निर्णय नं. १०८६२ - वैदेशिक रोजगार कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७८।३।१७
०७५-CR-१४७१
मुद्दा:- वैदेशिक रोजगार कसुर
पुनरावेदक / वादी : मकवानपुर जिल्ला हाँडीखोला गा.वि.स. वडा नं. ६ बस्ने शिवराज पाठकको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बस्ने बुबा बाजेको नाम थाहा नभएको श्रीपाल डंगोल
कसुर प्रमाणित गर्न वा कसुरबाट बच्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा अभियोग लगाउनु मात्र पर्याप्त नहुने । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट पुष्टि हुनुपर्ने । प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
वैदेशिक रोजगार ऐन, २०६४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने
माननीय अध्यक्ष श्री सत्यराज गुरूङ
सदस्य श्री देवेन्द्रराज ढकाल
सदस्य श्री रमादेवी पराजुली
वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं
फैसला
न्या.हरिप्रसाद फुयाल : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
प्रतिवादी कुमार थापाले जाहेरवालालाई वैदेशिक रोजगारको लागि न्युजिल्यान्ड मुलुकमा पठाई रोजगारमा लगाइदिने झुट्टा आश्वासनमा पारी रू.२,६०,०००।- रकम बुझिलिई रोजगरामा नपठाई लुकिछिपी बसकेकाले प्रतिवादीलाई खोजतलास गरी बिगोसमेतको ५० प्रतिशत क्षतिपूर्ति रकम दिलाई भराई निज प्रतिवादीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला शिवराज पाठकले वैदेशिक रोजगार विभागमा दिएको किटानी जाहेरी दरखास्त ।
प्रतिवादी कुमार थापाले जाहेरवाला शिवराज पाठकलाई मिति २०७१।३।५ मा गरिदिएको लिखत कागज खामबन्दी थान-१ मिसिल सामेल रहेको ।
मेरो साथी श्रीपाल डंगोलले वैदेशिक रोजगारमा न्युजिल्यान्ड मुलुकमा पठाइदिन्छु भनेकोले मैले जाहेरवालाबाट रू.२,६०,०००।- बुझिलिएको ठिक साँचो हो । सो रकम मैले मेरो साथी श्रीपाल डंगोललाई एभरेष्ट बैंक र आईएमईमार्फत पठाएको हो । श्रीपाल डंगोलले निज जाहेरवालाको रकम फिर्ता गर्न भनी मलाई मेघा बैंकको चेक दिएको
थियो । बैंकमा रकम नभएकोले उक्त चेक बाउन्स गरेको हो । लिखत कागजमा भएको सहीछाप मेरो हो । मैले वैदेशिक रोजगारमा पठाउन पाउने इजाजत लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी कुमार थापाले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
प्रतिवादीहरू कुमार थापा र श्रीपाल डंगोलले मिलेमतोमा वैदेशिक रोजगारका लागि रकम बुझिलिई रोजगारमा नपठाएको र रकम पनि फिर्ता नगरेको कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीहरू कुमार थापा र श्रीपाल डंगोललाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालाबाट लिए खाएको बिगो रू.२,६०,०००।- र सोको ५० प्रतिशतले हुन आउने हर्जाना रकम रू.१,३०,०००।- समेत जम्मा रू.३,९०,०००।- (तीन लाख नब्बे हजार रूपैयाँ) यी प्रतिवादीहरू कुमार थापा र श्रीपाल डंगोलबाट जाहेरवाला शिवराज पाठकलाई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
जाहेरी बेहोरा पढिबाची सुनाउँदा सुनी पाएँ । मैले जाहेरवालालाई चिनेको छैन । प्रतिवादी श्रीपाल डंगोल मेरो चिनजानको साथी हुन् । यो जाहेरी बेहोरा पूर्ण रूपमा झुट्टा हो । जाहेरवालाबाट रकम मेरा साथी श्रीपाल डंगोलले लिएका रहेछन् । रकम के कति कारणले लिएका हुन् मलाई थाह भएन । लिखत कागजमा जबरजस्ती सहीछाप गराएका हुन्, जबरजस्ती कागज गराएउपर मैले कहीँकतै उजुरबाजुर गरेको छैन । अनुसन्धान अधिकृतसमक्ष गरेको बयान बेहोरा मेरो होइन । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भनी प्रतिवादी कुमार थापाले वैदेशिक रोजगार न्यायाधिकरण, (यसपछि न्यायाधिकरण भनिएको) काठमाडौंमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी कुमार थापाले आरोपित कसुर गरेका रहेछन् भनी विश्वास गर्ने मुनासिब आधारहरू विद्यमान देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुद्दा पुर्पक्षको लागि मुलुकी ऐन, अ.बं.११८ नं. को देहाय दफा ५ र १० बमोजिम प्रतिवादी कुमार थापाबाट नगद रू.१,५०,०००।- वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्न र दिन नसके कानूनबमोजिम सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा राख्न पठाइदिनू भन्ने न्यायाधिकरणबाट मिति २०७१।७।२७ मा भएको आदेश ।
प्रतिवादी कुमार थापाललाई अभियोग दाबीबमोजिम वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुरमा सोही ऐनको दफा ४३ बमोजिम १ वर्ष ६ महिना कैद र रू.१,५०,०००।- (एक लाख पचास हजार) जरिवाना हुने तथा जाहेरवालाले निजबाट दाबीबमोजिम बिगो र हर्जानासमेत भरी पाउने ठहर गरी अर्का प्रतिवादी श्रीपाल डंगोलका हकमा निजउपरको अभियोग पुष्टि हुने वस्तुनिष्ठ प्रमाण वादी पक्षबाट पेस हुन आएको नदेखिँदा निजउपरको अभियोग दाबी पुग्न नसकी सफाइ पाउने ठहर्याई वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट मिति २०७५।२।१४ मा भएको फैसला ।
प्रतिवादी श्रीपाल डंगोल विरूद्ध जाहेरी परेको अवस्था नदेखिए तापनि वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयानमा जाहेरवालाको रकम यी प्रतिवादी श्रीपाल डंगोलले लिएको हो भनी उल्लेख गरेको सहप्रतिवादीले बयानबाट देखिएको
छ । कसुर ठहर भएका प्रतिवादीले तथ्ययुक्त आधारमा पोल गरेको अवस्थामा त्यस्तो पोललाई प्रमाणमा ग्रहण नगरी प्रतिवादीलाई सफाइ दिन मिल्ने
देखिँदैन । सहप्रतिवादी कुमार थापाले विश्वसनीय आधारमा गरेको पोल प्रतिवादी श्रीपाल डंगोलको हकमा समेत समान रूपमा प्रमाणमा लिनुपर्ने अवस्था देखिन्छ । एउटै वारदातमा संलग्न एउटा प्रतिवादीलाई कसुर कायम गरी सजाय हुने र यी प्रतिवादीलाई सफाइ दिने ठहर गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको त्रुटिपूर्ण फैसला सो हदसम्म बदर गरी यी प्रतिवादी श्रीपाल डंगोललाई समेत अभियोग माग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजात अध्ययन
गरियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेलले यी प्रतिवादी श्रीपाल डंगोल विरूद्ध किटानी जाहेरी परेको अवस्था नदेखिए तापनि सहप्रतिवादीको बयान बेहोराबाट स्पष्ट रूपमा रकम लिएको देखिएको छ । सहप्रतिवादी कुमार थापाले विश्वसनीय आधारमा गरेको पोल प्रतिवादी श्रीपाल डंगोलको हकमा समेत समान रूपमा प्रमाणमा लिनुपर्ने हुन्छ । एउटै वारदातमा संलग्न एउटा प्रतिवादी कसुरदार हुने र अर्कोले सफाइ पाउने गरी भएको त्रुटिपूर्ण फैसला सो हदसम्म बदर गरी यी प्रतिवादी श्रीपाल डंगोललाई समेत अभियोग माग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको तथ्यगत विषय र बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितका मिसिल संलग्न प्रमाणहरूको अध्ययन गरी हेर्दा वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू कुमार थापा र श्रीपाल डंगोलले मिलेमतोमा वैदेशिक रोजगारका लागि रकम बुझिलिई जाहेरवालालाई रोजगारमा नपठाएको र रकम पनि फिर्ता नगरेको कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालाबाट लिए खाएको बिगो रू.२,६०,०००।- र सोको ५० प्रतिशतले हुन आउने हर्जाना रकम रू.१,३०,०००।- समेत जम्मा रू.३,९०,०००।- प्रतिवादीहरूबाट जाहेरवाला शिवराज पाठकलाई दिलाई भराई पाउँ भन्ने अभियोग माग दाबी रहेकोमा प्रतिवादी कुमार थापाललाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुरमा सोही ऐनको दफा ४३ बमोजिम १ वर्ष ६ महिना कैद र रू.१,५०,०००।- जरिवाना गरी जाहेरवालाले निज कुमार थापाबाट दाबीबमोजिम बिगो र हर्जानासमेत भरी पाउने ठहर गरी अर्का प्रतिवादी श्रीपाल डंगोलउपरको अभियोग दाबी पुग्न नसकी सफाइ पाउने ठहर्याई न्यायाधिकरणबाट भएको फैसलामा चित्त नबुझाई अभियोग दाबीबोजिम नै यी प्रतिवादी श्रीपाल डंगोललाई समेत सजाय गरिपाउँ भनी पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखियो ।
३. अब प्रतिवादी श्रीपाल डंगोललाई सफाइ दिने गरी भएको फैसला वदर गरी यी प्रतिवादीलाई समेत सुरू अभियोग माग दाबीअनुसार नै सजाय हुनुपर्दछ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, वैदेशिक रोजगारको लागि न्युजिल्यान्ड मुलुकमा पठाई रोजगारमा लगाइदिने झुट्टा आश्वासनमा पारी रू.२,६०,०००।- रकम बुझिलिई रोजगरामा नपठाई लुकिछिपी बसकेकाले प्रतिवादी कुमार थापालाई खोजतलास गरी ऐनबमोजिम कारबाही गरि बिगो र हर्जना रकमसमेत दिलाई भराई पाउँ भन्ने शिवराज पाठकको किटानी जाहेरीबाट प्रस्तुत मुद्दा उठान भएको देखिन्छ ।
४. प्रस्तुत मुद्दामा यी प्रतिवादी श्रीपाल डंगोलले सुरू म्याद नै गुजारी बसेको देखिन्छ भने अर्का प्रतिवादी कुमार थापा आरोपित कसुरमा इन्कार रही न्यायाधिकरणमा बयान गरे तापनि साथी श्रीपाल डंगोलले वैदेशिक रोजगारमा न्युजिल्यान्ड मुलुकमा पठाइदिन्छु भनेकोले मैले जाहेरवालाबाट रू.२,६०,०००।- बुझिलिएको ठिक साँचो हो, सो रकम मैले मेरो साथी श्रीपाल डंगोललाई एभरेष्ट बैक र आई.एम.ई. मार्फत पठाएको हुँ । श्रीपाल डंगोलले रकम फिर्ता गर्न भनी निजलाई मेघा बैंकको चेक दिएको तर रकम नभएकोले चेक बाउन्स गरेको हो । रकम बुझिलिएको लिखत कागजमा भएको सहीछाप मेरो हो; मैले वैदेशिक रोजगारमा पठाउन पाउने इजाजत लिएको छैन भनी रकम लिएको र लिखत कागजसमेत गरेकोमा साबित रही मौकामा बयान गरेको देखिन्छ ।
५. प्रतिवादी कुमार थापाले जाहेरवालालाई गरिदिएको मिति २०७१।३।५ को लिखत बेहोरा हेर्दा ३५ दिनभित्रमा जाहेरवालाई न्युजिल्यान्ड देशमा पठाई काममा लगाउने पूर्ण जिम्मा लिई जाहेरवाला शिवाराज पाठकसँग रू.२,६०,००० ।- बुझिलिएको ठिक साँचो हो भनी सहीछाप गरेको देखिन्छ साथै भाकाभित्रमा पठाउन नसके साँवा ब्याज प्रचलित कानूनबमोजिम कारबाही गरी असुलउपर गरिलिएमा मेरो मन्जुर छ भनी लिखत कागजमा स्पष्ट रूपमा उल्लेख भएको देखियो । यसरी प्रतिवादी कुमार थापाले विना इजाजात जाहेरवालालाई वैदेशिक रोजगारमा पठाउन भनी झुट्टा आश्वासन दिई प्रलोभनमा पारी रकम लिई भनेबमोजिम वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको मिसिल संलग्न कागजातसमेतबाट पुष्टि हुन आएको देखिन्छ ।
६. कसुर कायम भएका सहप्रतिवादी कुमार थापाले यी प्रतिवादी श्रीपाल डंगोललाई एभरेष्ट बैंक र आई.एम.ई. मार्फत रकम पठाएकोमा रकम फिर्ता गर्न भनी मेघा बैंकको चेक दिएको तर रकम नभएकोले मैले चेक बाउन्स गरेको हो भनी पोल गरे तापनि यी प्रतिवादी श्रीपाल डंगोल विरूद्ध जाहेरवालाले नामसम्म उल्लेख गरेको अवस्था देखिँदैन । साथै, जाहेरवालासँग भएको वैदेशिक रोजगारको लिखतमा यी प्रतिवादी श्रीपाल डंगोल कारणी रहेको भन्ने पनि देखिँदैन भने जाहेरवालाई वैदेशिक रोजगारमा पठाउन नसके सावाँ ब्याजसहित कानूनबमोजिम असुलउपर गरिलिनु भनी प्रतिवादी कुमार थापाले उक्त रकम र कामको सबै जिम्मेवारी लिई लिखत गरिदिएसमेतबाट यी प्रतिवादी श्रीपाल डंगोलको उक्त कसुरमा सहप्रतिवादीले गरेको पोलबाहेक कहीँकतै प्रस्ट संलग्नता रहेको भन्ने मिसिलबाट देखिन आउँदैन । फौजदारी कसुरमा कसुरदारउपरको कसुर अभियोजन पक्षले नि:सन्देह रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ । यसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि स्पष्टरूपमा व्यवस्था गरेको पाइन्छ । सहप्रतिवादीले पोल गरेको र मौकामा फरार रहेको भन्ने शंकाकै आधारमा मात्र कसुरदार ठहर गरी सजाय गर्नु न्यायसङ्गत हुँदैन । कसुर शङ्कारहित तवरले प्रमाणित हुने प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको अवस्थामा त्यसको सुविधा कसुरदारले पाउने हुन्छ । कसुर प्रमाणित गर्न वा कसुरबाट बच्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट समेत पुष्टि हुनुपर्दछ । प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुन जान्छ ।
७. यसरी यी प्रतिवादी श्रीपाल डंगोल विरूद्धको अभियोग शङ्कारहित तवरले पुष्टि हुनेसम्मको वस्तुनिष्ठ प्रमाण अभियोजन पक्षबाट पेस भएको मिसिलबाट प्रस्ट नदेखिएको अवस्थामा केवल सहप्रतिवादीले गरेको अप्रत्यक्ष पोलकै आधारमा यी प्रतिवादी श्रीपाल डंगोललाई वैदेशिक रोजगार कसुर जस्तो फौजदारी मुद्दामा कसुरदार ठहर गरी सजाय गर्न मिल्ने अवस्था नदेखिँदा यी प्रतिवादीलाई सफाइ दिने गरी भएको न्यायाधिकरणको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन तथा पुनरावेदनलाई समर्थन गर्दै विद्वान् उपन्यायाधिवक्ताले प्रस्तुत गर्नुभएको बहस जिकिरसँग सहमत हुन
सकिएन ।
८. तसर्थ, माथि विवेचित तथ्यगत आधार र कारणसमेतबाट प्रतिवादी कुमार थापालाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुरमा सोही ऐनको दफा ४३ बमोजिम १ वर्ष ६ महिना कैद र रू.१,५०,०००।- (एक लाख पचास हजार) जरिवाना गरी जाहेरवालाले अभियोग दाबीबमोजिम निजबाट बिगो र हर्जाना रकमसमेत भरी पाउने ठहर गरी यी प्रतिवादी श्रीपाल डंगोललाई निजउपरको अभियोग दाबी पुष्टि हुने वस्तुनिष्ठ प्रमाण पेस हुन आएको नदेखिँदा निजउपरको अभियोग दाबी पुग्न नसकी यी प्रतिवादी श्रीपाल डंगोलले सफाइ पाउने ठहर्याई वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट मिति २०७५।२।१४ मा भएको फैसला मनासिब नै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत : माधव भण्डारी
इति संवत् २०७८ साल असार १७ गते रोज ५ शुभम् ।