निर्णय नं. १०७६५ - मानव बेचबिखन तथा ओसार पसार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।६।१५
मुद्दाः मानव बेचबिखन तथा ओसार पसार
०७४-CR-०७३२
पुनरावेदक / प्रतिवादी : जिल्ला झापा गरामनी गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेका चित्रबहादुर बराइली
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम २०७१(३) MS र २०७१(३) AB को जाहेरीले नेपाल सरकार
पुनरावेदक / वादी : परिवर्तित नाम २०७१(३)MS र २०७१(३)MS को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला नुवाकोट साबिकको बेल्कोट गा.वि.स. वडा नं. ८ वतन भएका आइतराम तामाङसमेत
आरोप लगाइएका व्यक्तिउपर अभियोग मागदाबी लिई अभियोजन गर्नुअगाडि अभियोजकले मिसिल संलग्न प्रमाणहरूको मिहिन रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । जाहेरी पर्नु र सोउपर अनुसन्धान हुनु मात्र अभियोजनको आधार हुन सक्दैन । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीउपरको अभियोग समर्थित गराउनु फौजदारी न्यायको सन्दर्भमा अभियोजकको अनिवार्य दायित्व हो । शंकाको भरमा प्रमाणको रोहमा समर्थित हुन नसकेको अभियोगबाट अभियोग स्थापित हुन सक्दैन । यस्तो अवस्थामा स्वाभाविक रूपमा त्यसको फाइदा अभियुक्तलाई पुग्ने ।
(प्रकरण नं.५)
अपराध र अपराधीको जडसम्म नपुग्ने गरी गरिने अनुसन्धान र अभियोजनले न्यायको वास्तविक मर्म प्रतिबिम्वित गर्न नसक्ने ।
अप्रमाणित तथ्यलाई बलपूर्वक जोडी कसैउपर गरिने अभियोगले न्यायको वास्तविक चित्र प्रस्तुत गर्न नसक्ने ।
अनुसन्धान र अभियोजन पक्षले जिम्मेवारी पूरा नगरी पेस गरेको सतही अनुसन्धान, अभियोजन तथा खण्डित र टुक्रिएका प्रमाणको कडीमा कसुर कायम गरी गरिएको सजाय न्यायको रोहमा उपयुक्त नदेखिने ।
(प्रकरण नं.८)
कसुर भयो भनी कसैउपर पोल गरिनु र सोही आधारमा कुन कानूनको उल्लङ्घन भयो सोतर्फ समेत विचार नगरी कसैउपर अभियोग लगाउने कार्य मात्रलाई फौजदारी न्यायले न्यायिक पर्याप्तता नमान्ने ।
(प्रकरण नं.९)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रामेश्वरप्रसाद कोइराला, श्री मनिषकुमार श्रेष्ठ, श्री विकास भट्टराई, श्री नवराज अधिकारी र श्री ओम पङ्गेनी
अवलम्बित नजिर :
ने.का.प.२०७६, नि.नं.१०१९०
ने.का.प.२०७६, नि.नं.१०३४९
ने.का.प.२०७५, नि.नं.१००८८
ने.का.प.२०७५, नि.नं.९९३५
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री शंकरराज बराल
रूपन्देही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
फैसला
न्या.हरिप्रसाद फुयाल : उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
घरमा कोही कसैलाई कुनै किसिमको जानकारी नगराई काठमाडौंमा राम्रो काम पाइन्छ भनी घरबाट मिति २०७१।५।१५ गते पर्वतबाट रात्रीबसमा चढी काठमाडौं कलंकीमा आउँदा मसँग पोखरामा चिनजान तथा भेट भएका व्यक्तिलाई फोन गरी बोलाई भेट भई कुराकानी हुँदै गर्दा पछि नाम थाहा हुन आएकी परिवर्तित नाम २०७१(३)MS पनि सोही स्थानमा भेट भएपछि निजसँग चिनजान गराई म परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS भई केही समय बसी पछि नाम थाहा हुन आएका चित्रबहादुर बराइली र मिरा बराइलीसँग जानु भनी बताएपछि निजहरूको साथमा लागी कलंकीबाट भैरहवातर्फ जाने बसको टिकट निज चित्रबहादुर बराइलीले काटी निजहरूसँग साथमा लागी मिति २०७१।५।१७ गते बिहानको समयमा सुनौली बसपार्कमा आई ओर्ली चिया नास्ता खाई भारततर्फ जान भनी पैदल हिँडेर जान लागेको अवस्थामा नेपाल भारत सिमानाको बेलहिया नाकामा माइती नेपालका कर्मचारीले हामीहरूलाई सोधपुछ गर्दा चित्रबहादुर बराइली र मिरा बराइली अलमलमा परी जवाफ दिन नसकी तत्काल त्यहाँबाट भागी फरार भएपछि बल्ल निजहरूले हामीहरूलाई बेचबिखन गर्न भारततर्फ लैजान लागेको भन्ने थाहा जानकारी हुन आयो । हामीहरूलाई काठमाडौंसम्म बोलाउने तत्काल नाम थर वतन थाहा नभएको व्यक्तिसँग मिली नाना किसिमका कुरा गरी झुठा प्रलोभन देखाई गफलतमा पारी जालपरिपञ्च गरी बेचबिखन गर्न भारततर्फ लान लगेको हुँदा निजहरूलाई खोजतलास गरी पक्राउ गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS को जाहेरी ।
मलाई यकिन नाम थाहा नभएका एक जना व्यक्तिले तिमीलाई राम्रो काममा लगाइदिन्छु भनी बताएका हुँदा निजको सल्लाह सहमतिमा मिति २०७१।५।१५ गते पर्वतबाट रात्रिबसमा चढी काठमाडौं कलंकीमा आउँदा मसँग पोखरामा चिनजान तथा भेट भएका व्यक्तिलाई फोन गरी बोलाई भेट भई कुराकानी हुँदै गर्दा पछि नाम थाहा हुन आएकी परिवर्तित नाम २०७१(३)MS पनि सोही स्थानमा भेट भएपछि निजसँग चिनजान गराई म परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS भई केही समय बसी पछि नाम थाहा हुन आएका चित्रबहादुर बराइली र मिरा बराइलीसँग जानु भनी बताएपछि निजहरूको साथमा लागी कलंकीबाट भैरहवातर्फ जाने बसको टिकट निज चित्रबहादुर बराइलीले काटी निजहरूसँग साथमा लागी मिति २०७१।५।१७ गते बिहानको समयमा सुनौली बसपार्कमा आई ओर्ली झरी चिया नास्ता खाई भारततर्फ जान भनी पैदल हिँडेर जान लागेको अवस्थामा नेपाल भारत सिमानाको बेलहिया नाकामा माइती नेपालका कर्मचारीले हामीहरूलाई सोधपुछ गर्दा चित्रबहादुर बराइली र मिरा बराइली अलमलमा परी जवाफ दिन नसकी तत्काल त्यहाँबाट भागी फरार भएपछि बल्ल निजहरूले हामीहरूलाई बेचबिखन गर्न भारततर्फ लैजान लागेको भन्ने थाहा जानकारी हुन आयो । हामीहरूलाई काठमाडौंसम्म बोलाउने तत्काल नाम, थर, वतन थाहा नभएको व्यक्तिसँग मिली नाना किसिमका कुरा गरी झुठा प्रलोभन देखाई गफलतमा पारी जालपरिपञ्च गरी बेचबिखन गर्न भारततर्फ लान लगेको भन्नेसमेत बेहोराको २०७१(३) MS को बयान कागज ।
मलाई यकिन नाम थाहा नभएका एक जना व्यक्तिले तिमीलाई राम्रो काममा लगाइदिन्छु भनी बताएका हुँदा निजको सल्लाह सहमतिमा मिति २०७१।५।१५ गते पोखराबाट रात्रिबसमा चढी काठमाडौं कलंकीमा आउँदा मसँग पोखरामा चिनजान तथा भेट भएका व्यक्तिलाई फोन गरी बोलाई भेट भई कुराकानी हुँदै गर्दा पछि नाम थाहा हुन आएकी परिवर्तित नाम २०७१(३)MS पनि सोही स्थानमा भेट भएपछि निजसँग चिनजान गराई म परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS भई केही समय बसी पछि नाम थाहा हुन आएका चित्रबहादुर बराइली र मिरा बराइलीसँग जानु भनी बताएपछि निजहरूको साथमा लागी कलंकीबाट भैरहवातर्फ जाने बसको टिकट निज चित्रबहादुर बराइलीले काटी निजहरूसँग साथमा लागी मिति २०७१।५।१७ गते बिहानको समयमा सुनौली बसपार्कमा आई ओर्ली झरी चिया नास्ता खाई भारततर्फ जान भनी पैदल हिँडेर जान लागेको अवस्थामा नेपाल भारत सिमानाको बेलहिया नाकामा माइती नेपालका कर्मचारीले हामीहरूलाई सोधपुछ गर्दा चित्रबहादुर बराइली र मिरा बराइली अलमलमा परी जवाफ दिन नसकी तत्काल त्यहाँबाट भागी फरार भएपछि बल्ल निजहरूले हामीहरूलाई बेचबिखन गर्न भारततर्फ लैजान लागेको भन्ने थाहा जानकारी हुन आयो । हामीहरूलाई काठमाडौंसम्म बोलाउने तत्काल नाम, थर, वतन थाहा नभएको व्यक्तिसँग मिली नाना किसिमका कुरा गरी झुठा प्रलोभन देखाई गफलतमा पारी जालपरिपञ्च गरी बेचबिखन गर्न भारततर्फ लान लगेको भन्नेसमेत बेहोराको परिवर्तित नाम २०७१(३) AB ले गरेको बयान कागज ।
काठमाडौं कलंकी स्थित गणेश पेट्रोल पम्पभन्दा केहीमाथि घर भाडामा लिई बसेका सम्पर्क नं. ९८०३९०६७५५ भएको विमल भण्डारी भन्ने व्यक्ति र नाम थाहा नभएको ९८०८४५४९१७ नं. को मोबाएल प्रयोगकर्ता तामाङ भन्ने व्यक्तिसँग भेट भई जाहेरवालाहरूलाई भारतको सीमा पार गराइदिनु भनी भनेकाले विश्वासमा परी निजहरूलाई साथमा लिई आउने क्रममा नेपाल भारत सिमानाको बेलहिया नाकामा रहेका माइती नेपालका कर्मचारीले हामीहरूलाई सोधपुछ गर्दा निजहरूलाई भारत सिमानासम्म लैजान नसक्ने भएपछि उक्त स्थानबाट भागी गएका हौं भन्नेसमेत बेहोराको प्रतिवादी चित्रबहादुर बराइलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज र सोही बयानसँग मेल खाने गरी खुलाई लेखाएको एकै मिलानको मिरा बराइलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
जाहेरीमा उल्लिखित मिति र समयमा नेपाल भारत सीमा जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित नाकामा डिउटीमा खटिएको र सोही दिनको बिहानको समयमा प्रतिवादी चित्रबहादुर बराइली र मिरा बराइलीले जाहेरवालीहरू परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS लाई साथमा लिई आएको र निजहरूलाई रोकी सोधपुछ गर्दा प्रतिवादीहरूले अलमल गरेर जवाफ दिन नसकी जाहेरवालाहरूलाई सोधपुछ गर्न लाग्दा सोही मौकामा प्रतिवादीहरू भागेको र निज जाहेरवालीहरूलाई प्रतिवादीहरूले बाटोमा सोधपुछ भएमा बाबु आमा हुन भन्नु भनी बहाना बनाउन लगार्इ नेपाल भारत सीमा पार गरी बेचबिखन गर्न लैजाने कार्यमा संलग्न प्रतिवादीहरूलार्इ कारबाही होस् भन्नेसमेत बेहोराको विमला विश्वकर्मा, रीना पौडेलसमेतले गरेको एकै मिलानको घटना विवरण कागज ।
विमल भण्डारी विनोद भन्ने टेकबहादुर कामीले जाहेरवाली परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS लाई नेपाल भारत सीमा पार गराउन सके प्रसस्त रकम मिल्छ भनेको र निज जाहेरवालीहरूलाई प्रतिवादी चित्रबहादुर बराइली र मिरा बराइलीको जिम्मा दिई नेपाल भारत सीमा पार गराउन भनी मसमेतले काठमाडौं कलंकीबाट भैरहवा सुनौली जाने बस चढाई पठाएको हो भन्नेसमेत बेहोराको प्रतिवादी आइतराम तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
प्रतिवादी चित्रबहादुर बराइली र मिरा बराइलीले जाहेरवाला परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS लाई विभिन्न किसिमको प्रलोभन देखाई काठमाडौंबाट टिकट काटी भैरहवा नाका हुँदै भारततर्फ लैजान लागेको अवस्थामा माइती नेपालका कर्मचारीले हामीहरूलाई सोधपुछ गर्दा चित्रबहादुर बराइली र मिरा बराइली अलमलमा परी जवाफ दिन नसकी तत्काल त्यहाँबाट भागी गएका हुन् भनी सुनी थाहा जानकारी पाएका हौं निजहरूलाई कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।
हामीहरूलाई झुठ्ठा प्रलोभन देखाई गफलतमा पारी जालपरिपञ्च गरी बेचबिखन गर्न भारततर्फ लान लगेको हुँदा निजहरूलाई खोजतलास गरी पक्राउ गरिपाउँ भन्ने परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS को जाहेरी दरखास्त पीडितहरूले गरेको बयान, प्रतिवादी चित्रबहादुर बराइलीको बयान कागज सोही बयानसँग मेल खाने गरी खुलाई लेखाएको एकै मिलानको प्रतिवादीहरू मिरा बराइली, आइतराम तामाङसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, घटना सम्बन्धमा बुझिएका मानिसहरूले गरी दिएको घटना विवरण कागज, वस्तुस्थिति मुचुल्कासमेतको आधार प्रमाणबाट प्रतिवादीहरू चित्रबहादुर बराइली, मिरा बराइली, आइतराम तामाङले काठमाडौं कलङकी स्थित गणेश पेट्रोल पम्पभन्दा केही माथि घर भाडामा लिई बसेका सम्पर्क नं. ९८०३९०६७५५ भएको‚ प्रतिवादी विमल भण्डारी विनोद भन्ने टेकबहादुर कामीको मिलीमतोमा जाहेरवाला पीडितहरू परिवर्तित नाम २०७१(३)MS र परिवर्तित नाम २०७१(३)MS लाई बिक्री वितरण गर्नको लागि काठमाडौंबाट भैरहवा लिई आएको पुष्टि हुन आएकाले निज प्रतिवादीहरू चित्रबहादुर बराइली, मिरा बराइली, आइतराम तामाङ र विमल भण्डारी विनोद भन्ने टेकबहादुर कामीले मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ को दफा ४ को उपदफा (२) को खण्ड (ख) बमोजिम कसुर अपराध गरेको देखिँदा सो कसुर अपराधमा निज प्रतिवादीहरू चित्रबहादुर बराइली, मिरा बराइली, आइतराम तामाङ र विमल भण्डारी, विनोद भन्ने टेकबहादुर कामीलाई सो कसुर अपराधमा सोही ऐनको दफा १५ को उपदफा (१) को ङ(१) बमोजिम सजाय हुन र सोही ऐनकै दफा १७(१) बमोजिम पीडितहरूलाई क्षतिपूर्ति भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।
झापामा काम गर्दा राम्रो आम्दानी नभएकाले हामी बुढाबुढीले विदेश जाने सल्लाह गरी काठमाडौंमा आएपछि पहिला चिनजान नभएका आइतराम तामाङसँग भेट भयो । उहाँसँग विदेश जाने कुरा गरेपछि मैले दुवैजनालाई विदेश पठाइदिन्छु भन्नुभयो । आइतरामले नेपालबाट भन्दा विदेश जान दिल्लीबाट सजिलो हुन्छ र कम खर्च लाग्छ भन्नुभएकाले मैले एक लाख रूपैयाँ मेनपावरको मान्छेलाई आइतरामकै रोहबरमा बुझाएको हुँ । आइतरामले हामीलाई टेकबहादुरसँग भेट
गराउनुभयो । आइतराम र टेकबहादुरले कुराकानी गरे हामी नाम थाहा नभएको गेस्ट हाउसमा तीन दिन बसियो । तीन दिनपछि विनोदको कोठामा लगी चार दिन राख्नुभयो । चार दिनपछि आई हामीलाई साँझमा आज विदेश जाने भनी कलंकीबाट फोन गरी हामी कलंकी गयौं । कलंकीमा एक जना भाइले विनोदसँग भेट गराई यही होटलमा बस भनेकाले सोही होटलमा बसियो । भोलिपल्ट बेलुका विनोद तामाङ सरले हामी दुवै जनालाई भैरहवाको गाडीमा पठाइदिनुभयो । गाडीमा केटीहरू पनि थिए । विनोदले दुई जना केटीहरू बोर्डर पार हुन्छन् भनेपछि मैले हामीलाई केही त हुँदैन भन्दा उहाँले केही हुँदैन बोर्डर पास भएपछि आफ्नो जग्गामा जान्छन् । उनीहरूका मानिसले लैजान्छन् भनेका हुन् । मैले जाहेरवालालाई बिक्री गर्न विदेशमा लैजान लागेको र सिमानामा छोरी र बहिनी भनेको होइन जाहेरवालाहरू कहाँ के गर्न जाने हुन् मलाई थाहा थिएन । विनोद र आइतरामले सँगै लैजानु भनी जाहेरवालालाई गाडीमा पठाउनुभएको हो । अनुसन्धान अधिकारीले बयान नपढी सही गराउनुभएको हो । जाहेरवालीहरूलाई विदेश पठाउने क्रममा आइतराम र विनोद भन्ने टेकबहादुर कामीको संलग्नता छ । म निर्दोष हुँदा सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी चित्रबहादुर बराइलीले सुरू रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
झापामा काम गर्दा राम्रो आम्दानी नभएकाले हामी बुढाबुढीले विदेश जाने सल्लाह गरी काठमाडौंमा आएपछि पहिला चिनजान नभएका आइतराम तामाङसँग भेट भयो । उहाँसँग विदेश जाने कुरा गरेपछि मैले दुवै जनालाई विदेश पठाइदिन्छु
भन्नुभयो । आइतरामले नेपालबाट भन्दा विदेश जान दिल्लीबाट सजिलो हुन्छ र कम खर्च लाग्छ भन्नुभएकाले मैले एक लाख रूपैयाँ मेनपावरको मान्छेलाई आइतराम कै रोहबरमा बुझाएको हुँ । मेन पावरको मान्छेले आइतराम जिम्मा लगाए । म‚ श्रीमान् र आइतरामसमेत कलंकी गयौं । आइतरामले हामीलाई टेकबहादुरसँग भेट
गराउनुभयो । तीन दिन जति कलंकी गेस्ट हाउसमा राख्नुभएको हो । केही दिन विनोदको कोठामा लगि राख्नुभएको हो । आज जाने भनी विनोदले फोन गरेपछि हामी दुवै र आइतराम कलंकी आई फोन गरी विनोदसँग भेट भएको हो । बेलुका विनोद र तामाङ सरले कलंकीबाट भैरहवाको गाडीमा
चढाइदिनुभयो । पछि दुईवटी केटी ल्याई गाडीमा चढाइदिनुभयो । यिनीहरूको साथमा गई बोर्डर पार गर्नु भने । मैले केटीहरूसँगै लैजाँदा केही डर हुन्छकि भन्दा केही हुँदैन भनी हामीहरू चढेको बसको अगाडिको सिटमा चढाइदिनुभएको हो । हामीहरू गाडीमा सँगै
थियौं । निजहरूलाई मैले चिनेको थिइन । बाटामा कुराकानी भएन । बोर्डरमा आएपछि माइती नेपालका कर्मचारीले पक्राउ गरेका हुन् । त्यहाँ सोधपुछ गर्दा हामीले केटीहरूसँग चिनजान छैन भनेको हो । केटीहरूलाई हामीले ल्याएको होइन । मैले जाहेरवालालाई बेचबिखन ओसार पसारको लागि ल्याएको होइन र विदेशमा लैजान मेरा छोरी र बहिनी भनेको होइन । केटीहरू कता जाने भन्ने मलाई थाहा थिएन । विदेश पठाउने विनोद र आइतरामलाई थाहा होला । प्रहरीमा कुटपिट गरी जबरजस्ती बयानमा सही गराएका हुन् । म निर्दोष हुँदा सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मिरा बराइलीले सुरू रूपन्देही जिल्ला अदालत गरेको बयान ।
विदेश जानको लागि डिमान्ड छ, छैन भनी नाम थाहा नभएको मेन पावरमा गई सोधपुछ गर्दा डिमान्ड छैन भनेको र त्यहाँ चित्रबहादुर बराइली र निजको श्रीमती मिरा बराइलीसँग तिलकबहादुरले चिनजान गराई दिएपछि तपाइँले कुनै मेनपावरसँग चिनजान भएमा सम्पर्क गरिदिनुहोस् भनेकाले मैले एक डेढ महिनादेखि चिनजान भएका विनोद भन्ने टेकबहादुर कामीसँग फोन गरेपछि मैले पठाइदिन्छु ल्याउनुहोस् भनेकाले मैले कलंकीमा भेट गराइदिएको
हुँ । केही दिन होटलमा र केही दिन आफ्नो कोठामा राखी मिति २०७१।५।१६ मा चित्रबहादुरले बोलाएकाले म कलंकीमा आएको हुँ । म कलंकीमा आउँदा चित्रबहादुर‚ मिरा‚ विनोद भन्ने टेकबहादुर र विनोदको भाइ सँगै
थिए । ती नाम थाहा नभएका केटीहरू कहाँ जाने हुन् मलाई थाहा भएन । चित्रबहादुर‚ मिरा र दुईवटी केटी गाडीमा चढेका हुन् । म कोठामा आएको हुँ । मैले जाहेरवालीलाई चित्रबहादुर र निजको श्रीमती र टेकबहादुरले केही भनेको सुनिन । जाहेरवालीलाई मैले चिने जानेको छैन र मैले बेचबिखन ओसारपसार गरेको होइन । सँगै गाडीमा चढाइदिएको भन्ने झुठ्ठा
हो । मैले चित्रबहादुर र मिरालाई टेकबहादुरसँग सम्पर्क गराइदिएको मात्र हुँ । मेरो कुनै दोष नहुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी आइतराम तामाङले सुरू रूपन्देही जिल्ला अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी बिमल भण्डारी विनोद भन्ने टेकबहादुर कामीका नाउँको म्याद मिति २०७२।१।२३ मा बेपत्ते तामेल भई निज फरार रहेका ।
मैले यी प्रतिवादीहरू कसैलाई पनि
चिन्दिन । यी प्रतिवादीहरूले हामीलाई खाना खुवाई पैसा तिरी टिकट काटी भारत सिमानासम्म ल्याएका होइनन् । हामी आफैँ पोखराबाट सुनौली जान भनी आएका हौँ । जाहेरीको बेहोरा आफैँ लेखेर पढ्न नदिई सही गराएका हुन् । जाहेरीको बेहोरा र बयानको बेहोरा सबै झुठ्ठा हो । जबरजस्ती सही गराएका हुन् भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम २०७१(३)MS ले गरेको बकपत्र ।
मैले यी प्रतिवादीहरू कसैलाई पनि चिन्दिन । माइती नेपालले हामीलाई राम्रो जागिर लगाई दिने चाँडै घर जान पाउने प्रलोभन देखाई उनीहरूले लेखेको जाहेरी पढी नसुनाई डर देखाई सही गराएका र प्रहरीमा भएको बयान बेहोरा मलाई नसुनाई सही गर्न लगाएको हो । हामी आफ्नो खुसीले आएको हो । कसैले लिई आएको होइन । जाहेरीको बेहोरा झुठ्ठा हो । जबरजस्ती सही गराएका हुन् भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम २०७१(३)MS ले गरेको बकपत्र ।
जाहेरवालीहरू पछि पछि र प्रतिवादी चित्रबहादुर बराइली अघि र प्रतिवादी मिरा साथै रही हिँडेको अवस्थामा नेपाल भारत सिमा सुनौलीमा फेला पारेको हो । हामीले सो समयमा जाहेरवालीहरूलाई सोध्दा प्रतिवादीलाई बाबु आमा हो भनी भारत जान लागेको भनेका थिए । निज जाहेरवालीसँग नागरिकता‚ पासपोर्ट केही नभएको हुँदा शंका लागेको हो । जाहेरवालीको ब्याग यी प्रतिवादीले लिएका
थिए । चित्रबहादुर र मिरा बराइलीलाई सँगै भेटाएको हो । अन्य प्रतिवादीलाई भेटाइन भन्नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने विमला विश्वकर्माले गरेको बकपत्र ।
प्रतिवादी आइतराम तामाङले जाहेरवालालाई भारत लैजान कुनै त्यस्तो काम गरेका भूमिका निर्वाह गरेका होइनन् । यी प्रतिवादी आफ्नो मेहनत मजदुरी गरेर खाने व्यक्ति हुन् । यी प्रतिवादीले त्यस्तो गलत काम गरेका होइनन् । जाहेरवालीले किन त्यस्तो लेखाए थाहा भएन‚ यी प्रतिवादीले सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी आइतराम तामाङका साक्षी अमिता तामाङले गरेको बकपत्र ।
यी प्रतिवादीहरूको चालचलन राम्रो छ । यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेका छैनन् । अभियोग दाबी झुठ्ठा हो । उक्त कार्यमा संलग्न भएका छैनन् । यी जाहेरवालालाई बेच्न लिएर हिँडेको होइन । यी प्रतिवादीहरू आफू वैदेशिक रोजगारको लागि दाजुको जग्गा धितो राखेर मेन पावर कम्पनीमार्फत विदेश जान हिँडेका हुन् । झुठ्ठा आरोप लगाई फसाइएको हो भन्नेसमेत बेहोराको प्रतिवादी चित्रबहादुर र मिरा बराइलीका साक्षी कृष्णबहादुर बराइलीले गरेको बकपत्र ।
प्रतिवादीहरू चित्रबहादुर र निजकै श्रीमती मिरा बराइलीले काठमाडौंदेखि भारतमा लैजान बेचबिखन गर्न लिई हिँडेको भन्ने सुनेकी हुँ । अन्य कुन कुन प्रतिवादीको मिलेमतो थियो थाहा भएन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा कागज गर्ने आयुषा खड्काले गरेको बकपत्र ।
प्रतिवादीहरू चित्रबहादुर र मिरा बराइली र अरू प्रतिवादीहरू आइतराम, विनोद भन्ने टेकबहादुर कामी‚ बिमल भण्डारीसमेतको मिलेमतोमा जाहेरवालीलाई लिएर हिँडेको भन्ने सुनेको हो । सुनौलीमा माइती नेपालले सोधपुछ गर्दा चित्रबहादुर मिरा बराइली फरार भई पछि पक्राउ परेको भन्ने सुनेको हुँ । त्यतिबेलाको अवस्थालाई विचार गर्दा बेचबिखनका लागि लिएर हिँडेको भन्ने शंका लाग्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा कागज गर्ने कल्पना आलेले गरेको बकपत्र ।
प्रतिवादीमध्येका बिमल भण्डारी, विनोद भन्ने टेकबहादुर कामीको नाउँको म्याद बेपत्ते तामेल भएको देखिँदा जिल्ला अदालत नियमावली २०५२ को नियम १९क(४) बमोजिम निजको हकमा मुद्दा तामेलीमा राखिदिएको छ । प्रतिवादीहरू चित्रबहादुर बराइली र मिरा बराइलीले यी जाहेरवालाहरूलाई काठमाडौंदेखि भैरहवा सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गर्दा नेपाली भूमिमा निजहरू पक्राउ परी निजहरूले अभियोग दाबी मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर गरेको पुष्टि हुन आएकाले निजहरूलाई सोही ऐनको दफा १५(१) ङ(२) बमोजिम जनही १० (दश) वर्ष कैद र रू. ५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर्छ । दफा १७(१) बमोजिम प्रतिवादीहरूबाट पीडितहरूलाई क्षतिपूर्ति भराइपाउँ भन्ने दाबीका सम्बन्धमा जाहेरवालाहरूले अदालतमा बकपत्र गर्दा यी प्रतिवादीहरू निर्दोष छन् भनी उल्लेख गरेको हुँदा यस अवस्थामा दाबीबमोजिमको क्षतिपूर्ति भराइदिन मनासिब नदेखिँदा क्षतिपूर्ति भराइपाउँ भन्ने दाबी पुग्न सक्दैन । प्रतिवादी आइतराम तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा यी जाहेरवालाहरूलाई भारत पठाउनमा मेरो कुनै संलग्नता छैन भनी इन्कारी बयान लेखाएको, अदालतको बयानमा समेत कसुरमा इन्कारी बयान बेहोरा लेखाएको र सो इन्कारी बयानलाई निजका साक्षी अमिता तामाङको बकपत्रले समर्थनसमेत गरेकोले यी प्रतिवादीलाई आरोपित कसुरमा सजाय गर्न मिल्ने नदेखिँदा प्रतिवादी आइतराम तामाङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको दाबी पुग्न सक्दैन भन्ने सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७२।५।१७ मा भएको फैसला ।
मैले अदालतको बयानमा जाहेरवालीको साथमा गई बोर्डर पार गर्नु भनेर विनोदले सँगै गाडीमा चढाएको कुरा बयानमा उल्लेख गरेको
छु । जाहेरवालीहरू कहाँका हुन, के प्रयोजनले भारत जाँदैछन् ? लगायतका सबै कुरामा मसमेत अनभिज्ञ
थिए । एउटै बसमा आउँदा कुराकानी गफगाफ केही भएको होइन । एउटै गाडीमा आउँदैमा निजहरूलाई विदेशमा लगी बिक्री गर्न लिई हिँडेको भन्ने आरोपमा कसुरदार ठहर गर्न मिल्ने होइन । कुनै पनि अपराध हुनको लागि आपराधिक कार्य र मनसाय हुनु जरूरी हुन्छ । मसमेतले ललाई फकाई वा कुनै बेहोराले प्रभावमा पारी सँगै हिँड भनी जाहेरवालीहरूलाई नभनेको र निजलाई भारतमा लगी बेच्ने हाम्रो मनसाय पनि नभएकोले आपराधिक कार्य र मनसाय नभएको प्रस्ट हुन्छ । अरूले गाडीमा चढाइदिएको महिलालाई मसमेत पनि विदेश जान भारतको बाटो जाँदै गर्दा सँगै जानु मात्र अपराध होइन । जाहेरवालीहरूले दिएको जाहेरीमा र बयानमा बेलहियाबाट सोधपुछ गर्दा अलमलमा परी भागेपछि विश्वास लाग्छ भन्ने भाषा प्रयोग भएको
पाइयो । अर्को व्यक्तिले निजहरूलाई गाडीमा चढाएको, गाडीमा कुनै कुराकानी नभएकोले निजहरू को हुन्, किन आएका हुन् भन्ने थाहा नभएपछि अलमल पर्ने अवस्था रहेको हो । जाहेरवालीहरूको स.ज.७ मा निजहरूले आ-आफूले टिकट काटी अर्थात् अलग्गै टिकट काटी यात्रा सुरू गरेको र काठमाडौंबाट गाडी चढनुपूर्व मसमेत पति पत्नीले निजहरूलाई गाडी चढौं भनेको र हाम्रो भनाइमा निजहरू हिँडेको भनी लेखाउन सकेको अवस्था छैन । हाम्रो साक्षीले हाम्रो चरित्र असल रहेको र हामीले अपराध नगरेको भनी बकपत्र गरिदिएको, सहअभियुक्त आइतरामले मसमेत उपर लाञ्छना नलगाएको, वस्तुस्थिति मुचुल्काका मानिस आयुषा खड्कासमेतका साक्षी सुनी जान्ने साक्षी रहेका तथा जाहेरवालाहरूले अदालतमा बकपत्र गर्दा हामी निर्दोष रहेको कुरा लेखाएकोले सुरू अदालतबाट हामीलाई कसुरदार ठहर हुने गरी भएको फैसला नमिलेकोले उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउने गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको चित्रबहादुर बराइलीले जिल्ला कारागार कार्यालय, रूपन्देहीमार्फत गरेको पुनरावेदन पत्र ।
मैले अदालतको बयानमा जाहेरवालीको साथमा गई बोर्डर पार गर्नु भनेर विनोदले सँगै गाडीमा चढाएको कुरा बयानमा उल्लेख गरेको छु । जाहेरवालीहरूसँग मसमेत एउटै बसमा चढेका हौं । विमल भन्ने टेकबहादुरले सँगै गाडीमा चढाएको सँगै आएकोसम्म हो । जाहेरवालीहरू कहाँका हुन्, के प्रयोजनले भारत जाँदै छन्? लगायतका सबै कुरामा मसमेत अनभिज्ञ थिए । एउटै बसमा आउँदा कुराकानी गफगाफ केही भएको होइन । एउटै गाडीमा आउँदैमा निजहरूलाई विदेशमा लगी बिक्री गर्न लिई हिँडेको भन्ने आरोपमा कसुरदार ठहर गर्न मिल्ने होइन । कुनै पनि अपराध हुनको लागि आपराधिक कार्य र मनसाय हुनु जरूरी हुन्छ । म समेतले ललाई फकाई वा कुनै बेहोराले प्रभावमा पारीसँगै हिँड भनी जाहेरवालीहरूलाई नभनेको र निजलाई भारतमा लगी बेच्ने हाम्रो मनसाय पनि नभएकोले आपराधिक कार्य र मनसाय नभएको प्रस्ट हुन्छ । अरूले गाडीमा चढाइदिएको महिलालाई मसमेत पनि विदेश जान भारतको बाटो जाँदै गर्दा सँगै जानु मात्र अपराध होइन । जाहेरवालीहरूले दिएको जाहेरीमा र बयानमा बेलहियाबाट सोधपुछ गर्दा अलमलमा परी भागेपछि विश्वास लाग्छ भन्ने भाषा प्रयोग भएको पाइयो । अर्को व्यक्तिले निजहरूलाई गाडीमा चढाएको, गाडीमा कुनै कुराकानी नभएकोले निजहरू को हुन्, किन आएका हुन् भन्ने थाहा नभएपछि अलमल पर्ने अवस्था रहेको हो । जाहेरवालीहरूको स.ज.७ मा निजहरूले आ-आफूले टिकट काटी अर्थात् अलग्गै टिकट काटी यात्रा सुरू गरेको र काठमाडौंबाट गाडी चढ्नुपूर्व मसमेत पतिपत्नीले निजहरूलाई गाडी चढौं भनेको र हाम्रो भनाइमा निजहरू हिँडेको भनी लेखाउन सकेको अवस्था छैन । यसबाट पनि निजहरूको जाहेरी र बयान विश्वासलायक छैन भन्ने पुष्टि हुन्छ । हाम्रो साक्षीले हाम्रो चरित्र असल रहेको र हामीले अपराध नगरेको भनी बकपत्र गरिदिएको, सहअभियुक्त आइतरामले मसमेत उपर लाञ्छना नलगाएको, वस्तुस्थिति मुचुल्काका मानिस आयुषा खड्कासमेतका साक्षी सुनी जान्ने साक्षी रहेका तथा जाहेरवालाहरूले अदालतमा बकपत्र गर्दा हामी निर्दोष रहेको कुरा लेखाएकोले सुरू अदालतबाट हामीलाई कसुरदार ठहर हुने गरी भएको फैसला नमिलेकोले उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउने गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको मिरा बराइलीले कारागार कार्यालय, पाल्पामार्फत गरेको पुनरावेदन पत्र ।
पीडितहरूलाई पोखरामा भेट भई विदेश जाने भए काठमाडौं आउनु भनी फकाई फुलाई बोलाउने व्यक्ति नाउँ थर थाहा नभएको भनी उल्लेख भएको र सो व्यक्तिसँग कलंकीमा भेट भई सोही व्यक्तिले सहप्रतिवादी मिरा बराइली र चित्रबहादुर बराइलीसँग भेट गराई निजहरूको साथ लगाई काठमाडौंबाट सुनौलीको गाडी चढाई पठाएको भन्ने तथ्य पीडितहरूको जाहेरी र प्रमाणित बयानमा स्पष्टसँग लेखिएको र चित्रबहादुर बराइली र मिरा बराइलीले पीडितहरूलाई भारततर्फ लैजानका लागि आफूहरूलाई जिम्मा लगाउने व्यक्ति आइतराम तामाङ हुन् बस चढाउँदा यी व्यक्तिसँगै थिए भनी अदालतसमक्ष गरेको बयानबाट प्रतिवादी आइतराम तामाङले नै बेचबिखनका लागि भारततर्फ पठाएको पुष्टि भइरहेको अवस्थामा शुद्ध नाम लेखाउन नसक्दैमा निजको अपराध अवश्य छुप्ने होइन । यी प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला मिलेको छैन । कसुर ठहर भएको प्रतिवादीहरू चित्रबहादुर बराइली र मिरा बराइलीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) अनुसारको कसुर अपराध गरेको पुष्टि भई कसुर ठहर गरिसकेपछि दाबीबमोजिम सपठित ऐनको दफा १५(१)(ङ)(१) अनुसार सजाय गर्नुपर्नेमा दाबीभन्दा कम सजाय हुने र पीडितलाई क्षतिपूर्ति भराइदिन नपर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण रहेकोले सो हदसम्म उक्त फैसला बदर गरी अभियोग माग दाबीबमोजिम नै हुने गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको पुनरावेदनपत्र ।
मानव बेचबिखन ओसारपसारबाट पीडित भनिएका जाहेरवालाहरूले अदालतमा आर्इ बकपत्र गर्दा हामी आफ्नै खुसीले आएको कसैले ल्याएको होइन, मौकाको बयान अदालतबाट प्रमाणित गर्न आउँदासमेत डरधाक देखार्इ जे जे सिकाएको छ सोही कुरा भन्नु भनी माइती नेपालका मानिसले भनेकाले डरका कारण हामी हो भन्न बाध्य भएका हौं भनी प्रतिवादीहरूलार्इ सफाइ दिएको देखिएको एवं प्रतिवादीहरू चित्रबहादुर बरार्इली र मीरा बरार्इली एवं वादी नेपाल सरकारको तर्फबाट समेत दोहोरो पुनरावेदन परेको देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ दुवै पुनरावेदन पत्रहरू एक अर्कालार्इ जानकारी गरार्इ सफार्इ पाउने प्रतिवादी आइतराम तामाङलार्इ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकार्इ नियमानुसार पेस गर्नु भन्ने तुलसीपुर, बुटवल इजलासको मिति २०७३।५।१४ को आदेश ।
"फौजदारी अपराधमा साक्षीहरूलाई डर, धाक, धम्की दिएर वा कुनै आर्थिक प्रलोभनमा पारेर प्रतिवादी वा अभियुक्तहरूले hostile बनाउँछन् र यस्तोमा साक्षीलाई winning away गरेको भनिन्छ । अन्य प्रमाण भएमा साक्षीलाई winning away गर्दैमा अपराध कायम नहुने वा प्रतिवादी अभियुक्तलाई सफाइ प्राप्त हुने होइन । यस्तोमा झुठ्ठा बकपत्र (perjury) गरेमा साक्षी वा पीडित स्वयंलाई पनि सजाय हुन सक्ने” भन्ने विभिन्न नजिर स्थापित भएको देखिँदा जाहेरवालीहरूले अदालतमा गरेको बकपत्रका आधारमा मात्र पुनरावेदक प्रतिवादीहरू सफेद रहेछन् भन्न सकिने अवस्था रहेन । जहाँसम्म पुनरावेदक प्रतिवादी चित्रबहादुर रसाईली र मिरा रसाईलीलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम नभई अभियोग माग दाबीअनुसार १५(१)(ङ)(१) बमोजिम नै सजाय गरिपाउँ भन्ने अर्को पुनरावेदन जिकिर छ, त्यसतर्फ विचार गर्दा १५(१)(ङ)(१) को सजाय हुने अवस्था भनेको विदेशमा लगिसकेको अवस्था हो । यस मुद्दामा जाहेरवालीहरूलाई प्रतिवादीहरूले विदेश लगिसकेको अवस्था नभई निजहरूलाई नेपाल सरहदभित्रबाट नै उद्धार गरिएको मिसिल अध्ययनबाट देखिन्छ र यस्तो अवस्थामा निजहरूलाई दफा १५(१)(ङ)(२) बमोजिम सजाय हुने ठहर गरेको सुरू रूपन्देही जिल्ला अदालतको फैसलालाई अन्यथा भन्न मिल्नेसमेत देखिन
आएन । प्रत्यर्थी प्रतिवादी आइतराम तामाङले आरोपित कसुरबाट सफाइ पाउने र पीडितले क्षतिपूर्ति भराई लिन नपाउने ठहर गरी रूपन्देही जिल्ला अदालतबाट मिति २०७२।०५।१७ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीद्वयको पुनरावेदन जिकिर पुग्न सक्तैन । अन्य कुरामा तपसिलबमोजिम गर्नु होला भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला ।
जाहेरवालीहरू र म प्रतिवादी भारत छिर्ने क्रममा सँगै भएको र जाहेरवालीहरूलाई माइती नेपालका कर्मचारीले र सीमा प्रहरीले समाती हामीहरूलाई सोधपुछ गर्ने क्रममा मलाई उनीहरूको बारेमा केही थाहा जानकारी नभएकोले म अलमलमा परेको कारणले ममाथि शंका गरी निज कर्मचारीहरूले म प्रतिवादीलाई फसाउने नियतले जाहेरवालीहरूलाई केही नसोधी आफूखुसी आफूहरूले नै जाहेरी तयार गरी सोही जाहेरीमा सहीछाप गराएको भन्ने कुरा त जाहेरवालीहरूको अदालतसमक्षको बकपत्रबाटै स्पष्ट भइरहेको छ । यदि मैले जाहेरवालीहरूलाई होस्टाइल पार्नको लागि धाकधम्की दिएको भए अदालतमा भन्न सक्थे अथवा प्रतिवादीले धाक धम्की दिए भनी सम्बन्धित ठाउँमा शान्ति सुरक्षा दिलाइपाउँ भनी निवेदन दिन सक्थे सो गरिएको देखिँदैन । तसर्थ निजहरूलाई मैले धाक धम्की दिएर होस्टाइल गर्न खोजेको होइन छैन । जाहेरवालीहरूले अदालतमा गरेको बकपत्रलाई प्रतिवादीहरूले होस्टाइल गराएको आधार प्रमाण विना होस्टाइल गराएको अनुमान गरी जाहेरवालीहरूको अदालतको बकपत्रलाई विश्वास नगरी फौजदारी मुद्दामा साक्षीहरूलाई धाक धम्की डर वा आर्थिक प्रलोभनमा पारेर अभियुक्तहरूले winning away गराउन सक्छन् र त्यसरी winning away गराउँदैमा अपराध कायम नहुने वा अपराधीलाई सफाइ प्राप्त हुने होइन भनी अदालत स्वयम्ले winning away गराइएको आधार लिएको छ । स्वयम् जाहेरीवालीहरूले अदालतसमक्ष गरेको बकपत्रले नै प्रस्ट पारेको छ । त्यसमाथि हाम्रो साक्षीको बकपत्रले पुष्टि गरेको छ । त्यसै गरी काठमाडौंबाट भैरहवासम्म सँगै हिँड्दैमा मानव बेचबिखन गरेको आधार प्रमाण विना मानव बेचबिखनको आरोप लगाउन मिल्दैन । यसै गरी साक्षीलाई होस्टाइल गराएको भन्ने वादीको आरोप कतैबाट खण्डन भएको देखिँदैन । त्यसर्थ म प्रतिवादीबाट आफ्नो निर्दोषिताको आधार प्रमाण रहे भएको अवस्था नै छ ।
मेरा साक्षी कृष्णबहादुर वराइलीले गरेको बकपत्रमा प्रतिवादीहरूले कसुर गरेका होइनन् भन्ने उल्लेख गरे पनि सो बकपत्र निश्चिततामा आधारित भएको र सूक्ष्म र सर्तकर्तापूर्वक गरिएको अध्ययनबाट देखिँदैन यथार्थतामा उनी वारदातदेखि जान्ने साक्षी होइनन् भनी हचुवा विश्लेषण गर्न मिल्दैन । वादीको साक्षीको बकपत्रलाई आधार मान्नु प्रतिवादीको साक्षीको बकपत्र आधार नमान्नु बिल्कुलै पक्षपातपूर्ण हुन्छ । यदि जाहेरवालीहरूलाई वारदातको पीडित वारदातको देखीजान्ने भोगी जान्ने साक्षी मानी प्रतिवादीले बेचबिखन गर्ने उद्देश्यले काठमाडौंदेखि भैरहवासम्म बस चढाई ल्याएको भनी अनुसन्धान अधिकारीसमक्षको बयानलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६(३) अनुसार अदालतद्वारा प्रमाणित हुन्छ र प्रमाणमा लगाउन मिल्ने हो भने जाहेरवालीहरू आफैँ अदालतमा उपस्थित भई स्वतन्त्ररूपमा गरिएको बकपत्रलाई सोही ऐनको सोही दफाबमोजिम प्रमाण लगाउन मिल्ने कि नमिल्ने ? जाहेरवालीहरूलाई नसुनाई नसोधी प्रतिवादीलाई फसाउने नियतले तयार गरिएको जाहेरी आधार प्रमाण हुने, स्वतन्त्र रूपमा अदालतमा गरेको बकपत्र आधार प्रमाण नहुने ? यस कुराप्रति मूल्याङ्कन गरिएको छैन । यसरी जाहेरवालीहरूले स्वतन्त्ररूपमा अदालतमा जाहेरीको बेहोरा आफैँ लेखेर पढ्न नदिई सही गराएका हुन् । जाहेरी बेहोरा र बयानको बेहोरा झुट्ठा हो । सही जबरजस्ती गराएका हुन् भनी दुवैले एकै मिलानको बकपत्र गरेको अवस्थामा पनि निजहरूको अनुसन्धान अधिकारीसमक्षको बयानलाई अदालतबाट प्रमाणित भएको भनी प्रमाणमा लिन मिल्ने होइन । उक्त दफाको मक्सद त्यो होइन, त्यसो हो भने स्वतन्त्रपूर्वक गरेको अदालतको बकपत्रलाई अदालतबाट प्रमाणित भएको मान्ने कि नमान्ने ? यस कुरालाई विचार मनन र मूल्याङ्कन नगरी गरेको सुरूको फैसलालाई सदर गर्ने गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी बदर गरी दिई न्याय दिलाई पाउन यो पुनरावेदनपत्र प्रस्तुत गरेको छु भन्ने चित्रबहादुर बराइलीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
प्रतिवादीमध्येका आइतराम तामाङले विदेशमा राम्रो काम मिलाइदिन्छु भनी पीडितलाई फकाई फुल्याई सहप्रतिवादीहरू चित्रबहादुर बराइली र मिरा बराइलीको जिम्मा लगाएको तथ्य प्रमाणित भएको अवस्थामा निजलाई कसुरबाट सफाइ दिन
मिल्दैन । पीडितले यी प्रतिवादीको सुरूमा नाम लेखाउन नसकेको भन्ने आधारमा कसुरबाट सफाइ दिन
मिल्दैन । प्रस्तुत अपराध सङ्गठित रूपमा गरिएको तथ्य पुष्टि हुँदाहुँदैसमेत सहअभियुक्त चित्रबहादुर बराइली र मीरा बराइलीलाई सङ्गठिततर्फको कसुरमा दाबी नपुग्ने र पीडितले क्षतिपूर्ति नपाउने गरी भएको फैसला न्यायोचित नहुँदा उक्त फैसला सो हदसम्म उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा वादी नेपाल सरकार तथा प्रतिवादीमध्ये चित्रबहादुर बराइलीको पुनरावेदन परेको देखिएको र जाहेरवालीले अदालतमा आई जाहेरी बेहोरा खण्डन हुने गरी बकपत्र गरेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ वादीको पुनरावेदनको हकमा प्रतिवादीहरूको नाममा म्याद जारी गरी झिकाई प्रतिवादीको पुनरावेदनको हकमा नेपाल सरकारलाई सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७६।२।१४ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादी चित्रबहादुर बराइलीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामेश्वरप्रसाद कोइराला, विद्वान् अधिवक्ता श्री मनिषकुमार श्रेष्ठ; विद्वान् अधिवक्ता श्री विकास भट्टराई, विद्वान् अधिवक्ता श्री नवराज अधिकारी र विद्वान् अधिवक्ता श्री ओम पङ्गेनीले पुनरावेदकले पीडित मानिएकाहरूसँग बसमा सँगै यात्रा गरेको भनी स्वीकार गरेको तथ्यलाई कसुर कायम हुने गरी प्रमाणमा लगाउन मिल्दैन । पीडित भनिएकाको प्रतिकूल बकपत्रलाई नजरअन्दाज गरी कसुरदार ठहर गर्न न्यायको रोहमा मिल्ने अवस्था होइन । एउटै मुद्दामा वादीको साक्षीको भनाइ प्रमाणमा लिने तर प्रतिवादीको साक्षीको भनाइ प्रमाणमा नलिने गरी निर्णय गर्न मिल्दैन । ठोस आधार र प्रमाण विना हचुवाको भरमा मानव बेचबिखन जस्तो गम्भीर मुद्दामा कसुरदार कायम गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको नदेखिँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ प्रदान गरिनुपर्दछ भनी बहस गर्नुभयो ।
त्यसै गरी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता कमलराज पन्थीले प्रतिवादीमध्येका आइतराम तामाङले पीडितलाई फकाई फुल्याई सहप्रतिवादीलाई जिम्मा लगाएको तथ्य प्रमाणित भएको अवस्थामा निजलाई कसुरबाट सफाइ दिन मिल्दैन । पीडितले यी प्रतिवादीको सुरूमा नाम लेखाउन नसकेको भन्ने आधारमा कसुरबाट सफाइ दिन मिल्दैन । प्रस्तुत अपराध सङ्गठित रूपमा गरिएको तथ्य पुष्ठी हुँदाहुँदैसमेत सहअभियुक्त चित्रबहादुर बराइली र मीरा बराइलीलाई सङ्गठिततर्फको कसुरमा दाबी नपुग्ने र पीडितले क्षतिपूर्ति नपाउने गरी भएको फैसला न्यायोचित नहुँदा उक्त फैसला सो हदसम्म उल्टी गरी अभियोग दाबीबमोजिम गरिनुपर्दछ भनी गर्नु भएको बहससमेत सुनियो ।
विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर सुनी प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा
होइन ? निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा पीडित परिवर्तित नाम २०७१(३)(MS) र परिवर्तित नाम २०७१(३)(AB) को जाहेरी दरखास्तबाट प्रतिवादीहरू चित्रबहादुर बराइली, मीरा बराइली, आइतराम तामाङ, विमल भण्डारी, विनोद भन्ने टेकबहादुर कामीउपर अभियोग पेस भएकोमा फरार टेकबहादुर कामीको हकमा तामेली र अन्य प्रतिवादीमध्ये आइतराम तामाङले सफाइ र चित्रबहादुर बराइली र मीरा बराइलीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ को दफा ४(२)(ख) को कसुर गरको ठहर गरी ऐ.ऐ. दफा १५(१)ङ(२) बमोजिम जनही १०(दश) वर्ष कैद र ५०,०००।– (पचास हजार) जरिवाना गर्ने गरी भएको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादी चित्रबहादुर बराइली र मीरा बराइलीको पुनरावेदन परी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सुरू फैसला सदर हुने गरी भएको फैसलालाई प्रतिवादी मिरा बराइलीले स्वीकार गरी पुनरावेदन नगरेको, आइतराम तामाङलाई सफाइ दिने तथा कसुर ठहर भएको प्रतिवादीलाई सङ्गठित अपराधतर्फ कसुर कायम नगरिएको र कानूनबमोजिम क्षतिपूर्ति नभराइएको तर्फ फैसला नमिलेको भनी सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारले तथा प्रमाणको रोहमा कसुर समर्थित नभएको अवस्थामा पनि अभियोग दाबीअनुसार सजाय गरिएको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भन्ने जिकिरसहित प्रतिवादीहरू चित्रबहादुर बराइलीले यस अदालतसमक्ष पुनरावेदन गरेको देखिन्छ ।
पुनरावेदक प्रतिवादीहरू चित्रबहादुर बराइली र मीरा बराइलीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा जाहेरवाला परिवर्तित नाम २०७१(३)MS र २०७१(३)MS र प्रतिवादीहरू चित्रबहादुर बराइली र मीरा बराइली कलंकीबाट भैरहवातर्फ एउटै बसमा सवार भई सुनौलीसम्म पुगेको तथ्यलाई प्रतिवादीसमेतले स्वीकार गरी बयान गरेको देखिँदा एउटै बसमा सवार भए नभएको सम्बन्धमा यकिन गर्नुपर्ने अवस्था
देखिएन ।
२. पुनरावेदक प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा सामान्य चिनजानका मानिसको भनाइको आधारमा विदेश जान सम्पर्क गरी काठमाडौंमा रहेको मेनपावरमा पासपोर्ट बुझाएको भनी बयान बेहोरा लेखाएको र सो बयानसँग मिल्ने गरी सुरू अदालतमा आई बयान गर्दा आफूहरू मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न नभई भारतको बाटो हुँदै दुवही जान लागेको बेहोरा उल्लेख गरेको देखिन्छ । यी दुवै प्रतिवादीको भनाइ सहप्रतिवादी आइतराम तामाङले मौका तथा सुरू अदालतमा गरेको बयानमा लेखाएको बेहोराबाट समेत समर्थित हुन आउँछ । पुनरावेदक प्रतिवादी चित्रबहादुर बराइली र मीरा बराइलीलाई विदेश पठाउन सहजीकरण गर्न अर्का प्रतिवादी विमल भण्डारी विनोद भन्ने टेकबहादुर कामीसँग परिचय गराइदिएको भनी प्रतिवादीमध्येका आइतराम तामाङले लेखाएको बयानको पुष्ठभूमिमा जाहेरवालीसरह नै यी पुनरावेदक प्रतिवादीहरूसमेत अवैध मार्ग हुँदै वैदेशिक रोजगारीको लागि विदेश जान लागेको भन्ने तथ्य पुष्टि हुन आउँछ ।
३. मिसिल संलग्न प्रतिवादी मीरा बराइलीको कान्तिपुर डाइग्नोष्टिक सेन्टरको मेडिकल रिपोर्टमा घरेलु कामदारको रूपमा आफ्नै पहलमा ओमान मुलुकमा जाने बेहोरा उल्लेख भएको देखिन्छ । त्यसैगरी अर्का प्रतिवादी चित्रबहादुर बराइलीको सिद्धि पोलिक्लिनिक हेल्थ सार्भिसेजबाट जारी मेडिकल रिपोर्टमा आफ्नै पहलमा घरेलु सवारी चालकको रूपमा ओमान मुलुक जाने विवरण उल्लेख भएको देखिन्छ । वैदेशिक रोजगारीको लागी घरेलु कामदारको रूपमा विदेश जान नेपाल सरकारले प्रतिबन्ध लगाएको अवस्थामा कानूनी मार्ग अवलम्बन गरी विदेश मानिस पठाउन नसकिने अवस्था हुँदा यी पुनरावेदक प्रतिवादीहरूलाई समेत गैरकानूनी बाटो हुँदै संयुक्त अरब इमिरेट्स मुलुकको सट्टा ओमानमा घरेलु कामदारको रूपमा विदेश पठाउन खोजिएको तथ्य मिसिल संलग्न कागजको आधारमा पुष्टि भएको देखिन आयो ।
४. मिसिल संलग्न कागजबाट स्वयं पुनरावेदक प्रतिवादीहरूसमेत मानव तस्करीको अदृश्य सञ्जालको बहकाउमा परी जान चाहेको मुलुकभन्दा फरक मुलुकमा वैदेशिक रोजगारीको लागि जाँदै गरेको देखिन्छ । जाहेरवालाहरू दुवै जना र प्रतिवादीहरू सँगसँगै बसमा यात्रा गर्नुलाई मात्र आपराधिक कार्यअन्तर्गत राखी सजाय गर्दा गैरकानूनी मार्गबाट विदेश जान लागेको यी प्रतिवादीहरूलाई समेत थप अन्याय पर्न जाने देखिन्छ । मिसिल संलग्न कागजातहरूबाट विदेश जान लागेको पुष्टि भएको अवस्थामा बसमा आफूसगै यात्रा गरेका जाहेरवालीको जाहेरीको आधारमा मात्र कसुर कायम गर्नु न्यायोचित हुने देखिएन ।
५. आरोप लगाइएका व्यक्तिउपर अभियोग मागदाबी लिई अभियोजन गर्नु अगाडि अभियोजकले मिसिल संलग्न प्रमाणहरूको मिहिन रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । जाहेरी पर्नु र सोउपर अनुसन्धान हुनुमात्र अभियोजनको आधार हुन सक्दैन । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीउपरको अभियोग समर्थित गराउनु फौजदारी न्यायको सन्दर्भमा अभियोजकको अनिवार्य दायित्व हो । शंकाको भरमा प्रमाणको रोहमा समर्थित हुन नसकेको अभियोगबाट अभियोग स्थापित हुन सक्दैन । यस्तो अवस्थामा स्वाभाविक रूपमा त्यसको फाइदा अभियुक्तलाई पुग्न जान्छ । पुनरावेदक प्रतिवादीहरू स्वयम् विदेश जानको लागि सुनौली नाका हुँदै भारततर्फ जान लागेको देखिएको र सोही बसमा जाहेरवालीसमेत विदेश जाने प्रयोजनको लागि यात्रा गरेको देखिएको अवस्थामा बसमा सँगै यात्रा गर्नुलाई मात्र अपराधको रूपमा राखी यी पुनरावेदकहरूलाई सजाय गरेको न्यायको रोहमा मिलेको देखिएन ।
६. मानब बेचबिखन जस्तो संगठित मुद्दामा आरोपितलाई सजाय गर्न अभियोग समर्थित गर्ने शंकारहित सबुद प्रमाणको महत्त्वपूर्ण भूमिका
हुन्छ । स्वतन्त्र प्रमाणहरूबाट समर्थन भएको साक्षी प्रमाणबाट अभियोग समर्थित भएको अवस्थामा मात्र आरोपितलाई कसुरदार ठहर गर्न सकिन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू विरूद्ध किटानी जाहेरी दिने स्वयं पीडित जाहेरीवालीहरूले अदालतसमक्ष बकपत्र गर्दा जाहेरी बेहोराको प्रतिकूल बकपत्र गरी यी पुनरावेदकहरूले आफूहरूलाई बेचबिखन गर्न लगेको तथ्यमा अनविज्ञता प्रकट गरी वादी दाबीलाई खण्डित गरिदिएको देखिन्छ । अन्य संकलित प्रमाणबाट समर्थित हुन नसकेको प्रस्तुत मुद्दामा कसुरबाट पीडित भनिएका जाहेरीवालीहरूको अदालतसमक्ष भएको बकपत्रले प्रस्तुत मुद्दाको अभियोजनलाई अनुमान आशंका र सम्भावनातर्फ धकेलिदिएको अवस्थामा मनोगत रूपमा "शंकाको सुविधा अभियुक्तले पाउँछ" भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत हुने गरी यी पुनरावेदक प्रतिवादीहरूलाई सजाय गर्न मिल्ने अवस्था देखिएन ।
७. समग्र परिस्थिति र घटनाक्रमले यी पुनरावेदकहरूसमेत गैरकानूनी मार्ग हुँदै विदेश जान लागेको देखिएको अवस्थामा सो विदेश जाने क्रममा सँगसँगै यात्रा गर्नु नै अपराध हुने भनी फौजदारी कानूनले संकेत नगरेको कार्य अर्थात् अपराध नै नभएको अवस्थामा "कानूनको स्पष्ट उल्लङ्घन नभई गरेको कार्य अपराध नहुने" भन्ने फौजदारी न्यायको मान्य सिद्धन्तविपरीत बलपूर्वक कसुरदार कायम गर्न मिल्ने नदेखिँदा अभियोग लागेको आधारमा मात्र यी पुनरावेदकहरूलाई सजाय गर्नु फौजदारी न्यायको विधिशास्त्रीय मान्यता प्रतिकूल हुने देखियो । बसमा जाहेरवाला र प्रतिवादीसँगै यात्रा गर्नु निजहरूको जानकारीबेगर कसैले पीडितहरूलाई साथ लगाइदिनु जस्ता कार्यहरू सांयोगिक हुन सक्छन् । तसर्थ, सँगै गरिएको बसको यात्रालाई नै अभियोजनको मूल आधार भएको अवस्थामा यस्तो पुष्टि हुन सक्ने प्रमाणको आधारमा पुनरावेदक प्रतिवादीहरूउपर कसुर कायम गर्न मिल्ने देखिएन ।
८. अपराध र अपराधीको जडसम्म नपुग्ने गरी गरिने अनुसन्धान र अभियोजनले न्यायको बास्तिवक मर्म प्रतिबिम्वित गर्न सक्तैन । प्रस्तुत मुद्दामा प्रमाणको भार प्रतिवादीउपर रहेको भन्ने आधारमा मात्र सतही अनुसन्धान गरी कमजोर प्रमाणको आधारमा अभियोजन गर्ने छुट अभियोजकलाई कानूनले दिएको देखिँदैन । अप्रमाणित तथ्यलाई बलपूर्वक जोडी कसैउपर गरिने अभियोगले न्यायको वास्तविक चित्र प्रस्ततु गर्न सक्दैन । बरू यसले अधिकार र शक्तिको चरम दुरूपयोगको अवस्थातर्फ संकेत गरेको
मानिन्छ । पुनरावेदकको वैदेशिक रोजगारतर्फको सम्बन्धलाई कुनै विचार नै नगरी गरिएको प्रस्तुत मुद्दाको अनुसन्धान र अभियोजनले मुद्दाका पक्षले पाउनु पर्ने वास्तविक न्यायलाई पूर्णत: नजर अन्दाज गरेको देखिन्छ । अनुसन्धान र अभियोगजन पक्षले जिम्मेवारी पूरा नगरी पेस गरेको सतही अनुसन्धान, अभियोजन तथा खण्डित र टुक्रिएका प्रमाणको कडीमा कसुर कायम गरी गरिएको सजाय न्यायको रोहमा उपयुक्त देखिन आएन ।
९. फौजदारी कसुरमा अभियुक्तहरूउपर लगाइएको अभियोग नि:सन्देह वस्तुनिष्ठ तवरबाट प्रमाणित हुनुपर्छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि यही तथ्यलाई स्पष्ट रूपमा कानूनमा नै उल्लेख गरेको देखिन्छ । निर्देषिता प्रमाणित गर्नुपर्ने भार प्रतिवादीमा रहेको मुद्दा भएको कारणले मात्र प्रमाणबाट समार्थित नै हुन नसकेको प्रस्तुत अभियोगमा पनि प्रतिवादीले निर्दोषिता प्रमाणित गर्न नसकेको भनी सजाय गर्न मिल्ने देखिँदैन । जुनसुकै अवस्थामा पनि प्रमाणको रोहमा अभियोग प्रमाणित गर्नुपर्ने दायित्वबाट वादी पक्षले छुटकारा पाउने भन्ने कानूनको मनसाय होइन । कसुर भयो भनी कसैउपर पोल गरिनु र सोही आधारमा कुन कानूनको उल्लङ्घन भयो सोतर्फसमेत विचार नगरी कसैउपर अभियोग लगाउने कार्य मात्रलाई फौजदारी न्यायले न्यायिक पर्याप्तता
मान्दैन । अनुसन्धानको निष्कर्षबाट देखिएअनुसारको कसुर कायम गरी लगाइएको अभियोग प्रमाणबाटसमेत समर्थित हुनु अनिवार्य हुन्छ । यी प्रतिवादीहरू विदेश जान भारतको बाटो हुँदै हिँडेको भनी बयान गरेका र उक्त बयान बेहोरा पुष्टि हुने कागजात पनि निजहरूको साथबाट प्राप्त भएको मिसिलबाट देखिएको अवस्थामा निजहरू पीडितहरूलाई बेचबिखन गर्न भारत गएका थिए वा उद्देश्यपूर्वक बेच्न लगेका थिए भन्ने अभियोग दाबी खण्डित भइरहेको देखिन्छ । मिसिल संलग्न प्रमाणहरू एकआपसमा बाझिएको अवस्था रहेको र मिसिलमा त्यस्ता प्रमाणको प्रचुरता रहेको अवस्थामा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको मान्यता प्रतिकूल हुन जान्छ । प्रस्तुत मुद्दामा खण्डित प्रमाण नै मुख्य प्रमाणको रूपमा आरोपित प्रतिवादीहरू विरूद्ध पेस गरिएको अवस्थामा फौजदारी न्यायको भावना प्रतिकूल यी प्रतिवादीका विरूद्ध कसुर कायम गरी सजाय गर्नु न्यायोचित हुने देखिएन । मिसिल संलग्न कागजातहरूबाट विदेश जान लागेको पुष्टि भएको अवस्थामा बसमा आफूसँगै यात्रा गरेका जाहेरवालीको जाहेरीको आधारमा मात्र कसुरदार कायम गर्नु न्यायोचित हुने देखिएन ।
१०. यसर्थ, आफूहरू विदेश जान लागेको भन्ने प्रतिवादीहरूको अदालतसमक्ष भएको बयान, निजहरूको साथमा भेटिएको मेडिकल रिपोर्ट, पासपोर्टसमेतका कागजातले सो बयानहरू खम्बिर भइरहेको, पीडितहरूले अदालतसमक्ष प्रतिकूल बकपत्र गरिदिएकोसमेतका माथि विवेचित आधार र कारणबाट यी प्रतिवादीहरू मीरा बराइली र चित्रबहादुर बराइलीउपरको अभियोग दाबी संपुष्टि हुन आएको नदेखिँदा निजहरूउपर कसुर कायम गर्ने गरी भएको उच्च अदालत तुल्सीपुर बुटवलको फैसला मिलेको देखिन आएन ।
११. अब पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादी आइतराम तामाङलाई अभियोग मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा सफाइ दिने गरी भएको फैसला नमिलेको भनी जिकिर लिएको देखिन्छ । प्रतिवादी आइतराम तामाङको सम्बन्धमा पीडितले दिएको जाहेरी दरखास्तमा निजको नामसम्म उल्लेख गरेको
देखिँदैन । प्रतिवादी आइतराम तामाङ मौकामा अनुसन्धान अधिकारीसमक्ष कसुरमा इन्कार रही बयान गरेको र सुरू अदालतसमक्ष बयान गर्दासमेत आरोपमा इन्कारी रही बयान गरेको र निजको साक्षीबाट समेत सो तथ्य पुष्टि हुने गरी बकपत्र गरेको देखिँदा प्रमाणको रोहमा प्रतिवादी आइतराम तामाङको कसुरमा संलग्नता रहेको देखिँदैन । अर्कोतर्फ सहअभियुक्तहरूउपरको अभियोग दाबी प्रमाणको रोहमा समर्थित नभएको सम्बन्धमा माथि विभिन्न प्रकरण प्रकरणमा विवेचना गर्दाका बखत प्रस्तुत अभियोगमा वारदात नै स्थापित नभएको आधारमा प्रतिवादीउपर कसुर कायम हुन नसकेको भनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला उल्टी भई पुनरावेदक प्रतिवादीहरूले सफाइ पाउने गरी फैसला भएको अवस्थामा सोही मुद्दाका सहअभियुक्तको रूपमा रहेको यी प्रतिवादीलाई कसुरदार कायम गरी सजाय गर्न मिल्नेसमेत देखिएन ।
१२. अभियोग दाबी प्रमाणित हुन मिसिल संलग्न कागजातबाट समर्थित हुनुपर्ने भन्ने सम्बन्धमा यसै अदालतबाट ने.का.प. २०७६, नि.नं.१०३४९ भएको मानव बेचबिखन मुद्दामा “कानूनले निर्दोषित प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजक पक्षको उक्त दायित्व सीमित वा समाप्त नहुने” भनी प्रमाणको भार सम्बन्धमा सिद्धान्त प्रतिपादन भएको छ । त्यस्तै ने.का.प.२०७६, नि.नं.१०१९० मा भएको मानव बेचबिखन मुद्दामा “प्रमाणित बयान आफैँमा एक महत्त्वपूर्ण प्रमाणको रूपमा रहे तापनि सो बयान अन्य प्रमाणबाट समर्थित हुनु अनिवार्य हुने” भनी व्यवस्था भएको देखिँदा सुरूको प्रमाणित बयान सधैँ र सबै अवस्थामा अकाट्य प्रमाणको रूपमा ग्रहण गर्नु अनिवार्य
देखिँदैन । त्यसैगरी ने.का.प.२०७५, नि.नं.९९३५ मानव बेचबिखन मुद्दामा "के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराध जनित कार्य भयो र त्यस्ता कार्यमा को कसको के कस्तो संलग्नता रहेको छ भन्ने कुरा पनि अभियोजक पक्षले स्थापित गर्नुपर्ने" भनी व्याख्या भएको र ने.का.प.२०७५, नि.नं. १००८८ “फौजदारी मुद्दामा अभियुक्तउपर लगाइएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्न आवश्यक प्रमाणको संकलन एवं प्रस्तुतीकरण गर्ने जिम्मेवारी वादी पक्षमा निहित रहेको हुन्छ । अनुमान र शंकाको भरमा कसुरदार ठहर गरी दोषी ठहर गर्न नमिल्ने” भनी व्याख्या भएको सन्दर्भमा उस्तै अवस्था र परिस्थिति समावेश भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूउपर कसुर कायम गरेको मिलेको नदेखिँदा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर तथा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरसँगसमेत सहमत हुन सकिएन ।
१३. तसर्थ उपर्युक्त विवेचित आधार र कारणबाट पुनरावेदक प्रतिवादीहरू चित्रबहादुर बराइली र मीरा बराइलीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरको आधारमा ऐ.ऐ. ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गर्ने गरी भएको सुरू फैसला सदर गर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।२।१२ को फैसला मिलेको नदेखिँदा उक्त फैसला सो हदसम्म उल्टी भई पुनरावेदक प्रतिवादीहरू चित्रबहादुर बराइली र मीरा बराइलीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीमध्येका आइतराम तामाङलाई अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने तथा सङ्गठित अपराधअनुसारको दाबीमा सबै प्रतिवादीलाई सजाय र पीडितले क्षतिपूर्ति भराई पाउनुपर्ने भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
पुनरावेदक प्रतिवादी चित्रबहादुर बराइली तथा यस अदालतमा पुनरावेदन नगर्ने प्रतिवादी मिरा बराइली मिति २०७७।०६।१५ को संक्षिप्त आदेशानुसार मिति २०७७।०६।१६ च.नं. ४४५ को पत्रबाट थुना (कैद) मुक्त भइसकेकाले सोहीअनुसार लगत व्यवस्थापन गर्नु भनी रूपन्देही जिल्ला अदालतमा लेखी पठाउनू......१
प्रस्तुत फैसलाको विद्युतीय प्रति सफट्वेयरमा अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सपना प्रधान मल्ल
इजलास अधिकृतः- कमलकुमार आचार्य
इति संवत् २०७७ साल असोज १५ गते रोज ५ शुभम् ।