निर्णय नं. १०८१२ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७८।४।२८
०७४-CR-०३२१
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : देवी धामीको नाति गोरखे धामीको छोरा हुम्ला जिल्ला जैर गा.वि.स.४ घर भई केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २७ को सपुर धामी
विरूद्ध
प्रत्यर्थी / वादी : खड्क शाहीको जाहेरीले नेपाल सरकार
पोलिग्राफ परीक्षण प्रतिवेदन कुनै भरपर्दो प्रमाण होइन; पोलिग्राफ परीक्षण पद्धतिलाई वैज्ञानिक रूपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानूनी आधारहरू तयार भएको अवस्था पनि देखिँदैन; यस प्रकारको परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका केही मौलिक हक अधिकारमा आघात पर्न सक्ने सम्भावनासमेत रहेको देखिन्छ; यस प्रकारको परीक्षणले अभियोग प्रमाणित वा खण्डित गर्न कुनै खास तार्किक आधारसमेत प्रदान गर्ने देखिँदैन; पोलिग्राफ परीक्षणबाट अनुसन्धानकर्ताको कार्यमा केही सहजीकरण प्राप्त हुन सक्ने भए पनि यसले मुद्दाको सिलसिलामा आरोपित कसुर ठहर गर्न उपयोगी हुने सम्बद्ध प्रमाणको स्थान ग्रहण गर्न
नसक्ने । तसर्थ पोलिग्राफ परीक्षण प्रतिवेदनलाई कुनै कसुरको अभियोग दाबी ठहर गर्ने प्रयोजनका लागि प्रमाणमा ग्रहण गर्न नमिल्ने ।
(प्रकरण नं.२०)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री सतिशकृष्ण खरेल र श्री एकराज भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री कपिलचन्द्र पोखरेल, श्री चुडाबहादुर निरौला, श्री टिकाराम भट्टराई, श्री कान्तिराम ढुंगाना र श्री कविता बस्नेत
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की
अवलम्बित नजिर :
ने.का.प.२०४८, नि.नं.४२८७
ने.का.प.२०७१, अङ्क ९, नि.नं.९२४३
ने.का.प.२०७३, अङ्क ४, नि.नं.९५८६
ने.का.प.२०७५, नि.नं.९९८०
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री खिलनाथ रेग्मी
हुम्ला जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी
मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी
उच्च अदालत सुर्खेत, जुम्ला इजलास
फैसला
न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन,२०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र यस अदालतको ठहर यस प्रकार छः
तथ्यगत बेहोरा :
मिति २०७१।१२।४ गते दिउँसो अं. १४:०० बजेको समयमा जिल्ला हुम्ला, खार्पुनाथ गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा रत्नबहादुर शाहीको गहुँ खेती, पश्चिममा छिप्रा गा.वि.स.को पुनौति भन्ने ठाउँ, उत्तरमा तिलकबहादुर शाहीको गहुँ खेत, दक्षिणमा छिप्रा गा.वि.स.को खाली जग्गा यति चार किल्लाभित्र पश्चिमबाट पूर्वतिर बगेको कर्णाली नदीको बिच टापुमा दक्षिण टाउको, उत्तर खुट्टा भई दुवै हात दायाँ बायाँ आकाशतिर फर्केको उत्तानो अवस्थामा जिल्ला हुम्ला, कालिका गा.वि.स. वडा नं. २ बस्ने वर्ष १९ की सरिता शाहीको मृतक लास रहेको । लासको आँखामा प्याजी र सेतो रंगको दोपट्टाले बाँधिएको, लासको शरीरमा रातो रंगको ज्याकेट लगाएको, निलो सुरूवाल, कालो स्वीटर बायाँ खुट्टामा PLBBG लेखिएको जुत्ता लगाएकी, दुवै खुट्टामा सेतो मोजा लगाएकी, मृतक लासलाई सुरक्षित रूपमा पानीबाट निकाली ओल्टाई पल्टाई हेर्दा निधारमा २ वटा घाउहरू रहेको, घाँटीमा सेतो पोते लगाएको, बुट्टेदार कुर्ता लगाएको भन्नेसमेत बेहोराको मृतक सरिता शाहीको मिति २०७१।१२।४ गतेको घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।
मिति २०७१।११।३० गते शनिबारका दिन जिल्ला हुम्ला, सिमीकोट गा.वि.स. वडा नं. ४ मा पर्ने माथिल्लो बजार प्रशासनको जग्गामा यस जिल्लाभरिका डेउडा खेलाडीहरू जम्मा भई लोकदोहोरी भइरहेको हुँदा करिब २.०० बजेतिर मेरी श्रीमती टसी याँङजुम र मृतक बहिनी सरिता शाही दुवै नन्द भाउजू उक्त लोकदोहोरी हेर्न भनी सल्लाह गरी घरबाट आउने क्रममा बहिनी सरिताले भाउजू टसी याँङजुम लामा शाहीलाई तपाइँ हिँड्दै गर्नुस् म ट्वाइलेटतिर गएर घरको चाबी लगाएर आउँछु भनेकीले टसी याँङजुम लामा शाही अगाडि आएकी रहिछन् । त्यस मेलामा दुवै नन्द भाउजूको भेटघाट
भएनछ । बेलुका दोहोरी सुनी सकेपछि टसी याँङजुम लामा शाही घर फर्केर जाँदा सरिता शाही घर आई नपुगेकी र घरको ढोका बन्द रहेछ । तालाको चाबी ढोकाको नजिकै झुण्डाएको फेला परेपछि टसी याँङजुमले ताला खोली खाना पकाउनेतिर
लागिछन् । त्यो राति धेरै अबेर भइसकेपछि करिब राति ११ बजेतिर हुम्ला जैर गा.वि.स.-४ निवासी सपुर धामीसँग टसी याँङजुम सोधपुछ गर्न जाँदा म पनि भरखर आएँ, सरितालाई दिउँसो मेलामा देखेको हुँ, त्यसपछि उनी कहाँ गइन् मलाई थाहा भएन । मिति २०७१।११।२९ गतेको राति तपाइँकै घर तलतिर ढुङ्गाको चट्टामा अपरिचित दुई जना केटा र सरिता शाही सँगै बसेको देखेको हुँ, मैले ती केटाहरूतिर टर्च लगाउन खोज्दा ती केटाहरूले ए दाइ टर्च नलगाउ बन्द गर भनी भनेकोले मलाई डर लाग्यो र टर्च लगाउन सकिन । म त्यसपछि मेरो कोठातिर आइहालेँ, अवश्य पनि तिनै केटाले भगाएर लगे होलान्, आफैँ पत्ता लगाउनुस् भनी भनेकाले मेरो श्रीमती घर फर्किएर आइछन् । भोलिपल्ट बिहानै मिति २०७१।१२।१ गते निज टसी याँङजुम लामाले बहिनी आज राति हराइन्, को कसले भगाएर पोइल लगेकि भनी मलाई गाउँमा खबर गर्दा बल्ल मैले थाहा पाएँ । बहिनी हराएको खबर थाहा पाएपछि मलगायत मेरै गाउँ छरछिमेकी ५ जना चैत्र २ गते घरबाट सिमीकोटतर्फ हिड्यौं, सिमीकोटतर्फ आउने क्रममा चैत ४ गते करिब ३ बजेतिर हामीहरू खार्पु जिउलाको छेउनिर आएपछि केही मान्छे र प्रहरीहरूको जमात देख्यौं, उनीहरूले पनि हामीलाई देखे र हुम्ला रोडिकोट-२ निवासी लालजङ ऐडीलाई हामीकहाँ प्रहरीले पठाई कर्णालीको टापुमा एउटा केटी मानिसको बेवारिसे लास फेला परेको छ, तपाइँहरू चिन्नु हुन्छ कि भनेपछि हामी सोही ठाउँमा गयौँ । उक्त लास मेरो हराएकी बहिनीको रहेछ । सो लासलाई दोपट्टाले ३।४ फन्का आँखामा बेरी पट्टी लगाएको रहेछ । निधारको दायाँ र बायाँमा धारिलो हतियार प्रहार गरी गहिरो घाउ लागेको
रहेछ । सो लासको प्रकृतिलाई हेर्दा मृतक सरिता शाहीलाई कर्तव्य गरी कर्णाली नदीमा फालेकोले को कस्ले कर्तव्य गरी फालेका हुन् भनी विश्लेषण गर्दा निज सपुर धामी नै यस (घटनाको) प्रमुख हुन् भनी पुष्टि हुन्छ । २०७१ सालको होली पूर्णिमाको दिन हिमाली नविन समाज कार्यालयको अगाडिको रोडमा मृतक सरिता शाही, साली डोल्कित लामा र भदैनी पेमा छवाङ लामा बजारबाट घरतिर जाँदै गर्दाको समयमा निज अभियुक्त सपुर धामीले बहिनी सरिता शाहीलाई च्याप्प अँठ्याएर मुखभरि रङ दलेको अवस्थामा गोठी गा.वि.स. निवासी हाल सिमीकोट बजार बस्ने भूजी शाहीलगायत अन्य मानिससमेतले देखेका
रहेछन् । उक्त रङ्ग दलेको कुरा निज मृतक सरिता शाहीले सोही दिन बेलुका घरमा आएर आफ्नी भाउजू टसी याँङजुम लामा शाहीलाई जैरको सपुर धामीले मलाई समातेर रङ दल्यो, मेरो नाकबाट रगतसमेत काढी दियो भनेर भनेकी रहिछन् । मिति २०७१।११।२५ गते साँझपख करिब ५:३० बजेतिर कोठामा ढोका बन्द गरी बत्तीसमेत निभाई मृतक सरिता शाही र सपुर धामी मृतककै सुत्ने कोठाको बेडमा सँगै टाँसिएर मोबाइलमा फिल्म हेरिरहेको अवस्थामा प्रत्यक्ष आफ्नै आँखाले मेरी श्रीमतीले देखेकी रहिछन् । सोही राति मृतक कोठा बाहिर जान लाग्दा एउटै कोठामा सुत्ने मेरी साली नाता पर्ने डोल्कित लामाले थाहा पाई यति मध्यराति तिमी कहाँ जान लाग्यौ भनेर भन्दा भाउजूलाई नभन्नु सपुर धामीले मोबाइल छोडेर गएको छ, म मोबाइल पुर्याएर आउँछु भनी मूल ढोकाको चुकुल खोली गइछन् । त्यसै राति मेरी श्रीमती आफ्नो कोठाबाट ट्वाइलेटतिर आउँदा मूल ढोकाको चुकुल खोलिएको देख्दा सो चुकुल लगाई बहिनी सुतेको कोठामा हेर्दा साली डोल्कित लामा मात्र सुतेकी र बहिनी नन्द सरिता शाही त्यहाँ नभएको निज श्रीमतीले देखेकी
रहिछन् । भोलिपल्ट बिहान ५:०० बजेतिर ढोकामा आवाज आएपछि टसी याँङजुमले ढोका खोल्दा बहिनी सरिता शाही भागेर घरको पछाडि लुकिछन् । त्यसपछि भाउजू उक्त लुकेको ठाउँमा गई किन लुकेकी, रातभरि कता गएर आयौ भन्दा केही नबोली टाउको निहुराई आफ्नो कोठाभित्र पसिछन् । पुनः कोठाभित्र गई भाउजूले सोध्दा सपुर धामीको मोबाइल पुर्याउन गएको भनी डरले रूँदै भनिछन् । त्यसपछि मिति २०७१।११।२८ गते बिहान १० बजेतिर आफ्नो कार्यालयतिर जाने गरी मेरै घरबाट निज अभियुक्त सपुर आउँदा मेरी श्रीमतीले दुवैलाई सँगै राखी हेर सपुर तिमी बदमास रहेछौ, तिम्रो यस्तै चालले पहिलो श्रीमतीले छोडेकी रहिछन् । मेरी नन्दको इज्जतमाथि खेलबाड
नगर । सबै कुरा मलाई थाहा भइसक्यो, सरिताका दाजु गाउँतिर गएको मौका पारी यस्तो कार्य गरे तापनि अबदेखि नगर्नु एक पटकलाई माफ
भयो । दोहोरिन गएमा मेरो श्रीमान्लाई भनिदिन्छु भनी
सम्झाइछन् । मिति २०७१।११।२९ गते दिउँसो मृतक सरिता शाही सुत्ने कोठामा मृतक र सपुर धामी दुवैजना सँगै टाँसिएर सरिताकै ओछ्यानमा बसेको हेल्दुङ निवासी हाल मेरै घरनजिक बस्ने सरिता शाहीको साथी धनलक्ष्मी शाहीले प्रत्यक्ष देखेकी रहिछन् । मिति २०७१ साल फाल्गुन महिनामा मृतक सरिता शाहीको पटक पटक ब्लिडिङ भएको भाउजू टसी याँङजुमले देखेपछि तिम्लाई के भयो भनी सोध्दा म छाउ (मिन्स) भएँ भनी भनेकी र टसी याँङजुम लामा शाहीले एकै महिनामा पटक/पटक छाउ (मिन्स) कसरी भयो भनी सोध्दा केही नबोली सन्चो छैन मात्र भनेकी, शरीरमा तेल लगाएर मालिस गरी बरन्डाको घाममा दिनभरि सुत्ने गरेकी
रहिछन् । यस्तो अवस्थालाई अनुसन्धान गर्दा निज मृतक सरिता शाही र सपुर धामी पहिलेदेखि नै पटकपटक शारीरिक सम्बन्ध भइरहने र सो सम्बन्धबाट गर्भ रहन गई गर्भपतनसमेत गराएको अवस्था पुष्टि हुन आउँछ । मेरी बहिनी सरिता शाहीसँग शारीरिक सम्बन्ध गर्ने, सधैँ मेरो घरमा आइरहने, एउटै बेडमा बसेर फिल्म हेर्ने सपुर धामी सरिता शाही हराउँदा उनको लास कर्णालीको टापुमा पाउँदा र निजको लास जलाउँदासम्म किन नतमस्तक मौन तथा लुकेर बसेका छन्, यसो हुनुको पछाडि उनैले नै मेरी बहिनी सरिता शाहीको हत्या गरे गराएको पुष्टि हुन आउँछ । हाल सपुर धामी मलाई देख्ने बित्तिकै लुकिछीपी हिँड्ने किन गर्दछन्, यदि नि:स्वार्थ र चोखो माया गरेको भए बहिनी हराउँदादेखी जलाउँदासम्म किन लुकेर बसे ? मेरो बहिनीको कर्तव्य ज्यान सपुर धामीबाटै भएको हुनाले मुलुकी ऐन, ज्यानसम्बन्धीका महलको १३(३) नं. बमोजिम हदैसम्म कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७१।१२।०६ गते वर्ष ३५ को खड्कबहादुर शाहीको जाहेरी दरखास्त ।
खड्कबहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सपुर धामी भएको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी सपुर धामीलाई पक्राउ गरी पेस गरेको छु भन्नेसमेत बेहोराको प्र.स.नि. नारायणबहादुर जि.सी.को प्रतिवेदन ।
मृतक सरिता शाहीको पोस्टमार्टम गर्दा निजको मृत्यु टाउकोमा चोट र निसासिएर भएको र थप पुष्ट्याईंका लागि भिषेरा निकाली पठाइएको भन्ने जिल्ला अस्पताल हुम्लाको मिति २०७१।१२।७ को पोस्टमार्टम रिपोर्ट ।
मेरो जाहेरवाला खड्कबहादुर शाहीसँग विवाह भएको हो । म कान्छी श्रीमती हुँ । मबाट २ छोरी १ छोराको जन्म भई छोराछोरी र मेरो बहिनी सिमीकोट स्थित नयाँ घरमा बस्दै आइरहेका थियौँ । श्रीमान् शिक्षक नोकरी गर्ने भएकाले कालिकास्थित गाउँको घरमा
बस्नुहुन्छ । मेरो नन्द सरिता शाही पनि गत वर्ष एस.एल.सी. पास गरी ११ पढ्नका लागि गाउँबाट आई सिमीकोट स्थित हामीसँगै बस्दै आइरहेकी
थिइन् । म पनि २०६७ सालदेखि जिल्ला विकास समितिको कार्यालय हुम्लाबाट सञ्चालित L.G.C.D.P. सामाजिक परिचालकको रूपमा कालिका गा.वि.स.मा अस्थायी कर्मचारीको रूपमा कार्यरत छु । प्रतिवादी पनि सोही संस्थाबाट सञ्चालित आफ्नै जैर गा.वि.स.को सामाजिक परिचालक थिए । एउटै संस्थाको कर्मचारी भएको, निजको दाजुको घर पनि हाम्रो घरनजिक भएको कारण निज पनि सोही ठाउँमा दाजु-भाउजूको घरमा बस्ने भएकाले २०७१ कार्तिक महिनादेखि बारम्बार हाम्रो घरमा आउने गर्दथ्यो । निज प्रतिवादीले २०७१ फाल्गुन २१ गते फागु पूर्णिमाको दिन मेरो नन्द मृतक सरिता शाहीलाई सिमीकोट-४ स्थित हिमाली नविन समाज कार्यालयको सार्वजनिक बाटोमा दिउँसोको समयमा जबरजस्ती समाती मुखमा रङ दलेको भन्ने कुरा मृतक नन्दले मलाई बताएकी
थिइन् । त्यो दिन निजको नाकबाट रगतसमेत बगेको थियो । केही दिनपछि मेरो घरमा कोही नभएको अवस्थामा घरभित्र प्रवेश गरी मेरो बहिनी डोल्कित लामा र मृतकलाई मृतक सुत्ने कोठामा मृतककै खाटमा पछारी जबरजस्ती करणी गर्न खोज्दा बहिनीले प्रतिकारको क्रममा निज प्रतिवादीको मुखमा थुकी चप्पलले हानी गाली गर्न थालेपछि प्रतिवादी बाहिर भागेका हुन् भन्ने कुरा मलाई मेरो बहिनीले नन्दको मृत्यु भएपश्चात् मात्र भनेकी हुन् । मिति २०७१।११।२५ गते सोमबारको दिन मृतक नन्द सरिता शाही र माइली छोरीलाई घरमा छाडी बहिनी डोल्कित लामालाई साथमा लिई बजार गई साँझ ५:०० बजेतिर घर फर्किंदा घरको नन्द सुत्ने कोठामा सपुर धामी र नन्द मृतक सरिता शाही कोठाको ढोका लगाई खाटमा एकले अर्कालाई अँगालो मारी बसी सपुर धामीको मोबाइलमा फिल्म हेरिरहेको देखेको थिएँ । हामी कोठामा पसेपछि निज सपुर धामी बाहिर निस्की आफ्नो घरतिर लागेका हुन् । सोही दिन राति ११:०० बजेतिर मृतक नन्द घरबाट निस्की मेरो बहिनी डोल्कित लामालाई म सपुरको मोबाइल पुर्याउन जाँदै छु यो कुरा भाउजूलाई नभन्नु सोल्टिना भनी गएकी थिइन् भन्ने कुरा मैले सोही राति २:०० बजेतिर ट्वाइलेट जाँदा घरको मूल ढोकाको चुकुल खुला रहेको देखी बहिनी डोल्कित लामालाई सोधेपछि थाहा पाएकी हुँ । त्यसपछि मैले सपुर धामीको मोबाइलमा फोन गर्दा निजले मेरो फोन उठाएनन् । निजले फोन नउठाएकोमा मैले मेरी बहिनी डोल्कित लामालाई तँ पनि आफ्नो कोठाको चुकुल लगाएर बस्, म पनि चुकुल लगाएर बस्दछु । मूल ढोकाको चुकुल म आफैँ खोल्छु भनी म आफ्नो कोठामा टि.भी. हेरी बसिरहेँ । बिहान ५:०० बजेतिर बहिनी सुत्ने कोठाको झ्यालमा ढकढक आवाज
आयो । बहिनीले आफ्नो कोठाको ढोका खोल्दा मैले पनि मूल ढोका खोलेँ । ढोका खोल्दा नन्द बाहिरपट्टि रहेको देखेँ । त्यसपछि नन्द मलाई देखेर त्यहाँबाट भागी घरपछाडि गएर लुकिन्, म पनि पछिपछि गई मूल ढोकानजिक ल्याई तपाइँ त मेरो बेइज्जत मात्र गर्न आउनु भा छ, सिमीकोट तपाइँलाई पढाउँला लेखाउँला भनी कत्रो सपना देखेको छु । तपाइँको यस्तो व्यवहारले म सारै लज्जित भएकी छु, तपाइँलाई अन्तरजातीय बिहे नगरभन्दा झन त्यहीँ नै गर्नुहुन्छ, तपाइँले सपुर धामीसँग बिहे गर्ने के सर्त छ, तपाइँ र सपुर धामीबिच के सम्बन्ध छ भनी सम्झाउँदा निज केही नबोली हाँस्दै आफ्नो कोठाभित्र पसिन् । त्यसपछि मिति २०७१।११।२८ गते बिहान १०.०० बजेतिर निज प्रतिवादी सपुर धामी मेरो घरमा आई ए टसी के छ हाल खबर भनेर सोध्दा मैले के हुनु नि मेरो हालखबर, मेरो नन्द र तिम्रो चाला ठिक छैन । यस्तो खेलबाड गरेर इज्जत फाल्ने हो, एक चोटिको लागि तिमी दुवैलाई माफ दिएँ, अब यस्तो गल्ती गरेको मैले थाहा पाएँ भने तिमीहरूको सम्बन्धबारे म आफ्नो श्रीमान्लाई भन्दछु र म पनि बञ्चरो लिई तिम्रो टाउको फुटाइदिन्छु भनी हप्काएकी थिएँ । त्यसपछि म र प्रतिवादी अफिसतिर लाग्यौं । मिति २०७१।११।२९ गते दिउँसोको समयमा घरमा मृतक नन्द सरिता शाही मात्र भएको बेलामा प्रतिवादी सपुर धामी मेरो घरमा प्रवेश गरी नन्दको कोठामा नन्दसँग खाटमा टाँसिएर बसिरहेको अवस्थामा मेरो छिमेकी धनलक्ष्मी शाहीले देखेको कुरा पनि बताएकी
थिइन् । मिति २०७१।११।३० गते दिउँसो अन्दाजी १/२ बजेतिर सिमीकोट बजारमा देउडा नाच हेर्नको लागि मृतक नन्दलाई जाउँ भन्दा निजले भाउजू म पहिला ट्वाइलेट गर्छु र मूल ढोकाको पनि साँचो पाएको छैन, साँचो खोजेर ताला लगाएर पछि आउँछु, तपाइँ जाँदै गर्नुहोस् भनेकोमा मैले आफ्नो दुई बच्चालाई साथमा लिई देउडा हेर्न बजारमा आएपछि देउडा नाच गान हेरी घर फर्केर जाँदा घरको मूल ढोकामा ताला लगाएको र साँचो सोहीनेर छेउमा झुण्डाएको अवस्थामा देखी, फेला पारी ताला खोली घरभित्र
छिरेँ । राति खाना पकाई खाई नन्दको प्रतिक्षामा बसिरहेँ । राति ११ बजेको समयसम्म पनि नन्द घर नआएकोले मैले सपुर धामीको कोठामा पुगी नन्दबारे निजसँग सोधपुछ गर्दा म भर्खरै साथीकोबाट आएँ, एकदम टाउको दुखेको छ, मैले दिउँसो डेउडा नाचमा तपाइँको नन्दलाई साथीहरूसँग देखेको थिएँ भने । मैले सपुर तिमीले मलाई नढाँट, नन्दलाई पक्कै पनि तिमीले नै भगाएको हुनुपर्छ, तिमीबाहेक अरू कसैसँग पनि शंका पनि लाग्दैन भनेपछि उनले मैले तिम्रो नन्दलाई भगाई लगेको छैन, तिम्रो नन्द कहाँ छ, कोसँग गएकी छन् मलाई थाहा छैन भनेर मलाई जवाफ दिएकाले म आफ्नो घरतर्फ फर्केर आएँ । भोलिपल्ट बिहानदेखि दिनभरि नन्दलाई बजार तथा छरछिमेकमा खोजीनिती गर्दा पनि नन्द नभेटाएपछि मैले आफ्नो श्रीमान्लाई नन्द घरमा छैनन्, हिजो ३० गतेदेखि हराएको छ भनी फोन गरी भनेकी हुँ । त्यसपश्चात् पनि गाउँघर तथा नन्दको साथी संगिनीको घरमा गई सोधपुछ गर्दै जाँदा मेरी दिदी सुसिला लामा विष्टले बहिनी तिम्रो नन्द सरिता शाहीलाई हिजो शिव मन्दिरमुनि सार्वजनिक बाटोमा तल गाउँतिर गइरहेको अवस्थामा देखेकी थिएँ भनी मलाई भन्नुभएकोले मैले त्यो कुरा आफ्नो श्रीमान्लाई खबर गरी नन्द गाउँतिर लागिछन भनेकी
हुँ । नन्द सिमीकोटबाट गाउँ गएको २/३ दिन बितिसक्दा पनि नन्द गाउँमा नपुगेपछि उहाँले गाउँघरका आफन्त र निजका साथी संगिनीहरूको घरद्वारमा गई खोजीनिती गर्दा पनि अत्तोपत्तो नलागेपछि निजलाई बाटाभरी खोज्दै सिमीकोटतर्फ आउँदै गर्दा मिति २०७१।१२।०४ गते दिउँसो अं. १५:०० बजेको समयमा जिल्ला हुम्ला, खार्पुनाथ गा.वि.स. वडा नं. ६ मा आइपुग्दा स्थानीय तथा प्रहरीको भिड देखी त्यहाँ पुग्दा ऐ.-६ याङ्चु स्थित कर्णाली नदीको बिचको टापुमा नन्दको मृतक लास भेटिएपछि मेरो श्रीमान्ले सो कुरा मलाई भनेपछि मैले थाहा पाई घटनास्थलमा पुगी मृतक नन्दको लास कर्णाली नदीको टापुमा देखेकी हुँ । मृतक लासलाई प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा पानीबाट उठाई बाहिर ल्याई हेर्दा लासको आँखा र निधारमा दोपट्टाले बेरेको र निधारको दायाँ-बायाँ साइटमा गहिरो चोट घाउ रहेको देखेकी हुँ । लासको प्रकृति हेर्दा नन्दलाई प्रतिवादी सपुर धामीले कर्तव्य गरी मारी कर्णाली नदीमा फालेको हुनुपर्छ । किनभने निज प्रतिवादी सपुर धामीले मेरी मृतक नन्द सरिता शाहीलाई झुठो मायाको जालमा पारी लामो समयदेखि यौन शोषण गर्दै आइरहेको थियो । निजहरू दुवैको अनैतिक सम्बन्धबाट मृतक नन्द सरिता शाहीको पेटमा गर्भ रहन गई गर्भपतन गराएकोसमेत मलाई शंका
लाग्छ । मिति २०७१ साल फागुन महिनामा मृतक नन्दको पटकपटक योनिबाट अत्यधिक मात्रामा रक्तस्राव भएको देखी मैले मृतक नन्दलाई तिमीलाई के भएको हो मैयाँ यति धेरै रक्तस्राव कसरी भयो भनी सोध्दा निजले म छाउ (मिन्स) भएँ भाउजू भनेर भनेकीमा मैले एकै महिनामा पटकपटक छाउ कसरी भयो भनी सोध्दा केही जवाफ नदिई भाउजू मलाई सञ्चो छैन भनेर जीउभरि घिउ तेल तताएर मालिस गरी घाम तापी बरण्डामा दिनभरि सुतेकी थिइन् । मृतक नन्द सरिता शाही मर्नुभन्दा एक दिनअगाडि मिति २०७१।१२।३ गतेका दिन मध्यरातिमा निज प्रतिवादी सपुर धामीले मेरो मोबाइल नं. ९८४८३१८३०० मा दुई पटक फोन गरेको रहेछ । म निदाएकीले तत्काल थाहा
पाइनँ । बिहान उठ्ने बित्तिकै मोबाइलमा हेर्दा निजको Miss Call आएको देखेर मैले निजलाई फोन गरी तिमीले किन राति फोन गरेको हो भनी सोध्दा उसले तिम्रो नन्द फेला पर्यो कि परेन, केही थाहा पाइयो कि भनेकाले मैले नाई केही पत्तो लागेको छैन भनी भनेको हुँ । घरको सम्पूर्ण व्यवहार म आफैँले
गर्छु । मृतक नन्द सुत्ने कोठाको ड्रमको धानमा रू.८५०।- निज मर्नुभन्दा अगाडि भेटी आज खाजा नास्ता खान्छु भनी खुसी भएकी थिइन् । निजको लासबाट पनि रू.६००।- भेट्टाउनु शंकास्पद कुरा
हो । निजसँग ती पैसाहरू कहाँबाट आएको हो त्यो मलाई थाहा भएन । निजलाई ती पैसाहरू निज प्रतिवादी सपुर धामीले नै दिएको हुनुपर्छ । निज प्रतिवादीले मेरी नन्दसँग शारीरिक सम्बन्ध राख्ने, सधैँ मेरो घरमा आई नन्दसँग एउटै बेडमा बसी मोबाइलमा फिल्म हेर्ने र नन्दको तीन चार दिनपश्चात् हराई बेपत्ता भई मृत्यु भएको अवस्थामा कर्णाली नदीको टापुमा लास पाउँदा र दाह संस्कार हुँदासमेत कुनै वास्ता नगरी नतमस्तक तथा मौन र लुकेर बसेको हुँदा निज प्रतिवादी सपुर धामीले नै मेरी नन्दलाई कर्तव्य गरी मारी कर्णाली नदीमा लास फलेको हुनुपर्छ भन्नेसमेत बेहोराको टसी याङजुम लामा (शाही) को मिति २०७१।१२।१० गतेको घटना विवरण कागज ।
मृतक मेरो सोल्टिना नाता पर्छन् । जाहेरवाला खड्कबहादुर शाहीको दुईवटा श्रीमतीमध्ये कान्छी श्रीमती टसी याँङजुम लामा (शाही) मेरो दिदी हुन् । भिनाजुको घर कालिका गा.वि.स. हो । हाल सिमीकोटमा पनि नयाँ घर बनाउनु भएको छ । म पनि पढ्नको लागि सिमीकोट स्थित दिदीको घरमा बसेर पढ्दै छु । सोल्टिना मृतक सरिता शाही पनि २०७१ साल श्रावण महिनादेखि आफ्नै दाजु (मेरो भिनाजु) खड्कबहादुर शाहीको घरमा मसँगै एउटै कोठामा बस्थ्यौँ । प्रतिवादी सपुर धामी र मेरो दिदी टसी याँङजुम लामा (शाही) एउटै अफिसमा काम गर्ने भएकाले प्रतिवादी सपुर धामी प्रायः मेरो दिदीको घरमा आइरहन्थे । प्रतिवादी र मृतक सरिता शाही सधैँ जिस्किरहन्थे । प्रतिवादीले मलाई पनि पटकपटक समात्ने कोसिस गर्थे । मैले प्रतिकार गर्थे । हामीहरूसँग मोबाइल थिएन । प्रतिवादीले आफ्नो मोबाइलमा मृतकलाई भिडियो गीतहरू देखाउँथ्यो । एकचोटि त प्रतिवादीले मलाई समाउन खोज्दा मैले चिया उसको मुखमा फालिदिएको हो । हाम्रो दिदी प्रायः घरमा नभएको समयमा प्रतिवादी मेरो दिदीको घरमा
आइरहन्थ्यो । प्रतिवादी र मृतक कोठामा बस्थे, के गर्थे, मलाई थाहा भएन । मृतकले पनि मलाई केही
भन्दैनथिन् । मिति २०७१।११।२१ गते होलीको दिनमा सोल्टिना दिदी, दिदीको बच्चाहरू पेमा छवाङ लामालगायतका हामीहरू सबै सिमीकोट बजारमा भाउजू सरिता लामाको घरमा आयौं । पछि दिदी र बच्चाहरू उतै बसे । म, सोल्टिना र पेमा छवाङ लामा तल्लो बजार तारा लामाको घरमा एकछिन
बस्यौं । त्यहाँ बसेपछि फेरी तारा लामाको छोरी सम्झना लामालगायत सबै माथिल्लो बजार हिमालय नविन समाजको अफिसनजिक पुग्दा प्रतिवादीले मृतक सरिता शाहीलाई अबिर हालिदिएको हो । त्यतिखेर मृतक सरिता शाहीको नाकबाट रगतसमेत आएको हो । त्यसपछि सपुर कता गइहाल्यो, सोल्टिना घरमा
गइहालिन् । सम्झना पनि घरमा फर्केर गइहालिन् । म र पेमा छवाङ फेरी सरिता लामा भाउजूको घरमा
गयौं । एकछिनपछि म र पेमा छवाङ घरमा गयौं । घरमा मृतकले मुख छोपेर बाहिर बसेकी थिइन् । एकैछिनमा फेरी सपुर धामी कताबाट आयो र हिउँले हानाहान गर्न लाग्यो । पेमा छवाङले उसलाई जाँड बनाएको पानी फालिन् । त्यसपछि सपुर त्यहाँबाट ५० मिटर पूर्वमा गएर खाली जग्गामा बस्यो । सोल्टिना पनि त्यहीँ गएर गफ गरेर बसिरहेका थिए । म र पेमा छवाङ, पेमा छवाङको घरमा गयौं । नास्ता खाई फेरि फर्की घर आउँदा मृतक र प्रतिवादी हामी सुत्ने कोठामा चुकुल लगाएर भित्र बसेका थिए । हामीले कोठा खोल्दा उनी भित्रबाट एक्कासी बाहिर निस्किन् र सपुर भित्र बसिरहेको थियो । फेरी सोल्टिना भित्र गइन् । त्यसैबेला पेमा छवाङले तिमीहरू सुतेको हो ? बेड किन यसरी उथल पुथल गरेको भनी सोध्दा सोल्टिनाले केही नबोली बाहिर गइहालिन् । मैले पेमा छवाङलाई नबोल किन भनेको भनेँ । अनि हामी चुप्प लाग्यौं । सपुरले फेरी पेमा छवाङको छातीमा समाते, मैले बेल्चाले हानेँ, पेमा छवाङले फेरी जाँडको पानीले हानिन् । त्यसपछि सपुर गई हाल्यो । सोल्टिना पानी भरिरहेकी
थिइन् । म सविता भाउजूकोमा आइहालेँ । पछि म दिदी र बच्चाहरू जाँदा सोल्टिना घरमा बसिरहेकी थिइन् । मिति २०७१।११।२२ गते दिउँसो, म सोल्टिना र पेमा छ्वाङ घरमा बसिरहेका थियौँ, सपुर पनि त्यहाँ आयो । हामीहरू सुत्ने कोठामा थियौ, पेमा छ्वाङ र सोल्टिना बाहिर निस्के । प्रतिवादीले मलाई एक्कासी समाती बेडमा ढाली मेरो छातीमा समात्यो । पहिले किस गर्न खोज्यो । मैले थुकेर बेडमा पल्टाएको बेलामा लात्तीले हाने । सोल्टिना र पेमा छ्वाङ पनि भित्र आए, त्यसपछि प्रतिवादी सपुर गइहाल्यो । मिति २०७१।११।२५ गते म र दिदी बजार आएका थियौं । बेलुका बजारबाट फर्किसकेपछि घरमा जाँदा सपुर धामी मृतक सरिता शाही एकआपसमा बसेर मोबाइलमा भिडियो हेर्दै
थिए । दिदीको छोरी पनि सँगै थिइन् । दिदीको छोरीलाई सपुरले समाइरहेको दिदीले देखे पनि केही भन्नु
भएन । म भान्सामा गएँ । फेरि आउँदा कोठाको बत्ती अफ गरेर बसेका थिए, मैले फेरि बत्ती
बाले । अं. ७:०० बजेतिर सोल्टिनालाई सपुरले मोबाइल छोडेर गयो । अं. राति १०.०० बजेतिर सपुरको मोबाइलमा म्यासेज आयो । मैले म्यासेज हेर्दा सरिता मलाई भेट्ने नम्बर यही हो, आई एम सपुर भनेर लेखेको थियो । राति अं. १२.०० बजेतिर सपुर झ्यालमा आएको थियो, सोल्टिना बाहिर निस्किन् । मैले कता जाने हो भन्दा म मोबाइल दिएर आउँछु, तिमी चुकुल लगाएर सुत्नु भनिन् र गई हालिन् । मैले कोठाको चुकुल लगाएर
सुतिहालेँ । राति करिब २:०० बजेतिर दिदी उठेर मलाई बोलाउनुभयो । म डरले केही बोलिनँ । पछि दिदीले बेस्सरी कराउनु भयो । चुकुल किन खुला राखेको, सरिता कता गइन भन्दा मैले सपुरको मोबाइल दिन गएकी हुन् तर अहिलेसम्म आइनन् भन्दा दिदीले तिमी सुत, बाहिर ग्यालरी चुकुल लगाइदिन्छु, खोई कतिखेर आउँछ, हेरौं भन्नु भयो र दिदी गइहाल्नु
भयो । बिहान करिब ५:०० बजेतिर सोल्टिनाले झ्यालमा ढकढक हान्नुभयो, भाउजूलाई नभन्नु है भन्दै थिइन् । मैले ढोकाको चुकुल खोल्दा दिदी त बाहिर आएर ग्यालरीको चुकुल खोल्दा सोल्टिनालाई देखेपछि सोल्टिना भागेर घरको पछाडि गई दिदी गाली गर्दै हुनुहुन्थ्यो । राति कहाँ कहाँ जाने, हाम्रो बदनाम गर्न खोजेको तपाइँले भन्दै हुनुहुन्थ्यो, पछि दौडेर सुत्ने कोठामा आउनुभयो । त्यसपछि सपुर घरमा आउन छाड्यो । मिति २०७१।११।३० गते म र पेमा छ्वाङ लामाले झरनालाई अस्पतालमा लगेर गयौं । दिदी र सोल्टिना घरमा हुनुहुन्थ्यो । पछि हामी फर्कंदा बजारमा डेउडा खेल लागेको थियो । मैले पेमा छवाङलाई जाउF सोल्टिनासँग चाबी होला लिएर आउ नभए दिदीसँग होला भनी
पठाएँ । पछि सोल्टिनाले चाबी घरको बान्नामा राखेको छ भनेर एउटा दलितको केटीसँगै देउडा हेर्दै थिइन्, हामी घरमा गयौं । पछि घरमा दिदी र ठुलीआमा आउनुभयो, सोल्टिना आइनन् । त्यसपछि म बजारमा तरकारी किन्न जाँदा बाटोमा दलितको छोरीलाई भेट्टाएँ, खै त सोल्टिना भन्दा भतिजीलाई लिएर आउँछन्, अहिले आइनन्, उतै छन् भनिन् । बेलुका रातिसम्म नआउँदा म र दिदी राति ११:०० बजे सपुरको घरमा गई सोध्दा सपुरले म पनि भर्खर आएँ, टाउको दुखेको छ भन्यो । हामी घर फर्केर
आइहाल्यौं । भोलि बिहान मलाई दिदीले बेस्सरी गाली गर्नुभयो । तँलाई सबै थाहा छ, कता गई भन् भनी दिदीले मलाई कुट्लाझैं गर्नु भयो । मैले कतै विवाह गरेर गए होला जस्तो लाग्यो भने, दिदी सोल्टिनालाई खोज्न गइहाल्नु भयो । बिहान म भान्सामा
थिएँ । सपुर आयो, सरिता कता गयो होला है भन्यो, ऊ डराइरहेको थियो, हस्याङ-फस्याङ गर्दै थियो, त्यसपछि गइहाल्यो । म पनि दिदीको डरले भागेर गाउँ
गइहालेँ । पछि मिति २०७१।१२।०५ गते म फर्केर आउँदा सरिता शाहीको लास भेटियो । सपुर धामीसँग मृतकको प्रेमसम्बन्ध थियो र मलाई पनि पटकपटक जबरजस्ती गर्न खोज्थ्यो, म प्रतिकार गर्थें । निजले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको मृतकको सोल्टिना डोल्कित लामाको मिति २०७१।१२।११ गतेको घटना विवरण कागज ।
मिति २०७१।१२।११ गते जिल्ला हुम्ला, सिमीकोट गा.वि.स. वडा नं.२ स्थित पूर्वमा बसन्त रोकायको खाली जग्गा, पश्चिममा लोकेन्द्र रावतको जग्गा, दक्षिणमा काला रावतको खाली जग्गा, उत्तरमा दले फडेराको खाली जग्गा यी चार किल्लाभित्र पर्ने जाहेरवालाको २ तले घरको मृतक सुत्ने कोठामा खानतलासी गर्दा मृतकको सिरानीमा कापीको पानामा रातो कलमले लेखेको पत्र थान एक भेटिएको उक्त पत्र खटी आएको प्रहरीले बरामद गरेको भन्ने बेहोराको बरामदी मुचुल्का ।
मृतक सरिता शाहीले कापीको पानामा रातो कलमले लेखेको पत्र फोटोकपी प्रतिवादी सपुर धामी, टसी याङजुम लामा (शाही) र डोल्कित लामाको हस्तलिखित अक्षरहरूको प्रतिलिपि ।
मिति २०७१।१२।१२ गते प्रतिवादी सपुर धामीको मोबाइल नं. ९८४८३५४९९४ र ९८४८३२६२७४ को सि.डि.आर.को लागि अपराध अनुसन्धान विभागलाई लेखेको पत्र ।
मिति २०७१।११।१२ गते मृतक सरिता शाहीको मुटु, कलेजो, फियो, फोक्सो, मृगौला, आन्द्रा र भुँडी भेषेरा परीक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको पत्र र ऐ मितिको सरिता शाहीले लेखेको प्रलेख परीक्षणको लागि पठाइएको पत्र ।
मिति २०७१।११।११ गते मृतक सरिता शाही यस अस्पतालमा टाउको दुख्यो भनी आएकोमा निजलाई ब्रोफिन, बि.सी र डाइजिन टेबलेट दिई पठाएको भन्ने जिल्ला अस्पताल हुम्लाको पत्र ।
मृतक सरिता शाही र प्रतिवादी सपुर धामीलाई ५।६ महिनादेखी राम्रोसँग चिन्दछु । यिनी दुवै जना ५।६ महिनादेखि नै एक आपसमा बस्ने, भेटघाट गर्ने गर्थे । मिति २०७१।११।२९ गते म डोल्कित लामा र सरिता शाहीलाई भेट्न निजको घरमा जाँदा कोठामा बाहिरबाट चुकुल नलगाएकाले कोठामा को छ भनी ढोका खोल्दा सो कोठामा प्रतिवादी सपुर धामी र मृतक सरिता शाही, सरिता शाहीको सुत्ने खाटमा अङ्कमाल गरेर बसेको देखेँ । त्यसपछि मैले केही नबोली, कोठामा नपसी आफ्नो घरमा गइहालेँ । मिति २०७१।११।३० गते अं.०३:०० बजेको समयमा मृतक सरिता शाही मेरो घर आई एक-आपसमा कुरा गरी बसी ३:३० बजेको समयमा निज मृतक आफ्नो घरतर्फ गएकी हुन् । एकै जातको भएकोले फुपू भदैनी भनेर बोलाउने गर्दथ्यौँ । मृतक र सपुर धामी कहिले प्रतिवादीको कोठामा बस्ने गर्थे, कहिले सरिता शाहीको कोठामा बसेर प्रतिवादीको मोबाइलबाट फिलिम देखाई हेरी बस्थे, मैले फुपू सपुर धामीसँग किन लाग्नुहुन्छ भनी पटकपटक सम्झाउँदा मुसुमुसु हाँस्ने मात्र
गर्थिन् । प्रायः जसो प्रतिवादी, मृतक सरिता शाहीको कोठामा आएर सँगै बस्थे, सो कुरा मृतकले कसैलाई पनि भन्दैन थिइन् । प्रतिवादीले मृतक सरिता शाहीसँग आपसमा बस्ने, शारीरिक सम्बन्ध पनि गर्दथे । सपुर धामीले आफ्नो मोबाइल मृतकलाई दिई फिल्म हेराउने, मोबाइलको बाहानामा कोठामा बोलाउने, मृतक सरिता शाहीलाई मायाको जालमा पारी विवाह गर्छु भनी शारीरिक सम्बन्ध राखी हिँड् घरमा जाउँ भनी लगेकोमा प्रतिवादी सपुर धामीले के कुन कारणको वादविवाद गरी कर्णाली नदीको नजिकै लगी कुटपिट गरी मारी कर्णाली नदीमा फालेको हुनुपर्छ । मृतक सरिता शाहीको मिति २०७१।१२।०४ गते अं. १४:०० बजेको समयमा जिल्ला हुम्ला, खार्पुनाथ गा.वि.स वडा नं.६ स्थित कर्णाली नदीको टापुमा मृत अवस्थामा लास फेला परेपश्चात् प्रहरीद्वारा उक्त लास जिल्ला अस्पताल हुम्लामा पोस्टमार्टमका लागि ल्याएकोमा गाउँघरमा हो-हल्ला सुन्दा प्रतिवादी सपुर धामी आफ्नो कोठामा नबसी कहाँ बस्थे थाहा नै
थिएन । सपुर धामीलाई प्रहरीले पक्राउ गरी लगेको छ भनी थाहा पाएको हुँ । प्रतिवादी सपुर धामीले मृतक सरिता शाहीलाई प्रलोभनमा पारी सरिता शाही सुत्ने कोठाको खाटमा बस्थे, यसरी निजहरू एक आपसमा बस्ने, प्रतिवादीले आफ्नो कोठामा लाने, शारीरिक सम्बन्ध राख्ने गरेको अवस्था हेर्दा मृतक सरिता शाहीलाई प्रतिवादी सपुर धामीले मायाको जालमा पारी कर्णाली नदीको छेउमा लगी कुटपिट गरी मारी कर्णाली नदीमा फालेको हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७१।१२।१८ गतेको धनलक्ष्मी शाहीको घटना विवरण कागज ।
मृतक सरिता शाही मेरो कान्छी आमाको छोरी भएकाले मेरो बहिनी नाता लाग्छ, प्रतिवादी र म पहिले एउटै अफिसमा सँगै काम गर्ने हुँदा राम्रोसँग चिन्दछु । मिति २०७१।११।३० गते अं. ४:०० बजेको समयमा म घरबाट सिमिकोटतर्फ आउँदै गर्दा सिमिकोट -६ शिव मन्दिर नजिकै ढुङ्गाको खुट्किलामा मृतक सरिता बहिनीसँग भेट भयो र मृतकले चुन्नीले मुख छोपेकी थिइन् । मैले चिनेको कारणले बहिनी कता जाने हो भन्दा बहिनीले दाजु खड्कबहादुर शाही सिमीकोट घरतर्फ आउँदै
हुनुहुन्छ । म दाजुलाई चाउचाउ र बिस्कुट लिई बिच बाटोबाट दुवै दाजु बहिनी आउने भनी गएकी थिइन् । मिति २०७१।१२।०२ गते म कोठामा बसिरहेको थिएँ, टसी याङजुम लामा मेरो कोठामा आई नन्द सरिता शाहीलाई देख्नु भएको हो भन्दा मैले शिवमन्दिरको तलतिर जाने बाटोमा देखेको हुँ, दाजुलाई लिन जाँदैछु भन्दै थिइन्, चुन्नीले मुख छोपेकी थिइन्, दाजुलाई भोक लागेको होला, चाउचाउ र बिस्कुट लिएको छु, दाजुसँग साथ आउँछु भनी गएकी थिइन् भन्दा निज मृतकको भाउजू टसी याङजुम लामा आफ्नो घरतर्फ लाग्नु भएको हो । मिति २०७१।१२।०४ गते अ.१४:०० बजेको समयमा खड्कबहादुर शाही बहिनीको खोजीको लागि आउँदै गर्दा जिल्ला हुम्ला, खार्पुनाथ गा.वि.स. वडा नं. ६ स्थित कर्णाली नदीको बिचमा एक महिलाको लास बेवारिसे अवस्थामा छ भन्दा निजले सो लास मेरो बहिनीको हो भनी भनेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल हुम्लामा ल्याएको छ भनेर मृतकको दाजु खड्कबहादुर शाहीले भनेपछि थाहा पाएको
हुँ । मृतकको टाउकोमा चोटपटक जस्तो देख्दा मृतक सरिता शाही र प्रविादी सपुर धामीबिच प्रेम-सम्बन्ध भएको, कोठामा सँगै बस्ने, अङ्कमाल गर्ने, मृतकको घरमा आई मृतक सुत्ने कोठामा गई मृतककै खाटमा बसी मोबाइलमा भिडियो देखाउने, शारीरिक सम्बन्ध राख्ने हुँदा सोही कारणले प्रतिवादीले सरिता शाहीलाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको जगतबहादुर शाहीको घटना विवरण कागज ।
मृतक सरिता शाही मेरो जेठो बुबाको छोरीको नन्द हुन् । जाहेरवाला खड्कबहादुर शाही बहिनीको श्रीमान् हुन् । टसी याँङजुम लामा (शाही) मेरो बहिनी
हुन् । खड्कबहादुर शाही गाउँका शिक्षक भएकाले कहिले जेठी श्रीमतीसँग र कहिले कान्छी श्रीमतीसँग बस्दछन् । मृतक सरिता शाही केही महिनादेखि सिमीकोटमा बस्दै आएकी र पढ्दै थिइन् । मेरो कोठामा पनि आउँथिन्, म पनि बहिनीको घरमा जान्थेँ, सपुर धामी पनि बहिनीको घरमा आइरहन्थ्यो, म निजलाई पनि चिन्दछु । मिति २०७१।१२।३० गते म खार्पुनाथबाट खच्चरमा दाउरा लिएर फर्किने क्रममा अं.५:०० बजेको समयमा सिमीकोटको तल्लो गाउँ खार्पुनाथ जाने बाटोमा मृतक तल जाँदै थिइन् । मैले कता जाने हो भन्दा दाइ तलबाट आउँदै हुनुहुन्छ, म लिन जाने हो भन्नुभयो । मृतकले हातमा चाउचाउ र बिस्कृट पोलिथिनमा राखेकी थिइन्, नयाँ लुगाहरू लगाएकी थिइन, अली हतारमा हिँडेकी थिइन् । म सँग बोल्न खोजेकी थिइनन् । मैले आफैँले बोलाएको हो । मेरो खच्चर अगाडि आएकाले राम्रोसँग जानु भनी म आइहालेँ । मिति २०७१।१२।०१ गते बहिनी टसी याङजुम मेरो घरमा बिहान ८.०० बजे आई हिजोदेखि नन्द घरमा आएकी छैनन्, तपाइँको घरमा आएकी छन् कि भन्दा मैले हिजो दाजुलाई लिन भनी जाँदै थिइन् भनी भनेपछि कतै विवाह गरेर गइन् कि भनेर दुई बहिनीले कुरा गर्यौं । मिति २०७१।१२।०४ गते म आफ्नो घरमा बसिरहेकी थिएँ, मेरो श्रीमान् ललित विष्ट स्कुलबाट घरमा आउँदा तिम्रो बहिनी टसी याँङजुम खार्पुनाथ गएकी छन् । निजको नन्द सरिता शाही कर्णाली नदीमा मृत अवस्थामा भेटिएकी छन् रे भनेपछि मैले थाहा पाएको हुँ । पछि हल्ला गर्दै थिए, मारेर फालेको हो भनेर खड्कबहादुर शाहीले प्रतिवादी सपुर धामीको नाउँमा किटानी जाहेरी दिएको छ भन्ने सुनेको
हो । अन्य मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको ललित विष्टको श्रीमती शुशिला विष्ट लामाले गरेको घटना विवरण कागज ।
मिति २०७१।१२।४ गते म आफ्नै घरमा थिएँ, म सरिता शाहीलाई राम्रोसँग चिन्दछु । मृतक सरिता शाही ६/७ महिनादेखि आफ्नै दाजु खड्कबहादुर शाहीको घरमा बसेर पढ्दै आएकी थिइन्, जाहेरवाला शाही भएकाले बुबा र जाहेरवालाले एक-आपसमा बैशाजु भन्नु हुन्छ, त्यस कारणले मैले मृतकलाई फुपू भन्थेँ, उहाँले मलाई भदैनी
भन्नुहुन्थ्यो । मिति २०७१।११।३० गते सिमीकोट बजारमा जिल्ला प्रशासनको खाली जग्गामा देउडा खेल लागेको थियो, मलगायत मेरो दुईवटा बहिनीहरू त्यहाँ गएका र मृतकलाई अं. ४:०० बजेको समयमा भेटेका थियौं । बहिनीहरूले घरमा जाउँ दिदी भन्दा एकछिनपछि जाउँला भनेपछि मेरा बहिनीहरू घर गए । म मृतकसँगै बसेँ । मलाई २० रूपैयाँ दिनुभयो, चुइगम किनेर ल्याई आधा उहाँले खानुभयो, आधा मैले खाएँ, केही समयपछि घर जाउँ घरमा आमा आउनुभयो होला भनेपछि ल जाउँ भनी आउँदा सिटिजन बैंकनजिक पुग्दा ल तिमी जाउ म भदैनी झरनालाई लिएर आउँछु भनेर फर्किनुभयो, सो कुरा मैले डोल्कित लामाले सोध्दा बताएकी थिएँ । मिति २०७१।१२।५ गते अं. ५।६ बजेको समयमा मेरो बुबाले सबै परिवारसँगै बसेको बेलामा खड्कबहादुर शाहीको बहिनी त मरिछन्, लास सिमीकोट जिल्ला अस्पतालमा छ रे भनेपछि थाहा पाएको हुँ । के कसरी मृत्यु भयो, मलाई केही थाहा
छैन । मैले सपुर धामीलाई पनि चिन्दैन भन्नेसमेत बेहोराको संगिता कामीले गरेको घटना विवरण कागज ।
मेरो नाम सपुर धामी, म वर्ष २५ को भएँ । म हाल सिमीकोट बजारमा दाइको घरमा बसेर वि.एड. तेस्रो वर्षमा अध्ययन गर्दछु । मृतक सरिता शाहीसँग मेरो २।३ महिनादेखि चिनजान भएको हो । मृतकको भाउजू र म एउटै अफिसमा काम गर्ने भएकोले म उनको घरमा आउने जाने भइरहेको हुनाले मृतकसँग पनि त्यही कारणले चिनजान भएको हो । म उनको घरमा गइरहन्थेँ । मृतकसँग मोबाइल नभएकाले मेरो मोबाइल माग्ने र मेरो मोबाइलमा भिडियो हेर्ने, गीत सुन्ने काम पनि हुन्थ्यो । एकदिन अं. मिति २०७१।११।२५ वा २६ कुन दिन हो, म बजारबाट घर जाने क्रममा मृतकको घरमा गई मृतकको कोठामा म, मृतक र निजको भदैनी झरनाले मोबाइलमा भिडियो हेरेको हो, सो बेलामा मृतककी भाउजू टसी याँङ्जुमले पनि देखेकी थिइन् । करिब एक घण्टाजति फिलिम हेरेपछि म घर जान लाग्दा मृतकले मेरो मोबाइल लगिन्, मलाई दिइनन् । म गइहालेँ । पछि मैले मेरो ९८४८३२६२७४ नं.को मोबाइलबाट यो मेरो बहिनीको नम्बर हो, सम्पर्क गर्दा यही नम्बरमा गर्नु सपुर धामी भनेर मेरै मोबाइल ९८४८३५४९९८ मा सन्देश पठाएँ । पछि राति १०.०० बजेतिर म मोबाइल लिन मृतकको झ्यालमा आएर फोन गरेँ, मेरो मोबाइल देउ भनेपछि बाहिर आएर मेरो मोबाइल दिएपछि आफ्नो कोठामा आइहालेँ, मैले निजलाई लिएर गएको होइन, कता गइन् थाहा
भएन । मैले मृतकलाई बजारमा अबिर दलेको हो, अबिर दल्दा रगत आएको भन्ने पछि सुनेको हो । मिति २०७१।११।३० गते दिउँसो मैले डेउडा हेरेँ, घरमा गई बजार आउँदा मृतकको भाउजूले मलाई बोलाउँदा नसुनेकाले फोन गरी लाइटर ल्याइदिन भनेकाले मैले एउटा लाइटर किनेर जाहेरवालाको घरमा जाँदा टसी याँङजुम, निजका बच्चा बच्चीहरू र निजको आमा बसिरहेका थिए । मृतक सरिता शाही हराई कता गई भनी एकआपसमा छलफल भयो । अनि म आफ्नो कोठामा गइहाले । पछि राति करिब ८.०० बजेको समयमा मेरो कोठामा मृतकको भाउजू र सोल्टिना डोल्कित लामा आएर मेरो बेडमुनि चारैतिर खोजेँ, मृतकलाई
भेटाएनन् । मैले तिमीहरूले मलाई शंका गर्ने भनी रिसाएपछि उनीहरू गइहाले, मृतकको सोल्टिनासँग कुराकानी भइरहन्थ्यो, जिस्किने काम हुन्थ्यो, उनको रूपको प्रशंसा पनि गर्थें । मैले जबरजस्ती गरेको
छैन । एक दिन डोल्कित लामाले मलाई चिया पनि फाल्न खोजेको हो, उनले झुठो कुरा लेखाएको हुन सक्छ । धनलक्ष्मी शाहीले हामी कोठामा बसेको देखेको हुनसक्छ । तर मैले २०७१।११।२९ गते जिल्ला परिषद् हेर्नको लागि जाँदा निजलाई जिल्ला परिषद्को प्राङ्गणमा देखेको हुँ । होलीको दिनमा बजारमा मैले मृतकलाई रङ्ग दलेकै हो । पछि म घर जाँदा मृतक डोल्कित पेमा छवाङ लामा घरमा बसिरहेका थिए । हामीहरूबिच एक-आपसमा हिउँ हानाहान गरेको हो । पेमा छवाङ लामाले मलाई जाँडको कट (भोल) ले हानेकै हो । अन्य मैले जबरजस्ती गरेको छैन । टसीले तिमी मेरो नन्दसँग किन
लाग्छौ, जे भयो भयो अब नगर्नु भनेर सम्झाएको पनि हो । मेरो उनीसँग केही सम्बन्ध थिएन । अन्य केही गरेको होइन । मृतक सरिता शाहीलाई कर्तव्य गरी मार्नमा मेरो कुनै संलग्नता छैन, अन्य योजना पनि बनाएको थिएन । मृतकसँग मेरो कुनै माया प्रेम, सम्बन्ध, रिसइवी, लोभ-लालच, लेनदेन पनि
थिएन । को कसको संलग्नतामा मारेका हुन्, मलाई थाहा छैन । मृतकलाई कर्तव्य गरी मारे मराएको होइन, कसैलाई मार्न लगाएको पनि होइन, मेरो संलग्नता छैन । म जाहेरवालाको घरमा जाने, मृतकसँग जिस्किने, सँगै भिडियो तथा गीतहरू हेर्ने, देखाउने, घरमा पटकपटक गइरहने हुनाले मलाई शंका मानी मउपर किटानी जाहेरी दिएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी सपुर धामीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मृतक सरिता शाही मेरो फुपू नाता पर्ने टसी याँङजुम लामा (शाही) को नन्द नाता पर्ने हुनाले म राम्रोसँग चिन्दथेँ । मिति २०७१।१२।४ गते म आफ्नै घरमा थिएँ । वारदात बारेमा मैले मृतक खार्पुनाथ गा.वि.स. याङचुनजिक कर्णाली नदीको बिच टापुमा मृत अवस्थामा फेला परेकी छन् भन्ने छिमेकका मानिसहरूले भनेको सुनेपछि थाहा पाएकी हुँ । सरिता शाहीको मृत्यु सम्बन्धमा प्रत्यक्ष नदेखे तापनि मिति २०७१।११।२१ गते होलीका दिन म, डोल्कित लामा र मृतक बजार घुमेर अं. १२.४५ बजेको समयमा कालिञ्चोक बिटअगाडिबाट आफ्नो घरतर्फ जाँदा निज प्रतिवादी सपुर धामीले एक्कासी सरिता शाहीलाई जबरजस्ती अविर लगाइदिए, मृतक सरिता शाही भुइँमा बसिन् । केहीछिनपछि हामी तीनै जना अलि माथिसम्म सँगै गयौँ । डोल्कित लामाका आमा बुबाहरू पनि सोही ठाउँनजिक बस्नुभएकोले डोल्कित लामा र म निजको बुबा आमाको कोठामा गयौँ । मृतक सरिता शाही एक्लै आफ्नो घरतिर गइन् । हामीहरू आधा घण्टाजति डोल्कित लामाको बुबा आमाको कोठामा बसेपछि निज मृतक सरिता शाहीको घरमा गयौँ । सरिता एक्लै घरअगाडि घाम तापेर बसिरहेकी थिइन् । थोरै समय निजसँगै बस्यौँ । फेरि डोल्कित लामा र म मानसरोवर स्कुलनजिक रहेको घरमा गयौं । खाजा नास्ता
खायौं । अं. १६ बजेको समयतिर डोल्कित लामाले दिदी टसी याँङजुमको बच्चा स्कुलबाट ल्याउन जानु छ भनेपछि मैले पनि जाउँ भनेर दुवैजना फेरि सरिता शाहीको घरको बाटो हुँदै जाँदै थियौं । फेरी सरिता शाहीको घरमा गयौं । सरितालाई बाहिर नदेखेपछि कहाँ गइन् भनी निज सुत्ने कोठामा
गयौं । कोठाको ढोका लगाएको अवस्थामा थियो, मैले ढोका तानेपछि ढोका खुल्यो, भित्र मृतक सरिता शाही र प्रतिवादी सपुर धामी मात्र थिए, घरमा अन्य कोही थिएनन्, हामी कोठाभित्र गयौं, केही समयपछि प्रतिवादी सपुर धामी कोठाभित्रबाट बाहिर निस्के । अनि मैले मृतक सरिता शाहीलाई कोठामा रहेको ओछ्यानतिर देखाउँदै सोल्टिना तिमी र सपुर यसमा सँगै सुतेको हो, किन ओछ्यान लथालिङ्ग भएको छ ? भनी सोधेँ । निजले केही बोलिनन् । पछि डोल्कित लामाले यसो भन्नु हुँदैन भनिन् । डोल्कित बच्चा लिन स्कुलतिर
गइन् । सपुर बजारतिर जाँदै थिए, म आफ्नो घरतिर
गएँ । प्रतिवादी सपुर धामी समय-समयमा सरिता शाहीको घरमा आइरहन्छन् रे भन्ने पनि सुनेको छु । मिति २०७१।११।२३ गते पनि म सरिता शाहीको घरमा गएको अवस्थामा प्रतिवादी सपुर धामीले मेरो साथी डोल्कित लामालाई पनि जबरजस्ती समाई खाटमा पल्टाएको र मेरो साथी डोल्कितले लात्तीले हानेको गाली गरेको, मुखमा थुकेको मैले देखेका
हुँ । मृतक सरिता शाही र प्रतिवादी सपुर धामीबिच पटकपटक भेटघाट भइरहेको, पटकपटक मृतकको कोठामा आइरहने भएको र मृतक र प्रतिवादी सपुर धामीबिच केही कुरामा विवाद भई निज प्रतिवादीले नै सरितालाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको पेमा छवाङ लामाले गरेको घटना विवरण कागज ।
म मिति २०७१।१२।४ गते सिमीकोट स्थित विद्युत् कार्यालय पछाडिपट्टि घर बनाइरहेको ठाउँमा
थिएँ । मैले वारदातको सम्बन्धमा सोही साँझ खड्कबहादुर शाहीको बहिनी सरिता शाही याङचुस्थित कर्णाली नदीको बिचमा मृत अवस्थामा फेला परेको भन्ने कुरा गाउँ टोलका छिमेकका मानिसहरूले कुरा गरेपछि थाहा पाएको हुँ । मिति २०७१।१२।६ गते म काम विशेषले सिमीकोटबाट याँङचु हुँदै छिप्रा स्थित घर जाने क्रममा याँङचु स्थित पूलभन्दा पारिपट्टि पसल गरी बस्ने विरवली भण्डारीले मिति २०७१।१२।१ गते साँझको समयमा अलि वर्षा भएको थियो, सोही समयमा १ जना केटी हाम्रो पसल अगाडिबाट याँङचुतिर जाँदै थिइन् । मैले त राम्ररी हेरिन, सायद तिनी मृतक सरिता शाही थिइन् कि भनी निज विरवली भण्डारीले मसँग कुरा गरेका हुन् । त्यसबाहेक घटना सम्बन्धमा मलाई अन्य केही थाहा छैन । वारदातस्थलमा म प्रत्यक्ष नभएको र म आफ्नै घर बनाउने काममा व्यस्त भएकोले मृतकलाई को कसले, कसरी मारे थाहा छैन भन्ने बेहोराको चन्द्रबहादुर शाहीले गरेको घटना विवरण कागज ।
मिति २०७१।१२।४ गते म याँङचुस्थित मेरो पसलमा थिएँ, सोही दिन अं.१७:३० बजेको हुँदो हो, १०/१५ जना मानिस र प्रहरीसमेत भई लास बोकेर सिमीकोटतर्फ ल्याउँदै गरेको मैले देखेको हुँ । को कस्को लास भनी बुझ्दा टसी याँङजुम लामा शाहीकी नन्द सरिता शाही याङचुनजिक कर्णाली नदीको बिचमा मृत अवस्थामा भेटिएकी हुन् भन्ने सुनी थाहा पाएको हुँ । मृतकलाई को कस्ले किन मारे थाहा
छैन । मिति २०७१।१२।१ गते साँझको समयमा अलि वर्षा भएको थियो, सोही समयमा १ जना केटी हाम्रो पसल आगाडिबाट याँङचुतिर जाँदै थिइन् । मैले त राम्ररी हेरिन, सायद तिनी मृतक सरिता शाही थिइन कि भनी चन्द्रबहादुरले भनेपछि थाहा पाएको हुँ । मृतक र प्रतिवादीलाई चिन्दैन । त्यसबाहेक अन्य मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको विरवली भण्डारीले गरेको घटना विवरण कागज ।
मिति २०७१।१२।४ गते म आफ्नै घरमा बसिरहेको थिएँ । जाहेरवालाको श्रीमती मेरो दिदी हुनुहुन्छ । मृतकलाई म राम्रोसँग चिन्दछु, मेरो सोल्टिना पर्दछन् । सिमीकोट बजारमा बसेर पढ्दै हुनुहुन्थ्यो । म काठमाडौं लामा भाषा पढ्न गएको थिएँ, म तीन महिना पहिला मात्र काठमाडौंबाट घर आएको हुँ । म सिमीकोट वडा नं. ७ मा बस्दछु । म कहिलेकाहीँ सिमीकोट भिनाजुको घरमा आउँथे । सामान्य बोलचाल मात्र हुन्थ्यो । मिति २०७१।१२।१ गते बहिनी घरमा आएकी थिइन् । बहिनी डोल्कितको एस.एल.सी. परीक्षा भएकाले दिदी भिनाजुको घरमा नै बसेर पढ्थिन् । सोल्टिनाले कता विवाह गरेर गइहालिन्, आजसम्म भेटिएकी छैनन्, दिदीले खोजिरहनु भएको छ, खोइ कता गइन् थाहा भएन भनेर हामीलाई भनिन् । हामीलाई पनि विवाह गरिन् होला भन्ने
लाग्यो । डोल्कितको मिति २०७१।१२।५ गतेबाट एस.एल.सी. परीक्षा भएकाले बुबा र डोल्कित बिहान सिमीकोट आएकाले म पनि आएँ । दिदी भिनाजुको घरमा जाँदा सबै मानिस रोइरहेका थिए । कोही बोल्दैनथे । मैले अन्य मानिसलाई के भएको हो भनी सोध्दा सरिता मरिसकी, कर्णाली नदीमा लास भेटियो भनेपछि मैले थाहा पाएको हुँ । मैले सपुर धामीलाई पनि चिन्दैन । अन्य मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको सन्डुप लामाले गरेको कागज ।
मेरो घर जिल्ला हुम्ला, गोठी गा.वि.स.मा भए तापनि मेरो श्रीमान् सिमीकोट भेटनरीमा नोकरी गर्ने हुँदा छोराहरू बालमन्दिर विद्यालयमा पढ्ने भएकाले म छोराहरूलाई खाना खुवाउने रेखदेख गर्नको लागि सिमीकोट बजारमै कोठा भाडामा लिएर बसेको कारण वारदात मितिमा म आफ्नै कोठामा थिएँ । मृतक सरिता शाहीलाई राम्ररी चिन्दछु र निजको भाउजूको घर पनि मेरो कोठानजिक भएकोले निजको भाउजू टसी याँङजुम लामा शाहीलाई पनि चिन्दछु । मृतक सरिता शाही हराएको भनी निजको भाउजूले मिति २०७१।१२।१ गते नन्द हराइन् भनी मसँग कुरा गरेकी थिइन् । मैले कि गाउँतिर गइहोलिन्, कि पोइल गइहोलिन् भनी कुरा गरेको र मिति २०७१।१२।४ गते दिउँसोको समयमा निजले रूँदै मेरो नन्द त याँङचु स्थित कर्णाली नदीको बिचमा मृत अवस्था फेला परेकी छन् रे भनेपछि वारदात सम्बन्धमा थाहा पाएकी हुँ । मृतक सरिता शाहीलाई को कसले के कसरी मारे, मैले प्रत्यक्ष नदेखेको हुँदा म केही भन्न सक्दिनँ । मृतक सरिता शाही र प्रतिवादी सपुर धामीबिचको सम्बन्ध के थियो थाहा नभए तापनि मिति २०७१ साल फागु पूर्णिमाको दिन सिमीकोट बजार कालीन्चोकभन्दा माथि नविन समाज अगाडि सार्वजनिक स्थानमा निज सरिता शाहीसहित माथितिर जाँदै गरेका तीन जना केटीहरूमध्ये प्रतिवादी सपुर धामीले मृतक सरिता शाहीलाई जबरजस्ती मुखमा अबिर दलेको र निज सरिता शाही थुचुक्क भुइँमा बसेको मैले देखेकी हुँ । निज सपुरले अन्य दुईजना केटीहरूलाई केही नगरी सरितालाई मात्र अबिर दलेकाले निजहरूबिच केही सम्बन्ध थियो कि भन्ने शंका लागेको हो । यसबाहेक अन्य मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको भुजी शाहीको घटना विवरण कागज ।
मृतक सरिता शाहीले रातो अक्षरमा दिदी र बुबालाई सम्बोधन गरी लेखेको पत्र प्रतिवादी सपुर धामी, डोल्कित लामा र टसी याँङजुम लामा शाहीले लेखेको हस्त-लिखित अक्षरहरू परीक्षणको लागि केन्द्रीय प्रहरी विधि-विज्ञान प्रयोगशालामा पठाइएको नमूनाहरू मिसिल संलग्न रहेका । मृतक सरिता शाही सुत्ने कोठामा लेखिएको विवादस्पद प्रलेख परीक्षण गर्दा मृतकको Hand writing सँगै मेल खाएको र अन्य कसैसँग मेल नखाएको भन्ने बेहोराको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
मृतक सरिता शाहीको भिषेरा परीक्षण गर्दा उक्त भिषेरामा कुनै पनि विषादी वस्तु नभएको भन्ने बेहोराको केन्द्रीय प्रहरी विधि-विज्ञान प्रयोगशालाको भिषेरा परीक्षण प्रतिवेदन ।
प्रतिवादी सपुर धामीले घटनाको बारेमा झुट्टा वा साँचो बोलेको भनी पोलिग्राफ परीक्षण गर्दा निजले झुठो बोलेको भन्ने प्रतिवेदन ।
शंकास्पद व्यक्ति जाहेरवालाको श्रीमती टसी याँङजुम लामा शाहीले बोलेको कुरा झुट्टा वा साँचो भनी पोलिग्राफ परीक्षण गराउँदा निज टसी याँङजुम लामा शाहीले साँचो बोलेको भन्ने बेहोराको प्रतिवेदन ।
मेरा नाम विष्णु मगर हो । मेरो घर तनहुँ जिल्ला, चोक गा.वि.स. वडा नं.३ हो । मेरो ससुराली हुम्ला जिल्ला, वरगाउँ हो । हाल म सिमीकोट बजारमा सिकर्मीको काम गर्दै आइरहेको छु । सिमीकोटमा डेरा लिएर बसेको छु । मिति २०७१।१२।४ गते म आफ्नै कोठामा थिएँ । मेरो एउटा छोरा छ । मृतक सरिता शाहीलाई म
चिन्दैनथेँ । प्रतिवादी सपुर धामीलाई म राम्रोसँग चिन्दछु । प्रतिवादीको दाइसँग जैर धामीको घर बनाउँदा चिनजान भएको हो । तिनको घर नजिकै मेरो डेरा थियो । एक वर्षजति भयो होला, प्रतिवादी सपुर धामी मेरो कोठामा मोबाइल चार्ज गर्न आउँदा मैले रू.१० हजार पैसा माग्दा मलाई दिनु भएन । यही फागुनको महिना हो, म सपुर धामीको घरभन्दा पछाडिको घरमा काम गर्दै थिएँ । बिहान करिब ८.०० बजेतिर बोलाएर जाउँ छ्याँङखोल खाउँ भन्नुभयो, मैले बिहान खाँदैन भनेँ । ल ल खाउँ भनेर दुई जना छ्याङखोल बनाएर खाने क्रममा सपुर धामीले रू.२०,०००।- दिन्छु एउटा काम गरी दिनुपर्यो भने । म छक्क परेँ । किन आज यसले यस्तो भन्यो भन्ने लाग्यो । मैले काम के हो भन्दा उसले केही
भनेन । मलाई मनमा खुल्दुली लाग्यो । किन यस्ले एक्कासी यस्तो कुरा गर्छ, कत्ति खर्च नगर्नेले यस्तो भन्यो होला भन्ने लाग्यो । मलाई रक्सी लाग्यो म गइहालेँ । मिति २०७१।१२।२९ गते जाहेरवालाले मेरो घरमा काठको काम छ, आउ भनेर बोलाउनुभयो, सोही सिलसिलामा जाहेरवालाको श्रीमतीले सपुर धामीले मेरो नन्दलाई मारिदियो भनेपछि मैले थाहा पाएको
हुँ । बल्ल म झसङ्ग भएँ, ए त्यति कामको लागि भनेको रहेछ, मलाई फसाउन खोजेको भन्ने कुरा मनमा लाग्यो भन्नेसमेत बेहोराको विष्णु मगरको घटना विवरण कागज ।
प्रतिवादी सपुर धामीले मृतक सरिता शाहीलाई कर्तव्य गरी मारी कर्णाली नदीमा फाली मुलुकी ऐन, ज्यानसम्बन्धीका महलको १ नं. विपरीत ऐ. १३(३) नं. बमोजिमको कसुर अपराध गरेकाले निज प्रतिवादीलाई ऐ. १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोगपत्र ।
मृतक सरिता शाहीकी भाउजू टसी याङजुम लामा र म एउटै कार्यालयमा सँगै काम गर्ने सिलसिलामा मृतकको भाउजूले कहिलेकाहीँ मलाई कार्यालयको काम गर्ने सिलसिलामा मलाई नजानेका कुराहरू सोधपुछ गर्नको लागि बोलाउनुहुन्थ्यो । त्यसै सिलसिलामा मृतक सरिता शाहीसँग हल्का परिचय भएको थियो । तर मृतकसँग माया प्रेम, शारीरिक सम्बन्ध, कुनै लेनदेन, कुनै आपसी झै-झगडा
थिएन । केबल उसको घरमा गएको शंकाले मलाई जाहेरी दिएका हुन् । म घटनामा संलग्न नभएको कारणले मृतक शाही कसरी के भएर मरेकी हुन्, मलाई केही पनि थाहा छैन । म सिमीकोट बजारमा पोट खेल्ने ठाउँमा तल्लो गाउँको साथीले आज खार्पु कर्णाली नदीमा एकजना महिलाको लास भेटिएको रहेछ भनेकाले सुनेर थाहा पाएँ । मृतक सरिता शाही के कसरी मरेकी हुन्, कुन ठाउँमा के गरी मरिन्, मलाइ थाहा छैन । मिति २०७१।११।२९ गते म जिल्ला विकास समितिको कार्यालयमा जिल्ला परिषद् हेरी बसेको र यताउति कहीँ गएको पनि नहुँदा जाहेरवालाको जाहेरी दर्खास्त झुठ्ठा हो । मृतकको टाउकोमा चोट लागेको बारेमा मलाई थाहा छैन । पोस्टमार्टमको रिपोर्टको बारेमा पनि केही थाहा
छैन । मिति २०७१।१२।१ गते म खाना खाएर आफ्नो अफिसमा गई एक छिन बसी बजारमा गएर पोट खेलेर रमाइलो गरेको थिएँ । त्यसपछि २०७१।१२।२, ३ र ४ गतेसम्म पनि म कोठाबाट कहीँकतै नगई १० बजे अफिस आउने गरेको थिएँ । मिति २०७१।११।२५ को दिनमा म मृतकको घरमा गएको बेला मैले मृतक शाही, डोल्कित र मृतककी भदैनीसँगै बसी मोबाइलमा नेपाली मुटु भन्ने फिलिम हेरिरहेका थियौं । त्यपछि बहिनी मोबाइल ल्याउ म घर जान्छु भन्दा मृतकले दाइ तपाइँको मोबाइल अहिले यहीँ छोड्नुहोस्, हामी हेरेर बस्छौं, भन्दा मैले हैन बहिनी म मोबाइल लिएर जान्छु, तिमीलाई चलाउन आउँदैन भन्दा मृतकले तपाइँको मोबाइल म खान्छु र भन्दा मैले मलाई घरबाट दाइ दिदी र अरू साथीबाट फोन आउँछ भन्दा रिसिभ गर्दिन, पछि मोबाइल लिन आउनु र लिन आउँदा कुन मोबाइलबाट फोन गर्ने हो, त्यसैबाट म्यासेज गर्नु भनी भनेकाले मेरो मोबाइल छोडेर म आफ्नो कोठामा गइहालेँ । पछि मैले मेरो बहिनीको बनाउन ल्याएको मोबाइलबाट ठिक ७.०० बजेतिर यो मेरो बहिनीको मोबाइल हो पछि यसैबाट फोन गर्छु भनी म्यासेज गरेको हुँ । म १०.०० तिर मोबाइल ल्याउन जाँदा बाहिरबाट फोन गरेर मोबाइल मागी म आफ्नो कोठामा आइ हालेँ । अरू कुरा मलाई केही थाहा छैन । मिति २०७१।११।२१ गते होलीको दिनमा साथीहरू र म सँगै भएको बेलामा हिमाली नविन समाज अफिसको अगाडि सरिता शाहीलाई रङ्ग लगाएर बजारमा होली खेल्न गएको हुँ । टसी याङजुम लामा, डोल्कित लामा, धनलक्ष्मी शाही, जगतबहादुर शाही, पेमा छवाङ लामा, भुजी शाही र विष्णु मगरले गरेको घटना विवरण कागज झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी सपुर धामीले सुरू अदालतमा गरेको बयान ।
मुलुकी ऐन, अ.बं. ११८ नं. को देहाय (२) बमोजिम मुद्दा पुर्पक्षका लागि प्रतिवादी सपुर धामीलाई थुनामा राख्नका लागि कारागार कार्यालय, हुम्लामा पठाइदिनू । प्रतिवादी चुक्ता भइसकेको देखिँदा जाहेरवाला, घटना विवरणका मानिसहरूलगायतका सरकारी साक्षी गवाहलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय, हुम्लामार्फत उपस्थित गराइदिन भनी जिल्ला प्रहरी कार्यालय हुम्लामा लेखी पठाई सो दिन प्रतिवादीका साक्षीसमेत बुझी पेस गर्नु भन्ने सुरू अदालतको मिति २०७२।१।६ को आदेश ।
जाहेरवालाको बहिनी मृतक सरिता शाहीलाई को, कसले मारेका हुन् ? मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी जंग रोकायाले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१ साल चैत्र ११ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा गरेको घटना विवरण कागजको बेहोरा सही साँचो हो । ल्याप्चे सहीछाप मेरै हो । प्रतिवादी सपुर धामीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको घटना विवरणका मानिस डोल्कित लामाले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।१२।१८ गते जिल्ला प्रहरी कार्यालयमा गरेको घटना विवरण कागजमा परेको बेहोरा र सहीछाप साँचो हो । प्रतिवादी सपुर धामीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने हो वा
होइन ? मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको घटना विवरणका मानिस धनलक्ष्मी शाहीले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक सरिता शाही र प्रतिवादी सपुर धामीबिच प्रेम सम्बन्ध भएको कुरा झुटा हो । सच्चा मानिसलाई नहुने झुट्टा आरोप लगाएका हुन् । म कहिलेकाहीँ जिल्ला विकास समितिमा आउँदा-जाँदा माथिल्लो बजारमा रहेको लोकेन्द्र रावतको पसलअगाडि पोट खेल खेलिरहेको देख्थेँ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी उमान धामीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१ साल चैत २५ गते जि.प्र.का हुम्लामा गरेको घटना विवरण कागजमा लेखिएको बेहोरा, सही र ल्याप्चे सहीछाप मेरै हो । मृतकलाई कर्तव्य गर्दा मैले नदेखेकाले प्रतिवादीलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको घटना विवरणका मानिस पेमा छवाङ लामाले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।१२।२१ गते जि.प्र.का. हुम्लामा गरेको घटना विवरणमा लेखिएको बेहोरा र सहीछाप मेरै हो, प्रतिवादीले कर्तव्य गरेको हो भने सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको घटना विवरणका मानिस सुसिला शाही (विष्ट) ले गरेको बकपत्र ।
मिति २०७१।१२।१९ गते जि.प्र.का. हुम्लामा गरेको घटना विवरण कागजमा लेखिएको बेहोरा सही साँचो हो । सोमा भएको सहीछाप पनि मेरै हो । प्रतिवादीले मारेको भए सजाय हुनुपर्ने हो, नमारेको भए सजाय हुनु भएन भन्नेसमेत बेहोराको घटना विवरणका मानिस जगतबहादुर शाहीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।१२।१० गते जिल्ला प्रहरी कार्यालयमा गरेको घटना विवरणमा लेखिएको बेहोरा ठिक साँचो हो । सोमा भएको सहीछाप मेरै
हो । प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराका घटना विवरणका मानिस टसी याँङजुम लामाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने हो । यस घटनाको मुख्य दोषी सपुर धामी नै भएकाले सर्वस्वसहित जन्मकैद हुनुपर्छ । यस्ता अपराधीलाई प्रश्रय दिँदै जाने हो भने समाजमा नराम्रो प्रभाव पर्छ, भावी-पिँढीहरूले यस्तो कार्य गर्नमा अनुकरण गर्ने भएकाले दोषीउपर हदैसम्मको कारबाही गर्दा समाज अपराध-मुक्त हुन्छ । त्यसैले निजलाई मुलुकी ऐनअनुसार कारबाही हुनैपर्छ भन्नेसमेत बेहोराको जाहेरवाला खड्कबहादुर शाहीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी सपुर धामीलाई अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १ नं. तथा १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने बेहोराको सुरू हुम्ला जिल्ला अदालतको मिति २०७२।८।२८ को फैसला ।
मृतक सरिताको मृत्यु निधारमा परेको चोटको कारणबाट भएको भए पनि त्यो चोट कसरी लाग्यो त्यसतर्फ अनुसन्धान र छानबिन गरिएको छैन । जाहेरीअनुसार चैत्र १ गतेभन्दा पहिलेदेखि निज हराएकी, निजको कोठामा मृत्युको बारेमा लेखिएको पत्र फेला पर्नु र सो चिठी निजले लेखेको प्रमाणित हुनुले निज घर व्यवहारबाट विरक्त रहेको
बुझिन्छ । त्यसको कारण म भएको भन्न सकिने कुनै आधार छैन । निजलाई मैले मार्नु पर्ने कारण र अवस्थासमेत छैन । मैले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष कसुरमा पूर्ण इन्कारी भई बयान गरेको छु । त्यसतर्फ विवेचना गरिएको छैन । मेरो साक्षीहरूले मेरो इन्कारीलाई समर्थन हुने गरी बकपत्र गरिदिएको अवस्था छ । Polygraph report आफैँमा अकाट्य प्रमाण होइन । मैलै मृतकलाई कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शी कोही
छैन । मृतकसँग उठबस तथा निजको घरमा म आउ-जाउ गरेको कारणले जाहेरवाला तथा बुझिएका मानिसहरूको शंकाको आधारमा लेखाएको बेहोरा आफैँमा प्रमाण होइन । विशेषज्ञले समेत मृतकको मृत्यु कर्तव्यबाट वा आत्महत्याबाट भएको भन्ने कुरा पोस्टमार्टमबाट भन्न सकिँदैन भनी लेखाएको अवस्था छ । उल्लिखित प्रमाणहरूको कुनै विवेचना नगरी प्रतिवादीले यौवन अवस्थाको उन्मादमा मृतकलाई कर्तव्य गरी मारेको भनी अनुमानको आधारमा दिएको जाहेरीको आधारमा भएको उक्त फैसला फौजदारी कानूनको सिद्धान्त, प्रमाण ऐन तथा प्रचलित कानूनी सिद्धान्तसमेतको आधारमा त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सपुर धामीले उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा गरेको पुनरावेदनपत्र ।
Polygraph examiner नबुझी निजको रायसमेतलाई आधार मानी पुनरावेदक प्रतिवादीलाई कसुरदार ठहर गरी सजाय गर्ने गरेको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदनपत्रको प्रतिलिपिसहित पुनरावेदन सरकारी वकिल कार्यालय जुम्लालाई जानकारी दिनु र Polygraph examiner अमृत थापा मगरलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम बुझी पेस गर्नु भन्ने उच्च अदालत सुर्खेत जुम्ला इजलासको आदेश ।
प्रतिवादीको बयानको पोलिग्राफ रिपोर्ट तयार गर्दा त्यसमा ९५.७ प्रतिशत प्रतिवादीको बयान झुट्ठा भनी कहीँकतै उल्लेख नगरिएको, प्रतिवेदनमा मात्रै Deception Indicated भनेर उल्लेख गरिएको हो । Deception indicated को अर्थ प्रतिवादीले Polygraph test को क्रममा बोलेको, सोधिएको प्रश्नको जवाफ दिँदा सबै सत्य नदिएको वा केही कुरा लुकाएको हुनसक्ने वा इमान्दारिता नदेखाएको (Dishonesty doubtful) भन्ने हुन्छ । तसर्थ Polygraph test गर्ने क्रममा अभियुक्तले बोलेका कुरा शतप्रतिशत सत्य वा शतप्रतिशत झुठ्ठा हुन्छ भनेर उल्लेख गर्न सकिँदैन भन्नेसमेत बेहोराको अमृत थापा मगरले बन्द सवालमार्फत गरेको बकपत्र ।
प्रतिवादी र मृतकबिच पहिले देखिको हिमचिम, उठ-बस, अनैतिक यौन सम्बन्धसमेतका क्रममा प्रतिवादीमा क्रमबद्ध रूपमा आपराधिक मनोभावना विकास भई मृतक र प्रतिवादीबिच आन्तरिक मनमुटाव हुन गई मृतक सरिता शाहीको कर्तव्य गरी मारी, मराई कर्णाली नदीमा फालेको मालाकार कडीका तथ्यगत आधार, प्रमाणबाट प्रतिवादीउपरको कसुर स्थापित हुन आएको देखिएकोले निज प्रतिवादी सपुर धामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर गरी भएको सुरू हुम्ला जिल्ला अदालतको मिति २०७२।८।२८ को फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसला ।
जिल्ला अदालतले निस्सासिएर मृत्यु भएको भन्ने मेडिकल रिपार्टलाई आधार लिई कर्तव्यबाट मृत्यु भएको ठहर गरेको छ । आफूले गरेको कुनै क्रियाबाट आफू बाँच्न सक्ने सम्भावना नभएको अवस्थामा मात्र मानिस निसासिन्छ । निधारमा २ वटा साना प्रकृतिका चोट लागेको कारणले मात्र मानिस निस्सासिएर मर्ने अवस्था रहँदैन । यस्तो परिस्थितिमा मृतकले घर छाडनुअगाडि लेखेको पत्रलाई समेत ध्यान दिनुपर्ने हुन्छ । मृतकले घर छाड्नुअगाडि बाबु र दिदीलाई सम्बोधन गरी आफू बाँच्नलायक नभएको कुरा लेखी छाडेकी छन् । २०७१/१२/१ गते बेलुका मृतक एक्लै याङचुतिर जाँदै गरेको देखेको कुरा प्रत्यक्षदर्शी चन्द्रबहादुरले बताएका छन् । सपुर धामी तल्लो जातको केटासँग कोठामा बसी भिडियो हेरेको र लसपस गरेको भनी निजको भाउजूले हप्काई अब आइन्दा यस्तो कार्य गरेको देखेमा बञ्चरो प्रहार गरी मारिदिने भनी धम्काएको अवस्थासमेत स्वयं निजको भाउजूको बयानबाट देखिन्छ । यस्तो परिस्थितिमा मृतकले तल्लो जातको केटासँग उठबस गरेको भन्ने परिवार र गाउँलेको दबाब र भाउजूको धम्की सहन नसकी घर छाड्नुभन्दा अगाडि पत्र लेखी हिँडेको र नदीमा हाम फाल्दा निसासिएर मृत्यु भएको कुरा पुष्टि
हुन्छ । मृत्युभन्दा पहिलाको पत्रलाई प्रमाण ऐन, २०३१ को दफा ११ बमोजिम प्रमाणमा लिनुपर्नेमा त्यसलाई अनदेखा गरिएको छ । जाहेरवालाको श्रीमती र पुनरावेदक एउटै अफिसको कर्मचारी भएकोले निजको घरमा जाने गरेको कुरा सत्य
हो । घरमा गएको अवस्थामा मोबाइल नभएकोले मेरो मोबाइल मागी गीत सुन्ने, भिडियो हेर्नेसमेत गरे तापनि जाहेरवाला तथा निजको श्रीमतीले भने जस्तो मृतकसँग मेरो कुनै अनैतिक सम्बन्ध थिएन । मसँग बोलेको, हिँडेको र गीत सुनेको कुरालाई लिएर जाहेरवालाको श्रीमतीले मृतकलाई मारिदिनेसम्मको धम्की दिएकी र मलाईसमेत धम्क्याएकी थिइन् । सो कुरा निजले आफ्नो बयानमा समेत लेखाएकी छन् । यसरी निजको धम्की सहन नसकी मृतकले घरबाट हिँडनुअघि पत्रसमेत लेखी घर छाडेकी र मृत्यु भएको ठाउँतर्फ एक्लै गएको चन्द्रबहादुर शाहीले देखेको अवस्थामा मैले मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारण छैन, थिएन । मृतकलाई आत्महत्या गर्नेसम्मको निर्णय लिने अवस्था जाहेरवालाको परिवारबाट भएको पुष्टि हुन्छ । अपराध हुनको लागि आपराधिक मनसाय र आपराधिक कार्य हुनुपर्दछ । प्रस्तुत घटनामा मृतकलाई मार्नको लागि मैले कुनै तयारी गरेको छैन, मारेको पनि छैन । त्यस बारेमा कुनै समयमा सोचेको पनि छैन । जाहेरवालाहरू नै तल्लो जातको केटासँग पोइल जान खोजेको भनी मृतकलाई गाली गलौज गर्ने, मार्नेसम्मको धम्की दिएको कुरा स्वयं मृतकको भाउजूले लेखाइदिएकी छन् । सुरू जिल्ला अदालत र उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसलामा फौजदारी कानूनका सर्वमान्य सिद्धान्त र सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प.२०७१, अङ्क ५, नि.नं.८१७० को नजिर सिद्धान्तसमेतको त्रुटि भएको छ । उक्त त्रुटिपूर्ण फैसला उल्टी गरी झुठ्ठा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सपुर धामीले यस अदालतमा गरेको पुनरावेदनपत्र ।
प्रतिवादी अनुसन्धान र अदालतमा कसुरमा इन्कार रहेको र Polygraph जाँच समेतको परिस्थितिजन्य प्रमाणको आधारमा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको मिति २०७४।१।७ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई पेस गर्नु भन्ने यस अदालतको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादी सपुर धामीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री सतिशकृष्ण खरेल र श्री एकराज भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री कपिलचन्द्र पोखरेल, श्री चुडाबहादुर निरौला, श्री टिकाराम भट्टराई, श्री कान्तिराम ढुंगाना र श्री कविता बस्नेतले मृतक सरिता शाहीको Suicide Note मा प्रतिवादीको संलग्नता सम्बन्धमा कुनै कुरा लेखिएको छैन; सो नोटमा घर परिवारको व्यवहारबाट निज मृतक बाँच्न सक्ने अवस्थामा नभएको व्यक्तिगत बाध्यताको कुरा गरिएको छ; Polygraph परीक्षण प्रतिवेदनलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन; शव परीक्षण प्रतिवेदन र सो परीक्षण प्रतिवेदन तयार पार्ने विशेषज्ञ डाक्टरले अदालतसमक्ष गरेको बकपत्र बाझिएको अवस्था छ; प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको कारण र मनसाय मिसिलबाट खुल्दैन; शंकारहित तवरले कसुर पुष्टि नभएको अवस्थामा मृतक र प्रतिवादीबिचको सम्बन्धलाई मात्र आधार मानेर गरिएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसला त्रुटिपूर्ण छ; प्रतिवादीले सफाइ पाउनुपर्दछ भनी बहस जिकिर गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्कीले मृतक र प्रतिवादीबिच कायम रहेको अनैतिक सम्बन्ध देख्ने प्रत्यक्षदर्शी छन; बुझिएका मानिसहरूको कागज बेहोराले प्रतिवादीउपरको दाबी समर्थित भएको छ; पोलिग्राफ परीक्षणबाट झुठो बोलेको देखिएको छ र यसलाई प्रमाणमा लिन मिल्दछ; किटानी जाहेरी दरखास्तलगायतका परिस्थितिजन्य प्रमाणबाट प्रतिवादी सपुर धामीकै कर्तव्यबाट सरिता शाहीको मृत्यु भएको भन्ने प्रमाणित भएको छ; प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुने ठहर गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब यसमा पोलिग्राफ परीक्षण प्रतिवेदनलाई प्रमाणमा ग्रहण गर्न मिल्छ वा मिल्दैन ? प्रतिवादी सपुर धामीउपरको अभियोग दाबी प्रमाणबाट पुष्टि भएको छ वा छैन ? निजलाई कसुरदार ठहर गरेको उच्च अदालतको फैसला कानूनअनुकूल छ वा
छैन ? र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्नेसमेतका प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मृतक सरिता शाही मिति २०७१/११/३० गते बेलुकीदेखि घरमा नरहेकी (हराएकी) र निजको लास मिति २०७१/१२/४ गते कर्णाली नदीबिचको टापुमा फेला परेको भन्ने तथ्यमा विवाद देखिँदैन । मृतकको दाजु नाताका जाहेरवाला खड्कबहादुर शाहीको जाहेरी दर्खास्त तथा निजले अदालतमा गरेको बकपत्र, निज खड्कबहादुर शाहीको पत्नी (मृतककी भाउजू) टसी याँङजुम लामा (शाही), अन्य बुझिएका मानिसहरू डोल्कित लामा, धनलक्ष्मी शाही, पेमा छवाङ लामा, सुसिला शाही (विष्ट), जगतबहादुर शाहीसमेतले मुद्दामा अनुसन्धानको सन्दर्भमा कागज गर्दा प्रतिवादी सपुर धामीउपर किटानी गरेको देखिन्छ । टसी याँङजुम लामा शाहीसमेतले अदालतमा उपस्थित भई गरेको बकपत्रमा समेत प्रतिवादीउपर शंका देखाइएको
पाइयो । तर निजहरू कोही पनि प्रत्यक्षदर्शी साक्षी नभएको तथ्य प्रस्ट नै छ । बुझिएका मानिसहरूको कथनलाई समग्रमा हेर्दा मृतक सरिता शाही र प्रतिवादी सपुर धामीबिच हिमचिम (सम्भवत: माया-प्रीति) रहेको, फाल्गुण पूर्णिमाको दिन अवीर दलेको, प्रतिवादीको मोबाइलमा मृतकले भिडियो हेरेको र गीत सुनेको, २/४ पटक भेटघाट भएको जस्ता कुरालाई आधार बनाएर केही व्यक्तिले शंका र विश्वास व्यक्त गरेको र केही व्यक्तिले घटना वारदातका सम्बन्धमा आफ्नो अज्ञानता प्रकट गरेकोसम्म देखिएको छ । तर निज प्रतिवादी सपुर धामीले नै सरिता शाहीको हत्या गरेका हुन् भनी देखिने कुनै पनि प्रत्यक्ष प्रमाण पेस हुन आएको देखिन आएन ।
३. प्रतिवादी सपुर धामीले मुद्दामा प्रहरीले गरेको अनुसन्धानका क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतक सरिता शाहीसँग सामान्य पहिचान र भेटघाट भएको तथा निजले आफ्नो मोबाइल चलाएको भए पनि निजको हत्या गरेको होइन भनी आरोपित कसुरमा पूर्णत: इन्कार रही बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दासमेत निज प्रतिवादीले अभियोग दाबीको कुरामा इन्कार रहेको पाइयो । निजको इन्कारी जिकिरको समर्थनमा निज प्रतिवादीका साक्षी जंग रोकाया तथा उमान धामीले अदालतमा बकपत्र गरेको देखिन्छ ।
४. मृतक सरिता शाहीको मृत्युको कारणतर्फ दृष्टिगत गर्दा, Autopsy Report मा: “Head injury and Asphyxia leading to Cardiopulmonary Arrest and Final Cause of asphyxia will be determined after toxicological analysis of viscera” भनी उल्लेख भएको देखिन्छ । पछि मिति २०७१/१२/१७ मा Central Police Forensic Science Laboratory बाट दिइएको भिसेरा परीक्षण प्रतिवेदनमा Negative tests for insecticides and phosphine gas भनी उल्लेख भएको
पाइयो । मृतकको शव परीक्षण गर्ने विशेषज्ञले अदालतसमक्ष बकपत्र गर्दा मृतक सरिता शाहीको पोस्टमार्टम गर्नुभन्दा ४८ घण्टाअगाडि मृत्यु भएको थियो भनी उल्लेख गरेको देखिन्छ । लासको प्रकृतिबाट पानीमा नपर्दै मरिसकेको र निज सरिता शाहीको मृत्यु पानीमा डुबी भएको होइन, घाउ-चोटबाट नै भएको हो भनी उल्लेख गरेको पाइयो । निजले गरेको बकपत्रमा मृत्युको कारण आत्महत्या वा कर्तव्य केबाट भएको हो, पोस्टमार्टमबाट भन्न सकिँदैन भनी उल्लेख भएकोसमेत देखिन्छ । Autopsy Report र बकपत्रका बिच उचित सङ्गति देखिँदैन, निजको भनाइ परस्पर अमिल्दो र असङ्गतिपूर्ण देखिएको छ । यस अवस्थामा शव परीक्षण प्रतिवेदनबाट सरिता शाहीको मृत्यु कसैको कर्तव्यबाट नै भएको हो भनी निष्कर्ष निकाल्न सकिने अवस्था देखिँदैन । आत्महत्याका लागि अग्लो स्थानबाट ढुङ्गा, चट्टानयुक्त नदीमा फालहाल्दा (हामफाल्दा) टाउकोलगायत शरीरका अन्य भागमा चोटपटक लाग्नु स्वाभाविक हुन्छ । सरिता शाहीको लास फेला परेको घटनास्थलको स्थितिबाट निजको शरीरमा केही चोटपटक लागेको देखिएको कुरालाई अस्वाभाविक मान्न सकिने देखिँदैन । त्यसैले मृतकको टाउकोमा चोट परेको जस्ता घा-चोटको कारण देखाएर नै निज सरिताले आत्महत्या गरेको होइन, प्रतिवादीकै कर्तव्यबाट ज्यान मरेको हो भन्ने निष्कर्ष निकाल्नु तर्कसङ्गत र विवेकपूर्ण हुँदैन ।
५. यस प्रसङ्गमा मिति २०७१/१२/११ मा मृतक सरिता शाही सुत्ने गरेको कोठाबाट बरामद गरेको कागजमा उल्लेख भएका केही बेहोरा उद्धृत गर्नु आवश्यक देखिन्छ । निज सरिता शाही सुत्ने गरेको कोठाबाट बरामद भएको सो कागजमा निज सरिताले “यो संसारमा बाँच्नुभन्दा मर्नु ठिक हो; जुन सन्तानको इज्जत हालेर बाँच्न सकिन, त्यसैले यो संसारको कुनै ठाउँ वा कुनामा म छैन, कसैले नखोज्नु होला”; “...बुबा तपाइँलाई र म भेट नभएको तीन महिना भयो, आज नभेटेरै मर्नुपर्यो”; “बुबा जब मेरो आमा बित्नुभयो सानो म तीन महिनाको हुँदा मलाई मर्न दिएको भए हुन्थ्यो; बुबा आज १८ वर्षको उमेरमा मर्नुपर्यो, तर बुबाको मुख र अनुहार नहेरेर मर्नुपर्यो बुबा; तर बुबाको माया छ...” आदि आदि बेहोरा उल्लेख गरेको पाइयो । बरामद गरिएको कागज निज सरिताले नै लेखेको हो भन्ने तथ्यमा विवाद देखिँदैन । मिति २०७१/१२/२० मा Central Police Forensic Science Laboratory बाट दिइएको हस्ताक्षर परीक्षण प्रतिवेदनबाट पनि बरामद गरिएको लिखतको हस्ताक्षर निजै मृतक सरिता शाहीको हस्ताक्षरसँग मिल्छ, भिड्छ भनी राय दिइएको पाइयो ।
६. प्रस्तुत मुद्दा निरूपणका सन्दर्भमा उपर्युक्त मिति २०७१/१२/११ मा बरामद भएको लिखतको विशेष महत्त्व र सान्दर्भिकता रहेको देखिन्छ । उक्त कागजलाई मृतक सरिता शाहीले आफ्नो मृत्युका सम्बन्धमा गरेको लिखित पूर्वघोषणाको रूपमा लिन सकिन्छ । यो “Suicide Note” हो । सरिता शाहीका जीवनका मिठा-नमिठा भोगाइहरू थिए र त्यसबाट उनमा विरक्तिको भाव पैदा भएको थियो भन्ने कुरा निजको लिखित अभिव्यक्तिबाट देखिएको छ । उल्लिखित कागजमा निज सरिताले “इज्जत” धान्न नसकेको कुरा, “बाँच्नुभन्दा मर्नु ठिक” भन्ने कुरा, आफू “यो संसारको कुनै ठाउँ वा कुनामा नभएको हुँदा कसैले नखोज्नु” भन्ने कुरा, निजले आफ्नो बुबाप्रति व्यक्त गरेको भावना... आदि आदि कुराहरू प्रस्ट शब्दमा खुलाएको देखिन्छ । यो लिखत (Suicide note) ले सरिताको मृत्यु निजको इच्छाले भएको थियो भन्ने कुराको प्रस्ट सन्देश दिएको छ । यस प्रकारको महत्त्वपूर्ण र सशक्त प्रमाणलाई अन्देखा गरेर अन्तरजातीय प्रेम-सम्बन्ध जस्ता सामान्य र स्वाभाविक सामाजिक सन्दर्भहरूलाई अतिशयोक्तिपूर्ण तबरबाट अर्थ लगाई परिणामत: हत्याको अभियोग प्रमाणित भएको ठान्नु न्यायोचित हुँदैन; यसलाई विवेकपूर्ण पनि ठान्न सकिँदैन ।
७. Suicide note को अर्थ तथा यसको प्रमाणिक मूल्य सम्बन्धमा यस अदालतबाट लक्ष्मीप्रकाश सक्सेनाको मुद्दामा व्याख्या भएकोसमेत देखिन्छ । उक्त मुद्दाका सन्दर्भमा "Suicide note भनेकै आत्महत्या गर्ने संकल्प भएका मानिसले लेख्छन्; Suicide note लाई एक प्रकारको मृत्युकालीन घोषणाको रूपमा पनि लिनुपर्ने हुन्छ” भनी व्याख्या भएको छ । यसरी प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा पनि आकर्षित हुने देखिन्छ । यसरी मृतक सरिता शाहीले लेखेको Suicide note बाट निज सरिताले स्वयम् मृत्यु रोजेको भनी मान्नुपर्ने देखिन्छ र यसबाट प्रतिवादीले लिएको निर्दोषिताको जिकिर नै समर्थित भएको छ ।
८. प्रस्तुत मुद्दामा प्रहरीले गरेको अनुसन्धानको सिलसिलामा प्रतिवादी सपुर धामीको पोलिग्राफ परीक्षण गराइएको पाइयो । सो पोलिग्राफ परीक्षण प्रतिवेदनलाई प्रमाणमा ग्रहण गरेर सुरू हुम्ला जिल्ला अदालतले कसुर ठहर गरेको देखिन्छ । उच्च अदालत सुर्खेत, जुम्ला इजलासको फैसलाको अध्ययनबाट पनि पोलिग्राफ परीक्षण प्रतिवेदनलाई प्रमाणमा ग्रहण गरी प्रतिवादीलाई कसुरदार ठहर गरेको देखियो । तसर्थ, पोलिग्राफ परीक्षणको तुलनात्मक अभ्यास र अवधारणागत पक्षमा केही विवेचना हुनु सान्दर्भिक र आवश्यक देखिन आएको छ ।
९. यस सन्दर्भमा, सर्वप्रथम, भाग्य नारायण बैठाको मुद्दाका सन्दर्भमा फैसला गर्दा प्रासङ्गिक कथन (Obiter dicta) को रूपमा उल्लेख भएका केही हरफ उद्धृत गर्नु आवश्यक छ । माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको रायमा मेरो सहमति रहेको उक्त फैसलामा: “पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष (Finding) लाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने हुन्छ; यथार्थमा पोलिग्राफ परीक्षण पद्धतिअनुसार परीक्षण गरी प्रस्तुत भएको राय अन्य प्रमाणहरूबाट समर्थित भएमा वा त्यस्तो राय अन्य प्रमाणसँग तादाम्यतापूर्ण भएमा प्रमाणमा लिने कुरालाई अङ्गीकार गरिएको पाइन्छ” भन्ने बेहोरासमेत उल्लेख गरिएको देखिन्छ । अहिले यो फैसला तयार गर्दाको क्रममा उल्लिखित भाग्यनारायण बैठाको मुद्दामा भएको व्याख्या मेरो स्मरणमा रहेको
छ । उक्त मुद्दामा अन्य प्रमाणबाट अभियोग दाबी प्रमाणित भएको सन्दर्भमा पोलिग्राफ परीक्षणको कुरालाई सहयोगी वा पूरक प्रमाणको रूपमा ग्रहण गरिएको देखिन्छ । विषय र प्रसङ्गवश अहिले उल्लिखित दृष्टिकोणमा थप केही परिमार्जन गर्नु आवश्यक छ भन्ने मलाई महसुस हुन आएको छ । सुधार वा परिवर्तनको आवश्यकता महसुस भएपछि पनि पुरानो कुरा नै दोहोर्याएर बस्नु वा सुधार / परिवर्तन गरिएको कुरालाई प्रस्ट शब्दमा उल्लेख नगरी दुई फरक-फरक दृष्टिकोण कायम रहन पुग्ने कुराप्रति निरपेक्ष रहनु स्वस्थकर न्यायिक व्यवहार हुँदैन भन्ने पनि मलाई लाग्दछ । तसर्थ, न्यायाधीशले हरेक विवादित विषयवस्तुलाई स्वतन्त्र र खुला रूपमा मौलिक तवरबाट हेर्नुपर्ने र कारण जनाई आवश्यकताअनुसार आफ्नो पूर्वधारणा वा रायमा परिवर्तन / सुधार गर्न सक्ने न्यायिक मान्यता र प्रचलनलाई आत्मसात् गर्दै पोलिग्राफ परीक्षण सम्बन्धमा अहिले प्रस्तुत मुद्दाका सन्दर्भमा आफ्नो राय उल्लेख गरेको छु ।
१०. प्रविधिको प्रयोगबाट मानिसको विविध शारीरिक क्रिया र देखा परेका शारीरिक परिवर्तनहरूको अध्ययन गरेर कुनै व्यक्तिले साँचो कुरा व्यक्त गरेको हो वा होइन भनी विज्ञ परीक्षकबाट गरिने परीक्षण कार्यलाई “पोलिग्राफ परीक्षण” को रूपमा बुझिन्छ । यसलाई “झुठो कुरा पत्ता लगाउने परीक्षण” (Lie Detector Test) पनि भनिन्छ । यस प्रकारको परीक्षण गर्दा रक्तचापको अवस्था, पसिना आएको स्थिति, नाडीको धडकन, श्वास-प्रश्वास, मुख/जिब्रो सुकेको अवस्था, छालामा देखिएको शारीरिक प्रतिक्रिया जस्ता कुराहरूको मापन गरी सम्बन्धित व्यक्तिलाई सोधिएका प्रश्नहरूको निजले दिएको जवाफसमेतका आधारमा धारणा निर्माण गर्ने गरिएको हुन्छ । पोलिग्राफ परीक्षणका केही वैज्ञानिक पद्धति रहेका छन् भने केही हदमा यसमा अनुमानित निष्कर्ष निकालिने अवस्था पनि रहन सक्तछ । परीक्षण गर्दा अपनाइएको विधि, पद्धति र तरिकाको आधारमा यस प्रकारको परीक्षणको विश्वासनीयता (Accuracy) लगभग ८०% को हाराहारीमा हुन्छ भन्ने पनि मानिएको पाइन्छ । तथापि पोलिग्राफ परीक्षणलाई हस्तरेखा वा वंशाणुगत (डी.एन.ए.) परीक्षण प्रकृतिको भरपर्दो र विश्वसनीय वैज्ञानिक आधारसहितको प्रमाण मान्न सकिने स्थिति भने देखिँदैन ।
११. वस्तुत: मानिसको शारीरिक वा मानसिक अवस्थाहरूको खास प्रकारको परीक्षण गरी सो व्यक्तिको शरीरमा वा व्यवहारमा देखा पर्ने परिवर्तन हेरेर सत्य-असत्यको निर्क्यौल गर्ने प्रचलन नौलो
होइन । करिब ४,००० वर्ष पहिले पनि चीनमा चिकित्सकको उपस्थितिमा अभियुक्तको मुटुको धडकन परीक्षण गरेर उसले झुठो बोलेको हो वा होइन भनी छुट्याउने गरेको कुरा त्यहाँको कानूनी इतिहासबाट देखिन्छ । बेलायतमा रोटी र चीज (दुधबाट तयार गरिने पदार्थ) बाट बनाइएको “Trial Slice” भनिने वस्तु निल्न लगाउँदा घाँटीबाट निल्न नसकेमा झुठो कुरा गरेको भनी मानिने प्रचलन पनि विगतमा रहेको
थियो । नेपालको विगतको अभ्यास हेर्दा पनि “पानी-कराई गर्ने”, धर्म भकाउने जस्ता तरिकाहरू अपनाउने प्रचलन रहेको दृष्टान्त पाउन सकिन्छ । यस प्रकारका परीक्षणका आ-आफ्ना तरिकाहरू अपनाइएका उदाहरणहरू अन्य विभिन्न देश / समाजको सन्दर्भमा पनि पाउन सकिन्छ । आधुनिक “पोलिग्राफ” परीक्षणलाई मानव जातिले विभिन्न समय र समाजमा अपनाएको उपर्युक्तअनुसारको “पानी-कराई गर्ने” जस्ता प्रकृतिको रैथाने अभ्यास (Indigenous practices) को परिमार्जित र विकसित रूप भनी मानियो भने पनि धेरै अतिशयोक्तिपूर्ण हुँदैन ।
१२. संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले सन् १९२३ मा Frye Vs. United States को मुद्दामा पोलिग्राफ परीक्षणलाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने भनी व्याख्या गरेको
देखिन्छ । उक्त विवादमा भएको फैसलादेखि लामो अवधिसम्म अमेरिकी अदालतहरूले “पोलिग्राफ” परीक्षणलाई प्रमाणमा ग्रहण नगर्ने दृष्टिकोण अपनाएको पाइन्छ । तर अमेरिकी सर्वोच्च अदालतले Daubert Vs. Merrell Dow Pharmaceuticals को विवादमा सन् १९९३ मा Frye Vs. United States मा अपनाएको भन्दा फरक दृष्टिकोण अगाडि सारेको छ र केही खास मापदण्ड पूरा गरेको स्थितिमा सिमित अवस्थामा पोलिग्राफ परीक्षण प्रतिवेदनलाई “ग्राह्य प्रमाण” हुने भनी मानेको पाइन्छ । तथापि Daubert को उल्लिखित विवादका सन्दर्भमा गरिएको व्याख्यालाई लिएर अमेरिकी बौद्धिक समुदायबिच प्रसस्त टिप्पणी र छलफल भएको पाइन्छ । पछिल्लो अवधिमा आएर केही अमेरिकी राज्यमा पोलिग्राफ परीक्षणलाई ससर्त रूपमा वा सावधानीपूर्वक प्रमाणमा ग्रहण गर्ने व्यवस्था गरिएकोसमेत देखिन्छ ।
१३. “पोलिग्राफ प्रमाणलाई” सैनिक अदालतको सुनुवाइका सन्दर्भमा “inadmissible” हुने भनी Military Rule of Evidence को नियम ७०७ मा रहेको प्रावधानका सन्दर्भमा पनि अमेरिकी सर्वोच्च अदालतले व्याख्या गरेको
पाइन्छ । उक्त प्रावधानको कारणबाट प्रमाण पेस गरी आफू विरूद्धको अभियोग खण्डन गर्न पाउने अभियुक्तको सुनुवाइसम्बन्धी अधिकारमा आघात पर्ने भएकाले यसलाई प्रमाणमा ग्रहण गरिनुपर्दछ र नियम ७०७ लाई अमान्य घोषित गरिनुपर्दछ भन्नेसमेतका प्रश्नहरू अदालतसमक्ष प्रस्तुत भएका थिए । यसरी लिइएको जिकिरलाई United States Vs. Scheffer को विवादमा अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको देखिन्छ र उक्त प्रावधान संविधानसम्मत रहेको छ भनी व्याख्या गरेको छ । यसको तात्पर्य “पोलिग्राफ” कुनै भरपर्दो र विश्वसनीय प्रमाण होइन; यसले सम्भावनाको सङ्केतसम्म गर्ने हो; “पोलिग्राफ” परीक्षण प्रतिवेदनलाई नै भरपर्दो प्रमाण मानेर कसुर ठहर गर्न हुँदैन भन्ने पनि हो । यस विषयमा स्पष्ट र सर्व-स्वीकार्य विधिशास्त्रीय दृष्टिकोण कायम हुन भने अझ पनि बाँकी नै रहेको देखिन्छ ।
१४. Canada को सर्वोच्च अदालतले R. Vs. Beland को विवादमा पोलिग्राफ परीक्षणलाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने भनी सन् १९८७ मा फैसला गरेको पाइन्छ । यसलाई प्रमाणको रूपमा ग्राह्य नमानिएको भए पनि त्यहाँका फौजदारी कसुरका अनुसन्धानकर्ताहरूले यसलाई अनुसन्धानको एउटा सहयोगी साधनको रूपमा अपनाउने गरेको देखिन्छ । इजरायलको सर्वोच्च अदालतले समेत Menora Insurance Vs. Jacob Sdovnik को विवादमा पोलिग्राफ परीक्षणलाई प्रमाणमा ग्राह्य नहुने भनी व्याख्या गरेको छ । केही देवानी व्यवहारको विषयमा पोलिग्राफ परीक्षणलाई प्रमाणमा ग्राह्य मानिने भए पनि यसका लागि केही सर्तहरूसमेत निर्धारण गरिएको देखिन्छ । युरोपका देशहरूमा रहेको अभ्यास हेर्दा सामान्यतया: पोलिग्राफ परीक्षणलाई भरपर्दो प्रमाण मानिँदैन । यस प्रकारको परीक्षणबाट आफ्नो विरूद्ध साक्षी बस्न कर नलाग्ने अधिकार (Right to remain Silent) को हनन हुन्छ भन्ने दृष्टिकोण राख्ने गरिएको पनि पाइन्छ । बेलायतमा पोलिग्राफ परीक्षण गर्न सकिने भए पनि यसलाई मुद्दाको सिलसिलामा प्रमाणमा ग्रहण गर्न मिल्दैन भन्ने मानिएको छ । तथापि, Offender Management Act, 2007 को दफा २८, २९ र ३० मा थुना तथा यौन-अपराधसम्बन्धी केही विषयमा पोलिग्राफ परीक्षण गर्ने कुरा र यसको कानूनी मान्यता सम्बन्धमा केही प्रावधान समावेश गरिएको देखिन्छ ।
१५. भारतीय सर्वोच्च अदालतले Smt. Selvi Vs. State of Karnataka को विवादमा “Narco-analysis, Polygraph examination, Brain Electrical Activation Profile (BEAP) Test” जस्ता परीक्षणका तरिकाबाट “Substantive Due Process”, “Right to Privacy”, “Right against Self-incrimination”, “Right to Fair Trial” मा आघात पर्न सक्ने कुरा औंल्याएको छ । अदालतले फैसलामा भारतीय National Human Rights Commission ले सन् २००० मा जारी गरेको “Guidelines for the Administration of Polygraph Test (Lie Detector Test) को पूर्ण परिपालना हुनुपर्ने कुरा उल्लेख गर्दै “Narco-analysis technique” तथा “Brain Electrical Activation Profile” परीक्षण गर्दा अभियुक्तको सहमति नलिई यस प्रकारको परीक्षण गर्न नहुने, सहमति Judicial Magistrate को रोहवरमा अभिलेखीकृत गर्नुपर्ने, अभियुक्तले स्वेच्छाले परीक्षण गर्न सहमति जनाएमा निजलाई कानून व्यवसायीसँग परामर्श गर्न पनि दिनुपर्ने, परीक्षणको शारीरिक, मानसिक तथा कानूनी असर वा परिणामका सम्बन्धमा निजलाई जनाउ दिनुपर्ने, मजिस्ट्रेटले अभियुक्तलाई थुनामा राखिएको अवधि र सोधपुछ गरिने विषयको प्रकृति पनि विचार गर्नुपर्ने, Lie Detector Test अस्पताल जस्ता स्वतन्त्र निकायमा र अभियुक्तको कानून व्यवसायीको उपस्थितिमा गर्नुपर्ने आदि मार्गदर्शनसमेत जारी गरेको देखिन्छ ।
१६. समय-क्रममा पोलिग्राफ परीक्षणलाई प्रमाणमा ग्रहण गर्ने वा नगर्ने सन्दर्भमा तीन प्रकारका दृष्टिकोणहरू प्रयोगमा आएको देखिन्छ । पहिलो: यसलाई कुनै पनि अवस्थामा प्रमाणका लागि ग्राह्य नमान्ने; दोस्रो: विवादका पक्षहरूले पहिले नै पोलिग्राफ परीक्षणलाई स्वीकार गर्ने कुरामा सहमति जनाएको अवस्थामा परीक्षण हुन सक्ने; र तेस्रो: केही निश्चित पूर्वसर्त पूरा भएको अवस्थामा यसलाई सीमित अवस्थामा प्रमाणको रूपमा ग्रहण गर्ने । उल्लिखित तीन प्रकारका प्रचलनहरूमध्ये पोलिग्राफ परीक्षणलाई कुनै पनि अवस्थामा प्रमाणका लागि ग्राह्य नमान्ने दृष्टिकोण नै प्राय: आम प्रचलनमा रहेको पाइन्छ भने अन्य दुई प्रकारका प्रचलनहरू अपवादस्वरूप मात्र प्रचलनमा रहेको देखिन्छ ।
१७. नेपालको सन्दर्भमा हेर्दा पोलिग्राफ परीक्षणका लागि कुनै कानूनी आधारसहित फौजदारी न्यायसँग सम्बद्ध सबै सरोकारवाला निकायहरूका लागि समान रूपमा लागु हुने सामान्य कानून, नियम, मापदण्ड, निर्देशिका, दिग्दर्शन वा मार्गदर्शन जारी भएको देखिँदैन । प्रहरी प्रधान कार्यालयले प्रहरीको आफ्नो आन्तरिक प्रयोजनका लागि “नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०” समेत जारी गरेको देखिन्छ । सो निर्देशिकामा केही परिमार्जन गरी २०७२ सालमा “नेपाल पोलिग्राफ सञ्चालन कार्यविधि” जारी गरेको पाइन्छ । उक्त निर्देशिका तथा कार्यविधिमा पोलिग्राफ परीक्षण गर्नेको योग्यता, परीक्षण गरिने क्षेत्र वा विषयहरू, परीक्षण गर्ने गराउने कार्यविधि, परीक्षण गरिने व्यक्तिको स्वीकृति लिनुपर्ने कुरा, परीक्षण प्रतिवेदन दिने तथा सोसम्बन्धी तथ्यहरू संरक्षण गरी राख्ने जस्ता केही कुराहरू समावेश गरिएकोसमेत
देखिन्छ । यसरी २०७० सालदेखि पोलिग्राफ परीक्षणको सिलसिला सुरू भएको र मुद्दामा अनुसन्धानको क्रममा कतिपय सन्दर्भमा प्रहरीबाट पोलिग्राफ परीक्षण गरिएका दृष्टान्तहरूसमेत देखिने गरेका छन् । तर यसप्रकारको परीक्षण प्रक्रियाको दुरूपयोग हुन सक्ने सम्भावित अवस्थाहरूको नियन्त्रणका लागि कानूनको उचित प्रक्रियाअनुकूलका उपायहरू अपनाइएको अवस्था देखिँदैन । यस अवस्थामा अनुसन्धान अधिकारीले आफ्नो सुविधाअनुसार गराएको पोलिग्राफ परीक्षणलाई प्रमाणमा ग्रहण गर्ने हो भने वैयक्तिक प्रतिष्ठा, स्वच्छ सुनुवाइ, गोपनीयता, आफ्नो विरूद्ध साक्षी हुन कर नलाग्नेलगायतका विविध प्रकारका हक अधिकारहरू अनुचित तबरबाट प्रभावित हुन जाने सम्भावना
रहन्छ । त्यसैले प्रक्रियागत दृष्टिले विचार गर्दा पनि परीक्षण गराउँदाको अवस्थामा प्रत्याभूत गरिनुपर्ने न्यूनतम् न्यायिक सुरक्षा (कानूनको उचित प्रक्रियासम्बन्धी संरक्षण) प्रदान नगरी तथा सावधानीका मापदण्डहरू कानूनद्वारा निर्धारित नहुँदै गरिएको पोलिग्राफ परीक्षण प्रतिवेदनलाई प्रमाणमा ग्रहण गर्नु मनासिब देखिँदैन ।
१८. कानूनी प्रावधानतर्फ दृष्टिगत गर्दा प्रमाण ऐन, २०३१ मा पोलिग्राफ परीक्षण प्रतिवेदनलाई कस्तो प्रकारको प्रमाण मान्ने हो भन्ने पक्ष प्रस्टसँग उल्लेख भएको देखिँदैन; यस सम्बन्धमा द्विविधापूर्ण वा अप्रस्ट अवस्था कायम रहेको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ३ अनुसार “अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ” । पोलिग्राफ परीक्षणबाट झुठो बोलेको कुरासम्म पहिल्याउने भएकाले यसलाई ज्यानसम्बन्धी मुद्दामा सम्बद्ध प्रमाणको रूपमा ग्रहण गर्न सजिलो देखिँदैन । पोलिग्राफ परीक्षणका सन्दर्भमा प्रतिवादीले कसुर गरेको कुरामा साबिती कथन व्यक्त गर्ने नभएर भएको वास्तविक कुरा लुकाएको वा ढाकछोप गरेको भनी विशेषज्ञले प्रतिवेदन दिने भएकाले त्यस प्रकारको बेहोरालाई पक्षले कसुर स्वीकार गरी बयान गरेको भन्ने अर्थमा लिन पनि मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा २३ बमोजिम “अदालतले विदेशी कानून, विज्ञान, कला, हस्ताक्षर वा ल्याप्चेका सम्बन्धमा राय यकिन गर्नुपरेमा सोसम्बन्धी विशेषज्ञको राय प्रमाणमा लिन हुन्छ” । उल्लिखित प्रावधानमा “विज्ञान” भन्ने शब्द पनि उल्लेख भएको र पोलिग्राफ परीक्षण गर्दा सो विषयसम्बन्धी विज्ञले प्राविधिक सूत्र र यन्त्रको प्रयोग गर्ने भएको हुँदा यसलाई व्यक्तिगत राय (विशेषज्ञको राय) को रूपमा प्रमाणमा ग्रहण गर्न सकिने हो कि भन्ने पनि प्रतीत हुन्छ । तर समग्रमा हेर्दा पोलिग्राफ परीक्षणलाई भरपर्दो र विश्वसनीय वैज्ञानिक परीक्षणको रूपमा मान्न सकिने आधार देखिँदैन । यस प्रकारको परीक्षणबाट कतिपय अवस्थामा मानव प्रतिष्ठा, स्वच्छ सुनुवाइ, गोपनीयता, आफ्नो विरूद्ध साक्षी हुन कर नलाग्नेलगायतका विविध प्रकारका वैयक्तिक हकहरू अनुचित तबरबाट प्रभावित हुन जाने सम्भावना रहन्छ । साँचो वा झुठो बोल्नुलाई व्यक्तिको चारित्रिक विषयसँग सम्बन्धित मानेर हेरियो भने प्रमाण ऐन, २०३१ को दफा २४ बमोजिम “मुद्दामा पक्षहरूको चरित्र असल वा खराब छ भन्ने कुरा प्रमाणमा लिन हुँदैन” भनी उल्लेख भएको प्रावधानको प्रतिकूल प्रमाणमा ग्रहण गरेको हुन जाने अवस्था पनि रहन सक्तछ । पोलिग्राफ परीक्षण र यसको स्वीकार्यताका कुरालाई व्यवस्थित र नियमन गर्न विधायिका निर्मित आवश्यक कानूनी आधारको समेत अभाव रहेको देखिन्छ । यस अवस्थामा विश्वसनीय र भरपर्दो वैज्ञानिक आधार नदेखिएसम्म हालको स्थितिमा पोलिग्राफ परीक्षणलाई प्रमाणमा ग्रहण गरी प्रतिवादीउपरको ज्यान मारेको भन्ने अभियोग दाबी ठहर गर्नु मनासिब देखिँदैन ।
१९. प्रतिवादी सपुर धामीको ०४/०८/२०१५ मा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, सुर्खेतमा पोलिग्राफ परीक्षण गरिएको देखिन्छ । सो परीक्षणको प्रतिवेदनमा “Deception Indicated by the physiological responses to the test stimulus questions during this examination” भनी उल्लेख गर्दै “These test results are limited to the above reported target issues of concern and cannot be taken as a direct indicator of general or overall dishonesty and untrustworthiness” भन्ने बेहोरासमेत खुलाइएको देखियो । प्रतिवेदन स्वयम्ले समेत कुनै भरपर्दो र निश्चित आधार खुलाएको अवस्था देखिँदैन । यसका अतिरिक्त विवादित पोलिग्राफ परीक्षण गर्नुअगाडि प्रतिवादी सपुर धामीको सहमति वा स्वीकृति लिएको तथ्य मिसिलबाट देखिन आएन । निजलाई पोलिग्राफ परीक्षणका विषयमा कानून व्यवसायीसँग सल्लाह वा परामर्श गर्ने अवसर दिइएको थियो भन्ने पनि खुल्न आएको पाइएन । प्रतिवादीले अदालतमा बयान गर्दा स.ज. २३ मा पोलिग्राफ परीक्षणको कुरालाई अस्वीकार गरेकोसमेत देखिन्छ । “Polygraph Examiner” अमृत थापा मगरले उच्च अदालत सुर्खेत, जुम्ला इजलासको आदेशबमोजिम बन्दसवालमार्फत गरेको मिति २०७३/१०/२५ को बकपत्रमा “प्रतिवादीको बयानको Polygraph Report तयार गर्दा त्यसमा ९५.७% प्रतिवादीको बयान झुठ्ठा भनी कहीँकतै उल्लेख नगरिएको, प्रतिवेदनमा मात्रै Deception Indicated भनेर उल्लेख गरिएको हो; Deception Indicated को अर्थ प्रतिवादीले Polygraph test को क्रममा बोलेको / सोधिएको प्रश्नको जवाफ दिँदा सबै सत्य नदिएको वा केही कुरा लुकाएको हुन सक्ने वा इमान्दारिता नदेखाएको (Dishonesty doubtful) भन्ने हुन्छ; तसर्थ Polygraph test गर्ने क्रममा अभियुक्तले बोलेका कुराहरू शतप्रतिशत सत्य वा शतप्रतिशत झुठ्ठा हुन्छ भनेर उल्लेख गर्न सकिँदैन; मैले तयार गरेको प्रस्तुत मुद्दाको Report मा प्रतिवादीको बयान ९५.७% झुठ्ठा भन्ने उल्लेख गरेको थिइन र त्यसरी लेख्न पनि मिल्दैन” भनी उल्लेख गरेको देखिन्छ । अमृत थापा मगरको उल्लिखित बकपत्रबाट पनि प्रतिवादीउपरको अभियोग दाबी ठहर गर्न कुनै प्रकारबाट सहयोग प्राप्त हुने अवस्था देखिँदैन ।
२०. संक्षेपमा भन्नु पर्दा पोलिग्राफ परीक्षण प्रतिवेदन कुनै भरपर्दो प्रमाण होइन; कतिपय मुलुकमा यसलाई प्रमाणमा अग्राह्य मानिएकोसमेत देखिन्छ; नेपालका सन्दर्भमा पोलिग्राफ परीक्षण पद्धतिलाई वैज्ञानिक रूपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानूनी आधारहरू तयार भएको अवस्था पनि देखिँदैन; यस प्रकारको परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका केही मौलिक हक अधिकारमा आघात पर्न सक्ने सम्भावनासमेत रहेको देखिन्छ; यस प्रकारको परीक्षणले अभियोग प्रमाणित वा खण्डित गर्न कुनै खास तार्किक आधारसमेत प्रदान गर्ने देखिँदैन; पोलिग्राफ परीक्षणबाट अनुसन्धानकर्ताको कार्यमा केही सहजीकरण प्राप्त हुन सक्ने भए पनि यसले मुद्दाको सिलसिलामा आरोपित कसुर ठहर गर्न उपयोगी हुने सम्बद्ध प्रमाणको स्थान ग्रहण गर्न सक्ने देखिँदैन । तसर्थ, पोलिग्राफ परीक्षण प्रतिवेदनलाई कुनै कसुरको अभियोग दाबी ठहर गर्ने प्रयोजनका लागि प्रमाणमा ग्रहण गर्न मिल्ने देखिएन ।
२१. माथिका विभिन्न प्रकरणहरूमा उल्लेख गरिएका तथ्यगत बेहोरा, प्रमाणको स्थिति, तथा विवेचना र विश्लेषणबाट कुनै पनि प्रत्यक्ष प्रमाण विद्यमान नरहेको अवस्थामा सामाजिक जीवनका नियमित घटना र व्यवहार प्रकृतिका केही सामान्य सन्दर्भहरूलाई परिस्थितिजन्य प्रमाणको रूपमा उल्लेख गरी सुरू जिल्ला अदालत र उच्च अदालतले समेत प्रतिवादी सपुर धामीलाई ज्यानसम्बन्धी मुद्दामा कसुरदार ठहर गरेको देखिन आयो । परिस्थितिजन्य प्रमाणको प्रामाणिक मूल्य सम्बन्धमा यस अदालतबाट बुद्धिप्रसाद सुवेदीको मुद्दामा भनिएको छ: “परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधारबिन्दु र सम्बद्ध तथ्यको कडी एक-आपसमा एकबद्ध रूपले आबद्ध एवं गाँसिएको हुनुपर्दछ; सो गाँसिएको मालाकार कडीमा कुनै छुट हुनु हुँदैन; एउटा तथ्य अर्को तथ्यसँग अन्योन्याश्रित हुनु अपरिहार्यता छ; एक-आपससँग गाँसिएको यिनै तथ्यगत कडीलाई समातेर नै एउटा ठोस आधारमा अभियुक्त निर्दोष छैनन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ भने परिस्थितिजन्य प्रमाणले मद्दत गर्दछ” । उल्लिखित नजिर सिद्धान्तका सन्दर्भमा हेर्दा प्रस्तुत मुद्दामा परिस्थितिजन्य प्रमाण भनी देखाइएका कुनै पनि कुराले कसुर स्थापित गर्न मद्दत वा सहयोग पुग्ने अवस्था देखिँदैन । “कुनै पनि हत्याको आपराधिक कार्य प्रमाणित हुनको लागि सो कार्य दूषित मनसाय (Mens Rea) राखी पूर्वयोजना बनाई कार्य (Actus Reus) गरिएको हुनुपर्दछ; सो कार्यको परिणामको पूर्वजानकारी (Foresightness of Consequence) र परिणाम घटाउने इच्छा (Desire of Consequence) समेत हुनुपर्दछ; कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरूद्वारा गरिएको कार्यमा ती चार तत्त्वहरू रहेका थिए भन्ने कुरा वादी पक्षले नै ती कुरा स्थापित भएको प्रमाणित गर्नुपर्दछ” भनी यस अदालतबाट सिद्धान्त कायम भएकोसमेत देखिन्छ । यसरी प्रतिपादित सिद्धान्तका दृष्टिले हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादी सपुर धामीउपरको अभियोग दाबी ठहर गर्न सकिने कुनै पनि भरपर्दो आधार विद्यमान रहेको देखिन आएन । शंकाको सुविधा अभियुक्तले पाउँदछ भन्ने फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने गरी प्रतिवादी सपुर धामीलाई केवल शंका र अनुमानको आधारमा कसुरदार ठहर गरिएको देखियो । तसर्थ, सुरू हुम्ला जिल्ला अदालत तथा उच्च अदालत सुर्खेत, जुम्ला इजलाससमेतले गरेको फैसलालाई उचित, मनासिब र न्यायपूर्ण मान्न मिलेन ।
२२. अतः यसमा प्रतिवादी सपुर धामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको सुरू हुम्ला जिल्ला अदालतको मिति २०७२/८/२८ को फैसला सदर हुने ठहर गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको मिति २०७४/१/७ को फैसला त्रुटिपूर्ण देखिँदा सो फैसला उल्टी भई निज प्रतिवादी सपुर धामीले प्रस्तुत मुद्दाको अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू :
तपसिल
१. प्रतिवादी सपुर धामीले अभियोग दाबीबाट सफाइ पाउने ठहर भएको हुँदा निजलाई कैदबाट तत्काल मुक्त गर्नु भनी यस इजलासबाट भएको पूर्वसंक्षिप्त आदेशबमोजिम निजलाई कैदबाट मुक्त गर्न लेखी पठाइसकेको देखिँदा सोतर्फ अरू थप केही गर्नु परेन ।
२. सुरू जिल्ला अदालत तथा उच्च अदालतको फैसलाअनुसार निज प्रतिवादी सपुर धामीका नाउँमा कायम राखिएको सर्वस्वसहित जन्मकैद सजायको लगत कट्टा गरिदिनू भनी सुरू हुम्ला जिल्ला अदालतमा लेखी पठाइदिनू ।
३. प्रस्तुत फैसलाको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयमा लेखी
पठाइदिनू ।
४. फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी, दायरीको लगत कट्टा गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत:- विनोदप्रसाद घिमिरे
इति संवत् २०७८ साल साउन २८ गते रोज ५ शुभम् ।