसँग पनि मैले रु.३ लाख ऋण लिएकीमा निजले उक्त रकम फिर्ता माग्दै आएकोमा मैले आलटाल गर्दै आइरहेकीमा निजले बारम्बार माग्दै आएको हुँदा मिति २०७५।२।८ गतेका दिन व्याजसमेत गरी ग्लोवल आई.एम.ई.बैंकबाट निजले भुक्तानी पाउने गरी रु.३,२०,०००।– को चेक काटी दिएकीमा सो चेक लिई उत्तम मानन्धर सम्बन्धित बैंकमा साट्नको लागि जाँदा उक्त मेरो खातामा काटिएको चेकमा जति रकम मौज्दात गर्न नसकेकी हुँदा सो चेक बाउन्स गरी म उपर किटानी जाहेरी दिएका र अर्का जाहेरवाला लक्ष्मण वि.क.बाट समेत कारोवार गर्दै आएकीमा निजबाट समेत मैले रु.१,४१,०००।– लिएकीमा मैले उक्त रकम समयमानै फिर्ता गर्न नसकेको हुँदा उक्त रकम जाहेरवालाले पटक पटक फिर्ता मागेको हुँदा मिति २०७५।१।१५ गतेका दिन ग्लोवल आई.एम.ई. बैंकबाट भुक्तानी पाउने गरी सो रकमको चेक काटी दिएकी र उक्त चेक साट्नको लागि बैंकमा जाँदा नसाटिई बाउन्स भएको हुँदा म उपर किटानी जाहेरी दिएको हुँदा मिति २०७५।३।२१ गतेका दिन पक्राउमा परेकी हुँ। मैले जाहेरवालाहरूलाई दिनु पर्ने रकम जाहेरवालाहरूले मलाई पटक पटक ताकेता गरी रहेको हुँदा खातामा उक्त चेक काटी दिएकी हुँ भन्ने बेहोराको प्रतिवादीको बयान कागज।
विपक्षी तारा गुरुङले घरायसी कारोवार मिलाउनको लागि भनी नगद रु.२,००,०००।– लिई गएकीमा तोकिएको मितिमा उक्त रकम फिर्ता नदिएकी र पटक पटक उक्त रकम फिर्ता माग्दासमेत विभिन्न वर वहाना बनाई उक्त रकम फिर्ता नदिएकीमा मिति २०७५।२।११ गतेका दिन रु.२,००,०००।– मैले ग्लोवल आई.एम.ई.बैंकमार्फत भुक्तानी पाउने गरी चेक काटी दिएकीमा उक्त चेक लिई म सम्बन्धित बैंकमा साट्नको लागि जाँदा चेकमा उल्लेख भएजति निजको खातामा रकम नभएको भनी बैंकले प्रमाणित गरिदिएको र निजले आफ्नो खातामा रकम छैन भन्ने थाहा जानकारी हुँदाहुँदै पनि चेक काटी दिएकी हुँदा उक्त रकम निजबाटै दिलाई भराई निज प्रतिवादीलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने बेहोरा संजय सिंहले दिएको जाहेरी दरखास्त।
मिति २०७५।३।२५गतेका दिन अधिकारप्राप्त अधिकारीसमक्ष बयान गराउँदा आफ्नो खातामा रकम नभएको जानकारी हुँदाहुँदै अन्य कोही कसैलाई चेक काटी दिएको छैन भनी खुलाए तापनि जाहेरवाला संजय सिंह र म बिचमा लेनदेन व्यवहार हुँदै आएकोमा मैले निजसँग रु. २,००,०००।– लिई मेरो घर व्यवहार मिलाएकीमा उक्त रकम फिर्ता माग्दा मैले उक्त रकम फिर्ता दिन नसकेकी हुँदा मैले निजलाई ग्लोवल आई आई.एम.ई. बैंकको चेक नं. ००२२८८५४७६ बाट भुक्तानी पाउने गरी रु.२,००,०००।– को चेक मिति २०७५।२।११ गतेका दिन काटी दिएकी हुँ भन्ने बेहोराको प्रतिवादी तारा गुरुङको ततिम्बा बयान कागज।
यसमा सम्पूर्ण जाहेरी दरखास्तका बेहोराहरू सुनाउँदा सुनी पाएँ। यसमा प्रतिवादी तारा गुरुङलाई पक्राउ गरेपछि घटनाको बारेमा थाहा जानकारी पाएको हुँ। निज प्रतिवादीले हर्क कुँवरलाई दिनुपर्ने रकम निजको नाममा रहेको ग्लोवल आई.एम.ई. बैंकमा भएको २७०७०१०००३७४३ नं. को खाताबाट भुक्तानी पाउने गरी रु.५३,०००।–, सोही बैंकबाट जाहेरवाला उत्तम मानान्धरले पाउने गरी मिति २०७५।२।८ गतेका दिन रु.३,२०,०००।–, लक्ष्मण वि.क.ले भुक्तानी पाउने गरी मिति २०७५।१।१५ गतेका दिन रु.१,४१,१००।–, को चेक, संजय सिंहले पाउनु पर्ने रकम रु.२,००,०००।– को चेक काटी दिएको र उक्त चेकहरू लिई जाहेरवालाहरू सम्बन्धित ग्लोवल आई.एम.ई. बैंकमा साट्नको लागि जाँदा उक्त खातामा चेकहरूमा उल्लेख भएजति रकम मौज्दात छैन भनी उक्त चेकहरूलाई बाउन्स गरी दिएको भन्ने थाहा पाएको हुँ। निज प्रतिवादीले हर्क कुँवर समेतका जाहेरवालाहरूलाई आफ्नो खातामा प्रयाप्त मात्रामा रकम छैन भन्ने कुरा थाहा हुँदाहुँदै झुक्याई भ्रममा पारी दिनुपर्ने रकमको चेक काटि दिई बैकिङ्ग कसूर सम्बन्धी अपराध गरेको हुँदा निज प्रतिवादीलाई कारवाही गरिपाउँ भन्ने बेहोराको निलमकुमार श्रेष्ठ समेतको वस्तुस्थिती मुचुल्काको बेहोरा।
प्रतिवादी तारा गुरुङ आफ्नो ग्लोबल आई.एम.ई. बैंकको खातामा भुक्तानी दिने पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवालाहरू हर्क कुँवरको रु.५३,०००।–, उत्तम मानन्धरको रु.३,२०,२००।–, लक्ष्मण वि.क.को रु.१,४१,०००।–, र संजय सिंहको रु.२,०००००।– का चेकहरू काटी दिएकी र उक्त चेकहरू खातामा पर्याप्त रकम नभएकोले सटही हुन नसकी बाउन्स भई प्रतिवादी तारा गुरुङले बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिमको कसूर अपराध गरेको देखिँदा उक्त कसूर गरेकोमा निज प्रतिवादी तारा गुरुङलाई उक्त ऐनको दफा १५(१) बमोजिम सबै जाहेरवालाहरूको गरी जम्मा विगो रु.७,१४,०००।– कायम गरी सजाय हुन र जाहेरवाला हर्क कुँवरलाई रु.५३,०००।– उत्तम मानन्धरलाई रु.३,२०,०००।-, लक्ष्मण वि.क.लाई रु.१,४१,०००।– र संजय सिंहलाई रु.२,०००००।– उक्त ऐनको दफा १५(१) बमोजिम प्रतिवादीबाट जाहेरवालाहरूलाई भराई पाउ भन्नेसमेत बेहोराको अभियोग दावी।
मेरो ग्लोबल आई.एम.ई.बैंकको खाता नं.1707010003743 को मेरो खाताबाट विभिन्न मितिमा मैले चेक काटी दिएको हो यसमध्ये हर्क कुँवरलाई रु.५३,०००।–को चेक दिएकीमा रु.३३,०००।– दिइसकेकी छु संजय सिंहलाई रु.२,००,०००।–को चेक दिएकीमा रु.१,५०,०००।–दिइसकेकी छु उत्तम मानन्धरलाई रु.३,२०,०००।–चेक दिएकोमा रु.२०,०००।– व्याज हो।लक्ष्मण बि.क.लाई रु.१,४१,०००।–को चेक दिएकी थिए।उत्तम मानन्धर र लक्ष्मण बि.क.लाई पुरै रकम दिन बाँकी छ।जम्मा रकम रु.७,१४,०००।– मध्ये मैले रु.१,८३,०००।– बुझाई सकेकी र बाँकी रु.५,३१,०००।–तिर्न बुझाउन बाँकी छ सो रकम तिर्न बुझाउन तयार छु मैले केही रकम जाहेरवालालाई तिरी सकेको हुँदा प्रहरीमा सो कुरा बताउँदा पनि मेरो कुरा नसुनी मलाई जबरजस्ती बेहोरा नसुनाई सही गराएका हुन जाहेरवालासग केही बढी रकमको चेक काटिएको हुँदा सो चेक फिर्ता गर्नुहोस भनी भन्दा केही फरक पर्दैन भनी जाहेरवालाले भन्नु भएकोहो। मैले जाहेरवालाई झुक्याउन चेक काटिदिएको होइन तिर्न बुझाउन पर्ने रकम जाहेरवालालाई दिन तयार छु मैले अभियोग दावी बमोजिमको कसूर अपराध नगरेको हुँदा अभियोग दावीबमोजिम सजाय हुनु पर्ने होईन भन्नेसमेत बेहोराको प्रतिवादी तारा गुरुङको बयान।
प्रतिवादी तारा गुरुङबाट रु.७,१४,०००।–नगद वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेण्टी दिए लिई निजलाई तारेखमा राखी सो दिन नसके कारागार कार्यालय, रुपन्देहीमा थुनामा राख्नू भन्नेसमेत बेहोराको मिति २०७५।४।१६ को यस अदालतको आदेशानुसार र नं.११ बाट मिति २०७५।४।१६ मा रु. ७,१४,०००।–नगद धरौट राखी मुद्दा पुर्पक्षको प्रतिवादी लागि तारेखमा रहेको।
यी प्रतिवादीले जाहेरवालासग लिएको खाएको रकम हाल तिरी सकेको हुनाले उनले बैंकिङ्ग कसूरको अपराधमा सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी बलवहादुर गुरुङको बकपत्र।
जाहेरवाला उत्तम मानन्धर, जाहेरवाला लक्ष्मण वि.क.,जाहेरवाला हर्क कुँवर,जाहेरवाला संजय सिंहसमेतले आफूहरूले जाहेरी अनुसारको प्रतिवादी तारा गुरुङबाट हामीहरूले पाउनुपर्ने चेकबापतको सम्पूर्ण रकम प्राप्त गरिसकेको छौ भन्नेसमेत बेहोराको जाहेरवालाहरूले अदालतमा गरेको बकपत्र।
मिसिल संलग्न चेकहरू ग्लोबल आई.एम.ई.बैंकमा भुक्तानीका लागि पेश भएका हुन् होइनन्? पेश भएका भए भुक्तानी हुन नसक्नुको कारण के हो? सोको स्पष्ट जवाफ र सो सम्बन्धी कुनै अभिलेख भए सोको प्रमाणित उतार ग्लोबल आई.एम.ई.बाट झिकाउनु भन्ने आदेशानुसार उक्त खातामा पर्याप्त रकम मौज्दात नभएको कारण सो चेकहरू भुक्तानी हुन नसकेको भन्नेसमेत बेहोराको च.नं.१८७ पत्रसंख्या COMPD-cu/२०७५/२०७६ मिति 2075/6/1४ को पत्रबाट ग्लोबल आई.एम.ई.बैंकको जवाफ प्राप्त भई मिसिल सामेल रहेको।
जाहेरवालाहरूले चेक बमोजिमको रकम प्राप्त नगरेको भनी किटानी जाहेरी दिए तापनि यस अदालतमा बकपत्र गर्दा आफूले पाउनुपर्ने सम्पूर्ण रकम पाइसकेको भनी उल्लेख गरी अभियोग मागदावी बमोजिमको विगो रकमको अस्तित्व नै कायम नरहने गरी बकपत्र गरिदिएको अवस्थामा विगो बमोजिमको कसूर कायम हुन सक्ने स्थिति नहुने हुँदा निज प्रतिवादीउपर लगाइएको अभियोग दावी स्थापित हुन नसकेको परिस्थिती रहेभएकोले प्रतिवादीबाट विगो भराई अभियोग दावीबमोजिमको सजाय गर्नुपर्ने अवस्था देखिएन।तसर्थ, माथि प्रकरणमा विवेचना गरिएबमोजिम प्रतिवादी तारा गुरुङबाट आफूले पाउनुपर्ने रकम पाइसकेको भनी जाहेरवालाहरूले बकपत्र गरेको देखिँदा बैकिङ कसूर तथा सजाय ऐन, 2064 को दफा ३ को कसूर स्थापित हुन नसकेको हुँदा प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५।७।१८ मा भएको फैसला।
प्रतिवादी तारा गुरुङले घरायसी कारोवार मिलाउनका लागि हर्क कुँवरबाट रु.५३,०००।-, उत्तम मानन्धरबाट रु.३,२०,०००।-, लक्ष्मण वि.क.बाट रु.१,४१,०००।-, संजय सिंहबाट रु.२,००,०००।– लिएकोमा पटक पटक माग गर्दा उक्त रकम फिर्ता नदिएको र ग्लोबल आई.एम.ई. बैंकमार्फत भुक्तानी पाउने गरी क्रमशः मिति २०७५।१२।२० मा हर्क गुरुङलाई रु.५,२००।– को, मिति २०७५।२।८ मा उत्तम मानन्धरलाई रु.३,२०,०००।– को, मिति २०७५।१।५ मा लक्ष्मण वि.क. र मिति २०७५।२।११ गतेका दिन संजय सिंहलाई रु.२,००,०००।– लाखको चेक काटी दिएकोमा उक्त चेक लिई बैंकमा भुक्तानीको लागि जाँदा चेकमा उल्लेख भए जतिको रकम निजको खातामा नभएको भनी बैंकले चेक बाउन्स गरिदिएको र निजले आफ्नो खातामा रकम नभएको थाहा जानकारी हुँदाहुँदै पनि चेक बाउन्स गरिदिएको र निजले आफ्नो खातामा रकम नभएको थाहा जानकारी हुँदाहुँदै पनि चेक काटी दिएको भनी जाहेरवालाहरुले दिएको जाहेरी बेहोरालाई स्वीकार गरी प्रतिवादीले मौकामा बयान गरेको देखिन्छ। निज प्रतिवादीको उक्त कार्य बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ को खण्ड (ग) बमोजिमको कसूर गरेको भन्ने मिसिल संलग्न प्रमाणहरूबाट देख्दा देख्दै आरोपित कसूरबाट सफाइ दिने ठहर्याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट फैसला भएको छ।
प्रतिवादीबाट जाहेरवालाहरूले पाउनु पर्ने रकम पाइसकेको भनी प्रतिवादीलाई कसूरबाट सफाइ दिइएकोमा विगो असूलउपर हुँदैमा फौजदारी कसूरबाट उन्मुक्ति पाउन नसकिने अर्थात Economic liability पूरा हुँदैमा Criminal Liability समाप्त नहुने र विगो असूल भइसकेको भन्ने आधारलाई निरपेक्ष्यरूपमा लिई कसूर हुन नसक्ने भन्ने न्यायिक निष्कर्षमा पुग्न नमिल्ने हुँदा फौजदारी न्यायको मान्य सिद्धान्त समेतका आधारमा कसूर भइसकेपछिको वैयक्तिक मिलन वा पुनर्स्थापन वा परिपूरणले कसूरको परिभाषामा तात्विक अन्तर नल्याउने भई यस्तो अवस्थामा विगो असूलीसम्म गर्न नपर्ने तर ऐन अनुसार कसूर ठहरेको अवस्थामा सम्बन्धित विगोबमोजिम जरिवानासहित ऐन अनुसार हुन सक्ने कैद सजाय हुनुपर्ने हुन्छ। अतः माथि उल्लिखित आधार कारणबाट प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी अभियोग दावी बमोजिम प्रतिवादी तारा गुरूङ्गलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन।
ठहर खण्ड
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट विद्बान् उपन्याधिवक्ता श्री टेकराज भुसालले प्रतिवादीले आफ्नो खातामा प्रयाप्त रकम नरहेको भन्ने जानी जानी चेक काटी जाहेरवालाहरुलाई दिएको स्वीकार गरेकोले अवस्थामा प्रतिवादीले अभियोग दावी बमोजिमको कसूर गरेको पुष्टि भएको अवस्थामा प्रतिवादीलाई अभियोग मागदाबीबाट सफाई दिने गरी भएको फैसला नमिलेको हुँदा उल्टी गरी प्रतिवादीलाई अभियोग मागदाबी बमोजिम सजाय गरिपाउँने प्रयोजनार्थ प्रत्यर्थी झिकाई पाउँ भनी गर्नु भएको बहससमेत सुनियो।
प्रतिवादी तारा गुरुङले आफ्नो ग्लोवल आई.एम.ई. बैंकको खातामा भुक्तानी दिने पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवालाहरू हर्क कुँवरको रु.५३,०००।-, उत्तम मानन्धरको रु.३,२०,०००।-, लक्ष्मण वि.क.को रु.१,४१,०००।– र संजय सिंहको रु.२,००,०००।– का चेकहरू काटिदिएकी र उक्त चेकहरू खातामा पर्याप्त रकम नभएकोले सटही हुन नसकी बाउन्स भई प्रतिवादी तारा गुरुङले बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिमको कसूर अपराध गरेको देखिँदा उक्त कसूर गरेकोमा निज प्रतिवादी तारा गुरुङलाई सोही ऐनको दफा १५(१) बमोजिम जाहेरवालाहरूको जम्मा विगो रु.७,१४,०००।– कायम भएकोले सोही बमोजिम सजाय हुन र जाहेरवाला हर्क कुँवरलाई रु.५३,०००।-, उत्तम मानन्धरलाई रु.३,२०,०००।–, लक्ष्मण वि.क.लाई रु.१,४१,०००।– र संजय सिंहलाई रु.२,००,०००।– सोही ऐनको दफा १५(१) बमोजिम प्रतिवादीबाट भराई दिन भनी प्रतिवादी तारा गुरुङउपर बैंकिङ्ग कसूरको अभियोग दावी रहेको प्रस्तुत मुद्दामा जाहेरवालाहरूले अदालतमा बकपत्र गर्दा आफूले पाउनुपर्ने सम्पूर्ण रकम पाइसकेको भनी उल्लेख गरी अभियोग मागदावी बमोजिमको विगो रकमको अस्तित्व नै कायम नरहने गरी बकपत्र गरिदिएको अवस्था भएकोले विगो बमोजिमको कसूर कायम हुन सक्ने स्थिती नहुने हुँदा निज प्रतिवादी उपर लगाइएको अभियोग दावी स्थापित हुन नसकेको परिस्थिती रहे भएकोले प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर गरी भएको फैसला उपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट प्रतिवादी तारा गुरुङलाई अभियोग मागदाबी बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो।
उपरोक्तानुसारको तथ्य बेहोरा रहेको प्रस्तुत मुद्दामा विद्वान् उपन्यायाधिवक्ताको बहससमेत सुनी पुनरावेदनपत्र सहितको मिसिल अध्ययन गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ, छैन? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? भन्ने सम्बन्धमा प्रस्तुत मिसिलबाट निर्णय गर्नुपर्ने देखिन आयो।
२. निर्णयतर्फ विचार गर्दा जाहेरवालाहरु हर्क कुँवरसमेत जना चारले अलग-अलग दिएको जाहेरी दरखास्तको आधारमा प्रस्तुत विवादको उठान भएको र प्रतिवादीले काटिदिएको चेकमा उल्लेख भएको रकम धारकले खातामा रुपैयाँ नभएको कारणले भुक्तानी पाउन नसकी प्रतिवादीबाट खिचिएका ती चेकहरू बाउन्स भएको कारणले प्रतिवादी तारा गुरुङले अभियोग मागदाबी बमोजिमको कसूर गरेको भन्ने नै विवादको मुख्य बिन्दु रहेको देखिन्छ।
३. प्रतिवादी तारा गुरुङले अदालतमा बयान गर्दा समेत आफूले चेक काटेर जाहेरवालालाई दिएको कुरालाई स्वीकार गर्दै बयानको स.ज.७ मा जाहेरवालाहरूबाट रकम लिएको र उनीहरूको रकम मध्ये केही दिई केही बाँकी रहेकै हो। रकम दिएपछि मैले उनीहरूलाई काटेर दिएको चेक फिर्ता माग्दा बाँकी पैसा दिएपछि फिर्ता दिन्छु भनेका थिए। बाँकी रकम तिर्न बुझाउन म मञ्जुर नै छु भन्नेसमेतको बेहोरा उल्लेख गरी लेखाएको पाइन्छ। यसबाट के देखिन्छ भने आफ्नो खातामा नगद हुनेले अर्कोसँग ऋण लिनुपर्ने अवस्था पर्दैन। प्रतिवादीले जाहेरवालासँग नगद लिएको र सो वापतमा निजले बयान गर्दा लेखाए जस्तो ऋण लिएको रकम चुक्ता गरेपछि चेक फिर्ता दिने सर्त कवुल अनुसार चेक काटेर दिने प्रतिवादी र चेक काटेर लिने चेकवाला धारक जाहेरवाला बीच भएको व्यवहार समझदारीबाट भएको भन्ने देखिन आएको छ। किनकी बाँकी पैसा फिर्ता गरेमा मात्र चेक फिर्ता गर्ने गरी प्रतिवादी र जाहेरवाला बीच वार्ता भएको भनी प्रतिवादीले आफ्नो बयानमा समेत लेखाएको देखिएबाट सो कुरा प्रष्ट भएको पाइन्छ।
४. यसका साथै जाहेरवालाहरू उत्तम मानन्धर, संजय सिंह, हर्क कुँवर र लक्ष्मण वि.क.ले प्रतिवादी तारा गुरुङबाट चेकवापतको रकम आफूहरूले सबै पाइसकेको भनी बकपत्र गर्दा लेखाएको बेहोरासमेतबाट जाहेरवाला र प्रतिवादी बीचको समझदारीलाई पुष्टि हुन थप मद्दत गरेको देखिन्छ।
५. बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा “कसैले पनि आफ्नो खातामा रकम नभएको भनी जान्दाजान्दै चेक काटिदिनु हुँदैन” भनी व्यवस्था भएको पाइन्छ। माथि विवेचना भएबमोजिम लिने र दिनेको समझदारीमा चेक लिनेदिने काम भएको हो कि भन्ने जस्तो देखिन आएको र नियतवश धारक अर्थात जस्का नाममा चेक खिचेर दिइएको हो, उसलाई झुक्याउने नोक्सान पार्ने भन्ने आचरण र काम प्रतिवादी पक्षबाट भए गरेको भन्ने पनि देखिंदैन। एकपक्षले अर्को पक्षलाई दायित्व निर्वाह गर्ने क्रममा एकआपसमा हुने लिनुदिनुको यस्तो प्रक्रियामा दिनेले लिनेलाई नोक्सान पार्ने झुक्याउने र आफूले फाइदा लिने उद्देश्यबाट प्रेरित भई मनसायपूर्वक नियतवश कार्य गरेको देखिनु आवश्यक पर्दछ। कसूर कायम हुनलाई ती उल्लिखित तत्वहरू आवश्यक हुन्छन्। बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानी जानी चेक काटी दिनु हुदैन भन्ने व्यवस्था भई ऐनकै दफा १५(१) मा कसैले दफा ३ बमोजिमको कुनै कसूर गरेमा विगो खुलेकोमा विगो भराई विगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने भन्नेसमेतको व्यवस्था रहेको पाइन्छ। तर प्रस्तुत मिसिलको सन्दर्भमा हेर्दा प्रतिवादीबाट पाउनुपर्ने रकम पाइसकेको भनी जाहेरवाला सबैले स्पष्ट बकपत्र गरिदिएको स्थितिले प्रतिवादीको कार्य व्यवहारले जसलाई मर्का परेको भनी भनिएको हो स्वयं उनीहरूले आफ्नो पाउनुपर्ने रकम पाइसकेको भनी बकपत्र गर्दा लेखाएको बेहोरा समेतबाट विगोको कुरा सुल्झिसकेको भन्ने देखिँदा ऐनमा प्रयुक्त विगो भराइ विगोबमोजिम जरिवानाको अवस्था प्रस्तुत मिसिलमा श्रृजना भएको पाइएन।
६. बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को उद्देश्यको बारेमा हेर्दा बैंकिङ्ग तथा वित्तीय प्रणालीको कारोवारमा हुन सक्ने कसूरजन्य कार्यबाट बैकिङ्ग तथा वित्तीय प्रणालीमा पर्ने असर र जोखिमलाई न्यून गरी बैंकिङ्ग तथा वित्तीय प्रणाली प्रति विश्वसनीयता अभिवृद्धि गर्न रहेको भन्ने ऐनको प्रस्तावनाबाट देखिन्छ। जहाँसम्म Economic liability पूरा हुँदैमा Criminal liability समाप्त हुने होइन भन्ने प्रश्न उठाइएको हो सो सम्बन्धमा माथी केही चर्चा भइसकेको स्थिति हुँदाहुँदै पनि पहिलो कुरा त चेक काटेर दिने र लिने बीचको यस्तो व्यवहारमा चेक काटेर दिने पक्षको मनसाय कस्तो छ, दुर्भावनायुक्त छ, छैन? उसको उद्देश्य चेक लिने पक्षलाई नोक्सान पार्ने प्रवृत्तभावनाबाट प्रेरित थियो, थिएन? र पीडितले नोक्सान व्यहोर्नु पर्यो, परेन? जस्ता कुराहरू न्यायको रोहमा हेर्नु आवश्यक देखिन्छ । Economic liability पुरा हुँदैमा Criminal liability समाप्त हुँदैन भन्ने कुरालाई शतप्रतिशत अस्वीकार गर्न मिल्ने देखिंदैन तापनि इन्साफको रोहमा प्रतिवादीबाट विवादमा सम्बन्ध राख्ने विषयमा भएको व्यवहार, निजको उद्देश्य र सो अनुरूपको तैयारी, अर्कोलाई नोक्सानी पुर्याई आफूलाई फाइदा हुनेगरी काम कारवाही भएको हो वा होइन? भएको व्यवहारलाई समाधान गरिएको अवस्था के, कस्तो छ? त्यसतर्फ दृष्टि पुर्याउनु पनि आवश्यक हुन्छ।न्यायको अन्तिम लक्ष्य सजाय नै होइन।सजाय इन्साफको रोहमा सटिक र सर्वमान्य समेत देखिनुपर्दछ र हुनुपर्दछ।यसै सन्दर्भमा M/S. Meters and Instruments Private Limited vs Kanchan Mehta”(Supreme Court of India, Criminal Appeal no. 1731 of 2017) को मुद्दामा चेक बाउन्सको सम्बन्धमा भारतको सर्वोच्च अदालतबाट “The court has to balance the rights of the complainant and the accused and also to enhance access to justice. Basic object of the law is to enhance creditability of the cheque transactions by providing speedy remedy to the complainant without intending to punish the drawer of the cheque whose conduct is reasonable or where compensation to the complainant meets the ends of justice” भनी व्यक्त गरेको न्यायिक अवधारणा, यसका अतिरिक्त चेक बाउन्स सम्बन्धी Damodar S. Prabhu vs Sayed Babalal H 2010(5) SCC 663.(Supreme Court of India, Criminal Appeal no. 963 of 2010) मुद्दामा भारतको सर्वोच्च अदालतबाट नै In a recently published commentary, the following observations have been made with regard to the offence punishable under Section 138 of the Act [Cited from: Arun Mohan, Some thoughts towards law reforms on the topic of Section 138, Negotiable Instruments Act-Tackling an avalanche of cases (New Delhi: Universal Law Publishing Co. Pvt. Ltd., 2009) at p. 5] : ...Unlike that for other forms of crime, the punishment here [in so far as the complainant is concerned] is not a means of seeking retribution, but is more a means to ensure payment of money. The complainant's interest lies primarily in recovering the money rather than seeing the drawer of the cheque in jail.….majority of cheque bounce cases are indeed being compromised or settled by way of compounding, albeit during the later stages of litigation thereby contributing to undue delay in justice delivery. भनी आफ्नो निर्णायक धारणा व्यक्त गरेको पाइन्छ।यसरी अन्यत्र मुलुकमा व्यक्त भएका माथि उल्लेखित न्यायिक अवधारणा एवं विचारले न्याय दिने र दिलाउने सन्दर्भमा एउटा कडीको भूमिका निर्वाह गर्ने कुरालाई बिर्सन मिल्ने नदेखिदा सो को उल्लेखनमा द्विविद्या हुनुपर्ने पनि देखिदैन।साथै प्रस्तुत मुद्दाको प्रकृतिबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७(२) मा भएको कानूनी व्यवस्था अनुसार मिलापत्र हुन सक्ने कुरा न्यायको रोहमा विचारणीय समेत देखिन्छ।
७. यस्तो प्रकृतिको विवादमा पीडितको मुख्य उद्देश्य आफ्नो रकम फिर्ता पाउने नै रहेको हुन्छ।पीडितले पाउनुपर्ने रकम पाइसकेपछि पनि स्वयं पीडितको भनाई र प्रतिवादीबाट देखाइएको शुद्ध आचरण समेतबाट थप सजाय दिनु न्यायको रोहमा त्यो प्रश्न गम्भिर बन्न सक्छ।जाहेरवालाहरुले प्रतिवादीबाट आफूहरुले पाउनुपर्ने रकम पाइसक्यौ भनी भनेका र प्रतिवादीले पनि व्यवहार भएको कुरालाई स्वीकार गर्दै जाहेरवालाहरुलाई तिर्नु बुझाउनु पर्ने रकम तिरी बुझाइसकेपछि चेक बढीको काटिएछ सो चेक फिर्ता दिनुहोस् भन्दा किन हो जाहेरवालाहरुले काटिएको उक्त चेक फिर्ता नदिएको भनी बकपत्र गर्दासमेत लेखाएको अवस्था एवं जाहेरवालाहरुले अदालतमा उपस्थिति मै आआफूले पाउनुपर्ने रकम पाईसकेको भनी गरिदिएको बकपत्रसमेत प्रस्तुत मिसिलको परिप्रेक्षमा विचारणिय भै न्यायको रोहमा सो कुरालाई मनन् गर्नुपर्ने आवश्यक्तासमेत देखिन्छ।
८. कसूर भएको हुनलाई उद्देश्य सहितको मनसायले प्रेरित भई बदनियतपूर्वक काम भए गरेको हुनुपर्ने देखिनुपर्ने हुन्छ। यसलाई अझ प्रष्ट्याउदा अक्स्फोर्ड विश्वविद्यालयका प्रोफेशर Andrew Ashworth र Jeremy Horder द्वारा अपराधिक मनसाय (Mens rea) को बारेमा व्यक्त भएको अभिव्यक्ति सान्दर्भिक देखिन्छ,“As a matter of fundamental legal principle, criminal liability may not arise from the mere existence of the fact or from the anti-juridical nature of the fact, the defendants should be held criminally liable only for events or consequences which they intended or knowingly risked.”(Andrew Ashworth, Jeremy Horder, Principles of Criminal Law, 7th Edition, Oxford University Press,2013) अर्थात अपराधिक दायित्व सृजना हुनको लागि प्रतिवादीहरुको अपराधिक मनसाय हुन आवश्यक हुन्छ। प्रस्तुत मिसिलको सन्दर्भमा प्रतिवादीले जाहेरवालाहरूलाई झुक्याई नोक्सान पार्ने त्यस्तो कुनै कार्य गरेको भन्ने स्वयं जाहेरवालाहरुको भनाइ रहेको पाईंदैन। जाहेरवाला पीडितहरु र प्रतिवादी पीडक बीच भयो भनिएको व्यवहारबाट पनि प्रतिवादीले बदनियत चिताई जाहेरवालाहरूलाई हानी नोक्सानी पुर्याउने र आफूलाई फाइदा हुने कार्य प्रतिवादीबाट भए गरेको रहेछ भनी भन्न मिल्ने अवस्थासमेत मिसिलको तथ्यबाट देखिंदैन। जाहेरवालाबाट रुपैयाँ लिई त्यसको सुरक्षणको लागि चेक काटेर दिएको अवस्थामा चेक बढीको काटिएछ भनी प्रतिवादीले फिर्ता माग्दा विश्वासकै कुरा हो भनी जाहेरवालाहरुले आश्वस्त पारेको र पछि दिनुपर्ने रुपैयाँ प्रतिवादीले सबै दिई पाइसकेको भनी जाहेरवालाहरू स्वयंले भनी लेखाएबाट जाहेरवालालाई नोक्सान गर्ने उद्देश्यले प्रेरित भई प्रतिवादीबाट चेक काटिएको रहेछ भनी भन्न मिल्ने अवस्थासमेत रहेको भन्ने देखिंदैन।
९. जाहेरवालाहरूलाई नोक्सान पार्ने बदनियतपूर्वकको कार्य प्रतिवादीबाट भएको नदेखिएको, चेक बढी काटिएछ फिर्ता दिनू भनी प्रतिवादीले जाहेरवालालाई भन्दा विश्वासमा शंका नलिनुस् भनी जाहेरवालाले चेक फिर्ता नगरेको र आपसमा भएको व्यवहार अनुसारको रकम जाहेरवालाले प्रतिवादीबाट पाइसकेको भन्ने देखिँदा आरोपित कसूरबाट सफाइ दिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसलालाई अन्यथा भन्नुपर्ने नदेखिंदा मुनासिब नै देखियो। तसर्थ वादी नेपाल सरकारको पुनरावेदन जिकिर र पुनरावेदन जिकिरलाई समर्थन गर्दै प्रस्तुत गरेको विद्वान उपन्यायाधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन।
१०. अतः माथि प्रकरण प्रकरणमा विवेचना भई उल्लेख भएको आधार एवं कारण समेतबाट प्रतिवादी तारा गुरुङलाई आरोपित कसूरबाट सफाइ दिने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७५।७।१८ मा भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ। पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन। प्रस्तुत फैसलाको प्रतिलिपि सहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई फैसलाको विद्युतीय प्रति अपलोड गरी, दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू।
उक्त रायमा सहमत छु ।
न्या.हरिकृष्ण कार्की
इजलाश अधिकृत: प्रकाशदत्त भट्ट
इति सम्वत् २०७7 असार ५ गते रोज ६ शुभम् ।