शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८५१ - जबरजस्ती करणी

भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७८।१०।२५

०७७-CR-१२७५

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / वादी : परिवर्तित नामथर ६२ दैलेख शीवाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : प्रेमप्रकाश शाहीको छोरा दैलेख जिल्ला, आठबिस नगरपालिका वडा नं.६ बस्ने आदर्शप्रकाश शाही

   

जबरजस्ती करणी भएको अवस्थामा मात्र यौनाङ्गमा चोट देखिने, सहमतिको करणीमा नदेखिने भन्‍न नमिल्ने । 

जाहेरवाला र प्रतिवादीले सहमतिमा करणी भएको भनी जिकिर लिइरहेको अवस्थामा शारीरिक परीक्षण प्रतिवेदनमा करणी भएको देखिएकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुग्न 

नमिल्ने । जाहेरवालाको बकपत्र मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको अवस्थामा निजको बकपत्रलाई केवल प्रतिवादीलाई सजायबाट बचाउने उद्देश्यले गरेको भनी सो बकपत्रको प्रामाणिक मूल्यलाई नजरअन्दाज गर्न नमिल्ने । 

(प्रकरण नं.७)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०७०, अङ्क ११, नि.नं.९०७५

ने.का.प.२०७०, अङ्क ६, नि.नं.१०५२०

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्या. श्री दण्डपाणी लामिछाने

दैलेख जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय मुख्य न्यायाधीश श्री नहकुल सुवेदी

माननीय न्यायाधीश श्री राजेन्द्र सुवेदी

उच्च अदालत सुर्खेत

 

फैसला

न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

तथ्य खण्ड

मिति २०७६।०१।२४ गते राति १२:०० बजेको समयमा प्रतिवादी आदर्शप्रकाश शाही जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेशचोकस्थित मेरो नास्ता पसलमा मदिरा सेवन गरी आई मलाई जबरजस्ती समाई लछारपछार गरी बिछ्‌यौनामा लगी पल्टाई मेरो शरीरमा भएको कपडा खोली मलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादी आदर्शप्रकाश शाहीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम ६२ दैलेख शीवाको जाहेरी दरखास्त ।

जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेश चोकस्थित पूर्वमा दैलेख बजारबाट काँडाचौरतर्फ जाने सडक, पश्चिममा पूरानो खाद्य संथान, उत्तर पश्चिममा पूरानो खाद्य संथानतर्फ जाने बाटो, दक्षिणमा ध्रुव थापाको पक्‍की घर यति चारकिल्लाभित्र रहेको सूर्यबहादुर थापाको तीनतले घरको बिच तलामा रहेको पीडित परिवर्तित नाम ६२ दैलेख शीवाले सञ्‍चालन गरेको नास्ता पसलको भित्र पश्चिमतर्फ रहेको कोठामा रहेको बिस्तारामा प्रतिवादी आदर्शप्रकाश शाहीले पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई जबरजस्ती करणी गरेको भनी पीडितले देखाएको चारकिल्लासहितको घटनास्थल मुचुल्का ।

मिति २०७६।०१।२४ गते साँझपख जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेश चोकस्थित परिवर्तित नाम ६२ दैलेख शीवाको नास्ता होटल पसलमा गई मदिरा सेवन गरी, निज पीडित परिवर्तित नाम ६२ दैलेखसँग जिस्किने क्रममा मैले निजलाई शारीरिक सम्पर्क राख्‍न दिन्छ्यौ भन्दा निज पीडितले राति गरौँला भनेपछि म निजकै नास्ता होटल पसलमा बसेकोमा राति १२:०० बजेतिर निजसँग जिस्किने क्रममा निज पनि मसँग जिस्किदै मलाई अँगालोमा हालेपछि मैले निजलाई करणी गरेको 

हुँ । मैले पीडितलाई जबरजस्ती करणी गरेको नभई निजको सहमतिमा करणी गरेको हुँ । निजलाई करणी गरिसकेपछि राति म निज पीडितसँगै सुती बिहान सो ठाउँबाट निस्केको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आदर्शप्रकाश शाहीले गरेको बयान कागज ।

Small abrasion mark right anterior breast, right back, left lower back and left anterior breast तथा Bruised Hymen भन्‍नेसमेत उल्लेख भएको पीडित परिवर्तित ६२ दैलेख शीवाको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०७६।०१।२४ गते राति म आफ्नै पसलमा थिएँ । जाहेरवाला पीडित परिवर्तित नाम ६२ दैलेख शीवा र प्रतिवादी आदर्शप्रकाश शाहीलाई राम्रोसँग चिन्दछु । मिति २०७६।०१।२४ गते राति १२:०० बजेको समयमा प्रतिवादी आदर्शप्रकाश शाहीले पीडित परिवर्तित नाम ६२ दैलेख शीवाको नास्ता पसलमा गई रातिको समयमा अन्य मानिस कोही नभएको अवस्थामा निज पीडितलाई जबरजस्ती करणी गरेको भन्‍ने कुरा मैले टोलछिमेकबाट सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको शेरबहादुर विष्टले गरेको घटना विवरण कागज ।

मिति २०७६।०१।२४ गते राति १२:०० बजेको समयमा प्रतिवादी आदर्शप्रकाश शाहीले पीडित परिवर्तित नाम ६२ दैलेख शीवाको नास्ता पसलमा गई रातिको समयमा अन्य मानिस कोही नभएको अवस्थामा निज पीडितको इच्छाविपरीत जबरजस्ती करणी गरेको भन्‍ने कुरा मैले जाहेरवालाबाटै सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको दानबहादुर बुढामगरले गरेको घटना विवरण कागज ।

मिति २०७६।०१।२४ गते राति १२:०० बजेको समयमा प्रतिवादी आदर्शप्रकाश शाहीले पीडित परिवर्तित नाम ६२ दैलेख शीवाको नास्ता पसलमा गई रातिको समयमा सो नास्ता पसलमा एक्लै देखी तथा अन्य मानिस कोही नभएको अवस्थामा निज पीडितको इच्छाविपरीत जबरजस्ती करणी गरेको भन्‍ने कुरा मैले जाहेरवालाबाटै सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको जयबहादुर विष्टले गरेको घटना विवरण कागज ।

प्रतिवादी आदर्शप्रकाश शाहीको उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसुर अपराध भएकोले निजलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड (ङ) बमोजिम सजाय हुनका साथै प्रतिवादी आदर्शप्रकाश शाहीबाट पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ को परिच्छेद १८ को दफा २२८ बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई भरार्इ पाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी ।

मिति २०७६।०१।२४ गते राति ८ बजेतिर नास्ता खाने भनी निज जाहेरवालाको पसलमा गएको थिएँ । मेरो साथमा नास्ता खाँदा भरत थापा पनि 

थिए । दुवै जनाले साहुनी जाहेरवालासँग जाँडको झोल मागी खाँदै गर्दा भरत थापाको घरबाट फोन आएपछि भरत थापा घरतिर गए । म पनि अब घरतिर जानु पर्‍योभन्दा जाहेरवालाले अहिले किन जाने हो, यतै बसौंला भनी मलाई बस्न कर गरिन् र निज जाहेरवालाको भाइले पनि उक्त होटलको बाहिरबाट सटर लगाई बजारतिर गए । २ घण्टासम्म कुर्दासमेत नआएपछि जाहेरवालाले अब भाइ आउँदैन सुत्‍न कोठामा जाऊँ भनेपछि म पनि निजको विस्तारामा गएँ र विस्तारामा पुग्ने बित्तिकै जाहेरवाला परिवर्तित नाम ६२ दैलेख शीवा मसँग जिस्किन थालेपछि म पनि जिस्किएँ र हामी दुवैको सहमतिबाट हामीले करणी लिनु दिनु गरेका हौं । मैले जाहेरवालाको इच्छाविपरीत जबरजस्ती करणी गरेको होइन, जाहेरी बेहोरा झुठ्ठो 

हो । निज जाहेरवालाले आफ्नो दिदी भिनाजुको भनाइमा लागेर जाहेरी दिएको हुनुपर्छ भन्‍नेसमेत बेहोराको प्रतिवादी आदर्शप्रकाश शाहीले सुरू अदालतसमक्ष गरेको बयान ।

उक्त दिनमा म दैलेख बजारको घरमा 

थिएँ । उक्त रातिमा प्रतिवादी आदर्शप्रकाश शाहीसँग भेट भएको थियो । प्रतिवादी आदर्शप्रकाश शाही र जाहेरवालालाई सोध्दा हामी दुवैको सहमतिमा करणी भएको हो भनेका कारण जबरजस्ती करणी गरेको होइनन् । पहिले दुवैजनाको सहमतिमा करणी भई पछि विवाहको सम्बन्धमा प्रतिवादीले इन्कार गरेपछि निजउपर सोही रिसइवीले झुठ्ठा जाहेरी दिएकी हुन् भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी कमला चन्दले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

उक्त मितिको कागज बेहोरा देखाई पढी बाची सुनाउँदा सुनी पाएँ । जाहेरवालालाई प्रतिवादीले जबरजस्ती करणी गरेका होइनन् । किनकि घटनापछि जाहेरवाला, घर छिमेकबाट थाहा जानकारी भएअनुसार पछि बुझ्दा जबरजस्ती करणी भएको होइन रहेछ । मैले तत्काल उक्त जाहेरवालालाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी उल्लेख गरे तापनि प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको रहेनछन् । अरू बेहोरा ठिक छ, सहीछापसमेत मेरै हो भन्‍नेसमेत बेहोराको वादीका साक्षी जयबहादुर विष्टले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

उक्त मितिको घटना विवरण कागज पढीबाची सुनाउँदा सुनेँ । उक्त बेहोरामा भनिएकोमध्ये प्रतिवादीलाई कारबाही सजाय हुनुपर्छ भनेको 

होइन । अन्य कुरा सबै मेरो नै हो साथै उक्त कागजको सहीछाप तथा ल्याप्चेसमेत मेरै हो । पहिले सुन्दा जबरजस्ती करणी भएको भनिए पनि पछि बुझ्दै जाँदा जाहेरवाला र प्रतिवादीबिच पहिलेदेखि नै सम्बन्ध भएको र एकआपसमा उठबस गर्ने जिस्किने भएकोले जबरजस्ती करणी भएको भन्‍न सकिँदैन । त्यसकारण प्रतिवादीलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको वादीका साक्षी शेरबहादुर विष्टले सुरू अदालतसमक्ष गरेको बकपत्र । 

उक्त मितिको जाहेरी बेहोरा पढीबाची सुनाउँदा सुनी पाएँ । उक्त जाहेरी बेहोरा मैले भनेबमोजिम लेखिएको ठिक छ र त्यसमा परेको सहीछापसमेत मेरै हो । उक्त मितिमा प्रतिवादी र मेरो सहमतिमा नै एक आपसमा करणी भएको हो । निजले मलाई उक्त दिन जबरजस्ती करणी गरेका होइनन् । निज प्रतिवादी र मेरोबिचमा विवाह गर्ने सल्लाह भएको र सोही सल्लाहका कारण हामीहरूले एकआपसमा सहमतिबाटै करणी गरिसकेपछि निज प्रतिवादीले मलाई विवाह गर्दैन भनी भनेकोले सोही कारणले मैले निजले मलाई जबरजस्ती करणी गरेका हुन् भनी जाहेरी दिएकी हुँ भन्‍नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम ६२ दैलेख शीवाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादीउपर किटानी जाहेरी परेको, प्रतिवादीले जाहेरवालालाई सहमतिमा करणी गरेको भनी बयान गरेको भए तापनि पीडित जाहेरवालाले अदालतमा बकपत्र गर्दा आफूलाई प्रतिवादीले विवाह गर्छु भनी विश्वासमा पारी सहमतिमा करणी भएको र करणीपश्चात् विवाह गर्दिन भनेकोले जाहेरी दिएको भनी बकपत्र गरेबाट यी प्रतिवादीले सहमतिमै करणी गरेको मान्‍ने हो भने पनि पीडितलाई विवाह गर्छु भनी झुक्यानमा पारी करणी गरी करणीपश्चात् विवाह गर्न तत्काल इन्कार गरेको भन्‍नेसमेत देखिन आएबाट त्यस्तो झुक्यानमा पारिदिएको मन्जुरीलाई मन्जुरी नमानिने कानूनी व्यवस्थासमेत रहेको र पीडितको शरीरमा चिथोरिएका, खोस्रिएका घाउचोट र Bruised hymen समेतबाट करणीको समयमा संघर्षसमेत पुष्टि भएकोले उक्त तथ्य, आधार र प्रमाणसमेतबाट यी प्रतिवादी आदर्शप्रकाश शाहीले अभियोग दाबीअनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम जबरजस्ती करणीको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई कसुरको मात्रा, कसुरको गम्भीरता, कसुर गर्दाको परिस्थिति र प्रकृति तथा निजको उमेर, आर्थिक स्थिति, पारिवारिक स्थिति, पीडित र समाजलाई पुग्न गएको हानि नोक्सानी आदिसमेतलाई विचार गर्दा गरी सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम ७(सात) वर्ष कैद हुने र प्रतिवादी आदर्शप्रकाश शाहीबाट जाहेरवाला पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्तिबापत भराइदिने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू दैलेख जिल्ला अदालतको मिति २०७६।०९।१० को फैसला ।

जाहेरवालाले जाहेरी बेहोरालाई खण्डन गर्दै आफूलाई घाउ चोट लाग्नुको कारण उल्लेख गर्दै तथ्यगत आधारमा मलाई निर्दोष भनी गरेको बकपत्र मिसिल संलग्न रहँदा रहँदै प्रमाण परीक्षणबाट अस्तित्व लोप भएको जाहेरी र घा जाँच एवं खण्डित कागज बेहोरालाई आधार बनाई भएको फैसला फौजदारी न्याय एवं प्रमाण कानूनको विपरीत भएको हुँदा सुरू दैलेख जिल्ला अदालतबाट भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आदर्शप्रकाश शाहीको उच्च अदालत सुर्खेतमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीको मौकामा अनुसन्धान अधिकारी तथा अदालतमा सहमतिमा करणी भएको हो भन्‍ने बयान, जाहेरवाला स्वयंले सहमतिमा करणी भएको हो । करणी भएपछि प्रतिवादीले मैले विवाह गर्दिन भनेकाले रिसले जाहेरी दिएको हुँ भन्‍ने अदालतमा आई गरेको बकपत्र, वादी प्रतिवादीका साक्षीको बकपत्र तथा करणी भइसकेपछि प्रतिवादी राति पीडित सँगसँगै सुती बिहान उठी गएको वारदात परिस्थितिसमेतको मिसिल प्रमाणबाट प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको पुष्टि हुन नआएकाले प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुर ठहर गरेको सुरू दैलेख जिल्ला अदालतको मिति २०७६।०९।१० को फैसला मिलेको नदेखिँदा बदर भई प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्च अदालत सुर्खेतबाट मिति २०७७।९।६ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम ६२ दैलेख शीवाको मिति २०७६/०१/२५ गतेको स्वास्थ्य परीक्षण प्रतिवेदनमा left buttock, right breast लगायतका शरीरका भागमा तछारिएको, कोतारिएका घाउ चोट र निलडामहरू रहेको पाइन्छ । त्यसैगरी निजको यौनाङ्ग (valve; vagina) मा Contusion, laceration का चोटहरूलगायत Vagina ५’O clock र ७’O clock position मा रहेको भन्‍ने उल्लेख छ । प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा देब्रे काँधमा टोकेको (bite mark) र सोही स्थानमा Contusion मार्क रहेको उल्लेख भएतर्फ अनदेखा गरी उच्च अदालत सुर्खेतले पीडित तथा प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी गर्दाका चोटपटकहरू नभएको भनी प्रतिवादीलाई सफाइ दिनेगरी गरेको फैसला मिलेको छैन । प्रस्तुत मुद्दामा मिति २०७६/०१/२४ गते राति १२ बजेको समयमा जाहेरवालाले सञ्चालन गरेको होटलमा मादक पदार्थ सेवन गरी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी दिएको किटानी जाहेरीलाई पीडित र प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनले समर्थन गरेको पाइन्छ । प्रतिवादी मौकामा र अदालतमा आई सहमतिमा करणी गरेको स्वीकार गरी बयान गर्नुले निज तथ्यमा साबित रहेको र सजायबाट बच्ने उद्देश्यले कसुरमा मात्र इन्कार रहेको स्पष्ट छ । जहाँसम्म पीडितले अदालतमा बकपत्र गर्दा प्रतिवादीले सहमतिमा भएको उल्लेख गरेतर्फको प्रश्‍न छ । बकपत्र वारदातको केही समयपछि हुने र त्यसबिच अनेक सामाजिक तत्त्वले बकपत्रमा प्रभाव पार्न सक्ने हुन्छ । जबरजस्ती करणी मुद्दामा करणी स्थापित गर्ने विषयमा पीडित तथा अन्य व्यक्तिको भनाइ महत्त्वपूर्ण रहँदारहँदै अकाट्य भने हुँदैन । जबरजस्ती करणीका सम्बन्धमा पीडित तथा अन्य व्यक्तिहरूले व्यक्त गरेको कुरालाई पीडित तथा पीडकको शारीरिक परीक्षणलगायतका अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा प्रमाणमा लिनुपर्ने” भनी ने.का.प. २०६६, अङ्क ६, नि.नं. ८१७९ मा समेत नजिर सिद्धान्तहरू प्रतिपादन भएको अवस्थामा ती नजिरहरूको विपरीत हुने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ । अतः उल्लिखित आधार प्रमाणबाट प्रतिवादी आदर्शप्रकाश शाहीले पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई जबरजस्ती करणी गरेको पुष्टि भएको अवस्थामा निज प्रतिवादीलाई सफाइ दिने ठहर गरी भएको उच्च अदालत सुर्खेतको मिति फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्यले प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम ६२ दैलेख शीवाको मिति २०७६/०१/२५ गतेको स्वास्थ्य परीक्षण प्रतिवेदनमा left buttock, right breast लगायतका शरीरका भागमा तछारिएको, कोतारिएका घाउ चोट र निलडामहरू रहेको पाइन्छ । त्यसैगरी निजको यौनाङ्ग (valve; vagina) मा Contusion, laceration का चोटहरूलगायत Vagina 5’O clock र 7’O clock position मा रहेको भन्‍ने उल्लेख छ । प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा देब्रे काँधमा टोकेको (bite mark) र सोही स्थानमा Contusion मार्क रहेको उल्लेख भएतर्फ अनदेखा गरी उच्च अदालत सुर्खेतले पीडित तथा प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी गर्दाका चोटपटकहरू नभएको भनी प्रतिवादीलाई सफाइ दिने गरी गरेको फैसला त्रुटिपूर्ण भई परिस्थितिजन्य प्रमाणका आधारमा उक्त फैसला फरक पर्नसक्ने देखिँदा प्रत्यर्थी झिकाइपाउँ भनी गर्नुभएको बहस सुनियो ।

मिति २०७६।०१।२४ गते राति १२:०० बजेको समयमा प्रतिवादी आदर्शप्रकाश शाही जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेशचोकस्थित मेरो नास्ता पसलमा मदिरा सेवन गरी आई मलाई जबरजस्ती समाई लछारपछार गरी बिछौनामा लगी पल्टाई मेरो शरीरमा भएको कपडा खोली मलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादी आदर्शप्रकाश शाहीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम ६२ दैलेख शीवाको जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादी आदर्शप्रकाश शाहीले जाहेरवाला परिवर्तित नाम ६२ दैलेख शीवालाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको हुँदा प्रतिवादी आदर्शप्रकाश शाहीको उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसुर अपराध भएकोले निजलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड (ङ) बमोजिम सजाय हुनका साथै प्रतिवादी आदर्शप्रकाश शाहीबाट पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ को परिच्छेद १८ को दफा २२८ बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई भरार्इ पाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी रहेको देखिन आएको प्रस्तुत मुद्दामा निज प्रतिवादीलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम ७(सात) वर्ष कैद हुने र प्रतिवादी आदर्शप्रकाश शाहीबाट जाहेरवाला पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) क्षतिपूर्तिबापत भराइदिने गरी सुरू दैलेख जिल्ला अदालतबाट भएको मिति २०७६।०९।१० को फैसला बदर गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहराई उच्च अदालत सुर्खेतबाट मिति २०७७।९।६ मा भएको फैसलामा चित्त नबुझाई सो फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखिन आयो ।

उपर्युक्त तथ्य रहेको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरसमेत सुनी उच्च अदालत सुर्खेतबाट भएको मिति २०७७।९।६ को फैसला मिलेको छ, 

छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम हुने हो, होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. अब निर्णयतर्फ विचार गर्दा, प्रतिवादी आदर्शप्रकाश शाही मिति २०७६।१।२४ मा मदिरा सेवन गरी मेरो नास्ता पसलमा आई मलाई लछार पछार गरी विछ्‌यौनामा पल्टाई जबरजस्ती करणी गरेकाले कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने परिवर्तित नाम ६२ दैलेख शीवाको जाहेरी दरखास्त देखिन्छ । प्रतिवादी आदर्शप्रकाश शाहीले सुरू अदालतमा बयान गर्दा वारदात मितिमा आफू जाहेरवालाको पसलमा नास्ता खान गएको, जाहेरवालाले यतै बसौं भनी कर गरेपछि अबेरसम्म पसलमा नै बसेको र जाहेरवालाले सुत्‍न कोठामा जाउँ भनेपछि निजको कोठामा गई दुवैजना जिस्कन थालेको एवम् सहमतिमा नै करणी लिनु दिनु गरेको हो भनी कसुरमा इन्कार रहेको देखिन्छ । निजले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दासमेत सोही बेहोराले पीडितकै सहमतिमा करणी गरेको र करणी गरेपश्चात् उक्त राति पीडितकै बेडमा सुती बिहान निस्केको हो भनी जाहेरवालालाई जबरजस्ती करणी गरेको भन्‍ने आरोपित कसुरमा इन्कार रही बयान गरेको देखियो ।

३. पीडित भनिएकी जाहेरवाला ६२ दैलेख शीवाले मौकामा जाहेरी दिँदा प्रतिवादीले जबरजस्ती सटरमा पसी आफूलाई लछार पछार गरी विछ्‌यौनामा लगी जबरजस्ती करणी गरेको भन्‍ने बेहोरा उल्लेख गरेकी भए तापनि अदालतमा आई बकपत्र गर्दा सो जाहेरी बेहोराको प्रतिकूल प्रतिवादी र आफ्नाबिच विवाह गर्ने सल्लाह भई एकआपसको सहमतिबाट नै करणी गरेको हो । करणी गरिसकेपछि प्रतिवादीले विवाह गर्दिन भनेकाले रिसले जबरजस्ती करणी गरेको भनी जाहेरी दिएको हुँ भनी जाहेरी बेहोरा र अभियोग दाबी खण्डित हुने गरी बकपत्र गरेको पाइयो ।

४. मौकामा घटना विवरण कागज गर्ने वादी पक्षका साक्षी जयबहादुर विष्ट र शेरबहादुर विष्टले अदालतमा आई बकपत्र गर्दा आफूले प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको भन्‍ने सुनी मौकामा सो बेहोराको कागज लेखाइदिएको भए तापनि पछि बुझ्दै जाँदा निजहरूबिच पहिलेदेखि नै सम्बन्ध भएको र प्रतिवादीले जबरजस्ती करणी गरेको नभई सहमतिमा नै करणी गरेका रहेछन् भनी मौकाको घटना विवरण कागज बेहोरा खण्डित हुने गरी बकपत्र गरेको देखिन्छ भने प्रतिवादीका साक्षी कमला चन्दले प्रतिवादी र जाहेरवालाले सहमतिमा करणी गरेका र करणीपछि प्रतिवादीले विवाह गर्न इन्कार गरेकाले आफूले जाहेरी दिएको भनी जाहेरवालाले आफूलाई बताएको भनी प्रतिवादीको इन्कारी बयान समर्थित हुने गरी बकपत्र गरेको पाइयो । मिसिल संलग्न जाहेरवालाको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट निजको यौनाङ्गको भित्री भगोष्ट, योनिद्वार तथा कन्याजालीमा घा चोट एवम् नीलडाम (Contusion/bruise) र छाती तथा शरीरका अन्य विभिन्‍न भागमा खोस्रिएका दागहरू देखिए तापनि प्रतिवादीको शारीरिक परीक्षण प्रतिवेदनबाट निजको शरीरमा चिथोरिएको, खोस्रिएको वा अन्य कुनै प्रकारको चोटको दाग देखिन आउँदैन ।

५. यसप्रकार जाहेरवालाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको Vulva, Vagina तथा hymen मा नीलडाम तथा चोट देखिएको र यसबाट पीडितको योनिमा लिङ्ग प्रवेश भएको तथ्य स्थापित हुन सक्ने भए तापनि प्रतिवादीले अदालतमा तथा मौकाको बयानमा समेत जबरजस्ती करणी गरेको आरोपमा इन्कारी भई जाहेरवालाकै सहमतिमा करणी गरेको जिकिर लिएको र पीडित भनिएकी जाहेरवाला स्वयम् अदालतमा आई आफूहरूले सहमतिमा करणी गरेको हो । प्रतिवादीले जबरजस्ती करणी गरेका होइनन् भनी आफ्नो जाहेरी बेहोरा खण्डित हुने गरी र प्रतिवादीको इन्कारी बयान समर्थित हुने गरी बकपत्र गरेको देखिएको स्थितिमा यौनाङ्गमा देखिएका घा चोटको आधारमा मात्र जबरजस्ती करणी भएको भन्‍न मिल्ने देखिएन । घटनास्थल प्रकृति मुचुल्काबाट तीनतले घरको बिचको तलामा रहेको कोठामा वारदातस्थल देखिएको र प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको भए वारदातको समयमा वरिपरिका मानिसहरूले जाहेरवाला रोए कराएको वा प्रतिवाद गर्दा हल्ला गरेको सुन्नुपर्नेमा, निज रोए कराएको, हल्ला गरेको वा हार गुहार गरेको भन्‍ने कहीँबाट देखिँदैन । करणीपश्चात् प्रतिवादी जाहेरवालाको कोठामा सुती भोलिपल्ट बिहान मात्र कोठाबाट निस्की गएको अवस्था छ । जबरजस्ती करणीको वारदातपश्चात् प्रतिवादी जाहेरवालाको पसलमा जाहेरवालाको सहमति बेगर रातभर एउटै कोठामा बिताउने अवस्था रहँदैन । मौकामा घटना विवरण कागज गर्ने वादी पक्षका साक्षी तथा प्रतिवादीका साक्षीको बकपत्रबाट समेत निजहरूको मन्जुरी सहमतिमा नै करणी भएको भन्‍ने प्रतिवादीको जिकिर समर्थित हुन आउँछ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(२) मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ भन्‍ने कानूनी व्यवस्था देखिन्छ । प्रस्तुत मुद्दामा पीडित भनिएकी जाहेरवालाको उमेरमा विवाद देखिँदैन । यसप्रकार उमेर पुगेकी वयस्क महिला स्वयम् अदालतमा उपस्थित भई आफूले सहमतिमा करणी गरेको भनी बकपत्र गरेको अवस्था छ । उमेर पुगेका महिला पुरूषले एकअर्काको सहमतिमा करणी गरेको कार्यलाई उक्त कानूनी व्यवस्थाले जबरजस्ती करणीको कसुरको रूपमा परिभाषित गरेको देखिँदैन । यसरी कानूनले कसुरको रूपमा परिभाषित गरी निषेध नगरेको कार्यलाई कानूनविपरीतको कार्य भनी सजाय गर्न मिल्दैन ।

६. यस सन्दर्भमा यसै अदालतको संयुक्त इजलासबाट नेपाल सरकार विरूद्ध विकाश भन्‍ने लोकबहादुर विश्‍वकर्मा भएको ०६९-CR-००१७ को जबरजस्ती करणी मुद्दामा “महिला र पुरूष दुवैको उमेर पुगेको छ र जबरजस्ती करणीको १ नं. विपरीतको कार्य नगरी दुवैको मन्जुरीबाट कुनै महिला र पुरूषबिच आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई Unlawful Act मानेको छैन । यसरी कानूनले नै Unlawful Act भनी परिभाषित नगरेको अवस्थामा उमेर पुगेका महिला र पुरूषबिच आपसी सहमतिमा स्थापित गरिएको सम्बन्धलाई कानूनविपरीतको कार्य मानी सजाय गर्न कानूनले नै बन्देज लगाउने” भनी ने.का.प.२०७०, अङ्क ११, नि.नं.९०७५, भाग ५५ मा सिद्धान्त प्रतिपादत भएको पाइन्छ । यसैगरी नेपाल सरकार विरूद्ध हेमराज भन्‍ने हिमराज खड्का भएको ०७५-CR-१६३६ को जबरजस्ती करणी मुद्दामा “स्वास्थ्य परीक्षण तथा अन्य सबुद प्रमाणबाट प्रमाणित नभएको तथा पीडित र जाहेरवाला दुवैजनाले अदालतमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन भनी प्रतिकूल बकपत्र गरेको अवस्थामा वस्तुनिष्ठ ठोस प्रमाणको अभावमा केवल किटानी जाहेरी दरखास्तको आधारमा मात्रै प्रतिवादीले आरोपित जबरजस्ती करणीको कसुर गरेका हुन् भनी विश्‍वास गर्न नसकिने” भनी ने.का.प.२०७७, अङ्क ६, नि.नं.१०५२०, भाग ६२ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । माथि उल्लिखित मुद्दाको तथ्य र प्रस्तुत मुद्दाको तथ्य समान रहेको प्ररिप्रेक्ष्यमा प्रस्तुत नजिरहरू यस मुद्दामा उद्धृत गर्नु सान्दर्भिक नै हुने देखिन आयो ।

७. प्रमाण ऐन, २०३१ का दफा २५ मा फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीको हुने छ भन्‍ने कानूनी व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा मौकामा कागज गर्ने जयबहादुर विष्ट र शेरबहादुर विष्टले अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा जाहेरवालाको इच्छाविपरीत जबरजस्ती करणी गरेको कुरा जाहेरवालाबाटै सुनी थाहा पाएको भनी लेखाएको बेहोरा खण्डित हुने गरी पहिले सुन्दा जबरजस्ती करणी भनिए पनि पछि बुझ्दै जाँदा जाहेरवाला र प्रतिवादीबिच पहिलेदेखि सम्बन्ध भएको र एकआपसमा उठ बस गर्ने, जिस्कने भएकोले जबरजस्ती करणी भएको हो भन्‍न सकिँदैन भनी बकपत्र गरेको पाइन्छ । प्रतिवादी आदर्शप्रकाश शाहीले मौकाको अनुसन्धानको बयान तथा अदालतको बयानमा समेत सहमतिमा करणी भएको भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिएको, जाहेरवाला स्वयंले अदालतमा आई सहमतिमा करणी भएको भनी प्रतिकूल (Hostile) बकपत्र गरेको, वादी प्रतिवादीका अन्य साक्षीलगायत समग्र वारदात परिस्थिति र तथ्यबाट प्रतिवादीको इन्कारी बयान समर्थित भइरहेको देखिँदा वादी पक्षले प्रतिवादीउपरको अभियोग दाबी पुष्टि गर्न सकेको देखिएन । जहाँसम्म जाहेरवालाको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको जाहेरवालाको शारीरिक अवस्था छ उक्त प्रतिवेदनबाट शारीरिक सम्पर्क कायम भएको तथ्यसम्म स्थापित हुने हो । जबरजस्ती करणी भएको अवस्थामा मात्र यौनाङ्गमा चोट देखिने सहमतिको करणीमा नदेखिने भन्‍न पनि मिल्दैन । यदि जबरजस्ती करणी भएको भए जाहेरवालाले प्रतिकार गर्दा प्रतिवादीको शरीरमा चिथोरिएको कोतरिएको डाम वा संघर्षका अन्य चिह्न हुनुपर्नेमा त्यस्तो कुनै लक्षण वा चिह्न निजको शारीरिक जाँच प्रतिवेदनबाट चिह्न देखिन आउँदैन । यस अवस्थामा जाहेरवाला र प्रतिवादीले सहमतिमा करणी भएको भनी जिकिर लिइरहेको अवस्थामा शारीरिक परीक्षण प्रतिवेदनमा करणी भएको देखिएकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुग्न मिल्ने देखिएन । जाहेरवालाको बकपत्र मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको अवस्थामा निजको बकपत्रलाई केवल प्रतिवादीलाई सजायबाट बचाउने उद्देश्यले गरेको भनी सो बकपत्रको प्रामाणिक मूल्यलाई नजरअन्दाज गर्न मिल्ने अवस्था देखिएन । यसस्थितिमा जाहेरवाला मौकामा कागज गर्ने व्यक्तिहरू र प्रतिवादीका साक्षीले सुरू अदालतसमक्ष गरेको बकपत्रसमेतबाट प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको पुष्टि हुन नआएको आधार कारणसमेतबाट प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने गरी उच्च अदालत सुर्खेतबाट मिति २०७७।९।६ भएको फैसला मिलेकै देखियो । 

८. अत: उपर्युक्त उल्लिखित आधार कारणबाट प्रतिवादी आदर्शप्रकाश शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) को कसुरमा सोही ऐनको दफा २१९ उपदफा (३) को खण्ड (ङ) बमोजिक ७ (सात) वर्ष कैद र सोही ऐनको दफा २२८ बमोजिम निज प्रतिवादीबाट पीडितलाई रू.२५,०००।– (पच्चिस हजार) क्षतिपूर्तिबापत भराइदिने गरी भएको सुरू फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत सुर्खेतबाट मिति २०७७।९।६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपिसहित फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई 

दिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

     

उक्त रायमा सहमत छु ।

न्या.हरिकृष्ण कार्की

 

इजलास अधिकृत: विष्णुप्रसाद खतिवडा

इति संवत् २०७८ साल माघ २५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु