शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८१७ - कर्तव्य ज्यान

भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७८।४।२५

 

मुद्दाः- कर्तव्य ज्यान

 

०७२-CR-१३८७

पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, दानावारी गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय इलाममा कैदमा बस्ने खड्‍गबहादुर लिम्बू

विरूद्ध

प्रत्यर्थी / वादी : प्र.ना.नि. विरेन्द्रप्रसाद यादवसमेतको जाहेरीले नेपाल सरकार

 

०७३-CR-०४४१

पुनरावेदक / वादी : प्र.ना.नि. विरेन्द्रप्रसाद यादवसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : इलाम जिल्ला, दानावारी गा.वि.स. वडा नं. २ घर भई हाल कारागार कार्यालय इलाममा कैदमा बस्ने खड्‍गबहादुर लिम्बूसमेत

 

आपराधिक दायित्वको समाप्तिपश्चात् कसुरदार विरूद्धको फौजदारी मुद्दाको कारबाही प्रक्रिया जे जुन अवस्थामा छ, सोही अवस्थामा अन्त्य भएको 

मानिने । जसअनुसार मुद्दा अनुसन्धानको चरणमा भए निज विरूद्ध अभियोजन नै नगरिने, अभियोजन भइसकेको भए मुद्दा खारेज गरिने र अदालतबाट कसुरदार ठहरी सजाय पाएको व्यक्तिको मृत्यु भएमा निजको कार्यान्वयन हुन बाँकी कैद वा जरिवाना स्वतः मिनाहा भएको 

मानिने । यद्यपि फौजदारी मुद्दाको जरियाबाट सिर्जित बिगो र क्षतिपूर्ति जस्ता देवानी प्रकृतिका दायित्व भने प्रतिवादीको मृत्युसँगै समाप्‍ति हुन नसक्ने । त्यस्तो दायित्व निजको हकवालामा हस्तान्तरित हुने ।

(प्रकरण नं.४)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता रेशम आचार्य

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री प्रकाश ढुङ्गाना

इलाम जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री मीरा खड्का

माननीय न्यायाधीश श्री रमेश पोखरेल

पुनरावेदन अदालत इलाम

 

फैसला

न्या.नहकुल सुवेदी : पुनरावेदन अदालत इलामको मिति २०७२।३।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

तथ्य खण्ड

जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं.२ स्थित सानो ज्वाली भन्ने स्थानमा पूर्वमा युगबहादुर लिम्बूको एक तले काठको घर, पश्चिममा कल्पतरू सामुदायिक वन उपभोक्ता समूहको जङ्गल, उत्तरमा विष्णुबहादुर राईको एक तले काठको घर दक्षिणमा दलबहादुर लिङ्गदमको एकतले काठको घर गरी चार किल्लाभित्र जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.२ बस्ने खड्गबहादुर लिम्बूको भुइँतलासहितको २ तले पूर्व मोहडा भएको घरको माथिल्लो तल्लाको दक्षिणपट्टिको कोठाभित्र जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं.४ घर बताउने अन्दाजी वर्ष ३५ को अनिल श्रेष्ठ पूर्व खुट्टा पश्चिम टाउको भई उत्तानो परी अचेत अवस्थामा रहेको दक्षिण र पश्चिम कुनामा दुईवटा सखुवाको काठको खाट उक्त दुवै खाटको बिचमा तथा ढोकाछेउमा अचेत अवस्थामा रहेको देखिएको घटनास्थलको कोठामा उत्तानो अवस्थामा काठको पिर्का थान एक, मार्तोल ह्याम्मर थान एक, फेला परेको र सो कोठाको बरन्डामाथि छानाको बलोमा दापसहितको खुकुरी थान एक प्रहरी टोलीले फेला पारी बरामद गरी लगेको भन्ने मिति २०७१।७।२८ को घटनास्थल प्रकृति मुचुल्का ।

जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.२ स्थित सानो ज्वाली भन्ने स्थानमा पूर्वमा सानो ज्वाली खोला, पश्चिममा युगबहादुर लिम्बूको एक तले काठको घर, उत्तरमा विष्णु राईको एक तले काठको घर दक्षिणमा शेरबहादुर राईको एक तले काठको घर, यति चार किल्लाभित्र जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं.२ बस्ने दलबहादुर लिम्बूको छोरा धनबहादुर लिम्बूको एक तले काठको घर, सो घरको पहिलो तल्ला पश्चिम कोठाको खाटको सिरानमुनि नोकिया मोबाइल थान एक (अगाडिको भागको स्क्रिनको कभर नभएको), ऐ. मोबाइलमा प्रयोग भएको सिम नं.९८१७९५२८१६ बरामद गरिएको बरामदी मुचुल्का ।

मिति २०७१।७।२८ गते रातको अन्दाजी ०१:३० बजेको समयमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.४ घर भई हाल विराटनगर र बिर्तामोड बस्ने अन्दाजी वर्ष ३५ को अनिल श्रेष्ठ नाम बताउने व्यक्तिले आफ्नी श्रीमती फूलमाया हराएको भनी मिति २०७१।७।२७ गते फोन गरी फूलमायाको पहिलो श्रीमान् कुमार राई र अनिल श्रेष्ठको ससुराली घरको साली मनमाया लिम्बूलाई धाकधम्कीपूर्ण भाषामा गालीगलौज गरी म त्यहाँ आउँछु भनी उक्त मितिको साँझ अन्दाजी १८:३० बजेको समयमा जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.७ बस्ने कुमार राईको घरमा गएको अवस्थामा बुद्धिनाथ भारती र कुमार राईले देखी निजको खोजी गर्ने क्रममा निज अनिल श्रेष्ठ हराएको र ऐ. मितिको राति अन्दाजी १२:०० बजेतिरको समयमा निज अनिल श्रेष्ठ आफ्नो ससुराली जिल्ला इलाम दानावारी गा.वि.स. स्थितमा पुगेर धम्की दिएको भनी अनिल श्रेष्ठको ससुरा खड्गबहादुर लिम्बूले गाउँका मानिसहरू भेला जम्मा गरी जिल्ला इलाम, सिद्धिथुम्का–८ घर भई हाल ऐ.दानावारी गा.वि.स. वडा नं.२ बस्ने खड्गबहादुर लिम्बू, ऐ.वडा नं.७ बस्ने कुमार राई, ऐ. माबु गा.वि.स. वडा नं.६ घर भई हाल ऐ.दानावारी गा.वि.स. वडा नं.२ बस्ने धनबहादुर लिम्बू, ऐ.सिद्धिथुम्का गा.वि.स. वडा नं.२ घर भई हाल ऐ. दानावारी गा.वि.स. वडा नं.२ बस्ने अम्बिकाप्रसाद घिमिरे, ऐ.सिद्धिथुम्का गा.वि.स. वडा नं.७ घर भई हाल ऐ. दानावारी गा.वि.स. वडा नं.२ बस्ने तुलसी सेन्चुरी र जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.७ बस्ने बुद्धिनाथ भारतीसमेतका मानिसहरूले अनिल श्रेष्ठलाई हात र खुट्टामा बाँधेर कुटपिट गर्ने क्रममा घाइते बेहोस भई स्थानीय एभरेष्ट अस्पताल दानावारीमा उपचार हुन नसकी विराटनगर स्थित न्युरो अस्पतालमा उपचार हुँदाहुँदै अनिल श्रेष्ठको मृत्यु भएको कर्तव्य ज्यान मुद्दामा वारदातमा संलग्न रहेका मानिसहरूलाई कानूनबमोजिम होस् भन्ने प्रहरी चौकी लोदिया दानावारी इलाममा कार्यरत प्र.ना.नि.वीरेन्द्रप्रसाद यादवसमेतको प्रतिवेदन ।

जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १० स्थित कोशी अञ्‍चल अस्पताल विराटनगरको शव गृहभित्र फलामको स्टेचरमाथि मृतक अनिल श्रेष्ठको पश्चिम टाउको, पूर्व खुट्टा भई उत्तानो अवस्थामा लास रहेको, सो लासलाई सोही स्टेचरमा ओल्टाई पल्टाई हेर्दा मृतकको टाउकोको पछाडि बायाँ साइडमा ३ इन्च लम्बाइको टाँका लगाएको काटिएको घाउ देखिएको, छातीको बिच भागमा ५ इन्च लम्बाइ, ३ इन्च चौडाइको रातो डाम भएको भन्नेसमेत बेहोराको मिति २०७१।७।२९ को घटनास्थल लासजाँच मुचुल्का ।

जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं.२ बस्ने खड्गबहादुर लिम्बूको छोरी वर्ष ३२ की फूलमाया राई लिम्बू जिल्ला इलाम दानावारी गा.वि.स. वडा नं.७ बस्ने कुमार राईको श्रीमती भएको अवस्थामा अनिल श्रेष्ठले भगाएर लगेको र रहँदा बस्दाको क्रममा फूलमाया राई हराएकोले निज अनिल श्रेष्ठ खोजतलास गर्दै प्रतिवादी कुमार राईको घरमा पुगेको र सो ठाउँमा समेत फेला नपरेपछि दानावारी–२ स्थित खड्गबहादुर लिम्बूको घरमा बिहानको रातको अन्दाजी १ बजेको समयमा आइपुगी धाक धम्की दिँदा चोर आयो भनी हल्लाखल्ला गरेकोले मसमेत गई हेर्दा अनिल श्रेष्ठ बेहोस अवस्थामा लडिरहेको देखेको थिएँ । म पुगेको केही समयपछि आएका कुमार राई र बुद्धिनाथ भारतीले लात्ता मुड्कीले कुटेको देखेको थिएँ । बुझ्दा खड्गबहादुर लिम्बूसमेतले कुटपिट गरी बेहोस बनाएको भनी सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको पदमबहादुर मगरले गरेको घटना विवरण कागज ।

वारदात मिति २०७१।०७।२८ गते बिहान रातको अन्दाजी १:३० बजेको समयमा प्रमोद राईसमेतका मानिसहरू घरमा चोर आयो भनी बोलाउन आएकोले गई हेर्दा निज खड्गबहादुर लिम्बूको ज्वाइँ अनिल श्रेष्ठ भन्ने मानिस रहेछ । निज अनिल श्रेष्ठलाई खड्गबहादुर लिम्बूसमेतले फलामको मार्तोलसमेतले कुटपिट गरी बेहोस बनाएको अवस्थामा प्रहरीसमेत मिलेर उपचारको लागि स्थानीय अस्पतालमा लगेकोमा त्यहाँ उपचार हुन नसकेको कारण थप उपचारको लागि विराटनगर न्युरो अस्पताल लगी उपचार हुँदाहुँदै मृत्यु भएको हो भनी सुनी थाहा पाएको हो । निज अनिल श्रेष्ठको कुटपिटकै कारण मृत्यु भएको हो भन्नेसमेत बेहोराको माधव सेन्चुरीले गरेको घटना विवरण 

कागज । 

वारदात मिति २०७१।७।२८ गते बिहान रातको अन्दाजी १:३० बजेको समयमा म सुतिरहेका अवस्थामा मेरो घरबाट अन्दाजी २०० मिटर पर रहेको खड्गबहादुर लिम्बूको घरमा एक्कासि चोर आयो गुहार भनेको सुनी उठेर वारदात स्थानमा गई हेर्दा खड्गबहादुर लिम्बूको घरमा १५/२० जना मानिसहरू भेला जम्मा भएका देखेको थिएँ । खड्गबहादुर लिम्बूको घरको तल्लामाथि बरन्डामा अनिल श्रेष्ठलाई कुटपिट गरी लडाई राखेको अवस्थामा छ भनेकाले गई हेर्दा अनिल श्रेष्ठ लडिरहेको, त्यहाँ रगत बगिरहेको र खड्गबहादुर लिम्बू, धनबहादुर साउदेन, तुलसी सेन्चुरी, अम्बिका घिमिरे, कुमार राईको छोरा प्रमोद राई, अनिल एक्तेनलाई वरिपरि उभिइरहेको अवस्थामा देखेको थिएँ । त्यसपछि म बरन्डाबाट तल झरेपछि कुमार राईको ढाडमा लाठी, कम्मरमा दापसहितको खुकुरी बोकेको अवस्थामा देखी निजको साथबाट मैले खुकुरी खोसेर त्यही बरन्डामा राखिदिएको हो । केही समयपश्चात् प्रहरी आएर अनिल श्रेष्ठलाई हेरी गम्भीर घाइते भएकोले तत्काल अस्पताल लानुपर्छ भनेकोले मसमेतले बोकेर दानावारी एभरेष्ट अस्पताल लगेको र त्यहाँ उपचार हुन् नसकी विराटनगर न्युरो अस्पताल पठाएको हो । निज अनिल श्रेष्ठलाई को कसले के कति जना मिलेर के कुन हातहतियारको प्रयोग गरेर कुटपिट गरेका हुन् थाहा छैन । निज अनिल श्रेष्ठको कुटपिटबाटै मृत्यु भएको हो । निज अनिल श्रेष्ठलाई के कति चोटपटक लागेको थियो, रातको समयमा मैले देखिनँ भन्ने सुबास लिम्बूको घटना विवरण कागज ।

मिति २०७१।०७।२८ गते बिहानको राति अन्दाजी १:३० बजेको समयमा मेरो छोरी मनमाया लिम्बू चोर आयो भन्दै कराएको कारण निजको कोठामा गई हेर्दा मेरो जेठी छोरी फूलमाया लिम्बूलाई भगाएर लैजाने भक्तपुर जिल्ला, भक्तपुर न.पा. ४ घर बताउने अन्दाजी वर्ष ३५ को अनिल श्रेष्ठलाई मेरो श्रीमती तिमीहरूले लुकाएका छौ, तिमीहरूलाई काट्छु मार्छु भन्दै धाक धम्की दिइरहेको हुँदा गाउँको मानिसहरूलाई बोलाउन पठाई धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, तुलसी सेन्चुरीलगायतका मानिसहरू आई सम्झाई बुझाई गर्न खोज्दासमेत तिमीहरूलाई अपहरण गरेर मारिदिन्छु भनी धम्क्याउँदै अम्बिका घिमिरेलाई कुट्न आइलागेको कारण निज अम्बिका घिमिरेले अनिल श्रेष्ठलाई समाएपछि शरीर खानतलासी गर्दा कुनै पनि हतियार फेला नपरेको र अझै गालीगलौज गरेको कारण मैले फलामको मार्तोल (ह्याम्मर) ले अनिल श्रेष्ठको टाउकोमा दुईपटक हानेको हो । तुलसी सेन्चुरीले काठको पिर्काले हिर्काएको र धनबहादुर लिम्बूले लात्ता र मुक्काले हानेको हो । केही समयपछि आइपुगेको मेरो पूर्व ज्वाइँ कुमार राईको खुकुरी र डन्डा त्यहाँ रहेका मानिसले खोसी दिएपछि निज कुमार राई र निजसँग आएका बुद्धीनाथ भारतीले लात्ता र मुक्काले लडेको अनिल श्रेष्ठलाई कुटपिट गरेको हो । हामीहरूकै कुटपिटको कारण निज अनिल श्रेष्ठको उपचार हुँदाहुँदै मृत्यु भएको हो । बरामद भई आएको मार्तोल (ह्याम्मर) थान एक मैले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरको हो, बरामद काठको पिर्का तुलसी सेन्चुरीले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरेको 

हो । बरामद मोबाइल अनिल श्रेष्ठको हो । कुटाकुट र तानातानमा धनबहादुर लिम्बूले लगेका रहेछन, साथै दापसहितको खुकुरी कुमार राईले लिई आएको खुकुरी हो । सबै बरामद सामान हेरी देखी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी खड्गबहादुर लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

वारदात मितिमा २०७१।७।२८ गते बिहानको राति अन्दाजी १:३० बजेको समयमा मेरो छिमेकी खड्गबहादुर लिम्बूको छोरी मनमाया लिम्बू चोर आयो भनी ठुलो ठुलो स्वरमा कराएकोले के भएछ भनी हेर्न जाँदा खड्गबहादुर लिम्बूको छोरी फूलमाया राईको हालको श्रीमान् अनिल श्रेष्ठ आएर मेरो श्रीमती खोई तिमीहरूले लुकाएको छौं भनी विवाद गरिरहेको 

रहेछ । गाउँका मानिसहरू पनि सबै हल्लाखल्ला सुनेर आइपुगेपछि निज अनिल श्रेष्ठले गाउँको मानिसहरूलाई पनि अपहरण गरेर मारिदिन्छु भनी धाकधम्की दिई अम्बिका घिमिरेलाई कुट्न आई लागेको कारण अम्बिकाले समाएपछि खड्गबहादुर लिम्बूले मार्तोलले दुई पटक टाउकोमा, तुलसी सेन्चुरीले पिर्काले, मैले लात्ता र मुक्काले अनिल श्रेष्ठलाई हिर्काएपछि भुइँमा लडेको हो । केही समयपछि आइपुगेका कुमार राई र बुद्धिनाथ भारतीले पनि लात्ता र मुड्कीले हिर्काएका हुन् । हामीहरूले हिर्काएको चोटको कारण निज अनिल श्रेष्ठको मृत्यु भएको हो । मलाई देखाएको मोबाइल थान एक अनिल श्रेष्ठको हो, कुटाकुट र तानातानमा उक्त मोबाइल मैले घरमा लगी राखेको थिएँ । मलाई देखाएको मोबाइलको स्क्रिन कभर सोही अनिल श्रेष्ठको मोबाइलको हो । सो मेरो गोजीमा झरेर बसेछ मैले सोधपुछको क्रममा यस कार्यालयमा पेस गरेको हो । मलाई देखाएको मार्तोल (ह्याम्मर) खड्गबहादुर लिम्बूले अनिल श्रेष्ठलाई टाउकोमा हिर्काउन प्रयोग गरेको हो । काठको पिर्का थान एक तुलसी सेन्चुरीले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरेको पिर्का हो र दापसहितको खुकुरी कुमार राईले लिएर आएका 

थिए । वारदात स्थानमा खोसेर लुकाई दिएको खुकुरी हो । सबै बरामद सामान हेरी देखी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको धनबहादुर लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

वारदात मितिमा २०७१।७।२८ गते बिहानको राति अन्दाजी १:३० बजेको समयमा खड्गबहादुर लिम्बूको छोरी मनमाया लिम्बू चोर आयो भनी ठूलो ठूलो स्वरमा कराएको र मलाई मेरो घरमा चोर आयो भनी बोलाउनसमेत आएकाले के भएछ भनी हेर्न जाँदा खड्गबहादुर लिम्बूको छोरी फूलमाया राईको हालको श्रीमान् अनिल श्रेष्ठ आएर मेरो श्रीमती खोई तिमीहरूले लुकाएको छौं भनी विवाद गरिरहेको 

रहेछ । गाउँका मानिसहरू पनि सबै हल्लाखल्ला सुनेर आइपुगेपछि निज अनिल श्रेष्ठले गाउँको मानिसहरूलाई पनि अपहरण गरेर मारिदिन्छु भनी धाक दिई अम्बिका घिमिरेलाई कुट्न आइलागेको कारण अम्बिकाले समाएपछि खड्गबहादुर लिम्बूले मार्तोलले दुई पटक टाउकोमा, मैले पिर्काले, धनबहादुर लिम्बूले लात र मुक्काले अनिल श्रेष्ठलाई हिर्काएपछि भुइँमा लडेको हो । केही समयपछि आइपुगेका कुमार राई र बुद्धिनाथ भारतीले पनि लात्ता र मुड्कीले हिर्काएका हुन् । हामीहरूले हिर्काएको चोटको कारण निज अनिल श्रेष्ठको मृत्यु भएको हो । मलाई देखाएको मोबाइल थान एक अनिल श्रेष्ठको हो । कुटाकुट र तानातानमा उक्त मोबाइल धनबहादुर लिम्बूले लगेका थिए । मलाई देखाएको मार्तोल (ह्याम्मर) खड्गबहादुर लिम्बूले अनिल श्रेष्ठलाई टाउकामा हिर्काउन प्रयोग गरेको हो । काठको पिर्का थान एक मैले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरेको पिर्का हो र दापसहितको खुकुरी कुमार राईले लिएर आएका थिए । वारदातस्थानमा खोसेर लुकाई दिएको खुकुरी हो । सबै बरामद सामान हेरी देखी सनाखत गरिदिएँ भन्ने तुलसी सेन्चुरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मैले फूलमाया लिम्बूलाई विवाह गरी ल्याई एक छोरा र एक छोरीसमेतको जन्म भई म चिया बगानमा मजदुरी काम गर्ने गरेको, मेरो श्रीमती फूलमाया राई सानो भट्टी पसल सञ्चालन गरी बस्दै आएकोमा मेरो श्रीमतीले सञ्चालन गरेको भट्टी पसलनजिकैको घरमा जिल्ला भक्तपुर भक्तपुर न.पा.४ घर बताउने अनिल श्रेष्ठ आई बसेका रहेछन् । निज अनिल श्रेष्ठले मेरो श्रीमती फूलमायालाई भगाएर लगेका थिए । मिति २०७१।७।२७ गते दिउँसोतिर मलाई एक्कासि फोन गरी धम्की दिई आज म तेरो घरमा आउँछु भनी अनिल श्रेष्ठले भनेकोमा सोही मितिको साँझतिर निज मेरो घरमा आएको देखेर गाउँका बुद्धीनाथ भारतीलगायतलाई बोलाई निज अनिललाई खोजतलास गर्दासमेत फेला नपरेपछि मैले ससुरालीमा मनमाया लिम्बूलाई फोन गरेर अनिल श्रेष्ठ आएको छ । निजले चुप्पी बोकेको छ, होसियारसाथ बस्नु भनेको थिएँ । राति १२ः०० बजेतिर मनमाया लिम्बूले अनिल श्रेष्ठ यहाँ आएको छ, तपाइँ तुरून्त आउनु भनेकोले बुद्धीनाथ भारतीलाई साथी लिई गई अनिल श्रेष्ठलाई लडेको ठाउँमा मैले र बुद्धीनाथ भारतीले लात्ती र मुक्कीले कुटपिट गरेको हो । हामी पुग्नुभन्दा पहिला खड्गबहादुर लिम्बूले मार्तोलले, तुलसी सेन्चुरीले पिर्काले धनबहादुर लिम्बूले लात्ती र मुक्काले कुटपिट गरेको भनी थाहा पाएको हो । निज अनिल श्रेष्ठको मृत्यु हामीहरूकै कुटपिटको चोटको कारण भएको हो । मलाई देखाएको दापसहितको खुकुरी मेरो हो, वारदातस्थानमा खोसेर लुकाई दिएका 

थिए । हाल बरामद भई आएको रहेछ, हेरी देखी सनाखत गरिदिएँ । साथै मलाई देखाएको मार्तोल खड्गबहादुर लिम्बूले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरेको, काठको पिर्काले तुलसी सेन्चुरीले हिर्काएको, मोबाइल थान एक तानातानको क्रममा धनबहादुर लिम्बूले लगेको भनी थाहा पाएको हुँ । सबै सामान हेरी देखी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी कुमार राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

वारदात मितिमा २०७१।७।२८ गते बिहानको राति अन्दाजी १:३० बजेको समयमा खड्गबहादुर लिम्बूको घरमा चोर आयो भनी मलाई मेरो घरमा बोलाउनसमेत आएकाले के भएछ भनी हेर्न जाँदा खड्गबहादुर लिम्बूको छोरी फूलमाया राईको हालको श्रीमान् अनिल श्रेष्ठ आएर मेरो श्रीमती खोई तिमीहरूले लुकाएको छौं भनी विवाद गरिरहेको रहेछ । गाउँका मानिसहरू पनि सबै हल्लाखल्ला सुनेर आइपुगेपछि निज अनिल श्रेष्ठले गाउँको मानिसहरूलाई पनि अपहरण गरेर मारिदिन्छु भनी धाक दिई मलाई कुट्न आइलागेको कारण मैले निज अनिल श्रेष्ठलाई दह्रो गरेर समाएपछि खड्गबहादुर लिम्बूले मार्तोलले दुई पटक टाउकोमा, तुलसी सेन्चुरीले पिर्काले, धनबहादुर लिम्बूले लात्ता र मुक्काले अनिल श्रेष्ठलाई हिर्काएपछि भुइँमा लडेको हो । केही समयपछि आइपुगेका कुमार राई र बुद्धीनाथ भारतीले पनि लात्ता र मुड्कीले हिर्काएका हुन् । हामीहरूले हिर्काएको चोटको कारण निज अनिल श्रेष्ठको मृत्यु भएको हो । मलाई देखाएको मोबाइल थान एक अनिल श्रेष्ठको हो, कुटाकुट र तानातानमा उक्त मोबाइल धनबहादुर लिम्बूले लगेका 

रहेछन् । मलाई देखाएको मार्तोल (ह्याम्मर) खड्गबहादुर लिम्बूले अनिल श्रेष्ठलाई टाउकोमा हिर्काउन प्रयोग गरेको हो, काठको पिर्का थान एक तुलसी सेन्चुरीले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरेको पिर्का हो । दापसहितको खुकुरी कुमार राईले लिएर आएका थिए । वारदात स्थानमा खोसेर लुकाइदिएको खुकुरी हो । सबै बरामद सामान हेरी देखी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी अम्बिकाप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०७१।७।२७ गते साँझतिर निज अनिल श्रेष्ठ यहाँ आएको छ भनी कुमार राईले मलाई फोन गरी बोलाएको कारण गई निज अनिल श्रेष्ठलाई खोजतलास गर्दासमेत फेला नपरेपछि सोही राति कुमार राई मेरो घरमा सुतेका थिए । राति १२:०० बजेतिर कुमार राईको फोनमा ससुरालीबाट तपाइँ तुरून्त आउनु भनेकोले मलाई साथी लिई गई अनिल श्रेष्ठलाई लडेको ठाउँमा मैले र कुमार राईले कुटपिट गरेको हो । हामी पुग्नुभन्दा पहिला खड्गबहादुर लिम्बूले मार्तोलले, तुलसी सेन्चुरीले पिर्काले धनबहादुर लिम्बूले लात्ता र मुक्काले कुटपिट गरेको भनी थाहा पाएको हो, निज अनिल श्रेष्ठको मृत्यु हामीहरूकै कुटपिटको चोटको कारण भएको हो । मलाई देखाएको दापसहितको खुकुरी कुमार राईको हो । वारदात स्थानमा खोसेर लुकाई दिएका थिए । हाल बरामद भई आएको रहेछ हेरी देखी सनाखत गरिदिएँ । साथै मलाई देखाएको मार्तोल खड्गबहादुर लिम्बूले अनिल श्रेष्ठलाई हिर्काउन प्रयोग गरेको, काठको पिर्काले तुलसी सेन्चुरीले हिर्काएको, मोबाइल थान एक तानातानको क्रममा धनबहादुर लिम्बूले लगेको भनी थाहा पाएको हुँ । सबै सामान हेरी देखी सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धिनाथ भारतीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मृतकको कारणमा physical assault leading to severe brain injury with splenic injury causes cardiopulmonary arrest भन्ने मृतक अनिल श्रेष्ठको कोशी अञ्चल अस्पतालबाट मिति २०७१।८।८ मा भएको शव परीक्षण प्रतिवेदन ।

वारदात मितिमा म फूलमाया लिम्बूको घरमा सुतेको थिएँ । राति फूलमाया लिम्बूले चोर आयो भनी कराएकोले ब्युँझिएर हेर्दा खड्गबहादुर लिम्बूसँग निज चोर भनेको मानिस विवाद गरिरहेको अवस्थामा थियो । खड्गबहादुर लिम्बूले गाउँको मानिस बोलाएर ल्याउ भनेकोले म र प्रमोद राई गएर तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे, धनबहादुर लिम्बूलगायतलाई बोलाएर ल्याई पुर्‍याउँदा प्रहरीसमेत आई निज अनिल श्रेष्ठलाई बोकेर उपचार गर्न लाँदै 

थिए । गाउँको हल्लाअनुसार अम्बिका घिमिरेले समाएको, खड्गबहादुर लिम्बू, धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, कुमार राई, बुद्धिनाथ भारतीलगायतले कुटपिट गरेको भनी सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको मनमाया लिम्बूको रोहबरमा अनिल एक्तेन लिम्बूले गरेको घटना विवरण कागज । 

वारदात मिति २०७१।७।२८ गते बिहान म मेरो आफ्नै घरमा रहेको र वारदात मितिको अघिल्लो दिन २०७१।७।२७ गते मैले मेरो मोबाइल घरमा राखेर पर्म तिर्न काम सघाउन गएका थिएँ । को कसले फोन गरेको छ, गाली गर्दैछ भनी मेरो आमाले मलाई भनेपछि मेरो मोबाइल नं. ९८१७९२२८९८ साथमा लिएर काममा गएको थिएँ । दिउँसोतिर अनिल श्रेष्ठ भन्नेले मेरो जेठी दिदी फूलमाया लिम्बू भगाएर लैजानेले फोन गरेर तेरो दिदी कहाँ छ ? भन्दै विभिन्न अश्लील शब्दले गालीगलौज गरेकोले मैले फोन काटिदिएको र रातको समयमा कुमार राईले मलाई फोन गरेर निज अनिल श्रेष्ठ भन्ने मानिस आएका थिए । त्यसले हातहतियार पनि बोकेको छ, होसियार भएर बस्नु भनी मलाई भनेको थिए । राति म १०:०० बजेतिर फिल्म हेरेर सुतेको र रातको अन्दाजी १२:३० बजेतिर म सुत्ने कोठामा मान्छे आएको थाहा पाई को हो भन्दासमेत नबोलेपछि मैले चोर आयो भनी हल्ला गरेकाले भदाहरू र बुबा खड्गबहादुर लिम्बू आएपश्चात् म हतारहतार नानीहरू लिएर बरन्डा तल झरी गाउँको मानिसले सुन्ने गरी कराएको थिएँ । प्रमोद राई र अनिल एक्तेनलाई बुबाले चोर आयो गाउँका मानिसहरूलाई बोलाउ भनी बोलाउन पठाएको र छिमेकी धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, तुलसी सेन्चुरीसमेत आएपछि गाउँका मानिसहरूसमेतलाई गालीगलौज गरेको र कुट्न आइलागेकोले अम्बिकाप्रसाद घिमिरेले अनिल श्रेष्ठलाई समाएपछि चुप्पी पनि छ होला भनेर निजको शरीरमा खानतलासी गरेका र त्यसपछि पनि गालीगलौज गरेकाले धनबहादुर लिम्बूले लात्ती र मुड्कीले, तुलसी सेन्चुरीले काठको पिर्काले र मेरो बुबा खड्गबहादुर लिम्बूले फलामको मार्तोल (ह्याम्मर) ले टाउकामा अनिल श्रेष्ठलाई हानेपछि भुइँमा लडेका 

थिए । त्यसपछि मेरो पहिलाको भिनाजु कुमार राईलाई फोन गरेर बोलाएकोले भिनाजु कुमार राई र एकजना साथी बुद्धिनाथ भारती आई निज अनिल श्रेष्ठ भएको ठाउँमा गएका थिए । केही समयपश्चात् प्रहरी आई बेहोस अनिल श्रेष्ठलाई स्थानीय दानावारी एभरेष्ट अस्पतालमा लगेको र त्यहाँ उपचार हुन नसकी विराटनगर न्युरो अस्पतालमा लगेका र त्यहाँ उपचार हुँदाहुँदै मृत्यु भएको हो । मेरो बुबा खड्गबहादुर लिम्बूसमेतले कुटपिट गरेको कारणबाटै निज अनिल श्रेष्ठको मृत्यु भएको हो भन्ने मनमाया लिम्बूले गरेको घटना विवरण कागज कागज । 

वारदात मिति २०७१।७।२८ गते बिहानको राति अन्दाजी १:३० बजेको समयमा खड्गबहादुर लिम्बूसमेतले अनिल श्रेष्ठलाई कुटपिट गरी गम्भीर घाइते बनाई उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको भनी सोही मितिको अन्दाजी दिनको १०:०० बजेमै सुनी थाहा पाएको थिएँ । निज फूलमाया राईको अर्को श्रीमान् साथमा हुँदाहुँदै निज अनिल श्रेष्ठले भगाएर विवाह गरी लगेको थियो । मृतक अनिल श्रेष्ठलाई मैले पहिला चिनेको थिइनँ । निज फूलमाया राई हरायो भनी खोजतलास गर्दै रातिको समयमा खड्गबहादुरको कान्छी छोरी मनमाया लिम्बू सुतेको कोठामा आएका र मनमाया लिम्बू आत्तिएर चोर आयो भनी कराएको कारण खड्गबहादुर लिम्बूलगायत जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं. २ बस्ने धनबहादुर लिम्बू, ऐ.ऐ. बस्ने अम्बिकाप्रसाद घिमिरे ऐ.ऐ.बस्ने तुलसी सेन्चुरीसमेत आई अम्बिकाप्रसाद घिमिरेले निज अनिल श्रेष्ठलाई सम्झाई बुझाई गर्न लाग्दा उल्टै निज अनिल श्रेष्ठ आइलाग्न गएकोले अम्बिकाप्रसाद घिमिरेले दह्रोसँग अनिल श्रेष्ठलाई पक्रिएपछि खड्गबहादुर लिम्बूले मार्तोलले दुई पटक टाउकामा, तुलसी सेन्चुरीले काठको पिर्काले, धनबहादुर लिम्बूले लात्ता मुक्काले हिर्काएको र पछि मनमाया लिम्बूले बोलाएर आएका दानावारी–७ बस्ने कुमार राई र ऐ.बस्ने बुद्धिनाथ भारतीसमेतले बेहोस भएर लडेका अनिल श्रेष्ठलाई कुटपिट गरेको भनी सुनी थाहा पाएको थिएँ । निजहरूको कुटपिटको कारण घाइते बेहोस भई स्थानीय एभरेष्ट अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको न्युरो अस्पतालमा उपचार हुँदाहुँदै निज अनिल श्रेष्ठको मृत्यु भएको भनी सुनी थाहा पाएको हो । निज प्रतिवादीहरूलाई कानूनबमोजिम होस् भनी काशिनाथ पौडेलसमेतका मानिसहरूले गरेको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादीहरूले कसैले समाउने, कसैले मार्तोल, कसैले पिर्का र कसैले लात्ती मुड्कीले प्रहार गरी अनिल श्रेष्ठ बेहोस अवस्थामा घाइते भई ढलेपछि पनि पटकपटक लात्ती मुड्कीले निजउपर प्रहार भएको र सोही कुटपिटको चोट पीडाबाट निज अनिल श्रेष्ठको मृत्यु भएको मिसिल संलग्न कागज प्रमाण एवं प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको साबिती बयानसमेतबाट पुष्टि हुन आएबाट प्रतिवादीहरू खड्गबहादुर लिम्बू, तुलसी सेन्चुरी, धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, कुमार राई र बुद्धिनाथ भारतीद्वारा घटित उल्लिखित कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. अन्तर्गतको कसुर देखिन आएबाट निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोगपत्र ।

निज अनिल श्रेष्ठले धाक धम्की दिई रातको १२:०० बजे मेरो कान्छी छोरी सुतेको ओछ्यानमा गएछ । त्यसपछि छोरी मनमाया अतालिँदै चोर आयो भन्दै बाहिर निस्केपछि मैले निज अनिललाई देखी मार्तोलले टाउकोमा हान्दा निज लडेपछि पुनः मार्तोलले हानेको हो । पछि कुमारले लात्ताले हानेको सुनेको हुँ । त्यति गर्दा गाउँका मानिसहरू आइसकेका थिए । निज अनिल मेरो मार्तोलको कुटाइबाट नै मरेको हो । अरू प्रतिवादीहरू मेरो घरमा चोर आयो भन्ने हल्ला सुनी आएका हुन् । उनीहरूले कुटपिट गरेको होइन । यसमा कसैको संलग्नता छैन । लागेको सजाय भोग्न म तयार छु भन्नेसमेत बेहोराको प्रतिवादी खड्गबहादुर लिम्बूले सुरू अदालतमा गरेको बयान ।

घटना मितिको राति करिब १२:०० बजेतिर खड्गबहादुर लिम्बूको घरमा चोर आयो भन्ने चिच्याएको सुनेर त्यहाँ जाँदा निज अनिल श्रेष्ठ खड्गबहादुरको घरमाथिको बरन्डामा लडिरहेका थिए । निज अचेत अवस्थामा थिए । त्यतिकैमा प्रहरीलाई बोलाई उपचारको लागि नजिकको अस्पतालतिर लगेको हो । मैले कुटपिट गरेको होइन । खड्गबहादुरले मार्तोलले हानेकोले अचेत अवस्थामा लडेको भन्ने सुनेको हो । पछि निज अनिलको उपचारको क्रममा मृत्यु भएको सुनेको हो । अनिल श्रेष्ठलाई कुटेको सम्बन्धमा मलाई केही जानकारी छैन । मेले कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर लिम्बूले सुरू अदालतमा गरेको बयान ।

यस घटनाको वारदातस्थलमा राति १२:४५ तिर मात्र पुगेको हुँ । म पुग्दा खड्गबहादुर लिम्बूले मार्तोलले हानेर निज अनिल श्रेष्ठलाई लडाई सकेको थियो । निज अनिल खड्गबहादुरको घरको माथि टाँडमा रगत आइरहेको अवस्थामा लडिरहेको थियो । त्यसपछि प्रहरीलाई बोलाई मसमेतले बोकी तल झारेको र उपचारको लागि नजिकैको अस्पताल पुर्‍याएको 

हो । चोर आएको भनी बोलाउँदा मात्र म गएको र मैले वारदात नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अम्बिकाप्रसाद घिमिरेले सुरू अदालतमा गरेको बयान ।

वारदातको मिति र समयमा म खड्गबहादुरको घरमा चोर आयो भनी हल्ला गरेपछि उनको घरमा गएको हो । म पुग्दा खड्गबहादुरको घरको टाँडमाथि अनिल लडिरहेको थियो । उनको टाउकोमा चोट लागेको र रगत जमिरहेको थियो । बुझ्दा खड्गबहादुरले मार्तोलले हानेर लडेको भन्ने कुरा थाहा पाएको हो । मैले देख्दा अनिलको खुट्टा बाँधी राखेको थियो, कसले बाँधेको भन्ने मलाई थाहा भएन । उपचारको लागि हामी प्रहरीसहितले अस्पताल लगेको हो । म निर्दोष भएकाले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी तुलसी सेन्चुरीले सुरू अदालतमा गरेको बयान ।

मिति २०७१।७।२८ गते राति मेरो घरमा कुमार र म सँगै सुतेका थियौं । राति कुमारको सालीले अनिललाई बाँधेर लडाएको छ भनी फोन गर्दा मसमेत खड्गबहादुरको घर पुग्दा रातको करिब १:२५ भइसकेको थियो । त्यसपछि खड्गबहादुरको टाँडमाथि गएर अनिललाई हेर्दा बेहोस अवस्थामा रहेको थियो । म तल झरे, केही समयपछि कुमार टाँडमाथि चढेको सुनेको हो । त्यसपछि को कसले के गरे मलाई थाहा भएन । केही समयपछि प्रहरी आई लडेको अवस्थामा रहेको अनिलको खुट्टामा बाँधेको डोरी फुकाई उपचारको लागि अस्पताल लगेको हो । कुमारलाई निजको जार अनिलले पहिलेदेखि नै धम्की दिइरहन्थ्यो रे । उक्त कुटपिटमा कसको संलग्नता थियो मलाई थाहा 

भएन । मैले वारदात नगरेको हुँदा सजाय हुनुहुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धिनाथ भारतीले सुरू अदालतमा गरेको बयान ।

उक्त वारदातको राति म बुद्धिनाथ भारतीको घरमा सुतेको थिएँ । करिब रातको १२:०० बजे मलाई मेरो साली मनमायाले फोन गरी अनिललाई बाँधेर लडाएका छौं, चाँडो आउनु भनेपछि म र बुद्धिमान ससुराली 

गयौं । त्यहाँ पुग्दा खड्गबहादुरको घरको टाँडमाथि अनिल बेहोस अवस्थामा लडिरहेको थियो । मैले निजलाई हल्लाउँदा श्वास फेरिरहेको थियो र तल झरी प्रहरीलाई बोलाउने काम गरेको हो । प्रहरीसमेत भई उपचारको लागि स्थानीय एभरेष्ट अस्पताल र पछि न्युरो अस्पताल विराटनगर लगेको हो । निजको उपचारको क्रममा मृत्यु भएको हो । अनिललाई बाँधेर कुटपिट गरेको मैले देखिनँ । मेरो कारणले मृतकको मृत्यु नभएकोले मलाई सजाय हुनुहुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी कुमार राईले सुरू अदालतमा गरेको बयान ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीहरू खड्गबहादुर लिम्बू, कुमार राई, धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, तुलसी सेन्चुरी, वुद्धिनाथ भारतीलाई मुलुकी ऐन, अ.बं.११८ नं.को देहाय २ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०७१।८।२१ को आदेशानुसार निज प्रतिवादीहरू थुनामा रही मुद्दा पुर्पक्ष भएको ।

उक्त घटना मिति २०७१।७।२८ गते रातिको समयमा भएको हो । खड्गबहादुरको घरमा चोर आयो भनी हारगुहार सुनी थाहा पाई खड्गबहादुरको घरमा गाउँले भेला हुँदा उक्त घटना घटिसकेको थियो । उक्त घटनामा के कसको, कस्तो संलग्नता छ मलाई थाहा छैन । मेरो सामुन्ने प्रहरीले खड्गबहादुरको घरबाट मार्तोल र काठको पिर्का बरामद गरी लगेको हो भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस समिर मुखियाले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७१ कार्तिक २८ गतेको राति गाउँमा हल्लाखल्ला सुनिएको हुँदा मलगायत यी प्रतिवादी अम्बिकाप्रसादसहित सो ठाउँमा रातिको १२:४५ बजे खड्गबहादुरको घरमा पुग्दा यी मृतक अनिल श्रेष्ठलाई खड्गबहादुरले कुटपिट गरिसकेको र यी मृतकलाई बेहोस अवस्थामा देखेका हौं । प्रहरी र यी प्रतिवादी अम्बिकाप्रसाद र गाउँले भई उपचारको लागि हस्पिटलमा पुर्‍याएको हो । साथै अम्बिकाप्रसाद निर्दोष छन् भन्नेसमेत बेहोराको प्रतिवादी अम्बिकाप्रसाद घिमिरेको साक्षी सनमान मगरले सुरू अदालतमा गरेको बकपत्र ।

घटना प्रतिवादी खड्गबहादुर लिम्बूको घरमा नै भएको हो । उक्त घटनास्थलमा म नभएको हुँदा को कसले कुटपिट गरी घाइते अनिल श्रेष्ठको मृत्यु भएको हो मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी धनबहादुर साउदेनको साक्षी ज्ञानबहादुर मगरले सुरू अदालतमा गरेको बकपत्र । 

मैले घटनामा कुमार राई र खड्गबहादुर लिम्बूको संलग्नता भएको सुनेको हुँ । अन्य प्रतिवादीको बारेमा मलाई थाहा छैन । प्रतिवादी अम्बिकाप्रसादसमेतले प्रहरीको अनुरोधमा घाइते अनिल श्रेष्ठलाई उपचारको लागि हस्पिटलसम्म लगेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस काशीनाथ पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।

घटनाको बारेमा हामीलाई जिल्ला प्रहरी कार्यालय इलामबाट जानकारी दिएपछि प्र.ना.नि.वीरेन्द्रप्रसाद यादवको कमाण्डमा घटनास्थलमा पुग्दा निज अनिल श्रेष्ठ प्रतिवादी खड्गबहादुर लिम्बूको घरको माथिल्लो तल्लामा अचेत अवस्थामा लडिरहेको देखी तत्काल उपचारको लागि गाउँलेहरूसमेत भई घटना कसले घटाएको हो उसैले उपचार गर्नुपर्छ भनी कुमार राई र खड्गबहादुरलाई भन्दा निजहरूले उपचारको खर्च जुटाई प्रतिवादी कुमार राईको जिम्मा लगाई विराटनगर उपचारको लागि पठाएकोमा अनिल श्रेष्ठको मृत्यु भएको खबर पाएपछि प्रतिवादी खड्गबहादुर र कुमार राईलगायत निजहरूले पोलेको व्यक्तिहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाएको हो । प्रतिवादीहरू अम्बिका घिमिरे र बुद्धिनाथ भारती घटनामा संलग्न छैन भन्ने मलाई लाग्छ भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ह.शिवराम दाहालले सुरू अदालतमा गरेको बकपत्र ।

घटनाको बारेमा हामीलाई जिल्ला प्रहरी कार्यालय इलामबाट जानकारी दिएपछि मेरो कमाण्डमा घटनास्थलमा पुग्दा निज अनिल श्रेष्ठ प्रतिवादी खड्गबहादुर लिम्बूको घरको माथिल्लो तल्लामा अचेत अवस्थामा लडिरहेको देखी तत्काल उपचारको लागि गाउँलेहरूसमेत भई घटना कसले घटाएको हो, उसैले उपचार गर्नुपर्छ भनी कुमार राई र खड्गबहादुरलाई भन्दा निजहरूले उपचारको खर्च जुटाई प्रतिवादी कुमार राईको जिम्मा लगाई विराटनगर न्युरो हस्पिटलमा उपचारको लागि पठाएकोमा अनिल श्रेष्ठको मृत्यु भएको खबर पाएपछि प्रतिवादी खड्गबहादुर र कुमार राईलगायत निजहरूले पोलेको व्यक्तिहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाएको हो । प्रतिवादीहरू अम्बिका घिमिरे र बुद्धिनाथ भारती घटनामा संलग्न छैन भन्ने लाग्छ भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नि. वीरेन्द्रप्रसाद यादवले सुरू अदालतमा गरेको बकपत्र ।

यसमा जाहेरी प्रतिवेदन, प्रतिवादीहरूको बयान, घटनास्थल मुचुल्का, खानतलासी मुचुल्का, प्रतिवेदकहरूसमेतको बकपत्र, मौकाको कागज, लासजाँच प्रकृति विवरण, मृतकको शव परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादी खड्गबहादुर लिम्बूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम मुख्य ज्यानमारा भई कसुर गरेको पुष्टि हुँदा प्रतिवादी खड्गबहादुर लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी कुमार राईले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसुर गरेको पुष्टि हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । प्रतिवादीहरू धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीले ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिमको कसुर गरेको पुष्टि हुँदा प्रतिवादीहरू धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम जनही ३ वर्ष कैद हुने ठहर्छ । साथै प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न नसक्नेसमेत ठहर्छ भन्ने इलाम जिल्ला अदालतबाट मिति २०७१।९।२७ मा भएको फैसला । 

सम्मानित सर्वोच्च अदालतबाट सानुमैयाको जाहेरीले नेपाल सरकार वादी, नेप्टे भन्ने पदमबहादुर मगरसमेत प्रतिवादी भएको कर्तव्य ज्यान डाँका चोरी मुद्दा (ने.का.प.२०५४, अङ्क ३, पृ.१४५ र नि.नं. ६३३५) मा ‘‘दण्डनीय कुरामा संलग्न व्यक्तिले आपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना भएको तर आफूले दायित्व स्वीकार गरी अरूलाई उन्मुक्ति दिने स्थिति नरहने हुँदा निजले आफैँले मात्र हिर्काएकोमा अदालतसमक्ष समेत साबित भएको देखिँदा त्यसलाई अन्यथा भन्नु मनासिब नदेखिने’’ भनी सिद्धान्त प्रतिपादन भएकोमा सो परिपालन नगरिएको एवम् प्रमाण ऐन, २०३१ को दफा २५ र ५४ विपरीत भएकोले बदर गरी हाम्रो पुनरावेदन जिकिरलाई मनन गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरू धनबहादुर लिम्बू र तुलसी सेन्चुरीले पुनरावेदन अदालत इलाममा दिएको पुनरावेदनपत्र । 

सर्वोच्च अदालतबाट सानुमैयाको जाहेरीले नेपाल सरकार वादी, नेप्टे भन्ने पदमबहादुर मगरसमेत प्रतिवादी भएको कर्तव्य ज्यान डाँका चोरी मुद्दा (ने.का.प.२०५४, अङ्क ३, पृ.१४५, नि.नं.६३३५) मा प्रतिपादन भएको सिद्धान्तलाई परिपालन नगरिएको एवम् प्रमाण ऐन, २०३१ को दफा २५ र ५४ विपरीत भएकोले बदर गरी हाम्रो पुनरावेदन जिकिरलाई मनन गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी कुमार राईले पुनरावेदन अदालत इलाममा दिएको पुनरावेदनपत्र ।

सर्वोच्च अदालतबाट सानुमैयाको जाहेरीले नेपाल सरकार वादी, नेप्टे भन्ने पदमबहादुर मगरसमेत प्रतिवादी भएको कर्तव्य ज्यान डाँका चोरी मुद्दा (ने.का.प.२०५४, अङ्क ३, पृ.१४५, नि.नं.६३३५) मा प्रतिपादन भएको सिद्धान्तलाई परिपालन नगरिएको एवम् प्रमाण ऐन, २०३१ को दफा २५ र ५४ विपरीत भएकोले बदर गरी हाम्रो पुनरावेदन जिकिरलाई मनन गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीले पुनरावेदन अदालत इलाममा दिएको पुनरावेदनपत्र । 

प्रस्तुत मुद्दाको सम्पूर्ण घटना परिस्थिति र मिसिल संलग्न कागज प्रमाणहरूको मूल्याङ्कन र विश्लेषण गर्दा भवितव्य ज्यान मुद्दाको तथ्य स्थापित भइरहेकोले म पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६ नं. बमोजिम सजाय गर्ने गरी निर्णय गर्नुपर्नेमा गलत रूपमा मलाई सर्वस्वसहित जन्मकैद गर्ने गरी भएको फैसला कानूनी व्यवस्था र प्रावधानविपरीत छ । सुरू इलाम जिल्ला अदालतबाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा २५ र ५४ विपरीत भएकोले बदर गरी हाम्रो पुनरावेदन जिकिरबमोजिम भवितव्य ज्यानको कसुरमा सजाय गरिपाउँ भन्ने प्रतिवादी खड्गबहादुर लिम्बूले पुनरावेदन अदालत इलाममा दिएको पुनरावेदनपत्र । 

प्रतिवादीहरू धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे, बुद्धिनाथ भारतीले अदालतमा बयान गर्दा वारदातस्थलमा उपस्थित भएकोमा स्वीकार गरी मृतकलाई कुटपिट गरेकोमा इन्कारी रही बयान गरे तापनि निज प्रतिवादीहरूले मौकामा गरेको साबिती बयान प्रमाण ऐन, २०३१ को दफा ९(२) विपरीतको अवस्था विद्यमान रहेको पुष्टि गराउन नसकेको हुँदा निज प्रतिवादीहरूको मौकाको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२) बमोजिम प्रमाणमा लिई अभियोग माग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी सुरूले गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारबाट पुनरावेदन अदालत इलाममा परेको पुनरावेदनपत्र । 

यसमा वादी नेपाल सरकार र प्रतिवादीहरूको समेत पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन परस्पर जानकारी गराई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत इलामको मिति २०७२।३।८ को आदेश ।

पुनरावेदक खड्गबहादुर लिम्बूको हकमा सुरू जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गरेको फैसला मिलेकै देखिँदा सदर हुने र पुनरावेदक प्रतिवादीहरू धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे, बुद्धिनाथ भारती र कुमार राईसमेतले मृतक अनिल श्रेष्ठलाई मार्ने कार्यमा संलग्न भएको नदेखिएको अवस्थामा निजहरूलाई अभियोग दाबीबाट सफाइ पाउने देखिएकाले सुरू इलाम जिल्ला अदालतको मिति २०७१।९।२७ को फैसला सो हदसम्म उल्टी भई पुनरावेदक प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामबाट मिति २०७१।३।२० मा भएको फैसला ।

मौका कागज लासजाँच प्रकृति विवरण, लास जाँच, मृतकको शव परीक्षण प्रतिवेदनसमेतको कागजले कुटपिटबाट लागेको घाउचोटको उपचार गर्ने क्रममा मृतकको मृत्यु भएको तथ्यसम्म उजागर गरेको 

पाइन्छ । मृतक अनिल श्रेष्ठ हामी सुतिरहेको अवस्थामा रातको समयमा हामीलाई नै आतङ्कित बनाउँदै छोरी मनमाया लिम्बू सुतिरहेको अँध्यारो कोठामा प्रवेश गर्दा छोरी अत्तालिएर चोर आयो, चोर आयो भनी कराएपछि तत्काल मार्तोल लिएर जाँदा मृतकलाई देखी नचिनी चोर भन्ठानेर मृतकको टाउकोमा प्रहार गरेको हुँ । पछि हेर्दा मात्र मृतक अनिल श्रेष्ठ भएको कुरा मलाई थाहा जानकारी भएको र निजको उपचारको लागि अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । यसरी मसमेतको संलग्नतामा उपचार गर्न पठाएबाट मृतकलाई मार्न मेरो मनसाय थिएन भन्ने प्रस्ट भइरहेको छ । कुनै पनि छोरीचेली एक्लै कोठामा सुतिरहेको अवस्थामा रातको १२:३० बजेको समयमा कुनै व्यक्ति प्रवेश गर्दछ भने उसको अभिभावकले के गर्दछ, सोतर्फ ध्यानै नदिई मलाई सर्वस्वसहित जन्मकैद हुने गरी गरेको फैसला मिलेको छैन । प्रस्तुत मुद्दामा मेरो ज्यान मार्ने मनसाय नरहेको, ज्यान लिनुपर्नेसम्मको इवी पनि नरहेको, लुकी चोरीकन पनि नहानेको र मेरो ज्वाइँ नाताका मृतक ससुरालीमा जतिसुकै समयमा सहज रूपमा आउन सक्नेमा रातको १२ बजेको समयमा चोरको शैलीमा एक अविवाहित तरूनी छोरी सुतिरहेको अँध्यारो कोठामा असहज रूपमा प्रवेश गरेको कारणले उसै मौकामा उठेको रिस थाम्न नसकी मृतकको मृत्यु भएकोले सो विश्लेषण नगरी मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी गरेको फैसला मिलेको नदेखिँदा सुरू इलाम जिल्ला अदालतको फैसला र पुनरावेदन अदालत इलामको फैसला उल्टी गरी वादी दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी खड्गबहादुर लिम्बूको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

प्रतिवादी खड्गबहादुर लिम्बूले मौकामा बयान गर्दा मृतकले मेरी श्रीमती लुकाएका छौ, तिमीहरूलाई काट्छु, मार्छु भनेकाले गाउँका मानिसहरू बोलाउन पठाई प्रतिवादीहरू आई सम्झाउँदा नमानेकोले अम्बिकाप्रसाद घिमिरेले समाई आफूले मार्तोलले, तुलसी सेन्चुरीले काठको पिर्काले र अन्य प्रतिवादीहरू धनबहादुर लिम्बू, बुद्धिनाथ भारती कुमार राईले लात्ता मुक्काले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी सहअभियुक्तहरूलाई पोल गरी बयान गरेको अवस्था छ । अन्य सबै प्रतिवादीहरूले समेत सोहीबमोजिम साबिती हुँदै एक अर्कालाई पोल गरी मौकामा बयान गरिदिएको पाइन्छ । वारदात स्थलमा मार्तोल, खुकुरी, काठको पिर्का बरामद भएको भन्ने बरामदी मुचुल्का र अनिल श्रेष्ठको शरीरको विभिन्न भागमा घाउचोट देखिएको शव परीक्षण प्रतिवेदन देखिन्छ । उक्त मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरूको मौकाको साबिती बयान पुष्टि एवं समर्थित भएकोबाट प्रतिवादीहरू धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, तुलसी सेन्चुरी र बुद्धिनाथ भारतीसमेतले अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि भएको छ । प्रतिवादी खड्गबहादुर लिम्बूले मार्तोल (ह्यामर) जस्तो जोखिमी हतियार मृतकको टाउकोमा प्रहार गरेको पुष्टि भइरहेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको कसुर गरेको देखिएको अवस्थामा मार्तोल (ह्यामर) लाई साधारण हतियार भनी ऐ. १३(३) नं. अनुसार सजाय गरिएको र १३(१) बमोजिमको कसुरमा जति जना भई हतियार छाडेको हो उति नै ज्यानमारा हुने अवस्थामा प्रतिवादी कुमार राईसमेतलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

प्रतिवादीहरू कुमार राई, बुद्धिनाथ भारतीसमेतले मृतकलाई कुटपिट गरेको तथ्य प्रहरीसमक्षको बयानबाट खुल्न आएको पाइयो । मृतकको शरीरमा विभिन्न घाउचोट रहेको देखिँदा केवल प्रतिवादी खड्गबहादुर लिम्बूले मात्र मार्तोलले प्रहार गरेको भनी सम्झन मिल्ने अवस्था नदेखिएको अवस्थामा कुमार राईसमेतका प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला प्रमाण मूल्याङ्कनको दृष्टिले फरक पर्न सक्ने देखिँदा प्रतिवादी खड्गबहादुर लिम्बूको पुनरावेदन जनाउ मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिई तथा कुमार राईसमेतका अनुपस्थित प्रतिवादीहरूलाई म्याद जारी गरी झिकाई निजहरू हाजिर हुन आएपछि वा सो अवस्था नाघेपछि नियमानुसार गर्नु भन्ने यस अदालतबाट मिति २०७४।७।३० मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा यस अदालतमा दायर भएको पुनरावेदन मिसिललगायत सुरू तथा उच्च अदालतको मिसिल संलग्न कागजात अध्ययन गरियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता रेशम आचार्यले पुनरावेदक प्रतिवादी खड्गबहादुर लिम्बूको कोभिड १९ को कारण मेची अञ्चल अस्पतालमा मिति २०७८।३।१६ मा मृत्यु भएको भनी कारागार कार्यालय इलामको पत्रमा उल्लेख गरिएको जानकारी 

गराउनुभयो । साथै वारदात स्थलमा मार्तोल, खुकुरी र काठको पिर्का बरामद भएको भन्ने बरामदी मुचुल्का र मृतक अनिल श्रेष्ठको शरीरको विभिन्न भागमा घाउचोट देखिएको शव परीक्षण प्रतिवेदनलगायतका मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरूको मौकाको साबिती बयान समर्थित भएकोबाट प्रतिवादीहरू धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, तुलसी सेन्चुरी र बुद्धिनाथ भारतीसमेतले अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि भएकोमा सोबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी निजहरूलाई सफाइ दिने ठहराएको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।

यसमा प्रतिवादीहरू खड्गबहादुर लिम्बू, 

कुमार राई, धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीले मिति २०७१।८।२७ मा अनिल श्रेष्ठलाई कुटपिट गरी कर्तव्य गरी मारेकोले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहको प्रस्तुत मुद्दामा सुरू इलाम जिल्ला अदालतबाट मिति २०७१।९।२७ मा फैसला हुँदा प्रतिवादीहरू खड्गबहादुर लिम्बू र कुमार राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिमको कसुर कायम गरी प्रतिवादी खड्गबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैद र प्रतिवादी कुमार राईलाई जन्मकैद तथा अन्य प्रतिवादीहरू धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीलाई ऐ. १७(३) नं. बमोजिम जनही ३ वर्ष कैद सजाय हुने ठहर भएको देखिन्छ । उक्त फैसलाउपर वादी र सबै प्रतिवादीहरूको पुनरावेदन परेकोमा पुनरावेदन अदालत इलामबाट प्रतिवादी खड्गबहादुर लिम्बूको हकमा सुरू फैसला सदर र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी मिति २०७२।३।२० मा फैसला भएकोमा सो फैसलामा चित्त नबुझाई प्रतिवादी खड्गबहादुर लिम्बू र वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो ।

वादी नेपाल सरकारले आफ्नो पुनरावेदनमा खड्गबहादुर लिम्बूले मौकामा बयान गर्दा मृतक अनिल श्रेष्ठले मेरी श्रीमती लुकाएका छौ, तिमीहरूलाई काट्छु, मार्छु भनेकाले आफूले गाउँका मानिसहरू बोलाउन पठाएको र निजहरू आई सम्झाउँदासमेत नमानेकोले प्रतिवादी अम्बिकाप्रसाद घिमिरेले समाई मार्तोलले हानेको र अन्य प्रतिवादीहरूमध्ये तुलसी सेन्चुरीले काठको पिर्काले तथा धनबहादुर लिम्बू, बुद्धिनाथ भारती र कुमार राईले लात्ता मुक्काले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी अन्य प्रतिवादीहरूलाई समेत पोल गरी बयान गरेको अवस्था छ । वारदात स्थलमा मार्तोल, खुकुरी, काठको पिर्का बरामद भएको भन्ने बरामदी मुचुल्का र अनिल श्रेष्ठको शरीरको विभिन्न भागमा घाउचोट देखिएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोराबाट सहअभियुक्तको पोल समर्थित भइरहेकोमा निजहरूलाई सफाइ दिएको मिलेको छैन । यसैगरी प्रतिवादी खड्गबहादुर लिम्बूले जोखिमी हतियार ह्याम्मरले मृतकको टाउकोमा प्रहार गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम कसुर गरेकोमा ऐ. १३(३) नं. बमोजिम सजाय गरेको मिलेको छैन । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी जिकिर लिएको देखियो ।

यसैगरी, प्रतिवादी खड्गबहादुर लिम्बूले आफ्नो पुनरावेदनपत्रमा मृतक अनिल श्रेष्ठ हामी सुतिरहेको अवस्थामा रातको समयमा हामीलाई नै आतङ्कित बनाउँदै छोरी मनमाया लिम्बू सुतिरहेको अँध्यारो कोठामा प्रवेश गर्दा छोरी अत्तालिएर चोर आयो, चोर आयो भनी कराएपछि तत्काल मार्तोल लिएर जाँदा मृतकलाई देखी नचिनी चोर भन्ठानेर मृतकको टाउकोमा प्रहार गरेको हुँ । निज अनिल श्रेष्ठलाई उपचारको लागि अस्पताल लगेकोमा उपचार गर्दागर्दै मृतकको मृत्यु भएको हो । यसमा मेरो ज्यान मार्ने मनसाय नरहेको र रातको समयमा चोरको शैलीमा एक अविवाहित तरूनी छोरी सुतिरहेको अँध्यारो कोठामा असहज रूपमा प्रवेश गरेको कारणले उसै मौकामा उठेको रिस थाम्न नसकी प्रहार गरेको चोटबाट मृतकको मृत्यु भएकोले सो विश्लेषण नगरी मलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी गरेको फैसला नमिलेको हुँदा सुरू इलाम जिल्ला अदालत र पुनरावेदन अदालत इलामको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने जिकिर लिएको देखिन्छ ।

उपर्युक्तबमोजिमको तथ्य र पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ताले गर्नुभएको तर्कपूर्ण बहस जिकिरसमेत सुनी पुनरावेदन अदालत इलामबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादी खड्गबहादुर लिम्बूको पूनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्‍ने विषयमा निर्णय गर्नुपर्ने देखियो ।

२. अब निर्णयतर्फ विचार गर्दा मिसिल संलग्न मिति २०७१।७।२९ को घटनास्थल तथा लासजाँच मुचुल्कामा मृतक अनिल श्रेष्ठको टाउकोको पछाडि बायाँ साइडमा ३ इन्च लम्बाइको टाँका लगाएको काटिएको घाउ र छातीको बिच भागमा ५ इन्च लम्बाइ ३ इन्च चौडाइको रातो डाम रहेको भन्नेसमेत बेहोरा उल्लेख भएको देखिन आउँछ । यसैगरी कोशी अञ्चल अस्पतालको मिति २०७१।८।८ को  शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारणमा शरीरमा भएको प्रहारबाट मस्तिष्क र मेरूदण्डमा लागेको गम्भीर चोटका कारण हृदयगतिमा आघात पुगेको (physical assault leading to severe brain injury with splenic injury causes cardiopulmonary arrest) भन्ने उल्लेख भएको देखिएको र मृतक अनिल श्रेष्ठको मिसिल संलग्न फोटोमा टाउकोमा काटिएको घाउ रहेको देखिएसमेतबाट निजको मृत्यु स्वाभाविक रूपमा नभई कर्तव्यबाट भएको हो भन्ने तथ्य स्थापित हुन आउँछ । 

३. अब को कसको के कस्तो कर्तव्यबाट अनिल श्रेष्ठको मृत्यु भएको रहेछ भन्ने सम्बन्धमा हेर्दा मिति २०७१।७।२८ गते राति १२ बजेतिरको समयमा प्रतिवादीहरू खड्गबहादुर लिम्बू, कुमार राई, धनबहादुर लिम्बू, अम्बिकाप्रसाद घिमिरे, तुलसी सेन्चुरी र बुद्धिनाथ भारतीसमेतका मानिसहरूले अनिल श्रेष्ठलाई हात खुट्टा बाँधी कुटपिट गर्ने क्रममा बेहोस भई स्थानीय एभरेष्ट अस्पताल दानावारीमा उपचार हुन नसकी विराटनगर स्थित न्युरो अस्पतालमा लगेकोमा उपचार हुँदाहुँदै मृत्यु भएकोले वारदातमा संलग्न रहेका मानिसहरूलाई कानूनबमोजिम कारबाही होस् भन्ने प्रहरी चौकी लोदिया दानावारी इलाममा प्र.ना.नि. विरेन्द्रप्रसाद यादवसमेतको प्रतिवेदनबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवेदनअनुरूप नै प्रतिवादीहरूउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं. बमोजिमको कसुरमा सजायको मागदाबी लिई अभियोगपत्र दायर भएकोमा सुरू जिल्ला अदालतले प्रतिवादी खड्गबहादुर लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद तथा कुमार राईलाई जन्मकैद र अन्य प्रतिवादीहरूलाई ऐ. १७(३) नं. बमोजिम तीन वर्ष कैद हुने ठहर गरेकोमा पुनरावेदन अदालत इलामबाट प्रतिवादी खड्गबहादुर लिम्बूको हकमा सुरू सदर र अन्य प्रतिवादीहरूका हकमा सुरू फैसला उल्टी गरी सफाइ पाउने ठहर गरेको देखिन्छ । सो फैसलाउपर सजाय ठहर भएका प्रतिवादी खड्गबहादुर लिम्बू र प्रतिवादीहरूको हकमा वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखिन्छ । 

४. अब पुनरावेदक प्रतिवादी खड्गबहादुर लिम्बूको हकमा विचार गर्दा मिसिल संलग्न कारागार कार्यालय, इलामको प.सं. ०७७/७८, च.नं. ११५ र मिति २०७८।१।२० को पत्रमा “पुनरावेदक / वादी नेपाल सरकार प्रतिवादी खड्गबहादुर लिम्बू भएको कर्तव्य ज्यान मुद्दाको मिति २०७८।४।२५ गते पेसी हुने भनी जानकारी यस कार्यालयमा प्राप्त भएकोमा निज प्रतिवादी खड्गबहादुर लिम्बूलाई मिति २०७८।३।१२ गते कोभिड १९ कोरोना पोजिटिभ भई इलाम अस्पताल, इलाम लगिएकोमा उपचार सम्भव नभई पुनः मिति २०७८।३।१३ गते मेची अञ्चल अस्पताल, भद्रपुर, झापा लगिएकोमा मिति २०७८।३।१६ गते मृत्यु भएको” भन्ने उल्लेख भएको देखिएको र महान्यायाधिवक्ताको कार्यालयबाट बहसका लागि उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ताले समेत सोही कुरा इजलासलाई अवगत गराएको हुँदा यी प्रतिवादीको मृत्यु भएको भन्ने तथ्यमा विवाद भएन । आपराधिक दायित्व व्यक्तिको निजी दायित्व (Principle of personality of criminal liability) भएकोले कुनै पनि व्यक्तिको व्यक्तित्वको समाप्तिसँगै त्यस्तो दायित्व पनि सामाप्त हुन्छ । यसैकारण फौजदारी विधिशास्त्रमा अपराधीसँगै अपराध मर्छ (actio personalis moritur cum persona) भन्ने मान्यतालाई स्वीकार गरिएको 

हुन्छ । वस्तुतः फौजदारी कार्य आपराधिक मनसायका साथ गरिएको हुने र त्यस्तो मनसाय व्यक्तिमा सीमित रहने हुँदा व्यक्तित्वको समाप्तिसँगै आपराधिक दायित्वको पनि समाप्ति भएको मानिएको हो । आपराधिक दायित्वको समाप्तिपश्चात् निज विरूद्धको फौजदारी मुद्दाको कारबाही प्रक्रिया जे जुन अवस्थामा छ, सोही अवस्थामा अन्त्य भएको मानिन्छ । जसअनुसार मुद्दा अनुसन्धानको चरणमा भए निज विरूद्ध अभियोजन नै नगरिने, अभियोजन भइसकेको भए मुद्दा खारेज गरिने र अदालतबाट कसुरदार ठहरी सजाय पाएको व्यक्तिको मृत्यु भएमा निजको कार्यान्वयन हुन बाँकी कैद वा जरिवाना स्वतः मिनाहा भएको मानिन्छ । यद्यपि फौजदारी मुद्दाको जरियाबाट सिर्जित बिगो र क्षतिपूर्ति जस्ता देवानी प्रकृतिका दायित्व भने प्रतिवादीको मृत्युसँगै समाप्‍ति हुन सक्दैन । यस्तो दायित्व निजको हकवालामा हस्तान्तरित हुन जान्छ ।

५. अभियुक्त वा कसुरदारको मृत्युपश्चात् निज विरूद्धको मुद्दाको समाप्ति हुने विषय आधारभूत रूपमा दुई मान्यतामा आधारित छ । पहिलो, प्रतिवादी मुद्दाको एक पक्ष हो । निजको मृत्यु हुनु भनेको मुद्दाको एक पक्षको उपस्थिति नहुनु हो । कुनै पक्षको अनुपस्थितिमा निज विरूद्धको मुद्दा सुनुवाइ गर्नु स्वच्छ सुनुवाइको सिद्धान्त प्रतिकूल मानिन्छ । मुद्दाको स्वच्छ सुनुवाइविना कुनै पक्षलाई दोषी वा निर्दोष ठहर गर्न नमिल्ने भएकाले मुद्दाको कारबाही सुरू वा पुनरावेदन जुनसुकै तहमा भए तापनि फौजदारी मुद्दामा प्रतिवादीको मृत्यु भएमा निज विरूद्धको मुद्दा अन्त्य भएको मानिन्छ । 

६. दोस्रो, फौजदारी कानूनको मुख्य उद्देश्य दोषी ठहर भएका व्यक्तिलाई सजाय दिनु रहेको 

हुन्छ । तर अभियुक्तको मृत्यु नै भइसकेको अवस्थामा निज विरूद्धको सजाय कार्यान्वयन हुन सक्ने अवस्थासमेत नरहने भएकाले त्यस्तो व्यक्ति विरूद्धको मुद्दाको कारबाही प्रक्रिया कायम राख्नुको औचित्य नरहने भएकाले फौजदारी विधिशास्त्रमा अपराधीसँगै अपराध मर्छ भन्ने मान्यतालाई स्वीकार गरिएको 

देखिन्छ । तथापि एकभन्दा धेरै प्रतिवादीहरू भएको मुद्दामा कुनै प्रतिवादीको मृत्यु भएमा निजका हकमा मात्र आपराधिक दायित्वको समाप्ति हुने गरी मुद्दा खारेज हुन्छ । सोही कारण अन्य प्रतिवादीहरूको दायित्व समाप्त हुने अवस्था भने देखिन आउँदैन । 

७. प्रतिवादीको मृत्यु भएको अवस्थामा हुने मुद्दाको कारबाही प्रक्रियासम्बन्धी हाम्रो कानूनी व्यवस्था हेर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३(१) मा “यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा अदालतले त्यस्तो मुद्दा खारेज गरिदिनुपर्ने छ । तर एकभन्दा बढी अभियुक्त वा प्रतिवादी भएकोमा कुनै एक अभियुक्तको मृत्यु हुँदैमा मुद्दा खारेज गर्न सकिने छैन ।” भन्ने, सोही दफाको उपदफा (२) मा “उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिगो वा क्षतिपूर्ति समावेश भएको मुद्दामा अभियुक्त वा प्रतिवादीको मृत्यु भए पनि अदालतले मिसिल संलग्न प्रमाण र बुझ्न आवश्यक देखिएको अन्य प्रमाणहरूसमेत बुझी बिगो वा क्षतिपूर्ति कायम गर्ने निर्णय गर्न सक्ने छ” भन्ने र उपदफा (४) मा “पुनरावेदन, पुनरावलोकन वा मुद्दा दोहोर्‍याउन निवेदन दिने पक्षको वा त्यस्तो मुद्दामा पहिले कसुरदार ठहरिएको व्यक्तिको मृत्यु भएमा त्यस्तो पुनरावेदन, पुनरावलोकन वा दोहोर्‍याई हेरिएको मुद्दा तामेलीमा राखिदिनुपर्ने छ” भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा बिगो वा क्षतिपूर्तिको प्रश्न समावेश भएको नदेखिँदा उपदफा (२) बमोजिम मुद्दाको तथ्यमा प्रवेश गरी निर्णय गर्नुपर्ने अवस्था देखिएन । तर मुद्दामा अन्य प्रतिवादीहरूको उपस्थिति रहेको देखिएकाले निजहरूको हकमा इन्साफ गर्नुपर्ने अवस्था देखियो । यस स्थितिमा यस अदालतमा पुनरावेदन दिने प्रतिवादी खड्गबहादुर लिम्बूको हकमा सम्म प्रस्तुत मुद्दा तामेलीमा राखिदिनुपर्ने भन्ने कानूनी व्यवस्था माथि उल्लिखित उपदफा (४) मा देखिए तापनि उपदफा (१) मा अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा मुद्दा खारेज गरिदिनुपर्ने भन्ने व्यवस्था देखिएको र परिणामतः मुद्दाको खारेजी र तामेलीमा तात्विक अन्तर नहुने भएकाले मुद्दामा रहेका अन्य प्रतिवादीहरूलाई बाहेक गरी मृत्यु भइसकेको देखिएका पुनरावेदक प्रतिवादी खड्गबहादुर लिम्बूको हकमा सम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३(१) बमोजिम प्रस्तुत मुद्दा खारेज गर्नुपर्ने देखिन आयो । 

८. अब अन्य प्रतिवादीहरूको हकमा नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादीहरूले मौकामा अख्तियारप्राप्त अधिकारीसमक्ष मनमाया लिम्बूले चोर आयो भनी कराएपछि के रहेछ भनी वारदातस्थलमा पुग्दा अनिल श्रेष्ठले विवाद गरिरहेका रहेछन् । हामीहरूले निजलाई लात मुक्का पिर्काले हिर्काएको भनी आरोपित कसुरमा साबित रही बयान गरेको देखिए पनि निजहरूले अदालतमा गरेको बयानमा आफूहरू वारदातस्थल पुग्दा अनिल श्रेष्ठ बेहोस भई लडेको अवस्थामा देखेकोले प्रहरी बोलाई निजलाई उपचार गर्न लगेको भनी आरोपित कसुरमा इन्कार रही बेहोरा लेखाएको देखिन्छ । यसैगरी प्रतिवादी खड्गबहादुर लिम्बूले मौकामा गरेको बयानमा सम्म यी प्रतिवादीहरूसमेतलाई पोल गरेको देखिए तापनि अदालतमा गरेको बयानमा छोरी मनमायाले चोर आयो भनी कराएपछि अरू प्रतिवादीहरू मेरो घरमा आएका हुन् । उनीहरूले कुटपिट गरेका होइनन् । मृतक अनिल श्रेष्ठलाई मैले मार्तोलले हानेको हुँ । सोही चोटका कारण अनिल मरेको हो तर ऊ बाँचेको भए हामी सबैलाई मार्ने थियो भनी अन्य प्रतिवादीहरूको आरोपित कसुरमा संलग्नता नरहेको भन्ने बेहोरा लेखाएको देखियो । वारदातमा उपस्थित रहेकी मौकामा घटना विवरण कागज गर्ने प्रतिवादी खड्गबहादुर लिम्बूकी छोरी मनमाया लिम्बूलाई वादी पक्षले अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको देखिँदैन । 

९. वारदातस्थलमा उपस्थित प्रत्यक्षदर्शीहरूमध्ये यी प्रतिवादीहरूले आफूहरू वारदातस्थलमा पुग्दा अनिल श्रेष्ठ बेहोस भई भुइँमा लडिरहेका थिए भनी अदालतमा बयान गरेको अवस्था छ । मिसिलबाट देखिएका अर्का प्रत्यक्षदर्शीहरूमध्ये घटनास्थल मुचुल्काका मानिस समीर मुखियाले गरेको बकपत्रमा पनि खड्गबहादुर लिम्बूको घरमा गाउँले भेला हुँदा घटना घटिसकेको थियो भनी बकपत्र गरेको देखिन्छ भने वारदात स्थलमा उपस्थित भएका प्रतिवादी अम्बिकाप्रसाद घिमिरेका साक्षी सनमान मगरको बकपत्रमा पनि गाउँलेहरू पुग्दा अनिल श्रेष्ठलाई खड्गबहादुर लिम्बूले कुटपिट गरिसकेको र निज अनिल श्रेष्ठ बेहोस अवस्थामा लडेका थिए भन्ने उल्लेख गरेको देखिँदा वारदातस्थलमा उपस्थित भएका खड्गबहादुर लिम्बूसमेतका सबै प्रतिवादीहरू तथा वारदातको प्रत्यक्षदर्शीका रूपमा प्रस्तुत गरिएका वादी प्रतिवादीका साक्षीहरूको बकपत्रबाट प्रतिवादीहरूको अदालतको बयान बेहोरा समर्थित हुन आउँछ । मौकामा प्रहरी प्रतिवेदन गर्ने प्र.ना.नि. विरेन्द्रप्रसाद यादव र प्र.ह. शिवराम दाहालले सुरू अदालतमा उपस्थित भई गरेको बकपत्रमा पनि आफूहरू वारदातस्थलमा पुग्दा मृतक अनिल श्रेष्ठ बेहोस भई लडिरहेको 

थियो । प्रतिवादी खड्गबहादुर लिम्बूले पोलेअनुसार अन्य प्रतिवादीहरूलाई समेत पक्राउ गरी अनुसन्धान गरिएको हो भनी उल्लेख गरेको देखिँदा निजहरूको बकपत्रबाट समेत यी प्रतिवादीहरूले मृतक अनिल श्रेष्ठलाई चोट छाडेको भनी यकिनसाथ लेखाउन सकेको देखिएन । यसरी प्रहरी प्रतिवेदनसाथ पक्राउ परेका प्रतिवादी खड्गबहादुर लिम्बूबाहेक अन्य प्रतिवादीहरूलाई शङ्काको आधारमा पक्राउ गरी कारबाही चलाएको देखिन्छ । 

१०. प्रतिवादीहरूका अन्य साक्षीको बकपत्रबाट पनि अन्य प्रतिवादीहरू वारदातस्थल खड्गबहादुर लिम्बूको घर पुग्दा खड्गबहादुर लिम्बूले मृतकलाई कुटपिट गरी निज बेहोस अवस्थामा लडिरहेको भन्ने नै देखिन आउँछ । वारदात प्रकृति हेर्दा रातको १२- १ बजेतिर मृतक अनिल श्रेष्ठ प्रतिवादी खड्गबहादुर लिम्बूको घरमा गएको देखिन्छ । निज अनिल श्रेष्ठ प्रतिवादीका छोरी सुतेको कोठामा प्रवेश गरेको र छोरीले चोर आयो भनी कराउँदा प्रतिवादी खड्गबहादुर लिम्बूले मार्तोलले मृतक अनिल श्रेष्ठको टाउकोमा प्रहार गरी निज बेहोस भई लडेको भन्ने देखिन आउँदा निज अनिल श्रेष्ठ प्रतिवादीको घरमा प्रवेश गरेपछि तत्कालै वारदात भएको देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदन तथा वारदातस्थलबाट मार्तोल बरामद भएको बरामदी मुचुल्कासमेतका प्रमाणबाट पनि उक्त वारदात परिदृष्य समर्थित भइरहेको छ । प्रतिवादी खड्गबहादुर लिम्बूको छोरी चिच्याएपछि गाउँ छिमेकबाट अन्य प्रतिवादीहरू उठी वारदातस्थल आउँदा केही समय लाग्नु स्वाभाविक भएकाले अन्य प्रतिवादीहरू वारदातस्थलमा पुग्दा प्रतिवादी खड्गबहादुर लिम्बूले अनिल श्रेष्ठलाई प्रहार गरी बेहोस बनाई लडाएको भन्ने प्रतिवादीहरूले सुरू अदालतमा गरेको बयान मिसिल संलग्न अन्य प्रमाणबाट समर्थित हुन आयो । निजहरूले मौकामा गरेको साबिती बयान मिसिल संलग्न स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेको देखिएन । 

११. प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुन्छ । तर प्रस्तुत मुद्दामा वारदातका प्रत्यक्षदर्शी भनिएका वादी पक्षका साक्षी घटनास्थल मुचुल्काका मानिस समीर मुखियाले वारदातमा खड्गबहादुर लिम्बूबाहेकका अन्य प्रतिवादीहरूको संलग्नता नरहेको भनी लेखाएको तथा अर्का प्रत्यक्षदर्शी मनमाया लिम्बूलाई वादी पक्षले अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको नदेखिई वादी नेपाल सरकारले प्रतिवादीहरूउपरको अभियोग पुष्टि हुन सक्ने गरी कुनै ठोस एवं निश्चयात्मक प्रमाण पेस गर्न सकेको देखिएन । मिसिल संलग्न स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेको पोल एवम् मौकाको साबितीको आधारमा मात्र प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न फौजदारी कानून एवम् न्यायको मान्य सिद्धान्तको रोहमा मिल्ने नदेखिएकाले प्रतिवादीहरू कुमार राई, धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीलाई अभियोग दाबीबाट सफाइ दिने ठहराएको पुनरावेदन अदालत इलामको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । 

१२. तसर्थ माथि विवेचित आधार, प्रमाण र कारणबाट प्रतिवादी खड्गबहादुर लिम्बूको हकमा सुरू इलाम जिल्ला अदालतको मिति २०७१।९।२७ को फैसलाले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसुरमा ऐ. १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको र उक्त फैसला पुनरावेदन अदालत इलामबाट समेत सदर भएको एवम् सोउपर निज प्रतिवादीको यस अदालतका पुनरावेदन परेको भए पनि निजको मृत्यु भइसकेकाले निजको हकमा सम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३(१) बमोजिम प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । अन्य प्रतिवादीहरूको हकमा सुरू इलाम जिल्ला अदालतले प्रतिवादी कुमार राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा ऐ. महलको १३(३) नं. बमोजिम जन्मकैद तथा प्रतिवादीहरू धनबहादुर लिम्बू, तुलसी सेन्चुरी, अम्बिकाप्रसाद घिमिरे र बुद्धिनाथ भारतीलाई ऐ. १७(३) नं. बमोजिमको कसुरमा ३ वर्ष कैद सजाय हुने ठहर्‍याएको फैसला पुनरावेदन अदालत इलामले उल्टी गरी सबै प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको मिति २०७१।३।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी खड्गबहादुर लिम्बूको मिति २०७८।।३।१६ मा मृत्यु भएको र निजको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३(१) बमोजिम प्रस्तुत मुद्दा खारेज हुने ठहरेकाले पुनरावेदन अदालत इलामको फैसलाले लागेको निजको नाममा सर्वस्वसहित जन्मकैदको लगत कट्टा गर्नु भनी सुरू इलाम जिल्ला अदालतमा लेखी पठाउनू .................................१

यो फैसलाको प्रतिलिपिसमेत संलग्न गरी फैसला भएको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ............................................................२

सरोकारवालाले रीतपूर्वक फैसलाको नक्कल माग्न आए लाग्ने दस्तुर लिई नियमानुसार प्रतिलिपि उपलब्ध गराउनू ........................................................३

प्रस्तुत फैसलाको विद्युतीयप्रति अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाउनू .......................................................४

 

उक्त रायमा सहमत छु ।

न्या.दीपककुमार कार्की

 

इजलास अधिकृत : शिवबहादुर थापा

इति संवत् २०७८ साल साउन २५ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु