निर्णय नं. १०७६८ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७७।१२।१७
०७२-CI-०३४८
मुद्दा : लेनदेन
पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.११ बस्ने जनकलालको छोरा किशोर श्रेष्ठ
विरूद्ध
प्रत्यर्थी / वादी : ऐ.ऐ.वडा नं.१६ बस्ने रत्नप्रदिप तुलाधरकी पत्नी अञ्जना स्थापित
एकै दिनमा समेत दुई प्रयोजनका लागि उही व्यक्तिहरूबाट अलग अलग लिखत खडा गरी व्यवहार कारोबार हुनसक्ने हुँदा कपाली तमसुक लिखत खडा भएको एक दिनपछि राजीनामा पारित भएको देखिएकै आधारमा सो कपाली तमसुक लिखत राजीनामा गर्ने प्रयोजनका लागि खडा भएको भनी अर्थ गर्न नमिल्ने ।
वादी प्रतिवादीबिच एकभन्दा बढी व्यवहार भएकोलाई आधार मानी ती व्यवहारहरू एकै उद्देश्यका लागि भएका हुन् र ती व्यवहारमा अन्तरसम्बन्ध छ भनी अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी र विद्वान् अधिवक्ता श्री प्रमोद रेग्मी
अवलम्बित नजिर :
ने.का.प.२०५६, अङ्क १२, नि.नं.६८३४
ने.का.प.२०६८, अङ्क १, नि.नं.८५३२
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री अच्युत विष्ट
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश डा.हरिवंश त्रिपाठी
माननीय न्यायाधीश डा.कुलरत्न भुर्तेल
पुरावेदन अदालत पाटन, ललितपुर
फैसला
न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
विपक्षीले मिति २०६२।०९।१७ गते मसँगबाट घर व्यवहार तथा व्यापार व्यवसाय गर्न भनी रू.२०,००,०००।- (बिस लाख रूपैयाँ) लिई सोही मितिमा साँवा र कानूनबमोजिमको ब्याज तमसुक भएको मितिले ३५ दिनभित्र एकमुष्टरूपमा बुझाउने गरी कागज गरिदिनुभएकोमा उल्लिखित भाखाभित्र प्रतिवादीले साँवा ब्याज केही नबुझाएकोले विपक्षीकहाँ गई साँवा ब्याज बुझाइदिनुहोस् भन्दा केही दिन पर्खिदिनुहोस् भन्दै आउनु भएकोमा मैले पछिल्लो पटक विपक्षीकहाँ गई साँवा ब्याज बुझाइदिनुहोस् भन्दा विपक्षीले तपाइँको साँवा ब्याज केही पनि दिन्न जानेको गर्नुस् भनी ठाडो जवाफ दिनुभएको र विपक्षीले मसँग कर्जा लिएपछि आजसम्म मलाई साँवा र सोको ब्याज केही कति पनि नदिनु भएको हुँदा विपक्षीले मसँग लिएको साँवा रू.२०,००,०००।- (बिस लाख) र फिरादपत्र दर्ता गर्ने मितिसम्म अर्थात् १ वर्ष ५ महिना ३ दिनसम्मको कानूनबमोजिमको जम्मा ब्याज रू.२,८५,०००।-(दुई लाख पचासी हजार) गरी आज फिराद गर्दासम्मको जम्मा साँवा ब्याज रू.२२,८५,०००।- (बाइस लाख पचासी हजार) तथा फैसला मितिदेखि भरिभराउसम्मको ब्याजसमेत विपक्षीबाट दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
मिति २०६२।९।१७ मा विपक्षीबाट मैले रू.२०,००,०००।- (बिस लाख) रूपैयाँ लिएको
होइन । मेरो नाममा रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ को कि.नं.१३४७ को घरजग्गा वाणिज्य बैंक शाखा कार्यालय, विशालबजार काठमाडौंमा ऋण लिई रोक्का रहेकोले सोही बैंकको ऋण तिर्न र रजिस्ट्रेसन पारित प्रयोजनार्थ ऋण लिई मिति २०६२।९।१८ मा मालपोत कार्यालय डिल्लीबजार काठमाडौं र.नं.५४(ख) मा उल्लिखित मेरो नामको घर जग्गा विपक्षीलाई रजिस्ट्रेसन पारित गरिदिएको छु । सो बिस लाखको लिखतमा सोही बेहोरा उल्लेख छ । घर जग्गा रजिस्ट्रेसन पारित गरी लिई दोहोरो ऋण असुल गर्ने बदनियतले मात्र फिराद गरेको हो । मैले घर जग्गा पारित गरेपश्चात् ऋण लिएको
होइन । माथि उल्लिखित घर जग्गा पारित गरिदिएपछि वादी दाबीको लिखतको औचित्य समाप्त भइसकेको हुँदा पुनः लेनदेन दाबी गर्न पाउने होइन भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र ।
वादीले पेस गरेको मिति २०६२।९।१७ गतेको रू.२०,००,०००।- (बिस लाख) को लिखत सद्दे हो । घर जग्गा रजिस्ट्रेसन गर्ने प्रयोजनका लागि सो लिखत तयार भएको हो । मौखिक सहमतिमा घर जग्गा फिर्ता गरेपछि प्रतिवादीले वादीलाई रकम फिर्ता गर्ने सर्त भएको हो भन्नेसमेत बेहोराको प्रतिवादीका वारेसले सुरू अदालतमा अ.बं.७८ नं. बमोजिम गरेको बयान ।
यी प्रतिवादीले वादी अञ्जना स्थापितबाट मेरै रोहबरमा रू.२०,००,०००।- (बिस लाख) लिएका हुन । हालसम्म उक्त रकम र ब्याजसमेत प्रतिवादीले वादीलाई बुझाएका छैनन् भन्नेसमेत बेहोराको वादीका साक्षी होमराज चौलागाईले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।
वादीले पेस गरेको मिति २०६२।०९।१७ को सक्कल कपाली तमसुक लिखत सुरू मिसिल सामेल रहेको ।
प्रतिवादीले लिखतलाई सद्दे भनी स्वीकार गरेको, रजिस्ट्रेसन प्रयोजनका लागि भन्ने लिखतमा उल्लेख नभएको, लिखत कपाली प्रकृतिको देखिन आएको, लिखतमा उल्लिखित साँवा प्रतिवादीले वादीलाई बुझाएको नदेखिएकोसमेतका आधार प्रमाणबाट वादी दाबीमा उल्लिखित साँवा र कानूनबमोजिम हुन आउने ब्याजसमेत वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।३।१० को फैसला ।
मिति २०६२।९।१७ गते घर व्यवहार एवं व्यापार व्यवसाय गर्न भनी रू.२०,००,०००।- (बिस लाख) लिई ३५ दिनभित्र साँवा र ब्याज बुझाउने गरी कागज गरी दिएकोमा मेरा नाममा दर्ता रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ स्थित कि.नं.१३४७ को क्षेत्रफल ०-३-०-३ जग्गा र सो जग्गामा बनेको साढे २ तले घर वाणिज्य बैंक शाखा विशालनगर काठमाडौंको ऋण तिर्न लिई सोही मिति २०६२।९।१७ गते ऋण बुझाई २०६२।९।१८ गते वादीका नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंबाट र.नं.५४ख बाट उल्लिखित कि.नं.र क्षेत्रफलको घर जग्गा राजीनामा पारित गरिदिएको
छु । सो बिस लाखको लिखतमा सोही बेहोरा उल्लेख छ । जुन प्रयोजनार्थ ऋण लिएको हो, सो काम गरेपछि मैले छुट्टै ऋण लिएको नहुँदा दोहोरो ऋण असुली गर्ने बदनियतले फिराद गरेको हुँदा दोहोरो लेनदेनको दाबीबाट सफाइ दिलाइपाउँ र मेरो नामको उल्लिखित घर जग्गा पारित गरिदिएको सो लेनदेनको लिखतको औचित्य समाप्त हुने हुँदा सोही लिखतलाई आधार लिई प्रस्तुत लेनदेन मुद्दा दायर गरेको र प्रत्यर्थी वादी दूषित भावनाले न्यायालयमा प्रवेश गरेको हुँदा राजीनामा गरेको थैली र रजिस्ट्रेसन दस्तुर मात्र लिखत कच्चा ठहरेको बखत ऐनबमोजिम साँवा ब्याज भराई पाउन फिराद गर्ने दायित्व रहने हुँदा सो पारित लिखतबमोजिमको घर जग्गा र म पुनरावेदकलाई राजीनामा पारित गरिदिए साँवा ब्याज तिर्न मन्जुर छु । अन्यथा मैले दोहोरो ऋण तिर्नुपर्ने नहुँदा झुट्टा दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
मिति २०६२।९।१७ को कपाली तमसुक प्रतिवादीलाई सुनाउँदा सद्दे हो भनी स्वीकार गरेको पाइन्छ । उक्त लिखतअनुसारको साँवा ब्याज वादीले प्रतिवादीलाई तिरे बुझाएको कुनै प्रमाण पेस गर्न सकेको वा उक्त तमसुक फट्टा गराई लिएको अवस्थासमेत देखिँदैन । यसबाहेक कि.नं.१३४७ को घर जग्गा पारित गर्ने गराउने प्रयोजनका लागि उक्त कपाली तमसुक तयार भए गरेको हो भन्ने प्रतिउत्तर जिकिरको पुष्ट्याईं गर्न प्रतिवादीले कुनै ठोस प्रमाण गुजारेकोसमेत देखिँदैन । तसर्थ वादीलाई प्रतिवादीबाट दाबीबमोजिमको साँवा ब्याज भराइदिने ठहर्याई काठमाडौं जिल्ला अदालतले मिति २०६५।३।१० मा गरेको फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६६।१०।२१ को फैसला ।
म निवेदक प्रतिवादीका नाममा दर्ता रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ स्थित कि.नं.१३४७ को क्षेत्रफल ०-३-०-३ जग्गा र सो जग्गामा बनेको घर राष्ट्रिय वाणिज्य बैंक शाखा विशालनगर काठमाडौंमा राखी ऋण लिएकोमा सो बैंकको ऋणसमेत तिर्न विपक्षी अञ्जना स्थापितसँग मिति २०६२।९।१७ मा लिखत गरी रू.२०,००,०००।- (बिस लाख) लिई बैंकको ऋण तिरी सो घर जग्गा मिति २०६२।९।१८ मा र.नं.५४(ख) बाट रू.१८,०४,०००।- (अठार लाख चार हजार) विपक्षीलाई राजीनामा पारित गरी दिई सो घर जग्गा आजका मितिसम्म विपक्षीकै नाममा
छ । म निवेदकले ऋण लिएको रकम बैंकबाट घर जग्गा उकास्न पास खर्च रू. ८१,१८०।- (एकासी हजार एक सय असी) कमिसन रू.१,००,०००।- (एक लाख) र लेखक खर्च रू.५,०००।- (पाँच हजार) हो र रू.९,८२०।- (नौ हजार आठ हजार बिस) बचेको थियो । रूपैयाँको फाँटवारी यही हो । मैल सुरूमा गरेको प्रतिउत्तर र पुनरावेदनलाई बेवास्ता गरिएको छ । फिराद दाबी खारेज हुनुपर्छ । विपक्षीसँग म निवेदकले जुन प्रयोजनका लागि ऋण लिएको हुँ सो प्रयोजन विपक्षीका नाउँमा घर जग्गा राजीनामा पास गरिदिएपछि लेनदेनको औचित्य समाप्त हुने हुँदा सोही लिखतलाई आधार बनाई दूषित भावनाले विपक्षी अदालत प्रवेश गरेको र राजीनामा कच्चा ठहरेको बखत ऐनबमोजिमको साँवा ब्याज भराई पाउने नै हुँदा सो घर जग्गा मेरा नाममा पास भएका बखत साँवा ब्याज तिर्न मन्जुर छ । दोहोरो ऋण तिर्नुपर्ने नहुँदा झुट्टा दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको मुद्दा दोहोर्याइपाउँ भन्ने निवेदन ।
किशोर श्रेष्ठको नामको जग्गा पारित हुनु एक दिनअगाडिको लिखतका सम्बन्धमा परेको लेनदेन मुद्दामा एउटै व्यक्ति क्रेता र साहुसमेत भई जग्गा पारित भइरहेको अवस्थामा किशोर श्रेष्ठका उपर दोहोरो दायित्व सिर्जना गरी घर पनि साहुले पाउने र अरू ऋणको दायित्वसमेत किशोरले बेहोर्नुपर्ने अवस्था सिर्जना भएको २०६२।९।१७ को लिखतबाट देखिएको ऋणका सम्बन्धमा मिति २०६२।९।१८ मा सो घर जग्गा पारित हुँदा केही उल्लेख नहुनुबाट पुनरावेदन अदालत पाटनको मिति २०६६।१०।२१ को फैसलामा अ.बं.१८४क, १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७२।३।२९ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन गरी प्रत्यर्थी वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी र विद्वान् अधिवक्ता श्री प्रमोद रेग्मीले पुनरावेदकको जग्गा लिलाममा चढिसकेको थियो । हाम्रो पक्षसँग ऋण लिई बैंकमा बुझाएको हो, सोको रसिद हामीसँग छ । पुनरावेदकले पैसा पनि दिएका छैनन् र घर पनि छोडेका छैनन् । सर्वोच्च अदालतमै करिब १० वर्ष अवधि व्यतीत भइसकेको छ । पुनरावेदकले लिखतलाई स्वीकारी सकेको अवस्था छ । पुनरावेदकले प्रस्ट रूपमा कपाली तमसुक गरी ऋण लिएको अवस्था हुँदा ने.का.प.२०५६, अङ्क १२, नि.नं.६८३४, पृष्ठ ८२९ मा प्रतिपादित सिद्धान्तसमेतलाई मध्यनजर गरी साँवा ब्याज भराइदिने गरी भएको सुरू फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला कानूनबमोजिम मिलेको हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत विवादमा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा
होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीले २०६२।०९।१७ गते मसँगबाट रू.२०,००,०००।- (बिस लाख) ऋण लिई कपाली तमसुक लिखत गरिदिनु भएकोमा भाखाभित्र प्रतिवादीले साँवा ब्याज केही नबुझाएकोले विपक्षीले मसँग लिएको साँवा रू.२०,००,०००।- (बिस लाख रूपैयाँ) र कानूनबमोजिमको ब्याजसमेत भरिपाउँ भन्ने वादी दाबी भएकोमा दाबीबमोजिम साँवा र ब्याज भराइदिने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला सदर ठहर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसलामा मुद्दा दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीको निवेदन परी यस अदालतबाट मिति २०७२।३।२९ मा मुद्दा दोहोर्याई हेरी पाउने निस्सा प्रदान भएपश्चात् पुनरावेदनको रूपमा दर्ता भई निर्णयार्थ पेस हुन आएको देखियो ।
३. विपक्षीले मिति २०६२।०९।१७ गते मसँगबाट घर व्यवहार तथा व्यापार व्यवसाय गर्न भनी रू.२०,००,०००।- (बिस लाख) लिई भाखा ३५ दिनभित्र सो साँवा र ब्याजसमेत नदिनु भएकोले साँवा ब्याजसमेत दिलाई भराइपाउँ भनी वादी दाबी रहेकोमा मैले वादीलाई दाबीबमोजिमको ऋणबापत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.११ स्थित कि.नं.१३४७ को क्षेत्रफल ०-३-०-३ जग्गा र सो जग्गामा बनेको साढे २ तले घर र.नं.५४(ख) मिति २०६२।९।१८ मा पारित गरिदिएको छु, दोहोरो ऋण असुल गर्न वादीले झुट्टा फिराद गरेकोले खारेज गरिपाउँ भनी प्रतिवादीको प्रतिउत्तर जिकिर रहे भएको
देखियो ।
४. मैले वादीबाट लिएको ऋणबापत वादीलाई घरजग्गा राजीनामा पारित गरिदिएको छु । मैले ऋण तिर्ने दोहोरो दायित्व वहन गर्नुपर्ने होइन, मैले सुरू जिल्ला अदालतमा पेस गरेको प्रतिउत्तरको बेवास्ता गरी भएको फैसला बदर गरी वादीको झुट्टा दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीले पुनरावेदन अदालत पाटनमा पुनरावेदन दिएको देखिन्छ । पुनरावेदन अदालत पाटनबाट समेत काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर भएपछि प्रतिवादीले सोही पुनरावेदन जिकिर उल्लेख गरी यस अदालतमा पुनरावेदन दिएको पाइयो । प्रतिवादीले दिएको पुनरावेदन पत्रमा उल्लेख गरेको जिकिर पुग्ने नपुग्नेतर्फ विचार गर्दा, मिति २०६२।९।१७ को सक्कल कपाली तमसुक हेर्दा रू.२०,००,०००।- (बिस लाख) ऋण बुझी पुनरावेदकले प्रत्यर्थी वादीलाई गरिदिएको विशुद्ध घरसारको भएको देखिन्छ । प्रतिवादीले सो मिति २०६२।९।१७ गतेको कपाली तमसुक लिखत आफूले गरिदिएको स्वीकार गरेको र अ.बं.७८ नं.बमोजिम बयान गर्दा लिखतलाई सद्दे भनी नामकरण गरेको अवस्था
छ । कपाली तमसुक लिखतबमोजिमको साँवा ब्याज तिरी बुझाई सकेको कुनै प्रमाण प्रतिवादीबाट पेस हुन सकेको स्थिति छैन । कपाली तमसुक लिखत च्यातल वा फट्टासमेत भएको देखिँदैन । कपाली तमसुक लिखतका साक्षीले अदालतमा उपस्थित भई प्रतिवादीले वादी अञ्जना स्थापितबाट रू.२०,००,०००।- (बिस लाख) मेरै रोहबरमा बुझी लिएका हुन् भनी बकपत्र गरिदिएको पाइन्छ । श्रीमती धनादेवी साहु सुडिन विरूद्ध मचकौडी साहु सुडी, ने.का.प.२०५६, अङ्क १२, निर्णय नं.६८३४ मा "प्रतिवादीले प्रतिउत्तर फिराउँदा दाबीबमोजिम कर्जा आफूले नलिएको भने तापनि उक्त लिखत गरिदिएको बेहोरा स्वीकार गरेको देखिन्छ । यसरी तमसुक गरिदिएकोमा प्रतिवादीले स्वीकारै गरेको र सो स्वीकारोक्तिलाई अन्यथा भन्न सकिने आधार प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिँदा वादी दाबीबमोजिमको साँवा ब्याज प्रतिवादीबाट भराइदिने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिब नै हुँदा सदर हुने" भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रतिवादीले २०६२।९।१७ गतेको कपाली तमसुक लिखत आफूले गरिदिएको सद्दे लिखत हो भनी स्वीकारी सकेको अवस्थामा सो तमसुक लिखत राजीनामा पारित गर्ने प्रयोजनका लागि खडा गरिएको र मिति २०६२।९।१८ मा राजीनामा पारित गरिदिएपछि सो तमसुकको औचित्य समाप्त हुने हुँदा तमसुकमा उल्लिखित ऋण तिर्नु नपर्ने भन्ने जिकिर लिए पनि सो जिकिर पुष्टि हुने गरी प्रतिवादीले कुनै प्रमाण पेस गर्न सकेको नदेखिएको अवस्थामा प्रतिवादीको जिकिरलाई मात्र आधार मानेर प्रतिवादीमा ऋणको दोहोरो दायित्व सिर्जना हुन सक्ने भन्ने अनुमान गरी प्रतिवादीले वादीको साँवा ब्याज तिर्न बुझाउन नपर्ने भन्न मिलेन । यस स्थितिमा वादीले प्रतिवादीबाट साँवा ब्याज भरी पाउने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मनासिब नै देखियो ।
५. मिति २०६२।९।१७ को सक्कल कपाली तमसुक लिखत घर खर्च तथा व्यापार व्यवसाय गर्ने प्रयोजन खुलाई पुनरावेदक प्रतिवादीले ऋण बुझेको देखिन्छ । सोबाहेक घरजग्गा राजीनामा पारित गरी दिनेलगायतका अन्य सर्त तथा बेहोरा सो कपाली तमसुक लिखतमा खुलाइएको देखिएन । प्रतिवादीले जिकिर लिएअनुरूप रजिस्ट्रेसन गर्ने प्रयोजनका लागि सो कपाली तमसुक लिखत तयार पारिएको भए रजिस्ट्रेसन गर्ने कार्य समाप्त भएपश्चात् उक्त कपाली तमसुक लिखतमा सो बेहोरा उल्लेख गर्ने वा तमसुक लिखत च्यातल वा फट्टा गर्नुपर्नेमा सो कार्य नगरेतर्फ पुनरावेदक प्रतिवादी मौन रहेको अवस्था छ । आफूले च्यातल गर्न अनुरोध गरेको वा प्रतिवादीले च्यातल गरिदिन्छु भनेको कुनै बेहोरा प्रतिउत्तर तथा बयानमा उल्लेख गर्न सकेकोसमेत देखिएन । प्रस्तुत मुद्दा साथै यिनै वादी प्रतिवादी पक्ष / विपक्ष रहेको बेरितको करार बदर घोषित गरिपाउँ भन्ने मुद्दाको सुरू मिसिल संलग्न र.नं.५४(ख) मिति २०६२।९।१८ को राजीनामाको प्रमाणित प्रतिलिपिको कैफियत महल तथा मिति २०६२।९।१८ गतेको करारनामाको कागजमा मिति २०६२।९।१७ गते खडा भएको कपाली तमसुक लिखतको बारेमा एक शब्द पनि उल्लेख भएको नदेखिनुले पनि उक्त कपाली तमसुक लिखत र मिति २०६२।९।१८, र.नं.५४(ख) को पारित राजीनामा लिखतबिच अन्तरसम्बन्ध रहेको देखिँदैन । पुनरावेदक प्रतिवादीले आफैँ प्रस्तावक भई आफ्नो कि.नं.१३४७ को जग्गा प्रत्यर्थी वादीलाई पारित गरिदिने सर्त राखी रू.३१,००,०००।- (एकतिस लाख) लिनुदिनु गरी मिति २०६२।९।१८ मा बेग्लै करारनामाको कागज गरेको देखिएबाट पनि प्रतिवादीको कपाली तमसुक लिखत राजीनामा पास गर्नका लागि तयार पारिएको भन्ने जिकिर पत्यारलायक देखिएन । साहु र आसामी भई घर खर्च र व्यापार व्यवसाय गर्न रूपैयाँ लिनुदिनु गरेको कपाली तमसुक लिखतमा राजीनामा गर्नेलगायतका अन्य सर्त र प्रयोजन उल्लेख नहुनु र वादी प्रतिवादीबिच भएको अन्य व्यवहारमा समेत सो कपाली तमसुक लिखतको चर्चा भएको नदेखिएबाट यी वादी प्रतिवादीबिचमा विभिन्न किसिमका व्यवहार हुने गरेको र सोही क्रममा मिति २०६२।९।१७ मा कपाली तमसुक लिखतसमेत तयार भई सो कपाली तमसुक लिखतको अन्य लिखतहरूसँग अन्तरसम्बन्ध रहेको नदेखिएबाट सो कपाली तमसुक लिखतको स्वतन्त्र अस्तित्व रहे भएकोमा विवाद देखिएन ।
६. महन्थी भन्ने महेन्द्रप्रसाद महतो विरूद्ध दुखनीदेवी महतो ने.का.प.२०६८, अङ्क १, निर्णय नं.८५३२ मा "राजीनामा लिखत व्यवहार अलगअलग प्रकृतिबाट भएको देखिएको, तमसुकी लिखतबाट रूपैयाँ लिनुदिनु गरेको व्यवहार तथा जग्गा राजीनामा पारित गरेको व्यवहारमा दुवै लिखतको एकआपसमा सम्बन्ध (Nexus) रहेको भन्ने कुरा कहीँकतै उल्लेख भई आएको नदेखिएको अवस्था रहेको तथा आम व्यवहार र प्रचलनमा एकै व्यक्तिसँग भिन्न भिन्न व्यवहार हुन सक्ने भनी” यस अदालतको बृहत् पूर्ण इजलासबाट सिद्धान्तसमेत प्रतिपादन भएको छ र प्रस्तुत मुद्दामा रहेको विवाद निरूपणका लागि यो व्याख्या प्रत्यक्ष रूपमा सान्दर्भिकसमेत देखिन्छ ।
७. एकै दिनमा समेत दुई प्रयोजनका लागि उही व्यक्तिहरूबाट अलग अलग लिखत खडा गरी व्यवहार कारोबार हुनसक्ने हुँदा कपाली तमसुक लिखत खडा भएको एक दिनपछि राजीनामा पारित भएको देखिएकोले प्रतिवादीको भनाइकै आधारमा सो कपाली तमसुक लिखत राजीनामा गर्ने प्रयोजनका लागि खडा भएको भनी अर्थ गर्न मिल्ने देखिँदैन । कपाली तमसुक लिखत र राजीनामाको लिखतमा अन्तरसम्बन्ध देखिने गरी कहीँकतै चर्चा गरिएकोसमेत पाइँदैन । करारनामाको लिखतमा राजीनामा पारित गरी लिनेदिने बेहोरा उल्लेख भएबाट कपाली तमसुक वादी प्रतिवादीबिच रहेको भिन्न व्यवहार भन्ने देखिन
आयो । वादी प्रतिवादीबिच एकभन्दा बढी व्यवहार भएकोलाई आधार मानी ती व्यवहारहरू एकै उद्देश्यका लागि भएको हुन् र ती व्यवहारमा अन्तरसम्बन्ध छ भनी अनुमान गर्न मिल्दैन । अझ मिसिलमा पेस भएका कागजातहरू स्पष्ट र मुद्दाका पक्षका भनाइसँग सामञ्जस्य राख्ने अवस्थाको छ भने त्यस अवस्थामा अनुमानको कुनै गुञ्जायस नै रहन्न । मिसिल संलग्न कपाली तमसुक लिखतको प्रकृतिबाटै प्रतिवादीसँग भएको वादीको भिन्न व्यवहार देखिइरहेको अवस्थामा यिनै वादीसँग राजीनामा पारित गरी घरजग्गा लिनुदिनु गरी भएको व्यवहारलाई सो तमसुक लिखतकै सन्दर्भमा भएको होला भनी मान्न नमिल्ने हुँदा विपक्षीसँग लिएको ऋणबापत घरजग्गा पारित गरिदिएको भन्ने पुनरावेदक प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन ।
८. अतः माथि विवेचित आधार, प्रमाण र प्रतिपादित नजिर सिद्धान्तसमेतका आधारमा वादीले प्रतिवादीबाट साँवा ब्याज भरी पाउने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६६।१०।२१ को फैसला कानूनसम्मत मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीयप्रति अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुंगाना
इजलास अधिकृतः किरणकुमार सिंह
इति संवत् २०७७ साल चैत्र १७ गते रोज ३ शुभम् ।