निर्णय नं. १०८२१ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७७।८।२१
०७२-CR-०२६३
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / वादी : ललिता जि.सी.को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला प्युठान खैरा गा.वि.स. वडा नं. २ घर भई जिल्ला प्युठान बरौला गा.वि.स. वडा नं.१ बस्ने मिठे सार्कीसमेत
अस्पतालमा उपचार गरिरहेको बिरामीको कागज गर्दा सो स्थानमा मौजुद रहेका नर्स, चिकित्सक आदि व्यक्तिको रोहबरमा नभएको कागजको बेहोरा शङ्कास्पद देखिने ।
अनुसन्धानकर्ताले पेस गरेको मृत्युकालीन घोषणा भनिएको शङ्कास्पद कागजलाई मात्र भर गर्न सकिने देखिन नआउने ।
(प्रकरण नं.१३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्ने :
मा. न्यायाधीश श्री विष्णुप्रसाद उपाध्याय
प्युठान जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री शम्भुबहादुर खड्का
मा. न्यायाधीश श्री अनिता मानन्धर जोशी
पुनरावेदन अदालत, तुलसीपुर, दाङ
फैसला
न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
तथ्य खण्ड
बुबा दानबहादुर जि.सी. मिति २०७०।०१।०५ गते बिहान खसी काट्न भनी ढाड भन्ने ठाउँमा गई खसी काटी मासु ल्याई घर फर्कने क्रममा भगवता जि.सी.को घरको बाटो आउँदा मिठे सार्कीसमेत भगवताको घरमा आएको, बुबा र मिठे सार्कीबिच जग्गाको आँठो सम्बन्धमा भनासुन भएको, बेलुका अं.१७:०० बजेसम्म घरमा नआएपछि खोज्दै जाँदा बुबा दानबहादुर मिठे सार्कीको घरको तल करेसामा घाइते भई लडिरहेको अवस्थामा फेला पारी मिठे सार्कीले घरमा लगी छाडी गएकोमा बिजुवार अस्पताल लैजाँदा रिफर गरेकाले हाल ग्रिनसिटी अस्पताल काठमाडौंमा चिन्ताजनक अवस्थामा उपचार हुँदै छ । बुबालाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी टाउको र अन्य ठाउँमा घाउखत पारी, घाँटी र टाउकोसमेतको हड्डी भाँची ढिकबाट फाली दिएकाले भगवता जि.सी र मिठे सार्कीलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ललिता जि.सी.को जाहेरी दरखास्त ।
प्युठान जिल्ला बरौला गा.वि.स. वडा नं.१ स्थित पूर्वमा मिठु नेपालीको गोठ, पश्चिममा मिठु नेपाली र भगवता जि.सी.को जोडिएको आँगन बारी, उत्तरमा बरौलादेखि दाङवाङ जाने बाटो, दक्षिणमा मिठु नेपालीको घर, उक्त घरको पेटीमा जोडिएको ४ फिट ६ इन्चको आँगन कुलेसोदेखि तल ४ फिट ४ इन्च अग्लो ढुङ्गाको गारो लगाएको देवालमा जोडिएको करेसाबारीमा ढुङ्गाको गारोदेखि २ फिट उत्तरतर्फ दक्षिण सिरान उत्तरतर्फ खुट्टा भई उत्तानो अवस्थामा मिति २०७०।०१।०५ गते साँझ अं. ५:०० बजेको समयमा घाइतेलाई आफन्तले देखी तत्काल लिई गएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०७०।०१।०५ गते भगवता जि.सी.ले गहुँ झाँटी दिने हो भने रक्सी पारिदिन्छु भनेपछि बिहान १०:०० बजेतिर निजको आँगनमा गई मेरी श्रीमतीले र मैले गहुँ झाँट्दै गर्दा भगवताले एक बोतल रक्सी खान दिएकी थिइन् । ११:०० बजे दानबहादुर गहुँ झाँटिरहेको स्थानमा आई मलाई चोर डाँकासमेत भनी, मलाई साथमा लिई मेरो घरको पिँढीमा गई एकछिन यतै सुत्छु भनी सुतेकोले म भगवताको घरमा गई पुनः गहुँ झाट्न थालेँ, दिउँसो १:०० बजेतिर घरमा ससुराहरू आएपछि खाना खुवाई २:३० बजेतिर गोरु हेर्न गई गोरू चित्त नबुझी घरमा आएको, मामा बोमे जि.सी.ले २ बोतल रक्सी मगाई मसमेतले खाएपछि उनीहरू गए । दानबहादुर पिँढीमा सुतिरहेका थिए । म पनि दानबहादुरको नजिक गई सुतेँ । पौने ५ बजेतिर निजको छोरी आई चिच्याउँदा मेरो निन्द्रा खुली उठी हेर्दा दानबहादुर जि.सी. पिँढी तल बारीमा अचेत अवस्थामा पल्टिएको, निजको टाउकोपछाडि ३/४ ठाउँमा चोट लागी बोल्न सक्ने अवस्थामा थिएनन् । उक्त समयमा दानबहादुर जि.सी.ले एक्कासि कसैले मलाई टिपेर फालेको जस्तो लाग्यो भनेका थिए । निजको छोरीले घरसम्म लगी दिनुपर्यो भनेकाले मैले घरमा पुर्याइदिएको हुँ । निजलाई मैले हातपात, कुटपिट गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी मिठे सार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७०।०१।०५ गते बिहान ११:०० बजे दानबहादुर जि.सी.समेत खसीको मासु लिई हाम्रो घरको बाटो हुँदै जान लागेको देखी बोलाउँदा अरू आएनन्, दानबहादुर आए । दानबहादुरले गहुँ चुट्न आएका मिठे सार्कीलाई देखी चोर भनी गाली गलौज गर्दा मिठेले गाली नगर्नुस्, हिँड्नुस् जाउँ भनी दानबहादुरलाई आफ्नो घरतर्फ लिई गएका हुन् । दानबहादुर आउनुअघि मिठेले १ बोतल रक्सी खाएका थिए । ५ मिनेटपछि मिठे आई म गहुँ झाँट्छु भन्दा मैले म आफैँ झाँट्छु तपाई आफ्नो खेतमा पानी चार्न जानुस् भनेपछि त्यहाँबाट गए । दानबहादुर मिठे सार्कीको घरको पिँढीमा सुतेको देखेकी हुँ । ५:०० बजेतिर ललिता जि.सी. आई बुबा दानबहादुरलाई मिठेको करेसा बारीमा अचेत भई पल्टिएको देखी तपाइँले रक्सी ख्वाएर बुबा लड्नु भएको, उठाउन हिँड्नुस् भनेकीमा म नगई गहुँ झाँटी रहेँ । निजलाई मिठे सार्कीले नै पिठ्युँमा बोकी घरमा पुर्याएका हुन् । मैले निजलाई कुटपिट गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी भगवता जि.सी.ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
घटना भएको दिनमा म मेरै घरमा थिएँ । घटना के कसरी भयो मलाई थाहा भएन । घटनाको बारेमा भगवता जि.सी. र मिठे नेपालीलाई नै थाहा होला भन्नेसमेत बेहोराको बुझिएका मानिस कमान सिंह पुन मगरले मौकामा गरेको कागज ।
प्युठान जिल्ला बिजुवार गा.वि.स. वडा नं. ६ स्थित प्युठान अस्पतालको शवगृहमा पूर्व गोड्यान, पश्चिम सिरान भई उत्तानो अवस्थामा मृतक दानबहादुर जि.सी.को मृत लास रहेको, मृतकको दाहिने कुमको घाँटीभन्दा तल आधा इन्च काटिएको घाउ रहेको, दाहिने कानमाथि ०.३ इन्च काटिएको, बायाँ कानमाथि ०.३ इन्च काटिएको, टाउकोपछाडि ०.३ इन्च काटिएको, पिठ्युँमा ४ इन्च घाउ रहेको भन्ने घटनास्थल तथा लास जाँच मुचुल्का ।
घाइते दानबहादुरको मिति २०७०।०१।१६ गते मृत्यु भएकाले कर्तव्य ज्यानतर्फ कारबाही गरिपाउँ भन्नेसमेत ललिता जि.सी.को मिति २०७०।०१।२० को दोस्रो जाहेरी दरखास्त ।
मिति २०७०।०१।०५ गते बुबा दानबहादुर साँझसम्म घर नआएपछि खोज्दै जाँदा मिठे सार्कीको घर आँगन तल बारीमा अचेत अवस्थामा देखी भगवता जि.सी.लाई बोलाउँदा नआएकी, मिठेको साली निर्मलासँग पानी मागी बुबालाई खुवाई, अवस्था नाजुक छ घरसम्म पुर्याइदिनुस् भनेपछि मिठेले पिठ्युँमा बोकेर घरसम्म ल्याएका हुन् । बुबा अचेत भई गम्भीर भएपछि राति नै गाडी बोलाई उपचारको लागि काठमाडौं लगी टिचिङ अस्पतालमा उपचार गराउँदा बुबा होसमा आएको र मिठे सार्कीसमेतले मलाई कुटपिट गरी घचेटी घाइते बनाएको भनी भनेको कुरा उपचारमा सँगै गएका आफन्तले खबर गरेकाले थाहा पाएको र सोही घाउ चोटका कारण बुबाको मृत्यु भएको हुँदा किटानी जाहेरी दिएकी हुँ भन्नेसमेत बेहोराको मृतककी छोरी ललिता जि.सी.ले मौकामा गरेको घटना विवरण कागज ।
मिति २०७०।०१।०५ गते मासु लिएर फर्कंदा भगवता जि.सी.ले बोलाएकोमा दानबहादुरको मासुसमेत निजको घरमा पुर्याउने गरी लिई घरतर्फ आएको, दानबहादुर भगवताको घरमा बसेकोमा दानबहादुर मिठेको घरको आँगनअगाडि पल्टिई घाइते भएको भन्ने थाहा पाई भेट्न जाँदा निजको टाउकोमा २/३ ठाउँमा काटेको घाउ थियो । रक्सी खाई लडेको भनी कतै खबर नगरी उपचारको लागि लगेको हो । पछि होसमा आउँदा निजले मिठे सार्कीले लडाई, तल फाली, घाउचोट लागेको हो भनी भनेको र सोही चोटका कारण निजको मृत्यु भएको विश्वास लाग्छ भन्नेसमेत बेहोराको रेशमबहादुर जि.सी.ले मौकामा गरेको घटना विवरण कागज ।
दानबहादुर मेरो घरमा आउँदा सामान्य रक्सी लागेको थियो । निजले उक्त दिन मेरो घरमा खानपिन केही नगरेकोले रक्सी खाएको भए मिठेको घरमा नै
खानुपर्दछ । दानबहादुरलाई को कस्ले घाइते बनायो मैले देखिनँ । निजलाई कर्तव्य गरी मार्नेमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी भगवता जि.सी.को अधिकारप्राप्त अधिकारीसमक्षको ततिम्बा बयान ।
दानबहादुरले त्यस दिन मलाई गाली गलौज गरे पनि मैले सुने नसुने जस्तो गरेको हुँ । निजको मृत्यु मेरो घरको पिँढीबाट लडी घाइते भएकोमा उपचार हुन नसकी सोही चोट पीरका कारण भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मिठे सार्कीले गरेको ततिम्बा
बयान ।
वारदातको दिन दिउँसो सिस्नो टिप्न मिठे सार्कीको घरनजिक गएको बेला मिठे सार्की र दानबहादुर जि.सी. दुवै मिठेको पिँढीमा सुतेको देखेको थिएँ । साँझतिर दानबहादुरको घरमा जाँदा घाउ चोट लागी अचेत अवस्थामा हुनुहुन्थ्यो । के कसरी घाउ चोट लागेको हो भन्ने भगवता जि.सी.लाई थाहा छकि बोलाएर ल्याउ भनेपछि म भगवतालाई बोलाउन जाँदा भगवता आइनन् भन्नेसमेत बेहोराको दोर्ण जि.सी.ले गरेको घटना विवरण कागज ।
दानबहादुर जि.सी. मिठेको आँगनअगाडि पल्टिई घाइते भएको थाहा पाई भेट्न जाँदा निज अचेत अवस्थामा रहेको र टाउकोमा २/३ वटा काटिएको घाउ चोटसमेत थियो । दानबहादुर उपचारको क्रममा होसमा आएपछि निजले मलाई मिठे सार्कीले लडाई तल फाली घाउ चोट पारिदिएको भनेको र घटनास्थल हेर्दा कुटपिट नगरी घाउचोट लाग्ने अवस्था भएको नदेखिएकाले मिठेसँग विवाद भएका कारण निजले दानबहादुरलाई आँगनबाट धकेली चोटपटक लागी सोही चोटका कारण दानबहादुरको मृत्यु भएको पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने दामोदर आचार्य, बोमबहादुर थापा, ओमबहादुर थापा, विष्णु जि.सी., भिमबहादुर जि.सी. र गिरबहादुर जि.सी.ले गरेको करिब एकै मिलानको घटना विवरण कागज ।
वारदातको दिन अं. १०:०० बजे म र मेरो श्रीमान् भगवताको घरमा गई गहुँ झाँट्दै थियौँ । अं. ११:०० बजेतिर भगवताले बोलाउँदा नआई अन्य २ जना आफ्नो घरतिर गएको, दानबहादुर जि.सी. मात्र भगवताको घरमा आएपछि मिठे चोर भन्दा मेरा श्रीमान् मिठेले मजाकमा लिनुभयो । दुवै उठी हाम्रो घरमा
गए । मैले गुन्द्री ओछ्याई दिएँ । दानबहादुर गुन्द्रीमा सुते । मिठे भगवताको घरमा गई ४:०० बजेतिर खेतमा पानी हालेर फर्की आएपछि दानबहादुर सुतेको नजिकै सुते । म पनि भित्र गई सुतेँ । दानबहादुरलाई के कसरी चोट लागेको हो मलाई थाहा छैन भन्नेसमेत यसोदा सार्कीले गरेको घटना विवरण कागज ।
मिति २०७०।०१।०५ गते अं. ११:३० बजेको समयमा प्युठान बरौला गा.वि.स.१ धाएरीखर्कस्थित आफ्नो भतिजी नाता पर्ने भगवता जि.सी.ले चैते दशैं भएकाले मलाई मेरो घरमा आउनु भनी बोलाएकोमा त्यहाँ गई केही मात्रामा रक्सी सेवन गरी बेलुकी अं. १७:०० बजे घर फर्कने क्रममा मिठु नेपालीले घरको आँगनबाट मलाई धकेली आँगनभन्दा अं. २०/२५ फिट तल मोटर बाटोमा लडाई घाइते भएको हुँ । मिठु नेपालीले मलाई के कति कारणले आँगनबाट धकेले थाहा भएन । ऊ र मबिच पूर्वरिसइवी, झै-झगडा केही थिएन । मलाई बाटोमा लडाई, म घाइते भई बेहोस अवस्थामा को कस्ले मलाई जिल्ला अस्पताल बिजुवार लगे थाहा भएन । हाल मेरो दुवै हात खुट्टासमेत चलेको छैन । डाक्टरले भनेअनुसार मेरो पछाडिको मेरूदण्ड भाँचिएको छ । मिठु नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मृतक दानबहादुर जि.सी.ले उपचारको क्रममा रहँदा त्रि.वि.वि. शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा मिति २०७०।०१।०७ गते गरेको घटना विवरण
कागज ।
मर्ने वा नमर्ने भन्ने महलमा Can be fatal if not treated on time भन्ने उल्लेख भएको मिति २०७०।०१।१० को मृतक दानबहादुर जि.सी.को घाउ जाँच केस फाराम ।
जिल्ला अस्पताल प्युठानबाट प्राप्त मृतक दानबहादुर जि.सी.को मृत्युको कारण Death due to compression of vital centers due to c4, c5 dislocation भन्नेसमेत बेहोराको मिति २०७०।०१।१६ को शव परीक्षण प्रतिवेदन ।
मिति २०७०।०१।०५ गतेका दिन समूहको खसी काटी मासु लिई आफ्नो घरतर्फ गइरहेका दानबहादुर जि.सी.लाई प्रतिवादी भगवता जि.सी.ले आफ्नो घरमा बोलाई रक्सी खुवाई त्यहीँ रहेका अर्का प्रतिवादी मिठे सार्कीले आफ्नो घरमा लगी दानबहादुर जि.सी.लाई पिँढीमा सुताएको र साँझपख उठेर घर जान लागेका दानबहादुरलाई प्रतिवादीहरू दुवै जना मिली कुटपिट गरी आँगनको ढिकबाट घचेटी टाउकोमा गम्भीर चोट पुग्ने गरी लडाइदिएको कारणबाट सोही पीडाले जाहेरवालीको बाबु दानबहादुर जि.सी.को उपचार हुन नसकी मृत्यु भएको देखिन आएकोले प्रतिवादी भगवता जि.सी. र मिठे सार्कीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. १३(३) नं.ले परिभाषित कसुर अपराध गरेकोमा ऐ. १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।
मिति २०७०।०१।०५ गते मिठे सार्कीका लोग्ने स्वास्नी मेरो गहुँ झाँट्न आएका थिए । गहुँ झाँट्न सहयोग गरेकोले मैले मिठेलाई एक बोतल रक्सी खान दिएकी थिएँ । दिनको ११:०० बजे दानबहादुर जि.सी.समेत मासु लिई हाम्रो घरको बाटो हुँदै आउँदा मैले बोलाएपछि गिरबहादुर जि.सी.ले मासु लगिदिएकाले दानबहादुर मेरो घरमा आए । निजले रक्सी माग्दा छैन भनी पानी दिई म बारीमा गहुँ लिन गएँ । मिठे सार्की, निजको श्रीमतीसमेत मेरो आँगनमा थिए । दानबहादुरले मिठेलाई चोर भनेको, मिठेले मैले के चोरेको छु भनेका हुन् । त्यसपछि मिठे र मिठेको श्रीमतीसँगै दानबहादुर मिठे सार्कीको घरमा गएका हुन् । निजको मृत्यु रक्सी खाई लडेर भएको हो । मेरो संलग्नता छैन भन्नेसमेत प्रतिवादी भगवता जि.सी.ले अदालतमा गरेको बयान ।
मिति २०७०।०१।०५ गते भगवता जि.सी.को घरमा म र मेरी श्रीमती यशोदा सार्की गहुँ झाँट्न गएका थियौँ । दानबहादुर मादक पदार्थ सेवन गरेर आएका
थिए । करिब १ घण्टा भगवताको घरमा बसी कुराकानी गरी निजले तेरो घरमा जाउँ भनेपछि मैले दानबहादुरलाई मेरो घरमा लगेँ । श्रीमती पनि एकछिनपछि आइन् । दानबहादुर पेटीमा सुती
निदाए । म र श्रीमती पुनः भगवताको गहुँ झाट्न गएका हौं, दानबहादुर सुतिरहेका थिए । कतिबेला लडे थाहा भएन । मैले निजलाई धकेलेको होइन, आफैँ लडी चोट लागी सोही चोटले मृत्यु भएको हुनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी मिठे सार्कीले अदालतमा गरेको बयान ।
मिसिल संलग्न कागजातबाट प्रतिवादी मिठे सार्की निर्दोष रहेछन् भन्न सकिने अवस्था नहुँदा पछि ठहरेबमोजिम हुने गरी हाललाई अ.बं. ११८ को देहाय २ नं.अनुसार निजलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने र अर्का प्रतिवादी भगवता जि.सी.को हकमा पछि ठहरेबमोजिम हुने गरी हाल निजलाई अं.बं. ४७ नं.बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु भन्नेसमेत मिति २०७०।०२।०६ मा भएको थुनछेक आदेश ।
मिति २०७०।०१।०५ गते बुबाले म मासु ल्याउन जान्छु भनी जानु भएकोमा फर्किंदा भगवताको घरमा पस्नु भएछ । बुबा १२:०० बजेसम्म घरमा नआएपछि बहिनी बिष्णा लिन गएकोमा भगवताले बुबा मिठेको पेटीमा सुत्नु भएको छ, पछि उठाएर घरमा पुर्याइदिन्छु भनेको र म बुबालाई लिन जाँदा बुबा मिठे सार्कीको करेसाबारीमा होस नभएको अवस्थामा
हुनुहुन्थ्यो । मेरो बुबाको मृत्यु मिठे सार्की र भगवता जि.सी.को कर्तव्यबाट भएको हो भन्नेसमेत जाहेरवाली ललिता जि.सी.ले अदालतमा गरेको बकपत्र ।
मिति २०७०।०१।०५ गते राति ९ बजेतिर दानबहादुर बिरामी भएको भनी झारफुकको लागि प्रेमबहादुर जि.सी.ले बोलाएपछि म जाँदा दानबहादुरले अस्पताल लैजाउ भनेको र निज होसमा रहेको, मिठे र भगवतासँग झैझगडा भएको नभनेको हुँदा प्रतिवादीहरूको बयान ठिक हो । ललिता जि.सी.को भनाइ सही होइन । मृतकको लडेर मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मिठे सार्कीका साक्षी गेहेन्द्र सार्कीले गरेको बकपत्र ।
दानबहादुर जि.सी. भगवताको घरमा गई रक्सी खाई मिठे सार्कीसँग वादविवाद भएको, ढिकबाट लडेको र विभिन्न अस्पतालमा उपचार गरी घर ल्याउँदा बाटोमा नै निजको मृत्यु भएको भन्ने सुनेको हुँ भन्नेसमेत वादी नेपाल सरकारका साक्षी दामोदर आचार्यको बकपत्र ।
दानबहादुरको मृत्यु के कसरी भयो थाहा
छैन । निजलाई प्रतिवादीहरूले कर्तव्य गरी मार्नुपर्ने कुनै पूर्वरिसइवी झैझगडा पनि थिएन भनी घटना विवरण कागज गर्ने कुमान सिंह पुनमगरले गरेको बकपत्र ।
मृतकका भाइले मृतक रक्सी खाई लडेको भनेका र प्रतिवादीहरूसँग मृतकको कुनै झैझगडा भएको नभई मृतकले मादक पदार्थ अत्यधिक सेवन गर्ने कारणले निजको मृत्यु भएको भन्ने प्रतिवादीका साक्षी भक्तबहादुर गुरूङले गरेको बकपत्र ।
दानबहादुर भगवताको घरमा गएको, भगवताको घरमा मिठेसमेतले गहुँ झाँटिरहेको अवस्थामा मिठेसँग गई दानबहादुर मिठेको पिँढीमा सुतेको, दानबहादुरकी छोरी लिन जाँदा रक्सीले छाडेपछि म आफैँ घरमा पुर्याइदिन्छु भनी भगवताले भनेकोमा बेलुकी ५:०० बजे कान्छी छोरी लिन जाँदा दानबहादुरलाई बेहोस अवस्थामा पाएको हुँदा मिठे र भगवताको मिलेमतोमा मार्ने षड्यन्त्र भएको भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी भिमबहादुर जि.सी.ले गरेको बकपत्र ।
मृतक दानबहादुरले खसी काट्ने ठाउँमा रक्सी खाएर मिठेको घरमा आई सुतेकोमा बेलुकी ५:०० बजे दानबहादुर लडेकोले अस्पताल लगे भन्ने सुनेको हुँ । यसमा प्रतिवादी भगवताको कुनै संलग्नता छ भन्ने लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादी भगवताका साक्षी केशवराज आचार्यको बकपत्र ।
चैते दशैंको दिन भगवताले बोलाएकीले बुबा निजको घरमा गएको, दिउँसो म जाँदा बुबा मिठे सार्कीको पिँढीमा सुत्नु भएकोमा बेलुकी दिदी ललिता र मिठेले बुबालाई घरमा लिई आएका हुन् । उक्त समयमा प्रहरीलाई देखेपछि मिठे भागेका थिए भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी विष्णु जि.सी.ले गरेको बकपत्र ।
मृतक दानबहादुरको रक्सी खाएर लडी मृत्यु भएको हो भन्ने गाउँघरमा हल्ला सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी कमल नेपालीले गरेको बकपत्र ।
भाइ दानबहादुर जि.सी.लाई भगवताले बोलाएर लगेकोले प्रतिवादीहरू दुवै जनाले नै कर्तव्य गरी मारेको शङ्का लाग्छ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने रेशमबहादुर जि.सी.को बकपत्र ।
दानबहादुर जि.सी.को मृत्यु आफैँ भएको नभई अरू कसैले मारेको जस्तो लाग्छ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने द्रोण जि.सी.ले गरेको बकपत्र ।
दानबहादुर रक्सी लागेर बामे सर्दै भगवताको घरमा आउनु भएको, तल्लो बाटो जान नसकी माथिल्लो बाटो लागी हाम्रो घरमा गई बाहिर गुन्द्रीमा सुतेको, घर जानुस् भन्दा रक्सी लागेको छ, मलाई गाली गर्छन् जान्न भनी सुतेकोमा बाहिर एकैचोटि लडेको देखेकी
हुँ । दानबहादुरको मृत्यु रक्सीकै कारणले भएको शङ्का लाग्छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी यशोदा सार्कीको बकपत्र ।
मृतक दानबहादुरले टिचिङ अस्पतालमा भनेको भनाइअनुसार भगवता जि.सी.ले खुवाउने र मिठे सार्कीले घचेटेकाले उनीहरूको कर्तव्यबाट निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी बोमबहादुर जि.सी.ले गरेको बकपत्र ।
चैते दशैंको दिन मृतक दानबहादुर प्रतिवादी भगवताको घरमा गई मिठे सार्कीसँग निजको घरमा गई पिँढीमा सुतेको र बेलुका दानबहादुर लडेको भन्ने सुनेको हुँदा निजको मृत्यु कुटपिटको कारणले भएको विश्वास लाग्छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारका साक्षी ओमबहादुर जि.सी.ले गरेको बकपत्र ।
मृतक दानबहादुर जि.सी.को Autopsy report मा भएको बेहोरा र सहीछाप मेरो नै हो । Autopsy गर्दा मृतकको घाँटी सुन्निएको थियो । दुवैतर्फको कञ्चटमा ०.३ इन्चको घाउ थियो । दाहिने साइडको घाँटीमा सुइको कारण हुनसक्ने जस्तो सानो प्वाल परेको, टाउकोको पछाडि ०.३ इन्चको घाउ, पेटमा ५ इन्चको कोतरिएको घाउ, मेरूदण्डको चौथो र पाँचौं हड्डी छुट्टिएको थियो भन्नेसमेत बेहोराको चिकित्सक विवेक ढकालले गरेको बकपत्र ।
जाहेरी दरखास्त, बोमबहादुर थापा क्षेत्रीसमेतको घटना विवरण कागज, Autopsy Report, ललिता, विष्णु, बोमबहादुरसमेतको बकपत्र र स्वयं मृतकको मृत्युकालीन घोषणाबाट प्रतिवादी मिठे सार्कीले घचेटी मृतक दानबहादुर पिँढीबाट तल लडी मेरूदण्डको हड्डी छुट्टिई सोही चोटका कारण दानबहादुर जि.सी.को मृत्यु भएको पुष्टि भएकाले प्रतिवादी मिठे सार्कीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(३) नं. को कसुर गरेको देखिँदा ऐ. १३(३) नं.बमोजिम प्रतिवादी मिठे सार्कीलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी भगवताको हकमा वस्तुनिष्ठ प्रमाणद्वारा अभियोग दाबी पुष्टि भएको नदेखिँदा निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी मिठे सार्कीले दानबहादुरलाई मार्नको लागि कुनै योजना बनाएको नदेखिएको, दुवैले रक्सी खाएको, मृतकले प्रतिवादीलाई गालीगलौज गरेको अवस्था र प्रतिवादीले मृतकलाई घाइते अवस्थामा बोकी घर पुर्याएको स्थितिसमेतलाई विचार गर्दा निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने चित्तमा लागेकाले निजलाई १०(दश) वर्ष कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम निजलाई १०(दश) वर्ष कैद सजाय हुन राय व्यक्त गरिएको छ भन्नेसमेत मिति २०७१।०१।२८ मा प्युठान जिल्ला अदालतबाट भएको फैसला ।
दानबहादुर जि.सी.को मिति २०७०।०१।०७ गतेको कथित कागजलाई मृत्युकालीन घोषणाको संज्ञा दिई मेरा विरूद्ध प्रमाणमा लिइएको छ । मृतक आफैँ लडी निजको मेरूदण्डको जोर्नी फुस्किन गई अचेत अवस्थामा फेला परेका निजलाई अचेत अवस्थामा नै प्युठान अस्पताल, नेपालगन्ज हुँदै काठमाडौं लगेको भनिएको छ । शिक्षण अस्पताल तथा ग्रिनसिटी अस्पतालको घा केश फाराममा मृतक अचेत अवस्थामा भेन्ट्रिलेटरमा रहेको, निजको मेरूदण्डको जोर्नी फुस्केको भन्ने छ भने ग्रिनसीटी अस्पतालको डिस्चार्ज पत्रबाट समेत सो पुष्टि भइरहेको छ । भेन्ट्रिलेटरमा रहेको अचेत बिरामीको अस्पतालमा कागज गराउँदा अस्पतालको चिकित्सकसमेत रोहबरमा नराखी गराइएको, कागजमा रोहबरमा बस्ने व्यक्तिको अदालतमा बकपत्र हुन नसकेको, मृतकले अत्यधिक मादक पदार्थ सेवन गरी मेरो घरको पेटीमा सुतेको अवस्थामा नसाको सुरमा उठी नजिकै रहेको बाटोमा खस्न गई निजको मेरूदण्डको जोर्नी फुस्की उपचारको क्रममा मृत्यु भएको पुष्टि हुँदाहुँदै मलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको प्युठान जिल्ला अदालतको फैसला बदर गरी अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मिठे सार्कीले पुनरावेदन अदालत तुलसीपुरमा दिएको पुनरावेदनपत्र ।
मिति २०७०।०१।१० को पहिलो जाहेरीमा प्रतिवादीहरूले मृतकलाई कुटपिट गरी टाउको र शरीरको भागमा घाउखत पारी घाँटी र टाउकोसमेतको हड्डी भाँची ढिकबाट फाली दिएकाले कारबाही गरिपाउँ भन्ने तथा मिति २०७०।०१।२० को दोस्रो जाहेरीमा घाइते दानबहादुर जि.सी.को मृत्यु भएकोले कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत उल्लेख
छ । जाहेरी बेहोरालाई समर्थन गर्दै जाहेरवाली ललिता जि.सी.ले बकपत्र गरेकी छन् भने मौकामा कागज गर्ने भिमबहादुर जि.सी., रेशमबहादुर जि.सी.ले सो बेहोरा पुष्टि हुने गरी बकपत्र गरेबाट दुवै प्रतिवादीहरूको वारदातमा संलग्नता पुष्टि भइरहेको अवस्थामा प्रतिवादी भगवता जि.सी.लाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी भगवता जि.सी.लाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत तुलसीपुरमा परेको पुनरावेदनपत्र ।
घाइते दानबहादुर जि.सी.ले गरेको लिखतबारे अदालतमा बकपत्र गर्न कुनै व्यक्ति उपस्थित नभएको, लिखतको बेहोराबाट प्रहरी वृत्त महाराजगन्ज काठमाडौंबाट खटी आएको डोरसमक्ष मृतक दानबहादुर जि.सी.ले बयान गरेको देखिए पनि डोरको वैधानिकता नै देखिन नआएको स्थितिमा विवादित लिखतलाई मृत्युकालीन घोषणाको रूपमा स्वीकार गर्न मिल्दैन । प्रतिवादी मिठे सार्कीको कर्तव्यबाट जाहेरवालीको पिता दानबहादुर जि.सी.को मृत्यु भएको भन्ने अभियोग दाबी शङ्कारहित प्रमाणहरूबाट पुष्टि हुन सकेको नदेखिँदा यी प्रतिवादी मिठे सार्कीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई सुरू प्युठान जिल्ला अदालतबाट मिति २०७१।०१।२८ मा भएको फैसला मिलेको नदेखिँदा निजको हकमा उक्त फैसला उल्टी भई प्रतिवादी मिठे सार्कीले अभियोग दाबीबाट सफाइ पाउने र प्रतिवादी भगवता जि.सी.लाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू अदालतबाट भएको फैसला मिलेकै देखिँदा निजको हकमा उक्त फैसला सदर हुने ठहर्छ, पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।१२।११ मा भएको फैसला ।
पुनरावेदन अदालतले मिति २०७०।०१।०७ को लिखतलाई मृत्युकालीन घोषणा (Dying declaration) को रूपमा लिन अस्वीकार गरेको छ, प्रतिवादीले उल्लिखित वारदात घटाउनुपर्ने जरिया मिसिल संलग्न प्रमाणबाट प्रस्ट देखिएको, मृतकको मृत्युकालीन घोषणाबाट प्रतिवादीकै कर्तव्यबाट मृतकको मृत्यु भएको प्रस्ट देखिएको, मर्न लागेको व्यक्तिको ओठमा सत्यको बास हुन्छ भन्ने मान्यताका आधारमा Dying declaration लाई कानूनमा सुनीजान्ने प्रमाणको अपवादको रूपमा महत्त्वपूर्ण स्थान दिइन्छ । अतः उल्लिखित आधार, प्रमाण एवं प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको पुनरावेदन अदालत तुलसीपुरको फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
दानबहादुर जि.सी. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहँदा महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट मिति २०७०/०१/०७ मा निजसँग लिइएको कागजलाई मृत्युकालीन घोषणाको रूपमा लिन अस्वीकार गरिएको पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।१२।११ को फैसला ने.का.प. २०६३, अङ्क ३, नि.नं. ७६६३, पृ.३२१ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल तथा प्रमाण मूल्याङ्कनको रोहबाट फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं.को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७४।०९।१२ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्यले प्रतिवादी मिठे सार्कीले धकेलेकाले घरको पिँढीभन्दा तल बाटोमा लडी घाइते भएको भनी मृतकले उपचारको क्रममा गरेको मृत्युकालीन घोषणालाई पुनरावेदन अदालतबाट फैसला हुँदा प्रमाणमा लिइएको छैन । प्रतिवादीहरूउपर किटानी जाहेरी परेको छ । अदालतमा जाहेरीको बेहोरा पुष्टि हुने गरी जाहेरवालीको बकपत्रसमेत भएको छ । मौकामा कागज गर्ने रेशमबहादुर जि.सी. समेतले जाहेरी बेहोरा समर्थन हुने गरी अदालतमा गरिदिएको बकपत्रलगायतका सबुत प्रमाणबाट प्रतिवादीहरूले कसुर गरेको पुष्टि भएकाले प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्नेसमेत बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीहरू मिठे सार्की र भगवता जि.सी.लाई यस अदालतबाट मिति २०७५।०६।२३ मा तोकिएको तारेखमा निजहरू हाजिर नभई तारेख गुजारी बसेको र इजलासबाट नाम पुकारा गर्न लगाउँदा निज प्रत्यर्थी प्रतिवादीहरू वा निजहरूको तर्फबाट नियुक्त कानून व्यवसायीसमेत इजलासमा उपस्थित हुन आएको पाइएन ।
उपर्युक्तबमोजिम वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको बहससमेत सुनी तत्कालीन पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।१२।११ मा भएको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू मिठे सार्की र भगवता जि.सी.लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. १३(३) नं.ले परिभाषित कसुर अपराधमा ऐ. १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारको अभियोग मागदाबी रहेकोमा मृतकको मृत्युकालीन घोषणासमेतबाट प्रतिवादी मिठे सार्कीले घचेटी दानबहादुर पिँढीबाट तल लडी मेरूदण्डको हड्डी छुट्टिई सोही चोटबाट दानबहादुरको मृत्यु भएको पुष्टि भएकाले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(३) नं. को कसुरमा ऐ. १३(३) नं.बमोजिम प्रतिवादी मिठे सार्कीको हकमा निजलाई सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा प्रतिवादी मिठे सार्कीले मार्ने योजना नबनाएको, प्रतिवादी मिठे सार्की र मृतक दुवैले मादक पदार्थ सेवन गरेको, प्रतिवादीले मृतकलाई घाइते अवस्थामा बोकी घर पुर्याएको स्थितिसमेतलाई विचार गर्दा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने देखी मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने राय व्यक्त गरेको र प्रतिवादी भगवता जि.सी.को हकमा अभियोग दाबी पुष्टि नभएकोले सफाइ दिने ठहर गरी सुरू फैसला भएकोमा दुवैजना प्रतिवादीहरूले सफाइ पाउने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।१२।११ को फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र पेस हुन आएको पाइयो ।
२. पुनरावेदन जिकिरतर्फ हेर्दा, मर्न लागेको व्यक्तिको ओठमा सत्यको बास हुन्छ भन्ने मान्यताका आधारमा Dying declaration लाई प्रमाणमा लिनुपर्नेमा मिति २०७०।०१।०७ मा मृतकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहँदा गरेको लिखतलाई पुनरावेदन अदालत तुलसीपुरले मृत्युकालीन घोषणा (Dying declaration) को रूपमा लिन अस्वीकार गरेको छ, उक्त मृत्युकालीन घोषणा हेर्दा प्रतिवादीकै कर्तव्यबाट मृतकको मृत्यु भएको देखिएको लगायतका आधार, प्रमाण एवं प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको पुनरावेदन अदालत तुलसीपुरको फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखिन्छ ।
३. जाहेरी बेहोरा हेर्दा, बुबा दानबहादुर मिति २०७०।०१।०५ गते बिहान खसी काट्न गई खसीको मासु ल्याई घर फर्कने क्रममा भगवता जि.सी.को घरमा गहुँ झाँट्ने काम गरिरहेका मिठे सार्कीसँग भेट भई बुबा र मिठेबिच जग्गाको आँठो सम्बन्धमा भनासुन भई प्रतिवादीहरू मिठे र भगवताको मिलोमतोमा बुबालाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी टाउको र अन्य ठाउँमा घाउ खत पारी, घाँटी र टाउकोसमेतको हड्डी भाँची ढिकबाट फालिदिएकाले प्रतिवादीहरू दुवैजनालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको ललिता जि.सी.ले मिति २०७०।०१।१२ मा पहिलो जाहेरी दरखास्त दिएकोमा विभिन्न अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गराई काठमाडौंबाट घरमा ल्याउने क्रममा बुबा दानबहादुरको मृत्यु भएकाले प्रतिवादीहरूलाई कर्तव्य ज्यानतर्फ कारबाही तथा सजाय गरिपाउँ भनी ललिता जि.सी.को मिति २०७०।०१।२० मा दोस्रो जाहेरी दर्ता भएको देखिन्छ ।
४. मिति २०७०।०१।०५ गते बिहान प्रतिवादीहरूमध्ये भगवता जि.सी.ले दानबहादुरलाई बोलाई दानबहादुर उनको घरमा गएपछि मिठे सार्कीले निजलाई आफूसँगै आफ्नो घरमा लगी पिँढीमा सुताएको, दानबहादुरको छोरी लिन जाँदा दानबहादुर अहिले सुत्नु भएको छ नउठाउ, पछि उठेपछि म पुर्याइदिन्छु भनी प्रतिवादी भगवताले भनेको, बेलुकी जाहेरवाली लिन जाँदा दानबहादुरलाई मिठे सार्कीको बारीमा बेहोस अवस्थामा भेटेको, मृत्यु हुनुअघि अस्पतालमा दानबहादुरले गरेको कागजसमेतको आधारमा प्रतिवादी मिठे सार्की र भगवता जि.सी.को मिलेमतोमा दानबहादुरको मुत्यु भएको विश्वास लाग्छ भनी भिमबहादुर जि.सी., विष्णु जि.सी., रेशमबहादुर जि.सी.समेतले अदालतमा बकपत्र गरेको देखिन्छ ।
५. प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष गरेको बयानसमेतबाट दानबहादुर जि.सी. मिति २०७०।०१।०५ गते बिहान ११:०० बजेतिर प्रतिवादी भगवताको घरमा मादक पदार्थ सेवन गरेर गएको, उक्त समयमा प्रतिवादी भगवताको घरमा प्रतिवादी मिठे सार्कीले पनि मादक पदार्थ सेवन गरी गहुँ झाँट्ने काम गर्दै गरेकोमा दानबहादुरसँग भेट भई प्रतिवादी मिठे सार्की र मृतक दानबहादुर प्रतिवादी मिठे सार्कीको घरमा गई पिँढीमा सुतेकोमा बेलुकीपख दानबहादुर पिँढीबाट तल लडेको, घाइते भई बेहोस भएको अवस्थामा फेला परेको भन्ने तथ्य खुल्न आएको छ ।
६. घटनास्थल मुचुल्का हेर्दा, मिठे सार्कीको घरको पेटीमा जोडिएको साढे चार फिट चौडाइ भएको आँगनभन्दा तल साढे चार फिट अग्लो ढुङ्गाको गारो लगाएको देवालसँग जोडिएको करेसाबारी रहेको देखिन्छ भने सोही करेसाबारीमा दानबहादुर घाइते भई बेहोस अवस्थामा फेला परेको भन्ने जाहेरी बेहोरा र जाहेरवालीको बकपत्रसमेतबाट देखिन्छ ।
७. मृतकको तत्काल गरिएको घाउ जाँच केस फारामको मर्ने वा नमर्ने भन्ने महलमा Can be fatal if not treated on time भन्ने उल्लेख भएको, लास जाँच मुचुल्कामा मृतकको दाहिने कुमको घाँटीभन्दा तल आधा इन्च काटिएको घाउ रहेको, दाहिने कानमाथि ०.३ इन्च काटिएको, बायाँ कानमाथि ०.३ इन्च काटिएको, टाउकोपछाडि ०.३ इन्च काटिएको, पिठ्युँमा ४ इन्च घाउ रहेको भन्ने उल्लेख भएको र शव परीक्षण प्रतिवेदनमा मृतक दानबहादुर जि.सी.को मृत्युको कारण Death due to compression of vital centers due to c4, c5 dislocation भन्ने उल्लेख भएको पाइयो ।
८. मृतक दानबहादुर जि.सी.को Autopsy गर्ने चिकित्सक विवेक ढकालले मृतकको घाँटी सुन्निएको, दुवैतर्फको कञ्चटमा ०.३ इन्चको घाउ, दाहिने साइडको घाँटीमा सुइको कारण हुनसक्ने जस्तो सानो प्वाल परेको, टाउकोको पछाडि ०.३ इन्चको घाउ, पेटमा ५ इन्चको कोतरिएको घाउ, मेरूदण्डको चौथो र पाँचौं हड्डी छुट्टिएको थियो भनी अदालतमा बकपत्र गरेको पाइन्छ ।
९. दानबहादुर जि.सी.ले त्रि.वि.वि. शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा उपचारको क्रममा गरेको घटना विवरण कागजका सम्बन्धमा हेर्दा, मिति २०७०।०१।०७ मा महानगरीय प्रहरी वृत्त, महाराजगन्ज काठमाडौंबाट खटी आएको प्रहरी डोरसमक्ष मिति २०७०।०१।०५ गते अं. ११:३० बजे भगवता जि.सी.को घरमा गई केही खानपिन गर्नुका साथै केही मात्रामा रक्सीसमेत सेवन गरी बेलुका अं. १७:०० बजेको समयमा आफ्नो घरतर्फ फर्कने क्रममा मिठु नेपालीले घरको आँगनबाट मलाई ठेली धकेली आँगनभन्दा अं. २०/२५ फिट तल मोटरबाटोमा लडाई घाइते भएको हुँ । हाल मेरो दुवै हातखुट्टा चलेको
छैन । डाक्टरले भनेअनुसार मेरो मेरूदण्ड भाँचिएको छ । निज मिठु नेपालीले मलाई के कति कारणले ज्यान मार्ने उद्देश्यले आँगनबाट २०/२५ फिट तल धकेलेको हो थाहा भएन भन्नेसमेत बेहोरा लेखाइदिएको देखिन्छ । स्वास्थ्य उपचार गरी दानबहादुर जि.सी. घरतर्फ फर्कने क्रममा सोही घाउचोटका कारण मिति २०७०।१।१६ गते निजको मृत्यु भएको देखिन्छ ।
१०. घटनास्थल मुचुल्कामा मिठु नेपाली उल्लेख भएको, मौकामा कागज गर्ने कुमान सिंह पुन मगरले मिठु नेपाली भन्ने उल्लेख गरेको, अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी मिठु भन्ने मिठे सार्की (नेपाली) नाम उल्लेख गरी मिति २०७०।०१।२४ मा प्रतिवादी मिठे सार्कीले ततिम्बा बयान गरेबाट कतै मिठु नेपाली, कतै मिठे सार्की उल्लेख भएको व्यक्ति यी प्रतिवादी मिठे सार्की नै भएको तथ्य पुष्टि हुन आउँछ ।
११. वारदात भएको दिन अर्थात् मिति २०७०।०१।०५ गते दानबहादुर र यी प्रतिवादी मिठे सार्की दुवै जनाले मादक पदार्थ सेवन गरेको, प्रतिवादी भगवता जि.सी.को घरबाट सँगसँगै प्रतिवादी मिठे सार्कीको घरमा गई पिँढीमा सुतेको, दानबहादुर सुतेपछि प्रतिवादी मिठे सार्की पुनः भगवताको घरमा गहुँ झाँट्न गई दिउसो १:०० बजेतिर घरमा फर्की आई आफ्नो ससुरासमेतसँग ससुराको लागि गोरू खरिद गर्ने भनी हेर्न गई पुनः फर्केर घरमा आई २ बोतल रक्सी मगाई आफूसमेतले खाएको र खेतमा पानी हाल्न गएको थिएँ भनी निज मिठे सार्कीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गरेको पाइन्छ । वारदातस्थलमा अन्य व्यक्तिको उपस्थिति रहेको भन्ने नखुलेको, मृतक दानबहादुरलाई धकेलेको भन्ने पनि नदेखिएको तर मृतकले मादक पदार्थ सेवन गरेको, निज तत्काल आफ्नो घरमा जान नसकी मादक पदार्थले मातेको अवस्थामा प्रतिवादी मिठे सार्कीको पिँढीमा सुतेको, निज सुतेनजिक चार / साढे चार फिट तलसम्म ढुङ्गाको देवालसहितको कान्लो / भlर रहेको भन्ने घटनास्थल मुचुल्काबाट पुष्टि भएको र मादक पदार्थको नसामा रहेका मृतक सो कान्लो / भिरबाट लड्न सक्ने सम्भावना रहेकोमा निज मृतक दानबहादुरलाई आफ्नो घरमा लिएर गएका प्रतिवादी मिठे सार्कीले निजलाई सो कान्लो / भिरबाट लड्न नदिई घरभित्र लगी जोगाई सुरक्षित राख्नुपर्नेमा कान्लो / भिरभन्दा माथि रहेको घरको पिँढीमा सुताई मादक पदार्थको नसामा रहेका निज मृतकलाई छोडी आफू आफ्नो काममा अन्यत्र गएको भन्ने देखिएकोले निज प्रतिवादी मिठे सार्कीले गरेको उक्त लापरबाही र हेलचेक्र्याइँको परिणामतः मृतक दानबहादुर जि.सी. मादक पदार्थको नसा लागेको अवस्थामा आफू सुतेको पिँढीबाट संयोगवश तल करेसाबारीमा झरी लड्न पुगी घाउचोट लागेको र निजको मेरूदण्डको चौथो र पाँचौं हड्डी छुट्टिएकोसमेत कारणबाट मृत्यु भएको देखियो ।
१२. साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. मा “ज्यान लिने इबीलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने तत्काल प्रचलित कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी मिठे सार्कीले दानबहादुरलाई मार्ने नियतले धकेलेको भन्ने
देखिँदैन । प्रतिवादी भगवताको घरबाट दानबहादुर र प्रतिवादी मिठे सार्की सँगसँगै प्रतिवादी मिठे सार्कीको घरमा गएको, मादक पदार्थ सेवन गरी मातेको अवस्थामा प्रतिवादी मिठे सार्कीको पिँढीमा सुतेको, मादक पदार्थको नसा लागी आफ्नो घरसम्म जान सक्ने अवस्थामा नरहेका मृतक दानबहादुरलाई घरको कोठाभित्र सुरक्षित रूपमा राखी सुताउनुपर्नेमा नसुताई लापरबाही र हेलचेक्र्याइँपूर्वक घरको बाहिर पिँढीमा सुताई आफू अन्यत्र गएकोमा नसाले मातेका मृतक दानबहादुर आफू सुतेको पिँढीबाट तल करेसा बारीमा खस्न पुगी लडेकोले अन्य घाउ चोट लाग्नुका साथै निजको मेरूदण्डको चौथो र पाँचौं हड्डी छुट्टिएको कारणबाट घाइते अवस्थामा उपचारको क्रममा निको नभई घरतर्फ फर्कंदा निजको मृत्यु भएको भन्ने देखिएकाले प्रतिवादी मिठे सार्कीको उक्त कार्य भवितव्य पुष्टि हुन आयो ।
१३. त्रि.वि.वि. शिक्षण अस्पतालमा उपचाररत रहँदाका अवस्थामा दानबहादुर जि.सी.ले मिति २०७०।०१।०७ मा गरिदिएको घटना विवरण कागज मृत्युकालीन घोषणा भएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, प्रमाण ऐन, २०३१ को दफा ११ मा “कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ” भन्ने उल्लेख भएको पाइन्छ । मिति २०७०।०१।०५ को वारदातमा घाइते भएका मृतक दानबहादुर जि.सी.को घाउ जाँच केस फाराम हेर्दा यदि समयमा उपचार नगरे मर्न सक्ने भन्ने उल्लेख भएको पाइन्छ । मृतक दानबहादुर जि.सी.ले आफू त्रि.वि.वि. शिक्षण अस्पतालमा उपचाररत रहँदाको अवस्थामा मिति २०७०।०१।०७ मा उक्त वारदातको सम्बन्धमा गरिदिएको कागज हेर्दा निजको अवस्था उपचारपश्चात् निको हुनसक्ने खालको देखिन्छ । उक्त कागज गर्दा गराउँदा कुन अनुसन्धान अधिकारीसमक्ष कागज गराइएको हो वा सो कागजको बेहोरा लेख्ने व्यक्ति को हो भन्ने खुलेको छैन । त्रि.वि.वि. शिक्षण अस्पतालको बिरामी उपचारको लागि भर्ना गरिएको वा राखिएको वार्डमा नर्स, चिकित्सक आदि र अन्य व्यक्तिहरूसमेत मौजुद रहने अवस्था स्वाभाविक हुन्छ । अनुसन्धानकर्ताले लेखिएको उक्त कागजमा बिरामीको ल्याप्चेछापसम्म लगाइएको छ । त्रि.वि.वि. शिक्षण अस्पतालजस्तो स्थानमा उपचार गरिरहेको बिरामीको कागज गर्दा सो स्थानमा मौजुद रहेका नर्स, चिकित्सक आदि व्यक्तिको रोहबरमा सो कागज भएको नदेखिँदा सो लिखतको बेहोरा शंकास्पद देखिन्छ । मृतकले वारदातको दिन मादक पदार्थ सेवन गरेको र वारदातस्थलसमेतलाई विचार गर्दा प्रतिवादी मिठे सार्कीले मृतक दानबहादुरलाई मार्ने नियतबाट कार्य गरेको तथ्य पुष्टि भएको पाइँदैन । दानबहादुर जि.सी.को मृत्यु पनि तत्कालै भएको नभई सो उपचार गरी निजलाई घरतर्फ ल्याउने क्रममा मिति २०७०।०१।१६ गते मात्र भएको मिसिल संलग्न प्रमाणबाट देखिएको छ । उपर्युक्त कानूनी व्यवस्था, वारदात मिति, मृतकले गरिदिएको घटना विवरण कागजको मिति र निजको मृत्यु भएको समयावधिलाई मध्यनजर गरी, सो तथ्य प्रमाण तथा मृतकले अस्पतालमा गरेको उक्त कागज बेहोरासमेतलाई दृष्टिगत गर्दा अनुसन्धानकर्ताले पेस गरेको सो मृत्युकालीन घोषणा भनिएको कागजलाई मात्र भर गर्न सकिने देखिन आउँदैन । तसर्थः “मृत्युकालीन घोषणा” भनी वादी नेपाल सरकारको तर्फबाट लिइएको पुनरावेदन दाबी र बहस जिकिरसँग सहमत हुन सकिएन ।
१४. प्रतिवादीमध्ये भगवता जि.सी.ले वारदात भएको मिति २०७०।०१।०५ गते बिहान ११:०० बजे निजको घरको बाटो भएर हिँडिरहेका दानबहादुर जि.सी.लाई आफ्नो घरमा बोलाई एकछिन कुरा गरी पानी खान दिएको र आफूले सो दिनभर आफ्नो बारीबाट आँगनमा गहुँ ओसार्ने कार्य गरेको, प्रतिवादी मिठे सार्की र निजकी श्रीमतीले सो गहुँ झाँट्ने कार्य गरेको, मृतक प्रतिवादी भगवता जि.सी.को घरबाट केही समयपछि मिठे सार्कीको साथमा निज मिठे सार्कीको घरमा गई पिँढीमा सुतेको भन्ने स्वयं निज प्रतिवादी भगवता जि.सी.को अधिकारप्राप्त अधिकारी र अदालतसमक्षको बयान तथा विष्णु जि.सी.समेत मौकामा कागज गर्ने व्यक्तिहरूको बकपत्र र प्रतिवादीहरूका साक्षीहरूको बकपत्रसमेतबाट पुष्टि भएकोले प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादी भगवता जि.सी. संलग्न भएको देखिएन ।
१५. अतः माथि विवेचित तथ्य, प्रमाण, कानून र आधार, कारणसमेतबाट प्रतिवादी मिठे सार्कीलाई आरोपित कसुरबाट सफाइ दिने ठहर्याएको तत्कालीन पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।१२।११ को फैसला केही उल्टी भई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं.बमोजिमको कसुरमा ऐ. महलको ६(२) नं.बमोजिम प्रतिवादी मिठे सार्कीलाई २(दुई) वर्ष कैदको सजाय हुने ठहर्छ । अर्का प्रतिवादी भगवता जि.सी.को हकमा वारदातमा निजको संलग्नता पुष्टि नभएकोले निजलाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत तुलसीपुरको उक्त फैसला सो हदसम्म सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई ऐ. महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।१२।११ मा भएको फैसला केही उल्टी भई प्रतिवादी मिठे सार्कीलाई साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं.बमोजिम २(दुई) वर्ष कैदको सजाय हुने ठहरेकाले निज प्रतिवादी मिठे सार्की प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा मिति २०७०।०१।१२ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा र प्युठान जिल्ला अदालतबाट मिति २०७१।०१।२८ मा भएको फैसलाले कैदमा बसी पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।१२।११ मा भएको फैसलाले सफाइ पाई मिति २०७१।१२।१२ मा थुनामुक्त भएको देखिँदा सो थुना तथा कैदमा बसेको अवधि निजलाई ठहर भएको कैदबाट कट्टा गरी बाँकी कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू प्युठान जिल्ला अदालतमा लेखी पठाई दिनू....................१
फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू................१
फैसलाको विद्युतीय प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी, सुरू तथा रेकर्ड मिसिल तत् तत् अदालतमा फिर्ता पठाई मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.....................................................१
उक्त रायमा सहमत छु ।
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृतः- कृतिबहादुर बस्नेत
इति संवत् २०७७ साल मङ्सिर २१ गते रोज १ शुभम् ।