शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८१० - कर्तव्य ज्यान

भाग: ६४ साल: २०७९ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

   फैसला मिति : २०७७।६।११

   

मुद्दाः कर्तव्य ज्यान

 

०७३-CR-०१८१

पुनरावेदक / प्रतिवादी : गुन्जसिंह भुजेलको छोरा ओखलढुङ्गा जिल्ला भदौरे गा.वि.स. वडा नं.२ बस्ने एल. वि. भन्ने लालबहादुर भुजेल

विरूद्ध

प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

 

०७३-CR-०४५३

पुनरावेदक / प्रतिवादी : धिर्जसिंह कार्कीको छोरा ओखलढुङ्गा जिल्ला भदौरे गा.वि.स. वडा नं.२ घर भई हाल जिल्ला कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेका चन्द्रकुमार कार्की

विरूद्ध

प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

 

०७३-CR-०४५४

पुनरावेदक / प्रतिवादी : मेखबहादुर बस्नेतको छोरा ओखलढुङ्गा जिल्ला तलुवा गा.वि.स. वडा नं.९ घर भई हाल जिल्ला कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेका नवराज बस्नेत

विरूद्ध

प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

 

०७३-CR-०४५५

पुनरावेदक / प्रतिवादी : ओखलढुङ्गा जिल्ला दियाले गा.वि.स. वडा नं.९ बस्ने मनविर भुजेलको छोरा हाल जिल्ला कारागार कार्यालय सुनसरीमा थुनामा रहेका टिका भुजेल भन्ने टिकाराम भुजेल

विरूद्ध

प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

 

०७३-CR-०४६१

पुनरावेदक / प्रतिवादी : प्रजापति घिमिरेको छोरा ओखलढुङ्गा जिल्ला पोखरे गा.वि.स. वडा नं.५ घर भई हाल जिल्ला कारागार कार्यालय सुनसरीमा थुनामा रहेका यदुनाथ घिमिरे

विरूद्ध

प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

 

०७३-CR-०८३८

पुनरावेदक / प्रतिवादी : पार्वतीरमण घिमिरेको छोरा ओखलढुङ्गा जिल्ला पोखरे गा.वि.स. वडा नं.३ घर भई हाल जिल्ला कारागार कार्यालय ‌ओखलढुङ्गामा थुनामा रहेका अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे

विरूद्ध

प्रत्यर्थी / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

 

०७५-CR-०४२८

पुनरावेदक / वादी : शकुन्तला कार्कीको जाहेरीले वादी नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : धिर्जसिंह कार्कीको छोरा ओखलढुङ्गा जिल्ला भदौरे गा.वि.स. वडा नं.२ बस्ने चन्द्रकुमार कार्कीसमेत

 

मृत्युकालीन घोषणा मानिसले आफू मर्नुअघि होस छँदै व्यक्त गरेको कथन (statement) हो । यस्तो कथन (statement) लिपिबद्ध हुन पनि सक्छ र नहुन पनि सक्छ तर निजले भनेको बेहोरा सुन्ने व्यक्तिले अदालतमा साक्षीका रूपमा उपस्थित भएमा प्रमाणका रूपमा लिन मिल्ने हुन्छ । यो hearsay is not an evidence भन्ने प्रमाण कानूनको अपवादको रूपमा महत्त्वपूर्ण प्रमाणमा ग्रहण गर्नुपर्ने आधार भनेको roman maxim “Nemo moriturus praesumitur mentire” हो जसको अर्थ a man will not meet his maker with a lie in his mouth हो, यसै कारणले नै मृत्युकालीन घोषणालाई प्रमाणका रूपमा लिइनुपर्छ भन्ने विधायिकाको मनसाय देखिने ।

कुनै पनि घटनाको प्रत्यक्षदर्शी भनेको नै पीडित व्यक्ति स्वयम् हुने हुनाले निजले व्यक्त गरेको कुरालाई सुन्ने, लेख्‍ने व्यक्तिले अदालतसमक्ष आई बकपत्र गरेमा र उक्त मृत्युकालीन घोषणा अरू प्रमाणहरूले समर्थन (corroborate) गरेमा उक्त कथन (statement) लाई निर्णायक प्रमाणका रूपमा लिइनुपर्ने ।

(प्रकरण नं.११)

Inciter to be liable as perpetrator को व्यवस्था हाम्रो कानूनी व्यवस्थासमेतले अङ्गीकार गरेको अवस्थामा ज्यानसम्बन्धी अपराधमा मुख्य भई वचन दिने व्यक्तिलाई पनि perpetrator को सरह सजाय गरिनुपर्ने हुँदा जन्मकैदको सजाय गरेको देखिन्छ । घटनामा आफैँ संलग्न नभए पनि मार्न आदेश वा मार्न सहमति दिने व्यक्तिलाई मृतकको मृत्यु हुँदैछ भन्ने foresightness of consequence हुने हुँदा मृतक मरे पनि मरोस् भन्ने desire of consequence अभियुक्तले राख्‍ने हुँदा वचन दिने व्यक्तिलाई पनि first offender कै रूपमा हेरिनुपर्ने हुन्छ र निजलाई सजाय गर्दा पनि first offender को दर्जामा राखी सजाय गरिनुपर्ने ।

(प्रकरण नं.१९)

‍जाहेरीमा नाम उल्लेख हुनु र कसुरदार ठहर हुनु फरक कुरा हुने । 

(प्रकरण नं.२१)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान तथा विद्वान् अधिवक्ताहरू श्री गोपालप्रसाद सापकोटा, श्री पदमा आचार्य, श्री सन्तोष राउत, श्री सानु डंगोल, श्री विरेन्द्रप्रसाद साह, श्री सन्तोष राउत र श्री रामसुन्दर श्रेष्ठ

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी

अवलम्बित नजिर :

ने.का.प.२०७१, अङ्क ९, नि.नं.९२४९

ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९

ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४२

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री शुभाषबाबु पुरी

ओखलढुङ्गा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री राजकुमार वन

माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) र हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–

तथ्य खण्ड

जिल्ला ओखलढुङ्गा, ओखलढुङ्गा गा.वि.स. वडा नं. ८ स्थित ओखलढुङ्गा सामुदायिक मिसन अस्पताल स्थित पूर्वमा हरिबहादुर राईको जग्गा तथा बाटो, पश्चिममा अस्पतालको एन.आर.सी. विल्डिङ, उत्तरमा चोपचिपे खोल्सा, दक्षिणमा अस्पतालको वेटिङ हल, यति चार किलाभित्र रहेको अस्पताल भवनभित्र शव गृहको लास राख्ने स्ट्रेचरमाथि उत्तर टाउको, दक्षिणतर्फ खुट्टा उत्तानो अवस्थामा मृतक छविलाल कार्कीको लास रहेको, धर्के काछी (भित्री कट्टु) लगाएको, उचाइ ५’७’ भएको, दायाँ हात कम्मरको लाइनमा सटेको, बायाँ हात सिधा तिघ्रातर्फ तन्किएको, कपाल रगतले भिजेको, मुठी अर्ध भई सुन्निएको, दुवै खुट्टाको नली खुट्टा भाँचिएको, दुवै खुट्टाको घुँडामुनि ४/५ वटा १ इन्च बराबरको गहिरो भएको प्वालहरू भएको, शरीरको यत्रतत्र भागमा ६ इन्च लम्बाइका निल डाम, दागहरू रहेको, टाउकोको बायाँ साइडको निधारमाथि ४ इन्च लम्बाइ, साँढे १ इन्च चौडाइ, आधा इन्च गहिराइ भएको घाउ चोट तथा बायाँ कानमाथि टाउकोको टुप्पी छेउमा साढे १ इन्च लम्बाइ आधा इन्च गहिराई भएको घाउ चोट भएको, ढाडको पछाडि भागमा ६ इन्च लम्बाइ भएको ५।७ वटा डामहरू रहेको, कान रगतले पोतिएको भन्नेसमेत बेहोराको मृतक छविलाल कार्कीको घटनास्थल/लास जाँच मुचुल्का ।

भदौरे गा.वि.स. वडा नं. २ बस्ने छविलाल कार्कीलाई मिति २०६७।३।२४ गते राति २०:५० बजेको समयमा ठुलाछाप गा.वि.स. वडा नं. ४ स्थित पूर्णबहादुर तामाङको होटल घरमा मरणासन्न हुने गरी कुटपिट गरेको खबर प्राप्त भई वारदातस्थलमा गई बुझ्दा घाइते छविलाल कार्कीलाई उपचारार्थ मिसन अस्पताल ओखलढुङ्गामा लगिएकोमा सोही राति १२:१५ बजे अस्पतालमै उपचारको क्रममा सोही चोटपिरको कारणले मृत्यु भएको भन्ने बुझिन आएको र घटनामा संलग्न अपराधीहरू फेला नपरेकोले निजहरूको पहिचान, खोजतलास र पक्राउ गरी सजाय गरिपाउँ भन्ने प्रहरी नायव निरीक्षक राजु निरौलाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पेस गरेको प्रतिवेदन । 

चन्द्रकुमार कार्की मेरा जेठाजु नाताका मानिस हुनुहुन्छ, निजसँग पहिलेदेखि नै मिलाप थिएन । चन्द्रकुमारले अन्य बाबुराम सुवेदीसमेतका प्रतिवादीहरूलाई आफ्नो घरमा बोलाई पटकपटक बैठक बसाई छविलाल कार्कीलाई भौतिक सफाया गर्नुपर्छ भनी षड्यन्त्र योजना बनाइरहेका थिए । जेठाजु चन्द्रकुमारले यो छवि निकै मातिएको छ, हाम्रा साथीहरूउपर मुद्दा लगाउने यही हो, अब यसको काल नजिकिए जस्तो छ भनी केही दिनअगाडि भदौरे बस्ने सन्तोषकाजी कार्कीसँग भनेका रहेछन् । अभियुक्तमध्येका बाबुराम सुवेदी, चन्द्रकुमार कार्की, नवराज बस्नेत, यदुनाथ घिमिरेलगायतका मानिसहरूले छविलाल कोसँग हिड्छ, कहाँ खान्छ, बस्छ र कसले भनेको कुरामा बढी विश्वास गर्छ भन्ने कुरा अध्ययन गरी कालकाँधे भन्ने दिलबहादुर सार्की प्राय: छविलालसँगै हिँड्ने र देवबहादुर कटवाललाई क्याम्पसको सहायक ठेकेदारको रूपमा छविले नै काम मिलाइदिएको हुँदा यी दुई जनाको सहयोगबाट छविको हत्या गर्न सजिलो पर्छ भनी विभिन्न स्थानमा बैठक बसी देवबहादुर कटवाल र दिलबहादुर सार्कीलाई छविको निगरानी गर्नु, सहज वातावरण र संयोग मिलेको सूचना हामीलाई दिनु भनी अभियुक्तहरूले दिलबहादुर र देवबहादुरसँग सम्पर्क गरी मेरो पति छविलाल कार्की काम विशेषले केही दिनअगाडिदेखि ओखलढुङ्गाको ठुलाछाप गा.वि.स. वडा नं. ४ मा बस्नुभएकोमा देवबहादुर र दिलबहादुरले नजिकको व्यवहार गरी मेरो पतिको हरेक गतिविधि निगरानी गरी विपक्षीहरूलाई अरू कसैले थाहा नपाउने गरी एकान्तबाट सूचना सम्प्रेषण गर्ने गरेका रहेछन् । यस्तै क्रममा, मिति २०६७।३।२४ गते दिनभर नै देवबहादुर र दिलबहादुर मृतक पतिसँगै रही बेलुकीपख साँझ पर्नुभन्दा केही अघि ठुलाछाप–४ निशंखे बजार स्थित साँहिली भन्नेको होटलमा बियर खानुभएछ भने देवबहादुर उहाँहरूले बियर खाउन्जेल एकैछिन नछोडी त्यहीँ ढल्केर रूँगी बसेछन् । साँझ १९:४५ बजेको समयमा मेरो माइती घरमा आमा मनकलीले मेरो पतिलाई ज्वाइँ खाना तयार छ खाएर जानु भन्नु हुँदा दिलबहादुर केही छिनअघि तारा होटल गए भने देवबहादुरले छवि सर हामीसँग खाना खानुहुन्छ भनी नछोडी लिई जाँदै गर्दा मौवाको फेदमा पुगेपछि लाइटको फोकस घुमेको देखी छविले के भइरहेको छ भन्दा देवबहादुरले कोही मकै हेर्न निस्किएको होला जाउँ भन्दै केही पश्चिम पुगेपछि देवबहादुरले ठुलो स्वरमा ए केटा हो राम्रो काम गर नत्र भुक्तानी रोकिदिन्छु, खेलाडी खेल्न तयार हो भन्ने जस्ता साङ्केतिक शब्द बोलेका रहेछन् । तारा तामाङको होटलमा पुगी देवबहादुरलाई भात दिँदा देवबहादुरको मोबाइलमा फोन आएकोले भात छविलाई सारेर दिई बाहिर गएर फोनमा कुरा गरेछन् । त्यसपछि, मेरा पति छविलाल कार्कीले भातको भाग लिई गाँस हाल्दै गर्दा ठिक २०:५० बजेको समयमा सो होटल घर घेरेर बसेका अभियुक्तमध्येका बाबुराम, नवराज, यदुनाथ, दिपक सटासट घरभित्र पसी हामीलाई उजुर गर्ने डाँका तैँ होइनस् भनी पहिला बाबुरामले मेरो पतिको टाउकोमा रड प्रहार गरी भुइँमा ढालेपछि नवराज, दिपक, यदुनाथले घिसारी बाहिर निकाली खुकुरी, भाला, कुन्जोसमेत प्रयोग गरी दिपक, नवराजले घाँटीमा र शरीरमा घोच्ने, काट्ने, यदुनाथले कुन्जोले खुट्टामा प्रहार गर्ने, सँगै बसेका देवबहादुर र दिलबहादुरले प्रतिकारसमेत नगरी ४५ मिनेटपछि मात्र छविलाई मारे भनी निशंखे बजारतर्फ भागेछन् । मेरा पतिलाई अभियुक्तहरूले मर्‍यो भनी छाडी गएपछि घाइते अवस्थामा उपचारको लागि ल्याउने क्रममा मोहनकुमार श्रेष्ठ, ओम दयाल, शंकर कटवालले छवि सर घटना कसरी घट्यो भनी सोध्दा मेरो पतिले मृत्युपूर्व कसैलाई विश्वास गर्न सकिँदो रहेनछ, मैले नजिक मानेका दिलबहादुर र देवबहादुरबाट धोका पाएँ, बाबुरामले टाउकामा रडले हानी लडायो, घरभित्र सङ्घर्ष भयो, त्यसपछि अडिग, नवराज, दिपक, बाबुरामले घिसारी बाहिर निकाले, अडिगले कुन्जोले मेरो दुवै खुट्टामा हिर्काई सिसा फुटाएझैँ चुरचुर 

बनाइदिए । दिपक, नवराज र अन्य मानिसले भाला खुकुरीले शरीर र घाँटीमा रोपे, सबै कुरा म ठिक भएपछि भनौँला, साथमा भएका साथीले प्रतिकार गरेका भए यस्तो अवस्था हुने थिएन, म ठिक भए पनि मेरो खुट्टा ठिक हुँदैन भन्नु भएको रहेछ । अस्पतालमा उपचार हुँदाहुँदै सोही रातको १२:१५ बजे डाक्टरले मेरो पतिलाई मृत घोषणा गरेको रहेछ । यसरी यी अभियुक्तहरूले योजनाबद्ध तरिकाले मेरा पति छविलाल कार्कीको हत्या गरेको हुँदा अपराधीहरूलाई शीघ्र पक्राउ गरी सो अपराधमा अन्य को कसको संलग्नता छ, निजहरूबाटै खुलाउन लगाई कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मृतककी श्रीमती सकुन्तला कार्कीले दिएको जाहेरी दरखास्त । 

ओखलढुङ्गा जिल्ला, ठुलाछाप गा.वि.स. वडा नं. ४ स्थित पूर्वमा रिठ्ठ कटवालको घडेरी जग्गा, पश्चिममा शंकर कटवालको जग्गा, उत्तरमा ओखलढुङ्गा–दोभानटार जोड्ने कच्ची सडक, दक्षिणमा रिठ्ठ कटवालको खेत यति चार किल्लाभित्र मूल ढोका उत्तर फर्केको, जस्ताको छाना, ढुङ्गा माटोको गारोले बनेको ३ तले, ६ कोठाहरू भएको पूर्णबहादुर तामाङको घर, सो घरको भुइँ तलाको पूर्वपट्टिको कोठामा पूर्व र उत्तर साइडबाट बेन्च तथा टेबुल राखिएकोमध्ये पूर्वसाइडको टेबुलमा उत्तरपट्टिबाट १ फिटको दुरीमा रगतको टाटा देखिएको, टेबुल लडेको, झर्के थाल जुठोसहित रहेको, ढोकाको दोस्रो पल्लामा रगतको टाटा र केशहरू टाँसिएको, भुइँ तलामा उत्तर साइडमा ३ फिट लम्बाइ १ इन्च मोटाइ भएको फलामे ३ थान रड, Breez लेखिएको कालो चप्पल थान २, सामसुङ मोबाइल १ थान, रिमेक्स घडी १ थान फेला परेको, भुइँ तलाको कोठाहरूको जमिनमा प्रशस्त रगतका छिटाहरू देखिएको, घटनास्थलमा फेला परेको रड, चप्पल, घडी प्रहरीले बरामद गरी ल्याएको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।

छविलाल कार्कीलाई कुटपिट गरी सख्त घाइते बनाएको कुरा सुनी तत्काल एम्बुलेन्स मगाई मिसन अस्पताल ल्याएको हो । म पनि सो रातको १०:४० बजेको समयमा अस्पताल पुगेको थिएँ । बिरामी हेर्दा पेन्टी मात्र लगाएको, हात खुटृा भाँचिएको, पेन्टीमा दिसा लागेको, टाउकोमा चोट पटक भएको, रगतले लतपतिएको, शरीरभरि काटेको, भालाले रोपिएको थियो । छविलाल कार्कीलाई कसले यस्तो हालत बनायो भनी सोध्दा मलाई मेरा साथीहरू देवबहादुर कटवाल, दिलबहादुर सार्कीले धोका दिए, मलाई विदुर भन्ने बाबुराम सुवेदी, दिपक कटवाल, नवराज बस्नेत, अखिल भन्ने ढुण्डीराज घिमिरे, यदुनाथ घिमिरे, टिका भुजेलसमेतका मानिसहरूले कुटपिट गरे । पहिला विदुर विचार भन्ने बाबुराम सुवेदी, यदुनाथ घिमिरे, अखिल भन्ने ढुण्डीराज घिमिरे, टिका भुजेल भित्र पसी रडले टाउकामा हाने, मलाई लडाएपछि घरबाहिर ल्याई भुइँमा ढालेपछि नवराज बस्नेत, दिपक कटवाल, टिका भुजेल, ढुण्डीराज घिमिरे, यदुनाथ घिमिरे, तारा सि.के., तिलक राई, ओम राई, जितमान राईसमेतले मलाई रड, कुन्जो, भालाले प्रहार गरी कुटपिट गरे । दिलबहादुर सार्की र देवबहादुर कटवालले मलाई कुटपिट गरेको रमिता हेरे, सहयोग गरेनन्, धोका दिए भनेर हामी (शंकरबहादुर कटवाल, ओम दयाल, मोहनकुमार श्रेष्ठ) एकै ठाउँमा बसेको अवस्थामा मृत्यु हुनुअघि छविलाल कार्कीले भन्नुभएको हो । निज छविलाल कार्कीलाई दिलबहादुर सार्की र देवबहादुर कटवालले कहाँ खान्छ, कहाँ बस्छ भन्ने कुराको दिनचर्याबारे बुझी सँगै हिँडी विदुर भन्ने बाबुराम सुवेदीसमेतलाई जानकारी गराई वारदात हुँदासमेत प्रतिकार नगरेका हुन् भने चन्द्रकुमार कार्कीको पहिलादेखि नै छविलाल कार्कीसँग अंश एवं फरक राजनीतिक विचारका कारण रिसइवी रहेकोले निजको समेत छविलाल कार्कीको हत्या गर्नमा पूर्ण संलग्नता छ, प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्म सजाय हुनुपर्छ भन्ने बेहोराको शंकरबहादुर कटवाल, ओम दयाल र मोहनकुमार श्रेष्ठले छुट्टाछुट्टै गरेको कागज ।

मिति २०६७।०३।२४ गते म आफ्नै घरमा थिएँ । छविलाल कार्की मेरा ज्वाइँ हुन् । छविलाल कार्की, दिलबहादुर सार्की, देवबहादुर कटवाल मिति २०६७।०३।२४ गते १९:४५ बजेको समयमा निशंखे बजारबाट मेरो घर हुँदै तारा होटलतर्फ आउनुहुँदै 

रहेछ । मैले ज्वाइँ खाना तयार छ, खाएर जानुहोस् भनी छविलाल कार्कीलाई भन्दा छवि सर उतै तारा होटलमा खाना खानुहुन्छ, कुखुरा काटेको छ भनी देवबहादुर कटवालले भन्दै तारा होटलतिर लिएर गए । दिनभर दिलबहादुर र देवबहादुर छविलाल कार्कीसँग हिँडेका थिए । मेरो ज्वाइँ र निजको दाजु चन्द्रकुमार कार्कीको पहिलेदेखि नै अंशबन्डामा कुरा नमिलेको हुँदा १०/११ वर्षअगाडिदेखि बोलचाल नभई रिसइवी भएकोले मेरो ज्वाइँ छविलाल कार्कीलाई मौका अवसर मिले मार्ने योजना बनाएका छन् भन्ने कुरा मैले गाउँघरमा सुनेको थिएँ, सोबारेमा मैले ज्वाइँलाई सम्झाउने गर्दथेँ । मिति २०६७।३।१० गते ज्वाइँ छविलाल कार्की मेरो घरमा बस्नु हुँदा रातको २१:३० बजेको समयमा मेरो घर घेरी ज्वाइँ छविलाल कार्कीलाई मार्नको लागि अडिग भन्ने यदुनाथ घिमिरे, अखिल भन्ने ढुण्डीराज घिमिरे, टिका भुजेल, नवराज बस्नेत, दिपककुमार कटवाल, तारा सि.के. भन्ने कालुराम सार्कीसमेतलाई बाबुराम सुवेदीले ल्याई बसेका रहेछन् । सो कुरा हामीले थाहा पाएपश्चात् निजहरू भागी हिँडेका थिए । मेरा ज्वाइँको बारेमा देवबहादुर कटवाल र दिलबहादुर सार्कीले सूचना दिएकाले बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, तारा सि.के.भन्ने कालुराम सार्की, चन्दकुमार कार्की, चतुरे भन्ने तिलक राई, यदुनाथ घिमिरे, ढुण्डीराज घिमिरे, ओम राई, टिका भुजेल, जितमान राई, रामबहादुर राईसमेतका मानिसले पूर्व सुनियोजित ढङ्गबाट मिति २०६७।०३।२४ गते रातको २०:५० बजेको समयमा मेरा ज्वाइँलाई रड, भाला, खुकुरीसमेतका हतियारले प्रहार गरी, कुटपिट गरी मारेको कुरामा मलाई पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको मनकली राजभण्डारीले गरेको कागज । 

मिति २०६७।०३।२४ गतेका दिन ठुलाछाप गा.वि.स.को सडकसम्बन्धी मिटिङमा थिएँ, मिटिङ सम्पन्न भएपश्चात् तारा तामाङको होटलतर्फ आएको थिएँ । सो होटलमा छविलाल कार्की, देवबहादुर कटवाल, दिलबहादुर सार्कीले कुखुरा काटी मासु पकाउन लगाएका रहेछन् । छविलाल कार्की, देवबहादुर कटवाल, दिलबहादुर सार्की, पदम तामाङ, बाबुराम कटवाल, ज्ञानबहादुर कटवाल, खुपराज श्रेष्ठसमेतले तारा तामाङको होटलमा कुखुराको मासु, चिउरा र केही मादक पदार्थसमेतको खाजा खायौँ । बेलुका १८.०० बजेको थियो होला खाजा खाई सकी छविलाल कार्कीले म आज घर भदौरे जान्छु भन्नुभयो, त्यसपछि हामीहरू आ-आफ्ना घर गयौँ भने दिलबहादुर सार्की, छविलाल कार्की र देवबहादुर कटवाल निशंखे बजारतर्फ लागे । पछि देवबहादुर कटवाल र दिलबहादुर सार्कीले घुमाई फिराई छविलाल कार्कीलाई तारा तामाङको होटलमा ल्याएछन् । छविलाल कार्कीलाई मार्नमा दिलबहादुर सार्की र देबबहादुर कटवालले छविलाल कार्की सँगसँगै खाने, हिँड्ने, निजको बारेमा सम्पूर्ण जानकारी विदुर / विचार भन्ने बाबुराम सुवेदीलाई दिई अनुकूल वातावरण बनाई वारदातमा प्रतिकारसमेत नगरेको र बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, यदुनाथ घिमिरे, चन्द्रकुमार कार्की, टिकाराम भुजेल, ढुण्डीराज घिमिरे, तारा सि.के. भन्ने कालुराम सार्कीसमेतले रड, भाला, कुन्जोलगायतका फलामे हतियारले कुटपिट गरी योजनाबद्ध तरिकाबाट वारदात घटाई छविलाल कार्कीको हत्या गरेको कुरामा पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको खुपराज श्रेष्ठ, बाबुराम कटवाल, साँहिली भन्ने गोमा श्रेष्ठ, सम्मरबहादुर कटवाल, टेकबहादुर कटवाल, कुमार भन्ने पोष्टबहादुर कार्की, रामबहादुर भन्ने भीमबहादुर कार्की, हेमबहादुर खड्का, ज्ञानबहादुर कटवालसमेतले गरिदिएको एकै मिलानको छुट्टाछुट्टै कागज ।

मिति २०६७।०३।२२ गते म ओखलढुङ्गा जिल्ला हुलाक कार्यालयबाट साँझको १९:३० बजेको समयमा मेरो घर पुग्दा नवराज बस्नेत, दिपककुमार कटवाल, विदुर / विचार भन्ने बाबुराम सुवेदी अन्य ३०/३२ वर्षका मतवाली जस्ता देखिने २ जना मानिससमेत ५ जना मकै, भटमास र मोही खाँदै रहेछन् । बाबुराम सुवेदीले को, कससँग फोन गरेका हुन् थाहा भएन, अगुवाइ म गर्छु कार्यक्रम सफल पार्नुपर्छ, हाम्रो कुरा गोप्य रहनुपर्छ भन्ने कुरा गरेको मैले सुनेको थिएँ । तत्काल कोसँग के भनेको हो मैले थाहा पाइन । पछि मिति २०६७।०३।२४ गते छविलाल कार्कीलाई कुटपिट गरेछन् । पक्राउ परेका चन्द्रकुमार कार्कीको छविलाल कार्कीसँग पहिलादेखि नै बोलचाल थिएन भन्ने कुरा मैले सुनेको थिएँ । बाबुराम सुवेदीसमेतले २२ गते मेरो घरमा फोनबाट म अगुवाइ गर्छु भन्नु र २४ गते छविलाल कार्कीको हत्या हुनुमा बाबुराम सुवेदीको अगुवाइमै जाहेरीमा उल्लिखित प्रतिवादीहरूले छविलाल कार्कीलाई कुटपिट गरी हत्या गरेको कुरामा मलाई विश्वास लाग्छ भन्नेसमेत बेहोराको विष्णुप्रसाद भट्टराईले गरेको कागज ।  

मेरो होटलमा मिति २०६७।३।२४ गते दिनको समयमा छविलाल कार्की, देवबहादुर कटवालसमेतले आज हामी खाजा खान्छौँ, एउटा कुखुरा काटिदिनु भनेका थिए, पछि खाजा खान दिलबहादुर सार्की, देवबहादुर कटवाल, छविलाल कार्की, ज्ञानबहादुर कटवाल, खुपराज श्रेष्ठ, बाबुराम कटवाल, पदम तामाङसमेत मेरो होटलमा आई दिउँसो काट्न लगाएको कुखुराको मासु, चिउरा र केही मादक पदार्थसमेत खाए । बेलुका १८:०० बजेतिर बाहिर निस्किएर गएका दिलबहादुर सार्की, देवबहादुर कटवाल र छविलाल कार्की निशंखे बजारतर्फ गई पुनः अन्दाजी २०:५० बजेतिरको समयमा निजहरू तीनै जना मेरो होटलमा आए, खाना देवबहादुर कटवाललाई मात्र बनाएको थियो । तीनै जना आएपछि तीनै जनालाई खाना दियौँ । दिलबहादुर सार्की घर बाहिर र देवबहादुर कटवाल र छविलाल कार्की घरभित्र बसेर खाना खाँदै गर्दा मैले चिनेका विदुर / विचार भन्ने बाबुराम सुवेदी, टिका भुजेल, अखिल भन्ने ढुण्डीराज घिमिरेलगायत अन्य ४/५ जना होटल घरभित्र प्रवेश गरी छविलाल कार्कीलाई रडले प्रहार गरे, छविलाल कार्कीले पनि केहीबेर प्रतिकार गरे, देवबहादुर कटवाल र दिलबहादुर सार्की भागे, मलाई पनि कुट्लान् भनेर त्यहाँबाट भागेर गई प्रहरी लिई आएको हुँ । म आइपुग्दा छविलाल कार्कीलाई कुटपिट गरेर लडाई भागिसकेका 

रहेछन् । मैले चिनेका ३ जना र अन्य नचिनेका जाहेरीमा उल्लिखित प्रतिवादीहरूले नै छविलाल कार्कीलाई कुटपिट गरी हत्या गरेको हो भन्नेसमेत बेहोराको होटलवाला पूर्णबहादुर तामाङले गरेको कागज । 

मिति २०६७।३।२४ गते दिलबहादुर सार्की, छविलाल कार्की, देवबहादुर कटवालले कुखुरा काटिदिनु भनेकाले एउटा भाले कुखुरा काटी मासु बनाई दिएको र सो खाजा खाई दिलबहादुर सार्की, छविलाल कार्की र देवबहादुर कटवाल निशंखे बजारतर्फ गए । देवबहादुर कटवालले मेरो होटलमा आफूलाई खानाको अर्डर गरेका थिए । राति अन्दाजी २०:५० बजेको समयमा यी तीनै जना मेरो होटलमा आएपछि तीनै जनालाई मैले खाना दिएँ । दिलबहादुर सार्की बाहिर ढोका छेउमा र छविलाल कार्की र देवबहादुर कटवालभित्र बसेर खाना खान लागिरहेका थिए । सोही बेला मुखमा रूमाल, मास्क लगाएका विदुर विचार भन्ने बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, टिका भुजेल, अखिल भन्ने ढुण्डीराज घिमिरे, यदुनाथ घिमिरे आई रड, लाठीले छविलाल कार्कीलाई मात्र टाउको, जिउमा प्रहार गरी घाइते बनाए । छविलालले प्रतिकार गर्नुभयो, त्यसैबेला देवबहादुर कटवाल र दिलबहादुर सार्की त्यहाँबाट भागे । हामीलाई पनि कुट्छन् होला भनी म, श्रीमान् र ४ वर्षको छोरालाई च्यापी जस्केला साइडको ढोकाबाट निस्की भागी प्रहरी आउँदा घटना घटाउने अपराधीहरू भागिसकेका रहेछन् । छविलाल कार्कीलाई घर बाहिर निकाली सख्त घाइते बनाई लडाएको रहेछ । यिनै चिनेका र नचिनेका समेत प्रतिवादीहरूले छविलाल कार्कीलाई कुटपिट गरी हत्या गरेको हो भन्नेसमेत बेहोराको होटलवाला तारा तामाङले गरेको कागज ।

छविलाल कार्की मेरो देवर नाताका मानिस हुन् । २०६७ साल वैशाख महिनाको बेला होला कुलबहादुर भुजेललाई भदौरेमा कुटपिट गरेको मुद्दामा मेरो श्रीमान् चन्द्रकुमार कार्कीलाई पनि विपक्षी बनाई मुद्दा दायर गरेको र पहिलादेखि नै घरायसी कारणबाट पनि देवर छविलाल कार्की बोल्दैनथे । असार १०/११ गतेतिर होला बाबुराम सुवेदीले छविलाल कार्कीलाई मार्ने योजना बनाएका थिए अरे । मिति २०६७।३।२४ गते पनि निजहरूले नै कुटपिट गरी मारेकोमा पूर्ण विश्वास छ, सो राति ०१.०० बजेको समयमा नवराज बस्नेत आई मामा मामा भनी मेरो श्रीमान्‌लाई बोलाएपछि मेरो श्रीमान्‌ले ढोका खोल्नुभयो । हामी घरको तलामाथि सुत्थ्यौँ, तलामाथि कोठामा नवराज आए, म मिन्स (महिनावारी) भई अलग्गै कोठामा सुतेकी थिएँ । गुनगुन गरेको आवाज सुनेर म सुतेको कोठाबाट ढोकाको छेउमा आएर हेर्दा नवराज बस्नेतले मामा हामीले भनेको कुरा सफल भयो, छविलाई कुटपिट गरी आएकाले सो कुरा तपाइँलाई पनि जानकारी गराउन आएको, तपाइँ पनि ओल्टो कोल्टो लाग्नुस्, हामी पनि भाग्छौँ, पूलिस आउन सक्छ । हामीले गरेको सल्लाहमा काम सफल भएपछि दिन्छु भनेको रकम दिनुहोस् भने, तल बस्ने टिका भुजेल छिटो गर् छिटो गर् भन्दै थिए, अन्य मानिस घरपछाडि गुनगुनाउँदै थिए । मेरो पतिले एक लाख रूपैयाँ निकाली नवराज बस्नेतलाई दिनुभएको हो भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रकुमार कार्कीको श्रीमती पुन्न कुमारी बस्नेत (कार्की) ले गरेको कागज ।

आषाढ १०/११ गतेतिर म, छविलाल कार्की र अर्को एकजना साथीसमेत ३ जना साँझको समयमा निशंखे बजारतर्फ गएको हो । सो समयमा मसँग छविलाल कार्कीले बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, तारा सि.के. भन्ने कालुराम सार्की, यदुनाथ घिमिरे, टिका भुजेल, ढुण्डीराज घिमिरे मेरै दाइ चन्द्रकुमार कार्कीसमेतले मलाई धम्की दिएका छन् भन्नुहुन्थ्यो । त्यसपछि मैले सदरमुकामतर्फ गएर बस्नु, आफ्नो सुरक्षा गर्नुपर्छ भनी सम्झाएको थिएँ । मिति २०६७।३।२४ गते पनि यिनै प्रतिवादीहरूले वारदात घटाएको कुरामा विश्वास लाग्छ भन्ने बेहोराको मोहनकुमार कार्कीले गरेको कागज ।

२०६७ साल वैशाख महिनाको २६ गते राति भदौरेका कुलबहादुर भुजेल र भीमबहादुर थापामगरलाई विदुर / विचार भन्ने बाबुराम सुवेदी, चन्द्रकुमार कार्कीलगायतका मानिसहरूले कुटपिट गरेको भन्ने पीडितका घर परिवारले जाहेरी दिई उक्त जाहेरी छविको अगुवाइमा दिएको भन्ने विषय बनाई २०६७ सालको जेष्ठ २८/२९ गते बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, कालुराम सार्की, टिका भुजेल, चन्द्रकुमार कार्कीलगायतका मानिसहरूले रामबहादुर राईको घरमा मिटिङ गरी छविलाल कार्कीले हामीलाई टिक्न खान दिएन, यसलाई मार्नुपर्छ भनी भनेको सुनेको थिएँ । मिति २०६७।०३।१४ गते म स्कुलबाट घर आउँदा बेलुका १७:३० बजेको समयमा गाउँकै टिमल डाँडा भन्ने स्थानमा चन्द्रकुमार कार्की र मेरो एक्कासी जम्का भेट भयो अनि के छ खबर मामा भनी मैले चन्द्रकुमार कार्कीलाई भन्दा मलाई के हुनु नि कुलबहादुरको विषयमा मुद्दा दर्ता गराउने छवि र तिमी पनि साक्षीमा छौ रे हेर्दै जाउँ अब छविको पनि काल छोटिइसकेको छ, ७/८ दिनमा यसको अवस्था नाजुक भइसक्छ त्यसपछि साक्षी बस्नेको पनि भनी चन्द्रकुमार कार्कीले धम्क्याए । यस्तै क्रममा पटकपटक मिटिङ एवम् आक्रमणको प्रयास गरी मिति २०६७।३।२४ गते तारा तामाङको होटलमा दिलबहादुर सार्की र देवबहादुर कटवालबाट छविलाल कार्कीको दिनचर्याबारे खबर लिई विदुर / विचार भन्ने बाबुराम सुवेदी, रामबहादुर राई, दिपककुमार कटवाल, नवराज बस्नेत, लालबहादुर भुजेल, कालुराम सार्की, तिलक राई, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल भन्ने ढुण्डीराज घिमिरे, ओम राई, जितमान राई, टिका भुजेलसमेतले छविलाल कार्कीलाई उक्त मिति र समयमा रड, लाठी, कुन्जोसमेतका हतियारले कुटपिट गरी हत्या गरेको कुरामा मलाई पूर्णविश्वास छ भन्नेसमेत बेहोराको सन्तोषकाजी कार्कीले गरेको कागज ।

मिति २०६७।०३।२४ गतेको दिनको कोदो रोपी साँझमा तारा तामाङको होटलमा आएकी 

थिएँ । समय यकिन भएन देवबहादुर कटवाल, दिलबहादुर सार्की र छविलाल कार्की ३ जना होटलमा आए, तारा दिदीले भात पस्केर तीनै जनालाई दिनुभयो, मैले पानी दिएँ, दिलबहादुर सार्कीले ढोकाको छेउमा बाहिर बसेर खाए, छविलाल कार्की र देबबहादुर कटवाल होटल घरभित्र बेन्चमा बसेर खाना खाँदै गर्दा एक्कासी बाहिरबाट ४/५ जना मानिसहरू आई छविलाल कार्कीलाई रड, लाठीले हिर्काए, केही छिन छविलाल कार्कीले पनि उनीहरूसँग लाप्पा खेले । दिलबहादुर सार्की र देवबहादुर कटवाल भागिसकेका रहेछन् । तारा तामाङ र निजका पति पूर्णबहादुर तामाङ पनि छोरा आयुस तामाङलाई लिई घर माथिपट्टि जस्केलोबाट निस्की भागे, अनि म पनि निस्केर 

भागेँ । प्रायः भित्र पस्नेले मास्क, रूमाल मुखमा बाँधेर आएका थिए । होटलभित्र पसी छविलाई कुटपिट गर्नेमा मेरै घर नजिकका नवराज बस्नेत दाइ, विचार दाइ (बाबुराम सुवेदी) र हाम्रै तारा दिदीको होटलमा बेला बेलामा आई कोक खाने टिका भुजेललाई मैले चिनेकी थिएँ । हाल पक्राउ परेका अखिल भन्ने ढुण्डीराज घिमिरे र टिका भुजेललाई हेर्दा थाहा भयो, होटलभित्र प्रवेश गरी कुटपिट गर्ने यी दुईजना पनि हुन् भन्नेसमेत बेहोराको तारा तामाङको होटलमा बस्ने विमला मगरले गरेको कागज । 

मिति २०६७।३।२४ गते बेलुका वारदात घटाइसकेपछि अडिग भन्ने यदुनाथ घिमिरे, विदुर / विचार भन्ने बाबुराम सुवेदी, अखिल भन्ने ढुण्डीराज घिमिरे, दिपककुमार कटवाल, तारा सि.के. भन्ने कालुराम सार्कीसहितका ५ जना उमा क्याम्पसको छेउ निशंखे बजार हुँदै हस्याङफस्याङ गर्दै कुद्दै थिए । केही समयपछि तारा होटलमा छविलाई मारे भनी हल्ला गरेपछि मसमेत घटनास्थलमा आई हेर्दा छविलाल कार्की विभत्स घाइते अवस्थामा लडिरहेका रहेछन् । मिति २०६७।०३।२४ गते दिउँसो नवराज बस्नेत, ओम राई, जितमान राई, रामबहादुर राई निशंखे बजारतर्फ जाँदै गर्दा आज चाहिँ जसरी भए पनि काम फत्ते गर्नुपर्छ भन्दै हिँडेका थिए, के भनेका रहेछन् तत्काल बुझिएन, पछि घटना घटेपछि छविलाल कार्कीलाई मारी काम फत्ते गर्नुपर्छ भनेका रहेछन् । प्रतिवादीहरू दिलबहादुर सार्की र देवबहादुर कटवालको सहयोग लिई अन्य प्रतिवादीहरू बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, तारा सि.के. भन्ने कालुराम सार्की, चन्द्रकुमार कार्की, चतुरे भन्ने तिलक राई, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, ओम राई, जितमान राई, टिका भुजेल, लालबहादुर भुजेल, रामबहादुर राई मिली उमा क्याम्पसबाट रडसमेत ल्याई तारा होटलभित्र खाना खाइरहेको अवस्थामा छविलाल कार्कीलाई कुटपिट गरी निर्मम हत्या गरेको कुरामा पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको प्रेमबहादुर भुजेलसमेतका ५ जनाले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

मिति २०६७ साल आषाढ २४ गते दिउँसो २/३ बजेतिर छविलाल कार्कीले मलाई तारा तमाङको होटलमा नास्ता बनाउन लगाएको छु, बाबुराम कटवाल र पदमबहादुर तामाङलाई बोलाएर आउ भनेपछि उनीहरूलाई खबर गरी उनीहरूसँग तारा होटलमा म पनि आएँ । सो होटलको माथिल्लो तलाको कोठामा छविलाल कार्की, बाबुराम कटवाल, पदमबहादुर तमाङ, देवबहादुर कटवाल, ज्ञानबहादुर कटवाल र खुवराज श्रेष्ठभित्रपट्टि र म बरण्डामा बसी चिउरा, मासु र मादक पदार्थ खाई बेलुका ६ बजेतिर हामी गयौँ । हामीमध्येका देवबहादुर कटवाल, छविलाल कार्की र म निशंखे बजारमा तिर्थ श्रेष्ठको घरमा गयौँ । त्यहाँ छविलालले २ बोतल बियर किन्नुभयो र तिर्थ श्रेष्ठ, म र छविलालले खायौँ । त्यसपछि, म घर जान्छु भन्दा छविलालले तारा होटलमा गई केही खाएर जानु भनी करकाप गरेपछि बात हार्न नसकी गएँ । होटलमा पुगी छविलाल कार्की र देवबहादुर कटवाल तलको कोठाभित्र र म बरण्डामा बसी खाना खान सुरू गर्नासाथ मेरो गर्धनमा एक्कासी लात्ताले हान्दा म लडी कसले हो भनी उठ्न नपाउँदै अर्कोले कोखामा लात्तीले हानी यसलाई सुट गर भन्न थाले । कोठाभित्र ४/५ जना प्रवेश गरी छविलाल कार्कीलाई प्रहार गरे, भित्रबाट मरेँ मार्‍यो भन्ने आवाज आएको सुनी बाहिर ५/६ जना अरू दौडधुप गरिरहेका र मलाई भाला देखाई प्रहार गर्न खोजेकोले म गुहार गुहार भनेर कराउँदै निशंखे बजारतिर दौडेँ । भित्र कोठामा कुटपिट भइरहेको थियो । त्यसरी प्रहार गर्ने व्यक्तिहरूले मुखमा पट्टी बाँधेको, रड बोकेका थिए, रातको समय भएकोले प्रस्ट चिन्न सकिन तर यसलाई सुट गर, मारिदे भन्ने आदेश दिएको आवाज प्रतिवादीमध्येका दिपक कटवालको भएको प्रस्ट 

चिनेँ । मृतक छविलाल कार्कीलाई मार्ने मराउनेसम्मको कुनै योजना र षड्यन्त्र मैले गरी गराई वारदात घटाएको होइन । म घटनामा संलग्न थिइनँ । उक्त वारदात हुँदा मैले चिनी खुलाएको दिपक कटवाललगायत जाहेरीमा किटान गरेका नवराज बस्नेत, चन्द्रकुमार कार्की, बाबुराम सुवेदी, तारा सि.के., टिकाराम भुजेलसमेतका व्यक्तिले पूर्वयोजना र षड्यन्त्र गरी वारदात घटाएकोमा पूर्णविश्वास लाग्छ भन्ने कालकाँधे भन्ने दिलबहादुर सार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मैले छविलाल कार्कीलाई मार्ने मराउने काम कारबाही गरेको छैन । घटनामा मेरो संलग्नता छैन । घटना हुँदाको समयमा मैले प्रत्यक्ष देखे चिनेअनुसार विदुर / विचार भन्ने बाबुराम सुवेदी, नवराज बस्नेतलाई प्रस्ट चिनेँ । सुरूमा प्रहार गर्ने विदुर/विचार भन्ने बाबुराम सुवेदी हुन् । सुट गर भनी वचन दिने दिपक कटवाल हुन् । यी बाहेक जाहेरीमा किटान भएका मैले चिनेका तारा सि.के. भन्ने कालुराम सार्की, चन्द्रकुमार कार्की, अडिग भन्ने व्यक्ति, टिका भुजेलको पनि घटना घटाउने कार्यमा प्रत्यक्ष संलग्नता भएको विश्वास 

लाग्छ । कालकाँधे भन्ने दिलबहादुर सार्की संलग्न भएकोमा विश्वास लाग्दैन । जाहेरीमा किटान भएका प्रतिवादी ढुण्डीराज घिमिरे, ओम राई, जितमान राईलाई मैले चिनेको छैन । उनीहरूको संलग्नता भने हुनसक्छ । प्रतिवादीमध्येका चन्द्रकुमार कार्की छविलाल कार्कीको सौतेनी आमाको छोरा भएको र उनीहरूबिच अंशलगायतका कारणले रिसइवी भई यिनै कारणबाट योजना बनाई वारदात घटाएकोमा विश्वास लाग्छ भन्ने बेहोराको देवबहादुर कटवालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मृतक छविलाल कार्की र मबिच दाजुभाइको नाता पर्दछ । घरयासी अंशबन्डासम्बन्धी विवाद र चुनावमा मत हालेन भनेर अविश्वास पैदा हुँदै गई रिसइवी मनमुटाव झन् गहिरो हुँदै गएको थियो । भिमबहादुर थापा मगरलाई कुटपिट गरेको मुद्दामा मलगायत बाबुराम सुवेदी, नवराज बस्नेत, यदुनाथ घिमिरेलगायतका मानिसहरूलाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्न छविलाल कार्कीले सहयोग गरेको हुँदा निजलाई कुटपिट गरी मार्नुपर्छ भनी योजना बनाएको हो । सोहीअनुसार निज बाबुराम सुवेदी, दिपक कटवाल, टिकाराम भुजेल, नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, तिलक राई, ओम राई, अखिल भन्ने ढुण्डीराज घिमिरे, लालबहादुर भुजेललगायतका व्यक्तिहरूले २०६७ साल जेठ २८/२९ गते रामबहादुर राईको घरमा मिटिङ बसी योजना बनाएको र निज व्यक्तिहरूले छविलाल कार्कीलाई २/३ पल्ट कारबाही गर्ने प्रयास गर्दा सफल भइएन भन्ने कुरा विदुर/विचार भन्ने बाबुराम सुवेदीबाट सुनेको छु । यो घटना पनि निजहरूले नै घटाएको हो । प्रतिवादीहरू देवबहादुर कटवाल र दिलबहादुर सार्की निज मृतकको विश्वासिलो व्यक्ति भएकोले घटना घटाउनका लागि बाबुराम सुवेदीले दिलबहादुर सार्की र देवबहादुर कटवालको सहयोग लिई के कहाँ बस्छन्, कहाँ जान्छन् बुझ्न माध्यम बनाएको भन्ने बुझेको 

छु । मिति २०६७ साल जेठ २८/२९ गते रामबहादुर राईको घरमा मिटिङ बस्दा विदुर/विचार भन्ने बाबुराम सुवेदीले एक छेउमा मलाई बोलाई योजनाअनुसार काम भएपछि हामी भाग्नुपर्ने हुनसक्छ, सोको लागि खर्चको आवश्यकता पर्छ, तपाइँले त्यसको व्यवस्था मिलाउनुपर्छ भन्दा मैले त्यसको चिन्ता लिनु पर्दैन, म व्यवस्था गर्छु भनेको थिएँ । सोही मुताबिक मिति २०६७ असार २४ गते राति नवराज बस्नेत र टिका भुजेल मेरो घरमा आई सहमतिअनुसारको काम भयो, बाबुराम सुवेदीले भनेअनुसारको रकम दिनुहोस् भनेपछि मैले सो रूपैयाँ दिएर पठाएको हुँ । निज छविलाल कार्कीको हामीहरूले बनाएकै योजनाअनुसार कुटपिट गरेकै कारण मृत्यु भएको हो भन्नेसमेत बेहोराको चन्द्रकुमार कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७ साल वैशाख महिनामा भदौरे गा.वि.स.का कुलबहादुर भुजेल र भीमबहादुर थापामगरलाई कुटपिट गरेको विषयमा विदुर/विचार भन्ने बाबुराम सुवेदीसमेतलाई विपक्षी बनाई कुटपिट अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योग मुद्दा दायर गर्नमा प्रमुख भूमिका छविलाल कार्कीको छ भनी छविलाल कार्कीसँग रिसइवी लिई बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल भई मिति २०६७ जेष्ठ २८/२९ गते भदौरे गा.वि.स. वडा नं. ३ स्थित रामबहादुर राईको घरमा छविले हामीलाई टिक्न खान दिएन, यसलाई समझदारीमा ल्याउन खोज्दा समझदारीमा आउँदैन कुटपिट गरी लाइनमा ल्याउनुपर्छ भनी विदुर/विचार भन्ने बाबुराम सुवेदीले भने । त्यसपछि म २०६७ आषाढ ४ गते ओखलढुङ्गाबाट गई दिपकको घरमा बसेँ र भोलिपल्ट असार ५ गते राति तारा होटलको छेउमा बाटोमाथि लुकी बस्यौँ, तारा तामाङको होटलबाट ३ जना आएकाले छविलाई नचिनिएकोले आक्रमण गरिएन । दोस्रो पटक ठुलाछाप गा.वि.स. को जम्दार खड्काको छोरीको बिहेमा छविलाल कार्की गएको छ त्यसलाई त्यहाँ नै ठिक गर्नुपर्छ भनी अलि माथि क्याम्पसको छेउको डिलमा बस्यौँ, त्यहाँ पनि सफल भइएन । तेस्रोपटक छविको ससुराली घरमा र चौथोपटक छवि घरमा आएको मौका छोपी आक्रमण गर्न खोज्दा ४ पटकसम्म आक्रमणको योजना सफल नभएपछि सबै मिली अब मार्नै पर्छ भनी विचार 

गर्‍यौं । त्यसपछि आसार २४ गते मलाई यदुनाथ घिमिरेले भनेपछि बेलुका ७ बजेतिर म दिपककुमार कटवालको घरमा पुग्दा विचार भन्ने बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, तिलक राई, कालुराम सार्की, अडिग भन्ने यदुनाथ घिमिरे, जितमान राई, रामबहादुर राई, अखिल भन्ने ढुण्डीराज घिमिरेसमेत जम्मा भएका रहेछन् । केहीछिनपछि बाबुराम सुवेदीले जाओ साथी हो भनेकोले सबैजना उमा क्याम्पसको निर्माणाधीन भवन हुँदै तारा होटलतर्फ गयौँ । जितमान राई, तिलक राई, तारा सि.के. भन्ने कालुराम सार्की, ओम राई, रामबहादुर राईले हातमा लाठी बोकेका र अन्य म टिकाराम भुजेल, बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, यदुनाथ घिमिरे, ढुण्डीराज घिमिरेले उमा क्याम्पसमा छरिएका रड खोजी बोकी तारा होटल छेउमा गई लुकेर बस्यौँ । साँझ २०:३० बजे निशंखे बजारतिरबाट ३ जना मानिसहरू आई तारा होटलमा पसे भने ४ जना मानिसहरू लगत्तै तारा होटलबाट निस्केर गए । छविलाल कार्की होटलभित्र नै छ भन्ने लागेर म टिकाराम भुजेल, विदुर / विचार भन्ने बाबुराम सुवेदी, अडिग भन्ने यदुनाथ घिमिरे, दिपककुमार कटवाल, नवराज बस्नेत, अखिल भन्ने ढुण्डीराज घिमिरे होटलभित्र पस्दा छविलाल कार्की त्यहीँ रहेछ । सुरूमा विदुर भन्ने बाबुराम सुवेदीले यहीँ रहेछ, ठोक साथी हो भनी रडले छविको टाउकोमा प्रहार गरे, दिलबहादुर सार्की र देवबहादुर कटवाल उठेर भागे, छविले प्रतिकार गर्न खोज्दै थिए, हामी सबैले कुटपिट गर्न थाल्यौँ । मैले मेरो हातमा भएको रडले छविको खुट्टामा हानेपछि छवि लड्यो । हामीले घिसारेर बाहिर ल्याएपछि सबैले हिर्कायौँ, छेउमा भएको ढुङ्गा उचाली मैले हानेपछि अब यो मर्‍यो भनेर हामी सबै हिड्यौँ । म र नवराज बस्नेत चन्द्रकुमार कार्कीको घर गई सल्लाहअनुसारको रकम ल्यायौँ । अरू रामबहादुर राईको घरको बाटो हुँदै भागे । राति नवराज बस्नेत र म नवराज बस्नेतको बेसीँ घरमा गई बस्यौँ । पोल खुली भाग्नुपर्ने अवस्था आएमा तँलाई दश हजार दिउँला, पैसाको बारेमा पछि कुरा गरौँला भनी नवराज बस्नेतले भनेपछि म बिहानै उठेर घरतिर लागेँ । असार २९ गते लामीडाँडा गएर बसी असार ३१ गते लामीडाँडाबाट काठमाडौं प्लेनमा गई मण्डिखाटार कोठामा बसेको र सोही कोठाबाट प्रहरीद्वारा पक्राउ परी म ओखलढुङ्गा आएको हुँ भन्नेसमेत बेहोराको अभियुक्त टिका भुजेल भन्ने टिकाराम भुजेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

भदौरेका कुलबहादुर भुजेल र भीमबहादुर थापामगरलाई कुटपिट गरेको विषयमा विदुर / विचार भन्ने बाबुराम सुवेदी, चन्द्रकुमार कार्कीसमेतलाई विपक्षी बनाई मुद्दा दिनमा छविलाल कार्कीले प्रमुख भूमिका खेलेको रिसइवी राखी विदुर / विचार भन्ने बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, रामबहादुर राई, टिका भुजेल, लालबहादुर भुजेल, म अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरेसमेत रामबहादुर राईको घरमा ०६७ साल जेष्ठ २८/२९ गतेतिर होला, योजना बनाई छविलाल कार्कीसँग नजिक भई हिँड्ने देवबहादुर कटवाल र दिलबहादुर सार्कीसँग छविलाल कार्कीको बारेमा जानकारी लिने अनि छविलाललाई ठिक गर्ने भनी बाबुराम सुवेदीसहितले योजना बनायौँ । सोही योजनाअनुसार मिति २०६७।०३।०५ गते राति तारा होटलको साइडमा रूँगेर बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, तारा सि.के. भन्ने कालुराम सार्की, तिलक राई, यदुनाथ घिमिरे, ओम राई, टिकाराम भुजेल, जितमान राई, रामबहादुर राई, लालबहादुर भुजेल र म अखिलसमेत कुटपिट गर्न बसेकोमा केही छिनमा तारा तामाङको होटलबाट ३ जना मानिस निस्केर गए, छविलाल कार्कीलाई राति नचिनेकोले आक्रमण भएन । दोस्रोपटक असार ६ गते ठुलाछाप स्थित जम्दार खड्काको छोरीको विवाहमा छविलाललाई मार्ने योजनासहित सोही टिम लाठी, रडसहित आएको र अरू क्याम्पसको डिलमा बसे र मलाई बिहे घरमा गई छविलाल कुन बाटो जान्छ हेरी फोन गरी जानकारी गराउनु भनी पठाएका थिए । म बिहे घरमा गई हेर्दा पहिले छवि तास खेल्दै थियो, केहीछिनपछाडि छवि कता गयो मैले देखिनँ र सोही कुरा आई साथीहरूलाई भनेँ र सो दिन पनि कार्य सफल भएन । तेस्रोपटक, छविलाल कार्कीको ससुराली घरमा सोही टिमले घर घेरी बसेकोमा निज छविको श्रीमती बाहिर निस्की थाहा पाएकोले सो दिन पनि कार्य सफल भएन । चौथोपटक भदौरे स्थित छविलालकै घरमा राति सोही टिमले रड, लाठीसमेत लिई छवि पिसाब फेर्न ट्वाइलेट झर्छ अनि कुटपिट गर्ने भनी घरको मुनि ट्वाइलेटको छेउ केराबारीमा लुकी बसेकोमा छवि पिसाब फेर्न झरेन, सायद थाहा पाएर हुनुपर्छ भनी त्यहाँबाट अब छवि झर्दैन भनी रातको १०/११ बजे हिँड्यौ । पाँचौं पटक मिति २०६७।३।२४ गते २०:०० बजे सोही टिमले दिपककुमार कटवालको घरमा योजना बनायौँ, सूचना प्रवाह गर्ने दिलबहादुर सार्की र देवबहादुर कटवाल 

थिए । सूचना बाबुराम सुवेदी र दिपककुमार कटवाललाई हुन्थ्यो । सोही योजनाअनुसार तारा होटलमा खाना खाएको मौका छोपी होटलभित्र बाबुराम सुवेदी, नवराज बस्नेत, टिकाराम भुजेल, यदुनाथ घिमिरे, दिपककुमार कटवाल र म अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरेसमेत भई रड, लाठीले छविलाल कार्कीको टाउको जिउमा हान्यौँ, निजले पनि प्रतिकार गरे, हामीले जोड बल गरी बाहिर निकाली सबैले कुटपिट गरी सख्त घाइते बनाएका हौँ । क-कसले कहाँ कहाँ हिर्काए यकिन भएन । तत्काल घटना घटाई हामी त्यहाँबाट भागेका हौँ । दिलबहादुर सार्की र देवबहादुर कटवाललाई पूर्वयोजनाअनुसार नै वारदातमा केही नगरी प्रहरीमा रिपोर्ट गर्न जाने भनेअनुरूप नै प्रहरीमा खबर गर्न गएका हुन् । वारदातपश्चात् टिकाराम भुजेल र नवराज बस्नेत चन्द्रकुमार कार्कीको घरमा पैसा लिन जाने भन्ने योजना थियो, अरू कता भागे थाहा भएन भन्नेसमेत बेहोराको अखिल / ढुण्डीराज भन्ने विमर्शराज घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

२०६७ साल जेष्ठ २८/२९ गते हुँदो हो मैले चिनेका तारा सि.के. भन्ने कालुराम सार्कीले रामबहादुर राईको घरमा मिटिङ छ भनी बोलाएकोले म बेलुका १८:०० बजे निजको घरमा गएको थिएँ । त्यहाँ बाबुराम सुवेदी, टिका भुजेल, जितमान राई, रामबहादुर राई, तिलक राई, दिपककुमार कटवाल, नवराज बस्नेत, चन्द्रकुमार कार्की, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल भन्ने ढुण्डीराज घिमिरेसमेत जम्मा भएका रहेछन् । बाबुराम सुवेदीले हामीलाई छविलाल कार्कीले कुलबहादुर भुजेल र भीमबहादुर थापामगरको कुटपिट अङ्गभङ्ग मुद्दामा जाहेरी निवेदन हालेछ, त्यसलाई ठिक गर्नुपर्छ भनी मिटिङमा छलफल भयो । सोही सल्लाहअनुसार सबैले हुन्छ भनी छुट्यौं, म घर गई सुतेँ । पछि मिति २०६७।०३।०५ गते तारा सि.के. भन्ने कालुराम सार्कीले मलाई बोलाई निशंखेमा जाउँ भनी स्याबन हुँदै खोलैखोला जाँदा बाटोमा बाबुराम सुवेदीसँग भेट भयो, उसले अरू साथीहरू निशंखेमा छन् उतै जाउँ भनेपछि जाँदै गर्दा नवराज बस्नेत, दिपककुमार कटवाल, अखिल भन्ने ढुण्डीराज घिमिरे, चतुरे भन्ने तिलक राई, ओम राई, टिका भुजेल, जितमान राईले बाटोमा लाठी काट्न थाले, किन काटेको भनी सोध्दा आज छविलाल कार्कीलाई भाटे कारबाही गर्नुपर्छ भनेकाले मलाई पनि एउटा लाठी दिए । राति २१:०० बजेको हुँदो हो तारा होटलतर्फ आउँदै गर्दा म र रामबहादुर राईलाई तारा होटलको नजिक पुरानो घर छाप्रोमा राखी तिमी र रामबहादुर राई यहाँ मानिसहरू आए ताली बजाएर सङ्केत गर्ने भनी उनीहरू तारा होटलतर्फ लागे, उनीहरूले मुखमा सल च्यातेर बाँधेका थिए, लाठी रडसमेत बोकेका 

थिए । आधा घण्टापछि सबै फर्केर आई विदुर/विचार भन्ने बाबुराम सुवेदीले देवबहादुर कटवालले हामीहरूलाई धोका दियो, छविलाई भगाएछ, आज सफल भइएन, अब चाँडै पुनः काम सफल पार्नुपर्छ भनेपछि म र रामबहादुर राई घरतर्फ गयौँ, अरू रबुवातर्फ गए । त्यसपछिका दिनहरूमा म आफ्नै घरको काममा व्यस्त भएँ, उनीहरूले के के योजना र आक्रमणको काम गरे मलाई थाहा छैन । मिति २०६७।०३।२२ गते खोलामा गई नुहाएर आउँदै गर्दा म, रामबहादुर राई र चन्द्रकुमार कार्की सँगै भएको समयमा चन्द्रकुमार कार्कीको मोबाइलमा बाबुराम सुवेदीले फोन गरी आजसम्मको प्रयासमा सफल भइएन, अब १/२ दिनमा छविलाई कारबाही हुँदैछ भनी फोन आएपछि चन्द्रकुमार कार्कीले हामीलाई सुनाए, सो कुरा मैले कसैलाई नभनी गोप्य राखेँ । मिति २०६७।३।२४ गते बिहान तारा सि.के. भन्ने कालुराम सार्कीले मलाई आज बेलुका २०:०० बजेतिर निशंखे आउनु छविलाई कारबाही गर्नुपर्छ भनेपछि म आफ्नो घरको काम व्यस्तताले गर्दा बेलुका आउँदाआउँदै २१:०० बजेतिर निशंखे आउँदै गर्दा बाटोमा विदुर/विचार भन्ने बाबुराम सुवेदी, दिपककुमार कटवाल, तारा सि.के. भन्ने कालुराम सार्की, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल भन्ने ढुण्डीराज घिमिरे, टिकाराम भुजेल, नवराज बस्नेत, जितमान राई दौडँदै आउँदै थिए । विदुर/विचार भन्ने बाबुराम सुवेदीले हामीले छविलाई आक्रमण गर्‍यौं, छवि मरे जस्तो छ, तँ साला डरपोक काँतरको काम छैन, हामी भाग्दै छौँ, तँ पनि भाग् भन्दै उनीहरू भागे, म पनि भागेँ, हस्याङफस्याङ गर्दै अरू नचिनेका पनि भाग्दै थिए भन्नेसमेत बेहोराको प्रतिवादी एल.बि. भन्ने लालबहादुर भुजेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

मिति २०६७।३।३१ को शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारणमा HYPOVOLEMIC SHOCK DUE TO EXTENSIVE EXTERNAL HEMORRHAGE भन्ने उल्लेख भएको । 

मिति २०६७।३।२४ गते अभियुक्तहरूले छविलाल कार्कीलाई रड, भाला, लाठी, खुकुरी, कुन्जोसमेतका हातहतियारले कुटपिट गरी सख्त घाइते तुल्याई निजलाई उपचारका लागि अस्पताल पुर्‍याएकोमा उपचारको क्रममा सोही राति निज घाइते छविलाल कार्कीको मृत्यु भएको पुष्ट्याँई भई विदुर/विचार भन्ने बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, अडिग भन्ने यदुनाथ घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेल, अखिल/ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, जितमान राई, ओम राई, रामबहादुर राई, तारा सि.के. भन्ने कालुराम सार्की, तिलक राई, लालबहादुर भुजेल, चन्द्रकुमार कार्कीसमेतका अभियुक्तहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ (३) नं. को कसुर अपराध गरेको देखिँदा निजहरूलाई ऐ. ज्यानसम्बन्धीको महलको १३ (३) नं. अनुसार सजाय गरी पाउन तथा अभियुक्तमध्येका देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीले षड्यन्त्रपूर्ण तरिकाले कुखुरा काटी खाने बहाना पारी वारदात घटाउन परिबन्द मिलाई सो कुराको जानकारी अन्य अभियुक्तहरूलाई दिई सो वारदातस्थलमा मुख्य भई षड्यन्त्र गरी मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १६ नं. को कसुर अपराध गरेको पुष्ट्याइँ भएकोले अभियुक्तहरू देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीलाई ऐ. ज्यानसम्बन्धीको महलको १६ नं. अनुसार हदैसम्म सजाय गरिपाउँ भन्ने बेहोराको अभियोग पत्र ।

अधिकारप्राप्त अधिकारीसमक्ष मैले दिएको बयान उल्टो लेखिएको छ । औँठा छाप जबरजस्ती गर्न लगाइएको हो ।  मसमेत भई कुटपिट गरी घटना घटाएको छैन । रू.१,००,०००/- (एक लाख) चाहिँ म बाट लगेका हुन्, उक्त रकम सयकडा ३ प्रतिशतको दरले मागेकोले दिएको हुँ । वारदात भएको हो । विदुर भन्ने बाबुराम सुवेदी, तारा सि.के., दिपक कटवाल, नवराज बस्नेतले घटना घटाएका हुन् भन्नेमा विश्वास लाग्छ । घटना घटेपछि पनि म वारदात स्थलमा आइनँ । अघिल्लो मुद्दाको कारण पक्राउ पर्ने डरले म घटनापछि वारदातस्थलमा नआई भागेको हुँ । विचार भन्ने बाबुराम सुवेदीले भाग्नु भनेकोले म, रामबहादुर राई, लालबहादुर र चन्द्रबहादुर भुजेल भागेका हौँ । कुटपिटको सम्बन्धमा घा जाँच केस फाराम गराएको छैन भन्नेसमेत बेहोराको चन्द्रकुमार कार्कीको बयान । 

अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागजमा भएको सहीछाप मेरै हो । मिति २०६७/३/५ र ६ गतेको घटनामा म संलग्न छु, अरू घटनामा 

छैन । मिति २०६७/३/५ र ६ गतेको घटनामा छविलाल कार्कीलाई सामान्य घाइते बनाउने कुरामा छलफल भयो । विदुर सुवेदी, दिपक कटवाल, नवराज बस्नेत, म, जितमान राई, लालबहादुर भुजेल, रामबहादुर राई, रेखराज राईसमेत आठ जना मात्र थियौँ । एक जना छुट भए विमर्शराज पनि थिए । घाइते बनाउनै पर्छ भन्नेमा दिपक कटवाल र नवराज बस्नेतको जिकिर हो । त्यसपछि मेरो सहमतिमा लालबहादुर, रामबहादुर भए । दिपक र नवराजको सहमतिमा अरू सबै 

भए । अनि अन्तिममा सबैको सहमति दिपक कटवाल र नवराज बस्नेतको निर्णयमा नै भयो । मेरोसमेत सहमतिअनुसार घटना घटाएको भए पनि सजाय हुने होइन भन्नेसमेत बेहोराको टिका भुजेल भन्ने टिकाराम भुजेलले अदालतमा गरेको बयान । 

मिति २०६७।३।२४ गते म सर्लाहीको बागबानीमा थिएँ । दिउँसो त्यहाँबाट हिँडी रातभर महोत्तरीको जलेश्वरमा बसेको छु । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा भएको सहीछाप ल्याप्चे मेरै हो । बयान बेहोरामा भएको जेठ २८/२९ गतेको योजनामा म थिइनँ । मिति २०६७।३।५ र ६ गतेको योजनामा म थिएँ । विदुरले लगेपछि सो योजनामा म गएँ । छविले हामीलाई कुटपिट मुद्दा लगाए त्यसकारण छविलाई कुटपिट गरी तह लगाउनुपर्छ भन्ने जस्ता कुराहरू भई ५ गते ढुकी बसेका हौँ, त्यसमा सफल भइएन । त्यसबेला ढुकेर बस्नेमा विदुर सुवेदी, दिपक कटवाल, नवराज, जितमान, टिका भुजेल, लालबहादुर भुजेल, रामबहादुर राई र मसमेतका व्यक्तिहरू 

थियौँ । ५ गते राति सफल नभएपछि २/४ जना २/४ जना गरी छुट्टिएर विभिन्न ठाउँमा बस्यौँ । अन्तिम घटना घट्दा म छैन, मसमेत भई घटना घटाइएको होइन । टिका भुजेलले मलाई किन दोष देखाए उसैलाई थाहा छ । मिति २०६७।३।५ र ६ गते म पनि संलग्न भएको, तेस्रो, चौथो र पाचौँ घटना घट्दा म छैन । पटकपटक आक्रमण गरेकोले उनीहरूले कोही मानिस लगाएर पनि घटना घटाएको हुनसक्छ । मिति २०६७।३।२३ गते होटल मकालु कटारीमा बास बसेको छु । बास बसेको तिरेको बिल भरपाई छैन । २४ गते १० बजे बागबानीमा भएको रेकर्ड छ भन्नेसमेत बेहोराको अखिल/ढुण्डीराज भन्ने विमर्शराज घिमिरेले अदालतमा गरेको बयान । 

मिति २०६७।३।२४ गते दिउँसो र राति म आफ्नै घरमा छु । जाहेरी बेहोरा झुठा हो । रामबहादुर राईका घरमा मिटिङ छ भनेर बोलाएका बेला जेठ अन्तिमतिर टिका, विदुरसँग गएको थिएँ । असार ३/४ गते मिटिङ छ भनी सियावनमा बोलाए, त्यहाँ पनि 

गएँ । त्यसपछि साँझमा खाना खाएपछि माथि निशंखेमा मिटिङ छ भनी मलाई जबरजस्ती लगे । निशंखेनिर पुरानो एउटा घरमा लगे । त्यसपछि, छवि तारा होटलमा छ, हामीले देवबहादुर कटवाललाई फोन गरेका छौँ भनी विचार र दिपकले भने, त्यसपछि उनीहरूले जाउँ भनेपछि म र रामबहादुर नजाने भयौँ । उनीहरू- विचार, दिपक, जितमान, टिका भुजेल, विमर्शराज, नवराजसमेत ६ जना तारा होटलतर्फ गए । त्यसपछि तिमीहरू निशंखेबाट कोही मानिस आए भने खबर गर्नु भने । त्यसपछि छवि निशंखेतिर नै आए, मैले केही कुरा गरिनँ । त्यसपछि मलाई विचारसमेतका मानिसले आएर देवेले छविलाई भगाएर गद्दारी गरेछ भने । त्यसपछि हामीलाई घरतिर पठाए । त्यसपछि मेरो उनीहरूसँग भेट नै भएन । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागजको सहीछाप मेरै हो । मिति २०६७।३।२४ गते म आउँदै गरेको बेहोरा र मैले अरूलाई देखेँ भनेको कुरा गलत हो । म सो घटनामा समावेश छैन । विदुर सुवेदी, दिपक कटवाल, नवराज बस्नेत, जितमान राई, तारा सि.के. र विमर्शराजहरू नै घटनाका मुख्य मानिसहरू हुनुपर्छ भन्नेसमेत बेहोराको एल.वि. भन्ने लालबहादुर भुजेलले अदालतमा गरेको बयान । 

मिति २०६७।३।२४ गते १ बजेपछि म छविलाल कार्कीसँगै थिएँ । दिपककुमार कटवालसँग १ बजे दिउँसो भेट भयो, अरूसँग भेट भएन । छविसँग एकछिन बसेपछि ४ बजे तारा होटलमा कुखुरा काट्न लगाएको छु भन्नुभयो । त्यसमा, मलगायत बाबुराम कटवाल, ज्ञानबहादुर कटवाल, कृष्ण कार्की, खुपराज श्रेष्ठ, दिलबहादुर सार्की, पदम तामाङसमेतलाई बोलाएर वहाँ (छवि) तारा होटलमा नै जानुभयो । त्यसपछि ६ बजेबाट हामी ८ जनाले नै खाजा खान थाल्यौँ । खाजा खाइसकेपछि म, छवि, खुपराज, दिलबहादुर सार्की एकछिन बसेर निशंखेतिर लाग्यौँ । त्यसपछि, तिर्थ श्रेष्ठको पसल निशंखे पुग्यौँ । होटेलवाला, छवि, दिलबहादुरले वियर खाए, म बसिरहेँ, खाइसकेपछि हामी निस्क्यौँ । रोडमा आएपछि दिलबहादुले घर जाने भने तर छविले फेरि तारा होटलमा जाने भने । त्यसपछि म, छवि र दिलबहादुर तारा होटलमा गयौँ । हामी हात धोएर खाना खान होटलभित्र पस्यौँ, खाना खान लाग्दा छविलाल कार्कीलाई एक्कासी रडले प्रहार गरे, त्यसमा ४ जना थिए । त्यसपछि छविले प्रतिकार गर्दा एक जनाको मखुण्डो खुस्कियो, ती विदुर भन्ने बाबुराम सुवेदी थिए । त्यसपछि मलाई रड प्रहार गर्दा नवराज बस्नेतको पनि मखुण्डो खुस्किएकोले चिनेको हुँ । त्यसपछि दिपक कटवालले राँडीका छोरालाई सुट गर भन्यो अनि म माथिल्लो पट्टिबाट भागेँ । म भाग्न लाग्दा नै अडिग/यदुनाथ घिमिरे रड र बाँसका भाला बोकेर ढोकामा आएका थिए । त्यसपछि म भागेर चौकी आई प्रहरी लिएर गएको थिएँ । विचार भन्ने बाबुराम सुवेदी, दिपक कटवाल, नवराज बस्नेत, अडिग भन्ने यदुनाथ, विमर्शराज, टिकाराम भुजेल, तारा सि.के. लाई मैले स्पष्टसँग देखेको हुँ । छविलाल कार्कीलाई मार्नेमा मुख्य भूमिका दिपक कटवाल, नवराज बस्नेत, विदुर भन्ने बाबुराम सुवेदी, टिकाराम भुजेलको छ भने अन्य उल्लिखित प्रतिवादीहरू सहायक हुन् । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा मैले भनेबमोजिम लेखिएको छ । त्यसमा भएको सहीछाप मैले राजीखुसीले गरेको हो । मैले छविलाल कार्कीलाई मार्नमा षड्यन्त्र गरेको छैन भन्नेसमेत बेहोराको देवबहादुर कटवालले अदालतमा गरेको बयान । 

मिति २०६७/३/२४ गते म निशंखेमा थिएँ । बिहान ९ बजे दिपक कटवालसँग भेट भयो । दिपकले छवि सर यता आउनु भएको छ ? भनेर सोधे, मैले देखेको छैन भने । दिउँसो मिटिङ भएकोले अरू धेरैजनासँग भेटघाट भएको थियो । छविलाल कार्कीसँग दिउसो ११ बजेतिर भेट भएको हो । बेलुका साढे सात बजेतिर छवि, देवबहादुर र म तारा होटलमा गएका थियौँ । छवि र देवबहादुर भित्र पसे, म बाहिर मुढामा बसेँ । पहिला भित्र खाना दिए अनि मलाई पनि बाहिर खाना दिए । खाना मुछ्‌न लागेर मुखमा गाँस हालेपछि पछाडिबाट मलाई लात्तीले घिच्चुकमा हिर्काए, म लडेँ, त्यसपछि उठ्न खोज्दा दिपक कटवालले यसलाई हान् भन्यो, पछि यसलाई पनि सुट गर् भन्यो । त्यसपछि, मैले गल्ती गरेको भए मारी दिनुहोस् भनेँ । भित्र बाहिर गरी १५/२० जना मानिस थिए, मैले त्यसो भनेपछि यसलाई हान्दे भने, अनि एउटाले लात्तीले हानेपछि म उठेर भागेँ । मैले त्यस घटनामा मखुण्डो लगाएकाले अरूलाई चिन्न सकिन, दिपक कटवाललाई मात्र चिनेको हो । म भित्र छुट्याउन नजानु र भाग्नुको कारण सबैले मलाई मार्दछन् भनेर हो । मैले वारदात घटाउन षड्यन्त्र गरेको होइन । मृत्युअघि छविलाल कार्कीले के भन्नुभयो मलाई थाहा भएन । मैले अपराध नगरेको हुँदा मलाई सजाय हुने होइन । म र देवबहादुरबाहेक अरू सबै हत्याकारी भएकोले सजाय पाउनुपर्दछ भन्ने बेहोराको कालकाँधे भन्ने दिलबहादुर सार्कीले अदालतमा गरेको बयान । 

मिति २०६७।३।२४ गते दिनमा आफ्नै खेतमा र राति घरमा थिएँ । आज सुनाइएका प्रतिवादीहरू सबैसँग मेरो चिनजान छ । म कुनै बैठकमा उपस्थित छैन । मिति २०६७।३।२३ गतेदेखि २७ गतेसम्म म आफ्नो खेतको काम गरेर घरमा नै बसेको छु । असार २५ गते बिहान राजु भन्ने रमेश थापाले निशंखेमा छविलाल कार्कीलाई कुटपिट गरी मारेछन् भनेर सुनाउँदा घटनाबारे थाहा पाएको हो । मलाई सोही असार २८ वा २९ गते प्रतिवादी विदुर सुवेदीले “छविलाल मार्नेमा हामीलाई जाहेरी दिएका रहेछन् गाउँ घरमा नबस्” भनेपछि मैले बालकृष्ण ढुंगेल र गोपाल किराँतीलाई फोन गर्दा सबैले त्यहाँ नबस् भने अनि म त्यहाँबाट बाहिर गई २०६९ साल असार २६ गतेबाट घरमा आएर बसेको थिएँ । यो घटना गोपाल किराँती, बालकृष्ण ढुंगेल र विदुर सुवेदीसमेतको षड्यन्त्रबाट घटेको हुनसक्छ । गल्ती गर्नेलाई सजाय हुनुपर्छ । देवबहादुर कटवालसमेतका मानिस र वस्तुस्थिति मुचुल्का र बकपत्रसमेतका मानिसले मसमेतउपर किन पोल गरे मलाई थाहा भएन भन्नेसमेत बेहोराको नवराज बस्नेतले अदालतमा गरेको बयान ।

मिति २०६७/३/२४ गते म मेरो घरमा नै 

थिएँ । बिहान ८ बजे गोरू लिई १ घण्टा टाढाको मेरो खेतमा गई साँझ ७ बजेसम्म रोपाइँ गरी बसेको छु । उक्त दिन गाउँकै ज्ञानेन्द्र ढुंगाना, मेघराज घिमिरेको श्रीमती, मेरो भाउजू सुसिला घिमिरे, रूद्रप्रसाद घिमिरेसमेत भई रोपाई गरेका हौँ । प्रस्तुत मुद्दाका प्रतिवादीहरुः विचार, ढुण्डीराज घिमिरे, टिका भुजेल, नवराज बस्नेतलाई चिन्दछु अन्य प्रतिवादीलाई चिन्दिन । जाहेरी दरखास्त झुठा हो, उक्त दिन रात म खेती गरी आफ्नै घरमा बसेको छु । प्रतिवादी टिका भुजेल र मेरो घर १० मिनेट फरकमा एकै गाउँमा पर्छ । उक्त दिन निज घरमा नै थिए । अरू प्रतिवादीहरूसँग भेट भएन, को कहाँ थिए मलाई थाहा भएन । मेरो मोरङ जिल्लाको दुलारीमा पनि घर भएकोले तराई र पहाडको घरमा आउ जाउ गरिरहन्छु । मृतक छविलाल कार्कीलाई चिन्दछु, नेता मानिस हुन् भेटघाट हुँदा भाइ भनी बोलाउनु हुन्थ्यो । प्रतिवादी नवराज बस्नेतको घर ओखलढुङ्गा जिल्ला तलुवा गा.वि.स. नाल्सुमा पर्छ, मेरो घरबाट तलुवा जान निशंखे पुग्नु पर्दैन । अभियोग दाबी झुठा हो, म सो घटनामा समावेश छैन । प्रतिवादी नवराज बस्नेतले मसमेतउपर किन किटानी पोल गरेका हुन् उहाँ नै जान्नुहुन्छ । मृतक छविलाल कार्कीसँग मेरो रिसइवी लेनदेन झै-झगडा केही थिएन, को कससँग रिसइवी थियो कसले मारे मलाई थाहा भएन । म निर्दोष मानिस हुँदा अभियोग माग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन, सफाइ पाउँ भनी प्रतिवादी अडिग भन्ने यदुनाथ घिमिरेले अदालतमा गरेको बयान । 

जाहेरी दरखास्तमा विपक्षी बनाइएका व्यक्तिलाई कुम्भसिंह राईको छोरा ओम राई भनिएको 

छ । मेरो बाबुको नाम सिंहध्वज राई र मेरो नाम ओमकुमार राई हो । मेरो नागरिकताको प्रमाण पत्र प्रमाण लगाई पाऊँ । प्रस्तुत मुद्दामा उल्लिखित घटना के कसरी घट्यो, कसले घटायो यसबारे मलाई केही थाहा छैन । प्रस्तुत घटनामा मेरो संलग्नता छैन । म ०५७ सालदेखि धेरैजसो बाहिर पनौती, इटहरीतिर बस्ने भएकोले यस मुद्दाका अन्य प्रतिवादीहरूलाई चिन्दिनँ । म अन्य प्रतिवादीहरूसँग मिली छविलाल कार्कीलाई कारबाही गर्न गएको कुरा मलाई थाहा भएन, अर्कै ओम राईको कुरा भए मलाई थाहा भएन । मैले छविलाल कार्कीलाई कारबाही गर्ने, मार्ने योजनामा मत सल्लाह दिने र योजना बनाएको पनि छैन । घटना भएको मिति २०६७/३/२४ गते दिनभर म गाउँका हेडसर हेमराज राईको खेताला भई रोपाइँमा गएको र बेलुका ०५:०० बजे निजको घरमा खाना खाई मेरी फुपू विसूमाया राईको घरमा गई फुपूको छोरा रमेश राईसँग सुतको छु । मैले अभियोग दाबीबमोजिमको कुनै कसुर नगरेको हुँदा अभियोग माग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी ओमकुमार राईले अदालतमा गरेको बयान ।

जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरै हो । मैले भनेअनुसार लेखिएको ठिक छ । मेरा पतिको प्रतिवादीहरूको कुटपिटबाट मृत्यु भएको भन्ने भोलिपल्ट बिहान ६.०० बजे पुष्पराज श्रेष्ठले भनेपछि थाहा भएको हो र मृत्युपछि मात्र मृतक पतिलाई 

देखेँ । वारदातको मिति र समयमा तारा होटलमा मेरा पति छविलाल कार्कीले खाना खान लाग्दा बाबुराम, नवराज, दिपक, यदुनाथ घिमिरेले हाम्रा साथीहरूलाई फसाउने तँ साले होइनस् भनी एक्कासी टाउकामा प्रहार गरेछन् र अरू अभियुक्तहरूले पनि हात खुट्टामा रड, भाला प्रयोग गरी हातखुट्टा भाँची ढलाएछन् । बाबुराम सुवेदी, दिपक कटवाल, नवराज बस्नेत, तारा सार्की (कालुराम) लगायतका मानिसहरूले मेरा पतिको शरीरका विभिन्न भागमा रड, भाला, खुकुरी प्रयोग गरी कुटपिट गरेर कर्तव्य गरी मारेको हो भनी जाहेरवाला शकुन्तला कार्कीको अदालतमा गरेको बकपत्र ।

मौकामा भएको कागज मैले भनेअनुसार लेखिएको ठिक छ । वारदातको दिन राति १०:४० बजेको समयमा म मिसन अस्पताल ओखलढुङ्गा पुगेको थिएँ । त्यहाँ शरीरभरी रगत लत्पतिएको, शरीरमा धेरै निलडाम भएको, भाला र रडले रोपे जस्तो शरीरभरि प्वालहरू भएको, हातखुट्टा भाँचिएको अवस्थामा देखेर छवी कार्कीलाई छवी सर तपाइँको यो अवस्था कसले पार्‍यो भनी सोध्दा उहाँले अड्की अड्की मसँगै रहेका अन्य साथी कालकाँधे र देवेले पनि रमिता हेरेर धोका दिए । मलाई विदुर, दिपक, अडिग, अखिल, टीका भुजेलले रडले प्रहार गरे । त्यसपछि मलाई बाहिर घिसारी ल्याए र त्यसमाथि अरू पनि तारा सि.के, जीतमान राई, ओम राई, तिलक राईलगायतले रड, भाला, लाठी र ढुङ्गाले कुटेर यस्तो बनाए भन्नुभयो । उहाँले मसँग १५ मिनेटजति कुरा गर्नुभयो र उक्त कुराभन्दा छेउमा ओम दयाल र मोहन श्रेष्ठ पनि थिए । मलाई उल्लिखित प्रतिवादी सबैको मिलेमतोमा छविलाल कार्कीलाई कर्तव्य गरी मारेको भन्ने कुरामा पूरा विश्वास लाग्छ भनी शंकरबहादुर कटवालले गर्नुभएको बकपत्र ।

वस्तुस्थिति मुचुल्काको सहीछाप र बेहोरा मेरै हो । उक्त कागज बेहोरा मैले भनेअनुसार लेखिएको ठिक छ भनी एकैमिलानको बकपत्र गर्ने टेकबहादुर खड्का, नरसिंहबहादुर कार्कीले गरेको बकपत्र ।

मौकामा गरेको कागजको बेहोरा र सहीछाप मेरै हो । मैले भनेअनुसार लेखिएको ठिक छ । घटनाका बारेमा सोही राति १२:०० बजे थाहा पाएँ । विदुर भन्ने बाबुराम सुवेदी, दिपक कटवाल, अडिग भन्ने यदुनाथ घिमिरे, नवराज बस्नेत, तारा भन्ने कालुराम सार्की, तिलक राई, रामबहादुर राई, लालबहादुर भुजेल, अखिल भन्ने विमर्शराज, टिका भुजेल, ओम राई, जितमान राईहरूले छविलाल कार्कीको हत्या गरेको हो भनी सन्तोषकाजी कार्कीले गरेको बकपत्र ।

म घटनास्थलमा ८:३० बजे पुगेको थिएँ । त्यसबेला मृतक जीवितै थिए । घटना कसरी घट्यो भनेर मैले सोध्दा आफूले विश्वास गरेको व्यक्तिले आफूलाई दियो, विदुर सुवेदीको जत्थाले मलाई यस्तो गरे भन्नुभयो भनी सम्बरबहादुर कटवालले गरेको बकपत्र ।

घटनास्थल प्रकृति मुचुल्काको सहीछाप मेरै हो । उक्त मुचुल्का घटनास्थलमै तयार भएको हो । घटना घटेको बेलुका ८:३० बजे मैले मृतकलाई देखेको हो । बाबुराम सुवेदी, नवराज बस्नेत, तारा सि.के., दिपक कटवाल, चन्द्रकुमार कार्की, टिका भुजेल, लालबहादुर भुजेललगायतले घटना घटाएका हुन् भनी तीर्थबहादुर श्रेष्ठले गरेको बकपत्र ।

मौकामा गरेको कागज र सहीछाप मेरै हो । घटना घटेको बेलुका ९ बजेतिर छविलाल कार्कीलाई निशंखेमा कुटेछन् भन्ने थाहा पाएपछि मसमेत चारजना मिसन अस्पतालमा गयौँ । हामी पुगेको केही समयपश्चात् नै उहाँलाई त्यहाँ ल्याई पुर्‍याए । उहाँ विभत्स रूपमा ऐया ऐया भनी कराइरहनु भएको थियो । त्यहाँ शंकरबहादुर कटवालले तपाइँलाई कसले मरणासन्न हुने गरी कुटे भनेर सोध्दा विदुर, दिपक, अडिगसहितका जत्थाले यसरी कुटे भनेको मैले सुनेँ । राजनीतिक प्रतिस्पर्धाको कारणले हुन सक्छ । छविलाल कार्कीलाई मार्ने भन्ने हल्ला एक हप्तादेखि सुनिन आएको थियो । मृतकको मृत्यु हुनुपूर्वको भनाइ प्रहरीले लिपिवद्ध गरेनन् भन्ने बेहोराको मोहनकुमार श्रेष्ठले गरेको बकपत्र । 

मौकामा भएको कागज र सहीछाप मेरै हो । उक्त कागजमा लेखिएको बेहोरा ठिक छ । वारदातको दिन साँझ वारदात घट्नुभन्दा अगाडि मैले छविलाई फोन गर्दा देवबहादुर र दिलबहादुरसँग तारा होटल जाँदै छु भन्नुभयो । सो दिन साँझ ६:०० बजेतिर तारा होटलमा खाजा खाई हामीसँग छुट्टिएर हिड्नुअघि घर जान्छु भनेर हिँडेका छविलाल कार्कीलाई देवबहादुर कटवाल र दिलबहादुर सार्कीले पुनः तारा होटलमा ल्याएछन् । सो होटलमा खाना खाइरहेको अवस्थामा छविलाल कार्कीलाई कुटपिट गरी मारेछन् । बाहिर बजारमा छविलाई कुटेर मारिसके भन्ने हल्ला सुनी त्यहाँ पुगी छवि कार्कीलाई सोध्दा मैले जसलाई विश्वास गरेँ उसैले मारे । विदुर भन्ने बाबुराम सुवेदी, नवराज बस्नेत, तारा सि.के., दिपक कटवाल, अडिगलगायत अरूले मारे भन्नुभयो । माथि लेखिएका मानिसहरूले नै छविलाई कर्तव्य गरी मारेका हुन् भन्ने बेहोराको खुपराज श्रेष्ठले गरेको बकपत्र ।

मौकामा गरेको कागजको सहीछाप मेरै हो । उक्त कागजमा लेखिएको बेहोरा ठिक छ । घटना बाबुराम सुवेदीको नेतृत्वमा सबै प्रतिवादीहरूले घटाएकोमा मलाई विश्वास लाग्छ । घटनामा प्रतिवादीहरू देवबहादुर कटवाल र दिलबहादुर सार्कीको पनि संलग्नता छ भनी पदमकुमार तामाङले गरेको बकपत्र । 

मौकामा भएको कागज र सहीछाप मेरै हो । वारदातको दिन बेलुका ८:५० बजेतिर मेरो होटलमा छविलाल कार्कीले खाना खान लाग्दा विदुर सुवेदी, दिपक कटवाल, ढुण्डीराज, टिका भुजेल, यदुनाथ घिमिरेले हातमा लाठी रड लिई छविलाल कार्कीको टाउकोमा प्रहार गरी हानाहान गरी एकछिन छविलाल कार्कीले प्रतिकार गरिरहनु भएको थियो । त्यसपछि दिलबहादुर सार्की र देवबहादुर कटवाल त्यहाँबाट भागे । मेरा श्रीमान् भागेर प्रहरी चौकीतिर जानुभयो, म पनि छोरा लिएर भागेँ । पछि प्रहरीको साथमा फर्किएर आउँदा छविलाल कार्कीलाई कुटपिट गरी बाहिर ल्याई लडाइराखेका रहेछन् । वारदातमा संलग्न प्रतिवादीहरूलाई आफ्नो गाउँका मान्छेहरू भएकोले बोलीले र देखेर चिनेँ । यिनै चिने नचिनेका मानिसहरूले छविलाल कार्कीलाई कुटपिट गरी उपचारको क्रममा मृत्यु भएको हो भनी तारा तामाङले गरेको बकपत्र । 

मौकामा गरेको कागजको सहीछाप मेरै हो । उक्त कागजमा लेखिएको बेहोरा ठिक छ । वारदातको समयमा छविलाल कार्कीले खाना खाँदै गरेको बेलामा मैले चिनेका व्यक्ति बाबुराम सुवेदी, टिका भुजेलसहितका अन्य ४/५ जना व्यक्ति होटलभित्र पसी एक्कासी छविलाल कार्कीलाई रडले प्रहार 

गरे । त्यसपछि सँगै खाना खाइरहेका देवबहादुर कटवाल र दिलबहादुर सार्की भागे । होटलबाट म पनि भागेँ । हिर्काएको समयमा छविलाल कार्कीले प्रतिकार गर्दा हमलाकारीको मास्क खुस्किएको हो । त्यसै समयमा विचार भन्ने बाबुराम सुवेदी, टीका भुजेल र अखिल भन्ने ढुण्डीराज घिमिरेलाई चिनेको हो । यी तीन जनासहित जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरूकै कुटपिटको कारणले छविलाल कार्कीको मृत्यु भएकोमा मलाई विश्वास छ । मैले नाम लिएका मानिसहरू मेरो होटलमा आइरहने भएकोले वहाँहरूलाई चिन्छु भन्ने बेहोराको पूर्णबहादुर तामाङले गरेको बकपत्र ।

मौकामा भएको कागज बेहोरा मेरो 

होइन । उक्त कागजमा भएको सहीछाप र ल्याप्चे मेरो हो । प्रहरीले तीन घण्टा थुनेपछि सहीछाप गरेको 

हो । मिति २०६७।३।२४ गते म र मेरो पति घरमै सँगै थियौँ । घटना कसरी घट्यो मलाई थाहा भएन । घटना चाहिँ घटेको हो । घटना घटेको भोलिपल्ट मात्र मैले थाहा पाएको हो । कुटपिट मुद्दामा मुद्दा हाल्न छविलाल कार्कीले भूमिका निभाएका थिएँ । छविलाल कार्कीले सङ्कटकालको समयमा माओवादी हो भनी जेल हाल्नुभएकोले बोलचाल थिएन भनी पून्यकुमारी बस्नेत कार्कीले गरेको बकपत्र ।  

प्रतिवादी यदुनाथ घिमिरे घटना घटेको दिन कुईभीर गा.वि.स. को सिस्ने भन्ने खेतमा जानुभएको थियो । सो दिन दिउँसो चाहिँ मैले निजलाई देखेको हो, त्यसपछि थाहा भएन । सिस्नेबाट वारदातस्थल ७/८ घण्टाको दुरीमा पर्छ । यी प्रतिवादीको घटनामा संलग्नता छैन भन्ने लाग्छ भन्ने बेहोराको एकै मिलानको प्रतिवादी यदुनाथ घिमिरेको साक्षी कृष्णप्रसाद घिमिरे, सीताराम घिमिरे, हरिनन्दन घिमिरे तथा शम्भुहरी कोइरालाको बकपत्र ।

मिति २०६७।३।२२ गते हामी बालकृष्ण ढुंगेल, माधव घिमिरे, विमर्श घिमिरे ओखलढुंगा हर्कपुर हुँदै २३ गते कटारी पुग्यौँ । २४ गते १२ बजे हामी प्रदेशीय बागबानी केन्द्र नवलपुर सर्लाही पुग्यौँ । दिनभर त्यहाँ काम गरी बेलुका ५ बजेतिर विमर्शराज घिमिरे जलेश्वर जान्छु भनी छुट्नुभयो । हामी काठमाडौँतिर लाग्यौँ । उक्त वारदात भएको दिन बेलुका ५ बजेसम्म म र बालकृष्ण ढुंगेलसँगै भएकोले उक्त घटनामा विमर्शराज हुनसक्ने आधार दुरीका हिसाबले पनि नभएको हुँदा सजाय हुनुपर्ने होइन । २४ गते बागबानीमा प्रवेश गरी आगन्तुक पुस्तिकामा हामी तीनै जनाले हस्ताक्षर गरेका छौँ भन्ने बेहोराको प्रतिवादी विमर्शराज घिमिरेको साक्षी माधव घिमिरे तथा ध्रुव न्यौपानेको एकै मिलानको बकपत्र ।

उक्त घटनामा प्रतिवादी टीकाराम भुजेलको संलग्नता छैन । किनभने बिहान ८:०० बजेदेखि टीकाराम र मैले आफ्नो खेतमा सँगै काम गरेका र अन्दाजी २ बजेतिर कुलोको मिटिङमा बोलाएपछि ४ बजेसम्म त्यस मिटिङमा बस्नुभयो । फेरि खेतमा काम गरी ६ बजे छुट्टियौँ । निजको घरबाट निशंखे आउन ५ घण्टा लाग्ने भएकोले निजको घटनामा संलग्नता छैन । अभियोग मागदाबीबाट निजले सफाइ पाउनुपर्छ भन्ने बेहोराको प्रतिवादी टिका भुजेलको साक्षीहरू शंकर थापा र नरेन्द्र बस्नेतले गरेको एकै मिलानको बकपत्र ।

लालबहादुर भुजेल वारदातको दिन बेलुका ८ बजेसम्म निज घरमै थिए । निजको घरबाट वारदातस्थल पुग्न दिउँसो डेढ घण्टा लाग्छ भनी प्रतिवादी लालबहादुर भुजेलका साक्षी मेखबहादुर भुजेलले गरेको बकपत्र ।

वारदातमा देवबहादुर कटवालको सलंग्नता छैन भनी प्रतिवादी देवबहादुर कटवालको साक्षी उदय कार्की र दिनानाथ फुयालको एकै मिलानको बकपत्र ।

मलाई घटनासम्बन्धमा थाहा भएन । मेरो विचारमा चन्द्रकुमार कार्कीको घटनामा संलग्नता 

छैन । उक्त घटना भएको दिनको बेलुका ६:३० बजे वा ६:४५ बजेतिर डुलेर आउनु भएको थियो । त्यसपछि उहाँ घरतिर लाग्नुभयो भनी चन्द्रकुमार कार्कीको साक्षी कुमार कटवाल र चेतबहादुर बस्नेतको एकै मिलानको बकपत्र । 

उक्त घटनाको बारे F.M. को समाचारबाट सुनी पाउँदा थाहा पाएँ । उक्त दिन नवराज बस्नेत बेलुका ५ बजेको समयमा बेँसीको खेततिर जाने भनी हिँडेका थिए त्यसैले बेसट्ठ तिर गएको यी प्रतिवादीको घटनामा संलग्नता हुनु नपर्ने हो भनी भिमबहादुर थापामगरले गरेको बकपत्र ।  

मिति २०६७/०३/२४ गते यी ओमकुमार राई मेरो खेताला भई बेलुका ७:०० बजेसम्म खेतमा रोपाइँ गरी मेरो घरमा आई बेलुका ८:०० बजेतिर खाना खाई रमेश राईको घरमा सुती भोलिपल्ट पनि रोपाइँ भएकोले बिहान ०६:०० बजेतिर मेरो घरमा आइपुगेका हुन्‌ । त्यसपछि लगातार ५ दिनसम्म निज ओमकुमार राई मेरो रोपाइँमा नै छन्‌ । त्यसैले प्रस्तुत मुद्दामा उल्लिखित घटनामा यी ओमकुमार राईको संलग्नता छैन । छविलाल कार्कीलाई कसले, कसरी मारे मलाई थाहा भएन भन्नेसमेत बेहोराको हेमराज राईले अदालतमा गरेको बकपत्र ।

मिति २०६७/०३/२४ गते यी प्रतिवादी ओमकुमार राई हेमराज सरको खेतमा दिनभर  काम गरेका थिए । म सानैदेखि निजको मिल्ने साथी भएकाले उक्त मिति २०६७।३।२४ गते बेलुका ०८:०० बजे प्रतिवादी ओमकुमार राई मेरो घरमा आई दुवैजना रातभर सँगै सुती भोलिपल्ट बिहान ०७:०० बजेको समयतिर फेरि हेम सरको खेतमा काम गर्न गएका 

हुन्‌ । घटना घटेको भनिएको दिन यी प्रतिवादी रातभर मसँग रहेकोले निज कसरी त्यस घटनामा संलग्न हुन सक्छन् ? छविलाल कार्कीलाई को को मिली मारे, मलाई थाहा भएन । यी प्रतिवादी ओमकुमार राईको घटनामा संलग्नता नभएकाले सफाइ पाउनुपर्ने हो भनी रमेश राईले अदालतमा गरेको बकपत्र । 

फरार प्रतिवादीहरू विदुर विचार भन्ने बाबुराम सुवेदी, दिपककुमार कटवाल तारा सि.के. भन्ने कालुराम सार्की, चतुरे भन्ने तिलक राई, ओम राई, जितमान राई र रामबहादुर राईको हकमा अ.बं.१९० नं. बमोजिम मुल्तबीमा रहने प्रतिवादीहरू नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे र टिका भुजेल भन्ने टिकाराम भुजेललाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३ (३) नं. अनुसार जनही जन्मकैदको सजाय हुने प्रतिवादी चन्द्रकुमार कार्कीलाई ऐ.ऐनको ज्यानसम्बन्धी महलको १३ (४) नं. बमोजिम जन्मकैदको सजाय हुने र प्रतिवादीहरू एल.वि. भन्ने लालबहादुर भुजेल, देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीलाई ऐ.ऐनको ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम जनही ३ वर्ष कैदको सजाय हुने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७०।१०।२३ मा भएको फैसला । 

प्रतिवादी ओमकुमार राईले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन नसकेकोले निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७१।३।२६ मा भएको फैसला । 

जाहेरवाली शकुन्तला कार्कीलगायतका साक्षीहरूले बकपत्र गर्दा मेरो नाम उल्लेख गरेको अवस्था छैन । म वारदातको समयमा आफ्नै घरमा रहेका हुँदा घटनास्थलमा मेरो उपस्थिति नै छैन, चश्मदिद गवाह पनि छैन । यस्तो अवस्थामा छविलालसँग बोलचाल नभएको, अंशसम्बन्धी पारिवारिक रिसइवीको कारण मुद्दामा फसाउने नियतले दिएको जाहेरीको आधारमा प्रमाणको यथोचित मूल्याङ्कन नै नगरी कठोर सजाय गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेतको बेहोराको प्रतिवादी चन्द्रकुमार कार्कीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन 

पत्र । 

प्रत्यर्थी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको तथ्य किटानी जाहेरी बकपत्र बेहोरालगायतका मिसिल संलग्न कागज प्रमाणहरूबाट पुष्टि भइरहेकोमा अभियोग दाबीबमोजिम सजाय नगरी प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धी महलको १३ (४) नं. अनुसार सजाय भएको तथा प्रतिवादी लालबहादुर भुजेल, देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीलाई १७(३) नं. अनुसार घटी सजाय गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला यी प्रतिवादीहरूको हकमा नमिलेको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र । 

मृतकको श्रीमतीले दिएको किटानी जाहेरी दरखास्त आफैँमा खण्डित छ । मसमेतले षड्यन्त्र र योजना बनाई हातहतियारको प्रयोग गरी वारदात घटाई मृतकको ज्यान लिनुपर्नेसम्मको कुनै कारण, अवस्था र आवश्यकता नै छैन । मैले हानेको चोटको कारणले मृतकको मृत्यु भएको भन्ने कुरा पुष्टि हुन सकेको अवस्था पनि छैन । अभियोग दाबी स्वतन्त्र रूपमा प्रमाणित नभई सजाय गर्न मिल्ने होइन । सुरू अदालतले सो कुराको कुनै विवेचना नै नगरी मलाई कसुदार ठहर गर्ने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउँ भन्नेसमेतको प्रतिवादी नवराज बस्नेतको पुनरावेदन अदालत राजविराज अदालतमा परेको पुनरावेदन पत्र । 

मृतक छविलाल कार्कीको मृत्यु मसमेतको कर्तव्यबाट भएको भन्ने तथ्य निर्विवाद रूपमा पुष्टि हुन सकेको छैन । मेराउपरको अभियोग दाबी सबुद प्रमाणद्वारा वादी पक्षले पुष्टि गर्न नसकेको अवस्थामा शंकाको भरमा कसुरदार ठहर गर्न मिल्ने होइन, अनुसन्धानको क्रममा षड्यन्त्रपूर्वक तयार पारिएको सहअभियुक्तहरूको पोलसम्बन्धी कागज तथा बकपत्रको कथनको आधारमा मात्र ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा मलाई दोषी ठहर गर्न नमिल्ने हुँदा सुरू जिल्ला अदालतले सो कुराको विवेचना नै नगरी मलाई कसुरदार ठहर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेतको बेहोराको प्रतिवादी यदुनाथ घिमिरे, अखिल ढुंडीराज भन्ने विमर्शराज घिमिरे तथा टिका भुजेलको एकै मिलान बेहोराको पुनरावेदन अदालत राजविराज अदालतमा दायर गरेको फरकफरक पुनरावेदन पत्र ।

जिल्ला ओखलढुङ्गा मोली गा.वि.स. वडा नं. ७ बस्ने कुम्भरसिंह राईको छोरा नै ओम राई भन्ने ओमकुमार राई हो भनी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट लेखी आएबाट निज पक्राउ प्रतिवादी नै अभियोग पत्रमा उल्लेख भएका ओम राई हुन् भन्ने पुष्टि भएको छ । गाउँघरमा बोलाउने नाम एउटा हुने र कागजहरूमा अर्कै नाउँ उल्लेख हुनु अस्वाभाविक हुन आउँदैन । प्रतिवादीले पेस गरेको नागरिकतामा बाबुको नाउँ अन्यथा देखिँदैमा बाबुको नाउँ नमिलेको भन्न मिल्ने होइन । यसर्थ, प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम नै प्रत्यर्थी सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराज अदालतमा परेको पुनरावेदन पत्र । 

पुनरावेदकमध्येका देवबहादुर कटवाल र दिलबहादुर सार्कीले मौकामा र अदालतमा समेत मृतकलाई बचाउन सक्दो सहयोग गरेको, प्रहरीसमेत लिई आएको भनी बयान गरेका छौं । सो बयानलाई प्रत्यक्षदर्शी तारा होटलका मालिक पूर्णबहादुर तामाङ र निजकी श्रीमती तारा तामाङसमेतले बकपत्र गरी पुष्टि गरिदिएको अवस्था छ । सो कुरालाई सुरू अदालतले मूल्याङ्कन गर्न सकेको अवस्था पनि छैन । म पुनरावेदक एल.वि. भन्ने लालबहादुर भुजेल मृतकलाई मार्नमा मत सल्लाहमा पसेको अवस्था होइन । सो वारदातमा मेरो कुनै भूमिका छैन । ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिमको कसुर कायम गर्नु उक्त ऐनको भावनाविपरीत भएकोले सुरू फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेतको प्रतिवादी देवबहादुर कटवाल, कालकाँधे भन्ने दिलबहादुर सार्की र एल.वि. भन्ने लालबहादुर भुजेलको पुनरावेदन अदालत राजविराजमा परेको संयुक्त पुनरावेदन पत्र । 

यसमा केही प्रतिवादीहरूका सम्बन्धमा दोहोरो पुनरावेदन परेको र कसुर ठहर भएका प्रतिवादीहरूको तथा सफाइ पाएका प्रतिवादीको सम्बन्धमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको 

देखियो । मुद्दाको मिसिल संलग्न प्रमाणको मूल्याङ्कन गरी न्याय निरूपण गर्न दुवै पक्षको उपस्थितिमा सुनुवाइ हुनु मनासिब देखिएको हुँदा मुलुकी ऐन अ.बं. २०२ नं. एवम् पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ समेतको प्रयोजनार्थ वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन जनाउ प्रतिवादीहरू चन्द्रबहादुर कार्की, देवबहादुर कटवाल, दिलबहादुर सार्की तथा लालबहादुर भुजेललाई दिनू । प्रतिवादीहरू नवराज बस्नेत, चन्द्र बहादुर कार्की, यदुनाथ घिमिरे, विमर्शराज घिमिरे, टिकाराम भुजेल, देवबहादुर कटवाल, दिलबहादुर सार्की, लालबहादुर भुजेलको पुनरावेदन परेको जनाउ पुनरावेदन सरकारी वकिल कार्यालय राजविराजलाई दिनू । साथै अनुपस्थित प्रतिवादी ओम राईलाई कानूनबमोजिम म्याद जारी गरी झिकाई अरू नियमानुसार गरी पेस गर्नु भनी पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।१०।१९ मा भएको आदेश । 

प्रतिवादीहरू नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेललाई ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुरमा ऐ.को १३(३) नं. बमोजिम जनही जन्मकैदको सजाय हुने, प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद तथा प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेललाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम जनही ३ वर्ष कैद हुने गरी ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७१।२।२३ मा र ओम राईलाई सफाइ दिने गरी मिति ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७१।२।२६ मा भएको फैसला सदर हुने देखिन्छ । त्यसैगरी प्रतिवादीहरू देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम जनही ३ वर्ष कैद गर्ने गरी भएको फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी भई सफाइ पाउने गरी पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।११।१ मा फैसला भएको देखिन्छ ।

प्रस्तुत मुद्दामा म पुनरावेदकसमेतको संलग्नतामा योजना बनाई साङ्घातिक रूपमा विभिन्न हातहतियारहरूले प्रहार गरी म पुनरावेदकले नै हानेको चोटको कारणले मृतकको मृत्यु भएको हो भन्ने अनुसन्धानको क्रममा र पछि अदालतबाट बुझिएका कुनै कागजहरूबाट पुष्टि हुन सकेको छैन । जाहेरी दरखास्त तथा निज जाहेरवालाको अदालतमा आई गरेको बकपत्रको तुलानात्मक रूपमा अध्ययन गरी हेरिइएको खण्डमा म पुनरावेदकउपर आरोपित कसुर पुष्टि हुन सक्ने अवस्था र स्थिति छैन । सहअभियुक्तको पोललाई म पुनरावेदकको विरूद्धमा प्रमाणमा ग्रहण गर्नको निम्ति सहअभियुक्तले पोल गरेको अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि पुष्टि हुनुपर्दछ । उक्त पोलको परिमाण आरोपित अभियुक्तको घटनामा संलग्नता रहेको सिद्ध हुनुपर्दछ । प्रहरीले सहअभियुक्तहरूलाई गराएको बयान कागज अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म अदालतले त्यस्तो बयानलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । मृतकसँग मेरो लेनदेन तथा रिसइवी नभएको र निजको ज्यानै लिनुपर्नेसम्मको कारण नै नभएको अवस्थामा कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा मलाई दोषी ठहर्‍याउन मिल्दैन । साक्षीहरूको बयान बाझिएमा, सुनेको आधारमा सर्जमिनले शंका गरेमा, प्रत्यक्ष रूपमा वारदात भएको देख्ने साक्षीहरूको कमी भएमा आरोपित ज्यान अभियोगको कसुर स्थापित हुन नसक्ने हुँदा मिसिल प्रमाणबाट छविलाल कार्कीको मृत्यु म पुनरावेदकसमेतको कर्तव्यबाट भएको भन्ने तथ्य नै निर्विवाद रूपमा पुष्टि नभएको अवस्थामा कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा कसुरदार कायम गराई जन्मकैद जस्तो कठोर कैद सजाय हुने गरी सुरू अनुसन्धान, तहकिकात र अदालतबाट बुझेको प्रमाणको उचित रूपमा तुलनात्मक विश्लेषण नगरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला बदर घोषित गरी आरोपित कसुर तथा सजायबाट पूर्णत: सफाइ प्रदान गरी हक इन्साफ पाउँ भन्ने बेहोराको प्रतिवादी नवराज बस्नेत, यदुनाथ घिमिरे, विमर्शराज घिमिरे, टिकाराम भुजेलको एकै मिलान बेहोराको यस अदालतमा दायर भएको फरक फरक पुनरावेदन पत्र ।

मृतक छविलाल कार्की म पुनरावेदकको भाइ नाताको व्यक्ति भएको, निजलाई मार्नुपर्नेसम्मको कुनै रिसइवी नभएको, मृतकलाई मार्ने सम्बन्धमा कुनै योजना बनेको तथा म उक्त योजनामा संलग्न भई मृतकलाई मार्न कोही कसैलाई वचन दिएको मिसिल संलग्न प्रमाण कागजबाट पुष्टि नभएको अवस्थामा शंकाको आधारमा दिएको जाहेरी दरखास्त र म पुनरावेदक तथा सहअभियुक्तहरूलाई जबरजस्ती रूपमा गराएको बयानको आधारमा म पुनरावेदकलाई दोषी कायम गर्न मिल्दैन । अनुसन्धानको क्रममा षड्यन्त्रपूर्वक तयार पारिएको म पुनरावेदकको बयान तथा सहअभियुक्तहरूको पोलसम्बन्धी कागज तथा कथनको आधारमा मात्र ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अपराधमा मलाई कसुरदार कायम गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत छ । म पुनरावेदकलाई विनाआधार र कारण मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. अन्तर्गतको कसुरदार कायम गरी ऐ. महलको १३(४) नं. अनुसार जन्मकैद गर्ने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत राजविराजबाट भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी आरोपित कसुर तथा सजायबाट पूर्णत: सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी चन्द्रकुमार कार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

म पुनरावेदकउपर किटानी रूपमा दोष मुकरर गरी जाहेरी दरखास्त, मौकाको कागज तथा अदालतमा बकपत्र हुन नसकेको अवस्थामा शंका र अनुमानको आधारमा दोषी प्रमाणित गर्न मिल्दैन । मउपर मौकामा कुनै किसिमको जाहेरी परेको छैन । म पुनरावेदकको अन्य प्रतिवादीहरूसँग वारदात घटित भएको दिनभन्दा २०-२१ दिनअघिदेखि भेटघाट भएको छैन । वारदात घटित भएको भनिएको दिनमा म वारदात स्थलभन्दा रातको समयमा ३ घण्टाको दुरीमा रहेको मेरै आफ्नै घरमा रहेको भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको अवस्थामा छविलाल कार्कीलाई कुटपिट गर्न गरिएका पूर्ववारदातका प्रयासहरूमा संलग्न रहेको भनी कर्तव्य ज्यान जस्तो गम्भीर फौजदारी अपराधमा मतियार रहेको निष्कर्ष निकाली मलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कसुरदार कायम गर्ने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले बदर घोषित गरी म पुनरावेदकलाई आरोपित कसुर तथा सजायबाट पूर्णत: सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेलको यस अदालतमा परेको पुनरावेदनपत्र । 

प्रतिवादी चन्द्रकुमार कार्कीले मृतकलाई मार्ने षड्यन्त्र गरी अन्य प्रतिवादीहरूलाई षड्यन्त्रमा सामेल गराई मार्न लगाएको र मारिसकेपछि रू.१,००,०००।– नगदसमेत दिएको स्वीकार गरेको अवस्था छ । निज आफू वारदातमा नगएको भने पनि प्रतिवादी देवबहादुर कटवालले वारदातमा यी प्रतिवादी चन्द्रकुमार कार्कीसमेतको संलग्नता रहेको भनी पोल गरेको अवस्था छ । प्रतिवादी ओम राईको हकमा फैसला गर्दा मुद्दाको तथ्यमा नै प्रवेश नगरी अभियोग लगाइएको व्यक्ति र पक्राउ परी पेस भएको व्यक्ति नै फरक परेको भन्ने अर्थ गरी प्रतिवादीलाई सफाइ दिएको देखिन्छ । प्रतिवादी ओम राईउपर किटानी जाहेरी दिएको र अदालतमा बकपत्र गर्दासमेत किटानी पोल गरेको अवस्था छ । मौकामा कागज गर्ने व्यक्तिहरू र वस्तुस्थिति मुचुल्काका मानिसहरूले अनुसन्धानको क्रममा लेखाएको बेहोरा र अदालतमा भएको बकपत्रबाट समेत वारदातमा यी प्रतिवादीको कसुरमा संलग्नता पुष्टि हुन्छ । प्रतिवादीहरू देवबहादुर कटवाल र दिलबहादुर सार्कीले वारदातमा आफूहरूले षड्यन्त्र गरेकोमा इन्कारी बयान दिए पनि सो दिन नै आफूहरू मृतकसँगै रहेको, होटलमा कुखुरा काटेर बियरसमेत खाएर बसेको र बेलुकी खाना खान लाग्दा वारदात भएको, वारदातका क्रममा आफूहरूले प्रतिकार नगरी भागेको तथ्यलाई स्वीकार गरेको अवस्था छ । त्यसैगरी मौकामा पक्राउ परेका विमर्शराज घिमिरेले समेत मिति २०६७।३।२४ गते रातको २०:०० बजेको समयमा दिपककुमार कटवालको घरमा योजना बनाएको हो । योजना बनाउनेमा हामी सबै जना थियौं, सूचना प्रवाह गर्ने दिलबहादुर सार्की र देवबहादुर कटवाल थिए सो सूचना बाबुराम सुवेदी र दिपक कटवाललाई दिएको हुनुपर्छ भनी बयान गरेको पाइएबाट यी प्रतिवादीहरू सामान्य मतलबी मतियार मात्र नभएर वारदात घटाउन परिबन्द मिलाउने र अन्य प्रतिवादीहरूलाई मृतकको बारेमा सूचना दिने मुख्य षड्यन्त्रकारी रहेको देखिँदा निजलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । अर्को प्रतिवादी लालबहादुर भुजेल मृतक छविलाल कार्कीलाई कारबाही गर्ने कुरामा भएका अघिल्ला सबै बैठकहरूमा उपस्थित भई मत सल्लाहमा पसेको, वारदातका दिन पनि वारदात घटाउन भनी जाँदै गर्दा अरू प्रतिवादीहरूले कार्य सम्पन्न गरी फर्कंदै गर्दा बाटोमा भेटेकोले त्यहीँबाट फर्केको भनी वारदातमा सामेल भएको तथ्यलाई स्वीकार गरी बयान दिएको र सहअभियुक्त विमर्शराज घिमिरेसमेतको पोलबाट उक्त कुरा पुष्टि भएको छ । वारदात घटाउने सबै योजना र आक्रमण प्रयासहरूमा सामेल रहेको स्वीकार गरिसकेपछि वारदातको दिन चाहिँ निज नगएको भन्ने तथ्य विश्वासपूर्ण देखिँदैन । यसरी समग्र तथ्य, आधार एवम् प्रमाणहरूबाट प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजाय गर्नुपर्नेमा १३(४) अनुसार सजाय, प्रतिवादी ओम राई, प्रतिवादी देवबहादुर कटवाल र प्रतिवादी दिलबहादुर सार्कीलाई सफाइ तथा अर्को प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेललाई सामान्य मतलबी मतियारको रूपमा मात्र सजाय हुने गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला त्रुटिपूर्ण भएकोले प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट र प्रतिवादीहरू चन्द्रबहादुर र एल.बि. भन्ने लालबहादुरको तर्फबाट दोहोरो पुनरावेदन दर्ता भएको देखिन आएकाले अ.बं.२०२ नं. तथा प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम परस्पर जानकारी गराई अन्य प्रतिवादीहरू नवराज बस्नेत, टिका भुजेल भन्ने टिकाराम भुजेल, यदुनाथ घिमिरे र अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरेको तर्फबाट परेको पुनरावेदनमा समेत अ.बं.२०२ नं. तथा मुलुकी फौजदारी संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई सफाइ पाएका प्रतिवादीहरू देवबहादुर कटवाल, दिलबहादुर सार्की र ओम राईलाई अ.बं.२०२ नं. तथा मुलुकी फौजदारी संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७६।१।२४ मा भएको आदेश ।

अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले प्रतिवादी चन्द्रकुमार कार्कीले मृतकलाई मार्ने षड्यन्त्र गरी अन्य प्रतिवादीहरूलाई षड्यन्त्रमा सामेल गराई मार्न लगाएको र मारिसकेपछि रू.१,००,०००।– नगदसमेत दिएको स्वीकार गरेको अवस्था छ । प्रतिवादी ओम राईसमेतउपर जाहेरवालीले किटानी जाहेरी दिएको र अदालतमा बकपत्र गर्दासमेत किटानी पोल गरेको अवस्था छ । त्यसैगरी मृतकले मर्नुअघि यी प्रतिवादीसमेत वारदातमा संलग्न थिए भनी व्यक्त गरेको कुरा सुन्ने व्यक्तिहरूसमेतको कागज तथा बकपत्रबाट पुष्टि हुन्छ । प्रतिवादीहरू देवबहादुर कटवाल र दिलबहादुर सार्कीले मिति २०६७।३।२४ गते मृतकसँगै रही होटलमा खाना खान लाग्दा वारदात भएको, वारदातका क्रममा आफूहरूले प्रतिकार नगरी भागेको तथ्यलाई स्वीकार गरेको देखिन्छ । त्यसैगरी अर्का प्रतिवादी लालबहादुर भुजेल मृतकउपर श्रृङ्खलाबद्ध रूपमा आक्रमण गर्न भनी गरिएको बैठकहरूमा सहभागी हुनुका साथै अघिल्ला प्रयासमा संलग्न भई अन्तिम पटक वारदातस्थलसम्म पुगेको तथ्य पुष्टि भइरहेकोले यी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो । 

पुनरावेदक प्रतिवादीहरू नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, टिका भन्ने टिकाराम भुजेलको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान तथा विद्वान् अधिवक्ताहरू श्री गोपालप्रसाद सापकोटा, श्री पदमा आचार्य, श्री सन्तोष राउतले मृतक छविलाल कार्कीलाई मार्नुपर्नेसम्मको कुनै पनि रिसइवी यी प्रतिवादीहरूसँग नभएकोले मार्नुपर्ने कुनै कारण र कार्य मिसिल संलग्न कागजातबाट देखिँदैन । यी प्रतिवादीहरूको संलग्नतामा योजना बनाई साङ्घातिक रूपमा विभिन्न हतियारहरूले प्रहार गरी यी व्यक्तिहरूको चोटको कारणले मृतकको मृत्यु भएको हो भन्ने अनुसन्धानको क्रममा र पछि अदालतबाट बुझिएका कुनै कागजहरूबाट पुष्टि हुन सकेको छैन । केबल राजनीतिक प्रतिशोधको आधारमा वारदात भएको १३ दिन ढिलो गरी दिएको जाहेरी र अनुसन्धानको क्रममा भएको बयान तथा सहअभियुक्तहरूको पोलसम्बन्धी कागजको आधारमा ज्यान जस्तो जघन्य अपराधमा कसुरदार ठहर गर्न नमिल्ने हुँदा अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला बदर गरी प्रतिवादीहरूलाई आरोपित कसुर तथा सजायबाट सफाइ दिलाइपाउँ भनी बहस गर्नुभयो ।

प्रतिवादी चन्द्रकुमार कार्कीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान, विद्वान् अधिवक्ताद्वय श्री गोपालप्रसाद सापकोटा र श्री सानु डंगोलले मृतक छविलाल कार्की चन्द्रकुमार कार्कीको आफ्नो भाइ भएकोले मार्नुपर्ने कुनै कारण नै छैन । मृतकलाई मार्ने सम्बन्धमा कुनै योजना बनेको तथा उक्त योजनामा संलग्न भई मृतकलाई मार्न कोही कसैलाई वचन दिएको मिसिल संलग्न कागजातबाट पुष्टि नभएको अवस्थामा शंकाको आधारमा दिएको जाहेरी दरखास्त र यथेष्ट प्रमाणबिना कसुरदार कायम गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भनी बहस गर्नुभयो ।

प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेलको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विरेन्द्रप्रसाद साहले लालबहादुर भुजेलउपर किटानी जाहेरी परेको छैन । मौकामा बुझिएका व्यक्तिहरूको कागज तथा अदालतमा गरेको बकपत्रसमेतबाट निजउपरको आरोप पुष्‍टि हुन नसकेको अवस्थामा शंका र अनुमानको आधारमा दोषी प्रमाणित गर्न मिल्दैन । यी प्रतिवादीले उक्त वारदात घटेको दिनभन्दा २०-२१ दिनअघिदेखि अन्य प्रतिवादीहरूसँग भेटघाट भएको छैन भनी मौकामा अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गरिरहेको अवस्थामा कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा मतियार भएको भनी गरिएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिलाईपाउँ भनी बहस गर्नुभयो ।

प्रतिवादी देवबहादुर कटवाल र दिलबहादुर सार्कीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री सन्तोष राउत र श्री रामसुन्दर श्रेष्ठले जाहेरी केवल राजनीतिक प्रतिशोधका कारण दिएको हो । उक्त वारदात हुँदा यी प्रतिवादीहरू मृतक छविलाल कार्कीसँग हुनुले नै यी प्रतिवादीहरूको उक्त वारदातमा संलग्नता छ भन्ने पुष्टि गर्दैन । प्रतिवादी देवबहादुर कटवाल र दिलबहादुर सार्कीले मृतक छविलाल कार्कीको सम्बन्धमा सूचना प्रवाह गरेको भनिए पनि फोन गरेको call detail पेस गरिएको छैन । निजहरूलाई जबरजस्ती प्रतिवादी बनाइएको हुनाले पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तानुसारको तथ्य, मिसिल संलग्न कागजात तथा विद्वान् वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरू र विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहससमेतको सन्दर्भमा पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ, छैन ?  वादी नेपाल सरकार र प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेल, चन्द्रकुमार कार्की, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, नवराज बस्नेत, टिका भुजेल भन्ने टिकाराम भुजेल र यदुनाथ घिमिरेको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६७।३।२४ गते अभियुक्तहरूले छविलाल कार्कीलाई रड, भाला, लाठी, खुकुरी, कुञ्जोसमेतका हातहतियारले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा सोही राति निज घाइते छविलाल कार्कीको मृत्यु भएको हुँदा विदुर / विचार भन्ने बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, अडिग भन्ने यदुनाथ घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेल, अखिल / ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, जितमान राई, ओम राई, रामबहादुर राई, तारा सि.के. भन्ने कालुराम सार्की, तिलक राई, लालबहादुर भुजेल, चन्द्रकुमार कार्कीसमेतका अभियुक्तहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ (३) नं. को कसुर अपराध गरेको देखिँदा निजहरूलाई ऐ. ज्यानसम्बन्धीको महलको १३ (३) नं. अनुसार सजाय गरी पाउन तथा अभियुक्तमध्येका देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीले षड्यन्त्रपूर्ण तरिकाले कुखुरा काटी खाने बहाना पारी वारदात घटाउन परिबन्द मिलाई सो कुराको जानकारी अन्य अभियुक्तहरूलाई दिई सो वारदातस्थलमा मुख्य भई षड्यन्त्र गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १६ नं. को कसुर अपराध गरेको देखिँदा अभियुक्तहरू देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीलाई ऐ. ज्यानसम्बन्धीको महलको १६ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे र टिका भुजेल भन्ने टिकाराम भुजेललाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार जन्मकैद, प्रतिवादी चन्द्रकुमार कार्कीलाई ऐ. ऐनको दफा १३(४) नं. अनुसार जन्मकैद, प्रतिवादीहरू एल.वि. भन्ने लालबहादुर भुजेल, देवबहादुर कटवाल र कालकाधेँ भन्ने दिलबहादुर सार्कीलाई ऐ. ऐनको १७(३) नं. अनुसार जनही ३ वर्ष कैद र प्रतिवादी ओम राईले सफाइ पाउने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकार र प्रतिवादीहरू चन्द्रकुमार कार्की, टिका भुजेल भन्ने टिकाराम भुजेल, यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, नवराज बस्नेत, देवबहादुर कटवाल, दिलबहादुर सार्की, लालबहादुर भुजेलको दोहोरो पुनरावेदन परेकोमा प्रतिवादीहरू देवबहादुर कटवाल र कालकाँधे भन्ने दिलबहादुर सार्कीको हकमा केही उल्टी भई अभियोग दाबीबाट सफाइ पाउने गरी र अन्य प्रतिवादीहरूको हकमा सुरूको फैसला सदर हुने गरी पुनरावेदन अदालत राजविराजबाट मिति २०७२।१२।१ मा फैसला भएको देखिन्छ । पुनरावेदन अदालत राजविराजबाट भएको फैसला प्रमाणको उचित मूल्याङ्कन नगरी भएकोले अभियोग मागदाबीबाट सफाइ दिलाइपाउँ भन्ने बेहोराको प्रतिवादीहरू नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेल, चन्द्रकुमार कार्की, एल.वि भन्ने लालबहादुर भुजेलको पुनरावेदन र प्रतिवादीहरू ओम राई, देवबहादुर कटवाल, दिलबहादुर सार्कीलाई सफाइ र प्रतिवादी चन्द्रकुमार कार्की र एल.वि भन्ने लालबहादुर भुजेललाई अभियोग मागदाबीभन्दा कम सजाय दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकाले अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा दोहोरो पुनरावेदन परेको देखियो ।

३. यसमा मिति २०६७।३।२४ गते ओखलढुङ्गा जिल्लाको निशंखे स्थित तारा होटलमा खाना खाइरहेका मेरो पति छविलाल कार्कीलाई जेठाजु नाताका व्यक्ति चन्द्रकुमार कार्कीसमेतका अभियुक्तहरूले रड, लाठी, भाला, खुकुरी, कुन्जो आदिले निजको टाउको तथा शरीरको विभिन्न अङ्गमा प्रहार गरी सख्त घाइते बनाई प्रतिवादीहरू त्यहाँबाट भागी गएका र छविलाल कार्कीको सोही राति उपचारको क्रममा मृत्यु भएको हुँदा निज प्रतिवादीहरूलाई पक्री आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत मृतक छविलाल कार्कीको पत्‍नी सकुन्तला कार्कीले दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।

४. मृतक छविलाल कार्कीको लास जाँच मुचुल्का हेर्दा, मृतकको दुवै खुट्टाको नली भागमा हाड भाँचिएको, बायाँ तथा दायाँ खुट्टाको घुँडामुनि ४।५ वटा १ इन्च बराबरको गहिरो प्वालहरू रहेको, शरीरको जत्रतत्र भागमा ६ इन्च लम्बाइका रडका जस्ता निलडामहरू रहेको, टाउकोको बायाँ साइडको निधार माथि ४ इन्च लम्बाइ १/२ गहिरो भएको घाउ तथा बायाँ कानमाथि टुप्पी छेउ र ढाडमा समेत घाउ चोट रहेको देखिनुका साथै Post Mortem Report मा cause of death is due to hypovolemic shock due to extensive external hemorrhage भनी उल्लेख हुनुले पनि मृतक छविलाल कार्कीको मृत्यु कर्तव्यबाट भएको देखिन्छ । मिसिल संलग्न रहेको मृतक छविलाल कार्कीको फोटोसमेतबाट निजको शरीरमा विभत्स रूपमा काटिएका र घोचिएका चोटहरू देखिनुले निजको मृत्यु कर्तव्यबाट नै भएको हो भन्ने तथ्य निर्विवाद रूपमा स्थापित भएको देखियो ।

५. मृतक छविलाल कार्कीको मृत्यु कर्तव्यबाट भएको देखिँदा निजको मृत्यु को-कसको संलग्नतामा भयो भन्ने प्रश्नको निरूपण गर्नुपर्ने देखियो । जाहेरवाला सकुन्तला कार्कीले दिएको जाहेरीमा निजले प्रतिवादीहरू बाबुराम सुवेदी, दिपककुमार कटवाल, नवराज बस्नेत, तारा सि.के भन्ने कालुराम सार्की, चन्द्रकुमार कार्की, तिलक राई, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल भन्ने ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, ओम राई, जितमान राई, टिका भुजेल, देवबहादुर कटवाल, कालकाँधे भन्ने दिलबहादुर सार्कीसमेतको नाम उल्लेख गरी किटानी जाहेरी दिएको देखिन्छ । यसका साथै मौकामा बुझिएका मानिसहरूको कागजबाट पनि यी प्रतिवादीहरूले मिति २०६७।३।२४ को वारदात घटाएको देखिन्छ तर कुन प्रतिवादीले उक्त घटना घटाउन के कस्तो भूमिका खेले भन्ने मुख्य निरूपण गर्नुपर्ने विषय देखिन्छ ।

६. यस सन्दर्भमा प्रतिवादी नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेलको हकमा हेर्दा, जाहेरवाला सकुन्तला कार्कीको किटानी जाहेरीमा यी प्रतिवादीहरूको कारणबाट मृतकको मृत्यु भएकोले कारबाही गरिपाउँ भनी किटानी जाहेरी परेको छ भने जाहेरी दरखास्तलाई समर्थन गर्ने गरी जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको देखिन्छ । प्रतिवादी अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेल, अडिग भन्ने यदुनाथ घिमिरे, नवराज बस्नेतले अदालतमा आई आफूहरूले आरोपित कसुर नगरेको भनी इन्कारी बयान गरेको देखिए तापनि अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा आफूहरूले मृतक छविलाल कार्कीलाई तारा होटलमा खाना खाइरहेको मौका छोपी छविलाल कार्कीको टाउको र शरीरको विभिन्न अङ्गमा रड तथा ढुङ्गाले हानी, मर्‍यो भनी सोची त्यहाँबाट भागी गएका हौं भनी आरोपित कसुरमा साबित रही बयान गरेको देखिन्छ । उक्त बयानको क्रममा प्रतिवादी अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरेले बयान गर्दा, तारा होटलमा खाना खाएको मौका छोपी होटलभित्र बाबुराम सुवेदी, नवराज बस्नेत, टिकाराम भुजेल, यदुनाथ घिमिरे, दिपककुमार कटवाल र म अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरेसमेत भई रड, लाठीले छविलाल कार्कीको टाउको, जिउमा हान्यौं, निजले प्रतिकार गरे, हामीले जोड बल गरी बाहिर निकाली सबैले कुटपिट गरी सख्त घाइते बनाएका हौं । क-कसले कहाँ कहाँ हिकाएँ यकिन भएन । तत्काल घटना घटाई हामी त्यहाँबाट भागेका हौं भनी बयान कागज गरेको देखिन्छ । त्यसैगरी प्रतिवादी टिका भुजेल भन्ने टिकाराम भुजेलले छविलाल कार्की होटलभित्र नै छ भन्ने लागेर म टिकाराम भुजेल, विदुर विचार भन्ने बाबुराम सुवेदी, अडिग भन्ने यदुनाथ घिमिरे, दिपककुमार कटवाल, नवराज बस्नेत, अखिल भन्ने ढुण्डीराज घिमिरे होटलभित्र पस्दा छविलाल कार्की त्यहीँ रहेछ । सुरूमा विदुर भन्ने बाबुराम सुवेदीले यहीँ रहेछ ठोक साथी हो भनी रडले छविको टाउकोमा प्रहार गरे, दिलबहादुर सार्की र देवबहादुर कटवाल उठेर भागे, छविले प्रतिकार गर्न खोज्दै थिए भनी हामी सबैले कुटपिट गर्न थाल्यौं । मैले मेरो हातमा भएको रडले छविको खुट्टामा हानेपछि छवि लड्यो । हामीले घिसारेर बाहिर ल्याएपछि सबैले हिर्कायौं, छेउमा भएको ढुङ्गा उचाली मैले हानेपछि अब यो मर्‍यो भनेर हामी सबै हिँड्यौं । म र नवराज बस्नेत चन्द्रकुमार कार्कीको घर गई सल्लाहअनुसारको रकम ल्यायौं । अरू रामबहादुर राईको घरको बाटो हुँदै भागे । राति नवराज बस्नेत र म नवराज बस्नेतको बेँसी घरमा गई बस्यौं भनी बयान कागज गरेको देखिन्छ ।

७. यसै सन्दर्भमा सामान्यतयाः अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्वस्फूर्त रूपमा आरोपित कसुरसँग स्वाभाविक सामञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्नुपर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने भनी कोशिला देवी महतो विरूद्ध नेपाल सरकार (ने.का.प. २०७५, अङ्क ७, नि.नं. १००५९) को मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा प्रतिवादीहरू टिका भुजेल भन्ने टिकाराम भुजेल र ढुण्डीराज भन्ने विमर्शराज घिमिरे अदालतमा कसुरमा इन्कारी बयान गरे तापनि निजहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयान र मृतक छविलाल कार्कीको लास जाँच मुचुल्का र post mortem report बिच तादम्यता देखिनुले निजहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयानलाई नजरअन्दाज गर्न मिल्ने देखिएन । 

८. प्रतिवादी यदुनाथ घिमिरेले वारदात मितिमा कुईभिर स्थित खेतमा बिहानदेखि साँझसम्म रोपाइँ भएकोले म उक्त वारदातमा थिइनँ भनी अदालतमा बयान गरेका छन् भने अर्कातिर प्रतिवादी नवराज बस्नेतले मिति २०६७।३।२४ को वारदात हुँदाको समयमा आफू मिति २०६७।३।२३ गतेदेखि ऐ.२७ गतेसम्म आफ्नो खेतको काम गरेर घरमा बसेको छु भनी अदालतसमक्ष बयान गरेको 

देखिन्छ । त्यसैगरी अर्का प्रतिवादी ढुण्डीराज भन्ने विमर्शराज घिमिरेले पनि वारदातको दिन बागबानी केन्द्र नवलपुर, सर्लाही गई उक्त दिन बेलुका महोत्तरीको जलेश्वरमा गएर बसेको भनी अदालतसमक्ष बयान गरेको देखिन्छ । “प्रतिवादीले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी alibi को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । त्यस्तो alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखित प्रमाणबाट समर्थित हुनसके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिको विरूद्ध नै प्रमाण लाग्ने । जाने भनी वसन्त परियार विरूद्ध नेपाल सरकार (ने.का.प २०७६, अङ्क ४, नि.नं १०२४२) भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि यी प्रतिवादीहरूले वारदातको समयमा अन्य स्थलमा छु भन्ने जिकिर लिएको भए तापनि निजहरूले सो तथ्यलाई निश्चयात्मक रूपमा प्रमाणित गर्न नसकेको देखिँदा निजहरूले लिएको सो जिकिर प्रमाणयोग्य मान्‍न मिल्ने देखिएन ।

९. मिति २०६७।३।२४ को घटनाको प्रत्यक्षदर्शी उक्त वारादातस्थलका होटल सञ्चालक पूर्ण तामाङ र तारा तामाङ हुन् । निज तारा तामाङले छविलाल र देवबहादुर कटवालले भित्र बसेर खाना खान लागिरहेका थिएँ । सोही बेला मुखमा केही रूमाल माक्स लगाएका विदुर विचार भन्ने बाबुराम सुवेदी, नवराज बस्नेत, दिपककुमार कटवाल, टिका भुजेल, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, यदुनाथ घिमिरे घरभित्र खाना खाइरहेका बेला रड लाठीले छविलाल कार्कीलाई मात्र टाउको, जिउमा प्रहार गरी घाइते बनाई केही समय छविलाल कार्कीले प्रतिकार गर्नुभयो र देवबहादुर कटवाल र दिलबहादुर सार्की त्यहाँबाट भागेँ भनी कागज गरेको देखिन्छ । निज तारा तामाङले यी प्रतिवादीहरू यदुनाथ घिमिरे, विमर्शराज घिमिरे, टीका भुजेल उक्त वारदातमा संलग्न भई मृतक छविलाल कार्कीलाई कुटपिट गरेको भनी अदालतमा गरेको बकपत्रसमेतले यी प्रतिवादीहरू घटना हुँदाको बखत अन्यत्र थिए भनी लिएको जिकिर खण्डित हुने देखिन्छ ।

१०. सिद्धान्तत: कुनै पनि आपराधिक कार्य स्थापित हुन मनसाय र कार्य तत्त्वको आवश्यकता रहन्छ । कुनै पनि कार्यको पहिलेबाट परिणामको अन्दाज गरी सो परिणाम हासिल गर्ने काम गरिन्छ भने त्यस्तो कार्यलाई मनसायपूर्वक गरिएको कार्य 

मानिन्छ । प्रस्तुत मुद्दामा जाहेरवाला सकुन्तला कार्कीको जाहेरी र उक्त जाहेरीलाई समर्थन गर्ने गरी जाहेरवालाले अदालतमा गरेको बकपत्र, मौकामा बुझिएका सन्तोष कार्कीसमेतको कागज र अदालतमा भएको बकपत्र, प्रतिवादीहरू टिकाराम भुजेल र अखिल / ढुण्डीराज भन्ने विमर्शराज घिमिरेले अनुसन्धानका क्रममा गरेको बयान, टिकाराम भुजेलले अदालतमा बयान गर्दा स.ज. १५ मा मिति २०६७।३।५ र ६ गतेको घटनामा आफू संलग्न छु भनी गरेको बयानसमेतबाट मृतक छविलाल कार्कीलाई मार्नको निम्ति प्रतिवादीहरूबाट योभन्दा अघि पनि धेरै प्रयास भएको देखिन्छ । प्रतिवादी चन्द्रकुमार कार्कीकी पत्‍नी पुन्यकुमारी बस्नेतले सङ्कटकालको समयमा देवर छविलाल कार्कीले चन्द्रकुमार कार्कीलाई माओवादी हो भनी जेल हाल्नुभएकोले बोलचाल थिएन । चन्द्रकुमार जेलबाट १७/१८ महिनापछि छुट्नुभयो भनी बकपत्र गरेको देखिन्छ । यसरी प्रतिवादीहरूको मृतक छविलाल कार्कीसँग पूर्वरिसइवी रहेको र पहिलेदेखि नै निजलाई मार्ने मनसायले आक्रमणको प्रयास स्वरूप मिति २०६७।३।२४ मा प्रतिवादीहरूले मृतक छविलाल कार्कीलाई कुटपिट गरेको देखिन्छ । 

११. A statement by a person who believe that death is imminent, relating to cause or circumstance of the person’s impending death. The statement is admissible in evidence as exception to hearsay rule भनि Black’s law dictionary ले मृत्युकालीन घोषणालाई परिभाषा गरेको छ । मृत्युकालीन घोषणा मानिसले आफू मर्नुअघि होस छँदै व्यक्त गरेको statement हुन् । यस्तो statement लिपिबद्ध हुन पनि सक्छन् नहुन पनि सक्छन् तर निजले भनेको बेहोरा सुन्ने व्यक्तिले अदालतमा साक्षीका रूपमा उपस्थित भएमा प्रमाणका रूपमा लिन मिल्ने हुन्छ । यो hearsay is not an evidence भन्ने प्रमाण कानूनको अपवादको रूपमा महत्त्वपूर्ण प्रमाणका ग्रहण गर्नुपर्ने आधार भनेको roman maxim “Nemo moriturus praesumitur mentire” हो जसको अर्थ a man will not meet his maker with a lie in his mouth हो, यसै कारणले नै मृत्युकालीन घोषणालाई प्रमाणका रूपमा लिइनुपर्छ भन्ने विधायिकाको मनसाय हो । कुनै पनि घटनाको प्रत्यक्षदर्शी भनेको नै पीडित व्यक्ति स्वयम् हुने हुनाले निजले व्यक्त गरेको कुरालाई सुन्ने, लेख्‍ने व्यक्तिले अदालतसमक्ष आई बकपत्र गरेमा र उक्त मृत्युकालीन घोषणा अरू प्रमाणहरूले corroborate गरेमा उक्त statement लाई निर्णायक प्रमाणका रूपमा लिइनुपर्ने हुन्छ ।

१२. प्रस्तुत मुद्दामा छविलाल कार्कीले मर्ने बेलामा “दिलबहादुर र देवबहादुरबाट धोका पाएँ, बाबुरामले रडले टाउकोमा हानी लडायो । घरभित्र सङ्घर्ष भयो, यसपछि अडिग, नवराज, दिपक, बाबुरामले घिसारी बाहिर निकाले, अडिगले कुन्जोले मेरो दुवै खुट्टामा हिर्काई सिसा फुटाएझैं चुरचुर बनाई दिए । अन्य मानिसले भाला खुकुरीले शरीर र घाँटीमा रोपे । सबै कुरा निको भएपछि भनौंला । साथमा भएका देवबहादुर र दिलबहादुरले प्रतिकार गरेको भए यस्तो अवस्था हुने थिएन” भनी मृतकले मर्नुभन्दा अघि शंकरबहादुर कटवाललाई भनेको देखिन्छ । मृतक छविलाल कार्कीले उक्त कुरा भनेको हो भनी मोहनकुमार श्रेष्ठ, ओम दयाल, शंकरबहादुर कटवालले मौकाको कागज तथा अदालतसमक्षको बकपत्रसमेतमा उल्लेख गरेको देखिन्छ । यसरी पीडितले मर्नुभन्दा अघि भनेको भनाइ, होटल सञ्‍चालकको बकपत्र साथै मृतकको post mortem report मा उल्लेख भएको cause of death सँग मेल खान गएको देखिँदा मृतक छविलाल कार्कीले घटना घटाएको व्यक्तिहरूको नाम लिई उक्त घटनासम्बन्धी गरेको घोषणालाई अन्यथा भन्न नमिल्ने देखिँदा उक्त मृत्युकालीन घोषणा नै सर्वोत्तम प्रमाण हुनेसमेत देखिन्छ ।

१३. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. मा “लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धैरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा पनि मृतकको मृत्युको कारण hypovolemic shock due to extensive external hemorrhage भनी उल्लेख भएको छ, जसको अर्थ शरीरबाट अत्यधिक रगत बगेको कारणबाट मृत्यु भएको भन्‍ने हुन्छ । मृतक छविलाल कार्कीको लास जाँच मुचुल्का तथा मिसिल संलग्न रहेको मृतकको फोटोसमेत हेर्दा निजको शरीरमा विभिन्न चोटपटक लागेको देखिन्छ भने खुट्टाको हड्डीसमेत भाँचिएको देखिन्छ । साथै मृतक छविलाल कार्कीले मर्नुअघि प्रतिवादीहरू यदुनाथ घिमिरे, विमर्शराज घिमिरे, नवराज बस्नेत, टिका भुजेलसमेतले लाठी ढुङ्गाले पिटेको भनी बताएका छन् भने मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीहरूले लाठी ढुङ्गाले कुटपिट गरेको कारणबाट मृतक छविलाल कार्कीको मृत्यु भएको हो भनी बकपत्र गरेको देखिँदा प्रतिवादीहरूले उक्त कानूनी प्रावधानको उल्लङ्घन गरेको होइन भन्न मिलेन । 

१४. अब, कुन प्रतिवादीले मृतक छविलाल कार्कीलाई कहाँ हिर्काए र कस्को चोटका कारणबाट छविलाल कार्कीको मृत्यु भयो भन्नेतर्फ हेर्दा, “प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्‍यो, कसले कम कुट्‍यो, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुट्‍दै कुटेन कि जस्ता कुरा कमन ल मा प्रासङ्गिक हुँदैनन् । ज्यान लिने अथवा साङ्घातिक कुटपिट गर्ने मनसाय भई सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौसाइ अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समानरूपमा सहभागी भएको मानिने र समान सजायका भागीदार हुने अवस्था रहने” भनी सीता भन्ने लालहिरा कामी विरूद्ध नेपाल सरकार (ने.का.प.२०७१, अङ्क ९, नि.नं. ९२४९) भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा पनि यी प्रतिवादीहरू हुलमा गई एक्कासी मृतक छविलाल कार्कीलाई ढुङ्गा, रड र लाठाले प्रहार गरेको हुँदा को कसले कहाँ हिर्काए र कस्को चोटबाट मृतक छविलाल कार्कीको मृत्यु भएको भन्ने यकिन रूपमा भन्न सकिने अवस्था नहुँदा यी चारै जना प्रतिवादीहरूको उत्तिकै मात्रामा संलग्नता रहेको मान्‍नुपर्ने हुन्छ । निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मनासिब नै देखियो । तसर्थ, प्रतिवादी नवराज बस्नेत, अडिग भन्ने यदुनाथ, ढुण्डीराज भन्ने विमर्शराज घिमिरे र टिका भुजेल भन्ने टिकाराम भुजेललाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरे पनि केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७(२) मा ज्यान मर्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने भन्‍ने कानूनी व्यवस्था रहेकोले  प्रतिवादीहरू नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे र टिका भुजेल भन्ने टिकाराम भुजेललाई जन्मकैदको मात्र सजाय हुने देखियो ।

१५. वादी नेपाल सरकारले प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भनी र निज पुनरावेदक प्रतिवादी चन्द्रकुमार कार्कीले ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम सजाय गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी सफाइ पाउँ भनी पुनरावेदन जिकिर रहेको देखिन्छ । उक्त पुनरावेदन जिकिरतर्फ हेर्दा, पुनरावेदक प्रतिवादी चन्द्रकुमार कार्कीले अदालतसमक्ष कसुरमा इन्कारी बयान गरे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा भिमबहादुर थापा मगरलाई कुटपिट गरी अङ्गभङ्ग मुद्दामा मलगायत बाबुराम सुवेदी, नवराज बस्नेत, यदुनाथ घिमिरेका मानिसहरूलाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्न निज छविलाल कार्कीले सहयोग गरेको हुँदा निजलाई मार्नुपर्छ भन्ने कुरा गरी योजना बनाएको हो । सोहीअनुसार बाबुराम सुवेदी, दिपक कटवाल, टिकाराम भुजेल, नवराज बस्नेत, अडिग भन्ने यदुनाथ घिमिरे, तिलक राई, ओम राई, अखिल भन्ने ढुण्डीराज घिमिरे, लालबहादुर भुजेललगायतका व्यक्तिहरूले २०६७ साल जेष्ठ २८/२९ गते रामबहादुर थापाको घरमा मिटिङ बसी योजना बनाएको र निज व्यक्तिहरूले छविलाल कार्कीलाई २/३ पल्ट कारबाही गर्न प्रयास गर्दा सफल भइएन भन्ने कुरा बाबुराम सुवेदीमार्फत सुनेको छु । सो घटना पनि निजहरूले घटाएको हो । २०६७ जेष्ठ २८/२९ गते मिटिङ बस्दा विदुर भन्ने बाबुराम सुवेदीले एक छेउमा मलाई बोलाई योजनाअनुसार काम भएपछि हामी भाग्नुपर्ने हुन्छ, सोको लागि खर्चको व्यवस्था गर्नुपर्ने हुन्छ भन्दा मैले चिन्ता गर्नुपर्दैन भनेको थिएँ । सोही मुताबिक मिति ०६७।३।२४ गते राति १ बजे नवराज बस्नेत र टीका राम भुजेल मेरो घरमा आई सहमतिअनुसारको काम भयो, रकम दिनु भनेपछि मैले रकम दिएर पठाएको हुँ भनी बयान गरेको देखिन्छ ।

१६. निज प्रतिवादी चन्द्रकुमार कार्कीले अदालतसमक्ष कसुरमा इन्कार रहे पनि अदालतमा गरेको बयानको स.ज.११ मा रू.१,००,०००।- मसँगबाट लगेका हुन् तर उक्त रकम रू.३% का दरले मागेकोले दिएको हुँ भनी बयान गरेको अवस्था भए पनि उक्त रकम मध्यरात (१ बजे) को समयमा दिनुपर्नेको कारण भने प्रस्ट रूपमा खुलाउन सकेका छैनन् । त्यसैगरी निजले उक्त रकम ब्याजमा दिएको नै भए सोको लिखत हुनुपर्ने थियो तर निज प्रतिवादी चन्द्रकुमार कार्कीले लिखतसमेत पेस गर्न सकेको अवस्था छैन । निजको श्रीमती पुन्यकुमारीले पनि ब्याजमा रकम लगाएको भनी प्रस्ट रूपमा नखुलाएको अवस्थामा निजले अदालतसमक्ष गरेको बयान अरू प्रमाणहरूसँग corroborate नगरेको हुनाले सो बयानलाई विश्वासयोग्य मान्‍न मिल्ने देखिएन । 

१७. निज चन्द्रकुमार कार्कीको पत्‍नी पुन्यकुमारी कार्कीले पहिले पनि आषाढ १०/११ गतेतिर होला विदुर विचार भन्ने बाबुराम सुवेदीसमेतले छविलाल कार्कीलाई मार्ने योजना बनाएका थिए अरे सो रात मिति २०६७।३।२४ गते पनि निजहरूले छविलाल कार्कीलाई मारेको कुरामा पूर्ण विश्‍वास छ । यसरी छविलाल कार्कीलाई तारा तामाङको होटलमा कुटपिट गरेछन् र राति १ बजेको समयमा नवराज बस्नेत हाम्रो घरमा आई मेरो श्रीमान्‌लाई बोलाई निजले छविलाल कार्कीलाई कुटपिट गरिआएको र तपाइँ पनि ओल्टोकोल्टो लाग्नुस् हामी पनि भाग्छौं भनेपछि मेरो पतिले रू.१ लाख रूपैयाँ निकाली दिनुभयो भनी प्रहरीसमक्ष कागज गरेको देखिन्छ । प्रतिवादी चन्द्रकुमार कार्कीले अदालतमा कसुरमा इन्कारी बयान गरे तापनि निजको अनुसन्धान अधिकारीसमक्ष भएको बयान र निजको श्रीमतीले गरेको कागजबिच तादम्यता रहेको देखिँदा उक्त अनुसन्धान अधिकारीसमक्ष भएको बयानलाई अन्यथा भन्न मिल्ने अवस्था देखिएन ।

१८. मौकामा बुझिएका सन्तोषकाजी कार्कीले मिति ०६७।३।१४ गते टिमल डाँडा भन्ने गाउँबाट लगभग ५:३० बजेतिर चन्द्रबहादुर कार्कीले मिति २०६७।१।२६ को काण्डमा मलाई पनि मुछिएको 

रहेछ । अब छविको बाँच्ने दिन ७-८ दिन मात्र बाँकी छ भनी मलाई भने र त्यो मुद्दामा साक्षी बस्नेहरूको हविगत हामी हेर्छौं भनी धम्की दिएका थिएँ भनी मौकामा भएको कागजलाई समर्थन गर्ने गरी अदालतसमक्ष बकपत्र गरेको देखिन्छ । घटना हुँदा मृतक छविलाल कार्कीसँगै रहेका देवबहादुर कटवालले अनुसन्धान अधिकारीसमक्ष स.ज.९ मा प्रतिवादीमध्येका चन्द्रकुमार कार्की छविलाल कार्कीको सौतिनी आमाको छोरा भएको भएको र उनीहरूबिच अंश र राजनीतिक कारणसमेतले मतभिन्नता र रिसइवी भएकोले बोलचाल नभएको हुँदा यिनै कारणबाट परिबन्ध योजना बनाई यो वारदात घटाएकोमा विश्वास लाग्छ भनी बयान कागज गरेको देखिन्छ । त्यस्तैगरी चन्द्रकुमार कार्की जेठाजु नाताको भएको र निजसँग मिलाप थिएन । चन्द्रकुमार कार्कीले बाबुराम सुवेदीसमेतका प्रतिवादीहरूलाई आफ्नो घरमा बोलाई पटकपटक बैठक बसाई छविलाल कार्कीलाई भौतिक सफाया गर्नुपर्छ भनी षड्यन्त्र योजना बनाइरहेको भनी जाहेरवालाको किटानी जाहेरी र अदालतसमक्ष भएको बकपत्रसमेतबाट चन्द्रकुमार कार्की उक्त वारदातमा संलग्न रहेको देखिन्छ । 

१९. Direct evidence को अभावमा circumstantial evidence हरूलाई हेरिनुपर्ने हुन्छ । चन्द्रबहादुर कार्कीको हकमा पनि निजको कसुरमा संलग्नता रहेको direct evidence नभए पनि निजको मृतक छविलाल कार्कीसँग राम्रो सम्बन्ध रहेको देखिँदैन भने छविलाल कार्कीलाई आक्रमण गर्ने सम्बन्धमा पटकपटक बसेको बैठकमा निज चन्द्रकुमार कार्कीसमेत बसी उक्त बैठकको निर्णयमा सहमत भएको देखिन्छ । निजले मिति २०६७।३।२४ को वारदात घटेपछि पूर्वसहमतिअनुसार प्रतिवादी नवराज बस्नेतलाई रू.१,००,०००।- दिनुले पनि निजको कसुरमा संलग्नता छैन भन्न मिल्ने अवस्था देखिएन । मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(४) नं. मा “जुनसुकै कुरा गरीकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नालाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जिउमा हात हाली पक्री समातिदिनेलाई जन्मकैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । Inciter to be liable as perpetrator को व्यवस्था हाम्रो कानूनी व्यवस्थासमेतले अङ्गीकार गरेको अवस्थामा ज्यानसम्बन्धी अपराधमा मुख्य भई वचन दिने व्यक्तिलाई पनि perpetrator को सरह सजाय गरिनुपर्ने हुँदा जन्मकैदको सजाय गरेको देखिन्छ । घटनामा आफैँ संलग्न नभए पनि मार्न आदेश वा मार्न सहमति दिने व्यक्तिलाई मृतकको मृत्यु हुँदै छ भन्ने foresightness of consequence हुने हुँदा मृतक मरे पनि मरोस् भन्ने desire of consequence अभियुक्तले राख्‍ने हुँदा वचन दिने व्यक्तिलाई पनि first offender कै रूपमा हेरिनुपर्ने हुन्छ र निजलाई सजाय गर्दा पनि first offender को दर्जामा राखी सजाय गरिनुपर्छ भन्ने विधायिकाको मनसायसमेत रहेको पाइन्छ । 

२०. यसमा, प्रतिवादी चन्द्रकुमार कार्की आफैँ घटनामा संलग्न नभए पनि छविलाल कार्कीलाई आक्रमण गरेमा आफूले सहयोग गरिदिने वचन दिएको र वारदात घटेको रातको समयमा नवराज बस्नेतलाई रू.१,००,०००।- समेत दिएको देखिन्छ । प्रतिवादी एल.बि भन्ने लालबहादुर भुजेलको अनुसन्धान अधिकारीसमक्ष भएको बयानको स.ज. ८ मा मिति २०६७।३।२२ मा आफू चन्द्रकुमार कार्कीसँगै हुँदा चन्द्रकुमार कार्कीको मोबाइलमा बाबुराम सुवेदीले फोन गरी आजसम्मको प्रयासमा सफल भइएन, अब एक दुई दिनमा छविलाललाई कारबाही हुँदै छ भनी फोन आएको भनी बयान गरेको देखिन्छ । यसरी निज प्रतिवादी चन्द्रकुमार कार्कीलाई घटना घटाउनेबारे पहिले नै थाहा भए तापनि निज चुपचाप बसेको 

देखिन्छ । यसरी चुपचाप बसी घटना घटेपश्‍चात् प्रतिवादी नवराज बस्नेतलाई रू.१ लाख दिनुले निजको पनि उक्त घटना घटाउन मन्जुरी थियो भन्ने देखिँदा निजले उक्त कानूनी व्यवस्थाअनुरूपको कसुर गरेको होइन भन्न सकिने अवस्था रहेन । यसस्थितिमा  प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत राजविराजको फैसलालाई अन्यथा भन्‍न मिलेन । तसर्थ, प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजाय हुनुपर्ने भन्‍ने वादी नेपाल सरकार र आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भन्‍ने प्रतिवादी चन्द्रकुमार कार्कीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

२१. अर्का प्रत्यर्थी प्रतिवादीहरू दिलबहादुर सार्की र देवबहादुर कटवाललाई अभियोग दाबीबाट सफाइ दिएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा, यी प्रतिवादीहरूले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष आफूहरूले कसुर नगरेको र उक्त वारदात घटाउनमा आफूहरूको कुनै किसिमको संलग्नतासमेत नरहेको भनी इन्कारी बयान गरेको देखिन्छ । घटनाका प्रत्यक्षदर्शी तारा तमाङ र पूर्ण तामाङले मौकामा गरेको कागज तथा अदालतमा आई गरेको बकपत्रसमेतबाट यी प्रतिवादीहरूको उक्त कसुरमा संलग्नता रहेको भन्‍ने कुरा खुल्न आएको देखिँदैन । केवल जाहेरी दरखास्तमा यी प्रतिवादीहरूको नाम उल्लेख भएको देखिन्छ । जाहेरी भनेको first information report हो, अर्थात् घटनाको बारेमा जतिसक्दो चाँडो सूचना दिनु ताकि प्रहरीले चाँडोभन्दा चाँडो अनुसन्धान गर्न सकुन् र अभियुक्तलाई पक्राउ गर्न सकियोस् भन्ने हेतुका साथ जाहेरी दिने गरिन्छ । जाहेरीमा नाम किटान गरिदिनुले निज व्यक्ति नै कसुरदार हो भनी मान्न मिल्दैन । यो त केवल अनुसन्धान प्रक्रियालाई सहज गर्ने माध्यम मात्र हो । जाहेरीमा नाम उल्लेख हुनु र कसुरदार ठहर हुनु फरक कुरा हुन् । प्रस्तुत मुद्दामा पनि देवबहादुर कटवाल र दिलबहादुर सार्कीको विरूद्ध किटानी जाहेरी परे पनि निजहरू उक्त वारदात घट्दा मृतक छविलाल कार्कीसँगै रहे तापनि यी प्रतिवादीहरूले मिति २०६७।३।२४ को वारदात घटाउन के भूमिका खेले भन्ने कुरा वादी पक्षले वस्तुनिष्ट तवरबाट पुष्टि गर्न सकेको देखिँदैन ।

२२. प्रतिवादी दिलबहादुर सार्कीले सुराकीको काम गरी छविलाल कार्कीको बारेमा अन्य प्रतिवादीहरूलाई जानकारी दिएको भन्‍ने जाहेरी रहे पनि दिलबहादुर सार्की न्यून आयस्तर भएका अरूको काम गरी खाने मानिस देखिन्छ । निजले सुराकीको काम गरेको भए निजको साथबाट मोबाइल वा अन्य सुराकी गर्न प्रयोग भएका सामानहरू बरामद हुनुपर्ने थियो तर निजको साथबाट कुनै त्यस्तो चिज वा वस्तुसमेत भेटिएको अवस्था छैन । निजको कुनै क्रियाकलाप शंकास्पद देखिएको भए तारा होटलका सञ्चालक तारा तामाङ र पूर्ण तामाङले देख्‍नुपर्ने थियो, निजहरूले मौकाको कागज र अदालतमा गरेको बकपत्रमा यी प्रतिवादीको पनि वारदात घटाउनमा संलग्नता रहेको भनी उल्लेख गरेको नदेखिँदा निजको उक्त वारदातमा संलग्नता थियो भन्न मिल्ने देखिएन ।   

२३. घटना हुँदा यी दुईजना प्रतिवादीहरू मृतक छविलाल कार्कीसँगै तारा होटलमा खाना खाइरहेको देखिन्छ भने हमलाकारीहरूले मृतकलाई आक्रमण गर्दा यी दुई प्रतिवादीहरू हमलाकारीसँगै रड, भालाले आक्रमण नगरी उक्त वारदातस्थलबाट नै भागेको देखिन्छ । एल.बि भन्ने लालबहादुर भुजेलको अनुसन्धान अधिकारीसमक्ष भएको बयानको स.ज.८ मा योभन्दा अगाडि मिति २०६७।३।५ मा मृतक छविलाल कार्कीलाई कुटपिट गर्ने योजना देवबहादुर कटवालले धोका दिएका कारण सफल भइएन भनी बाबुराम सुवेदीले भनेको भनी बयानसमेत गरेको अवस्थासमेतबाट निजको मृतकलाई मार्ने मनसाय देखिँदैन । निजहरूले मानवताको नाताले पनि मृतक छविलाल कार्कीलाई कुटपिट गर्नबाट रोक्नुपर्ने थियो तर प्रतिकार नगरेको कारणले मात्र ज्यान जस्तो गम्भीर फौजदारी अपराधमा प्रतिवादी देवबहादुर कटवाल र दिलबहादुर सार्कीलाई कसुरदार कायम गर्न नमिल्ने हुँदा निज प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरेको पुनरावेदन अदालतको फैसला मनासिब नै देखियो । 

२४. अर्का पुनरावेदक प्रतिवादी एल.बि भन्ने लालबहादुर भुजेलको हकमा हेर्दा, यी प्रतिवादीले मिति २०६७।३।२४ को वारदात हुँदा आफू घटनास्थलमा अरू प्रतिवादीहरूसँग नरहेको र बाबुराम सुवेदी बाटोमा भेट भई निजले हामीले छविलाई आक्रमण गर्‍यौं, छवि मरे जस्तो छ, तँ साला डरपोक काँतरको केही काम छैन भनी भनेका हुन् भनी आरोपित कसुरमा इन्कार रही अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गरेको देखिन्छ । निज प्रतिवादी एल.बि भन्ने लालबहादुर भुजेलले मृतक छविलाललाई कारबाही गर्न २०६७ जेष्ठ २८/२९ मा बसेको बैठकमा आफू सहभागी भएको भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिए पनि बैठकमा सहभागी हुनु र बैठकको निर्णयमा सहमत हुनु दुई फरक फरक विषय हुन् । यी प्रतिवादी उक्त बैठकहरूमा सहभागी हुँदैमा निजको पनि कसुरमा संलग्नता छ भनी अनुमान गर्नु गलत हुन्छ । ज्यान जस्तो गम्भीर फौजदारी मुद्दामा यथेष्ट प्रमाणबिना कसुरदार कायम गर्न मिल्दैन । निज प्रतिवादीसमेतको संलग्नतामा उक्त मिति २०६७।३।२४ को वारदात घटेको हो भन्‍ने तथ्य मिसिल संलग्न कागजातबाट पुष्‍टि भएको देखिँदैन ।

२५. प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी प्रावधानअनुसार वादी नेपाल सरकारले प्रतिवादी एल.वि भन्ने लालबहादुर भुजेलको कसुरमा संलग्नता छ भन्ने कुरा तथ्यपरक, शंकारहित प्रमाणको आधारमा प्रमाणित गर्न सकेको देखिँदैन । Benefit of doubt goes to the accused भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेत रहेको पाइन्छ । प्रतिवादी एल.बि भन्ने लालबहादुर भुजेलको मृतक छविलाल कार्कीलाई मार्ने कार्यमा संलग्नता रहेको भन्‍ने तथ्य शंकारहित तवरले प्रमाणित हुन सकेको नदेखिँदा निजलाई कसुरदार कायम गरी ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ३ वर्ष कैद सजाय गरेको पुनरावेदन अदालत राजविराजको फैसला नमिलेकोले उल्टी भई निज प्रतिवादी एल.बि भन्ने लालबहादुर भुजेलले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ ।

२६. अब, प्रत्यर्थी प्रतिवादी ओमकुमार राईलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा, निज ओमकुमार राईले अदालतसमक्ष गरेको बयानको स.ज.९ मा जाहेरी दरखास्तमा विपक्षी बनाइएको व्यक्ति कुम्भ राईको छोरा ओम राई भनिएको छ भने आफू सिंहध्वज राईको छोरा ओमकुमार राई हो भनी बयान गरेको देखिन्छ । निजको सो बयान मिसिल संलग्न रहेको नागरिकताको प्रतिलिपिसमेतबाट पुष्टि भइरहेको देखिन्छ । प्रतिवादीको नाम मात्र फरक नपरी निजको बाबुको नामसमेत फरक परेको अवस्थामा यिनै प्रतिवादी ओमकुमार राईको उक्त कसुरमा संलग्नता रहेको भनी यकिन गर्न मिल्दैन । प्रतिवादी ओमकुमार राईले मिति २०६७।३।२४ गते दिउसभर आफू हेमराज राईको खेतमा रोपाइँ गरी बेलुका रमेश राईसँग सुतेको भनी बयान गरेको देखिन्छ । निजको साक्षी हेमराज राईले समेत उक्त दिन ओमकुमार राई साँझ ६ बजेसम्म खेतमा काम गरी बेलुका ८ बजेतिर रमेश राईको घरमा सुतेको र त्यसपछिका पाँच दिन लगातार निज प्रतिवादी ओमकुमार राईले मेरो खेतमा काम गरेकोले निज उक्त वारदातमा संलग्न छैन भनी प्रतिवादीको इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्रसमेत गरेको देखिँदा जाहेरीमा उल्लेख गरिएको ओम राई भनेको यी ओमकुमार राई नै हुन् भन्न सकिने स्थिति देखिएन ।

२७. प्रमाण ऐन, २०३१ को दफा २५ को व्यवस्थाअनुसार पनि शंकाको सुविधा यी प्रतिवादीले पाउन सक्ने नै देखिन्छ । पक्राउ परेका यी ओमकुमार राई नै जाहेरीमा नाम उल्लेख भएका ओम राई हुन् भन्ने वस्तुनिष्ठ तवरबाट प्रमाणित हुन नसकेको हुँदा यी प्रतिवादी ओमकुमार राईको पनि उक्त मिति २०६७।३।२४ मा मृतक छविलाल कार्कीलाई कुटपिट गर्ने कार्यमा संलग्नता रहेको थियो भनी मान्न मिल्ने देखिएन । तसर्थ, निज प्रतिवादी ओमकुमार राईलाई अभियोग दाबीबाट सफाइ दिने गरेको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसलालाई अन्यथा भन्‍न मिलेन । माथि उल्लिखित तथ्य, कानूनी व्यवस्था एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारबाट प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेलले अभियोग दाबीबाट सफाइ पाउने र वादी नेपाल सरकार तथा अन्य प्रतिवादीहरूको पुनरावेदन जिकिर एवम् विद्वान् उपन्यायाधिवक्ता, विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन 

सकिएन ।

२८. अतः प्रतिवादीहरू नवराज बस्नेत, यदुनाथ घिमिरे, अखिल ढुण्डीराज भन्ने विमर्शराज घिमिरे, टिका भुजेल भन्ने टिकाराम भुजेललाई ज्यानसम्बन्धीको १३(३) नं. को कसुरमा ऐ. को १३(३) नं. बमोजिम जनही जन्मकैद र प्रतिवादी चन्द्रकुमार कार्कीलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद हुने, प्रतिवादी देवबहादुर कटवाल, दिलबहादुर सार्की र ओमकुमार राईलाई सफाइ दिने गरी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेलको हकमा निजलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ३ वर्ष कैद गर्ने गरी सुरू ओखलढुङ्गा जिल्ला अदालतबाट मिति २०७०।१०।२३ मा भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०७२।१२।१ को फैसला नमिलेकोले केही उल्टी भई निज प्रतिवादी एल.वि. भन्ने लालबहादुर भुजेलले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी एल.वि भन्ने लालबहादुर भुजेलले अभियोग माग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले निजको नाममा कसेको कैदको लगत कट्टा गर्नु भनी सुरू ओखलढुङ्गा जिल्ला अदालतलाई लेखी पठाउनू -----------------१

प्रतिवादी एल.वि भन्ने लालबहादुर भुजेलले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकोले निज प्रतिवादीले तत्कालीन पुनरावेदन अदालत राजविराजमा धरौटीबापत मिति २०७१।७।१० मा र. नं. २३३ बाट रू.१६,७१८।७५ राखेको देखिँदा निज प्रतिवादीले ऐनको म्यादभित्र उक्त धरौटी फिर्ता पाउँ भनी निवेदन दिएमा नियमानुसार फिर्ता दिनु भनी उच्च अदालत जनकपुर, राजविराज इजलासमा लेखी पठाउनू -----२ 

प्रतिवादी एल.वि भन्ने लालबहादुर भुजेलले यस अदालतमा पुनरावेदन दर्ता गर्दा मिति २०७३।५।८ मा र. नं. २९६० मार्फत रू.१०,२८१।२५ धरौटी राखेको देखिँदा ऐनको म्यादभित्र उक्त धरौटी फिर्ता पाउँ भनी निवेदन दिएमा नियमानुसार फिर्ता दिनु भनी लेखा शाखामा पठाउनू  ------------------------------३

प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालय र प्रतिवादीहरूलाई दिनू --------------------------------------------------४ 

फैसला विद्युतीय प्रणालीमा अपलोड गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ----------------------------------५

 

उक्त रायमा सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत:- श्रद्धा विष्ट

इति संवत् २०७७ साल असोज ११ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु