निर्णय नं. १०८४५ - अपुताली नामसारी दर्तासमेत

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७८।५।१३
मुद्दा:- अपुताली नामसारी दर्तासमेत
०७५-CI-०१६३
पुनरावेदक / प्रतिवादी : स्व. राजुबहादुर शाहको श्रीमती काठमाडौं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ७ बुढानिलकण्ठ परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने जयन्ती क्षेत्री सिलवाल शाह
विरूद्ध
विपक्षी / वादी : सुवर्णबहादुरको छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह
०७५-CI-०२११
पुनरावेदक / प्रतिवादी : स्व. राजुबहादुर शाहको छोरी काठमाडौ जिल्ला, विष्णु गा.वि.स. वडा नं.७ बुढानिलकण्ठ परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने प्रियाणी शाह
विरूद्ध
विपक्षी / वादी : सुवर्णबहादुरको छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह
०७५-CI-०२६९
पुनरावेदक / वादी : सुवर्णबहादुरको छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह
विरूद्ध
विपक्षी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२५ को परिवर्तित वडा नं.२४ घर भई साबिक विष्णु गा.वि.स. वडा नं.७ को हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने जयन्ती शाहसमेत
०७५-CI-०७६२
पुनरावेदक / प्रतिवादी : स्व. राजुबहादुर शाहको श्रीमती सुनसरी जिल्ला, लौकही गा.वि.स. वडा नं.९ को हाल परिवर्तित ऐ. कोशी गाउँपालिका वडा नं.१ बस्ने कमला राजभण्डारी शाह
विरूद्ध
विपक्षी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह
अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई नै मर्ने व्यक्तिको अपुताली खाने पहिलो हकदार मानिएको देखिन्छ । बाँचुन्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्ता सम्पत्तिमा हक प्राप्त गर्ने कुरा अपुतालीको मूल मकसदभन्दा बाहिर जाने । स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि केवल नाता हकदार देखाएर अपुतालीको सम्पत्ति प्राप्त गर्न खोज्नु स्वाभाविक मान्न नमिल्ने ।
(प्रकरण नं.१२)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री मातृकाप्रसाद निरौला, श्री सतिस कृष्ण खरेल तथा विद्वान् अधिवक्ताहरू श्री ऋषिराज शर्मा, श्री रामकृष्ण काफ्ले, श्री राममाया लामिछाने, श्री टंकहरि दहाल, श्री सुस्मीता कोइराला, श्री माधवप्रसाद कोइराला, श्री खम्बबहादुर खाती र श्री राजकुमार निरौला
वादीका तर्फबाट : वरिष्ठ अधिवक्ताहरू श्री खगेन्द्रप्रसाद अधिकारी, श्री प्रकाशबहादुर के.सी., श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री केशव अर्याल
अवलम्बित नजिर :
ने.का.प.२०७७, अङ्क ३, नि.नं.१०४६०
ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०३९४
ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००९
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने
माननीय जिल्ला न्यायाधीश श्री हेमन्त रावल
काठमाडौं जिल्ला अदालत
उच्च तहमा फैसला गर्ने
माननीय न्यायाधीश श्री राजकुमार वन
माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे
उच्च अदालत पाटन
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा (१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
पिता सुवर्णबहादुर शाह र आमा कोमलकुमारी शाहको दाम्पत्यबाट २ छोरीहरू जेठी म फिरादी, कान्छी भारती शाह र छोरा राजुबहादुर शाहको जायजन्म भएको हो । हामी तीनै जनाको विवाह भैसकेको छ । पिता र माताको पति पत्नीको सम्बन्ध २०३४ सालमा नै विच्छेद भएको थियो । आमा कोमलकुमारीले आफ्नो पिता राम शम्शेर ज.ब.रा.समेतबाट प्राप्त गर्नुभएको दाइजोको घर जग्गामा बसी जीविकोपार्जन गरी आउनु भएको थियो । भाइ राजुबहादुरसमेत सुनसरीको घरमा बसी आएका छन् । म फिरादीसमेत २०५६ सालमा आफ्ना पतिसँग सम्बन्ध विच्छेद भएकोले आमाको सँगसाथमा बसी आमाको रेखदेख, हेरविचार गरी आमा वृद्ध भई अन्तिम अवस्थामा औषधोपचार गरी आएकोमा उपचारकै क्रममा मिति २०६२।३।२७ मा आमाको स्वर्गारोहण भएको थियो । भाइ राजुबहादुर शाहको मिति २०६४।१०।१५ मा आफ्नै कालगतिले स्वर्गारोहण भइसकेको छ । स्व. भाइको हक खाने हकदार पत्नीहरू विपक्षी जयन्ती शाह र कमला शाह तथा छोरी प्रियणी शाह छन् । यसरी छुट्टी भिन्न भई बसेकी स्वास्नी मानिस मरेमा त्यस्ती स्वास्नी मानिसको अपुतालीसँगै बसी स्याहार सम्भार गर्ने विवाहित छोरीले पाउने अवस्था मुलुकी ऐन अपुतालीको महलको ३ नं. मा भएनुसार स्व. आमा कोमलकुमारीको नाममा रहेको का.जि.का.म.न.पा. वडा नं.२५(ग) कि.नं.१२ र ऐ. वडा नं.१ कि.नं.२२६८ को घर जग्गा नामसारी गरी पाउन मालपोत कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेकोमा उल्लिखित घर जग्गा यस अदालतको च.नं.९९९ मिति २०६२।५।२१ को पत्रबाट रोक्का रहेको जानकारी हुन आएकोले के रहेछ भनी बुझ्दै जाँदा विपक्षीहरू जयन्ती शाह, प्रियणी शाह र प्रतिवादी राजुबहादुर शाह भएको संवत् २०६३।०६४ सालको दे.नं.३७२३ को अंश चलन मुद्दामा सम्मानित अदालतबाट भएको आदेशबमोजिम जग्गा रोक्का रहेको यथार्थ मिति २०६५।३।२५ को पुनरावेदन अदालत पाटनबाट भएको फैसलालगायतका कागजातहरूको नक्कल सारी थाहा जानकारी हुन आएकोले जिल्ला अदालतबाट मिति २०६४।१।२३ मा स्व. आमाको नाउँमा रहेको सम्पत्ति बण्डा गर्ने ठहर गरेको हदसम्म बदर गरिपाउन आजै काठमाडौं जिल्ला अदालतमा फैसला बदरमा नालेस गरिसकेको छु । अतः स्व. आमा कोमलकुमारीको नाममा मालपोत कार्यालय सुनसरीमा दर्ता कायम रहेको सुनसरी जिल्ला, इटहरी न.पा. वडा नं.४(क) कि.नं.९२ क्षेत्रफल ०-२-३-१/२ ऐ. कि.नं.३५ को क्षेत्रफल ०-१-९१/२ ऐ. कि.नं.३६ को क्षेत्रफल ०-८-० कि.नं.४१ को ०-०-३१/२ ऐ कि.नं.४२ को ०-०-२१/२ ऐ. ४(ग) कि.नं.७१६ को ०-१-० ऐ. कि.नं.७१७ को ०-१-४- १/२ ऐ. वडा नं.४(क) कि.नं.१५९४ को ०-०-१५ ऐ. कि.नं.१५९८ को ०-०-१७, ऐ. ४(ग) कि.नं.८५२ को ०-१-० ऐ. कि.नं.१०७४ को ०-६-० गरी कुल क्षेत्रफल बिगाहा १-१-१५१/२, मालपोत कार्यालय काठमाडौंमा दर्ता कायम रहेको का.जि.का.म.न.पा. वडा नं.२५(ग) कि.नं.१२ क्षेत्रफल ५-१३-०-० को जग्गा १ ऐ. वडा नं.१ कि.नं.२२६८ को क्षेत्रफल ०-०-२१/२ र मालपोत कार्यालय मोरङ्गमा दर्ता कायम रहेको मोरङ्ग जिल्ला, विराटनगर उ.म.न.पा. वडा नं.१३ कि.नं.२ को क्षेत्रफल ०-१-२-२ र ऐ. कि.नं.४८ को ०-११-४ समेतका घर जग्गा तथा नेपाल बैंकमा रहेको बैंक बचत लकर र नेपाल एस.बि.आई. बैंकमा रहेको बैंक खातासमेत मेरो नाममा दाखेल खारेज नामसारी दर्तासमेत गरिपाऊँ ।
विपक्षीको वादी दाबी झुठ्ठा हो । विपक्षी वादी, सासू कोमलकुमारी शाहको सँगसाथमा बसी आएको पनि होइन र विपक्षीले आमालाई कुनै स्याहार सम्भार हेरविचार औषधोपचार गरेको पनि होइन र त्यसरी हेरविचार गर्नुपर्ने अवस्था पनि थिएन । स्व. सासू कोमलकुमारी शाहले ससुरा सुवर्णबहादुर शाहसँग २०३४ सालमा सम्बन्ध विच्छेद गरे तापनि उहाँको छोरा म प्रतिउत्तरवालाको पति/पिता राजुबहादुर शाहको सँगसाथमै एकासगोलमा बसोबास गरी आउनु भएको थियो । म प्रतिउत्तरवाला सासूको मृत्यु हुनुभन्दा अगाडिदेखि नै पतिले हेला गर्ने कुटपिट गर्ने र विभिन्न किसिमको मानसिक तथा शारीरिक यातना दिएकाले विपक्षी पतिको साथमा सँगै बस्न नसकी माइतीमा गई बसी पति पितासँग अंश दिलाइपाउँ भनी यसै सम्मानित अदालतमा मिति २०६४।१।२३ मा मुद्दा दायर गरी यसै अदालतबाट ३ भागको २ भाग अंश पाउने ठहरी फैसला भएको सो फैसलाउपर पुनरावेदन परी विचाराधीन रहेको अवस्थामा पति / पिताको मिति २०६४।१०।१५ मा मृत्युपछि विपक्षी आमाजूले हामीलाई दुःख दिने नियतले उनाउ महिला प्रतिवादी बनाएकी कमला राजभण्डारी भन्नेसँग मिलोमतो गरी सम्पत्ति बाँडी खाने नियतले कलुषित भावनाले मात्र प्रस्तुत फिरादपत्र दायर गरेकी हुन् । मुलुकी ऐन अपुतालीको महलको २ नं. बमोजिम हकवाला छोराले अपुताली पाउने भन्ने कानूनी व्यवस्था भएअनुसार आमा कोमलकुमारी शाहको निधनपछि निजको एक मात्र छोरा राजुबहादुर शाहले प्राप्त गरेको सम्पत्तिमा वादी विपक्षीको हक नपुग्नेमा विपक्षीले स्व. सासू कोमलकुमारीको साथमा बसेको स्याहार सम्भार गरेको उपचार गरेको भनी सासूको मृत्युपश्चात् ३ वर्षपछि दायर गरेको प्रस्तुत फिराद अपुतालीको २० नं. बमोजिम हदम्याद नाघी दायर भएको हुँदा फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादी जयन्ती शाहसमेतको प्रतिउत्तर जिकिर ।
विपक्षीको वादी दाबी झुठ्ठो हो । विपक्षीले अपुतालीको ११ नं. अनुसार दाबी लिनु भएको छ । सर्वप्रथम २०५८ सालदेखि नै सौता तथा उहाँको छोरी माइती मावलीमा गई बस्नु भएपछि पतिले मसँग दोस्रो विवाह गर्नुभएको हो । पति राजुबहादुर शाह र मसमेतले सासू कोमलकुमारी शाहको लालन पालन, स्याहार सम्भार तथा औषधी उपचार गरी सँगै बसी आएको अवस्थामा सासूको निधनपश्चात् उहाँको नामको अचल सम्पत्ति पति राजुबहादुर शाहले अपुतालीको २ नं. बमोजिम अपुतालीको हक क्रमअनुसार प्राप्त गरेको सम्पत्ति हो । सोअनुसार विष्णु बुढानिलकण्ठको जग्गा पतिको नाममा नामसारी भइसकेको छ । विपक्षी वादी साक्षी बसी केही जग्गा तिलकराज कँडेललाई बिक्रीसमेत गर्नुभएको अवस्थाले स्व. सासूको नाउँको सम्पत्तिबाट विपक्षीले अपुताली पाउने होइन भन्ने प्रस्ट
देखिन्छ । सौता जयन्ती शाह र छोरी प्रियणी शाहले पतिलाई विपक्षी बनाई दायर गर्नुभएको अंश मुद्दा पतिको मिति २०६४।१०।१५ मा निधन भएपछि उहाँका नामको मुद्दा मैले सकार गरेको अवस्थामा पुनरावेदन अदालत पाटनबाट सो अंश मुद्दामा उल्लेख भएको सम्पत्तिबाट प्रतिवादीमध्ये जयन्ती शाहसमेतलाई मैले अंश दिनुपर्ने ठहर भई मिति २०६५।७।५ मा नै फैसलासमेत भइसकेको अवस्थामा दाबीको घर जग्गामा म तथा सौता र छोरीको हक कायम भएको जग्गा सम्पत्ति हो । सो सम्पत्तिमा विपक्षीलाई फिराद गर्ने हकदैया नभएकोले विपक्षीको फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कमला शाह राजभण्डारीको प्रतिउत्तर जिकिर ।
प्रतिवादी जयन्ती शाहको साक्षी कमला पाण्डे प्रतिवादी कमला राजभण्डारीका साक्षी कुमार बरालले गरेको बकपत्र मिसिल सामेल रहेको ।
यसमा लगाउको रूपमा रहेको दे.नं.५५४७ को फैसला बदर मुद्दा मुल्तबीमा रहने गरी आजै आदेश भएकोले प्रस्तुत मुद्दासमेत उक्त मुद्दा साथै राखी एकै पटक विचार गर्नुपर्ने अवस्थाको हुँदा उक्त मुद्दा मुल्तबीबाट जागेपछि प्रस्तुत मुद्दासमेत जगाई कारबाही गर्ने गरी अ.वं. १२ नं. बमोजिम मुल्तबीमा राखी दिएको छ भन्ने मिति २०६६।१०।७ को सुरू अदालतको आदेश ।
यसमा यसै लगाउको फैसला बदर मुद्दा आजै मुल्तबीबाट जागी कारबाही सुरू भएको हुँदा प्रस्तुत मुद्दासमेत मुल्तबीबाट जगाई दिएको छ । सम्बन्धित दायरीमा दर्ता गरी मुल्तबी रहँदाका बखत तारेखमा रहेको वादीको नाउँमा ७ दिने उनाउ म्याद जारी गरी नियमानुसार पेस गर्नु भन्ने मिति २०७०।११।३० को सुरू अदालतको आदेश ।
जुनसुकै स्रोतबाट आमालाई प्राप्त भएको सम्पत्ति आफ्नो बाबुसँग सम्बन्ध विच्छेद भई आमाले अर्को विवाह नगर्दासम्म साथमा रहेका छोराछोरीमध्ये अंश वा अपुताली जुनसुकै बेहोराबाट पनि छोराले नै पहिलो हक प्राप्त गर्ने हुँदा प्रस्तुत मुद्दामा पनि प्रतिवादी जयन्ती शाह, कमला शाहका लोग्ने एवं प्रियणी शाहका पिता राजुबहादुर शाह र निजको शेषपछि निजका श्रीमती एवं छोरीले नै अपुताली हक कायम गर्न सक्ने मुलुकी ऐन अपुतालीको महलको २ नं. को क्रममा देखिँदा सो हकवालाको क्रम विपरीत वादीले फिराद दायर गरेको देखिन आएकोले फिराद दाबीबमोजिम वादीका नाममा अपुताली नामसारी दर्ता गर्न
मिलेन । अतः प्रस्तुत मुद्दामा फिरादीको फिराद दाबी पुग्न सक्दैन भन्ने सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।०४।२८ मा भएको फैसला ।
पिता सुवर्णबहादुर शाह र आमा कोमलकुमारी शाहको दाम्पत्यबाट २ छोरीहरू जेठी म फिरादी, कान्छी भारती शाह र छोरा राजुबहादुर शाहको जायजन्म भएको हो । हामी तीनै जनाको विवाह भइसकेको छ । पिता र माताको पति पत्नीको सम्बन्ध विच्छेद २०२६।०३।२६ मा नै भएको थियो । आमाले आफ्नो पिता राम शम्शेर ज.ब.रा. समेतबाट प्राप्त गर्नुभएको दाइजो घर जग्गामा बसी जीविकोपार्जन गरी आउनु भएको थियो भाइ राजुबहादुर मुमा कोमलकुमारीको लालन पालन, स्याहार सम्भार नगरी सुनसरी जिल्लामै बसोबास गरेका कारण म फिरादीसमेत २०५६ सालमा आफ्ना पतिसँग सम्बन्ध विच्छेद भएकोले मेरो घरमा मेरो साथमा बसी आमाको रेखदेख, हेरविचार, स्याहार सम्भार गरी आएकोमा पछि मुमा वर्ष दिनसम्म बिरामी भई थला परी २०६२।०३।२७ मा स्वर्गारोहण हुनुभयो । मुमाको पार्थिव शरीरलाई स्वर्गारोहण भएकै दिन दाहसंस्कार नगरी नगराई एक दिन पर्खि अस्पतालबाट म फिरादी आफैँले मुमाको पार्थिक शरीर बुझी पशुपति आर्यघाटमा दाग बत्ती, दाहसंस्कार काजक्रियासमेत आफैँले गराएकी हुँ तथा वार्षिक श्राद्ध पनि मैले नै गराउँदै आएको छु । भाइ राजबहादुरको मिति २०६४।१०।१५ मा स्वार्गारोहण भइसकेको
छ । प्रतिवादीहरू राजुबहादुरका दुई पत्नी जयन्ती शाह र कमला शाह तथा छोरी प्रयार्णा शाह छन् ।
आमा कोमलकुमारीको नाममा दर्ता भएका घर जग्गालगायतको श्रीसम्पत्ति माइतीतर्फ माता पिताबाट दाइजो रूपमा प्राप्त भएको, आमा कोमलकुमारी वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नहुँदा छोराको हक नलाग्ने अवस्था तथा अंशबण्डाको महलअनुसार अंश प्राप्त गर्ने अवस्था हुँदैन यस्तो अवस्थामा प्रतिवादीहरूको हक प्राप्त गर्ने अवस्था
छैन । जीवनकालभरि राजुबहादुर शाहले दर्ता नगराएको र गराउन नसकेको सम्पत्तिमा अन्यले भन्ने आधारमा प्रतिवादीहरूको हक लाग्ने अवस्था छैन । त्यसैले मेरो अपुताली अन्यलाई असर गर्ने अवस्था हुँदैन, स्याहार सम्भार गर्नेले मात्र खान पाउने अवस्था अपुतालीको ३ नं. ले गरेको र हकवालाले स्याहार सम्भार नगरी बाहिरीया अन्य व्यक्तिले गरेमा पनि त्यस्तो स्याहार सम्भार गर्नेले पाउने अपुतालीको ११ नं. मा भएको व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतका आधार भएको अवस्थामा मलाई हराई काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०७२।०४।२८ को फैसला उल्टी गरी मेरो फिराद दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी हिमालयदेवी शाहको उच्च अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
कोमलकुमारीको पालन पोषण, काज किरिया गरेकोले निजको सम्पत्तिमा अपुताली हक कायममा फिराद परेकोमा निजको पालन पोषण कसले गरेको थियो ? प्रमाण बुझी यकिन गरी फैसला गर्नुपर्नेमा पालन पोषणको प्रमाण नबुझी भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा छलफल प्रयोजनको लागि प्रत्यर्थीहरूलाई अ.वं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम म्याद सूचना जारी गरी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नुहोला भन्ने उच्च अदालत पाटनबाट मिति २०७४।३।११ मा भएको आदेश ।
आमा कोमलकुमारीको नाम दर्ताको सम्पूर्ण जग्गा जमिन केवल छोरा नाता भएको आधारमा मात्र प्रतिवादी राजुबहादुर शाहको मात्र हक लाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।४।२८ मा वादीको दाबी पुग्न नसक्ने ठहर गरी भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई आमा कोमलकुमारीको नाम दर्ताको फिरादपत्रमा उल्लिखित विवादित घर जग्गासमेतमा अपुतालीको ३ र ११ नं. बमोजिम वादी हिमालयदेवी शाह र राजुबहादुर शाहको बराबर हक लाग्ने देखिँदा उक्त उल्लिखित घर जग्गासमेतमा २ भागको १ भागमा यी पुनरावेदक वादी हिमालयदेवी शाहसमेतको अपुताली हक कायम हुने ठहर्याई सम्पूर्ण घर जग्गा आफ्ना नाममा दा.खा. नामसारी गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने भनी उच्च अदालत पाटनबाट मिति २०७५।३।१८ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा दायर भएको विपक्षीको फिराद हदम्यादविहीन छ । विपक्षी वादीले नै आमा कोमलकुमारीको मृत्यु २०६२।३।२७ मा भएको स्वीकार गरी फिराद २०६५।३।३० मा मात्र दर्ता भएको छ । मुलुकी ऐन अपुतालीको महलको २० नं. ले ३ वर्षभित्र नालेस दिनु पर्नेमा सो हदम्याद व्यतित गरी परेको विपक्षीको फिराद नै खारेजभागी छ । मुलुकी ऐन अपुतालीको महलको ३ र ११ नं. उद्धृत गर्दै विपक्षी वादीले पालनपोषण रेखदेख संरक्षण गरेको भन्ने निष्कर्ष हदैसम्म र त्रुटिपूर्ण छ । म पुनरावेदक र पति राजुबहादुर शाहबिचमा २०३७ सालमा विवाह भएको हो । विवाहपछि स्व. सासू र म हरदम सँगै बस्यौं । पति राजुबहादुर शाह कहिले काठमाडौं कहिले इटहरी बस्नु हुन्थ्यो तर पनि निरन्तर स्व. सासू सँगै उहाँकै रेखदेखमा उहाँसँगै बसी स्थायी हेरचाह स्याहार सम्भार गर्ने सहयोगीको रूपमा म थिएँ । विपक्षी वादीले सासू आमाको परलोकपछि शवगृहमा लास राखेको भनेको बिल देखाएर पालनपोषण हेरचाह गरेको पुष्टि हुन सक्दैन । अपुतालीको महलको २ नं. समेतले छोरा बुहारी हुँदाहुँदै अन्य कसैले अपुताली पाउन सक्ने होइन । विपक्षी वादी कहिलेकाहीँ सासूआमा र हामी बसेको सगोल घरमा आउनु हुन्थ्यो, केही सामान्य वार्तालाप गरी फर्कनु हुन्थ्यो । मुलुकी ऐन, अपुतालीको महलको सुरूदेखि अन्त्यसम्मका सबै दफा र कानूनी व्यवस्था हेर्दा अपुताली सँगसाथमा बसी पालन पोषण, हेरचाह गर्ने नजिकको हकवालाले पाउने हो । सँगसाथमा बसी पालन पोषण हेरचाह गर्ने नजिकको हकवाला सहोदर छोरा र म बुहारी हुँ । छोरा बुहरी हुँदाहुँदै विपक्षीले पनि अपुताली पाउने गरी भएको फैसला हदैसम्म त्रुटिपूर्ण छ । अपुताली हक कायम गरी सम्पत्ति आधा आधा गरिदिने कुनै कानूनले अधिकार दिँदैन । विपक्षी वादी स्वयंले लिखित रूपमा कागज गरी यो सम्पत्ति मेरो होइन भाइ राजुबहादुर शाहको हकको सम्पत्ति हो भनी मिति २०६३।२।१० मा सम्बन्धित निकाय पाकिस्तानी दूतावासलाई लेखिदिएको हुँदाहुँदै, थप बुझ्ने वा वादीको कागज गराई खुलाउनेसम्म नगरी हतारमा फैसला भएको छ । सासू आमाका आमा बुबाबाट उहाँलाई प्राप्त भई उहाँको शेषपछि विपक्षी वादी, भारती सिंह तथा मेरा पतिसमेतले प्राप्त गर्ने का.जि.का.म.न.पा.वडा नं.२५(ग) कि.नं.१४, ३७ र १६ नं. समेतको जम्मा क्षे.फ.७-७-२ (टंगालदरबार) मध्येबाट ३ भागको १ भाग घर जग्गा विपक्षी वादीले पाई सुर्यकुमारी के.सी.लाई बिक्री गरिसकेकी
छन् । अन्य सम्पत्तिमा स्याहार सम्भार पालनपोषण र मृत्युपछि काजक्रिया गर्ने छोरा तथा बुहारीको हक लाग्ने हो । मेरो पुनरावेदन जिकिर अनुसार मिति २०७५।३।१८ को उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण हुनका साथै कानून तथा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तसमेतको प्रतिकूल भएको हुँदा उक्त फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी जयन्ती क्षेत्री सिलवाल शाहको तर्फबाट यस अदालतमा पर्न आएको मिति २०७५।५।६ को पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दामा दायर भएको विपक्षीको फिराद हदम्यादविहीन छ । विपक्षी वादीले नै हजुरआमा कोमलकुमारीको मृत्यु २०६२।३।२७ मा भएको स्वीकार गरी फिराद २०६५।३।३० मा मात्र दर्ता भएको छ । मुलुकी ऐन अपुतालीको महलको २० नं. ले ३ वर्षभित्र नालेस दिनुपर्नेमा सो हदम्याद व्यतीत गरी परेको विपक्षीको फिराद नै खारेज भागी छ । उच्च अदालतको फैसलामा मुलुकी ऐन अपुतालीको महलको ३ नं. तथा ११ नं. उद्धृत गर्दै विपक्षी वादीले पालनपोषण रेखदेख संरक्षण गरेको भनी निकालिएको निष्कर्ष हदैसम्म झुठ्ठा र त्रुटिपूर्ण छ । स्व. हजुरआमाको स्थायी हेरचाह स्याहार सम्भार गर्ने सहयोगीको रूपमा म थिएँ । विपक्षी वादीले कहिल्यै स्व. हजुरआमाको सेवा, हेरचाह गर्नुभएन । आफूखुसी पटकपटक विवाह गरी हिँडेकाले आमा छोरीको सम्बन्ध राम्रो थिएन । विपक्षी वादीले स्व. हजुरआमाको सेवा हेरचाह गरेको कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा केवल उहाँको परलोकपछि शवगृहमा लास राखेको भनेको बिल देखाएर पालन पोषण हेरचाह गरेको पुष्टि हुन
सक्दैन । मेरा पिता र आमासमेतले हजुरआमाको स्याहार सम्भार गरी कर्तव्य निभाएको, विपक्षी वादीले कुनै कर्तव्य ननिभाएको अवस्थामा कानूनविपरीत आधा हक पाउने गरी फैसला गर्न मिल्ने होइन ।
हजुरआमा र हजुरबुबाबिचमा सम्बन्ध विच्छेद भएको भए पनि बचपनदेखि सँगसाथ बसेको छोरा प्राकृतिक र कानूनी रूपले स्वतः नजिकको हकवाला हुन्छ । मुलुकी ऐन स्त्री अंशधनको महलको ५ नं. समेतले आमाको सम्पत्तिमा सँग बसेको छोराको हक प्राथमिकतामा पर्ने हुन्छ । हजुरआमा कोमलकुमारी उहाँको इच्छाअनुसार कहिले सुनसरी इटहरीमा हामीसँग र कहिले काठमाडौंमा हामीसँग बस्नुभएको थियो । आमा र छोराको सम्बन्ध जहिलेसुकै प्राकृत्तिक, अन्योन्याश्रित प्रगाढ हुन्छ । विपक्षी वादी कहिलेकाहीँ हजुरआमा र हामी बसेको सगोल घरमा आउनु हुन्थ्यो, केही सामान्य वार्तालाप गरी फर्कनु
हुन्थ्यो । हजुरआमाको जीवनको उत्तरार्धसम्म हामीसँगै हुनुहुन्थ्यो, उहाँ आफैँ पनि सक्षम हुनुहुन्थ्यो साथमा हामी उहाँसँगै थियौं । मुलुकी ऐन अपुतालीको महलको सुरूदेखि अन्त्यसम्मका सबै दफा र कानूनी व्यवस्था हेर्दा अपुताली सँगसाथमा बसी पालनपोषण हेरचाह गरेको नजिकको हकवालाले पाउँछ । संगसाथमा बसी पालन पोषण हेरचाह गर्ने नजिकको हकवाला सहोदर छोरा तथा बुहारी मेरा बुबाआमा हुन । स्व. हजुरआमा, विपक्षी र भारती सिंहसमेतले शे.ब. पाएको भनेको सम्पत्ति विपक्षीसमेतले पहिले नै पाइसकेको छ । हजुरआमाका आमा बुबाबाट उहाँलाई प्राप्त भई उहाँको शेषपछि विपक्षी वादी, भारती सिंह तथा मेरा पिता राजुबहादुर शाहसमेतले प्राप्त गर्ने का.जि.का.म.न.पा. वडा नं. २(ग) कि.नं.१४, ३७ र १६ नं. समेतको जम्मा क्षे.फ.७-७-२ (टंगालदरबार) मध्येबाट ३ भागको १ भाग घर जग्गा विपक्षी वादीले पाई सूर्यकुमारी के.सी.लाई बिक्री गरिसकेकी छन् । अन्य सम्पत्तिमा स्याहार सम्भार पालनपोषण र मृत्युपछि काजक्रिया गर्ने छोरा तथा बुहारीको हक लाग्ने हो, विपक्षीको होइन । हजुरआमा परलोक भई छोरा बुहारी शोकमग्न रहेको अवस्थामा स्वाभाविक रूपले हजुरआमाको मृत शरीर शव गृहमा राख्दा प्राप्त बिलमा विपक्षीको नाम उल्लेख भएका कारण विपक्षीको हक लाग्ने भन्न मिल्ने
होइन । अपुताली हक छोराले नै पाउने गरी प्रतिपादित ने.का.प.२०५७ अङ्क ४ पृष्ठ ३४९ नि.नं.६८९४, समेतमा प्रकाशित भएका नजिर सिद्धान्तविपरीत मिति २०७५।०३।१८ को उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण भएको हुँदा सो फैसला बदर गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी प्रियाणी शाहको तर्फबाट यस अदालतमा पर्न आएको मिति २०७५।०५।१४ को पुनरावेदनपत्र ।
बुबा सुवर्णबहादुर र आमा कोमलकुमारीबिच २०३४ सालमा काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएपश्चात् पिता सुवर्णबहादुर र भाइ राजुबहादुर शाह प्रारम्भमा लाल दरबार र पछि सुनसरीको भोक्राहाँ, कञ्चनवाडी बस्दै आउनुभएको थियो । एकातर्फ आमा कोमलकुमारी काठमाडौं भन्दा बाहिर कहिल्यै पनि बसोबास गर्नुभएन भने अर्कोतर्फ २०३६/२०३७ सालपछि भाइ राजुबहादुरको कहिल्यै पनि काठमाडौंमा बसोबास नभएको एक्लै सुनसरीमा बस्दै आएको, भाइको आमाप्रतिको बेवास्तालगायतका कारणले काठमाडौंमा एकल अवस्थामा रहेकी वृद्ध अवस्थाकी आमा कोमलकुमारीको स्याहार सम्भार औषधी पानी रेखदेख गर्ने कोही नभएको, कसैले नगरेको र म पुनरावेदिका हिमालयदेवी शाहको पनि मिति २०५६ सालमा पतिसँग सम्बन्ध विच्छेद भई एक्लै रहेकीले मैले नै वृद्ध तथा एकल अवस्थाकी मेरो आमालाई आफ्नो नक्साल घरमा राखी सँगैको हिमाल अस्पतालमा निरन्तर उपचार गराई लालनपालन गरी आमाको हेरचाह स्याहार सम्भार गरी मृत्युपश्चात् पनि छोरीले जो जे गर्नुपर्ने सम्पूर्ण संस्कार क्रियाकर्म गरेकी हुँ ।
विपक्षी जयन्ती शाह तथा प्रियाणी शाह वादी र राजुबहादुर शाह प्रतिवादी भई चलेको संवत् २०६३।६४ को दे.नं. ३७२३ को अंश मुद्दामा राजुबहादुर शाहले काठमाडौं जिल्ला अदालतमा मिति २०६२।८।८ मा पेस गरेको प्रतिउत्तरपत्रको वतन महल तथा प्रतिउत्तरमा आफ्नो वास्तविक वतन सुनसरीको इटहरी तथा लौकहीमा रहेको । आमा कोमलकुमारीले आफ्नो पिता राम शमशेरबाट प्राप्त गरेको निजी सम्पत्तिबाट मिति २०३७।११।२६ मा गरिदिनुभएको बकसपत्रको जग्गाबाहेक अन्य कुनै पैतृक सम्पत्ति आफूसँग नरहेको, आमा कोमलकुमारीका नाममा रहेको घर जग्गा सम्पत्ति कोमलकुमारीको निजी घर जग्गा रहेको, आमा कोमलकुमारी काठमाडौंमा बस्ने गर्नुभएको भन्ने दाबी जिकिर रहेको छ । आमाका नामको सम्पत्तिमा आफ्नो कुनै पनि प्रकारको हक नरहेको भन्ने राजुबहादुरको प्रतिउत्तर जिकिर रहेकोबाट राजुबहादुरको नै हक नरहेको सम्पत्तिमा विपक्षीहरूको हक हुने प्रश्न आउँदैन । संवत् २०६३।६४ को दे. नं. ३७२३ को अंश मुद्दामा विपक्षी जयन्ती शाह तथा प्रियाणी शाहले काठमाडौं जिल्ला अदालतमा मिति २०६२।५।१६ मा पेस गरेको फिरादपत्रमा हाम्रो घर इटहरीमा भएको कारण इटहरी मै बस्ने गरेको राजुबहादुर शाह पनि इटहरीमै बस्ने गरेको भन्ने उद्धृत तथ्यबाट काठमाडौंमा बस्ने आमा कोमलकुमारीको स्याहार सम्भार भाइ तथा विपक्षीहरूबाट नभएको प्रस्ट छ । सम्बन्ध विच्छेदपश्चात् एकल रूपमा रहनुभएकी आमा कोमलकुमारी म पुनरावेदिकासँगै नक्सालस्थित मेरै घरमा बस्ने गर्नु हुन्थ्यो । आमा उक्त रक्तचाप, मधुमेह र मृगौला काम नलाग्ने (फेल) रोगको बिरामी रहनुभएकोले आमाको औषधी उपचारमा छिटो छरितो र सहजताको लागि मेरो नक्साल स्थित घरबाट ५ मिनेटको पैदल दूरीमा रहेको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा लगी मेरै खर्चमा औषधी उपचार गराउने गर्दथेँ । परलोक हुनभन्दा १ वर्षअघिदेखि आमा गम्भीर बिरामी पर्नुभएकोले अन्तिम अवस्थामा निरन्तर आमासँग साथमा रही हेरचाह स्याहार सम्भार र औषधी उपचार गर्दै आएकीमा मिति २०६२।३।२७ गतेका दिन आमा परलोक हुनुभयो । आमा परलोक हुने अन्तिम अवस्थामा आमाको मुखमा पानी मैले राखिदिएकी हुँ र आमाको परलोकपछि, धार्मिक संस्कारअनुसार आवश्यक पर्ने छोरा इटहरीमै बस्ने गरेकोले भाई आउलान् कि भनी स्वर्गारोहण भएकै दिन दाहा संस्कार नगरी एकदिन पर्खी आमाको पार्थिव शरीरलाई त्रि.वि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा राखी मिति २०६२।३।२८ मा पशुपति आर्यघाटमा परम्पराअनुसार दाहसंस्कार गरी आफ्नो नक्साल स्थित घरमा नै काज क्रिया सम्पन्न गरी गराई काज क्रियामा लागेको सम्पूर्ण खचसमेत म पुनरावेदिकाले नै बेहोरेकी हुँ । आमा कोमलकुमारीको हेरचाह रेखदेख पनि मैले नै गराउँदै आएकी छु । सो तथ्य आमाको मृत्यु दर्ता प्रमाण पत्र, नागरिकता प्रमाण पत्र, अस्पतालले दिएको Death Certificate, त्रि.वि.वि.शिक्षण अस्पतालको Mortuary मा शव राखिदिनको लागि दिएको निवेदनका साथै छोरीको हैसियतले गर्नुपर्ने संस्कार क्रिया कर्म मैले गरेकोले राजुबहादुरले पनि क्रिया गरेको भन्ने एक मात्र आधारबाट मैले स्याहार सम्भार गरेकी आमाको अपुतालीको सम्पत्ति पितासँग २०३४ सालमा सम्बन्ध विच्छेद भएका कारण पैतृक रूपमा आमा कोमलकुमारीका अंशियार हकवाला नै नरहेका व्यक्तिका पत्नी एवं छोरी हकदैयाविहीन भन्ने स्पष्ट देखिइरहेको अवस्थामा मेरो आधा अपुताली हक समाप्त हुने गरी उच्च अदालत पाटनबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी ऐन अपुतालीको महलको ३ र ११ नं. को त्रुटिरहेको छ । सम्बन्ध विच्छेद भइसकेका लोग्ने र निजतर्फका छोराले हेरचाह नगरी विवाहिता छोरीले स्याहार सम्भार गरी पालेकोमा स्याहार सम्भार गर्ने विवाहित छोरीले मर्नेको अपुताली पाउने हकवालाले स्याहार सम्भार नगरी बाहिरिया अन्य व्यक्तिले गरेमा पनि त्यस्तो स्याहार सम्भार गर्नेले अपुताली पाउने भन्ने कानूनी व्यवस्था र स्थापित सिद्धान्तको विपरीत भएको सुरू तथा उच्च अदालतको फैसला सर्वोच्च अदालतबाट ने.का.प.२०४४ पृष्ठ ५०७ स्थापित नजिर सिद्धान्तसमेतको प्रतिकूल हुनाले सुरू तथा उच्च अदालत पाटनको फैसला उल्टी गरी फिराद दाबीबमोजिम दाबीको सम्पूर्ण घर जग्गामा म पुनरावेदक वादीको अपुताली हक कायम नामसारी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी हिमालयदेवी शाहको तर्फबाट यस अदालतमा पर्न आएको मिति २०७५।६।४ को पुनरावेदनपत्र ।
सासू कोमलकुमारी छोरा राजुबहादुर र म बुहारी कमलाराज भण्डारी शाह सँगै बसेको र हामीले हेरविचार गरेको हुँदा सासूको नाउँमा रहेको केही सम्पत्ति मेरा पति स्व.राजुबहादुर शाहका नाउँमा नामसारी भई तिलकराज कँडेललाई बिक्री गर्दा विपक्षी वादी स्वयम् आफैँ राजीनामा लिखतमा साक्षी बसी हक हस्तान्तरण भएबाट विपक्षी वादीलाई आमा तथा सासूको नाउँको जग्गामा आफूले अपुताली पाउने भनी दाबी लिनको लागि प्रमाण ऐन,२०३१ को दफा ३४ अनुसार विबन्धित रहेको अवस्थामा उच्च अदालत पाटनले फैसला गर्दा अपुतालीको २ र ३ लाई एकैसाथ राखी व्याख्या गरी ३ नं. अनुसार वादीले अपुताली पाउने भनी आधार लिन मिल्दैन । अर्कोतर्फ स्त्री अंश धनको ५ नं. अनुसार आमा तथा सासूले आफूखुस गर्न पाउने सम्पत्तिमा राजुबहादर शाहको एकलौटी अंश हक लाग्न नसक्ने भन्ने फैसला गर्दा लिएको आधारको सम्बन्धमा यदि कसैले आफूखुस गर्न पाउने सम्पत्ति कसैलाई हकहस्तान्तरण गरिसकेको अवस्थामा मात्र स्त्री अंश धनको ५ नं. अनुसार व्याख्या गरी आफूखुस गर्न पाउने अवस्था हुन्छ । विपक्षी वादीलाई आफूले अपुताली हक प्राप्त गर्ने भनी दाबी गरिएको अपुताली हकमा प्रस्तुत मुद्दामा फिराद गर्ने हकदैया नभएको अवस्थामा विपक्षीले दायर गरेको फिराद तत्काल प्रचलित मुलुकी ऐन अ.व. ८२ नं. बमोजिम खारेजभागी छ । अर्कोतर्फ अपुताली हक कायम गर्नका लागि अपुताली महलको २० नं. अनुसार ३ वर्षभित्रमा फिराद गर्नुपर्नेमा हदम्याद व्यतीत भएपछि फिराद दायर भएको छ । मुलुकी ऐन अपुतालीको महल ३ नं. अनुसार छुट्टीभिन्न भएको छोरा बुहारीले पालनपोषण हेरचाह नगरेको अवस्थामा मात्र विवाह भएको छोरीले पालन पोषण गरेमा अपुताली पाउने व्यवस्था हो । हाम्रो हकमा सो आकर्षित हुने अवस्था छैन आमा तथा सासू कोमलकुमारी शाह छोरा राजुबहादुर शाहसँग छुट्टिभिन्न नभएको एकासगोलमा वसेको कुरामा कुनै विवाद नै छैन । सासू र मेरा पतिका बिचमा अंशबण्डा भएको कुनै प्रमाण देखिएको छैन । यसरी हामी छोरा बुहारीले पालन पोषण औषधी उपचार गरेको अवस्थामा सोलाई अपव्याख्या गरी अपुताली महलको ३ नं. अनुसार वादीले आमालाई पालनपोषण औषधी उपचार गरेको भन्ने आधारमा सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी दुई भागको एक भाग वादीले अपुताली पाउने गरी भएको उच्च अदालत पाटनको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प.२०५७, अङ्क ४, पृष्ठ ३४९, नि.नं.६८९४, सिद्धान्तसमेतको विपरीत भई त्रुटिपूर्ण र बदरभागी भएकोले मेरो पुनरावेदन जिकिरअनुसार मिति २०७५।३।१८ को उच्च अदालत पाटनको फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी कमला राजभण्डारी शाहको तर्फबाट यस अदालतमा पर्न आएको मिति २०७५।११।१२ को पुनरावेदनपत्र ।
यसमा प्रस्तुत मुद्दामा उच्च अदालत पाटनको मिति २०७५।३।१८ को फैसलाउपर वादी हिमालयदेवी शाहले सबै प्रतिवादीहरूउपर पुनरावेदन दायर गरेको र प्रतिवादीहरू जयन्ती क्षेत्री सिलवाल शाह, प्रियाणी शाह र कमला राजभण्डारीले वादी हिमालयदेवी शाहउपर छुट्टाछुट्टै पुनरावेदन दायर गरेको भई प्रस्तुत मुद्दाका वादी प्रतिवादीहरू दुवै पक्षको पुनरावेदन परेको देखिएकोले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) को प्रयोजनार्थ परेका पुनरावेदनहरू वादी प्रतिवादीलाई परस्पर सुनाई नियमानुसार पेस गर्नुहोला भन्ने यस अदालतबाट मिति २०७६।५।११ मा भएको आदेश ।
दुवै पक्षलाई बहस नोट पेस गर्नु भन्ने यस अदालतको मिति २०७७।१।३० को आदेशानुसार पेस भएको बहस नोट ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजातहरूको अध्ययन गरी पुनरावेदक प्रतिवादी जयन्ती क्षेत्री सिलवाल शाह र प्रियाणी शाहको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल तथा श्री मातृकाप्रसाद निरौला र विद्वान् अधिवक्ताहरू श्री ऋषिराज शर्मा, श्री रामकृष्ण काफ्ले, श्री राममाया लामिछाने, श्री टंकहरि दहाल तथा श्री सुस्मीता कोइरालाले कोमलकुमारी शाहको परलोक मिति २०६२।३।२७ मा भएको निर्विवाद तथ्य हो । कानूनले निर्धारण गरेको हदम्याद व्यतीत गरी मिति २०६५।३।३० मा दायर भएको फिराद हदम्यादविहीन भई खारेजभागी छ । सबै सम्पत्ति पहिले नै लिई खाइसकेपछि हकै नपुग्ने सम्पत्तिमा दाबी गरेको र विपक्षी आफैँले मौकामा स्वीकार गरेको सत्य बेहोरा हाल अस्वीकार गरेको अवस्थामा हक नपुग्ने कुनै हकदैया नभएको विषयमा फिराद गरेको हुँदा मुलुकी ऐन अ.बं.८२ नं. समेत बमोजिम विपक्षीको फिराद खारेजभागी थियो । सासू / हजुरआमा कोमलकुमारी शाह मिति २०६२।३।२७ मा परलोक हुँदा बहाल रहेको कानूनी व्यवस्था मुलुकी ऐन अपुतालीको महलको २ नं. मा “अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन ” भन्ने कानूनी व्यवस्था छ । हाम्रा पति पिता राजुबहादुर शाह स्व. सासू / हजुरआमाको वास्तविक एक मात्र हकवाला र संरक्षक छोरा हुनुहुन्थ्यो । सो तथ्यको पुष्टिका लागि हाम्रा पति पिताले आमाको एक मात्र छोरा हकदार संरक्षक राजुबहादुर शाह भएको वास्तविकतालाई स्वीकार गरी सुनसरी जिल्ला अदालतबाट मिति २०६२।२।३१ मा सो वास्तविकता पुष्टि हुने प्रमाणित भएको अवस्थामा आमाको अपुतालीको वास्तविक हकदार र संरक्षकसमेत हाम्रो पक्षको पति पिता नै हो । आमा छोराको सम्बन्ध प्राकृतिक र जैविक
हुन्छ । त्यसैले बाबुआमाको सम्बन्ध बिच्छेद भए पनि सासूआमा छोरासँग साथमा बसेको र छोराले नै पूरा संरक्षकत्व प्रदान गरेको हो । अपुतालीको महलको ११ नं. को व्यवस्था छोराछोरीका लागि होइन । सो व्यवस्थाको लाभ विपक्षीले पाउने होइन । मुलुकी ऐन तत्कालीन अपुतालीको महलको २ नं. को परिणाम भनेको छोरा भएसम्म वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउन सक्दैनन् । कोमलकुमारी परलोक हुँदाको मिति २०६२।३।२७ सम्म कायम रहेको कानूनले छोरा र छोराको छोरा भएसम्म छोरीले अपुताली नपाउने प्रस्ट व्यवस्था गरेको छ । त्यस अवस्थामा हाम्रो पक्षको जीवित छोरा राजबहादुर शाह एकमात्र हकदार संरक्षक भएकोले त्यसै दिनबाट आमाको सम्पत्तिमा स्वतः छोराको हक स्थापित भइसकेको छ । यसै सन्दर्भमा ने.का.प. २०५७, अङ्क ६/७, नि.नं.६९२४ तथा ने.का.प. २०५७, अङ्क ४, नि.नं.६८९४ समेतको स्थापित नजिर सिद्धान्तका र उल्लिखित कानूनी व्यवस्थाको रोहमा विपक्षी वादीको हक लाग्न सक्दैन । कमला राजभण्डारी हाम्रो परिवारको सदस्य नै होइनन् । निजले हामी वादी जयन्ती शाहसमेत प्रतिवादी राजुबहादुर शाह भएको अंश मुद्दामा पुनरावेदन अदालतमा मुद्दा सकार गरेको भए पनि मिति २०७१।१२।२ मा सर्वोच्च अदालतले फैसला गर्दा निजलाई राजुबहादुर शाहको हकवाला मानेन । विपक्षी कमला राजभण्डारीले दायर गरेको रिट नं.०६७-WO-०२२६ को मुद्दामा निजले विष्णु बुढानिलकण्ठ गा.वि.स.का सचिवलाई गफलतमा पारी रेकर्ड स्रेस्ता आधार प्रमाणविना अनधिकृत तवरले पिता राजुबहादुर शाहकी पत्नी भनी मिति २०६४।४।२५ को नाता, प्रमाणित प्रमाणपत्रसमेत बदर भएको छ । उच्च अदालत विराटनगरबाट मिति २०७४।६।२४ मा फैसला हुँदा राजुबहादुर शाहको मृत्युपछि लौकही गा.वि.स.बाट राजुबहादुर शाहको श्रीमती भएको भनी लिएको सिफारिस सोको आधारमा २०६४।१०।२९ मा जिल्ला प्रशासन कार्यालयबाट पतिको नाम राजुबहादुर शाह भनी नागरिकताको प्रतिलिपि लिएको देखिएको, उक्त विष्णु बुढानिलकण्ठ गा.वि.स.बाट लिएको नाता प्रमाणपत्र बदर भइसकेको अवस्थामा सोही आधारमा लिएको नागरिकताको प्रमाणपत्रसमेत सदर रहन सक्ने देखिँदैन । निजको नाता प्रमाण पत्र र नागरिकतासमेत शून्य हुने गरी मिति २०७४।६।२४ मा फैसला भएकोले विपक्षी कमला राजभण्डारीको पुनरावेदन स्वत: बदरभागी भएकोले उच्च अदालत पाटनबाट मिति २०७४।३।१८ मा भएको फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको सुरू फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादी कमला राजभण्डारी शाहको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिसकृष्ण खरेल विद्वान् अधिवक्ताहरू श्री माधवप्रसाद कोइराला, श्री खम्बबहादुर खाती र श्री राजकुमार निरौलाले जीवित छँदा आमा कोमलकुमारी शाहलाई हिमालय शाहले पालन पोषण गरेको भन्ने कुनै प्रमाण देखिँदैन । केवल आमाको मृत्युपछि मृत्यु दर्ता प्रमाण पत्र र शव गृहमा शव राख्न दिएको निवेदनबाट जीवित छँदा स्याहार सम्भार गरेको भनी व्याख्या गर्न मिल्ने होइन । साबिक मुलुकी ऐन स्त्री अंशधन महलको ५ नं. समेतले आमाको सम्पत्तिमा सँगै बसेको छोराको हक प्रथम प्राथमिकतामा पर्ने भएको हुँदा स्वत: आमाको सम्पत्तिमा छोराको हक लाग्दछ । अपुतालीको २ नं. अनुसार छोरा भएसम्म विवाहित छोरीले अपुताली नपाउने र अपुतालीको ३ र ११ को विशेष व्यवस्थालाई हेर्दासमेत छट्टि भिन्न भएको छोराले नपाल्दाको अवस्थामा मात्र विवाहित छोरीले जीवित छँदा स्याहार सम्भार गरेको भए मात्र पाउने र अरू हकवालाले नपाउने हो । छोरा राजुबहादुर शाहले आमा कोमलकुमारी शाहलाई जीवित छँदा स्याहार सम्भार गरेको र हिमाल नर्सिङ होममा दीर्घरोगी भई सासूको उपचार गराउँदा हेरचाहको लागि नर्ससमेत खटाएको अवस्थामा द्वन्द्वका कारण बाध्य भई आफ्नो सम्पत्ति रहेको ठाउँ सुनसरीमा बसी आमाले देह त्याग गर्दा साथमा नभएको कारणबाट स्याहार सम्भार नगरेको भन्न मिल्ने होइन । प्रियाणी शाह दोस्रो पुस्ता भएको कारणबाट निजले बुबा राजुबहादुर शाहको अपुताली हक पाउने अवस्था होइन । आमा कोमल कमारी शाहको अपुताली हक छोरा राजुबहादुर शाहको मृत्युपश्चात् छोरासँग बसेका बुहारीले अपुताली हक प्राप्त गर्ने र छोरासँग बस्दा बुहारीले सासूको स्याहार सम्भार गरेको देखिनुपर्ने हुँदा प्रस्तुत मुद्दामा राजुबहादुर शाहको मृत्यु आमा कोमलकुमारीको मृत्यु भएपश्चात् २ वर्ष ७ महिना १२ दिनपश्चात् राजुबहादुरको मृत्यु भएको र राजुबहादुर शाहको जेठी श्रीमती जयन्ती क्षेत्री सिलवाल शाह र कान्छी श्रीमती कमला राज भण्डारी शाह २ जना
रहेको । जेठी श्रीमती जयन्तीले २०६२।५।१६ मा दायर गरेको अंश चलनको फिरादबाट नै सासू कोमलकुमारी शाहको मृत्यु हुनु ६ वर्ष अगावैदेखि नै माइतीमा बसेको र सासूसँग कहिले पनि राम्रो सम्बन्ध हुन नसकोको भनी उल्लेख गरेबाट सासूलाई जीवित छँदा स्याहार सम्भार नगरेको कुरा पुष्टि भएको हुँदा स्व. सासू कोमलकुमारी शाहको अपुताली हक छोरा राजुबहादुर शाहको कान्छी श्रीमती कमला राज भण्डारी शाहले निजको सासू कोमलकुमारी शाहको अपुताली पाउने हुँदा उच्च अदालत पाटनबाट भएको फैसला बदर गरी मेरो पक्ष कमला राज भण्डारी शाहलाई उक्त सम्पत्तिको अपुताली दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक वादी हिमालयदेवी शाहको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ताहरू श्री खगेन्द्रप्रसाद अधिकारी, श्री प्रकाशबहादुर के.सी., श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री केशव अर्यालले २०५६ सालमा हिमालय शाहले भोला शाहसँग सम्बन्ध विच्छेद गरी एकल महिलाको रूपमा नक्साल स्थित घरमा आमा कोमलकुमारीसँग सँगै बस्दै आएको तथ्य निर्विवाद देखिन्छ । २०२६ सालमा सम्बन्ध विच्छेद भई एकल रूपमा बस्दै आएकी वृद्ध तथा रोगी आमा कोमलकुमारीलाई एकल महिला हिमालय शाहले नै रेखदेख स्याहार सम्भार औषधी उपचार गर्ने र गर्दै आएको हो । इटहरीमा बस्ने विपक्षीहरू र राजुबहादुरले काठमाडौंमा रहेकी कोमलकुमारीलाई रेखदेख स्याहार सम्भार गरेको भन्ने जिकिर निराधार छ । वादी हिमालय शाहले आमा कोमलकुमारीलाई आफ्नो घर नजिकैको हस्पिटलमा भर्ना गरी औषधी उपचार गराउनुका अतिरिक्त आफ्नो नजिकको टंगालमा गई स्याहार सम्भार रेखदेख गर्ने र नक्साल स्थित आफ्नो घरमा समेत ल्याई राखी स्याहार सम्भार गर्दै आएको मृत्यु पर्यन्त पनि छोरीले नै सदगत गरी गराई आफ्नै घरमा मृत्यु संस्कार गरेको भन्ने कुरा समग्र प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणहरूबाट कोमलकुमारीको हेरचाह रेखदेख स्याहार सम्भार वादी हिमालय शाहले नै गरेको प्रस्ट छ । सुवर्णबहादुर शाहको परिवार र छोरा राजुबहादुरसमेतबाट कानूनी र व्यावहारिक रूपमा पूर्ण रूपले अलगिएकी एकल तथा वृद्ध अवस्थाकी कोमलकुमारी बिरामी भइरहने भएकोले औषधी उपचारको लागि वादी हिमालय शाहले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गराई उपचार गराउँदै आएको अवस्थामा सोही हस्पिटलमा मिति २०६२।०३।२७ मा कोमलकुमारीको मृत्यु भएको देखिन्छ । Death Certificate का आधारमा कोमलकुमारीको औषधी उपचारलगायतको सम्पूर्ण कार्य हिमालय शाहले गरेको भन्ने स्पष्ट छ । मर्नेको रेखदेख स्याहार सम्भार गर्नेले अपुताली पाउने कानूनी व्यवस्था रहेको देखिन्छ, कानूनी प्रश्नमा विबन्धन लाग्दैन । कोमलकुमारी परलोक हुँदाका बखत कायम रहेको मुलुकी ऐन अपुतालीको महलको ११ नं. मा यस महलको अन्य नम्बरमा जुनसुकै का लेखिएको भए तापनि मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको सबै चल अचल सम्पत्ति त्यस्तो स्याहार सम्भार गर्नेले पाउँछ । अपुतालीको ३ नं. को हकवालाको क्रमभित्र विवाहिता छोरी पनि समावेश रहेको र हकवाला बाहेकका व्यक्तिको हकमा व्यवस्था गरिएको तत्कालको अपुतालीको ११ नं. को व्यवस्थाबमोजिम पनि सबै अपुताली वादी हिमालय शाहले पाउनुपर्नेमा प्रस्ट कानूनी आधार र व्यवस्था हुँदाहुँदै हिमालय शाह र राजुबहादुर शाहलाई आधा आधा अपुताली हक कायम हुने ठहर गरेको उच्च अदालत पाटनको फैसलामा तत्काल कायम रहेको अपुतालीको महलको ३, ११ नं. प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ मुलुकी ऐन अ.बं. १८४क, १८५ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १६८ समेतको त्रुटि
देखिन्छ । तत्काल र हाल प्रचलित कानूनी व्यवस्थाअनुसार स्व. कोमलकुमारीको सम्पत्तिमा वादी हिमालय शाहको एकलौटी अपुताली हक हुने भिन्न भई बसेका लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराका छोरा वा निजको अविवाहित छोरीले हेरचाह नगरी विवाहिता छोरीले मर्नेको हेरचाह रेखदेख स्याहार सम्भार गरेको अवस्थामा विवाहिता छोरीले अपुताली पाउने तत्काल कोमलकुमारी परलोक हुँदाका बखतको कानूनी व्यवस्था देखिन्छ । कोमलकुमारीका नामको सम्पत्ति स्त्री अंशधनको सम्पत्ति भनेकोबाट कोमलकुमारीका नामको सम्पत्तिमा राजुबहादुरको हक लाग्ने देखिँदैन । राजुबहादुरको नै हक नदेखिएको स्थितिमा राजुबहादुरको पत्नी / छोरी विपक्षीहरूलाई स्व. कोमलकुमारीको अपुतालीको सम्पत्तिमा हक प्राप्त हुन सक्तैन । साबिकदेखि हालसम्मको कानूनी व्यवस्थालाई हेर्दा स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्नेको अपुताली खाने पहिलो प्राथमिकतामा राखेको देखिन्छ । स्याहार सम्भार गर्ने व्यक्ति भएसम्म अरूले अपुताली खान पाउने नदेखिएको अवस्थामा स्व. कोमलकुमारीको रेखदेख स्याहार सम्भार गर्ने हिमालय शाहले नै स्व. कोमलकुमारीको अपुतालीको सबै सम्पत्ति खान पाउने देखिएकोले विपक्षीहरूले कोमलकुमारीको अपुताली खान पाउने अवस्था छैन । हिमालय शाहको पनि सम्बन्ध विच्छेद भई आमासँग एकासगोलमा बस्दै आएको अवस्थाबाट सम्पत्तिको हकवाला हिमालय शाह नै रहेको
देखिन्छ । कोमलकुमारीलाई वादी हिमालय शाहले रेखदेख स्याहार सम्भार गरेको तथ्य जिकिर कानून र यस अदालतबाट स्थापित सिद्धान्तसमेतबाट पुष्टि भएकोले कोमलकुमारीको आधा सम्पत्तिमा मात्र अपुताली हक कायम हुने ठहर गरेको हदसम्म उच्च अदालत पाटनको फैसला उल्टी गरी फिराद दाबीमा उल्लिखित स्व. कोमलकुमारीको सम्पूर्ण सम्पत्तिमा, रेखदेख स्याहार सम्भार गर्ने नजिकको हकवाला वादी हिमालय शाहको एकलौटी अपुताली हक कायम नामसारी र दर्तासमेत गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्यगत विषय र दुवै पक्षको बहस जिकिर रहेको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल संलग्न प्रमाण कागजात तथा लिखित बहस नोटसमेतको अध्ययन गरी हेर्दा, वादी दाबी नपुग्ने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी दुई भागको एक भागमा वादीको अपुताली हक कायम हुने ठहर्याई उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी र पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, स्व. आमा कोमलकुमारी शाहले आफ्नो पिता राम शम्शेर ज.ब.रा.बाट फिरादपत्रमा उल्लिखित मालपोत कार्यालय सुनसरीमा दर्ता भएको कि.नं. ९२, ३५, ३६, ४१, ४२, ७१६, ७१७, १५९४, १५९८, ८५२, १०७४ समेत कुल क्षेत्रफल १-१-१५१/२ र मालपोत कार्यालय काठमाडौंमा दर्ता रहेको का.जि.का.म.न.पा. वडा नं. २५(ग) कि.नं. १२ कि.नं. २२६८ कूल क्षेत्रफल ५-१३-२१/२ को घर जग्गा तथा मालपोत कार्यालय मोरङमा दर्ता रहेको विराटनगर उपमहानगरपालिका वडा नं. १३ कि.नं. २ कि.नं. ४८ को ०-११-४ समेतको घर जग्गामा हक प्राप्त गरेको हो । मेरो पिता सुवर्णबहादुरसँग आमा कोमलकुमारीले सम्बन्ध विच्छेद गरी एक्लै बसेको अवस्थामा छोरी म वादी हिमालयदेवी शाहले हेरचाह, पालनपोषण, स्याहार सुसार र औषधी उपचार गरी आएकोमा आमाको मिति २०६२।३।२७ मा निधन भएपश्चात् मैले गर्नुपर्ने सबै कर्महरू गरी आएकोले आमाको नामको उल्लिखित कित्ताको घर जग्गाहरू मुलुकी ऐन अपुतालीको महलको ३ र ११ नं. बमोजिम आफूले प्राप्त गर्नुपर्नेमा विपक्षीहरूले निजहरूको नाममा नामसारी दर्ता गराएकोले उल्लिखित घर जग्गाहरू तथा नेपाल बैंकमा रहेको बैंक बचत लकर र नेपाल एस.बि.आई. बैंकमा रहेको बैंक खातासमेत मेरो नाममा अपुताली हक कायम गरी नामसारी दर्तासमेत गरिपाउँ भन्ने फिराद दाबी रहेकोमा आमा कोमलकुमारी शाह र बुबा सुवर्णबहादुर शाहको बिच सम्बन्ध विच्छेद भई आमा अलग बसे तापनि आमाको अन्तिम अवस्थासम्म आफूहरूले नै हेरविचार पालन पोषण स्याहार सम्भार गरी एकासगोलमै बसी आएको र बाबुसँग मात्रै सम्बन्ध विच्छेद भएको हो । आमा सासू तथा बज्यैसँगको हाम्रो नाता सम्बन्ध यथावत् कायमै रहेको र हामीहरूले नै आमाको अन्तिम अवस्थासम्म पनि स्याहार सुसार पालन पोषण र औषधोपचारको दायित्व निर्वाह गरी रहेको अवस्थामा केही दिन माइतीमा आमासँगै बसी सामान्य हेरचाह गरेकै आधारमा वादीले पिताको नाम र अन्य कुनै पनि बेहोराले आमालाई प्राप्त भएको सम्पत्तिमा अपुताली हक दाबी गर्न मिल्दैन । आमाको नाममा जुनसुकै तरिकाले प्राप्त भएको सम्पत्तिमा अंशियार वा अपुताली जुनसुकै तरिकाले भए पनि पहिलो हक छोराकै हुने हुँदा छोरा राजुबहादुर शाह परिवारमा आमासँगै रहेको अवस्थामा विवाह गरी परघर गई आफ्नो लोग्नेसँग सम्बन्ध विच्छेद गरेपश्चात् आमाको घर आई केही दिनसँगै बसेको कारणले मात्र अपुताली हक दाबी गर्न मिल्दैन । मुलुकी ऐन अपुतालीको महलको २ नं. बमोजिम हकवाला छोराले अपुताली पाउने भन्ने कानूनी व्यवस्था भएनुसार आमा कोमलकुमारी शाहको निधनपछि निजको एक मात्र छोरा राजुबहादुर शाहले प्राप्त गरेको सम्पत्तिमा वादी विपक्षीको हक पुग्न सक्दैन । साथै विपक्षीले स्व. सासू कोमलकुमारीको मृत्युपश्चात् ३ वर्षपछि दायर गरेको प्रस्तुत फिराद अपुतालीको २० नं. बमोजिम हदम्याद नाघी दायर भएको हुँदा फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादी जयन्ती शाहसमेतको प्रतिउत्तर जिकिर रहेकोमा मुलुकी ऐन अपुतालीको महलको २ नं. अनुसार हकवालाको क्रम विपरीत वादीले फिराद दायर गरेको देखिन आएकोले फिराद दाबीबमोजिम वादीका नाममा अपुताली नामसारी दर्ता गर्न नमिल्ने भई आमा कोमलकुमारीको नाम दर्ताको सम्पूर्ण जग्गा जमिन छोरा नाता भएको आधारमा मात्र प्रतिवादी राजुबहादुर शाहको मात्र हक लाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।४।२८ मा वादी दाबी नपुग्ने ठहर गरी भएको फैसला केही उल्टी गरी आमा कोमलकुमारी शाहको नाम दर्ताको फिरादपत्रमा उल्लिखित विवादित घर जग्गासमेतमा अपुतालीको ३ र ११ नं. बमोजिम वादी हिमालयदेवी शाह र राजुबहादुर शाहको बराबर हक लाग्ने भनी उल्लिखित घर जग्गासमेतमा २ भागको १ भागमा पुनरावेदक वादी हिमालयदेवी शाहसमेतको अपुताली हक कायम हुने ठहर्याई सम्पूर्ण घर जग्गा आफ्ना नाममा दा.खा. नामसारी गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५।३।१८ मा भएको फैसलाउपर चित्त नबुझाई उच्च अदालत पाटनको फैसला बदर गरी सुरू सदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीहरू तथा सुरू तथा उच्च अदालत पाटनको फैसला उल्टी गरी फिराद दाबीबमोजिम दाबीको सम्पूर्ण घर जग्गामा वादीको अपुताली हक कायम नामसारी दर्ता गरिपाउँ भन्ने पुनरावेदक वादीको तर्फबाट यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन परेको देखियो ।
३. प्रस्तुत मुद्दामा वादी हिमालयदेवी शाह र प्रतिवादी राजुबहादुर शाहका पिता सुर्वण शाह र आमा कोमलकुमारी शाहको बिचमा सम्बन्ध विच्छेद हुँदा पति सुर्वण शाहबाट आमा कोमलकुमारी शाहले कुनै सम्पत्ति नलिएको तथा आमा कोमलकुमारी शाहको नाममा हाल दर्ता रहेको घरजग्गा निजका पिता राम शम्शेर ज.ब.रा.ले शेषपछिको बकसपत्र गरी छोरी कोमलकुमारी शाहलाई दिएको तथ्य तथा सुवर्ण शाह र कोमलकुमारीको २ जना छोरीहरू भारती शाह र वादी हिमालयदेवी शाह एवं एक छोरा प्रतिवादी राजुबहादुर शाहको जायजन्म भएको तथ्यमा कुनै विवाद देखिँदैन ।
४. सुवर्णबहादुर शाह र कोमलकुमारी शाहका बिच सम्बन्ध विच्छेद भई काठमाडौंमा छोरीसँग बस्दै आएकी कोमलकुमारीको मिति २०६२।०३।२७ मा परलोक भएको देखिन्छ । मिति २०६२।०३।२७ मा आमा कोमलकुमारीको मृत्युपश्चात् वादी हिमालयदेवी शाहले आमाका नामको घर जग्गा सम्पत्ति आफ्नो नाममा दाखेल खारेज नामसारी दर्ता गरिपाउँ भनी दर्ता नं. ६२८ मिति २०६५।०३।१९ मा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिई कारबाही चलाएकोमा काठमाडौं जिल्ला अदालतमा दे.नं.३७२३ को अंशचलन मुद्दा परी काठमाडौं जिल्ला अदालतको च.नं. ९९९।०६२।५।२१ को पत्रले उक्त घर जग्गाहरू रोक्का रहेको कारण मालपोत कार्यालयबाट वादी हिमालय शाहको नाउँमा अपुताली हक नामसारी हुन सकेको देखिँदैन । तत्पश्चात् यी वादी हिमालयदेवी शाहले काठमाडौं जिल्ला अदालतमा हाललाई कोर्ट फि नलिई पछि ठहरेबमोजिम हुने गरी मुद्दा दर्ता गरिपाउँ भनी फिराद लिई मिति २०६५।३।२६ मा दर्ताको लागि गएकोमा फिरादमा उल्लिखित जग्गाको के कति मूल्य पर्ने हो र सोको के कति कोर्ट फी हुन आउँछ सो कुरा फिराद र निवेदनमा उल्लेख गरेको नदेखिँदा निवेदकबाट सो सम्बन्धमा खुलाउन लगाई कागज गराई फिरादीको आर्थिक अवस्था के कस्तो छ अन्य आयस्रोत छ, छैन ? सो सम्बन्धमा सम्बन्धित वडा कार्यालयबाट सिफारिस गरी आएपछि पेस गर्नु भन्ने मिति २०६५।३।२७ मा काठमाडौं जिल्ला अदालतबाट आदेश भएको
देखिन्छ । यी वादीले मिति २०६५।३।२६ मा फिराद दर्ताको लागि काठमाडौं जिल्ला अदालत गएको भए तापनि मिति २०६५।३।३० मा मात्र उक्त फिराद काठमाडौं जिल्ला अदालतमा विधिवत् दर्ता भएको देखिन्छ । यसरी यी वादीले मिति २०६५।०३।२६ मा अपुताली नामसारी दर्ता गरिपाउँ भनी फिराद लिएर अदालत प्रवेश गरेको कुरालाई अनदेखा गर्न मिल्ने देखिँदैन । यस पृष्ठभूमिमा वादी हिमालयदेवी शाह आमाको नाउँको सम्पत्ति निजको देहावसानपश्चात् अपुतालीको हैसियतले आफ्नो नाममा नामसारी गराउन समयमा नै अदालत प्रवेश गरेको कुरालाई अन्यथा मान्न मिल्ने देखिँदैन । यसरी अपुताली नामसारीको लागि मिति २०६५।३।१९ मा मालपोत कार्यालयमा निवेदन र मिति २०६५।३।२६ मा फिराद लिई जिल्ला अदालत गएकोमा आमाको अपुताली लिन तीन वर्षको हदम्यादभित्र नालेस नदिएको भनी अपुतालीको हक नै समाप्त हुने गरी प्रस्तुत मुद्दाको फिराद हदम्यादभन्दा बाहिरको भन्न मिल्ने अवस्था नदेखिँदा वादी हिमालयदेवी शाहलाई प्रस्तुत फिराद गर्ने हकदैया तथा फिराद हदम्यादभित्र छैन भन्ने प्रतिवादीहरूको जिकिर मनासिब देखिन आएन ।
५. प्रस्तुत मुद्दामा प्रतिवादी जयन्ती शाहसमेतले कोमलकुमारी र आफूहरू एकासगोलमा रहेको अवस्थामा सासू कोमलकुमारी शाहको मृत्यु भएको भनी प्रतिउत्तरपत्रमा जिकिर लिएको भए तापनि वादी कोमलकुमारी र प्रतिवादी सुवर्णबहादुर शाहका बिच चलेको फौ.मि.नं. ७७४ को सम्बन्ध विच्छेद मुद्दामा मिति २०२६।०३।२६ मा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाले सुवर्णबहादुर शाह र कोमलकुमारीका बिचको पति पत्नीको सम्बन्ध विच्छेद भएको देखिन्छ । प्रतिवादीहरू जयन्ती शाहसमेतले वादी भई दायर गरेको दे.नं.३७२३ को अंश मुद्दाका प्रतिवादी राजुबहादुर शाह स्वर्गीय शुवर्णबहादुर शाह तथा स्वर्गीय कोमलकुमारी शाहका एकमात्र छोरा हुन् । उक्त मुद्दामा ससुरा / हजुरबुबा तथा सासू हजुरआमाको २८ वर्ष अगाडि सम्बन्ध विच्छेद भइसकेको भन्ने बेहोरा उल्लेख गरिको छ । राजुबहादुर शाहले देखाएको आफ्नो वतन टंगालदरबार र काठमाडौंमा आफ्नो पैतृक सम्पत्ति र घर बासस्थान नभई मेरी आमा कोमलकुमारीको हक भोगको हो भनी उल्लेख गरेबाट पनि आमा कोमलकुमारी सम्बन्ध विच्छेद हुँदाका बखतदेखि नै यी प्रतिवादीहरूसँग साथमा नबसी काठमाडौंको टंगाल स्थित आफ्नै घरमा अलग्गै बस्दै आएको भन्ने देखिन्छ । राजुबहादुर शाहले आफू साबिकदेखि नै सुनसरीको इटहरीमा बस्दै आएको भनी उक्त अंश मुद्दाको प्रतिउत्तर पत्रमा उल्लेख गरेका छन् । राजुबहादुर शाहले आफू र आमा कोमलकुमारी एकासगोलमा बसेको अंशियार हौं र कोमलकुमारी नामको सम्पत्ति पनि अंशबण्डा लाग्ने सम्पत्ति हो भनी उक्त अंश मुद्दाको प्रतिउत्तर पत्रमा कहीँकतै उल्लेखसम्म गर्न सकेको देखिँदैन । यी प्रतिवादीका आमा कोमलकुमारी बाबु सुवर्णबहादुर शाहसँग सम्बन्ध विच्छेद गरेपछि कानूनत: मानो जोडिएको लिखत नभएको अवस्थामा आमा छोरा पनि भिन्न भई बसेको मान्नुपर्ने हुन आउँछ । कानूनबमोजिम मानो जोडिएर छोरा राजुबहादुर शाहसँगै बसेको भन्ने कुरा पुष्टि नभएसम्म प्रतिवादी राजुवहादुर शाह आमा कोमलकुमारी शाहसँग सँगै बसेको भन्ने तथ्य पुष्टि भएको देखिन आउँदैन ।
६. काठमाडौं जिल्ला अदालतको मिति २०२६।३।२६ को फैसलाले सुवर्णबहादुर शाह र कोमलकुमारीका बिच सम्बन्ध विच्छेद हुँदा सुवर्णबहादुर शाह लालदरबार र कोमलकुमारी शाह टंगाल दरबारमा बस्दै आएको तथ्य उक्त सम्बन्ध विच्छेद मुद्दामा उल्लेख भएको वतन बेहोराबाट
देखिन्छ । राजुबहादुर शाह साबिकमा सुनसरी जिल्लाको लौकही गा.वि.स. वडा नं. ९ बस्ने गरेको भन्ने प्रियाणी शाह र जयन्ती शाह वादी र राजुबहादुर शाह प्रतिवादी भई काठमाडौं जिल्ला अदालतमा चलेको दे.नं.३७२३ को अंश मुद्दामा राजुबहादुर शाहले काठमाडौं जिल्ला अदालतमा आमाको मृत्युपश्चात् मिति २०६२।८।८ मा पेस गरेको प्रतिउत्तरमा मैले आमा कोमलकुमारीले आफ्नो निजी सम्पत्तिबाट मलाई २०३७।११।२६ मा गरिदिनु भएको बकसपत्रको जग्गा बिक्री गरी घर बनाई बस्दै आएको सुनसरीको लौकही मेरो वास्तविक वतन रहेको भनी लेखिएबाट २०३७ सालभन्दा अघिदेखि नै राजुबहादुर शाह सुनसरीको लौकहीमा बस्दै आएको देखिन्छ । निजको काठमाडौंमा बसोबास रहेको देखिँदैन भने अर्कोतर्फ कोमलकुमारी पति सँग सम्बन्ध विच्छेदपश्चात् तत्कालको अवस्थामा माइतीबाट प्राप्त दाइजोको सम्पत्ति काठमाडौंको टंगालमा र पछि छोरी / वादी हिमालय शाहसँग बसोबास गर्दै आएको
देखिन्छ । त्यसैगरी २०५६ सालमा वादी हिमालय शाहको पति भोला शाहसँग सम्बन्ध विच्छेद भएपश्चात् नक्साल स्थित घरमा आमा कोमलकुमारीसँग सँगै बस्दै आएको देखिन्छ । २०२६ सालमा सम्बन्ध विच्छेद भई एकल रूपमा बस्दै आएकी वृद्ध तथा रोगी आमा कोमलकुमारीलाई छोरी हिमालय शाहले नै रेखदेख स्याहार सम्भार औषधी उपचार गर्दै आएको देखिन्छ । छोरी हिमालय शाहले आमा कोमलकुमारी बिरामी हुँदा आफ्नो घर नजिकैको हस्पिटलमा भर्ना गरी औषधी उपचार गराउनुका अतिरिक्त आमालाई नक्साल स्थित आफ्नो घरमा समेत ल्याई राखी स्याहार सम्भार गर्दै आएको र मृत्यु पर्यन्त पनि छोरीले नै आफ्नै घरबाट सद्गत गराई आफ्नै घरमा दाजु राजुबहादुर शाहमार्फत काजक्रिया श्राद्ध पिण्ड पानीसमेत गरेको भन्ने तथ्य मिसिल संलग्न कागजातहरूबाट प्रस्ट हुन गएको छ ।
७. सुवर्णबहादुर शाहको परिवार र छोरा राजुबहादुरसमेतबाट कानूनी र व्यावहारिक रूपमा अलग्गिएकी एकल तथा वृद्ध अवस्थाकी कोमलकुमारी बिरामी भइरहने भएकोले आमाको औषधी उपचारमा छिटो छरितो र सहजताको लागि हिमालय शाहले नक्साल स्थित आफ्नो घरनजिकको सुविधा सम्पन्न हिमाल हस्पिटलमा भर्ना गरी औषधी उपचार गराईरहेको क्रममा कोमलकुमारीको मिति २०६२।०३।२७ मा मृत्यु भएको जानकारीसहितको Death Certificate उपचार गराउने वादी हिमालय शाहलाई उपलब्ध गराएको तथ्यलाई प्रतिवादीहरूले अन्यथा हो भनी पुष्टि गर्न सकेको देखिँदैन । दिदी हिमालय शाहको नक्साल स्थित घरमा बसी आमाको श्राद्ध तथा क्रिया सम्पन्न गरेको हो भन्ने कुरा राजुबहादुर शाहले मिति २०६२।८।८ मा अंश मुद्दामा फिराएको प्रतिउत्तरमा उल्लेख गरेबाट आमाको स्याहार सम्भार छोरी हिमालय शाहले गरेको भन्ने कुरा पुष्टि हुन्छ । राजुबहादुर शाह र निजका पत्नी / छोरीहरूले कोमलकुमारीलाई हस्पिटल भर्ना, औषधी उपचार, रेखदेख गरे गराएको भन्ने प्रत्यक्ष र परिस्थिति जन्यको साथै अन्य कुनै पनि ठोस प्रमाणसमेत पेस गर्न सकेको मिसिलबाट
देखिँदैन ।
८. वादी हिमालय शाहले शुल्क तिरी मच्युरीमा आमा कोमलकुमारीको लास राखिदिन त्रि.वि. शिक्षण अस्पतालमा मिति २०६२।०३।२७ मा निवेदन दिएको देखिन्छ । आमा / सासू / हजुरआमा कोमलकुमारीको औषधी उपचार हुँदा तथा मृत्यु हुँदाका बखतमा समेत आफ्नो माइती मावली काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएको भन्ने प्रतिवादी जयन्ती शाह र प्रियाणी शाह तथा राजुबहादुर शाहको उपस्थिति आमा कोमलकुमारी शाह मृत्यु भएको स्थानमा रहेको देखिँदैन । मिति २०६२।३।२८ मा राजुबहादुर शाह सुनसरीबाट काठमाडौं आई हिन्दु संस्कारअनुसार सद्गत गरी स्व. कोमलकुमारीको काजक्रियामा वादी हिमालय शाहको नक्साल स्थित घरमा राजुबहादुर शाह निजका पत्नी, छोरी प्रतिवादीहरू सरिक भएको भन्ने देखियो । छोरीको घरमा काजक्रिया भएको भन्ने तथ्यले हिमालय शाहले नै कोमलकुमारी बाँचुञ्जेल निजको रेखदेख स्याहार सम्भार औषधी उपचारलगायतको सम्पूर्ण कार्य गर्ने गरेकोले नै क्रियाकर्म पनि हिमालय शाहको घरमा सम्पन्न भएको हो भन्ने कुरा मिति २०६२।८।८ मा राजुबहादुर शाहले पेस गरेको प्रतिउत्तरपत्रको बुँदा नं. २ मा उल्लेख गरेको कुराले पुष्टि गर्दछ । छोरी हिमालय शाहको घरमा आमा कोमलकुमारीको काजक्रियासमेतको कार्य भएको र उक्त काजक्रियामा राजुबहादुर सामेलसम्म भएको कुरालाई राजुबहादुरसमेतका प्रतिवादीहरूले अन्यथा भन्न सक्ने देखिँदैन । यस्तो अवस्थामा आमाको हेरचाह स्याहार सुसार छोरा तथा छोराको परिवारले गरे भन्ने कुरा पत्यारलाग्दो देखिन आउँदैन । विपक्षीहरूले प्रस्तुत मुद्दामा पेस गरेको प्रतिउत्तरपत्रमा कोमलकुमारीलाई रेखदेख स्याहार सम्भार औषधी उपचार गरेको भनी जिकिर लिए तापनि विपक्षी जयन्ती तथा प्रियाणी शाहले राजुबहादुर शाहउपर दिएको दे.नं. ३७२३ को अंशचलन मुद्दाको फिरादपत्रमा कोमलकुमारीलाई रेखदेख स्याहार सम्भार गरेको भन्ने कुराको सन्दर्भसम्म कहीँकतै उल्लेख गरेको पाइँदैन । फिराद पत्रमा कोमलकुमारीको काजक्रियामा सहभागी भयौं भन्नेसम्मको बेहोरा उल्लेख गरी २०५६ सालको दशैंमा पति / पिता राजुबहादुर शाहले कुटपिट गरी घरबाट निकाला गरेकोले २०५६ सालदेखि नै बुढानिलकण्ठ स्थित आफ्ना माइती मावलीमा बस्दै आएको भन्ने बेहोरा उल्लेख गरेसमेतबाट विपक्षीहरू आमा कोमलकुमारीसँग मर्नुअघिसम्म सँगै बसेको भन्ने तथ्य निजकै पूर्वभनाइबाट पुष्टि हुन नसक्दा कोमलकुमारीलाई रेखदेख स्याहार सम्भार गरेको भनी प्रस्तुत मुद्दामा लिएको जिकिर विश्वसनीय देखिन आएन ।
९. प्रस्तुत विवादमा वादी प्रतिवादीको आमा कोमलकुमारीको बाबु सुवर्णबहादुरसँग २०२६ सालमा सम्बन्ध विच्छेद भई अलग / अलग भएको देखिन्छ । आमाले बाबुसँग सम्बन्ध विच्छेद गरेपश्चात् यी वादी छोरा पनि उक्त सम्बन्ध विच्छेद मुद्दाको फैसलाबाट आमासँग साथै रहने भनी उल्लेख नगरेसम्म कानूनतः अलग भई बसेको नै मान्नुपर्ने हुन्छ । छोरा राजुबहादुर शाह पनि आमाको बुबासँग सम्बन्ध विच्छेद भएपश्चात् सँगै बसेको र बस्ने भनी मानो जोडिएको कुनै लिखतसमेत पारित भएको अवस्था छैन । आमा कोमलकुमारी शाहको पिता सुवर्ण शमशेरसँग विधिवत् रूपमा सम्बन्ध विच्छेदपश्चात् आमा कोमलकुमारी र छोरा राजुबहादुर शाहसँगै बसेको र मानो जोडिएको देखिने लिखत नभएसम्म आमा कोमलकुमारी र छोरा राजुबहादुर शाहबिच कानूनबमोजिम अंशबण्डा भएर दुवै भिन्न भई बसेको भनी मान्नु पर्ने हुन्छ ।
१०. बुबासँग सम्बन्ध विच्छेद भई आमा अलग भएर बस्दा निजसँग निजको माइती बुबा राम शमशेर ज.ब.रा. र माता रामकुमारी ज.ब.रा.बाट बकसपत्रबाट प्राप्त गरेको घर जग्गा आमा कोमलकुमारीको हक भोगमा रहेको भन्ने बेहोरा राजुबहादुर शाहको प्रतिउत्तर पत्रमा उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०६२।३।२७ गते आमा कोमलकुमारीको मृत्यु हुँदा सो सम्पत्तिमा परेको अपुताली निजको छोरी वादी हिमालय शाहले वा छोरा राजुबहादुर शाहमध्ये कसले पाउने हो वा आधा आधा पाउने हो ? भन्ने नै प्रमुख प्रश्न रहेको छ । सम्पत्तिको स्वामीको मृत्युसँगै त्यस्तो सम्पत्तिको स्वामित्व कानूनबमोजिम हकवालामा सर्ने प्रक्रियालाई नै अपुताली भनिन्छ । अपुतालीको हक सम्पत्तिको स्वामीको मृत्यु भएबाट सिर्जना हुने भएकाले सम्पत्तिको स्वामीको मृत्यु हुँदाको बखत कायम रहेको कानूनी व्यवस्था नै अपुतालीको सम्बन्धमा आकर्षित हुने कुरामा कुनै दुईमत हुन सक्दैन । यसै सन्दर्भमा पुनरावेदक वादी धुलो यादव विरूद्ध विपक्षी प्रतिवादी सूर्यप्रसाद यादव भएको अपुताली हक कायम मुद्दामा यस अदालतबाट ने.का.प.२०७७, अङ्क ३, निर्णय नं. १०४६० मा “कुनै पनि सम्पत्ति स्वामीविहीन (res nullius) रहन सक्दैन । सो सम्पत्तिको स्वामी कानूनबमोजिमको हकवाला वा त्यस्तो कुनै हकवाला नभएमा राज्यको हुन जान्छ । सम्पत्तिको स्वामीको मृत्यु भएका बखत उक्त सम्पत्तिको स्वामी को हुने भन्ने विषय प्रचलित अपुतालीसम्बन्धी कानूनले निर्धारण गर्ने विषय भएकोले अपुतालीको हकको सम्बन्धमा मृत्यु हुँदाको बखत कायम रहेको कानूनी व्यवस्था नै आकर्षित हुने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । कोमलकुमारी मिति २०६२।०३।२७ मा परलोक हुँदाका बखत तत्काल प्रचलनमा रहेको मुलुकी ऐन अपुतालीको १ नं. मा “हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंशियार हुन्छ । सात पुस्ता नाघेको टाढाको नातेदार हुन्छ” र २ नं. मा “यस महलको अन्य नम्बरहरूको अधीनमा रही अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरासरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐनबमोजिमको हकवालाले पाउँछन्” साथै सोही महलको ३ नं. मा “भिन्न भई बसेका लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराका छोरा वा निजको अविवाहित छोरीले हेरचाह नगरी विवाहिता छोरी वा छोरी ज्वाइँ वा त्यस्ता छोरी ज्वाइँका छोरा वा अविवाहिता छोरीले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी पालेको बाबु आमा सासू ससुरा वा बाजे बजैको अपुताली पाल्ने विवाहिता छोरी, छोरी ज्वाइँ वा नाति नातिनाले पाउँछन् । अरू हकवालाले पाउँदैनन्” र ११ नं.मा “यस महलको हन्य नम्बरहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको चलमा सबै र अचलमा आधासम्म स्याहार सम्भार गर्नेले र बाँकी आधा ऐनबमोजिम हकवालाले पाउँछ ।” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
११. कानूनले सुरूवात कालदेखि नै अपुतालीको अवधारणाले विभिन्न अवस्थालाई अँगालेर अपुताली पाउने हकवालाको निर्धारण गरेको पाइन्छ । अंश अंशियार नाताको व्यक्तिमा मात्र सीमित रहेको हुन्छ भने अपुताली त्यो भन्दा फराकिलो हकवाला, नातेदार वा नातेदारबाहेक बाहिरको व्यक्तिले समेत प्राप्त गर्न सक्ने हक हो । अंश र अपुताली एउटै विषय नभई अलगअलग विषय हुन् । अलगअलग विषय भएकै कारण साबिक मुलुकी ऐनमा साबिकदेखि नै र हाल मुलुकी देवानी संहितामा समेत अंश र अपुतालीबारे अलगअलग महल र शिर्षकमा छुट्टाछुट्टै रूपमा आ-आफ्नै विशेषताका आधारमा कानूनी व्यवस्था रहँदै आएका छन् । पुनरावेदक प्रतिवादी नारायणप्रसाद थारू विरूद्ध प्रत्यर्थी वादी इन्द्रकुमारीदेवी चौधरी भएको अपुताली हक कायम मुद्दामा यसै अदालतबाट ने.का.प., २०७६, अङ्क १२, नि. नं. १०३९४ मा “कानूनमा नै अंशबण्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्न सकिने देखिँदैन । अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्ने
छैन ।” भन्ने प्रतिपादित सिद्धान्त समेतको परिप्रेक्ष्यमा अंश र अपुताली फरक विषय नै रहेको देखिन्छ । अंश अंशियार भएको नाताले हक नै सिर्जना हुने कुरा हो भने अपुताली अंशियारमा मात्र सीमित नभएर अन्य हकवाला र मर्नेको स्याहार सम्भार तथा रेखदेख गर्ने व्यक्तिको समेत हकदाबी पुग्ने कुरा रहेको देखिन्छ । यसै सन्दर्भमा पुनरावेदक वादी नन्दलाल प्रसाद यादव विरूद्ध प्रत्यर्थी प्रतिवादी ओमप्रकाश राय यादवसमेत भएको अपुताली हक कायम दर्ता चलन मुद्दामा यसै अदालतबाट “अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक् विषयहरू हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्त्वपूर्ण हुन्छ । तर अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुञ्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई प्रस्तुत कानूनी व्यवस्थाले अनुमति दिएको नदेखिने” भन्ने ने.का.प., २०७५, अङ्क ५, नि. नं. १०००९ मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।
१२. उपर्युक्त कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तसमेतको परिप्रेक्ष्यमा हेर्दा, अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली नपाउने, मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरासरह अपुताली पाउने, त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐनबमोजिमको हकवालाले पाउने भन्ने व्यवस्था अपुतालीको २ नं. मा र भिन्न भई बसेका लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराका छोरा वा निजको अविवाहित छोरीले हेरचाह नगरी विवाहिता छोरी वा छोरी ज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी पालेको बाबु आमा सासू ससुरा वा बाजे बजैको अपुताली पाल्ने विवाहिता छोरी, छोरी ज्वाइँ वा नाति नातिनाले पाउँछन् भनी ऐ. महलको ३ मा व्यवस्था गरेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाले भिन्न भई बसेको हकमा छोरा वा निजका सन्तानले बाबु आमाको हेरचाह नगरी विवाहिता छोरीले स्याहार सम्भार गरी पालेमा त्यसरी पालेको बाबु आमाको अपुताली पाल्ने विवाहिता छोरीले पाउने भन्ने देखिन्छ । उक्त ३ नं. मा भएको कानूनी व्यवस्थानुसार भिन्न भई बसेको व्यक्तिको हकमा स्याहार सम्भार गर्ने विवाहिता छोरीलाई मर्नेको अपुताली खाने प्राथमिकतामा राखी विवाहिता छोरीले स्याहार सम्भार गरेको भएमा स्याहार सम्भार नगर्ने छोराले अपुताली खान पाउने देखिँदैन । अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई नै मर्ने व्यक्तिको अपुताली खाने पहिलो हकदार मानिएको देखिन्छ । बाँचुन्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्ता सम्पत्तिमा हक प्राप्त गर्ने कुरा अपुतालीको मूल मकसदभन्दा बाहिर जाने
देखिन्छ । स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि केवल नाता हकदार देखाएर अपुतालीको सम्पत्ति प्राप्त गर्न खोज्नु स्वाभाविक मान्न मिल्दैन । हिन्दू धर्मअनुसार छोरा भएको नाताले मर्ने बाबुआमाको दाहसंस्कार र काजक्रिया गर्नु उसको कर्तव्य हुन जान्छ । भिन्न भएको छोराले जीवित छउन्जेल मर्नेको हेरचाह नगरी काजक्रियामा सरिक भएको रहेछ भने दाहसंस्कार र काजक्रियामा सरिक भएको नाताले मात्र अपुतालीमा छोराको हक स्वतः सृजना हुन सक्दैन । बाबुआमाको सम्पत्तिमा भिन्न भई बसेको छोरालाई अपुतालीको हक सिर्जना हुनको लागि मर्ने बाबुआमा बाचुन्जेल उनीहरूको पालनपोषण हेरविचार र औषधी उपचार गरेको र त्यसपछि मात्र निज मरेपछि मर्नेको दाहसंस्कार र काजक्रिया गरेको भन्ने वस्तुनिष्ठ लिखत प्रमाणहरूबाट नै देखिन र पुष्टि हुन आवश्यक हुन्छ ।
१३. अपुतालीको महलको उपर्युक्त कानूनी व्यवस्था हेर्दा अपुतालीको २ नं. ले मर्नेको अपुताली स्वाभाविक अवस्थामा परेको छ भने त्यस्तो अपुताली कानूनबमोजिमका सँगै बसेका स्वाभाविक हकवालाले नै पाउने भनी हकवालाको क्रम निर्धारण गरिएको
छ । यी हकवालामध्ये मर्ने व्यक्ति मर्दाको बखत जोसँग बसेको छ उसैले पाउने हुन्छ । त्यो अवस्थाबाहेक ऐ. को ३ नं. ले भिन्न भई बसेका र अन्य हकवालाले पनि हेरचाह नगरी विवाहिता छोरीले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी मर्नेको अपुताली विवाहिता छोरीले पनि पाउने व्यवस्था गरेको छ भने ऐ. को ११ नं. को व्यवस्थाले हकवालाबाहेक अन्य व्यक्तिले मर्नेको स्याहार सम्भार गरेको रहेछ भने मर्नेको अपुताली सम्पत्तिको आधा सम्पत्ति स्याहार सम्भार गर्नेले पाउने व्यवस्था गरेको छ । यसरी हेर्दा अपुतालीको २ नं. ले सँगै बस्ने हकवालाले मर्नेको अपुताली पाउने व्यवस्था ऐ.को ३ नं. ले हकवालाले स्याहार सम्भार नगरी अविवाहिता छोरीले स्याहार सम्भार गरेको रहेछ भने अविवाहिता छोरीले र साथै ती बाहेक अन्य व्यक्तिले मर्नेको स्याहार सम्भार गरेको रहेछ भने मर्नेको अपुताली परेको सम्पत्तिको आधा सम्पत्ति स्याहार सम्भार गर्ने अन्य व्यक्तिले पाउने भन्ने अपुतालीको महलको ११ नं. को कानूनी व्यवस्थाबिचको मकसद र अन्तर सम्बन्ध हेर्दा अपुतालीको महलको २ र ३ नं. को कानूनी व्यवस्था एकै साथ प्रयोगमा आउने व्यवस्था होइन भने ऐ. को ११ नं. को व्यवस्था अपुतालीको २ र ३ नं. मा भएको व्यवस्थाभन्दा पूर्णतः पृथक् व्यवस्था हो । तत्काल बहाल रहेको अपुतालीको ११ नं. को व्यवस्था अपवादात्मक अवस्थामा मात्र अपुतालीको २ र ३ नं. को कानूनी व्यवस्था सँगसँगै जान सक्दछ । अर्थात् अपुतालीको २ र ३ नं. बमोजिमका हकवालाले हेरचाह स्याहार सम्भार नगरेको अवस्थामा मात्र मर्नेको अपुताली परेको अचल सम्पत्तिको आधा सम्पत्ति हकवालाले र आधा हकवालाबाहेक स्याहार सम्भार गर्ने अन्य व्यक्तिले पाउने अवस्था सृजना हुन पुग्दछ । प्रस्तुत मुद्दामा मर्नेको छोरीले हेरचाह स्याहार सम्भार गरेको पुष्टि भएकोले अपुतालीको ३ नं. लागु हुने हुँदा अपुतालीको ११ नं. को व्यवस्था आकर्षित हुन आउँदैन ।
१४. टंगाल स्थित कि. नं. १२ क्षेत्रफल ५-१३-० को जग्गा र सोमा बनेको घरमा पाकिस्तानी दूतावास भाडामा बसेको छ । आमाको स्वर्गवासपछि उक्त घर भाइ राजुबहादुर शाहको हकमा पर्ने भएकोले अब उप्रान्त उक्त घर सम्बन्धमा पाकिस्तानी राजदूतावाससँग जे जस्तो करार आदि गरी उक्त घर बहालमा दिएबापतमा पाउने घर बहाल रकम एकलौटी बुझी लिएमा हाम्रो मन्जुरी छ भनी मिति २०६३ जेठ १० गते वादी हिमालय शाहले गरिदिएको मम्जुरीनामाको आधारमा उक्त घर प्रतिवादी राजुबहादुर शाहको हक हुन जान्छ भन्ने जिकिरको सम्बन्धमा हेर्दा, कानूनबमोजिम विवाद टुङ्गो लाग्न बाँकी सम्पत्तिमा कुनै लिखत पारित भएको अवस्थामा बाहेक अंशियारबिच मौखिक र घरायसी लिखतको आधारमा मात्र कुनै पनि सम्पत्तिमा कुनै हकवालाको मात्र हक सिर्जना र समाप्त हुने हुँदैन । आमा कोमलकुमारीको नाउँको सम्पत्तिमा वादी हिमालयदेवी र प्रतिवादी राजुबहादुर शाह दुवैले दाबी गरिरहेको अवस्थामा दाबी गरेको सम्पत्तिमध्ये टंगाल स्थित पाकिस्तानी राजदूतावास बसेको घर राजुबहादुर शाहको हक लाग्ने हो भन्दैमा प्रमाण ऐन, २०३१ को दफा ३४ को कानूनी बुँदामा विवन्धन नलाग्ने हुँदा दुवै पक्षले अपुतालीमा कानूनबमोजिम दाबी गरेको सम्पत्तिमा कानूनबमोजिम नै निर्क्यौल हुने हुँदा उक्त सम्पत्तिमा कुनै एक पक्षले फलानोको हक लाग्ने भन्दैमा त्यसबाट ऊ विबन्धित भई त्यो सम्पत्तिबाट उसको हक नै समाप्त हुने भन्ने कानूनतः मिल्ने देखिँदैन ।
१५. उच्च अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भनी हेर्दा, उच्च अदालतले “बाबु सुवर्ण शाहसँग माता कोमलकुमारीको सम्बन्ध विच्छेद हुँदा एक चिम्टी पनि जग्गा जमिन लिएको
देखिँदैन । बाबुको पैत्रिक सम्पत्तिमा मात्र छोराको अंश हक लाग्ने र अंश हकको जग्गा मात्र छोराले स्वत: प्राप्त गर्ने हुँदा आमा कोमलकुमारीले बाबु राम शम्सेरबाट पाएको दाइजोको सम्पत्तिमा छोरा भएको नाताले मात्र अपुतालीको ३ नं. ले राजुबहादुरको नाममा मात्र अपुतालीहक कायम हुनसक्ने स्थिति देखिँदैन । त्यसो भएको हुनाले एकै आमाबाट जन्मिएका छोरी यी वादी र प्रतिवादीका पति पिता राजुबहादुर शाहमध्ये आमाको पालनपोषण स्याहार गर्ने व्यक्ति वादी हिमालय शाह र आमाको काजक्रियामा सामेल भई अन्तिम संस्कार गर्ने छोरा राजुबहादुरलाई समेत आमाको दाइजोको सम्पत्तिमा बराबर अपुताली हककायम गरी दिनु न्यायोचित हुने देखिन्छ” भनी वादी दाबी नपुग्ने गरी जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी उल्लिखित अपुतालिको सम्पत्तिमा अपुतालीको ३ र ११ नं. बमोजिम २ भागको १(एक) भाग वादीसमेतको अपुताली हक कायम हुने ठहर्याएको देखिन्छ । उच्च अदालत पाटनले वादी हिमालय शाहले आमाको पालनपोषण स्याहार गरी पालेको कुरालाई स्वीकार गरेको देखिन्छ । प्रस्तुत मुद्दामा भिन्न भई बसेकी आमा कोमलकुमारीलाई छोराले हेरचाह स्याहार सम्भार नगरी छोरी हिमालय शाहले स्याहार सम्भार गरी पालेको भन्ने कुरा मिसिल संलग्न प्रमाण कागजातबाट प्रस्ट हुन आएको र सो कुरालाई पुनरावेदन अदालत पाटनको फैसलाले समेत स्वीकार गरेको देखिन्छ । तत्काल कायम रहेको अपुतालीको ३ नं. बमोजिम भिन्न भई बसेको आमालाई छोराले हेरचाह नगरी विवाहिता छोरीले स्याहार सम्भार गरी पालेकोमा त्यस्तो मर्ने आमाको अपुताली छोरीले मात्र प्राप्त गर्ने देखिन्छ । अपुतालीको ११ नं. अपुताली पर्दा मर्नेको स्याहार सम्भार छोरा, छोरी वा नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको अवस्थामा हकवालाभन्दा बाहिरका व्यक्तिले पनि अपुताली पाउन सक्ने अवस्थामा लागु हुने व्यवस्था हो । अपुतालीको २ र ३ नं. एकै अवस्थामा लागु हुन सक्ने व्यवस्था होइन भने त्यसरी नै अपुतालीको २, ३ र ११ नं. पनि बहुत कम अवस्थामा मात्र एकै पटक लागु हुन सक्ने व्यवस्था हो । प्रस्तुत मुद्दामा आमा कोमलकुमारी मर्दा भिन्न भई बसेको छोरा वादी राजुबहादुर शाहको सँगसाथमा बसेको अवस्था छैन । जीवित कालमा आमा कोमलकुमारीको रेखदेख, पालनपोषण र स्याहार सम्भार विवाहित छोरीले गरेको देखिन्छ । विवाहिता छोरीले स्याहार सम्भार गरेको अवस्थामा अपुतालीको ३ नं. को दायराले समेटेको व्यक्तिलाई ऐ. को ११ नं. मा उल्लेख गरिएको “अन्य व्यक्तिको” श्रेणीमा राखेर आमा कोमलकुमारी मरी परेको अपुतालीमा आधा सम्पत्ति छोरा राजुबहादुर शाहलाई र आधा सम्पत्ति अपुतालीको ११ नं. बमोजिम मर्दा स्याहार सम्भार गर्ने विवाहित छोरी वादी हिमालय शाहले न्यायोचित आधारमा पाउने भनी उच्च अदालत पाटनबाट भएको फैसला कानूनसम्मत् रहेको देखिन आएन ।
१६. अब आमा कोमलकुमारी मरी निजको अपुताली भिन्न भएको छोरा वा रेखदेख, स्याहार सम्भार, पालन पोषण गरी आमाको उपचार गर्ने विवाहिता छोरीले पाउने हो भनी हेर्दा, वादी राजुबहादुर शाह र प्रतिवादी जयन्ती शाहको बिचमा काठमाडौं जिल्ला अदालतमा चलेको संवत् २०६३/६४ को ३७२३ नं. को अंश मुद्दामा प्रतिवादी राजुबहादुर शाहले आफ्नो प्रतिउत्तरमा पिता सुवर्ण शाह र माता कोमलकुमारीको सम्बन्ध विच्छेद भएपछि २०३७ सालमा मात्र आफ्नो जयन्तीसँग विवाह भएको, माता कोमलकुमारी नाम दर्ताको जग्गा आफ्नो बाबु राम शम्सेर ज.ब.रा.बाट दाइजो पाएको, आफू इटहरीमा घर व्यवहार गरी बसेको, टंगाल दरबार काठमाडौंको घर आमा कोमलकुमारीको जीवनकालमा निजले र निजको शेषपछि दाताको नातिनी हिमालय शाहसमेतले पाउने एवं नक्साल स्थित घर दिदी हिमालय शाहको हो भन्ने बेहोरा उल्लेख भएबाट आमा कोमलकुमारीलाई वादी हिमालयदेवी शाहले पालनपोषण स्याहार सम्भार गरेको भन्ने कुरा राजुबहादुरको प्रतिउत्तर बेहोराबाटै प्रस्ट देखिन्छ । साथै, मिति २०६२।३।२७ मा आमा कोमलकुमारीको मृत्युपश्चात् आमाको पार्थिव शरीरलाई त्रि.वि. शिक्षण अस्पतालको मच्युरीमा राख्नको लागि पुनरावेदक वादी हिमालय शाहले निवेदन दिएको अवस्थाबाट पनि आमा कोमलकुमारीको औषधोपचार लालन पालन, स्याहर सम्भार र रेखदेखमा यी वादी हिमालयदेवी शाह प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन आउँछ । आमा कोमलकुमारीको बुबा सुवर्ण शाहसँग पति पत्नीको नाता सम्बन्ध विच्छेद भएपछि छोरा राजुबहादुर शाह इटहरीमा बसोबास गर्दै आइरहेको र आमा कोमलकुमारी तथा छोरी हिमालय शाह काठमाडौंमा बस्दै आएको अतिरिक्त आमाको रेखदेख, स्याहार सम्भार, लालन पालनदेखि औषधी उपचार छोरी हिमालय शाहले गरी मृत्युपश्चात् पनि राजुबहादुर शाह मार्फत आफ्नै घरबाट दाहसंस्कारको सबै व्यवस्थापनका कार्यको तयारी गरी दाहसंस्कारसमेत छोरी हिमालय शाहले गराएको भन्ने कुरालाई पुष्टि गर्दछ । आमा कोमलकुमारीको रेखदेख, स्याहार सम्भार, लालन पालन र औषधी उपचार छोरी / दिदी हिमालय शाहले गरेको होइन भनी प्रतिवादीहरूले तथ्ययुक्त विश्वसनीय र वस्तुनिष्ठ प्रमाणबाट खण्डन र आमा कोमलकुमारीको रेखदेख, स्याहार सम्भार, लालन पालन र औषधी उपचार आफूले नै गरेको भनी औषधोउपचारका लिखत कागजातलगायतका अन्य प्रमाणले पुष्टि नभएसम्म आमा कोमलकुमारीको लालन पालन, स्याहर सम्भार र हेरचाह वास्तविक रूपमा छोरी हिमालय शाहले नै गरेको पुष्टि हुन
आउँछ । आमा कोमलकुमारी २०६२।३।२७ मा परलोक हुँदा बहाल रहेको मुलुकी ऐन, अपुतालीको महलको ३ नं. मा विवाहिता छोरी वा छोरी ज्वाइँ वा त्यस्ता छोरी ज्वाइँका छोरा वा अविवाहिता छोरीले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी पालेको बाबु आमा सासू ससुरा वा बाजे बजैको अपुताली पाल्ने विवाहिता छोरी, छोरी ज्वाइँ वा नाति नातिनाले पाउँछन्, अरू हकवालाले पाउँदैनन् भनी पालनपोषण हेरचाह र औषधोउपचार गर्ने व्यक्तिलाई मर्नेको अपुताली दिनुपर्छ भन्ने उक्त कानूनको मकसदसमेत देखिएबाट प्रस्तुत मुद्दामा स्व. कोमलकुमारीको रेखदेख स्याहार सम्भार गर्ने छोरी वादी हिमालय शाहले मुलुकी ऐन, अपुतालीको महलको ३ नं. बमोजिम आमा स्व. कोमलकुमारीको सम्पत्तिमा अपुताली पाउनु पर्नेमा उच्च अदालत पाटनबाट न्यायको रोहमा भन्दै सुरू फैसला केही उल्टी गरी आमा कोमलकुमारीको नाम दर्ताको फिरादपत्रमा उल्लिखित विवादित घर जग्गाहरूमा वादी हिमालयदेवी शाह र राजुबहादुरको बराबर हक लाग्ने गरी उल्लिखित घर जग्गाहरूमा २ भागको १ भागमा पुनरावेदक वादी हिमालयदेवी शाहसमेतको अपुताली हक कायम हुने ठहर्याई भएको फैसला केही उल्टी भई फिरादपत्रमा उल्लिखित सबै सम्पत्ति यी पुनरावेदिका वादी हिमालयदेवी शाहले पाउने देखिएकोले उच्च अदालत पाटनको फैसला बदर गरी सुरू सदर गरिपाउँ तथा हाम्रो नाममा अपुताली हक कायम गरिपाउँ भन्ने पुनरावेदक जयन्ती क्षेत्री सिलवालसमेत प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१७. तसर्थ, माथि विवेचित तथ्यगत आधार, कारण र प्रमाणसमेतबाट आमा कोमलकुमारीको नाम दर्ताको सम्पूर्ण जग्गा जमिन केवल छोरा नाता भएको आधारमा प्रतिवादी राजुबहादुर शाहको मात्र हक लाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।४।२८ मा वादी दाबी पुग्न नसक्ने ठहर गरी भएको फैसला आमा कोमलकुमारीको लालन पालन स्याहार सम्भारदेखि औषधोपचार गरी दाह संस्कारसमेत छोरी हिमालयदेवी शाहले आफ्नै घरबाट गराएको भन्ने कुरा स्वीकार गरी उक्त फैसला केही उल्टी गरी आमा कोमलकुमारीको नाम दर्ताको फिरादपत्रमा उल्लिखित विवादित घर जग्गासमेतमा अपुतालीको ३ र ११ नं. बमोजिम वादी हिमालयदेवी शाह र राजुबहादुर शाहको बराबर हक लाग्ने गरी उल्लिखित घर जग्गासमेतमा २ भागको १ भागमा पुनरावेदक वादी हिमालयदेवी शाहसमेतको अपुताली हक कायम हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५।३।१८ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई यी पुनरावेदक वादी हिमालयदेवी शाहको फिराद दाबीअनुसार आमा कोमलकुमारीको नाम दर्ताको फिराद दाबीबमोजिमका सबै सम्पत्ति कोमलकुमारीको मृत्यु हुँदाका बखत तत्काल बहाल रहेको प्रचलित मुलुकी ऐन अपुतालीको महलको ३ नं. बमोजिम यी पुनरावेदक वादी हिमालयदेवी शाहको नाममा अपुताली हक कायम भई नामसारी र दर्तासमेत हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम वादी हिमालयदेवी शाह र राजुबहादुर शाहको बराबर हक लाग्ने गरी २ भागको १ भागमा वादी हिमालयदेवी शाहसमेतको अपुताली हक कायम हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५।३।१८ मा भएको फैसला केही उल्टी भई यी पुनरावेदक वादी हिमालयदेवी शाहको फिराद दाबीअनुसार आमा कोमलकुमारीको नाम दर्ताको फिरादपत्रमा उल्लिखित सबै सम्पत्ति तत्काल प्रचलित मुलुकी ऐन अपुतालीको महलको ३ नं. वमोजिम यी पुनरावेदक वादी हिमालयदेवी शाहको नाममा अपुताली हक कायम भई नामसारी र दर्तासमेत हुने ठहरी फैसला भएकोले तपसिलमा उल्लिखित जग्गाको नियमानुसार लाग्ने दस्तुर लिई हिमालयदेवी शाहको नाममा दा.खा. नामसारी दर्ताका लागि सम्बन्धित मालपोत कार्यालयहरूमा दा.खा. पुर्जी दिनु र स्व. कोमलकुमारीको नाममा तपसिलको बैंकहरूमा रहेको खातामा रहेको नगद र बैंकको लकरमा रहेको सबै सम्पत्ति वादी हिमालयदेवी शाहको नाममा नामसारी गरिदिनु भनी सम्बन्धित बैंकमा लेखिपठाउनू भनी सुरू काठमाडौं जिल्ला अदालत, तहसिल शाखामा पत्राचार गर्नू------------------------------------------------------------------१
दा.खा. नामसारी हुने सम्पत्तिको विवरण
क्र.स. जिल्ला, न.पा. वडा नं. कि.नं क्षेत्रफल
१ सुनसरी, इटहरी न.पा. ४क ९२ ०-२-३१/२
२ सुनसरी, इटहरी न.पा. ४क ३५ ०-१-९१/२
३ सुनसरी, इटहरी न.पा. ४क ३६ ०-८-०
४ सुनसरी, इटहरी न.पा. ४क ४१ ०-०-३१/२
५ सुनसरी, इटहरी न.पा. ४क ४२ ०-०-२१/२
६ सुनसरी, इटहरी न.पा. ४ग ७१६ ०-१-०
७ सुनसरी, इटहरी न.पा. ४ग ७१७ ०-१-४१/२
८ सुनसरी, इटहरी न.पा. ४क १५९४ ०-०-१५
९ सुनसरी, इटहरी न.पा. ४क १५९८ ०-०-१७
१० का.जि.का.म.न.पा. २५ग १२ ५-१३-०
११ का.जि.का.म.न.पा. १ २२६८ ०-०-२१/२
१२ मोरङ, वि.उ.म.न.पा. १३ २ ०-१-२-२
१३ मोरङ, वि.उ.म.न.पा. १३ ४८ ०-११-४-०
१४ सुनसरी, इटहरी न.पा. ४ग ८५२ ०-१-०
१५ सुनसरी, इटहरी न.पा. ४ग १०७४ ०-६-०
१६ नेपाल एस.वि.आई. बैंक लि. दरबार मार्ग, काठमाडौंमा रहेको ०१५३०१०००९३७ नं. खाताको सबै रकम
१७ नेपाल बैंक लि. मा लकर नं.६४५C मा रहेको सबै धन सम्पत्ति
माथि ठहर खण्डमा लेखिएबमोजिम उच्च अदालत पाटनको मिति २०७५।३।१८ को फैसला केही उल्टी भई फिरादपत्रमा उल्लिखित सबै सम्पत्ति यी पुनरावेदक वादी हिमालयदेवी शाहको नाममा अपुताली हक कायम भई नामसारी र दर्तासमेत हुने ठहरी फैसला भएकोले वादीले सुरू काठमाडौं जिल्ला अदालतमा फिराद गर्दा र.नं. ३६०६ बाट मिति २०६५।३।३० मा दाखिल गरेको कोर्ट फी रू.१,१९,७७०।- र उच्च अदालत पाटनमा पुनरावेदन गर्दा र.नं. ८९८७ बाट मिति २०७२।६।२० मा दाखिल गरेको पुनरावेदन दस्तुरबापतको कोर्ट फी रू.१७,९६६।- तथा यस अदालतमा पुनरावेदन गर्दा र.नं. ६७९९५ बाट मिति २०७५।०६।०४ मा दाखिल गरेको रू.१७९६६।- समेत जम्मा कोर्ट फी रू. १,५५,७०२।- वादीले प्रतिवादीहरूबाट भराई लिन पाउने हुँदा सो रकममध्ये प्रतिवादी जयन्ती क्षेत्री सिलवाल शाहले यस अदालतमा पुनरावेदन गर्दा र.नं. ४१७१ बाट मिति २०७५।५।६ मा धरौटी राखेको कोर्ट फी रू. २,९९६।- र प्रतिवादी कमला राजभण्डारीले यस अदालतमा पुनरावेदन गर्दा र.नं. ४४३२ बाट मिति २०७५।११।१२ मा धरौटी राखेको कोर्ट फी रू.२२,९५८।- तथा प्रतिवादी प्रियाणी शाहले यस अदालतमा पुनरावेदन गर्दा र.नं. ४१८४ बाट मिति २०७५।५।१४ मा धरौटी राखेको कोर्ट फी रू. २२,९५७।६७ समेत गरी जम्मा धरौटी कोर्ट फी (अदालती शुल्क) रू. ४८,९११।६७ वादीले फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र फिर्ता पाउँ भनी निवेदन दिए वादीलाई फिर्दा दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनू--------------------------------------------------------------------------------------२
वादीले प्रतिवादीहरूबाट भराइपाउने ठहरेको कोर्ट फी रू.१,५५,७०२।- मध्ये यस अदालतमा प्रतिवादीहरूले धरौटी राखेको कोर्ट फी रू. ४८,९११।६७ कटाई बाँकी हुन आउने रकम रू.१,०६,७९०।३३ प्रतिवादीहरूबाट भराई पाउने हुँदा सो कोर्ट फी रकम (अदालती शुल्क) भराइपाउँ भनी प्रतिवादीहरूको नामको यसै सरहदको जेथा देखाई ऐनका म्यादभित्र वादीको निवेदन परे केही दस्तुर नलिई प्रतिवादीहरूबाट वादीलाई सो कोर्ट फी रकम भराइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू----------------------३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू-----------४
उक्त रायमा सहमत छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृत : माधव भण्डारी / हेमराज तिमिल्सिना
इति संवत् २०७८ साल भाद्र १३ गते रोज १ शुभम् ।