शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८११ - अंश चलन

भाग: ६४ साल: २०७९ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७७।१२।१

०७३-CI-०११२

 

मुद्दाः- अंश चलन

 

पुनरावेदक / वादी : चन्द्रलाल श्रेष्ठको छोरा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगन्ज चक्रपथ बस्‍ने वर्ष ६२ को हरिकुमार श्रेष्ठको मुद्दा सकार गर्ने हरिकुमार श्रेष्ठको छोरा ऐ.ऐ. बस्ने वर्ष ३८ को श्रवण श्रेष्ठ

विरूद्ध

विपक्षी / प्रतिवादी : गोविन्दकुमार श्रेष्ठको श्रीमती नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला महांकाल गा.वि.स. वडा नं. ९ सुकेधारा एकता बस्ती बस्‍ने अ. वर्ष ४७ की श्रीमती बुनु श्रेष्ठसमेत

 

शेषपछिको बकसपत्रको लिखतको कानूनी अस्तित्व यथावत् रहेको अवस्थामा सो शेषपछिको बकसपत्रको लिखत गरिदिनेको इच्छाबमोजिम निजको अंश हकको सम्पत्तिसमेत बन्डा गरी शेषपछिको बकसपत्र प्राप्त गर्नेलाई दिने मनसायअनुसार नै बन्डा लाग्ने सम्पत्तिमा अंश लाग्ने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : 

विपक्षी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. २०३२, नि.नं.९२४, पृष्ठ २१८

ने.का.प. २०५६, नि.नं.६७२९, पृष्ठ ३९२

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः

मा. न्यायाधीश श्री शालिकराम कोइराला

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री किशोर सिलवाल

माननीय न्यायाधीश श्री चण्डीराज ढकाल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन¸२०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर भई नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।

 

तथ्य खण्ड

पिता चन्द्रलाल श्रेष्ठ र माता देवकुमारी श्रेष्ठको तीन छोरी र दुई छोरा म फिरादी हरिकुमार श्रेष्ठ र विपक्षी भाइ गोविन्दकुमार श्रेष्ठको जायजन्म भएकोमा दिदी बहिनीहरूको विवाह भइसकेको छ । पिता चन्द्रलालको पहिला नै र माता देवकुमारी श्रेष्ठको मिति २०६७।८।२ मा आफ्नै कालगतिले परलोक भइसक्नु भएको छ । हामी अंशियारहरू सगोलमा नै बसोबास गरी आएका 

छौं । हामी दाजुभाइ दुई अंशियार रहेको र अंशबन्डा भएको छैन । एकासगोलमै रहेको अवस्थामा म फिरादीको छोरा महेशकुमार श्रेष्ठले अंश पाउँ भनी मउपर का.जि.अ. मा अंश मुद्दा दायर गरेकोमा का.जि.अ. बाट नाता कायम भई अंश पाउने ठहर हुने गरी मिति २०६६।३।२९ मा फैसला भएको र सोउपर पुनरावेदन परी मुद्दा चल्दा चल्दैको अवस्थामा अंशबापत नगदै रकम दिई मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट अंश छोडपत्रसमेत गराइसकेको छु । सगोलको आर्जनबाट जसका नाममा सम्पत्ति रहे पनि बन्डा गर्न मिल्ने हुँदा मउपर का.जि.अ. मा छोराको अंश मुद्दासमेत रहेकोले सगोलको आर्जनबाट आर्जित घर जग्गा विपक्षी भाइ बुहारी बुनु श्रेष्ठको नाममा समेत राखेको थियो । पैतृक एवं सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति कानूनबमोजिम बन्डा गरौं भनी विपक्षी भाइलाई अनुरोध गर्दा अहिले बन्डा नगर्ने भनी ठाडै इन्कार गरेको र सगोलमा बस्दा बढे बढाएको सम्पत्तिबाट विपक्षी भाइले बुहारीको नाममा रहेको घर जग्गा बन्डा गर्नुपर्ला भनी अंशबन्डा गर्न इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी उक्त मितिसम्मको बन्डा गर्नुपर्ने सम्पत्तिको फाँटवारी विपक्षीसँग दाखिला गर्न लगाई सम्पूर्ण सम्पत्तिलाई २ भाग लगाई २ भागको एक भाग अंश दिलाइ भराइपाउँ भन्ने बेहोराको हरिकुमार श्रेष्ठको फिराद पत्र ।

विपक्षी धेरैअगाडि नोकरी गरी म प्रतिवादीबाट अलग बसी आएको र व्यवहार कारोबार पनि अलग अलग गरी आएका छौं । म प्रतिवादीको बुबा पहिले नै परलोक हुनुभएकोले म नाबालक भएको र विपक्षी दाजुले म प्रतिवादीलाई छोडी पैतृक घरजग्गासमेत साहुको ऋणमा पारी पछि मावलीतर्फबाट साहुको ऋण चुक्ता गरिदिएका हुन् । त्यस अवस्थामा म नाबालक भएकोले मेरो हेरविचार गर्ने कोही नभएकोले मावलीले लगी पाली हुर्काए बढाए । पछि मैले नै आमालाई हेरचाह पालन पोषण गरी आएको हो । विपक्षीसँग धेरै पहिले नै अलग बसी आएको विपक्षीलाई मैले अंश दिनुपर्ने पनि होइन । म प्रतिवादीले निर्माण व्यवसायी ऐन, २०५५ बमोजिम “एजेन्स निर्माण सेवा” दर्ता गरी इजाजत प्राप्त गरी निर्माण व्यवसाय गर्दै आएको छु । उक्त व्यवसाय सञ्चालन गर्दा सगोल तथा पैतृक सम्पत्ति लगानी गरेको छैन । अंशबन्डाको महलको १८ नं. ले आफ्नो ज्ञान, सिप र प्रयासबाट आर्जित सम्पत्तिमा बन्डा लाग्ने होइन । मैले व्यवसाय गर्दा प्रतिवादीको नाममा दर्ता, तिरो रहेको घर जग्गा ICFC Ltd. मा धितो राखी रू. २५०००००।- कर्जा लिई व्यवसाय सञ्चालन गरी आएका छौं । विपक्षी वादी र हामी प्रतिवादीहरूबिच बन्डा गर्नुपर्ने अवस्था छैन । अंशबन्डाको ३० नं. अनुसार पनि वादी प्रतिवादीहरूबिच छुट्टाछुट्टै व्यवहार गरी छुट्टाछुट्टै भोग दर्ता गरी छुट्टी भिन्न भई अलग भई बन्डा भएको प्रमाणित हुन्छ । तसर्थ, विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्दकुमार श्रेष्ठ र बुनु श्रेष्ठको संयुक्त प्रतिउत्तर पत्र ।

वादी प्रतिवादीबिच नातामा कुनै विवाद रहेको नदेखिएको, प्रतिवादीले घरसारमा नै निजहरूबिच अंशबन्डा भइसकेको भनी उल्लेख गरे तापनि सोको कुनै प्रमाण पेस गर्न सकेको अवस्था रहेको नदेखिँदा निजहरूबिच कानूनबमोजिम अंशबन्डा भइसकेको भनी मान्न नमिल्ने हुँदा र निजहरू चुलो मानो छुट्टिएको कुनै लिखत प्रमाण वादी प्रतिवादी दुवै पक्षले पेस गर्न सकेको अवस्थासमेत रहेको नदेखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । वादी प्रतिवादी जिम्मा रहेको चल अचल सम्पत्तिको तायदाती फाँटवारी मुलुकी ऐन, अंशबन्डा महलको २०, २१, २२, २३ नं. बमोजिम लिई दाखिला हुन आएको फाँटवारीमा कुनै सम्पत्ति बन्डा गर्नु नपर्ने भनी जिकिर लिएको अवस्थामा सोको प्रमाण सम्बन्धित पक्षबाट दाखिला गराउनु भन्ने आदेश भई सोअनुसार वादी प्रतिवादीबाट तायदाती पेस भई मिसिल सामेल रहेको । 

आमाको शेषपछि भाइलाई बकसपत्र गरेर नै जम्मा अंशको २ भाग गोविन्दलाई र १ भाग महेशकुमार श्रेष्ठलाई दिनुभएको हो । आमाको पालनपोषण र काजक्रिया भाइ गोविन्दले गरेका हुन् । का.जि. महाँकाल गा.वि.स वडा नं. ९ को जग्गा गोविन्द आफैँले दु:खसुख गरेर कि.नं.१७ को जग्गा किनेको हो । सो पैतृक सम्पत्ति होइन त्यसैले वादी हरिकुमार श्रेष्ठले पाउनुपर्ने पनि होइन भन्ने । बेहोराको प्रतिवादीका साक्षी भगवती शिल्पकारको बकपत्र । 

हरिकुमार श्रेष्ठ ठुलो दाइ र गोविन्दकुमार श्रेष्ठ सानो भाइ हो । उहाँहरूबिचमा अंशबन्डा भएको छैन तर छुट्टाछुट्टै खानुभएको छ । का.जि. महाँकाल वडा नं. ९ को कि.न. १७ को जग्गा गोविन्दकुमार श्रेष्ठले आफैँले कमाएर किनी घर बनाउनुभएको हो । आमाले दुई भाग गोविन्दलाई र १ भाग हरिकुमारलाई दिनुभएको हो । गोविन्दले आमालाई पालनपोषण गर्नुभएकोले आमाको भाग दाई गोविन्दलाई दिनुभएको हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सरस्वती श्रेष्ठले गरेको बकपत्र । 

आमा देवकुमारी जीवित हुँदै निजको अंश भागको सम्पत्ति म प्रतिवादी गोविन्दकुमार श्रेष्ठलाई मिति २०६७।६।१४ मा शे.व.को लिखतबाट आमाको हकजति हक छोडी दिनुभएकाले आमा देवकुमारी, म प्रतिवादी गोविन्दकुमार श्रेष्ठ र वादी गरी ३ अंशियार भएकाले ३ भागको २ भाग म प्रतिवादीले र १ भाग वादीले अंश पाउने हो भनी प्रतिवादीले मिति २०७०।१२।२४ मा पेस गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

प्रतिवादीले तायदाती फाँटवारी पेस गर्दा उल्लेख गरेको र बन्डा हुने सम्पत्तिमा मुख मिली विवाद नदेखिएकोले फाँटवारीमा उल्लिखित तीन कित्ता जग्गाबाट मूल अंशियार वादी प्रतिवादी गरी दुईजना देखिएकोले कुल सम्पत्तिलाई २ भाग लगाई सोको एक भाग वादीले पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।२।२० को फैसला ।

श्री काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०७१।२।२० को फैसला तथ्य, कानून, प्रमाणको मूल्याङ्कनविना तथा प्रतिपादित नजिर सिद्धान्तसमेत विपरीत भएकोले बदर गरी अंश हक लाग्ने पैतृक सम्पत्तिमा आमा देवकुमारी, विपक्षी दाजु हरिकुमार श्रेष्ठ र म पुनरावेदक प्रतिवादी गोविन्दकुमार श्रेष्ठको ३ भाग लगाई आमा देवकुमारीले आफ्नो जिउ छँदै मलाई लेखिदिएको मिति २०६७।६।१४ र.नं. १३०१ख. को पारित शेषपछिको बकसपत्र लिखतबमोजिम आमाको भागसमेत मैले पाउने भएकोले ३ भागमध्ये २ भाग मेरो भागमा र १ भाग विपक्षी वादीको भागमा अंश लाग्ने गरी इन्साफ गरिपाउँ भन्ने बेहोराको पुनरावेदक गोविन्दकुमार श्रेष्ठको पुनरावेदन पत्र ।

आमा देवकुमारीले मिति २०६७।६।१४ मा र.नं.१३०१ख. बाट प्रतिवादी गोविन्दकुमार श्रेष्ठलाई शेषपछिको बकसपत्र गरिदिएको अवस्थामा दुई भागको १ (एक) भाग वादीले अंश छुट्टाई लिन पाउने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।०२।२० मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई तायदाती फाँटवारीमा उल्लिखित बन्डा हुने सम्पत्तिलाई तीन भाग लगाई तीन भागको १ (एक) भाग प्रत्यर्थी वादीले पाउने ठहरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१२।१५ मा भएको फैसला ।

अंशबन्डाको १ नं.ले अंशबन्डा गर्दा “जियजियैको” अंशबन्डा गर्नुपर्ने हुन्छ । अंशबन्डा गर्दा फिराद दायर भएको अवस्थामा रहेको जीवित अंशियारबिच अंशबन्डा गर्नुपर्ने मुख्य अंशियार रहेको मान्नुपर्ने हुन्छ । नालिस गरेको अवस्थामा कायम रहेका अंशियारबिचमा नै अंशबन्डा हुने हो । शे.ब.को लिखत गरेको अवस्थामा सबै अंशियार एकासगोलमा नै रहेको अवस्था छ । अंशियारहरूबिच कुनै वादविवाद तथा मुद्दा मामिला एवं झै-झगडासमेत केही छैन । यति सम्पत्ति भनी सम्पत्तिको यकिन नै नभई सगोलमा रहेको अवस्थामा देवकुमारीको मृत्यु भएको अवस्था छ । देवकुमारीको भागको सम्पत्ति नछुट्टिएको प्रस्ट 

छ । यस्तो स्थितिमा त्यसतर्फ विचारै नगरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा मुलुकी ऐन, अंशबन्डाको १ नं. र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको गम्भीर त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर उल्टी गरी सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।२।२० को फैसला सदर कायम गरिपाउँ भन्‍नेसमेत बेहोराको मु.स.गर्ने श्रवण श्रेष्ठको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।

प्रस्तुत मुद्दामा पुनरावेदक वादीको वारेस तारेखमा रहेका र इजलासबाट पटकपटक पुकारा गर्दासमेत पुनरावेदक तथा निजको तर्फबाट प्रतिनिधि उपस्थित हुनुभएको पाइएन ।

उपर्युक्तानुसारको मिसिल अध्ययन गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने  विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, हामी वादी प्रतिवादी जम्मा २ अंशियार भएकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई २ भाग लगाई २ भागको एक भाग अंश दिलाई भराइपाउँ भन्ने बेहोराको वादीको फिराद दाबी र विपक्षीसँग धेरै पहिले नै अलग बसी आएको विपक्षीलाई मैले अंश दिनुपर्ने पनि होइन हामी वादी प्रतिवादीहरूबिच छुट्टाछुट्टै व्यवहार गरी छुट्टाछुट्टै भोग दर्ता गरी छुट्टी भिन्न भई अलग भइसकेकाले वादीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेकोमा वादीले २ भागको १ भाग अंश पाउने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखियो । सो सुरू फैसला केही उल्टी भई वादीले ३ भागको १ भाग अंश पाउने  ठहर गरी  तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी पुनरावेदनको रोहबाट पेस हुन आएको देखियो ।

३. पुनरावेदन जिकिर हेर्दा अंशबन्डाको १ नं.ले अंशबन्डा गर्दा “जियजियैको” अंशबन्डा गर्नुपर्ने हुन्छ । नालिस गरेको अवस्थामा कायम रहेका अंशियारबिचमा नै अंशबन्डा हुने हो । यति सम्पत्ति भनी सम्पत्तिको यकिन नै नभई सगोलमा रहेको अवस्थामा आमा देवकुमारीको मृत्यु भएको हुँदा तत्कालीन पुनरावेदन अदालत पाटनबाट ३ भागको १ भाग अंश पाउने ठहरी भएको फैसला बदर गरी २ भागको १ भाग अंश पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको 

देखिन्छ ।

४. प्रस्तुत मुद्दाका वादी प्रतिवादीबिच अंशियार भएको सम्बन्धमा कुनै विवाद देखिएन । प्रतिवादी गोविन्दकुमार श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा मिति २०७०।१२।२४ मा तायदाती फाँटवारी पेस गर्दा आमा देवकुमारी श्रेष्ठ जीवित हुँदै निजको अंश भागको सम्पत्ति मिति २०६७।६।१४ मा र.नं.१३०१ ख बाट शे.ब.को लिखतबाट मलाई दिनुभएकाले सगोलको सम्पत्तिमा आमाको समेत भाग लगाई ३ भागको २ भाग म प्रतिवादीले र १ भाग वादीले पाउनुपर्ने हो भनी दाबी लिएको देखिन्छ । 

५. साबिक मुलुकी ऐन अंशबन्डाको महलको १ नं. को व्यवस्था हेर्दा अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जियजियैको अंश गर्नुपर्छ भन्ने कानूनी प्रावधान रहेको परिप्रेक्ष्यमा हेर्दा यी वादी प्रतिवादीहरूका बिचमा बन्डा गर्नुपर्ने सम्पत्ति भनी तायदाती फाँटवारी पेस भएको र सो फाँटवारीमा यी वादी प्रतिवादीहरूकी आमा देवकुमारी श्रेष्ठको नाममा समेत बन्डा गर्नुपर्ने सम्पत्ति रहेको देखिएकाले आमा जीवित रहेको अवस्थामा निजहरूकी आमाले समेत छोराहरूसरह नै अंशको हकदार रहेको कुरामा विवाद देखिँदैन । 

६. आमा जीवित हुँदै कान्छो छोरा गोविन्दकुमार श्रेष्ठले मात्र पहिलादेखि नै आफ्नो साथमा राखी मेरो हेरविचार, स्याहार सम्भार, पालन पोषण, औषधोपचार एवं जो परी आएको खर्चसमेत बेहोरी आएको र अब उप्रान्त पनि सोहीबमोजिम गर्ने हुँदा सो रिझबापत मेरो हक भएको सम्पूर्ण चल अचल सुन चाँदी र पछि मेरो कानूनबमोजिम हक हुन आउने सम्पूर्ण चल अचल तथा अंशभागको श्रीसम्पत्तिसमेत जे जो जति छ सो सम्पूर्ण मुलुकी ऐन दानबकसको १ नं. बमोजिम शेषपछिको बकसपत्र गरिदिएकी छु भन्नेसमेतको बेहोरा उल्लेख गरी मिति २०६७।६।१४ मा शेषपछिको बकसपत्रको लिखत गरिदिएको 

देखिन्छ ।

७. निवेदिका पदमावती उपाध्यायको मु.स.गर्ने तारादेवी उपाध्याय विरूद्ध इन्द्रप्रसाद उपाध्याय पौडेलसमेत विपक्षी भएको संवत् २०३१ सालको दे.पू.नं.८७ को अंश मुद्दामा यस अदालतको पूर्ण इजलासबाट "बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरी दिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको अंश हक स्थापित हुने" भन्ने सिद्धान्त (ने.का.प.२०३२, नि.नं.९२४, पृष्ठ २१८) कायम भएको अवस्था छ । त्यसैगरी पुनरावेदक मथुरा चिपालु विरूद्ध मनोज चिपालु प्रत्यर्थी भएको संवत् २०५४ सालको दे.पु.इ.नं.१२६ को हक कायमसमेत मुद्दामा यस अदालतको बृहत् पूर्ण इजलासबाट मिति २०५५।११।२६ मा निर्णय भई "तत्काल प्रचलित कानूनबमोजिम आफ्नो अंश हकको सम्पत्ति शेषपछिको बकसपत्रको लिखत गरिदिएको अवस्थामा सो लिखतलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको कानूनी अस्तित्व यथावत् रहेको मान्नुपर्ने भई त्यस्तो कानूनी मान्यता प्राप्त शेषपछिको बकसपत्रको लिखत बकसपत्र दाताको मृत्युपछि स्वतः क्रियाशील हुने हुँदा बकसपत्र दाताको हकको सम्पत्ति बकस पाउनेमा सर्ने" भन्नेसमेत सिद्धान्त (ने.का.प.२०५६, नि.नं.६७२९, पृष्ठ ३९२) प्रतिपादन भएको पाइन्छ । पुनरावेदक/वादी पुण्यराम सुवाल विरूद्ध हर्षलक्ष्मी ब्याञ्जू विपक्षी/प्रतिवादी भएको संवत् २०५८ सालको दे.पु.इ.नं.७४ को बकसपत्र बदर मुद्दामा यस अदालतको पूर्ण इजलासबाट "आमा लक्ष्मीमाया सुवालले गरिदिएको शेषपछिको बकसपत्रको लिखतबाट निजको अंश हकमा बकसपत्र पाउने प्रतिवादी हर्षलक्ष्मीको हक स्थापित हुने देखिँदा सो बकसपत्र बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरूको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने" भन्ने सिद्धान्त कायम भएको देखिन्छ ।

८. शेषपछिको बकसपत्रको लिखत गरिदिएको अवस्थामा सो लिखतलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको कानूनी  अस्तित्व यथावत् रहेको मान्नुपर्ने हुन्छ । दिने आमा देवकुमारी श्रेष्ठ लिने छोरा गोविन्दकुमार श्रेष्ठ भई मिति २०६७।६।१४ मा लिनु दिनु गरेको शेषपछिको बकसपत्रको लिखतउपर यी पुनरावेदक वादीले कहीँकतै मुद्दा दायर गरेकोसमेत देखिँदैन । आमा देवकुमारी श्रेष्ठलाई छोरा गोविन्दकुमार श्रेष्ठले पालन तालन, औषधी उपचार गर्ने गरेबापत आफ्नो अंश हकको सम्पत्ति शेषपछि निज छोरा गोविन्दकुमार श्रेष्ठलाई दिने इच्छा दाताको रहेको तथ्य सो बकसपत्रको बेहोराबाट देखिन्छ । सो तथ्यलाई प्रतिवादी गोविन्दकुमार श्रेष्ठका साक्षीहरूबाट पनि बकपत्र गरी पुष्टि गरिदिएको पाइन्छ । सो तथ्य प्रमाणलाई खण्डन गर्न वादीले कुनै प्रमाण पेस गरेको पनि पाइँदैन । वस्तुत: दिने आमा देवकुमारी श्रेष्ठ लिने छोरा गोविन्दकुमार श्रेष्ठ भई मिति २०६७।६।१४ मा लिनु दिनु गरेको शेषपछिको बकसपत्रको लिखतको कानूनी अस्तित्व यथावत् रहेको अवस्थामा सो शेषपछिको बकसपत्रको लिखत गरिदिने आमाको इच्छाबमोजिम निजको अंश हकको सम्पत्तिसमेत बन्डा गरी शेषपछिको बकसपत्र प्राप्त गर्ने छोरा प्रतिवादी गोविन्दकुमार श्रेष्ठलाई दिने मनसायअनुसार नै बन्डा लाग्ने सम्पत्तिमा ३ भागको १ भाग वादीले अंश पाउने देखिँदा तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मनासिब देखिन आयो ।

९. अतः सुरू काठमाडौं जिल्ला अदालतबाट वादी दाबीबमोजिम वादीले २ भागको १ भाग अंश पाउने ठहरी भएको फैसला केही उल्टी गरी ३ भागको १ भाग अंश वादीले पाउने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला कायम गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१०. तसर्थ, माथि विवेचित आधार एवं कारणहरू तथा न्यायिक सिद्धान्तहरूबाट समेत २ भागको १ भाग अंश पाउने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।२।२० मा भएको फैसलालाई केही उल्टी गरी  ३ भागको १ भाग अंश पुनरावेदक वादीले पाउने ठहर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१२।१५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने 

ठहर्छ । पुनरावेदक  वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृत : दिपक पोखरेल

इति संवत् २०७७ साल चैत्र १ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु