शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७९३ - कर्तव्य ज्यान

भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।३।२३

 

मुद्दाः- कर्तव्य ज्यान

 

०७४-CR-१७९६

पुनरावेदक / प्रतिवादी : गोपाल कुँवरको नाति जहरे कुँवरको छोरा डोटी जिल्ला साबिक गाँजरी वडा नं. २ पालेवन घर भई हाल कारागार कार्यालय डोटीमा थुनामा रहेको वर्ष ४२ को माहासिंह कुँवर

विरूद्ध

विपक्षी / वादी : चक्रबहादुर कुँवरको जाहेरीले नेपाल सरकार

 

०७५-CR-००३७

पुनरावेदक / वादी : चक्रबहादुर कुँवरको जाहेरीले नेपाल सरकार

विरूद्ध

विपक्षी / प्रतिवादी : गोपाल कुँवरको नाति जहरे कुँवरको छोरा डोटी जिल्ला साबिक गाँजरी वडा नं. २ पालेवन घर भई हाल कारागार कार्यालय डोटीमा थुनामा रहेको वर्ष ४२ को माहा भन्ने माहासिंह कुँवर

 

लासलाई फाल्ने कुरा भनेको मृत्युपछिको अवस्था हो । प्रतिवादीले मारिसकेपछि लास कहाँ राख्यो वा कसरी फाल्यो भन्ने कुराले प्रतिवादीको कर्तव्य गरी मार्नुपूर्वको मनसायलाई सामान्यतया प्रतिबिम्बित गर्दैन । प्रतिवादीको मृतकलाई मार्ने अवस्थासम्म कस्तो प्रकृतिको मनसाय थियो भनी हेर्नुपर्ने हुन्छ र सोही आधारमा प्रतिवादीउपर आपराधिक दायित्व रहने । 

(प्रकरण नं.६)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुषाल

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६६, अङ्क ६, नि.नं.८१६७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री नरनारायण पौडेल

डोटी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल

माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल

उच्च अदालत दिपायल

 

फैसला

न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ पालेबनस्थित पूर्वमा गोरेटो बाटो, पश्चिममा प्रेमबहादुर कुँवरको खेतबारी, उत्तरमा प्रेमबहादुर कुँवरको घर र दक्षिणमा शंकर नेपालीको घर, यति चार किल्लाभित्रमा रहेको प्रेमबहादुर कुँवरको खेतबारीको बिच खेतमा पूर्व टाउको, पश्चिम खुट्टा, माथिल्लो शरीरमा कालो सेतो बुट्टा भएको चोलो लगाएको, भित्र हरियो ब्लाउजसमेत लगाएको, तल्लो शरीरमा केही पनि लुगा नभएको, डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ बस्ने वर्ष ४३ की गंगादेवी कुँवरको मृतक लास रहेको, सो लासको कपालमा माटो र रातो पदार्थ लागेको, अनुहारमा रगत जस्तो रातो पदार्थले लतपतिएको, दायाँ आँखी भौँमा निलडाम, छातीमा निलडाम, टाउको पछाडि गोठीमा १ इन्च लम्बाइ १/२ इन्च गहिरो घाउ, टाउको बिच भागमा १ इन्च लामो घाउ, खुट्टा, तिघ्रा निलडाम भई रगत जस्तो रातो पदार्थ सुकेको अवस्थामा रहेको भन्‍ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।

डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ पालेबनस्थित पूर्वमा थाने कुँवरको घर, पश्चिममा माहासिंह कुँवरको खेतबारी, उत्तरमा माहासिंह कुँवरको खेतबारी र दक्षिणमा उदैसिंह कुँवरको घर, यति चार किल्लाभित्रमा रहेको माहासिंह कुँवरको दुई तले पत्थरले छाएको घर, सो घरको पूर्वबाट आँगनमा प्रवेश गर्दा पश्चिमतर्फ भर्‍याङनजिक ६० से.मि. टाढा २ इन्च गोलाइ भएको, रगत जस्तो रातो पदार्थको सुकेको टाटा रहेको, भर्‍याङ चढी हेर्दा भर्‍याङमा प्रयोग भएको ढुङ्गामा २ इन्च गोलाइ भएको रगत जस्तो रातो पदार्थको सुकेको टाटा रहेको, भर्‍याङबाट माथिल्लो तलाको ढोकाभित्र प्रवेश गर्दा भुइँमा ४ इन्च गोलाइमा रहेको रगतजस्तो रातो पदार्थको सुकेको टाटा रहेको, सो टाटाको १ फिटको दुरीमा माटो पोतेको १ फिट ९ इन्च लम्बाइ, बिच भागमा ४ इन्च, दुवै छेउतर्फ २.५ इन्च चौडाइ भएको काठ रहेको, सो काठको बिच भागको एक किनारतर्फ रगत जस्तो रातो पदार्थको सुकेको टाटा रहेको, सो कोठाबाट भित्रतर्फ ३ फिट ४ इन्च उचाइ भएको ढोका, सो ढोकाको भुइँमा माटो यत्रतत्र छरिएको, महिलाले लगाउने रातो काँचको चुराका टुक्राहरू छरिएको सर-सामान यत्रतत्र छरिएको अवस्थामा रहेको सोही ठाउँमा प्रतिवादी माहासिंह कुँवरले मृतक गंगादेवी कुँवरलाई कुटपिट गरी मारेको भन्‍ने घटनास्थल मुचुल्का ।

मिति २०७२।११।१ गते राति अन्दाजी ११:०० बजेको समयमा नागरिकता हराएको निहुँ पारी प्रतिवादी माहासिंह कुँवरले आफ्नी पत्नी मृतक गंगादेवी कुँवरलाई कुटपिट गरी मारी प्रेमबहादुर कुँवरको गहुँबारीमा मृतकको लास लगी फालेकोले कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको चक्रबहादुर कुँवरको जाहेरी दरखास्त । 

मिति २०७२।११।०१ गते राति अं. ११:०० बजेको समयमा रक्सी सेवन गरी घरमा आई मृतक श्रीमती गंगादेवी कुँवरलाई खाना लगाउ भन्दा निजले आफैँ लगाएर खाउ भनी खाना लगाउन नमानेपछि मैले रक्सीको नशामा रिस उठी श्रीमती गंगादेवी कुँवरलाई काठको लाठाले प्रहार गरी कुटपिट गरी मारेको हुँ । घटनास्थलबाट बरामद भएको काठले मैले मेरी श्रीमती गंगादेवी कुँवरलाई घरको कोठाको भित्रबाट कुटपिट गर्दै आँगनमा फाली सो आँगनबाट तल भिरालोमा फाली हत्या गरेपश्चात् सो ठाउँबाट पनि तान्दै घिसार्दै अं.३०० मिटर टाढा रहेको प्रेमसिंह कुँवरको गहुँबारीमा फालेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी माहासिंह कुँवरको साबिती बयान कागज ।

मिति २०७२।११।०१ गतेको साँझ अन्दाजी ५:०० बजेको समयमा प्रतिवादी माहासिंह कुँवर र गाउँकै जमानसिंह कुँवर मेरो पसलमा आई ३ क्वाटर जिनेल नामक रक्सी सेवन गरेपछि निज दुवैजना आआफ्नो घर जाने बाटो लागेका हुन् । सोही राति अन्दाजी ११:०० बजे निज प्रतिवादी माहासिंह कुँवर घरमा पुगी आफ्नो नागरिकता हराएको निहुँ बनाएर मृतकसँग विवाद हुँदा प्रतिवादीले मृतकलाई काठको चिर्पटले हिर्काई मृतक गंगादेवी कुँवरको हत्या गरेपश्चात् लास प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ भन्‍ने कुरा ऐ. २ गते बिहान थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको गणेशबहादुर थापाको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गतेको साँझ अन्दाजी ८:०० बजेको समयमा प्रतिवादी माहासिंह कुँवर र डम्मरसिंह कुँवर मेरो पसलमा आई आफ्नो साथमा ल्याएको रक्सी खानको लागि गिलास माग्दा मैले गिलास दिएको हुँ । निज दुवैजनाले मेरो पसलमा बसी ४ क्वाटर जिनेल नामक रक्सी सेवन गरेपछि निज दुवैजना आआफ्नो घर जाने बाटो लागेका हुन् । सोही राति अन्दाजी ११:०० बजेको समयमा निज प्रतिवादी माहासिंह कुँवर आफ्नो घरमा पुगी मृतक गंगादेवी कुँवरलाई ब्युँझाई नागरिकता किन हरायौ, मलाई खाना लगाउ भनी प्रतिवादीले गालीगलौज गर्दा मृतकले खाना लगाएर खाउ भनी बोल्न थालेपछि प्रतिवादीले काठको चिर्पटले मृतकलाई हिर्काई मारेर मृतकको लास प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ भन्‍ने कुरा ऐ. २ गते बिहान थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको बिरबहादुर कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गतेको साँझ अन्दाजी ७:३० बजेको समयमा म गाउँको पसलबाट घर फर्किंदा प्रतिवादी माहासिंह कुँवरसँग मेरो भेट भएको थियो । निजले मादक पदार्थ (रक्सी) सेवन गरेको र साथमा ४ क्वाटर जिनेल नामक रक्सी बोकेर ल्याएको थियो । निज प्रतिवादीले सो रक्सी खाउभन्दा हामीले बिरबहादुर कुँवरको पसलमा बसी खाएपछि अन्दाजी ८:३० बजे राति म आफ्नो घरतर्फ र निज प्रतिवादी आफ्नो घर जाने बाटो लागेका हौं । सोही राति अन्दाजी ११:०० बजेको समयमा निज प्रतिवादी माहासिंह कुँवर आफ्नो घरमा पुगी मृतक पत्नी गंगादेवी कुँवरसँग झगडा गरी मृतकलाई प्रतिवादीले काठको चिर्पटले हिर्काई हत्यापश्चात् मृत लास गायब गर्ने मनसायले प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ भन्‍ने कुरा ऐ. २ गते बिहान थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको डम्मरसिंह कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०२ गतेको बिहान अन्दाजी ६:०० बजेको समयमा म घरबाहिर आउँदा प्रतिवादी माहासिंह कुँवरलाई आफ्नै घरको आँगनमा हातमा लट्ठी समातेर डुलिरहेको अवस्थामा देखेकी हुँ, पछि के भएको रहेछ भनी छरछिमेकमा बुझ्दा मिति २०७२।११।०१ गते राति अन्दाजी ११:०० बजेको समयमा प्रतिवादी माहासिंह कुँवरले मादक पदार्थ (रक्सी) सेवन गरी घरमा आई मृतक गंगादेवी कुँवरसँग झैझगडा गरी मृतकलाई काठको चिर्पटले हिर्काइ मारेर मृतकको लास गायब गर्ने मनसायले मृतकको लास घरबाट तान्दै घिसार्दै अन्दाजी ३०० मिटर टाढा रहेको प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ । घटनास्थलमा जाँदा मृतक गंगादेवी कुँवरको लास पूरै रक्ताम्य भई अर्धनग्न अवस्थामा देखेकी हुँ । प्रस्तुत वारदातभन्दा पूर्व पनि प्रतिवादीले मृतकसँग झैझगडा गरिरहन्थ्यो भन्‍नेसमेत बेहोराको झुपादेवी कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०२ गतेको बिहान अन्दाजी ६:०० बजेको समयमा म घरबाहिर आउँदा प्रतिवादी माहासिंह कुँवरलाई आफ्नै घरको आँगनमा हातमा लट्ठी समातेर डुलिरहेको देखेकी हुँ, पछि के भएको रहेछ भनी छरछिमेकमा बुझ्दा मिति २०७२।११।०१ गते राति अन्दाजी ११:०० बजेको समयमा निज प्रतिवादी माहासिंह कुँवरले मादक पदार्थ (रक्सी) सेवन गरी घरमा आई मृतक गंगादेवी कुँवरसँग झैझगडा गरी मृतकलाई प्रतिवादीले काठको चिर्पटले हिर्काइ हत्या गरी मृतकको लास प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ । घटनास्थलमा जाँदा मृतक गंगादेवी कुँवरको लास पूरै रक्ताम्य अवस्थामा देखेकी हुँ । मृतकको तल्लो शरीरमा कुनै पनि लुगा थिएन । प्रस्तुत वारदातभन्दा पूर्व पनि प्रतिवादीले मृतकसँग झैझगडा गरिरहन्थ्यो भन्‍नेसमेत बेहोराको देवी कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०२ गतेको बिहान अन्दाजी ६:०० बजेको समयमा घरभित्रबाट बाहिर आउँदा मेरो घर नजिकै खेतमा मान्छे लडिरहेको देखेको हुँ । पछि छरछिमेकमा खबर गरी गाउँलेहरूसँगै उक्त खेतबारीमा जाँदा गंगादेवी कुँवरको मृत लास अर्धनग्न अवस्थामा देखेकी हुँ । मृतक लासको तल्लो शरीरमा कुनै कपडा थिएन । मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले मृतक गंगादेवी कुँवरसँग झैझगडा गरी मृतकलाई प्रतिवादीले काठको चिर्पटले हिर्काई हत्या गरेपश्चात् मृतकको लास प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ भन्‍ने थाहा पाएकी हुँ भन्‍नेसमेत बेहोराको दुर्गा नेपालीको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गते म बेलुकीको खाना खाई सुतेको थिएँ । राति अं.११:०० बजेको समयमा प्रतिवादी माहासिंह कुँवर आफ्नो घर आँगनमा हो-हल्ला गरिरहेको सुनेको हुँ । निज प्रतिवादी सधैंजसो मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने गर्दथ्यो, भोलिपल्ट बिहान अं. ६:०० बजेको समयमा निज प्रतिवादी हातमा लट्ठी समातेर आफ्नै घर आँगनमा डुलिरहेको देखेको हुँ । मेरो बारीमा माटो घिस्रिएको देखेपछि के भएछ भनी माटो घिस्रिएकै ठाउँबाट हेर्दै जाँदा करिब अन्दाजी ३०० मिटर तल प्रेमसिंह कुँवरको खेतबारीमा मृतक गंगादेवी कुँवरको लास देखी छरछिमेकमा खबर गरी के भएको रहेछ भनी बुझ्दा मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले नागरिकता हराएको निहुँ बनाई आफ्नी पत्नी गंगादेवी कुँवरलाई काठको चिर्पटले हिर्काइ हत्यापश्चात् मृतक लास मेरो तरकारी बारी हुँदै प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ भन्‍ने कुरा थाहा पाएको हुँ । यसभन्दा पूर्व पनि प्रतिवादीले मृतकसँग झैझगडा गरिरहन्थ्यो भन्‍नेसमेत बेहोराको उदैसिंह कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गते दिउँसो अं. २:०० बजेको समयमा प्रतिवादी माहासिंह कुँवर बच्चाहरूको कपडा सिलाउन भनी मेरो छोरी पुतली भन्‍ने कल्पना कुँवर र भतिजी पट्टु कुँवरलाई लगी गाउँकै पसलमा गएका हुन् । मेरो छोरी र भतिजी अं.४:०० बजेतिर घरमा आएका र प्रतिवादी जेठाजु राति अं.११:०० बजेतिर गाली गर्दै मेरो घरमा आई ढोकामा ३/४ पटक लात्ताले हानी गाली गर्दै आफ्नो घर गएका 

थिए । म डरले आफूसँगै सुतेका कल्पना कुँवर र तेजेन्द्र कुँवरलाई लिई भागेर खेतबारीमा गएकी हुँ, मसँगै घरमा सुतेकी भतिजी पट्टु कुँवरलाई बोक्न नसकी घरमै छोडी गएकी हुँ । हामी खेतबारीमा जाँदा प्रतिवादी आफ्नो घरमा जोरले बोल्दै गाली बेइज्जत गरिरहेको आवाज सुनेकी थिएँ । सो राति खेतबारीमा सुती दोस्रो दिन बिहान उज्यालो हुँदा प्रतिवादी जेठाजु हातमा लट्ठी समातेर खेतबारीतिर डुलिरहेको देखी म बच्चाहरूलाई लिएर घरमा आएकी हुँ । घरमा आउँदा मृतक जेठानी दिदीलाई घरमा देखेन, आँगन र घरभित्र रगतको टाटा देखी छरछिमेकमा खबर गरेकी हुँ । मृतक दिदी घरमा नदेख्दा खोजतलास गर्दै जाँदा प्रेमसिंह कुँवरको गहुँको खेतबारीमा फालेको देखेकी हुँ । मृतक दिदीको हत्या प्रतिवादी जेठाजुले नै गरेको हो भन्‍नेसमेत बेहोराको तारादेवी कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गते राति अं.११:०० बजेको समयमा प्रतिवादी माहासिंह कुँवर घरमा पुगी मादक पदार्थ (रक्सी) को नशामा मृतकको नागरिकता हराएको विषयलाई लिएर मृतकलाई काठको चिरपटले कुटपिट गरी हत्यापश्चात् घरबाट लछार्दै, घिसार्दै प्रतिवादीकै घरबाट अं.३०० मिटर तल रहेको मेरो खेतबारीमा फालेको छ भन्‍ने खबर ऐ. २ गते बिहान ७:०० बजेतिर थाहा पाई मेरो खेतबारीमा गई हेर्दा मृतक गंगादेवी कुँवरलाई मृत अवस्थामा देखेको हुँ । प्रतिवादीले मृतकको टाउको र शरीरका अन्य भागमा समेत काठको चिरपटले प्रहार गरी हत्या गरेको थाहा पाएको हुँ । प्रतिवादी भारतबाट घरमा आएदेखि रक्सी सेवन गरी गाउँघरमा जो कोहीलाई पनि गालीगलौज गर्ने गर्दथ्यो भन्‍नेसमेत बेहोराको प्रेमसिंह कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गते दिउँसो बुबाले बहिनी पट्टु कुँवर र काकाको छोरी पुतली कुँवरलाई कपडा सिलाइदिन्छु भनी गाउँकै पसलमा गएका हुन् । निज दुवै बहिनी साँझ ४:०० बजेतिर घरमा आई मृतक आमाले खाना पकाई हामीले खाना खाई दुवै भाइबहिनी आमासँगै नसुती काकीको घरमा आई सुतेका 

थियौँ । राति अं.११:०० बजेतिर बुबा गालीगलौज गर्दै काकीको घरमा गई ढोकामा २/३ पटक लात्ताले हानेपछि बुबा हाम्रो घरतिर गएका हुन् । हाम्रो घरमा होहल्ला गालीगलौज हुँदा काकीले आफ्नी छोरी पुतली कुँवर र मलाई लगी खेतबारीमा गएका हुन् । मेरी बहिनी वर्ष ६ की पट्टु कुँवरलाई बोक्न नसकी काकीकै घरमा सुतेकै अवस्थामा छोडी गएका हौं । उक्त रातभरि हामी खेतबारीमा सुती बिहान घरमा आउँदा बुबा हातमा लाठी समातेर खेतबारीतिर डुलिरहेका थिए । घरमा आमालाई खोज्दा नदेखेपछि भित्र जाँदा रगतका टाटा देखेको हुँ । पछि आमालाई खोज्दै जाँदा आमाको मृत लास प्रेमसिंह कुँवरको खेतबारीमा देखेको हुँ । यसभन्दा पूर्व पनि बुबाले आमालाई कुटपिट गरिरहनु हुन्थ्यो भन्‍नेसमेत बेहोराको मृतकको छोरा तेजबहादुर कुँवरको घटना विवरण कागज ।

मिति २०७२।११।०१ गते दिउँसो ठुलाबुबा माहासिंह कुँवरले बहिनी पट्टु कुँवर र मलाई लगी कपडा सिलाइदिन्छु भनी गाउँकै पसलमा लग्दा पसल बन्द हुनाले बुबाले हामीलाई बिस्कुट किनी हामी घरमा आएका हौं । प्रतिवादी ठुलाबुबा हामीले खाना खाई सुतिसकेपछि राति अं.११:०० बजेतिर गालीगलौज गर्दै हामी सुतेको घरको ढोकामा ३/४ पटक लात्ताले हानी बुबा आफ्नो घरतिर गई ठुलीआमालाई गालीगलौज गर्दै कुटपिट गर्न थालेपछि मेरो आमाले मलाई र भाइ तेजबहादुर कुँवरलाई लगी खेतबारीमा गएका 

हौं । मेरी बहिनी वर्ष ६ की पट्टु कुँवरलाई बोक्न नसकी घरमै सुतेकै अवस्थामा छोडी रातभरि खेतबारीमै बसी भोलिपल्ट बिहान हामी खेतबारीबाट घरमा आउँदा ठुलाबुबा हातमा लाठी समातेर डुलिरहेका थिए । घरमा आई ठुलीआमालाई खोज्दा नदेखेपछि भित्र जाँदा रगतका टाटा देखेका हौं, पछि ठुलीआमालाई खोज्दै जाँदा आमाको मृत लास प्रेमसिंह कुँवरको खेतबारीमा देखेका हौं भन्‍नेसमेत बेहोराको पुतली भन्‍ने कल्पना कुँवरको घटना विवरण कागज ।

मृतक गंगादेवी कुँवरको मृत्युको कारण Blunt trauma to Head भन्‍नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन ।

मिति २०७२।११।०१ गते राति अन्दाजी ११:०० बजे प्रतिवादी माहासिंह कुँवरले मादक पदार्थ (रक्सी) सेवन गरी घरमा आई मृतक गंगादेवी कुँवरलाई सुतिरहेको अवस्थाबाट उठाई नागरिकता हराएको विषयमा गालीगलौज गरी काठको चिर्पटले कुटपिट गरी मारी मृतक गंगादेवी कुँवरको लास घरभित्रबाट तान्दै घिसार्दै घरदेखि ३०० मिटर टाढा रहेको प्रेमसिंह कुँवरको खेतबारीमा फालेको रहेछ भन्‍ने मिति २०७२।११।२ गते बिहान अं.७:०० बजे थाहा पाई घटनास्थलमा जाँदा गंगादेवी कुँवरलाई मृत अवस्थामा उत्तानो पारी फालेको देखेको हौं । प्रतिवादीले यसभन्दा पूर्व पनि मृतकसँग झैझगडा गर्दै आएको थियो भन्‍नेसमेत बेहोराको गणेशबहादुर कुँवरसमेतका जना-३ ले एकै मिलान हुने गरी लेखाइ दिएको वस्तुस्थिति मुचुल्का ।

मिति २०७२।११।०१ गतेको राति अन्दाजी ११:०० बजे प्रतिवादी माहासिंह कुँवरले रक्सी सेवन गरी आफ्नो घरमा आई पत्नी गंगादेवी कुँवरसँग आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र हराएको विषयलाई लिएर गालीगलौज झै-झगडा गरी काठ (बाँज) को चिरपटले मृतक गंगादेवी कुँवरको हत्या गरेकाले उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं.बमोजिम कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी माहासिंह कुँवरलाई सोही महलको १३(३) नं.बमोजिम सजाय हुन र प्रतिवादी माहासिंह कुँवरले हत्या गरेपश्चात् लास दबाउने छिपाउने मनसायले गहुँबारीमा लास फालेको भन्‍नेसमेत पुष्टि हुन आएकोले निज प्रतिवादी माहासिंह कुँवरको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ४ नं.बमोजिमको कसुर अपराध देखिँदा निज प्रतिवादी माहासिंह कुँवरलाई सोही महलको ४ नं.बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग पत्र । 

मिति २०७२।११।०१ गते बेलुकी म रक्सी सेवन गरी घरमा जाँदा मेरी श्रीमती मृतक खाना खाई सुतेकी थिइन् । मैले निजलाई खाना लगाउ भन्दा निजले आफैँ हाली खाउ भनी भन्दा मलाई रिस उठी नजिकै रहेको बाँजको काठले निज श्रीमतीको शरीरमा १०/११ पटक हिर्काइ कुटपिट गरेको हुँ । उक्त समयमा मेरो घरमा कोही थिएनन् । मेरा छोराछोरी र भाइबुहारी भाइको घरमा थिए । उनीहरू पनि राति मैले कुटपिट गरिराखेको समयमा डरले घरबाट भागेर गएका 

हुन् । अरू गाउँलेले थाहा पाएका थिए, तर कोही पनि आएनन् । मैले कुटपिट गरेपछि श्रीमती भागेर ढोकामा गएकी थिइन् । मैले भित्र आउ भन्दा नमानेपछि निजलाई ढोकाबाट धकेलेर घर तल आँगनमा फालेको हुँ । निज श्रीमतीलाई तलबाट घरभित्र जाउभन्दा निजले नाइँ म जाँदिन भनेपछि मलाई रिस उठी मैले निज श्रीमती आफैँ पनि घरभित्र आउन सक्छ वा अरू गाउँलेहरूले निजलाई भित्र लगी देलान् भन्‍ने डरले घरभन्दा २००/३०० मिटर पर घिसार्दै प्रेमसिंह कुँवरको गहुँबारीमा लगेर फालेको हुँ । उक्त समयमा निज श्रीमतीको मृत्यु भइसकेको थिएन । बिहान करिब ५:३० बजेतिर निज श्रीमती फालेको ठाउँमा गई हेर्दा निजको मृत्यु भइसकेको थियो । मेरो जाहेरी दरखास्तमा उल्लिखित बेहोरामा भनेबमोजिम मैले निज मृतक श्रीमतीलाई ढुङ्गा तथा धारिलो हतियारले हिर्काएको, भाइबुहारीको घरको ढोकामा लात्ताले हिर्काएको भन्‍ने बेहोरा झुट्टा हो । अरू बेहोरा ठिक साँचो हो । मृतक श्रीमतीको मृत्यु मेरै कुटपिटबाट भएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी माहासिंह कुँवरले सुरू अदालतमा गरेको बयान ।

मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले आफ्नी पत्नी गंगादेवी कुँवरलाई कुटपिट गरी हत्या गरेको हो । निज प्रतिवादी र मेरो घर नजिकै छ । दोस्रो दिन बिहान मृतकको लास प्रेमसिंह कुँवरको बारीमा देखेको हुँ भनी वादी नेपाल सरकारका साक्षी झुपादेवी कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले मृतकलाई कुटपिट गरी मारेको होला । उक्त दिन म र मेरो विवाहित छोरीलाई समेत प्रतिवादीले गालीगलौज गरेकाले म राति डरले खेतमा गई सुतेकी थिएँ । बिहान घर आउँदा रगत भएको ठाउँमा लिपपोत गरेको थियो र आँगनमा रगत थियो । मृतकको लास करिब घरबाट एक डेढ सय मिटर टाढा खेतबारीमा थियो । प्रतिवादीको घरमा भएको रगतका आधारमा प्रतिवादीले नै मृतकलाई मारेको हो भनी भनेकी हुँ भन्‍ने बेहोराको वादी नेपाल सरकारका साक्षी तारादेवी कुँवरले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले मृतकलाई नागरिकता हराएको विषयमा झै-झगडा हुँदा कुटपिट गरी मारेको हो भन्‍ने कुरा प्रतिवादीकै मुखबाट सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस शेरबहादुर कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले मृतकलाई कुटपिट गरी हत्या गरेको हुँ भनी हामी सबैसँग भोलिपल्ट बिहान भनेकाले थाहा पाएको हुँ । मृतकको लास प्रेमसिंह कुँवरको खेतबारीमा तल्लो शरीरमा कपडा नभएको अवस्थामा देखेको हुँ भन्‍ने बेहोराको वादी नेपाल सरकारका साक्षी उदयसिंह कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले मृतकलाई नागरिकता हराएको विषयमा काठको चिरपटले कुटपिट गरी हत्या गरेको हो भनी भोलिपल्ट बिहान प्रहरीसँग भन्‍ने क्रममा सुनी थाहा पाएको हुँ । मृतकको लास प्रेमसिंह कुँवरको खेतबारीमा फालेको छ भनी सुनी थाहा पाएको हुँ । मृतकको लास मैले हेरेन भन्‍ने बेहोराको जाहेरवाला चक्रबहादुर कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७२।११।०१ गते राति प्रतिवादी माहासिंह कुँवरले मृतकलाई नागरिकता हराएको विषयमा कुटपिट गरी हत्या गरेको हुँ भनी स्वयं प्रतिवादीले हामी सबैसँग भोलिपल्ट बिहान भनेकाले थाहा पाएको हुँ । मृतकको लास प्रेमसिंह कुँवरको खेतबारीमा प्रतिवादीको घरबाट करिब १०० मिटरको दुरीमा तल्लो शरीरमा कपडा नभएको अवस्थामा देखेको हुँ । मसहितका मानिसहरू बिहान गाउँनजिकै रहेको बजारबाट प्रतिवादीलाई समातेर ल्याएका हौं भन्‍ने बेहोराको वादी नेपाल सरकारका साक्षी विरबहादुर कुँवरले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी माहासिंह कुँवर कसुरमा साबित भई बयान गरेको, मृतकको घटनास्थल तथा लास प्रकृति मुचुल्काबाट पनि मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा घाउ चोटहरू देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण Blunt trauma to Head उल्लेख भएको र मौकामा बुझिएका वादी पक्षका साक्षीहरू झुमादेवी, तारादेवी, विरबहादुर कुँवर तथा जाहेरवालासमेतका व्यक्तिहरूले अभियोग दाबीलाई समर्थन हुने गरी बकपत्रसमेत गरेको आधार प्रमाणहरूबाट यी प्रतिवादीको कुटपिटकै कारणबाट मृतकको मृत्यु भएको भन्‍ने तथ्य प्रमाणित हुन आएको देखिँदा प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं.बमोजिमको कसुर गरेको ठहरेकाले सोही महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादीउपरको ज्यानसम्बन्धी महलको ४ नं.को अभियोग दाबी सम्बन्धमा सोको पुष्टि हुने सबुद प्रमाण वादी पक्षबाट पेस गर्न सकेको नदेखिँदा सो हदसम्म वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न सक्दैन भन्‍ने सुरू डोटी जिल्ला अदालतको मिति २०७३।०२।०३।२ को फैसला । 

मिति २०७२।११।०१ राति म पुनरावेदक प्रतिवादी घरमा अत्यधिक मदिरा सेवन गरी घरमा आउँदा खाना लगाउने विषयमा मृतक श्रीमती गंगादेवी कुँवरसँग भनाभन र धकेलपकेल हुँदा घरको ढोकाबाट निज मृतक गंगादेवी कुँवर लडी घरको आँगन हुँदै छिमेकी प्रेमसिंह कुँवरको गहुँबारीमा पुग्दा लड्ने क्रममा लागेको चोटको कारण निज मृतक श्रीमती गंगादेवी कुँवरको भवितव्यवश भएको मृत्युको कसुरमा म पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुरमा सोही महलको ५ नं. बमोजिमको सजाय हुनुपर्नेमा सुरू श्री डोटी जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्दा फौजदारी न्यायको मान्य सिद्धान्तको बर्खिलाप हुँदा सुरू फैसला पूर्णरूपले उल्टी गरी भवितव्यको कसुर कायम गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी माहासिंह कुँवरको पुनरावेदनपत्र । 

सुरू डोटी जिल्ला अदालतबाट मिति २०७३।२।३ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ छलफलको लागि श्री उच्च सरकारी वकिल कार्यालय दिपायललाई पुनरावेदनपत्रको नक्कलसमेत साथै राखी पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्‍ने उच्च अदालत दिपायलको मिति २०७४।४।२५ को आदेश ।

प्रतिवादीको मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी, मनसाय तथा पूर्वतयारी र योजनासमेत नदेखिएको, जोखिमी हतियारको प्रयोगसमेत नभएको, खाना नलाएको तथा नागरिकता हराएको विषयमा तत्काल उठेको रिस थाम्न नसकी काठको चिरपटले श्रीमतीलाई हिर्काउँदा सोही चोटको कारणले मृत्यु भएको वारदातको प्रकृतिबाट देखिएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको कसुरको अवस्था देखिँदा प्रतिवादी माहासिंह कुँवरलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहराएको सुरू डोटी जिल्ला अदालतको मिति २०७३।२।३ को फैसला नमिलेकोले उल्टी भई निज प्रतिवादी माहासिंह कुँवरलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत दिपायलबाट मिति २०७४।११।१३ मा भएको फैसला ।

पुनरावेदक म प्रतिवादी अत्यधिक मदिरा सेवन गरी घरमा आउँदा खाना लगाउने विषयमा मृतक श्रीमती गंगादेवी कुँवरसँग भनाभन र धकेलपकेल हुँदा घरको ढोकाबाट निज मृतक गंगादेवी कुँवर लडी घरको आँगन हुँदै छिमेकी प्रेमसिंह कुँवरको गहुँबारीमा पुग्दा लड्ने क्रममा लागेको चोटको कारण निज मृतक श्रीमती गंगादेवी कुँवरको भवितव्यवश भएको मृत्युको कसुरमा मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुरमा सोही महलको ५ नं. बमोजिम सजाय हुनुपर्नेमा सोही महलको १४ नं. बमोजिम सजाय गर्ने गरी भएको उच्च अदालतको फैसला मिलेको छैन । मृतक श्रीमतीप्रति पूर्वरिसिइवी पनि नभएको केवल नागरिकता हराएको विषयमा उठेको रिसले तत्काल मर्नसक्छ भन्‍ने नसोची होस नपुर्‍याई हेलचेक्र्याईं गरी लाठी ढुंगाले कुटपिट गरेको कारण मृत्यु हुन गएकोमा भवितव्य ठहर्‍याई भएको फैसला निकै नै चर्को भएको हुँदा सो फैसला उल्टी गरी सोही महलको ६(२) बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी माहासिंह कुँवरको पुनरावेदनपत्र ।

प्रतिवादीउपर किटानी जाहेरी परेको र सो जाहेरीलाई मौकामा बुझिएका साक्षीहरूको बकपत्रबाट समर्थित भइरहेको, घटनास्थल तथा लासजाँच मुचुल्कामा मृतकको टाउकोलगायत शरीरका विभिन्‍न भागमा घाउचोट देखिनुको साथै शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Blunt trauma to head भनी उल्लेख भएको, मौकामा तथा अदालतको बयानमा प्रतिवादीले मृतकलाई कुटपिट गरी गहुँबारीमा लगी फाली घरमा आई सुतेकोमा निजको भोलिपल्ट मृत्यु भएकोमा साबिती रहेको र सो कुरा मृतकको लासजाँच प्रकृति मुचुल्काबाट समेत पुष्टि भएको अवस्थामा निज प्रतिवादीको कार्य आवेश नियन्त्रण गर्न नसकी गरेको नभई मृतकलाई पटकपटक काठले टाउकोमा प्रहार गरी घिसार्दै घरबाट तल लगी फालेको देखिएकोले निजको कार्य आवेशमा आई नभई मार्ने नियतले नै मारेको भन्‍ने देखिएकोले निज प्रतिवादीलाई माग दाबीभन्‍दा कम सजाय गर्ने गरेको फैसला नमिलेकोले माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री टेकराज भुषालले प्रतिवादीउपर किटानी जाहेरी परेको र सो जाहेरीलाई मौकामा बुझिएका साक्षीहरूको बकपत्रबाट समर्थित भइरहेको, घटनास्थल तथा लासजाँच मुचुल्कामा मृतकको टाउकोलगायत शरीरको विभिन्‍न भागमा घाउ चोट देखिनुको साथै शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Blunt trauma to head भनी उल्लेख हुनुको साथै प्रतिवादीले मौकामा तथा अदालतको बयानमा मृतकलाई कुटपिट गरी गहुँबारीमा लगी फाली घरमा आई सुतेको, भोलिपल्ट मृतकको मृत्यु भएको तथ्यमा साबित भएको हुँदा उच्च अदालत दिपायलबाट प्रतिवादीलाई अभियोग मागदाबीभन्दा घटी सजाय दिने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

मिसिल संलग्न कागजात अध्ययन गरी विद्वान्‌ उपन्यायाधिवक्ताको बहससमेत सुनी प्रस्तुत मुद्दामा उच्च अदालत दिपायलको मिति २०७४।११।१३ को फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकार तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७२।११।१ गतेको राति अन्दाजी ११:०० बजे प्रतिवादी माहासिंह कुँवरले रक्सी सेवन गरी आफ्नो घरमा आई श्रीमती गंगादेवी कुँवरसँग आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र हराएको विषयलाई लिएर गालीगलौज झै-झगडा गरी काठ (बाँज) को चिरपटले मृतक गंगादेवी कुँवरको हत्या गरेकाले उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं.बमोजिम कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी माहासिंह कुँवरलाई सोही महलको १३(३) नं.बमोजिम सजाय हुन र प्रतिवादी माहासिंह कुँवरले हत्या गरेपश्चात् लास दबाउने छिपाउने मनसायले गहुँबारीमा लास फालेको भन्‍नेसमेत पुष्टि हुन आएकोले निज प्रतिवादी माहासिंह कुँवरको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ४ नं.बमोजिमको कसुर अपराध देखिँदा निज प्रतिवादी माहासिंह कुँवरलाई सोही महलको ४ नं.बमोजिम थप सजाय हुनसमेत अभियोग माग दाबी रहेकोमा निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं.बमोजिम कसुर गरेको ठहरेकाले सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र प्रतिवादीउपरको ज्यानसम्बन्धी महलको ४ नं.को अभियोग दाबी पुग्न नसक्ने ठहर गरेको डोटी जिल्ला अदालतको फैसला केही उल्टी भई प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने उच्च अदालत दिपायलको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयको लागि पेस भएको पाइयो ।

३. यसमा मिति २०७२।११।१ गतेको राति अन्दाजी ११:०० बजे प्रतिवादी माहासिंह कुँवरले रक्सी सेवन गरी आफ्नो घरमा आई पत्नी गंगादेवी कुँवरसँग आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र हराएको विषयलाई लिएर गालीगलौज झैझगडा गरी काठ (बाज) को चिरपटले मृतक गंगादेवी कुँवरको हत्या गरी लास दबाउने छिपाउने मनसायले गहुँबारीमा लास फालेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्तअनुसार प्रस्तुत मुद्दाको अनुसन्धान कारबाही प्रारम्भ भएको देखिन्छ । डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ पालेबनस्थित पूर्वमा गोरेटो बाटो, पश्चिममा प्रेमबहादुर कुँवरको खेतबारी, उत्तरमा प्रेमबहादुर कुँवरको घर र दक्षिणमा शंकर नेपालीको घर, यति चार किल्लाभित्रमा रहेको प्रेमबहादुर कुँवरको खेतबारीको बिच खेतमा पूर्व टाउको, पश्चिम खुट्टा, माथिल्लो शरीरमा कालो सेतो बुट्टा भएको चोलो लगाएको, भित्र हरियो ब्लाउजसमेत लगाएको, तल्लो शरीरमा केही पनि लुगा नभएको, डोटी जिल्ला गाँजरी गा.वि.स. वडा नं. २ बस्ने गंगादेवी कुँवरको मृतक लास रहेको, सो लासको कपालमा माटो र रातो पदार्थ लागेको, अनुहारमा रगत जस्तो रातो पदार्थले लतपतिएको, दायाँ आँखीभौँमा निलडाम, छातीमा निलडाम, टाउकोपछाडि गोठीमा १ इन्च लम्बाइ १/२ इन्च गहिरो घाउ, टाउको बिच भागमा १ इन्च लामो घाउ, खुट्टा, तिघ्रा निलडाम भई रगत जस्तो रातो पदार्थ सुकेको अवस्थामा रहेको भन्‍ने घटनास्थल लासजाँच प्रकृति मुचुल्काबाट देखिन्छ ।

४. पुनरावेदक प्रतिवादीले घरमा आई मृतक श्रीमती गंगादेवी कुँवरलाई खाना लगाउ भन्दा निजले आफैँ लगाएर खाउ भनी खाना लगाउन नमानेपछि प्रतिवादी र मृतकबिच सामान्य झगडा भई प्रतिवादीलाई तत्काल रिस उठी मृतकलाई काठको लाठाले प्रहार गरी कुटपिट गर्दै घरको कोठाको भित्रबाट आँगनमा फाली आँगनबाट तल भिरालोमा फाली हत्या गरेको भन्ने यी पुनरावेदक प्रतिवादीको अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानबाट देखिँदा यी पुनरावेदक प्रतिवादीकै कर्तव्यबाट मृतक निजकी श्रीमती गंगादेवी कुँवरको मृत्यु भएकोमा विवाद देखिँदैन । 

५. पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्रमा आफूले गरेको वारदात भवितव्यको वारदात भएको भनी जिकिर लिएतर्फ विचार गर्दा भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । भवितव्यमा प्रतिवादीको मार्ने मनसाय वा बदनियत हुँदैन । सबै कुरा शुद्ध मनसायले गर्दागर्दै पनि सोच्दै नसोचेको अप्रत्याशित परिणाम उत्पन्‍न भई मानिसको मृत्यु हुन पुग्छ । यस सम्बन्धमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा भएको व्यवस्थालाई हेर्दा "ज्यान लिने इबिलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्‍ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भन्ने कानूनी व्यवस्था रहेको 

देखिन्छ । उक्त व्यवस्था हेर्दा भवितव्यको वारदात कार्य हुनको लागि कुनै काम गर्दा अर्को दुष्परिणाम निस्केला जस्तो नदेखिएको अवस्थामा अकस्मात नचिताएको परिणाम निस्कन गएको हुनुपर्दछ । यसरी फौजदारी अपराधमा हुने आपराधिक तत्त्वमध्येको मनसाय तत्त्वको अभाव रहने हुन्छ । आफूले गरेको कामको परिणामबाट मानिस मर्न सक्छ भन्‍ने ज्ञान यसमा रहँदैन । कुनै वारदात भवितव्यबाट घट्न गएको हो भनी जिकिर लिने पक्षले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन । उचित सतर्कता र सावधानी राखिएको थियो भन्‍ने कुरा प्रमाणित गर्नुपर्दछ । त्यस्तो अवस्थामा ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको भवितव्यको कसुर स्थापित हुन सक्दछ । तर प्रस्तुत वारदातमा भवितव्यको लागि आवश्यक तत्त्वको अभाव देखिन्छ । "आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निम्ताउँदैन भन्‍नेतर्फ कर्ता सचेत भई सो कार्यतर्फ लक्षित रहेको अवस्थामा दुर्भाग्यवश मानिसको मृत्यु भएमा त्यो भवितव्य हुने कानूनी मनसाय देखिँदा भवितव्य हत्यालाई संयोजित घटनाको रूपमा 

लिइन्छ । संयोगवश मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसाय प्रेरित हत्याको रूपमा हेरिँदैन र मनसाय तत्त्वको अभावको कारण यस्तो वारदातलाई आपराधिक गाम्भीर्य घटाउने परिस्थितिको रूपमा लिइन्छ । मनसाय तत्त्वको अभावका साथै भवितव्यको घटनामा आवेशपूर्ण परिस्थितिलाई पनि वर्जित गरिन्छ । आवेशपूर्ण स्थितिमा पीडित (मृतक) उपर कर्ता आक्रामक अवस्थामा रहन्छ, जुन भवितव्यमा नहुने" भनी जितबहादुर बुढाथोकी विरूद्ध कृष्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार कर्तव्य ज्यान मुद्दा (ने.का.प.२०६६, असोज, अङ्क ६, नि.नं.८१६७) मा सिद्धान्त प्रतिपादन भएकोसमेत देखिन्छ । यसर्थ प्रस्तुत वारदातमा प्रतिवादीले अदालतमा आएर गरेको साबितीलाई हेर्दा निजले आफूले नजिकै रहेको काठले १०/११ पटक हिर्काएको र भागेर ढोकामा गएकीमा भित्र आउ भन्दा नमानेपछि आँगनमा फालेको र पछि प्रेमसिंह कुँवरको गहुँबारीमा लगी फालेको हुँ भनी उल्लेख गरेको र सो बयानलाई घटना विवरणको कागज गर्ने व्यक्तिहरूको भनाइ र शव परीक्षण प्रतिवेदनले समेत समर्थन गरेको पाइन्छ । यसप्रकार काठले टाउको जस्तो संवेदनशील स्थानमा हिर्काउँदा मानिस मर्न सक्छ भन्‍ने सामान्य समझको व्यक्तिले बुझ्न सक्ने विषय भएको हुँदा त्यसरी कुटपिट गरी मार्ने कार्यलाई भवितव्यको संज्ञा दिन नसकिने हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. मा ऐ. को ६ नं. बमोजिम सजाय हुनुपर्ने हो भन्‍ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

६. अब प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम मनसायप्रेरित हत्या हो भन्‍ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको १३(३) नं. अन्तर्गतको मनसायप्रेरित हत्या हो वा १४ नं. अन्तगर्तको आवेशप्रेरित हत्या हो भन्ने सम्बन्धमा फौजदारी मुद्दामा मनसाय तत्त्वलाई विशेष रूपले हेरिन्छ । मनसायसहित गरेको आपराधिक कार्य र मनसायबिना गरेको कार्यलाई छुट्टाछुट्टै रूपमा लिई सजायको पनि फरक व्यवस्था गरिएको 

हुन्छ । ज्यानसम्बन्धीको १३ नं. को अवस्था भनेको मनसायप्रेरित हत्या हो, जसमा अभियुक्तको आपराधिक मनसाय (Mens Rea) र आपराधिक कार्य (Actus Reus) दोषयुक्त हुनुपर्ने हुन्छ । यसमा अभियुक्तले मनसाय प्रेरित भई वारदात घटाउने योजना, षड्यन्त्र, तयारीका चरणहरू पार गरी आपराधिक कार्यको चरणमा पुगेको हुनुपर्ने हुन्छ । मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनैपर्ने, मार्नुपर्ने खास उद्देश्य (Motive) भई त्यसको लागि तयारी र योजना जस्ता पूर्ण अपराध हुन आवश्यक सबै कुराहरू रहनुपर्ने हुन्छ । प्रस्तुत वारदात पुनरावेदक प्रतिवादीले रक्सी सेवन गरी घरमा गई खाना लगाउ भन्दा श्रीमतीसँग विवाद भई विवादको कारणबाट घटना घटेको 

देखिन्छ । प्रतिवादीको मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी मनसाय तथा पूर्वतयारी र योजनासमेत देखिँदैन । मृतकलाई जोखिमी हतियार प्रहार गरी मारेको अवस्था पनि देखिँदैन । प्रतिवादीले मृतकलाई आवेशमा आई प्रहार गरी मारिसकेपछि लासलाई गहुँबारीमा लगी फालेकोले उक्त वारदात मनसायप्रेरित हो कि भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादीले लासलाई वारदातस्थलभन्दा अन्यत्र लगी फाल्ने कार्य गरेको भन्नेमा विवाद देखिँदैन । प्रतिवादीको मार्ने मनसाय थियो वा थिएन भनी मृतकलाई मार्ने अवस्थासम्मको अवधिलाई हेरिनुपर्ने हुन्छ । लासलाई फाल्ने कुरा भनेको मृत्युपछिको अवस्था हो । प्रतिवादीले मारिसकेपछि लास कहाँ राख्यो वा कसरी फाल्यो भन्ने कुराले प्रतिवादीको मार्नुपूर्वको मनसायलाई सामान्यतया प्रतिबिम्बित गर्दैन । प्रतिवादीको मृतकलाई मार्ने अवस्थासम्म के मनसाय थियो भनी हेर्नुपर्ने हुन्छ र सोही आधारमा प्रतिवादीउपर आपराधिक दायित्व रहन्छ । प्रस्तुत वारदातमा प्रतिवादीको मृतकलाई मार्नुपर्नेसम्मको रिसइवी, मनसाय, पूर्वयोजना र तयारी पुष्टि हुन नआएको अवस्थामा लास वारदातस्थलबाट टाढा लगी फालेको भन्ने आधारमा मात्र प्रतिवादीले ज्यानसम्बन्धी १३(३) नं.बमोजिमको कसुर गरेको भन्‍ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

७. यसप्रकार प्रतिवादीको मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसिइवी मनसाय तथा पूर्वतयारी र योजनासमेत नदेखिएको, जोखिमी हतियारको प्रयोगसमेत नभएको, खाना नलाएको तथा नागरिकता हराएको विषयमा भएको भनाभन र व्यवहारबाट तत्काल उठेको रिस थाम्न नसकी काठको चिरपटले श्रीमतीलाई हिर्काउँदा सोही चोटको कारणले मृत्यु भएको वारदातको प्रकृतिबाट देखिएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको कसुरको अवस्था देखिई प्रतिवादी माहासिंह कुँवरलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर गरेको उच्च अदालत दिपायलको मिति २०७४।११।१३ को फैसला मनासिब देखिन्छ ।

८. तसर्थ, माथि विवेचित आधार र कारणबाट प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी सुरू डोटी जिल्ला अदालतबाट भएको फैसला नमिलेबाट सो फैसला केही उल्टी भई प्रतिवादी माहासिंह कुँवरलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको १० वर्ष कैद सजाय हुने ठहर गरेको उच्च अदालत दिपायलको मिति २०७४।११।१३ को फैसला सदर हुने ठहर्छ । अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजाय हुनुपर्दछ भन्‍ने पुनरावेदक वादी नेपाल सरकार र मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. को कसुरमा सोही ऐनको ६ नं. बमोजिम सजाय हुनुपर्नेमा सोही ऐनको १४ नं. बमोजिम सजाय गरेको मिलेन भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपिसहित सोको जानकारी महान्यायाधिवक्ताको कार्यालय र पुनरावेदक प्रतिवादीलाई दिई प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.सुष्मालता माथेमा

 

इजलास अधिकृत: शोभाकर खरेल 

इति संवत् २०७७ साल असार २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु