शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७८० - लागु औषध ब्राउनसुगर

भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७७।२।२६

०७५-CR-०७६७

 

मुद्दाः- लागु औषध ब्राउनसुगर

 

पुनरावेदक / वादी : प्र.स.नि. आइते पुनको प्रतिवेदन जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : भारत बहराईच जिल्‍ला, तहसिल नानपारा कसाई टोल बस्ने मोहम्‍मद अन्‍सारीको छोरा अकिल अहमद अन्‍सारी

 

लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै  मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि 

हो । वादीले अनुमानका आधारमा लिएको दाबीबाट मात्र प्रतिवादीलाई कसुरदार ठहर्‍याउनु न्यायोचित नहुने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्‍यायाधिवक्ता श्री कमलराज पन्‍थी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री विष्‍णुप्रसाद कोइराला

बाँके जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्‍यायाधीश श्री प्रेमराज कार्की

माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू

उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलास

 

फैसला

न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)  बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत पुनरावेदनपत्रसहितको मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

तथ्य खण्ड

जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० जमुनाहस्थित पूर्व इलाका प्रहरी कार्यालय, जमुनाहको पुरानो भवन, पश्‍चिम हनुमान मन्दिर, उत्तर दक्षिणमा नेपालगन्ज जमुनाह सडक खण्ड यति चार किल्लाभित्रको सडक खण्डमा रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका भारत नानपारा कसाई टोल घर र नाम अकिल बताउने व्यक्तिलाई चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा कालो प्लाष्‍टिकभित्र सेतो प्लाष्‍टिकले बेरेर राखेको प्लाष्‍टिक हटाई तौल गर्दा ३०० ग्राम लागु औषध जस्तो धुलो पदार्थ प्रहरी टोलीले बरामद गरी लिएको भन्‍नेसमेत बेहोराको बरामदी मुचुल्का । 

मिति २०७३।१।२६ गते जमुनाह नाका हुँदै ठुलो मात्रामा ब्राउनसुगर नेपालमा भित्रँदै छ भन्‍ने सूचनाको आधारमा मसमेतको टोली उक्त स्थानमा गई नेपाल भारत आवतजावत गर्ने मानिसलाई चेकजाँच गर्ने क्रममा भारत रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका भारत नानपारा कसाई टोल घर बताउने अकिल नाम बताउने व्यक्तिलाई चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा कालो प्लाष्‍टिकभित्र सेतो प्लाष्टिकले बेरेर राखेको प्लाष्‍टिक हटाई तौल गर्दा ३०० ग्राम लागु औषध जस्तो धुलो पदार्थ फेला पारी बरामदसमेत गरी दाखिला गरेका छौं । कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको लागु औषध नियन्‍त्रण ब्युरो नेपालगन्जका प्र.स.नि. आईते पुनसमेतको प्रतिवेदन ।

प्रतिवादीबाट बरामद ब्राउनसुगरमध्येबाट नमुना छुट्याइदियौं भन्‍नेसमेत बेहोराको नमुना मुचुल्का ।

मैले नेपालगन्जमा आई कपडा बेच्ने क्रममा केही नसेडी केटाहरूसँग भेट भई निजहरूसँग कुरा बुझ्दा निजहरूले मलाई भारतबाट ब्राउनसुगर ल्याइदिनु भनेको हुँदा मिति २०७३।१।२६ गतेका दिन मैले भारत नानपाराकै यकिन नाम, थर थाहा नभएको, देखे चिन्‍ने व्‍यक्तिसँग रू.५००।- मा आधा ग्राम ब्राउनसुगर खरिद गरी सोमा दाँतका बिरामीहरूले दाँत माझ्नमा प्रयोग गर्ने गुल मन्जन किनी मिसाई ३०० ग्राम बनाई नेपालगन्जमा फेला पर्ने नसेडी केटाहरूलाई बिक्री गर्ने भनी खल्तीमा राखी जमुनाह नाका हुँदै नेपालतर्फ आउन लाग्दा प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा बरामद ब्राउनसुगरसहित पक्राउमा परेको हुँ, बरामद सामान ब्राउनसुगर होइन, मैले आधा ग्राम ब्राउनसुगरमा गुल मन्जन मिलाई झुक्याई बिक्री गर्न भनी ल्याएको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी अकिल अन्सारीले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान । 

प्रतिवादीबाट बरामद ब्राउनसुगरमध्येबाट परीक्षणको लागि पठाएको भन्‍ने पत्र । 

परीक्षणका लागि पठाइएको नमुनामा लागु ‍औषध हेरोइन (डाइएसिटाइल मर्फिन) तथा अन्‍य नार्कोटिक ड्रग (codeine, morphine, opium etc.), साइकोट्रोपिक ड्रग (diazepam, nitrazepam, cocaine, cannabis, amphetamine, charas, ganja etc.) हरू पाइएन भन्‍ने परीक्षण प्रतिवेदन ।

मिति २०७३।१।२६ गते म वारदातस्थल नजिकै थिएँ । प्रहरी टोलीले भारत रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका अकिल अन्सारीलाई चेकजाँच गर्दा निजले पाइन्टको प्लाष्‍टिकभित्र लुकाई छिपाई राखेको ३०० ग्राम ब्राउनसुगर जस्तो धुलो फेला पारी बरामद गरी निजलाई पक्राउ गरेका हुन् । कानूनबमोजिम होस् भन्‍नेसमेत बेहोराको जलिल कवाडिया, रिजवान अन्सारी र ईमरान हलवाईको एकै बेहोरा मिलानको छुट्टाछुट्टै घटना विवरण कागज ।

बरामद लागु औषधमध्येबाट नमुना छुट्याई बाँकी रहेको लागु औषध जिल्ला प्रशासन कार्यालय, बाँकेको प्राङ्गणमा जलाई नष्‍ट गरिदियौं भन्‍नेसमेत बेहोराको लागु औषध नष्‍ट गरिएको मुचुल्का । 

मिति २०७३।१।२६ का दिन नाम, थर, वतन थाहा नभएको भारत नानपारा घर बताउने अकिल अन्सारीले बेचबिखन गर्ने उद्देश्यले आधा ग्राम ब्राउनसुगर खरिद गरी सोमा दाँत माझ्ने मन्जन औषधी हुन्छ भनी अन्य पदार्थको धुलोसमेत मिसाई नेपालगन्जतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा ३०० ग्राम लागु औषध भनी अन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा प्रतिवादीका साथबाट बरामद भई पक्राउ पर्न आएको पुष्टि हुन आएकोले अकिल अन्सारीको उल्लिखित कार्य लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १७क बमोजिमको कसुरजन्य अपराध भएकाले निज अकिल अन्सारीलाई सोही ऐनको दफा १४(१)(छ)(३) ले हुने सजायमा ऐ. ऐनको दफा १७क बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोगपत्र ।

मबाट प्रहरीले ३०० ग्राम गुल मन्जन बरामद गरेको हो । लागु औषध ब्राउनसुगर हो कि भनी शंकाको भरमा मलाई पक्राउ गरेको हो । उक्त पदार्थ लागु औषध ब्राउनसुगर होइन । मैले ब्राउनसुगरको बिक्री वितरण गर्ने कार्यसमेत गर्दिन भन्‍नेसमेत बेहोराको प्रतिवादी अकिल अन्सारीले सुरू अदालतमा गरेको बयान ।

बरामदी मुचुल्का, प्रतिवादीको मौकाको बयान, घटना विवरण कागज गर्ने जलिल कवाडियाको कागजसमेतबाट यी प्रतिवादी अकिल अहमद अन्सारीलाई पुर्पक्षका लागि थुनामा राख्‍नू । प्रस्तुत मुद्दा निरन्तर सुनुवाइअन्तर्गतको भएको र प्रतिवादीसमेत चुक्ता भइसकेको देखिँदा वादी प्रतिवादीका साक्षीलाई मिति २०७३।४।२१ मा बकपत्रका लागि उपस्थित गराउनु भन्‍नेसमेत बेहोराको सुरू अदालतबाट मिति २०७३।३।३० मा भएको आदेश ।

प्रतिवादीबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको हो । निजबाट के पदार्थ बरामद भएको यकिन थाहा भएन । निजले के, कुन प्रयोजनका लागि उक्त पदार्थ साथमा राखेका थिए, सोबारेमा मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवेदक प्रहरी हवल्‍दार सन्तोष यादवले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादीबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको हो । निजबाट के पदार्थ बरामद भएको यकिन थाहा भएन । निजले के, कुन प्रयोजनका लागि उक्त पदार्थ साथमा राखेका थिए सोबारेमा मलाई थाहा भएन भन्‍नेसमेत बेहोराको प्रतिवेदक प्रहरी सहायक निरीक्षक आइते पुनले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी अकिल अन्सारी कपडाको व्यापारी हुन् । मिति २०७३।१।२६ को प्रतिवेदन झुट्टा हो । निज प्रतिवादीले बोकेको पदार्थ गुल मन्जन हो । निज प्रतिवादीले कुनै कसुर नगरेकोले सजाय पाउनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी हविवुर रहमान अन्सारीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादीउपर लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १७क को कसुर अपराधमा ऐ.दफा १४(१)(छ)(३) ले हुने सजायमा ऐ.दफा १७क बमोजिम सजाय हुन दायर भएको अभियोग, प्रतिवादीबाट ब्राउनसुगर जस्तो पदार्थ बरामद भएको तथ्य स्वीकार गरी प्रतिवादीले मौकामा र अदालतमा बयान गरेको, बरामद भएको लागु औषध जस्तो पदार्थ सेवनकर्तालाई बिक्री गर्नको लागि नेपालगन्ज ल्याएको भनी प्रतिवादीको मौकाको बयान, सो बयान पुष्‍टि हुने गरी बरामद भएको पदार्थको प्याकिङ गरेको, प्रतिवेदकको बकपत्रसमेतबाट अभियोग दाबी पुष्‍टि भएकोले प्रतिवादी अकिल अन्सारीलाई ऐ.दफा १४(१)(छ)(३) ले हुने सजायको आधा ऐ.दफा १७क बमोजिम ७।६।० (सात वर्ष छ महिना) कैद र रू.२,५०,०००।-(दुई लाख पचास हजार) जरिवाना हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू बाँके जिल्‍ला अदालतबाट मिति २०७३।०६।०५ मा भएको 

फैसला । 

म पुनरावेदकका विरूद्धमा लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १७क बमोजिमको कानूनी दाबी लिएको देखिन्‍छ । सो कानूनी व्‍यवस्‍था हेर्दा लागु औषधको विश्‍वासमा पारी अन्‍य पदार्थको कारोबार गर्नेलाई समेत कसुर मानी सजायको समेत व्‍यवस्‍था गरेको देखिन्‍छ । मबाट बरामद देखाइएको पदार्थ लागु औषध नभई दाँत माझ्नमा प्रयोग गरिने गुल मन्जन हो । सो कुरा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट समेत पुष्‍टि भएको छ । सो गुल मन्जनलाई लागु औषध हो भनी मैले कोही कसैलाई भनेको पनि छैन, लागु औषध हो भनी विश्‍वासमा पारी कोही कसैसँग कारोबार बेचबिखनसमेत गरेको होइन छैन । कोही कसैलाई बिक्री गर्ने उद्देश्‍यले रकम लिएको अवस्‍था पनि छैन । अभियोग दाबी वस्तुनिष्ठ रूपमा प्रमाणित हुनुपर्ने र सो कुरा वादी पक्षले नै प्रमाणित गर्नुपर्ने प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले पुष्‍टि एवं प्रमाणितसमेत गर्न नसकेको साथै सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र फौजदारी कानूनका मान्य सिद्धान्तहरूको समेत विपरीत हुने गरी सुरू जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी अकिल अहमद अन्‍सारीले उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दिएको पुनरावेदन ।

यसमा प्रतिवादीको मौका अनुसन्‍धानको बयानमा ब्राउनसुगरमा धुलो मन्जन मिसाई नेपालगन्जमा बिक्री गर्न ल्‍याइरहेको अवस्‍थामा पक्राउ परेको भनी उल्‍लेख भएको र उक्त बरामद लागु औषध जस्‍तो देखिने धुलोको नमुनामा लागु औषध पाइएन भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट देखिएकोले मौकाको बयान खण्‍डित भइरहेको र प्रतिवादी अदालतमा आरोपित कसुरमा इन्‍कार रही बयान गरेको आधार र कारणबाट सुरू बाँके जिल्‍ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जलाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७४।०३।२२ को आदेश ।

प्रतिवादी अकिल अहमद अन्‍सारीबाट बरामद भएको वस्तुमा कुनै लागु औषध नरहेको भनी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनबाट देखिएको र लागु औषधको विश्‍वासमा पारी अन्‍य पदार्थको कारोबार गरेको भन्‍ने अभियोग दाबी स्थापित हुने प्रमाणको अभाव रहेको अवस्था र स्थितिमा प्रतिवादीलाई लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) ले हुने सजायको आधा ऐ.दफा १७क बमोजिम ७।६।० (सात वर्ष छ महिना) कैद र रू.२,५०,०००।-(दुई लाख पचास हजार) जरिवाना हुने ठहर गरी सुरू बाँके जिल्‍ला अदालतबाट मिति २०७३।६।५ मा भएको फैसला मिलेको नदेखिँदा उल्‍टी भई प्रतिवादी अकिल अहमद अन्‍सारीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७४।९।१६ मा भएको फैसला ।

प्रतिवादी अकिल अन्सारीबाट बरामद पदार्थ लागु औषध जस्तो देखिएकाले निज पक्राउ परेको अवस्था छ । बरामदी मुचुल्काको बेहोरातर्फ दृष्टिगत गर्दा बरामद भएको चिजपदार्थ सेतो प्लाष्टिकले लपेटी बाहिरबाट कालो प्लाष्टिकले बेरेर ल्याएको देखिएबाट दाँत माझ्ने प्रयोजनका लागि धुलो गुल मन्जन ल्याएको भन्‍ने प्रतिवादीको र निजका साक्षीहरूको जिकिर खण्डित भइरहेको देखिन्छ । प्रहरीले चेक गर्दा ब्राउनसुगर जस्तो धुलो ३०० ग्राम बरामद भएको भनी घटना विवरण कागज गर्ने जलिल कवाडिया, रिजवान अन्सारी र इमरान हलवाइले बेहोरा लेखाइदिएका 

छन् । प्रतिवादीले अदालतमा बयान गर्दा बरामद पदार्थ गुल मन्जन दाँत माझ्ने प्रयोजनको लागि ल्याएको भने तापनि अनुसन्धानको क्रममा बयान गर्दा बरामदी स्वीकार गरी सवाल जवाफ-१० मा नेपालगन्जका सेवनकर्तालाई बिक्री गर्ने उद्देश्‍यले ल्याएको भनी कसुरमा साबित रही लेखाएको समेत मिसिल संलग्न प्रतिवादीको बयान, मौकाको बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवेदकहरूको बकपत्रसमेतबाट यी प्रतिवादीउपरको कसुर निर्विवाद स्थापित भइरहेको अवस्थामा सुरू अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई कसुरमा उन्मुक्ति दिने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

ठहर खण्‍ड

नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्‍यायाधिवक्ता श्री कमलराज पन्‍थीले प्रतिवादी अकिल अन्‍सारीबाट लागु औषध जस्तो पदार्थ बरामद भएको तथ्‍यमा विवाद छैन । प्रतिवादीबाट बरामद भएको पदार्थ दाँत माझ्ने गुल मन्जन भए अन्‍य प्‍लाष्‍टिकले बेरेर ल्‍याउनुपर्ने आवश्‍यकता नदेखिएबाट निजको अदालतको बयान खण्‍डित भएको छ । प्रतिवादी अदालतसमक्ष कसुरमा इन्‍कार रही बयान गरे तापनि मौकामा बयान गर्दा आफूबाट बरामद भएको पदार्थ सेवनकर्तालाई बिक्री गर्ने उद्देश्यले ल्‍याएको भनी कसुरमा साबित रही बयान गरेबाट निज प्रतिवादीले लागु औषधको कारोबार गर्ने गरेको तथ्‍य पुष्‍टि भइरहेको अवस्थामा अभियोग दाबीबाट सफाइ दिने गरी उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम नै सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।

वादी पक्षबाट प्रस्तुत भएको उल्‍लिखित बहस जिकिरसमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्‍न कागज प्रमाणहरूको अध्‍ययन गरी उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७४।९।१६ मा भएको भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्‍न सक्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० को सडक खण्डमा रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका भारत नानपारा कसाई टोल घर र नाम अकिल बताउने व्यक्तिलाई प्रहरीले चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा कालो प्लाष्‍टिकभित्र सेतो प्लाष्‍टिकले बेरेर राखेको प्लाष्‍टिक हटाई तौल गर्दा ३०० ग्राम लागु औषध जस्तो धुलो पदार्थ बरामद गरी लिएको भन्‍ने बरामदी मुचुल्काबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्‍छ ।

३. प्रतिवादी अकिल अन्सारीले बेचबिखन गर्ने उद्देश्यले आधा ग्राम ब्राउनसुगर खरिद गरी सोमा दाँत माझ्ने मन्जन औषधी हुन्छ भनी अन्य पदार्थको धुलोसमेत मिसाई लागु औषध भनी अन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा पक्राउ पर्न आएको र प्रतिवादीको उल्लिखित कार्य लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १७क बमोजिमको कसुरजन्य अपराध हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १४(१)(छ)(३) ले हुने सजायमा ऐ. ऐनको दफा १७क बमोजिम सजाय गरिपाउँ भन्‍ने मुख्‍य अभियोग मागदाबी रहेको देखियो । प्रतिवादी अकिल अन्सारीलाई लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) ले हुने सजायको आधा ऐ.दफा १७ क बमोजिम ७।६।० (सात वर्ष छ महिना) कैद र रू.२,५०,०००।- (दुई लाख पचास हजार) जरिवाना हुने गरी सुरू बाँके जिल्‍ला अदालतबाट मिति २०७३।६।५ मा भएको फैसला उल्‍टी भई प्रतिवादी अकिल अन्‍सारीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई उच्‍च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७४।९।१६ मा भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।

४. वादी पक्षले यस अदालतमा गरेको पुनरावेदनमा प्रतिवादी अकिल अन्सारीबाट बरामद पदार्थ लागु औषध जस्तो देखिएको छ । बरामद भएको चिजपदार्थ सेतो प्लाष्टिकले लपेटी बाहिरबाट कालो प्लाष्टिकले बेरेर ल्याएको देखिएबाट दाँत माझ्ने धुलो गुल मन्जन ल्याएको भन्‍ने प्रतिवादीको जिकिर विश्‍वासप्रद देखिँदैन । घटना विवरण कागज गर्ने जलिल कवाडियासमेतले प्रतिवादीबाट ब्राउनसुगर जस्तो धुलो ३०० ग्राम बरामद भएको भनी बेहोरा लेखाइ दिएका छन् । प्रतिवादीले अदालतमा बयान गर्दा बरामद पदार्थ गुल मन्जन दाँत माझ्ने प्रयोजनको लागि ल्याएको भने तापनि अनुसन्धानको क्रममा बयान गर्दा बरामदी स्वीकार गरी नेपालगन्जका सेवनकर्तालाई बिक्री गर्ने उद्देश्‍यले ल्याएको भनी कसुरमा साबित रहनुका साथै मिसिल संलग्न अन्‍य प्रमाणहरूबाट यी प्रतिवादीउपरको कसुर निर्विवाद स्थापित भइरहेको अवस्थामा सुरू अदालतको फैसलालाई उल्टी गरी कसुरबाट उन्मुक्ति दिने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भनी जिकिर लिएको देखियो ।

५. अब वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिरका सम्बन्‍धमा विचार गर्दा, प्रतिवादी अकिल अन्‍सारी मौकामा आरोपित कसुरमा साबित रही बयान गरे तापनि अदालतसमक्ष आफ्नो साथबाट बरामद भएको पदार्थ गुल मन्जन हो । उक्त पदार्थ लागु औषध ब्राउनसुगर होइन । मैले ब्राउन सुगरको बिक्री वितरण गर्ने कार्य गर्दिन भनी कसुरमा इन्‍कार रही बयान गरेको पाइन्‍छ । निज प्रतिवादीको इन्‍कारी बयानलाई निजका साक्षी हविवुर रहमान अन्‍सारीले गरेको बकपत्रबाट समर्थित भएको देखिन्‍छ । प्रतिवादीको साथबाट बरामद भएको पदार्थ लागु औषध हो वा होइन ? भनी यकिन गर्नका लागि राष्‍ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएकोमा नमुनामा लागु ‍औषध हेरोइन (डाइएसिटाइल मर्फिन) तथा अन्‍य नार्कोटिक ड्रग (codeine, morphine, opium etc.), साइकोट्रोपिक ड्रग (diazepam, nitrazepam, cocaine, cannabis, amphetamine, charas, ganja etc.) हरू पाइएन भनी परीक्षण प्रतिवेदनमा उल्‍लेख भएको देखियो । वारदातका सम्बन्‍धमा बरामदी मुचुल्‍का तयार गरी प्रतिवेदन दिने प्रहरी सहायक निरीक्षक आइते पुनसमेतले प्रतिवादीबाट लागु औषध ब्राउनसुगर जस्तो धुलो पदार्थ बरामद भएको हो । के पदार्थ हो भन्‍ने यकिन भएन भनी अदालतसमक्ष बकपत्र गरेको देखिन्‍छ ।

६. वादी पक्षले यी प्रतिवादीउपर लागु औषध (नियन्‍त्रण) ऐन, २०३३ को दफा १७क बमोजिमको कसुरमा सजाय गरिपाउँ भन्‍ने दाबी लिएको र उक्त दफा १७क मा ‘‘लागु औषधबाहेकको अन्‍य कुनै पदार्थलाई लागु औषध भन्‍ने विश्‍वासमा पारी त्‍यस्तो कारोबार, बेचबिखन, निकासी-पैठारी, सञ्‍चय, उत्‍पादनसमेतको कार्य गर्ने व्‍यक्ति वा गिरोहलाई सो अपराध गरेबापत हुने सजायको आधा सजाय हुने छ’’ भन्‍ने व्‍यवस्था भएको पाइन्‍छ । उक्त व्‍यवस्थाअनुसार कसुरदार कायम हुनका लागि कसैलाई लागु औषध हो भन्‍ने विश्‍वासमा पारी लागु औषध जस्तो पदार्थको बेचबिखन एवं कारोबार गरेको हुनुपर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादीको साथबाट लागु औषध जस्तो धुलो पदार्थ बरामद भए पनि निज प्रतिवादीले लागु औषध हो भनी विश्‍वास तथा गफलतमा पारी अन्‍य कोही कसैलाई रकम लिएर बिक्री गर्दागर्दै बरामद भएको अवस्था रहेको देखिँदैन । प्रतिवादीले लागु औषध जस्तो धुलो पदार्थलाई लागु औषध हो भनी विश्‍वासमा पारेर अरू कसैसँग कारोबार, बेचबिखन, निकासी पैठारी गरेको सम्बन्धमा वादी पक्षबाट विश्‍वासिलो आधार र ठोस प्रमाण प्रस्तुत भएको पाइएन ।

७. लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै  मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि 

हो । वादीले अनुमानका आधारमा लिएको दाबीबाट मात्र प्रतिवादीलाई कसुरदार ठहर्‍याउनु न्यायोचित हुँदैन । प्रस्तुत मुद्दामा प्रतिवादी अकिल अन्‍सारीको साथबाट बरामद भएको पदार्थ लागु औषध हो भन्‍ने कुरा परीक्षण प्रतिवेदनबाट पुष्‍टि नभएको र निज प्रतिवादीले आफ्नो साथबाट बरामद भएको पदार्थ दाँत माझ्ने गुल मन्जन हो भनी जिकिर लिएको र लागु औषध जस्तो धुलो पदार्थ बरामद भए पनि सो बरामद भएको धुलो पदार्थ लागु औषध हो भनी प्रतिवादीले अन्य कसैसँग कारोबार, बिक्री वितरण, निकासी पैठारीसमेत गरेको प्रमाणको अभावमा सोही आधारमा यी प्रतिवादी अकिल अन्‍सारीलाई कसुरदार नठहर्‍याई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसलालाई अन्‍यथा भन्‍न मिलेन । 

८. अतः माथि विवेचित आधार कारण र प्रमाणसमेतबाट प्रतिवादी अकिल अन्‍सारीलाई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७४।९।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्‍न सक्‍दैन । प्रस्तुत फैसलाको जानकारी महान्‍यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृतः मुना अधिकारी ढकाल

इति संवत् २०७७ साल जेठ २६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु