निर्णय नं. १०७७२ - मानव बेचबिखन ओसारपसार एवं बाल यौन दुराचार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७७।११।२६
मुद्दाः- मानव बेचबिखन ओसारपसार एवं बाल यौन दुराचार
०७५-CR-१९८७
पुनरावेदक / प्रतिवादी : Dale A coombs 1047, Ramada collinsnlle, Illinois, 62234, USA वतन भएका ५१७८१७११२ नं. का राहदानीबाहक Kenneth Joseph Coombs
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं २६ सि.आई.वि.१६७ को नेपाल सरकार
०७५-CR-१९४७
पुनरावेदक / वादी : काठमाडौं २६ सि.आई.वि.१६७ को नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : Dale A coombs 1047, Ramada collinsnlle, Illinois, 62234, USA वतन भएका ५१७८१७११२ नं. का राहदानीबाहक Kenneth Joseph Coombs समेत
०७५-CR-१९९६
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला साबिक इचंगुनारायण हाल नागार्जुन नगरपालिका वडा नं.३ वतन भएका साइला पुतुवारको नाति जय पुतुवारको छोरा लुच्चे गणेश भन्ने बुद्ध पुतुवार
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं २६ सि.आई.वि.१६७ को नेपाल सरकार
बाल यौन दुराचार वा अप्राकृतिक मैथुनभित्र मुलुकी ऐन जबरजस्ती करणीको १ नं.को स्पष्टीकरण खण्डको (घ) नं. र प्रचलित मुलुकी अपराध संहिताको दफा २१९(२) को स्पष्टीकरण खण्डको (ग) को अवस्थालाई समावेश गरिएको मान्नुपर्ने ।
बालयौन दुराचारलाई मुलुकी अपराध संहिताको महिला विरूद्ध हुने यौन दुर्व्यवहार विरूद्धको दफा २२४ को कसुर वा बालबालिका विरूद्ध हुने दफा २२५ को बालयौन दुरूपयोगको कसुरसम्म मात्र मान्न सकिने देखिँदैन । यसलाई दफा २२६(३) अन्तर्गतको कसुर मान्नुपर्ने ।
(प्रकरण नं.१०)
बाल यौन दुराचारीलाई पिडोफाइल भन्न मिल्ने देखिए पनि सबै पिडोफाइल बाल यौन दुराचारी नहुन पनि सक्ने भएकाले बाल यौन दुराचार (child sexual abuse) र पिडोफाइल (pedophile) का बिचमा के कस्तो अवस्थामा समान अवस्था र के कस्तो अवस्थामा भिन्नता छ भन्नेबारेमा हेर्दा सबै पिडोफाइललाई बाल यौन दुराचारको कसुरदार मान्न नसकिए पनि सबै बाल यौन दुराचारीलाई पिडोफाइल मान्न सक्ने देखिन्छ । पिडोफाइललाई मानसिक समस्यासँग सम्बन्धित विषय मानी उसले घटना घटाएपछि मात्र बाल यौन दुराचारको कसुर बन्ने अन्यथा पिडोफाइलको अवस्थालाई मात्र आफैँमा अपराध मान्न मिल्ने नदेखिने ।
(प्रकरण नं.११)
उमेर पुगेको व्यक्तिले नाबालकसँग गर्ने यौन सम्पर्क अपराध मात्र नभएर नैतिकपतनको कार्यसमेत हो तर पिडोफाइल मानसिक अस्वस्थता हो, जसमा यौन लक्षण नदेखिएका नाबालकप्रति पिडोफाइलको यौन आकर्षण अत्यधिक बढेको हुन्छ । यस्तो मानसिक अवस्था आफूभित्रै रहेको अवस्थामा यसले अपराध सिर्जना गर्दैन र व्यक्तिभित्रै रहेको पिडोफाइल चाहनालाई अपराध मान्न मिल्दैन तर कार्यमा परिणत भएमा यो अपराधसँगै नैतिक पतनको घटना मानिने ।
(प्रकरण नं.१२)
बाल यौन दुराचार मुद्दामा स्वयं पीडित साक्षीको भनाइको प्रामाणिक मूल्य अत्यन्तै महत्त्वपूर्ण रहेको हुन्छ । वारदातका सम्बन्धमा मौकाको भनाइलाई समर्थन गरी अदालतसमक्ष व्यक्त भएका भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने ।
यौनसम्बन्धी शारीरिक एवं मानसिक पूर्णरूपमा विकसित नभएकाले प्रतिवादीहरूउपरको कसुर अपराधको परिणाम के कस्तो रहने भन्ने कुराको कुनै ज्ञान नभएका अबोध नाबालकले मौका तथा वारदातमा आफूउपर भएको कार्य निस्कपट रूपमा बकपत्र गरेको अवस्थामा अबोध नाबालकहरू छलकपट गर्न सक्ने क्षमता नभएकाहरूलाई मलाई यही प्रश्न सोध्छ भन्ने कुराको जानकारी नै गराई सिकाइएको भन्ने प्रतिवादीको भनाइ केवल अनुमान मात्र मान्नुपर्ने ।
(प्रकरण नं.२८)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग, विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री, श्री रामप्रसाद ढुंगेल, श्री गोकुल भण्डारी, श्री प्रकाश निरौला, श्री ऋषिराम घिमिरे र श्री समिन्द्रध्वज जि.सी.
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद दाहाल
अवलम्बित नजिर :
ने.का.प.२०६९, अङ्क ७, नि.नं.८८६०
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सूर्यप्रसाद पराजुली
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई
माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया
उच्च अदालत पाटन
फैसला
न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
तथ्य खण्ड
बालबालिकामाथि हुने हिंसा, यौन दुराचार र मानव बेचबिखनसमेत विरूद्ध सक्रिय रूपमा काम गर्ने र सोबाट पीडितहरूको उद्धार पुनर्स्थापनासमेत गर्ने काम गर्दै आएको साथी संस्थाले यौन दुराचार र बाल हिंसासम्बन्धी चेतनामूलक र उद्धार कार्यक्रम गर्दै आएकोमा मिति २०७३/०५/२२ गते स्वयम्भुमा बालबालिकाहरूसँगको छलफल कार्यक्रममा परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि.१६१ ले आफूमाथि यौन दुर्व्यवहार भएको भनेकोले निजसँग थप सोधपुछ गर्दा निजले जोन सिंह ठकुरीले लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई चिनाएको र निजहरूले कुइरेले पैसा दिन्छ भनी मलाई विदेशी बसेको ठाउँमा छाडेको भनी बताए । त्यसपछि निज विदेशीले पीडित २६ सि.आई.बि.१६१ को सबै लुगा खोलेको, जिउ छामेको, कुहिरेले आफ्नो हात र मुखले पीडितको पिसाब फेर्ने खेलाएको, निजको पिसाब गर्ने पीडितलाई खान लगाएको, पीडितको पनि पिसाब गर्ने आफ्नो मुखमा राखेको भनी खुलाएको । लुच्चेले पीडितलाई ४ पटकसम्म कुइरे भएको ठाउँमा लगी यौन दुराचार गराएको र प्रत्येक पटक कुइरेले रू.१,०००/- दिएकोमा सो पैसा बुद्धसमेतले लगी पीडितलाई चाउचाउ खान दिएको भन्नेसमेत बेहोरा पीडित काठमाडौं २६ सि.आई.बि.१६१ ले खुलाएको हुँदा केनेथ नाम बताउने विदेशीले नेपालमा रहेर जोन सिंह तथा बुद्ध पुतुवारसमेतमार्फत आपराधिक संजाल बनाई नाबालकहरूलाई यौनजन्य क्रियाकलापमा लगाई बाल यौन दुराचार र मानव बेचबिखन र ओसारपसारसमेतको कसुर अपराध गरेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६७ को मिति २०७३/०५/२३ को जाहेरी दरखास्त ।
जोनले मेरो साथी लुच्चेको कुहिरे साथी छ । तँलाई पनि पैसा दिन्छ भनी लुच्चेसँग भेटाई
दियो । स्कुल बिदा भएको दिनमा दिउँसोको समयमा लुच्चेले मलाई र जोनलाई माइक्रोमा चढाएर कुहिरे भएको ठाउँमा लग्यो । तिनीहरूले मलाई कुहिरे बसेको ठाउँमा छाडेर आफूहरू रोडमा बसे । कुहिरेले मेरो लुगा तल माथि सबै खोली दियो, मेरो जिउमा छाम्यो, हात र मुख दुवैले मेरो पिसाब गर्ने खेलायो, कुहिरे पनि लुगा खोलेर नाङ्गै भयो, कुहिरेको पिसाब फेर्ने मलाई मुखले खान लगायो । म घण्टासम्म बसेँ । त्यसपछि मलाई कुहिरेले एक हजार दिएर पठाए । जोनसँग भेटेपछि मलाई कुहिरेले दिएको पैसा लुच्चे र जोनले लिने गर्थे । मलाई लुच्नेले कुहिरेकोमा ४ पटकसम्म लगी नराम्रो काम गर्न लगायो भन्नेसमेत बेहोराको नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६१ को मिति २०७३/०५/२४ को कागज ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२९ स्थित लेखनाथ मार्ग ठमेलको Hotel Yambu को कोठा नं.५०३ मा कोठा बुक गरी बस्दै आएका अमेरिकी नागरिक नं. ५१७८१७११२ को राहदानीबाहक Kenneth Joseph Coombs र निजका सहयोगी भनिएका बुद्ध पुतुवारसमेतलाई फेला पारी कोठा खानतलासी गर्दा Kenneth Joseph Coombs को राहदानी, कभरसहितको सामसुङ डिजिटल क्यामेरा, पेन ड्राइभ थान २, नेट डंगोल, नोटप्याड, मोबाइल, ग्यालेक्सी ट्याब, सामसुङ मोबाइलसमेत बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७३/०५/२४ गतेको बरामदी खानतलासी मुचुल्का ।
प्रतिवादीहरू Kenneth Joseph Coombs र बुद्ध पुतुवारलाई चिनेर पीडित २६ सि.आई.बि.१६१ ले गरेको मिति २०७३/०५/२९ को सनाखत कागज ।
म काठमाडौं ठमेलमा रहेको Hotel Yambu अप्रेसन मेनेजरको रूपमा काम गर्दै आएको छु । पक्राउ प्रतिवादी अमेरिकी नागरिक Kenneth Joseph Coombs लाई नेपाली केटा लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले यस अगाडि पनि Hotel Yambu लिएर आएको थियो । सो बेलामा पनि अन्दाजी १२/१५ वर्षका बालकहरू ल्याई होटलको कोठामा लैजाने र Kenneth Joseph Coombs लाई भेट गराइदिने गर्दथ्यो । यी बच्चाहरू किन कोठामा ल्याएको हो भन्दा विदेशी Kenneth Joseph Coombs ले हाम्रो संस्था छ यिनीहरूलाई पढाइरहेका छौं भनेको थियो । सन् २०१६ अगष्ट २३ अर्थात् मिति २०७३/०५/०७ गते Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसँगै होटलमा आई कोठा नं.५०३ मा बसेका हुन् । होटलमा बसेको १/२ दिन पछाडिबाट बुद्ध पुतुवारले अन्दाजी १२/१५ वर्षका बालकहरू होटलको कोठामा ल्याउन सुरू गर्यो । बच्चाहरू किन ल्याएको हो होटलमा फोहर गरे भनेर मैले विदेशी अमेरिकी नागरिक Kenneth Joseph Coombs र बुद्ध पुतुवारलाई सोधेकोमा बच्चाहरूलाई खाजा खुवाउन ल्याएको हो । हाम्रो संस्था छ बच्चाहरूलाई सहयोग गरिरहेका छौं भनेको थियो । प्रहरी टोली मेरो होटलमा गई Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई पक्राउ गरी होटलमा आउने बालकसमेतलाई उद्धार गरेका हुन् भन्नेसमेत बेहोराको सुमन अर्यालको मिति २०७३/०५/२९ गतेको घटना विवरण कागज ।
म Hotel Yambu मा रिसेप्सनमा काम गर्दै आएको छु । पक्राउ प्रतिवादी Kenneth Joseph Coombs यसभन्दा अगाडि Hotel Yambu मा आएको थियो । यस पटक Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसँगै होटलमा आएर कोठा नं.५०३ मा बसेका हुन् । होटलमा बसेको १/२ दिन पछाडिबाट बुद्ध पुतुवारले अन्दाजी १२/१५ वर्षका बालकहरू २/३ जनाको संख्यामा फरक फरक बालकहरू होटलको कोठामा ल्याउन सुरू गर्यो । बच्चाहरू किन ल्याएको हो भनेर Kenneth Joseph Coombs र बुद्ध पुतुवारलाई सोधेकोमा बच्चाहरूलाई खाजा खुवाउन ल्याएको हो । हाम्रो संस्था छ बच्चाहरूलाई सहयोग गरिरहेको छ भनेको थियो । मिति २०७३/०५/२३ गते प्रहरी टोली होटलमा गई कोठा नं.५०३ बाट Kenneth Joseph Coombs र निजसँगै रहेका लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई पक्राउ गरी होटलमा आउने बालकसमेतलाई उद्धार गरेका हुन् भन्नेसमेत बेहोराको सुदिप बगालेको मिति २०७३/०५/२९ गतेको घटना विवरण कागज ।
२ वर्षअगाडि काठमाडौंको ठमेलमा प्रतिवादी बुद्ध पुतुवारसँग भेट भएको हो । निजलाई ७० dollars बाख्रा किन्नलाई Western Union Money Transfer बाट IME गरी पठाई दिएको हुँ । India सम्म घुमाउन पनि लगेको छु । म नेपालमा ४/५ पटक आइसकेको छु । पछिल्लो पटक 23 August 2016 अर्थात् मिति २०७३/०५/०७ गते नेपालमा आई काठमाडौंको ठमेलमा रहेको होटल YAMBU कोठा नं. ५०३ मा बस्दै आएको थिएँ । काठमाडौंको सडकमा एकजना गाँजाको ब्यापार गर्ने मानिससँग भेट भयो । मैले गाँजा सेवन गर्ने भएकोले सो मैले यकिन नचिनेको नेपालीलाई रू.१,०००/- रकम दिएर म ठमेलको YAMBU होटलको कोठा नं.५०३ मा बस्छु भनेको थिएँ । सो बेलामा निजले एकजना बालकसँग गाँजा दिएर पठायो । मैले गाँजा रिसिभ गरी बालकलाई रू.१००/-रकम दिएर पठाएको थिएँ । पटकपटक गरी फरक फरक मितिमा नेपाली रू.२००/-, रू.३००/- र रू.४००/- का दरले रकम पनि दिने गरेको छु । निज बालकलाई मैले धैरै पटक बिस्कुट र चाउचाउ खान दिएको छु । तर लुगा खोली निजको संवेदनशील अङ्ग चुस्ने खेलाउने काम मैले गरेको छैन । मैले बुद्ध पुतुवारलाई मोटरसाइकलमा पेट्रोल हाल्नको लागि रकम दिने गरेको थिएँ । निज बालकलाई बाइकमा राखी म बस्ने होटलसम्म ल्याएको भए बुद्धलाई थाहा होला । मैले निज पीडितलाई होटलको बाथरूममा नुहाउनको लागि प्रयोग गर्न पनि दिएको थिएँ । बाबु आमा नभएका बालबालिकाहरू मेरो कोठामा आफैँ आउँछन् । पीडितमध्येको एकजना बालक पहिला मेरो कोठामा आयो । विस्तारै एकपछि अर्को गर्दै अरू बालकहरू आएका हुन् भन्नेसमेत बेहोराको मिति २०७३/०६/०२ गतेको प्रतिवादी Kenneth Joseph Coombs ले अनुसन्धानका क्रममा गरेको बयान कागज ।
आजभन्दा दुई वर्षअगाडिदेखि मेरो AMERICAN नागरिक Kenneth Joseph Coombs सँग चिनजान भई एयरपोर्टबाट रिसिभ गरी ल्याई ठमेलमा रहेको होटल YAMBU मा राखेको
हो । निज सो बेलामा ३ हप्ताजति नेपालमा बसी आफ्नो देशतर्फ गएका हुन् । पुनः मिति २०७३ सालको भाद्र महिनामा एयरपोर्टबाट रिसिभ गरी ल्याई सोही होटलमा राखेको हुँ । मैले नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६१ लाई चिन्दिन । मैले दिपेस अर्याल र क्षितीज नाम गरेका बच्चाहरूलाई YAMBU होटलको ५०३ नं. को कोठामा पुर्याई अमेरिकन नागरिक Kenneth Joseph Coombs सँग भेट गराई खाजा खाई म घर गएको हुँ । रावन नाम गरेको केटालाई एक पटक उक्त होटलमा लगी Kenneth Joseph Coombs को कोठामा रावनलाई छाडेको हुँ । कुहिरेले रावनलाई ने. रू.५००/- दिएको मैले देखेको हुँ । कुहिरेले मलाई यौनजन्य कार्य गर्न गराउन लगायो भनी पछि मलाई रावनले भनेका थिए । अमेरिकन नागरिक Kenneth Joseph Coombs ले रावन, क्षितिज, दिपेसलगायत अन्य बालकहरूलाई पैसा खानेकुराहरू दिने गरेको मैले देखेको थिएँ । कुहिरेले रावनलाई दिएको रू.५००/- मध्येबाट रू.२००/- रावनले मलाई दिएको हो । वारदातमा प्रयोग भएको मोटरसाइकल मेरो नाममा दर्ता रहेको छ । हाल प्रयोग गरेको बा ७८ प २१ नं. को २२० सिसिको पल्सर मेरो केटी साथी विष्णुदेवी नगरकोटीले खरिद गरी मलाई प्रयोग गर्न दिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले अनुसन्धानका क्रममा गरेको मिति २०७३/०६/०२ गतेको बयान कागज ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२९ स्थित होटल YAMBU को पश्चिमतर्फ पिपलको रूख फेदमा पार्किङ गरी राखिएको बा. ७८ प २१ नं. को मोटर साइकल बरामद गरेको भन्ने मिति २०७३/६/६ गतेको बरामदी खानतलासी मुचुल्का ।
अनुसन्धानको क्रममा प्रतिवादीबाट बरामद भई आएका मोबाइलमा प्रयोग भएको सिमहरूको कल डिटेल (कल विवरण) पाना ३, फेसबुक मेसेज पाना १, र कल Analysis पाना १ दाखिला गरिएको भन्नेसमेत बेहोराको मिति २०७३/०६/०७ को प्रहरी प्रतिवेदन ।
बरामद भई आएको बा. ७८ प २१ नं. को मोटरसाइकल र फोटोमा देखाइएको बा.५० प ५१२४ नं.को मोटरसाइकल देखी चिनी पायौँ । सोही मोटरसाइकलमा पछाडि राखी प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले विदेशी नागरिक Kenneth Joseph Coombs बस्ने गरेको होटलसम्म ल्याएका हुन् भन्नेसमेत बेहोराको एकै मिलानको नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६३ समेतले गरिदिएको मिति २०७३/०६/१० को सनाखत कागज ।
नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६८ ले बेला बेलामा विदेशबाट कुहिरे आउँदैछ । उसले मलाई र मेरा साथीहरूलाई काठमाडौंको विभिन्न स्थानहरूमा फ्रिमा घुमाउँछ र खान पनि दिन्छ भन्ने गरेको थियो । लुच्चे भनिने बुद्ध पुतुवारले मेरो छोरालाई लिनका लागि रातो रंगको मोटरसाइकल लिएर आउने गरेको थियो । कुहिरेले किनी दिएको मोटरसाइकल बुद्ध पुतुवारले चढेर हिँड्ने गरेको हो । अब कुहिरेले बुद्ध पुतुवारलाई जग्गा पनि किनिदिन्छ भन्ने कुरा पनि मैले सुनेको हुँ । मेरो छोरा मिति २०७३/०५/२१ गतेदेखि घर छाडी हिँडेको र घर नआएपछि खोजतलास गर्दै जाँदा साथी संस्थामा छ भन्ने थाहा पाएपछि उक्त ठाउँमा सोधपुछ गर्दा अमेरिकी नागरिक Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसमेतबाट यौनजन्य क्रियाकलाप र बालयौन दुराचारबाट पीडित भई उद्धार भएको थाहा पाएकी
हुँ । यसरी रूपैयाँ पैसा खानासमेतका प्रलोभनमा पारी मेरो नाबालक छोरा नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६८ समेतका बालकहरू होटलमा ल्याई बाल यौनदुराचारको कार्य गरी मानव बेचबिखन तथा ओसारपसारसमेतको कार्य गर्ने प्रतिवादी Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१७० को मिति २०७३/०६/१० को कागज ।
लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई आजभन्दा २ वर्षअगाडि चिनजान भई गर्लफ्रेण्ड र ब्वाई फ्रेण्डको रूपमा रहेका छौं । प्रहरीद्वारा बरामद भई आएको बा.७८ प २१ नं. को पल्सर मोटरसाइकल मैले आफैँले खरिद गरेकी हुँ । सो मोटरसाइकल मेरो नाममा दर्ता छ । निज लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई मैले उल्लिखित मोटरसाइकल मिति २०७३ सालको भाद्र महिनाको १० गते केही समयका लागि चलाउन भनी दिएकी हुँ । निजले सो मोटरसाइकल १/२ वर्ष चलाउँछु अनि फिर्ता गरौंला भनेर लिएका हुन् । सो मोटरसाइकल के कस्तो काममा प्रयोग गरे मलाई थाहा भएन । हाल लुच्चे गणेश भन्ने बुद्ध पुतुवार मानव बेचबिखन र बाल यौनदुराचार मुद्दामा प्रहरीले पक्राउ गरेको भन्ने सुनेकी छु भन्नेसमेत बेहोराको विष्णुदेवी नगरकोटीको मिति २०७३/०६/१० को घटना विवरण कागज ।
२ महिना अगाडि जोनले लुच्चेसँग चिनाएको हो । लुच्चेले पीडितलाई ठमेलको गेष्ट हाउसमा पीडक बस्ने कोठामा पुर्याएको र पीडकले पीडितको लिङ्ग चुसेको र आफ्नोसमेत चुस्न लगाएको, यस्तो कार्य ४,५ पटक भएको भनी पीडितले बताएको, निजको उमेर १०-१२ वर्षबिचको भएको भन्नेसमेत बेहोराको फरेन्सिक मेडिसन विभागको मिति २०७३/०६/०२ को स्वास्थ्य परीक्षण प्रतिवेदन ।
प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसमेतले पीडित काठमाडौं २६ सि.आई.बि. १६१ समेतका बालकहरूलाई बाल यौनदुराचार (Pedophile) को कार्य गर्ने गराउने उद्देश्यले बरामदी मोटरसाइकलमा राखी अमेरिकी नागरिक Kenneth Joseph Coombs बस्ने काठमाडौंको ठमेल स्थित YAMBU होटलको कोठामा ल्याउने र ल्याउन लगाई बाल यौनदुराचार (Pedophile) को कार्य र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ तथा ४(२)(ख) बमोजिको कसुर गरेको देखिँदा प्रतिवादीहरू बुद्ध पुतुवार र Kenneth Joseph Coombsलाई सोही ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी पीडितलाई सोही ऐनको दफा १७ बमोजिम क्षतिपूर्ति भराई सोही ऐनको दफा २२ बमोजिम हुन तथा बरामद भएको बा.७८ प २१ नं. को मोटरसाइकल ऐ.ऐनको दफा १८(ख) बमोजिम जफत हुन एवं निज प्रतिवादीहरू बुद्ध पुतुवार र Kenneth Joseph Coombs को यौन दुराचार गर्ने गराउने कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. र ९क नं. बमोजिमको कसुर देखिँदा निज बुद्ध पुतुवार र Kenneth Joseph Coombs लाई सोही ऐन महलको ९क र ३(२) नं. ले हुने सजाय गरी सोही महलको ९क नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउन माग दाबीसहितको मिति २०७३/०६/१३ को अभियोग माग दाबी ।
मैले कुनै बच्चालाई बालयौन दुराचार गरेको छैन । म नेपाल घुम्न आएको हुँ । मलाई सडक बालबालिकाहरूले पटकपटक पैसा र खानेकुरा मागेको हुनाले मैले १७ दिनदेखि केही पैसा र खानेकुरा दिँदै आएको थिएँ । यदि मैले बालयौन दुराचार या अन्य केही नराम्रो गरेको भए बच्चाहरूले पहिलो दिनमै प्रहरीमा उजुरी दिने थिए होलान् । पछि प्रहरीले बच्चाहरूलाई पक्राउ गरेपछि मात्र प्रहरीले म विरूद्ध जबरजस्ती उजुरी दिन लगाएका हुन् । होटलमा बालबालिकाहरू आफैँ आएका हुन् । बुद्ध पुतुवारले ल्याएका होइनन् । म पक्राउ पर्नुभन्दा ४-५ दिनअगाडि ४ जना साना केटाहरू मेरो कोठामा आएका थिए । पानी परेकोले उनीहरू भिजेका र उनीहरूको खुट्टा हिलो थिए । उनीहरूले नुहाउन मेरो बाथरूम प्रयोग गर्न आग्रह गरेकोले मैले अनुमति दिई म बाहिर खानेकुरा किन्न गएको थिएँ । म बाहिर गएको बेलामा बच्चाहरूले मेरो क्यामेरा र ल्यापटप खेलाएछन् र केही नाङ्गो तस्बिर पनि खिचेका
रहेछन् । मैले उक्त फोटोहरू आफैँ खिचेको होइन । बच्चाहरू सुरूमा आउँदा मलाई केही आपत्ति थिएन । सहयोग गर्न पाउँदा खुशी थिएँ तर पटकपटक आउन थालेपछि मैले होटललाई कम्प्लेन गरेको थिएँ । म पक्राउ परेको दिन ५ जना बालबालिका होटल बाहिर थिए । एक मोटसाइकलमा ५ जना बालबालिका ल्याउन सम्भव छैन । म विरूद्धको अभियोग झुठा हो । ल्यापटप मेरो हो । प्रतिवेदनको पाना नं.९ मा भएका दुई तस्बीर मेरो संलग्नताको हो । अन्य तस्बीर इन्टरनेटबाट डाउनलोड गरेको हुनुपर्छ । मलाई अभियोगअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी Kenneth Joseph Coombs ले अदालतमा गरेको मिति २०७३/०६/१४ को बयान ।
बरामदी सामान बरामद गरेको समयमा मसमेत कुहिरेसँगै होटलमा थिएँ । बरामदी मुचुल्कामा उल्लेख भएका सामानहरूमध्ये सामसुङ ट्याब र सामसुङ मोबाइल मेरो आफ्नो हो । अरू सामान Kenneth को हो । उक्त मोटरसाइकल मेरो केटी साथीको हो । होटल YAMBU का म्यानेजर सुनम अर्यालले भनेबमोजिम मैले Kenneth को कोठामा केटाकेटी लगेको
होइन । Kenneth ले बालबालिकालाई त्यस्तो व्यवहार गरेको थाहा छैन । अनुसन्धानको क्रममा मैले मिति २०७३/०६/०२ गते अधिकारप्राप्त अधिकृतसमक्ष गरेको बयानबमोजिम मैले रावनलाई Kenneth को कोठामा लगेको हो । Kenneth ले ५००/- दिएको
हो । दिपेस अर्याल र क्षितिजसँग म ३ पटक Kenneth को कोठामा गएको हो । खाना खाएर सिभिल मलमा सिनेमा हेर्न गएको हो । अरू नाबालकलाई लगेको होइन । प्रतिवादी Kenneth Joseph Coombs ले अनुसन्धानको क्रममा मिति २०७३/०६/०२ गते अधिकारप्राप्त अधिकृतसमक्ष गरेको बयानबमोजिम निजले मलाई पैसा दिएको र घुमाउन लगेको ठिक
हो । रावन भन्ने साथीलाई मैले लिएर गएको हो । दिपेस र क्षितिज Kenneth Joseph Coombs सँग चिनजान भएकोले होटलमै बसेका थिए । मैले बालबालिकाहरूलाई ओसारपसार गरी मानब बेचबिखन तथा ओसारपसार तथा बाल यौन दुर्व्यवहार गर्न सहयोग गरी अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेको हुनाले मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले मिति २०७३/०६/१४ मा अदालतमा गरेको बयान ।
हामी फुटबल खेलेको ठाउँमा लुच्चे गणेश भन्ने बुद्ध पुतुवार हाम्रो साथी जोनलाई भेट्न आउँदा जोनले लुच्चेसँग चिनजान गराएको थियो । लुच्चेले कुइरेकोमा जाउँ के के खान दिन्छ । घुमाउन लैजान्छ भनी मलाई केनेथ बस्ने गेष्टहाउसमा लिएर गयो । मलाई लुच्चेले मोटरसाइकलमा राखेर केनेथको कोठामा पुर्याएर बाहिर गयो । केनेथले मलाई किस गर्यो, हग गर्यो । मेरो कपडा खोलेर मेरो पिसाब फेर्ने चुसी दियो । मलाई उसको पिसाब फेर्ने कुरा चुस भनेर लगायो । मैले उसले भनेको जस्तै गरेँ । केनेथले पहिला पटक मलाई रू.१०००/- दियो खान चाहिँ दिएन । त्यो पैसाले मैले पन्जा र चाउचाउ किनेँ । रू.३००/- लुच्चेले लियो । अरू पैसा जोनलाई दिएँ । मलाई बुद्धले ४/५ पटक केनेथ जोसेफको कोठामा लग्यो । सधैँ पहिलेको जस्तै काम गर्न लगायो र केनेथले दोस्रो पटक ७००/- तेस्रो पटक १,५००/- चौथो पटक १,८००/- दियो । सधैँ आधी पैसा लुच्चेले लिने गर्दथ्यो भन्नेसमेत बेहोराको परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि.१६१ ले मिति २०७३/०८/१४ मा गरेको बकपत्र ।
मेरो छोरा नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६८ स्कुल जाने गर्दथ्यो । ऊ त्यति घर बस्न मन गर्दैनथ्यो । कहिलेकाहीँ एक दुई रात नै घर नआउने गर्दथ्यो । लुच्चे गणेश भन्नेले कुहिरेकोमा हामीहरूलाई लान्छ, खानेकुरा दिन्छ भनेको थियो । घुमाउन पनि लैजान्छु भनेको छ भन्ने कुरा बताएको थियो । मैले धेरै नजा कुन दिन बेचिदिन्छ भनेर डर देखाउने गर्दथेँ । मिति याद भएन बच्चा हराएको ४-५ दिन भएको थियो । पछि बुझ्दै जाँदा बच्चालाई सि.आई.बि.ले उद्धर गरेर साथी संस्थाकोमा राखेको छ भन्ने थाहा भयो । केनेथ भन्ने कुहिरे र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले बच्चाहरूलाई यौनजन्य क्रियाकलापमा लगाई मानव बेचबिखन गर्छ भनी सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको काठमाडौं २६ सि.आई.बि.१७० ले अदालतमा मिति २०७३/०८/१५ मा गरेको
बकपत्र ।
मिति २०७३/०५/२२ गते हाम्रो संस्थाले फिल्ड भिजिट गर्ने क्रममा स्वयम्भुमा बच्चाहरूसँग उनीहरू कुनै पनि यौन दुराचारमा परे नपरेको कुराहरूबारे छलफल गर्ने क्रममा नाम परिवर्तित काठमाडौं २६ सि.आई.बि.१६१ ले आफू यौन दुराचारमा परेको कुरा बताएका थिए । निजलाई स्वयम्भु बस्ने लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले आफूलाई विदेशीसँग ल्याउने लैजाने गरेको कुरा बताएका थिए । विदेशीकोमा लगेबापत विदेशीले आफूलाई र लुच्चेलाई पैसा दिने गरेको कुरा बताएका थिए । विदेशीकोमा जाने क्रममा विदेशीको कोठामा विदेशीले आफ्नो यौनाङ्ग चलाउने र विदेशीको पनि यौनाङ्ग चलाउन लगाउने गर्दथ्यो भनी बताएका थिए । निज बालकले आफू विदेशीकोमा २-३ पटक गएको र पछिल्लो पटक एक हप्ताअगाडि गएको बताएका थिए । निजले आफूलगायत अरू साथीहरू पनि यस्तै प्रकारको घटनामा पीडित बनेको कुरा बताएपछि तिनै बालबालिकाहरूलाई प्रहरीमा लगी उजुरी दिन लगिएको थियो । उनीहरूले यो घटना आफ्नो आमा बुबालगायत कसैलाई पनि बताउन नचाहेको कारणले साथी संस्थाले बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने भएकोले हाम्रो संस्थाबाट जाहेरी गरेको हो । मिति २०७३/०५/२३ गते तीन जना काठमाडौं २६ सि.आई.बि.१५९, काठमाडौं २६ सि.आई.बि.१६०, र काठमाडौं २६ सि.आई.बि.१६१ को जाहेरी लेख्ने क्रममा त्यस घटनासँग सम्बन्धित अरू पाँच जना बालकहरू प्रहरीमार्फत सि.आई.बि.मा उजुरीका लागि आएका थिए । ती सबै बालकहरू १६ वर्षभन्दा मुनि उमेरका थिए भन्नेसमेत बेहोराको मिति २०७३/०८/१६ मा जाहेरवालाले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी Kenneth Joseph Coombs होटल याम्बुमा चेक इन हुनुभन्दा १-२ दिन पहिले बुद्ध पुतुवारले होटेलको कोठा बुक गरेर गएको
थियो । हाम्रो होटेलमा धेरै विदेशी आउने भएकोले हामीलाई Kenneth माथि शंका थिएन । Kenneth लाई पहिला पनि बुद्ध पुतुवारले लिएर आएको थियो । होटेलमा धेरै गेष्ट हुने भएकोले गेष्टको व्यक्तिगत कुरामा हामीले त्यति चासो दिने कुरा भएन । १२-१५ वर्षका केटाकेटीहरू Kenneth बस्ने कोठामा आइरहन्थे । बच्चाहरूले होटेलको सामान चलाउने र भित्ता फोहोर गर्न थालेपछि जाउभन्दा पनि जान मान्दैनथे । बच्चाहरू किन लिएर आएको भन्दा Kenneth र बुद्धले सहयोग गरेको हो भन्थे । हाल उद्धार गरेका बच्चाहरू मेरो होटलमा आएको मैले देखेको हो । सबै जनाको अनुहार याद भएन । २-३ जनालाई चिनेँ । कसै कसैलाई बुद्धले लिएर आएको थाहा छ । केनेथले भित्र के गर्थ्यो थाहा भएन । पछि एक दिन सि.आई.बि.आएर हाम्रो रेकर्ड हेर्यो र भोलिपल्ट Kenneth र बुद्धलाई होटलको कोठाबाट पक्राउ गरेको हो । कोठामा पक्राउ गर्दा म पनि गएको थिएँ । कोठा नक गरी खोल्दा कोठामा बुद्ध र केनेथ थिए । केनेथ गाँजा खाएर बसेको थियो । बुद्ध ल्यापटप र मोबाइल चलाएर बसेको थियो । निजहरूले बालयौन दुराचार र मानब बेचबिखन गर्ने गरेको पछि थाहा पाएको हो भन्नेसमेत बेहोराको सुमन अर्यालले मिति २०७३/०८/१६मा अदालतमा गरेको बकपत्र ।
प्राप्त सूचनाको आधारमा मेरो कार्यालय सि.आई.बि.ले मेरो कमाण्डमा टोली खटाई प्रतिवादीलाई पक्राउ गरी दाखिला गर्नु भनी खटाएपश्चात् मलगायत मेरो टोली ठमेल स्थित याम्बु होटेलको परिसरमा निगरानीमा थियौँ । मिति २०७३/०५/२४ गतेका दिन उक्त होटेलको परिसरमा ३-४ जना बालकहरू आइरहेको देखेँ । उक्त बालकहरूलाई निज प्रतिवादीहरू कहाँ छन् भनी सोध्दा याम्बु होटेल कोठा नं.५०३ मा छन् भने । त्यसपछि हामी उक्त होटेलको कोठा नं.५०३ मा गई बुझ्दा उक्त कोठामा निज प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई भेटायौं र निजहरूलाई कानूनबमोजिम पक्राउ गरी निजहरूको मोबाइल, ल्यापटपलगायतका सामानसहित कार्यालयमा दाखिला गरेको हो भन्ने बेहोराको प्रहरी प्रतिवेदक प्र.नि.हरिबहादुर बस्नेतले मिति २०७३/०८/१६ मा अदालतमा गरेको बकपत्र ।
काठमाडौं ठमेल स्थित याम्बु होटलमा मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचार जन्य कार्यहरू भइरहेको छ भन्ने गोप्य सूचना मेरो कार्यालयलाई प्राप्त भएकोले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी यस कार्यालयमा दाखिल गर्नु भन्ने मेरो कार्यालयको आदेशानुसार प्र.नि. हरिबहादुर बस्नेत, प्र.ना.नि.सूर्यभक्त श्रेष्ठ र मसमेतको टोली उक्त स्थानमा गई हेर्दा उक्त होटलको कम्पाउन्डबाट ४-५ जना पीडित बालकहरूलाई उद्धार गरी खैरे कहाँ छ भनी सोध्दा यही होटलको पाँचौं तलामा रूम नं. ५०३ मा बसेको छ भनेकाले सोकोठामा पुगी निजहरू दुईजना र निजहरूका साथमा रहेका ल्यापटप, क्यामेरासहित बरामद गरी कार्यालयमा दाखिल गरेका हौं । केनेथ जोसेफ र बुद्ध पुतुवारलाई ठमेलस्थित याम्बु होटलको कोठा नं.५०३ बाट पक्राउ गरेको हो । मसमेतले पीडित बालकको साथबाट रू.१,०००/- को नेपाली नोट पनि बरामद गरी दाखिला गरेको हो भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदक प्र.ह.शम्भु अधिकारीले मिति २०७३/०८/१६ मा गरेको बकपत्र ।
होटल याम्बुमा केनेथ जोसेफद्वारा विभिन्न बालबालिकाहरूलाई प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार भएको भन्ने सूचनाको आधारमा मिति २०७३/०५/२४ गते रेस्क्यु गर्ने क्रममा पीडित बालबालिकाहरू याम्बु होटल कम्पाउन्डमा फेला पारी सोधपुछ गर्दा निज केनेथ जोसेफ होटलको कोठामा रहेको भन्ने खबर पाई खानतलासी गर्दा केनेथ र निजको सहयोगी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई उक्त कोठाबाट पक्राउ गरी उक्त कोठाबाट ल्यापटप, क्यामेरालगायतका वस्तुहरू बरामद गरिएको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नि.सुर्यभक्त श्रेष्ठको मिति २०७३/०८/१६ को बकपत्र ।
म टेक्निकल सहयोगका लागि खटिएका टोलीसँग गएको थिएँ । होटलमा जाँदा त्यहाँ बालबालिकाहरूले प्रतिवादीहरू उक्त होटेलको कोठामा रहेको जानकारी पायौँ । उक्त कोठामा हेर्दा निजहरूका ल्यापटप क्यामेरा, मोबाइल र अन्य केही नगदहरू टेबलमा थिए । हामीले निजहरूलाई सोधपुछ गरी सि.आई.बि.मा लग्यौं । अनुसन्धानको क्रममा टेक्निकल सामग्रीहरूको परीक्षणका लागि पत्र आयो । मसमेतले उक्त सामग्रीहरू परीक्षण गरिएको हो । हामीले उक्त बरामद ल्यापटप र क्यामेरा जाँच गर्न खोज्दा उक्त ल्यापटप र क्यामेरा खाली थियो । ल्यापटपमा डाटाहरू केही पनि थिएन । उक्त ल्यापटप र क्यामेरालाई Forensic Tool Kit (FTK) प्रविधिबाट परीक्षण गर्दा दुईवटा सामग्रीमा बच्चाहरूको नाङ्गो तस्बीरहरू साथै अन्य डकुमेन्टहरू सबै रिकभर भई देखियो । प्रमाण लाग्ने सामग्रीहरूलाई बुकमार्क गरी रिपोर्ट तयार
पारियो । दशीको रूपमा प्रस्तुत क्यामेरा र ल्यापटपबाट नै उक्त फोटोहरू निकालिएको हो । डिलिटेड चिज रिकभर हुँदा फाइल, फोटो, भिडियो, डाटाहरू रिकभर हुन सक्छ । सामान्यता सबै रिकभर हुन सक्छ । पुरानो कुराहरू पनि रिकभर हुन सक्छ । फोटोहरू लिएको लोकेसन थाहा हुँदैन तर क्रियेटेड डेट थाहा हुन्छ भन्नेसमेत बेहोराको प्राविधिक प्र.ना.नि.भगवान कुशवाहको मिति २०७३/०८/१६ को बकपत्र ।
बुद्ध पुतुवारले भदौ ७ आएर हाम्रो Yambu Hotel को रूम नं.५०३ बुक गरेको हो । त्यसमा Kenneth भन्ने विदेशी बस्ने गर्दथ्यो । Kenneth लाई पहिले पनि बुद्धले नै हाम्रो होटलमा लिएर आएको कुरा साथीहरूले भनेर थाहा पाएको हो । Kenneth र बुद्ध प्रायः मोटरसाइकलमा हिँड्ने
गर्दथे । Kenneth धेरैजसो गाँजा खाइरहन्थ्यो । बच्चाहरू पटकपटक आइरहन्थे र Kenneth को कोठामा जान्थे । बच्चाहरू कहिले आफैँ आउँथे, कहिले बुद्धले लिएर आउँथ्यो । भित्र कोठामा के हुन्थ्यो थाहा हुने कुरा भएन । Kenneth लाई बच्चा किन ल्याएको भनी सोध्दा हामीले सहयोग गरेको हो
भन्थ्यो । एक दिन सि.आई. बि. आएर कोठाबाट Kenneth र बुद्धलाई पक्राउ गरेको हो । प्रतिवादीहरू Kenneth र बुद्ध पुतुवारले बाल यौन दुराचार र मानव बेचबिखनको अपराध गरेको कुरा पछि थाहा भएको हो भन्नेसमेत बेहोराको सुदिप बगालेको मिति २०७३/०८/१६ को बकपत्र ।
म बुद्ध पुतुवारलाई २ वर्षअगाडिदेखि चिन्दछु । सधैँ निजसँग हिँड्डुल गर्ने भएकोले निजको चालचलन मलाई राम्रोसँग थाहा छ । निजले पीडित भनेका बच्चाहरू कुनै होटेलमा लगेका छैनन् । निजले बच्चाहरूमाथि यौनदुराचार गराएको छैन । सि.आई.बि. अफिसले बच्चाहरूलाई बुद्धलाई दोष लगाउन नचाहिने कुरा सिकाएको हो । सि.आई. बि. ले मलाई पनि बुद्धको लागि मोटरसाइकल किनिदिएको भनेर थुनामा राख्ने धम्की दिएका थिए । निज ज्यामी काम, प्लम्बर काम गर्ने मेहेनती मानिस हो । उसको चाल चलन राम्रो छ । निजले अभियोग दाबीबाट सफाइ पाउनु पर्छ र जफत भएको मोटरसाइकल मैले फिर्ता पाउनु पर्छ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी विष्णु देवी नगरकोटीले मिति २०७३/०८/१७ मा गरेको बकपत्र ।
पीडितहरूको मिति २०७३/०५/२४ मा परीक्षण गरी उक्त रिपोर्ट मिति २०७३/०६/०२ मा मसमेतले दिएको हो । हामी चार जनाको टिम
थियौं । रिपोर्टमा ३ जनाले मात्र दस्तखत गरेका
छौँ । म प्रमुख भई रिपोर्ट दिएको हो । पीडितको परीक्षण गर्ने क्रममा शरीरको भागमा कुनै चोटपटक देखिएको
थिएन । पीडितले दिएको हिस्ट्रीअनुसार पीडकले पीडितको लिङ्ग चुसेको भनेका थिए र यो २ हप्ताअगाडि भएको थियो । यस्तो मुख मैथुन क्रियाकलापमा सामान्यतया मेडिकल्ली केही देखिँदैन । Kenneth Joseph Coombs लाई मिति २०७३/०५/२४ गते साँझको ७:४५ बजे शारीरिक परीक्षणको लागि CIB मार्फत ल्याइएको थियो । उक्त परीक्षण गर्ने क्रममा Kenneth ले आफ्नो शारीरिक परीक्षण गर्न मन्जुरी नदिने र मन्जुरी नदिएको भनी कुनै सहीछाप गर्न नमानेको हो । सहीछाप नगर्ने र केही कागजातमा सहीछाप गर्नु अगाडि निजलाई कानून व्यवसायी चाहिने भनेको हो । निजले आफ्नो सहमति (Consent) नदिएको हुँदा हामीले परीक्षण नगरेको हो भन्नेसमेत बेहोराको मिति २०७३/११/०९ को विशेषज्ञ डा.युजिन डोल्मा वालुङको बकपत्र ।
मिति २०७३/०६/०२ को स्वास्थ्य परीक्षण प्रतिवेदन मसमेतले प्रत्यक्ष Findings को आधारमा दिएको हो । हामी चार जनाको टिम थियौं रिपोर्टमा ३ जनाले मात्र दस्तखत गरेका छै । म सहायक परीक्षणकर्ताको रूपमा सहभागी थिएँ । हाम्रो टोलीको प्रमुख डा. युजिन डोल्मा वालुङ हुनु हुन्थ्यो । हाम्रो चार जनाको टिमले रिपोर्ट दिएको हो । पीडित २६ सि.आई.बि.१६१ को परीक्षण गर्ने क्रममा शरीरको भागमा कुनै चोटपटक देखिएको थिएन । पीडित २६ सि.आई.बि.१६१ ले दिएको हिस्ट्रीअनुसार पीडकले पीडितको लिङ्ग चुसेको भनेको थियो र यो २ हप्ताअगाडि भएको थियो । यस्तो मुख मैथुन क्रियाकलापमा सामान्यतया मेडिकल्ली केही देखिँदैन । पीडितको शारीरिक परीक्षणको साथै उमेर परीक्षण पनि गरिएको थियो भन्नेसमेत बेहोराको मिति २०७३/११/०९ को विशेषज्ञ डा.देवेन्द्रमान पालिखेको बकपत्र ।
मिति २०७३/०६/०२ को स्वास्थ्य परीक्षण प्रतिवेदन मसमेतले प्रत्यक्ष Findings को आधारमा दिएको हो । हामी चार जनाको टिम थियौं रिपोर्टमा ३ जनाले मात्र दस्तखत गरेका छौं । म सहायक परीक्षणकर्ताको रूपमा सहभागी थिएँ । हाम्रो टोलीको प्रमुख डा.युजिन डोल्मा वालुङ हुनुहुन्थ्यो । हाम्रो चार जनाको टिमले रिपोर्ट दिएको हो । पीडित २६ सि.आई.al.१६१ को परीक्षण गर्ने क्रममा शरीरको भागमा कुनै चोटपटक देखिएको थिएन । पीडित २६ सि.आई.बी.१६१ ले दिएको हिस्ट्रीअनुसार पीडकले पीडितको लिङ्ग चुसेको भनेको थियो र यो २ हप्ताअगाडि भएको थियो । यस्तो मुख मैथुन s\/lयाकलापमा सामान्यतया मेडिकल्ली केही देखिँदैन । पीडितको शारीरिक परीक्षणको साथै उमेर परीक्षण पनि गरिएको थियो भन्नेसमेत बेहोराको मिति २०७३/११/०९ को विशेषज्ञ डा. अरविन शाक्यको बकपत्र ।
प्रतिवादी Kenneth Joseph Coombs ले १६ वर्षभन्दा कम उमेरका पीडित २६ सि.आई.बि. १६१ उपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. अनुसारको बाल यौन दुराचारको कसुर गरेको ठहर्छ । सो ठहर्नाले पीडित २६ सि.आई.बि.१६१ को उमेर ११ देखि १२ वर्षबिचको रहेको भन्ने चिकित्सकको राय भएको हुँदा निज प्रतिवादी Kenneth Joseph Coombs लाई सोही जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम ८ (आठ) वर्ष र सोही महलको ९क नं. बमोजिम थप १(एक) वर्ष गरी जम्मा ९(नौ) वर्ष कैद सजाय हुन्छ । साथै यी प्रतिवादी Kenneth बाट पीडित २६ सि.आई.बि.१६१ लाई सोही ९क नं.बमोजिम कसुरको प्रकृतिका आधारमा जनही रू.५०,०००/- (पचास हजार) क्षतिपूर्ति भराइ दिनेसमेत ठहर्छ र अर्का प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. अनुसारको कसुर गर्न प्रतिवादी Kenneth Joseph Coombs लाई मद्दत गरी सोही महलको ४ नं. बमोजिमको कसुर गरेको ठहर्छ । सो ठहर्नाले निज लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई सोही महलको ४ नं.ले सोह्र वर्षमुनिको पीडित भएको हुँदा २(दुई) वर्षको दोब्बर अर्थात् ४(चार) वर्ष कैद सजाय हुन्छ । निज लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई जबरजस्ती करणीको महलको ९क नं.बमोजिमको कसुर कायम हुन नसकेको हुँदा निजलाई उक्त महलको ९क नं.तथा ३(२) नं.बमोजिम सजाय गरी निजबाट पीडितलाई क्षतिपूर्ति भराइपाउँ भन्ने अभियोग दाबी पुग्न सक्दैन । साथै प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई बाल यौन दुराचारको कसुरमा सजाय भइसकेको अवस्थामा एकै कार्य र घटनाका लागि एकभन्दा बढी कसुर कायम गरी सजाय गर्न दोहोरो खतराको सिद्धान्तविपरीत हुने देखिँदा प्रतिवादीहरूले यी पीडितलाई किनबेच गर्ने उद्देश्य नभई जबरजस्ती करणीको महलअनुसारको उद्देश्य देखिँदा निज प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(२)(ख) बमोजिमको कसुरमा सोही ऐनको दफा १५(१)(ङ) (२) अनुसार सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसकेकोले सफाइ पाउने ठहर्याई काठमाडौं जिल्ला अदालतको मिति २०७४/०१/१० को फैसला ।
प्रतिवादी Kenneth Joseph Coombs अमेरिकन नागरिक हुन् र यिनले आपराधिक मनसायसहित नेपाली व्यक्ति प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसँग मिली नेपालका नाबालकहरूलाई यौन दुराचार गर्ने कार्य गरेका हुन् । लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले मोटरसाइकलमा राखेर पीडितहरूको संरक्षणबाट छुटाई ठमेलको होटलमा ल्याएको र यौनदुराचार गरेको भनी स्पष्ट रूपमा पीडितहरूले बकपत्र गरिदिएका छन् । विदेशी नागरिकले नेपाल आई नेपाली नागरिक लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसँग मिली गरेको बालकहरूको भविष्यमाथि नै आघात पार्ने खालको घृणित कार्य समाजलाई नै असर पार्ने खालको छ । तसर्थ प्रस्तुत मुद्दाको गाम्भीर्यसमेत विचार नगरी मानव बेचबिखन तथा ओसारपसारतर्फको कसुर नठहर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । साथै कसुरमा समान रूपमा संलग्न रहेका प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई जबरजस्ती करणीतर्फ समेत अभियोग दाबीभन्दा पृथक् एवं कम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेकोले उक्त फैसला बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी पीडितहरूलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ र बरामद मोटरसाइकल जफतसमेत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको उच्च अदालत पाटनमा दायर भएको मिति २०७४/७/१७ को पुनरावेदनपत्र ।
सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७४/०१/१० को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, १०, १८ र ५४, सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ७, ९, १० र १४ समेतको गम्भीर त्रुटि हुनुका साथै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको खिलापमा भएकोले उक्त बनावटी एवम् सिर्जित घटनामा मलाई कसुरदार ठहराइएको छ । मलाई पक्राउ गर्दा तयार गरिएको खानतलासी बरामदी मुचुल्कामा मलाई सही दस्तखत गर्नभन्दा मैले I can not understand Nepali उल्लेख गरेँ । प्रहरीहरूले हामीलाई कानूनी तवरले तयार गरेको लिखतमा यस्तो लेख्ने भन्ने एक किसिमको कुण्ठाको सिर्जना भयो । त्यसैलाई एउटा व्यक्तित्वको सवाल बनाई मप्रतिको बदलाको भावनाको सिर्जना गरियो र एकपछि अर्को कुरामा मलाई दबाबमा राख्न थालियो । मलाई एक एक गरी केसको सिर्जना गरियो र एक पछि अर्को कुरामा मलाई दबाबमा राख्न थालियो । साथै एकै लगाउमा रहेको प्रतिवादी जोन सिंह ठकुरीलाई निज आफ्नै घरमा रहेभएको अवस्थामा पनि कुनै खोजतलाससमेत नगर्नु यो बदलाको पराकाष्टा हो । यसले मात्र म प्रतिको रिस शान्त नभएकोले अभियोगपत्रमा प्रतिवादी Kenneth Joseph Coombs यस मुद्दाबाट छुटी जाने भएमा निजलाई नेपालमा आई गैरकानूनी कार्यमा संलग्न रहेकोले सो सम्बन्धमा आवश्यक कारबाहीको लागी श्री अध्यागमन विभागमा पेस गर्नुपर्ने भएकोले निजलाई खटी आएका सुरक्षाकर्मीका साथ फिर्ता पठाइदिनु हुनसमेत अनुरोध छ भन्ने उल्लेख भएबाट मप्रति पूर्णरूपले बदलाको भावनाले केसको सिर्जना भएको खम्बिर छ । त्यसैले प्रतिशोधको भावनाबाट प्रेरित भई बनावटी घटनाको कसुरमा मलाई गरिएको सजायबाट उन्मुक्ति पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी Kenneth Joseph Coombs को उच्च अदालत पाटनमा दायर भएको मिति २०७४/५/२५ पुनरावेदन पत्र ।
सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७४/०१/१० को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, १०, १८ र ५४, सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ७, १० र १४ समेतको गम्भीर त्रुटि हुनुका साथै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको खिलापमा भएकोले उक्त बनावटी एवम् सिर्जित घटनामा मलाई कसुरदार ठहराइएको छ । कुनै कार्य कसुर भएको वा नभएको भनी यकिन गर्न विगतको कानूनी व्यवस्था के थियो वा खारेज भइसकेको वा संशोधन भएको कानूनमा खारेज वा संशोधन हुनुअघि के कस्तो व्यवस्था थियो भनी विगतमा प्रचलित कानूनी प्रयोजन र सन्दर्भलाई लिएर विधायिकी मनसाय पत्ता लगाउने कानून व्याख्याको सिद्धान्त फौजदारी कानूनमा लागु हुन सक्दैन । यी विदेशीसँग चिनजान भएको कारणले मात्र मलाई शंका गरी कुनै सबुद प्रमाण नहुँदा नहुँदै मलाई आंशिक रूपमा हराई गरिएको सम्मानित काठमाडौं जिल्ला अदालतको फैसला प्रत्यक्षरूपमा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरमा उद्धृत गरिएको ने.का.प.२०६६, अङ्क १०, नि.नं.८२४३, पृ.१६६७ को प्रकरण १४ को भनाइसमेतको खिलापमा भएको फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारको उच्च अदालत पाटनमा दायर भएको मिति २०७४/५/२९ पुनरावेदन पत्र ।
प्रतिवादी Kenneth Joseph Coombs ले ११ देखि १३ वर्षका पीडित नाबालकलाई बाल यौन दुराचार गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) र ९क नं. बमोजिम कसुर अपराध गरेको हुँदा निजलाई ऐ. महलको ३(२) नं. बमोजिम ८(आठ) वर्ष कैद र सोही महलको ९क नं.ले थप १(एक) वर्षकै गरी जम्मा ९(नौ) वर्ष कैद सजाय र जनही रू.५०,०००/- क्षतिपूर्ति भराइदिने र अर्का प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले निज पीडित नाबालकहरूलाई माथि बाल यौन दुराचार गरेको पुष्टि हुन नसकेको प्रतिवादी Kenneth Joseph Coombs लाई मद्दत गरी मुलुकी ऐन,जबरजस्ती करणीको महलको ४ नं. बमोजिम कसुर गरेको देखिँदा निजलाई सोही महलको ४ नं. बमोजिम ४(चार) वर्ष कैद सजाय हुने निजलाई सोही महलको ९क नं. बमोजिमको कसुर कायम हुन नसकेको हुँदा निजबाट पीडितिले क्षतिपूर्ति भराई पाउने भन्ने दाबी पुग्न नसक्ने साथै यी प्रतिवादीहरूउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनबमोजिमको अभियोग माग दाबी पुग्न नसक्ने हुँदा सो दाबीबाट सफाइ पाउने ठहर्छ । सो ठहर्नाले सोही ऐनको दफा १७ बोजिमको क्षतिपूर्ति र दफा १८ बमोजिमको मोटरसाइकल जफतसम्बन्धी तथा दफा २२ अनुसारको अभियोग दाबीसमेत पुग्न नसक्ने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मनासिब देखिन्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४/१२/१९ मा भएको फैसला ।
प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले Kenneth Joseph Coombs बस्ने होटेल याम्बुमा नाबालक पीडितहरूलाई पुर्याई प्रतिवादी Kenneth Joseph Coombs ले बाल यौन दुराचार गरेपश्चात् बुद्ध पुतुवारले निजको मोटरसाइकलमा पीडितहरूलाई राखी घरसम्म पुर्याउने कार्य गरेको र प्रतिवादी Kenneth Joseph Coombs ले सो कार्य गरेबापतमा पीडितहरूलाई दिएको पैसा बुद्ध पुतुवारले समेत बाँडी लैजाने गरेको भन्ने पीडितहरूको भनाइ देखिन्छ । पीडितहरूलाई बालयौन दुराचार गराउन आर्थिक लाभको लागि बुद्ध पुतुवारले Kenneth Joseph Coombs का पुर्याउने र Kenneth Joseph Coombs ले यौनजन्य क्रियाकलापहरू गर्ने गरेको तथ्य स्थापित भएको छ । नाबालकलाई अभिभावकको मन्जुरीविना वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाई फकाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने गरेको कार्यहरू प्रतिवादीहरूबाट भएको देखिन्छ । बालबालिकाको बेचबिखन, बाल वेश्यावृत्ति तथा बालअश्लील चित्र सम्बन्धमा व्यवस्था भएको महासन्धिको स्वेच्छिक प्रोटोकल, २००० को धारा २ख मा “बाल वेश्यावृत्ति भन्नाले पारिश्रमिक वा अन्य कुनै पनि किसिमको प्रतिफलको लागि बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने कार्य सम्झनुपर्दछ ।” भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरूले आर्थिक प्रतिफलका लागि नाबालकलाई यौनजन्य क्रियाकलाप गरी यौन दुराचारको कसुर कार्य गरेको भन्ने स्पष्ट रूपमा गरेको देखिन्छ । बालबालिकाउपरको निर्णयमा बालबालिकालाई प्राथमिकता दिई फैसला गर्नुपर्नेमा बालअधिकार महासन्धिको पक्ष राष्ट्रले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्ताबेजहरूको आधारसमेतका कानूनी प्रावधानको व्याख्या विवेचना नगरी, प्रतिवादीको कसुर कार्यहरूको विश्लेषण नगरी पृथकपृथक कसुरलाई पृथक्पृथक् कसुर कायम गरी सजाय गर्नुपर्नेमा सो नगरी फैसला भएको छ । साबिकको मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. को व्यवस्था हेर्दा कसैले कुनै नाबालकसँग कुनै किसिमको बालयौन दुराचार गरेगराएमा जबरजस्ती करणी गरेकोमा यसै महलको ३ नं.बमोजिम हुने सजायमा थप १ वर्ष कैद गर्नुपर्ने स्पष्ट व्यवस्था देखिन्छ । प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पीडितहरूलाई यौन दुराचार प्रतिवादी Kenneth Joseph Coombs मार्फत गराएको पीडितहरूको बयान, बकपत्रसमेतबाट
देखिन्छ । प्रस्तुत वारदातमा बालयौन दुराचार गर्ने प्रतिवादी Kenneth Joseph Coombs सरह सहप्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारको आपराधिक दायित्व रहेभएको भन्ने स्पष्ट कानूनको व्यवस्थालाई उपेक्षा गरी प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई माग दाबीभन्दा कम सजाय हुने ठहर्याई भएको फैसलामा साबिकको मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ९क नं. को गम्भीर व्याख्यात्मक त्रुटि निहित छ । उच्च अदालत पाटनको उक्त फैसला बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय एवम् अन्य कारबाहीसमेत गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा मिति २०७५/१२/१३ मा दायर भएको पुनरावेदनपत्र ।
पीडितले मौखिक रूपमा जुन आरोप प्रतिवादीहरूउपर लगाएको आरोपित कसुर सो निजहरूको नभएको, पीडितहरू ३/४ दिनअगाडि नै साथी संस्थाले कब्जामा राखी बच्चाहरूलाई सिकाइएको हुँदा भौतिक प्रमाणविना कथनले प्रतिवादी दोषी हुन सक्दैन । पीडित बालकहरूको कोरा प्रमाणविनाको कथनलाई जबरजस्ती पुष्टि गर्न फैसलाले प्रमाण ऐन, २०३१ को दफा १८ लाई सिरानी राखी फैसला भएको छ जुन दफा १८ को व्यवस्था पुष्टि हुने किसिमको प्रतिवादी विरूद्धको प्रमाण वादी नेपाल सरकारले प्रस्तुत गर्न सकेको छैन । प्रतिवादी Kenneth Joseph Coombs बाट बरामद ल्याप्टप क्यामराबाट Retrieve गरी निकालिएको बच्चाहरूको नग्न तस्बीर निकाल्ने प्राविधिक भगवान कुशवाहको बकपत्रबाट पनि उक्त तस्बीर कुन बच्चाको हो र बच्चाको मात्रै नग्न फोटोबाट प्रतिवादीले कसुर गरेको भन्न
मिल्दैन । बरामद ल्यापटप र क्यामराबाट प्रतिवादीले बाल यौन दुराचार गरेको भए प्रतिवादीको पनि फोटो आउनु पर्थ्यो, प्रतिवादीको फोटो नआएपछि प्रतिवादीबाट प्रहरीले बरामद गरेको ल्यापटप क्यामराबाट पछि कुनै अमुक बच्चाको नग्न फोटो खिची प्रतिवादीउपर प्रमाण बनाएको भन्ने पुष्टि हुन्छ । वादी पक्षबाट मौकामा खडा गरेको विवादित कथन विरूद्ध प्रतिवादीले प्रमाण पुर्याई खण्डन गर्न नसकेको भनी प्रमाण ऐन, २०३१ को दफा २ विपरीत भएको फैसला तथ्यपरक छैन । मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं.बमोजिम सजाय गरिपाउँ भनि दाबी लिए तापनि यस प्रावधानमा कस्ता कार्यहरू गरेमा बालयौन दुराचारको कसुर हुने भन्नेबारेमा विस्तृत रूपमा उल्लेख गरेको भने पाइँदैन । पीडितको उमेर ११ देखि १३ वर्षबिचको रहेकोले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. अनुसार बाल यौन दुराचारको कसुरमा सोही महलको ३(२) नं. ले ८ वर्ष कैद, ९क ले थप १ वर्ष कैद गरी जम्मा ९ वर्ष कैद सजाय र ९क नं. बमोजिम सि.आई.वि.१६१ लाई रू.५०,०००/- क्षतिपूर्ति भराइदिने र मानव बेचबिखन तथा ओसारपसारतर्फको दाबी नपुग्ने ठहर्याई भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भनी उच्च अदालत पाटनको फैसला मिलेको छैन । मौका र अदालतमा समेत आरोपित कसुरमा इन्कार रहेको अवस्थामा वादी पक्षले २० वर्ष पहिलाको Interpol मार्फत अमेरिकाबाट आएको पत्र, प्रहरी र साथी संस्थाको मिलेमतोबाट सजायको भागी बनाइएको
छ । बाल अधिकार महासन्धि, १९८९ को धारा १९ मा बालबालिकाउपर हुने जुनसुकै प्रकारको हिंसा हेला, शोषण, यौनजन्यलगायतका जुनसुकै दुर्व्यवहारबाट नाबालकहरूलाई बचाउन राज्यले कानूनी, प्रशासनिक, सामाजिक तथा शैक्षिक प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेको पाइन्छ भनी केही Pedophile सम्बन्धी शब्दकोषको व्याख्या गरे पनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको हो होइन भनी मुल मुद्दाको विवेचना नगरी हचुवा पारामा भएको फैसला गम्भीर त्रुटिपूर्ण छ । ऐन, कानून र तथ्यविपरीत सजाय हुने गरी भएको सुरूको फैसलालाई उच्च अदालत पाटनले सदर गरी भएको फैसाला मुलुकी ऐन अ.बं.१८४(क),१८५, ऐ.ऐनको जबरजस्ती करणीको महलको १ र ९क नं., प्रमाण ऐन, २०३१ को दफा ३, १८, २५ र ५४ लगायत ने.का.प.२०६०, अङ्क ९/१०, नि.नं.७२८५, पृ.८३९, ने.का.प.२०६६, अङ्क १०, नि.नं.८२४३, पृ.१६६७ मा प्रतिपादित नजिरसमेत विपरीत फैसला भएको छ । पीडित बच्चाहरूको शारीरिक परीक्षण गर्ने डाक्टरहरूले यौन दुराचार गरेको प्रमाण नभएको भनी दिएको रिपोर्टलाई मेरा विरूद्धको प्रमाण मानी सजाय भागी बनाएको फैसला कानूनसङ्गत छैन । साथै मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं.को व्याख्यासमेत हुनुपर्ने नितान्त आवश्यक भएकाले प्रस्तुत मुद्दा दोहोर्याई हेरिपाऊँ । प्रमाणको अभाव छ भने अभियोग दाबीबमोजिम सजाय गर्नु हुँदैन भन्ने मान्यताविपरीत भएको फैसला उल्टी गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी KENNETH JOSEPH COOMBS को यस अदालतमा मिति २०७५/१२/१५ मा दायर भएको पुनरावेदनपत्र ।
प्रहरीले कोठा खानतलासी गर्दा प्रतिवादी बुद्ध पुतुवार र Kenneth Joseph Coombs मात्र कोठाबाट पक्राउ परेको हो । चार दिनपहिला नै पीडित भनिएका बच्चाहरू साथी संस्थाको नियन्त्रणमा रही उक्त संस्था र सि.आई.बि.ले बच्चाहरूलाई प्रतिवादीउपर के कसरी मुद्दामा प्रस्तुत हुने र के भन्ने भनी तालिम गरिरहेको अवस्थामा साथी संस्थाकै अग्रसरमा २६ सि.आई.वि.१६७ को नामाकरण गरी एकै प्रकृतिको मुद्दालाई पुग नपुग एक दर्जन बनाई मिडियामार्फत होहल्ला गरी साथी संस्थाले डलरको राम्रै खेतीसम्म गरेको हो । प्रतिवादीहरूले आफूलाई अन्याय गरेको भनी पीडितहरूले कुनै उजुर बाजुर गरेको होइनन् । उक्त घटनाक्रममा मुख्य भूमिका निभाउने John Thakuri भन्ने व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ पनि गरेको पाइँदैन । जुन व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने किन खोजी गरिएन रहस्यमय
छ । मेरो प्रहरीमा भएको भनिएको बयान डरत्रासमा पारी सहिसम्म गराएको हो भने अदालतको बयानमा यौन दुराचार गर्न भनी मैले रावण, दिपेस र क्षितिज भन्ने केटाहरूलाई प्रतिवादी Kenneth Joseph Coombs को कोठामा लगेको होइन । निज Kenneth Joseph Coombs ले Pedophile को कार्य गरेको पनि
होइन । मेरो मद्दतबाट नाबालकलाई Kenneth Joseph Coombs को कोठामा लगी निजले केटाहरूलाई बालयौन दुराचार गरेको र केटाहरूलाई दिएको पैसा मैले पनि लिएको भनी मलाई जबरजस्ती करणीको ४ नं. बमोजिम प्रत्येक मुद्दामा ४/४ वर्षका दरले कैद ठहर गरेको सुरू फैसलालाई सदर गरी भएको उच्च अदालत पाटनको फैसलासमेत त्रुटिपूर्ण छ । सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको हुँदा उचित र मनासिब विवेचना नगरी भएको उच्च अदालत पाटनको फैसला मुलुकी ऐन, जबरजस्ती करणीको ४ नं. र प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको विपरीत भएकोले मुद्दा दोहोर्याई हेरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारको यस अदालतमा मिति २०७५/१२/१५ मा दायर भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क अन्तर्गत बाल यौन दुराचारको कसुरमा सोही महलको ३ नं. र ९क नं. बमोजिम प्रतिवादी Kenneth Joseph Coombs लाई ९ वर्ष र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई ४ वर्ष कैदको सजाय गरेको देखियो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२५ मा बाल यौन दुराचार गर्न नहुने शीर्षकमा बाल यौन दुराचारको कसुर गर्नेलाई हुने सजायमा तीन वर्षसम्म कैद र तिस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको पाइन्छ । फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४ को दफा ५ मा घटी सजाय हुने शिर्षकमा “कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको पाइन्छ । केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२) (ग) मा “कुनै कानूनअन्तर्गत कुनै अदालतबाट भइसकेको सजाय सोही कानूनबमोजिम नै कार्यान्वयन हुने छ तर त्यस्तो सजाय मुलुकी अपराध संहितामा सोहीमा सोही कसुरमा लेखिएको सजायभन्दा बढी हुने रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय कार्यान्वयन हुने छ ।” भन्ने व्यवस्थाअनुसार प्रतिवादीहरूलाई भएको सजाय सम्बन्धमा उल्लिखित ऐनको व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नु भन्ने यस अदालतबाट मिति २०७५/११/२८ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग, विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बन्जारा क्षेत्री, श्री रामप्रसाद ढुंगेल, श्री गोकुल भण्डारी, श्री प्रकाश निरौला, श्री ऋषिराम घिमिरे र श्री समिन्द्रध्वज जि.सी. समेतले बाल अधिकार महासन्धि, १९८९ को धारा १९ मा बालबालिकाउपर हुने जुनसुकै प्रकारको हिंसा हेला, शोषण, यौनजन्यलगायतका जुनसुकै दुर्व्यवहारबाट नाबालकहरूलाई बचाउन राज्यले कानूनी, प्रशासनिक, सामाजिक तथा शैक्षिक प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेको पाइन्छ भनी केही Pedophile सम्बन्धी शब्दकोषको व्याख्या गरे पनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको हो होइन भनी मूल मुद्दाको विवेचना नगरी हचुवा पारामा भएको फैसला गम्भीर त्रुटिपूर्ण छ । पीडित बच्चाहरूको शारीरिक परीक्षण गर्ने डाक्टरहरूले यौन दुराचार गरेको प्रमाण नभएको भनी दिएको रिपोर्टलाई मेरा विरूद्धको प्रमाण मानी सजाय भागी बनाएको फैसला कानूनसङ्गत
छैन । प्रतिवादीहरूउपरको अभियोग दाबीलाई पुष्ट्याईं हुने यथेष्ट सबुद प्रमाणको अभाव रहेको अवस्थामा सुरू अदालतले प्रतिवादीहरूलाई कसुरदार ठहर्याई कैद सजाय तथा पीडितहरूलाई क्षतिपूर्तिसमेत भराइदिने गरी भएको त्रुटिपूर्ण फैसला सदर गर्ने उच्च अदालत पाटनको फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबाट सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद दाहालले प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पीडितहरूलाई यौन दुराचार प्रतिवादी Kenneth Joseph Coombs मार्फत गराएको पीडितहरूको बयान, बकपत्रसमेतबाट देखिन्छ । प्रस्तुत वारदातमा बालयौन दुराचार गर्ने प्रतिवादी Kenneth Joseph Coombs सरह सहप्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारको आपराधिक दायित्व रहेभएको भन्ने स्पष्ट कानूनको व्यवस्थालाई उपेक्षा गरी प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई माग दाबीभन्दा कम सजाय हुने ठहर्याई भएको फैसलामा साबिकको मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ९क नं. को गम्भीर व्याख्यात्मक त्रुटि निहित छ । मिसिल संलग्न प्रमाण कागजातहरूबाट अभियोग माग दाबीबमोजिम प्रतिवादीहरूउपरको आरोपित कसुर पुष्टि भइरहेको अवस्थामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३र ४(२)(ख) बमोजिमको कसुरबाट प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले सफाइ पाउने र मुलुकी ऐन,जबरजस्ती करणी महलको १ र ९क नं. को कसुरमा आंशिक दाबी पुग्ने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने उच्च अदालत पाटनको फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई अभियोग माग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
दुवैतर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर एवं मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियो ।
(क) पीडित नाबालकलाई बाल यौन दुराचार गरी जबरजस्ती करणीका कार्यहरू प्रतिवादीहरूबाट भएको हो वा होइन ?
(ख) प्रतिवादीहरूले पीडित नाबालकलाई अभियोग माग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसारका कार्य गरेको हो, होइन ?
(ग) उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी / प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो, होइन ?
२. यसमा प्रथम प्रश्नको निरूपण गर्दा प्रस्तुत मुद्दाको वारदात २०७३ साल भाद्र महिनाको विभिन्न मितिहरूमा भएको जाहेरी दरखास्त, पीडितको कागज र बकपत्र एवम् घटना विवरण कागजबाट देखिएको हुँदा बाल यौन दुराचारका सम्बन्धमा साबिकमा रहेको कानूनी व्यवस्था, मिति २०७५/११/२८ मा मुद्दा दोहोर्याई हेर्न अनुमति दिँदाका कायम रहेको कानूनी व्यवस्था, बाल यौन दुरूपयोग, बाल यौन दुराचार (पेडोफेलिया), अप्राकृतिक मैथुन, आशय करणी, बाल यौन दुराचार भएको अप्राकृतिक मैथुन (जबरजस्ती करणी) सम्बन्धी कानूनी व्यवस्था र अदालतबाट भएका व्याख्याहरूको आधारमा विवादित विषयका बारे निर्णय गर्नुपर्ने देखियो ।
३. यसमा नाम परिवर्तित काठमाडौं २६ सि.आई.वि.१६७ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादीहरू Kenneth Joseph Coombs तथा लुच्चे गणेश भन्ने बुद्ध पुतुवार प्रतिवादी भएको मानव बेचबिखन तथा ओसार पसार एवम् बाल यौन दुराचार (Pedophile) मुद्दामा काठमाडौं जिल्ला अदालतसमक्ष मिति २०७३/०६/१३ गते पेस भएको अभियोग पत्रमा प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ तथा ४(२)(ख) बमोजिमको कसुर गरेको देखिँदा निजहरूलाई सोही ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी ११ देखि १२ वर्षबिचका पीडित नाम परिवर्तित काठमाडौं २६ सि.आई.वि.१६१ लाई सोही ऐनको दफा १७ बमोजिम क्षतिपूर्ति भराई सोही ऐनको दफा २२ बमोजिम हुन र निजहरूले बाल यौन दुराचार गर्ने गराउने गरी साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ९क नं. बमोजिमको कसुर गरेको देखिँदा सोही महलको ९क नं. बमोजिम ३(२) नं. ले हुने सजाय गरी सोही महलको ९क नं. बमोजिम प्रतिवादीहरूबाट पीडित नाम परिवर्तित काठमाडौं २६ सि.आई.वि. १६१ लाई क्षतिपूर्ति दिलाई भराई पाउन अभियोग दाबी लिइएको देखिन्छ । सो सम्बन्धमा श्री काठमाडौं जिल्ला अदालतबाट मिति २०७४/०१/१० मा भएको फैसलामा प्रतिवादी Kenneth Joseph Coombs को हकमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. को कसुरमा ३(२) नं. बमोजिम ८ वर्ष र सोही महलको ९क नं. बमोजिम थप १ वर्ष गरी जम्मा ९(नौ) वर्ष कैद सजाय हुने र प्रतिवादी Kenneth Joseph Coombs बाट पीडित २६ सि.आई.वि. १६१ लाई रू.५०,०००/- क्षतिपूर्ति भराइदिने र अर्का प्रतिवादी बुद्ध पुतुवारले मुलुकी ऐन जबरजस्ती करणीको महलको ९क नं. अनुसारको कसुर गर्न प्रतिवादी Kenneth Joseph Coombs लाई मद्दत गरी सोही महलको ४ नं. अनुसारको कसुरमा पीडित १६ वर्ष मुनिको भएकाले ४ वर्ष कैद हुने ठहर भएको देखिन्छ । प्रतिवादीमध्येका बुद्ध पुतुवारले पीडितलाई यौन दुराचार गराउने उद्देश्यले होटलमा ल्याउने र प्रतिवादी Kenneth Joseph Coombs ले पीडितलाई उक्त होटलमा यौन दुराचार गरेको भन्ने मुद्दाको तथ्यबाट देखिएको र सोबाहेकका अन्य अपराधजन्य घटना भएको अनुसन्धानबाट नदेखिएको हुँदा मानव बेचबिखन तथा ओसारपसारको अभियोग दाबीबाट सफाइ पाउने ठहर भएको
देखिन्छ । श्री काठमाडौं जिल्ला अदालतबाट भएको फैसला श्री उच्च अदालत पाटनबाट मिति २०७४/१२/१९ मा सदर भएकोमा सोउपर प्रतिवादी Kenneth Joseph Coombs र नेपाल सरकारको छुट्टाछुट्टै मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन यस अदालतसमक्ष परेकोमा यस अदालतबाट मिति २०७५/११/२८ मा मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरिएबमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ प्रस्तुत भएको देखियो ।
४. यस अदालतबाट मिति २०७५/११/२८ मा मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गर्दा निम्न बेहोरा उल्लेख गरिएको छ, “यसमा प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको ९ नं. अन्तर्गत बाल यौन दुराचारको कसुरमा सोही महलको ३ नं. र उक्त ९क नं. बमोजिम प्रतिवादी Kenneth Joseph Coombs लाई ९ वर्ष र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारलाई ४ वर्ष कैदको सजाय गरेको देखियो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२५ मा बाल यौन दुराचार गर्न नहुने शीर्षकमा बाल यौन दुराचारको कसुर गर्नेलाई हुने सजायमा तीन वर्षसम्म कैद र तिस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको
पाइन्छ । फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४ को दफा ५ मा घटी सजाय हुने शिर्षकमा, “कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको पाइन्छ । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ग) मा “कुनै कानूनअन्तर्गत कुनै अदालतबाट भइसकेको सजाय सोही कानूनबमोजिम नै कार्यान्वयन हुने छ तर त्यस्तो सजाय मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय कार्यान्वयन हुने छ” भन्ने व्यवस्थाअनुसार प्रतिवादीहरूलाई भएको सजायको सम्बन्धमा उल्लिखित ऐनको व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत आदेशले साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. को बाल यौन दुराचारको कसुर र प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को बालयौन दुरूपयोग गर्न नहुने कसुर एउटै भएकाले हालको पछिल्लो कानूनी व्यवस्थाले सो कसुरमा घटी सजाय गर्ने व्यवस्था गरेको हुँदा प्रतिवादीहरूलाई भएको सजाय नमिलेको अर्थ निकाली फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ समेतको आधारमा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरेको देखियो ।
५. सर्वप्रथम यस अदालतबाट मिति २०७५/११/२८मा मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गर्दा उल्लेख भएको साबिक मुलुकी ऐन, जबरजस्ती करणीको ३ नं. र ९क नं. र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कानूनी व्यवस्था के हो ? र यी दुवै कानूनअन्तर्गतका तत् तत् कानूनी व्यवस्था एउटै हुन् वा फरक हुन् भन्नेबारेमा प्रस्ट हुनुपर्ने देखियो । वारदात हुँदाका बखत कायम रहेको साबिक मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं. मा निम्नलिखित व्यवस्था रहेको देखिन्छ ,“ कसैले कुनै नाबालकसँग कुनै किसिमको बाल यौन दुराचार गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले बाल यौन दुराचार (पेडोफाइल) गर्नेबाट मनासिब माफिकको क्षतिपूर्तिसमेत भराइदिनुपर्ने छ” । यसैगरी सोही ऐनको जबरजस्ती करणी महलको ३ नं. मा जबरजस्ती करणी गर्नेलाई देहायबमोजिम कैद सजाय हुने छ :-
दस वर्षभन्दा मुनिकी बालिका भए दसदेखि पन्ध्र वर्षसम्म-------------------------------१
दस वर्ष वा सोभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म ------------------------------------२
चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म------------------------------------३
सोह्र वर्ष वा सोभन्दा बढी बिस वर्षभन्दा कम उमेरकी महिला भए ५ वर्षदेखि ८ वर्षसम्म------------------------------------४
बिस वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए पाँचदेखि सात वर्षसम्म--------------------५
यस नम्बरमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीन वर्षदेखि पाँच वर्षसम्म------------------------------------६
भन्ने व्यवस्था भएको देखिन्छ । त्यसैगरी हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ मा “बाल यौन दुरूपयोग गर्न नहुने” शिर्षकअन्तर्गत निम्न व्यवस्था रहेको छ ।
(१) कसैले बालयौन दुरूपयोग गर्न वा गराउन हुँदैन ।
(२) कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिने छ ।
(३) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तिस हजार रूपैयाँसम्म जरिवाना हुने छ” ।
६. उल्लिखित मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं. र मुलुकी अपराध संहिताको दफा २२५ को कानूनी व्यवस्थालाई हेर्दा यी दुवै व्यवस्था एउटै कसुर सम्बोधन गर्न भनी विधायिकाले तर्जुमा गरेको नभई फरकफरक कसुर सम्बोधन गर्न व्यवस्था गरेका हुन् भन्ने देखिन्छ । जबरजस्ती करणीको ९क नं. ले नाबालक विरूद्धको बाल यौन दुराचारलाई जबरजस्ती करणी मानी सोही महलको ३ नं. बमोजिमको सजायमा थप १ वर्ष कैदको व्यवस्था गरेको छ भन्ने मुलुकी अपराध संहिताको दफा २२५ ले बाल यौन दुराचार नभई बाल यौन दुरूपयोगलाई सम्बोधन गरी यसलाई सोही दफाको उपदफा (२) ले आसय करणी मानी सोहीबमोजिम कम सजायको व्यवस्था उपदफा (३) मा गरिएको छ । मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गर्दा दफा २२५ को शीर्षकमा रहेको “बाल यौन दुरूपयोग” लेखिनुपर्नेमा “बाल यौन दुराचार” लेखिएको देखिन्छ । सोही कारण दुराचार र दुरूपयोग पर्यायवाची शब्द रहेको अर्थ निकाली कसुरको प्रकृति र सजायको व्यवस्थाबारेको कानूनी व्यवस्थाको बुझाइमा धेरै ठुलो फरक पर्न गएको देखिन्छ ।
७. दुरूपयोग र दुराचारको शब्दार्थमा धेरै भिन्नता रहेको छ । दुरूपयोग भन्नाले नियम विरूद्ध हरेक खराब काम कुरा वा तिनमा भएको श्रम साधन, शक्ति आदिको उपयोग, अनुचित उपयोग भन्ने पाइन्छ भने:
दुराचार- “नराम्रो आचरण, अशोभनीय चालचलन, नराम्रो व्यवहार वा शीलस्वभावको” दुराचारी- “दुराचार गर्ने, खराब, चालचलन भएको, कुकर्मी” (नेपाली बृहत् शब्दकोष नेपाल प्रज्ञा प्रतिष्ठान, २०६७-पृष्ठ-६१९) भन्ने पाइन्छ । यी दुई शब्दको उल्लिखित शब्दार्थबाट दुरूपयोगको तुलनामा दुराचारलाई धेरै नै गम्भीर र अस्वीकार्य आचरण व्यवहार मानिन्छ भन्ने स्पष्ट हुन्छ । दुराचारलाई कुकर्मसम्म भनिएको छ । हुन त दुरूपयोगलाई समेत खराब काम व्यवहार र नियम विरूद्धको अनुचित कार्य मानिन्छ तर दुराचार तहको खराब कुकर्म वा खराब आचरण यसलाई नमानिएको अवस्था उल्लिखित शब्दार्थबाट समेत प्रस्ट हुन्छ । तसर्थ दुराचार भनेको दुरूपयोग मात्र नभएर सोभन्दा अधिक खराब र अशोभनीय कुकर्मसमेतलाई मानिन्छ । यी दुई शब्दले प्रकट गर्ने खराब आचरणको मात्राको भिन्नतालाई ध्यानमा राखी बाल यौन दुरूपयोगलाई आसय करणी र बाल यौन दुराचारलाई जबरजस्ती करणीसरहको कसुर मानी सोहीबमोजिमको कानूनी व्यवस्था प्रचलित मुलुकी अपराध संहिताको दफा २२४, २२५ र २२६ मा समेत गरेको
पाइन्छ ।
८. मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं.को कसुरसँग मिल्ने कसुर वर्तमान कानूनी व्यवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा २२६ मा रहेको पाइन्छ । सो दफाले साबिक मुलुकी ऐनको दफा १ नं., ९क नं. र ३ नं. को कसुर र सोसम्बन्धी सजायको व्यवस्थालाई समेटेको देखिन्छ । साबिक मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं. मा उल्लिखित “ बाल यौन दुराचार (पेडोफाइल)” शब्द लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित गरी सोभन्दा अघि सो स्थानमा रहेको अप्राकृतिक मैथुन शब्दलाई हटाई राखिएको पाइन्छ । २०७२ सालमा संशोधन हुनुअघि जबरजस्ती करणीको ९क नं. मा निम्न व्यवस्था रहेको देखिन्छ, “कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिब माफिकको क्षतिपूर्तिसमेत भराइदिनुपर्दछ” । प्रस्तुत मुद्दासँग सम्बन्धित वारदात २०७३ भाद्रमा हुँदाका बखत यो कानूनी व्यवस्थामा “अप्राकृतिक मैथुन” को स्थानमा “बाल यौन दुराचार (पिडोफाइल)” भन्ने शब्द राखी बाँकी सम्पूर्ण व्यवस्था यथावत् राखिएबाट लैङ्गिक समानता (Gender Equality) को शब्द खोज्दा अप्राकृतिक मैथुनको ठाउँमा बाल यौन दुराचार (पिडोफाइल) भन्ने शब्दले प्रतिस्थापित गरिनुको अलावा अन्य कुनै बेहोरा वा शब्दसमेत परिवर्तित गरिएको छैन । यसबाट बाल यौन दुराचार (पिडोफाइल) भनेको अर्को शब्दमा नाबालकको हकमा नाबालक विरूद्धको अप्राकृतिक मैथुन हो भन्ने स्पष्ट हुन्छ । अब साबिक मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं. को प्रावधानसँग मिल्ने प्रावधान हालको मुलुकी अपराध संहिताको दफा २२६ मा छ कि छैन भनी हेर्न सो प्रावधानलाई हेर्नुपर्ने
देखियो । मुलुकी अपराध संहिताको दफा २२६ मा निम्न बेहोरा उल्लिखित छ । “अप्राकृतिक मैथुन गर्न नहुने (१) कसैले कसैको मन्जुरीबिना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन । स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मन्जुरीलाई मन्जुरी मानिने छैन । (२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तिस हजार रूपैयाँसम्म जरिवाना हुने छ । (३) बालबालिका विरूद्ध उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुने छ भनी व्यवस्था गरेको
छ” ।
९. मुलुकी अपराध संहिताको दफा २१९ ले जबरजस्ती करणीसम्बन्धी कसुरको बारे व्यवस्था गरेको छ । यो प्रावधानमा साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १, २, ३, ३क र ३ख नं. हरूका प्रावधानलाई एकै ठाउँमा समेटिएको देखिन्छ । मुलुकी अपराध संहिताको दफा २१९(२) को स्पष्टीकरण खण्डको (ग) ले “गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भन्ने व्यवस्था गरेको छ । यो व्यवस्था साबिक मुलुकी ऐनको जबरजस्ती करणीको १ नं. को स्पष्टीकरण खण्डको “ग” र “घ” मा राखिएको पाइन्छ भने ती दुवै प्रावधानलाई एक ठाउँमा ल्याई संहिताको दफा २१९(२) को स्पष्टीकरणको (ग) मा राखिएको देखिन्छ । संहिताको सोही दफाको उपदफा (३) ले उमेर समूह विभाजन गरी साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं.ले गरेको सजायको व्यवस्थाभन्दा अधिक सजायको व्यवस्था गरेको छ । जसअनुसार साबिक व्यवस्थामा १० देखि १४ वर्षको उमेरको बालबालिकामाथि भएको जबरजस्ती करणीमा ८ वर्षदेखि १२ वर्षसम्म सजाय हुन सक्ने व्यवस्था छ भने हालको संहिताको दफा २१९ को उपदफा ३ को (ख) मा सो उमेर समूहमाथि भएको जबरजस्ती करणीमा १८ वर्षदेखि २० वर्षसम्म सजाय हुने व्यवस्था गरिएको छ । यसबाट साबिक मुलुकी ऐनको जबरजस्ती करणीको महलमा भन्दा हालको मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुरको परिच्छेदमा भएको सजायको व्यवस्था कम छ भन्ने आधार, तर्क र जिकिर स्वतः खण्डित भएकाले स्वीकार्य हुन सक्ने देखिँदैन ।
१०. मिति २०७२/०६/१४ मा साबिक मुलुकी ऐनमा लैङ्गिक समानता कायम गर्ने तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ ले मुलुकी ऐनको जबरजस्ती करणीको महलको ९क नं. मा रहेको “ अप्राकृतिक मैथुन शब्द” झिकी बाल यौन दुराचार (पिडोफाइल) शब्द राखेको भए पनि मिति २०७५/०५/०१ गतेबाट लागु भएको मुलुकी अपराध संहिता, २०७४ ले ती शब्दहरू विस्थापित गरी पुनः अप्राकृतिक मैथुन शब्द प्रयोग गरी दफा २२६(३) मा उक्त कसुर र सोसम्बन्धी सजायको व्यवस्था गरेको छ । साबिक मुलुकी ऐनको जबरजस्ती करणी महलको ९क नं. ले बालयौन दुराचारलाई जबरजस्ती करणी मानि सोही महलको ३ नं.बमोजिम सजायको व्यवस्था गरेसरह नै हालको संहिताको दफा २२६(३) ले बालबालिका माथिको अप्राकृतिक मैथुनलाई जबरजस्ती करणी मानी दफा २१९ बमोजिम सजायको व्यवस्था गरेको छ । बाल यौन दुराचार वा अप्राकृतिक मैथुनभित्र मुलुकी ऐन जबरजस्ती करणीको १ नं.को स्पष्टीकरणको खण्डको (घ) नं. र प्रचलित मुलुकी अपराध संहिताको दफा २१९(२) को स्पष्टीकरण खण्डको (ग) को अवस्थालाई समावेश गरिएको मान्नुपर्ने हुन्छ । जबरजस्ती करणीको १ को स्पष्टीकरण खण्ड (घ) मा “गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भन्ने व्यवस्था रहेको थियो भने संहिताको दफा २१९(२)(ग) मा सोहीबमोजिमको व्यवस्था राखिएको छ । तसर्थ, बालयौन दुराचारलाई मुलुकी अपराध संहिताको महिला विरूद्ध हुने यौन दुर्व्यवहार विरूद्धको दफा २२४ को कसुर वा बालबालिका विरूद्ध हुने दफा २२५ को बालयौन दुरूपयोगको कसुरसम्म मात्र मान्न सकिने देखिँदैन । यसलाई दफा २२६(३) अन्तर्गतको कसुर मान्नुपर्ने हुन्छ ।
११. मुलुकी ऐन, जबरजस्ती करणी महलको दफा ९क नं. मा प्रयोग भएको बाल यौन दुराचार (पिडोफाइल) भनी उल्लेख गरिएको कसुरको सम्बन्धमा बाल यौन दुराचारलाई पिडोफाइलको समानार्थी शब्दको रूपमा प्रयोग भएको हो कि भन्ने जस्तो देखिन्छ । तर यस सम्बन्धमा अध्ययन गरी हेर्दा बाल यौन दुराचारीलाई पिडोफाइल भन्न मिल्ने देखिए पनि सबै पिडोफाइल बाल यौन दुराचारी नहुन पनि सक्ने भएकाले बाल यौन दुराचार (Child sexual abuse) र पिडोफाइल (Pedophile) का बिचमा के कस्तो अवस्थामा समान अवस्था र के कस्तो अवस्थामा भिन्नता छ भन्ने बारेमा हेर्दा सबै पिडोफाइललाई बाल यौन दुराचारको कसुरदार मान्न नसकिए पनि सबै बाल यौन दुराचारीलाई पिडोफाइल मान्न सक्ने देखिन्छ । पिडोफाइललाई मानसिक समस्यासँग सम्बन्धित विषय मानी उसले घटना घटाएपछि मात्र बाल यौन दुराचारको कसुर बन्ने अन्यथा पिडोफाइलको अवस्थालाई मात्र आफैँमा अपराध मान्न मिल्ने देखिँदैन । त्यसैले माथिको कानूनी व्यवस्थामा पिडोफाइल मात्र नभनी बाल यौन दुराचारको कसुर गरेको पिडोफाइललाई जनाउनका लागि बाल यौन दुराचार (पिडोफाइल) उल्लेख गरेको देखिन्छ । तसर्थ पिडोफाइललाई मात्र बाल यौन दुराचारको समानार्थी अर्को नामको रूपमा समेत कतिपय अवस्थामा प्रयोग गर्ने गरिएको सन्दर्भ मिल्ने नदेखिँदा पिडोफाइलका बारेमा थप चर्चा सान्दर्भिक देखिन आएको छ ।
१२. पिडोफाइल शब्द त्यस्ता व्यक्तिका लागि प्रयोग गरिन्छ जसको यौन इच्छा मूलतः वा पूर्णरूपमा १३ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरू माथि हुन्छ । पेडोफिलिया के हो भन्ने सम्बन्धमा यसलाई यसरी व्याख्या गरिएको छ, Pedophile has been defined as a repetitive occurrence of intense, sexually stimulating fantasies, sexual impulses or behavior’s related to engaging in sexual activity (For at least 6 months) with a child or children who have not entered puberty. यसले यौन लक्षण नदेखिएका बालबालिकामाथि निरन्तर रूपमा तिव्र यौन इच्छा जागृत हुनु वा यौन गतिविधिको मानसिक कल्पनामा रहेको कम्तीमा ६ महिनासम्म रहेको अवस्थालाई पेडोफेलिया मानिएको देखिन्छ । त्यसैले यस्तो बालबालिकामाथिको तिव्र यौन इच्छाको कम्तीमा ६ महिनाको निरन्तरको स्थिति रहेका पिडोफाइललाई तत्कालै अपराधी वा अपराधको अवस्था नमानी यसलाई रोगको अवस्था मानिनुपर्दछ भन्ने मान्यता यसबाट देखिन्छ । तर कतिपयले पिडोफाइललाई यौन लक्षण नदेखिएको उमेर (१३ वर्षभन्दा तल) बालबालिकाप्रति रहेको तिव्र यौन इच्छा भने पनि नियन्त्रण गर्न नसक्ने मानसिक रोगको अवस्थाको रूपमा यसलाई स्वीकार नगरी पिडोफाइलको मानसिक नियन्त्रण शक्ति नपुगेको अवस्थाका कारण तिव्र इच्छालाई नियन्त्रणमा नलिएको स्थितिमा अपराध घट्ने हुँदा दण्ड गरिनुपर्दछ भन्ने मान्यता राखेको पाइन्छ । त्यसैगरी पिडोफाइललाई “Adult sexual contact with an underage minor is a crime and a serious moral wrong. Pedophile, by contrast is a psychiatric disorder involving primary or exclusive sexual attraction to pre-pubescent children, which is acted on is a crime and a serious moral wrong. Actually, even then it is the act that is wrong; the involuntary sexual attraction so long as it remains disconnected from behavior is probably no wrong in and of itself.” भनिएको छ । यसले के बुझाउँछ भने उमेर पुगेको व्यक्तिले नाबालकसँग गर्ने यौन सम्पर्क अपराध मात्र नभएर नैतिकपतनको कार्यसमेत हो तर पिडोफाइल मानसिक अस्वस्थता हो, जसमा यौन लक्षण नदेखिएका नाबालकप्रति पिडोफाइलको यौन आकर्षण अत्यधिक बढेको हुन्छ । यस्तो मानसिक अवस्था आफूभित्रै रहेको अवस्थामा यसले अपराध सिर्जना गर्दैन र व्यक्तिभित्रै रहेको पिडोफाइल चाहनालाई अपराध मान्न मिल्दैन तर कार्यमा परिणत भएमा यो अपराधसँगै नैतिक पतनको घटनामा पुग्ने देखिन्छ ।
१३. नाबालकप्रतिको यौन आकर्षण आफैँमा गलत हो किनकि आकर्षणले तिव्र रूप लिएको अवस्थामा आपराधिक घटना घट्ने सम्भावना बढेर जान्छ । तर जबसम्म कुनै व्यक्तिको मनभित्र रहेको बाल यौन आकर्षण कुनै न कुनै रूपको घटनामा रूपान्तरित हुँदैन, त्यसलाई अपराध मानी सजाय गर्न
सकिन्न । त्यसैले कतिपयको मान्यतामा पिडोफाइललाई घिनलाग्दो नैतिकताको अवस्था नमानी मानसिक रोगको रूपमा स्वीकार गर्न सकिएमा यसको उपचार भई व्यक्ति स्वास्थ्य हुन सकेमा घटना घट्ने अवस्था हटेर गई बालबालिका विरूद्ध हुने यस्ता घटना घट्ने अवस्था न्यून भई समाजलाई फाइदा नै हुन्छ भनिएको भए पनि यसलाई मानसिक रोगको रूपमा हेरिए पनि त्यस्ता व्यक्तिबाट घटना घटाइएमा उन्मुक्ति दिनुपर्दछ भन्ने कानूनी व्यवस्था विश्वमा कहीँकतै भेटिँदैन । सजायको मात्रा ठुलो सानो भए पनि सजाय अपरिहार्य छ किनकि यस्तो घटनाले पीडित नाबालकको शारीरिक र मानसिक अवस्थाका जीवनपर्यन्तका लागि गम्भीर क्षति पुर्याउँदछ । अर्कोतर्फ सबै पिडोफेलियाको समस्यामा रहेका व्यक्तिले नाबालकसँग यौनसम्पर्क राखेको छन् भन्ने अनुसन्धानले देखाउँदैन । कतिपय गम्भीर पिडोफेलियाको समस्याका व्यक्तिहरूले कहिल्यै कुनै पनि नाबालकसँग यौन सम्पर्क नगरेको, हानि नपुर्याएको भए पनि मेडिकल्ली ऊ गम्भीर रूपमा पेडोफेलियाको मानसिक अवस्थामा ग्रस्त रहेको देखाउँछ । कतिपय पिडोफेलिया भएका मानिसले आफ्नो अनायास आइरहेको तिव्र चाहनालाई घृणा गर्दछन् र कहिल्यै चाहनाबमोजिम कार्य गर्दैनन् र एकान्तमा बढी बस्न रूचाउछन् समेत भनिएको पाइन्छ ।
१४. त्यसैगरी पिडोफेलियालाई मानसिक अस्वस्थता भनिए पनि यो समस्याको कारण के हो भनी प्रामाणिक रूपमा बताउन सकिएको छैन र यसको प्रभावकारी उपचार पत्ता लाग्न सकेको छैन । उपचारमा मूलतः थेरापिस्टले आफ्नो चाहना / इच्छामा नियन्त्रण गर्न सुझाव दिने सिवाय अरू उपाय / औषधीलाई प्रभावकारी नमानिएको हुँदा आफूभित्र जबरजस्त रूपमा उठेको नाबालकप्रतिको यौन इच्छालाई नियन्त्रणमा राख्नु पर्दछ र नियन्त्रण नराखी यौनइच्छा पूर्ति गर्न कुनै पनि यौन गतिविधि वा प्रयास गरिएमा अपराध मानि सजाय गरिने छ भन्ने कानूनको स्पष्ट चेतावनी मात्र यसको नियन्त्रणको प्रभावकारी उपाय रहेको मानिएको छ । अरूलाई पीडा नपरेको अवस्थासम्म पिडोफिलियाको समस्याको व्यक्ति घृणाको पात्र नभएर सल्लाह / सुझाव थेरापीबाट उपचारको लागि प्रतिक्षा गरेको मानसिक अवस्थामा रहेको व्यक्ति मान्न
सकिन्छ । तर नियन्त्रण बाहिर गई घटना घटाएमा उसलाई कसुरदार वा अपराधी मान्नुपर्दछ । प्रस्तुत मुद्दाका प्रतिवादी केनेथ जोसेफ अमेरिकन नागरिक रहेको सन्दर्भमा अमेरिकामा यस्ता कसुरदारलाई झनै कति गम्भीर रूपमा लिइन्छ भन्ने उदाहरण हेर्दा अमेरिकी सर्वोच्च अदालतले यसै प्रकृतिको बहुचर्चित Kansas V. Hendricks (1997) को मुद्दामा प्रतिवादी बाल यौन दुराचारीलाई उसको कसुरमा १० वर्ष जेल सजायपछि छुट्न लागेको अवस्थामा केन्सस राज्यले नयाँ कानून बनाई देवानी प्रतिबद्धता र पिडोफेलिया भन्ने मानसिक रोग निको नभएका कारण पुनःअपराध घटाउन सक्ने हुँदा रिहा गर्न नपर्ने भनी नयाँ कानूनको आधारमा रिहा नगरेको अवस्थालाई असंवैधानिक वा गैरकानूनी मान्न इन्कार गरेको पाइन्छ । सर्वोच्च अदालतबाट भएको उक्त फैसलामा Hendricks ले पिडोफेलियाबाट आफू ग्रस्त रहे पनि त्यो रोग उपचार हुन सक्ने भएकोलाई Ex-Post-Facto कानून बनाएर उही कसुरमा सजाय भुक्तान गरिसकेपछि आफूलाई थुनामा राख्न नमिल्ने र राखिँदा दोहोरो खतरा (double Jeopardy) को अवस्था सिर्जना हुने भन्ने तर्कलाई सर्वोच्च अदालतले अस्वीकार गरेको पाइन्छ । अमेरिकी सर्वोच्च अदालतले यो मुद्दाको फैसलामा निम्नबमोजिमको तथ्य उल्लेख गरिएको छ “Despite several spans of incarceration, Hendricks continued to molest children over a long period. He was convicted of taking indecent liberties with two teenage boys and scheduled for release after serving 10 years of his sentence. Near the same time, the state legislature sought to address the problem of repeat sex offenders by passing the Sexually Violent Predator Act. Based on this law, the state sought his civil commitment at the time of his scheduled release. Hendricks did not challenge his diagnosis of pedophilia or argue that it was treatable. A jury found beyond a reasonable doubt that he was a sexually violent predator, but Hendricks succeeded in a constitutional challenge to the Act in the Kansas Supreme Court. The state supreme court invalidated the Act.” केन्सस राज्यको सर्वोच्च अदालतले यो कानूनलाई असंवैधानिक भनी बदर गरेको उपर केन्सस राज्यले सर्वोच्च अदालतमा चुनौति दिएपछि सर्वोच्च अदालतले आफ्नो बहुमतको रायमा भनेको छ “There is no violation of substantive due process here because states have the authority to forcibly restrain their citizens who pose a threat to those around them because they are unable to control their behavior. The Act does not implicate a double jeopardy issue because it does not impose prison sentences and does not have a punitive goal related to retribution or deterrence. Instead, it is therapeutic in nature and limited to civil commitment. The lack of a mental state requirement is permissible because it is focused on people with mental abnormalities rather than those who are conscious of their action.” समाजका लागि खतरा मानिने व्यक्तिलाई राज्यले समाजमा जानबाट रोक्नका लागि अपनाउने देवानी प्रतिबद्धतालाई जेल सजाय मान्न नमिल्ने र यस्तो अवस्थालाई दोहोरो खतरा (Double Jeopardy) समेत नमानिने भन्दै मानसिक अवस्थालाई हेरी समाजमा जानबाट रोक्ने कामलाई सजाय मान्न नमिल्ने भनिएको पाइन्छ । यसै आधारमा सर्वोच्च अदालतले आफ्नो ठहरमा भनेको छ, “Convicted sex offenders who have mental disorders or other psychological conditions that make them likely to repeat their crimes may be assigned to civil commitment and long-term treatment.” यसरी यो मुद्दामा आफ्नो कसुरका कारण लामो सजाय पाएको व्यक्तिलाई समेत अमेरिकी सर्वोच्च अदालतले देवानी प्रतिबद्धता र लामो उपचारका लागि भित्रै राखी समाजमा नछाड्ने कार्यलाई अर्को फौजदारी सजाय मान्न इन्कार गरेको पाइन्छ । यस्तो थप सजाय स्वीकार्य छ र यसलाई बदलाको लागि दिइने सजाय (retributive) अथवा रोकथामको लागि दिइने सजाय (deterrent) समेत मान्न नमिल्ने हुँदा दोहोरो खतरा (Double Jeopardy) उत्पन्न गरेको मान्न सकिन्न भनेको पाइन्छ । यो मुद्दाको विस्तृत रूपमा तथ्य हेर्दा प्रतिवादी Hendricks ले १० वर्ष सजाय भुक्तान गरिसकेपछि नयाँ कानूनबमोजिम जुरीसमक्ष उनलाई उपस्थित गराउँदा राज्यका डाक्टरले उनी अझै पिडोफेलियाबाट ग्रस्त छन् भनेकोलाई उनले स्वीकारेको र डाक्टरले उनी निको नभएको र निरन्तर नाबालकप्रति यौन इच्छा राखिएको र तनावमा रहेको बखत उनले आफूलाई नियन्त्रण गर्न सक्दैनन् भनेको तथ्यलाई विगतमा उनले पटकपटक बालयौन दुराचार गरेको कसुरसँग जोडी पुनः उनीबाट खतरा कायम छ भन्ने आधारमा जुरीबाट निर्णय भएको देखिन्छ । यसरी पिडोफेलियालाई मानसिक समस्या मानिँदासमेत बाल यौन दुराचार गरेको अवस्थामा सजाय दिने प्रश्नमा कुनै शंका वा सहानुभूतिको गुञ्जाइसलाई स्वीकार गरेको पाइँदैन । सजाय भुक्तानपछि समेत उसको मानसिक अवस्था र मौका पाएमा पुनः बालयौन दुराचारको घटना दोहोर्याउने सम्भावना रहेका अवस्थामा देवानी प्रतिवद्धता र मानसिक उपचारको लागि लामो समय समाज बाहिर राखिएको कार्य कानूनसम्मत मानिएको उल्लिखित मुद्दामा देखिन्छ । यसबाट बालयौन दुराचारको कसुर गर्ने पिडोफाइलले कानूनबमोजिम सजाय भोगी सो भुक्तानपछि यदि ऊ आफैँ बालबालिकाको लागि खतरा छ भने मानसिक समस्याको दाबी गरे पनि समाजमा स्वतन्त्र रूपमा छाड्न मिल्दैन र यस्ता कसुरदारलाई आफूले गरेको अपराधको सजाय भुक्तानपछि पनि लामो समय उपचारको नामबाट भए पनि समाज बाहिर राख्नुपर्दछ भन्ने मान्यतालाई अमेरिकाले स्वीकारेको पाइन्छ ।
१५. बाल यौन दुराचारको प्रस्तुत मुद्दामा प्रतिवादीहरूबाट पीडित पारिएका व्यक्ति बालक रहेको हुँदा जबरजस्ती करणीको कसुर बालिका विरूद्ध मात्र घट्न सक्ने अपराध हो वा बालक विरूद्धसमेत घट्न सक्छ भन्ने अर्को विषयको निरूपणसमेत सान्दर्भिक हुन गएको छ । साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ नं. मा महिला र बालिका शब्दको प्रयोग भएको छ भने मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा समेत महिला र बालिका शब्दको प्रयोग भएको देखिन्छ । यी दुवै कानूनी प्रावधानहरूमा पुरूष वा बालक शब्दको प्रयोग भएको पाइँदैन । तर साबिक मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं. मा नाबालक शब्दको प्रयोग भएको छ भने मुलुकी अपराध संहिताको दफा २२६ को उपदफा (१) को स्पष्टीकरण खण्डमा बालबालिका शब्दको प्रयोग भएको छ भने उपदफा (३) मा समेत बालबालिका शब्दको प्रयोग भएको छ । यसबाट साबिक मुलुकी ऐनको जबरजस्ती करणी महलको ९क नं. बमोजिम नाबालक विरूद्ध भएको बाल यौन दुराचार (पेडोफाइल) लाई जबरजस्ती करणी मानिने भनिएकोले सोही महलको १ नं. को स्पष्टीकरण खण्डमा उल्लिखित कार्य गर्नेलाई सोही महलको ३ नं.मा भएको सजायको व्यवस्थामा १ वर्ष थप गरी सजाय गरिने व्यवस्था रहेको पाइन्छ । त्यसैगरी हाल कायम रहेको मुलुकी अपराध संहिताको दफा २२६(३) मा बालबालिका विरूद्धको अप्राकृतिक मैथुनलाई जबरजस्ती करणी मानी सोही ऐनको दफा २१९ बमोजिमको सजायको व्यवस्था गरेको छ । कुनै कानूनी व्यवस्थामा बालिका शब्दको मात्र प्रयोग गरी कुनैमा नाबालक वा बालबालिका शब्दको प्रयोग गरिनुको अर्थ नाबालक वा बालबालिका शब्दले बालिकालाई मात्र नबुझाई बालक (पुरूष केटा) लाई समेत कानूनले समेटेको स्पष्ट हुन्छ ।
१६. यस सम्बन्धमा यसै अदालतबाट मोल्हुसेन हेन्ड्रिक ओटो विरूद्ध नेपाल सरकार ने.का.प. २०६९, अङ्क ७, नि.नं.८८६० मा निम्न व्याख्या भएको छ । “जबरजस्ती करणी महलको ९ नं.को व्यवस्थामा पीडितलाई नाबालक भनी उल्लेख गरेको देखिए पनि महिला वा पुरूष नाबालक भनी विभेद गरेको छैन र नाबालकसँगको अप्राकृतिक मैथुनलाई स्पष्ट रूपमा जबरजस्ती करणीको कसुर भनी सम्बोधन गरेको देखिएबाट जबरजस्ती करणीको १ नं.मा गरिएको परिभाषामा सो व्यवस्था अन्तर्निहित रहेको मान्नुपर्ने हुन्छ” । त्यसैगरी सोही मुद्दाको व्याख्यामा अगाडि भनिएको छ यो दफामा ९क नं. मा नाबालक तत्त्व मुख्य केन्द्रीय विषय देखिन्छ । नाबालक केटा वा केटी जे भए पनि आफ्नो जीउ, ज्यान र प्रतिष्ठाको स्पष्ट संरक्षण गर्न नसक्ने संवेदनशिल अवस्थाका हुने हुनाले निजहरूलाई यौन दुर्व्यवहार नगरियोस् भन्ने उद्देश्यले उक्त ९क नं. को व्यवस्था गरिएको देखिन्छ । एकजना अभियुक्तले नाबालक केटीसँग भए पनि अप्राकृतिक मैथुन गर्दछ भने वा नाबालक केटासँग अप्राकृतिक मैथुन गर्दछ भने त्यो उपर्युक्त ९ नं. को व्यवस्थाले वञ्जित कार्य
बन्दछ” । प्रस्तुत व्याख्याको समयमा मुलुकी ऐन, जबरजस्ती करणी ९क नं. मा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल संशोधन गर्ने ऐन, २०७२ ले संशोधन गरी अप्राकृतिक मैथुनको स्थानमा बाल यौन दुराचार (पेडोफाइल) शब्द प्रयोग गरी नसकेको र उक्त संशोधनले उक्त दफाका अन्य सम्पूर्ण व्यवस्था यथावत् राखी अप्राकृतिक मैथुनको स्थानमा बाल यौन दुराचार (पेडोफाइल) शब्द मात्र संशोधन गरी राखिएबाट लैङ्गिक समानताको खोजी गर्दा अप्राकृतिक मैथुनको स्थानमा बाल यौन दुराचार शब्द राखिएको मान्नुपर्ने हुँदा उल्लिखित व्याख्या मुलुकी ऐन, जबरजस्ती करणीको ९क नं. को संशोधन पछिको हकमा समेत उत्तिकै सान्दर्भिक रहेको मान्नुपर्ने हुन्छ । तसर्थ, मुलुकी ऐन जबरजस्ती करणीको ९क नं. मा उल्लिखित नाबालक शब्द र हाल प्रचलित मुलुकी अपराध संहिताको दफा २२६(३) मा प्रयुक्त बालबालिका शब्दभित्र केटा र केटी दुवै नाबालक पर्ने भएकाले प्रस्तुत कानूनी व्यवस्थाको प्रयोजनका लागि नाबालक केटा वा बालक विरूद्धसमेत जबरजस्ती करणी हुने अवस्थालाई नेपाल कानूनले प्रस्ट रूपमा स्वीकारेको देखियो ।
१७. बालयौन दुराचारमा विशेष गरी कम उमेरका (puberty age) जसमा ९ देखि १५ वर्ष उमेरभित्रका बालबालिकाहरू पीडित हुने गरेको
पाइन्छ । बालदुराचारी एकल वा थोरै संख्याका साथीहरूसँग सम्पर्क भएको मानिस हुने, मानसिकरूपले त्यस्तो दुराचारी असन्तुलित वा अनियन्त्रित स्वभावको व्यक्ति हुने र विवाहित भए अति मिलनसार स्वभाव देखाई प्राथमिक चरणमा यौन दुर्व्यवहार नगर्ने पनि हुने, त्यस्तो व्यक्ति घर परिवारभित्रको, नातागोता, निकट सम्पर्कको व्यक्ति, सौतेनी बाबु आदि हुनसक्ने; शिक्षित, अशिक्षित, धनि, गरिब जुनसुकै तह तप्का गुरु, प्रशिक्षक, प्रवचक, स्वयंसेवक, दाता, सुपरिवेक्षक, रोजगारदाता आदि जुनसुकै पनि हुनसक्ने । पीडकले बालबालिकालाई आकर्षण गर्ने किसिमको यौनसम्बन्धी जिज्ञासु राख्ने बालबालिकालाई यौन आकर्षण गराउने, मनोरञ्जन स्थलहरूमा घुमाउने उपहार दिने जस्ता कार्य गर्छन् । यस्ता दुराचारीहरूले मायाममता नपाएका, आर्थिक अवस्था कमजोर भएका, समस्यामा गुज्रिरहेका, सुस्त मनस्थिति, असहाय, दुर्गम वा सुविधाबाट वञ्चित रहेका बालबालिकाहरूमा केन्द्रित गर्ने गर्छन् । बालबालिकालाई मादक पदार्थ, लागु औषध ख्वाई प्रतिरोध गर्न नसक्ने स्थितिमा पुर्याई यौन सम्बन्धितका क्रियाकलापसमेत गर्छन् । यसै अवस्थामा रहेका नाबालकहरूमाथि प्रस्तुत मुद्दाका प्रतिवादीहरूबाट बालयौन दुराचारको कार्य गरेको पाइन्छ । बालबालिकाहरूलाई परोपकार गरिरहेको प्रभाव छोड्ने जस्ता कार्यहरू गरी प्रस्तुत मुद्दामा आर्थिक अवस्था कमजोर रहेका बालबच्चाहरूलाई प्रतिवादी Kenneth Joseph Coombs बसेको ठाउँमा प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पुर्याउने गरेको र प्रतिवादी Kenneth Joseph Coombs ले निज बालबच्चाहरूलाई यौन दुराचार गरेपश्चात् खाने कुराहरू खान दिने, घुम्न लाने, पैसा दिने गरेको भनी पीडितहरूको बयान बेहोराबाट प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पीडितहरूलाई यौनजन्य क्रियाकलापहरू गर्ने गरेको कुरा पीडित २६ सि.आई.बि.१६१ ले आफ्नो मौकाको कागज र अदालतको बकपत्रमा उल्लेख गरेको पाइयो । प्रतिवादी Kenneth Joseph Coombs ले आफ्नो पूरै लुगा खोली आफ्नो पिसाब फेर्ने ठाउँ खाएको र उसको समेत खान लगाएको, यस्तो घटना ४/५ पटक घटाएको र प्रत्येक पटक आफू एक घण्टा बसेको र आफूलाई प्रत्येक पटक एक हजार वा पाँच सय रूपैयाँ दिएको भनेकोबाट पुष्टि भएको देखिन्छ ।
१८. प्रतिवादी Kenneth Joseph Coombs ले अदालतमा उपस्थित हुँदा मैले पीडितलाई नामले चिन्दिन, निजहरू आफैँ मेरो कोठामा आएका हुन् । मैले निजहरूलाई मेरो होटेलको बाथरूममा नुहाउनको लागि प्रयोग गर्न दिएको
थिएँ । मैले पीडितलाई पटकपटक रकम दिएको, खाना खुवाउने गरेको हुँ । पीडित ४ जना बालकहरू मेरो कोठामा आएका थिए । ती बालकहरूले क्यामेरा र ल्यापटप चलाउने गर्दथे सोही बेला नाङ्गो फोटो खिचेको हुनसक्छ । मैले कसैलाई पनि बालयौन दुराचार गरेको छैन भनी अभियोग दाबीबमोजिमको कसुरमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ । यी प्रतिवादी Kenneth Joseph Coombs ले कसुरमा इन्कारी रही गरेको बयान बेहोरालाई पुष्टि हुने विश्वसनीय एवं स्वतन्त्र प्रमाणहरू पेस गर्न सकेको छैन । चिन्दिन भनिएका पीडितहरू प्रतिवादी बसेको कोठाको बाथरूममा आफैँ नुहाउन आएको, खाना खाने, कोठामा आई क्यामेरा, ल्यापटप चलाई नाङ्गा फोटोहरू खिच्ने जस्ता कार्यहरू गरे होलान् भन्ने कुरा विश्वसनीय देखिँदैन । प्रतिवादीले नबोलाई, नल्याई वा अनुमति नदिई वा निजको इच्छाविपरीत निजको कोठामा ती कार्य हुन सक्दैनन् । तसर्थ, यी कार्यहरू पीडितहरूबाट प्रतिवादीको इच्छाबिना नै भएगरेका हुन् भनी मान्न सक्ने कुनै विश्वसनीय आधार, कारण तथा तथ्ययुक्त प्रमाणहरू प्रतिवादी Kenneth Joseph Coombs बाट पेस गरी आरोपित कसुरलाई अन्यथा पुष्टि गर्न सकेको देखिँदैन । नचिनेका बालबालिका आफ्नो कोठामा बस्न दिने, नुहाउन दिने, ल्यापटप चलाउन दिने र नाङ्गो तस्बिर खिच्न दिने कार्यलाई निज आफैँले अदालतमा समेत स्वीकारेबाट पीडित २६ सि.आई.बी.१६१ को मौका र अदालतको बकपत्रमा प्रतिवादीले आफूलाई नाङ्गो बनाई निजको लिङ्ग खान लगाई, आफ्नोसमेत खाएको भन्ने भनाइ पुष्ट्याईं भइरहेको देखिन्छ । यस्तो अवस्थाको विद्यमानतालाई हेर्दा निजबाट बालयौन दुराचारको कसुर भएको थिएन भनी मान्न सक्ने अवस्था देखिँदैन । निजले स्वीकारेको उक्त कार्यहरू पीडितको बकपत्रबाट घटना / वारदात घटेको हो भन्ने आरोप पुष्टि भइरहेको देखिन्छ । तसर्थ प्रतिवादी Kenneth Joseph Coombs कै बयानबाट समेत अभियोग दाबीबमोजिमको कार्यहरू निजबाट भएको थियो भन्ने पुष्टि भएको देखिएको छ ।
१९. प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले अदालतसमक्ष उपस्थित हुँदा आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि निजले सो इन्कारी बेहोरालाई समर्थन हुने प्रमाण पेस गर्न सकेको छैन । निजले अनुसन्धान अधिकारीसमक्षमा गरेको बयानको सवाल जवाफमा प्रतिवादी Kenneth Joseph Coombs विदेशबाट आउँदा निजलाई रिसिभ गरी बुक गरेको कोठासम्म पुर्याउने गर्थें । मैले दिपेस अर्याल र क्षितीज नाम गरेका बच्चाहरूलाई Kenneth Joseph Coombs सँग भेट गराएको
हुँ । पहिला पनि मैले रावनलाई निजको कोठामा छाडी गएको अवस्थामा Kenneth Joseph Coombs ले मलाई यौनजन्य कार्य गर्न गराउन लगायो भनी रावनले मलाई भनेका Kenneth Joseph Coombs ले विभिन्न बालबच्चाहरूलाई विभिन्न प्रलोभनमा पारी निज बस्ने गरेको ठमेल स्थित याम्वु होटलमा लगी यौनजन्य क्रियाकलापहरू गर्ने गरेको भन्ने कुरा थाहा थियो । म पक्राउ परेको समयमा Kenneth Joseph Coombs को कोठामा नै थिएँ भनी बयान गरेको देखिन्छ । यस अवस्थामा यौनजन्य क्रियाकलाप हुने कुराको जानकारी हुँदाहुँदै पनि प्रतिवादी Kenneth Joseph Coombs बस्ने कोठामा नाबालकहरूलाई पुर्याई प्रतिवादी Kenneth Joseph Coombs लाई सहयोग गरेको कुरा यी प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारबाट भएको भन्ने देखिन्छ ।
२०. प्रतिवादी Kenneth Joseph Coombs ले आफू निर्दोष छु, मलाई षड्यन्त्र गरी फसाइएको हो । पीडितहरूको उक्साहटमा जाहेरी दिएको भनी प्रतिवादी Kenneth Joseph Coombs ले जिकिर लिएको र प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पनि आफू निर्दोष छु भनी अदालतमा जिकिर लिएको देखिँदा प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम - “कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुने छ भनी कुनै नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिमाथि नै हुने छ” भनी कानूनमा व्यवस्था भएको देखिन्छ । आफूले लिएको जिकिरलाई पुष्टि गर्ने प्रमाणको भार प्रतिवादीमा नै रहने भनी कानूनमा उल्लेख भएको देखिन्छ । प्रतिवादी Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारसमेतले अभियोग दाबीबमोजिमको कार्य हामीले गरेको होइन । हामीलाई फसाइएको हो, निर्दोष छौँ भनी अदालतलाई विश्वास दिलाउन विश्वसनीय प्रमाण पेस गर्न सकेको देखिएन भने निजहरू विरूद्धको प्रमाणहरू विश्वसनीय रूपमा प्रस्तुत भएको
पाइन्छ । तसर्थ, मौखिक जिकिर मात्र लिएको आधारमा प्रतिवादीहरूको भनाइलाई अदालतले ग्रहण गर्न मिल्ने देखिँदैन ।
२१. प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पीडित २६ सि.आई.बि.१६१ लाई बालयौन दुराचार गरेको भनी निज प्रतिवादीहरू विरूद्धको किटानी जाहेरी बेहोरा र पीडित २६ सि.आई.बि.१६१ ले मौकामा गरेको कागजको बेहोरालाई समर्थन हुने गरी जोनले मलाई लुच्चेसँग भेट गराई चिनजान गराएको थियो, लुच्चेले कुहिरे Kenneth Joseph Coombs भएको ठाउँमा जाउँ के के खान दिन्छ भनी निज कुहिरे बस्ने गेष्ट हाउसमा लिएर गएको हो । प्रतिवादी Kenneth Joseph Coombs ले मलाई यौन दुराचार गरी पैसा दिने गरेको थिए । सधैँ आधी पैसा लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले लिने गर्दथ्यो भनी मौका तथा अनुसन्धानको क्रममा भएको बयान बेहोराहरूलाई पुष्टि हुने गरी पीडित २६ सि.आई.बि.१६१ ले अदालतसमक्ष गरेको बकपत्रलाई समर्थन गर्दै वादीका साक्षीहरूसमेतले बकपत्र गरिदिएको देखिन्छ ।
२२. प्रतिवादी अमेरिकी नागरिक Kenneth Joseph Coombs हाम्रो होटलमा इन हुनुभन्दा १/२ दिन पहिले निजको नाउँमा प्रतिवादी बुद्ध पुतुवारले हाम्रो याम्बु होटलमा ५०३ नम्बरको कोठा बुक गरेको थियो । प्रहरीले वारदातको दिन Kenneth Joseph Coombs र बुद्ध पुतुवारलाई कोठामा गाँजा खाएर बसेको अवस्थामा पक्राउ गरेको हो । प्रतिवादी बुद्ध पुतुवारले १२-१५ वर्षका केटाहरू Kenneth Joseph Coombs को कोठामा ल्याइरहन्थ्यो । यौनदुराचार तथा मानव बेचबिखन गर्ने गरेको पछि थाहा पाएको हो भनी घटना विवरण मुचुल्काका व्यक्तिहरूले सुदिप बगाले र सुमन अर्यालले मौकाको बेहोरालाई समर्थन गर्दै अदालतमा समेत बकपत्र गरेको देखिन्छ ।
२३. पीडित परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि.१६१ ले किटानीका साथ प्रतिवादी Kenneth Joseph Coombs बस्ने होटलको कोठामा प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले पुर्याउने र प्रतिवादी Kenneth Joseph Coombs ले मलाई बालयौन दुराचार गर्ने गरेको हो भनी स्वयं पीडित अदालतमा उपस्थित भई प्रतिवादीहरूको कसुर अपराधलाई स्पष्टताका साथ प्रस्तुत गरेको साथै वस्तुस्थिति / घटना विवरणका व्यक्तिहरू साथै पीडितको शारीरिक परीक्षण गर्ने चिकित्सकहरूसमेतले प्रतिवादीहरूलाई कसुरदार प्रमाणित हुने गरी लेखाई दिइरहेको आधार प्रमाणहरूबाट प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले मनसायपूर्वक नै अभियोय दाबीबमोजिमका कार्यहरू गरेको भन्ने देखिन्छ । तसर्थ, माथि विभिन्न प्रकरणमा गरिएको व्याख्याको आलोकमा प्रस्तुत मुद्दाको तथ्यसमेतलाई हेर्दा प्रतिवादी Kenneth Joseph Coombs ले मनसायपूर्वक पीडित नाबालकहरूलाई बाल यौन दुराचार गरी जबरजस्ती करणीका कार्यहरू गरेको र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले सो कार्यमा मतियारको रूपमा सहयोग पुर्याएको देखिएको हुनाले निज प्रतिवादीहरू कसुरदार रहेको देखियो ।
२४. अब दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा- प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवार र अमेरिकी नागरिक Kenneth Joseph Coombs ले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ तथा ४(२)(ख) बमोजिको कसुर गरेको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १५(१) (ङ) (२) बमोजिम सजाय गरी पीडितलाई सोही ऐनको दफा १७ बमोजिम क्षतिपूर्ति भराई सोही ऐनको दफा २२ बमोजिम हुने तथा बरामद भएको बा. ७८ प २१ नं. को मोटरसाइकल ऐ. को दफा १८ (ख) बमोजिम जफत गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखिन्छ । प्रतिवादीहरू लुच्चे गणेश भन्ने बुद्ध पुतुवार र Kenneth Joseph Coombs ले अनुसन्धान अधिकारी र अदालतसमक्षमा अभियोग माग दाबीबमोजिम पीडितहरूलाई मानव बेचबिखन तथा ओसारपसारको कसुर आफूहरूले नगरेको भनी आरोपित कसुरमा इन्कार रही बयान बेहोरालाई समर्थित गरी प्रतिवादीका साक्षी विष्णुदेवी नगरकोटीले बकपत्र गरिएको देखिन्छ । पीडित परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि.१६१ समेतका बालकहरूले हामीलाई प्रतिवादीहरूले बेचबिखन गर्न वा वेश्यावृत्तिमा लगाउन लगेको हो भनी लेखाउन सकेको देखिँदैन । प्रतिवादीहरूले पीडित नाबालकहरूलाई अभिभावकको मन्जुरी विना बेचबिखन गर्न लान लागेको भन्ने अभियोग दाबीबमोजिम कसुरलाई पुष्टि हुने तथ्ययुक्त प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन ।
२५. प्रतिवादीहरूउपर अभियोग माग दाबीबमोजिम मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ तथा ४(२)(ख) बमोजिम “वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने ।” भन्ने कानूनी व्यवस्थाबमोजिम पीडितहरूलाई अभिभावकको संरक्षणबाट छुटाई एक स्थानबाट अर्को स्थानसम्म अथवा विदेशमा लगी बिक्री वितरण गर्नको लागि अपहरण तथा शरीर बन्धक बनाई धाकधम्की, डर, त्रास देखाई साथै संरक्षकलाई प्रलोभनमा पार्ने जस्ता कार्यहरू यी प्रतिवादीहरूबाट भएको देखिन आएको छैन । माथि उल्लिखित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ३ र ४ (२)(ख) विपरीतको कसुर हुन पीडितलाई प्रतिवादीहरूले वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले नेपालभित्र वा बाहिर लाने वा कसैलाई दिने कार्य गरी घरपरिवारबाट पूरै छुट्टाई सम्पर्कविहीन पारेको हुनुपर्नेमा सो भएको स्थिति अवस्था रहेको देखिँदैन । घरबाट ललाई फकाई निश्चित स्थानमा लगी पुन: घर फर्काई दिएको, अरू कसैलाई बेचेको वा घर फर्कन नदिएको वा बन्धक बनाएर राखेको भन्ने पीडितहरूको बयान बकपत्रहरूबाट समेत देखिँदैन ।
२६. वादी पक्षले मौकामा अनुसन्धानको क्रममा घटना विवरणको बेहोरा लेखाउने व्यक्तिहरू र जाहेरवाला एवं पीडितहरूसमेतले अभियोग माग दाबीबमोजिम यी प्रतिवादीहरू लुच्चे गणेश भन्ने बुद्ध पुतुवार र Kenneth Joseph Coombs ले मानव बेचबिखन गर्नका लागि नाबालक पीडितहरूलाई प्रयोग गरेका हुन् भनी किटानीका साथ लेखाई मौकाको जाहेरी र घटना विवरणसमेतको बेहोरालाई समर्थन तथा खम्बिर गराउन सकेको अवस्थासमेत कहिँकतै देखिँदैन । फौजदारी मुद्दामा दाबी प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षमा रहने भएकाले केवल प्रतिवादीहरूउपर अभियोग लगाउनु मात्र कर्तव्य नभई सो अभियोगलाई तथ्ययुक्त प्रमाणबाट पुष्टि गराउने कर्तव्य पनि वादी पक्षमा निहित रहने हुन्छ र सोबमोजिम प्रतिवादीहरूबाट मानव बेचबिखन तथा ओसारपसार समेत भएको हो भन्ने प्रमाण वादी पक्षबाट पुर्याउन सकेको देखिएन ।
२७. पीडितहरूलाई किनबेच गर्ने उद्देश्यले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने कार्य गरेको भनी कसुरजन्य कार्य गरेको पुष्टि हुन नआएको अवस्थामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)ख बमोजिमको कसुर कायम गरी सजाय गर्नु न्यायोचित देखिन आउँदैन । अभियोजन पक्षबाट पीडितहरूलाई बिक्री वितरण तथा ओसारपसारको कार्य गरेको भन्ने अभियोग माग दाबीलाई पुष्ट्याइँ गर्ने प्रमाणहरू मिसिल संलग्न कागजातबाट देखिन नआएबाट यी प्रतिवादीहरू लुच्चे गणेश भन्ने बुद्ध पुतुवार र Kenneth Joseph Coombs उपरको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(२)(ख) बमोजिमको आरोपित कसुरबाट सफाइ पाउने ठहरी भएको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरिएको उच्च अदालत पाटनबाट मिति २०७४/१२/१९ मा भएको फैसला मनासिब नै देखिन्छ । मानव बेचबिखन तथा ओसारपसारतर्फ लिएको अभियोग माग दाबीबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग यो इजलास सहमत हुन सकेन ।
२८. अब तेस्रो प्रश्नलाई हेर्दा - उच्च अदालत पाटनले गरेको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा बाल यौन दुराचार मुद्दामा स्वयं पीडित साक्षीको भनाइको प्रामाणिक मूल्य अत्यन्तै महत्त्वपूर्ण रहेको हुन्छ । वारदातका सम्बन्धमा निजले मौकाको भनाइलाई समर्थन गरी अदालतसमक्ष व्यक्त भएका भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्दछ । साथी संस्थाको संरक्षणमा रहेका नाबालक पीडितहरूलाई कब्जामा लिई सिकाई जाहेरी दिन लगाएका हुन् र सबै कुरा सिकाइएको हो भनी प्रतिवादीले जिकिर लिएको देखिन्छ तर यो दाबी पुष्टि गर्ने प्रमाण प्रतिवादीले पुर्याउन सकेको देखिँदैन । यौनसम्बन्धी शारीरिक एवं मानसिक पूर्णरूपमा विकसित नभएका पीडित नाबालक साङ्केतिक नाम काठमाडौं २६ सि.आई.बि.१६१ ले प्रतिवादीहरूउपरको कसुर अपराधको परिणाम के कस्तो रहने भन्ने कुराको कुनै ज्ञान नभएका अबोध नाबालकले मौका तथा वारदातमा आफूउपर भएको कार्य निस्कपट रूपमा बकपत्र गरेको
देखिन्छ । अबोध नाबालकहरू छलकपट गर्न सक्ने क्षमता नभएकाहरूलाई मलाई यही प्रश्न सोध्छ भन्ने कुराको जानकारी नै गराई सिकाइएको भन्ने प्रतिवादीको भनाइ केवल अनुमान मात्र मान्नुपर्ने देखिन्छ । अदालतको इजलाससमक्ष लिइएको बकपत्रको समयमा सोधिएका प्रश्नहरूको के कसरी उत्तर दिने भन्ने कुरा सिकाउन सामान्यतः सम्भव हुने देखिँदैन । बालबालिकाहरूले आफूउपर घटित वारदातमा भएको पीडा व्यक्त गरेका शब्दहरू छलकपट नभई सहीसत्य नै बोलेका देखिन्छ ।
२९. प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम “कुनै काम घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ” भनी कानूनी व्यवस्था देखिन्छ । जाहेरवाला तथा मौकामा कागज गर्ने व्यक्तिहरू र पीडितसमेतले प्रतिवादीहरूले पीडित नाबालकलाई अभियोग दाबीबमोजिम यौन दुराचारका कार्यहरू भए गरेको हो भनी आफ्नो जाहेरी दरखास्त तथा अनुसन्धानका क्रममा व्यक्त गरेको सत्यतथ्यलाई अदालतसमक्ष उपस्थित भई गरिदिएको बयान / बकपत्रलाई प्रतिवादीहरू विरूद्धको आरोप पुष्टि गर्ने खम्बिर प्रमाणको रूपमा लिनुपर्छ । यसलाई अन्यथा हो भनी प्रमाणित नगरेसम्म सो कुरालाई प्रमाण ग्रहण गर्नुपर्ने देखिन्छ । प्रस्तुत मुद्दामा पीडित २६ सि.आई.बि.१६१ उपर यौन दुराचारका कार्यहरू भए गरेको भनी घटना विवरण / वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू तथा पीडितको शारीरिक परीक्षण प्रतिवेदन पेस गर्ने चिकित्सकसमेतले अदालतमा उपस्थित प्रतिवादीहरूउपरको कसुरलाई पुष्टि हुने गरी स्पष्टताका साथ लेखाई दिइएको अवस्थामा सो सत्यतथ्य अन्यथा प्रमाणित नभएसम्म यी प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारबाट नै प्रस्तुत वारदात घटित हुन गएको देखिएको हुँदा निज प्रतिवादीहरू कसुरदार हुन् भन्ने देखियो ।
३०. पीडित २६ सि.आई.बि.१६१ ले आफूउपर भएको घटनालाई पुष्ट्याईं गर्न पीडित स्वयं नै अदालतमा उपस्थित भई आफ्नो पीडालाई बकपत्रको माध्यमद्वारा प्रतिवादी Kenneth Joseph Coombs ले मलाई लुगा फुकालेर नुहाउन भन्थ्यो, नुहाएपछि मेरो पिसाब फेर्ने कुरा चुस्ने र उसको पनि मलाई चुस्न भन्थ्यो । कुकिज, चकलेट ड्युहरू खान दिई पैसा पनि दिने गर्थ्यो र सो पैसा लुच्चेले लिन्थे । लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले प्रतिवादी Kenneth Joseph Coombs बस्ने YAMBU HOTEL को कोठा नं. ५०३ मा ४/५ पटकसम्म लगेको हो । लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले मलाई कोठामा पुर्याई छोडेर जाने गर्थ्यो भनी प्रतिवादीहरूउपरको कसुर पुष्टि हुने गरी पीडित काठमाडौं २६ सि.आई.बि.१६१ को बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदन साथै सि.आई.बि.१७० लगायत अन्य वादीका साक्षीहरूसमेतले जाहेरी बेहोरालाई समर्थित हुने गरी लेखाई दिइरहेको स्थितिमा प्रतिवादीहरूउपरको अभियोग दाबीबमोजिमको कसुर स्थापित हुने देखियो । यस अवस्थामा प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि.१६१ लाई प्रतिवादी Kenneth Joseph Coombs बस्ने कोठासम्म पुर्याउने काम गरी प्रतिवादी Kenneth Joseph Coombs ले वर्ष ११ देखि १२ वर्षबिचको रहेका परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि.१६१ लाई अभियोग माग दाबीबमोजिम बालयौन दुराचार (पेडोफायल) गरी जबरजस्ती करणीको वारदात यी प्रतिवादीबाट नै घटित भएको पाइयो ।
३१. यस अवस्थामा प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले मानव बेचबिखन वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले नभई जबरजस्ती करणीको महलअनुसार यौन दुराचार गराउने उद्देश्यले पीडित काठमाडौं २६ सि.आई.बि.१६१ लाई प्रतिवादी Kenneth Joseph Coombs बस्ने होटलमा लगेको अवस्था देखिएकोले यी प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(२)(ख) को कसुरमा सोही ऐनको दफा १५(१)(ङ)(२) अनुसार सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा सोही ऐनको दफा १७ बमोजिमको क्षतिपूर्ति र दफा १८ बमोजिम मोटरसाइकल जफतसम्बन्धी तथा दफा २२ अनुसारको अभियोग दाबीसमेत पुग्न नसक्ने ठहर्याएको सुरू फैसला सदर गर्ने उच्च अदालतको फैसला मनासिबै देखियो ।
३२. अत: माथि उल्लिखित विवेचना गरिइएका आधार कारण तथा कानूनी व्यवस्थाअनुसार प्रतिवादीहरूमध्ये प्रतिवादी Kenneth Joseph Coombs ले परिवर्तित नाम काठमाडौं २६ सि.आई.बि. १६१ लाई बालयौन दुराचार गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(२) नं. को कसुरमा सोही महलको ३(२) नं. बमोजिम ८(आठ) वर्ष र सोही महलको ९क नं. ले थप १ (एक) वर्ष गरी जम्मा ९(नौ) वर्ष कैद सजाय हुने, प्रतिवादी Kenneth Joseph Coombs बाट पीडितले पचास हजार रूपैयाँ क्षतिपूर्ति भराइपाउने तथा अर्का प्रतिवादी लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले प्रतिवादी Kenneth Joseph Coombs बस्ने कोठामा पीडित बालबालिकाहरूलाई पुर्याई बालयौन दुराचार कार्यमा सहयोग गरेको हुँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. बमोजिम ४(चार) वर्ष कैद सजाय हुने गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर गरेको फैसला मिलेको देखियो । अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरू Kenneth Joseph Coombs र लुच्चे गणेश भन्ने बुद्ध पुतुवारले लिएको पुनरावेदन जिकिर मिसिल प्रमाणबाट समर्थित हुन नआएको हुँदा पुनरावेदन तथा बहस जिकिरसँग यो इजलास सहमत हुन सकेन । साथै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.दीपककुमार कार्की
इजलास अधिकृत:- ऋतु राई / विकेश महर्जन (शा.अ.)
इति संवत् २०७७ साल फागुन २६ गते रोज ४ शुभम् ।