निर्णय नं. १०८५० - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७८।३।३०
०७६-CR-१२१६
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : सल्यान जिल्ला, कपुरकोट गाउँपालिका वडा नं.६ घर भई हाल तुलसीपुर कारागार शाखामा थुनामा रहेको हिरालाल भण्डारी
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम थर ५५ ट १ को जाहेरीले नेपाल सरकार
पीडितको सहमति मन्जुरीमा करणी लिनु दिनु गरेको भए पीडितलाई प्रतिवादीले रकम दिनुपर्ने प्रयोजन नरहने । रकम लिनु दिनु गरेको भन्ने कागजको बेहोराकै आधारमा सहमतिमा करणी भएको मान्न नसकिने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय डा.श्री दिनमणी पोखरेल र श्री जगन्नाथ श्रेष्ठ
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल
अवलम्बित नजिर :
ने.का.प.२०७२, अङ्क १, नि.नं.९३३५
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री मदनबहादुर धामी
सल्यान जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री हरिकुमार पोखरेल
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
उच्च अदालत सुर्खेत
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
मिति २०७४।२।१९ गतेका दिन मैले खेतमा काम गरिरहेको अवस्थामा मेरो कान्छो छोराले म भएको ठाउँमा आई बुबा दिदीलाई खोलीगाउँमा खै कसले कुटपिट गरेको छ, तपाइँलाई बोलाएका छन् भनेपछि म र मेरो श्रीमती प्रतिवादी हिरालाल भण्डारीको घरनजिकै पुग्दा मेरो वर्ष १९ की छोरी सङ्केत नाम ५५ट(२) एक्लै रूँदै थिई र छोरीको शरीरमा समेत निलडाम तथा चोटपटक लागेको थियो, अलि पर गाउँलेहरू भेला जम्मा भएका थिए अनि मैले छोरीलाई तँलाई कसले के गर्यो किन रोएर बसेकी छस् भनी सोध्दा हिरालाल भण्डारीले दिदीको घर जान लागेको अवस्थामा निजको घरनजिकै रहेको अमराईभित्त सामुदायिक वनमा लगी मेरो मुख थुनी मलाई जबरजस्ती करणी गरेको थियो । यो कुरा घरमा कोही कसैलाई नभन्नु, भनिस् भने काटछु, मार्छु भनी धम्की दिएकोले मैले सो घटनाको बारेमा कसैलाई भन्न सकिनँ भनी मलाई छोरी ५५ट(२) ले घटनाको बारेमा जानकारी गराएपछि मैले थाहा पाई म तत्काल निज हिरालाल भण्डारीको घरमा गई तपाइँले यस्तो गल्ती काम गर्नुभयो म प्रहरी कार्यालयमा गई उजुर गर्छु भन्दा मैले गल्ती गरेँ, बिराएँ यतै कुराकानी मिलाउँछु कोही कसैलाई नभन्नु भनी सो स्थानमा भेला जम्मा भएका गाउँलेहरूको सामुन्ने बोलेका थिए र पछि मलाई एक्लै भेट गरेर त्यो घटना कसैलाई भनिस् भने नराम्रो होला, दाङमा मेरो मान्छेहरू छन् बोलाएर तँलाई मार्न लगाउँछु भनी मलाई बारम्बार ज्यान मार्ने धम्की दिएकोले डरले गर्दा तत्काल मैले उजुर गर्न नसकेको भन्ने बेहोराको परिवर्तित सङ्केत नाम ५५ ट(१) को जाहेरी दरखास्त ।
जिल्ला सल्यान, कपुरकोट गाउँपालिका वडा नं. ६ सामुदायिक वन, केही भिरालो खाली चउर (जग्गा) सो स्थानको वरिपरि चारैतर्फ सल्लाका रूखहरू रहेको सो चउरको बिच भागमा सल्लाको सानो रूख सो रूखको नजिकै जिल्ला सल्यान, कपुरकोट गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २७ को हिरालाल भण्डारीले वर्ष १९ की सङ्केत नाम ५५ट(२) लाई मिति २०७४।२।१६ गते राति अं.२०:०० बजेको समयमा जबरजस्ती करणी गरेको भनी देखाएको स्थानको चार किल्लासहितको घटनास्थल मुचुल्का ।
२०७२ सालमा सङ्केत नाम ५५ट(२) ले श्री भवानी मा.वि. छायाँनाथमा कक्षा १० मा पढ्ने गर्थिन् । मैले पनि सोही स्कुलमा पढाउने र लेखापालको रूपमा काम गर्थेँ । २०७२ साल भदौ महिनाको दोस्रो हप्तातिर घरायसी कामको सिलसिलामा म दाङ गएको थिएँ । त्यहाँबाट फर्किँदा अं. ७/८ बजेको समयमा मेरो र ५५ट(२) को खोलानिर भेट भयो । दुवै जना केही समय सँगै बस्यौं र कुराकानी गर्दा गर्दै मैले ५५ट(२) को हातको हत्केलामा सुम्सुम्याएँ निजले केही प्रतिक्रिया देखाइनन् तत्पश्चात् मैले ५५ट(२) को स्तन समाउँदा मेरो काखमा ढलिन् । मैले निजसँग यौनसम्पर्क गर्ने प्रस्ताव राखेँ निजले स्वीकार गरिन् र मैले सो समयमा ५५ट(२) लाई एक पटक करणी गरेँ । पछि मिति २०७४।१।३१ गते ५५ट(२) ले सिमकार्ड भेटाएको छु भनी सो सिमकार्ड मलाई दिएकी थिइन् र मिति २०७४।२।१४ गते सो भेटाएको सिम मेरो दिदीको हो कहाँ छ ल्याइदिनुहोस् भनी मलाई फोन गरिन् र मलाई फुर्सत नभएकोले उक्त दिन सिमकार्ड दिन सकिनँ र मिति २०७४।२।१६ गते बेलुका अं. ७/८ बजेको समयमा मेरो घरनजिक रहेको अमराईभित्त सामुदायिक वनमा म आएको छु सो सिमकार्ड ल्याएर तपाइँ आउनुस् भनी मलाई फेरी फोन गरिन् र निजले मलाई दिएको सिमकार्ड मैले साथमा लगेर सोही सामुदायिक वनमा गएँ, सो स्थानमा निजसँग मेरो भेट भयो । भेट भएपछि पढाइ लेखाइको बारेमा कुराकानी चल्दै गयो र हामी त्यहाँ बसिरहँदा ५५ट(२) मेरो काखमा
ढलिन् । त्यसपछि मैले निजको शरीरमा हातले सुम्सुमाए र मेरो मनमा उत्तेजना भयो मैले यौनसम्पर्क गर्ने प्रस्ताव राख्दा उनले स्वीकार गरेपछि हामीले यौनसम्पर्क गर्यौँ र त्यसपछि हामी दुवै जना कुराकानी गर्दै ५५ट(२) को फुपूको घरमा गयौँ । हामी अं.१०/११ बजेको समयमा त्यहाँ पुग्यौँ र सो घरको नजिकै गाईगोठमा दुवै जना पस्यौँ र केही समयपछि ५५ट(२) फुपू सुत्ने कोठामा गएर पानी ल्याई गोठमा आइन् र पानी खायौँ र उक्त गोठमा सुत्ने क्रममा फेरी मैले ५५ट(२) लाई दुई पटक करणी गरेँ र त्यसपछि मलाई घर जान ढिला हुन्छ । म घरतिर गई हाल्छु भनी मिति २०७४।२।१७ गते बिहान अं.३/४ बजेको समयमा म आफ्नो घर गएको हुँ भन्ने बेहोराको प्रतिवादी हिरालाल भण्डारीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागज ।
हिरालाल भण्डारीले मिति २०७४।२।१६ गते ५५ट(२) लाई सामुदायिक वनमा लगी जबरजस्ती करणी गरेको रहेछ । त्यहीँ विषयलाई लिएर प्रतिवादीको श्रीमतीले ५५ट(२) लाई कुटपिट गरेकी छिन् भनी जेठ महिनाको अं.१८/१९ गतेतिर गाउँघरमा होहल्ला सुनी थाहा पाएको हुँ । पछि गाउँघरमा आई सो घटनाको बारेमा बुझ्दा प्रतिवादी हिरालाल भण्डारीले जाहेरवालाको छोरी ५५ट(२) लाई डर, त्रास देखाई जबरजस्ती सामुदायिक वनमा लगी जबरजस्ती करणी गरेका रहेछन् सो कुरा मलाई पीडितले भनेकी थिइन् र निज प्रतिवादीले मैले ५५ट(२) लाई करणी गरेको हुँ, मैले गल्ती गरिसकेँ जसरी हुन्छ गाउँघरमा मिलाउनुपर्यो, प्रहरी कार्यालयमा रिपोर्ट नगर्नु नत्र तिमी बाबु छोरीलाई काट्छु मार्छु भनी धाकधम्की दिएका रहेछन् भन्ने बेहोराको कमला बोहराले गरेको घटना विवरण कागज ।
मिति २०७४ साल जेठ महिनाको गते मलाई याद भएन हिरालाल भण्डारीको श्रीमतीले मलाई फोन गरी मेरो घरमा ५५ट(२) ले आई मसँग झगडा गरेकी छन् आउनुस् भनेपछि म हिरालाल भण्डारीको घरमा जाँदा जाहेरवालाको छोरी वर्ष १९ की ५५ट(२) सो घरदेखि अं.२०० मिटर पर हिरालाल भण्डारीको दिदीसँग बसेकी थिइन् । म निजको घरमा जाँदा प्रतिवादी हिरालाल भण्डारी घरमा थिएनन् । म त्यहाँ गएपछि हिरालाल भण्डारीको श्रीमतीले ५५ट(२) सँग कुटाकुट भई झैझगडा भएको हो भनी मलाई भनेकी थिइन् । त्यसपछि हिरालाल भण्डारीले ५५ट(२) लाई जबरजस्ती करणी गरेर फरार भएका छन्, घर नआएको धेरै दिन भयो भनेर गाउँघरमा व्यापक हल्ला चलेको थियो । मिति २०७४।४।१३ गते हिरालाल भण्डारीले मलाई फोन गरेर मैले गल्ती गरेँ । जसरी हुन्छ यो कुरा मिलाइदेउ म तपाइँको घरमा आउँछु भनेर भनेका
थिए । मिति २०७४।२।१६ गते प्रतिवादीले ५५ट(२) लाई जबरजस्ती करणी गरेको मैले देखिनँ । प्रतिवादीले नै मैले ५५ट(२) लाई जबरजस्ती करणी गरेको हुँ मिलाइदेउ भनेकाले निज प्रतिवादीले नै जाहेरवालाको छोरीलाई जबरजस्ती करणी गरेका हुन् भन्नेमा विश्वास लाग्छ भन्ने बेहोराको तेजबहादुर बोहराले गरेको घटना विवरण कागज ।
मिति २०७४ जेठ महिनाको अं.१९ गतेतिर जाहेरवालाको छोरी ५५ट(२) हिरालाल भण्डारीको घरमा गई सो घटनाको बारेमा कुराकानी गर्न लाग्दा हिरालाल भण्डारीको श्रीमतीले पीडितलाई कुटपिट गरेकी रहिछन् । पछि किन कुटपिट गरेकी रहिछन् भनी सोधपुछ गर्दा मिति २०७४।२।१६ गते राति अं. ८ बजेको समयमा हिरालाल भण्डारीले ५५ट(२) लाई जबरजस्ती करणी गरेका रहेछन् । त्यहीँ विषयलाई लिएर निज प्रतिवादीको श्रीमतीसँग झगडा भएको रहेछ भनेर मलाई गाउँलेहरूले भनी सुनी थाहा पाएको हुँ र मिति २०७४।४।१३ गते प्रहरी टोली घटनास्थलमा जाँदा पीडित ५५ट(२) ले घटनास्थल देखाउँदै मलाई हिरालाल भण्डारीले यही बनमा लगी राति जबरजस्ती करणी गरेको हो भनी चिनाएकी थिइन् निज प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई जबरजस्ती करणी गरेँ, मैले भुल गरेको हुँ, मबाट गल्ती भयो, यो कुरा गाउँघरमा मिलाइदिनुस् भनी गाउँलेहरूलाई भनेका रहेछन् भन्ने बेहोराको प्रेमकुमारी महतराले गरेको घटना विवरण कागज ।
मिति २०७४।२।१९ गतेतिर जाहेरवालाको छोरी प्रतिवादी हिरालाल भण्डारीको घरमा गएपछि हिरालाल भण्डारीको श्रीमती र जाहेरवालाको छोरी ५५ट(२) ले एक आपसमा कुटाकुट तथा झै-झगडा गरेका रहेछन् भन्ने गाउँघरमा हल्ला सुनी थाहा पाएको थिएँ । पछि किन झगडा भएको रहेछ भनी बुझ्दै जाँदा हिरालाल भण्डारीले मिति २०७४।२।१६ गते ५५ट(२) लाई आफ्नो घरनजिकै रहेको सामुदायिक वनमा लगी जबरजस्ती करणी गरेका रहेछन् भन्ने सुनी थाहा पाएँ र मिति २०७४।४।१३ गते घटनास्थलमा प्रहरी टोली जाँदा मलाई हिरालाल भण्डारीले यही सामुदायिक वनमा बलात्कार गरेको थियो भनी पीडित ५५ट(२) ले देखाएकी थिइन्, म पनि सँगै थिएँ । प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई जबरजस्ती करणी गरेको हुँ, मैले गल्ती गरिसकेँ, जसरी भए पनि मिलाइदेउ भनेर गाउँघरमा भनेका रहेछन् सो कुरा मैले गाउँलेहरूबाट सुनी थाहा पाएको हुँ । निज प्रतिवादीले ५५ट(२) लाई जबरजस्ती करणी गरिसकेपछि पीडित, जाहेरवालासमेतलाई यो कुरा कोही कसैलाई नभन्नु, भनेपछि काट्छु मार्छु भनी पटकपटक ज्यान मार्ने धम्की मलाई दिएको छ भनी जाहेरवालाले मलाई भनेका थिए भन्ने बेहोराको सुनिता खड्काले गरेको घटना विवरण कागज ।
प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई मिति २०७४।०२।१६ गते सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको थियो भन्ने कुरा मैले गाउँघरमा होहल्ला सुनेर र पीडितले भनेपछि घटनाको बारेमा मैले थाहा पाएकी हुँ । मिति २०७४।४।१३ गते प्रहरीहरू घटनास्थलमा आएका थिए । त्यसपछि पीडितले घटनास्थल देखाउँदै मलाई प्रतिवादी हिरालाल भण्डारीले मिति २०७४।२।१६ गते राति सिमकार्ड ल्याउन बोलाई जबरजस्ती करणी गरेको हो भनेकी थिइन् । उक्त घटना घटेको केही दिनपछि प्रतिवादी हिरालाल भण्डारीले जाहेरवालालगायत पीडितलाई डर, त्रास देखाउन भनी लामो लामो कपाल भएका गुन्डा खालका केटाहरू गाउँघरमा ल्याएका छन् भनेर जाहेरवालाले भनेका थिए र मैले पनि देखेकी हुँ । प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई मैले जबरजस्ती करणी गरेको हुँ मबाट गल्ती भयो भनी गाउँघरमा भनेका रहेछन् भन्ने बेहोराको नन्दा महतराले गरेको घटना विवरण कागज ।
मिति २०७४।२।१७/१८ गतेतिर प्रतिवादी हिरालाल भण्डारीले जाहेरवालाको छोरी वर्ष १९ की ५५ट(२) लाई सामुदायिक वनमा राति जबरजस्ती करणी गरी सो कुरा गाउँघरमा मिलाउन भनी जाहेरवालालगायत घरका परिवारलाई पटकपटक धम्की दिई हिँडेको छ भन्ने गाउँघरमा होहल्ला सुनी थाहा पाएकी हुँ । प्रतिवादी हिरालाल भण्डारीको श्रीमतीले मिति २०७४।२।१९ गते पीडित निजको घरमा जाँदा झगडा गरेको कुरा पीडितले मलाई भनेकी थिइन् । प्रतिवादी हिरालाल भण्डारीले आफूले पीडितलाई करणी गरेको र यो कुरा गाउँघरमा मिलाउनुपर्छ प्रहरी कार्यालयमा जानु हुँदैन, गयौ भने तिमीहरूलाई केटाहरू लगाई मार्न लगाउँछु भनी धम्कीसमेत दिएका थिए । मिति २०७४।२।१६ गते राति मेरो घरमा प्रतिवादी हिरालाल भण्डारी र पीडित ५५ट(२) कोही पनि आएका थिएनन् भन्ने बेहोराको राजकुमारी महतराले गरेको घटना विवरण कागज ।
हिरालाल भण्डारीको श्रीमतीलगायत निजका घर परिवारहरूले ५५ट(२) लाई मिति २०७४।२।१९ गतेतिर पिटेका छन् भन्ने गाउँघरमा होहल्ला सुनेकीले के कति कारणले ५५ट(२) लाई कुटपिट गरेका रहेछन् भनी सोधपुछ गर्दा मिति २०७४।२।१६ गते राति अं.२०:०० बजेको समयमा प्रतिवादीले केही काम छ भनी फोन गरेर बोलाई अमराईभित्त सामुदायिक वनमा जबरजस्ती लगेर करणी गरेको
रहेछ । प्रतिवादीले पनि पीडितलाई सो मिति र समयमा करणी गरेको कुरा स्वीकार गरी गाउँमा जसरी हुन्छ मिलाइदेउ भनी गाउँलेहरूलाई भनेको कुरा मैले गाउँलेहरूबाट सुनी थाहा पाएको हुँ । प्रतिवादीले केही दिनपछि जाहेरवालालगायत घरपरिवारलाई डर, त्रास देखाई धम्क्याउन भनी ४/५ वटा मोटरसाइकलमा केटाहरूसमेत ल्याएको मैले स्वयं देखेको हुँ भन्ने बेहोराको सुरमा वलीले गरेको घटना विवरण कागज ।
प्रतिवादी हिरालाल भण्डारीसँग म भवानी मा.वि. छायाँनाथमा पढ्दा चिनजान भएको
थियो । उहाँले मलाई पटकपटक फोन गर्नुहुन्थ्यो । मैले पहिले एउटा सिमकार्ड भेटेको र उक्त हिरालाल भण्डारीलाई दिएकीले सो सिमकार्ड लिन आउ भनी हिरालाल भण्डारीले मलाई मिति २०७४।२।१६ गते साँझ अं.७ बजेको समयमा निजको घरनजिकै रहेको अमराईभित्ता सामुदायिक वनमा बोलाउनुभयो । म सो स्थानमा पुग्दा रात परिसकेको थियो हिरालाल भण्डारी बाटोमा उभिरहेका थिए । म त्यहाँ पुगी मेरो सिम ल्याउनुस् सर रात परिसक्यो मलाई ढिला हुन्छ भनेर भन्दा निज हिरालाल भण्डारीले उक्त सिम दिए । त्यसपछि हुन्छ सर म घर जान्छु भनी घर फिर्ता हुँदा एकैछिन बस न तिमीसँग केही कुरा गर्नुछ भन्नुभयो । त्यसपछि मेरो हात समाती जबरजस्ती बाटो माथितिर लतार्दै लैजानुभयो र मलाई जबरजस्ती भुइँमा ढाली मेरो मुख हातले थुनी मलाई बोल्न, कराउनसमेत केही नदिई आफ्नो पाइन्ट र कट्टु फुकाली जबरजस्ती मैले लगाएको सुरूवालको एकापट्टिको बाहुला तल तानी आफ्नो लिङ्ग निकाली जबरजस्ती मेरो योनिभित्र पसाल्नुभयो । मलाई साह्रै दुखेको थियो, मलाई छोडी दिनुस् सर भनी बिन्ती गर्दासमेत मलाई छाड्नु भएन मैले आफ्नो इज्जत बचाउन सकिनँ । प्रतिवादीले आफ्नो इच्छा पूरा भएपछि मलाई छाडिदिनुभयो र तपाइँले मेरो जिन्दगी बर्बाद पार्नुभयो सर । म अब बाँचेर पनि के गर्नु, समाजमा के गरेर मुख देखाउनु, अब म आत्महत्या गर्छु भनी मैले आफ्नो सलले आफ्नो घाँटीमा कस्न लाग्दा निजले उक्त सल मेरो हातबाट खोसी दिएका हुन् । तपाइँले मलाई जबरजस्ती करणी गर्नुभएको छ, म यो घटना घर गएर बुबा आमालाई गएर भनिदिन्छु भन्दा यो कुरा कोही कसैलाई पनि नभन्नु भनिस् भने तेरो घर परिवारलाई मार्छु, खतम पार्छु भनी धम्की दिँदै घरतिर लाग्नुभयो । म पनि बिस्तारै बिस्तारै हिँडेर घरतिर गई सुतेँ । सो राति प्रतिवादीले मलाई जबरजस्ती करणी गर्दा मेरो योनिसमेत सुनिएर रातभरि दुखिरह्यो । निजको डरले गर्दा सो घटना मैले घर परिवार कसैलाई भन्न सकिन । १/२ दिनपछि पनि मलाई नभन्नु भनी धम्कीसमेत दिइरहन्थे । उक्त घटना भएको समयमा निज प्रतिवादीले मेरो सल लगेका थिए सो सल पनि मागेर लैजानुपर्ला उतैबाट दिदीको घर जानुपर्ला भनी बुबालाई दिदीको घर जान्छु भनेर प्रतिवादीको घरमा गई निजको श्रीमतीलाई मेरो सल हजुरको श्रीमान्ले लैजानु भएको थियो । सर कता हुनुहुन्छ भनी सोध्दा निजको श्रीमतीले यता घरतिर हुनुहुन्न भन्नुभयो । हिरालाल भण्डारी घरभित्र पसेका छन् बोलाई दिनुस भन्दा आफैँ गएर खोज भनेपछि म निजको घरभित्र जान लाग्दा एक्कासि मलाई घरपरिवारले लाठी तथा हात मुक्काले कुटपिट गरी मेरो टाउकोमा समेत चोट लागी घाउ भएको थियो । पछि गाउँलेहरू पनि त्यहाँ जम्मा भएका
थिए । म अलि पर खोलाको ढिकमा गई रूँदै बसेकी
थिएँ । केही समयमै बुबा आमा पनि म भएको ठाउँमा आउनुभयो र मलाई के भयो तँलाई कसले के गर्यो भनी सोध्नुभयो । मलाई मिति २०७४।२।१६ गते साँझ सिम लिन आउ भनी बोलाई सामुदायिक वनमा लगी जबरजस्ती करणी गरी कसैलाई नभन्नु भनी घरपरिवारलाई ज्यान मार्ने धम्की दिएकाले मैले भन्न सकेकी थिइनँ भनी घटनाको बारेमा बुबालाई सबै भनिदिएँ । त्यसपछि बुबा, हिरालाल भण्डारीको घरमा गएपछि हिरालाल भण्डारी पनि घरभित्रबाट बाहिर आएका थिए । बुबाले सर तपाइँले मेरो छोरीलाई त्यस्तो किन गर्नुभएको हो, म प्रहरी कार्यालयमा गएर तपाइँ विरूद्ध रिपोर्ट गर्छु भन्दा मबाट गल्ती भयो, गल्ती गरिसकेँ बरू यो कुरा बाहिर कोही कसैलाई नभन्नु गाउँमै मिलाई दिनुपर्यो, नत्र राम्रो हुने छैन भनी बुबालाई समेत धम्की दिएका
थिए । त्यसपछि केही दिनपछि प्रतिवादीले बुबालाई र मलाई पटकपटक धम्काउने गर्दथे र दाङबाट गुन्डा केटाहरू मोटरसाइकलमा बोलाई बुबाको अघिपछि हिँडाई डर, त्रास देखाइरहन्थे गाउँलेहरूसमेतले देखेका
थिए । प्रतिवादीले हामीहरूलाई मार्छ कि भन्ने डरले गर्दा तत्काल प्रहरी कार्यालयमा उजुर गर्न नसकेको हो भन्ने बेहोराको पीडित सङ्केत नाम ५५ट(२) ले गरेको घटना विवरण कागज ।
मैले मिति २०७४।२।१९ गतेतिर प्रतिवादी हिरालाल भण्डारीको घरमा झगडा भएको छ भन्ने हो हल्ला सुनेँ । के भएको रहेछ भनी म प्रतिवादीको घरमा जाँदा अन्य गाउँका मानिसहरू, जाहेरवाला, पीडितसमेत थिए प्रतिवादी घरमा थिएनन् । त्यसपछि मैले किन झगडा भएको रहेछ भनी सोधपुछ गर्दा मिति २०७४।२।१ गते राति अं.२०:०० बजेको समयमा प्रतिवादी हिरालाल भण्डारीले अमराईभित्त सामुदायिक वनमा जाहेरवालाको छोरी वर्ष १९ की ५५(ट)२ लाई जबरजस्ती करणी गरेका रहेछन् भनेर मलाई गाउँलेहरूले भनी सुनी थाहा पाएको हुँ भन्ने बेहोराको कालुराम विश्वकर्माले गरेको घटना विवरण कागज ।
सङ्केत नाम ५५ट(१) को जाहेरी दरखास्त, प्रतिवादी हिरालाल भण्डारीको बयान, मौकामा बुझिएका मानिसहरू कमला बोहरा, तेजबहादुर बोहरा, प्रेमकुमारी महतरा, सुनिता खड्का, राजकुमारी महतरा, नन्दा महतरा, सुरमा वली, पीडित सङ्केत नाम ५५(ट)२ समेतका मानिसहरूले गरिदिएका घटना विवरण कागजसमेतका मिसिल संलग्न प्रमाणहरूबाट मिति २०७४।२।१६ गते साँझ अं.७ बजेको समयमा वर्ष १९ की पीडित ५५(ट)२ लाई प्रतिवादी हिरालाल भण्डारीले अमराईभित्त सामुदायिक वनमा बोलाई हात समाती बाटो माथितिर लगी जबरजस्ती भुइँमा ढाली बोल्न, कराउनसमेत नदिई जबरजस्ती करणी गरेको हुँदा प्रतिवादी हिरालाल भण्डारीले पीडित ५५(ट)२ लाई जबरजस्ती करणी गरेको पुष्टि भई आएको हुँदा प्रतिवादी हिरालाल भण्डारीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(४) नं. बमोजिम कसुर अपराधमा ऐ.महलको ३(४) नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम क्षतिपूर्ति प्रतिवादीबाट पीडितलाई भराइपाउने मागदाबी लिई पेस हुन आएको अभियोगपत्र ।
पीडितसँग माया प्रेम बसी २०७२ साल भदौ महिनामा पहिलो पटक पीडितको डेरानजिकै १ पटक, त्यसपछि २०७२ साल कार्तिकदेखि २०७४ साल जेठसम्म कपुरकोटस्थित फुपू राजुकुमारी महतराको घरमा ६० रातभन्दा बढी, २०७२ सालको चैतमा दाङ तुलसीपुर होटलमा १ रात, २०७३ सालमा पीडित सुत्ने कोठामा १ रात र पछिल्लो पटक कपुरकोटस्थित अमराईभित्त सामुदायिक वनभित्र १ पटक सहमतिमा करणी गरेको हुँ । मैले पीडितलाई जबरजस्ती करणी गरेको होइन सहमतिमा करणी गरेको हुँ भनी प्रतिवादी हिरालाल भण्डारीले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला सङ्केत नाम ५५ट१, सङ्केत नाम पीडित ५५ट२ मौकामा कागज गर्ने प्रतिवादीको साक्षी तिला वली, र गणेश बुढाथोकीले गरेको बकपत्र सुरू मिसिल संलग्न रहेको ।
प्रतिवादी पीडित सङ्केत नाम ५५ट(२) पढ्ने विद्यालयको शिक्षकसमेत रहेको देखिएको, पीडित सङ्केत नाम ५५ट(२) ले मौकाको कागजमा र यस अदालतमा गरेको बकपत्रमा समेत प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी लेखाएको, निज सङ्केत नाम ५५ट(२) लाई विवाह गर्ने आश्वासनसहित प्रतिवादीले अनैतिक सम्बन्ध राखेको भन्ने बेहोरा प्रतिवादीको कानून व्यवसायीले पेस गरेको कागजमा उल्लेख भएको र प्रतिवादीले यस अदालतमा गरेको बयानसमेतबाट प्रतिवादीले सङ्केत नाम ५५ट(२) सँग प्रेम सम्बन्ध स्थापित गरी करणी गरेकोमा सङ्केत नाम ५५ट(२) ले विवाह गर्न खोज्दा पन्छिएको भन्ने देखिएको हुँदा प्रतिवादीले आफू शिक्षक रहेको विद्यालयको छात्रा सङ्केत नाम ५५ट(२) सँग प्रेम सम्बन्ध स्थापित गरी विवाह गर्ने झुठ्ठा आश्वासन एवं प्रतिज्ञा गरी करणी गरेको देखिन आएकोले प्रतिवादीले सङ्केत नाम ५५ट(२) लाई सहमतिमा करणी गरेको भनी मान्न मिलेन । अतः प्रतिवादीले पीडित सङ्केत नाम ५५ट(२) लाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि हुन आएकोले प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ नं. को देहाय ४ अन्तर्गतको कसुर गरेको देखिँदा अभियोग मागदाबीबमोजिम प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय ४ बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहर्छ । साथै सोही महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई रू.५०,०००।- (पचास हजार) क्षतिपूर्ति भराइदिने ठहर्छ भन्नेसमेत बेहोराको सुरू सल्यान जिल्ला अदालतको मिति २०७४।१२।१३ को
फैसला ।
म प्रतिवादी निर्दोष रहेको कुरा मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिइरहेको अवस्था हुँदाहुँदै उक्त कागज प्रमाणको बेवास्ता गरी हामीबिच सहमतिमा भएको यौनसम्पर्कलाई जबरजस्ती करणीअन्तर्गतको परिभाषाभित्र पारी सजाय गर्ने गरेको सुरू सल्यान जिल्ला अदालतको फैसला न्यायको सर्वमान्य सिद्धान्त प्रतिकूल भई त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर उल्टी गरी अभियोग दाबीबाट फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीको पुनरावेदनपत्र ।
जबरजस्ती करणीको कसुरमा पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीलाई उपर्युक्त सजाय हुने ठहर गरी सल्यान जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । आरोपित कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न
सक्तैन । फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई निज थुनामा रहेको कारागार कार्यालयमार्फत दिनु भन्नेसमेत बेहोराको उच्च अदालत सुर्खेतबाट मिति २०७५।५।३१ मा भएको फैसला ।
उमेर पुगेकाहरूबिच करणी सहमतिमा लिनु दिनु अपराध होइन । दुवैको बिचमा सान्निध्यता एवं प्रेम सम्बन्ध थियो र त्यसैको परिणति सहमतिमा करणी भएको छ । प्रेम सम्बन्ध वा सान्निध्यता गाउँघरको चर्चाको कुरा भएकोलाई प्रस्तुत मुद्दामा नकार्न
सकिँदैन । मेरो साक्षीको बकपत्र यसको यथेष्ट प्रमाण हो र यसका अतिरिक्त पनि मोबाइल संवादले सम्बन्धलाई स्थापित गरेको छ । यी प्रमाणहरूलाई ग्रहण गर्न सुरू र उच्च अदालतले ठाडो इन्कार गरेको छ । जबकी त्यसको उचित आधार कारण दिन सकेको छैन । पीडित स्वयंको ग्रहणयोग्य बकपत्रलाई पनि ग्रहण नगरिएको भन्ने उच्च अदालतको निष्कर्ष प्रमाण कानूनको एवं प्रमाण सिद्धान्तको ठाडो उल्लङ्घन हो । घटना परिस्थितिको वर्णनले जबरजस्ती करणी हुँदै होइन भन्ने देखिन्छ । यस सम्बन्धमा उल्लिखित प्रमाणहरू किटानी हुँदाहुँदै पीडित जहिले पनि र जुनसुकै अवस्थामा माथि रहने र पीडितकै भनाइलाई अरू प्रमाणको तुलनामा ग्रहण गर्नुपर्ने भन्ने फैसलाको आधार कति पनि न्यायिक होइन । तसर्थ, ग्रहण गर्नुपर्ने मेरो साक्षीको बकपत्र, दुवै पक्षबिचको मोबाइल संवादलाई ग्रहण नै नगर्ने गरी एकतर्फी एकहोरो तवरको फैसलाको निष्कर्ष भई भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ बमोजिम ग्रहण गर्नुपर्ने प्रमाण ग्रहण नगरी भएको फैसला प्रत्यक्षत: त्रुटिपूर्ण छ । साक्षी प्रमाणबाहेक पनि सान्निध्यता एवं प्रेम सम्बन्धको घटना परिस्थितिमा न्यायकर्ताको ध्यान गएको छैन । २०७२ सालदेखिको सम्बन्ध हो, थियो र पहिलेदेखिको यो सम्बन्धलाई अनदेखा गरी एकाएक २०७४ सालको अमूक घटना भनेर जबरजस्ती करणीको अपराधलाई बलपूर्वक अभियोजन पक्षले स्थापित गर्न खोजेको देखिन्छ । त्यसमा पीडित र पीडितको परिवारका सदस्यसमेतको आआफ्नो चासो र सरोकार रहेको प्रत्यक्ष देखिन्छ । यो कुरा मिसिलमा पेस भएको घरायसी मिलापत्रसमेतको अध्ययनबाट प्रस्ट देखिन्छ तथापि अगाडि र पछाडिको सान्निध्यता र प्रेमको प्रसङ्गलाई सान्दर्भिक नमानी नगरी न्यायकर्ताज्यूले त्यसतर्फ अनदेखा गरी भएको फैसला एकदमै त्रुटिपूर्ण छ । मेरो र पीडितबिचको सम्पर्क र सहकार्य पहिलेदेखि रहँदै प्रगाढ सम्बन्धमा विकसित भएको कुरालाई नकार्न सकिँदैन । अतः हाम्रो प्रगाढ सम्बन्ध मेरो श्रीमतीसँग द्वन्द्व र झगडाको स्थिति बन्न पुग्यो । पीडितले यसलाई बदलाको रूपमा, आफूलाई समाज र आफ्नो परिवारको अगाडि आफू पीडित भएको रूपमा प्रस्तुत भएकी यथार्थ स्थितिलाई जबरजस्ती करणीमा ढालेर पीडित आएकी छिन् । तर, पीडित भनेर देखावटीरूपमा आएकोलाई विवेचना नगरी जिल्ला र उच्च अदालतले एक पक्षीय आत्मनिष्ठ भई फैसला गरेको त्रुटिपूर्ण छ ।
अदालतमा आई पीडित भनिएकी सङ्केत नाम ५५ट(२) ले बकपत्र गर्दा स.ज. को ५ र १६ मा मौकामा कागज गरे जस्तै बकपत्र गरेकी छन् भने अदालतमा स.ज.१६ मा प्रतिवादीबाट रू.२,००,०००।– (दुई लाख रूपैयाँ) लिएको भनी पीडितले स्वीकार गरेकी
छिन् । पीडितले मौकामा गरेको कागज र अदालतमा गरेको बकपत्रको आधारमा हिरालालले बोलाएपछि सिम लिने भनी म घटनास्थलमा गएँ भनेकाले साँझको समयमा हिरालालले बोलाउने वित्तिकै घटनास्थलमा जानु भनेको यिनीहरूको पहिलादेखि नै यौनसम्पर्क थियो भन्ने पुष्टि हुन्छ । पीडितले मौकामा कागज गर्दा मलाई लछारपछार गर्दा म रोइकराइ गर्दा हिरालालले निजको हातले मेरो मुख बुझी पाइन्ट खोली मेरो सुरूवाल तल सारेर आफ्नो लिङ्ग मेरो योनिमा पसाले र जबरजस्ती करणी गरे भनेकी छिन् । जुन पीडितको भनाइ नै असान्दर्भिक विश्वास गर्न योग्य छैन । एउटै व्यक्तिले एकै पटकमा मुख बुज्ने, पाइन्ट खोल्ने र सुरूवाल छोडाउने कार्य गर्न सक्दैन । सामान्यतया एउटै व्यक्तिले एकै पल्टमा उमेर पुगेका महिलालाई जबरजस्ती करणी गर्न सक्दैन । जबरजस्ती गर्न एकभन्दा बढी व्यक्तिको आवश्यकता पर्दछ । पीडितले मौकामा कागज गर्दा र अदालतमा बकपत्र गर्दा घटना घटेको ३ दिनपछि हिरालालको घरमा जाँदा हिरालालको श्रीमतीले कुटपिट गरिन् भनेकी छन् । हिरालालको घरमा किन पीडित ३ दिनपछि गइन् । पीडित हिरालालको घरमा जानु, पीडितलाई हिरालालको श्रीमतीले कुट्नु यी दुईबिच पहिलादेखि नै सम्बन्ध रहेको थियो भन्ने कुरा झन् स्पष्ट हुन्छ । यसरी सहमतिमा नै दुवैको मन्जुरीमा यौनसम्बन्ध हुनुलाई अनदेखा गरी सुरू सल्यान जिल्ला अदालतले जबरजस्ती करणी गरेको हो भनी भएको फैसलालाई नै सदर गर्ने गरी उच्च अदालत सुर्खेतबाट भएको फैसलामा गम्भीर त्रुटि भएको हुँदा सो फैसला उल्टी गरी न्याय इन्साफ पाऊँ ।
प्रतिवादी हिरालाल भण्डारीले अदालतमा स.ज. को ७ मा बयान गर्दा पीडित र आफूबिच पटकपटक करणी भएको कुरा गाउँघरमा हल्ला चलेपछि सो विषयमा मेलमिलापको लागि छलफल हुँदा चार लाख चालिस हजारमा कुरा मिल्ने सहमति भई दुई लाख दिएको र दुई लाख चालिस हजार पछि बुझाउने भनी मिति २०७४।२।२८ गते घरसारको कागज भए तापनि पीडित पक्षले तत्काल पैसा माग्दा नजुटेकोले मुद्दा दिएका हुन् । पीडितलाई जबरजस्ती करणी गरेको होइन, सहमतिले यौनसम्पर्क भएको हो । प्रतिवादी हिरालालले अनुसन्धान अधिकारीसमक्ष र अदालत दुवै ठाउँमा सहमतिले यौनसम्पर्क भएको भनी बयान गरेको र आफूबिच यौनसम्पर्क भएकोमा चार लाख चालिस हजारमध्ये दुई लाख चालिस हजार तत्काल बुझाउन नसकी मुद्दा दायर भएको भनी बयान गरेको छ । यी दुवैबिच रकम लेनदेन भएको कागज जसमा पीडित, प्रतिवादी र जाहेरवालाको समेत सही भएको छ । जुन कागजमा यी दुवैबिच विवाह गर्ने आश्वासनमा २ वर्षसम्म अनैतिक सम्बन्ध भएको भनी लेखिएको छ । अनैतिक सम्बन्ध गरेबापत प्रतिवादीले पीडितलाई रू.चार लाख चालिस हजार तिर्ने बुझाउने र जसमध्ये दुई लाख बुझाएको र दुई लाख चालिस हजार पछि बुझाउने सहमति भएको कागज छ । उक्त कागज मिसिलमा संलग्न भएको देखिन्छ । सो कागज भएको आधारले पनि यिनीहरूका बिच सहमतिले यौनसम्पर्क भएको भन्ने पुष्टि हुन जान्छ । यसरी रकमको लेनदेनसम्म गरी बाँकी रकम नदिएको बहानामा मुद्दा गरी मैले सहमतिमै यौनसम्पर्क भएको हो भनी स्वीकार गर्दा गर्दै सो कुरालाई प्रमाणको रूपमा ग्रहण नगरी सुरू सल्यान जिल्ला अदालतबाट जबरजस्ती करणी ठहर गरी पाँच वर्ष कैद सजाय र प्रतिवादीबाट पीडितले रू.५०,०००।- क्षतिपूर्ति भराइपाउने ठहर्छ भनी भएको फैसलालाई उच्च अदालत सुर्खेतले समेत सदर गर्ने गरी भएको फैसला प्रचलित कानून, सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल भएको हुँदा सो फैसला उल्टी गरी म निवेदकलाई सफाइ दिलाइपाऊँ । म निवेदक हिरालाल भण्डारीले प्रहरीमा बयान गर्दा स.ज. ९ मा पीडितसँग २०७२ साल भदौमा पहिलो पटक र तत्पश्चात् पटकपटक यौनसम्पर्क गरेको र २०७४।२।१६ गते पनि सहमतिले नै यौनसम्पर्क गरेको हो जबरजस्ती करणी गरेको होइन । सम्मानित अदालतमा पनि बयान गर्दा २०७२ साल भदौ महिनामा पहिलो पटक र त्यसपश्चात् पनि पटकपटक सहमतिले यौनसम्पर्क गरेको स्वीकार गरेका छन् । यसरी सहमतिमा भएको यौनसम्पर्कको विषयमा पनि सम्मानित सर्वोच्च अदालतबाट नेपाल सरकार विरूद्ध प्रकाश सिंह ठगुन्ना स.अ.बु. २०६८ मङ्सिर १ अङ्क १५ पूर्णाङ्क ४६५ वर्ष २० पृष्ठ ३५ मा “जबरजस्ती करणी मुद्दामा दुई जनाबिच आपसी सहमतिबाट करणी लिनुदिनु भएको प्रतिवादी प्रकाश सिंह ठगुन्नाले नविना लामालाई जबरजस्ती करणी गरेको भन्ने नदेखिएको साथै पीडित भनिएकी नविना लामाको उमेर वारदात मितिमा १६ वर्ष पुगिसकेको भन्ने देखियो । राजीखुसीले प्रकाश सिंह ठगुन्ना र १६ वर्ष काटिसकेकी नविना लामाबिच करणी लेनदेन भएको क्रिया जबरजस्ती करणीको मलहको १ नं. ले परिभाषित गरेअनुसार जबरजस्ती करणीको अपराधभित्र पर्ने नदेखिने” भनी नजिर सिद्धान्त प्रतिपादित भएको छ ।
यिनीहरूबिच सहमतिले करणी भयो वा जबरजस्ती करणी भयो भन्ने विवादको निरूपणका लागि दूरसञ्चार कार्यालयको कलडिटेलबाट पनि केही कुराको जानकारी हुने भएकोले अदालतबाट यी दुवैका कलडिटेल झिकाउने आदेश भएको थियो । जसअनुसार यस अदालतमा कलडिटेलको रिपोर्ट प्राप्त भएबाट कलडिटेलअनुसार यिनीहरूबिच जबरजस्ती करणी भएको भनी उल्लेख भएको मिति २०७४ जेष्ठ १६ गतेदेखि पछाडिको कलडिटेल हेर्दा प्रतिवादीले प्रयोग गरेको मोबाइल नं.९८२२९०९०४६ र पीडितले प्रयोग गरेको मोबाइल नं.९८००५६८९४२ र ९८०९८६८६३५ मा फोन सम्पर्क भएको थियो, थिएन भनी हेर्दा २०७४।२।१६ देखि २०७४।२।१९ गतेसम्म ८ पटक र १५१२ सेकेन्ड अर्थात् २५२ मिनेट फोन सम्पर्क भएको देखिन्छ र तीनवटा म्यासेज आदान प्रदान भएको देखिन्छ । यसरी बारम्बार फोन म्यासेज आदान प्रदान भएबाट जबरजस्ती करणी भनेर आरोप लागेपश्चात् मोबाइल फोनमा कुराकानी हुनु भनेको जबरजस्ती करणी नभई सहमतिमा नै यौनसम्पर्क भएको भन्ने कुरामा विवाद हुन सक्दैन । यसरी दूरसञ्चारबाट प्राप्त भएको कलडिटेल र अन्य प्रमाणहरूसमेतलाई अनदेखा हुने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा १८, २५, ३४ विपरीत भई भएको फैसला अन्यायपूर्ण हुँदा सो फैसला उल्टी गरी मलाई न्याय इसान्फ पाऊँ । सल्यान जिल्ला अदालतको स्वास्थ्य परीक्षण प्रतिवेदनमा सङ्केत नाम ५५ट(२) को शरीरको कुनै पनि भागमा चोट पटक लागेको छैन र पीडितको Hymen ruptured भएको छ । जबरजस्ती करणी भएको भए पीडितले प्रतिकार गर्दा पीडितका शरीरमा चोटपटक हुनुपर्ने Hymen ruptured मात्र भएको शरीरमा चोट पटक नभएको हुँदा यी दुवैबिच सहमतिबाट नै यौनसम्बन्ध भएको र जबरजस्ती करणी नभएको भन्ने पुष्टि हुन्छ । नेपाल सरकार विरूद्ध शरणकुमार पौडेल, वर्ष २२, अङ्क ५, असार २०७० पूर्णाङ्क ५०३, पृष्ठ ८ मा “जबरजस्ती करणी मुद्दामा प्रमाणको भार पुर्याउने दायित्व तोकेको पक्षले त्यसरी प्रमाण गुजार्न उदासीन भई दिँदा सोको फाइदा अर्को पक्ष अर्थात् आरोपित पक्षमा
जान्छ । प्रतिवादी फरार रहेकै आधारमा दोषी करार गर्ने आधार बन्ने र वादी पक्षबाट आफ्नो दाबी प्रमाणित गर्न वस्तुनिष्ठ प्रमाण प्रस्तुत गर्नु नपर्ने भनी अर्थ गरिनु फौजदारी न्यायको सिद्धान्तविपरीत हुने, शारीरिक परीक्षणबाट प्रतिवादीले आरोपित कसुर गरेको भन्ने कुनै चिह्न नभेटिएको अवस्थामा जोहरी र मौकामा गरेको कागजलाई मात्र आधार मानी अनुमानका आधारमा प्रतिवादीलाई कसुरदार ठहर्याई सजाय गर्न न्यायोचित नहुने देखिएबाट प्रतिवादी शरणकुमार पौडेलले जबरजस्ती करणी गरेको भन्ने देखिन नआएको हुँदा निजलाई अभियोग मागदाबीबाट सफाइ हुने ठहर्छ” भनी सम्मानित सर्वोच्च अदालतबाट फैसला भएको छ । नेपाल सरकार विरूद्ध सुरजकोली स.अ.बु. २०६६ चैत्र १ पृष्ठ २९ पूर्णाङ्क ४२५ मा “जबरजस्ती करणी मुद्दामा पीडितलाई प्रतिवादीले डरधाक देखाई जोरजुलम गरी वा अनुचित प्रभावमा पारी करणी गरेको भन्ने देखिएको छैन । जुलुमीले जबरजस्ती करणी गरेको भए निजको अनैतिक कार्यबाट बच्न प्रतिरोधका लागि सक्षम रहेकी जाहेरवालीले यथाशक्य प्रतिरोध तथा आफ्नो सुरक्षार्थ सङ्घर्ष गर्नुपर्नेमा सो केही नगरी बसेको भन्ने देखिएको छ । यसको अतिरिक्त प्रत्यक्षदर्शीको रूपमा प्रस्तुत गरिएका प्रेम चौधरी र मैया लालले पनि सो वारदात रोक्न वा प्रतिवादीलाई पक्रन कुनै प्रयास गरेको देखिँदैन । यस्तो अवस्थामा राजीखुसीबाट करणी लेनदेन भएको मान्नुपर्ने हुन्छ । जबरजस्ती भएको भन्ने ठोस प्रमाणको अभावमा केवल अनुमानको भरमा यस्तो गम्भीर कसुरको कसुरदार ठहर गर्न नमिल्ने ।”
म निवेदक प्रतिवादी निर्दोष रहेको, मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिरहेको अवस्था मिसिल संलग्न कागजातको विवेचना नगरी हामीबिच सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणीअन्तर्गतको परिभाषाभित्र पारी सजाय गर्ने गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा १८, २५, ३४, ५४ मुलुकी ऐन, अ.बं.१८४ नं. तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त तथा फौजदारी न्यायको सर्वमान्य सिद्धान्त प्रतिकूल भएको हुँदाहुँदै उक्त कागज प्रमाणको बेवास्ता गरी हामीबिच सहमतिमा भएको यौनसम्पर्कलाई जबरजस्ती करणीअन्तर्गतको परिभाषाभित्र पारी सजाय गर्ने गरेको सुरू सल्यान जिल्ला अदालतको फैसलालाई उच्च अदालत सुर्खेतले समेत सदर गर्ने गरी भएको फैसला प्रचलित कानून, सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल भएको हुँदा सो फैसला उल्टी गरी म निवेदक प्रतिवादीलाई सफाइ दिलाइपाऊँ । अतः माथि प्रकरणहरूमा उल्लेख गरेबमोजिम सुरू र उच्च अदालत सुर्खेतको फैसलामा प्रत्यक्ष कानूनी त्रुटि गरी सम्मानित अदालतबाट स्थापित नजिर सिद्धान्तसमेतको विपरीत हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम सम्मानित अदालतबाट मुद्दा दोहोर्याई हेरी निस्सा पाउन सादर अनुरोध गर्दछु भन्नेसमेत बेहोराको यस अदालतमा पेस भएको निवेदनपत्र ।
यसमा मिति २०७४।२।१९ मा प्रतिवादीले छोरीलाई जबरजस्ती करणी गरेको भनी बाबुले दिएको जाहेरी मिति २०७४।४।१५ मा ढिलो गरी दर्ता भएको देखिएको छ । पीडित १९ वर्ष उमेर समूहकी देखिएकी र पीडितसँग सहमतिमा करणी भएको भनी प्रतिवादीले मौका र अदालतमा समेत स्वीकार गरेको
देखिन्छ । पीडितसँग यस विषयमा समाजमा छलफल भई लेनदेनसमेत भएको भन्ने लिखतसमेत पेस भएको छ । यस स्थितिमा प्रतिवादीलाई कसुरदार ठहर गरेको उच्च अदालत सुर्खेतको मिति २०७५।५।३१ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा साबिक मुलुकी ऐन, अ.बं.१८४क को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रसाशन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नु भन्ने यस अदालतको मिति २०७६।८।२२ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत जबरजस्ती करणी मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय डा.श्री दिनमणी पोखरेल र श्री जगन्नाथ श्रेष्ठले उमेर पुगेकाहरूबिच करणी सहमतिमा लिनु दिनु अपराध होइन । दुवैको बिचमा सान्निध्यता एवं प्रेम सम्बन्ध थियो र त्यसैको परिणति सहमतिमा करणी भएको छ । यस मुद्दामा पीडित भनिएकी परिवर्तित नाम ५५ट(२) १९ वर्ष उमेर पुगेकी मिसिलबाट देखिँदा निज नाबालिग नभएर साबालक हुन् । साबालक उमेरकी पीडितलाई जबरजस्ती नभई निजको राजीखुसी मन्जुरीले करणी गरेको कुरामा प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतमा समेत साबिती बयान गरेको अवस्था छ । रकम लिने दिने गरी प्रतिवादी र पीडित पक्षबिच भएको कागज बेहोराबाट पनि यस मुद्दामा घटित वारदात जबरजस्ती करणीको नभई मन्जुरीले करणी लिनु दिनु भएको देखिन्छ । सल्यान जिल्ला अदालतको स्वास्थ्य परीक्षण प्रतिवेदनमा सङ्केत नाम ५५ट(२) को शरीरको कुनै पनि भागमा चोटपटक लागेको छैन र पीडितको Hymen ruptured भएको छ । जबरजस्ती करणी भएको भए पीडितले प्रतिकार गर्दा पीडितका शरीरमा चोटपटक हुनुपर्ने Hymen ruptured मात्र भएको शरीरमा चोटपटक नभएको हुँदा यी दुवैबिच सहमतिबाट नै यौनसम्बन्ध भएको र जबरजस्ती करणी नभएको भन्ने पुष्टि हुन्छ । १९ वर्षकी ५५ट(२) लाई निजको राजीखुसी र सहमतिले करणी गरेको अवस्थामा कानूनतः जबरजस्ती करणी हुन नसक्ने अवस्थामा जबरजस्ती करणी गरेको कसुर ठहर गरी पुनरावेदक प्रतिवादीलाई सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसलालाई सदर हुने ठहर गरी उच्च अदालत सुर्खेतबाट मिति २०७५।५।३१ मा भएको फैसला प्रचलित कानून, सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल भएको हुँदा सो फैसला उल्टी गरी पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीलाई सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहस सुनियो ।
त्यसैगरी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेलले प्रतिवादीबाट आफू बलात्कृत भएको बेहोरा उल्लेख गरी पीडित ५५ट(२) ले अनुसन्धान अधिकारीसमक्ष उपस्थित भई कागज गरेको पनि मिसिलबाट देखिन्छ । अदालतमा उपस्थित भई निजले आफूले अनुसन्धानको क्रममा गरेको कागज बेहोरालाई समर्थन हुने गरी बकपत्रसमेत गरेको अवस्था छ । पीडित ५५ट(२) वारदातपश्चात् रूने, स्वास्थ परीक्षण गराउन चिकित्सकसमक्ष उपस्थित हुने, अनुसन्धानको क्रममा कागज गर्न प्रहरी कार्यालय जाने र बकपत्र गर्न अदालतमा उपस्थित हुने जस्ता पीडितबाट भएका क्रियाकलापले निजले करणीको लागि प्रतिवादीलाई मन्जुरी दिएको नदेखिने हुँदा उच्च अदालत सुर्खेतबाट मिति २०७५।५।३१ मा भएको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रतिवादीले जाहेरवालाकी १९ वर्षीया छोरी परिवर्तित नाम ५५ट(२) लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. द्वारा निषेधित कसुर गरेकोले निजलाई सोही महलको ३(४) नं. बमोजिम सजाय गरी पीडितलाई प्रतिवादीबाट क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग मागदाबी लिइएको प्रस्तुत मुद्दामा प्रतिवादीले आरोपित कसुर गरेको ठहरसहित निजलाई ५(पाँच) वर्ष कैद सजाय हुने र पीडितले प्रतिवादीबाट रू.५०,०००।– (पचास हजार) क्षतिपूर्ति भराई लिन पाउने ठहर गरी सल्यान जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसलामा पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीको चित्त नबुझी ५५ट(२) लाई निजको राजीखुसी र सहमतिले करणी गरेको अवस्था भएकोले आरोपित कसुरबाट सफाइ पाउनुपर्ने जिकिर लिई प्रतिवादीले उच्च अदालत सुर्खेतमा पुनरावेदन गरेकोमा सल्यान जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । आरोपित कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको उच्च अदालत सुर्खेतबाट मिति २०७५।५।३१ मा फैसला भएको देखिन्छ । सो फैसलाउपर समेत पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीले चित्त नबुझाई राजीखुसी र सहमतिले करणी गरेकोले आरोपित कसुरबाट सफाइ पाउँ भनी न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन गरेकोमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा प्रस्तुत मुद्दा दायर भई यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।
अब, प्रस्तुत मुद्दाका दुवै पक्षको तर्फबाट प्रस्तुत भएको उल्लिखित बहस जिकिरसमेत सुनी समग्र मिसिल अध्ययन गरी हेर्दा, उच्च अदालत सुर्खेतबाट भएको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीले गरेको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही विषयमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०७४।०२।१९ गते मैले खेतमा काम गरिरहेको समयमा कान्छो छोराले बुबा दिदीलाई खोली गाउँमा खै कसले कुटपिट गरेको छ तपाइँलाई बोलाएका छन् भनेपछि म र मेरो श्रीमती प्रतिवादी हिरालाल भण्डारीको घरनजिकै पुग्दा मेरो छोरी सङ्केत नाम ५५ट(२) एक्लै रूँदै थिई । छोरीको शरीरमा निलडाम तथा चोटपटक लागेको थियो केही पर गाउँलेहरू भेला जम्मा भएका थिए । मैले छोरी तँलाई कसले के गर्यो, किन रोएर बसेकी छस् भनी सोध्दा हिरालाल भण्डारीले दिदीको घर जान लागेको अवस्थामा अमराईभित्त सामुदायिक वनमा लगी मेरो मुख थुनी मलाई जबरजस्ती करणी गरेको, यो कुरा घरमा कोही कसैलाई नभन्नु, भने काट्छु मार्छु भनी धम्की दिएको भनी मलाई छोरी ५५ट(२) ले घटनाको बारेमा जानकारी गराएपछि म हिरालाल भण्डारीको घरमा गई यस्तो के गर्नुभयो म प्रहरी कार्यालयमा गई उजुर गर्छु भन्दा मैले गल्ती गरेँ, कोही कसैलाई नभन्नु, भने नराम्रो होला, दाङमा मेरो मान्छेहरू छन्, बोलाएर तँलाई मार्न लगाउँछु भनी मलाई बारम्बार ज्यान मार्ने धम्की दिएकोले डरले गर्दा तत्काल मैले उजुर गर्न नसकेको भन्ने बेहोराको परिवर्तित सङ्केत नाम ५५ ट(१) को जाहेरी दरखास्त रहेको र सोही बेहोरा पुष्टि हुने गरी अदालतमा निजले बकपत्र गरेको पाइयो । बुझिएका प्रेमकुमारी महतरासमेतले मौकाको कागजमा प्रतिवादीले सङ्केत नाम ५५ट(२) लाई मैले जबरजस्ती करणी गरेँ भुल गरेको हुँ, मबाट गल्ती भयो, यो कुरा गाउँमा मिलाइदिनुहोस् भनी गाउँलेलाई भनेका रहेछन् भनी लेखाएको देखियो ।
३. सङ्केत नाम ५५ट(२) ले मौकाको कागजमा प्रतिवादी हिरालाल भण्डारीसँग भवानी मा.वि. छायाँनाथमा पढ्दा चिनजान भएको थियो, निजले मलाई पटकपटक फोन गर्नुहुन्थ्यो, मैले पहिले एउटा सिमकार्ड भेटेको र उक्त हिरालाल भण्डारीलाई दिएकीले सो सिमकार्ड लिन आऊ भनी हिरालाल भण्डारीले मलाई मिति २०७४।२।१६ गते निजको घरनजिकैको अमराईभित्ता सामुदायिक वनमा बोलाउनुभयो । म त्यहाँ पुगी मेरो सिम ल्याउनुस सर रात परिसक्यो मलाई ढिला हुन्छ भनेर भन्दा निज हिरालाल भण्डारीले उक्त सिम दिए, म घर जान्छु भनी फिर्ता हुँदा मेरो हात समाती जबरजस्ती बाटो माथितिर लतार्दै लगी मलाई जबरजस्ती भुइँमा ढाली मेरो मुख हातले बुझिदिई मलाई बोल्न, कराउनसमेत नदिई आफ्नो पाइन्ट र कट्टु फुकाली जबरजस्ती मैले लगाएको सुरूवालको एकापट्टिको बाहुला तल तानी आफ्नो लिङ्ग निकाली जबरजस्ती मेरो योनिभित्र पसाल्नुभयो । मलाई छोडी दिनुहोस् भन्दा छाड्नु भएन मैले आफ्नो इज्जत बचाउन सकिनँ । प्रतिवादीले मार्छ कि भन्ने डरले गर्दा तत्काल प्रहरी कार्यालयमा उजुर गर्न नसकेको हो भन्ने बेहोरा लेखाएको पाइयो । मौकामा लेखाएको सो बेहोरा समर्थन हुने गरी सङ्केत नाम ५५ट(२) ले अदालतमा बकपत्र गरेको देखियो ।
४. प्रतिवादीको अनुसन्धानको बयान हेर्दा, सङ्केत नाम ५५ट(२) पढ्ने स्कुलमा आफूले पढाउने गरेको, सँगै स्कुल जाने र कुराकानी गर्ने गरेको र सहमतिमा नै सङ्केत नाम ५५ट(२) लाई करणी गरेको भनी लेखाएको पाइयो । त्यसैगरी प्रतिवादीको यस अदालतसमक्षको बयानमा सङ्केत नाम ५५ट(२) सँग माया प्रेम बसी २०७२ साल भदौ महिनादेखि विभिन्न समयमा निजलाई सहमतिमा करणी गरेको, निजले आफूलाई खोज्दै घरसम्म आएकोमा आफू घरबाट निस्केको, निजले आफूसँग विवाह गर्ने निधो गरेको भनी बयान गरेको देखियो । यसरी प्रतिवादीले अनुसन्धानमा र अदालतमा गरेको बयानमा पीडितलाई जबरजस्ती करणी गरेको होइन, सहमतिमा करणी गरेको हुँ भनी आरोपित कसुरमा इन्कार रहेको देखियो ।
५. घटना विवरण कागज गर्ने मानिसहरूले लेखाएको बेहोरा अध्ययन गर्दा, हिरालाल भण्डारीले ५५ट(२) लाई जबरजस्ती करणी गरेर फरार भएका छन्, घर नआएको धेरै दिन भयो भनेर गाउँघरमा व्यापक हल्ला चलेको थियो । मिति २०७४।४।१३ गते हिरालाल भण्डारीले मलाई फोन गरेर मैले गल्ती
गरेँ । जसरी हुन्छ यो कुरा मिलाइदेउ, म तपाइँको घरमा आउँछु भनेर भनेका थिए । प्रतिवादीले नै मैले ५५ट(२) लाई जबरजस्ती करणी गरेको हुँ मिलाइदेउ भनेकाले निज प्रतिवादीले नै जाहेरवालाको छोरीलाई जबरजस्ती करणी गरेका हुन् भन्नेमा विश्वास लाग्छ भन्नेसमेत बेहोरा तेजबहादुर बोहराले उल्लेख गरेको पाइन्छ । मिति २०७४।४।१३ गते प्रहरी टोली घटनास्थलमा जाँदा पीडित ५५ट(२) ले घटनास्थल देखाउँदै मलाई हिरालाल भण्डारीले यही वनमा लगी राति जबरजस्ती करणी गरेको हो भनी चिनाएकी थिइन् । प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई मैले जबरजस्ती करणी गरेँ । मैले भुल गरेको हुँ । मबाट गल्ती भयो । यो कुरा गाउँघरमा मिलाइदिनुस् भनी गाउँलेहरूलाई भनेका रहेछन् भन्नेसमेत बेहोरा प्रेमकुमारी महतराले लेखाएको पाइन्छ । त्यसैगरी, मिति २०७४।४।१३ गते घटनास्थलमा प्रहरी टोली जाँदा मलाई हिरालाल भण्डारीले यही सामुदायिक वनमा बलात्कार गरेको थियो भनी पीडित ५५ट(२) ले देखाएकी थिइन् म पनि सँगै थिएँ । प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई जबरजस्ती करणी गरेको हुँ । मैले गल्ती गरिसकेँ जसरी भए पनि मिलाइदेउ भनेर गाउँघरमा भनेका रहेछन् । सो कुरा मैले गाउँलेहरूबाट सुनी थाहा पाएको हुँ । निज प्रतिवादीले ५५ट(२) लाई जबरजस्ती करणी गरिसकेपछि पीडित, जाहेरवालासमेतलाई यो कुरा कोही कसैलाई नभन्नु, भनेपछि काट्छु मार्छु भनी पटकपटक ज्यान मार्ने धम्की मलाई दिएको छ भनी जाहेरवालाले मलाई भनेका थिए भन्नेसमेत बेहोरा सुनिता खड्काले उल्लेख गरेको पाइन्छ । पीडितले घटनास्थल देखाउँदै मलाई प्रतिवादी हिरालाल भण्डारीले मिति २०७४।२।१६ गते राति सिमकार्ड ल्याउन बोलाई जबरजस्ती करणी गरेको हो भनेकी थिइन् । उक्त घटना घटेको केही दिनपछि प्रतिवादी हिरालाल भण्डारीले जाहेरवालालगायत पीडितलाई डर, त्रास देखाउन भनी लामो लामो कपाल भएका गुन्डा खालका केटाहरू गाउँघरमा ल्याएका छन् भनेर जाहेरवालाले भनेका थिए र मैले पनि देखेकी
हुँ । प्रतिवादी हिरालाल भण्डारीले ५५ट(२) लाई मैले जबरजस्ती करणी गरेको हुँ । मबाट गल्ती भयो भनी गाउँघरमा भनेका रहेछन् भन्नेसमेत बेहोरा नन्दा महतराले उल्लेख गरेको देखिन्छ । त्यसैगरी, प्रतिवादी हिरालाल भण्डारीको श्रीमतीले मिति २०७४।२।१९ गते पीडित निजको घरमा जाँदा झगडा गरेको कुरा पीडितले मलाई भनेकी थिइन् । प्रतिवादी हिरालाल भण्डारीले आफूले पीडितलाई करणी गरेको र यो कुरा गाउँघरमा मिलाउनुपर्छ, प्रहरी कार्यालयमा जानु हुँदैन, गयौ भने तिमीहरूलाई केटाहरू लगाई मार्न लगाउँछु भनी धम्कीसमेत दिएका थिए भन्नेसमेत बेहोरा राजकुमारी महतराले लेखाएको देखिन्छ । मिति २०७४।२।१६ गते राति अं.२०:०० बजेको समयमा प्रतिवादीले केही काम छ भनी फोन गरेर ५५ट(२) लाई बोलाई अमराईभित्त सामुदायिक वनमा जबरजस्ती लगेर करणी गरेको रहेछ । प्रतिवादीले पनि पीडितलाई सो मिति र समयमा करणी गरेको कुरा स्वीकार गरी गाउँमा जसरी हुन्छ मिलाइदेउ भनी गाउँलेहरूलाई भनेको कुरा मैले गाउँलेहरूबाट सुनी थाहा पाएको हुँ । प्रतिवादीले केही दिनपछि जाहेरवालालगायत घरपरिवारलाई डरत्रास देखाई धम्क्याउन भनी ४/५ वटा मोटरसाइकलमा केटाहरूसमेत ल्याएको मैले स्वयं देखेको हुँ भन्ने बेहोराको सुरमा वलीले उल्लेख गरेको देखिन्छ । यसरी, मौकामा बुझिएका मानिसहरू कमला बोहरा, तेजबहादुर बोहरा, प्रेमकुमारी महतरा, सुनिता खड्का, राजकुमारी महतरा, नन्दा महतरा, सुरमा वली, पीडित सङ्केत नाम ५५(ट)२ समेतका मानिसहरूले गरिदिएका घटना विवरण कागजसमेतका मिसिल संलग्न प्रमाणहरूबाट पीडित सङ्केत नाम ५५(ट)२ ले गरेको घटना विवरण कागजको बेहोरा र सो बेहोरालाई समर्थित हुने गरी अदालतमा गरेको बकपत्रको बेहोरा र जाहेरवाला परिवर्तित सङ्केत नाम ५५ ट(१) को जाहेरी दरखास्त बेहोरा र सोही बेहोरा समर्थित हुने गरी अदालतमा निजले गरेको बकपत्र बेहोरा समर्थित हुन आएको देखिन्छ ।
६. साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने उल्लेख छ । सोही महलको १ नं. को खण्ड (क) मा “डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन” भन्ने कानूनी प्रावधान रहेको छ । प्रस्तुत मुद्दामा पीडितलाई प्रतिवादीले आफू विवाहित हुँदाहुँदै आफूले अध्यापन गर्ने विद्यालयको विद्यार्थी पीडित सङ्केत नाम ५५(ट)२ लाई विवाह गर्ने अनुचित प्रभावमा पारी करणी गरेको भन्ने बेहोरा प्रतिवादीको कानून व्यवसायीले पेस गरेको कागजमा उल्लेख भएको देखिन्छ । त्यसैगरी पीडितलाई प्रतिवादीले रू.४,४०,०००।– (चार लाख चालिस हजार) दिएर मिलापत्र गर्ने कुरा भएको र रू.२,००,०००।– (दुई लाख) दिएको कुरा पनि अदालतमा गरेको बयानमा उल्लेख गरेका छन् र रकम लिने दिने विषयको एउटा कागजको प्रतिलिपि पनि मिसिलमा पेस भएको देखिन्छ । पीडितको सहमति मन्जुरीमा करणी लिनु दिनु गरेको भए पीडितलाई प्रतिवादीले त्यत्रो रकम दिनुपर्ने प्रयोजन रहँदैन । सो रकम लिनु दिनु गरेको भन्ने कागजको बेहोराकै आधारमा सहमतिमा करणी भएको मान्न सकिने अवस्था हुँदैन । प्रतिवादीले २०७२ सालदेखिको २ वर्षको प्रेम सम्बन्ध भनी पुनरावेदन जिकिर लिए तापनि सो तथ्य मिसिल संलग्न कुनै प्रमाणबाट पनि समर्थित भएको पाइँदैन । रकम लिनु दिनु गरेको भन्ने प्रतिवादीको उक्त बयानको बेहोरा र पेस भएको सो कागजको बेहोराले प्रतिवादीले आरोपित कसुर गरेको र कानूनी कारबाहीबाट जोगिन पीडितलाई रकम दिएर अनुचित प्रभावमा पारी मिलापत्र गरी कानूनी कारबाहीबाट उम्कने प्रयत्न गरेकोसमेत देखिँदा पीडितको सहमति मन्जुरीले करणी गरेको भन्ने प्रतिवादीको बयान र पुनरावेदन जिकिर खण्डित भइरहेको मान्नुपर्नेसमेत देखिन आयो ।
७. यसै सन्दर्भमा “पीडितबाट कसरी असहमति व्यक्त हुनुपर्छ, पीडितको असहमति आम समुदायले बुझ्ने गरी नै व्यक्त हुनुपर्छ भन्न मिल्दैन । सोच्दै नसोचेको घटना घट्दा सबैले एकै हिसाबले सुझबुझका साथ यस्तै प्रतिक्रिया व्यक्त गर्नुपर्छ भन्न मिल्दैन” भनी यस अदालतको संयुक्त इजलासबाट पुनरावेदक/वादी परिवर्तित नाम मायाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी पाल्पा जिल्ला, बन्दीपोखरा गा.वि.स. वडा नं. १ बस्ने यादवप्रसाद घिमिरे भएको २०६६-CR-०५५८ को जबरजस्ती करणी (ने.का.प.२०७२, अङ्क १, नि.नं. ९३३५) मुद्दामा सिद्धान्तसमेत प्रतिपादित भएको छ । प्रस्तुत मुद्दामा पीडित आफूमाथि जबरजस्ती करणी भएको भनी सबिस्तार वर्णन गरी घटना विवरण कागज गर्नुको साथै सोलाई समर्थन गरी अदालतमा बकपत्र भएको र जाहेरवालाको सोहीअनुरूपको जाहेरी दरखास्त र सोलाई समर्थन गरी बकपत्र भएको अवस्थामा उक्त कसुरबाट उन्मुक्ति लिन धाक धम्की दिने र आफ्नै छात्रालाई अनुचित प्रभावमा पारी निजको समेत मन्जुरी हो कि भन्ने आशयको कागज गरी रकम दिएकोसमेतका आधारबाट विवेचना गर्दा पीडितको मन्जुरी वा सहमतिमा करणी भएको भन्ने प्रतिवादीको बयान बेहोरालाई प्रमाणमा ग्रहण गरी कसुरबाट उन्मुक्ति दिन सकिने देखिँदैन ।
८. अतः प्रतिवादी पीडित सङ्केत नाम ५५ट(२) पढ्ने विद्यालयको शिक्षकसमेत रहेको देखिएको, जाहेरवाला पीडित सङ्केत नाम ५५ट(२) का पिता परिवर्तित सङ्केत नाम ५५ट(१) ले अदालतमा उपस्थित भई जाहेरी दरखास्तको बेहोरा पुष्टि हुने गरी बकपत्र गरेको, पीडित सङ्केत नाम ५५ट(२) ले मौकामा गरेको कागज बेहोरालाई समर्थन हुने गरी अदालतमा गरेको बकपत्रमा समेत प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी लेखाएको, जाहेरवाला र पीडित सङ्केत नाम ५५ट(२) ले उल्लेख गरेका सो बेहोरा समर्थित हुने गरी मौकामा बुझिएका मानिसहरू कमला बोहरा, तेजबहादुर बोहरा, प्रेमकुमारी महतरा, सुनिता खड्का, राजकुमारी महतरा, नन्दा महतरा, सुरमा वली, पीडित सङ्केत नाम ५५(ट)२ समेतका मानिसहरूले गरिदिएका घटना विवरण कागजसमेतका मिसिल संलग्न प्रमाणहरू, निज सङ्केत नाम ५५ट(२) लाई विवाह गर्ने आश्वासन दिई प्रतिवादीले करणी गरेको भन्ने बेहोरा प्रतिवादीको कानून व्यवसायीले पेस गरेको कागजमा उल्लेख भएको, प्रतिवादी स्वयंको अनुसन्धान र अदालतमा करणी गरेको साबिती बयान बेहोरा एवं माथि विवेचित तथ्य, प्रमाण र प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीले पीडितको सहमति र मन्जुरीको अभावमा जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन आएको देखिँदा यी पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीलाई दोषी ठहर गरी उच्च अदालत सुर्खेतबाट मिति २०७५।५।३१ मा भएको फैसला मनासिब रहेको पाइयो ।
९. तसर्थ, माथि विवेचना गरेअनुसार जबरजस्ती करणीको कसुरमा पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीलाई आरोपित कसुर गरेको ठहर गरी निजलाई ५(पाँच) वर्ष कैद सजाय हुने र पीडितले प्रतिवादीबाट रू.५०,०००।– (पचास हजार) क्षतिपूर्ति भराई लिन पाउने भनी सल्यान जिल्ला अदालतको मिति २०७४।१२।१३ मा भएको फैसला सदर हुने ठहर गरी उच्च अदालत सुर्खेतबाट मिति २०७५।५।३१ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । सहमतिमा करणी गरेकोले आरोपित कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी हिरालाल भण्डारीको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
२. प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी हिरालाल भण्डारीलाई निज थुनामा रहेको कारागार कार्यालयमार्फत दिनू ।
३. प्रस्तुत फैसलाको नक्कल माग्ने सरोकारवालाहरूलाई नियमानुसार नक्कल
दिनू ।
उक्त रायमा सहमति छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृत : कृष्णप्रसाद अधिकारी
इति संवत् २०७८ आषाढ ३० गते रोज ४ शुभम् ।