शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७७५ - जालसाजी

भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा

फैसला मिति : २०७७।९।३

०७३-CR-०२९१

 

मुद्दाः- जालसाजी

 

पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, लकुवा बुटाथुम गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३५ बस्ने सन्ध्या अधिकारी

विरूद्ध

प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ इनाइटोल बस्ने कृष्‍णदासको मु.स. गर्ने पृथ्वीमाया श्रेष्‍ठसमेत

 

विधायिकाले लेनदेन व्यवहारको महल र किर्ते कागजको महलमा छुट्टाछुट्टै हदम्यादको व्यवस्था गरेकोमा यी दुई मार्गमध्ये कुनैमा मुद्दा चलाउन सक्ने अख्तियारी प्रदान गरेको अवस्थामा वादीहरूलाई लेनदेन व्यवहारको महलअन्तर्गतको मुद्दा लिएर आउनुपर्छ भनी बाध्य गर्न कानूनतः नमिल्ने ।

(प्रकरण नं.५)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री यदुनाथ खनाल र श्री सीताराम के. सी.

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति बञ्जाडे

अवलम्बित नजिर :

ने.का.प.२०५५, अङ्क ८, नि.नं.६५९०

ने.का.प.२०६५, अङ्क २, नि.नं.७९३२

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री चण्डीराज ढकाल

भक्तपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश डा.श्री कुलरत्‍न भुर्तेल

माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल

पुनरावेदन अदालत पाटन, ललितपुर

 

फैसला

न्या.सुष्मालता माथेमा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) (ख) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- 

तथ्यगत बेहोरा

हामी वादी प्रतिवादी तीन दाजुभाइबिच अंशबन्डा गर्न बाँकी भएको र फिरादीहरूसमेतको अंश हक लाग्ने पैतृक सम्पत्तिको रूपमा भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. ७ को कि.नं. १८५, १९१, १९६, २०२ को जग्गा नचिनेको व्यक्तिले भोग चलन गर्न छाडिदिनु भनेकाले के भएको रहेछ भनी मालपोत कार्यालय भक्तपुरमा गई मिति २०६१।०२।१२ मा नक्कल सारी हेर्दा उक्त जग्गा तहतहमा हस्तान्तरण गरिएको हुँदा अंश हकतर्फ छुट्टै नालेस दायर गरेका छौं । हाम्रो मन्जुरीबेगर हक मेट्ने उद्देश्यले मिति २०५९।६।७ को र.नं. १२६८ बाट दिने प्रतिवादी गणेशदास श्रेष्ठ र लिने मंगलदेवी श्रेष्ठ भई पारित गरेको राजीनामा लिखत र फेरि उक्त जग्गामध्ये कि. नं. १९६ को जग्गालाई दिने मंगलदेवी श्रेष्ठ र लिने सन्ध्या अधिकारी भएको मिति २०६१।०१।१७ गतेको र.नं. ७१६४ को पारित राजीनामा लिखतलाई जालसाजी घोषित गरी फिरादीहरूको हक लाग्ने जति विवादित उक्त कि.नं १९६ को १-०-० जग्गाको ३ खण्डको २ खण्ड उत्तरतर्फको क्षे.फ.०-१०-३ जग्गा हक सुरक्षित गरी दूषित लिखत निष्क्रिय गरी जालसाजी कार्य गरेकोमा हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मुख्य फिराद दाबी ।

प्रतिवादीमध्येका मंगलदेवी श्रेष्ठले आफ्नो नाममा दर्ता हक भएपछि कि.नं. १९६ को जग्गालाई मिति २०६१।१।१७ र.नं. ७१६४ बाट प्रतिवादी सन्ध्या अधिकारीलाई राजीनामा गरिदिएको बेहोरा मलाई सरोकार पर्ने विषय होइन भन्नेसमेत बेहोराको प्रतिवादी गणेशदास श्रेष्ठको प्रतिउत्तर जिकिर । 

मिति २०६१।०१।१७ मा राजीनामाको लिखत गरी मैले खरिद गरिलिएको छु । त्यसैले मैले कसैको अंश हक मार्ने कार्य नगरेको हुँदा जालसाजी कार्य गर्‍यो भन्नु झुठ्ठा हो । फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सन्ध्या अधिकारीको प्रतिउत्तर जिकिर ।

उक्त जग्गा जाने बुझेअनुसार मंगलदेवी श्रेष्ठले १ वर्षअगाडि नै सन्ध्या अधिकारीलाई दिएको हो, अंशबन्डा सम्बन्धमा जानकारी भएन भन्नेसमेत बेहोराको प्रतिवादी सन्ध्या अधिकारीका साक्षी ध्रुव अधिकारीको बकपत्र ।

गणेशबहादुरको दाजुभाइ र अन्य दाजुभाइहरूले दाबी गर्लान भनेर आफ्नो जेठा छोरा गणेशदासको नाममा सो जग्गा किनिदिएको हो । गणेशबहादुरको दाजुभाइले दाबी गर्न मिल्दैन भन्नेसमेत बेहोराको वादीका साक्षी पूर्णकाजी श्रेष्ठले गरेको 

बकपत्र ।

प्रतिवादीहरूबाट विवादको जग्गा वादीहरूलाई थाहा नदिई बिक्री गर्ने कार्य जालसाजीपूर्ण देखिन आएको हुँदा सो कि.नं. १९६ को हकमा वादी दाबीबमोजिम ३ खण्डको २ खण्ड लिखत निष्क्रिय हुने ठहर्छ । सन्ध्या अधिकारीले मंगलदेवीबाट जग्गा खरिद गरेको हकमा निजलाई प्रतिवादीका के कति अंशियार छन् भन्ने जानकारी हुन नसक्ने र साक्षीहरूसमेतलाई सोसम्बन्धी जानकारी हुन नसक्ने भएकाले निजहरूको हकमा जालसाजीमा सजाय गरिपाउँ भन्ने दाबी पुग्न नसक्ने ठहर्छ भनी सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०६६/०९/१२ मा भएको फैसला ।

भक्तपुर जिल्ला अदालतबाट भएको फैसला कानूनी त्रुटिपूर्ण रहेको छ । जालसाजीबाट लिखत बदर हुँदैन र प्रस्तुत मुद्दामा लिखत बदरको हदम्यादसमेत गुजारिएको छ । भक्तपुर जिल्ला अदालतले मलाई जालसाजी ठहर नगरी सफाइ दिने फैसला गरिसकेको हुँदा मेरो लिनेदिने काम सदर हुन्छ । यस्तो अवस्थामा मेरो लिखत बदर नहुनेमा लिखत निष्क्रियसम्म गर्ने भनी भएको फैसलाले पेटबोलीमा बोलेको आधारमा मेरो लिखत निष्क्रिय हुने होइन । लिखत निष्क्रिय हुने ठहर्छ भनी भक्तपुर जिल्ला अदालतबाट भएको फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७/०६।१४ को सन्ध्या अधिकारीको पुनरावेदन पत्र ।

प्रस्तुत विवादमा उल्लेख भएको कि.नं. १९६ को जग्गा गणेशदास श्रेष्ठले मंगलदेवी श्रेष्ठलाई राजीनामा पारित गरिदिएको र पुनः मंगलदेवीले सन्ध्या अधिकारीलाई सो जग्गा पारित गरिदिएको तथ्य मिसिलमा संलग्न राजीनामाको छायाँप्रतिबाट देखियो । वादीहरूसमेतको अंश हक लाग्ने जग्गा बिक्री वितरण गर्न पाउने हक अधिकार प्रतिवादीहरूलाई रहे भएको नदेखिँदा दाबीको लिखत पारित गरिदिने कार्यलाई जालसाज नै मान्नुपर्ने देखियो । जहाँसम्म लिखित निष्क्रिय गराउने दाबी गरेको मिलेको छैन भन्ने जिकिरको हकमा जालसाजीद्वारा पारित गरिएको लिखतको स्थिति आपराधिक क्रियाकलाप भएको मान्नुपर्ने र जालसाजीयुक्त लिखतको अस्तित्व वादीहरूको हकमा स्वतः निष्क्रिय हुने नै ठहर्छ । विवादको सम्पत्ति बिक्री वितरण गर्दा वादीहरूको मन्जुरी र सहमतिसमेत नलिएको हुँदा वादीको दाबीबमोजिमको कित्ता नं. १९६ को जग्गाको हकमा ३ खण्डको २ खण्ड लिखित निष्क्रिय हुने गरी सुरू भक्तपुर जिल्ला अदालतले मिति २०६६/०९/१२ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६८/१०/१९ मा भएको फैसला ।

गणेशदास श्रेष्ठले आफूखुसी गर्न पाउने सम्पत्तिबाट मंगलदेवी श्रेष्ठलाई मिति २०५९/०६/०७ मा र.नं. १२६८ बाट राजीनामा गरिदिएको र सो जग्गा मंगलदेवी श्रेष्ठबाट मैले मिति २०६१/०१/१७ मा लिखत राजीनामा गरी खरिद गरी लिएको हो । मैले कसैको अंश हक मार्ने जालसाजी गरेको छैन । कसैको व्यक्तिगत पुर्ख्यौली इतिहास राम्रोसँग बुझेर मात्र जग्गा खरिद बिक्री गर्ने गराउने कुरा कानूनमा कहीँकतै उल्लेख नभएको, मैले सो जग्गा खरिद गरी लिँदा कुनै पनि किसिमको अंश मुद्दा नरहेको र मेरो दाताले बिक्री गर्ने जग्गा निजले खरिद गरी लिएको अवधि सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तहरूको समयावधि व्यतीत तथा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. को हदम्याद अर्थात् रजिस्ट्रेसन भएको मितिले १ वर्षसम्ममा थाहा पाएको ३५ दिनको म्यादसमेत व्यतीत भइसकेको अवस्थामा नै मैले उक्त जग्गा खरिद गरी लिएको हो । मलाई जालसाजीमा सफाइ दिई भएको फैसलामा चित्त बुझेको छ तर मैले कानूनबमोजिम आफ्नो रकम तिरी लिएको जग्गामा ३ भागको २ भाग जग्गाको लिखत निष्क्रिय हुने फैसला कानून एवं न्यायोचित होइन । 

मैले जालसाजी गरेको होइन भनी तहतह अदालतबाट भएको फैसलाबाट स्पष्ट भइसकेको  हुँदा सो जग्गा लिखत निष्क्रिय हुने होइन । स्त्री अंशधनमा अंश नलाग्ने हुँदा आमाबाट खरिद गरी गणेशदास श्रेष्ठको नाममा दर्ता कायम रहेको जग्गाको मोही बुबा गणेशबहादुर श्रेष्ठ भएको र बुबाको मृत्युपछि कसैको हक नलाग्ने गरी सबै दाजुभाइ मिली एकलौटी मोहीको हक छोडी भूमिसुधार कार्यालय भक्तपुरबाट नामसारी गराइएको आधारमा उक्त जग्गा गणेशदास श्रेष्ठको नै हो । अरूको अंश हक नलाग्ने जग्गामा अंश लाग्ने गरी भएको फैसला कानूनी त्रुटिपूर्ण रहेको छ । ममाथि जालसाजी ठहर नभएको हुँदा मेरो लिनेदिने काम सदर हुनुपर्छ । फैसलाको पेट बोलीमा लिखत निष्क्रियसम्म गर्ने भनी किटान गरेको आधारमा मेरो लिखत निष्क्रिय हुने होइन । कृष्णप्रसाद श्रेष्ठसमेतको मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर (ने.का.प. २०४३ (११) पृ. १०६२) समेतको विपरीत भएको प्रस्तुत मुद्दाको फैसलामा न्या.प्र.ऐन, २०४८ को दफा १२(१)(ख) समेतको गम्भीर त्रुटि भएको हुँदा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी भक्तपुर जिल्ला अदालतले मिति २०६६/०९/१२ मा गरेको फैसला सदर हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६८/१०/१९ मा भएको फैसलालाई बदर गरी इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको निवेदनपत्र । 

यसमा विवादित जग्गा गणेशबहादुरले मोही छोडपत्रबाट गणेशदासलाई दिई निजले आफ्नै पालामा आर्जन गरेको उक्त जग्गा मिति २०५९।०४।२८ मा छुट्टी भिन्न भइसकेका हरिबहादुरको श्रीमती मंगलदेवीलाई हक हस्तान्तरण गरी निज मंगलदेवीले र.नं. ७१६४,  मिति २०६१।१।१७ बाट सन्ध्या अधिकारीलाई हक हस्तान्तरण गरेको देखिन्छ । आफ्ना पालामा आर्जन गरेकोमध्ये केही जग्गा हक हस्तान्तरण गरेको कार्यलाई जालसाजी ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०६८।१०।१९ मा भएको फैसला किर्ते कागजको १, ३ नं., लेनेदन व्यवहारको १० नं. अंशबन्डाको १९ नं., अ.बं. १८४ क, प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को आधारमा त्रुटिपूर्ण देखिनुका साथै ने.का.प. २०५५, अङ्क ८, नि.नं. ६५९० मा प्रतिपादित सिद्धान्तसमेतको पालना भएको नदेखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । प्रस्तुत मुद्दाको सुरू, पुनरावेदन रेकर्ड मिसिल र भए प्रमाण मिसिलसमेत झिकाई विपक्षीसमेत झिकाई नियमानुसार गर्नु भन्‍ने यस अदालतको मिति २०७३।४।३१ को आदेश ।

फिरादीहरूसमेतको अंश हक लाग्ने पैतृक सम्पत्तिको रूपमा कि.नं. १८५, १९१, १९६, २०२ को विवादित जग्गा हाम्रो मन्जुरीबेगर हक मेट्ने उद्देश्यले प्रतिवादी गणेशदास श्रेष्ठले प्रतिवादीमध्येका मंगलदेवी श्रेष्ठलाई राजीनामा लिखित पारित  गरी पुनः सो जग्गामध्ये कि. नं. १९६ को जग्गा मंगलदेवी श्रेष्ठले सन्ध्या अधिकारीलाई राजीनामा लिखत गरिदिएको हुँदा जालसाजी घोषित गरी फिरादीहरूको हक लाग्ने जति विवादित उक्त कि.नं. १९६ को १-०-० जग्गाको ३ खण्डको २ खण्ड उत्तरतर्फको क्षेत्रफल ०-१०-३ जग्गा हक सुरक्षित गरी जालसाजीपूर्ण कार्य गरेको हुँदा सो लिखतलाई जालसाज ठहर गर्ने गरी भएको सुरू भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर ठहर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६८।१०।१९ को फैसला बदर हुनुपर्ने अवस्था छैन भन्नेसमेत बेहोराको लिखित प्रतिवाद ।  

अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सन्ध्या अधिकारीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री यदुनाथ खनाल र श्री सीताराम के. सी. ले वादीको फिराद लेनदेन व्यवहारको १० नं. को म्यादभित्र परेको 

छैन । जालसाजी मुद्दाबाट देवानी प्रकृतिको दाबी लिन र ठहर्‍याउन मिल्ने होइन, दाबीको जग्गामा मेरो पक्षको भोगसमेत भइरहेको स्थितिमा किर्ते कागजको, महललाई आधार बनाई पर्न आएको फिराद खारेज गर्नुपर्नेमा जालसाजी ठहर्‍याई भक्तपुर जिल्ला अदालत र उच्च अदालत पाटनले गरेको फैसला नमिलेको हुँदा बदर गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो । प्रत्यार्थी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति बञ्जाडेले फिरादीहरूसमेतको अंश हक लाग्ने पैतृक सम्पत्ति कि.नं. १८५, १९१, १९६, २०२ को विवादित जग्गा वादीहरूको मन्जुरीबेगर हक मेट्ने उद्देश्यले प्रतिवादी गणेशदास श्रेष्ठले मंगलदेवी श्रेष्ठलाई राजीनामा लिखित पारित गरी दिई सो जग्गामध्ये कि. नं. १९६ को जग्गा मंगलदेवी श्रेष्ठले सन्ध्या अधिकारीलाई राजीनामा लिखत गरिदिएको हुँदा जालसाजी घोषित गरी फिरादीहरूको हक लाग्ने जति विवादित उक्त कि.नं १९६ को १-०-० जग्गाको ३ खण्डको २ खण्ड उत्तरतर्फको क्षे.फ.०-१०-३ जग्गाको दूषित लिखत निष्क्रिय गर्ने गरी सुरू भक्तपुर जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट समेत भएको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रस्तुत मुद्दामा सुरू भक्तपुर जिल्ला अदालत र पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने सक्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा फिरादीहरूसमेतको अंश हक लाग्ने पैतृक सम्पत्ति कि.नं. १८५, १९१, १९६, २०२ को विवादित जग्गा निजहरूको मन्जुरीबेगर हक मेट्ने उद्देश्यले प्रतिवादी गणेशदास श्रेष्ठले मंगलदेवी श्रेष्ठलाई राजीनामा लिखित पारित गरिदिएको र पुनः सो जग्गामध्ये कि.नं. १९६ को जग्गा मंगलदेवी श्रेष्ठले सन्ध्या अधिकारीलाई राजीनामा लिखत गरिदिएको देखियो । सो कार्यलाई जालसाजी घोषित गरी फिरादीहरूको हक लाग्ने जति विवादित उक्त कि.नं. १९६ को १-०-० जग्गाको ३ खण्डको २ खण्ड उत्तरतर्फको क्षेत्रफल ०-१०-३ जग्गा हक सुरक्षित गरी जालसाजीपूर्ण कार्य गरेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरियोस् भनी सुरू भक्तपुर जिल्ला अदालतमा फिराद दायर गरिएकोमा सो लिखतलाई जालसाज ठहर गर्ने गरी भएको सुरू भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६८।१०।१९ मा भएको फैसलाउपर प्रतिवादी सन्ध्या अधिकारीको चित्त नबुझी यस अदालतमा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी अनुमति प्राप्त भई पुनरावेदनको रूपमा दर्ता भएको देखियो । 

३. मिसिल अध्ययन गर्दा विवादित लिखतमा उल्लिखित कित्ता नं.१९६ को जग्गा पुनरावेदक प्रतिवादी सन्ध्या अधिकारीले मिति २०६१/०१/१७ गते मंगलदेवी श्रेष्ठबाट राजीनामा पारित गराई लिएकोमा विवाद रहेको छैन । निज दाता मंगलदेवी श्रेष्ठले उक्त जग्गासमेत मिति २०५९/६/७ गते गणेशदास श्रेष्ठबाट प्राप्त गरेको देखिन्छ । प्रत्यर्थी वादीहरूको नाता पुस्तेवारी सम्बन्धमा हेर्दा मूल पुरूष गणेशबहादुर श्रेष्ठको ३ श्रीमती भई जेठी श्रीमती न्हुछेमायाका तर्फबाट जन्म भएका छोरा गणेशदास श्रेष्ठ, माहिली श्रीमती विष्णुमायाबाट जन्म भएको छोरा कृष्णदास र कान्छी श्रीमतीबाट जन्मेका छोरा हरिबहादुर श्रेष्ठ र अम्बिरकाजी श्रेष्ठ भएकोमा निज हरिबहादुरकी श्रीमती मंगलदेवी, कृष्णदासकी श्रीमती प्रत्यर्थी वादीमध्यकी पृथ्वीमाया तथा गणेशदासका छोराहरू प्रत्यर्थी वादीमध्येका सृजन, सुजित र भुवन रहेका छन् । निजहरूमध्ये हरिबहादुर श्रेष्ठ मिति २०५९/४/२८ गते अंश भरपाई गरी छुट्टी भिन्न भएकोसमेत देखिन्छ ।

४. उल्लिखित विवादित सम्पत्ति यिनै अंश छुटिएका हरिबहादुर श्रेष्ठको श्रीमती मंगलदेवी श्रेष्ठले आफ्ना जेठाजु गणेशदासबाट मिति २०५९/६/७ गते प्राप्त गरेको लिखत सम्बन्धमा पनि यिनै प्रत्यर्थी वादीहरूले यसै मुद्दासाथ जालसाजी मुद्दा दायर गरेकोमा निज गणेशदास र मंगलदेवी श्रेष्ठले जालसाजी गरको ठहर्‍याई सजायसमेत भएको जिल्ला अदालतको फैसला पुनरावेदन अदालतबाट समेत मिति २०६८/१०/१९ गते (२०६७ सालको दु.फौ.पु.नं.२०२) सदर भई अन्तिम भएर बसेको प्रमाण मिसिलबाट देखियो । यसरी प्रस्तुत लिखतका दाताले प्राप्त गरेको लिखत नै जालसाजी ठहरी रहेको अवस्थामा निजबाट प्राप्त गरेको हक पनि सद्दे रहन सक्ने अवस्था देखिएन ।

५. उपर्युक्तबमोजिम पुनरावेदक प्रतिवादीले प्राप्त गरेको स्रोत लिखत नै जालसाजी ठहर भइसकेको अवस्थामा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति दिँदा आधार लिएको ने.का.प.२०५५ अङ्क ८, नि.नं. ६५९० मा प्रतिपादित सिद्धान्तअनुसार लेनदेन व्यवहारको  महलको १० नं. अनुसार आउनुपर्ने भन्ने जिकिरसँग सहमत हुन सकिएन । विधायिकाले लेनदेन व्यवहारको महल र किर्ते कागजको महलमा छुट्टाछुट्टै हदम्यादको व्यवस्था गरेकोमा यी दुई मार्गमध्ये कुनैमा मुद्दा चलाउन सक्ने अख्तियारी प्रदान गरेको अवस्थामा वादीहरूलाई लेनदेन व्यवहारको महलअन्तर्गतको मुद्दा लिएर आउनुपर्छ भनी बाध्य गर्न कानूनतः मिल्ने 

हुँदैन । यस सम्बन्धमा २०७२ सालको नि.नं. ७९३२ मा निम्न सिद्धान्त प्रतिपादन भएको पाइन्छः

˝सगोलको पैतृक सम्पत्तिमा बिक्री व्यवहार आदि जेसुकै हुने अवस्थामा उमेर पुगेको अंशियारको मन्जुरी लिनुपर्ने अनिवार्य व्यवस्था लेनदेन व्यवहारको १० नं.को कानूनले गरेको अवस्थामा अंश नभएको अंशियारले सगोलको सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरको अंशियार सबै साक्षी बसेको वा मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्ने˝ ।

˝आफ्नो पालामा आर्जेको सम्पत्ति निजी ठहर्ने अवस्थाबाहेक सँगै बसेको सम्पत्ति सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने ।˝

˝लिखित बदर र जालसाज सम्बन्धमा पक्षले आफूलाई सहज पर्ने जुनसुकै बाटो अवलम्बन गर्न सक्ने नै हुँदा वादी लिखत बदरमा नआई जालसाजमा मात्र आएकोलाई अन्यथा भन्न मिलेन ।˝

˝वादीको हक लाग्ने जग्गा निजको मन्जुरीबेगर बिक्री व्यवहार गरेको देखिएकाले किर्ते कागजको ३ नं. अनुसार हक मेट्ने कार्य गरेको हुँदा जालसाज हुने अवस्थामा प्रतिवादीहरूले लेनदेन गरेको लिखत सम्पत्तिमा वादीको दाबी कायम रहन नसक्ने भन्न उपयुक्त नहुने ।˝

 

६. अतः फिरादीहरूसमेतको अंश हक लाग्ने पैतृक सम्पत्तिको रूपमा भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. ७ को कि.नं. १८५, १९१, १९६, २०२ को जग्गा निज वादीहरूसमेतको मन्जुरीबेगर हक मेट्ने उद्देश्यले मिति २०५९।६।७ को र.नं. १२६८ बाट प्रतिवादी गणेशदास श्रेष्ठले प्रतिवादीमध्येका मंगलदेवी श्रेष्ठलाई गरिदिएको राजीनामा लिखत नै जालसाज ठहरी अन्तिम फैसला भइरहेको अवस्थामा सो लिखतमा उल्लिखित जग्गामध्ये कि. नं. १९६ को जग्गा मंगलदेवी श्रेष्ठले सन्ध्या अधिकारीलाई मिति २०६१।०१।१७ गतेको र.नं. ७१६४ बाट गरिदिएको राजीनामाको लिखत जालसाजी ठहर्‍याई ३ खण्डको २ खण्ड लिखत निष्क्रिय गरेको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी सन्ध्या अधिकारीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा 

 

इजलास अधिकृत:- उषा गिरी

इति संवत् २०७७ साल पौष ३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु