शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८३१ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६४ साल: २०७९ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।११।३

 

मुद्दाः मानव बेचबिखन तथा ओसारपसार

 

०७१-CR-१०७३

पुनरावेदक / वादी : कपिलवस्तु जिल्ला, निग्लिहवा गा.वि.स. वडा नं.४ बस्ने भोला भन्‍ने विराहिम पठानको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कपिलवस्तु जिल्ला, निग्लिहवा गा.वि.स. वडा नं. माइती घर भई हाल ऐ.पटना गा.वि.स. वडा नं.८ बस्ने भुखाली थारूको छोरी भीमाकुमारी थारू (चौधरी) समेत

 

०७३-CR-०६९३

पुनरावेदक / प्रतिवादी : नवलपरासी जिल्ला, रामग्राम नगरपालिका वडा नं.४ बस्ने अयोध्याको छोरा विनोदकुमार कोहार

विरूद्ध

प्रत्यर्थी / वादी : भोला भन्‍ने विराहिम पठानको जाहेरीले नेपाल सरकार 

 

विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्‍त नहुने ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने । 

(प्रकरण नं.११)

 

वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौला

प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापा

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

प्रमाण ऐन, २०३१

  

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्या. श्री अच्युतप्रसाद भण्डारी

कपिलवस्तु जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री किशोर सिलवाल

माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा

पुनरावेदन अदालत बुटवल 

 

फैसला

न्या.सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) र (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

मिति २०६७।६।२३ गते अं.९:०० बजेको समयमा जिल्ला कपिलवस्तु गा.वि.स. निग्लिहवा वडा नं.४ मा सिलाई कटाई गर्न गएकी वर्ष अं.१५ की मेरी छोरी परिवर्तित नाम एसकुमारी खातुन घरमा फर्की नआएकी र खोजतलास गर्दा भीमाकुमारी चौधरी, विनोद कोहार र कुर्वान अली अन्सारीसमेतले बेचबिखन गरेको पत्ता लागेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेतको जाहेरी दरखास्त ।

९८४७३२६९०३ नं.को मोबाइलबाट मेरो ९८४७३२३८२९ नं.मा पटकपटक मिसकल आउने र मैले फर्काएपछि विनोद कोहार नाम गरेको मानिसले फोन गरेकोमा सम्पर्क गर्दै जाँदा विनोद कोहार र मेरो सम्बन्ध प्रगाढ बन्दै गएको र मेरै गाउँकी परिवर्तित नाम एसकुमारी खातुनले मेरो मोबाइल पटकपटक खेलाउनेसमेत गरेकी, कहिलेकाहीँ विनोद कोहारले उसको साथीको ९८०७५८०५०२ नं.को मोबाइलबाट फोनसमेत गरे तापनि विनोद कोहारले यस नम्बरमा फोन नगर्नु भनेका थिए, त्यसपछि मैले निजलाई फोन नगरे पनि सोही नम्बरबाट पटकपटक फोन आउने गरेको र उक्त फोन गर्ने मानिसले अन्जु परिवर्तित नाम एसकुमारी खातुनलाई बोलाउन भनेपछि मैले निजलाई फोन सम्पर्क गराएकी हुँ, पछि परिवर्तित नाम एसकुमारी खातुनलाई फोन गर्ने मानिस कुर्वान अली अन्सारी रहेछन्, पक्राउ परेका विनोदकुमार कोहार र मेरोसमेत फोनबाट प्रेम सम्बन्ध बढ्दै गएपछि हामी कुर्वान अली अन्सारी, विनोदकुमार कोहार, म र परिवर्तित नाम एसकुमारी खातुन भेटघाट गर्ने कुरा भएपछि म र परिवर्तित नाम एसकुमारी खातुन ओदारीसम्म पुग्यौं, निजहरू त्यहाँ आए, गफगाफ भयो, राजमति केवटले परिवर्तित नाम एसकुमारी खातुनलाई ४ नं.सम्म लगेको र विनोद कोहार र कुर्वान अली अन्सारीले निज परिवर्तित नाम एसकुमारी खातुनलाई सोही स्थानबाट लिई गएको थाहा भएकोमा जाहेरवालाको छोरी परिवर्तित नाम एसकुमारी खातुन हाल कहाँ छिन् भन्‍ने मलाई थाहा छैन, कुर्वान अली अन्सारीले नै बेचबिखन गरेको हुनुपर्छ भन्‍नेसमेतको प्रतिवादी भीमाकुमारी चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

परिवर्तित नाम एसकुमारी खातुनलाई सामान्य चिनेको भए पनि कुर्वान अली अन्सारीले निजलाई लिई गएको भन्‍ने २०६७।६।२३ गते मात्र थाहा पाएको हुँ । परिवर्तित नाम एसकुमारी खातुनलाई निज कुर्वान अली अन्सारीले नै बिक्री गरेको हुनुपर्छ भन्‍नेसमेतको प्रतिवादी विनोदकुमार कोहारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

परिवर्तित नाम एसकुमारी खातुनले जरूरी काम छ, मलाई ४ नं. सम्म पुर्‍याइदिनु भनेकोले साइकलमा राखी ४ नं. सम्म पुर्‍याएकी हुँ, त्यहाँ पुगेपछि निजले म यतै बस्छु, तिमी घरमा जाउ भनेकीले म फर्की आएकी हुँ, कुर्वान अलीसँग गएको भन्‍ने गाउँलेबाट थाहा पाएको हुँ, त्यसपछि फोन सम्पर्कसमेत नभएको हुँदा निज परिवर्तित नाम एसकुमारी खातुनलाई कुर्वान अलीले बेचबिखन गरेको हुनुपर्छ भन्‍नेसमेतको प्रतिवादी राजमति केवट (खरविन्द) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

परिवर्तित नाम एसकुमारी खातुनलाई प्रतिवादीहरूले बेचबिखन गरेको भन्‍ने थाहा भएको हो, निज परिवर्तित नाम एसकुमारी खातुन कहाँ छिन्, निज प्रतिवादीहरूलाई नै थाहा होला भन्‍नेसमेतको सन्तोषकुमार नाउ र कृष्णप्रसाद उपाध्यायले गरेको एकै मिलानको कागज ।

परिवर्तित नाम एसकुमारी खातुन र म गाउँमा सञ्‍चालित सिलाई कटाई तालिममा साथी हौं, मिति २०६७।६।२३ गते निज साथी र सोही समूहकी अर्की साथी राजमति केवट तालिममा सहभागी नभर्इकन बाहिरबाटै राजमति केवटको साइकलमा बसी गएका थिए, तत्काल कहाँ गए थाहा भएन र निज परिवर्तित नाम एसकुमारी खातुनलाई प्रतिवादीहरूले बेचबिखनका लागि लगेकोमा विश्वास लाग्छ भन्‍नेसमेतको विन्दु अधिकारीले गरेको कागज ।

परिवर्तित नाम एसकुमारी खातुन मिति २०६७।६।२३ गते एकाएक हराएको भन्‍ने थाहा पाई मसमेतका मानिसहरूले खोजतलास गर्दा फेला नपरेकी र सो विषयमा सोधखोज गर्दै जाँदा भीमा चौधरी, विनोद कोहार, राजमति केवट र कुर्वान अली अन्सारीले बिक्री गरेको भन्‍ने थाहा भएको हो, कहाँ के कति रकम लिई बिक्री गरी कहाँ राखेका छन् भन्‍ने निजहरूलाई नै थाहा होला भन्‍नेसमेतको करिब एकै मिलानको रामप्रसाद पौडेलसमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

मिसिल संलग्न जाहेरी दरखास्त, पक्राउ प्रतिवादीहरूले गरेको बयान कागज, बुझिएका विन्दु अधिकारीले गरेको कागज र वस्तुस्थिति मुचुल्काका मानिसहरूले गरिदिएको कागज बेहोरासमेतका आधार प्रमाणबाट परिवर्तित नाम एसकुमारी खातुनलाई प्रतिवादीहरू विनोदकुमार कोहार, कुर्वान अली अन्सारीले झुठो माया जालमा पारी अभिभावकलाई जानकारी नदिई निजको घरबाट छुटाई लगी प्रतिवादी कुर्वान अलीको घरमा लगी आर्थिक फाइदा लिने उद्देश्यले बिक्री गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत दफा ४(२)(ख) तथा दफा ४(१)(क) को कसुर अपराध गरेको हुँदा निज प्रतिवादी विनोदकुमार कोहार र कुर्वान अली अन्सारीलाई सोही ऐनको दफा १५(१)(क) र १५(१)(ङ)(१) बमोजिम सजाय गरिपाउँ र प्रतिवादीहरू भीमाकुमारी चौधरी र राजमति केवटले विनोदकुमार कोहार र कुर्वान अली अन्सारीसँग सम्पर्क गराइदिने एवं परिवर्तित नाम एसकुमारी खातुनलाई कुर्वान अली मुसलमानसँग भाग्ने क्रममा साइकलमा राखी चार नम्बर कपिलवस्तुसम्म पुर्‍याई प्रतिवादीहरू कुर्वान अली अन्सारी र विनोदकुमार कोहारले मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यमा सहयोग पुर्‍याई निज प्रतिवादीहरू राजमति केवट र भीमाकुमारी चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विपरीत दफा १५(१)(ज) को कसुर गरेकोले निजहरूलाई सोही ऐनको दफा १५(१)(ज) बमोजिम सजाय हुनुपर्ने भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी ।

जाहेरवाला विराहिम पठानसँग जग्गाको बारेमा झगडा थियो । २०६६ सालको आषाढदेखि विनोदकुमार र भदौदेखि कुर्वान अलीलाई 

चिन्दछु । मैले कसैलाई बेचबिखन गरेकी छैन । अनुसन्धान अधिकारीसमक्ष भएको बयान ठिक हो, हस्ताक्षर सहीछाप मेरै हो भन्‍नेसमेतको प्रतिवादी भीमाकुमारी थारू चौधरीले सुरू अदालतमा गरेको बयान ।

मैले जाहेरवाला, परिवर्तित नाम एसकुमारी खातुन र सहप्रतिवादीहरूलाई समेत चिन्दिनँ । जाहेरी दरखास्त झुठा हो । मिति २०६७।६।२३ गते म घरमै थिएँ । सहप्रतिवादी भीमाकुमारी चौधरीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान झुठा हो । अनुसन्धान अधिकारीसमक्ष मैले बयान गरेकी होइन, जबरजस्ती सहीछाप गराएका हुन् । मैले साइकल चलाउन 

जान्दिन । जाहेरवालाको छोरी परिवर्तित नाम एसकुमारी खातुनलाई मैले साइकलमा राखी चार नम्बरसम्म लगेको भनी सहप्रतिवादी भीमा चौधरीले के कसरी बयान दिइन् थाहा छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी राजमति केवट (खरविन्द) ले सुरू अदालतमा गरेको बयान । 

मैले जाहेरवाला, परिवर्तित नाम एसकुमारी खातुनलाई चिन्दिनँ । जाहेरी दरखास्त झुठा हो । मिति २०६७।६।२३ गते म घरमै थिएँ । सहप्रतिवादी भीमासँग मात्र फोनमा कुराकानी भएको हो, भेटघाट भएको छैन । अन्य प्रतिवादीहरूलाई चिन्दिन । अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा मैले भनेबमोजिम लेखिएको होइन । मैले सजाय हुने त्यस्तो केही काम गरेको छैन भन्‍नेसमेतको प्रतिवादी विनोदकुमार कोहारले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीहरू भीमाकुमारी चौधरी, राजमति केवट र विनोदकुमार कोहारसमेतलाई अ.बं.११८(२) बमोजिम थुनामा राख्‍न अ.बं.१२१ नं.बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय, कपिलवस्तुमा लेखी पठाइदिनु भन्‍नेसमेतको मिति २०६८।३।१६ गतेको सुरू जिल्ला अदालतको आदेश ।

प्रतिवादी कुर्वान अली अन्सारीले सुरू म्यादै गुजारी बसेको ।

मिति २०६८।३।७ गते प्रहरीसमक्ष भएको कागज बेहोरा र सहीछाप मेरै हो । एसकुमारी हराएकी भनी निजको बाबुले भनेका र खोजतलास गर्दा भीमाकुमारीसँग ओदारीतिर गएको भन्‍ने थाहा भई निज भीमाकुमारीसँग सोध्दा नवलपरासीको केटासँग गएको भनी फोन नम्बर दिएकाले सो नम्बर लिई नवलपरासी गई निज केटासँग भेटी मोबाइल हेर्दा १७ पटकसम्म भीमाकुमारीसँग फोन गरेको भेटिएको र जाहेरवालाको सहयोगमा विनोदकुमारलाई पक्राउ गरेको हो । परासी गई गाउँ समाजसँग छलफल गर्दा चिनक कुर्मीलाई पीडित एसकुमारी खोज्न भनी समाजको जिम्मा छोडेर आयौँ । पीडित हराएको ८/९ महिनासम्म कहाँ बसिन् थाहा भएन भन्‍नेसमेतको बुझिएका वादीका साक्षी सन्तोषकुमार नाउले गरेको बकपत्र ।

विनोदलाई प्रहरीले १ महिनापछि फेला पारेको हो । कुर्वान अलीले लुकाएर राखेको हुन सक्छ र बेचेको पनि हुन सक्छ, अनुमानको भरमा कागज गरेको हुँ । निजलाई बिक्री गरे नगरेको मलाई थाहा छैन भन्‍नेसमेतको वस्तुस्थिति मुचुल्काका अब्दुल सत्तारले गरेको बकपत्र ।

विनोद कोहारको चाल चलन राम्रो छ, निज मानव बेचबिखन गर्ने मानिस होइनन् भन्‍नेसमेत बेहोराको विनोद कोहारको साक्षी पदम चौधरीले गरेको बकपत्र ।

जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरै हो । साँझ घरमा आउँदा छोरी एसकुमारीलाई नदेखेकाले श्रीमतीसँग सोध्दा राजमति आई एक छिन बसेर एसकुमारी र राजमति घरबाट गएका हुन् भनी बताएकीले अर्को दिन राजमतिकोमा गई सोध्दा यहाँबाट त गई भनी राजमतिको आमाले बताएकी र राजमतिले एसकुमारीसँग विकलीको पिपलको रूखसम्म सँगै गएको भनी भनेकी र पछि केरकार गर्दा ओदारीसम्म लगेर छोडे भनी भनेकी र भीमाकुमारीसँग सोध्दा निजले दिएको फोन नम्बर लिई परासी गई खोजतलास गर्दा विनोद कोहार र कुर्वान अली अन्सारीले ल्याएका छन् भनी चिनक कुर्मीले भनेका, भीमाकुमारी र कुर्वान अलीबिच १७ पटकसम्म मोबाइलमा कुरा भएको मोबाइलबाट देखिएको र फोनमा भीमाकुमारीले एसकुमारीलाई विनोदकुमार कोहारले लगेको भनी भनेकी थिइन् भन्‍नेसमेत बेहोराको जाहेरवाला भोला भन्‍ने विराहिम पठानले गरेको बकपत्र । 

मैले सिलाइ कटाइको काम सिकिरहेकी र कैँचीमा सान लगाउन ओदारी जाउँ भनी राजमतिले भनेकीले निजसँग ओदारी गएँ । त्यहाँ पुगेपछि राजमतिले पसल बन्द छ भनिन् र त्यहाँ भीमाकुमारीसमेत 

थिइन् । म घर फर्कन थाल्दा भीमाकुमारीले मलाई रोकी ४ नं. जाउँ भनेकीमा मैले घरमा गाली गर्छन् भनी भन्दै गर्दा बस आइपुगेकाले राजमति, भीमा र म बसमा चढ्यौं, सो बसमा भीमा र राजमतिको २ जना मानिसहरू पनि रहेछन् । निजहरू को हुन् भनी सोध्दा हामीसँगै पढेका साथी हुन् भने । चार नम्बर पुगेपछि मलाई एक्लै राखी भीमाकुमारी, मनोज र विनोदले एक आपसमा कुरा गरेका र मैले घर जाउँभन्दा म जान्‍न तँ जा जहदी उतारिदिन्छ भनी भनेकीमा बसले मलाई बुटवल लग्यो । म बुटवल कहिले पनि नगएकीले रोइरहेकी थिएँ, २ जना लोग्ने मानिस म भएको ठाउँमा आई भीमा परासी पुगेकी छन् र तिमीलाई पनि त्यहीँ बोलाएकी छन् भनेकाले म निजहरूसँगै परासी गएँ । त्यहाँ जमिनमुनि रहेको एक जना बुढी आइमाईको घरमा पुगियो । बुढीले विनोद नाम सम्बोधन गर्दै कुराकानी गरिरहेकी थिइन् । म निज बुढी आइमाईसँगै करिब ३ महिना बसेँ, त्यहाँ बस्दा दिन दिनै मैले नचिनेका एक जना मानिस आउँथे र मेरो अस्तित्व लुट्दथे । ३ महिना बितेपछि एक दिन एक जना मानिससँग अब कमाइ हुन छाड्यो, यो केटीलाई पञ्जाब लैजाउ भनेको सुनेपछि एक दिन घरबाट भागी बसमा चढी बुटवलमा आएँ । बुटवलबाट ४ नं. जाने बसमा चढेकोमा पैसा नभएकोले रानिवगीया भन्‍ने ठाउँमा उतारिदिए । रोइ कराइ गरी एक जनाको घरमा बसेँ । त्यो घरकालाई मेरो घरमा पुर्‍याइदेउ भन्दा बहिनीको विवाह भएकाले मलाई काम गर्न भनी सुनौली लग्यो । त्यहाँ मलाई बाहिर आउन दिँदैनथे । एक दिन औषधी किन्‍ने बहाना बनाएर बाहिर निस्की प्रहरीलाई खबर गरेँ, त्यसपछि प्रहरीले मलाई घरमा ल्याइदिएको हो । मलाई बेचबिखन गरेका हुन् या के कसरी बुढी आइमाईलाई दिए थाहा भएन । मलाई परासी भनी २ जनाले लगेका हुन्, परासी हो या अन्य ठाउँमा हो थाहा भएन भन्‍नेसमेतको पीडित एसकुमारी खातुनले गरेको बयान ।

तीन महिनाभन्दा अगाडिको कल डिटेल पठाउन नसकिने भनी उल्लेख भई आएकाले पठाउन नसकिएको भन्‍नेसमेतको जिल्ला सरकारी वकिल कार्यालयको पत्र ।

प्रतिवादीमध्ये कुर्वान अली अन्सारी फरार रहेको हुँदा निजको हकमा मुद्दा मुलतबिमा रहने र प्रतिवादीहरूमध्ये विनोदकुमार कोहारले प्रतिवादी कुर्वान अली अन्सारीको सल्लाह तथा सहयोगमा पीडित परिवर्तित नाम एसकुमारी खातुनलाई ललाइफकाइ गरी कपिलवस्तुबाट नवलपरासीसम्म पुर्‍याई फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाएको पुष्टि भएकोले निज प्रतिवादी विनोदकुमार कोहारलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ख) बमोजिम १० वर्ष कैद र पचास हजार जरिवाना हुने ठहर्छ, निजको हकमा दफा १५(१)(क) को दाबी पुग्न सक्दैन, अर्का प्रतिवादी भीमाकुमारी थारू र राजमति केवटले पीडितलाई प्रतिवादी विनोद कोहारसँग भेट गराई जानी जानी निजहरूसँग चिनजान गराई ४ नं.सम्म साइकलमा राखी भाग्ने कार्यमा सहयोग पुर्‍याई पीडितलाई अनैतिक कार्यमा लगाउने कार्यमा सल्लाह वा सहयोग गरेको भन्‍ने पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरू भीमाकुमारी थारू र राजमति केवटलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ज) बमोजिम जनही ५ वर्ष कैद र रू.२५,०००।- जरिवाना हुने ठहर्छ भन्‍ने सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७०।५।१६ को फैसला ।

प्रतिवादीमध्येको म राजमति केवटको अभियोग दाबीबमोजिमको कसुरमा के भूमिका थियो भन्‍ने जाहेरी दरखास्तमा उल्लेख भएको छैन, सहप्रतिवादी भीमाकुमारी चौधरीको पोल बयानबाट म राजमति केवटलाई प्रतिवादी बनाइएको छ, प्रतिवादी भीमाकुमारी चौधरीले अदालतमा बयान गर्दा मैले कुनै कसुर गरेको हो भनी लेखाउन सकेको अवस्था नहुँदा सहप्रतिवादीको बयान अदालतबाट पुष्टि नभएसम्म प्रमाणमा लिन नमिल्ने हुँदा सोतर्फ मेरो प्रमाणको मूल्याङ्कन नै नगरी भएको सुरू फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत भएको छ । प्रहरीमा कागज गर्ने व्यक्ति सन्तोषकुमार नाउ, कृष्णप्रसाद उपाध्याय, विन्दु अधिकारी तथा वस्तुस्थिति मुचुल्काका अव्दुल सत्तारको अदालतमा भएको बकपत्रसमेतबाट म निर्दोष रहेको भन्‍ने कुरा पुष्टि भएको छ, जाहेरवालाको जाहेरी दरखास्त तथा अदालतमा भएको बकपत्रसमेतबाट प्रस्तुत वारदातमा मेरो कुनै संलग्नता नभएको भन्‍ने पुष्टि भइरहेको अवस्थामा मलाई दोषी करार गरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा सुरू फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी राजमति केवटको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

प्रतिवादी विनोदकुमार कोहारले पीडित एसकुमारीलाई कपिलवस्तुबाट बुटवल हुँदै परासीसम्म पुर्‍याई तेस्रो महिलालाई जिम्मा लगाएको र तेस्रो महिलाले एसकुमारीलाई वेश्यावृत्तिमा लगाएको कुरालाई फैसलामा स्वीकार गरिएको छ । प्रतिवादी विनोदकुमार कोहारले पीडित एसकुमारीलाई कपिलवस्तुबाट नवलपरासीसम्म पुर्‍याई तेस्रो व्यक्तिलाई बिक्री गरेको र निज तेस्रो व्यक्ति महिलाले एसकुमारीलाई वेश्यावृत्तिमा लगाएको तथ्य पुष्टि भइरहेकोमा प्रतिवादी विनोदकुमार कोहारलाई अभियोग दाबीभन्दा कम दफा १५(१)(ख) बमोजिम सजाय भएको सुरू फैसला त्रुटिपूर्ण रहेको छ । अ.बं.१९२ नं.बमोजिम दाबी लिइएका सबै विषयमा फैसलामा बोल्नुपर्नेमा सो नबोली भएको उक्त फैसला उक्त कानूनविपरीत रहेको छ । प्रतिवादी विनोद कोहारले मानव बेचबिखन तथा ओसारपसार गरेको पुष्टि भएको अवस्थामा निजलाई मद्दत पुर्‍याउने प्रतिवादीहरू राजमति केवट र भीमाकुमारी थारूलाई समेत मूल प्रतिवादीलाई हुने सजायको आधा सजाय हुनुपर्नेमा सोभन्दा कम सजाय हुने गरी भएको सुरू फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

म भीमाकुमारीउपर जाहेरीमा नामसम्म उल्लेख भए पनि जाहेरवालाले अदालतमा बकपत्र गर्दा मेरो हकमा जाहेरीलाई पुष्टि हुने गरी बकपत्र भएको अवस्था छैन, पीडितलाई खोज्न प्रतिवादीमध्येको कुर्वान अलीको मोबाइल नं.समेत दिई सहयोग गरेको अवस्था देखिएको र अव्दुल सत्तारको बकपत्रसमेतबाट प्रस्तुत वारदातमा मेरो संलग्नता नदेखिएको हुँदा फैसलामा लिइएको आधार त्रुटिपूर्ण रहेको छ । अधिकारप्राप्त अधिकारी र अदालतमा समेत म आरोपित कसुरमा इन्कार भई बयान गरेको अवस्था छ, पीडित तथा जाहेरवालाको अदालतमा भएको बकपत्रसमेतबाट प्रस्तुत वारदातमा मेरो कहीँकतैबाट पनि संलग्नता नदेखिएको अवस्थामा मिसिल संलग्न प्रमाणहरूको विश्लेषण नै नगरी भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला उल्टी गरी न्याय पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी भीमाकुमारी थारू (चौधरी) को पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

सुरू फैसलामा किटानी जाहेरी भनी उल्लेख गरिएको छ, जाहेरी हराएको ६ महिनापछि मात्र दिइएको छ जुन विलम्बको सिद्धान्तले त्रुटिपूर्ण रहेको छ, हराएको ११ महिनापछि छोरी घरमा आएको भनी जाहेरवालाले अदालतमा बकपत्र गरेका छन् । ११ महिनाको अवधिमा निज कहाँ कहाँ बसिन् थाहा नभएको भनी गरेको जाहेरवालाको बकपत्र विरोधाभाषपूर्ण रहेको छ । वस्तुस्थिति मुचुल्काका अव्दुल सत्तार र बुझिएका सन्तोष कुमार नाउको बकपत्रसमेतबाट निज एसकुमारीलाई मैले कपिलवस्तुबाट नवलपरासीसम्म पुर्‍याई वेश्यावृत्तिमा लगाएको भन्‍ने तथ्य पुष्टि भएको छैन । पीडित तथा जाहेरवालाको अदालतमा भएको विरोधाभाषपूर्ण बकपत्रलाई मुख्य आधार बनाई केवल शंकाको भरमा मात्र मलाई दोषी ठहर गर्ने गरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट पूर्ण सफाइ पाउँ भन्‍ने प्रतिवादी विनोदकुमार कोहारको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

यसमा प्रतिवादीहरूको र नेपाल सरकारको दोहोरो पुनरावेदन परेको देखिएकोले पुनरावेदन पत्रहरू अ.बं.२०२ को प्रयोजनार्थ एक अर्कालाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत बुटवलको मिति २०७०।११।१३ को आदेश ।

प्रतिवादी विनोदकुमार कोहारलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ख) बमोजिम १० वर्ष कैद र रू.५०,०००।– (पचास हजार रूपैयाँ) जरिवाना हुने र प्रतिवादीद्वय भीमाकुमारी थारू र राजमति केवटलाई ऐ.ऐनको दफा १५(१)(ज) बमोजिम जनही ५(पाँच) वर्ष कैद र रू.२५,०००।– (पच्‍चिस हजार) का दरले जरिवाना हुने भनी सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७०।५।१६ गते भएको फैसला मिलेको नदेखिँदा प्रतिवादी राजमति केवटको हकमा उल्टी भई निजले सफाइ पाउने ठहर्छ । साथै प्रतिवादीहरू भीमाकुमारी थारू र विनोदकुमार कोहारको हकमा केही उल्टी भई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा दफा १५(१)(च) बमोजिम जनही २(दुई) वर्ष कैद हुने ठहर्छ । अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍नेसम्मको वादी नेपाल सरकारको तथा सफाइ पाउँ भन्‍नेसम्मको प्रतिवादी भीमाकुमारी थारू र विनोदकुमार कोहारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।११।२८ मा भएको फैसला ।

प्रतिवादी विनोदकुमार कोहारउपर आफू विवाहित हुँदाहुँदै अविवाहित भएको भनी विभिन्‍न मितिमा पीडित एसकुमारी खातुनसँग फोन तथा भेटघाट गरी मायाजालमा पारी मिति २०६७।६।२३ मा एसकुमारी खातुनलाई अभिभावकलाई जानकारी नदिई निजहरूबाट छुटाई प्रतिवादी कुर्वान अली अन्सारीको घरमा लगी त्यहाँबाट आर्थिक फाइदा लिने उद्देश्यले बिक्री गरेकोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ (२)(ख) तथा दफा ४(१)(क) को कसुरमा ऐ.को दफा १५(१)(क) र दफा १५(१)(ङ) (१) बमोजिम सजाय हुन मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी विनोदकुमार कोहारसमेतले प्रतिवादी भीमाकुमारी थारू र राजमति केवटको सहयोगमा पीडित एसकुमारी खातुनलाई निजको घरबाट ४ नं. र बुटवल हुँदै परासी पुर्‍याई अर्कै महिलालाई जिम्मा दिई निज महिलाले वेश्यावृत्ति गर्न बाध्य बनाएको भन्‍ने निज पीडितको अदालतसमक्षको बकपत्रसमेतबाट पुष्टि भएको र सो कुरा सुरू फैसलामा पनि स्वीकार गरिएको छ । प्रतिवादी विनोदकुमार कोहारसमेतले एसकुमारी खातुनलाई कपिलवस्तुबाट बुटवल हुँदै नवलपरासीसम्म लैजानु, त्यहाँ तेस्रो महिलालाई जिम्मा लगाउनु र निज महिलाले वेश्‍यावृत्तिमा लगाउनुले प्रमाण ऐन, २०३१ को दफा ७(ग) बमोजिम निज प्रतिवादीले अपरिचित महिलालाई बिक्री गरेको र निज महिलाले वेश्‍यावृत्तिमा लगाएको भन्‍ने तर्कसङ्गतरूपमा न्यायिक अनुमान गर्न सकिन्छ । पुनरावेदन अदालतको फैसलामा पनि प्रतिवादीहरूले किन्‍ने वा बेच्ने उद्देश्यले विदेश लगेको र ११ महिनासम्म पीडित सहप्रतिवादी कुर्वान अलीको नियन्त्रणमा रहेको भन्‍ने उल्लेख भएबाट समेत प्रतिवादीहरूउपरको आरोपित कसुर थप पुष्टि भइरहेको अवस्थामा प्रतिवादी विनोदकुमारले शोषण गर्ने उद्देश्यले मात्र सो कार्य गरेको भनी निजलाई अभियोग दाबीभन्दा पृथक् दफा १५ (१) (च) बमोजिम सजाय गर्ने गरी भएको उक्त फैसला त्रुटिपूर्ण छ । प्रतिवादी विनोदकुमार कोहारउपर ओसारपसारसमेत गरेको आरोपमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को  दफा ४(२)(ख) को कसुरमा ऐ.को दफा १५(१)(ङ)(१) बमोजिमसमेत सजाय हुन मागदाबी रहेको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानिस किनबेच गर्ने र ओसारपसार गर्ने व्यक्ति एउटै भएमा दुवै कसुरमा छुट्टाछुट्टै सजाय हुने कानूनी व्यवस्था रहेको छ । फैसलामा पीडितलाई प्रतिवादीहरूले किन्‍न वा बेच्नका लागि विदेश लगेको र ११ महिनासम्म पीडित फरार प्रतिवादी कुर्वान अलीको नियन्त्रण रहेको भन्‍ने उल्लेख भएबाट प्रतिवादी विनोदकुमारले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिन्छ । यस ऐन प्रयोजनको लागि शोषण भन्‍नाले दास तुल्याउने, बाँधा बनाउने र शरीरको अङ्ग झिक्ने कार्यलाई जनाउने हुँदा पीडितलाई यी कुनै पनि कार्यका लागि नलगेको हुँदा शोषण गर्ने उद्देश्यले लगेको भन्‍ने पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । फैसलामा एकातिर किन्‍न वा बेच्नको लागि लगेको भन्‍ने कुरा स्वीकार गरिएको छ भने अर्कोतिर शोषण गर्ने उद्देश्यले लगेको भन्‍ने स्वीकार गरिएकोले फैसला विरोधाभासपूर्ण 

छ । फैसलामा उल्लिखित शोषण यौन शोषणको रूपमा उल्लेख गरिएको हो भने सजाय दफा १५(१)(च) बमोजिम गर्न मिल्दैन । किनभने उक्त दफा ऐनको दफा २(ङ) बमोजिमको शोषण गरिएको अवस्थामा मात्र आकर्षित हुन्छ । तर प्रस्तुत मुद्दाको सन्दर्भमा शोषण भन्‍नाले यौन शोषण नै रहेकोले दफा १५(१)(च) बमोजिम सजाय गर्ने गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला ऐनमा उल्लिखित शोषण शब्दको व्याख्यात्मक त्रुटि गरी भएकोले बदरभागी छ । उपर्युक्त प्रकरणहरूमा विवेचित आधार, कारणहरूबाट प्रतिवादी विनोदकुमार कोहारले मानव बेचबिखन र ओसारपसार गरेको पुष्टि भइरहेको अवस्थामा निजलाई दुवै कसुरमा सजाय गर्नुपर्नेमा सो नगरी असङ्गत दफा १५(१)(च) बमोजिम सजाय भएको र निजलाई मद्दत पुर्‍याउने भीमाकुमारी थारू र राजमति केवटलाई समेत मूल प्रतिवादी विनोदकुमार कोहारलाई हुने सजायको आधा सजाय गर्नुपर्नेमा प्रतिवादी राजमति केवटलाई सफाइ र अर्का प्रतिवादी भीमाकुमारी थारूलाई दफा १५(१)(च) बमोजिम नै सजाय हुने ठहरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

पीडित भनिएकी एसकुमारी मिति २०६७।६।२३ देखि हराएकी भनिएको छ । मेरो पूर्वप्रेमिका भीमाकुमारीले निजलाई घरबाट लिई हिँडेको भनिएको छ र घटनाभन्दा पहिलेदेखि नै मेरो श्रीमतीसँग निजको फोन सम्पर्क भएपछि भीमाकुमारीले आफूलाई म विनोदले धोका दिएको भनी मलाई फसाउन रिसइवी साँधी बसिरहेको अवस्थामा मेरो नाम जाहेरवालालाई दिई मिति २०६८।२।१७ मा जाहेरीमा मेरो नामसमेत लेखी मलाई मिति २०६८।२।१९ मा पक्राउ गराउने काम भएको छ । मिति २०६८।३।१३ मा अभियोग दायर भएको छ । मिति २०६९।२।३०-३१ मा साक्षी बकपत्र भएका छन् भने मिति २०६९।८।१९ मा एसकुमारीको अ.बं.१३९ नं. बमोजिम भनी अदालतबाट बयान गराइएको छ । सो समयमा म पुर्पक्षको क्रममा थुनामा रहेको अवस्थामा प्रथमतः तथाकथित पीडित भनिएको व्यक्तिलाई वादीले नै आवश्यक अनुसन्धान गरी कागज वा बयान कागज गराई अदालतमा पेस गर्नुपर्ने गरिएन । सो क्रममा पक्राउ परेको मसमेतलाई अ.बं.१७३ नं. बमोजिम निजबाट सनाखत गराई अपराधमा संलग्न वास्तविक व्यक्ति को हो ? को होइन ? सुरूमै यकिन गर्नुपर्नेमा सो नभएको अवस्थामा स्वयम् अदालतले अ.बं.१३९ नं.को बयान गराउने तर आफैँले थुनामा राखेको म प्रतिवादी निज पीडित भनिएको व्यक्तिलाई नदेखाउने नचिनाउने र बयानमा समेत रोहबर नराखी गैरकानूनी कागज खडा गर्ने र म निर्दोष व्यक्तिलाई सहप्रतिवादी भीमाकुमारीको कथनको आधारमा गैरकानूनी थुनामा राख्‍ने काम 

भयो । अदालतले निजको बयान लिएपछि पनि जसरी यस ऐनअन्तर्गतका कागज सनाखत गराउने प्रक्रिया हुन्छ त्यसरी नै सो बयानउपर जिरह गर्न पाउने अधिकारबाट वञ्‍चित गरी मलाई सनाखत गर्ने गराउने कार्यसमेत सुरू अदालतबाट भएन र पुनरावेदन अदालतको ध्यानसमेत यस्तो वास्तविक कुरामा 

पुगेन । पीडित भनिएकी एसकुमारीले मिति २०६७।६।२३ मा मलाई भीमाकुमारीबाट छुटाई लैजाने विनोद भन्‍ने व्यक्ति यहीँ हो भनी सनाखत नगराई म कसुरमा संलग्न नभएको निर्दोष व्यक्तिको मानवाधिकार तथा मौलिक अधिकार र वैयक्तिक अधिकार हरण गरी २ वर्षसम्म थुनामा राखियो । मैले पीडित भनिएकी एसकुमारीलाई नचिने नजानेको र कुर्वान अलीलाई र निज तथा अन्य कसैलाई पनि कुर्वान अली भन्‍ने व्यक्तिलाई जिम्मा लगाउनेलगायतका कार्य नगरेको अवस्थामा मैलेसमेत जिम्मा लगाएको भन्‍ने पुष्टि हुने आधार मिसिलमा 

छैन । यदि मैले एसकुमारीलाई कसैको जिम्मा लगाएको भए त्यसमा मेरो स्वार्थ के थियो ? मसँग पीडितको कुनै रिसइवी थियो कि ? मैले पीडितलाई कुर्वान अलीलाई जिम्मा लगाउँदा कुनै आर्थिक स्वार्थ थियो कि ? वा मैले अन्य कुनै स्वार्थको लागि त्यस्तो कार्य गरेको वा गर्नुुपर्ने कारण के थियो ? मिसिलमा जाहेरवाला, पीडित, अन्य कागज गर्ने तथा सहप्रतिवादीहरूले समेत लेखाउन र भन्‍न सकेका छैनन् । यस्तो अवस्थामा प्रमाण ऐनको दफा १०, २५, १८, ३७ तथा ५०, ५२ र अ.बं. १७३ तथा १९२ विपरीत गरी वास्तविक प्रमाणको मूल्याङ्कन नगरी सहप्रतिवादी भीमाकुमारीसँग मेरो चिनाजान थियो भन्‍ने आधारमा मात्र मलाई दोषी ठहर गरी सजाय गर्न मिल्ने होइन । स्वयं भीमाकुमारीसँग मेरो श्रीमतीको कुरा भएपछि भीमाकुमारीसँग मेरो विवाद रही मोबाइल फुटे फुटालेको भन्‍ने कुरा प्रस्ट रहेकोमा भीमाकुमारीले समेत मलाई फसाउन इवी राखेकी र म वारदात भनिएको समय र स्थानमा नरहेको र निजसँग चिनाजान थियो भन्‍ने आधारमा जो कोही व्यक्तिलाई कसुरदार ठहर गर्दै जाने हो भने फौजदारी न्यायको सिद्धान्तको ठाडो बर्खिलाप हुन्छ । प्रस्तुत मुद्दामा पनि यस्तै गरी फैसला गर्दा मलाई अन्याय भएको छ । मैले कसुर गरेको भन्‍ने शंकाजन्य प्रमाणसमेत नरहे नभएको र स्वयं वादी पक्षले गराएको बयान र अदालतको बयानमा समेत म कसुरमा इन्कार रही बयान गरेको छु । मेरा साक्षी तथा स्वयम् वादीका साक्षीबाट मैले कुनै पनि कसुर नगरेको पुष्टि भएको छ । जाहेरीमा मैले कुनै कसुर गरेको भन्‍ने उल्लेख छैन । जाहेरवालाको बकपत्रको स.ज.५/७ मा समेत मैले कसुर गरेको भन्‍न र लेखाउन सकेका छैनन् । कसले के कसुर गरे छोरीलाई नै थाहा होला मैले भीमाकुमारीले भनेर जाहेरी दिएको हुँ भन्‍ने जाहेरवालाको बकपत्र रहेको छ । कागज गर्ने अब्दुल सत्तार, सन्तोष नाउसमेतका व्यक्तिहरूसमेतले म विनोद यो यसरी कसुरमा संलग्न दोषी व्यक्ति हो भनी कागज तथा बकपत्रसमेत गर्न सकेका छैनन् । यस अवस्थामा अ.बं.१८४क र १८५, १९२ विपरीत गरी गरिएको फैसला त्रुटिपूर्ण रहेको छ भन्‍नेसमेत बेहोराको प्रतिवादी विनोदकुमार कोहारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा वादी नेपाल सरकार तथा प्रतिवादी विनोदकुमार कोहारको दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं.को प्रयोजनार्थ वादी पक्षको पुनरावेदनको जनाउ प्रतिवादीहरूलाई तथा प्रतिवादीको पुनरावेदनको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई अनुपस्थित प्रतिवादीहरू भीमाकुमारी थारू (चौधरी) र राजमति केवट (खरविन्द) लाई म्याद जारी गरी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७५।२।१६ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौलाले प्रत्यर्थी प्रतिवादी विनोदकुमार कोहारसमेतले प्रत्यर्थी प्रतिवादी भीमाकुमारी थारू र राजमति केवटको सहयोगमा पीडित एसकुमारी खातुनलाई निजको घरबाट ४ नं. र बुटवल हुँदै परासी पुर्‍याई अर्कै महिलालाई जिम्मा दिई निज महिलाले वेश्यावृत्ति गर्न बाध्य बनाएको भन्‍ने पीडितले अदालतसमक्षको बकपत्रसमेतबाट पुष्टि भएको र सो तथ्यलाई सुरू फैसलामा पनि स्वीकार गरिएको अवस्था छ । प्रत्यर्थी प्रतिवादी विनोदकुमार कोहारसमेतले एसकुमारी खातुनलाई कपिलवस्तुबाट बुटवल हुँदै नवलपरासीसम्म लैजानु, त्यहाँ तेस्रो महिलालाई जिम्मा लगाउनु र निज महिलाले वेश्यावृत्तिमा लगाउनुले प्रमाण ऐन, २०३१ को दफा ७(ग) बमोजिम निज प्रतिवादीले अपरिचित महिलालाई बिक्री गरेको र निज महिलाले वेश्यावृत्तिमा लगाएको भन्‍ने तर्कसङ्गतरूपमा न्यायिक अनुमान गर्न सकिने देखिएकोमा शोषणमा सजाय गरेको साबिक पुनरावेदन अदालत बुटवलबाट भएको फैसला मिलेको छैन । उक्त ऐनको दफा २(ङ) मा गरिएको शोषणको परिभाषामा प्रतिवादीहरूको कार्य पर्दैन, राजमतिको हकमा पीडितको बयान कागजमा नाम किटिएको, मौकामा बयान गर्दा साइकलमा पीडितलाई पुर्‍याइदिएको भनी स्वीकारेबाट निज राजमति र भीमासमेत मतियार देखिएको अवस्थामा राजमतिलाई सफाइ र भीमालाई कम सजाय गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस 

गर्नुभयो । पुनरावेदक प्रतिवादी विनोदकुमार कोहार र प्रत्यर्थी प्रतिवादी राजमति केवटको तर्फबाट उपस्थित विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापाले पीडितले अदालतमा उपस्थित भई अ.बं.१३९ नं.बमोजिम गरेको बयानको स.ज.६ मा प्रत्यर्थी प्रतिवादीहरूले के कसरी कतिमा कसलाई बेचेको भन्‍ने स्पष्ट छैन भनी उल्लेख गरेबाट किनबेच गरेको तथ्य स्थापित हुन सकेको छैन । प्रस्तुत मुद्दाको जाहेरी दरखास्त ७(सात) महिना ढिलो गरी दर्ता गरेको देखिएको हुँदा पनि जाहेरी कपोलकल्पित भई प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

मिसिल संलग्न कागजात अध्ययन गरी विद्वान् उपन्यायाधिवक्ता तथा वैतनिक कानून व्यवसायीहरूको बहससमेत सुनी प्रस्तुत मुद्दामा साबिक पुनरावेदन अदालत बुटवलको मिति २०७०।११।२८ को फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन ? भन्‍ने विषयमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६७।६।२३ गते सिलाइ कटाइ गर्न गएकी छोरी घरमा फर्की नआएकी र खोजतलास गर्दा भीमाकुमारी चौधरी, विनोदकुमार कोहार र कुर्वान अली अन्सारीसमेतले बेचबिखन गरेको पत्ता लागेको हुँदा प्रतिवादीहरूउपर कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको पीडितका पिताको जाहेरी परी प्रतिवादीहरू विनोदकुमार कोहार र कुर्वान अली अन्सारीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(क) र दफा ४(२)(ख) को कसुरमा दफा १५(१)(क) र १५(१)(ङ) बमोजिम र प्रतिवादीहरू राजमति केवट र भीमाकुमारी चौधरीलाई ऐ.ऐनको दफा १५(१)(ज) को कसुरमा १५(१)(ज) बमोजिम सजाय गरिपाउँ भनी अभियोग दायर भएको प्रस्तुत मुद्दामा प्रतिवादी विनोदकुमार कोहारलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ख) बमोजिम १० वर्ष कैद र रू.५०,०००।– (पचास हजार रूपैयाँ) र प्रतिवादीहरू भीमाकुमारी थारू र राजमति केवटलाई ऐ.ऐनको दफा १५(१)(ज) बमोजिम जनही ५ वर्ष कैद र रू.२५,०००।– (पच्‍चिस हजार रूपैयाँ) जरिवाना हुने ठहर गरेको कपिलवस्तु जिल्ला अदालतको फैसला प्रतिवादी राजमति केवटको हकमा उल्टी भई निजले सफाइ पाउने र प्रतिवादीहरू भीमाकुमारी थारू र विनोदकुमार कोहारको हकमा केही उल्टी भई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा दफा १५(१)(च) बमोजिम जनही २(दुई) वर्ष कैद हुने गरी साबिक पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।११।२८ मा भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको र प्रतिवादी विनोदकुमार कोहारको तर्फबाट पुनरावेदन परी निर्णयको लागि पेस भएको देखियो ।

३. यसमा पुनरावेदक प्रत्यर्थी प्रतिवादीहरूलाई लगाइएको अभियोग सम्बन्धमा हेर्दा पुनरावेदक प्रतिवादी विनोदकुमार कोहारलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(क) र ४(२)(ख) को कसुरमा दफा १५(१)(क) र १५(१)(ङ) बमोजिम र प्रत्यर्थी प्रतिवादीहरू भीमाकुमारी चौधरी थारू र राजमति केवटलाई सोही ऐनको दफा १५(१)(ज) बमोजिमको कसुरमा सजाय मागदाबी भएको रहेछ । उक्त दफा ४(१)(क) मा कुनै पनि उद्देश्यको मानिस बेच्‍ने वा किन्‍ने कार्यलाई मानव बेचबिखन गरेको मानिने तथा दफा ४(२)(ख) मा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी प्रपञ्‍च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्‍ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्‍ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने कार्य गरेमा मानव ओसारपसार गरेको मानिने भनी कसुरको व्यवस्था गरेको पाइन्छ ।

४. उल्लिखित कसुर गरेमा हुने दण्ड सजायको व्यवस्था गर्ने क्रममा सम्बन्धित ऐनको दफा १५(१)(क) मा मानिस किन्‍ने वा बेच्‍नेलाई बिस वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना हुने, दफा १५(१)(ङ) मा किन्‍न, बेच्‍ने वा वेश्‍यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना, नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै सो ऐनको दफा १५(१)(ज) मा मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न दुरूत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय हुने व्यवस्था रहेको पाइयो । यसप्रकार हेर्दा पुनरावेदक प्रतिवादी विनोदकुमार कोहारलाई मूल अभियुक्त र प्रत्यर्थी प्रतिवादीहरू भीमाकुमारी थारू र राजमति केवटलाई मतियारको रूपमा अभियोजन गरेको देखियो ।

५. अब निज प्रतिवादीहरूले अभियोगपत्र मागदाबीबमोजिमको कसुर गरेका हुन् होइनन् भन्‍ने सम्बन्धमा हेर्दा पुनरावेदक प्रतिवादी विनोदकुमार कोहारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा परिवर्तित नाम एसकुमारी खातुनलाई सामान्य चिनेको भए पनि कुर्वान अली अन्सारीले लिई गएको भन्‍ने २०६७।६।२३ गते मात्र थाहा पाएको हुँ । पीडितलाई निज कुर्वान अली अन्सारीले नै बिक्री गरेको हुनुपर्छ भनी बयान गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा मैले परिवर्तित नाम एसकुमारी खातुनलाई 

चिन्दिनँ । जाहेरी दरखास्त झुठा हो । सहप्रतिवादी भीमासँग फोनमा मात्र कुराकानी भएको हो, भेटघाट भएको छैन । अन्य प्रतिवादीहरूलाई चिन्दैन । अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा मैले भनेबमोजिम लेखिएको होइन । मैले सजाय हुने त्यस्तो केही काम गरेको छैन भनी कसुर गरेकोमा इन्कार गरेको देखिन्छ ।

६. प्रत्यर्थी प्रतिवादी भीमाकुमारी थारूले मेरो र विनोद कोहारको मोबाइलको माध्यमबाट चिनजान भएको थियो । मेरै एकै गाउँकी परिवर्तित नाम एसकुमारी खातुनले मेरो मोबाइल चलाउने क्रममा विनोद कोहारको साथी कुर्वान अलीसँग सम्बन्ध गाँसिन पुगेको हो । पक्राउ परेका विनोद कोहार र मेरोसमेत फोनबाट प्रेम सम्बन्ध बढ्दै गएपछि हामी कुर्वान अली अन्सारी, विनोदकुमार कोहार, म र परिवर्तित नाम एसकुमारी खातुन भेटघाट गर्ने कुरा भएपछि म र परिवर्तित नाम एसकुमारी खातुन ओदारीसम्म पुग्यौं, निजहरू त्यहाँ आए, गफगाफ भयो, राजमति केवटको साइकलमा परिवर्तित नाम एसकुमारी खातुन ४ नं. सम्म गएकी हुन् र विनोद कोहार र कुर्वान अली अन्सारीले निज परिवर्तित नाम एसकुमारी खातुनलाई सोही स्थानबाट लिई गएको थाहा भएकोमा जाहेरवालाको छोरी परिवर्तित नाम एसकुमारी खातुन हाल कहाँ छिन् भन्‍ने मलाई थाहा छैन, कुर्वान अली अन्सारीले नै बेचबिखन गरेको हुनुपर्छ भनी अनुसन्धान अधिकारीसमक्षको बयानमा उल्लेख गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा जाहेरवाला विरहिम पठानसँग जग्गाको बारेमा विवाद थियो । २०६६ सालको आषाढदेखि विनोदकुमार र भदौदेखि कुर्वान अलीलाई चिन्दछु । मैले कसैलाई बेचबिखन गरेकी छैन भनी कसुर गरेकोमा इन्कार गरेको देखिन्छ ।

७. अर्का प्रत्यर्थी प्रतिवादी राजमति केवट (खरविन्द) ले परिवर्तित नाम एसकुमारी खातुनले जरूरी काम छ मलाई ४ नं.सम्म पुर्‍याइदिनु भनेकोले साइकलमा राखी ४ नं.सम्म पुर्‍याएकी हुँ, त्यहाँ पुगेपछि निजले म यतै बस्छु, तिमी घर जाउ भनेकीले म फर्की आएको हुँ कुर्वान अलीसँग गएको भन्‍ने गाउँलेबाट थाहा पाएको हुँ, त्यसपछि फोन सम्पर्कसमेत नभएको हुँदा पीडितलाई कुर्वान अलीले बेचबिखन गरेको हुनुपर्छ भनी बयान कागज गरेको देखिन्छ । निजको अदालतको बयानसमेत इन्कारी रहेको देखिन्छ ।

८. उपर्युक्तबमोजिम उपस्थित तिनै जना प्रतिवादीहरू आरोपित कसुरमा इन्कार रहेको अवस्थामा आफ्नी छोरी परिवर्तित नाम एसकुमारी हराएको र यी प्रतिवादीहरूले बेचबिखन गरेको बुझिन आएको भन्‍नेसम्म उल्लेख गरी हराएको भनिएको करिब ८ महिनापछि दिएको जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान भएको देखिन्छ । त्यति लामो समयसम्म के कारणले कहीँकतै उजुर निवेदनसमेत नदिई चुप लागी बसेको भन्‍ने सम्बन्धमा जाहेरी मौन देखिन्छ भने निजले अदालतमा बकपत्र गर्दासमेत सो सम्बन्धमा केही खुलाउन सकेको देखिएन । छोरी कुर्वान अलीसँग गएको भन्‍ने कुरा निजका बाबुले थाहा पाई निज कुर्वान अलीको गाउँमा गई छलफल भएको र २ दिनमा निजलाई फिर्ता गर्ने भनी चिनक कुर्मीले जिम्मा लिएको भन्‍ने कुरा मिसिल संलग्न कागजातबाट देखिन्छ ।

९. प्रस्तुत मुद्दा दायर भइसकेपछि मात्र पीडित ११ महिनापछि फर्केको देखिन्छ । मुद्दा दायर हुँदासम्म निजको पत्ता नलागेको अवस्था हुँदा पछि अदालतबाट निजलाई १३९ नं.बमोजिम बुझी बयान गराएको रहेछ । निजले आफ्नो बयानमा राजमति केवटले कैंचीमा साँध लगाउन भनी ओदारी लगेको, त्यहाँ पुग्दा पसल बन्द भएकोले घर फर्कन थाल्दा भीमाकुमारी थारूले ४ नं. जाउँ भनी तीनै जना बस चढी ४ नं.पुगेपछि भीमाकुमारी, मनोज र विनोद कुरा गर्न थालेको, घर जाउँभन्दा तँ जा जहदी उतारी दिन्छ भनेकीमा बसले बुटवल लग्यो, बुटवल आफू कहिल्यै नगएको हुँदा रोइरहेको बेला २ जना लोग्ने मानिस आई भीमा परासीमा पुगेकी, तिमीलाई त्यहीँ बोलाएकी छन् भनेकोले निजहरूसँगै परासीमा गएको, त्यहाँ एकजना बुढी आइमाइको घरमा पुर्‍याई ३ महिनासम्म बस्दा दिनदिनै नचिनेका मानिस आई आफ्नो अस्तित्व लुट्ने गरेको, ३ महिनापछि एकजना मानिससँग अब कमाइ हुन छोड्यो, यो केटीलाई पञ्‍जाव लैजाउ भनेको सुनेपछि त्यहाँबाट भागी बुटवल आएको, बुटवल आई ४ नं. जाने बस चढेकोमा पैसा नपुगेर रानीवगिया उतारेपछि रोइकराइ गरी एक जनाको घरमा बसेको, घरका मानिसलाई आफ्नो घर पुर्‍याइदेउ भन्दा बहिनीको विवाह छ भनी काम गर्न सुनौली लगी घरबाट निस्कन पनि दिएन, एक दिन औषधी किन्‍ने बहानामा निस्की प्रहरीलाई खबर गरी प्रहरीले घर ल्याइदिएको हो, बेचबिखन गरेका हुन् वा के कसरी बुढी आइमाईलाई दिए थाहा छैन भनी लेखाएको पाइयो । निजको उक्त बयानबाट नै निजलाई यी प्रतिवादीहरूले बेचबिखन गरेको भन्‍ने देखिएको अवस्था छैन भने निजलाई आफ्नो घरबाट कसैले ओसारपसार गरेको भन्‍ने पनि पुष्टि हुन सकेको 

देखिँदैन । निज आफैँ बसमा चढी गएकी, निजको साथमा यी पुनरावेदक प्रतिवादी विनोदकुमार कोहार रहेभएको भनी भन्‍न सकेको छैन भने आफूलाई परासी पुर्‍याउने २ जना मानिसको हुलिया, नामसमेत खुलाउन सकेको पाइएन । प्रत्यर्थी प्रतिवादीहरू भीमाकुमारी र राजमति बसमा निजसँग नगई बिचैमा बसेको भन्‍ने निजको बयानबाट नै निजहरूले आरोपित कसुरमा मतियारको भूमिका खेलेको भन्‍ने अभियोग खण्डित भइरहेको 

छ । पीडित स्वयं एक्लै बसमा गएको अवस्थामा जानुपर्ने ठाउँमा नओराली बुटवल पुर्‍याएको भने तापनि त्यसरी पुर्‍याउनमा यी प्रतिवादीहरूको के कसको भूमिका रहेको थियो, बस चालकसँग कुनै किसिमको मिलेमतो थियो थिएन भन्‍ने पनि मिसिलबाट खुल्न सकेको छैन । निज पीडितको बयान नै अस्पष्ट, अस्वाभाविक किसिमको रहेको देखिन्छ । आफूलाई बुढी आइमाईले बल प्रयोग गरी बन्धक बनाएको भन्‍न सकेको अवस्था छैन भने ३ महिनापछि आफैँ निर्वाधरूपमा त्यहाँबाट भागेको भन्‍ने लेखाएबाट नै निजको भनाइ शंकास्पद रहेको छ । साथै बुटवल पुगेर अर्कै मानिसको घरमा बसेकोमा घरबाट निस्कन नदिने भनेका छन् भने अर्कोतिर आफैँ औषधी किन्‍न भनी बाहिर आई प्रहरीलाई खबर गरेको भनेबाट निजको भनाइ विरोधाभाषपूर्ण रहेको पाइयो ।

१०. प्रस्तुत मुद्दामा पीडित व्यक्ति नै घटनाको मूल प्रमाणको रूपमा रहेकोमा निज के कसरी कस्को संलग्नतामा ११ महिनासम्म हराएकी वा कहाँ पुर्‍याइएकी भन्‍ने सम्बन्धमा निजको भनाइ नै स्पष्ट रहेको देखिँदैन भने प्रतिवादीहरूको संलग्नतामा आफूमाथि आरोपित कसुर भएको भन्‍ने पनि भन्‍न सकेको पाइएन । वादीका साक्षी अब्दुल सत्तारले अदालतमा आई बकपत्र गर्दा कुर्वान अलीले लुकाएर राखेको हुन सक्छ र बेचेको पनि हुन सक्छ अनुमानको आधारमा कागज गरेको हुँ भनेको पाइन्छ । यसैगरी वादी पक्षका साक्षी सन्तोषकुमार नाउले परासी गई गाउँ समाजसँग छलफल गर्दा चिनक कुर्मीलाई पीडित एसकुमारीलाई खोज्न भनी समाजको जिम्मा छोडेर आयौं, पीडित एसकुमारी खातुन हराएकी ८/९ महिनासम्म कहाँ बसेकी थिइन् थाहा भएन भनी उल्लेख गरेको पाइन्छ । यसरी जाहेरवाला तथा वादी पक्षको साक्षीहरूसमेतले पीडित एसकुमारीलाई वेश्‍यावृत्तिमा लगाएको भनी उल्लेख नगरेको, पीडितको स्वास्थ्य परीक्षणसमेत नगरिएको अवस्थामा प्रत्यर्थी / प्रतिवादी विनोद कोहारबाट भएको कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(क), ४(२)(ख) तथा १५(१)(क), १५(१)(ङ) मा उल्लिखित कसुर अपराध गरेको भन्‍ने पुष्टि हुन सकेको देखिन आएन । साथै प्रत्यर्थी / प्रतिवादी विनोद कोहारबाट उल्लिखित कसुर गरेको नदेखिएपछि सो कसुरमा मतियार भनी दाबी गरिएका प्रत्यर्थी / प्रतिवादीहरू भीमाकुमारी थारू र राजमति केवट पनि ऐ.ऐनको दफा १५(१)(ज) मा उल्लिखित कसुरका कसुरदार भनी मान्‍न मिल्ने देखिएन ।

११. सामान्यतः सरकारवादी फौजदारी मुद्दामा कसुरदारको कसुर प्रमाणित गर्ने भार वादीमा रहन्छ । अभियोग लगाएर मात्र हुँदैन सो अभियोग पुष्टि हुने प्रमाण वादी पक्षले प्रस्तुत गर्न सक्नुपर्छ । जसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले स्पष्ट गरेको 

छ । के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्‍ने कुरा पनि अभियोजन पक्षले शङ्कारहित तवर (Beyond the Reasonable Doubt) ले पुष्टि गर्नुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाण गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्‍त हुने होइन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन 

मिल्दैन । प्रस्तुत मुद्दामा मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादीहरूले पीडितलाई वेश्यावृत्तिको लागि लगेको भन्‍ने वस्तुनिष्ठ प्रमाणको अभावमा शंकाकै भरमा मात्र प्रत्यर्थी प्रतिवादीहरूलाई दोषी ठहर गर्नु न्यायोचित देखिएन ।

१२. अतः माथि विवेचित आधार र कारणबाट प्रत्यर्थी प्रतिवादीहरूले आरोपित कसुर गरेको देखिने ठोस र खम्बिर प्रमाणको अभावमा प्रतिवादी विनोदकुमार कोहारलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ख) बमोजिम १०(दश) वर्ष कैद र रू.५०,०००।– (पचास हजार रूपैयाँ) जरिवाना हुने र प्रतिवादीद्वय भीमाकुमारी थारू र राजमति केवटलाई ऐ.ऐनको दफा १५(१)(ज) बमोजिम जनही ५(पाँच) वर्ष कैद र रू.२५,०००।– (पच्चिस हजार रूपैयाँ) का दरले जरिवाना हुने गरी सुरू कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसला प्रतिवादी राजमति केवटको हकमा उल्टी भई निजले सफाइ पाउने र प्रतिवादीहरू भीमाकुमारी थारू र विनोदकुमार कोहारको हकमा केही उल्टी भई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुरमा दफा १५(१)(च) बमोजिम जनही २(दुई) वर्ष कैद हुने ठहर गरेको साबिक पुनरावेदन अदालत बुटवलको मिति २०७०/११/२८ गतेको फैसला प्रत्यर्थी प्रतिवादी राजमति केवटलाई सफाइ दिएको हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी विनोदकुमार कोहारका हकमा पनि कसुर नै स्थापित हुन नसकी उक्त फैसला मिलेको नदेखिँदा उल्टी भई पुनरावेदक मूल प्रतिवादी विनोदकुमार कोहारले सफाइ पाउने ठहर्छ । यसरी मूल प्रतिवादीको कसुर नै स्थापित नभई निजले सफाइ पाउने ठहरेको हुनाले मतियारको अभियोग लगाइएकी प्रत्यर्थी प्रतिवादी भीमाकुमारी थारूको हकमा पनि निज कसुरदार हुन सक्ने अवस्था नहुँदा पुनरावेदन नगर्ने निज प्रत्यर्थी प्रतिवादी भीमाकुमारी थारूले समेत साबिक मुलुकी ऐन, अ.बं.२०५ नं. तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४(२) बमोजिम अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत बुटवलको फैसला उल्टी भई प्रतिवादीहरू भीमाकुमारी थारू चौधरी र विनोदकुमार कोहारले सफाइ पाउने ठहरेकोले निजहरूलाई लागेको जनही २(दुई) वर्षको कैदको लगत कट्टा गरिदिनु भनी सुरू कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउनू ------१

विद्युतीय प्रणालीमा फैसला अपलोड गरी फैसलाको प्रमाणित प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ----------------------------------२

 

उक्त रायमा सहमत छु ।

न्या.हरिकृष्ण कार्की

 

इजलास अधिकृत: शोभाकर खरेल

इति संवत् २०७७ साल फागुन ३ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु