निर्णय नं. १०८५८ - जबरजस्ती करणी उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
फैसला मिति : २०७८।११।१३
०७६-CR-०१२९
मुद्दा : जबरजस्ती करणी उद्योग
पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, साबिक विगु गाउँ विकास समिति वडा नं. ७ को परिवर्तित विगु गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ बस्ने दावा साङ्वो शेर्पा
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम स्वयम्भू ऊ को जाहेरीले नेपाल सरकार
अन्य कसुरको Afterthought statement र यौनजन्य हिंसामा हुने Afterthought statement लाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने । जबरजस्ती करणीमा पीडितमाथि नै लाञ्छना लाग्ने र सामाजिक लाञ्छनाको डरले तत्कालै उजुरी गर्न नसक्ने अवस्थाहरू रहने भएकोले यस्तो अवस्थामा पीडितले गरेको उजुरीलाई निजले प्रतिवादीलाई फसाउने, सताउने नियत राखी दुराशययुक्त भावना एवं सोच विचार गरी उजुरी गरेको भनी अर्थ गर्नु न्यायसङ्गत एवं विवेकपूर्ण हुन नसक्ने । घटनाको क्रमबद्धताको वर्णन गर्दै थप स्पष्टतासहित पीडितले हदम्यादभित्रै दर्ता गरेको जाहेरीलाई Afterthought statement भन्नु कानूनसङ्गत नहुने ।
(प्रकरण नं.१२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चेतनाथ घिमिरे र विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद कटुवाल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्मा
अवलम्बित नजिर :
ने.का.प.२०६३, अङ्क १०, नि.नं.७७७२
ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९६९
ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०४०८
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:-
मा.जिल्ला न्यायाधीश श्री चित्रबहादुर गुरूङ
काठमाडौं जिल्ला अदालत
पुनरावेदन फैसला गर्ने:-
माननीय न्यायाधीश श्री रेवन्त कुँवर
माननीय न्यायाधीश श्री अच्युत भण्डारी
उच्च अदालत पाटन
फैसला
न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :
तथ्य खण्ड
मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं.२ गैरीगाउँ स्थित पूर्वमा सार्वजनिक सडक, पश्चिममा आंगे तामाङको पक्की घर, उत्तरमा छिरिङ शेर्पाको र दक्षिणमा सडक यति चार किल्लाभित्र पर्ने स्वयम्भू ऊ बस्ने गरेको डेरा कोठामा निजकै छिमेकी दावा साङ्वो शेर्पा आई निजलाई विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज गरी कुटपिट गरी घाइते बनाई बाहिर सार्वजनिक सडकमा आई हो-हल्ला गरी अशान्ति मच्चाएको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिई पक्राउ गरी लगेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. २ गैरीगाउँ स्थित आफ्नै डेरा कोठामा म बसेको अवस्थामा दावा शाङ्वो शेर्पा मेरो कोठामा आई केहीछिन कुरा गरी बसेकोमा निजले मलाई एक्कासि कुटपिट गरी टाउकोमा फलामको पेन्चिसले हिर्काई घाइते बनाएको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने परिवर्तित नाम ०७३।०७४ स्वयम्भू ऊ को निवेदन ।
मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. २ गैरीगाउँ स्थित स्वयम्भू ऊ बस्ने गरेको डेरा कोठा तथा बाहिर सार्वजनिक स्थानमा दावा साङ्वो शेर्पा भन्ने मानिसले स्वयम्भू ऊ लाई हातपात कुटपिट गरेको फेला पारी निजलाई सम्झाइबुझाइ गर्दा निजले हामी प्रहरीसँगसमेत विवाद गरी हो-हल्ला अशान्ति गरेको हुँदा निजलाई पक्राउ गरी ल्याएका छौं । कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र. ना. नि. रामशरण कार्कीसमेतको संयुक्त प्रतिवेदन ।
Blunt injury over left parietal region of 2 places 0.1 + 2cm approx each no active bleeding, linear cut, no hematoma. type of weapons मा Blunt object (पिलास) उल्लेख भएको पीडित परिवर्तित नाम स्वयम्भू ऊ को घाउ जाँच केस फाराम ।
प्रतिवादी दावा साङ्वो शेर्पाले मलाई कोठामा बसेको अवस्थामा मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा निज बाहिरबाट मादक पदार्थ सेवन गरी आई ढोका खोल्न भनी ढोकाभित्र प्रवेश गरेपछि केहीछिन कुरा गरी एक्कासि मेरो टाउकोमा पेन्चिसले हिर्काई घाउचोट भएको र सोको उपचार निज प्रतिवादीको आफन्तबाट पाइराखेको छु । निजले मलाई बिनाकारण हातपात कुटपिट गरी घाइते बनाएको हुँदा निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको अनुसन्धानको क्रममा पीडित स्वयम्भू ऊ ले गरेको घटना विवरण कागज ।
मिति २०७३।१०।१४ गते राति अन्दाजी १०:३५ बजेको समयमा म आफ्नै घर कोठामा भएको अवस्थामा दावा साङ्वो शेर्पाले स्वयम्भू ऊ लाई हातपात कुटपिटसमेत गरेपछि मसमेतले प्रहरीलाई खबर गरी प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई पक्राउ गरी ल्याएको हो । निजले जाहेरवालालाई हातपात कुटपिट गरेको हुँदा निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको अनुसन्धानको क्रममा बुझिएका तेन्जिङ नोर्वु लामाले गरेको घटना विवरण कागज ।
मिति २०७३।१०।१४ गते राति अन्दाजी १०:३५ बजेको समयमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. २ गैरीगाउँ स्थित म आफ्नै डेरा कोठामा बसेको अवस्थामा दावा स्याङ्वो शेर्पा मेरो कोठामा आई कोठाको बत्ती निभाएकोले मैले बाल्न खोज्दा केहीछिन झगडा भएको थियो । निजले मेरो श्रीमती माइती गएकी छिन् । मेरो कोठामा सुत्न हिँड भनी अश्लील शब्द प्रयोग गरी मेरो संवेदनशील अङ्गहरूमा छुने, मलाई जबरजस्ती पलङमा लडाई निजको शरीरको तल्लो भागमा लगाएको कपडा खोली मेरो तल माथिको कपडासमेत जबरजस्ती खोल्न लाग्दा मैले निजको हातको बुढी औंलामा टोकी निजको पञ्जाबाट उम्किई सो स्थानबाट भाग्दै गर्दा निजले मलाई ढोकानजिक पुग्दा पछाडिबाट पेन्चिसजस्तो हतियारले टाउकोमा प्रहार गरी लखेट्दै गर्दा म हारगुहार गरी घरबाहिर भाग्ने क्रममा घरधनीसमेतले देखी वरपर मानिसहरू भेला जम्मा भई प्रहरीलाई खबर गरेपछि प्रहरीले निज दावा स्याङ्वो शेर्पालाई पक्राउ गरी ल्याएको हो । मैले आफ्नो इज्जत र प्रतिष्ठाको कारण वारदातको दिन र पछि पनि जबरजस्ती करणी उद्योग गरेको हो भनी समयमा नै जाहेरी दिन नसकी हाल आएर उक्त कुरा असह्य भई जाहेरी गरेको हो । निजले उक्त वारदातमा टाउकोमा कुटपिट गरेको कारण गम्भीर चोट भई हालसम्म उपचार गराइरहेकी छु । निज प्रतिवादीले आफ्नो घरमा श्रीमती नभएको मौका पारी जबरजस्ती करणी गर्ने मनसायले डेरा कोठामा आई मलाई कुटपिटसमेत गरी मेरो छातीजस्तो संवेदनशील अङ्गमा छुने, मैले लगाएको कपडा खोल्ने र निजले लगाएको आफ्नो पाइन्टसमेत खोली मेरो शरीरको तल्लो भागको कपडासमेत खोल्ने प्रयत्न गरी करणी गर्न खोजेकोले निजलाई हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम स्वयम्भू ऊ को जाहेरी दरखास्त ।
मिति २०७३।१०।१४ गते राति म काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. २ स्थित निज जाहेरवाला बस्ने गरेको घरनजिकै आफ्नै डेरा कोठामा सुतेको अवस्थामा अन्दाजी राति १०:३५ बजेतिर मेरो कोठाबाहिर महिला रोएको आवाज सुनी म डेरा कोठाबाट बाहिर निस्की हेर्दा निज जाहेरवालाले गुहार गुहार भनी रोई कराएको देखी के भयो भनी सोधपुछ गर्दा प्रतिवादी दावा शाङ्वो शेर्पाले मादक पदार्थ सेवन गरी डेरा कोठामा गई कुटपिट गरेको भनेकाले वरपरका मानिसहरू भेला जम्मा भई प्रहरीलाई खबर गरी प्रहरीले पक्राउ गरी ल्याएको हो । जाहेरवालाले तत्काल आफूलाई प्रतिवादी दावा साङ्वो शेर्पाले जबरजस्ती करणी उद्योग गरेको भन्ने कुरा भनेको थिएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा सरस्वती तामाङले गरेको घटना विवरण कागज ।
मिति २०७३।१०।१४ गते राति निज प्रतिवादीले मादक पदार्थ सेवन गरी जाहेरवालाको डेरा कोठामा गई निज जाहेरवालालाई कुटपिट गर्दा निज जाहेरवाला हारगुहार गरी बाहिर भाग्दै गरेको देखी वरपरका मानिसहरू भेला जम्मा भई प्रहरीलाई खबर गरी प्रहरीले पक्राउ गरी ल्याएको हो । निज जाहेरवालाले तत्काल आफूलाई दावा साङ्वो शेर्पाले जबरजस्ती करणी उद्योग गरेको भन्ने कुरा भनेको थिएन । हाल आएर निजले जाहेरवालाको डेरा कोठामा जबरजस्ती करणी उद्योग गरेको भन्ने सुनेको हो भन्ने बेहोराको अनुसन्धानको क्रममा तिलकमान मोक्तानले गरेको घटना विवरण कागज ।
काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ एकधारा नजिक पूर्वमा सार्वजनिक सडक, पश्चिममा आंगे तामाङको पक्की घर, उत्तरमा छिरिङ शेर्पाको र दक्षिणमा सडक यति चार किल्लाभित्र पर्ने स्वयम्भू ऊ बस्ने गरेको डेरा कोठामा प्रवेश गरी हेर्दा भुइँमा रातो पहेँलो बुट्टा भएको कार्पेट बिछ्याएको, सोकोठाको दक्षिण पूर्वतर्फ भित्तामा सटाएर लो बेड राखेको, सोही बेडमा मिति २०७३।१०।१४ गते राति अं. २२:४५ बजेको समयमा छिमेकी प्रतिवादी दावा स्याङ्वो शेर्पा आई उक्त बेडमा बसेकी पीडित स्वयम्भू ऊ लाई विभिन्न अपशब्द तथा अश्लील शब्द प्रयोग गरी हातपात गर्न खोजी धकेली निजले उक्त बेडमा लडाई जबरजस्ती करणी गर्न खोज्दा प्रतिकार गरी हारगुहार गरी भागेर बाहिर आएपछि निजले धारिलो हतियारले टाउकोसमेतमा कुटपिट गरी होहल्ला गरेपछि स्थानीय तथा घरधनीसमेतले प्रहरीलाई खबर गरी प्रहरी आई पक्राउ गरी लगेको भन्ने बेहोराको मिति २०७३।११।०३ को घटनास्थल मुचुल्का ।
स्वयम्भू ऊ मेरो मामाको छोरी बहिनी नाताकी हुन् । मिति २०७३।१०।१४ गते राति म काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. २ स्थित नाम थाहा नभएको होटलमा मादक पदार्थ सेवन गरी आफ्नो डेरा कोठामा जाँदा निज जाहेरवाला बहिनीको कोठासमेत सोही घरमा नै भएकोले निजको कोठामा गई कुरा गरेको अवस्थामा म रक्सीको नसामा आवेगमा आई निजलाई गालीगलौज गरी मेरो साथमा भएको पेन्चिसले निजलाई हिर्काएको हो । निजलाई कहाँ लाग्यो मलाई थाहा भएन । जाहेरवालालाई जबरजस्ती करणी उद्योग गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दावा साङ्वो शेर्पाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
स्वयम्भू ऊ को शारीरिक तथा मानसिक अवस्था सामान्य देखिन्छ । निजको कन्याजाली च्यातिएको देखिँदैन । निजको टाउकोको बिच भागमा २ वटा काटेको घाउ देखिन्छ । सो घाउमा ३/३ वटा टाँका लगाएको देखिन्छ भन्ने बेहोराको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौंबाट भएको पीडित स्वयम्भू ऊ को स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न सबुद प्रमाणहरूबाट प्रतिवादी दावा साङ्वो शेर्पाले जाहेरवालालाई जबरजस्ती करणीको उद्योग गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीले गरेको उक्त कसुरजन्य अपराध मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बर्खिलाप कसुर हुँदा निज प्रतिवादीलाई सोही महलको ३(५) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।
जाहेरवाला र म एउटै फ्ल्याटमा भाडामा बस्ने हुँदा निजको धेरै मानिस आउने र फोहोर हुने हुँदा किन यस्तो फोहोर गरेको भनेकोमा निजले कुरा मोडेर मसँग निहुँ खोजेको हुँदा मैले रिसको झोंकमा एक दुई मुक्का हिर्काएको हो । निजलाई मैले पेन्चिसले हिर्काएको भन्ने आरोप झुठ्ठा हो । मउपरको जबरजस्ती करणी उद्योगको अभियोग दाबी झुठ्ठा हो । मैले गर्दै नगरेको झुठ्ठा आरोपबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दावा साङ्वो शेर्पाले सुरू अदालतसमक्ष गरेको बयान ।
तत्काल प्राप्त सबुद प्रमाणबाट ठहरिएबमोजिम हुने गरी प्रतिवादी दावा साङ्वो शेर्पाबाट मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ को देहाय ५ र १० नं.बमोजिम नगद रू.३०,०००।- (तिस हजार) वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु भन्ने सुरू अदालतको मिति २०७३।११।०९ को थुनछेक आदेश ।
प्रतिवादीलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ नं. को दफा ५ र १० बमोजिम रू.३०,०००।- (तिस हजार रूपैयाँ) नगद वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्ने गरी भएको आदेश नमिलेकोले बदर गरिदिएको छ, निज प्रतिवादीलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ नं. को देहाय २ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७४।०१।२१ को आदेश ।
प्रतिवादीले पीडितलाई सामान्य झै-झगडामा कुटपिट गरेको हुनसक्छ । मैले देखेको होइन । मैले पीडितलाई सोध्दा मलाई हातपात गरेको हैन, सामान्य झगडा भएको मात्र हो भनी भनेकी थिइन् । प्रतिवादीले जबरजस्ती करणीको उद्योग गरेको छैन । निजले सफाइ पाउनुपर्छ भन्ने बेहोराको प्रतिवादीका साक्षी ङाछुटी शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
जाहेरी दरखास्त बेहोरा र सहीछाप मेरो नै
हो । मिति २०७३।१०।१४ गते करिब १०:३५ बजेको समयमा म कोठामा एक्लै भएको बेलामा प्रतिवादीको श्रीमती माइत गएको, मेरो भाइ पनि विदेश गएको र फल्याटमा कोही नभएको मौका छोपी ढोका ढक्ढक्याए पछि मैले ढोका खोलेँ । आज मेरो श्रीमती छैन, हिँड उतै बसौंन त भनेर मेरो संवेदनशील अङ्गहरूमा समात्न आयो । मैले प्रतिकार गरेँ । एउटा हातले मेरो कपडा फुकाल्ने र अर्को हातले उसको आफ्नो कपडा फुकाल्ने गर्न थाल्यो । त्यसपछि मलाई २/३ चोटि मेरो बेडमा पल्टाउन थाल्यो । मैले पूरै प्रतिकार गरेर कराउन
थालेँ । म भाग्न खोज्दा मलाई हिर्काएकोले रगतै रगत भएको थियो । त्यो समयमा ५०/६० जना मानिसहरू जम्मा भेला भइसकेका थिए । मिति २०७३।१०।१४ मा घटना भएको समयमा मेरो आफन्त कोही नभएको कारणले आफन्तहरूको सहयोग पाएको थिइनँ । मलाईजस्तो अरूलाई नपरोस् भनेर मिति २०७३।१०।२४ मा जाहेरी दिएको हुँ भन्ने बेहोराको जाहेरवाला परिवर्तित नाम स्वयम्भू ऊ ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०७३।१०।१४ गते करिब १०:३५ बजेको समयमा गुहार गुहारको आवाज सुनी पर्दा हटाएर झ्यालबाट हेर्दा घरभेटीलाई बोलाइदिनुस् न भनी कम्पाउण्डभित्र दौडिरहेको र प्रतिवादीले लखेटिरहेको रहेछ । पछि गेट खोलेर बाहिर निस्केपछि दुवै जनालई प्रस्टरूपमा देखेँ । पीडित पूरा चिच्याउँदै रोइरहेको थियो । प्रहरीहरू आएपछि मसमेत ५०/६० जना मानिसहरू जम्मा भएका थियौं । भुइँतिर पनि रगत देखिएको थियो । टाउकोमा जताततै चोट लागेको थियो । प्रतिवादीले जाहेरवालालाई लखेटिरहेको थियो भन्नेसमेत बेहोराको मौकामा बुझिएकी सरस्वती तामाङले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
जाहेरवालाको स्वास्थ्य परीक्षण मैले गरी प्रतिवेदन दिएको ठिक छ । जाहेरवालाको कन्याजाली च्यातिएको देखिँदैन । उनको टाउकोमा दुई ठाउँमा घाउ थियो । जसमा ३/३ वटा टाँका लगाइएको थियो भन्नेसमेत बेहोराको जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा. चुनुमीला महर्जनले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मौकामा वास्तविक कुरा भन्न नसक्ने अवस्था रहे भएको पनि देखिँदैन । कुनै पनि वारदातको सम्बन्धमा मौकामा अभिव्यक्त कुरा नै वास्तविक हुने अनुमान गरिन्छ; पछि विभिन्न आग्रह पूर्वाग्रहबाट प्रेरित भई भन्न सक्ने हुँदा जाहेरवालाले कुरा फेरि पछि दिएको जाहेरीका कुरालाई वास्तविक मान्न मिलेन । सो कुरालाई अन्य प्रमाणबाट पनि वस्तुगतरूपमा पुष्टि हुन सकेको देखिँदैन । कुटपिट झगडाको वारदातमा झुठ्ठा जाहेरीको आधारमा प्रतिवादीउपर लगाइएको जबरजस्ती करणीको उद्योगको अभियोग ठोस र सबुद प्रमाणबाट वादी नेपाल सरकारले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रमाणित गर्न सकेको नदेखिएको र शंकाको गुन्जायस रहेकोमा त्यसको फाइदा अभियुक्तले पाउने हुँदा (Benefit of doubt goes to accused) प्रतिवादीले जाहेरवालाउपर जबरजस्ती करणीको उद्योगको कसुर गरेको भन्ने अभियोग दाबी पुग्न सक्ने देखिन आएन । तसर्थ, निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।०७।२० को फैसला ।
पीडितउपर जबरजस्ती करणी प्रयास मिति २०७३।१०।१४ गते राति २३:३० बजेको समयमा भएको देखिन्छ । सोही समयमा प्रतिवादी दावा साङ्वो शेर्पा पक्राउ परेको अवस्था छ । पीडितले मौकामा दिएको निवेदनमा रातको समयमा एक्लै भएका बखत प्रतिवादीले हातपात गरेको बेहोरा उल्लेख गरेको र पीडितको कोठामा रातको समयमा गएर कुटपिट गरेको भनी प्रतिवादीले स्वीकार गरी बयान गरको
देखिन्छ । निज प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्न प्रयास गर्दा पीडितले प्रतिकार गर्दा पीडितको टाउकोलगायत शरीरका विभिन्न भागमा पिलासले प्रहार गरेको भन्ने तथ्य पीडितको घाउ केस फारामबाट पुष्टि भएको छ । पीडितको कागज, प्रतिवादीको बयान र बुझिएका तिलकमान मोक्तानसमेतले गरिदिएको कागजबाट प्रतिवादी दावा साङ्वो शेर्पाले पीडितलाई जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणीको प्रयास भएको देखिन्छ । स्त्री जातिको कुनै पनि अङ्गमा करणी गर्ने आशयले समातेमा जबरजस्ती करणीको उद्योग हुने भनी (ने.का.प. २०७१, अङ्क ८, नि.नं. ९२२७) सर्वोच्च अदालतमा सिद्धान्त प्रतिपादन भएबाट निज प्रतिवादी दावा साङ्वो शेर्पालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बमोजिमको कसुरमा सोही महलको ३(५) नं.बमोजिम हुने सजायको आधा सजाय हुनुपर्नेमा सो नगरी अभियोगबाट सफाइ दिने गरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटनमा दायर भएको पुनरावेदनपत्र ।
यसमा पीडितले अदालतमा गरेको बकपत्रसमेतलाई दृष्टिगत गर्दा प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।०७।२० को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि व्यतीत भएपश्चात् नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७५।०१।२१ को आदेश ।
सुरू काठमाडौं जिल्ला अदालतबाट प्रचलित फौजदारी कानूनको सर्वमान्य सिद्धान्तसमेतको विवेचना गरी मलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई भएको फैसला न्यायसङ्गत भएकोले सोही फैसला कायम राखिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दावा साङ्वो शेर्पाको मिति २०७५।०३।३१ को लिखित प्रतिवाद ।
पीडित जाहेरवालाको भनाइ एवं बकपत्र, बुझिएका मानिसहरूको भनाइ एवं बकपत्र, घाउ जाँच केस फाराम, विशेषज्ञको बकपत्र, स्वयं प्रतिवादीले रातको समयमा पीडितको कोठामा गएको कुरा स्वीकारेको बेहोरा आदि एक अर्कासँग मालाकाररूपमा मिल्न भिड्न आई आपराधिक कार्यलाई स्थापित गरिरहेको अवस्थामा जबरजस्ती करणीको महलको ५ नं. को कसुरमा सोही महलको ३(५) नं.बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी सुरूले यी प्रतिवादीलाई सफाइ दिने गरेको मिति २०७४।०७।२० को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । तसर्थ, यी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ५ नं. को परिभाषित कसुरमा सोही महलको ३(५) नं.बमोजिम २ वर्ष ६ महिना कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७५।०४।२५ को फैसला ।
उच्च अदालत पाटनबाट म पुनरावेदकलाई कसुरदार ठहर गरी भएको फैसलामा चित्त बुझेन । सम्मानित अदालतले कोठामा प्रवेश गर्नु नै अपराधको सुरूवात हो भनी अनुमान गरेको अवस्था छ । घटना घटेको १० दिनपछि कोही कसैको बहकाउमा लागी बनावटी तथ्य खडा गरी दिएको जाहेरीलाई हुबहु समर्थन गरी निर्णय लिएको देखिन्छ । म र मेरो परिवार अनि जाहेरवाला मेरी मामाकी छोरी विगत ८ वर्षदेखि एउटै घरको एउटै तलाको ओल्लो पल्लो कोठामा बस्दै आएको हो । म निजको अभिभावकजस्तो गरी बस्ने गरेकोले बहिनी मेरो कोठामा आउने जाने तथा म र मेरो परिवारका सदस्यहरू आउने जाने भइरहने क्रममा उक्त मिति २०७३।१०।१४ गते म र बहिनीको बिचमा कोठाबाहिर फोहोर फालेको विषयमा वादविवाद हुँदा सिर्जना भएको सामान्य झै-झगडा तथा कुटपिटको विषयलाई लिएर भएको घटनामा तत्काल गस्तीमा रहेको प्रहरी आइपुगेको अवस्थामा सोधपुछ गर्दा र प्रहरी चौकीमा हामीलाई लगेको अवस्थामा जाहेरवाला बहिनीले गरेको मिति २०७३।१०।१४ गतेको उजुरी निवेदन तथा प्रहरीले खडा गरेको घटना विवरण कागज, त्यसपछि सार्वजनिक मुद्दामा म्याद थप गरी अनुसन्धान भएको र मिति २०७३।१०।२१ गते जाहेरवालाले गरेको मौकाको कागजको बेहोरा र म प्रतिवादीले अनुसन्धान तथा अदालतमा गरेको बयानलगायतका प्रारम्भिक प्रमाणहरूको विपरीत हुने गरी जाहेरवालाले घटना घटेको १० दिनपछि afterthought statement को आधारमा दिएको जाहेरी दरखास्त र सो जाहेरीलाई समर्थन हुने गरी सम्मानित अदालतमा आई बनिबनाउ तरिकाले गरेको बकपत्रलाई एकोहोरोरूपमा व्याख्या गरी मलाई दोषी ठहर गर्नु अत्यन्तै अन्यायपूर्ण छ । निज जाहेरवालाले दिएको दोस्रो जाहेरी दरखास्तलाई आधार लिई गरेको उक्त फैसला (ने.का.प. २०६७, अङ्क १२, नि.न. ५५२५, पृष्ठ २१०२ मा) श्री सर्वोच्च अदालतबाट “...कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरी पछिबाट सोच विचार गरी किटान गरी दिएको (afterthought statement) जाहेरीलाई प्रमाण मूल्याङ्कनको रोहमा उच्चस्तरको प्रमाण मान्न मिल्ने देखिँदैन र त्यस्तो जाहेरी बेहोरालाई प्रमाणित गर्ने गरी भएका बकपत्र बेहोरासमेतलाई सोहीबमोजिम हेर्नुपर्ने...” भन्ने प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत छ । मैले सोच्न पनि नसकेको झुठ्ठा आरोप लगाएकै भरमा मलाई दोषी ठहर गरी सुरू जिल्ला अदालतको फैसलालाई बदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला ज्यादै अन्यायपूर्ण छ ।
पीडित कोठाबाट बाहिर निस्केर चिच्याएको, घटना विवरणका मानिस तिलकमान मोक्तान र सरस्वती तामाङले जाहेरवाला हारगुहार गरी बाहिर भाग्दै गरेको अवस्थामा प्रतिवादीलाई प्रहरी आई पक्राउ गरेको भनी फैसलामा उल्लेख गरेको पाइन्छ । तर तत्काल घटनास्थलमा उपस्थित भएका ५०/६० जना व्यक्तिका अगाडि पीडितले प्रतिवादीउपर के आरोप लगाएको थियो र प्रतिवादीले के भनेका थिए भन्नेतर्फ अदालतले विश्लेषण नै गरेको छैन । घटना विवरणका मानिस तिलकमान मोक्तान र सरस्वती तामाङले मौकाको कागजमा समेत प्रतिवादीले जाहेरवालाउपर जबरजस्ती करणी गर्ने प्रयास गरेको भनी खुलाएको पाइँदैन । स्वयं जाहेरवाला जो नर्स पेसा गर्ने शिक्षित व्यक्तिले कुटपिट जबरजस्ती करणीको प्रयास भन्ने तथ्य खुलाउन नसक्ने अवस्था थिएन । निज स्वयंले तत्काल घटनास्थलमा प्रतिवादीले कुटपिट गरी ज्यान मार्न खोजेको भन्ने आरोप लगाएको थियो भन्ने तथ्य कुटपिटमा दिएको मिति २०७३।१०।१४ को उजुरी, मिति २०७३।१०।२१ मा गरेको मौकाको कागजसमेतलाई अदालतमा आई बकपत्र गर्दासमेत स्वीकार गरेको अवस्था छ । यस्तो परिस्थिति र आधार कारणहरूलाई बेवास्ता गरी घटना घटेको १० दिनपछि सोचविचार गरी धेरै समय थुनाउने सोच राखी दिएको झुठ्ठा जाहेरीलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी भएको उच्च अदालत पाटनको फैसला अन्यायपूर्ण तथा एकतर्फी रहेको छ ।
मिति २०७३।१०।१४ गते राति १०:४५ बजेको समयमा मैले हल्का मादक पदार्थ सेवन गरेको थिएँ र घरमा आई बहिनीसँग कोठाबाहिर फोहोरको व्यवस्थापन राम्रो नगरी धेरै फोहोरहरू देखी बहिनीलाई किन फोहोर सफा नगरेको भनी प्रश्न गर्दा निज बहिनीले कुरा मोडेर मसँग निहुँ खोजेको हुँदा मैले बहिनीलाई एक मुक्का हिर्काएको थिएँ । निज बहिनीले सोही दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कुटपिट गरी असक्त बनाएको भनी निवेदन दिएकी हुन् । रिसको झोंकमा उनीलाई मैले सम्झाउँदा बुझाउँदा पनि मुखमुखै लागेकीले समान्य कुटपिटसम्म गरेको थिएँ । भएको वास्तविक घटना यही नै हो । पीडित जाहेरवाला परिवर्तित नाम स्वयम्भू ऊ ले मिति २०७४।१०।१४ गते महानगरीय प्रहरी वृत्त स्वयम्भूमा मेरो विरूद्ध उजुरी दिँदा दावा साङ्वो शेर्पाले फलामको पेन्चिसले टाउकोमा हानेको, ढुङ्गाको सिलौटाले टाउकोमा हान्ने प्रयास गरेको र घाँटी थिची ज्यान मार्न खोजेकोले पक्राउ गरी कारबाही गरिपाउँ भनी निवेदन दिएको, निजको मौकाको सो निवेदनमा जबरजस्ती करणीको उद्योग गरेको भन्ने कुनै बेहोरा कहीँकतै उल्लेख नभएको, मलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई अनुसन्धान तहकिकात हुँदै आएकोमा घटना वारदातको १० औं दिन बितेपछि पीडित जाहेरवालाले एक्कासि जबरजस्ती करणी उद्योगको जाहेरी दरखास्त दिएकीले मिति २०७३।१०।२६ गते मात्र प्रथम पटक जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँचौं पटक म्याद थप गरियो । मैले मौकामा र अदालतमा गरेको सही सत्य बयान बेहोराले जाहेरवाला बहिनीको आरोप झुठ्ठा हो भनी प्रमाणित गरिरहेको अवस्था छ । मैले पीडितलाई जबरजस्ती करणी उद्योग गरेको भए मिति २०७३।१०।१४ गतेकै निवेदनमा सोही कसुरमा उजुरी दिनुपर्नेमा सुरूमा कुटपिट गरी ज्यान मार्ने उद्योग भनी १० दिनपछि जबरजस्ती करणी उद्योगको जाहेरी दिने पीडित जाहेरवालाको कार्य मलाई फसाउने र मुद्दामा सडाउने उद्देश्य र बदनियत प्रस्ट हुन्छ । घटना वारदातको १० दिनपछि जबरजस्ती करणी उद्योग मुद्दामा दिएको जाहेरीको तथ्यले निज जाहेरवालाले पहिले लेखाएको उजुरी र मौकामा गरेको मिति २०७३।१०।२१ को कागजले निज आफैँ विबन्धित भएको अवस्था छ । तत्काल भन्ने शब्दको अर्थ तुरून्त वा १/२ दिनसम्म हो । घटनाको समयमा ज्यान मार्ने उद्योग भनेकोमा वारदात भएको १० दिनपछि जबरजस्ती करणी उद्योग भनेको तत्काल मान्न मिल्दैन । ऐनको मर्म, भावना र उद्देश्यविपरीत कलुषित भावना राखी दिएको जाहेरी दरखास्त र सो झुठ्ठा तथ्यलाई पुष्टि गर्ने नियतले जाहेरवालाले अदालतमा गरेको बकपत्रलाई प्रमाण लिन मिल्दैन ।
वारदातको १० दिनपछि सोचविचार गरी मनमा दुर्भावना उत्पन्न गराई नयाँ काल्पनिक कथा र कथन सिर्जना गरी मउपर जबरजस्ती करणी उद्योगको आरोप लगाइएको मात्र हो । उक्त दोस्रो आरोप सत्य नभई दुराशयपूर्ण रहेको छ । उजुरीको फरकफरक कथनहरूले उनले मउपर लगाएको आरोपको विश्वसनीयता खण्डित भएको छ । न्यायको रोहमा शङ्का उत्पन्न गरी मउपर गलत अभियोग दाबी लिइएको अवस्था छ । तसर्थ सुरू काठमाडौं जिल्ला अदालतको फैसला कानून, न्याय, फौजदारी न्यायको सर्वमान्य सिद्धान्त र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको अनुकूल रहेकोले सो फैसलालाई उच्च अदालतले उल्टी गरी मलाई दोषी ठहर गर्दा लिएका निर्णय खण्डनीय, प्रमाण कानून, नजिर सिद्धान्त साथै फौजदारी कानूनका सर्वमान्य सिद्धान्तविपरीत हुँदा काठमाडौं जिल्ला अदालतको फैसला उल्टी हुनुपर्ने होइन । तसर्थ, न्यायको रोहमा प्रमाणको यथोचित मूल्याङ्कन गरी उच्च अदालत पाटनको मिति २०७५।०४।२५ को फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी दावा साङ्वो शेर्पाको यस अदालतमा दायर भएको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनपत्र ।
यसमा प्रस्तुत मुद्दाको जाहेरवालाले प्रतिवादीले गालीगलौज कुटपिट गरी घाइतेसमेत बनाएको घटनाको सम्बन्धमा मिति २०७३।१०।१४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा केही सार्वजनिक कसुर मुद्दामा उजुरी दिँदा र मिति २०७३।१०।२१ मा अनुसन्धानको क्रममा कागज गर्दा यी निवेदक प्रतिवादीले जाहेरवालालाई कुटपिट गरेको भने पनि जबरजस्ती करणीको उद्योग गरेको भनी उल्लेख गरेको नदेखिएको तथा मिति २०७३।१०।१४ देखि मिति २०७३।१०।२३ सम्म प्रतिवादीले जबरजस्ती करणी गर्न खोजेको भन्ने कुराको उजुरी र अनुसन्धान नभई एकैचोटी घटना घटेको १० दिनपछि मात्र जबरजस्ती करणीको उद्योग गरेको भनी जाहेरी परेको अवस्थामा यी निवेदक प्रतिवादीलाई जबरजस्ती करणीको उद्योगमा कसुरदार ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५।०४।२५ मा भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी ऐन, अ.बं.१८४क र १८५ नं. को व्याख्यात्मक त्रुटि देखिनुका साथै ने.का.प.२०६७, अङ्क १२, नि.नं. ८५२५ मा प्रतिपादित सिद्धान्तको पालना भएको नदेखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नुहोला भन्ने यस अदालतको मिति २०७६।०३।०९ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री चेतनाथ घिमिरे र विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद कटुवालले जाहेरवाला र प्रतिवादीबिच सामान्य विवादमा कुटपिटसम्म भएको हो । कुटपिट भएकोमा जाहेरवालाले मौकामा कागज गरी सार्वजनिक अपराधअन्तर्गतको कसुरमा कारबाही चलाई पटकपटक म्याद थप हुँदै आएकोमा पहिलो जाहेरी दिएको १० दिनपछि मात्र जाहेरवालाले दुराशय राखी प्रतिवादीलाई दु:ख दिने मनसायले निजउपर जबरजस्ती करणी उद्योगको झुठ्ठो जाहेरी दिएको
हो । पीडितको शरीरमा जबरजस्ती करणीको कुनै लक्षण छैन । प्रतिवादीले आरोपित कसुरमा इन्कार रही अनुसन्धानको क्रममा बयान गरेका छन् । स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि जबरजस्ती करणी उद्योगको पुष्टि हुन सकेको छैन । मौकामा बुझिएका व्यक्तिहरूको कागजबाट समेत जबरजस्ती करणी उद्योगको कसुर पुष्टि हुन नसकेको स्थिति हुँदाहुँदै प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर गरी भएको सुरू फैसला उल्टी गरी निजलाई जबरजस्ती करणी उद्योगतर्फ सजाय ठहर गरेको उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
यसैगरी प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्माले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गर्ने मनसायले राति १०:४५ बजे मादक पदार्थ सेवन गरी कोठामा प्रवेश गरी कुटपिटसमेत गरेको भनी किटानी जाहेरी दिई सोही बेहोरालाई समर्थन गर्दै अदालतसमक्ष बकपत्र गरेको अवस्था छ । पीडितको शरीरमा भएको चोटपटकले पनि सो कुराको पुष्टि गरिरहेको छ । पीडितउपर परेको मानसिक र शारीरिक चोटको कारण केही दिन ढिलो गरी जाहेरी पर्दैमा त्यसलाई गम्भीर त्रुटिको रूपमा लिनु मनासिब हुँदैन । मौकामा बुझिएका व्यक्तिले अदालतसमक्ष गरेको बकपत्रसमेतबाट प्रतिवादीको पीडित उपरको कसुरलाई प्रमाणित गरी प्रतिवादीले पीडितलाई जबरजस्ती करणीको उद्योग गरेको अवस्था विद्यमान हुँदा निज प्रतिवादीलाई जबरजस्ती करणी उद्योगको कसुरमा सजाय ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेको हुँदा सोही फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रतिवादी दावा साङ्वो शेर्पाले जाहेरवालालाई जबरजस्ती करणीको उद्योग गरेकोले निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बर्खिलाप कसुर हुँदा निज प्रतिवादीलाई सोही महलको ३(५) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं.बमोजिम २ वर्ष ६ महिना कैद हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५।०४।२५ मा भएको फैसलामा चित्त नबुझाई प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ निवेदन परी मिति २०७६।०३।०९ मा निस्सा प्रदान भएअनुसार प्रस्तुत मुद्दा पुनरावेदनको रूपमा दर्ता भई निर्णयार्थ पेस हुन आएको देखियो ।
पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायी तथा प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस सुनी पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी हेर्दा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा आफ्नो कोठामा बसेको अवस्थामा दावा शाङ्वो शेर्पा कोठामा आई केही छिन कुरा गरी बसेकोमा निजले मलाई एक्कासि कुटपिट गरी टाउकोमा फलामको पेन्चिसले हिर्काई घाइते बनाएको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी परिवर्तित नाम स्वयम्भू ऊ ले जाहेरी दिएको देखिन्छ । सोही विषयमा थप तथ्य उजागर गर्दै मैले बोल्न खोज्दा केहीछिन झगडा भएको थियो । निजले मेरो श्रीमती माइती गएकी छिन् । मेरो कोठामा सुत्न हिँड भनी अश्लील शब्द प्रयोग गरी मेरो संवेदनशील अङ्गहरूमा छुने, मलाई जबरजस्ती पलङमा लडाई निजको शरीरको तल्लो भागमा लगाएको कपडा खोली मेरो तल माथिको कपडासमेत जबरजस्ती खोल्न लाग्दा मैले निजको हातको बुढी औंलामा टोकी निजको पञ्जाबाट उम्किई सो स्थानबाट भाग्दै गर्दा निजले मलाई ढोकानजिक पुग्दा पछाडिबाट पेन्चिसजस्तो हतियारले टाउकोमा प्रहार गरी लखेट्दै गर्दा म हारगुहार गरी घरबाहिर भाग्ने क्रममा घरधनीसमेतले देखी वरपर मानिसहरू भेला जम्मा भई प्रहरीलाई खबर गरेपछि प्रहरीले निज दावा स्याङ्वो शेर्पालाई पक्राउ गरी ल्याएको हो । मैले आफ्नो इज्जत र प्रतिष्ठाको कारण वारदातको दिन र पछि पनि जबरजस्ती करणी उद्योग गरेको हो भनी समयमा नै जाहेरी दिन नसकी हाल आएर उक्त कुरा असह्य भई जाहेरी गरेको हो । निजले उक्त वारदातमा टाउकोमा कुटपिट गरेको कारण गम्भीर चोट भई हालसम्म उपचार गराइरहेकी छु । निज प्रतिवादीले आफ्नो घरमा श्रीमती नभएको मौका पारी जबरजस्ती करणी गर्ने मनसायले डेरा कोठामा आई मलाई कुटपिटसमेत गरी मेरो छातीजस्तो संवेदनशील अङ्गमा छुने, मैले लगाएको कपडा खोल्ने र निजले लगाएको आफ्नो पाइन्टसमेत खोली मेरो शरीरको तल्लो भागको कपडासमेत खोल्ने प्रयत्न गरी करणी गर्न खोजेको भनी प्रतिवादीउपर किटानी जाहेरी दिएको देखिन्छ ।
३. निज जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा मिति २०७३।१०।१४ गते करिब १०:३५ बजेको समयमा म कोठामा एक्लै भएको बेलामा प्रतिवादीको श्रीमती माइत गएको, मेरो भाइ पनि विदेश गएको र फल्याटमा कोही नभएको मौका छोपी ढोका ढक्ढक्याएपछि मैले ढोका खोलेँ । आज मेरो श्रीमती छैन, हिँड उतै बसौंन त भनेर मेरो संवेदनशील अङ्गहरूमा समात्न आयो । मैले प्रतिकार गरेँ । एउटा हातले मेरो कपडा फुकाल्ने र अर्को हातले उसको आफ्नो कपडा फुकाल्ने गर्न थाल्यो । त्यसपछि मलाई २/३ चोटि मेरो बेडमा पल्टाउन थाल्यो । मैले पूरै प्रतिकार गरेर कराउन थालेँ । म भाग्न खोज्दा मलाई हिर्काएकोले रगतै रगत भएको थियो । त्यो समयमा ५०/६० जना मानिसहरू जम्मा भेला भइसकेका
थिए । मिति २०७३।१०।१४ मा घटना भएको समयमा मेरो आफन्त कोही नभएको कारणले आफन्तहरूको सहयोग पाएको थिइनँ । मलार्इजस्तो अरूलाई नपरोस् भनेर मिति २०७३।१०।२४ मा जाहेरी दिएको हुँ भनी आफ्नो मौकाको जाहेरी बेहोरा पुष्टि हुने गरी बेहोरा लेखाइदिएको देखिन्छ ।
४. प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा पीडितलाई जबरजस्ती करणीको प्रयास गरेको छैन, फोहोरको निहुँमा झैझगडा हुँदा दुई मुक्का प्रहार गरी कुटपिट गरेको भने तापनि सोही बयानमा पीडितको कोठामा गएको कुरालाई निजले स्वीकार गरेको देखिन्छ भने रातको करिब १०:४५ बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासि पीडितको कोठामा प्रवेश गरी निजको संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी घाइते बनाउनुपर्ने युक्तिसङ्गत कारण प्रतिवादीले उल्लेख गर्न सकेको देखिँदैन । प्रतिवादीले आफ्नो सहमतिबिना नै जबरजस्ती करणी गर्ने दूषित मनसायका साथ आई आफूमाथि आक्रमण गरेको भन्ने पीडितको भनाइलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट भएको निजको घाउ जाँचसम्बन्धी स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएको Blunt injury over parietal region of 2 places 0.1 + 2cm approx each, no active bleeding, no hematoma, type of weapons मा Blunt Objects बेहोराले पुष्टि गरेको देखिन्छ । स्वास्थ्य परीक्षण गर्ने चिकित्सक चुनुमीला महर्जनले अदालतसमक्ष बकपत्र गर्दा आफूले पीडितको स्वास्थ्य परीक्षण गर्दा पीडित भावुक अवस्थामा रहेकी, आँखाभरि आँसु निकालेर आफ्नो पीडा पोख्दै आफ्नो नाता पर्नेले राति एक्कासि ढोका ढक्ढक्याई भित्र प्रवेश गरी आफूलाई समाती जबरजस्ती लुगा खोल्न कोसिस गरेको अवस्थामा प्रतिकार गर्दा निज प्रतिवादीले कुटपिट गरी पेन्चिसले प्रहार गरेको तर आफू जसोतसो उम्कन भाग्न सफल भएको भन्दै पीडितले भनेकी र पीडितको टाउकोमा २ ठाउँमा चोट रहेको थियो, ३-३ वटा टाँका लगाइदिएको हो भनी जाहेरी बेहोरालाई समर्थन गर्दै बेहोरा लेखाएको देखिन्छ ।
५. पीडितको जाहेरी र बकपत्रमा उल्लिखित बेहोरा मुताबिक पीडित कोठाबाट बाहिर निस्केर चिच्याएपछि स्थानीय छरछिमेकी ५०/६० जना र सोको लगत्तै प्रहरी आएको भन्ने देखिन्छ । त्यसैगरी घटना विवरणका मानिस तिलकमान मोक्तान, सरस्वती तामाङले जाहेरवाला पीडितले हारगुहार गरी बाहिर भाग्दै गरेको अवस्थामा स्थानीयहरू भेला भएको र प्रहरीसमेत तत्कालै वारदातस्थलमा उपस्थित भई प्रतिवादीलाई पक्राउ गरेका हुन् भनी अनुसन्धानको क्रममा कागज गरी सरस्वती तामाङले मौकाको आफ्नो बेहोरालाई समर्थन गर्दै अदालतसमक्ष बकपत्र गरेको पाइन्छ ।
६. रातको समयमा बिना कुनै काम पीडित एक्लै आफ्नो कोठामा सुतिरहेको समयमा यी प्रतिवादी पीडितको कोठामा प्रवेश गरेको र प्रवेश गरिसकेपछि पीडितको संवेदनशील अङ्ग समाती ट्राउजर खोल्न खोज्नुले प्रतिवादीको नियत असल रहेको भन्ने देखिँदैन । पीडित जाहेरवालाले आफूले प्रतिकार गर्दागर्दै पनि संवेदनशील अङ्गहरू समाती ट्राउजर खोल्न खोज्दै २, ३ पटक जबरजस्ती विस्तारामा पल्टाएको, कराउन खोज्दा मुख थुनेकोले निजको बुढी औँलामा बेस्सरी टोकी निजलाई लडाएर बाहिर निस्कन खोज्दासमेत घाँटी ङ्याकी टाउकोमा हिर्काएकोले टाउकोबाट रगत बगेको अवस्थामा हारगुहार गर्दै बाहिर निस्किएको देखिन्छ । पीडितले हारगुहार गरेको सुनी तत्कालै गाउँछिमेका मानिसहरू ५०/६० जना भेला भई स्थानीय प्रहरीलाई खबर गरी प्रहरीको टोली आई प्रतिवादीलाई पक्राउ गरेको देखिएबाट प्रतिवादीले गरेको कार्य कसुरजन्य होइन भन्न सकिने अवस्था रहेन ।
७. कुनै कसुर पूर्ण अपराध हो वा अपराधको उद्योग हो भन्ने सम्बन्धमा हेर्दा पूर्ण अपराध हुनका लागि कसुरको तयारी, कसुर सम्पन्न गर्ने मनसाय र कसुरको कार्य सम्पन्न भएको अवस्था हुनुपर्छ भने कसुरको उद्योग हुन पूर्ण अपराधमा हुनुपर्ने मनसाय तत्त्व विद्यमान हुनुपर्छ । मनसाय नराखी गरिएको कार्य उद्योग ठहर्न सक्दैन । उद्योग ठहर्नको लागि अभियुक्तले कसुरको तयारी गरेर मात्र पुग्दैन । तयारीभन्दा अघि उसले पूर्ण अपराध घटाउन सारभूत रूपमा प्रयासहरू गरेको हुनुपर्छ । प्रस्तुत मुद्दामा पीडितले प्रतिवादीउपर दिएको जाहेरी, निजले अदालतसमक्ष गरेको बकपत्र, मौकामा बुझिएका व्यक्तिहरू सरस्वती तामाङसमेतले प्रतिवादीउपर पोल गरी लेखाइदिएको आफ्नो मौकाको भनाइ पुष्टि हुने अदालतसमक्ष गरिदिएको बकपत्रबाट यी प्रतिवादी मध्यरातको समयमा पीडितको कोठामा प्रवेश गरी पीडितलाई कुटपिट गरी निजको शरीरको टाउकोजस्तो संवेदनशील अङ्गमा चोट देखिएको, सो कुरा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा. चुनुमीला महर्जनले अदालतसमक्ष गरिदिएको बकपत्रबाट पुष्टि भएको देखिएको स्थितिमा निज प्रतिवादीको जाहेरवालालाई जबरजस्ती करणी गर्ने मनसाय थिएन, सोही मनसायले रातको समयमा जाहेरवालाको कोठा ढक्ढक्याई जबरजस्ती करणी गर्ने प्रयत्न गरेका होइनन् भन्न सकिने अवस्था देखिन आएन ।
८. जहाँसम्म जाहेरवालाले घटना घटेको १० दिनपछि afterthought statement को आधारमा दिएको जाहेरी दरखास्त र सो जाहेरीलाई समर्थन हुने गरी बनिबनाउ तरिकाले गरेको बकपत्रका आधारमा दोषी ठहर गर्नु अन्यायपूर्ण छ भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा वारदात हुँदाको अवस्थामा विद्यमान रहेको हदम्यादसम्बन्धी कानूनी व्यवस्था हेर्दा तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको ११ नं. मा जबरजस्ती करणीको कुरामा सो भए गरेको मितिले छ महिनाभित्र नालेस दिनुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । जबरजस्ती करणीको वारदात घटेको विषयमा जाहेरी दिन छ महिनाको समय दिने गरी भएको उक्त कानूनी व्यवस्थाले जबरजस्ती करणीको अपराधमा यथासमयमा उजुर नगर्नुको पछाडि विविध कारण हुन सक्ने यथार्थतालाई आत्मसात् गरेको देखिन्छ ।
९. जबरजस्ती करणीको महलअन्तर्गतका मुद्दाहरूमा वारदात भएको मितिले कति समयभित्र नालेस दिनुपर्ने हो भन्ने सम्बन्धमा यसै अदालतबाट विभिन्न मुद्दाहरूमा प्रतिपादित सिद्धान्त सिंहावलोकन गर्नु सान्दर्भिक देखियो । शान्ति धामीको जाहेरीले नेपाल सरकार विरूद्ध डिल्ली स्वाँर भएको जबरजस्ती करणी मुद्दा (ने.का.प.२०७५, अङ्क ३ नि.नं.९९६९) मा “जाहेरी ढिला गरी परेको कारण सम्बन्धमा विवेचना गर्दा पीडितको परिवेशतर्फ पनि विचार पुर्याउनुपर्ने हुन्छ । अशिक्षा, अभाव, अज्ञानतासमेत रहेको समाजमा ढिला गरी जाहेरी पर्दैमा सोही कारणले मात्र वारदात नै नभएको निष्कर्षमा पुग्दा अन्यायको पृष्ठपोषण गरेसरह हुन जाने” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसै गरी कृष्णहरि माकको जाहेरीले नेपाल सरकार विरूद्ध दिपक तुलसी वाख्यो भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६३, अङ्क १०, नि.नं. ७७७२, पृष्ठ १२९४) मा “समयमा नै जाहेरी दरखास्त दिनुपर्ने मान्यताभित्र अपराध अनुसन्धानमा सहायक हुने माथि उल्लिखित घटनास्थलको सुरक्षा, अपराधी पक्राउ गर्ने कार्य, अपराधसँग सम्बन्धित चिजवस्तु वा दशी प्रमाण नष्ट हुने अवस्था रोकी अपराध सिद्ध गर्ने तत्त्वहरूको बचावट वा संरक्षणजस्ता प्रमुख विषय सन्निहित रहेको हुन्छ । यति हुँदाहुँदै पनि जाहेरी दरखास्त यति घण्टा वा दिनभित्र दिइसक्नुपर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने होइन ।” “अपराधको प्रकृति, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसुरको पीडा, पीडित भएर पनि पीडितउपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणामस्वरूप पीडितलाई नै दागी बनाउने (Stigmatization) प्रवृत्तिको फलस्वरूप कसुरको जाहेर गर्ने वा नगर्ने भन्ने कुरामा नै द्विविधा हुने मनोवैज्ञानिक दबाब (Psychological Stress) जस्ता तत्त्वहरूले यसमा प्रभाव पारिरहेका हुन्छन्” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।
१०. “घ” कुमारीको जाहेरीले नेपाल सरकार वि. सागर भट्टसमेत भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०७६, अङ्क १२, नि.नं. १०४०८) मा “जबरजस्ती करणी व्यक्तिको शरीर र आत्मसम्मानमाथि समेत आघात लाग्ने जघन्य अपराध हो । सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्तताको अवस्थामा पुग्न सक्दछ । यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्कालै कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन
सक्दछ । यस्तो अवस्था भनेकै Rape Trauma Syndrome को अवस्था हो । यस्ता अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनुपर्ने” भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।
११. जाहेरी दरखास्त प्रत्यक्षरूपमा अपराधको पीडित वा देख्ने व्यक्ति स्वयंले दिएको भए र तत्काल दिएको भए त्यसको प्रामाणिक महत्त्व उच्च रहन्छ । समयको अन्तरालमा एउटा उजुरी वा जाहेरी दिएर फेरी अर्को जाहेरी दिएको भए वा जाहेरीलाई फरक पार्ने बकपत्र गरेको भए वा जाहेरीलाई समर्थन नगर्ने अन्य प्रमाणहरू मिसिलसाथ संलग्न भए त्यस्तो जाहेरीलाई afterthought वा बनावटी वा सोची विचारी दिएको भन्न सकिन्छ । afterthought मा समयको अन्तराल महत्त्वपूर्ण होइन, सो अन्तरालमा पहिले परिसकेको जाहेरी वा तथ्य वा कुरामा फरक वा असर पर्ने गरी पछि फसाउने मनसायसहित अर्कै बेहोराको जाहेरी वा विचार वा कुरा आएको हुनुपर्छ । त्यसमा व्यक्तिले द्वेषपूर्ण तरिकाले कसैसँग बदला लिने वा फसाउने मनसाय देखिनुपर्छ र त्यसको पछाडि कुनै जरिया हुनु आवश्यक छ ।
१२. फरकफरक कथन र Afterthought statement हुँदा जबरजस्ती करणीमा उद्योग गरेको होइन भन्ने पुनरावेदन जिकिरको सन्दर्भमा जाहेरवालाले वारदातको सम्बन्धमा दुई अलगअलग जाहेरी दिएको देखिए पनि जाहेरीमा फरकफरक कथन नभई अघिल्लो जाहेरीमा उल्लेख भएको कथनलाई अझ पुष्ट्याइँ गर्दै थप कथन राखी पीडित स्वयंले पछिल्लो जाहेरी दिएको देखिन्छ । पीडितले तत्काल गरेको कागजमा पीडकले होहल्ला गरी अशान्ति गरी सडकमा आई गालीगलौज गर्दै कुटपिट गरी घाइते बनाएकोले प्रहरीले पक्राउ गरी लगेको र डरले जबरजस्ती करणीको उद्योग गरेको भन्न नसकी आत्मसम्मानमा आघात पुगी मानसिक तथा शारीरिक पीडाबाट असह्य भई उजुरी गरेको देखिन्छ । निज पीडितले अनुसन्धानको क्रममा गरेको कागज, मौकामा बुझिएका सरस्वती तामाङसमेतका व्यक्तिको मौकाको कागज र निजहरूले अदालतसमक्ष गरेको बकपत्रबाट पनि प्रतिवादीले होहल्ला गरी कुटपिटसमेत गरेको पुष्टि भएको देखिन्छ । जाहेरवालाले गुहार गुहार गरी बोलाएकोमा मुख मिलेकै देखिन्छ । पीडितको घाउ जाँच केस फारामबाट गम्भीर किसिमको घाउचोट र घटनामा व्यक्त भएका कुराबाट औजार प्रयोग गरी कुटपिट भएको देखिन्छ । कुटपिट भए पनि पीडित र प्रतिवादीबिच रिसइवी देखिँदैन । प्रतिवादीले पीडितले बढी फोहोर गरेको निहुँमा झगडा भएको भने पनि सो विषयमा विवाद गर्न रातको समयमा पीडितको कोठामा जानुपर्ने र पीडितलाई शारीरिक तथा मानसिकरूपमा आहत हुने गरी आक्रमण गर्नुपर्ने अवस्था हुँदैन । पीडितको पछिल्लो शारीरिक परीक्षण प्रतिवेदनबाट पनि घटनाक्रम स्पष्ट हुन्छ । मौकामा प्रहरीले प्रतिवादीलाई समाती लगेकोले डरले तत्कालै उजुरी नगर्दैमा र केही दिनपछि असह्य भई उजुरी गरेको देखिएको स्थितिमा पीडितले आफूउपर घटेको गम्भीर घटनालाई थप पुष्टि हुने गरी दिएको पछिल्लो जाहेरीलाई Afterthought statement को संज्ञा दिई निज प्रतिवादी कसुरदार होइनन् भन्न मिल्ने देखिँदैन । अन्य कसुरमा र बलात्कार वा बलात्कारको उद्योगको कसुरमा Afterthought statement लाई एकै प्रकारको मानी सोही आधारमा मूल्याङ्कन गर्न मिल्ने देखिँदैन । बलात्कारमा सामाजिक, साँस्कृतिक कारणले पीडित नै लाञ्छित हुने र स्वयं लाञ्छित हुने डरले मानसिक र शारीरिकरूपमा आघातित हुन पुगी आक्रान्त र विचलित भएको अवस्थामा तत्कालै बलात्कारमा उजुर गर्न नसक्ने अवस्था रहन्छ । त्यही घटनाले शारीरिक र मानसिकरूपमा पुग्न गएको अस्वाभाविक पीडाबाट दिनदिनै असह्य भई गरेको उजुरीलाई Afterthought statement भनी कसुर गरेको होइन भनी भन्ने हो भने समाजमा यस्ता किसिमका अपराध निरन्तररूपमा मौलाउँदै जाने र यसले गर्दा अन्तत: सामाजिक विकृतिले प्रश्रय पाउने र अपराध बढ्दै जाने हुँदा यस्ता घटनालाई सामान्य ठानी नजरअन्दाज गर्न मिल्दैन । यौन हिंसामा परेको पीडितको मानसिक पीडालाई बुझ्नुपर्ने हुन्छ । अन्य अपराधको Afterthought statement र यौनजन्य हिंसामा हुने Afterthought statement लाई एउटै दृष्टिकोणबाट हेर्न सकिँदैन । जबरजस्ती करणीमा पीडित माथि नै लाञ्छना लाग्ने र सामाजिक लाञ्छनाको डरले तत्कालै उजुरी गर्न नसक्ने अवस्थाहरू रहने भएकोले यस्तो अवस्थामा घटना घटेको दश दिनपछि पीडितले गरेको उजुरीलाई निजले प्रतिवादीलाई फसाउने, सताउने नियत राखी दुराशययुक्त भावना एवं सोच विचार गरी उजुरी गरेको भनी अर्थ गर्नु न्यायसङ्गत एवं विवेकपूर्ण हुन सक्दैन । घटनाको क्रमबद्धताको वर्णन गर्दै थप स्पष्टतासहित पीडितले हदम्यादभित्रै दर्ता गरेको जाहेरीलाई Afterthought statement भन्नु कानूनसङ्गत हुँदैन ।
१३. यसरी उल्लिखित कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा जबरजस्ती करणी मुद्दामा कानूनद्वारा निर्धारण गरेको हदम्यादभित्र नै जाहेरी परेको अवस्थामा घटना भएको यति दिन वा यति घण्टाभित्रै जाहेरी दरखास्त दिनुपर्ने, ढिला गरी जाहेरी दिएको कारणले मात्र जाहेरी दरखास्त बनावटी हुने भनी तर्क गर्नु कानून एवं विवेकपूर्ण देखिँदैन । घटना घटेपछि तत्कालै जाहेरी नपरेको भन्ने आधारमा कानूनले निर्धारण गरेको हदम्यादभित्र परेको जाहेरी दरखास्त अन्यथा प्रमाणित नभएसम्म त्यसको प्रामाणिक मूल्य रहिरहने हुँदा प्रतिवादी दावा भन्ने साङ्वो शेर्पाले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. को कसुरमा सोही महलको ३(५) नं.बमोजिम २ वर्ष ६ महिना कैद सजाय हुने ठहर्याई उच्च अदालत पाटनबाट भएको फैसला मनासिब देखिन आएकोले यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गर्दा लिइएको आधार र प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१४. अत: माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादी दावा साङ्वो शेर्पाले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।२० मा भएको फैसला उल्टी गरी निज प्रतिवादीलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. को कसुरमा सोही महलको ३(५) नं.बमोजिम २ वर्ष ६ महिना कैद सजाय हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७५।०४।२५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी पीडित र महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुंगाना
इजलास अधिकृत : इन्द्रकुमार श्रेष्ठ
इति संवत् २०७८ साल फागुन १३ गते रोज ६ शुभम् ।