निर्णय नं. १०८३४ - कर्तव्य ज्यान तथा हातहतियार खरखजाना

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७८।१०।२७
०७४-CR-०७०१
मुद्दाः कर्तव्य ज्यान तथा हातहतियार खरखजाना
पुनरावेदक / प्रतिवादी : खड्गप्रसादको छोरा, दोलखा जिल्ला, भिमेश्वर नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, चरिकोट, दोलखामा थुनामा रहेका राजकुमार चौलागाई
विरूद्ध
प्रत्यर्थी / वादी : रूद्रप्रसाद चौलागाईको जाहेरीले नेपाल सरकार
घटनामा प्रयोग हुन पुगेको हतियार जोखिमी थियो वा थिएन भन्ने कुराका आधारमा मात्रै कसुरको निर्धारण गर्न नमिल्ने । सो हतियारबाट कसरी दुष्परिणाम पैदा हुन पुग्यो, वा कार्यको परिणामप्रति कर्ताको कुनै स्वाभाविक सचेतना थियो वा थिएन भन्ने पक्ष पनि महत्त्वपूर्ण र विचारणीय हुने ।
(प्रकरण नं.९)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जगतबहादुर कार्की
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
हातहतियार तथा खरखजाना ऐन, २०१९
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री शालिग्राम कोइराला
दोलखा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री किशोर सिलवाल
माननीय न्यायाधीश श्री राजेन्द्र सुवेदी
उच्च अदालत पाटन
फैसला
न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्यगत बेहोरा
जिल्ला दोलखा, भिमेश्वर नगरपालिका वडा नं. ७ सार्के स्वारा स्थित खड्गप्रसाद चौलागाईको कटेरो घरभित्रको कोठाको कुनामा रहेको दराजमाथि PAGARIA लेखिएको टि.भी. चल्ने अवस्थामा दुरूस्त रहेको, उक्त दराजनजिक भुइँमा ओछ्याइएको म्याटमा रगत जस्तो रातो पदार्थ लागेको तथा उक्त घर कटेरोको ४१ फिट ७ इन्च दक्षिणतर्फको शौचालयको पछाडि काठ दाउराले छोपिएको अवस्थामा काठको बिँड भएको १० इन्च लामो कटुवा पेस्तोल फेला पारी बरामद गरिएको र रगत जस्तो रातो पदार्थ लागेको म्याट काटी उठाइएको भन्ने बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
जिल्ला दोलखा, भिमेश्वर नगरपालिका वडा नं. १ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको लास घरभित्र मृतक रेश्मा चौलागाईको टाउकोपछाडिको भागमा रगत जस्तो रातो पदार्थ लागी कपालमा अल्झिएको अवस्थामा गोली फेला पारी बरामद गरिएको भन्ने बेहोराको मृतक रेश्मा चौलागाईको नामको लास जाँच मुचुल्का ।
मिति २०७२/०८/११ गते मेरो भतिजो वर्ष २९ को रामकृष्ण चौलागाई, निजको भाइ राजकुमार चौलागाई र रामकृष्णको छोरी ११ महिनाकी रेश्मा चौलागाई घरमा बसी टि.भी. हेरिरहेको अवस्थामा टि.भी. पड्किन गई घाइते भएकोमा उपचारको क्रममा चरिकोट स्थित अस्पतालमा मृत्यु भएको भन्ने सुनी थाहा पाएकोले मिति २०७२/०८/१२ गते घरमा गई हेर्दा टि.भी. जस्ताको त्यस्तै रहेको र निज नातिनीको लास जाँच मुचुल्का गर्ने क्रममा एक थान गोली फेला परेको र निज भतिजको घरको ट्वाइलेटपछाडि एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको हुँदा घटनाको सम्बन्धमा के कसो भएको हो, वास्तविकता बुझी छानबिन गरिपाउँ भन्ने बेहोराको रूद्रप्रसाद चौलागाईको जाहेरी दरखास्त ।
जिल्ला दोलखा, भिमेश्वर नगरपालिका वडा नं. ७ सार्के स्वारा स्थित खड्गप्रसाद चौलागाईको भूकम्पपश्चात् भत्किएको घरको गाह्रोको खट प्वालभित्र गोली फेला परेको भन्ने बेहोराको बरामदी मुचुल्का ।
मिति २०७२/०८/११ गते दिनको अं. ४:३० बजेको समयमा दोलखा जिल्ला, भिमेश्वर नगरपालिका वडा नं. ७ स्थित आफ्नै घर टहराभित्र कोठामा बसी मेरो छोरी ११ महिनाकी रेश्मा चौलागाईलाई बोकेर टि.भी. हेरिरहेको थिएँ । यत्तिकैमा मलाई पिसाब लागी छोरीलाई बोकी शौचालय गई फेरि कोठामा प्रवेश गर्दा मेरो भाइ राजकुमार चौलागाई कोठाभित्र रहेछन् । घामबाट कोठामा प्रवेश गर्दा आँखा तिरमिराई रहेकोले मैले प्रस्ट देखिनँ, भाइले हातमा नक्कली हो वा सक्कली पेस्तोल चलाइरहेको देखेपछि मैले भाइलाई ए के हो त्यो नचला भन्दाभन्दै एक्कासि पडि्कयो । मेरो आँखा अनुहार पोल्यो । यत्तिकैमा छोरी लिई बाहिर भागी निस्कँदा छोरीको निधारमा ठुलो चोट लागी रगत बगिरहेको थियो । के भयो भनी छरछिमेकीहरू आएपछि मैले छोरी काकी उर्मिला चौलागाईलाई दिएँ । तत्काल अस्पताल लानुपर्छ भनी हल्ला गरेपछि काकीले छोरी बोकेर अस्पताल लानुभयो, म पनि पछिपछि गएँ । म चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा पुग्दा छोरीको मृत्यु भइसकेको रहेछ । मेरो पनि आँखा र अनुहार सोही अस्पतालमा उपचार गराएँ । छोरीको लासजाँचको क्रममा टाउकोको पछाडि भागमा कपालमा अल्झिएर रहेको अवस्थामा एउटा गोलीसमेत फेला परेको देखेँ । भाइ राजकुमार चौलागाईले उक्त पेस्तोल को कहाँबाट, कहिले, किन ल्यायो अनुसन्धान गरिपाऊँ । मेरो छोरीको मृत्यु भाइ राजकुमारले चलाइरहेको पेस्तोल पड्किई निधारमा गोली लागी भएको हो भन्ने बेहोराको रामकृष्ण चौलागाईले गरेको कागज ।
मृत्युको कारण: Gunshot injury to head. The approximate distance between gun and the victim is more than 15 cm but not more than 100 cm. भन्ने बेहोराको रेश्मा चौलागाईको नाउँको शव परीक्षण प्रतिवेदन ।
मिति २०७२/०८/११ गते म खेतबारीमा काम गरिसकेपछि घरमा फर्किएर हात गोडा धोएर घरमा प्रवेश गरी हेर्दा दाइ रामकृष्ण चौलागाईले भतिजी रेश्मा चौलागाईलाई बोकेर टि.भी. हेरिरहनु भएको रहेछ । त्यसपछि दाइको छोरी मैले समातेँ र फेरि दाइको छोरी दाइलाई दिएँ र दाइले छोरी बाहिर लिएर जानुभयो । म कोठामा एक्लै भएको बेला अं. ४:३० बजेको समयमा खाटमुनि ओछ्याएको प्लाष्टिकमुनि रहेको कटुवा पेस्तोल निकाली चलाइरहेको अवस्थामा दाइ आइपुग्नुभयो । दाइले मैले मुठी पारी लुकाएर राखेकोले पेस्तोल देख्नु भएन, दाइ छोरी काँधमा बोकी टि.भी. तर्फ टि.भी. बन्द गर्न अगाडि बढ्ने क्रममा पेस्तोल पड्किन गई छोरीको निधारमा लागेछ र दाइलाई बारूदले पोली चिच्याउनुभयो । म पनि चिच्याएँ । दाइले मेरो छोरी भनी मलाई दिनुभयो र मैले बोकेर बाहिर ल्याउँदा निधारको बिच भागमा चोट लागेको रहेछ र मानिसहरूले सो कटुवा पेस्तोलको आवाज सुनी जम्मा हुन थाले । उक्त कुरा कसैलाई थाहा नभएकोले सबैले टि.भी. पड्क्यो भन्न थाले, भित्र कोही पनि हेर्न गएनन् । त्यसपछि छोरीलाई अस्पताल लगेको हो । मसँग भएको कटुवा पेस्तोल मिति २०७२/०१/५,६ गतेतिर सिंगटीमा भएको मेरो बेकरी कारखानामा बेलुका पसल बन्द गर्ने बेलामा अं. ६:०० बजेतिर दोलखा जिल्ला, चंखु गा.वि.स. घर भएको खच्चरमा सामान ओसारपसार गर्ने मेरो बेकरी कारखानानजिकै थुक्पा पसल सञ्चालन गरिबसेको अं. वर्ष ४० को लम्बु भन्ने लाक्पा शेर्पा आई म तिमीलाई एउटा कुरा भन्छु तिमीले कसैलाई नभन भनी मसँग एउटा गन छ, मेरो परिवारले थाहा पायो भने मलाई मार्छ, तिमीले एक हप्ता १० दिनको लागि राखिदिनुपर्यो भनी ज्याकेटको भित्र गोजीबाट रातो प्लाष्टिकले बेरेको अवस्थामा उक्त पेस्तोल र ३ थान गोली निकाली उक्त पेस्तोलको सबै पाटपुर्जा खोली पुनः जोडी मलाई दियो र मैले ओभनको पछाडि राखी म नभएको बेला तपाइँलाई चाहियो भने निकालेर लान सक्नुहुन्छ भनेँ । त्यसपछि निज मेरो पसलमा आउँथ्यो, तर उक्त पेस्तोलको विषयमा कहिल्यै पनि कुरा गरेन । मैले प्रायः बेलुकातिर उक्त पेस्तोल निकाली बेलाबेलामा हेर्ने र खेाल्ने अनि जोड्ने गर्थेँ । मिति २०७२/०१/१२ गतेको भूकम्पको कारण निज लाक्पा शेर्पा घाइते भएको मैले नै देखेको हो, त्यसपछि चरिकोटमा ल्याई हेलिकप्टरमा हाली काठमाडौंतर्फ लगेको छ भन्ने सुनेको हो । आर्मीहरूले भत्किएको पसलहरू खोतल्छ र पेस्तोल भेट्छन् भन्ने डरले पेस्तोल र गोली घरमा ल्याएर लुकाएर राखेको थिएँ भन्नेसमेत बेहोराको मिति २०७२/०८/१८ मा प्रतिवादी राजकुमार चौलागाईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी राजकुमार चौलागाईले बयानको क्रममा घटनामा प्रयोग भएको कटुवा पेस्तोल दोलखा जिल्ला, चंखु गा.वि.स. घर भएको खच्चरमा सामान ओसारपसार गर्ने मेरो बेकरी कारखाना नजिकै थुक्पा पसल सञ्चालन गरी बसेको अन्दाजी वर्ष ४० को लम्बु भन्ने लाक्पा शेर्पाले राख्न दिएको भनी खुलाइ लेखाइदिएपश्चात् निज लम्बु शेर्पाको खोजतलास गर्ने क्रममा निज लम्बु भन्ने लाक्पा शेर्पा मिति २०७२/०१/१२ गतेको भूकम्पमा परी घाइते भई उपचारको क्रममा मृत्यु भएको भन्ने बेहोराको मुचुल्का ।
मिति २०७२/०८/११ गते अन्दाजी १६:३० बजेको समयमा म आफ्नै घरमा सरसफाइ गरेर बसिरहेको थिएँ । उक्त घटनास्थल र मेरो घर करिब २० मिटरको दुरीमा पर्छ । एक्कासि केही पड्किएको र चिच्याहट आवाज आयो । म दौडिएर उक्त घटनास्थलतर्फ गई हेर्दा रामकृष्ण चौलागाईले निजकै छोरी रेश्मा चौलागाईलाई बोकिरहेका थिए । निज रेश्मा चौलागाईको निधारमा ठुलो चोट लागेको र रगत बगिरहेको थियो । प्रतिवादी राजकुमार चौलागाई र रामकृष्ण चौलागाई आत्तिएका थिए र निजहरूले टि.भी. टि.भी. भनीरहेका थिए । मलाई रेश्मालाई टि.भी. पड्किएर लागेछ होला भनी निज रेश्मा चौलागाईलाई मैले समातेँ र एम्बुलेन्स बोलाउनुहोस् भनी चिच्याएँ र बोकी दौडेर सडकतर्फ गएँ । सडकमा आइपुग्दा एउटा मोटरसाइकल आयो, त्यसैमा निज रेश्मालाई राखेर चरिकोटस्थित च्छो-रोल्पा अस्पतालमा ल्याई डाक्टरहरूले उपचार गर्न लाग्दा निज रेश्मा चौलागाईको मृत्यु भइसकेछ । मृतकको बुबा रामकृष्ण चौलागाईले टि.भी. होइन, भाइले पेस्तोल पड्काएर रेश्मालाई लागी मुत्यु भएको हो भनी भनेपछि पेस्तोल पड्किएर रेश्माको मृत्यु भएछ भनी थाहा पाएको हो । मिति २०७२/०८/१२ गते निज रेश्माको लास जाँचको क्रममा निजको टाउकोपछाडिपट्टिको भागमा कपालमा अल्झिएको अवस्थामा गोलीसमेत फेला पर्यो भनी सुनेको हो । प्रहरीले निज प्रतिवादी राजकुमार चौलागाईको घरबाट निजले अवैध रूपमा लुकाएर राखेको कटुवा पेस्तोल र २ वटा गोलीसमेत बरामद गरी लगेका हुन् । निज प्रतिवादीले उक्त पेस्तोल र गोली को कहाँबाट के कसरी ल्याए मलाई थाहा
थिएन । उक्त पेस्तोल मैले यसभन्दा पहिला देखेकोसमेत थिइनँ । उक्त पेस्तोल प्रतिवादीले आफ्नै घरमा लुकाएर राखेका रहेछन् भन्नेसमेत एकै मिलान बेहोराको कुमार चौलागाई, दिपशंकर चौलागाई, रामजीप्रसाद चौलागाई, उर्मिला चौलागाई र तारा न्यौपानेसमेतले गरिदिएको घटना विवरण कागज ।
प्रतिवादी राजकुमार चौलागाईले आफ्नो घरमा अवैध रूपमा पेस्तोल तथा गोलीहरू राखी, उक्त गोलीहरू पेस्तोलमा लोड गरी सोही पेस्तोल राजकुमार चौलागाईको हातबाट मिति २०७२/०८/११ गते अन्दाजी ४:३० बजेको समयमा पड्काई रामकृष्ण चौलागाईको छोरी ११ महिनाकी रेश्मा चौलागाईको निधारमा लागी मृत्यु भएको र घटनालाई लुकाउनको लागि टि.भी. पड्किएर निज बालिकाको मृत्यु भएको भन्ने खबर फैलाएको, साथै प्रतिवादीले अवैध रूपमा हातहतियार लुकाइ छिपाइ राखेको हुँदा निज प्रतिवादी राजकुमार चौलागाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय हुन र अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको हुँदा हातहतियार तथा खरखजना ऐन, २०१९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा दफा २० को उपदफा (२) तथा (३) बमोजिम सजाय गरिपाउँ तथा बरामद भएको हातहतियार तथा खरखजाना सोही ऐनको दफा १६ बमोजिम जफत गरिपाउँ भन्ने बेहोराको मिति २०७२/०९/०७ मा दायर भएको अभियोगपत्र ।
दोलखाको सिंगटीमा मेरो बेकरी थियो, बेकरीनजिकै होटल सञ्चालन गर्ने साथी लम्बु शेर्पाले २०७२ साल वैशाख ५/६ गतेतिर मलाई एउटा पेस्तोल र ३ वटा गोली राख्न दिएको थियो । राख्न दिएको पेस्तोल र गोली ओभनपछाडि लुकाएको थिएँ, सो साथी भूकम्पमा परी मर्यो । उक्त पेस्तोल र गोली मैले जेठको १५ गते आफ्नो घरमा ल्याएर लुकाएर राखेको थिएँ । बिचबिचमा उक्त पेस्तोल कहिलेकाहीँ चलाउँथेँ । मिति २०७२/०८/११ गते पनि म टि.भी. हेर्दै आफ्नो कोठामा गोलीसहितको पेस्तोल चलाइरहेको
थिएँ । त्यहीबेला मेरो दाजु रामकृष्ण चौलागाई उहाँको छोरी रेश्मा चौलागाईलाई बोकेर भित्र आउनुभयो र मलाई अहिले टि.भी. नहेरौँ, एकछिन काम गरौँ, काम सकेपछि हेरौँला भनी टि.भी. बन्द गर्न जान लाग्नु हुँदा मेरो हातमा भएको पेस्तोल पड्किएर छोरी रेश्माको टाउकोमा लाग्यो र रगत आयो । दाइ रामकृष्णलाई पनि छर्राले भेट्यो । त्यसपछि मृतक रेश्मा चौलागाईलाई सबैले हस्पिटल ल्याए । म चाहिँ डरले त्यस दिन लुकेँ र भोलिपल्ट मलाई प्रहरीले पक्राउ गरी ल्यायो भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार चौलागाईले सुरू अदालतमा गरेको बयान ।
अभियोग दाबी, प्रतिवादीको स्वीकारोक्ति तथा हुन सक्ने सजायसमेतलाई मध्यनजर गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी राजकुमार चौलागाईलाई अ.बं.११८ नं. को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०७२/०९/०८ को सुरू अदालतको थुनछेक आदेश ।
घरभित्र प्रतिवादी राजकुमार चौलागाई हुनुहुन्थ्यो, रामकृष्ण चौलागाई छोरी बोकी घरभित्र जानुभयो, जाने बित्तिकै केही पड्केको आवाज आयो, हामी परिवारका सदस्यले टि.भी. पड्केको हो भन्ने सम्झ्यौं, पड्केपछि छोरीलाई बाहिर लिएर राजकुमार आउनुभयो, मृतक छोरीको अनुहार र कपडामा ब्लड लागेको देखी उर्मीला चौलागाईले हस्पिटल लिएर जानुभयो, छोरीको मृत्यु भएको कुरा राति ११:३० बजे थाहा पाएँ । पछि त्यसको भोलिपल्ट प्रहरीहरू घरमा आएपछि गोली लागेर छोरीको मृत्यु भएको कुरा थाहा पाएँ । झै-झगडा केही थिएन, राम्रो सम्बन्ध
थियो । मृतक र प्रतिवादीबिचमा काका भतिजीको सम्बन्ध थियो । प्रतिवादीले मृतकलाई मार्नुपर्ने केही कारण रिसइवी थिएन भन्ने बेहोराको मृतककी आमा तारा न्यौपानेले सुरू अदालतमा गरेको बकपत्र ।
रेश्मा चौलागाईको मृत्यु गोली लागेर भएको भन्ने सुनेको हो, कसले चलाएर मृत्यु भएको हो सो सम्बन्धमा थाहा भएन । प्रतिवादी शालीन व्यक्ति हुन्, हतियार चलाउने, बदमास गरी हिँड्ने व्यक्ति होइनन् । प्रतिवादीले हतियार चलाएको कुरामा मलाई विश्वास लाग्दैन । जाहेरवाला, मृतक र प्रतिवादीबिचको सम्बन्ध एकदम राम्रो रहेको थियो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने दिपशंकर चौलागाईको बकपत्र ।
प्रतिवादीबाट अन्जानमा भवितव्य भई त्यस्तो घटना हुन गएको हो । आफ्नो बच्चा मार्नुपर्ने कारण थिएन । भवितव्यले त्यस्तो भएको हो । बन्दुकको बारेमा केही थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादीकी साक्षी उर्मीला चौलागाईले गरेको बकपत्र ।
मैले सुनेको प्रतिवादी राजकुमार चौलागाईले हतियार खेलाउँदा रेश्मा चौलागाईको मृत्यु भएको हो । राजकुमार चौलागाई सोझो इमान्दार व्यक्ति
थियो । घटनाभन्दा अगाडि सिंगटीमा बेकरी चलाएर बसेको व्यापारी मान्छे हो भन्नेसमेत बेहोराको जाहेरवाला रूद्रप्रसाद चौलागाईले सुरू अदालतमा गरेको बकपत्र ।
मसमेतको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्काको कार्य गरेको हो, घटनास्थलनजिकै रहेको शौचालयको पछाडिपट्टि काठ दाउरामा लुकाइराखेको अवस्थामा कटुवा पेस्तोल र २ वटा लाइभ राउन्ड गोली बरामद गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले गरेको बकपत्र ।
मिति २०७२/०८/११ गते ४:३० बजे म, मृतक छोरी र प्रतिवादी घरमा टि.भी. हेरी बसिरहेका थियौँ । मलाई पिसाब लागी छोरी बोकी म बाहिर
गएँ । केही समयपछि म फेरि टि.भी. कोठामा पस्दा मेरो आँखा तिरमिरायो, कोठा अध्यारो भयो । मैले भाइलाई के गर्न लागेको भन्ने बित्तिकै एक्कासि पड्केको ठुलो आवाज आयो । त्यसपछि म छोरी बोकी बाहिर निस्केँ, बाहिर आएपछि छोरीको निधारबाट रगत आएको
देखेँ । उक्त रगत मेरो शरीरमा पनि लागेको थियो भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने तथा मृतकका बुबा रामकृष्ण चौलागाईले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत सोही महलको १३(१) नं. बमोजिमको अपराध गरेकोले सोही १३(१) नं. बमोजिम निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । निज प्रतिवादीले अवैध रूपमा हातहतियार पेस्तोल राखेकोतर्फ हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (२) बमोजिम साठी हजार रूपैयाँ जरिवानासमेत हुने ठहर्छ भन्ने दोलखा जिल्ला अदालतको मिति २०७३/५/२१ को फैसला ।
ज्यान मार्नुपर्नेसम्मको कुनै रिसइवी नभएको, मार्ने मनसाय नभएको, मार्नुपर्ने कुनै कारण नभएको, मार्ने कुनै योजना नभएको र हातमा खेलाइराखेको पेस्तोल अचानक पड्किन गई मृतकको टाउकोमा लागी मृत्यु भएको अवस्थामा सुरू अदालतले प्रमाणको उचित मूल्याङ्कन नै नगरी सर्वस्वसहित जन्मकैदको सजाय गरेको फैसला त्रुटिपूर्ण छ । सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी राजकुमार चौलागाईको उच्च अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
सुरू अदालतले अभियोग मागदाबीलाई पूर्ण रूपमा स्वीकार गरी प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गरे तापनि हातहतियारतर्फ छुट्टै सजाय हुनुपर्नेमा सो नगरेको हदसम्म सुरू अदालतको फैसला नमिलेकोले प्रतिवादीलाई हातहतियारतर्फ समेत अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको उच्च अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनबारेमा प्रतिवादी पुनरावेदकलाई तथा प्रतिवादी राजकुमार चौलागाईले गरेको पुनरावेदन बारेमा नेपाल सरकारलाई अ.बं. २०२ नं. को प्रयोजनार्थ परस्परमा जानकारी दिई सोको निस्सा मिसिल सामेल राखी पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७४/०२/०८ को आदेश ।
प्रतिवादी राजकुमार चौलागाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम र हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) बमोजिम सजाय गरेको हदसम्म सुरू दोलखा जिल्ला अदालतको मिति २०७३/०५/२१ को फैसला सदर हुन्छ । हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (३) को अभियोग मागदाबिमा फैसला मौन रहेकाले सो हदसम्म उक्त फैसला केही उल्टी भई प्रतिवादीलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (३) बमोजिम बिस हजार रूपैयाँ जरिवाना हुने ठहर्छ भन्ने उच्च अदालत पाटनको मिति २०७४/०४/१० मा भएको फैसला ।
मृतक नाबालिका मेरी आफ्नै सहोदर एकाघरका दाइकी छोरी तथा मेरी भतिजी हुन् । निजलाई मार्नुपर्नेसम्मको कुनै अवस्था र उद्देश्य
थिएन । मैले मेरो बयानमा कसुरबाट बच्ने उम्कने नियतले कुनै पनि असत्य बेहोरा भनेको छैन । घटनापछि घाइते भतिजीलाई बचाउन सकिन्छ कि भनी म आफू पनि लागी भरमग्दुर प्रयत्न गर्दागर्दैका अवस्थामा भतिजीको दुःखद निधन भएको छ । मैले आफ्नो परिवारको नाबालक सदस्य गुमाएकोमा आफूमा पीडा र सो घटनाप्रति पश्चाताप रहेको छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३(१) नं. अनुसारको कसुरदार ठहर गरेको मिलेको छैन । प्रमाणबाट घटना घट्नुको खास कारण अज्ञानता तथा भुलवश हतियार खेलाउँदा अचानक गोली चल्न गई नाबालिग भतिजीको मृत्यु भएको तथ्य स्थापित छ । मसँग उक्त हतियार के कुन तरहले रहन गएको भन्ने कुरासमेत अनुसन्धानको क्रममा र अदालतसमक्षको बयानका क्रममा स्पष्ट खुलाएको छु । कुनै तथ्यलाई ढाकछोप गरेको छैन । मैले नियतवश घटना नघटाएको, भवितव्य परी निजको मृत्यु भएको हुँदा ज्यानसम्बन्धीको ५ नं. आकर्षित भई ऐ. को दफा ६ नं. बमोजिमको सजायसम्म मलाई हुन सक्ने हो । फौजदारी न्यायका सर्वमान्य सिद्धान्त तथा सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिर सिद्धान्तसमेत प्रतिकूल भएको फैसला बदरयोग्य छ । कसुर र सजायबिचको समानुपातिकताको सिद्धान्तका आधारमा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. को उचित प्रयोग गरिपाऊँ । हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (२) र (३) बमोजिम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । अतः सुरू दोलखा जिल्ला अदालतको मिति २०७३/०५/२१ को त्रुटिपूर्ण फैसला र सो फैसलालाई सदर गरेको उच्च अदालत पाटनको मिति २०७४/०४/१० को फैसला मुलुकी ऐन अ.बं. १८४(क) नं. र १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३, ९(२), १०(१), १८, २५, ५४ समेतको आधारमा त्रुटिपूर्ण हुँदा बदर गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा ५ र ६ नं. मा रहेका व्यवस्थालाई मध्यनजर गरी इन्साफ हुन र ज्यानसम्बन्धीको दफा १३(१) नं. बमोजिमको अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी राजकुमार चौलागाईको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा ११ महिनाकी मृतक बालिका आफ्नै भतिजी भएको र निज प्रतिवादीले आफ्नै भतिजीलाई मार्नुपर्ने कुनै कारण वा पूर्वरिसइवी मिसिल संलग्न कागजातहरूबाट देखिँदैन । प्रतिवादीले मृतकलाई मारेको भनी स्पष्ट किटानी जाहेरी नभएको, वारदातको समयमा उपस्थित रहेका मृतकका बाबुले समेत पेस्तोल एक्कासि पड्किएको भनी उल्लेख गरेको, बुझिएका मानिसहरूले समेत भवितव्य रूपमा घटना घटेको भनी उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीले आफूलाई मिति २०७२/०१/५ र ६ गतेतिर सिंगटीमा थुक्पा पसल गरी बस्ने तथा खच्चरमा सामान ओसारपसार गर्ने लम्बु शेर्पा भन्ने लाक्पाली शेर्पाले मसँग एउटा गन (कटुवा पेस्तोल) छ, परिवारले थाहा पायो भने मार्छ भनी हप्ता दश दिनको लागि राख्न दिएकोले मेरो पसलमा राखेको, निज लाक्पाली शेर्पा २०७२/०१/१२ गतेको भूइँचालोमा ढुङ्गाले लागी घाइते भएकोले निजलाई उपचारको लागि चरिकोट हुँदै काठमाडौंतर्फ लगिएको, आर्मीहरूले भत्किएको घर खोतल्छ, भेट्छ भन्ने डरले मिति २०७२/०२/१५ गते उक्त पेस्तोल घरमा ल्याई घर परिवार तथा साथीभाइ कसैलाई पनि थाहा नदिई लुकाइराखेको, प्रायः एक्लै भएको अवस्थामा खोलजोड गर्न, सफा गर्न तथा लोड-अनलोड गर्नको लागि निकाल्ने गरेको, वारदातको समयमा खाटमुनि रहेको कटुवा पेस्तोल एक्लै बसी निकाली चलाउँदै गरेको अवस्थामा दाइ आइपुग्नु भएको र दाइले छोरी काँधमा बोकी टि.भी.बन्द गर्नु अगाडि बढ्दै गर्दा पेस्तोल पड्किन गई छोरीलाई लागेको भनी बयान गरेको देखिएकोमा उक्त घटना भवितव्य हो, होइन भन्नेतर्फ वस्तुनिष्ट रूपमा समुचित व्याख्या एवम् विश्लेषण भएको नदेखिँदा ज्यानसम्बन्धी महलको ५, तथा १३(१) नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतका आधारमा उच्च अदालत पाटनबाट मिति २०७४/०४/१० मा भएको फैसला फरक पर्न सक्ने देखिँदा साबिक मुलुकी ऐन, अ.बं. २०२ नं. तथा हालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) नं. को प्रयोजनार्थ निज प्रतिवादीको पुनरावेदन र आदेशको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई पेस गर्नु भन्ने यस अदालतको मिति २०७६/०१/१७ को आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादी राजकुमार चौलागाईको तर्फबाट विद्वान् अधिवक्ता श्री जगतबहादुर कार्कीले प्रतिवादी र मृतकका बुबा दाजु भाइ हुन्; एकाघर सगोलमा बसोबास छ; घरमा टेलिभिजन हेरेर बसिरहेको बेला बन्दुक खेलाउँदा खेलाउँदै पड्कन गई आफ्नै ११ महिनाकी भतिजीको मृत्यु भएको अवस्था छ; घटनालाई प्रतिवादीले अस्वीकार गरेका छैनन्; घटना भएपछि भतिजीलाई अस्पताल लाने, उपचार गराउने सबै काममा प्रतिवादी संलग्न छन्; अधिकारप्राप्त अधिकारीसमक्ष तथा सुरू अदालतमा भएको बयानमा समेत कहीँकतै घटनाको सत्य-तथ्य लुकाउने कोसिस गरेको छैन; न्यायिक प्रक्रियामा सहयोग नै गरेको छ; घटनाको सबै प्रकृति र अवस्थाले भवितव्य देखिएको छ; प्रतिवादीले भतिजीलाई मार्नुपर्ने कुनै कारण र मनसाय छैन; मृतकको बाबु आमा दुवैले प्रतिवादीको मार्ने कुनै नियत नभएको, घरमा लुकाएर राखेको बन्दुक खेलाउँदा खेलाउँदै पड्कन गएको भनी बकपत्र गरिदिएको अवस्था छ; हेलचेक्र्याइँ भएको कुरामा विवाद छैन; बच्चीकी आमाले रिसइबी छैन, भवितव्य हो भनेको अवस्था छ; सुरू दोलखा जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेको छैन; मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ र ६ नं. बमोजिमसम्म सजाय हुन सक्ने हो भनी बहस जिकिर गर्नुभयो । प्रत्यर्थी / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले प्रतिवादीले अवैध तरिकाले पेस्तोल राखेको छ; प्रतिवादीले सुरूमा बयान गर्दा टि.भी. पड्की भतिजीको ज्यान गएको कुरा भनेकोमा अदालतमा बयान गर्दा बन्दुक खेलाउँदा भुलवश बन्दुक पड्कन गई भतिजीको ज्यान गएको भनी घटना स्वीकार गरेका छन्; बन्दुक चलाउँदा मान्छेलाई लागे मान्छे मर्न सक्दछ भन्ने जान्दाजान्दै पनि घटना भएको छ; जोखिमी हतियार लापरवाहीपूर्वक चलाएको देखिन्छ; घटना भएपछि केही समय टि.भी. पड्केको भनेर घटना ढाकछोप गर्न खोजिएको देखिएको छ; यसलाई हत्याकै कसुर मान्नुपर्दछ । उच्च अदालत पाटनबाट भएको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहससमेत सुनियो ।
अब यसमा हत्याको वारदात कायम गरी प्रतिवादीलाई जन्मकैदसमेतको सजाय हुने ठहर गरेको उच्च अदालत पाटनको फैसला मिलेको छ वा छैन ? प्रतिवादी राजकुमार चौलागाईको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी राजकुमार चौलागाईले लगभग ६ महिनाअगाडि दोलखा जिल्ला, सिंगटीबाट लम्बु शेर्पा भन्ने लाक्पाली शेर्पाले राख्न दिएको कटुवा पेस्तोल अवैध रूपमा राखेको तथ्यमा विवाद देखिँदैन । सोही पेस्तोल राजकुमार चौलागाईले चलाउँदाको अवस्थामा मिति २०७२/०८/११ गते अं. ४:३० बजेको समयमा पड्किएको र निज प्रतिवादीकी ११ महिना उमेरकी भतिजी रेश्मा चौलागाईको निधारमा गोली लाग्न गई सोही कारणबाट निजको मृत्यु भएको तथ्यमा समेत कुनै विवाद देखिँदैन । उल्लिखित घटनालाई लिएर चलेको मुद्दामा सुरू जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने तथा हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (२) बमोजिम रू. साठी हजार जरिवाना हुने ठहर गरिएको हदसम्म सदर गरी उच्च अदालत पाटनबाट प्रतिवादीलाई हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (३) बमोजिम समेत रू. बिस हजार जरिवाना हुने गरी फैसला भएको पाइयो । यसरी भएको उच्च अदालतको फैसलाउपर प्रतिवादी राजकुमार चौलागाईको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
३. वारदातको रूप र प्रकृतितर्फ विचार गर्दा मिति २०७२/०८/११ गते दिउँसो करिब ४:३० बजेको समयमा प्रतिवादी राजकुमार चौलागाई तथा निजको दाजु रामकृष्ण चौलागाईसमेत आफ्नै घरमा रहेको अवस्थामा घटना हुन पुगेको देखियो । प्रतिवादी राजकुमार, निजको दाजु रामकृष्ण, मृतक ११ महिना उमेरकी नाबालिका रेश्मालगायत घर-परिवारका कुनै पनि मानिसहरूबिच कुनै प्रकारको मनोमालिन्य, रिस-राग, दोषी मनसाय रहेको थियो भन्ने कुरा कहीँकतैबाट खुल्न आएको पाइएन । केवल ११ महिना उमेरकी नाबालिकालाई पेस्तोल चलाई मार्नुपर्नेसम्मको कुनै कारण खुल्न आएकोसमेत देखिँदैन । दाजुभाइले सँगसँगै बसेर सौहार्दतापूर्वक आफ्नै घरमा रहेको टि.भी. हेरेर बसेको, यसबिच मृतकका बाबु रामकृष्ण छोरी बोकेर नै बाहिर शौचालय गएको, निज बाहिरबाट फर्किएर टि.भी. रहेको कोठामा प्रवेश गर्दाको क्रममा प्रतिवादी राजकुमारको हातमा कुनै वस्तु देखेको, त्यसपछि ए के गरेको भनेको, यसैबिच पेस्तोल पड्कन गई ११ महिनाकी बालिका रेश्मालाई लाग्न गएको देखिन्छ । यसरी भएको घटनालाई प्रारम्भमा टि.भी. पड्किएको र बालिकालाई चोट लागेको भन्ने ठानिएकोमा पछि उपचारको क्रममा अस्पतालमा लगेपछि मात्र मृतकको टाउकोमा गोली फेला परेपछि गोली लाग्न गई मृत्यु भएको थाहा हुन आएको भन्ने घटनाक्रम देखिन्छ ।
४. घटना वारदातसम्बन्धी सन्दर्भ वा विवरणको प्रस्टताका लागि प्रतिवादी राजकुमार चौलागाईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोराका केही अंश उद्धृत गर्नु सान्दर्भिक देखिन्छ । निजको भनाइ निम्नानुसार रहेको पाइयो:
“मिति २०७२/०८/११ गते बारी खनजोत गरी तरकारी लगाइसकेपछि घर गयौँ, भाउजू धनियाँ छर्न जानुभयो, भाइ छुट्टै कोठामा थियो, म एक्लै भएको बेला लगभग ४:३० बजेतिर खाटमुनि ओछ्याएको प्लाष्टिकमुनि रहेको कटुवा पेस्तोल निकाली चलाउँदै गरेको अवस्थामा दाइ आइपुग्नु भयो, मैले समातेको पेस्तोल मुठ्ठी पारी लुकाएको दाइले देख्नु भएन, दाइ छोरी काँधमा बोकी टि.भी.तर्फ टि.भी. बन्द गर्न अगाडि बढ्ने क्रममा पेस्तोल पड्किन पुग्दा छोरीको निधारमा लागेछ र दाइलाई बारूदले पोली चिच्याउनुभयो, म पनि चिच्याएँ दाइले मेरो छोरी !! भनी मलाई दिनुभयो र मैले बोकेर बाहिर ल्याई हेर्दा निधारको बिच भागमा चोट लागेको रहेछ र सो कटुवा पेस्तोलको आवाज सुनी मानिसहरू जम्मा हुन थाले, सबै मानिसहरूले टि.भी. पड्क्यो भन्न थाले, भित्र कोही पनि हेर्न गएनन् र दाइको छोरीलाई घटना घटी सकेपछि प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा ल्याएको हो ।”
५. प्रतिवादी राजकुमारले अदालतमा बयान गर्दा निम्न बेहोरा उल्लेख गरेको देखिन्छ:
“सिगंटीमा मेरो बेकरी थियो, बेकरी नजिकै होटल सञ्चालन गर्ने साथी लम्बु शेर्पाले गएको वैशाख ५, ६ गतेतिर मलाई राख्नको लागि एउटा पेस्तोल र ३ वटा गोली दिएका थिए र मलाई गोली लोड गर्न पनि सिकाएको थियो र मैले उक्त पेस्तोल ओभनपछाडि लुकाएको थिएँ, त्यो उसलाई पनि भनेर लुकाएको थिएँ, साथी १२ गतेको भूकम्पमा परी मर्यो, उक्त पेस्तोल र गोली मैले जेठको १५ गते यहाँको घरमा लुकाएर राखेको थिएँ, बिचबिचमा उक्त पेस्तोल कहिलेकाहीँ चलाउँथेँ र मिति २०७२/०८/११ गते पनि म टि.भी. हेर्दै आफ्नो कोठामा उक्त पेस्तोल गोलीसहित चलाइरहेको थिएँ, त्यही बेला मेरो दाजु रामकृष्ण चौलागाई छोरी रेश्मा चौलागाईलाई बोकेरभित्र आउनुभयो र मलाई अहिले टि.भी. नहेरौं, एकछिन काम गरौं, काम सकेपछि हेरौंला भनी टि.भी. बन्द गर्न जान लाग्नु हुँदा मेरो हातमा भएको पेस्तोल पड्किएर छोरी रेश्माको टाउकोमा लाग्यो र रगत आयो, दाई रामकृष्णलाई पनि छर्राले भेट्यो, त्यसपछि मृतक रेश्मा चौलागाईलाई सबैले हस्पिटल ल्याए, अनि म चाहिँ डरले त्यस दिन लुकेँ र भोलिपल्ट मलाई प्रहरीले पक्राउ गरी ल्यायो ।”
६. प्रतिवादीका दाजु अर्थात् मृतक रेश्मा चौलागाईको बुबा रामकृष्ण चौलागाईले मुद्दामा भएको अनुसन्धानका क्रममा गरेको कागजमा निम्न बेहोरा खुलाएको देखिन्छ:
"मिति २०७२।०८।११ गते अन्दाजी ४.३० बजेको समयमा दोलखा जिल्ला, भिमेश्वर नगरपालिका वडा नं. ७ स्थित आफ्नै घर टहराको दक्षिणपट्टिको कोठामा मेरो छोरी ११ महिनाको रेश्मा चौलागाईलाई बोकेर टि.भी. हेरिरहेको थिएँ, त्यतिकैमा मलाई पिसाब लागी छोरीलाई बोकी शौचालय गई फेरि कोठामा प्रवेश गर्दा मेरो भाइ कोठाभित्र रहेछन्, घामबाट कोठामा प्रवेश गर्दा मेरो आखा तिरमिराई रहेकोले प्रस्ट देखिनँ, भाइको हातमा नक्कली हो वा सक्कली के हो पेस्तोल चलाई रहेको देखेँ, ए के हो त्यो नचला भन्दाभन्दै एक्कासि पट्कियो, मेरो आँखा अनुहार पोल्यो, यतिकैमा छोरीलाई लिई बाहिर भागी निस्कँदा छोरीको निधारमा ठुलो चोट लागी रगत बगेको थियो । के भयो भनी छरछिमेकीहरू आएपछि मैले छोरी काकी उर्मिला चौलागाईलाई दिएँ, तत्काल अस्पताल लानुपर्छ भनी हल्ला गरेपछि काकीले छोरी बोकी छिमेकी बलबहादुर श्रेष्ठको मोटरसाइकलमा राखी चरिकोट अस्पतालतर्फ ल्याए, म पछिपछि हिँड्दै अस्पताल पुग्दा छोरीको मृत्यु भइसकेको
रहेछ । मेरो पनि सोही अस्पतालमा अनुहार तथा आँखाको उपचार गरी घरतर्फ गएँ । भोलिपल्ट बिहान मात्र छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्रको लास घरमा देखेँ । मृतक छोरीको निधारमा ठुलो चोट लागी पछाडिपट्टिको टाउकोको भागमा समेत रहेको चोटमा रगतले कपालमा लतपतिएको अवस्थामा गोलीसमेत फेला परेको
देखेँ । उक्त घटना सम्बन्धमा भाइ राजकुमार चौलागाईले उक्त पेस्तोल कहिले को कहाँबाट ल्याएका हुन् मलाई केही थाहा छैन । निजसँगै अनुसन्धान गरिपाऊँ । मेरो छोरीको मृत्यु भाइ राजकुमारले चलाइरहेको पेस्तोल पड्की निधार तथा टाउकोमा चोट लागेको हो, थप अनुसन्धान गरिपाऊँ" ।
७. मृतक बालिकाकी आमा तारा न्यौपानेले प्रहरी अनुसन्धानका क्रममा कागज गर्दा तथा अदालतमा बकपत्र गर्दा निम्नानुसारको बेहोरा उल्लेख गरेको पाइयो:
“घरभित्र प्रतिवादी राजकुमार चौलागाई हुनुहुन्थ्यो, मृतक छोरीको बुबा रामकृष्ण चौलागाई छोरी बोकी घरभित्र जानुभयो, जाने बित्तिकै केही पड्केको आवाज आयो, हामी परिवारका सदस्यले टि.भी. पड्केको हो भन्ने सम्झियौ, पड्केपछि छोरीलाई बाहिर लिएर राजकुमार आउनुभयो, मृतक छोरीको अनुहार, कपडामा ब्लड (रगत) लागेको देखी उर्मिला चौलागाईले हस्पिटल लिएर जानुभयो, छोरीको मृत्यु भएको कुरा राति ११:३० मा थाहा पाएँ, पछि त्यसको भोलिपल्ट प्रहरीहरू घरमा आएपछि गोली लागेर छोरीको मृत्यु भएको कुरा थाहा
पाएँ । झै-झगडा केही थिएन, राम्रो सम्बन्ध थियो, मृतक र प्रतिवादीबिचमा काका भतिजीको सम्बन्ध थियो, प्रतिवादीले मृतकलाई मार्नुपर्ने केही कारण रिसइवी थिएन ।”
८. यस प्रकार मृतक बालिकाका बाबु, आमा तथा प्रतिवादी राजकुमारसमेतका घटनास्थलमा तत्काल उपस्थित मानिसहरूको भनाइबाट सुनियोजित रूपमा वा मनसाय राखेर ज्यान मार्ने कार्य गरिएको होइन भन्ने देखिएको छ । घटना विवरण कागज गर्ने (साक्षी) दिपशंकर चौलागाईले "प्रतिवादी शालीन व्यक्ति हुन्, मेरो शिष्य पनि हुन्, हतियार चलाउने, बदमासी गरी हिँड्ने व्यक्ति होइनन्, प्रतिवादीले हतियार चलाएको कुरामा मलाई विश्वास लाग्दैन, जाहेरवाला, मृतक र प्रतिवादीबिचको सम्बन्ध एकदम राम्रो रहेको थियो, मृतकको बुबा, आमा र प्रतिवादी एकदमै मिलेर बसेको परिवार भएको हुँदा मार्नुपर्ने केही रिसइवी थिएन" भनी बकपत्र गरेको देखिन्छ । जाहेरवाला रूद्रप्रसाद चौलागाईले बकपत्र गर्दा "मैले सुनेको प्रतिवादी राजकुमार चौलागाईले हतियार खेलाउँदा मृतक रेश्मा चौलागाईको मृत्यु भएको हो, राजकुमार सोझा, इमानदार व्यक्ति थिए, घटनाभन्दा अगाडि सिंगटीमा बेकरी चलाएर बसेको व्यापारी मान्छे हो" भनी लेखाएको देखियो । मृतकका बुबा तथा प्रतिवादीका दाजु रामकृष्ण चौलागाईले गरेको बकपत्रको जवाफ ७ मा "प्रतिवादी र हामीबिच कुनै रिसइवी थिएन, प्रतिवादीले पनि मृतक छोरीलाई माया गर्थे, प्रतिवादीले जानीजानी गोली चलाएको नभएकोले भवितव्य परी छोरीको मृत्यु भएको, मारौ भनेर मारेको होइन, त्यसैले अभियोग माग दाबीबमोजिम प्रतिवादीलाई सजाय हुनुपर्ने होइन, मैलेभन्दा प्रतिवादीले मृतक छोरीलाई बढी माया गर्ने, लुगा धुइदिने गर्थे" भन्ने बेहोरा उल्लेख गरेको देखियो । मृतककी आमा तारा न्यौपानेले समेत प्रतिवादीसँग सम्बन्ध राम्रो भएको, झैझगडा नभएको, प्रतिवादीले भतिजीलाई मार्नुपर्ने केही कारण रिसइवी नभएको भनी बकपत्रमा खुलाई दिएको देखिन्छ । जाहेरी बेहोरा, घटना विवरण कागज, मृतक बालिकाका बाबुआमालगायतका साक्षीहरू कोही कसैको भनाइबाट पनि प्रतिवादीले कुनै प्रकारको झै-झगडा, रिसइवी, दोषी मनोभावनाबाट कार्य गरेको भनी किञ्चित रूपमा सन्देहसम्म गरेको अवस्था देखिएन ।
९. कर्तव्य ज्यानसम्बन्धी कसुर कायम हुनका लागि आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens rea) दुवै तत्त्वको विद्यमानता हुन आवश्यक हुन्छ । घटनामा प्रयोग हुन पुगेको हतियार जोखिमी थियो वा थिएन भन्ने कुराका आधारमा मात्रै कसुरको निर्धारण गर्न मिल्दैन । सो हतियारबाट कसरी दुष्परिणाम पैदा हुन पुग्यो, वा कार्यको परिणामप्रति कर्ताको कुनै स्वाभाविक सचेतना थियो वा थिएन भन्ने पक्ष पनि महत्त्वपूर्ण र विचारणीय हुन्छ । खासगरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. बमोजिमको कसुरजन्य दायित्व स्थापित हुनका लागि मनसाय तत्त्वको विद्यमानता अनिवार्य ठानिन्छ । मनसाय तत्त्वको विद्यमानता रहेको कुरा कुनै तवरबाट पनि खुल्न नआएको अवस्थामा मनसायप्रेरित हत्याको कसुर ठहर गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुन
जान्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा प्रतिवादी राजकुमार चौलागाईले हेलचेक्र्याइँ वा असावधानीपूर्वक पेस्तोल चलाएको कारणबाट केवल ११ महिना उमेरकी अवोध बालिकाको मृत्यु हुन पुगेको देखिए तापनि निजले सो कार्य आपराधिक मनसाय राखेर वा जानीबुझी गरेको कार्यको परिणाम थियो भन्ने
देखिँदैन । यस अवस्थामा प्रतिवादी राजकुमार चौलागाईले कर्तव्य ज्यानको कसुर गरेको मानेर ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुने ठहर गर्नु कानून तथा फौजदारी न्यायका सिद्धान्तअनुकूल हुने देखिँदैन ।
१०. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. मा "ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त प्रावधानअनुसार एउटा कुनै काम असावधानी वा हेलचेक्र्याइँपूर्वक गर्दा अचानक अर्को अनपेक्षित दुष्परिणाम निस्कन गएमा त्यसलाई भवितव्य मान्नुपर्ने देखिन्छ । प्रस्तुत मुद्दाको तथ्यगत सन्दर्भमा हेर्दा करिब २३ वर्ष उमेरका प्रतिवादी राजकुमार चौलागाईले लम्बु शेर्पाबाट राख्न ल्याएको पेस्तोल अनावश्यक रूपमा (कौतुहल वा उत्सुकताको कारणबाट) खेलाउँदा हेलचेक्र्याइँ गरेको वा होस नपुर्याएको परिणामस्वरूप पड्किन गई नाबालिकाको ज्यान मरेको देखिएको हुँदा यसलाई भवितव्यबाट हुन गएको कार्य मान्नु न्यायोचित देखियो ।
११. हातहतियार तथा खरखजानातर्फको अभियोग दाबीतर्फ विचार गर्दा, प्रतिवादी राजकुमार चौलागाईले कटुवा पेस्तोल साथमा राख्ने इजाजत नलिई कानूनद्वारा निषेधित तवरबाट आफूसँग राखेको देखियो । निज प्रतिवादीले गरेको बयानबाट निजको पसलसँगै थुक्पा पसल सञ्चालन गरी बसेका लम्बु शेर्पा भन्ने व्यक्तिले एक हप्ताको लागि राख्न दिएको कटुवा पेस्तोल र ३ राउन गोली लुकाई राखेको भन्ने
देखिन्छ । सोही पेस्तोलबाट गोली चलेर बालिकाको मृत्यु भएको कुरामा विवाद छैन । सो पेस्तोल बरामद भएकोसमेत देखियो । यसरी गैरकानूनी तवरबाट पेस्तोल र गोली लुकाएर राख्ने कार्यलाई हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएको मान्नुपर्ने देखिन आयो ।
१२. अत: माथिका प्रकरणहरूमा विवेचित आधार र कारणबाट प्रतिवादी राजकुमार चौलागाईले असावधानी तथा हेलचेक्र्याइँपूर्वक पेस्तोल चलाउँदा अचानक पड्कन गई निजको ११ महिना उमेरकी भतिजी नाताकी रेश्मा चौलागाईको मृत्यु भवितव्यको रोहरीतबाट भएको देखिएकोले उच्च अदालत पाटनबाट मिति २०७४/०४/१० मा प्रतिवादी राजकुमार चौलागाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको फैसला केही उल्टी हुन्छ र निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिमको कसुरमा सोही महलको ६ नं. बमोजिम रू. ५००।- (पाँच सय) जरिवाना र २ (दुई) वर्ष कैद सजाय हुने ठहर्छ । हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) बमोजिम हुने ठहर गरिएको रू.६०,०००।- (साठी हजार) जरिवाना र सोही ऐनको दफा २०(३) बमोजिम ठहर गरिएको रू.२०,०००।- (बिस हजार) जरिवाना हुने ठहर गरेको हदसम्म उच्च अदालत पाटनको फैसला सदर हुन्छ । अरू तपसिलबमोजिम गर्नू:
तपसिल
१. प्रतिवादी राजकुमार चौलागाई प्रस्तुत मुद्दाको सन्दर्भमा मिति २०७२/०८/१२ मा पक्राउ परी हालसम्म ६ वर्षभन्दा केही बढी अवधि थुनामा रहेको देखिएकोले माथि ठहर खण्डमा उल्लेख भएबमोजिम निजलाई हुने ठहर भएको कुल २ (दुई) वर्ष कैद र रू. ८०,५००।- (असी हजार पाँच सय) जरिवाना असुल भइसकेको देखिँदा सो कुराको लगतसम्म राखी अन्य मुद्दा वा कारणबाट थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दामा राखिएको थुनाबाट निज प्रतिवादी राजकुमार चौलागाईलाई आजै थुनाबाट मुक्त गरिदिनू । यस अदालतबाट मिति २०७८/१०/२७ मा जारी भएको संक्षिप्त फैसलाअनुसार पत्राचार भई निज प्रतिवादी थुनाबाट मुक्त भइसकेको देखिँदा अब सोतर्फ थप केही गरिरहन परेन ।
२. फैसलाको प्रतिलिपिसहित जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाइदिनू ।
३. मुद्दा दायरीको लगत कट्टा गरी, फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुष्मालता माथेमा
इजलास अधिकृत:- माधवप्रसाद लोहनी
इति संवत् २०७८ साल माघ २७ गते रोज ५ शुभम् ।