शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८५९ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७८।१।५

०७६-CR-०६१४

 

मुद्दाः मानव बेचबिखन तथा ओसारपसार

 

पुनरावेदक / वादी : परिवर्तित नाम, थर सङ्केत नं. ६६ सानोश्री (क) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. १ राझागाउँ बस्ने हुरमत बुढाथोकीको छोरी टेकबहादुर हमालको श्रीमती हिरा हमालसमेत

 

कुनै कसुर नैतिक पतन देखिने फौजदारी अपराध हो होइन भन्ने कुराको निर्णय सम्बन्धित समाजमा तत्काल कायम रहेको नैतिक मूल्यको सन्दर्भमा गर्नुपर्ने । सधैँ र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौजदारी अपराधको सूची तयार गरी स्पष्टीकरण वा परिभाषा दिन सम्भव नदेखिने । नैतिक पतन हुने फौजदारी कसुर किटान गर्ने कार्य विधायिकाले न्यायिक विवेकमा छाडेको र न्यायकर्ताले पनि विषय वा सन्दर्भलाई विचार गरेर मात्र त्यस सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशमप्रसाद आचार्य

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

 

सुरू फैसला गर्ने:- 

मा. जिल्ला न्या. श्री किरणकुमार पोखरेल

बर्दिया जिल्ला अदालत

पुनरावेदन फैसला गर्ने:- 

माननीय न्यायाधीश श्री शान्तिसिंह थापा

माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास 

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको पुनरावेदनपत्रहरूसहितको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ:-

तथ्य खण्ड

चितवन जिल्ला शुक्रनगर १ घर बताउने सन्तोष तामाङसँग फेसबुकबाट चिनजान भई मिति २०७२ साल माघ १३ गतेका दिन प्रेम विवाह भएको थियो । मेरो श्रीमान्‌सँगै दु:ख सुख गरी केही समय झापामा बस्यौं । त्यसपछि काठमाडौंमा गई बस्दै आइरहेकोमा थर थाहा नभएको गणेश भन्‍ने व्यक्तिलाई धर्म भिनाजु बनाएका थियौँ । निज भिनाजुले मलाई अन्यायी हिरा हमालसँग काठमाडौंमा भेट गराएपश्‍चात् निजले मैले तिमीजस्ता दु:ख पाएका धेरै दिदी बहिनीहरूलाई विदेश पठाई काममा लगाई दिएकी 

छु । तिमीजस्ता धेरैलाई सँगै लिएर जान्छु । म तिमीलाई धेरै पैसा आउने महिनाको कुवेतको असी रियाल पाउने ठाउँमा राम्रो काममा लगाई दिन्छु । घरमा बच्चा हेर्ने, झाडु पोछा लगाउने, घर सफा गर्ने, लुगा धुने काम 

हो । तिम्रो कागजपत्र केही रहेनछ । म पासपोर्टलगायतका कागजपत्र बनाइदिन्छु । तिमीले केही दिनु पर्दैन । सिफारिस पनि चाहिँदैन । सबै लाग्ने खर्च मेरो जिम्मामा भयो भनी सोही दिन पासपोर्ट बनाई दिई तिमीलाई दिल्ली लिएर जान्छु । दिल्लीमा भिसा आउँछ । अरू कागजपत्रहरू सबै दिल्लीमा नै बन्छ । उतै बनाइदिन्छु र दिल्लीबाट कुवेत पठाइदिन्छु । तिमीले कुनै चिन्ता लिनु पर्दैन भनी निज विपक्षी हिरा हमालले मलाई ललाई फकाई गरी झुक्याई गफलतमा पारी पैसाको लोभलालच देखाई मिति २०७३।०६।०७ गतेका दिन भारतर्फ जानुअघि निजले मैले ल्याएको कुरा नभन्‍नु एक्लै आएको हुँ भन्‍नु भनी मलाई सिकाउँदै नेपाल भारतको सिमाना निसानगाडा बोर्डर हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम, थर सङ्‍केत नं.६६ सानोश्री (क) ले दिएको जाहेरी दरखास्त ।

चितवन जिल्ला शुक्रनगर १ घर बताउने सन्तोष तामाङसँग मेरो फेसबुकबाट चिनजान भई श्रीमान् श्रीमतीको रूपमा बस्दै आएका थियौं । म कामको सिलसिलामा काठमाडौंमा बस्दै आएको अवस्थामा पवित्रा के.सी. र निजका श्रीमान् गणेशसँग भेट भई निज गणेशले मलाई विपक्षी हिरा हमालसँग भेट गराएपछि निज विपक्षी हिरा हमालले मलाई दु:ख पाएकी रहिछौं । तिमीलाई राम्रो कमाई हुने ठाउँमा 

पठाइदिन्छु । धेरै पैसा कमाउँछौ चिन्ता नगर म तिम्रो दिदीजस्तै मान्छे हुँ । पासपोर्टसमेत बनाइदिन्छु कुनै पैसा पर्दैन भनी मेरो पासपोर्टसमेत बनाई लागेको सम्पूर्ण खर्च निजले नै बेहोरी पासपोर्ट बनेपश्‍चात् नेपालबाट जान गाह्रो हुन्छ । तिमीलाई भारतको दिल्लीबाट पठाइदिन्छु भनी झुक्यानमा पारी मिति २०७३।०६।०१ गते काठमाडौंदेखि नेपालगन्ज बसमा आई रूपैडिया नाका हुँदै लैजान खोज्दा चेकजाँच कडा भएका कारण निज प्रतिवादी हिरा हमालले बर्दिया निसानगाडाबाट भारतको दिल्ली जाने बाटो छ । सोही बाटो जाने भनी मलाई साथमा लिई मिति २०७३।०६।०७ गते १६:०० बजेको समयमा बर्दिया जिल्लाको ताराताल नगरपालिका स्थित नेपाल भारतको सिमाना निसानगाडामा पुग्दा प्रहरी टोलीले फेला पारी हामीलाई सोधपुछ गर्दा मैले आफ्नो सम्पूर्ण बेहोरा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले सम्झाइबुझाइ गर्दा निज प्रतिवादीले मलाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको पीडित जाहेरवाली सङ्केत नं.६६ सानोश्री (क) ले अनुसन्धानको क्रममा गरेको बयान ।  

मेरो आर्थिक अवस्था कमजोर भएकोले काठमाडौंमा गई व्यापार व्यवसाय गरी बस्नुपर्ला भनी करिब ४/५ वर्षअगाडिदेखि काठमाडौं गई कोठा लिई बस्दै आएकी थिएँ । सल्यान स्थाई घर बताउने काठमाडौंमा नै डेरा गरी बस्ने गणेश के.सी. र निजको श्रीमतीसँग भेट परिचय भयो । निज गणेश के.सी.ले मानिसहरूलाई वैदेशिक रोजगारमा विदेश पठाउने काम गरेको हुँदा मैले पनि सो कुरा सिकी निजलाई सहयोग गर्दै आएको थिएँ । केही समयपछि निज गणेश के.सी. को घरमा गएको बेला जाहेरवाली सङ्केत नं. ६६ सानोश्री (क) र निजको श्रीमान्‌ हुँ भन्‍ने सन्तोष तामाङसँग भेट भएपछि निज जाहेरवालीले आर्थिक अवस्था कमजोर छ । विदेश गएर पैसा कमाउने सोच थियो भन्‍ने कुरा गरेकोले गणेश के.सी. र मैले सन्तोष तामाङलाई सोधी यो कस्तो केटी हो । विदेश पठाउँदा फरक पर्छ पर्दैन भन्‍ने कुरा भनेकोले विदेश पठाई दिउँ आएको कमिसन बराबरी गरी खाउँला भनी निज सन्तोष तामाङले भन्दा हामी तीनै जनाको सल्लाह भई निजको पासपोर्ट बनाउने कुरा भई मैले पीडितलाई साथमा लगी पासपोर्ट बनाइसकेपछि म, गणेश के.सी. र सन्तोष तामाङले सरसल्लाह गरी भारतको दिल्ली हुँदै पठाउनुपर्छ भनी मैले निज पीडितलाई नेपालगन्ज रूपैडियाको नाका हुँदै दिल्लीसम्म पुर्‍याउने भनी मिति २०७३।०६।०१ गते बसमा काठमाडौंदेखि नेपालगन्ज आई रूपडियाको नाका हुँदै भारतको दिल्ली जाने प्रयास गर्दा ३/४ दिनसम्म बोडर कटाउन नसकेपछि सन्तोष तामाङलाई फोन गर्दा निज सन्तोष तामाङ र गणेश के.सी.ले जसरी भए पनि केटीलाई नाका क्रस गराई दिल्ली पुर्‍याउनुपर्छ भनेपछि सन्तोष तामाङ काठमाडौंबाट नेपालगन्ज आई हामीहरूलाई भेट गरी पीडितलाई ललाइ-फकाइ गरी बर्दियाको नाका हुँदै भारतको दिल्ली पुर्‍याउने भन्‍ने सल्लाह भई मिति २०७३।०६।०७ गते नेपालगन्जबाट बर्दिया बसमा आई सानोश्री ताराताल नगरपालिकाअन्तर्गत पर्ने नेपाल भारतको सिमानामा पर्ने निसानगाडा नाका हुँदै भारततर्फ जाने क्रममा नेपाल भारतको सिमानामा पुगेको अवस्थामा प्रहरीले फेला पारी म र पीडितलाई सोधपुछ गर्दा प्रहरीले मलाई पक्राउ गरेका हुन् । महिलाहरूलाई गैह्र बाटो हुँदै विदेश पठाएबापत प्रतिमहिना रू.२०,०००।- पाइने भएकोले पीडितलाई गैह्र बाटो हुँदै भारतको दिल्लीसम्म गणेश के.सी., सन्तोष तामाङ र मेरो सल्लाहअनुसार लैजान लागेका हौँ भन्‍नेसमेत बेहोराको प्रतिवादी हिरा हमालले अनुसन्धानको क्रममा गरेको बयान ।   

म आजभन्दा करिब ८/९ महिना पहिला झापातिर होटलमा काम गर्दै आइरहेको अवस्थामा पीडित जाहेरवाली सङ्केत नं. ६६ सानोश्री (क) पनि झापामा आफ्नो दिदीको घरमा गएकी रहिछन् । सो समयमा निजसँग फेसबुकमार्फत परिचय भई भेटघाट गरी श्रीमान् श्रीमतीको नाता गरी वैशाख महिनामा हामी दुवैजना काठमाडौं आई डेरा गरी बसिरहेकोमा गणेश के.सी. भन्‍ने व्यक्तिसँग परिचय भई निजले विदेश मानिस पठाउने जानकारी पाई निजसँगै लागी मिली २/३ जना मानिस निज गणेश के.सी.को सम्पर्कमा विदेश पठाई कमिसनसमेत खाएको हुँ । यसै क्रममा निज गणेश के.सी.ले पीडित सङ्केत नं.६६ सानोश्री (क) तिम्रो श्रीमती हुन् कि समय बिताउन सँगै बसेको भन्‍ने कुरा गर्दा मैले फेसबुकमार्फत भेट भई परिचय भएको हो । हाल सँगै बस्दै आएका छौँ भन्‍ने कुरा गरेपछि निज गणेश के.सी.ले त्यसो भए विदेश कुवेत पठाइदिउँ धेरै पैसा आउँछ हामीहरूले बाँडेर खाउँला भन्‍ने कुरा गरेपछि सो कुरामा सहमत भई प्रतिवादी गणेश के.सी.ले प्रतिवादी हिरा हमालसँग समन्वय गरी हिरा हमालले पीडितको पासपोर्ट बनाई दिएकी हुन् । पासपोर्ट बनिसकेपछि महिलालाई नेपालबाट कुवेत जाने अनुमति नभएका कारण भारतको दिल्लीबाट पठाउने हो भनी म, प्रतिवादी गणेश के.सी. र हिरा हमालसमेतको सल्लाह भई पीडित सङ्केत नं.६६ सानोश्री (क) लाई प्रतिवादी हिरा हमालले नेपालगन्ज रूपैडिया हुँदै भारतको दिल्लीसम्म पुर्‍याउने कुरा गरी प्रतिवादी हिरा हमालले पीडितलाई साथमा लिई मिति २०७३।०६।०१ गते काठमाडौंबाट बसमा नेपालगन्ज आई रूपैडिया नाकाबाट भारत जाने क्रममा पीडित सङ्केत नं.६६ सानोश्री (क) लाई माइती नेपालले समाई आफ्नो कार्यालयमा राखेकोले माइती नेपालबाट मलाई फोन गरी सोधपुछ गर्दा म चितवनमा छु । निज मसँग झगडा गरी माइती घरतिर लागेकी हुन् भनी ढाँटी छली बोलेको हुँ । निज पीडित माइती नेपालबाट छुटेपछि प्रतिवादी हिरा हमालले मलाई फोन गरी तपाइँ आउनुहोस् श्रीमान् श्रीमती भनेपछि भारत जान दिन्छ भनी गाडीको भाडासमेत मिलाइदिएपश्चात् म काठमाडौंबाट नेपालगन्ज आई प्रतिवादी हिरा हमाललाई भेटी पीडितको पासपोर्ट पीडितको आफन्तकहाँ भएकोले आफन्तकहाँ गई पासपोर्ट दिनुहोस्, हामी श्रीमान् श्रीमती हौँ भनी छली पासपोर्ट लिई प्रतिवादी हिरा हमालसँग भेट भई सल्लाह गरी निज हिरा हमालले पीडितलाई लिएर जानुहोस् श्रीमान् श्रीमती भनेपछि जान दिन्छन् भनेपछि निज पीडितलाई लिएर जाँदा नाकामा चेकजाँच कडा भएको देखी निज पीडितलाई फिर्ता ल्याई हिरा हमालसँग पुन: सल्लाह गरी हामी दुवै जनाले जिल्ला बर्दिया ताराताल नगरपालिका स्थित भारत र नेपालको सिमाना निसानागाडा नाका बाटो हुँदै भारततर्फ लैजाने सल्लाह गरी मिति २०७३।०६।०७ गते दिनको १६:०० बजेको समयमा प्रतिवादी हिरा हमाल र पीडित सङ्केत नं.६६ सानोश्री (क) अगाडि र म पछाडि पछाडि जाँदै गर्दा निजहरूलाई प्रहरीले सोधपुछ गरी नियन्त्रणमा लिएको देखी म सो ठाउँबाट भागी गुलरिया बर्दियातर्फ आएको बेला मिति २०७३।०६।१० गते पक्राउ परेको हुँ । मैले पीडितलाई भारतको दिल्ली पुर्‍याएबापत रू.२०,०००।– दिने र बाँकी अरू रकम पछि आएपछि हामी तीनै जनाले बराबर बाँडी खाने कुरा भएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्तोष तामाङको अनुसन्धानको क्रममा भएको बयान ।

हामी मिति २०७३।०६।०७ गते वारदात हुँदाको समयमा गोरू बाख्रा लगी जिल्ला बर्दिया सानोश्री ताराताल नगरपालिका वडा नं.७ स्थित नेपाल भारतको सिमाना बोडर नजिकै चराउँदै थियौं । उक्त दिनको १६:०० बजेको समयमा पक्राउमा परेकी प्रतिवादी हिरा हमाल र पीडित सङ्केत नं. ६६ सानोश्री (क) सिमाना नजिक उत्तरबाट दक्षिण नेपाल भारतको सिमानातर्फ गइरहेका थिए । सोही समयमा प्रहरी गस्ती गर्दै आई निजहरूलाई रोकी सोधपुछ गरेको देखी के किन रोकेको भनी नजिक गई बुझ्दा यी प्रतिवादी हिरा हमालले विदेश कुवेत पठाइदिने बहाना गरी पीडितलाई आफ्नो साथमा काठमाडौंबाट लिई आएकी रहिछन् । उक्त कुरा बुझी पीडित तथा प्रतिवादी हिरा हमाललाई प्रहरी टोलीले आफ्नो साथमा लिई गएको अवस्थामा केहीपर २०० मिटरजति टाढा एकजना पुरूष व्यक्ति भागी गएको देखेका हौं । निज भाग्ने को हो भनी बुझ्दा हाल पछि पक्राउमा परेका सन्तोष तामाङ 

रहेछन् । निज पक्राउमा परेका प्रतिवादीहरू हिरा हमाल, सन्तोष तामाङ र सल्यान घर बताउने काठमाडौंमा अस्थाई बसोबास गरी बस्ने गणेश के.सी.समेतले मिली पीडितलाई विदेश कुवेत पठाउने भनी झुक्याई पासपोर्टसमेत बनाई ललाइ-फकाइ गरी बेचबिखन गर्न लैजाँदै गरेका रहेछन् । पीडितलाई गैर बाटो प्रयोग गरी ललाइ-फकाइ गरी बेचबिखन गर्न लैजाने प्रतिवादीहरू हिरा हमाल, सन्तोष तामाङ र गणेश के.सी. समेतलाई कानूनबमोजिम कारबाही होस् भन्‍नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका तविता गायक, कमला सुनार, सुमित्रा वि.क. र धनमाया वि.क.ले गरी दिएको प्राय: एकै मिलानको छुट्टाछुट्टै घटना विवरण कागज । 

प्रतिवादीहरूले पीडित परिवर्तित नाम सङ्केत नं.६६ सानोश्री (क) लाई ललाई फकाई विदेश कुवेत पठाइदिने बहानामा मिति २०७३।०६।०७ गते दिनको १६:०० बजेको समयमा नेपाल भारतको सिमानाको गैर बाटो निसानगाडाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी पीडितलाई उद्धार गरेको हुँदा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(ख) अनुसारको कसुरमा सोही ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति भराई सोही ऐनको दफा २२ बमोजिम प्रतिवादीहरूलाई नैतिक पतन हुने कसुर कायम गरी सजायसमेत गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।

यसमा, प्रस्तुत अभियोगपत्र सरकारवादी फौजदारी दायरीमा दर्ता गरी अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूलाई बयान कार्यका लागि इजलाससमक्ष पेस गर्नु भन्‍ने मिति २०७३।०७।०१ को सुरू अदालतको आदेश ।

जाहेरवाली मेरो श्रीमती हुन् । निज र मेरोबिच २०७२ साल माघ महिनाबाट विवाह गरी साथै बसी आएका हौं । निज जाहेरवाली श्रीमती र मेरो सल्लाहबाट भारतको कानपुरमा गई काम गर्न भनी सल्लाह गरी निजको माइतीघर बर्दियाको तारातालमा रहेकोले सोही बाटो हुँदै भारततर्फ जान लाग्दा प्रहरीले पक्राउ गरी निजलाई जाहेरी दिन लगाएका हुन् । प्रतिवादीमध्येकी हिरा हमाल चिनजान भएकीले निजको होटलको सामान लिन हामीसाथै जान लागेकी थिइन् । जाहेरवाली श्रीमतीलाई हामीले बेचबिखनको लागि भारततर्फ लान लागेको होइन । अभियोग दाबीबाट फुर्सद पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्तोष तामाङले सुरू अदालतमा गरेको बयान ।

जाहेरवालीको श्रीमान्‌सँग मेरो पुरानो चिनजान भएकोले म बर्दिया नागरिकता बनाउन आउँदा उसले मेरो श्रीमतीलाई पनि साथै लगिदिनु भनेकाले काठमाडौंबाट बर्दिया सँगै आएका हौं । बर्दियामा आइपुगेपछि तरकारी किन्‍न जान्छु भनी भारततर्फ जाँदै गर्दा उसले पनि मसँगै जान्छु भनेकाले सँगै लिई गएकी हुँ । बेचबिखन गर्ने उद्देश्य थिएन । मलाई फसाउन जाहेरवालीले झुठ्ठा आरोप लगाएको हो । अभियोग दाबीबमोजिमको कसुर मैले गरेको नहुँदा माग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी हिरा हमालले सुरू अदालतमा गरेको बयान ।

यसमा, प्रहरी प्रतिवेदन, पीडितको जाहेरी दरखास्त एवं प्रमाणित बयान, प्रतिवादीहरूको अधिकारप्राप्‍त अधिकारीसमक्ष साबिती बयान, मौकामा बुझिएका मानिसहरूले गरिदिएको कागजसमेतका मिसिल संलग्न तत्काल प्राप्‍त प्रमाण कागजातबाट प्रतिवादीहरू कसुरदार रहेको भन्‍ने विश्वास गर्ने प्रमाणको विद्यमानता रहेको देखिएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल प्रतिवादीहरूबाट मानव बेचबिखन तथा ‍ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ८ बमोजिम मुद्दाको पूर्पक्षको निमित्त थुनुवा पुर्जी दिई थुनामा राख्‍नु साथै प्रतिवादी चुक्ता भएको देखिएकोले मिति २०७३।०७।१७ गतेका दिन वादी प्रतिवादीका साक्षी बुझ्नेसमेतको कार्य सम्पन्‍न गरी प्रस्तुत मुद्दा नियमित सुनुवाइका लागि पेस गर्नु भन्‍नेसमेतको मिति २०७३।०७।०३ को सुरू अदालतको आदेश ।

प्रतिवादी हिरा हमाल र पीडित दुवैजना सँगै साथै ताराताल बजारबाट भारतको निसानगाडातिर जाँदै गर्दा बाटोमा देखी शङ्‍का लागी प्रतिवादी हिरा हमाल र पीडित केटीलाई फेला पारी मैले प्रतिवेदन पेस गरेको हुँ । निजहरूसँग अर्का प्रतिवादी सन्तोष तामाङ पनि थिए । प्रहरी गस्ती देखेपछि निज उक्त स्थानबाट भागी गएका हुन् भन्‍नेसमेत बेहोराको प्रतिवेदक प्र.स.नि. रामबहादुर थापाले सुरू अदालतमा गरेको बकपत्र ।

वारदातको दिन दिउँसो अन्दाजी ३:०० बजेतिर मसमेत जङ्‍गलमा गाई बाख्रा चराउन गएका थियौं । सोही समयमा तारातालदेखि निसानगाडा जाने बाटोमा प्रतिवादीहरूसँग पीडित जाँदै थिइन् । हामीले देखेपछि कहाँ जान लागेको हो भनी सोध्दा पीडित डराइरहेकी थिइन् भने प्रतिवादीहरूले भारत जान लागेको हो भनेपछि पीडितलाई प्रतिवादीहरूले भारत लगी बेचबिखन गर्न लगेका हुन् भन्‍ने शङ्‍का लागी मसमेतका साथीले नेपाल प्रहरीलाई घटनाको बारेमा जानेकारी गराएकाले तत्काल प्रहरी टोली आई प्रतिवादीहरूलाई पक्राउ गरी लिएका हुन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने धनमाया वि.क. ले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरूले मलाई विदेश कुवेत पठाइदिन्छु भनी निज प्रतिवादीहरू र म बर्दियाको सानोश्री ताराताल हुँदै भारतको निसानगाडातर्फ जाँदै गर्दा नेपाल प्रहरीले प्रतिवादीहरू हिरा हमाल र प्रतिवादी सन्तोष तामाङलाई पक्राउ गरेका हुन् । मलाई ललाइ-फकाइ भारत सीमासम्म पुर्‍याएको हुँदा बेचबिखन गर्ने उद्देश्यले लगेको कुरामा विश्वास लाग्छ भन्‍नेसमेत बेहोराको जाहेरवाला सङ्केत नं. ६६ सानोश्री (क) ले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी हिरा हमालले कुनै मानव बेचबिखन तथा ओसारपसार गरेकी होइनन् । निजउपरको अभियोग दाबी झुठ्ठा हो भन्‍नेसमेत बेहोराको प्रतिवादी हिरा हमालको साक्षी दिलाराम शर्माले सुरू अदालतमा गरेको बकपत्र ।

मिसिल संलग्न घटना क्रमबाट प्रतिवादी सन्तोष तामाङ र हिरा हमालको समेत सल्लाहमा पीडितलाई ललाइ फकाइ झुक्यानमा पारी गैरकानूनी बाटोमार्फत भारत विदेश लाने उद्देश्यले काठमाडौंबाट बर्दियाको भारतीय सिमानासम्म ल्याएको देखिँदा निजहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१), ४(२)(ख) को कसुर गरेको ठहर्छ । तसर्थ, प्रतिवादीहरूले उक्त कसुर गरेको ठहरेकाले ऐ. ऐनको दफा १५(१) को (ङ)(२) बमोजिम प्रतिवादी सन्तोष तामाङ र हिरा हमाललाई जनही १०।०।० (दश वर्ष) कैद र रू.१,००,०००।- (एक लाख) रूपैयाँ जरिवाना हुनेसमेत ठहर्छ । साथै पीडितले निज प्रतिवादीहरूबाट जनही रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्तिसमेत भराइपाउने ठहर्छ भन्नेसमेत बेहोराको बर्दिया जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसला । 

प्रतिवादीहरूलाई नैतिक पतनको समेत माग दाबी लिइएको अवस्थामा मागदाबीतर्फ ठहर गरी फैसला गर्नुपर्नेमा त्यसतर्फ केही नबोली फैसला गरेको देखिँदा प्रचलित कानूनबमोजिम पीडितलार्इ रू.५०,०००।- (पचास हजार) क्षतिपूर्ति दिलाई भराइदिई निज प्रतिवादीहरूलाई नैतिक पतनतर्फको दाबीतर्फसमेत फैसला गर्नुपर्नेमा कानूनको बर्खिलाप हुने गरी पीडितलाई कानूनमा तोकिएको हदभन्दा कम रकमको क्षतिपूर्तिको रकम कायम गरी नैतिक पतनतर्फ केही नबोली भएको उक्त फैसला मुलुकी ऐन, अ.बं. १९२ नं. समेतको त्रुटि भएकोले सो हदसम्म बदरभागी हुँदा बदर गरी अभियोग मागदाबीबमोजिम पीडितलाई क्षतिपूर्ति दिलाई भराई प्रतिवादीहरूलाई नैतिक पतनको कसुर कायम गरिपाउँ भन्‍नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दायर भएको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

यसमा प्रतिवादीहरूउपर अभियोग दाबी ठहर भएको अवस्थामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ बमोजिम प्रतिवादीलाई भएको जरिवानाको पचास प्रतिशत रकममा नघट्ने गरी पीडितहरूलाई क्षतिपूर्ति भराइदिनुपर्नेमा सो नगरेको र प्रतिवादीलाई नैतिक पतनको कसुर कायम गरिपाउँ भन्‍ने अभियोग दाबीतर्फ केही नबोलेको सुरू अदालतको मिति २०७४।१२।१३ को फैसला फरक पर्नसक्ने देखिँदा साबिक मुलुकी ऐन, अ.बं.२०२ नं. तथा हालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रत्यर्थी प्रतिवादीलाई थुनामा रहेको कारागार कार्यालयमार्फत म्याद सूचना पठाई नियमानुसार पेस गर्नु भन्‍ने उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७५।१०।१४ मा भएको आदेश ।

मिसिल संलग्न विवेचित आधार, प्रमाणबाट कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्नेमा प्रतिवादीहरू सन्तोष तामाङ र हिरा हमाललाई जनही १०(दश) वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना हुने ठहर्‍याई पीडितले निज प्रतिवादीबाट जनही रू.२५,०००।- (पच्‍चिस हजार) मात्र क्षतिपूर्ति भराई पाउने गरी सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई पीडितले निज प्रतिवादीहरूबाट जनही रू. ५०,०००।- (पचास हजार) क्षतिपूर्ति भराई पाउने ठहर्छ । अन्यमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७६।१।३० मा भएको फैसला । 

प्रस्तुत मुद्दामा प्रतिवादीहरू हिरा हमाल र सन्तोष तामाङलाई मानव बेचबिखन तथा ओसारपसार एवं नैतिक पतन देखिने कसुरमा सजायको मागदाबी लिई सुरू बर्दिया जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको अवस्था छ । सुरू एवं उच्च अदालतबाट प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अभियोग मागदाबीबमोजिम सजाय हुने ठहरी फैसला भएको तर नैतिक पतन देखिने कसुर सम्बन्धमा सुरू एवं उच्च अदालतको फैसला मौन रहेको अवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २२ मा यस ऐनबमोजिमको कसुरमा अदालतमा मुद्दा दर्ता गर्दाको बखत अभियुक्तले नैतिक पतन देखिने फौजदारी कसुर गरेको भनी दाबी लिन सक्ने छ भन्ने कानूनी व्यवस्था रहेकोमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा सजाय ठहर गरी फैसला भएकोमा नैतिक पतनको कसुर सम्बन्धमा मौन रहेको फैसलामा कानूनी त्रुटि हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको यस अदालतमा दायर भएको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

ठहर खण्ड

नियमबमोजिम साप्‍ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री रेशमप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २२ मा “यस ऐनबमोजिमको कसुरमा अदालतमा मुद्दा दर्ता गर्दाको बखत अभियुक्तले नैतिक पतन देखिने फौजदारी कसुर गरेको भनी दाबी लिन सक्ने छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम प्रतिवादीहरूउपर नैतिक पतनको कसुर कायम गरिपाउँ भनी अभियोग दाबी लिइएको अवस्था हुँदाहुँदै सोतर्फ केही नबोली प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरतर्फ मात्र सजाय ठहर गरी सुरू तथा उच्च अदालतसमेतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाई उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस सुनी यसमा अभियोग दाबीबमोजिम नैतिक पतनको कसुर कायम हुने हो होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

प्रतिवादीहरूले पीडित परिवर्तित नाम सङ्केत नं.६६ सानोश्री (क) लाई ललाइफकाइ विदेश कुवेत पठाइदिने बहानामा मिति २०७३।०६।०७ गते दिनको १६:०० बजेको समयमा नेपाल भारतको सिमानाको गैरबाटो निसानगाडाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी पीडितलाई उद्धार गरेको हुँदा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(ख) अनुसारको कसुरमा सोही ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति भराई सोही ऐनको दफा २२ बमोजिम प्रतिवादीहरूलाई नैतिक पतन हुने कसुर कायम गरी सजायसमेत गरिपाउँ भन्‍ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरू सन्तोष तामाङ र हिरा हमालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१), ४(२)(ख) को कसुर गरेको ठहरेकाले ऐ. ऐनको दफा १५(१) को (ङ)(२) बमोजिम प्रतिवादी सन्तोष तामाङ र हिरा हमाललाई जनही १०।०।० (दश वर्ष) कैद र रू. १,००,०००।- (एक लाख) रूपैयाँ जरिवाना हुने र पीडितले निज प्रतिवादीहरूबाट जनही रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्तिसमेत भराई पाउने ठहर्‍याई सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पुनरावेदन परेकोमा कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्नेमा प्रतिवादीहरू सन्तोष तामाङ र हिरा हमाललाई जनही १० (दश) वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना हुने ठहर्‍याई पीडितले निज प्रतिवादीबाट जनही रू.२५,०००।- (पच्‍चिस हजार) मात्र क्षतिपूर्ति भराई पाउने गरी सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई पीडितले निज प्रतिवादीहरूबाट जनही रू. ५०,०००।-(पचास हजार) क्षतिपूर्ति भराई पाउने ठहर्‍याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७६।१।३० मा भएको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदनपत्र दायर हुन आएको देखियो । 

२. अब, निर्णयतर्फ विचार गर्दा प्रतिवादी हिरा हमाल र सन्तोष तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(ख) अनुसारको कसुरमा सोही ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति दिलाइदिने ठहरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट फैसला भएको हदसम्म वादी नेपाल सरकारले चित्त बुझाई सोतर्फ पुनरावेदन नगरेको देखिँदा त्यसतर्फ केही बोलिरहनु परेन । 

३. प्रतिवादीहरूलाई नैतिक पतनको कसुर कायम गरिपाउँ भन्ने अभियोग मागदाबी नपुगेतर्फ वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनको सन्दर्भमा विचार गर्दा, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २२ मा “यस ऐनबमोजिमको कसुरमा अदालतमा मुद्दा दर्ता गर्दाका बखत सम्बन्धित सरकारी वकिलले अभियुक्तले नैतिक पतन देखिने फौजदारी कसुर गरेको हो भनी दाबी लिन सक्ने छ” भन्ने कानूनी व्यवस्था रहेको पाइयो । सामान्यतः नैतिक पतन देखिने फौजदारी अपराधको उल्लेख नेपाली कानूनमा कुनै खास पद वा हैसियतको लागि अयोग्यता जनाउन प्रयोग हुने गरेको पाइन्छ । चलनचल्तीको अर्थमा नैतिक पतन भन्‍नु स्वच्छ र असल नैतिक चरित्रको विपरीत चरित्र हुनु, इमान्दारितारहित सामाजिक अस्मिता विरूद्धको चरित्र हुनुजस्तो कुरालाई 

जनाउँछ । यस शब्दावलीको प्रयोग विशेषतः नीच, अधम, चरित्रहीनता तथा दुराचारिताको लागि हुने गरेको भए तापनि यथार्थमा यस शब्दभित्र नैतिकतासँग सम्बन्धित व्यापक र विविध प्रकृतिको अवधारणाहरू पर्नसक्ने हुँदा सबै सामाजिक परिप्रेक्ष्य, सबै प्रयोजन र स्थितिको लागि यस शब्दलाई परिभाषित गर्न सम्भव देखिँदैन । नेपाल कानूनले के कस्तो फौजदारी अभियोग नैतिक पतन हुने भन्ने सम्बन्धमा कुनै स्पष्ट परिभाषा गरी मुद्दाहरूको वर्गीकरण गरेको पनि 

देखिन्‍न । कुनै अपराध नैतिक पतन देखिने फौजदारी अपराध हो होइन भन्ने कुराको निर्णय सम्बन्धित समाजमा तत्काल कायम रहेको नैतिक मूल्यको सन्दर्भमा गर्नुपर्ने हुन्छ । सधैँ र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौजदारी अपराधको सूची तयार गरी स्पष्टीकरण वा परिभाषा दिन पनि सम्भव देखिन्‍न । यही कुरालाई ध्यानमा राखी नैतिक पतन हुने फौजदारी कसुर किटान गर्ने कार्य विधायिकाले न्यायिक विवेकमा नै छाडेको र न्यायकर्ताले पनि विषय वा सन्दर्भलाई विचार गरेर मात्र त्यस सम्बन्धमा कुनै निष्कर्षमा पुग्नुपर्ने हुन्छ । 

४. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २२ मा यस ऐनबमोजिमको कसुरमा अदालतमा मुद्दा दर्ता गर्दाका बखत अभियुक्तले नैतिक पतन देखिने फौजदारी कसुर गरेको हो भनी वादी नेपाल सरकारले दाबी लिन सक्ने देखिए पनि सो कसुर स्थापित भएको अवस्थामा कसुरदारलाई के कति सजाय हुने भन्ने स्पष्ट उल्लेख भएको देखिँदैन । यी प्रतिवादीहरूलाई सो ऐनबमोजिम जनही १० वर्ष कैद र रू. १ लाख जरिवाना हुने र पीडितलाई प्रतिवादीहरूबाट जनही रू. ५०,०००।- दरले क्षतिपूर्तिसमेत भराइदिने ठहर गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाससमेतबाट फैसला भएको परिप्रेक्ष्यमा प्रचलित कानूनले कसुर मानेको विषयमा प्रतिवादीहरूलाई भएको सजायले कानूनको मक्सद पूरा भएकै अवस्था देखिन आएकोले प्रतिवादीहरूलाई नैतिक पतनमा थप बोलिराख्‍नुपर्ने आवश्‍यकता देखिएन । प्रतिवादीहरूलाई नैतिक पतनको कसुर कायम गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन 

सकिएन ।

५. तसर्थ, प्रतिवादीहरू सन्तोष तामाङ र हिरा हमालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१), ४(२)(ख) को कसुर गरेको ठहरेकाले ऐ. ऐनको दफा १५(१) को (ङ)(२) बमोजिम प्रतिवादी सन्तोष तामाङ र हिरा हमाललाई जनही १०।०।०(दश वर्ष) कैद र रू. १,००,०००।- (एक लाख) रूपैयाँ जरिवाना हुने र पीडितले निज प्रतिवादीहरूबाट जनही रू.२५,०००।- (पच्चिस हजार) क्षतिपूर्तिसमेत भराई पाउने ठहर्‍याई सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७४।१२।१३ मा भएको फैसला केही उल्टी भई पीडितले निज प्रतिवादीहरूबाट जनही रू. ५०,०००।- (पचास हजार) क्षतिपूर्ति भराई पाउने ठहर्‍याई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७६।१।३० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।

  

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत : इन्द्रकुमार श्रेष्‍ठ

इति संवत् २०७८ साल वैशाख ५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु