निर्णय नं. १०८१८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७८।४।३१
०७६-CR-१२३८
मुद्दा: कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : भुटान जन्मस्थान झापा जिल्ला, साबिक बेलडाँगी ३ सेक्टर डि.आर. घर नं.२ बस्ने धनमान गुरूङको छोरा राजकुमार गुरूङ भनी लेखिएको भए तापनि सो नभई भारत पश्चिम बंगाल जयगाउँ, आलेपुर जिल्ला रनबहादुर बस्तीमा बस्ने हाल कारागार कार्यालय, पर्सा, वीरगन्जमा कैदमा रहेका दिपेस राई
विरूद्ध
प्रत्यर्थी / वादी : चन्द्र गुरूङको जाहेरीले नेपाल सरकार
आफूले गरेको कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिए तापनि अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेबाट न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था नभई घटना घटाएपश्चात् तत्काल फरार भई विदेश गई लुकीछिपी बसेको र केही वर्षपछि नेपाल आएको अवस्थामा पक्राउ परी आफू मुद्दाको प्रतिवादी नभई अर्कै व्यक्ति हुँ भनी अदालतमा बयान गर्दा निजले आरोपित कसुरबाट बच्ने प्रयास गरेको अवस्थामा साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. को अवस्था विद्यमान रहेको मान्न नसकिने ।
(प्रकरण नं.११)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री राघवलाल वैद्य, श्री विजयकान्त मैनाली र श्री सुजन लोप्चन तथा विद्वान् अधिवक्ताहरू श्री शोभा भण्डारी, श्री मिनबहादुर वाइवा र श्री दिनेशप्रसाद शर्मा
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी.
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री बसन्तराज पौडेल
गोरखा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री तेजबहादुर कार्की
माननीय न्यायाधीश श्री नरबहादुर शाही
उच्च अदालत पोखरा
फैसला
न्या.टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
तथ्य खण्ड
जाहेरी दरखास्त
झापा जिल्ला, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने मेरो दाजु अम्मरसिंह गुरूङ, राजकुमार गुरूङ, देउबहादुर गुरूङ र अर्जुन वि.क. चार जना भई कामको खोजीमा २०६८ सालको चैत्र महिनातिर गोरखा जिल्ला, बोर्लाङ गा.वि.स.मा आई ज्याला मजदुरीको काम गरी बस्नुभएको थियो । सोही क्रममा सँगै काममा आएका चार जना मिलेर गोरखा जिल्ला, बोर्लाङ गा.वि.स. वडा नं. ८ को भुमेश्वर सामुदायिक जङ्गलमा काठको काम गर्ने क्रममा मिति २०६९।१।५ मा प्रतिवादी राजकुमार गुरूङ र मेरो दाजु अम्मरसिंह गुरूङबिच बेलुकीको खाना पकाउने विषयमा विवाद हुँदा दाजु अम्मरसिंह गुरूङलाई प्रतिवादी राजकुमार गुरूङले धारिलो हतियार खुकुरीले घाँटीलगायतको शरीरका विभिन्न भागमा हानी कर्तव्य गरी मारी फरार भएको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको चन्द्र गुरूङको मिति २०६९।१।८ को जाहेरी दरखास्त ।
घटनास्थल लासजाँच प्रकृति मुचुल्का
गोरखा जिल्ला, बोर्लाङ गाउँ विकास समिति वडा नं. ८ स्थित सामुदायिक वनको फेदी खोल्सी छेउमा स्याउलाले बारेको प्लाष्टिकले छाएको सानो छाप्रो, सो छाप्रोअगाडि उत्तर टाउको, दक्षिण खुट्टा गरी उत्तानो अवस्थामा अम्मरसिंह गुरूङको मृतक लास रहेको, मृतक लासले लगाएको कपडा तथा अनुहारको भागमा रगत जस्तो रातो पदार्थ लागी सुकेको, बायाँ गालामा साढे ६ इन्च लम्बाइ भएको चोट, सो चोटको गहिराइ यकिनसाथ भन्न नसकिने अवस्थामा रहेको, घाँटीको अगाडि र पछाडिको भागमा चार इन्च गहिरो धारिलो हतियारको चोट रहेको, बायाँ च्यापुबाट घाँटीसम्म धारिलो हतियारले काटेको चोट देखिएको भन्नेसमेत बेहोराको मिति २०६९।१।६ को घटनास्थल लासजाँच प्रकृति मुचुल्का ।
शव परीक्षण प्रतिवेदन
Hypovolemic shock भन्नेसमेत बेहोराको मृतक अम्मरसिंह गुरूङको मिति २०६९।१।७ को शव परीक्षण प्रतिवेदन र Human blood was detected on exhibit.1 भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, काठमाडौंको मिति २०६९।५।१३ को परीक्षण प्रतिवेदन ।
घटना विवरण कागज
मिति २०६८ सालको चैत्र महिनातिर ज्याला मजदुरीको काम खोज्दै अम्मरसिंह गुरूङ, राजकुमार गुरूङ, देउबहादुर गुरूङ र मसमेत चार जना भई गोरखा जिल्लाको बोर्लाङ गा.वि.स. वडा नं. ८ स्थित भुमेश्वर सामुदायिक जङ्गलमा काठ काट्ने तथा बोक्ने काम गरी सोही जङ्गलमा छेउमा पाल टाँगेर बसेका थियौं । मिति २०६९।१।५ गते दिन दिनभरि काम गरी बेलुका बस्ने डेरामा गई खाना पकाउनेलगायतको विषयमा एकआपसमा विवाद हुँदा प्रतिवादी राजकुमार गुरूङले अम्मरसिंह गुरूङलाई नजिकै टेबुलमा रहेको खुकुरी टिपी टाउकोलगायत घाँटीको विभिन्न भागमा ३/४ पटक हानी भुइँमा लडाएपछि निजको घटनास्थलमा मृत्यु भएको हो । घटनापश्चात् मसमेतलाई भागौं भनी निजसँग म पनि भागी २/३ घन्टा हिँडेपछि म निजबाट भागी गाउँमा आई घटनाबारे जानकारी गराएको हुँ । निज प्रतिवादी सो ठाउँबाट के कता गए मलाई थाहा छैन भन्नेसमेत बेहोराको घटनाका प्रत्यक्षदर्शी अर्जुन वि.क.ले मिति २०६९।१।१० मा गरिदिएको घटना विवरण कागज ।
मिति २०६८ सालको चैत्र महिनातिर ज्याला मजदुरीको काम खोज्दै अम्मरसिंह गुरूङ, राजकुमार गुरूङ, अर्जुन वि.क. र मसमेत चार जना भई गोरखा जिल्लाको बोर्लाङ गा.वि.स. वडा नं. ८ स्थित भुमेश्वर सामुदायिक जङ्गलमा काठ काट्ने तथा बोक्ने काम गरी सोही जङ्गलमा छेउमा पाल टाँगेर बसेका थियौं । मिति २०६९।१।५ गते दिनभरि काम गरी बेलुका बस्ने डेरामा अम्मरसिंह गुरूङ, राजकुमार गुरूङ, अर्जुन वि.क. गएका र म काम विशेषले गाउँमा नै बसेको थिएँ । बेलुका खाना पकाउनेलगायतको विषयमा एकआपसमा विवाद हुँदा प्रतिवादी राजकुमार गुरूङले अम्मरसिंह गुरूङलाई खुकुरी प्रहार गरी कर्तव्य गरी मारी फरार भएको कुरा मिति २०६९।१।६ गते बिहान ५:०० बजेको समयमा अर्जुन वि.क.ले म भएको ठाउँमा आई घटनाबारे बताएका हुँदा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको देउबहादुर गुरूङको मिति २०६९।१।१० को घटना विवरण कागज ।
मिति २०६९।१।५ गतेका दिन झापाबाट बोर्लाङ गाउँमा बास बसी मिति २०६९।१।६ गते बिहान उठी सँगै काठ काट्ने काम गर्ने साथीहरू बस्ने भुमेश्वर सामुदायिक वनमा पुग्दा अर्जुन वि.क. र देउबहादुर गुरूङले हिजो राति अम्मरसिंह गुरूङलाई राजकुमार गुरूङले खुकुरी हानी मारी भागेका छन् भनी घटना सम्बन्धमा सुनी थाहा पाई बुझ्दै जाँदा अम्मरसिंह गुरूङलाई सोही ठाउँमा भुइँमा रक्ताम्य पारेको अवस्थामा पल्टेको देखेको हुँ । निज अम्मरसिंह गुरूङको घाँटी तथा टाउकोको भागमा गम्भीर गहिरो धारिलो हतियारले काटिएको अवस्थामा घाउचोट देखिएको थियो । म आउँदा निज राजकुमार गुरूङ भागी फरार भइसकेको थियो । अम्मरसिंह गुरूङलाई निज प्रतिवादी राजकुमार गुरूङले नै कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको तुलामान गुरूङको घटना मिति २०६९।१।१० को घटना विवरण कागज ।
सनाखत कागज
बरामद भएको खुकुरी थान २ मध्ये काठको बिँड फलामको काँजो भएको ठुलो खुकुरी प्रतिवादीले वारदातको समयमा प्रयोग गरेको खुकुरी हो । उक्त खुकुरीले निज प्रतिवादी राजकुमार गुरूङले अम्मरसिंह गुरूङलाई घाँटी तथा टाउकोसमेतको भागमा हानी कर्तव्य गरी वारदातपश्चात् घटनास्थलमा फाली गएका हुन् र अर्को काठको बिँड पितलको काँजो भएको सानो खुकुरी तरकारी काट्न प्रयोग गरिने खुकुरी हो भन्नेसमेत बेहोराको अर्जुन वि.क.को सनाखत कागज ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान
मिति २०६८ सालको चैत्र महिनामा झापा, बेलडाँगी शिविरबाट मेरो सहोदर दाइ देउबहादुर गुरूङ, अम्मर गुरूङ, अर्जुन वि.क. र म काठ काट्ने तथा बोक्ने कामको खोजीमा गोरखा, धावा गा.वि.स.मा आएका थियौं । धावामा १५।२० दिन काम गरिसकेपछि बोर्लाङ गा.वि.स.मा आयौं । धावामा काम गर्दा साबिक धावा गा.वि.स. हाल भिमसेन गाउँपालिका वडा नं. ७ बस्ने बिचमान गुरूङकी श्रीमती सुनिता तामाङसँग मेरो चिनजान भएको थियो । काम गर्ने क्रममा बोर्लाङको भुमेश्वर सामुदायिक जङ्गलमा छाप्रो हाली सामुदायिक वनको काठ काटेका थियौं । यस्तैमा मिति २०६९।१।५ गते रासन सकिएको हुँदा म मेरो दाजु देउबहादुर गुरूङ, अम्मरसिंह गुरूङ र अर्जुन वि.क. पसलमा गएका थियौं । पसलमा आवश्यक सामान किनी केही रक्सी पसलमा बसेर खायौं । केही रक्सी किनी भुमेश्वर सामुदायिक जङ्गलको हामी बस्ने छाप्रोतर्फ
लाग्यौं । मेरो दाजु देउबहादुर गुरूङ थकाई लागेको छ म भोलि आउँछु भनी आउनु भएन । हामीहरू छाप्रोमा पुगिसकेपछि ल्याएको रक्सी खानतर्फ लाग्यौं । रक्सी खाइसकेपछि खाना पकाउने कुरा गर्दा अम्मरसिंह गुरूङले मलाई भोक लागेको छैन, खाना पकाउनु पर्दैन भने, मलाई धेरै भोक लागेकोले जसरी भए पनि खाना नपकाई हुँदैन भनेपछि अम्मरसिंह गुरूङ र मेरोबिचमा विवाद भयो । त्यस समयमा अर्जुन वि.क. पनि नजिकै बसिरहेका थिए । अम्मरसिंह गुरूङले मलाई एक्कासि हातपात गरेपछि मैले पनि निजलाई हातपात गरी हामीबिच भएको झगडा देखी अर्जुन वि.क. छुट्याउन भनी आए । उनलाई पनि अम्मरसिंह गुरूङले धकेलेर लडाइदिए । मलाई एकदमै रिस उठिरहेको थियो । त्यसपछि छाप्रोको टेबुलमा रहेको खुकुरी ल्याई अम्मरसिंह गुरूङको घाँटीमा प्रहार
गरेँ । अम्मरसिंह गुरूङ भुइँमा लडी ऐया दुख्यो, मलाई बचाऊ भनी चिच्याइरहेका थिए । मैले फेरि निजको टाउकोमा कञ्चटमा र घाँटीमा ४/५ पटक प्रहार गरी मारी भागेको हुँ । घटना घटिसकेपछि मैले सुनितालाई फोन गरेको थिएँ । सुनिताले छोराको हात भाँचिएको छ, भोलि उपचारको लागि धादिङ, विशालटार जान्छु भनेकी थिइन् । भोलिपल्ट मिति २०६९।१।६ गते म विशालटार पुगी सुनितालाई फोन सम्पर्क गर्दा म आउँदैछु भनिन् । केही समयपछि सुनिता म भएको ठाउँमा आएपछि निजले चलाएको फोन मागी उनको फोनमा मेरो सिम राखी आफन्तहरूकोमा फोन गरेँ । सुनितालाई घटनाको बारेमा सम्पूर्ण विवरण बताएको थिए । पहिला उनले आनाकानी गरिन् । पछि मैले सम्झाई बुझाई गरिसकेपछि उनी म सँगसँगै जान सहमत
भइन् । त्यसपछि हामीहरू पोखरा गई एकरात बसी ७ गते भारतको विभिन्न ठाउँमा गई लुकीछिपी बसेका थियौं । यस्तैमा म नेपाल आई मिति २०७४।३।२ गते धावा, बालुवाटारमा मेरी श्रीमतीकी दिदी मनमाया तामाङलाई भेट्न जान भनी गोरखाबाट आरूघाट जाने गाडी चढ्न लाग्दा प्रहरीको टोली आई सोधपुछ गरी शङ्का लागी घ्याम्पेसाल बसपार्कबाट मलाई नियन्त्रणमा लिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङको मिति २०७४।३।१५ को बयान कागज ।
सनाखत कागज
जिल्ला प्रहरी कार्यालयबाट खडा गरेको अभियुक्तका सम्बन्धमा रामबहादुर थापा, नरबहादुर तामाङ, भरत श्रेष्ठ, सपना तामाङ, तारादेवी तामाङ, दिलमाया तामाङ, सुविक्षा लामा र जिजावती तामाङसमेतले अभियुक्तलाई हेरी, देखी, चिनी यकिन गरी मृतक अम्मर गुरूङ, देउबहादुर गुरूङ र अर्जुन वि.क. को साथमा निज प्रतिवादी राजकुमार गुरूङ ज्याला मजदुरीको काम गर्न हाम्रो गाउँ ठाउँमा आएका र आफ्नै साथी अम्मर गुरूङलाई कर्तव्य गरी मारी फरार भएपश्चात् पक्राउमा परेका राजकुमार गुरूङ यिनै हुन् समेत भनी गरिदिएको एकै मिलानको सनाखत कागज ।
घटना विवरण कागज
राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । निज २०६८ साल चैत अन्त्यतिर हाम्रो वार्डमा आई भुमेश्वर सामुदायिक जङ्गलमा काठ काट्ने काम गरी बसेका थिए । मिति २०६९।१।५ गते राजकुमार गुरूङले अम्मरसिंह गुरूङलाई खुकुरी प्रहार गरी हत्या गर्यो भन्ने कुरा अर्जुन वि.क.ले भनेपछि थाहा पाएकोले घटनास्थलमा जाँदा अम्बरसिंह गुरूङको मृत शरीर उत्तानो अवस्थामा रहेको र घाँटीसमेतमा धारिलो हतियारले काटेको डाम थियो । त्यस समयमा राजकुमार गुरूङलाई फेला नपारेको र पछि धावा बालुवाटारबाट एक मगर जातका महिलासँग विवाह गरी भगाई लगेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको रामबहादुर थापाको मिति २०७४।३।३ को घटना विवरण कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । निज प्रतिवादी र मृतक अम्मरसिंह गुरूङसमेतका झापा जिल्लाको शरणार्थी शिविरमा घर बताउने ७/८ जना व्यक्तिहरू २०६८ चैत्र महिनामा हाम्रो गाउँ ठाउँमा कोठा लिई १५/२० दिनजति बसेका हुन् । हाम्रो गाउँमा काम सकी साबिक बोर्लाङ-८ तर्फ ज्याला मजदुरीको लागि गएका र मिति २०६९।१।५ गते बेलुकीको समयमा अम्मरसिंह गुरूङसँग विवाद हुँदा प्रतिवादी राजकुमार गुरूङले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारी भागी गएको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको नरबहादुर तामाङको मिति २०७४।३।३ को घटना विवरण कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग
चिन्दछु । राजकुमार गुरूङलगायतका तीनजना झापाको बेलडाँगीतिरबाट काठ काट्ने कामका लागि हाम्रो गाउँघरमा आएका हुन् । राजकुमार गुरूङ र अम्मरसिंह गुरूङबिच सामान्य विवाद भएको र विवादका क्रममा राजकुमार गुरूङले छाप्रोमा रहेको खुकुरीले अम्मरसिंह गुरूङलाई शरीरको विभिन्न ठाउँमा प्रहार गरी मारेका र घटनाको बारेमा कसैलाई भनिस् भने तँलाई पनि मारिदिन्छु भनेकाले म भागी आएको हुँ भनी घटना घटेको भोलिपल्ट अर्जुन वि.क.ले भनेका थिए । घटनाको बारेमा थाहा पाउने बित्तिकै घटनास्थलमा गएकोमा अम्मरसिंह गुरूङलाई रक्ताम्मे अवस्थामा मृत देखेको हो । राजकुमार गुरूङ भुटानी शरणार्थी हुन् । निज राजकुमार गुरूङले धारिलो हतियार प्रहार गरी उनकै साथी अम्मरसिंह गुरूङलाई मारेकोमा पूर्णविश्वास लाग्छ भन्नेसमेत बेहोराको भरत श्रेष्ठको मिति २०७४।३।३ को घटना विवरण कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । राजकुमार गुरूङलगायतका ४ जना २०६८ साल चैत्र महिनामा धावा-८ बालुवाटारमा आएका थिए । पछि गोरखा, बोर्लाङतिर काठ काट्न गएका
हुन् । पछि सुनिता तामाङ र राजकुमार गुरूङ भागेर गएका ३/४ दिनपछि काठको ठेकेदार राजकुमार गुरूङले आफ्नो साथी अम्मरसिंह गुरूङको हत्या गरी भागेको हो भन्ने सुनी थाहा पाएको हुँ । पछि सुनितालाई फोन गर्दा हामी सिक्किम छौं, राजकुमार गुरूङले बोर्लाङमा मान्छे मारेको हुँदा त्यहाँबाट भागेर आएका हौं भनी बताएकी थिइन् भन्नेसमेत बेहोराको सपना तामाङको मिति २०७४।३।५ को घटना विवरण कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । उनीलगायतका ३/४ जना २०६८ साल चैत्र महिनामा काठ काट्ने कामका लागि हाम्रो गाउँमा आएका
थिए । भुटानी शरणार्थी हुन् भन्ने सुनेकी थिएँ । उनीहरू १५/२० दिन बसेपछि अन्तै गएका हुन् । बोर्लाङमा आफ्नै साथी मारेपछि मेरो साहिँला काकाको बुहारी सुनिता तामाङलाई छोरासहित भगाई लगेका हुन् भन्ने सुनी थाहा पाएकी हुँ । निजले के कसरी हत्या गरे मलाई थाहा छैन भन्नेसमेत बेहोराको तारादेवी तामाङको मिति २०७४।३।५ को घटना विवरण कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । वर्ण गहुँगोरो बोकेदारी पालेका मुखको सिधा बायाँ गालामा कालो कोठी भएका व्यक्ति थिए । उनीलगायतका ३/४ जना २०६८ साल चैत्र महिनामा काठ काट्ने कामका लागि हाम्रो गाउँमा आएका थिए । गाउँमा काम सकिएपछि कता काम गर्न गए मलाई थाहा भएन । मिति २०६९।१।६ गते हाम्रो गाउँकी बिचमान तामाङकी श्रीमती सुनिता गुरूङलाई विवाह गरी भगाई लगेका र गोरखा बोर्लाङमा आफ्नै साथीलाई हत्या गरी फरार भएको भन्ने कुरा सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको डिलमाया तामाङको मिति २०७४।३।५ को घटना विवरण कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । उनी २०६८ चैत्र महिनामा हाम्रो गाउँमा काठ काट्ने कामका लागि अरू ३/४ जनासहित आएका र १५/२० दिन बसी काम गरी अन्तै गएका हुन् । मिति २०६९।१।६ गते मेरो गाउँकी बिचमान तामाङकी श्रीमती सुनिता तामाङलाई भगाई लगेका र आफूसँगै काम गर्न आएका आफ्नै साथीलाई हत्या गरेका भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको सुविक्षा लामाको मिति २०७४।३।५ को घटना विवरण
कागज ।
प्रतिवादी राजकुमार गुरूङलाई राम्रोसँग चिन्दछु । २०६८ साल चैत्र महिनामा राजकुमार गुरूङ र अरू ३/४ जना व्यक्तिहरू काठ काट्ने कामका लागि हाम्रो गाउँमा आएका र १५/२० दिन बसेका थिए । काम सकेपछि हाम्रो गाउँ छोडेर अन्तै गई बसेका थिए । मिति २०६९।१।६ गते मेरी बुहारी सुनिता तामाङलाई भगाई लगेका र नाति पनि सँगै लगेका थिए । पछि मैले निज राजकुमार गुरूङले धावातिर आफ्नै साथीलाई हत्या गरी भागेका हुन् भन्ने सुनी थाहा पाएको हो । के कसरी हत्या गरे केही थाहा छैन भन्नेसमेत बेहोराको जिजावती तामाङको मिति २०७४।३।५ को घटना विवरण कागज ।
निज राजकुमार गुरूङ मेरा श्रीमान् हुन् । २०६८ चैत्र महिनामा राजकुमार गुरूङ, देवबहादुर गुरूङ, अर्जुन वि.क. र अम्मरसिंह गुरूङ झापा बेलडाँगी शरणार्थी शिविरबाट काठ काट्ने काम खोज्दै मेरो गाउँ धावा बालुवाटार आएका हुन् । काम गर्ने क्रममा भेटघाट भई राजकुमार गुरूङसँग मेरो चिनजान भएको
थियो । चिनजान भएको नाताले हामीबिच माया प्रेम बसेको हुँदा एकआपसमा फोन सम्पर्कसमेत गर्ने गर्दथ्यौं । त्यस क्रममा मेरो घरमा पनि आउने बस्ने
गर्दथे । त्यसपछि गोरखाको बोर्लाङ भन्ने ठाउँमा काठ काट्न गएका हुन् । बोर्लाङमा काम गर्दा पनि राजकुमार गरूङले मलाई फोन सम्पर्क गरिरहन्थे । बोर्लाङ गएको ५/७ दिनपछि अर्जुन गुरूङ र राजकुमार गुरूङसमेत मेरो घरमा आएका थिएँ । मिति २०६९।१।५ गते राति राजकुमार गुरूङले मलाई फोन गरी धावाको बाटो हामी आउछौं भनेकोमा मेरो छोरा सविनको हात भाँचिएको हुँदा धादिङ उपचार गर्न जान्छु, त्यहीँ भेटौंला भनेकी थिएँ । मिति २०६९।१।६ गते उपचार गर्न धादिङ विशालबजार गएकोमा राजकुमार गुरूङ पनि पुगिसकेका रहेछन् । निजले मसँग भेट भएपश्चात् मेरो मोबाइल मागी सिम निकाली आफ्नो सिम हाली आफन्तलाई फोन गरे । सोही क्रममा मैले अम्बर गुरूङलाई मारेर आएको हुँ । तिमी मसँग हिँड, नगए तिमीलाई पनि मारिदिन्छु भनेर डर देखाए । निजले डर देखाई मैले अम्मरसिंह गुरूङलाई मारेर आएको हो । म एक्लै जाँदा प्रहरीले शङ्का गर्छ, तिमी मसँगै गएपछि हामी श्रीमान् श्रीमती हो, बच्चा पनि छ भनेपछि बाटोमा र बोर्डर क्रस गर्न सजिलो हुन्छ भनेकाले त्यसदिन हामी पोखरा गई अर्को दिन भारत सिक्किम गएका हौं । त्यहाँ अर्जुन वि.क.की आमा बस्ने भएकाले राजकुमार गुरूङले मान्छे मारेर आएको कुरा थाहा रहेछ । त्यसपछि हामी लटिलुङ्गी भन्ने ठाउँमा गई दुई वर्ष बस्यौं । त्यसपछि वीरगन्ज मेरी माइती आमा र भाइ भएको ठाउँमा आएर बस्यौं । मलाई उसँग बस्दा कतिखेर प्रहरी आई पक्राउ गरी लैजान्छ भन्ने डर त्रास लागिरहन्थ्यो । राजकुमार गुरूङले अम्मरसिंह गुरूङलाई खुकुरी प्रहार गरी हत्या गरेकोमा पूर्णविश्वास लाग्छ भन्नेसमेत बेहोराको सुनिता तामाङको मिति २०७४।३।५ को घटना विवरण कागज ।
सर्जमिन मुचुल्का
प्रतिवादी राजकुमार गुरूङ अन्दाजी १२/१३ वर्षअगाडि साबिक जिल्ला झापा, दमक नगरपालिका वडा नं. ५ को हाल ३ स्थित रहेको भुटानी शरणार्थी बेलडाँगी -३ सेक्टर डि. ३ घर नं.२ स्थित आई बसोबास गरेको तर शरणार्थी आधार कार्ड भएका व्यक्ति नभएको, निजको परिवार श्रीमतीसमेत भारततर्फ गएको, हाल प्राप्त फोटो निज प्रतिवादीकै फोटो भएको, निजको घरमा निजकै सहोदर जेठो दाजु देउबहादुर गुरूङ बस्दै आएको र निज प्रतिवादीको बाजेको नाम चन्द्रवीर गुरूङ बुबाको नाम धनमान गुरूङ रहेको भन्नेसमेत बेहोराको भुटानी शरणार्थी क्याम्पमा खडा गरिएको सर्जमिन मुचुल्का ।
अभियोग मागदाबी
प्रतिवादीउपरको किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, अनुसन्धानका क्रममा अभियुक्तले गरेको बयानसमेतका मिसिल संलग्न कागजातबाट प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङले मिति २०६९।१।५ गतेका दिन बेलुकीको समयमा जिल्ला गोरखा साबिक बोर्लाङ गा.वि.स. वडा नं. ८ स्थित भुमेश्वर सामुदायिक वनमा सामान्य वादविवादको विषयमा अम्मर गुरूङलाई धारिलो एवं जोखिमी हतियार खुकुरीले घाँटी तथा टाउकाको विभिन्न भागमा प्रहार गरी कर्तव्य गरी मारी तत्काल सो स्थानबाट भागी फरार भएको भन्ने कुरा सप्रमाण पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसुर अपराध हुँदा निज प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङलाई सोही ऐन, महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।३।२६ को अभियोग दाबी ।
प्रतिवादीको बयान
धेरै वर्ष पहिलेको घटना हुँदा मिति २०६९।१।५ मा के गर्दै थिएँ याद भएन । तर २०६९ सालमा म भारतको जयगाउँमा थिएँ । सपना तामाङ मेरी साली हुन् । मैले उनको दिदी भगाई लगेको रिसइवीको कारणले कागज गरिदिएकी हुन सक्छ । उनले गरेको कागज बेहोरा सही होइन । सुनिता तामाङ मेरी जेठी श्रीमती हुन् । मैले दोस्रो श्रीमती विवाह गरेपछि उनी रिसाएकी र मलाई फसाउने नियतले यस्तो कागज गरेकी होलिन् । उनीले गरेको कागज बेहोरा सही होइन । अर्जुन वि.क. समेतलाई चिन्दिन । यस घटना सम्बन्धमा र अपराधमा म संलग्न नभएको हुनाले मलाई केही पनि थाहा छैन । म दिपेस राई भारतीय नागरिक हुँ । प्रहरीले राजकुमार भनी सही गर भनेकोले सहीछाप गरेको हुँ । अन्य कोही राजकुमार गुरूङ नाम गरेको भुटानी शरणार्थीले मृतक अम्मर गुरूङको कर्तव्य गरी हत्या गरेको हुन सक्छ तर मैले हत्याको अपराध गरेको होइन । म दिपेस राई भारतीय नागरिक हुँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङले मिति २०७४।३।२६ मा सुरू अदालतमा गरेको
बयान ।
घटना विवरण कागज गर्ने व्यक्तिहरूको बकपत्र
यी प्रतिवादी हाम्रो गाउँमा वनमा रूख काट्ने काम गर्न आएको समयदेखि चिनेका हौं । निजलाई राजकुमार गुरूङ भनी हामीहरूले बोलाएको सुनेका हौं । प्रतिवादीले हामीहरूलाई भन्दा म भुटानबाट आएको हो भनी भन्दथे । हामीले त्यहीँ सुनी भुटानी रहेछन् भन्ने थाहा पाएका हौं । प्रतिवादीले अम्मरसिंह गुरूङलाई कर्तव्य गरी मारेको हो भनी अरूले भनेको हामीले सुनी थाहा पाएका हौं । घटनास्थल हामीहरू बसेको ठाउँभन्दा टाढा पर्छ भन्नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने डिलमाया तामाङ, नरबहादुर तामाङ, तारादेवी तामाङ, सपना तामाङ र सुविक्षा लामाले मिति २०७५।१।१३ मा गरेको एकै मिलानको बकपत्र ।
पक्राउमा परेका दिपेस भन्ने राजकुमार गुरूङ र म सहोदर भाइ हौं । हामीहरू एउटै आमाबाट जन्मेका म जेठो छोरा र प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङ साहिँलो छोरा हौं । हामीहरू भुमेश्वर सामुदायिक वनमा काठको काम गर्न आएका हुँदा घटना घटेको समयमा म र प्रतिवादीसमेत एउटै ठाउँमा एउटै छाप्रोमा
बस्दथ्यौं । अनुसन्धानमा भएको कागज मैले भनेबमोजिम लेखिएको हो भन्नेसमेत बेहोराको देउबहादुर गुरूङको बकपत्र ।
मैले प्रतिवादीलाई हामीहरूकै भुमेश्वर सामुदायिक वनमा काठको काम गर्दाका बखत देखेको हुँ । यी प्रतिवादीले मृतक अम्मरसिंह गुरूङलाई मारेको विषयमा अर्जुन वि.क.ले बताएकाले जानकारी हुन आएको हो उक्त घटनापश्चात् यी प्रतिवादी फरार भएका हुन् भन्नेसमेत बेहोराको भरत श्रेष्ठले गरेको बकपत्र ।
मैले प्रतिवादीलाई हामीहरूकै भुमेश्वर सामुदायिक वनमा काठको काम गर्दाका बखत देखेको हुँ । निजलाई राजकुमार गुरूङ भनी बोलाइन्थ्यो । निजले यस अदालतमा बयान गर्दा आफ्नो नाम के भनेर लेखाए, वास्तविक नाम के हो मलाई थाहा भएन भन्नेसमेत बेहोराको रामबहादुर थापाको बकपत्र ।
प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङ मेरा श्रीमान् हुनुहुन्छ । निजको वास्तविक नाम, थर राजकुमार गुरूङ हो । निज झापा जिल्ला, बेलडाँगी शरणार्थी शिविरका भुटानी शरणार्थी हुन् । म छोरालाई जँचाउन धादिङ जाँदै गर्दा राजकुमार गुरूङसँग भेट भई सँगै गएका र धादिङको एउटा होटलमा बास बसेकोमा मृतक अम्मरसिंह गुरूङलाई मारेको कुरा प्रतिवादी राजकुमार गुरूङले नै मलाई भनेका हुन् । पक्राउबाट बच्न हामी पोखरा गई मसँग भएको गरगहना बेचेर भोलिपल्ट दुवैजना सिक्किम गएका हौं । भारतको सिक्किममा करिब डेढ वर्ष बसी नेपालको वीरगन्जमा आई २ वर्ष बसी हामी भारततर्फ गएका हौं । त्यसपछि म वीरगन्जमा नै बसेकोमा निज प्रतिवादीले कान्छी श्रीमती ल्याएपछि म बेलडाँगी शिविरमा नै गई बसेकी हुँ । निज प्रतिवादीले अम्मरसिंह गुरूङलाई मारेका हुन् भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने प्रतिवादीकै श्रीमती सुनिता तामाङले मिति २०७५।५।१ मा गरेको बकपत्र ।
प्रतिवादीका साक्षीको बकपत्र
भारत सरकारले जारी गरेको मेरो परिचयपत्र र मेरो पति महेश राईको भारतीय निर्वाचन आयोगद्वारा जारी परिचयपत्र, छोरा दिपेस राईको आधार कार्डको प्रतिलिपि र दिपेस राईको प्राइमरी स्कुल पढेको प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गरेको छु । यी प्रतिवादी मेरा छोरा हुन् । यिनको वास्तविक नाम दिपेस राई नै हो । घर भारत पश्चिम बंगालको आलेपुर जिल्ला रनबहादुर बस्ती हो । प्रतिवादी सानैदेखि परदेश र घर आउने जाने गरिरहन्छन् । मिति २०६९।१।५ तिर घरमा नै थिए । प्रतिवादीले नै यस घटना घटाएको जस्तो लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सुकमाया राईले मिति २०७४।५।२ मा गरेको बकपत्र ।
गोरखा जिल्ला अदालतको फैसला
प्रतिवादी अदालतमा कसुर गरेमा इन्कार रहे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतकसमेतसँग काठ काट्ने कामको लागि गोरखा आएको र सोही अवस्थामा सामुदायिक जङ्गलमा छाप्रो हाली बसेको र मृतकसँग झगडा भई खुकुरीले प्रहार गर्दा निजको मृत्यु भएकोले म घटनास्थलबाट भागी भारत गई बसेको हुँ भन्ने बेहोराको साबिती बयान रहेको देखिन्छ । प्रतिवादीको अनुसन्धानको क्रममा भएको बयानलाई समर्थित हुने गरी बुझिएका देउबहादुर गुरूङ, सुनिता तामाङलगायतका व्यक्तिहरूले गरेको बकपत्रबाट समर्थित भएको, प्रस्तुत मुद्दाका प्रत्यक्षदर्शी अर्जुन वि.क.ले मौकामा कागज गर्दा यिनै प्रतिवादीले मृतकलाई खुकुरीले हानेर मारेको बेहोरा लेखाएको पाइन्छ । निजले अदालतमा आई बकपत्र नगरेको भए तापनि अन्य स्वतन्त्र प्रमाणबाट निजको मौकाको कागज समर्थित भएको हुँदा प्रमाणमा लिन मिल्ने देखिन्छ । अमरसिंह गुरूङलाई मार्ने म होइन, म दिपेस राई हुँ, राजकुमार गुरूङ अन्य व्यक्ति हुन् भन्ने जिकिरलाई बुझिएका मानिसहरूको भनाइले खण्डन गरिदिएको हुँदा यिनै प्रतिवादीले नै मृतकको कर्तव्यबाट ज्यान लिएको हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुर अपराधमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम जन्मकैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू गोरखा जिल्ला अदालतको मिति २०७५।२।१४ को फैसला ।
उच्च अदालत पोखरामा परेको प्रतिवादीको पुनरावेदन
म पुनरावेदक झापा जिल्लाको बेलडाँगी शिविरको सेक्टर ३ छाप्रो नं. २ मा बस्ने राजकुमार गुरूङ
होइन । मेरी आमा सुकमाया राईले सम्मानित गोरखा जिल्ला अदालतमा बकपत्र गर्दा म भारतीय नागरिक भएको कुराको पुष्टि गर्न मैले अध्ययन गरेको विद्यालयको कागज र मेरो आधार कार्डसमेतका कागजातहरू पेस गर्नुभएको छ । उक्त कागजातहरूलाई प्रमाणमा लिइएको छैन । प्रत्यक्षदर्शी भनिएका अर्जुन वि.क.ले अदालतमा उपस्थित भई मौकाको कागजलाई पुष्टि गर्न सकेको छैन । बुझिएकी सुनिता तामाङ मेरो जेठी श्रीमती हुँदा निजले आफूउपर सौता ल्याएको रिसइवी लिएकी तथा बुझिएका अधिकांश मानिसहरू निज सुनिताका माइती पक्षका व्यक्ति भएका हुँदा निजहरूले अतिरञ्जित तवरले लेखाएका हुन् । म उक्त मुद्दाको कसुरदार
होइन । म यदि भुटानी शरणार्थी शिविरमा बस्ने राजकुमार गुरूङ भएको भए उक्त शिविरबाट वादी पक्षले मेरो विवरण मगाएर पेस गर्नुपर्ने हो सो विवरण पेस गर्न सकेको अवस्था छैन । मिसिल संलग्न कागजातहरूबाट म दिपेस राई भन्ने कुरा पुष्टि भइरहेको अवस्थामा मलाई राजकुमार गुरूङ भनी प्रतिवादी कायम गरी कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा कसुरदार ठहर गरी भएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक राजकुमार गुरूङ भनिएको दिपेस राईको मिति २०७५।९।२९ को पुनरावेदन ।
उच्च अदालत पोखराको आदेश
यसमा प्रतिवादी दिपेस राईले अदालतसमक्ष गरेको इन्कारी बयानको सन्दर्भबाट सुरू गोरखा जिल्ला अदालतबाट मिति २०७५।२।१४ मा भएको फैसला फरक पर्न सक्ने देखिँदा उच्च सरकारी वकिल कार्यालय, पोखरालाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पोखराको मिति २०७५।११।१२ को आदेश ।
उच्च अदालत पोखराको फैसला
देउबहादुर गुरूङले दिपेस भन्ने राजकुमार गुरूङ आफ्नो सहोदर भाइ भएको र निजले नै अम्मरसिंह गुरूङलाई कर्तव्य गरी मारी फरार भएका हुन् भनी मौकाको कागजलाई पुष्टि गर्दै अदालतमा गरिदिएको बकपत्र, झापास्थित भुटानी शरणार्थी शिविरबाट खडा भएको मुचुल्कामा उल्लिखित बेहोरा तथा अनुसन्धानको क्रममा बुझिएकी प्रतिवादीकी श्रीमती सुनिता तामाङसमेतले मेरो पति राजकुमार गुरूङले आफूले अम्मरसिंह गुरूङलाई कर्तव्य गरी मारी आएको हुँ भनी भनेको हुँदा थाहा पाएकी हुँ भनी अदालतमा स्पष्ट खुलाई बकपत्र गरी दिएकीसमेतका प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङउपरको अभियोग दाबी पुष्टि भएको पाइन्छ । अत: माथि विवेचित आधार, प्रमाणबाट मिसिलमा मौजुद तथ्य प्रमाणहरूसमेतबाट प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङलाई अभियोग दाबीबमोजिमको कसुर अपराधमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम जन्मकैद सजाय हुने ठहर्याई सुरू गोरखा जिल्ला अदालतबाट मिति २०७५।२।१४।२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावदेक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पोखराबाट मिति २०७६।१।१० मा भएको फैसला ।
प्रतिवादीको पुनरावेदन
अम्मरसिंह गुरूङको मिति २०६९।१।५ मा कर्तव्यबाट मृत्यु भएको घटनामा म प्रतिवादीलाई मिति २०७४।३।२ मा पक्राउ गरिएको अवस्था छ । मिति २०६९।१।८ को जाहेरी र मिति २०७४।३।२६ को अभियोगपत्रमा अपराध गर्ने व्यक्तिको नाम, ठेगाना, वतनमा झापा, बेलडाँगी-३ सेक्टर डि.३ घर नं. २ बस्ने धनमान गुरूङको छोरा वर्ष २८ को राजकुमार गुरूङ उल्लेख छ । म पुनरावेदकले अदालतमा गरेको बयानसमेतमा म जाहेरी र अभियोगपत्रमा उल्लेख भएको शरणार्थी शिविरको व्यक्ति होइन भन्ने उल्लेख गरेको छु । म राजकुमार गुरूङ नभई महेश राईको छोरा भारतीय नागरिक दिपेस राई र ठेगाना भारत, जयगाउँ आलेपुर जिल्ला रनबहादुर बस्ती भएको तथ्य मेरो साक्षी सुकुमाया राईले गरेको बकपत्र, मेरो जन्मदर्ता प्रमाणपत्र (Birth Certificate), जलपाइगुरी डिस्ट्रिक्ट प्राइमेरी स्कुलको Certificate Dalsing Para Gram Panchayat को To Whom it may concern भन्ने पत्रको फोटोकपी तथा आधार कार्ड, Affidavit letter Dist. Alipurduar बाट प्रमाणित भएको छ । अनुसन्धान अधिकारीसमक्ष बयान मेरो बेहोरा होइन भनी म प्रतिवादीले किटानीसाथ सम्मानित अदालतमा बयान गरेको छु । अनुसन्धान अधिकृतसमक्ष बयान बेहोराको आधारमा कसुरदार ठहर गरी भएको फैसला प्रथमदृष्टिमै बदरभागी रहेको स्पष्ट छ ।
प्रत्यक्षदर्शी भनिएको अर्जुन वि.क.ले राजकुमार गुरूङले खुकुरी प्रहार गरी मारेको भनी मौकामा गरेको कागजलाई आधार लिए पनि निज अर्जुन वि.क.ले आफ्नो मौकाको बेहोरा समर्थन हुने गरी अदालतमा आई बकपत्र गरेको अवस्था छैन । जाहेरीकर्ता घटनाका प्रत्यक्षदर्शी नरहेको हुँदा अर्जुन वि.क.को मौकाको कागज र जाहेरीलाई आधार लिई कसुरदार कायम गर्न मिल्ने अवस्था छैन । मलाई सजाय गरिएको फैसला खण्डको प्रकरण १७ मा झापास्थित भुटानी शरणार्थी क्याम्पको पत्रसमेत राजकुमार गुरूङ भन्ने व्यक्ति क्याम्पको शरणार्थी रहेको, दिपेस भन्ने व्यक्ति शरणार्थी रहेको भनी उल्लेख गरे पनि म प्रतिवादी दिपेस राई भुटानी शरणार्थी रहेको प्रमाण वादीले गुजार्न सकेको अवस्था छैन । अदालतबाट शरणार्थी शिविर झापा, बेलडाँगी क्याम्पबाट कुनै प्रमाण नबुझेको अवस्थामा अभियोग दाबी पुग्ने गरी गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा २५ को विपरीत छ । घटना भएको दिन मिति २०६९।१।५ मा म पुनरावेदक भारतमा उपचार गराइरहेको हुँदा सो कसुरमा मेरो संलग्नता नभएको कुरा प्रस्ट छ । सुनिता तामाङ मेरी पहिली श्रीमती रहेको, मैले दोस्रो विवाह गरेपछि मेरो विरूद्ध गरेको विवादास्पद बकपत्रलाई प्रमाणको रूपमा लिन मिल्ने नहुँदा मलाई अभियोग दाबीअनुसार कसुरदार ठहर गरी सजाय गर्ने गरेको उच्च अदालत पोखराको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, १३, १४, १८, १९, २०, २३, २५, ५४, सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७, १८, मुलुकी ऐन, अ.बं. १८४(क), १८५ र ने.का.प. २०४७ अङ्क ५ नि.नं.४१४२, पृष्ठ ४१६ सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भई त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउने गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन ।
प्रत्यर्थी झिकाउने आदेश
यसमा अभियोगपत्रमा प्रतिवादीको नाम राजकुमार गुरूङ भन्ने देखिएको र यी पुनरावेदक प्रतिवादीले सुरू अदालतको बयानदेखि नै आफू सो व्यक्ति नभएको भनी जिकिर लिएको तथा यस अदालतमा पनि सोही बेहोराको पुनरावेदन गरेको परिप्रेक्ष्यमा प्रमाण मूल्याङ्कनको रोहमा उच्च अदालत पोखराको फैसला फरक पर्न सक्ने भएकाले मुलुकी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम झिकाई यिनै प्रतिवादी निवेदक रहेको ०७७-WH-०३४१ को बन्दीप्रत्यक्षीकरणको निवेदन साथै राखी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७८।३।१ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदकको तर्फबाट प्रतिरक्षार्थ उपस्थित हुनु भएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री राघवलाल वैद्य, श्री विजयकान्त मैनाली र श्री सुजन लोप्चन तथा विद्वान् अधिवक्ताहरू श्री शोभा भण्डारी, श्री मिनबहादुर वाइवा र श्री दिनेशप्रसाद शर्माले घटना घटाउने व्यक्ति राजकुमार गुरूङ हुन्, पुनरावेदक दिपेस राई होइन्, यी दुवैको वतन मिल्दैन, दिपेस राईको आमा सुकमाया राईले मेरो एक मात्र छोरा दिपेस राई हो, देउबहादुर मेरो छोरा होइन भनी अदालतसमक्ष बकपत्र गरिदिएको अवस्था छ । दिपेस राईले अदालतमा बयान गर्दा आफू राजकुमार गुरूङ नभएको भनी इन्कारी बयान दिएका छन् । भारतीय आधार कार्ड, स्कुलको सर्टिफिकेटसमेतका प्रमाणबाट यी पुनरावेदक राजकुमार गुरूङ नभई दिपेस राई भएको र निजको बुबाको नाम महेश राई भन्ने देखिएको छ । प्रत्यक्षदर्शी भनिएका व्यक्ति अर्जुन वि.क.को अदालतमा बकपत्र नभएको हुँदा निजले अनुसन्धानको सिलसिलामा गरेको घटना विवरण कागज प्रमाणमा लिन मिल्दैन । अर्जुन वि.क. बाहेक अन्य सरकारी गवाह प्रत्यक्षदर्शी होइनन् । निजहरूको भनाइ अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको अवस्था छैन । सुनी जान्ने प्रमाण प्रमाण होइन । प्रमाण ऐन, २०३१ को दफा ३७ अनुसार मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्दछ । शङ्काको सुविधा पक्षले पाउनुपर्दछ । यी पुनरावेदकले प्रहरीमा गरेको बयान स्वेच्छाले गरेको होइन । तसर्थ, यसलाई प्रमाणमा लिन मिल्दैन । यसरी प्रतिवादी नै पहिचान नभएको अवस्थामा यी पुनरावेदकलाई कर्तव्य ज्यान जस्तो गम्भीर कसुरमा कसुरदार ठहर गरी अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको फैसला मिलेको छैन । अभियोग दाबीबाट सफाइ हुनुपर्छ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी.ले प्रतिवादीउपर किटानी जाहेरी परेको छ । यी प्रतिवादीकी श्रीमती सुनिता तामाङले मौकामा कागज गर्दा र अदालतसमक्ष बकपत्र गर्दासमेत यी प्रतिवादी आफ्नो श्रीमान् भएको र निजले मृतकलाई खुकुरी प्रहार गरी मारेको कुरा निजले नै भनेर थाहा पाएकी हुँ भनी उल्लेख गरेकी छन् । देउबहादुर गुरूङले बकपत्र गर्दासमेत यी प्रतिवादी राजकुमार आफ्नो सहोदर भाइ हो भनी उल्लेख गरेको अवस्था छ । शिविरमा यी प्रतिवादीको फोटोसमेत राखी बुझ्न पठाएकोमा मिति २०७४।३।४ मा भएको मुचुल्कासमेतबाट दिपेस राई र प्रतिवादी राजकुमार गुरूङ एउटै व्यक्ति हुन् भन्ने कुरा पुष्टि भएको छ । प्रतिवादीले पेस गरेका प्रमाण कागज मुद्दा परेपछि तयार गरिएको हुँदा तिनीहरूको प्रामाणिक महत्त्व प्रस्तुत मुद्दामा शून्य रहेको हुँदा उच्च अदालत पोखराबाट भएको फैसला सदर हुनुपर्दछ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त तथ्य तथा बहस जिकिर भएको प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूमा निर्णय दिनुपर्ने
देखियो ।
१. यी पुनरावेदक दिपेस राई र प्रतिवादी राजकुमार गुरूङ एउटै व्यक्ति हुन् वा
होइनन् ?
२. उच्च अदालत पोखराबाट प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी भएको भएको फैसला मिलेको छ वा छैन ?
३. पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?
निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङले धारिलो एवं जोखिमी हतियार प्रयोग गरी मृतक अम्मरसिंह गुरूङलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) को कसुर अपराधमा सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा निजलाई अभियोग मागदाबीबमोजिम सजाय हुने ठहर्याएको सुरू फैसला सदर गरी उच्च अदालत पोखराबाट मिति २०७६।१।१० मा भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा यस अदालतबाट विपक्षी झिकाउने आदेश भई निर्णयार्थ पेस भएको रहेछ ।
२. पहिलो प्रश्नतर्फ विचार गर्दा, यी पुनरावेदकले "आफू प्रस्तुत मुद्दाको प्रतिवादी राजकुमार गुरूङ नभई भारत पश्चिम बङ्गाल आलेपुर बस्ने भारतीय नागरिक निवेदक दिपेस राई भएकोले आफूलाई प्रतिवादी राजकुमार गुरूङ भनी गलत पहिचान गरी तह-तह अदालतबाट जन्मकैद सजाय हुने गरी फैसला भएको र सोही फैसलाबमोजिमको कैदीपुर्जी दिई गैरकानूनी रूपमा थुनामा राखिएको हुँदा विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणलगायत जो चाहिने आज्ञा आदेश जारी गरी निवेदकलाई गैरकानूनी कैद थुनाबाट मुक्त गरिपाउँ" भन्ने दाबी लिई दायर गरेको लगाउको बन्दीप्रत्यक्षीकरण रिट निवेदन (०७७-WH-०३४१) मा रिट निवेदक र प्रस्तुत मुद्दाका प्रतिवादी राजकुमार गुरूङ फरक व्यक्ति नदेखिएको आधारमा बन्दीप्रत्यक्षीकरणको रिट खारेज हुने ठहरी आजै यसै इजलासबाट फैसला भएको हुँदा उक्त फैसलामा लिएका आधार, कारणबाट प्रस्तुत मुद्दामा समेत यी पुनरावेदक र प्रतिवादी राजकुमार गुरूङ एउटै व्यक्ति हुन् भन्ने सम्बन्धमा थप विवेचना गरिरहन परेन ।
३. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा, मिति २०६९।१।५ गते राजकुमार गुरूङ र मेरो दाजु अम्मरसिंह गुरूङबिचमा बेलुकाको खाना बनाउने कुरामा विवाद हुँदा निज राजकुमार गुरूङले अम्मरसिंह गुरूङलाई धारिलो हतियार खुकुरीले प्रहार गरी कर्तव्य गरी मारी फरार भएको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भनी मृतकका भाइ चन्द्र गुरूङको मिति २०६९।१।८ मा किटानी जाहेरी परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । मृतकको लासजाँच एवं घटनास्थल मुचुल्काबाट मृतकको दायाँ गालामा साढे ६ इन्च लम्बाइको चोट, घाँटीको अगाडि र पछाडिको भागमा चार इन्च गहिरो धारिलो हतियारको चोट रहेको, बायाँ च्यापुबाट घाँटीसम्म धारिलो हतियारले काटेको चोट देखिएको छ । Hypovolemic shock भन्ने शव परीक्षण प्रतिवेदन र Human blood was detected on exhibit भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, काठमाडौंको मिति २०६९।५।१३ को परीक्षण प्रतिवेदनसमेतबाट मृतक अम्मरसिंह गुरूङको टाउको तथा घाँटीमा धारिलो हतियार प्रहार भएकाले अत्यधिक रक्तस्राव भएका कारण निजको मृत्यु भएको तथ्य पुष्टि भएको देखिन्छ ।
४. अब प्रस्तुत वारदातमा यी पुनरावेदकको संलग्नता सम्बन्धमा विचार गर्दा निज अदालतसमक्षको बयानमा आरोपित कसुरमा पूर्ण इन्कार भई आफू राजकुमार गुरूङ नभई दिपेस राई भएको जिकिर लिए पनि निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा बाबुको नाम धनमान र मेरो नाम राजकुमार गुरूङ हो, मलाई गाउँघरमा दिपेस भनेर चिन्दछन् । मैले स्वेच्छाले बयान दिने छु । जाहेरवाला र मृतकलाई राम्रोसँग चिन्दछु । मृतक र म भुटानबाट शरणार्थी भई नेपालको झापास्थित शरणार्थी शिविरमा बसोबास गर्ने छिमेकी हौं । मृतक मेरो सहोदर दाजु देउबहादुर गुरूङ, अर्जुन वि.क. र म काठको काम गर्नको लागि गोरखाको धावामा गई त्यहाँ काम सकेर बोर्लाङमा आएका
थियौं । मिति २०६९।१।५ गतेका दिनभरि काम गरी साँझ रासन लिन ४ जना गाउँमा गएको र खाजा तथा रक्सीसमेत खाई म राजकुमार गुरूङ, अम्मरसिंह गुरूङ र अर्जुन वि.क. गरी ३ जना २/३ बोतल बियर लिई हामी बस्ने ठाउँमा फर्की गएका हौं । खाना पकाउने खाने विषयमा म र अम्मरसिंह गुरूङबिच विवाद हुँदा अम्मरले एक्कासि मलाई हातपात गरे, अर्जुन वि.क.ले छुट्याउन खोज्दा अम्मरसिंहले अर्जुनलाई धकेली लडाई दिएकोले मलाई धेरै रिस उठी खुकुरी झिकेर ४/५ पटकसम्म अम्मरको टाउको, कञ्चट तथा घाँटीमा हानी भुइँमा लडाएपछि निजको घटनास्थलमा नै मृत्यु भएको हो । त्यसपछि सुनितालाई फोन गरेँ । त्यहाँबाट राति नै अर्जुनलाई लिएर भागी पिपलटार पुगेपछि अर्जुन जङ्गलतिर लागेकोमा फर्की आएनन् । मलाई एकदम डर लागेको थियो । भोलिपल्ट धादिङ, विशालटारमा सुनितासँग भेटभएपछि घटनाको सबै विवरण निजलाई सुनाएँ । निज मसँगै जान पहिले आनाकानी गरे पनि पछि सहमत भएकोले पोखरामा गई एक रात बसेपछि मिति २०६९।१।७ मा भारतमा गएका हौं, २०७३ भाद्र महिनामा ससुराली वीरगन्ज आएर बसेका हौं, मिति २०७४।३।२ मा श्रीमतीकी दिदी गोरखा धावा बस्ने मनमाया तामाङलाई भेट्न जाने क्रममा गोरखाबाट आरूघाट जाने गाडी चढ्न लाग्दा घ्याम्पेसाल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो भनी घटनाको विस्तृत विवरण सिलसिलेवार रूपमा खुलाउँदै आरोपित कसुरमा साबित भएको देखिन्छ ।
५. यी पुनरावेदक प्रतिवादी सँगै बसी ज्याला मजदुरी काम गर्ने घटनाका प्रत्यक्षदर्शी अर्जुन वि.क.ले मिति २०६९।१।१० मा घटना विवरण कागज गर्दा करिब एक महिनाअगाडि देउबहादुर गुरूङ, राजकुमार गुरूङ, अम्मरसिंह गुरूङ र म कामको सिलसिलामा गोरखा आई केही दिन धावामा काठको काम गरिसकेपछि बोर्लाङ गा.वि.स. वडा नं. ८ स्थित भुमेश्वर सामुदायिक वनमा काठ काट्ने कामको लागि सोही वनमा छाप्रो बनाएर बस्दै आएका थियौं । मिति २०६९।१।५ गतेका दिनभरि काम गरी साँझ रासन लिन ४ जना गाउँमा गएको र खाजा तथा रक्सीसमेत खाई राजकुमार गुरूङ, अम्मरसिंह गुरूङ र म गरी ३ जना २/३ बोतल बियर लिई हामी बस्ने ठाउँमा फर्की गएका हौं । खाना पकाउने, खाने विषयमा राजकुमार गुरूङ र अम्मरसिंह गुरूङबिच झैझगडा विवाद भएकोले मैले छुट्याउन खोज्दा अम्मरसिंहले मलाई धकेली लडाइदिएको हुँदा निजलाई राजकुमार गुरूङले खुकुरी झिकी ३/४ पटकसम्म टाउको तथा घाँटीमा हानी भुइँमा लडाएपछि निजको घटनास्थलमा नै मृत्यु भएको
हो । पछि राजकुमारले मलाई पनि हान्छ कि भन्ने डरले सो ठाउँबाट अलि पर गई बसेको हुँ । निज राजकुमार म भएको ठाउँमा आई तँ पनि मसँग हिँड्, नभए तँलाई पनि काट्छु भनेकोले डरले निजसँग गएको हुँ । करिब २/३ घण्टा हिँडी पिपलटार भन्ने ठाउँमा पुगेपछि दिसा गर्ने बहाना बनाई सो ठाउँबाट भागी गाउँमा आई देउबहादुरलाई सो कुरा बताएको हुँ । त्यसपछि निज राजकुमार कहाँ गए मलाई थाहा भएन भन्नेसमेत बेहोरा लेखाइदिएको देखिन्छ ।
६. जहाँसम्म अर्जुन वि.क.ले अदालतमा आई बकपत्र गरेको नहुँदा निजको भनाइलाई प्रमाणमा लिन मिल्दैन भन्ने पुनरावेदकको पुनरावेदन जिकिर रहेको छ सो सम्बन्धमा निज अर्जुन वि.क.को मौकाको कागज बेहोरा, मृतकको लास प्रकृति मुचुल्का एवं शव परीक्षण प्रतिवेदनबाट समर्थित भइरहेको अवस्था छ भने वारदात हुँदा प्रतिवादी, निज अर्जुन वि.क. र मृतक मात्र वारदातस्थलमा रहेको र मृतकलाई मारेको देख्ने निज अर्जुन वि.क.लाई तँ पनि मसँगै हिँड् नभए तँलाई पनि काट्छु भनी डर देखाई आफूसँगै लिई गएकोमा वारदातस्थलबाट केही टाढा पिपलटार भन्ने ठाउँमा पुगेपछि दिसा बस्ने बहानामा जङ्गलतर्फ लागी भागेको भन्ने निज अर्जुन वि.क.को मौकाको कागज बेहोरा, निज पुनरावेदकको मौकाको बयानसँग मेल खाइरहेको देखिएको स्थितिसमेत हुँदा निज अर्जुन वि.क.ले अदालतमा उपस्थित भई बकपत्र नगरेकै आधारमा वारदातको तथ्यसँग मेल खाने निजको मौकाको भनाइलाई प्रमाणमा लिन नमिल्ने भन्न मिलेन ।
७. प्रस्तुत वारदात हुनुअगाडि यी पुनरावेदकसँगै मजदुरी काम गरी बस्ने देउबहादुर गुरूङले मिति २०६९।१।१० मा घटना विवरण कागज गर्दा मिति २०६९।१।५ गते साँझ राजकुमार गुरूङ र अम्मरसिंह गुरूङबिच खाना पकाउने खाने विषयलाई लिएर विवाद भई झगडा हुँदा राजकुमार गुरूङले खुकुरी झिकी ३/४ पटकसम्म अम्मरको टाउको तथा घाँटीमा हानी मारी तत्काल सो ठाउँबाट भागी गएको कुरा अर्जुन वि.क.ले भनेकोले थाहा पाएको हुँ भन्नेसमेत उल्लेख गरेको र सोही बेहोरा समर्थन हुने गरी अदालतसमक्ष समेत बकपत्र गरिदिएको देखिन्छ ।
८. यी पुनरावेदककी श्रीमती सुनिता तामाङले मिति २०६९।१।५ गते मैले अम्मरसिंह गुरूङलाई खुकुरीले हानी मारेर भागी आएको हुँ, अब हामी भागेर जानुपर्छ, साथमा तिमी र बच्चासमेत भएपछि बोर्डर क्रस गर्न सजिलो हुन्छ भनी राजकुमार गुरूङले भनेको हुँदा हामी मिति २०६९।१।७ गते बिहानै भागी भारतको सिक्किम भन्ने स्थानमा गई त्यहाँ एउटा भोटेको घरमा बस्यौं । त्यहाँ अर्जुन वि.क.को आमा बस्नु हुँदो रहेछ । त्यहाँ राजकुमारले मान्छे मारेर आएको भन्ने थाहा भएकोले अर्को ठाउँमा गई अन्दाजी २ वर्षसम्म बस्यौं । त्यसपछि मेरो माइती वीरगन्ज आएर बसेका हौं । राजकुमार गुरूङ मेरो श्रीमान् भए पनि उसले गरेको अपराधको सजाय पाउनुपर्छ भन्नेसमेत बेहोरा लेखाइदिएको र सोही मौकाको बेहोरा समर्थन हुने गरी निजले अदालतसमक्ष बकपत्र गरेको देखिन्छ । यी पुनरावेदकले निज सुनिता तामाङ आफ्नो जेठी श्रीमती भएको र निजले आफूलाई फसाउन झुट्टा बेहोराको कागज गरेको भन्ने जिकिर लिए पनि माथि उल्लेख भएअनुसार यी पुनरावेदक प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष वारदातबारे सबिस्तार खुलाई बयान गरेका र निजले बताएअनुसार नै वारदातबारे निजकी श्रीमती सुनिता तामाङले वारदातबारे उल्लेख गरेकी छन् भने निज प्रतिवादीले मौकामा गरेको बयानमा आफूले घटनाबारे श्रीमती सुनिता तामाङलाई बताएको हुँ भनी लेखाएको देखिन्छ । निज प्रतिवादीको मौकाको बयान, मृतकको लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन (POST MORTEM REPORT), वारदातको प्रत्यक्षदर्शी अर्जुन वि.क.को मौकाको घटना विवरण कागज, निजै प्रतिवादीका दाजु देउबहादुर गुरूङसमेतको मौकाको कागज र अदालतको बकपत्र, वारदात भएको स्थानका स्थानीय व्यक्तिहरू भरत श्रेष्ठ, रामबहादुर श्रेष्ठले गरेको मौकाको घटना विवरण कागज तथा अदालतसमक्ष गरेको बकपत्रसमेतबाट समर्थित भएको अवस्था हुँदा निज सुनिता तामाङले निज प्रतिवादीलाई फसाउन त्यस्तो बेहोरा लेखाएकी हुन् भन्ने निजको उक्त भनाइ अन्यथा देखिन आउँछ ।
९. घटना विवरण कागज गर्ने रामबहादुर थापा, नरबहादुर तामाङ, भरत श्रेष्ठसमेतले मृतक अम्मरसिंह गुरूङ, देउबहादुर गुरूङ र अर्जुन वि.क.को साथमा निज प्रतिवादी राजकुमार गुरूङ ज्याला मजदुरीको काम गर्न हाम्रो गाउँ ठाउँमा आएका र बिचमान तामाङकी श्रीमती सुनिता तामाङलाई भगाई लगेका हुन् । निजले आफ्नै साथी अम्मरसिंह गुरूङलाई कर्तव्य गरी मारी फरार भए भन्ने सुनेका हौं भन्नेसमेत बेहोरा लेखाई प्रतिवादीलाई सनाखतसमेत गरी दिएको देखिन्छ ।
१०. यसरी यी पुनरावेदकउपरको आरोपित कसुर निजले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान, लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीसँगै बसी सँगै काम गर्ने निज प्रतिवादीका दाजु देउबहादुर गुरूङको मौकाको कागज, अदालतमा गरेको बकपत्र र प्रत्यक्षदर्शी अर्जुन वि.क.ले मौकामा गरेको घटना विवरण कागज, पुनरावेदककी श्रीमती सुनिता तामाङले गरेको घटना विवरण कागज तथा अदालतसमक्ष गरेको बकपत्रसमेतका मिसिल संलग्न कागजातबाट पुष्टि हुन आएको र वारदात घटाउने राजकुमार गुरूङ आफू नभई आफू भारतीय नागरिक दिपेस राई हुँ भन्ने निजको अदालतको बयान एवं पुनरावेदन जिकिर र निजका तर्फबाट प्रस्तुत बहस जिकिरसमेत अन्यथा पुष्टि हुन आएबाट यी पुनरावेदक प्रतिवादीले मृतक अम्मरसिंह गुरूङलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले निजलाई अभियोग दाबीअनुसार साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुरमा ऐ. १३(३) नं. बमोजिम सजाय गर्ने गरेको उच्च अदालत पोखराको फैसला मिलेकै देखिँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
११. यी पुनरावेदकतर्फका विद्वान् कानून व्यवसायीहरूले बहसको क्रममा साबिक मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. बमोजिम राय लगाई कम सजाय गरिपाउँ भनी लिएको वैकल्पिक जिकिरतर्फ विचार गर्दा प्रतिवादीले धारिलो हतियार खुकुरी मृतकको टाउको, घाँटी जस्तो संवेदनशील अङ्गमा पटकपटक निर्मम तरिकाले प्रहार गरी मृतकलाई मारेको देखिन्छ । निजले आफूले गरेको कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिए तापनि अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेबाट न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था नभई उल्टै घटना घटाएपश्चात् तत्काल फरार भई विदेश भारतको सिक्किम गई लुकीछिपी बसेको र केही वर्षपछि नेपाल आएको अवस्थामा निज प्रहरीद्वारा पक्राउ परेको अवस्था रहेको र आफू प्रस्तुत मुद्दाको प्रतिवादी राजकुमार गुरूङ नभई अर्कै व्यक्ति हुँ भनी अदालतमा बयान गर्दा निजले आरोपित कसुरबाट बच्ने प्रयास गरेको अवस्था देखिन्छ । यसप्रकार वारदातको स्थिति, कसुरको प्रकृति एवं प्रतिवादीले प्रदर्शन गरेको आचरणलगायतका कुरालाई विचार गर्दा प्रस्तुत मुद्दामा साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. को अवस्था विद्यमान रहेको मान्न सकिने नदेखिँदा उक्त कानूनी व्यवस्थानुसार पुनरावेदक प्रतिवादीलाई कम सजाय गरिनुपर्ने भन्ने निजको तर्फबाट प्रस्तुत वैकल्पिक बहस जिकिरसँग सहमत हुन सकिएन ।
१२. अतः माथि विवेचित तथ्य, आधार र कारणसमेतबाट यी पुनरावेदक प्रतिवादी दिपेस भन्ने राजकुमार गुरूङले मृतक अम्मरसिंह गुरूङलाई खुकुरी जस्तो जोखिमी धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको पुष्टि हुन आएकाले निजलाई अभियोग दाबीअनुसार तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ १३(१) नं. को कसुरमा ऐ. १३(१) नं. बमोजिम जन्मकैद सजाय हुने ठहर्याएको गोरखा जिल्ला अदालतको मिति २०७५।२।१४ को फैसला सदर हुने ठहर्याई उच्च अदालत पोखराबाट मिति २०७६।१।१० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी थुनामा रहेका पुनरावेदक प्रतिवादी तथा महान्यायाधिवक्ताको कार्यालयलाई दिई फैसला विद्युतीय प्रणालीमा अपलोड गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी, मिसिल नियमानूसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : भगवती शर्मा ढुङ्गाना
इति संवत् २०७८ साल साउन ३१ गते रोज १ शुभम् ।