शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८५४ - अंश चलन

भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री कुमार रेग्‍मी

फैसला मिति : २०७८।६।११

०६७-CI-०२१५

 

मुद्दाः अंश चलन

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं. १९ दमाईटोल बस्ने राम शाहीसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ल.पु.उप-म.न.पा. वडा नं.९ च्यासल बस्ने प्रेमकुमारी शाहीसमेत

 

पति-पत्नी, बाबु-छोरासम्बन्धी नाता सम्बन्धका विवादमा DNA परीक्षण प्रतिवेदनलाई अन्य सबै प्रमाणहरूको तुलनामा सर्वाधिक निर्णायक (Conclusive) र एक मात्र अन्तिम प्रमाण मान्नुपर्दछ भन्ने अनिवार्यता रहेको देखिँदैन । यो एक सापेक्षिक कुरा हो । विविध प्रमाणहरूमध्ये DNA परीक्षण प्रतिवेदन अवश्य नै  एउटा महत्त्वपूर्ण प्रमाण हुन सक्तछ । तर यो नै एक मात्र र अन्तिम प्रमाण भने होइन । यसलाई सामाजिक यथार्थ वा सन्दर्भअनुसार हेरिनु र मूल्याङ्कन गरिनुपर्ने । 

(प्रकरण नं.५)

नागरिकताको प्रमाणपत्रमा पतिको नाम उल्लेख नगरेको भन्ने कारणलाई प्रमाणको रूपमा ग्रहण गरी नाता सम्बन्ध कायम नहुने ठहर गर्नु उचित नहुने । 

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री कमलनयन पन्त, श्री रामेश्वरप्रसाद कोइराला र श्री टिकाराम भट्टराई

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री बलबहादुर राई तथा श्री हरिश्चन्द्र सुवेदी

अवलम्बित नजिर :

ने.का.प.२०३४, नि.नं.१०५२

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा रायबाझी फैसला गर्ने :

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

मा.न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई

पुनरावेदन अदालत पाटन, ललितपुर

पुनरावेदन तहमा फैसला गर्ने एक न्यायाधीश:

माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा

पुनरावेदन अदालत पाटन, ललितपुर

 

फैसला

न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 

तथ्यगत बेहोरा

प्रतिवादीमध्येका राम शाही हामी फिरादीका पति तथा पिता हुन् । उहाँका २ वटा श्रीमतीमध्ये रामदेवी शाही जेठी र म प्रेमकुमारी कान्छी हुँ । जेठी श्रीमतीबाट १ छोरा विकास शाही र मेरोतर्फबाट १ छोरा विनोद शाहीको जन्म भएको हो । जेठीका तर्फबाट २ जना छोरीहरूको जन्म भई उनीहरूको विवाहसमेत भइसकेको छ । हामी ५ जना अंशियार रहेको र हामीहरूको अंशबन्डा भएको छैन । हामीलाई अंश दिनुपर्‍यो भनी विपक्षी पति एवं पितालाई माग गर्दा अंश दिन इन्कार गरेका हुँदा विपक्षीको सम्पूर्ण चल अचल सम्पत्तिलाई ५ भाग लगाई सोमध्येबाट हामी फिरादीको २ भाग अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको मिति २०५८।७।२७ को प्रेमकुमारीसमेतको फिराद दाबी ।

विपक्षीहरूलाई हामीले चिनेकोसम्म पनि छैनौं । फिराद लेखअनुसार २०३१ सालमा विवाह भएको होइन । २०३३ सालमा विनोद शाहीको जन्म भएको भनिएकोमा म राम शाहीले विवाह नगरेको हुँदा वादीहरूले षड्यन्त्रमूलक तवरले हाम्रो सम्पत्ति खाने नियत राखी फिराद दिएका मात्र हुन् । प्रेमकुमारी शाहीले मिति २०४२।२।२ गते नागरिकता लिँदा पतिको महलमा नामसमेत लेखाउन सकेकी छैनन् । हाम्रो सम्पत्तिबाट वादीहरूलाई अंश दिनुपर्ने 

होइन । विपक्षीहरूमध्येका विनोद शाहीले राम शाहीमाथि साङ्घातिक हमला गरेकोमा सो अपराधबाट बच्ने दूषित मनसायले दायर गरिएको झुठा फिराद दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको मिति २०५८।११।२४ को संयुक्त प्रतिउत्तरपत्र ।

वादी दाबीका व्यक्तिहरूलाई देखे, चिनेजानेको छैन भन्नेसमेत बेहोराको प्रतिवादीहरूको बयान भई सो मिसिल सामेल रहेको ।

वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई बकपत्र मिसिल सामेल रहेको ।

प्रतिवादीमध्येका राम शाही र वादी प्रेमकुमारी शाहीको छोरा विनोद शाहीको सम्बन्ध वैज्ञानिक रूपबाट यकिन गर्नुपर्ने भएकोले वादी विनोद शाही, प्रेमकुमारी शाही र प्रतिवादी राम शाहीलाई DNA परीक्षणका लागि पठाई विनोद शाही राम शाहीको छोरा हो, होइन ? परीक्षण गरी पठाइदिनु भनी लेखी पठाई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेस गर्नु र लाग्ने दस्तुर जाँच गरिपाउँ भन्ने प्रतिवादी पक्षबाट दाखिल गराउनु भन्ने बेहोराको आदेशानुसार परीक्षण गरी प्रतिवेदन प्राप्त भई मिसिल सामेल रहेको ।

वादी प्रेमकुमारी शाहीले २०४२ सालमा नागरिकता लिँदा पतिको महलमा आफ्ना पतिको नाम लेखाउन नसकेको, वादीका पिता र पति राम शाही हुन भन्ने आधिकारिक कुनै पनि कागजात पेस गर्न नसकेको र DNA परीक्षण प्रतिवेदनसमेतको Report बाट वादी दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६३।९।१६ को फैसला ।

श्री चण्डी विद्याश्रम माध्यमिक विद्यालयबाट जारी भएको चारित्रिक प्रमाणपत्र सद्दे वा झुट्ठा के हो, ठहर नगरी गरेको फैसला त्रुटिपूर्ण छ । २०४२ सालमा नागरिकता लिँदा पतिको महलमा नाम लेख्न छुट हुँदैमा विपक्षी पिता / पति होइनन् भन्न मिल्दैन । पुनरावेदक विनोद खड्की २०३५ सालमा २ वर्षको हुँदा शान्त भवन हस्पिटलमा उपचार गराउँदा भरेको फर्ममा बाबुको नाम राम शाही उल्लेख भएको छ, कुनै बच्चाको बाबु को हो भन्ने कुरा आमालाई थाहा हुनेमा सो नै अकाट्य प्रमाण हो भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको छ । केवल शंकास्पद DNA परीक्षण प्रतिवेदनलाई आधार लिई गरेको काठमाडौं जिल्ला अदालतको फैसला बदरभागी हुँदा बदर गरी फिराद दाबीबमोजिम न्याय पाउँ भन्ने बेहोराको वादीको मिति २०६४।१।२१ मा पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

वादी प्रेमकुमारी शाही र निजको छोरा विनोद शाहीले प्रतिवादी राम शाहीलाई आफ्नो पति पिता हुन् भनी अंशसमेतको दाबी गरेकोमा वादीका साक्षी शोभा लामा, लक्ष्मी खड्गीले गरेको बकपत्रमा वादी प्रतिवादी राम शाहीका छोरा र श्रीमती हुन् भनी बकपत्र गरेको देखिएको, वादी प्रेमकुमारी शाहीको नागरिकतामा राम शाहीको नाउँ उल्लेख नभए पनि सो नागरिकतालगायतका अन्य लिखतमा प्रेमकुमारी शाही अन्य व्यक्तिको श्रीमती हुन् भन्ने नदेखिएको, वादी पक्षले विद्यालयबाट प्राप्त गरी पेस गरेको सबुद प्रमाणलाई अन्यथा प्रमाणित गर्न नसकेकोलगायतका सबुद प्रमाण विद्यमान रहे भएको अवस्थामा वादीलाई प्रतिवादी राम शाहीको छोरा / श्रीमती कायम नहुने, अंशमा दाबी नपुग्ने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।९।१६ मा भएको फैसला सबुद प्रमाण मूल्याङ्कनको रोहमा नमिली फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि पेस गर्नु भन्ने मिति २०६४।५।२५ को पुनरावेदन अदालत पाटनको आदेश ।

DNA पुनः परीक्षण गर्ने माग गरेको देखिएकोले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट देहायबमोजिम पुनः DNA परीक्षण गरी पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६५।४।२१ को आदेश:

१. वादी र प्रतिवादी राम शाहीको रगत सङ्कलन गर्दा वादीको रगत लिँदा प्रतिवादीलाई रोहबरमा राखी लिने र प्रतिवादीको रगत लिँदा वादीलाई रोहबरमा राख्ने र अदालतबाट खटिएका शाखा अधिकृत स्तरको कर्मचारीलाई समेत राख्ने । 

२. रक्त सङ्कलन गर्दाको अवस्थामा दुवै पक्षको कानून व्यवसायी बस्न चाहेमा राखिदिनु भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा लेखी पठाउने । 

३. DNA परीक्षण गर्दा लाग्ने नपुग दस्तुर रू. १६,०००।- वादीबाट दाखिल गर्न लगाई उक्त दस्तुर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउनू ।

राष्ट्रिय विधि-विज्ञान प्रयोगशालाको मिति २०६५।७।२९ गते DNA परीक्षण गर्ने विशेषज्ञ श्री विनु शोभा तुलाधर र सहायक वैज्ञानिक अधिकृत श्री निराजन थापा क्षेत्रीलाई प्रमाण ऐन, २०३१ को दफा ५२ अनुसार अदालतबाट झिकाई बकपत्र गराई पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको आदेश । 

परीक्षण PCR Based STR टेक्नोलोजीबाट गरिएको हो । यो प्रविधि विश्वले मानेको DNA परीक्षण विश्वसनीय र भरपर्दो परीक्षण हो । प्रयोगशालामा गरिएको विवादित परीक्षणको ३ वटा प्रोफाइलहरू तुलना गर्दा बच्चाको प्रोफाइलमा आमाको DNA मार्करको १५ वटै गुण पाइयो । त्यसैले यसमा न्युटेसनको चान्स भए नभएको भन्न सकिँदैन । यसमा DNA प्रोफाइलिङ्ग तुलना गर्दा पाइएको नतिजाको आधारमा विवादित बाबुको छोरामा १५ वटामध्ये ५ वटा मिलेको, १० वटा नमिलेको देखिएको, विवादित बाबु बाइलोजिकल (जैविक बाबु) होइन । यदि जैविक बाबु हो भने १५ वटै गुण मिल्नुपर्छ । यस प्रविधिको नतिजा ९९.९९% सत्य हुन्छ भन्नेसमेत बेहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विशेषज्ञ विनु शोभा तुलाधरको अदालतसमक्ष भएको बकपत्र ।

दुवै पक्षहरूको रगत सङ्कलनपछि आधुनिक PCR Based DNA प्रोफाइलिङ Kit को प्रयोग गरी प्राप्त नतिजाको आधारमा तयार पारिएको हो । यो प्रविधि अत्याधुनिक एवं भरपर्दो छ । तीनै जनाको भिन्ना-भिन्नै DNA प्रोफाइलहरूलाई एक तालिका बनाई तुलना गर्दा विवादित बाबुमा भएका STR मार्करहरू १५ वटामध्ये १० वटा छोरामा नदेखिएकोले जैविक बाबु हुन सक्दैनन् भन्ने प्रतिवेदन दिएको हो भन्नेसमेत बेहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका सहायक वैज्ञानिक अधिकृत निराजन थापा क्षेत्रीले गरेको 

बकपत्र ।

तायदाती माग्ने आदेश भई पुनरावेदन अदालत पाटनबाट समेत सो आदेश समर्थित भएपछि DNA जाँचलाई पठाइएको, DNA जाँचको जोखिम वा स्वकीय अधिकारमा गम्भीर प्रहार हुन सक्नेमा सोको मन्जुरी प्रत्यक्ष र स्पष्ट रूपमा लिएको नदेखिएको, जाँच प्रतिवेदनको आधार पनि रहेको नदेखिएको, जाँच अगाडिका पूर्वाधार जस्तो जाँचपूर्व पात्रले रगत लिए नलिएको अवस्थाहरू यकिन गर्न सक्ने कार्यविधिगत आधार नभएको, DNA परीक्षणबाट पितृत्वको ठेगान लगाउने वैज्ञानिक तथा अदालती अनुभव निकै कम भएको यस अवस्थामा आमाको अस्मितामा र भविष्यमा समेत वयस्क प्रतिष्ठित व्यक्तिको सम्पत्तिको विवादमा पनि इज्जत र सम्पत्तिमाथि गहिरो प्रहार हुन सक्ने र सामाजिक सामञ्जस्यतामा धेरै व्यभिचारीलगायतका विवादहरू उठ्ने सम्भावना देखिँदा यति कम समयको अनुभव र प्राप्त अप्रस्ट प्रतिवेदनको आधारमा ठुला सङ्कट र जोखिम लिन नहुने अपितु व्यक्तिको मन्जुरी लिई जाँच प्रक्रिया कार्यविधिगत व्यवस्थाबाट यकिन हुन सक्ने नियम लागु गरी यस क्षेत्रमा पर्याप्त अनुभव भइसकेपछि मात्र यो विश्वासिलो हुन पुगेको अवस्थामा हुने व्यवस्था गर्नुपर्ने, तर तत्काल हाम्रो तिस दशकदेखि प्रतिपादित भई आएका कानूनी सिद्धान्त हालसम्म अन्यथा हुन नसकेको र कानूनी सिद्धान्त नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११६(२) अनुरूप यस अदालतले मान्नुपर्ने हुँदा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।९।१६ गते वादीको नाता कायम नहुने र अंशमा दाबी नपुग्ने गरी भएको फैसला नमिलको हुँदा उल्टी भई वादी दाबीअनुरूप नाता कायम भई तायदातीमा उल्लिखित सम्पत्तिबाट विवाह नभएका विनोद शाहीको विवाह खर्च पर सारी पाँच भागको दुई भाग अंश वादीले चलनसमेत पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनका माननीय मुख्य न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको मिति २०६६।५।१५ को राय ।

वादी र प्रतिवादीहरूबिच नातामा सुरूबाटै विवाद रहेको, DNA परीक्षण सुरूमा पक्षहरूको सहमतिमा र दोस्रो पटक वादीले पहिलो परीक्षणमा चित्त नबुझाएको कारणले निजहरूको अनुरोधमा भएको, दुवै पटक DNA परीक्षण गर्दा प्रतिवादी राम शाही र वादी विनोद शाहीको “जैविक बाबु देखिँदैन” भन्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन रहेको, प्रतिवादीमध्येकी प्रेमकुमारीले २०३१ सालमा विवाह भएको भने पनि २०४२ सालमा नागरिकताको प्रमाणपत्र लिँदा पतिको नाम उल्लेख नगरी बाबुको नाम उल्लेख गरी नागरिकता लिएको आदि समस्त प्रमाणहरूको मूल्याङ्कन गर्दा वादी प्रेमकुमारी र विनोद शाहीको प्रतिवादीमध्येका राम शाहीसँग पति तथा बाबुको सम्बन्ध कायम हुन सक्ने अवस्था देखिन आउँदैन । वादी र प्रतिवादीबिच नाता कायम हुन सक्ने नदेखिएकोले वादीले प्रतिवादीबाट अंश पाउँ भनी गरेको दाबी पुग्न सक्ने ठहर्दैन । परिणामतः अंश पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६३।९।१६ को निर्णय सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराईको मिति २०६६।५।१५ को राय । 

उपर्युक्तअनुसार दुई न्यायाधीशहरूबिच रायबाझी भएपछि तेस्रो न्यायाधीशको इजलासमा पेस भई सुनुवाइ भएको ।

DNA को जाँच सुरू हुनुभन्दा पहिले नै अभिलेखका रूपमा मिसिलमा सामेल रहेका तथ्यपूर्ण अभिलेखमा उल्लिखित प्रमाणहरूलाई प्रतिवादीले अन्यथा हो भनी प्रमाणित गर्न नसकेको अवस्थामा पछि DNA परीक्षणका लागि पालना गर्नुपर्ने पूर्वसर्त पूरा नगरी भएको DNA जाँच रिपोर्टलाई एक मात्र प्रमाण मानी मूल्याङ्कन गर्दा अन्य सहप्रमाणहरूको प्रामाणिक मूल्य नै नहुने र DNA जाँचको रिपोर्ट र अन्य प्रमाणहरूको तुलना गर्दा अन्य प्रमाणलाई आधार लिई फैसला हुनै नसक्ने भन्ने भनाइसँग यो इजलास सहमत हुन सकेन । मिति २०६६।५।१५ मा यस अदालतबाट फैसला हुँदा माननीय न्यायाधीशहरूबिच रायबाझी भएकोमध्ये माननीय मुख्य न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको राय मनासिब देखिँदा उक्त रायसँग मेरो सहमति छ । पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीहरूबाट दाबीबमोजिम अंश पाउने नै देखियो । प्रतिवादीमध्येकी रामदेवी शाहीको नाउँको हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने भनी जिकिर लिएकोमा उल्लिखित सम्पत्ति हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको भने तापनि सो जिकिर पुष्टि गर्ने वस्तुनिष्ट प्रमाण कागज पेस गर्न नसकेको स्थितिमा निजको उक्त सम्पत्ति पैतृक सम्पत्तिबाट बढे, बढाएको सम्पत्तिको रूपमा लिनुपर्ने देखिँदा बन्डा लाग्छ । पुनरावेदक वादीको दाबीअनुरूप नाता कायम भई तायदातीमा उल्लिखित सम्पत्तिबाट विवाह नभएका विनोद शाहीको विवाह खर्च परसारी ५ भागको २ भाग अंश वादीहरूले चलनसमेत पाउने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनका एक न्यायाधीश श्री ठाकुरप्रसाद शर्माको मिति २०६७।१।६ को फैसला ।

पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डि.एन.ए. परीक्षण प्रतिवेदनबाट विनोद शाहीका बाबु राम शाही होइनन् भन्ने देखिएको छ । विनोद शाहीका पिता पुनरावेदक राम शाही भएको भए निश्चय नै डि.एन.ए. रिपोर्टमा निजको जैविक बाबु म राम शाही हो भन्ने देखिने थियो । वादीले २०३५ सालको अस्पताल जाँचको रिपोर्ट, स्कुलको चारित्रिक प्रमाण-पत्र तथा नगरपालिकाको सिफारिसलाई प्रमाणस्वरूप पेस गरेकोमा सो प्रमाणबाट पनि प्रतिवादी राम शाही निज विनोद खड्गीको बाबु हो भन्ने कुनै वस्तुनिष्ठ आधार देखिँदैन । विनोद खड्गीले म राम शाहीउपर मिति २०५८।४।१२ गते फौजदारी अपराध गरी सोबाट बच्न मलाई बाबु भनेको मात्र हो । प्रतिवादी प्रेमकुमारी शाहीसँग मेरो विवाह सम्बन्ध भएको हो भन्ने प्रमाण निज विपक्षीले पेस गर्न नसकेको, निजले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट २०४२ सालमा बाबुको नामबाट नागरिकता प्रमाणपत्र लिएको देखिएको तथा नागरिकतामा पतिको नाम उल्लेख गर्न नसकेबाट पनि प्रतिवादीहरूको गलत नियत रहेको देखिन्छ । मेरो श्रीमती रामदेवी शाही र छोरा विकास शाही मात्र हो भन्ने सम्बन्धमा म बसेको सर्जमिन मुचुल्का तथा हकदार प्रमाणित गरिदिएको नगरपालिकाको सिफारिस पत्रले समेत पुष्टि गरेको छ । प्रतिवादीमध्येकी रामदेवी शाहीको नाउँको का.जि. डल्लु गा.वि.स. वडा नं. ३ कि.नं. ४७८ क्षे.फ. ०-८-०-० जग्गा मिति २०४४।३।२३ गते र.नं. ८९३५क. बाट निजले हिरालक्ष्मी शाक्यबाट प्राप्त गरेको हालैदेखिको बकसपत्रको लिखत र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २५, कि.नं. ११ को क्षे.फ. ०-१-२-२ जग्गा र सोमा बनेको पुरानो घर मिति २०४७।७।१४ गते र.नं. २४७४(क) कान्छा शाक्यबाट प्राप्त गरेको हो । सो निजी आर्जनको स्त्री धनमा अंशबन्डाको १८ नं. तथा स्त्री अंशधनको महलअनुरूप पति राम शाही तथा छोरा विकास शाहीसमेतले अंश भाग प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था भएकोमा कुनै नाता सम्बन्ध नभएको विपक्षीहरूले सो सम्पत्तिमा दाबी गर्न मिल्दैन । उक्त सम्पत्तिलाई पैतृक सम्पत्तिबाट बढे बढाएको सम्पत्ति भन्ने अर्थ लगाई पुनरावेदन अदालत पाटनबाट बन्डा लाग्ने ठहरी भएको फैसला त्रुटिपूर्ण छ । विपक्षी प्रेमकुमारी शाही पुनरावेदक राम शाहीको पत्नी हो भनी ठहर हुन नसकेको अवस्था हुँदा पुनरावेदन अदालत पाटनका मा.न्या.श्री ठाकुरप्रसाद शर्माको मिति २०६७।१।६ को फैसला बदर गरी सुरू अदालतको फैसला सदर गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदनपत्र ।

प्रत्यर्थी वादी प्रेमकुमारी शाहीले पुनरावेदक प्रतिवादी राम शाहीसँग २०३१ सालमा विवाह भएको भनेकोमा निजले २०४२ सालमा नागरिकता प्रमाणपत्र लिँदा आफ्नो पति राम शाहीको नाम उल्लेख नगरेको तथा तीन पटक भएको DNA परीक्षणबाट पुष्टि नभएको विषयलाई अन्यथा हुने ठोस प्रमाणको अभाव भएको स्थितिमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं.बमोजिम छलफलको लागि विपक्षीहरूलाई सूचना दिई पेस गर्नु भन्‍ने मिति २०६८।२।२५ मा यस अदालतबाट भएको आदेश ।

निवेदक विनोद शाही खड्गीसमेतले मिति २०६८।५।२१ मा दिएको द.नं. ६२३० को निवेदन पेस भयो । पुनरावेदन अदालत पाटनको मिति २०६७।१।६ गतेको फैसलाबमोजिम वादीले अंश पाउने ठहरेकोमा सो फैसलामा विपक्षीहरूले चित्त नबुझाई यस अदालतमा पुनरावेदन परी मुद्दा विचाराधीन रहेको अवस्थामा पुनरावेदन अदालत पाटनको फैसलाबमोजिम हामी वादीले अंश पाउने ठहरेको बमबहादुर खड्गी (शाही) नाउँ दर्ताको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ कि.नं. ३८१ क्षेत्रफल ०-३-०-० जग्गा र सोमा बनेको घर, ऐ.ऐ. कि.नं. ३८२ क्षेत्रफल ०-३-०-७ जग्गा र सोमा बनेको घर, ऐ.वडा न. २५ कि.नं. ११ क्षेत्रफल ०-१-२-२ जग्गा र सोमा बनेको घर, रामदेवी शाही नाउँ दर्ताको ऐ. डल्लु गा.वि.स. वडा नं. ३ कि.नं. ४७८ क्षेत्रफल ०-८-०-० जग्गा र सोमा बनेको घर विपक्षीहरूले बिक्री वितरण गर्न लागेको हुँदा अ.बं. १७१ (क) नं.बमोजिम ५ भागको २ भाग घर जग्गा रोक्का राखिपाउँ भनी वादीको निवेदन पर्न आएको देखियो । पुनरावेदन अदालत पाटनको मिति २०६७।१।६ गतेको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी मुद्दा विचाराधीन अवस्थामा रहेको देखिँदा निवेदन मागअनुसार वादीले अंश पाउने ठहरेको माथि उल्लिखित घर जग्गामध्येबाट ५ भागको २ भाग घर जग्गा प्रस्तुत मुद्दा किनारा नभएसम्मका लागि अ.बं.१७१(क) नं. बमोजिम कसैलाई कुनै किसिमले बिक्री वितरण हक हस्तान्तरणसमेत गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाइदिनु भन्ने मिति २०६८।५।२१ मा यस अदालतबाट भएको आदेश ।

बहसको क्रममा वादीमध्येका विनोद शाहीको मृत्यु भइसकेको भन्ने खुल्न आए पनि निजको तर्फबाट मुद्दा सकार गरेको देखिँदैन । उपर्युक्त तथ्यबाट प्रस्तुत अंश चलन मुद्दामा वादी दाबीबमोजिमको अंशियारहरूको संख्यामा फरक पर्न सक्ने देखिन्छ । अत: वादी प्रेमकुमारी शाहीलाई विनोद शाहीको मृत्यु भएको हो, होइन ? सो सम्बन्धमा बेहोरा स्पष्ट खुल्ने गरी कागज गराई उपलब्ध भएसम्मको प्रमाणहरूसमेत पेस गर्न लगाई मिसिल सामेल राखी पुरानो महिला वादी भएको अंश मुद्दा हुँदा यथाशीघ्र छिटो पेसीमा चढाई पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।११।१२ को आदेश ।

वादीमध्येका विनोद शाहीको मिति २०७३।०६।०३ मा मृत्यु भएको हो । निजको मृत्यु भए पनि निजको श्रीमती मुस्कान शाही र छोरा युनिक शाही (खड्गी) रहेकाले अंशियार संख्यामा फरक पर्दैन भन्ने बेहोराको प्रत्यर्थी वादी प्रेमकुमारी शाही (खड्गी) ले मिति २०७६।११।२० मा यस अदालतसमक्ष गरेको निवेदन ।

वादीमध्येका विनोद शाही (खड्गी) को मृत्यु भएको र निजको श्रीमती मुस्कान शाही रहेको भनी वादीले मिति २०७६।११।२० मा निवेदन गरेको देखिँदा प्रत्यर्थी वादी प्रेमकुमारी शाहीबाट कागज गराई निज मुस्कान शाहीको यकिन वतन खुलाई निजलाई म्याद जारी गरी झिकाई निज विनोद शाहीको पत्नी हो, होइन ? हो भने विनोद शाही र मुस्कान शाहीबाट कुनै सन्तानको जायजन्म भएको छ, वा छैन ? भन्नेसमेतको बेहोरा खुलाई कागज गराई पेस गर्नु भन्ने यस अदालतको मिति २०७७।०९।६ को आदेश ।

यस अदालतको मिति २०७७।९।६ को आदेशबमोजिम वादी प्रेमकुमारी शाहीबाट कागज गराई खुलाई निजहरूको वतन खुलाएमा झिकाइ निजहरूको समेत कागज गराई पेस गर्नु भन्ने यस अदालतको मिति २०७७।१२।२३ को आदेश ।

प्रस्तुत अंश चलन मुद्दामा यस अदालतको मिति २०७७/०९/६ गतेको आदेशानुसार निवेदनसाथ उपस्थित भई उक्त आदेश पढीबाची सुनाई तपाइँ मुस्कान शाही विनोद शाहीको पत्नी हो, होइन ? हो भने विनोद शाही र मुस्कान शाहीबाट कुनै सन्तानको जायजन्म भएको छ वा छैन ? खुलाइ दिनुहोस् भनी आज अदालतबाट सोधनी हुँदा मेरो चित्त बुझ्यो । यसमा भएको मेरो सत्य साँचो बेहोरा यो छ कि उक्त आदेश सुनाउँदा सुनी पाएँ । यकिन साल मिति थाहा छैन, करिब १० वर्षअघि असार १० गते विनोद शाहीसँग प्रेम विवाह गरेकी हुँ । निज विनोद शाही र मबाट २०७० माघ २६ गते छोरा युनिक शाहीको जन्म भएको हो । मेरो र विनोद शाहीको विवाहको फोटो थान-२ र छोरा युनिक शाहीको Paropakar Maternity & Womens Hospital, Thapathali बाट दिइएको Birth Report थान-१ यसै कागजसाथ पेस गरेकी 

छु । अदालतबाट खोजी भएका बखत उपस्थित हुने छु भन्ने बेहोराको मुस्कान शाहीले मिति २०७८।०१।१३ मा यस अदालतमा गरेको कागज ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राम शाहीसमेतको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री कमलनयन पन्त, श्री रामेश्वरप्रसाद कोइराला र श्री टिकाराम भट्टराईले वादी प्रेमकुमारी शाही र निजको छोरा विनोद शाहीले प्रतिवादी राम शाहीलाई आफ्नो पति तथा पिता हुन् भनी अंश दाबी गरेकोमा नाता नै प्रमाणित हुन सकेको छैन; वादी प्रेमकुमारी शाहीले २०४२ सालमा नागरिकता लिँदा पतिको महलमा आफ्ना पतिको नाम लेखाउन सकेको छैन; वादीका पिता र पति राम शाही हुन् भन्ने देखिने कुनै भरपर्दो कागजात पेस गर्न सकेको छैन; DNA परीक्षण प्रतिवेदनबाट वादी विनोद शाहीको जैविक बाबु प्रतिवादी राम शाही हुन् भन्ने देखिँदैन; DNA परीक्षण प्रतिवेदनलाई भरपर्दो प्रमाणको रूपमा ग्रहण गरिनुपर्दछ; तसर्थ वादी दाबी पुग्न नसक्ने भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरेको माननीय न्यायाधीश डा.आनन्दमोहन भट्टराईको राय मनासिब छ; सोही फैसला सदर हुनुपर्दछ भनी बहस जिकिर गर्नुभयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री बलबहादुर राई तथा श्री हरिश्चन्द्र सुवेदीले प्रत्यर्थी प्रेमकुमारी शाहीको पुनरावेदक राम शाहीसँग २०३१ सालमा विवाह भएको हो; वादी प्रेमकुमारी र प्रतिवादी राम शाहीबाट २०३३ सालमा वादी विनोद शाहीको जायजन्म भएको हो; पितृत्वको ठेगान लगाउन आमाको भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिनुपर्दछ; DNA परीक्षण प्रतिवेदनलाई नै निर्णायक प्रमाण मान्न सकिने अवस्था छैन; वादी प्रतिवादीबिच नाता कायम हुने र दाबीबमोजिम अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला कानूनसम्मत भएको हुँदा सो फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

अब यसमा वादीको दाबीबमोजिम नाता कायम हुने र वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? प्रतिवादी राम शाहीसमेतको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, वादी प्रतिवादीबिच नाता सम्बन्धको कुरामा नै मुख नमिली विवाद रहेको देखिँदा सर्वप्रथम नाता सम्बन्धसम्बन्धी प्रश्नको निरूपण गर्नुपर्ने देखियो । वादीले प्रतिवादीहरूसँग नाता सम्बन्ध रहेको भनी दाबी गरेको देखिन्छ भने प्रतिवादी पक्षबाट सो तथ्यलाई अस्वीकार गरेको देखिन्छ । वादीसँग कुनै नाता सम्बन्ध छैन भनी प्रतिवादी पक्षले जिकिर गर्दा मुख्यत: जैविक (DNA) परीक्षणबाट नाता सम्बन्ध स्थापित हुन नसकेको भन्ने कुरालाई प्रमाणको रूपमा अगाडि सारेको देखियो । तसर्थ DNA परीक्षण प्रतिवेदनको सन्दर्भलाई लिएर विवेचना गर्नु आवश्यक हुन आयो ।

३. विज्ञानका सूत्रहरूका आधारमा गरिने जैविक परीक्षण (DNA Profile) को महत्त्व छ र यसलाई एउटा भरपर्दो वैज्ञानिक परीक्षण पद्दति मानिएको छ भन्ने कुरामा थप चर्चा परिचर्चा गरिरहनु आवश्यक देखिँदैन । यस प्रकारको परीक्षण पद्धति नेपालमा पनि प्रारम्भ भएको पाइन्छ । यसलाई एक सुखद सुरूवात मान्न सकिन्छ । तर पनि कुनै वैज्ञानिक पद्धतिबाट सही वा वास्तविक परिणाम आउनका लागि सोसम्बन्धी निर्धारित प्रक्रिया (Process) को युक्तियुक्त अनुशरण गरिएको हुनु आवश्यक हुन्छ । प्रक्रिया दोषपूर्ण हुन पुग्यो भने परिणाम पनि नकारात्मक वा गलत पैदा हुने सम्भावना रहन्छ । विवादित DNA परीक्षणको भरयोग्यता सम्बन्धमा आ-आफ्नो रायमा पुनरावेदन अदालतका माननीय मुख्य न्यायाधीश श्री वैद्यनाथ उपाध्याय र माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्माले विविध कोणबाट विवेचना गर्नुभएको 

पाइयो । यसरी गरिएको विवेचनाबाट मुद्दा फैसला गर्ने न्यायाधीशहरूमा DNA परीक्षण प्रतिवेदनको भरयोग्यता वा विश्वसनीयता सम्बन्धमा केही संशय रहेको देखिएको छ । यसका अतिरिक्त प्रस्तुत विवादित विषयलाई अर्को कोणबाट पनि हेर्नु आवश्यक देखिन्छ ।

४. मुद्दामा DNA परीक्षण प्रतिवेदनलाई प्रमाणको रूपमा ग्रहण गर्दा परीक्षण पद्धति र सामाजिक सन्दर्भका केही विचारणीय पक्षहरूउपर पनि दृष्टि दिनु वाञ्छनीय देखिन्छ । वैज्ञानिक विधिबाट DNA परीक्षण गरी सूत्रवद्ध रूपमा गणितीय प्रणालीबाट निष्कर्ष निकालिने र प्रतिवेदन दिने गरिएको हुन्छ । तर मानिसको नाता सम्बन्ध, विविध सामाजिक सन्दर्भ र मानवीय संवेदनाहरू सूत्रवद्ध रूपमा गणितीय शैलीमा मात्र सञ्चालित हुँदैनन् । सामाजिक सम्बन्धका विविध र जटिल आयामहरू हुन्छन् । कतिपय सामाजिक यथार्थहरू प्रकट नभएका पनि हुन्छन् र परीक्षणको विषय बन्न नसकेका पनि हुन्छन् । यस प्रकारका सामाजिक सम्बन्धहरूको निरूपण गर्दा विज्ञानका सूत्रहरूमा मात्र निर्भर नरही सामाजिक यथार्थ (social context) प्रति पनि विवेकपूर्ण दृष्टि दिनु वाञ्छनीय हुन्छ । 

५. पति-पत्नी, बाबु-छोरासम्बन्धी नाता सम्बन्धका विवादमा DNA परीक्षण प्रतिवेदनलाई अन्य सबै प्रमाणहरूको तुलनामा सर्वाधिक निर्णायक (Conclusive) र एक मात्र अन्तिम प्रमाण भनी मान्नुपर्दछ भन्ने अनिवार्यता रहेको देखिँदैन । यो एक सापेक्षिक कुरा हो । मुद्दामा प्रस्तुत हुन आएका विविध प्रमाणहरूमध्ये DNA परीक्षण प्रतिवेदन अवश्य नै एउटा महत्त्वपूर्ण प्रमाण हुन सक्तछ । तर यो नै एक मात्र र अन्तिम प्रमाण भने होइन । यसलाई सामाजिक यथार्थ वा सन्दर्भअनुसार हेरिनु र मूल्याङ्कन गरिनुपर्ने हुन्छ । DNA परीक्षण प्रतिवेदन छ भन्दैमा सामाजिक यथार्थ र सन्दर्भका अन्य प्रमाणहरूलाई एकातर्फ पन्छाएर अन्धाले लाठी खोजेको जस्तो केवल विज्ञानका सूत्रका आधारमा मात्र न्यायिक परीक्षण गर्नु विवेकपूर्ण हुँदैन । त्यस प्रकारको प्रवृत्तिले न्यायिक विचलनको अवस्था पैदा गर्ने सम्भावना पनि रहन्छ । तसर्थ, DNA लगायत मिसिल संलग्न सबै प्रमाणहरूको सन्तुलित मूल्याङ्कन गर्नु आवश्यक हुन्छ । उल्लिखित कुराहरू पनि यस मुद्दाका सन्दर्भमा विचारणीय बनेका देखिन्छन् ।

६. माथि उल्लिखित कुराहरूको सन्दर्भमा अब DNA बाहेकका अन्य मिसिल संलग्न प्रमाणका सन्दर्भमा हेर्दा प्रत्यर्थी / वादी प्रेमकुमारी शाहीको पुनरावेदक / प्रतिवादी राम शाहीसँग २०३१ सालमा विवाह भएको, २०३३ सालमा वादी विनोद शाहीको जन्म भएको भन्ने वादी दाबी रहेको 

देखियो । प्रमाणमा आएको वादीमध्येका विनोद शाही (खड्गी) को ०३५ सालमा भएको अस्पताल जाँचको रिपोर्टमा बाबुको नाम “राम” भन्ने नै उल्लेख भएको देखिन्छ । ललितपुर नगरपालिकाले समेत विनोदका बाबु “राम” खड्गी हुन् भनी सिफारिस गरेको 

देखियो । वादीका तर्फबाट प्रमाणको रूपमा पेस भएको श्रमिक शान्ति साधारण मा.वि.ले विनोद खड्गीका नामको कक्षा ३ को २०४५/९/१३ मा जारी गरिएको प्रथम त्रैमासिक प्रमाणपत्रमा विनोदका अभिभावकको नाम “राम खड्गी” भनी उल्लेख गरेको पाइयो । श्री चण्डी विद्याश्रमको मिसिल संलग्न “To Whom it May Concern” विषयक पनि विनोद खड्गीको बाबुको नाम “राम खड्गी” भनी उल्लेख भएको देखियो । रामदेवी शाहीको जाहेरीले श्री ५ को सरकार विरूद्ध यिनै वादी विनोद खड्गीउपर चलेको स.फौ.नं. २८९/७४९ को ज्यान मार्ने उद्योग मुद्दामा मिति २०५८/६/२३ मा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा तथा मिति २०५८/७/१७ मा अदालतसमक्ष बयान गर्दासमेत विनोद शाही (खड्गी) ले बाबुको नाम “राम शाही” भनी उल्लेख गरेको पाइयो । निजले यसरी नाता सम्बन्धका बारेमा उल्लेख गर्दा सोसम्बन्धी कारण वा तार्किक आधारसमेत उल्लेख गरेको देखिन्छ । प्रस्तुत अंश मुद्दा अदालतमा दायर हुनुभन्दा अगाडि नै उल्लिखित ज्यान मार्ने उद्योग मुद्दामा निज विनोद शाही (खाड्गी) ले बयान गरेको देखिन्छ । प्रतिवादी राम शाही (खड्गी) ले वादी प्रेमकुमारी खड्गीलाई पहिले हेरचाह गर्ने गरेको, आर्थिक सहायता दिने गरेको कुरासमेत वादी पक्षका साक्षीहरू शोभा लामा र लक्ष्मी खड्गीले गरेको बकपत्रबाट समर्थित हुन आएको छ । यसरी श्रृङ्खलावद्ध रूपमा पेस हुन आएका प्रमाणहरूलाई अहिले नजरअन्दाज गर्नु मनासिब देखिँदैन । 

७. वादी विनोद शाहीकी आमा प्रेमकुमारी शाहीले राम शाही नै विनोदको बुबा हो भनी किटान गरेको अवस्था देखिन्छ । पितृत्व कायम गर्ने विषयमा आमाको भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने भनी बच्ची विष्ट लगायतका कतिपय मुद्दाका सन्दर्भमा यस अदालतबाट सिद्धान्त कायम भएकोसमेत देखिन्छ । त्यसैले निज प्रेमकुमारी शाही (खड्गी) को भनाइ प्रमाणयोग्य रहेको र यसलाई एउटा महत्त्वपूर्ण प्रामाणिक आधार मान्नुपर्ने देखिन आयो । अब अहिले निज विनोद शाहीको मृत्यु भइसकेको अवस्थामा निजकी पत्नी मुस्कान र छोरा युनिकलाई क्रमशः आफ्नो ससुरा र हजुर्बा (बाजे) को पहिचान नभएको अवस्थाको परिणाम आउने गरी DNA को यान्त्रिक प्रयोग गर्नु सामाजिक न्यायको दृष्टिले मनासिब 

देखिँदैन ।

८. प्रत्यर्थी / वादी प्रेमकुमारीले नागरिकता लिँदा पतिको नाम उल्लेख नगरेको भन्ने सम्बन्धमा हेर्दा नागरिकता ऐन, नियमअनुसार नागरिकता प्राप्त गर्ने व्यक्तिले लोग्ने वा पितामध्ये कसैको नाम खुलाएर नागरिकता प्राप्त गर्न सक्ने भएको र यो आम प्रचलनको विषयका रूपमा रहेकोसमेत देखिँदा नागरिकताको प्रमाणपत्रमा पतिको नाम उल्लेख नगरेको भन्ने कारणले नै सो कुरालाई वादीको विरूद्धमा प्रमाणको रूपमा ग्रहण गरी नाता सम्बन्ध कायम नहुने ठहर गर्नु उचित देखिँदैन । 

९. माथिका प्रकरणहरूमा उल्लेख गरिएका आधार र कारणहरूबाट DNA परीक्षण प्रतिवेदनबाट वादी विनोद खड्गीका जैविक बाबु प्रतिवादी राम शाही (खड्गी) हुन् भन्ने देखिन नआएको भए पनि सो प्रतिवेदनको तुलनामा वादी पक्षबाट पेस भएका अन्य प्रमाणहरू नै भरपर्दो र बढी विश्वसनीय देखिन आयो । यसरी पेस भएका प्रमाणबाट वादी प्रेमकुमारी खड्गी र विनोद खड्गीसँग प्रतिवादी राम शाही (खड्गी) को क्रमश: पत्नी तथा छोरा नाता सम्बन्ध रहेको तथ्य पुष्टि हुन आएको देखिन्छ । पत्नी तथा छोरा नाताका मानिससँग नाता नै पर्दैन भनी प्रतिवादीले जिकिर गरेको देखिँदा निज प्रतिवादीहरूबाट वादीले आफ्नो अंश छुट्याई लिन पाउने नै देखियो । पेस हुन आएको तायदाती फाँटवारीमा केही सम्पत्ति निजी आर्जन वा स्त्री अंशधनको भनी जिकिर गरिएको भए पनि प्रतिवादीले सो तथ्य प्रमाणबाट पुष्टि गर्न सकेको देखिएन । यस प्रकारको सम्पत्तिलाई प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सबै अंशियारको अंश हक लाग्ने सगोलको सम्पत्ति भनी अनुमान गर्नुपर्ने भएकाले अंशियारहरूका बिच बन्डा लगाइदिनुपर्ने नै देखियो ।

१०. अत: यसमा वादी दाबीबमोजिम निज वादी प्रेमकुमारी शाही र निजका छोरा वादी विनोद शाहीको प्रतिवादी राम शाहीसँग क्रमश: पत्नी तथा छोराको नाता सम्बन्ध कायम हुने ठहर्छ । सो ठहर्नाले तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिबाट ५ (पाँच) भागको दुई भाग अंश यी वादीले छुट्याई चलनसमेत चलाई पाउने ठहर्छ । वादीमध्येका विनोद शाही (खड्गी) को विवाह भएको, निजको मुस्कान नामकी पत्नी र युनिक नामका छोरासमेत रहेको भन्ने देखिएको र निज विनोद खड्गीको मिति २०७३/६/३ मा मृत्यु भएको भन्ने कागजात पेस हुन आएको हुँदा निजका हकमा विवाह खर्च परसार्नु परेन । तसर्थ, वादीलाई ५ भागको २ भाग अंश छुट्याइदिने ठहर गरेको पुनरावेदन अदालत पाटनका माननीय मुख्य न्यायाधीशको मिति २०६६/५/१५ को रायमा माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्माले मिति २०६७/१/६ मा सहमति जनाई बहुमत कायम भएको उक्त अदालतको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी राम शाहीसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

११. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी, मुद्दाको दायरीको लगत कट्टा गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- उषा गिरी

इति संवत् २०७८ साल असोज ११ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु