शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८१६ - कर्तव्य ज्यान

भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल

फैसला मिति : २०७८।४।२१

०७५-CR-०५२६

 

मुद्दाः- कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला झार्लाङ गा.वि.स. वडा नं. ३ मेयम साबिक घर भई हाल कारागार कार्यालय धादिङ कारागार थुनामा रहेको लामा तामाङको नाति बलबहादुर तामाङको छोरा वर्ष २४ को रूम भन्‍ने सन्तोष तामाङ

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : धादिङ जिल्ला साबिक सेर्तुङ गा.वि.स. वडा नं. ८ बस्ने बिलबहादुर तामाङको जाहेरीले नेपाल सरकार

 

अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित तथा सत्य साबित हुन सक्नुपर्दछ । त्यस्तै सङ्कलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण नभई एकबाट अर्को समर्थन हुन सक्ने हुनुपर्ने हुन्छ । यदि अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित हुन आएनन् र परस्पर विरोधाभाषपूर्ण देखिए भने त्यस्ता प्रमाणको आधारमा कसैलाई अभियोग दाबीको कसुर गरेको रहेछ भनी दोषी ठहर गर्नु न्यायोचित नहुने ।

वादी पक्षले प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेको कुरा अदालत सामु सर्वोत्तम प्रमाण पेस गरी पुष्ट्याईं गर्न सक्नुपर्दछ । वादीले पेस गरेका प्रमाणहरू परस्पर समर्थित, प्रत्यक्ष तथा द्विविधारहित भएमा मात्र सर्वोत्तम प्रमाण मानिन्छन र त्यस्ता प्रमाणहरूलाई मात्र अभियोग दाबी ठहर गर्न आधारका रूपमा लिन सकिने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री शोषित अकेला बानियाँ र श्री कृष्ण प्रसाद पोख्रेल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री भरत लम्साल

धादिङ जिल्ला, अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री भिमकुमार ओझा 

माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल

उच्च अदालत, हेटौंडा

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः-

तथ्य खण्ड

मेरो कान्छा काका पलबहादुर तामाङले धादिङ जिल्ला झार्लाङ गा.वि.स. वडा नं.३ सिन्दुङमा चिया पसल राखी बसी आउनुभएकोमा विपक्ष रूम भन्ने सन्तोष तामाङले खाजा खाएको पैसा रू.१०९५।- तिर्न बाँकी रहेको, काकी पूर्णमाया तामाङ काम विशेषले कञ्‍चनपुर जानु भएकोले घरमा कान्छा काका मात्र एक्लै रहेकोमा मिति २०७३/३/४ गते बेलुकी कुदिङमा रहेको सुशिला तामाङको घरमा आई काकी र छोरालाई फोन गरी घर फर्कन लागेको अवस्थामा बाटोमा सन्तोष तामाङलाई भेटेपछि पैसाको कुरा गर्दा तँ मसँग पैसा माग्ने भनी विपक्षीले एक्कासि त्यहाँ रहेको दाउराले हिर्काउन थालेपछि काका आफ्नो ज्यान बचाउन भाग्दै घस्या तामाङको घरमा पस्दासमेत विपक्षीले लखेटी लखेटी प्रहार गरी मर्‍यो भनेपछि मात्र छोडी गएकोमा उपचारको लागि काठमाडौं टिचिङ हस्पिटल पुर्‍याएको केही समयमा नै २०७३/३/५ गते राति अं.१०:३० बजे मृत्यु भएकोले कारबाही गरिपाउँ भन्ने बेहोराको बिलबहादुर तामाङको जाहेरी 

दरखास्त । 

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ महाराजगन्ज स्थित त्रि.वि.शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभागको लास घर रहेको मृतक लासको बायाँ हातको हत्केलाको भागमा १x७ चिरिएको जस्तो घाउ रहेको, दाहिने आँखाको ढकनी वरिपरि कालो निलडाम रहेको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।

जिल्ला धादिङ झार्लाङ गा.वि.स. वडा नं.३ स्थित पूर्व सेर्तुङ जाने बाटो, पश्‍चिम सुनबहादुर तामाङको घर, उत्तर गोविन्द तामाङको घर, दक्षिण प्रकाश तामाङको घर यति चार किल्लाभित्र मिति २०७३।०३।०४ गतेको दिन बेलुका अं.०७:३० बजेको समयमा पलबहादुर तामाङलाई प्रतिवादी रूम भन्ने सन्तोष तामाङले काठको चिरपट दाउराले कुटपिट गरी घाइते बनाएको घटनास्थल रहेको, घटनास्थलमा काठको चिरपट फेला परेको भन्ने बेहोरासमेतको घटनास्थल प्रकृति मुचुल्का । 

मृतक पलबहादुर तामाङको मृत्युको कारण Blunt force injury to head भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन । 

मृतक पलबहादुर तामाङले जिल्ला धादिङ झार्लाङ गा.वि.स. वडा नं.३ मा पसल सञ्चालन गर्दै आएकोमा मैले निजको पसलमा गई उधारोमा रक्सी तथा खाजा खाएको पैसा रू.११००।- तिर्नुपर्ने 

थियो । मिति २०७३/३/४ गतेका दिन दिउँसो म पल्लो गाँउमा घुमफिर गर्न गई साँझपख मृतकको पसल हुँदै घर फर्किंदै गर्दा बाटोमा निजसँग भेट भएपछि निजले मलाई रोकी पैसा माग्दा मैले हाल मसँग पैसा छैन पैसा आएपछि चुक्ता गरिदिन्छु भनी भन्दा निजले मुख छाडी तँसँग कहिले पनि पैसा हुँदैन भनी मलाई हात हाली धकेली दिएपछि रिस उठी सोही ठाउँमा रहेको काठको चिरपट दाउरा उठाई निजको टाउकोमा प्रहार गरी घाइते बनाई निजको उपचारको क्रममा मृत्यु भएको हो, मृतकलाई घटनास्थलमा बरामद भई आएको लाठीले एक पटक टाउकोमा प्रहार गरेको हो लखेटी लखेटी पटकपटक प्रहार गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी रूम भन्ने सन्तोष तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०७३।०३।०४ गते जिल्ला धादिङ झार्लाङ गा.वि.स. वडा नं.३ स्थित प्रतिवादी रूम भन्ने सन्तोष तामाङले पलबहादुर तामाङलाई काठको चिरपट लाठीले प्रहार गरी कुटपिट गरी मर्न सक्ने अवस्थामा छोडी दिएकोमा टिचिङ अस्पताल काठमाडौंमा लगी उपचार गराउँदा निजको उपचारको क्रममा मिति २०७३/३/५ गते मृत्यु भएको हो, भन्नेसमेत बेहोराको बुझिएका दमसिं तामाङ, कलसङ तामाङ, हरिबहादुर तामाङले गरी दिएको एकै मिलानको संयुक्त घटना विवरण कागज । 

मिति २०७३/३/४ गते प्रतिवादीले पलबहादुर तामाङलाई कुटपिट गरी घाइते बनाई छोडी गएको अवस्थामा मसमेतका मानिसहरूले बोकी उपचारको लागि स्थानीय अस्पतालमा लगेकोमा उपचार हुन नसकी काठमाडौं टिचिङ अस्पतालमा लगी उपचार गराई राख्दा निजको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रकाश तामाङ, बलबहादुर तामाङ, कामीरोङ तामाङसमेतले गरी दिएको करिब एकै मिलानको घटना विवरण कागज । 

घटना सम्बन्धमा कागज गर्ने प्रयोजनको लागि जिल्ला धादिङ झार्लाङ गा.वि.स. वडा नं.३ बस्ने घस्या तामाङलाई उपस्थित गराउन मलाई खटाई पठाइएको खटी गई निजलाई खोज तलास गर्दा निज गाउँमा फेला नपरेको, निज काम विशेषले भारततर्फ गएको भन्ने बुझिन आएको भन्ने बेहोरासमेतको प्रहरी प्रतिवेदन । 

मिति २०७३/३/४ गते म घटनास्थलमा नै थिएँ । उक्त दिन बेलुका अं.०७:३० बजेको समयमा जिल्ला धादिङ झार्लाङ गा.वि.स. वडा नं. ३ स्थित हाल मृत्यु भएका पलबहादुर तामाङलाई प्रतिवादी रूम भन्ने सन्तोष तामाङले लाठीले कुटपिट गरी घाइते भएकोमा टिचिङ अस्पतालमा लगी उपचार गराउँदा निजको उपचारको क्रममा मिति २०७३/३/५ गतेका दिन राति मृत्यु भएको हो भन्नेसमेत बेहोराको घस्या तामाङ भन्ने सुश्री बुश्या तामाङको कागज । 

मिति २०७३/३/४ गतेका दिन बेलुका अं.७:३० बजेको समयमा मृतक पलबहादुर तामाङलाई प्रतिवादी रूम भन्ने सन्तोष तामाङले लाठीले कुटपिट गरी लखेट्दै गरेको अवस्थामा मसमेतका मानिसहरूले देखेको हो । निज प्रतिवादीले मृतक पलबहादुर तामाङलाई कुटपिट गर्दा घाइते भएकोमा उपचारको क्रममा मिति २०७३/३/५ गते राति मृत्यु भएको हो भन्नेसमेत बेहोराको सुशिला तामाङको कागज । 

प्रतिवादी रूम भन्ने सन्तोष तामाङले मृतकको पसलमा उधारो खाजा खाएको पैसा रू.१०९५/ तिर्ने विषयको रिसइवी लिई मार्ने मनसाय राखी काठको चिरपटले संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी सोही चोट पीडाको कारण उपचारको क्रममा मृतक पलबहादुर तामाङको मृत्यु भएको देखिँदा प्रतिवादी रूम भन्ने सन्तोष तामाङको उल्लिखित कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३ नं. को देहाय ३ को कसुर भएकोले सोही महलको १३ नं. को देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग पत्र । 

मृतक पलबहादुर तामाङको गाउँमा पसल भएकोले निजको पसलमा खाजा रक्सी खाने गरेको थिएँ । खाजा खाँदा कहिले पैसा तिर्ने कहिले उधारो पनि खाने गरेकोमा मैले निजलाई रू.११००।- तिर्नुपर्ने थियो । मिति २०७३/३/०४ गते मैले रक्सी खाएको थिएँ, धेरै लागेको पनि थियो । राति करिब ८ बजेको समयमा घुम्न निस्किएको थिएँ । बाटोमा यी मृतकसँग भेट भयो । निजले मेरो पैसा देउ भन्दा मैले अहिले छैन पछि दिउँला भनेकोमा निजले जहिले पनि यस्तै गर्छस् भनेर मलाई धकेल्दा म लड्न पुगेँ । मलाई रिस उठ्यो, नसाको सुरमा एउटा दाउरा टिपेर टाउकोमा 

हानिदिएँ । मैले एक पटक हिर्काएपछि उनी आफ्नो घरतर्फ गए, म पनि आफ्नो घर गएँ । पछि निजलाई जाँच गराउन काठमाडौं लगेछन् र काठमाडौंमा उपचार गर्दागर्दै मिति २०७३/०३/०५ गते निजको मृत्यु 

भएछ । मैले हिर्काएको चोटले वा अन्य कारणले मृत्यु भएको भन्ने यकिन भन्न सक्दिन । निज पहिला पनि भिरबाट लडेर घाइते भएका थिए । मैले मार्ने नियतले हानेको होइन, तत्काल उठेको रिस थाम्न नसकी काठको दाउराले एक पटक हानेको हो भन्ने बेहोराको प्रतिवादी रूम भन्ने सन्तोष तामाङले अदालतमा गरेको बयान । 

प्रतिवादी रूम भन्ने सन्तोष तामाङले हिर्काएको चोटको कारण मृतक मेरो काका पलबहादुर तामाङको उपचार गर्दागर्दै मृत्यु भएको हो भन्ने बेहोराको जाहेरवाला बिलबहादुर तामाङले अदालतमा गरेको बकपत्र । 

प्रतिवादी र मृतकको बिचमा झगडा भएको देखेको होइन, झगडा भएपश्चात् घाइते अवस्थामा छ भन्ने थाहा पाई उपचार गराउन टिचिङ अस्पतालमा लगेकोमा उपचारको क्रममा मृतकको मृत्यु भएको हो भन्ने बेहोराको वादीका साक्षी कामी तामाङले अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले मृतकलाई हात मुक्काले हिर्काएको देखेको हो, अन्य बेहोरा मलाई थाहा छैन भन्ने बेहोराको वादीका साक्षी घुस्सा तामाङले अदालतमा गरेको बकपत्र । 

प्रतिवादीले मृतकलाई लाठी प्रहार गरेको थाहा भएन, मृतक पलबहादुर घाइते भएको अवस्थामा उपचारको लागि टिचिङ अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो भन्ने बेहोराको वादीका साक्षी प्रकाश तामाङले अदालतमा गरेको बकपत्र । 

प्रतिवादी र मृतकको बिचमा लेनदेनको विषयमा भनाभन हुने क्रममा प्रतिवादीले मृतकलाई लट्ठीले हिर्काएको र भोलिपल्ट बिहान मृतक पलबहादुर तामाङ बिरामी भएकोले उपचारका लागि अस्पताल लगेकोमा उपचारकै क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको भन्ने सुनेको हो । प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको होइन भन्ने बेहोराको प्रतिवादीका साक्षी लालबहादुर तामाङले अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सन्तोष तामाङकै कर्तव्यबाट पलबहादुर तामाङको मृत्यु भएको तथ्य शङ्कारहित तवरबाट पुष्टि हुन आएकोले प्रतिवादी सन्तोष तामाङले अभियोग दाबीबमोजिम कसुर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू धादिङ जिल्ला अदालतको मिति २०७३/११/२३ को फैसला । 

मृतक र म प्रतिवादीको बिचमा बाटोमा भेट हुँदा मृतकले म प्रतिवादीसँग रकम माग्ने क्रममा भनाभन हुँदा निज मृतकले मलाई धकेली दिएको कारण म लड्न गएँ । सोही कारण मलाई रिस उठेकोले सोही स्थानमा रहेको काठको दाउराले मृतकलाई तर्साउन स्वरूप सामान्य प्रहार गरेको मात्र हो । मैले दाउराले हिर्काएपछि पनि निज मृतक आफैँ हिँडी आफ्नो घरतर्फ जानुभएको हो । मैले मृतकलाई मार्ने उद्देश्यले धारिलो तथा साङ्घातिक हतियार प्रहार गरेको 

होइन । पटकपटक प्रहार गरेको पनि होइन । सो कुरा मिसिल संलग्न प्रमाण कागजहरूले पुष्टि गर्दागर्दै प्रतिवादीले मार्ने उद्देश्यले नै मृतकलाई प्रहार गरी मारेको हो भन्ने अर्थ लगाई मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सजाय हुने ठहर गरेको सुरू धादिङ जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रूम भन्ने सन्तोष तामाङको पुनरावेदन पत्र ।

मृतक पलबहादुरको Autopsy Report बाट निजको टाउको, हात र समग्र पेटको भागमा चोट लागेको देखिनुका साथै Internal examination मा Extradural hemorrhage is present over bilateral temporal regions, Multiple linear fractures are present over right parental bone, there are diastases of left coronal suture भन्ने देखिन्छ । मृत्यु प्रतिवादीको चोटको कारणले नभई अन्य कारणले मृतकको मृत्यु भएको भन्ने कुराको पुष्टि निज प्रतिवादीको भनाइ तथा अन्य कहीँकतैबाट भएको छैन । मृतक पलबहादुर तामाङको शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण Blunt Force Injury To Head भन्ने देखिन्छ । त्यसैले प्रतिवादी सन्तोष तामाङलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको सुरू धादिङ जिल्ला अदालतको मिति २०७३/११/२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४/०७/२७ को फैसला ।

म पुनरावेदक गाउँघरमा सामान्य ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति हुँ । मृतक पलबहादुर तामाङ मेरै गाउँघरमा सामान्य होटेल व्यवसाय सञ्‍चालन गरी आएका मानिस थिए । मिति २०७३।३।४ गतेका दिन म सो गाउँमा ज्याला मजदुरी गरी काम सकेपछि खाजा खाने क्रममा केही रक्सी खाई जेनतेन पल्लो गाउँबाट घरतर्फ आइरहेको अवस्थामा निज मृतक पलबहादुर तामाङसँग जम्का भेट 

भयो । निज पलबहादुरले मेरो पैसा देउ भनी भन्दा मैले अहिले पैसा छैन भएपछि दिइहाल्छु भनेकोमा निजले मलाई धकेली लडाई दिनुभयो । सोही कारण मलाई रिस उठी नजिकै रहेको दाउराको चिरपट समाती एक पटक मात्र हिर्काएको थिएँ । त्यसपछि निज पलबहादुर र म घरतिर गएका थियौं । अन्य झै-झगडा केही भएको थिएन । निज पहिले पनि भिरबाट लडी घाइते थिए । तत्काल मृतकले नै पहिला हात हाली मलाई बाटोमा लडाई दिएको कारणले मात्र रिस उठी एक पटक मात्र हिर्काएको हो । सोही चोट पटकको कारणले मात्र मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो, मलाई थाहा भएन । प्रत्यक्षदर्शी भनिएकी घस्या तामाङ भन्ने सुश्री बुस्या तामाङले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा बलबहादुर तामाङलाई प्रतिवादी रूम भन्ने सन्तोष तामाङले कुटपिट गर्दा घाइते भई उपचार गराउँदा मृत्यु भएको हो भनी कागज गरेको भए पनि निजले अदालतसमक्ष बकपत्र गर्दा आफूले प्रहार गरेको नदेखेको भनी लेखाई दिएको पाइन्छ । जाहेरी बेहोरा र जाहेरवालाले अदालतमा गरिदिएको बकपत्रसमेत परस्पर विरोधाभाषपूर्ण छ । अनुसन्धानका क्रममा सङ्कलित अन्य प्रमाणहरूले पनि एक अर्कोलाई समर्थन गरेको पाइँदैन । म प्रतिवादीले मृतक पलबहादुर तामाङलाई लखेटी लखेटी कुटपिट गरेको भन्ने वादी दाबी शङ्कारहित तवरले प्रमाणित गर्ने कुनै प्रमाण रहेको छैन । त्यसैले मलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्नेसमेत बेहोराको पुनरावेदक रूम भन्‍ने सन्तोष तामाङको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा मृतकले नै गाली गलौज गरी धकेली हातपात गरेको अवस्थामा सोही स्थानमा भेटिएको दाउराको चिर्पटले एक पटकसम्म हिर्काएको भन्ने प्रतिवादीको बयान कागज रहेको छ । साथै मृतकको पोस्टमार्टम रिपोर्ट, लास जाँच मुचुल्कासमेतका तथ्य प्रमाणहरूको आधारमा ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम प्रतिवादीलाई सजाय गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहबाट फरक पर्न सक्ने भएबाट साबिक मुलुकी ऐन, अ.बं.२०२ नं. तथा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) नं. बमोजिम छलफलको लागि प्रत्यर्थी वादी नेपाल सरकारलाई प्रस्तुत पुनरावेदन पत्रको जानकारी दिई नियमानुसार पेस गर्नु भन्‍ने बेहोराको यस अदालतबाट मिति २०७७।३।१४ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितको मिसिल कागजहरू अध्ययन गरी पुनरावेदक / प्रतिवादी रोम भन्ने सन्तोष तामाङका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री शोषित अकेला बानियाँ र श्री कृष्णप्रसाद पोख्रेलले यी प्रतिवादीले आफूलाई पैसा देउ भनी बाटोमा नै धकेलेको कारणबाट रिस उठी नजिकै रहेको दाउराको चिर्पटले एक पटक मात्र हिर्काएका हुन् । लखेटेर पटकपटक हिर्काएको भन्ने कुरा नि:सन्देह प्रमाणित हुन सकेको छैन । यस्तो अवस्थामा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अनुसार आवेशप्रेरित हत्यामा सजाय हुनुपर्ने भनी र प्रत्यर्थी / वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेलले मृतकको टाउकोमा गम्भीर चोट रहेको, अनुहार र पेटमा निलडाम देखिएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिन्छ । यस्तो अवस्थामा निजले आवेशप्रेरित हत्या गरेको भन्न नमिल्ने भएकोले निजलाई अभियोग दाबीअनुसार सजाय गरेको फैसला सदर हुनुपर्ने भनी गर्नुभएको बहस जिकिरसमेत 

सुनियो ।   

उपर्युक्तानुसारको बहस सुनी मिसिल अध्ययन गर्दा, मृतकले आफ्नो पसलमा उधारो खाजा खाएको पैसा तिर्न भनी प्रतिवादी रूम भन्ने सन्तोष तामाङलाई भनेकोले सोही विषयको रिसइवी लिई काठको चिरपटले पलबहादुर तामाङको संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी सोही चोट पीडाको कारण उपचारको क्रममा निजको मृत्यु भएको देखिएकोले प्रतिवादीको उल्लिखित कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३ नं. को देहाय ३ को कसुर देखिँदा सोही महलको १३नं. को देहाय ३ बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा प्रतिवादी सन्तोष तामाङलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरी सुरू धादिङ जिल्ला अदालतबाट फैसला भएको देखियो । सोउपर आफूले मृतकलाई मार्ने उद्देश्यले धारिलो तथा साङ्घातिक हतियार प्रहार गरेको होइन र पटकपटक प्रहार गरेको पनि होइन तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सजाय हुने ठहर गरेको सुरू धादिङ जिल्ला अदालतको मिति २०७३/११/२३ फैसला त्रुटिपूर्ण भएको भनी पुनरावेदन गरेकोमा उच्च अदालत पाटनबाट सुरू फैसला सदर हुने ठहरी फैसला भएको पाइयो । सो फैसलाउपर निज प्रतिवादीको आफूले मार्ने मनसायले प्रहार नगरी तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेकोले आवेशप्रेरित हत्याका रूपमा मात्र सजाय हुनुपर्ने भनी यस अदालतमा पुनरावेदन गरेको पाइएको छ । 

उपर्युक्त सन्दर्भमा उच्च अदालत पाटनको फैसला मिलेको छ वा छैन ? तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. उपर्युक्तानुसार निर्णयमा पुग्न प्रस्तुत कसुर कर्तव्य ज्यानको कोटीमा पर्दछ वा आवेश प्रेरित हत्याको कोटीमा पर्दछ भन्ने विषय नै निरूपण गर्नुपर्ने हुन आयो । यसमा आफ्नो काका पलबहादुर तामाङको सन्तोष तामाङसँग बाटोमा भेट भई उधारो खाएको पैसा माग्दा निज सन्तोष तामाङले मसँग पैसा माग्ने भनी त्यहाँ रहेको दाउराले हिर्काएको र पलबहादुर तामाङ ज्यान बचाउन भागी घस्या तामाङको घरमा पस्दासमेत लखेटी लखेटी प्रहार गरेको कारण उपचारको क्रममा निज पलबहादुर तामाङको मृत्यु भएकोले सन्तोष तामाङलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी बिलबहादुर तामाङको जाहेरी दरखास्त दर्ता भएको पाइन्छ । निजले अदालतमा गरेको बकपत्रमा प्रतिवादीले मृतक काकालाई रक्सी ल्याउ भन्दा बाँकी पैसा दिएपछि मात्र दिन्छु भनी भनेकोले दुवैबिच भनाभन हुँदा काकालाई लखेटी लखेटी काका बच्न घस्या तामाङको घरभित्र पसेको अवस्थामा समेत प्रहार गरेकोले सोही चोटका कारण निजको मृत्यु भएको आफूले घस्या तामाङबाट सुनेको भनी लेखाइदिएको पाइएको छ । शव परीक्षण प्रतिवेदनमा Blunt Force Injury to Head भनी उल्लेख भएको पाइएको छ । यी पुनरावेदक / प्रतिवादीले मृतक पलबहादुर तामाङले आफूलाई बाटोमा भेटी उधारो खाएको पैसा माग्दा आफूले अहिले पैसा नभएको पछि दिने छु भनी भनेकोमा निजले आफूलाई गाली गरी धकेलेकोले रिस उठी नजिकै रहेको चिर्पटले एक चोट हिर्काएको हो, लखेटी लखेटी प्रहार गरेको होइन, त्यतिबेला आफूले रक्सीसमेत खाएको, मार्ने कुनै मनसाय नभएकोमा तत्काल उठेको रिसले मात्र प्रहार गरेको भनी अनुसन्धानको क्रममा गरेको बयानमा उल्लेख गरिदिएको पाइएको छ । निजले अदालतमा बयान गर्दासमेत सोही अनुसन्धानको बयानसँग मिल्ने भिड्ने गरी बयान गरिदिएको छ । घटना विवरण कागज गर्ने दम सिं तामाङ, कलसिं तामाङ, हरिबहादुर तामाङ, कामीरोङ तामाङ, तलबहादुर तामाङ, प्रकाश तामाङसमेतले प्रतिवादीले मृतकलाई एक्कासि लाठीले प्रहार गरेको कारण मृतकको टाउकोमा गहिरो चोट लागी मृत्यु भएको भनी लेखाइदिएको अवस्था छ । निजहरूमध्येका प्रकाश तामाङ र कामीरोङ तामाङले अदालतमा बकपत्र गर्दा भने प्रतिवादी र मृतकबिच कुटपिट भएको आफूले नदेखेको झगडा भएपश्चात् बिरामी भएको भनी सुनी अस्पताल लगेको हो र उपचारका क्रममा निजको मृत्यु भएको हो, निजहरूबिच कुनै रिसइवी थिएन र अनुसन्धानका क्रममा आफूले लेखाएको बेहोरा झुटा हो भनी लेखाइदिएको 

पाइन्छ । मौकामा कागज गर्ने घस्या भन्ने वुश्या तामाङ र सुशिला तामाङले आफूले पलबहादुर तामाङलाई प्रतिवादी सन्तोष तामाङले लाठीले कुटपिट गरी लखेट्दै गरेको अवस्थामा देखेको र निजले कुटपिट गरी घाइते बनाएको कारणले मृतकको उपचारका क्रममा मृत्यु भएको हो भनी मौकामा गरेको कागजमा उल्लेख गरिदिएको देखिन्छ । निज घस्या तामाङले अदालतमा गरेको बकपत्रमा भने आफूले प्रहार गरेको नदेखेको, घरमा आउँदा मृतक पलबहादुर आफ्नो घरमा भएको प्रतिवादी सन्तोष तामाङ भने नभएको, आफूले लखेटेको नदेखेको, श्रीमान्‌लाई बोलाउन जानुभन्दा अगाडि आफ्नो घरमा प्रतिवादीले मृतकलाई हातले हिर्काएकोसम्म देखेको हो । निजहरूका बिचमा कुनै रिसइवी थिएन भनी लेखाइदिएको पाइन्छ । प्रतिवादीका साक्षी लालबहादुर तामाङले मृतक पहिला पनि भिरबाट लडी चोट लागेको थियो, सो दिन प्रतिवादीसँग मृतकले पैसा माग्दा भनाभन भई मृतकलाई लठ्ठीले एक चोटि हिर्काएको हो, कुनै रिसइवी तथा मार्ने मनसाय थिएन भनी लेखाइदिएको पाइएको छ ।

३. यसरी प्रस्तुत मुद्दामा यी पुनरावेदक / प्रतिवादीले मृतकसँग बाटोमा भेट हुँदा उधारो खाएको पैसा माग्दा आफूले अहिले छैन भनेको अवस्थामा मृतकले गाली गरी आफूलाई धकेलिदिएबाट आफूलाई रिस उठी चिर्पटले मृतकको टाउकोमा एक पटक हिर्काएको हो र निजसँग आफ्नो कुनै रिसइवी नरहेको तथा मार्ने मनसायले पनि प्रहार नगरेको भनी अनुसन्धानका क्रममा र सुरू अदालतमा बयान गर्दासमेत उल्लेख गरिदिएको देखिन आएको छ । सो कुरा निजका साक्षीको अदालतको बकपत्रबाट समेत समर्थित भएको छ । जाहेरवालाले यी पुनरावेदक / प्रतिवादीले मृतकलाई लखेटी लखेटी प्रहार गरेको चोटको कारणले मृतकको मृत्यु भएको भनी जाहेरीमा उल्लेख गरे पनि निजले अदालतमा बकपत्र गर्दा लखेटी लखेटी प्रहार गरेको आफूले नदेखेको केवल सुनेको भरमा मात्र लेखाएको भनी उल्लेख गरिदिएबाट जाहेरी बेहोरा निजकै भनाइबाट समर्थित हुन सकेको पाइँदैन । यस्तै मौकामा बुझिएका व्यक्तिहरूले पुनरावेदक सन्तोष तामाङ र मृतकको बिचमा झगडा हुँदा यी पुनरावेदकले मृतकलाई प्रहार गरेको र निज ज्यान बचाउन भाग्न खोज्दा पनि लखेटी लखेटी प्रहार गएको भनी अनुसन्धानका क्रममा लेखाए पनि निजहरूमध्येका कामरोङ तामाङ र प्रकाश तामाङले अदालतमा बकपत्र गर्दा भने सो कुराको समर्थन हुने गरी उल्लेख गर्न सकेको पाइँदैन । निजहरूले अदालतमा लखेटी लखेटी प्रहार गरेको आफूले नदेखेको तथा अनुसन्धानमा लेखेको कुरा झुटा हो भनी लेखाइदिएकोले निजहरूको अनुसन्धानको भनाइ सही मान्न सकिँदैन । त्यस्तै वारदातको प्रत्यक्षदर्शी भनी आफूले लखेट्दै प्रहार गरेको देखेको भनी अनुसन्धानमा कागज गरिदिने घस्या तामाङले अदालतमा आफूले लखेटेको र प्रहार गरेको नदेखेको भनी लेखाएबाट निजको अनुसन्धानको भनाइ पनि समर्थित हुन आएको छैन ।

४. मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ अनुसारको सजाय हुने कर्तव्य ज्यानको कसुर हुन आपराधिक कार्यको साथै कसुरदारमा आपराधिक मनसायको पनि विद्यमानता हुनुपर्ने 

हुन्छ । आपराधिक मनसायको विद्यमानताको परीक्षण कसुर सम्पन्न हुनुअगाडि, कसुर सम्पन्न गर्दाको बखत वा कसुर सम्पन्न भएपछि कसुरदारबाट गरिएको व्यवहार, निजको अवस्था, कसुर हुँदाको परिस्थिति, कसुर गर्दा प्रयोग गरिएको साधन र साधन प्रयोग गर्ने तरिका, पीडित र कसुरदारबिचको सम्बन्ध आदिका आधारमा गर्नुपर्दछ । प्रस्तुत मुद्दाका सन्दर्भमा यी प्रतिवादी र मृतकबिच कुनै कुराको रिसइवी रहेको भन्ने मिसिलबाट देखिएको छैन । दुवै एउटै गाउँमा बस्ने र मृतकको पसलमा यी प्रतिवादी चिया खाजा खाइरहने भन्ने देखिन आएको छ । मार्नलाई यी पुनरावेदकले पूर्वतयारी गरी, सोच विचार गरी, कुनै साधन बोकी, लुकी चोरी, बाटोमा ढुकी पर्खी, कसैसँग सरसल्लाह गरी, सहयोग मागी वा कुनै योजना बनाई योजनाबद्ध रूपमा कार्य गरेको पाइँदैन । मिसिल संलग्न कागज प्रमाण हेर्दा यी पुनरावेदक र मृतक पलबहादुर तामाङको बाटोमा जम्काभेट भएको, भेट हुँदा मृतकले यी पुनरावेदकसँग खाजा खाएको उघारो पैसा दिन भनेको, सो पैसा पछि दिन्छु भन्दा मृतकले यी पुनरावेदकलाई धकेली गालीसमेत गरेकोले पुनरावेदक/प्रतिवादीले रिस सहन नसकी नजिक रहेको काठको चिर्पटले प्रहार गरेको कारणबाट पलबहादुर तामाङको मृत्यु भएको पाइएको छ । मृतकलाई प्रहार गरेपछि निज ज्यान बचाउन भागी जान लागेको अवस्थामा पनि प्रतिवादीले लखेटी लखेटी पटकपटक प्रहार गरेको भन्ने जाहेरी दरखास्त र मौकामा बुझिएका व्यक्तिहरूले मौकामा व्यक्त गरे पनि सो कुरा निजहरूकै अदालतमा गरिदिएको बकपत्र र अन्य कुनै प्रमाणहरूबाट समर्थित हुन आएको 

पाइँदैन । यस्तो कुनै पूर्वरिसइवी नभएको अचानकको कुनै क्रियाको प्रतिक्रिया स्वरूप रिस उठी नजिक फेला परेको चिजवस्तुले प्रहार गरी मृत्यु भएकोलाई कर्तव्य ज्यानको कसुर मान्न सकिँदैन । 

५. कुनै व्यक्तिलाई अनुसन्धानमा सङ्कलित प्रमाणको आधारमा कुनै अभियोग लगाउनु मात्र अभियोग दाबीअनुसारको अभियोगमा दोषी ठहर गर्न पर्याप्त आधार हुन सक्दैन । अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित तथा सत्य साबित हुन सक्नुपर्दछ । त्यस्तै सङ्कलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण नभई एकबाट अर्को समर्थन हुन सक्ने हुनुपर्ने हुन्छ । यदि अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित हुन आएनन् र परस्पर विरोधाभाषपूर्ण देखिए भने त्यस्ता प्रमाणको आधारमा कसैलाई अभियोग दाबीको कसुर गरेको रहेछ भनी दोषी ठहर गर्नु न्यायोचित हुँदैन । हामीले अपनाएको अभियोजनात्मक कानून प्रणालीमा प्रतिवादीउपरको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ । वादी पक्षले प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेको कुरा अदालत सामु सर्वोत्तम प्रमाण पेस गरी पुष्ट्याईं गर्न 

सक्नुपर्दछ । वादीले पेस गरेका प्रमाणहरू परस्पर समर्थित, प्रत्यक्ष तथा द्विविधारहित भएमा मात्र सर्वोत्तम प्रमाण मानिन्छन र त्यस्ता प्रमाणहरूलाई मात्र अभियोग दाबी ठहर गर्ने आधारका रूपमा लिन सकिने हुन्छ ।

६. प्रस्तुत मुद्दामा अनुसन्धानका क्रममा यी पुनरावेदकले लखेटी लखेटी लाठीले मृतकलाई प्रहार गरेको भन्ने बुझिएका व्यक्तिहरूको भनाइ निजहरूले अदालतमा आफूले त्यसरी लखेटेको नदेखेको भनी लेखाएबाट अन्य प्रमाणबाट पनि समर्थित हुन नआएको अवस्थामा निजहरूको अनुसन्धानका क्रममा व्यक्त भनाइ शङ्कास्पद रहन गएको पाइन्छ । त्यस्तै शव परीक्षण प्रतिवेदनमा Blunt force injury to head, टाउकोमा दुईवटा चोट रहेको र शरीरको अन्य भागमा पनि चोट रहेको भनिए पनि यी प्रतिवादीले प्रहार गरेको कारणले नै उक्त सबै चोटहरू लाग्न गएको भनी भन्न सकिने कुनै आधार रहेको पाइँदैन । त्यसैले यी प्रतिवादीलाई अभियोग दाबीअनुसार मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ अनुसार कर्तव्य ज्यानको कसुरमा सर्वस्वसहित जन्मकैद हुने गरी सजाय गरेको मिलेको देखिन आएन ।

७. यी पुनरावेदक प्रतिवादीले आफू रक्सी खाई बाटोमा हिँडिरहेको अवस्थामा मृतकले आफूलाई उधारो तिर्न भनेकोमा आफूले अहिले पैसा छैन पछि दिउँला भन्दा मृतकले आफूलाई धकेल्दा रिस उठी एक चोटिसम्म प्रहार गरेको भनी अनुसन्धानमा र अदालतमा लेखाइदिएको पाइन्छ । निजको प्रहारले चोट लागेकोले निजलाई उपचार गर्न लगी उपचारको क्रममा निजको मृत्यु भएको पाइएको छ । माथि उल्लेख भएअनुसार यी प्रतिवादीले मृतकलाई लखेटी लखेटी पटक पटक प्रहार गरी मारेको भन्ने देखिन आएको 

छैन । उधारो तिर्ने विषयलाई झगडा भई रिसको आवेगमा आई प्रतिवादीले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गरेको र सो चोटका कारण उपचारको क्रममा मृत्यु भएको भन्ने प्रतिवादीको अनुसन्धानका क्रमको भनाइ निजको अदालतको बयानबाट घटनाक्रमसहित समर्थित भइरहेको देखिन्छ । साथै निजको उक्त भनाइ निजका साक्षी र मौकामा बुझिएका वादी नेपाल सरकारका गवाहका रूपमा अदालतमा उपस्थित भएका व्यक्तिहरूको अदालतको बकपत्रसमेतबाट समर्थित हुन आएको छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का आदिले हान्दा सोही चोटको पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दस वर्ष कैद गर्नुपर्छ भनिएको पाइन्छ । यो कानूनी व्यवस्था आवेश प्रेरित हत्याको सम्बन्धमा गरिएको कानूनी व्यवस्था हो । मथि विवेचना गरिएअनुसार यी पुनरावेदक प्रतिवादीले पनि मृतकलाई ज्यान मार्ने कुनै मनसाय र कारण नभएको, ज्यानै मार्नुपर्नेसम्मको कुनै इवी पनि नभएको, लुकी चोरी पनि हानेको नदेखिएको, कुनै जोखिमयुक्त हतियार पनि प्रयोग गरेको नदेखिएको, तत्काल मृतकले धकेली भनाभन गरेको कारण रिस उठी नजिक काठको चिर्पट फेला पारी सोही चिर्पटले प्रहार गर्दा सोही चोटको कारण मृतकको मृत्यु भएको देखिएकोले प्रस्तुत कसुरलाई उल्लिखित १४ नं. अनुसारको आवेशप्रेरित हत्याको कसुर गरेको मान्नुपर्ने हुन्छ ।

८. अतः माथि विवेचित आधार र कारणहरूबाट यी पुनरावेदक / प्रतिवादी रूम भन्ने सन्तोष तामाङलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ अनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याई सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७३/११/२३ मा भएको फैसला सदर हुने ठहर्‍याई उच्च अदालत पाटनबाट मिति २०७४/०७/२७ मा भएको फैसला केही उल्टी भई यी पुनरावेदक / प्रतिवादी रूम भन्ने सन्तोष तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अनुसार १० (दश) वर्ष मात्र कैद सजाय हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

उच्च अदालत पाटनको फैसला केही उल्टी भई प्रतिवादी रूम भन्ने सन्तोष तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अनुसार १० (दश) वर्ष मात्र कैद सजाय हुने ठहरी फैसला भएकोले निजको नाममा सुरू तथा उच्च अदालतको फैसलाअनुसार कसिएको सर्वस्वसहित जन्मकैदको लगत संशोधन गरी १० (दश) वर्ष मात्र कैदको लगत कायम गर्नु भनी सुरू धादिङ जिल्ला अदालतमा लेखी पठाई दिनू ...१

पुनरावेदक / प्रतिवादी मिति २०७३/०५/१८ गतेबाट प्रहरी हिरासतमा रहेको देखिएकोले सो मितिबाट कैद कट्टा हुने गरी सो अवधिबाट निजको १० (दश) वर्ष कैद समाप्त हुने मिति गणना गरी निज प्रतिवादीलाई कारागार कार्यालयमार्फत संशोधित कैदी पूर्जी दिनू..............१

प्रतिवादीलाई सर्वस्वसमेत हुने गरी भएको सुरू र उच्च अदालतको फैसलाअनुसार सर्वस्व प्रयोजनको लागि निजको भागको अंश रोक्का रहेको भए फुकुवा गर्न सम्बन्धित निकायमा लेखी पठाउनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू .................................१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला अपलोड गरी सुरू मिसिल सुरू जिल्ला अदालतमा, रेकर्ड मिसिल उच्च अदालत पाटन र यस अदालतको रेकर्ड मिसिल यस अदालतको अभिलेख शाखामा बुझाइदिनू .....................................................१          

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृत : यदुराज शर्मा

इति संवत् २०७८ साल साउन २१ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु