निर्णय नं. १०८१९ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७८।१०।२०
मुद्दा: जबरजस्ती करणी
०७५-CR-०३४२
पुनरावेदक / प्रतिवादी : गण्डकी अञ्चल, तनहुँ जिल्ला, भिमाद नगरपालिका वडा नं. ८ घर भई हाल कारागार शाखा दमौली, तनहुँमा थुनामा रहेको मंगले भन्ने थानबहादुर मल्ल
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG को जाहेरीले नेपाल सरकार
०७५-CR-०४०५
पुनरावेदक / वादी : परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : तनहुँ जिल्ला, भिमाद नगरपालिका वडा नं. ८, गणेशपुर घर भई हाल कारागार कार्यालय, तनहुँमा थुनामा रहेको मंगले भन्ने थानबहादुर मल्ल
पीडितले बकपत्र गर्दा निजलाई सोधिएका प्रश्नको सामान्य रूपमा नै जवाफ दिएको पाइएको र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले चिकित्साशास्त्रका सर्वमान्य सिद्धान्त र नेपालको परिप्रेक्ष्यमा निश्चित गरिएको मापदण्डको आधारमा यकिन राय नदिई पीडितको अभिभावकले मौखिक रूपमा पीडित मानसिक रूपमा केही सुस्त रहेको भनेका भरमा मात्र र निजको भनाइलाई स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेखसम्म गरेको आधारमा मात्र पीडित सुस्त मनस्थितिकी अपाङ्ग हुन् भनी प्रतिवादीलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क नम्बरबमोजिम थप सजाय गर्नु न्यायोचित नदेखिने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ
प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री सुधा धिताल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार आचार्य
तनहुँ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय मुख्य न्यायाधीश श्री कुमार चुडाल
माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी
उच्च अदालत पोखरा
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
जाहेरी दरखास्त
मिति २०७४।०१।०२ गते बिहान खाना खाई आमा र म भई घर नजिकै बारीमा अदुवा लगाई स्याउला हाली रहेका थियौं । नाबालिका छोरी नाम, थर, वतन परिवर्तित BM सदाझैँ छिमेकमा खेल्न गएकी थिइन् । दिउँसो अचानक छोरीले हातमा उखु लिई रूँदै घरतर्फ आएको देखी निजसँग सोधपुछ गर्दा प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले दिएको भनी बताइन् । कहिले उखु नदिने मान्छेले आज कसरी दियो ? छोरीलाई केही त गरेन ? भनी शङ्का लागी नानीले लगाएको कपडा खोली हेर्दा फोहोर देखी छोरीसँग सोध्दा मंगले भन्ने थानबहादुर मल्लले मलाई उखु दिन्छु भनी घरमा बोलाई आफ्नो कोठाभित्र लगी बिस्तारामा सुताई मेरो सुरूवाल र पेन्टीसमेत खोली निजले आफ्नोसमेत कपडा खोली मेरो योनिमा आफ्नो लिङ्ग छिराई करणी गरेको भनी छोरीले बताएपश्चात् थाहा पाएकी हुँ । प्रतिवादीलाई हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG ले मिति २०७४।०१।०३ मा दिएको जाहेरी दरखास्त ।
पीडित परिवर्तित नाम BM को कागज
मिति २०७४।०१।०२ गते बिहान म आफ्नो घरमा खाना खाई गाउँमा साथीहरूसँग खेल्न भनी गएकी थिएँ । खेल्दै जाने क्रममा म प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लको घरतर्फ जाँदै गर्दा निज मंगले भन्ने थानबहादुर मल्ल घरको पिँढीबाट मलाई बोलाई उखु खान्छस् भनी भनेकाले मैले खाने भनी निजको घरमा गएँ । निज घरभित्र पसी उखु यहाँ छ भित्र आउ भनेकाले म पनि भित्र गएँ । निजले मलाई दुवै पाखुरामा समाती उचाली आफ्नो बिस्तारामा सुताई मैले लगाएको सुरूवाल र पेन्टी खोलिदियो र आफूले लगाएको पाइन्टसमेत खोली निजले आफ्नो पिसाब गर्ने निकाली मेरो पिसाब गर्ने ठाउँमा छिराएकोमा मलाई दुखी रोएकी हुँ । सोपश्चात् निजले मलाई छाडिदिएको हो । मलाई छाडिदिएपछि मेरो पिसाब गर्नेबाट पानी जस्तो निस्केको थियो । त्यसपछि निजले मलाई कसैलाई नभन्नु है भनी एकवटा उखु दियो र म सो उखु लिई आत्तिँदै घर जाने क्रममा मेरी आमाले मेरो हातमा उखु देखी कसले दिएको हो, किन आत्तिँदै आइस् भनी सोधेकाले मैले सबै कुरा मेरो आमा परिवर्तित नाम BG लाई बताएकी हुँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम BM ले निजको आमा परिवर्तित नाम BG र इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँमा कार्यरत प्रहरी जवान सुमिका बरामको रोहबरमा मिति २०७४।०१।०३ मा गरेको कागज ।
घटनास्थल प्रकृति मुचुल्का
जिल्ला तनहुँ, भिमाद नगरपालिका वडा नं. ८ गणेशपुरस्थित पूर्वपश्चिममा थानबहादुर मल्लको पाखो बारी, दक्षिणमा मोहन शाहीको घर, उत्तरमा भानुमति जाने कच्ची मोटर बाटो, यति चार किल्लाभित्र ढुङ्गा माटो जडान भई टिनले छाएको २ तले पूर्व मोहडाको थानबहादुर मल्लको घर रहेको, सो घरको मोहडातर्फ ३ वटा ढोकामध्ये बिचको मूलढोका खुल्ला रहेको, सो खुल्ला ढोकाबाट भित्र पसी हेर्दा ढोकादेखि अगाडि दाहिने उत्तरपश्चिमतर्फ भित्तासँग राखेको दक्षिण सिरानी, उत्तर गोड्यान गरी बिछ्याउनासहितको खाट रहेको, सो खाटदेखि पूर्वतर्फ काठको खाट र खाटमाथि अन्नपातको बोराहरू रहेको । मिति २०७४।०१।०२ गते दिउँसो १४:३० बजेको समयमा उक्त बिछ्याउनासहितको खाटमा सुस्त मनस्थितिकी मुख राम्रोसँग नबोल्ने वर्ष ९ की पीडित नाम, थर परिवर्तित BM लाई प्रतिवादी थानबहादुर मल्लले ललाई फकाई जबरजस्ती करणी गरेको भनिएको स्थानको चार किल्लासहितको मिति २०७३।०१।०३ गतेको मुचुल्का ।
स्वास्थ्य जाँच प्रतिवेदन
पीडितको शरीरमा २-३ दिन पूरानो घाउ चोट
रहेको । पीडितको शारीरिक परीक्षण गर्दा जनेन्द्रियमा र त्यसको वरिपरि कुनै सङ्घर्षका चिह्न र घाउचोट नभेटिएको । तर यी चिह्न नभेटिँदैमा यौन सम्पर्क नभएको भन्न मिल्दैन । पीडितको मानसिक रूपमा सुस्तपन रहेको, हो होइन मात्र जवाफ फर्काउने, अरू आफैँ केही नबोल्ने भन्नेसमेत बेहोराको मिति २०७४।०१।०५ को पीडितको स्वास्थ्य जाँच प्रतिवेदन ।
प्रतिवादी थानबहादुर मल्लको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्दा सामान्य रहेको भन्नेसमेत बेहोराको मिति २०७४।०१।०५ को पीडक मंगले भन्ने थानबहादुर मल्लको स्वास्थ्य जाँच प्रतिवेदन ।
प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयान
मिति २०७४।०१।०२ गते म घरमा एक्लै थिएँ । मेरी श्रीमती २ दिनअगाडि बिरामी परी छोरी ज्वाइँकहाँ बसी उपचार गर्छु भनी पोखरा गएकी
थिइन् । सो दिन म बिहान घरगोठमा गोबर भकारो गरी खाना पकाउनको लागि दाउरा लिन भनी घरमुनि उखुबारी नजिकै जाँदा जाहेरवालीको छोरी परिवर्तित नाम BM म नजिकै आइन् र मसँग उखु मागिन् । मैले अहिले दिन्छु भनी घसौटा दाउरा लिई घरमा गई आगो फुक्न लाग्दासमेत निज पीडित मेरो अघिपछि हुँदै घरभित्र बसेकीले मलाई तत्काल यौन तृष्णा जागी लिङ्ग उत्तेजित भएकोले बिहान १०:३० बजेको समयमा ढोकाको गजबारभित्रबाट लगाई पीडितलाई उखु अहिले खान दिन्छु भनी पीडितलाई उचाली मेरो बिस्तारामा लगी बसाली निजले लगाएको सुरूवाल र पेन्टी खोली दिई खाटको डिलमा उत्तानो बनाई सुताई आफ्नो लिङ्ग निकाली पीडितको योनिमा थोरै मात्र छिराएको
थिएँ । पीडित आत्तिएको जस्तो मानी पछि लिङ्गको टुप्पाले पीडितको योनिमा दलेको हो । सोपश्चात् पीडितलाई उखुको टुक्रा दिई कसैलाई नभन है भनी फकाई निजको घरमा पठाएको हुँ । पीडितको योनिमा मेरो आफ्नो लिङ्गको टुप्पाले दल्दा तथा योनिभित्र पसाउँदा मेरो वीर्य स्खलन भयो तर योनिमा स्खलन भयो कि बाहिर भयो सो मलाई यकिन थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले अनुसन्धानको क्रममा मिति २०७४।०१।०६ मा गरेको बयान ।
घटना विवरण कागज
मिति २०७४।०१।०२ गते प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले पीडित परिवर्तित नाम BM लाई ललाई फकाई आफ्नै घरमा लगी पीडितलाई जबरजस्ती करणी गरी उखु दिई आफ्नो घरतर्फ पठाएकोमा पीडितको आमा जाहेरवालाले शङ्का मानी पीडितलाई सोधखोज गर्दा पीडितले सम्पूर्ण कुरा आफ्नो आमालाई बताएको भन्ने जाहेरवालाबाट पछि भनी सुनी थाहा पाएको हुँ । तत्काल सब कुराबारे प्रतिवादीसँग गई बुझ्दासमेत निज पीडित परिवर्तित नाम BM लाई जबरजस्ती करणी गरेको कुरा स्वीकार गरेको थियो । यसरी पीडित बालिकालाई उखु खान दिन्छु भनी ललाई फकाई जबरजस्ती करणी गर्ने निज प्रतिवादी मंगले भन्ने थानबहादुर मल्ललाई कानूनबमोजिम कडा सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको कलबहादुर उचै, मोहनबहादुर शाही र राममाया शाहीले एकै मिलानमा खुलाई लेखाइदिएको मिति २०७४।०१।१५ को घटना विवरण कागज ।
अभियोग मागदाबी
प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले सुस्त मनस्थितिकी खुलेर बोल्न नसक्ने ९ वर्षकी, परिवर्तित नाम BM लाई उखु खान दिन्छु भनी ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको १ तथा ३(१) नं. बमोजिम कसुर अपराध गरेको हुँदा प्रतिवादी मंगले भन्ने थानबहादुर मल्ललाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(१) नं. बमोजिम सजाय र ऐ.३क नं. बमोजिम थप सजाय गरी पीडित परिवर्तित नाम, थर BM लाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १० नं. बमोजिम मनासिब क्षतिपूर्ति भराई दिलाइपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।०१।२५ को अभियोग मागदाबी ।
प्रतिवादीको अदालतमा भएको बयान
मिति २०७४।०१।०२ गतेका दिन बिहान म आफ्नै घरमा बसिरहेको अवस्थामा पीडित मेरो घरमा आई जिस्किँदै पाइन्ट बाहिरबाटै मेरो लिङ्ग खेलाई दिई शारीरिक सम्पर्क राख्न प्रस्ताव राखिन् । मैले हुँदैन भनी इन्कार गर्दासमेत निजले मेरो हातमा समाई मेरो घरमा रहेको खाटमा गई निजले आफूले लगाएका कपडासमेत आफैँ खोली योनि देखाएकोले मलाई पनि निजसँग शारीरिक सम्पर्क राख्न यौन तृष्णा जागी मेरो लुगा म आफैँले खोली मेरो उत्तेजित लिङ्ग निज पीडितको योनिमा छिराई एकपटक करणी भएको हो । त्यसपछि भोलि पनि शारीरिक सम्पर्क राख्न आउँछु है भनी निज मेरो घरबाट एउटा उखु लिई चुस्दै आफ्नो घरतर्फ गएकी हुन् । निज र मेरोबिचमा वारदातपूर्व पनि मिति याद भएन, २ पटकसम्म सोही स्थानमा शारीरिक सम्पर्क भएको हो । तसर्थ, मैले पीडितलाई वारदातको दिन जबरजस्ती नभई सहमतिमै करणी गरेको हुँ । मैले पीडितलाई जबरजस्ती करणी गरेको नभई निजको चाहना पूरा गरिदिन निजसँग करणी गरेको हुँदा अभियोग मागदाबीबमोजिम सजाय हुनुहुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले मिति २०७४।०१।२८ मा अदालतमा गरेको बयान ।
जाहेरवाला परिवर्तित नाम BG ले गरेको बकपत्र
मिति २०७४।०१।०२ गते हामी आफ्नो घरनजिकै अदुवा बारीमा काम गर्न गएको समयमा मेरो छोरी परिवर्तित नाम BM घरमै थिइन् । हामीहरू बारीमै रहेको समयमा करिब दिनको १ बजेतिर निज छोरी परिवर्तित नाम BM प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लको घरतिरबाट एउटा उखु लिएर बारीमा आइन् । त्यसपछि गाउँमा कोही कसैलाई उखु नदिने मान्छेले नानीलाई किन उखु दिएछ भनी हामी छक्क पर्यौं । त्यसपछि नानीलाई पक्कै केही भयो कि भन्ने शङ्का लागी म नानीलाई लिई घर गएँ । त्यसपछि नानीले लगाएको सुरूवाल खोली हेर्दा नानीको पिसाब फेर्ने अङ्गसहित अन्य भागमा पनि फोहोर कुराहरू रौंहरू त्यो पनि उमेर पुगेको मानिसको देखेपछि ऊमाथि शङ्का
लाग्यो । त्यसपछि छोरीसँग के भयो भनी सोध्दा छोरीले मंगले भानिजले मलाई फकाई उखु दिन्छु ममीलाई नभन भनी मेरो सुरूवाल खोली आफ्नो खाटमा लगी सुताई आफ्नो पनि जाँगे खोली नराम्रो काम गर्यो । त्यसपछि मैले यस्तो नगर्नु भन्दा मानेन र काम गर्यो । म त्यसपछि उसँग उखु लिई बारीमा आएकी हुँ भनेकी थिई । मेरो छोरी नाबालिकाउपर जबरजस्ती करणी गर्ने प्रतिवादीलाई हदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम BG ले मिति २०७४।०२।३१ मा गरेको बकपत्र ।
पीडित परिवर्तित नाम BM को बकपत्र
निज मंगले भानिजले मलाई मेरो ममीहरू खेतमा काम गर्न गएको बेलामा हाम्रो घरमा आएर आउ, मेरो घरमा जाम म उखु दिन्छु भनी बोलाएर मलाई उसको घरमा लगी उसको घरको ऊ सुत्ने खाटमा लग्यो र त्यहाँ सुत भन्यो । त्यसपछि म सुत्दिन भन्दा उखु दिन्छु भन्यो र उखु ल्याई त्यहाँ छेउमा राखी मेरो सुरूवाल खोल्न लाग्दा मैले नखोल्नु भनेकी थिएँ तर उसले मलाई समाती मेरो सुरूवाल खोली उसको जाँगे पनि खोल्यो र मेरो पिसाब फेर्ने ठाउँमा उसको पिसाब फेर्ने कुरा राख्यो । त्यसपछि मैले नाइँ भन्दा पनि उसले मानेन । उसले एकछिन मलाई सुताएपछि मैले उठेर सुरूवाल लगाएँ र उखु लिएर ममी भएको ठाउँमा गएकी हुँ । प्रतिवादीलाई सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम BM ले मिति २०७४।०२।३१ मा अदालतमा गरेको बकपत्र ।
घटना विवरण कागज गर्ने मोहनबहादुर शाहीले गरेको बकपत्र
प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले सुस्त मनस्थितिकी पीडित परिवर्तित नाम BM लाई ललाई फकाई उखु दिन्छु भनी आफ्नो घरमा लगी जबरजस्ती करणी गरी पठाएको हो । पीडितले आफ्नो आमालाई सबै कुरा भनेपछि मात्र जाहेरवालालाई थाहा भएको
हो । भोलिपल्ट मिति २०७४।०१।०३ गते बिहान भिमाद प्रहरी चौकीमा प्रतिवादीलाई झिकाई सोध्दा निजले सबै मानिसहरूको माझमा जबरजस्ती करणी गरेको स्वीकार गरेको हो । पछि प्रहरी चौकी, बेलचौतारामा गएपछि पनि मैले निज नानीलाई जबरजस्ती करणी गरेकै हुँ भनी भनेको थियो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने मोहनबहादुर शाहीले मिति २०७४।०२।३१ मा गरेको बकपत्र ।
सुरू अदालतबाट भएको फैसला
जाहेरी दरखास्त, पीडितको मौकाको कागज, जाहेरवाला तथा पीडितको अदालतसमक्ष भएको बकपत्र तथा प्रतिवादीको मौकाको बयान तथा अदालतसमक्षको बयानसमेतबाट निज प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले पीडित परिवर्तित नाम BM लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकाले निज प्रतिवादीलाई जबरजस्ती करणीको ३(२) नं. अनुसार कैद वर्ष ८(आठ) हुन्छ । साथै निज पीडित बालिका सुस्त मनस्थितिकी (अपाङ्ग) रहेकी भन्ने देखिँदा मुलकी ऐन, जबरजस्ती करणीको ३क नं. बमोजिम थप ५(पाँच) वर्षसमेत गरी जम्मा १३(तेह्र) वर्ष कैदको सजाय हुने ठहर्छ । प्रस्तुत मुद्दामा प्रतिवादीको आर्थिक अवस्था तथा हैसियतसमेतलाई विचार गरी पीडितले प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लबाट क्षतिपूर्ति रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) पाउने ठहर्छ । प्रतिवादीले सो रकम दाखेल नगरेमा निजले कारागारमा गर्ने आय तथा पाउने सुविधाबाट मासिक २५% (पच्चिस प्रतिशत) कट्टा गरी यस अदालतमा दाखेल गर्न लेखी पठाउनु भन्नेसमेत बेहोराको सुरू तनहुँ जिल्ला अदालतको मिति २०७४।०४।३१ गतेको फैसला ।
प्रतिवादीको पुनरावेदन पत्रः
सुरू फैसलामा चित्त बुझेन । पीडित आफैँले मसँगबाट करणी गराएकी हुन् । मैले जबरजस्ती करणी गरेको
होइन । मैले जबरजस्ती करणी गरेको कुरा इन्कार गरिरहेको अवस्थामा पीडित तथा जाहेरवालाको अदालतको भनाइ तथा सुनेको भरमा कागज गरेका व्यक्तिहरूको भनाइलाई आधार मानी सुरू अदालतले मलाई १३(तेह्र) वर्ष कैद तथा पीडितलाई रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति भराउने गरी सुरू अदालतबाट भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला बदर गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लको पुनरावेदनपत्र ।
नेपाल सरकारको पुनरावेदनपत्र
सुरू फैसलामा चित्त बुझेन । पीडित BM को उमेर जन्मदर्ता प्रमाणपत्रबाट ९ वर्ष ८ महिना ४ दिन भएको अवस्थामा स्पष्ट कानूनी व्यवस्थाविपरीत सुरू अदालतबाट पीडितको उमेर १० वर्षभन्दा बढी कायम गरी सुरू अदालतबाट भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
उच्च अदालतबाट भएको आदेश
यसमा वादी प्रतिवादी दुवैतर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. को प्रयोजनार्थ एक अर्काको पुनरावेदन परेको जानकारी दुवै पक्षलाई गराई यसै लगाउको ०७४-CS-०२६२ जबरजस्ती करणी मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भनी उच्च अदालतको मिति २०७४।११।२८ को आदेश ।
उच्च अदालत पोखराको फैसला
पीडित अपाङ्ग हुन् भन्ने आधिकारिक प्रमाण नभएको र निजको जन्ममिति प्रमाणपत्रबाट १०(दश) वर्षभन्दा मुनिकी देखिँदा प्रतिवादी मंगले भन्ने थानबहादुर मल्ललाई जबरजस्ती करणीको महलको १ र ३(१) नं. को कसुरमा सोही महलकी ३(२) बमोजिम ८(आठ) वर्ष कैद र ऐ.को ३क नं. बमोजिम थप ५(पाँच) कैदसमेत गरी जम्मा १३(तेह्र) वर्ष कैद सजाय हुने र ऐ. महलको १० नं. बमोजिम पीडितलाई निज प्रतिवादीबाट रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति दिलाई भराइदिने गरी भएको तनहुँ जिल्ला अदालतको मिति २०७४।०४।३१ को फैसला नमिलेको हुँदा केही उल्टी भई निज प्रतिवादी मंगले भन्ने थानबहादुर मल्ललाई जबरजस्ती करणीको महलको १ र ३(१) नं. बमोजिमको कसुरमा सोही महलको ३(१) नं. बमोजिम ११(एघार) वर्ष कैद सजाय हुने र ऐ. महलको १० नं. बमोजिम निज प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति दिलाई भराइदिने ठहर्छ । अभियोग मागदाबीबाट पूर्णरूपमा सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको मिति २०७४।१२।२६ को फैसला ।
पीडितले गरेको घटना विवरण कागजको बेहोरा र निजले अदालतसमक्ष गरेको बकपत्रको बेहोरामा एकरूपता नभएकोले निजको भनाइ विश्वसनीय
छैन । पीडितको Vaginal swab परीक्षण प्रतिवेदनमा केही फेला नपरेको भन्ने उल्लेख छ । पीडितको योनिमा सङ्घर्षका चिह्न केही देखिएको छैन । यदि जबरजस्ती करणी भएको भए पीडितको योनिमा केही न केही घाउ, चोट, शुक्रकीट फेला पर्नुपर्नेमा सो केही देखिएको छैन । पीडितको शारीरिक परीक्षण प्रतिवेदन गर्ने विज्ञको अदालतमा बकपत्र नभएको अवस्थामा निजको राय प्रतिवेदन प्रमाणमा लिन मिल्दैन । तसर्थ, पीडितको कागज बकपत्र, निजको शारीरिक परीक्षण प्रतिवेदनसमेतलाई आधार मानी मलाई जबरजस्ती करणी कसुर ठहर्याई उच्च अदालत पोखराबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट पूर्णरूपमा सफाइ पाउँ भन्ने बेहोराको मंगले भन्ने थानबहादुर मल्लको यस अदालतमा मिति २०७५।०५।०४ मा परेको पुनरावेदनपत्र ।
पीडित परिवर्तित नाम BM अपाङ्ग (सुस्त मनस्थितिको) छन् भन्ने जाहेरी दरखास्तको प्रकरण ५ मा उल्लेख छ । सो कुरालाई पीडितको घटना विवरण कागजले थप पुष्टि गरेको छ । पीडित सुस्त मनस्थितिको रहेको भन्ने घटनास्थल प्रकृति मुचुल्काको प्रकरण ३ मा उल्लेख छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको घटना विवरण शीर्षकमा मानसिक रूपमा केही सुस्तपन रहेको, जवाफ फर्काउने तर आफैँ नबोल्ने भन्ने उल्लेख छ । साथै विशेषज्ञको रायमा पनि मानसिक रूपमा सुस्तपन रहेको भन्ने उल्लेख भएको अवस्था पीडित नाबालिका अपाङ्गता रहेको देखिँदा प्रतिवादीउपर अभियोग दाबीबमोजिम थप सजायसमेत हुनुपर्नेमा थप सजाय नगरी उच्च अदालत पोखराबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा मिति २०७५।५।१७ मा परेको पुनरावेदनपत्र ।
यसमा उच्च अदालत पोखराको मिति २०७४।१२।२६ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लको पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ दुवै पक्षलाई परस्पर सुनाई पेसीको सूचना दिनु साथै पुनरावेदक प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले वैतनिक कानून व्यवसायी राखिपाउँ भनी पुनरावेदन दायर गरेको देखिएकोले निजको तर्फबाट बहस पैरवी गर्न वैतनिक कानून व्यवसायीलाई पेसीको सूचना दिनु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७७।०७।२५ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठले जाहेरी दरखास्त, घटना विवरण कागज, घटनास्थल प्रकृति मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, विशेषज्ञको रायसमेतबाट पीडित परिवर्तित नाम BM मानसिक रूपमा केही सुस्तपन रहेको र जवाफ फर्काउने तर आफैँ नबोल्ने अपाङ्ग भन्ने देखिएको अवस्थामा जबरजस्ती करणीको महलको ३क बमोजिम थप सजाय गर्नुपर्नेमा थप सजाय नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री सुधा धितालले पीडित सुस्त मनस्थितिकी अपाङ्ग भन्ने पुष्टि हुन सकेको अवस्था नहुँदा थप सजाय हुनुहुँदैन भन्नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तानुसारको तथ्य तथा बहस जिकिर भएको प्रस्तुत मुद्दामा उच्च अदालत पोखराबाट मिति २०७४।१२।२६ मा भएको फैसला मिलेको छ वा
छैन ? र पुनरावेदक वादी नेपाल सरकारको र पुनरावेदक प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले ९ वर्ष ७ महिना ४ दिनकी अपाङ्ग अवस्थाकी पीडित परिवर्तित नाम BM लाई ललाई, फकाई आफ्नो घरमा लगी जबरजस्ती करणी गरी जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम सजाय गरी ऐ. महलको ३क नं. बमोजिम थप सजाय हुन तथा ऐ. महलको १० नं. बमोजिम पीडितलाई मनासिब क्षतिपूर्ति दिलाई भराइपाउँ भन्नेसमेत अभियोग दाबी भएकोमा प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(२) बमोजिम ८ वर्ष कैद तथा ऐ. को ३क नं. बमोजिम थप ५ वर्ष कैद गरी १३ वर्ष कैद हुने र निजबाट पीडितलाई पच्चिस हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने ठहर्याएको सुरू फैसला केही उल्टी गरी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम सजाय ११ वर्ष कैद हुने र निजबाट पीडितलाई पच्चिस हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने ठहर्याई उच्च अदालत पोखराबाट फैसला भएको देखियो । सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकार तथा प्रतिवादी दुवै पक्षको पुनरावेदन पर्न आएको रहेछ । वादी नेपाल सरकारले प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क नं. बमोजिम थप सजाय हुनुपर्ने भनी र प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउँ भनी जिकिर लिएको देखिन्छ ।
३. प्रतिवादीले लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, मेरी छोरी पीडित परिवर्तित नाम BM लाई प्रतिवादीले जबरजस्ती करणी गरेको हुँदा निजलाई कारबाही गरी सजाय गरिपाउँ भनी परिवर्तित नाम ८६ को जाहेरी दरखास्त परेकोमा यी पुनरावेदक प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडित परिवर्तित नाम BM लाई जबरजस्ती करणी गरेको हुँ भनी कसुरमा साबिती भएको तथा अदालतसमक्ष बयान गर्दा पनि पीडितको सहमतिमा करणी गरेको हुँ भनी पीडितलाई करणी गरेको तथ्यलाई स्वीकार नै गरेको देखिन्छ । पीडितले आफूलाई प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले जबरजस्ती करणी गरेका हुन् भनी मौकामा कागज गरी सोही बेहोरालाई समर्थन हुने गरी अदालतसमक्ष समेत बकपत्र गरेको पाइयो । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनिमा र त्यसको वरिपरि कुनै सङ्घर्षका चिह्न र घाउचोट नभेटिएको भए पनि त्यस्ता चिह्न नभेटिँदैमा यौन सम्पर्क नभएको भन्न मिल्दैन भन्ने उल्लेख भएको देखिन्छ । यसरी प्रतिवादीको मौकाको तथा अदालतसमक्षको बयान, पीडितले मौकामा गरेको कागज तथा अदालतसमक्ष गरेको बकपत्र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न प्रमाण कागजातबाट प्रतिवादी मंगले भन्ने थानबहादुर मल्लले पीडित परिवर्तित नाम BM लाई करणी गरेको तथ्य पुष्टि भएको देखिन आयो ।
४. अब पीडितको सहमतिमा नै मैले करणी गरेको हुँ भनी प्रतिवादीले जिकिर लिएतर्फ विचार गर्दा, स्थानीय पञ्जिकाधिकारीको कार्यालय, भानुमती गाउँ विकास समिति, तनहुँबाट मिति २०६४।०८।२३ मा जारी पीडितको जन्मदर्ताको प्रमाणपत्रमा पीडितको जन्ममिति २०६४।०४।२८ उल्लेख भएको देखिएकोले वारदात मिति २०७४।०१।०२ मा पीडितको उमेर ९ वर्ष ७ महिना ४ दिन रहेको देखिन्छ । यसरी पीडित १० वर्षभन्दा मुनिकी बालिका भएको र साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था रहेको हुँदा यी पुनरावेदकले १० वर्ष मुनिकी बालिका पीडितलाई करणी गर्दा लिएको निजको सहमति वा मन्जुरीको कुनै कानूनी अर्थ र औचित्य हुने नदेखिँदा पीडितको सहमतिमा नै मैले करणी गरेको हुँ भनी प्रतिवादीले जिकिर लिएतर्फ थप विवेचना गरिरहनु परेन ।
५. यसरी प्रतिवादीले ९ वर्ष ७ महिना ४ दिन की पीडितलाई जबरजस्ती करणी गरेको कसुर स्थापित भइसकेको अवस्थामा निजलाई उच्च अदालत पोखराले गरेको सजाय मिलेको छ,
छैन ? भन्ने सम्बन्धमा विचार गर्दा १० वर्षभन्दा मुनि बालिकालाई जबरजस्ती करणी गरेमा १० देखि १५ वर्षसम्म कैद हुने भन्ने साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय १ को कानूनी व्यवस्थाबमोजिम यी प्रतिवादीलाई ११ वर्ष कैद सजाय हुने गरी उच्च अदालत पोखराबाट भएको फैसला अन्यथा भन्न मिल्ने नदेखिएकोले अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. अब पीडित अपाङ्ग भएकोले प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क नम्बरबमोजिम थप सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा तत्कालीन अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा ३ मा अपाङ्गको परिभाषा तथा अपाङ्गपनको निर्धारण चिकित्साशास्त्रका सर्वमान्य सिद्धान्त र नेपालको परिप्रेक्ष्यमा निश्चित गरिएको मापदण्डको आधारमा हुने र कुनै व्यक्ति अपाङ्ग हो वा होइन ? भन्ने कुराको निर्णय नेपाल सरकारबाट यस प्रयोजनको निमित्त तोकिएको वा गठन गरिएको चिकित्सक वा समितिको निर्णय नै आधिकारिक हुने छ भन्ने कानूनी व्यवस्था रहेको देखियो । उल्लिखित कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम BM लाई मानसिक रूपमा सुस्त रहेको भनी नेपाल सरकारबाट तोकिएको चिकित्सकले प्रमाणित गरिदिएको अवस्था देखिँदैन । परिवर्तित नाम जिल्ला ३९ अन्तर्गत बस्ने BG दिएको जाहेरी दरखास्तमा मेरो नाबालक छोरी परिवर्तित नाम BM अपाङ्ग (सुस्त मनस्थिति) की छिन्, खुलेर बोल्नसमेत सक्दिनन् भन्नेसम्म उल्लेख गरेको देखियो । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन (यौन हिंसा प्रभावित महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन) हेर्दा पीडितको मानसिक स्वास्थ्य शीर्षकअन्तर्गत पीडित परिवर्तित नाम BM को फुपूको भनाइअनुसार पीडित मानसिक रूपमा केही सुस्तपन रहेको, जवाफ हो होइनसम्म फर्काउने अरू आफैँ केही नबोल्ने भन्नेसम्म उल्लेख भएको
पाइन्छ । तर चिकित्सकले पीडितलाई परीक्षण गर्दा निज सुस्त मनस्थितिको देखिएको भन्ने चिकित्सकको राय उक्त प्रतिवेदनमा कहीँकतै उल्लेख भएको
देखिँदैन । पीडितको फुपूले पनि पूर्णरूपमा सुस्तपन रहेको भन्ने उल्लेख गरेको पाइँदैन । पीडितले अदालतसमक्ष गरेको बकपत्र हेर्दा निजलाई सोधिएका प्रश्नको सामान्य रूपमा नै जवाफ दिएको देखिन्छ, जवाफबाट मानसिक रूपमा सुस्त रहेको भन्ने कुरा झल्किएको देखिँदैन ।
७. यसरी पीडितले बकपत्र गर्दा निजलाई सोधिएका प्रश्नको सामान्य रूपमा नै जवाफ दिएको पाइएको र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले चिकित्सा शास्त्रका सर्वमान्य सिद्धान्त र नेपालको परिप्रेक्ष्यमा निश्चित गरिएको मापदण्डको आधारमा यकिन राय नदिई पीडितको अभिभावकले मौखिक रूपमा पीडित मानसिक रूपमा केही सुस्त रहेको भनेका भरमा निजको भनाइलाई नै स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेखसम्म गरेको आधारमा मात्र पीडित सुस्त मनस्थितिकी अपाङ्ग हुन् भनी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क नम्बरबमोजिम थप सजाय गर्नु न्यायोचित नदेखिँदा उच्च अदालतबाट भएको फैसला अन्यथा भन्न मिल्ने देखिएन । तसर्थ प्रतिवादीलाई थप सजाय गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन
सकिएन ।
८. अतः माथि विवेचित तथ्य, आधार र कारणसमेतबाट पुनरावेदक प्रतिवादी मंगले भन्ने थानबहादुर मल्ललाई तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(२) बमोजिम ८ वर्ष कैद तथा ऐ. को ३क बमोजिम थप ५(पाँच) वर्ष कैद गरी १३ वर्ष कैद र निजबाट पीडितलाई पच्चिस हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने ठहर्याएको तनहुँ जिल्ला अदालतको मिति २०७४।०४।३१ को फैसला केही उल्टी गरी निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम ११ वर्ष कैद सजाय र ऐ. को १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई पच्चिस हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने ठहर्याई उच्च अदालत पोखराबाट मिति २०७४।१२।२६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार तथा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपिसहित जानकारी महान्यायाधिवक्ताको कार्यालय तथा थुनामा रहेका पुनरावेदक प्रतिवादीलाई दिई मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : भगवती शर्मा ढुङ्गाना
इति संवत् २०७८ साल माघ २० गते रोज ५ शुभम् ।