शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०७९७ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७७।१०।२६

 

मुद्दा : मानव बेचबिखन तथा ओसारपसार

 

०७३-CR-०३२३

पुनरावेदक / प्रतिवादी : अमासुलाल राजवंशीको छोरा झापा जिल्ला साबिक अनारमनी गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय भद्रपुर झापामा थुनामा रहेको वर्ष २४ को भवानी राजवंशी

विरूद्ध

प्रत्यर्थी / वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा नं.१० बस्ने मित्र वि.क. समेतको जाहेरीले नेपाल सरकार

 

०७३-CR-०३४०

पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला गमरिया गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा रहेको वर्ष २६ को जुम्राती बैठा

विरूद्ध

प्रत्यर्थी / वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा न.१० बस्ने मित्र वि.क. समेतको जाहेरीले नेपाल

 

०७३-CR-०४४२

पुनरावेदक / प्रतिवादी : जिल्ला झापा अनारमनी गा.वि.स. वडा नं.१ बस्ने रामलाल ठटालको छोरा हाल जिल्ला कारागार कार्यालय भद्रपुर झापामा थुनामा रहेको मौसम ठटाल

विरूद्ध

प्रत्यर्थी / वादी : झापा जिल्ला अनारमनी गा.वि.स. वडा नं.१० बस्ने मित्र वि.क.समेतको जाहेरीले नेपाल सरकार

 

फौजदारी कानूनको प्रयोग गर्दा जुन कार्यका लागि कानूनले जे जुन सजायको व्यवस्था गरेको छ, सोहीबमोजिमको कानून प्रयोग गरिनुपर्दछ । कानूनको परिधि नाघेको कुनै एउटा तथ्यको आधारमा ठुलो कसुरजन्य कार्य गर्न लागेको कुराको अनुमान गरी शंकाकै आधारमा गम्भीर प्रकृतिको कसुर गरेको भनी ठहर गर्नु हामीले अनुशरण गरी आएको फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने । 

(प्रकरण नं.४)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने, विद्वान् अधिवक्ताहरू श्री सीता खनाल र श्री सुरेशकुमार पौडेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

 

सुरू फैसला गर्ने :

माननीय न्यायाधीश श्री रमेशकुमार खत्री

झापा जिल्ला अदालत

 

पुनरावेदन तहमा फैसला गर्ने: 

माननीय मुख्य न्यायाधीश श्री मीरा खड्का

माननीय न्यायाधीश श्री रमेश पोखरेल

पुनरावेदन अदालत इलाम

 

फैसला

न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र यस अदालतको ठहर यसप्रकार छ:

तथ्यगत बेहोरा

मिति २०६९।१२।२० गते प्रतिवादीहरू जुम्राती बैठा, रामलखन यादव, मौसम ठटाल, भवानी राजवंशी र रोशन महरासमेतले हाम्रा वर्ष १५ की M-१, वर्ष १६ की M-२, वर्ष १७ की M-३, वर्ष १६ की M-४, वर्ष १८ की M-५, उपनाम गरेका छोरीहरूलाई भारत गएर होटलमा डान्स गर्दा दिनको भा.रू. १२००।- हुन्छ भनी प्रलोभनमा पारी झापा जिल्ला अनारमनी ९ मा जम्मा पारी इटहरी पुर्‍याई जनकपुर जानलाई तयारी भएको अवस्थामा हामीले थाहा पाएर इटहरीको बसपार्कबाट फर्काई ल्याएका हौं । आर्थिक प्रलोभनमा पारी फकाइ भारतमा लगी डान्समा लगाउने भनी झुक्याई बेचबिखन गर्ने यी प्रतिवादीहरूलाई कानूनबमोजिम गरिपाउँ भन्ने मित्र वि.क. समेतको जाहेरी दरखास्त । 

जिल्ला झापा अनारमनी गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा गा.वि.स. भवन कम्पाउन्ड, पश्चिममा महेन्द्ररत्न उ.मा.वि., उत्तरमा दुर्गा भगवती मन्दिर, दक्षिणमा सैनिक मोड जाने बाटो भएको चार किल्ला बिचमा M-१, M-२, M-३, M-४, M-५ उपनाम गरेका बालिकाहरूलाई मिति २०६९।१२।२० गते प्रतिवादीहरू जुम्राती बैठा, रामलखन यादव, मौसम ठटाल, भवानी राजवंशी र रोशन महरासमेतले मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले फकाइ लगेको भन्ने घटनास्थल मुचुल्का । 

मिति २०६९।१२।२० गते बिहान ९։३० बजेको समयमा मैले चिनेका भवानी राजवंशी, रोशन महरा, मौसम ठटाल र पछि नाम थाहा भएका रामलखन यादवसमेत अनारमनी -९ स्थित विद्यालय अगाडि बसिरहेका थिए । म M-१ लगायत M-२, M-३, M-४, M-५ उपनाम गरेका पाँच जना सो स्थानमा पुगेपछि निजहरूले सर्लाहीको होटलमा डान्स गर्दा दिनको भा.रू. १२००।- हुन्छ भनेकाले हामीहरू बिर्तामोडबाट इटहरी पुगेपछि प्रहरी र आफन्तहरूले हामीलाई फेला पारेर फर्काई ल्याएको हो । इटहरीमा पुगेपछि प्रतिवादीहरूले हामीलाई लोभ-लालचमा पारी डान्स गर्ने बहानामा भारत लगी बिक्री गर्न लागेको थाहा पाएका हौं । निजहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने पीडितहरू M-१, M-२, M-३, M-४, M-५ ले गरेको एकै मिलानको प्रमाणित बयान । 

म गौरव सङ्गीत परिवारमा डान्स सिकी विभिन्न कार्यक्रममा डान्स गर्छु । भारतको बंग्रा बजारमा गई डान्स गर्दा राम्रै पैसा कमाइ हुन्छ भनी हामी रोशन महरा, भवानी राजवंशी, जुम्राती बैठा र रामलखन यादवसमेतले सल्लाह गरी गाउँका चिनजानका M-१, M-२, M-३, M-४ र M-५ समेतलाई मिति २०६९।१२।२० गते अभिभावकलाई जानकारी नगराई जाने क्रममा इटहरी पुग्दा पीडितहरूको बुबा आमाले थाहा पाई फेला पारी निजहरूलाई फर्काई ल्याएको हो । मैले निजहरूलाई डान्स गर्दा भा.रू. १२००।- हुन्छ भनी प्रलोभनमा पारी लगेको हुँ भन्ने बेहोराको प्रतिवादी मौसम ठटालले अनुसन्धानको क्रममा गरेको बयान । 

मिति २०६९।१२।२० गते मलगायत भवानी राजवंशी, मौसम ठटाल, जुम्राती बैठा र रामलखन यादवसमेतको योजनाअनुसार M-१, M-२, M-३, M-४ र M-५ उपनाम गरेका पीडितहरूलाई डान्स गर्दा पैसा कमाइ हुन्छ भनी निजहरूको अभिभावकलाई समेत नभनी इटहरीसम्म पुर्‍याउँदा पीडितहरूको अभिभावकले थाहा पाएका हुन् । इटहरी पुगेपछि जुम्राती बैठा र रामलखन यादवले भारतको बंग्रा बजारमा गई नाच्दा एकजना बराबर भारतीय रूपैयाँ १२००।- हुन्छ भनी कुरा गरेका हुन् । मसमेतले पीडितहरूलाई नेपालको सर्लाही गमरियामा नाच्न जाने भनी बताएको हो । निज जुम्राती बैठा र रामलखन यादवले हामीलाई समेत नभनी भारत पुर्‍याई बिक्री गर्ने उद्देश्य थियो 

कि ? सो कुरा मलाई थाहा भएन भन्ने प्रतिवादी रोशन महराले अनुसन्धानको क्रममा गरेको बयान । 

M-१, M-२, M-३, M-४ र M-५ उपनाम गरेका पीडितहरूलाई मैले पहिलादेखि नै चिन्दै आएको छु । रोसन महरा, मौसम ठटाल, जुम्राती बैठा र रामलखन यादवसँग मेरो चिनजान भई मिति २०६९।१२।२० गते जाने टुङ्गो गरी अनारमनी –९ मा जम्मा भई पीडितहरूको अभिभावकलाई समेत नभनी इटहरीसम्म पुग्दा अभिभावकलाई थाहा भएको हो । इटहरीमा पुगेपछि रामलखन यादव र जुम्राती बैठासमेतले भारत बंग्रा बजारमा एकचोटी नाच्दा भा.रू. १२००।- हुन्छ भनी कुरा गरेकोले निज पीडितहरूलाई भारतको बंग्रा बजार जाने कुरा इटहरीमा पुगेपछि मात्र थाहा भएको हो । पीडितहरूलाई भारत पुर्‍याएपछि रामलखन यादव र जुम्राती बैठाले के गर्ने थिए ? यो कुरा मलाई थाहा भएन भन्ने प्रतिवादी भवानी राजवंशीले अनुसन्धानको क्रममा गरेको बयान । 

भवानी राजवंशी, रोशन महरा, मौसम ठटाल र रामलखन यादवसमेतसँग मेरो चिनजान भएको र निजहरू नाच्ने काम गर्ने हुँदा म र रामलखन यादवले गाउँमा केटीहरूसमेत खोजौं, दिनको १०००।- देखी १२००।- सम्म हुन्छ भनेकोले सोहीअनुसार मिति २०६९।१२।१९ गते मसमेत झापा आई साथीहरूसँग पीडितहरू M-१, M-२, M-३, M-४ र M-५ समेत इटहरी पुगेपछि पीडितहरूको अभिभावक आई निजहरूलाई लिएर गएका हुन् । साथीहरू भवानी राजवंशी, रोशन महरा र मौसम ठटाललाई ती पीडितहरूलाई भारत लाने कुरा थाहा थिएन । म र रामलखन यादवले मात्र उक्त सल्लाह गरेको हो भन्ने प्रतिवादी जुम्राती बैठाले अनुसन्धानको क्रममा गरेको बयान । 

मिति २०६९।१२।२० गते जाहेरवालाको छोरीहरू M-१, M-२, M-३, M-४ र M-५ समेत हराएको हल्ला सुनी बुझ्दा इटहरीबाट प्रहरी र अभिभावकले फेला पारी ल्याएका रहेछन् । पीडितहरूलाई प्रतिवादी जुम्राती बैठा, भवानी राजवंशी, रोशन महरा, मौसम ठटाल र रामलखन यादवसमेतले सर्लाहीमा होटल रेष्टुरेन्टमा डान्स गर्ने बहानामा भारतको यु.पि. बंग्रा बजार लगी बिक्री गर्ने योजना बनाई लगेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्ने रूद्र विश्वकर्मा, गोविन्द विश्वकर्मा, पुष्पा दाहाल र रूपा न्यौपानेको एकै मिलानको घटना विवरण कागज । 

प्रतिवादीहरू जुम्राती बैठा, रामलखन यादव, मौसम ठटाल, भवानी राजवंशी र रोशन महराले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) (क) बर्खिलाप कसुर गरेको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १५(१)(ङ)(२) अनुसार सजाय गरी पीडितहरूलाई सोही ऐनको दफा १७ अनुसार मनासिब माफिकको क्षतिपूर्तिसमेत प्रतिवादीहरूबाट भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र मागदाबी ।

पीडितहरू M-१, M-२, M-३, M-४ र M-५ ले सर्लाहीमा डान्स कार्यक्रममा जाउँ, तिमी पनि हामीहरूसँग हिँड, गाउँको मान्छे अभिभावक पनि हुन्छ भनेकाले मैले साथीहरू भवानी राजवंशी र मौसम ठटाललाई पनि भनी हामी पीडितहरूसँग डान्स गर्न सर्लाही हिँडेका हौं । रामलखन यादव र जुम्राती बैठासँग पीडितहरूको के कस्तो कुरा भएको थियो सो सम्बन्धमा मलाई केही थाहा छैन । सुनसरीको इटहरीमा पुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मसमेत भई बिक्री गर्ने उद्देश्यले लगेको भन्ने अभियोग झुठ्ठा हो । अभियोग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रोशन महराले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादीमध्येका रामलखन यादव ग्रुप डान्स गराउने, मेलामा डान्स देखाउने काम गर्ने भएकाले निजले बिर्तामोडबाट डान्स गर्ने केटीहरू ल्याउनुपर्ने छ भनी मलाई गाउँबाट साथमा लिई आएका हुन् । म निजसँग बिर्तामोड आई पीडितहरू M-१, M-२, M-३, M-४, M-५ र प्रतिवादीहरू मौसम ठटाल, भवानी राजवंशी, रोशन महरासमेत सर्लाही जानका लागि इटहरीमा टिकट लिन खोज्दा प्रहरीले पक्राउ गरेको हो । मैले पीडितहरूलाई लगेको होइन । मैले कुनै बेचबिखनसम्बन्धी कार्य नगरेको हुँदा मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जुम्राती बैठाले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादीमध्येका रोशन महराले सर्लाहीमा सांस्कृतिक कार्यक्रम भएको हुँदा एक दिनको १०००।- देखि १२००।- सम्म पाइन्छ, नृत्य देखाउन सर्लाही जाऔं भनेकाले रोशन महरा, मौसम ठटाल र अन्य ५ जना केटी साथीहरूसमेत भई मिति २०६९।१२।२० गते बस चढी सर्लाहीतर्फ गएका थियौं । सो दिनको २/३ बजे इटहरी बसपार्कमा हामी, पछि नाम थाहा भएका जुम्राती बैठा भन्ने व्यक्ति र सँगै गएका पीडितहरूलाई पक्राउ गरी ल्याएको हो । म सर्लाहीसम्म जान भनी हिँडेको थिएँ । पीडितहरूलाई बेचबिखन गर्न लगेको छैन । अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भवानी राजवंशीले सुरू अदालतमा गरेको बयान । 

गाउँकै केटीहरू डान्सका लागि सर्लाही जाने भएकाले प्रतिवादी रोशन महरा र भवानी राजवंशीसमेत सोही कार्यक्रमका लागि जाने भएकोले म पनि डान्स सिकाउने हुँदा मिति २०६९।१२।२० गते गाउँकै ५ जना केटीहरू, हामी ३ जना प्रतिवादीहरू र अन्य २ जना नचिनेका प्रतिवादीहरूसमेत भई सर्लाही जान बिर्तामोडबाट गाडी चढी इटहरी पुगेपछि प्रहरीले पक्राउ गरेको हो । म निर्दोष भएको हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी मौसम ठटालले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादीमध्येका रामलखन यादवका नाउँमा जारी भएको म्याद मिति २०७०।४।१६ मा तामेल भई म्यादमा हाजिर नभई सुरू म्यादै गुजारी बसेको । 

तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू जुम्राती बैठा, मौसम ठटाल, भवानी राजवंशी र रोशन महरा दोषी देखिँदा पछि ठहरेबमोजिम हुने नै हुँदा हाललाई मुलुकी ऐन अ.बं. ११८ नं. को देहाय (२) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०७०।१।१० को थुनछेक आदेश । 

मिति २०६९।१२।२० गते कक्षा ६ मा अध्ययन गर्ने छोरीहरूलाई जाहेरीमा उल्लिखित प्रतिवादीहरूले डान्स सिकाउने र होटलमा काम लगाइदिने भनी लगेका रहेछन् । सोही दिन बेलुकी जिल्ला सुनसरी इटहरी बजारमा छोरीहरूलाई भेटी सो स्थानबाट प्रहरीको गाडीमा राखी इलाका प्रहरी कार्यालय, बिर्तामोड ल्याएको हो । मेरो छोरीसमेत ५ जनालाई विद्यालयबाटै प्रतिवादीहरूले अभिभावकलाई थाहा जानकारी नदिई नाचगानको लागि लगेको नभई बिक्री गर्नका लागि लगेको हो भन्नेसमेत बेहोराको जाहेरवाला मित्र विश्वकर्माले सुरू अदालतमा गरेको बकपत्र । 

छोरीहरू विद्यालय गएको अवस्थामा मिति २०६९।१२।२० मा नचिनेका जाहेरीमा उल्लिखित प्रतिवादीहरूले जिल्ला सुनसरी, इटहरीमा पुर्‍याएको थाहा पाई हामीले इलाका प्रहरी कार्यालय अनारमनीमा खबर गरी छोरीहरू र प्रतिवादीहरूसमेतलाई ल्याइएको हो । हामीलाई थाहा जानकारी नदिई बेचबिखन गर्न लगेको भनी जाहेरी दिएको हो । हाल बुझ्दा नाचगान सिकाउन लगेको भन्ने सुनेको मात्र हो भन्नेसमेत बेहोराको जाहेरवाला उपासुसिंह राजवंशीले सुरू अदालतमा गरेको बकपत्र ।

स्कुलबाट गाउँका मैले नाम बताउन नसक्ने छिमेकी केटाहरू ३ जना र सर्लाही जिल्लाको १ जना मधेसी जातको मानिससमेत भई नाच्न-गाउन भनी हाम्रा छोरीहरूलाई ललाई-फकाई हाम्रो मन्जुरीबेगर लगेका हुन् । नाच्न लगेको या बेच्न लगेको हो ? उद्देश्य पूरा नभई इटहरीबाटै हामीले निजहरूलाई फर्कायौं भन्नेसमेत बेहोराको जाहेरवाला कल्पना थापाले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरूले हामीलाई नसोधी हाम्रा छोरीहरूलाई ललाई-फकाई नाच्न भनी लगेका रहेछन् । इटहरीमा कल्पना थापाले प्रहरीमा फोन गरी छोरीहरू र प्रतिवादीहरूलाई समेत पक्राउ गरिएको हो । इटहरीबाट नै कल्पनाले निजहरूलाई बिर्तामोड ल्याएको हो भन्नेसमेत बेहोराको जाहेरवाला चिन्ता चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरूले पैसाको प्रलोभन देखाई हाम्रा छोरीहरूलाई इटहरी पुर्‍याएको अवस्थामा पक्राउ गरेर ल्याएको हो । इटहरी लानेमा मौसम ठटाल, रोशन महरा र भवानी राजवंशीसमेतले स्कुलबाट लगेका हुन् । नाचगान गरेर पैसा कमाउने उद्देश्यले लगेको 

होला । बेच्न लगेको शंकाको आधारमा जाहेरी दिएको हो, हाल बुझ्दा नाच्न गएका रहेछन् भन्नेसमेत बेहोराको जाहेरवाला कमला वि.क.ले सुरू अदालतमा गरेको बकपत्र ।

अनुसन्धानका क्रममा भएको कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । सहीछाप मेरै 

हो । बेहोरामा डान्स गर्न भनी प्रतिवादीहरूले लगेका हुन् भनी बयान गरेको हो भन्नेसमेत पीडित उपनाम M-१ ले सुरू अदालतमा गरेको बकपत्र । 

अनुसन्धानका क्रममा भएको कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । सबै बेहोरा मैले भनेको हो । प्रतिवादी जुम्राती बैठाबाहेक सबैको चालचलन राम्रो थियो भन्नेसमेत बेहोराको पीडित उपनाम M-४ ले सुरू अदालतमा गरेको बकपत्र । 

अनुसन्धानका क्रममा भएको कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । सहीछाप मेरै 

हो । डान्स गर्न भनी प्रतिवादीहरूले लगेका हुन् होइनन् थाहा भएन भन्नेसमेत पीडित उपनाम M-५ ले सुरू अदालतमा गरेको बकपत्र । 

अनुसन्धानका क्रममा भएको कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । सही छाप मेरै हो । हामी इटहरी पुगेर शंका लागेर घरमा बाबा ममीलाई फोन गरेको हो । डान्स गर्न भनी प्रतिवादीहरूले लगेका हुन् भन्नेसमेत पीडित उपनाम M-२ ले सुरू अदालतमा गरेको बकपत्र । 

अनुसन्धानका क्रममा भएको कागजको बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । सहीछाप मेरै हो । इटहरीमा नचिनेका मानिसहरूलाई देखेपछि डर लागेर हामीले हाम्रो अभिभावकहरूलाई फोन गरेको हो भन्नेसमेत पीडित उपनाम M-२ ले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी जुम्राती बैठा मेरो छिमेकी हो । निजको चालचलन राम्रो छ । गाउँमा नाचगान हुने भएकोले केटीहरू लिन आएको थियो । बेचबिखनका लागि लगेको होइन । निजले कुनै अपराध गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी जुम्राती बैठाको साक्षी लक्ष्मण शाहले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादीहरू सानैदेखि नाचगानको कार्य गर्दै विभिन्न ठाउँमा जाने मानिस भएकाले निजहरूले उल्लिखित पीडितलाई बेचबिखन गर्ने कार्य गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी मौसम ठटाल र भवानी राजवंशीका साक्षी महेश कार्कीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी रोशन महराको चालचलन असल थियो । निजलाई लागेको आरोप झुठ्ठा हो, नाचगान गर्ने सिलसिलामा हिँडिरहने भएकोले निजको पीडितहरूलाई बेचबिखन ओसारपसार गर्ने उद्देश्य होइन, निज निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादी रोशन महराको साक्षी गोपी अधिकारीले सुरू अदालतमा गरेको बकपत्र ।

सुरू जिल्ला अदालतको आदेशबमोजिम फरार प्रतिवादी रामलखन यादवको मिति २०७१।२।२७ गते गरेको अंश रोक्का मुचुल्का मिसिल सामेल रहेको र प्रतिवादी जुम्राती बैठा, मौसम ठटाल, भवानी राजवंशी र रोशन महराले पीडित बालिकाहरूलाई पैसा दिई डान्स गराउनका लागि सर्लाही लैजाने बहानामा प्रतिवादी जुम्राती बैठाको बयान अनुसार भारततर्फ लैजान लागेको कुरा स्पष्ट हुन आएकाले उल्लिखित प्रतिवादीहरूले बेच्नका लागि विदेश लैजान लागेको कसुर गरेको ठहर्छ । विदेश लगिसकेको अवस्थामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) अनुसार सजाय हुने व्यवस्था रहेको र पीडित बालिकाहरूलाई लैजान नपाउँदै नेपाल सरहदको इटहरीबाट उद्धार भएको देखिन आएकाले सो कार्यको उद्योगसम्म गरेको देखिएकाले सोही दफाको (ज) बमोजिम आधा सजाय अर्थात् उमेरको आधारमा प्रतिवादी रोशन महरालाई सात वर्ष छ महिना कैद र पचास हजार जरिवाना र अन्य प्रतिवादीहरू जुम्राती बैठा, मौसम ठटाल र भवानी राजवंशीलाई जनही ८ (आठ वर्ष) कैद र रू. पचास हजार जरिवाना हुने 

ठहर्छ । प्रतिवादीहरूबाट दामासाहीले रू.१,५०,०००।– (एक लाख पचास हजार) क्षतिपूर्ति पीडितहरूलाई भराइदिनेसमेत ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०७१।५।१९ मा भएको फैसला । 

झापा जिल्ला अदालतबाट भएको फैसलामा जाहेरवालाहरूको बकपत्रलाई अन्तिम आधार बनाइएको पाइन्छ । जाहेरवालाहरू उपासुसिंह राजवंशी, कमला वि.क., कल्पना थापा, चिन्ता चौधरीसमेतले अदालतमा बकपत्र गर्ने क्रममा विभिन्न सवाल जवाफमा हामीलाई थाहा जानकारी नगराई लगेकाले तत्काल शंकाको भरमा बेचबिखन गर्न लगेको भनी जाहेरी दिएका हौं, हाल बुझ्दा नाचगान गर्न गएका रहेछन् भनी बकपत्र गरेको अवस्था छ । मुद्दाको तथ्यबाट सर्लाहीमा डान्स गर्न गएको भन्ने कुरा स्थापित भएको सन्दर्भमा के, कहाँ र कोबाट भन्ने जस्ता अप्रासाङ्गिक तथ्य, असान्दर्भिक कथन र जाहेरवालाको बकपत्रलाई आधार प्रमाण मानी सुरू झापा जिल्ला अदालतबाट भएको फैसला फौजदारी कानूनको सिद्धान्तविपरीत भएको हुँदा सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी मौसम ठटाल, जुम्राती बैठा, र भवानी राजवंशीको पुनरावेदन अदालत इलाममा परेको एउटै बेहोराको छुट्टाछुट्टै पुनरावेदनपत्र । 

सुरू झापा जिल्ला अदालतको फैसलाको ठहर खण्डमा उल्लेख भएजस्तो प्रतिवादीहरूउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) अनुसार सजायको दाबी नभएर दफा १५(१)(ङ)(२) अनुसार सजायका दाबी लिइएको अवस्था छ । उक्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) ले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने तथा दफा ४(२)(ख) ले वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले नेपाल सरहदभित्रको जुनसुकै एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्यलाई ओसारपसारको कसुरअन्तर्गत राखेको र दफा १५(१)(ङ)(२) ले किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई सजायको व्यवस्था गरेको छ । उक्त ऐनको दफा १५(१)(ङ)(२) को व्यवस्था अनुसार ओसारपसारको कसुर ठहर हुनको लागि विदेश पुर्‍याएको हुनुपर्ने देखिँदैन । नेपाल सरहदभित्रको एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याएमा मात्र पनि उद्योग मात्र नभई मानव ओसारपसारको कसुर हुने 

देखिन्छ । सुरू जिल्ला अदालतबाट भएको फैसलामा ऐनमा भएको उक्त व्यवस्थाको प्रयोगमा स्पष्ट त्रुटि भएकोले फैसला कानूनी रूपमा मिलेको छैन, सो फैसला बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदनपत्र । 

झापा जिल्ला अदालतबाट मिति २०७१।५।१९ मा भएको फैसलाउपर प्रतिवादी मौसम ठटालसमेतको ०७१–CS–०३४५ को, प्रतिवादी जुम्राती बैठाको २०७१–CS–०३४६ को र प्रतिवादी भवानी राजवंशीको २०७१–CS–०३४७ को छुट्टाछुट्टै पुनरावेदन परेको अवस्था देखिन्छ भने वादी नेपाल सरकारको तर्फबाट यिनै प्रतिवादीहरूसमेतको विरूद्ध ०७२–CS–०१२२ को पुनरावेदन परेको देखिँदा उपर्युक्त वादी प्रतिवादीहरूको तर्फबाट दर्ता हुन आएको पुनरावेदनपत्र परस्परमा देखाइ सुनाइ पेस गर्नु भन्ने पुनरावेदन अदालत इलामको मिति २०७२।८।३ मा भएको आदेश ।

पीडितहरूलाई डान्स गर्न लैजाँदा अभिभावकको स्वीकृति नलिएको र इटहरीबाट पुनः जनकपुरको टिकट काटिसकेको अवस्थामा पीडितहरू र प्रतिवादीहरू फेला परेको हुँदा निज प्रतिवादीहरूले गरेको बयान मिलेको देखिएन । लामो समयपछि अदालतमा भएको पीडितहरूको बकपत्रमा अन्यथा कुरा उल्लेख हुन गए पनि घटना लगत्तै पीडितहरूले गरेको बयान, मिसिल संलग्न सम्पूर्ण कागजात र प्रमाणित बयानसमेतबाट वारदात स्थापित भएको अवस्थामा मानव बेचबिखन जस्तो अमानवीय कार्यलाई प्रोत्साहन हुने गरी कसैको बकपत्र वा बयानको आधारमा मिसिलमा संलग्न तथ्यभन्दा बाहिर गई निर्णय दिन सक्ने अवस्था हुँदैन । प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) बमोजिमको कसुर कायम गरी उद्योगतर्फ मात्र सजाय हुने गरी सुरू झापा जिल्ला अदालतको मिति २०७१।०५।१९ को फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई उल्लिखित ऐनको दफा ४(२)(क) को कसुरमा दफा १५(१)(ङ)(२) अनुसार प्रतिवादीहरू जुम्राती बैठा, मौसम ठटाल र भवानी राजवंशीलाई १०/१० वर्ष कैद सजाय तथा जनही रू. ५०,०००।- जरिवाना हुने ठहर्छ । प्रतिवादी रोशन महरा १६ (सोह्र) वर्षको मात्र भनी अभियोगपत्रमा उल्लेख भएबाट निजलाई ५ (पाँच) वर्ष कैद र रू. ५०,०००।- जरिवाना हुने ठहर्छ । क्षतिपूर्तिको हकमा सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको २०७२/०९/२१ को फैसला ।

जाहेरवाला कमला वि.क. समेतको जाहेरीले म पुनरावेदकमध्येको भवानी राजवंशीसमेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिवादीमध्येका रोशन महराले मलाई उसकै घरमा बोलाई सर्लाहीमा सांस्कृतिक कार्यक्रममा डान्स गर्दा प्रतिदिन भा.रू. १,२००।– कमाइ हुन्छ भनेको हुँदा पीडित भनिएका किशोरीहरू र म एउटै स्कुलमा अध्ययन गर्ने पूर्व चिनजानका व्यक्ति पनि भएको हुँदा निजहरूको मन्जुरीमा डान्स गर्ने उद्देश्यले बस चढी इटहरीमा आई सर्लाही नपुग्दै प्रहरीले पक्राउ गरी दबाबमा बयान गराई, डर त्रास देखाई पहिला नै लेखी तयार पारेको कागजमा जबरजस्ती सही गराएका हुन् । पीडितहरूलाई पनि प्रहरीले म विरूद्ध आफूखुसी बेहोरा लेखाई सही गर्न लगाएको हो । पीडितहरूले झापा जिल्ला अदालतमा बकपत्र गर्दा भवानी राजवंशी चिनजानको राम्रो चरित्रको व्यक्ति हो र निजले सर्लाही डान्स गर्न जाँदा बाबु आमासँग सोध्नु भनेका थिए, हामीले नै नसोधी हिँडेकोले प्रतिवादी निर्दोष छन्, सजाय हुनुपर्ने होइन भनेका छन् । जाहेरवाला कमला वि.क.ले अदालतमा गरेको बकपत्रमा कहिलेकाहीँ छोरीले नाच्न जाँदा पैसा कमाइ हुन्छ अरे, नाच्नका लागि गएका हुन्, शंका लागेर बेच्न लगेका भनी जाहेरी दिएको हुँ । हाल आएर बुझ्दा नाच्न गएका रहेछन् भन्नुले म पुनरावेदकले पीडितहरूलाई बेचबिखन गर्न लगेको होइन भन्ने तथ्य प्रमाणित भएको अवस्थामा मिसिलमा संलग्न त्यस्ता प्रमाणहरूको अध्ययन विश्लेषण नै नगरी हचुवाको भरमा मलाई दोषी ठहर हुने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा १८ विपरीत छ । पीडितहरूलाई भारतमा नलगेको र किन्ने व्यक्ति पनि स्पष्ट नखुलेको हुँदा अभियोग मागदाबी कानूनविपरीत र प्रवृत्त धारणाले ग्रसित छ । हामी पुनरावेदकसमेतले अभियोग दाबीबमोजिमको कसुर गरेको होइन भनी अदालतमा इन्कारी बयान गरेकोले मानव बेचबिखन तथा नियन्त्रण ऐन, २०६४ को दफा ९ बमोजिम इन्कारी प्रमाणित गरिरहनु पर्दैन । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दाबी प्रमाणित गर्ने भार वादी पक्षको 

हो । शंकास्पद जाहेरीबाहेक अन्य कुनै पनि स्वतन्त्र प्रमाण पेस हुन नसकेको अवस्थामा दोषी ठहर गर्न मिल्दैन । सुरू झापा जिल्ला अदालतको मिति २०७१।५।१९ को फैसला र पुनरावेदन अदालत इलामको मिति २०७२।९।२१ को फैसला अन्यायपूर्ण भएको हुँदा बदर गरी हामी पुनरावेदकलाई आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भवानी राजवंशीको यस अदालतमा परेको 

पुनरावेदनपत्र । 

प्रतिवादीमध्येका भवानी राजवंशीको पुनरावेदन दाबी मिलानको बेहोरा उल्लेख गरी आरोपित कसुरको अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादीहरू जुम्राती बैठा र मौसम ठटालको यस अदालतमा परेको छुट्टाछुट्टै पुनरावेदनपत्र । 

पुनरावेदक प्रतिवादी भवानी राजवंशी, रोशन महरा र मौसम ठटाल झापा जिल्लाअन्तर्गतकै देखिएको, निजहरूको बयानबाट निजहरू साँस्कृतिक कार्यक्रममा संलग्न रहेको भन्ने देखिएको, पीडित भनिएका विद्यार्थीहरू पनि साङ्गीतिक कार्यक्रममा सहभागी हुने गरेको भन्ने निजहरूको बकपत्रसमेतबाट देखिएको र सर्लाही जिल्लामा सांस्कृतिक कार्यक्रममा सहभागी हुने उद्देश्यले झापाबाट त्यसतर्फ जाँदै गर्दा इटहरीमा पक्राउ परेको देखिएकोले प्रतिवादीहरूले बिक्री गर्ने उद्देश्यबाट पीडित भनिएका विद्यार्थीहरूलाई लगेको भनी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) को कसुर कायम गरी सोही ऐनको दफा १५(१)(ङ)(२) अन्तर्गत पुनरावेदक प्रतिवादीहरूलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनार्थ आदेशको प्रतिलिपिसहितको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।१०।११ को आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने, विद्वान् अधिवक्ताहरू श्री सीता खनाल र श्री सुरेशकुमार पौडेलले पुनरावेदक प्रतिवादीहरूले पीडित भनिएका बालिकाहरूलाई भारतमा बिक्री गर्न लगेको होइन; सर्लाहीमा डान्स कार्यक्रममा सहभागी गराउन सल्लाहले लगिएको हो; पीडितहरूले समेत अदालतमा उपस्थित भई प्रतिवादी निर्दोष छन्, हामी आफ्नै इच्छाले हिँडेका हौं भनी बकपत्र गरेको अवस्था छ; जाहेरवालाहरूले किटानी पोल गर्न सकेको छैन; प्रतिवादीहरूले आरोपित कसुरमा इन्कार रही बयान गरेका छन्; प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउनुपर्नेमा दाबी ठहर गरेको सुरू झापा जिल्ला अदालत र पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण छ; सो फैसला बदर हुनुपर्दछ भनी बहस जिकिर गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्यले पीडितहरूलाई डान्स गर्न भनी लैजाँदा अभिभावकको स्वीकृति लिएको छैन; लुकिछिपी कार्य भएको छ; बालिकाहरूलाई झापाबाट इटहरी लगिएको र त्यहाँबाट जनकपुर जाने बसको टिकट काटिसकेको अवस्थामा पीडितहरू र प्रतिवादीहरू फेला परेका हुन्; बेचबिखनकै लागि लगिएको हो; पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो । 

अब यसमा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको छ वा छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू जुम्राती बैठा, रामलखन यादव, मौसम ठटाल, भवानी राजवंशी र रोशन महरासमेत भई स्कुलमा अध्ययन गर्ने नाबालिका पीडितहरूलाई डान्स कार्यक्रममा भाग लिन सर्लाही लैजाने र प्रतिदिन रू. एक हजारदेखि बाह्र सयसम्म दिने प्रलोभन देखाई झापा अनारमनीबाट इटहरी पुर्‍याएको र जनकपुर जाने बसको टिकट काटेर जाने क्रममा रहँदाको अवस्थामा पक्राउ परेको तथ्य सुरू जाहेरी दर्खास्त, पीडित बालिकाहरू वर्ष १५ की M - १, वर्ष १६ की M - २, वर्ष १७ की M - ३, वर्ष १६ की M - ४, वर्ष १८ की M - ५ ले अनुसन्धानको क्रममा गरेको कागज तथा अदालतमा उपस्थित भई बकपत्र गर्ने पीडितहरूको भनाइ, प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, जाहेरवालाहरूले अदालतमा गरेको बकपत्रसमेतका प्रमाण कागजातबाट प्रमाणित हुन आएको देखियो । यसरी नाबालिका पीडितहरूलाई लैजाँदा निजहरूका बाबु-आमा, अभिभावक वा संरक्षकको सहमति, अनुमति वा स्वीकृति लिएको देखिएन । नाबालिकाहरूलाई झापाबाट सुनसरी जिल्लास्थित इटहरीसम्म पुर्‍याइसकेको देखिन्छ । तसर्थ, उल्लिखित तथ्यगत विवरणको हदसम्म शंका गर्नुपर्ने अवस्था देखिँदैन, सो हदसम्मका घटनाक्रम विवरण शंकारहित तवरबाट प्रमाणित हुन आएको देखियो । 

३. पीडित बालिकाहरूलाई अनारमनी झापाबाट सर्लाहीतर्फ लैजाने प्रयोजन वा प्रतिवादीहरूको उद्देश्य वा मनसाय सम्बन्धमा विचार गर्नु आवश्यक देखिन्छ । बालिकाहरूलाई बिक्री गर्न लगेको भनी जाहेरवालाहरूले सुरू जाहेरीमा शंका व्यक्त गरेको भए पनि अदालतमा बकपत्र गर्दा निज जाहेरवालाहरूले बिक्री गर्न लगेको भनी किटानी गर्न सकेको देखिँदैन । स्वयम् पीडित बालिकाहरूले अदालतमा बकपत्र गर्दा निजहरूलाई बिक्री गर्ने उद्देश्यले लगेको होइन भनी उल्लेख गरेको पाइयो । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दासमेत बिक्री गर्न लगेको कुरामा इन्कार रहेको देखिन्छ । अदालतमा बयान गर्दासमेत निजहरू बिक्रीको कसुरमा इन्कार रहेको पाइयो । अन्य कुनै पनि प्रमाणबाट बिक्री गर्ने उद्देश्यले नै पीडित बालिकाहरूलाई झापाबाट सर्लाहीतर्फ लगिएको हो भन्ने तथ्य समर्थित हुन आएको पाइएन । तसर्थ केवल मनोगत आधारमा पीडित बालिकाहरूलाई बिक्री गर्ने नियतले झापा जिल्लाको अनारमनीबाट सर्लाहीतर्फ लगेको हो भन्नु न्यायोचित देखिएन ।

४. प्रतिवादीहरू नाचगान जस्ता साँस्कृतिक कार्यक्रममा रूचि राख्ने मानिस हुन् भन्ने कुरा निजहरूको बयानलगायतका मिसिल प्रमाणबाट खुल्न आएको देखिन्छ । साँस्कृतिक कार्यक्रममा भाग लिने सन्दर्भमा सर्लाहीमा आयोजना गर्न लागिएको नाचगान कार्यक्रममा बालिकाहरूलाई लगेर नचाउने र त्यसबाट केही आर्थिक उपार्जन गर्नेसम्मको नियत प्रतिवादीहरूले राखेको देखिन्छ । त्यसैले पीडित बालिकाहरूलाई केही आर्थिक लाभको प्रलोभन देखाई तथा निजहरूका बाबु-आमा, संरक्षक कसैको अनुमति वा सहमति नलिई झापा जिल्लाको अनारमनीबाट सुनसरी जिल्लाको इटहरीसम्म पुर्‍याएको देखियो । प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) द्वारा निषेधित शोषण गर्ने उद्देश्यले ललाई-फकाई, प्रलोभनमा पारी नेपालभित्र एक ठाउँबाट अर्को ठाउँसम्म लैजाने कसुरजन्य कार्यसम्म गरेको देखियो । यस प्रकारको शोषण गर्ने उद्देश्यले नेपालको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई हुने सजायसम्म प्रतिवादीहरूलाई हुन सक्ने देखिन्छ । फौजदारी कानूनको प्रयोग गर्दा जुन कार्यका लागि कानूनले जे जुन सजायको व्यवस्था गरेको छ, सोहीबमोजिमको कानून प्रयोग गरिनुपर्दछ । कानूनको परिधि नाघेको कुनै एउटा तथ्यको आधारमा ठुलो कसुरजन्य कार्य गर्न लागेको कुराको अनुमान गरी शंकाकै आधारमा गम्भीर प्रकृतिको कसुर गरेको भनी ठहर गर्नु हामीले अनुशरण गरी आएको फौजदारी न्यायका मान्य सिद्धान्तअनुकूल हुँदैन । 

५. अतः पुनरावेदक प्रतिवादीहरू भवानी राजवंशी, जुम्राती बैठा र मौसम ठटालसमेतले पीडित बालिकाहरूलाई नाचगान गराउन भनी आर्थिक प्रलोभन देखाई झापा जिल्लाको अनारमनीबाट पश्चिमतर्फ लैजाने क्रममा सुनसरी जिल्लाको इटहरीमा पुर्‍याएको र पक्राउ परेको देखियो । निजहरूले श्रम शोषण गर्ने उद्देश्यले अभिभावकको मन्जुरी नलिई नाबालिकाहरूलाई नेपालभित्र एक ठाउँबाट अर्को ठाउँ लगेकोसम्म देखिँदा कसुरअनुसार सजाय हुने ठहर नगरेको पुनरावेदन अदालत इलामको मिति २०७२/९/२१ को फैसला केही उल्टी हुन्छ र निज पुनरावेदक प्रतिवादीहरू भवानी राजवंशी, जुम्राती बैठा र मौसम ठटाललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम जनही २ (दुई) वर्ष कैद सजाय हुने 

ठहर्छ । प्रतिवादीमध्येका रोशन महराको पुनरावेदन परेको देखिँदैन । तथापि निज रोशन महरासमेत भवानी राजवंशी, जुम्राती बैठा र मौसम ठटालसरहका समान स्तरका प्रतिवादी हुन् भन्ने देखिएको छ । तसर्थ, अन्य प्रतिवादीहरूका हकमा पुनरावेदन अदालतको फैसला केही उल्टी भएको हुँदा निज प्रतिवादी रोशन महराको हकमा समेत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा (२) बमोजिम उल्लिखित फैसला केही उल्टी गर्नु मनासिब देखियो । तसर्थ निज प्र. रोशन महरालाई समेत मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०७४ को दफा १५(१)(च) बमोजिम दुई वर्ष कैद सजाय हुनेमा कसुर हुँदाको अवस्थामा निजको उमेर १८ वर्ष पूरा भएको नदेखिएको (करिब १६ वर्ष रहेको) हुँदा निज रोशन महरालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(४) बमोजिम उमेर पुगेकालाई हुने सजायको दुई तिहाइले हुने १ (एक) वर्ष ४ (चार) महिना कैद सजाय हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नूः

तपसिल

क. उपर्युक्तअनुसार प्रतिवादीहरू भवानी राजवंशी, जुम्राती बैठा र मौसम ठटाललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम जनही २ (दुई) वर्ष कैद सजाय हुने र प्र. रोशन महरालाई एक वर्ष चार महिना कैद सजाय हुने ठहर भएकाले सुरू जिल्ला अदालत तथा पुनरावेदन अदालत इलामको फैसलाअनुसार ठेकिएको लगत कट्टा गरी (सच्याई) उपर्युक्तअनुसारको लगत कायम राख्नु भनी झापा जिल्ला अदालतमा लेखी पठाइदिनू ।

ख. प्रतिवादीहरू भवानी राजवंशी, जुम्राती बैठा, मौसम ठटाल मिति २०६९/१२/२१ देखि थुनामा रहेको भई निजहरूलाई हुने ठहरेको कैद सजाय भुक्तान भइसकेको देखिएकाले थुनामा रहेका निज पुनरावेदक प्रतिवादीहरू भवानी राजवंशी, जुम्राती बैठा, मौसम ठटाललाई आजै थुनामुक्त गरिदिनु भनी झापा जिल्ला अदालतमार्फत सम्बन्धित कारागारमा लेखी पठाइदिनू । 

ग. पुनरावेदन नगरेका प्रतिवादी रोशन महरासमेत हालसम्म थुनामा रहिरहेको भए मिति २०६९/१२/२१ देखि थुनामा रहेको भई निजलाई हुने ठहर भएको कैद असुल भइसकेको देखिँदा निजलाई समेत तत्काल थुनामुक्त गर्नु भनी झापा जिल्ला अदालतमार्फत सम्बन्धित कारागारमा लेखी पठाइदिनू ।

घ. फैसलाको प्रतिलिपिसहित जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाइदिनू ।

ङ. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी, दायरीको लगत कट्टा गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृत:- उषा गिरी 

इति संवत् २०७७ साल माघ २६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु