शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७७३ - कर्तव्य ज्यान

भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७६।१२।२

 

मुद्दा:- कर्तव्य ज्यान

 

०७५-CR-०५२५

पुनरावेदक / प्रतिवादी : कञ्‍चनपुर जिल्ला, बेलौरी न.पा. वार्ड नं. १० घर भई हाल जिल्ला कारागार कार्यालय, कञ्‍चनपुरमा कैदमा रहेको वीरबहादुर बोट

विरूद्ध

प्रत्यर्थी / वादी : रामकृष्ण बोटको जाहेरीले नेपाल सरकार

 

०७५-CR-०८७७

पुनरावेदक / वादी : रामकृष्ण बोटको जाहेरीले नेपाल सरकार  

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कञ्‍चनपुर जिल्ला, बेलौरी न.पा. वडा नं. १० बस्ने भवानी चन्द

 

०७५-RC-०११४

पुनरावेदक / वादी : रामकृष्ण बोटको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कञ्‍चनपुर जिल्ला, बेलौरी न.पा. वडा नं. १० बस्ने उर्मिला बोट

 

मृतकले आफू मर्ने बेलामा आफ्नो मृत्युको कारण सम्बन्धमा बोलेको कुरालाई प्रहरी कर्मचारीले नै आफ्नो मोबाइलमा रेकर्ड गरी, रेकर्ड भएको बेहोरा मैले रेकर्ड गरेको हो, मृतक सिरियस भई रोकिई रोकिई बोलेकी थिइन् भनी अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गरिदिएको अवस्थामा उक्त audio रेकर्डलाई मृत्युकालीन घोषणा (dying declaration) को परिभाषाभित्र नपर्ने भन्न नमिल्ने ।

(प्रकरण नं.११)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल तथा विद्वान् अधिवक्ता श्री मनिषा बस्नेत

अवलम्बित नजिर :

ने.का.प.२०६३, अङ्क ३, नि.नं.७६६३

ने.का.प.२०६४, अङ्क ११, नि.नं.७८९८

ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२२

ने.का.प.२०७६, अङ्क ७, नि.नं.१०३१२

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री दिवाकर भट्ट

कञ्‍चनपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य

माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास

 

फैसला

न्या.हरिप्रसाद फुयाल : तत्कालीन न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदन र दफा १० बमोजिम साधक दर्ता भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

मिति २०७२।०४।१५ गते राति अं.१:३० बजेको समयमा वीरबहादुर बोट, उर्मिला बोट र १ जना अर्को मानिससमेत ३ जनाले मेरी आमा रामलल्ली बोटलाई बाहिरबाट बोलाई अँध्यारोमा नजाँनिदो हतियारले कुटपिट गरी मरणासन्न अवस्थामा छाडी गएकोले निजहरूमाथि आवश्यक कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको रामकृष्ण बोटको निवेदन ।

मृतक रामलल्ली बोटको नाक मुखबाट रगत आएको भन्‍नेसमेत बेहोराको मृतकको नामको घाउ जाँच केस फाराम ।

जिल्ला कञ्‍चनपुर, बेलौरी नगरपालिका वार्ड नं. १० बोटगाउँ स्थित पूर्व पचुईबाट बेलौरीतर्फ जाने कच्ची सडक, पश्चिम धौलेलाल बोटको जमिन, उत्तर वीरबहादुर बोटको १ तले घर, दक्षिण गोपाल बोटको १ तले टिनले छाएको कच्ची घर यति चार किल्लाभित्र रामलल्ली बोटको २ कोठे १ तले टिनले छाएको कच्ची घर रहेको, सो घरको दक्षिणतर्फको कोठामा डोरीले बुनेको खटिया रहेको, सो खटियामाथि रहेका कपडाहरू यत्रतत्र छरिएको अवस्थामा रहेका, सो स्थानमा जमिनमा माटो चिथोरिएको अवस्था भई झै-झगडा भएको र सङ्घर्ष भएको जस्तो देखिएको, सो घटनास्थलबाट १ थान सिरकको खोल र १ थान त्रिपालमा रगतजस्तो रातो पदार्थ लागेको अवस्थामा फेला पारी प्रहरीले आफ्नो जिम्मा लिएको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

वीरबहादुर बोटको परिवार र मेरो परिवारबिच पहिलेदेखि नै जग्गाको विषयलाई लिएर झै-झगडा, वादविवाद हुँदै आएकोमा मिति २०७२।०४।१५ गते राति अं.१:३० बजेको समयमा बाहिरबाट भवानी चन्दले भाउजू बाहिर आउनुहोस् भनी आमा रामलल्ली बोटलाई बोलाई वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दसमेतका ३ जनाले आमालाई कुटपिट गरी आमाले मेरी श्रीमती कुन्तादेबी बोटलाई टर्च लिएर बाहिर आउ भनी भनेको र मेरी श्रीमती आमा रामलल्ली बोटको पछिपछि आउँदै गर्दा आमा बेहोस भएको देखी श्रीमतीले चिच्याएपछि हामी घरपरिवारका मानिसहरूले थाहा पाएका हौँ र आमा होसमा आएपछि सोधपुछ गर्दा भवानी चन्द, वीरबहादुर बोट र उर्मिला बोटसमेतका ३ जनालाई मैले देखेकी हुँ । मलाई कुन हातहतियारले हिर्कायो थाहा भएन भनी आमाले मलाई भनेको हो । आमालाई मिति २०७२।०८।१८ गते उपचारको लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलअनुसार दोषिमाथि हदैसम्मको सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको रामकृष्ण बोटको जाहेरी 

दरखास्त । 

जिल्ला कञ्‍चनपुर, बेलौरी नगरपालिका वार्ड नं. ५ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीको लास घरमा मृतक रामलल्ली बोटको लास रहेको, मृत शरीरमा चोटपटक निलडाम नदेखिएको, नाक मुखबाट रगतजस्तो रातो पदार्थ निस्किर्इ अनुहारमा लागेको भन्‍नेसमेत बेहोराको लासजाँच मुचुल्का ।

मिति २०७२।०४।१७ गते बेलुका जाहेरवालासमेतले रामलल्ली बोटलाई घाइते अवस्थामा प्रहरीचौकी पचुईमा लगेको र रामलल्ली बोटले मलाई भवानी चन्दले भाउजू भनी बोलाएको हो । मेरा देवर देउरानीसमेतले लछार पछार गरी कुटपिट गरेको हो भनी भनेको कुरा प्र.स.नि. यदुबहादुर देउवा सामुन्नेमा भ्वाइस रेकर्ड भएको हो । उक्त आवाज निज मृतककै हो । सो कुरा निज मृतकले हामीहरूको सामुन्नेमा भनेको हो भन्‍नेसमेत बेहोराको जाहेरवालासमेतले गरीदिएको रेकर्डसम्बन्धी कागज ।

मिति २०७२।०४।१५ गते मैले मृतक रामलल्ली बोटलाई कुटपिट गरी मारेको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी वीरबहादुर बोटको अनुसन्धान अधिकारीसमक्षको बयान कागज ।

मिति २०७२।०४।१५ गते बेलुका निज रामलल्ली बोटलाई मैले कुटपिट गरेको होइन । वीरबहादुर बोट र मृतकको घरपरिवार एकआपसमा अंशियार हुन् । विगत २० वर्षअगाडिदेखि दुवै परिवारबिच अंशबन्डाको विषयमा विवाद रहेको 

थियो । तत्कालीन वडाध्यक्ष भएकोले मैले मध्यस्थ भई विवाद मिलाई दिएको थिएँ । सोही कारणले मेरो नाममा जाहेरी दिएको हुनुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी चन्दको अनुसन्धान अधिकारीसमक्षको बयान कागज ।

मिति २०७२।०४।१५ गते राति म र मेरो श्रीमान् विरबहादुर बोटले मृतकलाई कुटपिट गरेको होइन । निज मृतक पहिलेदेखि नै टि.बी. को बिरामी थिइन् भन्‍नेसमेत बेहोराको प्रतिवादी उर्मिला बोटको अनुसन्धान अधिकारीसमक्षको बयान कागज ।

Cause of death is undetermined भन्‍नेसमेत बेहोराको निज मृतक रामलल्ली बोटको शव परीक्षण प्रतिवेदन ।

मिति २०७२।०४।१५ गते रातिको समयमा म आफ्नै घरमा सुतेको थिएँ । मृतक रामलल्ली बोट मेरी आमा हुन् । जाहेरवाला मेरा दाजु हुन् । वारदातको समयमा मेरी भाउजू कुन्तादेबी बोटले गोपाल भनी बोलाएपश्चात् म हातमा लठ्ठी लिई बाहिर आउँदा आमाको नाक, मुखबाट रगत बगी बेहोस अवस्थामा 

थिइन् । आमालाई भाउजूले समातेको थियो । भाउजूलाई सोध्दा मैले मानिस चिन्न सकिन । मानिसहरू भागेको जस्तो आवाज आएको थियो भनी भाउजूले बताएकी हुन् । मलाई वीरबहादुर बोटसमेतले कुटपिट गरेको हो भनी आमाले भन्दा प्रहरी चौकी पचुईमा निवेदन दिएका हौँ । श्रीपुर प्राथमिक स्वास्थ्य  केन्द्र बेलौरीमा उपचार हुन नसकी मिति २०७२।०४।१८ गते उपचारको लागि आमालाई भारततर्फ लगिरहेको अवस्थामा बाटोमा नै मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको जाहेरवालाका भाइ गोपाल बोटले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते रातिको समयमा म आफ्नै घरमा सुतेको थिएँ । मृतक, प्रतिवादी तथा जाहेरवाला मेरा गाउँले हुन् । प्रतिवादी वीरबहादुर बोट, उर्मिला बोट र जाहेरवालाबिच जग्गाको विषयमा वादविवाद थियो । सो रातिको समयमा निज प्रतिवादीहरू रामलल्ली बोटको घरमा गई निजलाई कुटपिट गरी घाइते पारेको र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचार हुन नसकी मिति २०७२।०४।१८ गते उपचारको लागि जाहेरवालाकी आमालाई भारततर्फ लगिरहेको अवस्थामा बाटोमा नै मृत्यु भएको हो भन्‍ने कुरा मैले सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको हेमराज बोटले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते रातिको समयमा म आफ्नै घरमा सुतेको थिएँ । प्रतिवादीहरू र जाहेरवाला मेरा गाउँले हुन् । प्रतिवादी वीरबहादुर बोट, उर्मिला बोट र जाहेरवालाबिच जग्गाको विषयमा वादविवाद 

थियो । सो रातिको समयमा निज प्रतिवादीहरू रामलल्ली बोटको घरमा गई निजलाई कुटपिट गरी घाइते पारेको र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचार हुन नसकी मिति २०७२।०४।१८ गते उपचारको लागि रामलल्ली बोटलाई भारततर्फ लगिरहेको अवस्थामा बाटोमा नै रामलल्लीको मृत्यु भएको हो भन्‍ने कुरा मैले सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको छत्रधारीप्रसाद मुराउले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते रातिको समयमा म आफ्नै घरमा सुतेको थिएँ । मृतक प्रतिवादी तथा जाहेरवाला मेरा गाउँले हुन् । प्रतिवादी वीरबहादुर बोट, उर्मिला बोट र जाहेरवालाबिच जग्गाको विषयमा वादविवाद थियो । सो रातिको समयमा निज प्रतिवादीहरू रामलल्ली बोटको घरमा गई निजलाई कुटपिट गरी घाइते पारेको र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचार हुन नसकी मिति २०७२।०४।१८ गते उपचारको लागि रामलल्ली बोटलाई भारततर्फ लगिरहेको अवस्थामा बाटोमा नै मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको सियाराम बोटले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते रातिको समयमा प्रतिवादी वीरबहादुर बोटसमेत जना ३ ले वारदातको मिति र समयमा रामलल्ली बोटलाई कुटपिट एवं. धक्का मुक्का गरी घाइते बनाएको हो भन्‍नेसमेत बेहोराको सन्तराम बोटले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते रातिको समयमा म मेरी सासू रामलल्ली बोटसँग सुतेकी थिएँ । राति अं.१:३० बजेको समयमा सासूलाई ढोकाको नजिकैबाट भाउजू भनी बोलाएको आवाज आएपश्चात् सासू बिस्तराबाट उठी बाहिर जान लाग्दा मसँग टर्च मागेको र म निन्द्राको झोंकमा भएको कारण टर्चलाईट खोज्न ढिलो भएपश्चात् सासू अँध्यारोमा बाहिर आएकी 

हुन् । बाहिर आएको केही समयमा एक्कासी बुहारी छिटो बाहिर आउ, मलाई को कस्ले समाती तान्दै लछार्दै छन् भनी सासूले चर्को आवाज गरेपश्चात् मैले टर्च ल्याई बाहिर उज्यालो लगाउँदा सासूलाई ढोकाको अगाडि जोरले धक्का दिई लडाई मेरो घरको आँगनमा जोडिएको सडकबाट उत्तरतर्फ ३ जना मानिस भागेर गएका मैले देखेकी हुँ । अँध्यारो भएका कारण मैले मानिस चिन्न सकिन । सासू बेहोस अवस्थामा भएकीले मैले सासूलाई समाती मेरा देवर गोपाल बोटलाई बोलाएकी हुँ । प्रतिवादी वीरबहादुर बोट, उर्मिला बोट र मेरो घर परिवारबिच जग्गाको विषयमा वादविवाद थियो । प्रतिवादी भवानी चन्दले मेरो परिवारलाई डराई धम्काई गर्ने र हेप्ने गर्दथ्यो । रेकर्ड गरेको आवाज सासूको नै हो भन्‍नेसमेत बेहोराको कुन्ता भन्‍ने सकुन्तलादेवी बोटले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते राति अं. २०:०० बजेको समयदेखि ऐ. २:०० बजेको समयसम्म म भगवती त्रिपुरा मन्दिमा थिएँ । उक्त मन्दिरमा म बाजा बजाउने काम गर्दथें । प्रतिवादी भवानी चन्द पनि उल्लिखित समयसम्म सोही मन्दिरमा थियो । रातिको २:०० बजेको समयमा गजेन्द्र चन्द, मनिराम पार्की र भवानी चन्दसमेतका व्यक्ति सँगै आफ्नो घरतर्फ गएका हुन् । म सोही मन्दिरमा सुतेको हुँ । प्रतिवादी वीरबहादुर बोट, उर्मिला बोट र जाहेरवालाबिच जग्गाको विषयमा वादविवाद थियो । सो रातिको समयमा निज प्रतिवादीहरू रामलल्ली बोटको घरमा गई निजलाई कुटपिट गरी घाइते पारेको र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचार हुन नसकी मिति २०७२।०४।१८ गते उपचारको लागि भारततर्फ लगिरहेको अवस्थामा बाटोमा नै मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको तुलाराम दमाईले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते राति प्रतिवादीहरूले रामलल्ली बोटलाई कुटपिट गरी घाइते बनाई सोही चोटको कारणले औषधी उपचारको लागि लग्दै गर्दा बाटोमा निजको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको गजेन्द्रचन्दले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते राति जाहेरवालाकी आमा रामलल्ली बोटलाई प्रतिवादीहरूले कुटपिट गरी घाइते बनाई उपचारको लागि भारततर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रतिवादी वीरबहादुर बोट र मृतक रामलल्ली बोटको घरपरिवारबिच रिसइवी थियो थिएन थाहा भएन भन्‍नेसमेत बेहोराको मनीराम पार्कीले गरेको घटना विवरण कागज ।

मिति २०७२।०४।१५ गते राति १:३० बजेको समयमा प्रतिवादी वीरबहादुर बोटसमेतले पूर्वरिसइवीको कारणले जाहेरवालाको घरमा गई निजको आमा रामलल्ली बोटलाई कुटपिट एवं धक्कामुक्का गरी घाइते बनाई सोही चोटको औषधी उपचारको लागि भारततर्फ लैजाँदै गर्दा निज मृतकको मिति २०७२।४।१८ गते दिउँसो बाटोमै मृत्यु भएको भन्‍ने कुरा सुनी थाहा पाएका हौँ भन्‍नेसमेत बेहोराको तिलक चौधरीसमेतले गरिदिएको वस्तुस्थिति 

मुचुल्का ।

मिति २०७२।४।१५ गतेको राति अं.१:३० बजेको समयमा जाहेरवालाको आमा रामलल्ली बोटलाई प्रतिवादी वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दसमेत ३ जनाले जग्गासम्बन्धी विवाद भई पूर्वरिसइवीको कारण कुटपिट एवं धक्कामुक्का गरी घाइते बनाई सोही चोटको उपचारको लागि भारततर्फ लैजाने क्रममा मिति २०७२।०४।१८ गते दिउँसो जाहेरवालाको आमा रामलल्ली बोटको सोही चोट पीडाबाट मृत्यु भएको देखिएको र प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ.१३(३) नं. बमोजिमको कसुर अपराध भएको हुँदा सो कसुरमा प्रतिवादीहरू वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दसमेतलाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको अभियोग मागदाबी ।

मृतक रामलल्ली बोटलाई मैले कुटपिट गरेको छैन । उक्त राति म आफ्नै घरमा सुतिराखेको थिएँ । मृतकलाई को कसले कुटपिट गर्‍यो र के कसरी मृत्यु भयो मलाई थाहा छैन । मृतकसँग म र मेरो श्रीमतीको एक महिनापहिले झगडा भएको थियो, बोलचाल नै थिएन । मेरो सन्तान नभएकोले ३।४ महिनाअगाडि मैले धर्मपुत्र राखेकोले सम्पत्ति खाने उद्देश्यले मलाई झुट्ठा आरोप लगाएको हुनुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादी वीरबहादुर बोटले सुरू अदालतमा गरेको बयान ।

मृतक रामलल्ली बोटलाई मसमेतले कुटपिट गरेको होइन । उक्त राति हामी आफ्नै घरमा सुतेका थियौँ । मृतकसँग एक महिनापहिला जग्गा विषयमा वादविवाद भई रिसइवी थियो । मृतकलाई को कसले कुटपिट गर्‍यो मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवादी उर्मिला बोटले सुरू अदालतसमक्ष गरेको बयान ।

उक्त जाहेरी झुठ्ठा हो । म राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ता पनि हुँ । म गाउँ कमिटी सभापति हुँ । मैले १८।२० वर्ष पहिले मृतक रामलल्ली बोटको श्रीमान् घुरैलाल बोट र प्रतिवादी वीरबहादुर बोटबिचमा जग्गासम्बन्धी विवाद मिलाई दिएको 

थिएँ । सोपश्चात् ३/४ महिना यतादेखि मृतक, जाहेरवाला र प्रतिवादीहरूबिच भेटघाट भएको छैन । मृतकलाई कुटपिट भएको भन्‍ने कुरा मिति २०७२।४।१८ गते थाहा पाएको हुँ । मृतक र प्रतिवादी वीरबहादुर बोट र उर्मिला बोटबिच विवाद कुटपिट भई प्रहरीले पक्रेको छ भन्‍ने कुरा थाहा पाएको हुँ । मृतकको मृत्यु भएको कुरा पनि सोही दिन थाहा पाएँ । म पनि चौकीमा के भएको रहेछ भनी गएको थिएँ । सोही दिन प्रतिवादी वीरबहादुर बोट र उर्मिला बोटलाई चौकीबाट मैले जिम्मा लिएको थिएँ । मृतकलाई उपचारका लागि इन्डियातिर लगेको थियो । मृतकलाई को कसले कुटपिट गर्‍यो थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी चन्दले सुरू अदालतमा गरेको बयान ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरबमोजिम हुने गरी हाल तत्काल प्राप्त उल्लिखित प्रमाणका आधारमा प्रतिवादीमध्येका वीरबहादुर बोटलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ को देहाय (२) बमोजिम थुनामा राखी र प्रतिवादीहरू उर्मिला बोट र भवानी चन्दलाई अ.बं. ११८ को देहाय ५ र १० बमोजिम जनही रू. ५०,०००।- (पचास हजार) नगदै धरौट राखे वा सो बराबरको जेथा जमानत दिए तारेखमा राख्नु र दिन नसके अ.बं. १२१ नं. बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्‍न कारागार कार्यालय कञ्‍चनपुरमा पठाई मुद्दाको पुर्पक्ष गर्नु भन्‍ने मिति २०७२।०५।०७ को सुरू कञ्चनपुर जिल्ला अदालतको आदेश ।

उक्त राति म आफ्नै घरमा थिएँ । मृतकलाई कुटपिट गरेको, झगडा गरेको मलाई केही थाहा छैन । रामलल्ली के कसरी मरी मलाई थाहा छैन भन्‍नेसमेत बेहोराको घटना विवरणका सियाराम रानाले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त राति म पचुईमा रहेको त्रिपुरा सुन्दरीको मन्दिरमा थिएँ । प्रतिवादी भवानी चन्द पनि सोही मन्दिरमा भजनमा थिए । निज मभन्दा पहिला त्यहाँ पुगेर हारमोनियम बजाइरहेका थिए । राति २ बजेसम्म हामी सँगै थियौँ । सो बिचमा भजन किर्तन छोडी कहीँ गएका थिएनन् भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी चन्दका साक्षी जय सिंह टमटाले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त राति जाहेरवालाको घरमा झगडा भएको हल्ला केही सुनिनँ । मृतक र प्रतिवादी उर्मिलाको परिवारका बिच पहिलेदेखि बोलचाल थिएन भन्‍नेसमेत बेहोराको प्रतिवादी उर्मिला बोटका साक्षी मानसिंह बोटले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त राति अं. १.३० बजे ३ जना हाम्रो कोठामा आई मेरो सासूलाई बोलाई तानी बाहिर लगी लात्ती मुक्काले हानी मेरो सासूलाई कुटपिट गरेको थियो । सासूको मुख नाकबाट रगत निस्की रहेको 

थियो । उक्त ३ जनामा वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्द थिए भन्‍नेसमेत बेहोराको घटना विवरणका सकुन्तला बोटले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त राति प्रतिवादीहरूले मृतकलाई कुटपिट गरेको होइन । मृतक पहिलेदेखि नै बिरामी थिइन् । म नजिकै भएकीले कुटपिट भएको भए थाहा पाउनुपर्ने हो भन्‍नेसमेत बेहोराको प्रतिवादी उर्मिला बोटका साक्षी कमला बोटले सुरू अदालतमा गरेको बकपत्र ।

मृतकलाई कुटपिट को कसले गर्‍यो थाहा 

छैन । के कारणले मृत्यु भयो थाहा छैन । निजको शरीरमा मैले कुनै चोटपटक देखिन भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका रामलक्ष्मण बोटले सुरू अदालतमा गरेको बकपत्र ।

सो राति प्रतिवादी भवानी चन्द र मसमेत हाम्रै गाउँमा रहेको त्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा थियौँ । प्रतिवादी भवानी चन्दमाथिको आरोप झुठ्ठा हो भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी चन्दका साक्षी शेरी चन्दले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त राति म बाहिर थिएँ । जमिनसम्बन्धीको विवाद र रिसइवीमा प्रतिवादीहरू वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दले मृतकलाई कुटपिट गरेका हुन् भनी भोलिपल्ट ६:३० बजे गोपाल भाइले फोन गरेर घटनाको बारेमा जानकारी गराएपछि थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको जाहेरवाला रामकृष्ण बोटले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरूको कुटपिटकै कारण आमाको मृत्यु भएको हो । प्रतिवादीहरूमध्ये वीरबहादुर बोट र उर्मिला बोटसँग जग्गाको मामिलामा झगडा मनमुटाव थियो । प्रतिवादी भवानी चन्दले राम्रो जग्गा वीरबहादुर बोटलाई दिएको र वीरबहादुर बोटको पक्ष लिएर बोल्ने आदि भएकोले उहाँसँग पूर्वरिसइवी थियो भन्‍नेसमेत बेहोराको बुझिएका गोपाल बोटले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त मितिमा मैले घाइते रामलल्ली बोटको आवाज रेकर्ड गरेको थिएँ । रेकर्ड गर्दा प्रस्ट बोल्न नसकी सिरियस भई रोकिईरोकिई जवाफ दिएकी थिइन् भन्‍नेसमेत बेहोराको voice record गर्ने प्र.स.नि. यदुबहादुर देउवाले सुरू अदालतमा गरेको बकपत्र ।

मृतक रामलल्ली पहिलेदेखि टि.वी. रोगको बिरामी थिइन् । निजलाई कसैले कुटपिट नगरी सोही बिरामीकै कारणबाट निजको मृत्यु भएको हुन सक्छ भन्‍नेसमेत बेहोराको बुझिएका गजेन्द्र चन्दले सुरू अदालतमा गरेको बकपत्र ।

मृतक रामलल्ली बोटलाई कसले कुटपिट लछारपछार गरी घाइते बनायो मलाई केही थाहा छैन भन्‍नेसमेत बेहोराको बुझिएका मनिराम पार्कीले सुरू अदालतमा गरेको बकपत्र ।

श्री कञ्‍चनपुर जिल्ला अदालतले धरौटी लिने गरी मिति २०७२।५।७ गतेमा प्रतिवादीहरू उर्मिला बोट र भवानी चन्दलाई पुर्पक्षका लागि धरौटीमा राख्‍ने भन्‍ने आदेश बदर गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरिपाउँ भन्‍ने नेपाल सरकारको तत्कालीन पुनरावेदन अदालतमा परेको निवेदन ।

श्री कञ्‍चनपुर जिल्ला अदालतले प्रतिवादी वीरबहादुर बोटलाई पुर्पक्षका लागि थुनामा राख्‍ने भन्‍ने मिति २०७२।५।७ गतेको आदेश बदर गरी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरिपाउँ भन्‍ने प्रतिवादी वीरबहादुर बोटको निवेदन परेकोमा मिति २०७२।५।७ को तहाँ अदालतको आदेश बेरितको नदेखिँदा निवेदकहरूका निवेदन मागबमोजिम अरू आदेशमा परिवर्तन गरिरहनु परेन भन्‍ने बेहोराको तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरबाट भएको मिति २०७२।७।१९ को आदेश मिसिल संलग्न रहेछ ।

निज मृतकको घाँटीको तलतिर सानो चोट थियो । अन्य कुनै ठाउँमा चोट थिएन । भित्री शरीरमा पनि कुनै चोटपटक थिएन । मैले निज मृतकको शव परीक्षण गर्दा निजको शरीरलाई चिरफार गर्ने क्रममा निजको शरीर हल्का पहेँलो रंगको थियो । उक्त प्रकारको पहेँलो रंग हुनु दीर्घरोगको कारणले हुन 

सक्छ । मृत्युको कारण यकिन नभएकाले भिषेरा परीक्षणको लागि पठाइएको हो । उक्त भिसेरा रिपोर्ट हेर्दा मृतकको कलेजो, मृगौला र फोक्सोको परीक्षणबाट निजलाई (multiple organs chronic diseases) हुन सक्छ भन्‍नेसमेत बेहोराको बुझिएका डा. मोहम्मद सेराज हुसैनले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त दिन म गस्तीमा भएकोले घाइते रामलल्ली बोटको आवाज रेकर्ड गरेको बारेमा मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको अ.वं. ११५ नं. बमोजिम बुझिएका पदमबहादुर मल्लले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त दिन प्रहरी चौकीमा इन्चार्ज प्र.स.नि. यदुबहादुर देउवा हुनुहुन्थ्यो । म चौकीमा भान्छामा खाना पकाउने भान्छे हुँ । मलाई सोबारेमा थाहा भएन । भ्वाइस रेकर्ड गरेको छ भन्‍ने पछि सुनेको हुँ भन्‍नेसमेत बेहोराको अ.बं. ११५ नं. बमोजिम बुझिएका प्रहरी जवान अग्निराज जोशीले सुरू अदालतमा गरेको बकपत्र ।

मिसिल संलग्न कागज प्रमाण र मृत्युकालीन घोषणाको प्रामाणिक महत्त्वका सम्बन्धमा प्रतिपादित सिद्धान्तसमेतका आधार प्रमाणबाट यी प्रतिवादीहरू वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दले मृतक रामलल्ली बोटलाई मिति २०७२।४।१५ को राति १:३० बजेको समयमा घरभित्रबाट बाहिर बोलाई कुटपिट गरी सोही चोटका कारणबाट मृतक रामलल्ली बोटको मृत्यु भएको देखिएको र उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. विपरीतको कसुर भएकाले प्रतिवादीहरू वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दलाई सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । सर्वस्वसहित जन्मकैद हुने ठहरे तापनि अ.वं.१८८ नं. बमोजिम तीनैजना प्रतिवादीहरूलाई जनही १०(दस) वर्ष कैदको सजाय हुन मनासिब देखी राय व्यक्त गरिएको छ भन्नेसमेत बेहोराको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०७३।१०।२४ को फैसला । 

सुरू अदालतबाट भएको फैसलामा मेरा विरूद्धको महत्त्वपूर्ण प्रमाणका रूपमा ग्राह्य भएको कथित मृत्युकालीन घोषणा (dying declaration) भनिएको (voice record) ले मृत्युकालीन घोषणाको हैसियत राख्छ वा राख्दैन भन्‍ने विषयमा विश्लेषण नै गरिएको छैन । मृतकको मृत्युको कारण भौतिक आक्रमण वा कुटपिट हो भन्‍ने स्थापित नभई दीर्घ रोगका कारण निजको मृत्यु भएको मिसिलबाट प्रमाणित भइरहँदासमेत निजको कथनलाई आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको भनी प्रमाण ऐन २०३१, को दफा ११ को प्रत्यक्ष अपव्याख्या गरी भएको सुरू फैसला अन्यायपूर्ण भएकोले सुरू कञ्‍चनपुर जिल्ला अदालतको मिति २०७३।१०।२४ को फैसला अमान्य गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी वीरबहादुर बोटले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको पुनरावेदन ।

मैले अनुसन्धान र अदालतसमक्ष समेत इन्कारी बयान गरेको छु । सो मेरो इन्कारी बयानलाई पोष्टमार्टम रिपोर्ट, विशेषज्ञ डाक्टरको बकपत्र, अ.बं.११५ नं. बमोजिम बुझिएका अग्निराज जोशी र पदमराज मल्लको बकपत्र तथा वादी पक्षकै सिताराम राना, रामनक्षत्र रानाको बकपत्रबाट समेत समर्थन भई पुष्‍टि भइराखेको अवस्था विद्यमान छ । मिसिल प्रमाणबाट मेरो निर्दोषिता पुष्‍टि भइराखेको हुँदाहुँदै मलाई कसुरदार ठहर्‍याई सर्वस्वसहित जन्मकैद गरेको सुरू फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी चन्दले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको पुनरावेदन ।

प्रतिवादीहरू अनुसन्धानका क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा गरेको बयानमा आरोपित कसुर गरेकोमा इन्कार भई बेहोरा लेखाएको, शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण undetermined भनी उल्लेख गरेको र शव परीक्षण गर्ने डाक्टरले अदालतमा गरेको बकपत्रमा दीर्घ रोगसमेतका कारणले मृतक रामलल्ली बोटको मृत्यु भएको हुनसक्ने भनी खुलाएको परिप्रेक्ष्यमा कञ्चनपुर जिल्ला अदालतबाट प्रतिवादीहरूले ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफल निम्ति मुलुकी ऐन, अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ र ११२ बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार पेस गर्नुहोला भन्‍ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७४।६।१ को आदेश ।

मृतक रामलल्ली बोटले मर्नुअगाडि भनेको प्र.स.नि. यदुबहादुर देउवाको मोबाइलमा रेकर्ड गरिएको चिप्समा रहेको बेहोरा भनी मिति २०७२।४।२४ मा रेकर्ड गरिएको मुचुल्कामा जाहेरवाला र निजका भाइ गोपाल बोट रोहबरमा रहेको देखियो । सुरू कञ्चनपुर जिल्ला अदालतबाट तत्सम्बन्धी भाषा रूपान्तरण गर्दा मृतककै छोरा गोपाल बोटबाट मिति २०७२।०९।२१ मा गरिएको देखिँदा पीडित वा आरोपित पीडक पक्षबाहेकका बोट भाषाको ज्ञान भएका अन्य स्वतन्त्र व्यक्तिबाट मिसिल संलग्न चिप्समा रेकर्ड रहेको भाषा र २०७२।०९।२१ मा गरिएको उतार भाषाको समरूपताका सम्बन्धमा रेकर्ड उतार भएका बोट भाषाका वाक्य वा भनाइहरूको नेपाली रूपान्तरण गरी गराई यकिन गर्नुपर्ने देखिँदा कञ्चनपुर जिल्ला बेलौरी क्षेत्रमा बस्ने बोट समुदायभित्रका बोट भाषा बुझ्ने शिक्षक वा अन्य कोही विज्ञ व्यक्ति उपलब्ध गराइदिनु भनी जिल्ला शिक्षा कार्यालय महेन्द्रनगरलाई दिन र समय तोकी पत्र पठाई नियमानुसार पेस गर्नुहोला भन्‍ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७४।११।१३ को र पुनः जिल्ला शिक्षा अधिकारीलाई नै सम्बोधन गरी मिति २०७४।१२।२६ गतेका दिन उपलब्ध गराई वा उपलब्ध गराउन नसकिने भए आधार र कारण खुलाई जवाफ पठाई न्यायिक प्रक्रियामा सहयोग गर्न पठाउनु भनी भएको मिति २०७४।१२।१९ को आदेशबमोजिम पत्राचार हुँदा बोट भाषा बुझ्ने वा अनुवाद गर्न सक्ने कुनै शिक्षक उपलब्ध नभएको भन्‍ने जिल्ला शिक्षा कार्यालय कञ्चनपुर, महेन्द्रनगरको च.न.१ मिति २०७४।१२।३० को पत्रसमेत मिसिल सामेल रहेछ ।

पुनरावेदन नगर्ने प्रतिवादी उर्मिला बोटको हकमा साधकमा लगत दर्ता गरी निययमानुसार पेस गर्नुहोला भन्‍ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७५।१।४ को आदेशअनुसार प्रतिवादी उर्मिला बोटको हकमा साधक लगतमा दर्ता भएको रहेछ ।

मृत्युकालीन घोषणासमेतका मिसिल संलग्न प्रमाणबाट पुनरावेदक प्रतिवादी वीरबहादुर बोट र पुनरावेदन नगर्ने प्रतिवादी उर्मिला बोटको कर्तव्यबाट नै मृतक रामलल्ली बोटको मृत्यु भएको भन्ने तथ्य पुष्टि भएको देखिँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी अ.बं.१८८ नं. बमोजिम जनही १०/१० वर्ष कैद सजाय गर्ने गरी व्यक्त गरेको रायसमेत मनासिब देखिँदा सो हदसम्म सुरू कञ्चनपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी भवानी चन्दको हकमा वारदातस्थलमा उपस्थित हुने तेस्रो व्यक्ति भवानी चन्द नै हुनसक्ने तथ्य मृत्युकालीन घोषणासमेतबाट स्पष्ट रूपमा खुल्न नआएको र निजको संलग्नता अन्य प्रमाणबाट समर्थित हुन नसकेकाले निजका हकमा भएको सुरू फैसला उल्टी भई प्रतिवादी भवानी चन्दले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासवाट भएको मिति २०७५।१।२३ को फैसला ।

म मौकामा र अदालतको बयानमा समेत इन्कार रहेको छु । दुवै तहको फैसलाले मेरा विरूद्धको प्रमाणको रूपमा ग्रहण गरेको मृत्युकालीन घोषणा भनिएको कथन अनुसन्धानकर्ताद्वारा अनुसन्धानको क्रममा स्वतः स्फूर्त रूपमा रेकर्ड गरिएको नभई मृतकका छोराहरूको आग्रहबमोजिम रेकर्ड गरिएको र सो रेकर्ड सबैले बुझ्ने नेपाली भाषामा नभई बोट भाषामा भएको कारण अनुवादकको रूपमा मृतककै छोराले अनुवाद गरेको हुँदा सो कथन प्रमाणग्राह्य हुनसक्ने अवस्था छैन । प्रतिवादी भवानी चन्दसमेतउपर किटानी जाहेरी परेकोमा सोही प्रमाणको आधारमा मलाई कसुरदार ठहर्‍याई सहप्रतिवादी भवानी चन्दलाई सफाइ दिएको छ । यस अवस्थामा मलाई कसुरदार ठहर गरी सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई भएको सुरू फैसला सदर गरी भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला बदर गरी सुरू अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विरबहादुर बोटको यस अदालतसमक्ष परेको मिति २०७५।५।२५ को पुनरावेदन ।

मृतकको घाइते अवस्थामा लिइएको voice record, घटनास्थलको प्रत्यक्षदर्शी कुन्ता भन्ने शकुन्तलादेवी बोटले मौकाको घटना विवरण कागज र अदालतमा उपस्थित भई गरेको बकपत्र बेहोरासमेतका मिसिल प्रमाणबाट प्रतिवादी भवानी चन्दसमेतको कुटपिटबाट मृतकको मृत्यु भएको स्पष्ट देखिइरहेको अवस्थामा अभियोग मागदाबीबमोजिम तीनै जना प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने ठहर्‍याई भएको सुरू फैसला उल्टी गरी प्रतिवादी भवानी चन्दलाई सफाइ दिने गरी भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी निज प्रतिवादी भवानी चन्दलाई समेत अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष दायर हुन आएको मिति २०७५।७।१४ को पुनरावेदन ।

प्रतिवादी उर्मिला बोटलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई भएको सुरू कञ्चनपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७५।१।२३ को फैसलाउपर प्रतिवादी उर्मिला बोटको यस अदालतसमक्ष म्यादभित्र पुनरावेदन नपरेको हुँदा निजको हकमा मिति २०७५।११।५ मा साधक दर्ता भई पेस हुन आएको रहेछ ।

ठहर खण्ड

नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठले सबै जना प्रतिवादीहरूउपर किटानी जाहेरी परेको, मृतकले व्यक्त गरेको मृत्युकालीन घोषणाअनुसार प्रतिवादी भवानी चन्दसमेत भई मृतक रामलल्ली बोटलाई राति घरबाट बाहिर बोलाई कुटपिट गरेको र सोही चोटको कारण रामलल्लीको मृत्यु भएको मिसिल प्रमाणबाट देखिँदादेखिँदै सबैजना प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई भएको सुरू फैसला केही उल्टी गरी समान भूमिकामा रहेका प्रतिवादीमध्येका भवानी चन्दलाई अभियोग दाबीबाट पूर्ण सफाइ दिने ठहर गरी भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला नमिलेको हुँदा प्रतिवादी भवानी चन्दलाई सफाइ दिएको हदसम्म सो फैसला बदर गरी सबै जना प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादी वीरबहादुर बोटसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल तथा अधिवक्ता श्री मनिषा बस्नेतले प्रतिवादी वीरबहादुर बोट मौका र अदालतको बयानमा समेत कसुरमा इन्कारी रहेका छन् । रातको समयमा भएको भनिएको घटनाको सम्बन्धमा मृतककी बुहारीबाहेक अरू कसैले देखेको अवस्था छैन । मृत्युकालीन घोषणाको रूपमा पेस भएको कथन सबैले बुझ्ने भाषामा छैन र अनुवादक मृतकको छोरा र जाहेरवालाको भाइ नै भएको कारण त्यसको विश्वसनीयता र प्रमाणग्राह्यता शंकारहित छैन । जाहेरवालासमेत रहेको मृतकको छोरा र मौकामा प्रत्यक्षदर्शीको रूपमा रहेकी बुहारी कुन्ता भन्ने शकुन्तलादेवी बोटसमेतले मृतक लामो समयदेखिको दीर्घरोगी भएको कुरा बताएको समेत अवस्थामा प्रतिवादी भवानी चन्दलाई सफाइ दिएको तर प्रतिवादी वीरबहादुर बोट र उर्मिला बोटलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला न्यायसङ्गत नहुँदा सो फैसला बदर गरी प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटसमेतलाई सफाइ दिलाइपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तअनुसारको बहस जिकिर सुनी पुनरावेदनसहितको सुरू र रेकर्ड मिसिल अध्ययन गरी साधक दर्ता भई पेस भएको प्रतिवादी उर्मिला बोटको हकमा समेत उच्च अदालत दिपायल,  महेन्द्रनगर इजलासबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको र प्रतिवादी वीरबहादुर बोटको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७२।४।१५ गते रातको समयमा प्रतिवादीहरू वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दसमेतले मृतक रामलल्ली बोटलाई नजाँनिदो हतियारले कुटपिट गरी मरणासन्न अवस्थामा छाडी गएको र उपचारको क्रममा निजको मृत्यु भएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमेाजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी रहेछ । सुरू कञ्चनपुर जिल्ला अदालतबाट फैसला हुँदा तिनै जना प्रतिवादीहरूको कुटपिटको चोटबाट नै मृतक रामलल्ली बोटको मृत्यु भएको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी अ.बं.१८८ नं. बमोजिम तीनैजना प्रतिवादीहरूलाई जनही १०(दस) वर्ष कैदको सजाय हुन राय व्यक्त भएको र सो फैसलाउपर प्रतिवादीहरू वीरबहादुर बोट र भवानी चन्दको पुनरावेदन तथा प्रतिवादी उर्मिला बोटको हकमा साधक दर्ता भई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट फैसला हुँदा प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटको हकमा सुरू फैसला सदर भई अ.बं. १८८ नं. अनुसारको रायसमेत सदर हुने तथा प्रतिवादी भवानी चन्दको हकमा सुरू फैसला उल्टी भई निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर भएको पाइयो । सो फैसलाउपर प्रतिवादी वीरबहादुर बोट र वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन पर्न आएको एवं पुनरावेदन नगर्ने प्रतिवादी उर्मिला बोटको हकमा साधक दर्ता भई पेस हुन आएको देखियो ।

३. प्रस्तुत मुद्दामा रामलल्ली बोटको मृत्युको तथ्य स्थापित तथ्यका रूपमा रहेको छ । मिति २०७२।४।१५ गते राति १:३० बजेको समयमा मेरै घरमा आई वीरबहादुर बोट, निजकी श्रीमती उर्मिला बोट र अर्को एकजना गरी ३ जनाले मेरी आमा रामलल्ली बोटलाई बाहिरबाट बोलाई अँध्यारोमा कुटपिट गरी घाइते बनाएको हुँदा कारबाही गरिपाउँ भनी मृतकका छोरा रामकृष्ण बोटले प्रहरी चौकी पचुइमा मिति २०७२।४।१६ मा उजुरी निवेदन दिएको देखिन्छ । कुटपिटपछि मृतकलाई उपचारको लागि श्रीपुर स्वास्थ्य केन्द्र बेलौरीमा लगेकोमा त्यहाँ उपचार हुन नसकी भारततर्फ लैजाँदै गर्दा सोही चोट पीडाको कारण मिति २०७२।४।१८ गते आमा रामलल्ली बोटको मृत्यु भएको हुँदा प्रतिवादीहरू वीरबहादुर बोट, उर्मिला बोट र भवानी चन्दउपर मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार हदैसम्मको सजाय गरिपाउँ भनी मिति २०७२।४।१९ मा किटानी जाहेरी दिएको देखिन्छ ।

४. मृतक रामलल्ली बोटसँगै सुतिरहेकी मृतककी बुहारी कुन्ता भन्ने शकुन्तलादेवी बोटले मिति ०७२।४।१५ गते राति म सासू रामलल्ली बोट सुत्‍ने गरेकै कोठाको अलग खाटमा सुतेकी थिएँ । सो रातको १:३० बजेको समयमा ढोकाको नजिकैबाट भाउजू भाउजू भनी बोलाएको आवाज आएपछि सासूले ओछ्यानबाट उठी मसँग टर्चलाइट 

मागिन् । मैले टर्चलाइट खोज्दा खोज्दै सासूको बाहिरबाट बुहारी बाहिर आउ, मलाई कसैले तान्दै लछार्दै छन् भन्ने चर्को आवाज आयो । म टर्चलाइट लिई बाहिर जाँदा सासूलाई ढोकाको अगाडि जोरले धक्का दिई लडाई मेरो आँगनबाट ३ जना मानिसहरू भागी गएको देखेँ । अँध्यारो भएको कारण मानिस चिन्न सकिन । प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोट एवं मेरो परिवारबिच अंशसम्बन्धी विवाद रहेको थियो । मिति ०७२।४।१६ गते प्रहरी चौकीमा दुवै पक्षलाई बोलाई छलफल गर्दा विपक्षीहरूले मेरो श्रीमान् रामकृष्ण बोटसँग घाइतेको औषधी उपचारमा लाग्ने खर्च हामी बेहोर्छौं भनी मौखिक सहमतिसमेत गरेका थिए भनी घटना विवरण कागज लेखाइदिएको देखिन्छ । निज कुन्ता भन्ने शकुन्तलादेवी बोटको भनाइसँग मेल खाने गरी घटना विवरण कागज लेखाइदिने हेमराज बोट, छत्रधारी मुराउ, सियाराम बोट, सन्तराम बोट, तुलाराम दमाईं, गजेन्द्र चन्द, मनिराम पार्की र गोपाल बोटसमेतका व्यक्तिहरूले वारदातको दिन र समयमा प्रतिवादीहरूको कुटपिटबाट घाइते भएकी मृतक रामलल्ली बोटको उपचारको क्रममा सोही चोटपीडाको कारणबाट मृत्यु भएको हो र प्रतिवादीहरू वीरबहादुर र उर्मिला बोटको परिवार र मृतकको परिवारबिच अंशसम्बन्धी विवाद र झगडा थियो भनी आ-आफ्नो घटना विवरण बेहोरा लेखाइदिएको पाइन्छ ।

५. मिति २०७२।४।१७ गते बेलुका जाहेरवालासमेतले रामलल्ली बोटलाई घाइते अवस्थामा प्रहरी चौकी पचुइ लगेको र सो चौकीका इन्चार्ज प्र.स.नि. यदुबहादुर देउवा सामुन्ने मृतक रामलल्ली बोटले आफ्नो मृत्युको कारण सम्बन्धमा ...पहिला भाउजू भाउजू भनी फिर दुई जना देवर र देवरानी समाहै समाहिते तिनौ... । फिर उठबस...भाउजू भनेको भवानी चन्द तरह लगता है.... समाय फिर समाय, फिर समायेत, भैका हया समये ऐसा घाटी समायो, समायेत जायो, कम्मर समायो...मारने पता नहि, समाउन पता लगवा के... भन्ने बेहोरा बोट भाषामा व्यक्त गरेको र बोट भाषाका ती शब्दहरूको अर्थ- रातको समयमा मलाई भाउजू भाउजू भनी बोलाएको हो ।  बोलाउने व्यक्ति भवानी चन्द जस्तो लाग्छ । देवर देवरानीले समेत लछारपछार गरी कुटपिट गरेको हो ।  त्यसपछि मलाई थाहा छैन...भनी बोलेको बोली वा व्यक्त गरेको कुरा निज प्र.स.नि. यदुबहादुर देउवाले मोवाइलमा रेकर्ड गरी सो रेकर्डको memory card अदालतसमक्ष समेत पेस हुन आएको देखिन्छ । सो रेकर्ड बोट भाषामा रहेको र रेकर्ड गरिएको भनाइलाई सुरू र पुनरावेदन तहको फैसलाले मृत्युकालीन घोषणाको रूपमा स्वीकार गरी प्रमुख प्रमाणको रूपमा लिएको पाइन्छ । तर उक्त रेकर्डलाई मृत्युकालीन घोषणाको स्वरूपमा लिन मिल्दैन भन्ने प्रतिवादी वीरबहादुर बोटको मूल पुनरावेदन जिकिर रहेको देखिन्छ । उक्त रेकर्डलाई प्रमाणग्राह्य मान्न मिल्दैन भनी पुनरावेदक प्रतिवादीले मूलतः २ वटा कारणहरू देखाएको छ । उक्त कारणहरूमाः 

बोट भाषामा रहेको रेकर्डको नेपाली भाषामा अनुवाद गर्ने मृतकको छोरा एवं. जाहेरवालाको भाइ नै रहेको हुँदा त्यसमा निष्पक्षता छैन भन्ने प्रथम ।

रेकर्ड अनुसन्धानकर्ताद्वारा आफ्नो स्वेच्छाले स्वत: स्फूर्त रूपमा लिइएको नभई जाहेरवाला पक्षको आग्रहमा लिइएको हुँदा त्यसको विश्वसनीयता रहँदैन भन्ने दोस्रो रहेको पाइन्छ ।

 

६. तत्सम्बन्धमा प्रथम जिकिरतर्फ हेर्दा, रेकर्डमा रहेको बोट भाषा प्रतिवादीहरूसमेतको मातृभाषा रहेकोमा विवाद छैन । उक्त भनाइको अर्थ र नेपाली अनुवाद  सुरू र उच्च अदालतको फैसलामा रहेको अर्थ भन्दा भिन्न भएको भए निजहरूले स्पष्ट भन्नुपर्ने देखिन्छ । रेकर्डमा रहेको भनाइ सुनी प्रतिवादीहरूले कागज गरिदिएको पाइन्छ । तर निज प्रतिवादीहरूले सो रेकर्डमा रहेको भनाइको अर्थ त्यो होइन, यो हुन्छ भनी भनेको अवस्था देखिँदैन । यस अवस्थामा अनुवादकर्ता मृतक र जाहेरवालाको नजिकको व्यक्ति भएको भन्ने आधारमा मात्र अनुवादलाई अस्वीकार गर्नुपर्ने देखिएन । तसर्थ सो रेकर्डको अर्थ स्पष्ट नभएको र अनुवाद निष्पक्ष नभएको भन्‍ने आधारमा मात्र उक्त रेकर्डलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्कसङ्गत देखिएन । तसर्थ उक्त जिकिर सम्बन्धमा थप विवेचना गरिरहनुपर्ने देखिन आएन ।

७. दोस्रो मृत्युकालीन घोषणाको रूपमा पेस भएको मृतकको भनाइको रेकर्ड जाहेरवाला पक्षको आग्रहमा लिइएको हुँदा त्यसमा विश्वसनीयता छैन भन्ने जिकिरको सन्दर्भमा हेर्दा, मृत्युकालीन घोषणा मृतकले मर्नुअघि आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरेको हुनुपर्ने यसको अनिवार्यता हो । अनुसन्धानकर्ताबाट कसरी, को कसको सक्रियतामा यसको सङ्कलन हुनुपर्ने भन्ने सम्बन्धमा कुनै विधायिकी अनिवार्यता रहेको पाइँदैन । प्रस्तुत वारदातमा रेकर्डमा रहेको बोली मृतक रामलल्लीको होइन भनी प्रतिवादीहरूले भनेको अवस्थासमेत रहेको पाइँदैन । प्रतिवादीहरू वीरबहादुर र उर्मिला बोट नजिकै घर रहेका र मृतकको देवर देवरानी हुन् भन्ने कुरासमेत मिसिल प्रमाणबाट स्पष्ट देखिएको अवस्था छ । यस अवस्थामा प्रतिवादीहरूले memory card मा रहेको रेकर्ड गरिएको बोली मृतकको हो वा होइन भनी प्रस्ट छुट्याउन सक्ने नै अवस्था 

रहन्छ । उक्त भनाइ प्रहरी अधिकारीको समक्षमा व्यक्त भई निजकै मोबाइलमा रेकर्ड भएको देखिन्छ । रेकर्ड गर्ने प्र.स.नि. यदुबहादुर देउवाले अदालतमा उपस्थित भई मृतकले घाइते अवस्थामा व्यक्त गरेको भनाइ मैले आफ्नो मोबाइलमा रेकर्ड गरेको हुँ भनी बकपत्र बेहोरा लेखाई दिएकोसमेत पाइन्छ ।

८. प्रमाण कानूनको परिप्रेक्ष्यमा मर्न लागेको मानिसले मृत्युको आभाष भइसकेपछि आफ्नो मृत्युको कारण वा आफ्नो मृत्युको परिस्थितिको बारेमा व्यक्त गरेको भनाइलाई मृत्युकालीन घोषणा भनिन्‍छ । मृत्युकालीन घोषणाको सिद्धान्त मर्ने बेलामा मानिसले आफ्नो ओठमा झुठोपन टाँसेर आफ्ना सृष्टिकर्तासमक्ष जाँदैन भन्ने धरातलमा जन्मेको हुन्छ । मृत्युकालीन घोषणालाई अपवादको रूपमा निर्णायक प्रमाणको रूपमा ग्रहण गर्ने धारको रूपमा Roman maxim ‘Nemo moriturus praesumitur’ लाई लिइन्छ, जसको अर्थ A man will not meet his maker with a lie in his mouth भन्ने हुन्छ । मृत्युकालीन घोषणा (dying declaration) लाई Black’s Law Dictionary मा A statement by a person who believes that death is imminent, relating to the cause or circumstances of the person’s impending death. The statement is admissible in evidence as exception the hearsay rule. Also termed as deathbed declaration, ante mortem statement (Bryan A .Garner(ed), (2004), Black’s law dictionary, St. Paul min, USA: west a Thomson business, p. 437)  भनी परिभाषित गरिएको छ ।

९. नेपाल कानूनले मृत्युकालीन घोषणाको छुट्टै परिभाषा गरेको छैन तर प्रमाण ऐन, २०३१ को दफा ११ मा “कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ” भनी र ऐ दफा ३७ को स्पष्टीकरणमा “दफा ११ बमोजिम प्रमाणमा लिन हुने कुरा सो कुरा व्यक्त हुँदाकै अवस्थामा सुन्ने वा थाहा पाउने व्यक्तिले साक्षीको रूपमा उपस्थित भई अदालतको समक्ष दिएको मौखिक प्रमाणलाई पनि यस उपदफाको प्रयोजनको लागि प्रत्यक्ष प्रमाण मानिनेछ” भनी उल्लेख गरेको पाइन्छ ।

१०. मृत्युकालीन घोषणा कस्तो अवस्थामा प्रमाणको रूपमा ग्रहणयोग्य हुन्छ भन्ने सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा व्याख्या भएको  पाइन्छ । जस्तैः- वित्ति भन्ने कलावती यादव विरूद्ध वरसाती कहारको जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान (ने.का.प.२०६३, अङ्क ३, निर्णय नं. ७६६३) मुद्दामा “यस्तो व्यक्तिको रोहबरमा यस्तो अधिकारीसमक्ष व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने भनेको अवस्था नभएपछि मरेको व्यक्तिले होस छँदै व्यक्त गरेको हो, होइन र सो तथ्य पर्याप्त प्रमाणबाट पुष्टि हुन्छ, हुँदैन सो कुरा महत्त्वपूर्ण हुन आउने । मृतकले आफ्नो होस छँदै आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्ने” भन्ने उल्लेख भएको पाइन्छ । कान्छामान मगरको जाहेरीले वादी नेपाल सरकार विरूद्ध अम्बरबहादुर आले मगर भएको कर्तव्य ज्यान (ने.का.प. २०६४, अङ्क ११, निर्णय नं. ७८९८) मुद्दामा “मृत्युकालीन घोषणामा हुनुपर्ने मुख्य तत्त्व भनेको मृतकको मृत्युको कारण, मृतक मर्नुभन्दा पहिले सो कुरा व्यक्त गरेको हुनुपर्ने, मृतकले व्यक्त गरेको कुरा निजको मृत्युसँग सम्बन्धित हुनुपर्ने र कुनै व्यक्तिको उपस्थितिमा व्यक्त गरेको हुनुपर्ने ।” भनी उल्लेख भएको पाइन्छ । त्यसैगरी जितेन्द्र कार्की विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०७६, अङ्क ७, नि.नं. १०३१२) मा मृत्युकालीन घोषणा प्रमाणमा ग्राह्य हुनको लागि निश्चित सर्तहरू पूरा भएको हुनुपर्ने भनी विस्तृत रूपमा व्याख्या भएको छ । जसले मृत्युकालीन घोषणा प्रमाणमा ग्राह्य हुनको लागि निम्न सर्तहरू पूरा भएको हुनुपर्ने उल्लेख गरेको पाइन्छ ।

क) मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा पेस गर्दाको अवस्थासम्ममा सो घोषणा गर्ने व्यक्तिको मृत्यु भइसकेको हुनुपर्ने,

ख) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युपूर्व घोषणा गरेको हुनुपर्ने,

ग) घोषणा आफ्नो मृत्युको कारण वा परिस्थितिसँग सम्बन्धित हुनुपर्ने,

घ) घोषणा गर्ने व्यक्तिले आफू बाँच्न सक्छु कि भन्ने आशा त्यागिसकेको हुनुपर्ने,

ङ) मर्ने व्यक्तिले आफ्नो वास्तविक ज्ञानको आधारमा स्वेच्छिक रूपमा गरिएको  घोषणा हुनुपर्ने,

च) मर्ने व्यक्तिले आफू होसमा हुँदा नै सो घोषणा गरेको हुनुपर्ने,

छ) घोषणा गर्ने व्यक्ति मानसिक रूपले सबल रहेको हुनुपर्ने,

ज) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युको कारणको बारेमा एकभन्दा बढी फरक फरक घोषणा गरेको हुन नहुने,

झ) मृत्युकालीन घोषणा सुन्ने व्यक्ति अदालतमा साक्षीको रूपमा उपस्थित हुनको निम्ति योग्य हुनुपर्ने र 

ञ) मृत्युकालीन घोषणा मौकामा व्यक्त भई अदालतमा आएर पुष्टि गरिएको हुनुपर्ने ।

प्रस्तुत मुद्दामा प्रमाणको रूपमा ग्रहण गरिएको मृतक रामलल्ली बोटले व्यक्त गरेको भनाइको रेकर्ड उल्लिखित सर्तभन्दा भिन्न रहेको अवस्था छैन ।

११. सामान्यत: मृत्युकालीन घोषणा मर्ने व्यक्तिले आफ्नो मृत्युको कारण सम्बन्धमा मर्नुअघि व्यक्त गरेको हुनुपर्ने र सुन्ने व्यक्तिले अदालतसमक्ष आई व्यक्त गरेको वा लेखबद्ध गरी सहीछाप गरी दिएको भएमा प्रमाणमा ग्रहण गर्ने गरिएको पाइन्छ । प्रस्तुत मुद्दामा मृतकले व्यक्त गरेको बोली वा भनाइ जस्ताको त्यस्तै रेकर्ड गरिएको अवस्था छ । यसरी रेकर्ड गरिएको audio लाई मृत्युकालीन घोषणाको रूपमा लिने वा नलिने भन्ने प्रश्नसमेत यहाँ सिर्जना भएको छ । प्रविधिको विकाससँगै परिस्थितिमा परिवर्तन आइरहेको परिप्रेक्ष्यमा रेकर्ड गरिएको audio मा रहेको चिरपरिचित व्यक्तिको बोली कसको हो भनी सामान्यतः छुट्याउन नसकिने हुँदैन । मृतक, जाहेरवाला र प्रतिवादीहरू सधैँ सँगै बस्ने छिमेकी र अंशियारसमेत रहेको भन्ने खुल्न आएको अवस्थामा उक्त audio मा रहेको बोली मृतकको होइन भनी प्रतिवादीहरूले भन्न सकेको अवस्था देखिँदैन । मृतकले आफू मर्ने बेलामा आफ्नो मृत्युको कारण सम्बन्धमा बोलेको कुरालाई प्रहरी कर्मचारीले नै आफ्नो मोबाइलमा रेकर्ड गरी, रेकर्ड भएको बेहोरा मैले रेकर्ड गरेको हो, मृतक रामलल्ली बोट सिरियस भई रोकिई रोकिई बोलेकी थिइन् भनी अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गरिदिएको अवस्थामा उक्त audio रेकर्डलाई मृत्युकालीन घोषणा (dying declaration) को परिभाषाभित्र नपर्ने भन्न नमिल्ने ।

१२. यस सम्बन्धमा यस अदालतबाट बमबहादुर बस्नेतसमेत विरूद्ध गंगाबहादुर कार्कीको जाहेरीले वादी नेपाल सरकारसमेत भएको कर्तव्य ज्यान (ने.का.प. २०७०, अङ्क ६, निर्णय नं. ९०२२) मुद्दामा “फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल सामग्री लिखत हुन् । यिनको प्रामाणिक मूल्यलाई अस्वीकार गर्नु न्यायसङ्गत हुँदैन । तथ्यका प्रत्येक गवाह प्रमाण हुन् । मुद्दाका कुनै पक्षबाट फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल प्रति प्रमाणका रूपमा प्रस्तुत हुन्छन् र अर्को पक्षबाट तिनमा इन्कारी जनाइँदैन भने लिखित प्रमाणका रूपमा यी ग्राह्य हुन्छन् । यस्ता प्रमाणका विषयमा विवाद उठेमा तिनको सत्यता परीक्षणको विषय बन्दछ । अन्यथा लिखत प्रमाणका आधुनिक स्वरूपलाई सतर्कतासाथ ग्रहण गर्दै जानुपर्ने” भनी सिद्धान्त प्रतिपादन भएकोसमेत पाइन्छ । उल्लिखित कानूनी सिद्धान्तसमेतको आधारमा प्रहरी अधिकारीले आफ्नो मोबाइलमा रेकर्ड गरी अदालतमा पेस गरेको audio record लाई मृत्युकालीन घोषणाको रूपमा स्वीकारी प्रमाणमा लिन नमिल्ने भन्ने देखिन 

आएन । तसर्थ जाहेरवालापक्षको आग्रहमा लिइएको रेकर्डको विश्वसनीयता नरहने हुँदा रेकर्ड गरिएको भनाइलाई मृत्युकालीन घोषणा भन्न मिल्दैन भन्ने पुनरावेदन जिकिरलाई तर्कपूर्ण र ग्रहणयोग्य मान्न मिलेन ।

१३. उपर्युक्तानुसार विवेचित आधार, कारण तथा प्रतिपादित सिद्धान्तसमेतबाट मृत्युकालीन घोषणा प्रमाणयोग्य र विश्वसनीय छैन भन्ने पुनरावेदक प्रतिवादी वीरबहादुर बोटको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ वारदातमा समान भूमिका देखाई एउटै अभियोग लगाइएकी प्रतिवादी उर्मिला बोटको हकमा समेत उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको फैसलालाई अन्यथा गर्नुपर्ने देखिएन । यसप्रकार निज प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद हुने ठहरेको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला सदर हुने ठहरे तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा “कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन” भन्ने व्यवस्था भएबाट सर्वस्वसहित जन्मकैद हुने ठहरेको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला परिमार्जन भई निज दुई जना प्रतिवादीहरूलाई जनही जन्मकैदको सजाय हुनुपर्ने देखियो ।

१४. अब प्रतिवादी भवानी चन्दलाई सफाइ दिएको हदसम्म उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला बदर गरी निज प्रतिवादी भवानी चन्दलाई समेत अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, यी प्रतिवादी भवानी चन्द राजनीतिक र सामाजिक कार्यकर्तासमेत भएको हुँदा निजले प्रतिवादी वीरबहादुर बोट र मृतकको परिवारबिचको अंशबन्डाको विवादमा १८/२० वर्षअगाडि मध्यस्थता गरिदिएको र निजको मध्यस्थताबाट भएको अंशबन्डामा मृतकको परिवार असन्तुष्ट रहेको भन्ने देखिन्छ । सोबाहेक यी प्रतिवादी भवानी चन्द र मृतकको परिवारबिच अन्य कुनै सम्बन्ध रहेको वा निजहरूको घर बसोबास छिमेकमा रहेको र निजहरूबिच अन्य रिसइवी रहेभएको भन्नेसमेत खुल्न आएको छैन । यी प्रतिवादी भवानी चन्द रातको समयमा प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटसँग मिलेर मृतक रामलल्ली बोटउपर आक्रमण गर्न जानुपर्नेसम्मको कुनै ठुलो रिसइवी र कारण रहेको देखिँदैन ।

१५. निजका साक्षीको रूपमा रहेकालगायत वस्तुस्थिति मुचुल्काका मानिसहरू शेरी चन्द, जयसिंह टमटा, मनिराम पार्की, तुलाराम दमाई, गजेन्द्र चन्दसमेतका व्यक्तिहरूले वारदातको मिति र समयमा प्रतिवादी भवानी चन्द त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा भएको भजन किर्तनमा सहभागी भएका हुँदा वारदातस्थलमा निजको संलग्नता थिएन भनी निजको मौकामा र अदालतमा भएको बयानसँग मेल खाने गरी सबैले एकैमिलान बेहोराको बकपत्र गरिदिएको पाइन्छ ।

१६. मृतक रामलल्ली बोटले मिति ०७२।४।१७ गते प्र.स.नि. यदुबहादुर देउवाको उपस्थितिमा आफू घाइते हुनुको कारणसम्बन्धमा व्यक्त गरेको भनाइमा समेत “भाउजू भाउजू भनी बोलाउने पुरूष व्यक्ति भवानी चन्द जस्तो लाग्यो” भनी बताएको पाइन्छ । यकिन रूपमा बोलाउने व्यक्ति यी भवानी चन्द नै थिए भनी मृतकले बताएको रेकर्ड गरिएको audio बाट खुलेको देखिँदैन । वारदातको प्रत्यक्षदर्शीको रूपमा रहेकी मृतककी बुहारी शकुन्तलादेवी बोटले मौकामा घटना विवरण लेखाउँदा र अदालतमा उपस्थित भई बकपत्र गर्दासमेत रातको समय हुँदा मानिस यही हो भनी ठम्याउन सकिन भनी लेखाइदिएको पाइन्छ । उल्लिखित अवस्थामा शंकारहित प्रमाणको अभाव रहेको स्थितिमा बरू दस जना अपराधी छुटुन् तर एकजना निरपराधले सजाय नपाओस् भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तसमेतको आधारमा कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा यी प्रतिवादी भवानी चन्दलाई कसुरदार ठहर्‍याउन उचित हुने 

देखिएन । तसर्थ प्रतिवादी भवानी चन्दलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई भएको सुरू फैसला उल्टी गरी निजलाई सफाइ हुने ठहर गरी भएको उच्च अदालत दिपायल,  महेन्द्रनगर इजलासको ठहर फैसलालाई अन्यथा गर्नुपर्ने देखिएन ।

१७. अब कसुर ठहरेका प्रतिवादीहरूको हकमा अ.बं.१८८ नं. बमोजिम व्यक्त गरिएको रायतर्फ हेर्दा, मृतकको परिवार र प्रतिवादीहरूको परिवारबिचमा अंशसम्बन्धी विवाद रहेको कारण घटना घट्न गएको भन्ने मिसिल प्रमाणबाट देखिन्छ । मृतकको शरीरमा लागेको घाउचोटको अवस्था र घटनाको प्रकृतिबाट वारदातमा धारिलो र जोखिमी हतियारको प्रयोग भएको अवस्था देखिँदैन । मार्ने नै लक्ष्य राखी क्रूर र अमानवीय तरिकाले निर्घात कुटपिट गरेको अवस्था पनि रहेको छैन । बाहिरबाट आवाज आई सासूले टर्चलाइट मागेपछि मृतककी बुहारी कुन्ता भन्ने शकुन्तलादेवी बोटले तत्काल उठी टर्चलाइट खोजी लिई बाहिर आउँदासम्म प्रतिवादीहरू भागी गइसकेको भन्ने निजले मौकामा र अदालतमा व्यक्त गरेको भनाइबाट 

देखिन्छ । रातको समयमा घटेको घटनामा मृतक सुतेको कोठाको बन्द ढोका तोडफोड गरी कोठामा प्रवेश गरी निदाएको अवस्थामा कुटपिट गरेको भन्ने अवस्था पनि देखिँदैन । उल्लिखित परिस्थितिजन्य घटना विवरण र वारदातको प्रकृतिसमेतलाई मध्यनजर गरी हेर्दा, जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएको हुँदा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले अ.बं. १८८ नं. को आधारमा प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटलाई जनही १०/१० वर्ष कैद सजाय हुने गरी व्यक्त गरेको रायसमेत मनासिब नै हुँदा सो रायसमेत सदर हुने देखियो ।

१८. अतः माथि विवेचित आधार, कारण र प्रतिपादित सिद्धान्तसमेतबाट पुनरावेदक प्रतिवादी वीरबहादुर बोट र पुनरावेदन नगर्ने प्रतिवादी उर्मिला बोटलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम परिमार्जन भई निज प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटलाई जनही जन्मकैदको सजाय हुने गरी प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटलाई अ.बं.१८८ नं. बमोजिम जनही १०/१० वर्ष कैद सजाय हुन व्यक्त गरेको रायसहित प्रतिवादी भवानी चन्दलाई अभियोग दाबीबाट सफाई हुने ठहर्‍याई भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको मिति २०७५।१।२३ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरू प्रतिवादी वीरबहादुर बोट र वादी नेपाल सरकार दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटको हकमा सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला परिमार्जन भई जनही जन्मकैद हुने ठहरेको हुँदा निजहरूको हकमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसलाबमोजिम राखेको सर्वस्वसहित जन्मकैदको लगत संशोधन गरी जन्मकैदको लगत जनाई राख्‍नु भनी सुरू कञ्चनपुर जिल्ला अदालतमा लेखी पठाइदिनू..................................१

प्रतिवादीहरू वीरबहादुर बोट र उर्मिला बोटलाई जन्मकैदको सजाय भई अ.बं. १८८ नं. बमोजिम जनही १०/१० वर्ष कैदको सजाय हुने ठहर भएकोले निजहरूको हकमा जन्मकैदको लगत जनाई प्रतिवादी वीरबहादुर बोट मिति २०७२।४।१८ मा पक्राउ परी हालसम्म कैदमा रहेको देखिँदा निजलाई लागेको कैद वर्ष १० असुल भएपछि मिति २०८२।४।१७ बाट कैदमुक्त गरिदिन जिल्ला कारागार कार्यालय कञ्चनपुरलाई जानकारी दिनु र प्रतिवादी उर्मिला बोट मिति २०७२।४।१८ मा पक्राउ परी मिति २०७२।५।७ को थुनछेक आदेशबमोजिम सोही मितिमा धरौटी रकम बुझाई थुनाबाट छुटी गएको देखिँदा अनुसन्धानको क्रममा थुनामा बसेको दिन २० कट्टा गरी बाँकी ९ वर्ष ११ महिना १० दिन कैदको लगत राखी असुलउपर गर्नु भनी सुरू कञ्चनपुर जिल्ला अदालतमा लेखी पठाइदिनू...................२

प्रस्तुत फैसलाको प्रमाणित प्रतिलिपिसहितको फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई र कैदमा रहेका प्रतिवादीलाई सम्बन्धित कारागार कार्यालयमार्फत दिनू...३

यो फैसला विद्युतीय प्रणालीमा अपलोड गर्नु र दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू.........................................४

 

उक्त रायमा सहमत छु ।

न्या.मीरा खडका

 

इजलास अधिकृत:- फणेश्‍वरी घिमिरे

इति संवत् २०७६ साल चैत्र २ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु