शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८६९ - अपुताली हक कायम चलन

भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

फैसला मिति : २०७७।१०।५

 

मुद्दाः- अपुताली हक कायम चलन

 

०६७-CI-००९२

पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. ६ बस्ने कान्छा प्रजापतीको छोरा राजेन्द्र प्रजापतीको वारेस भई आफ्नो हकमा समेत ऐ. को छोरा ऐ.ऐ. बस्ने श्रीकुमार प्रजापती

विरूद्ध

प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. १० बस्ने आशबहादुरकी छोरी लक्ष्मी प्रजापतीसमेत

 

०६७-CI-०१९५

पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. १० बस्ने हरिबहादुर प्रजापतीको मु.स. गर्ने निजको छोरा ऐ.ऐ. घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ बस्ने विक्रम प्रजापती

विरूद्ध

प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. १० बस्ने आशबहादुर प्रजापतीको छोरी लक्ष्मी प्रजापतीसमेत

 

कुनै पनि सम्पत्तिको हक भोगको स्वामित्व शून्य अवस्थामा रहँदैन । कुनै व्यक्तिको मृत्युपश्चात् निजको स्वामित्वमा रहेको सम्पत्ति त्यही मितिबाट हकवालामा सर्ने । 

शेषपछिको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख नभए पनि अपुतालीमा हकवालाको हक हुने ।

(प्रकरण नं.४)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रमणकुमार श्रेष्ठ, श्री विश्व प्रकाश सिग्देल

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ताहरू श्री देवीप्रसाद दाहाल र श्री पूर्ण राजवंशी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्यायाधीश श्री विनोदप्रसाद शर्मा

भक्तपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की

मा.न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

प्रेमबहादुरको हक भोग चलनमा रहेका भक्तपुर जिल्ला, चपाचो गा.वि.स. वडा नं.६ हाल भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, वडा नं.१० अन्तर्गतको पूर्व आफ्नै घर पश्‍चिम मुलबाटो, उत्तर लक्ष्मी कृष्णको घर र दक्षिण कान्छा प्रजापतीको घर यति ४ किल्लाभित्रको पूर्व पश्‍चिम दुवैतर्फ १९ फिट, उत्तर दक्षिण दुवैतर्फ ५.९ फिटको ३ तले पक्‍की झिगटी घर १, ऐ.को पूर्व आफ्नो घर पश्‍चिम आफ्नै घर, उत्तर लक्ष्मी कृष्णको घर, दक्षिण साझा सागाल यति ४ किल्लाभित्रको पूर्व पश्‍चिम आठ फिट ६ इन्ची र उत्तर दक्षिण आठ फिट आठ इन्ची भएको ३ तले झिगटी छाना कौशी भएको घर १, ऐ.ऐ.को पूर्व र पश्‍चिम निवेदककै घर, उत्तर लक्ष्मी कृष्णको घर र दक्षिण धाल्पासाध र कूलबज्र बज्राचार्यको र सानु बज्राचार्यको घर यति ४ किल्लाभित्रको पूर्व पश्‍चिम दुवैतर्फ १९ फिट चार इन्च र उत्तर दक्षिण १७ फिट तीन इन्ची भएको ऐ.को कौसी भएको घर १, ऐ.ऐ.को पूर्व पश्‍चिम आफ्नो घर पाताल, उत्तर लक्ष्मी कृष्णकै घर पाताल, दक्षिण सानु बज्र, न्हुछेरत्‍न बज्राचार्यको घर, यति ४ किल्लाभित्रको पूर्व पश्‍चिम दुवैतर्फ १९ फिट र उत्तर दक्षिण दुवैतर्फ १८ फिट ३ इन्च भएको पक्‍की घर १, ऐ.को पूर्व पश्‍चिम आफ्नो घर टहरा, उत्तर कान्छा प्रजापतीको बगैंचा भएको यति ४ किल्लाभित्रको पूर्व पश्‍चिम दुवैतर्फ १७ फिट, उत्तर दक्षिण दुवैतर्फ १८ फिट ३ इन्च भएको कच्ची घर १, ऐ.को पूर्व हरिभक्तको घर, पश्‍चिम आफ्नै टहरा, उत्तर कान्छा प्रजापतीको बगैंचा, दक्षिण तेजकृष्ण प्रजापतीको लिवि यति ४ किल्लाभित्रको पूर्व पश्‍चिम दुवैतर्फ १४ फिट ६ इन्च, उत्तर दक्षिण १८ फिटको बगैंचासमेतमा हामी फिरादीको २ भागको १ भाग हक लाग्ने हुँदा सम्पूर्ण घर टहरा बगैंचालाई २ भाग लगाई १ भाग हक लाग्ने हुँदा २ भागमध्ये १ भागको मोल रू.१,२५,०००।- पर्ने उल्लिखित घर टहरा बगैंचासमेत हामी फिरादीको हक कायम गरी अदालतबाटै चलनसमेत चलाइपाउँ भन्ने लक्ष्मी प्रजापतीको फिरादपत्र ।

काका प्रेमबहादुर प्रजापती अविवाहित रहेको र हाम्रै घरमा परलोक भई निजलाई हामीले घाटमा लगी पिण्डपानी गरिआएको हुँदा निजको अपुताली कानूनबमोजिम हामीले नै खान पाउने हुँदा वादी दाबी झुठा हो । वादीले प्रेमबहादुर प्रति कुनै कर्तव्य पूरा गरेको छैन । प्रेमबहादुरको पालन पोषण हामीले नै गरेको र निजको परलोकपछि हामीले नै काजक्रियासमेत गरी आएको हुँदा निजको अपुताली हक हामीले प्राप्त गर्ने कुरामा विवाद हुन सक्दैन । निजले आफ्नो मृत्यु हुनुपूर्व मिति २०६१।७।१ मा हामीलाई शेषपछिको बकस घरसारमा दिएका र सो लिखतमा हरिबहादुरसमेत साक्षी बसेको हुँदा वादीले उल्लेख गरेको घर टहरा बगैंचा जग्गा वादीको नभई हामी प्रतिवादी श्रीकुमार र राजेन्द्र प्रजापतीको अपुताली हक कायम हुने भई इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी श्रीकुमार र राजेन्द्रको संयुक्त प्रतिउत्तर जिकिर ।

स्व. प्रेमबहादुर प्रजापतीका हजुरबुबा भाजुरत्‍नका सन्तान हामी प्रतिवादी भएको उल्लेख भएबमोजिम दायित्व हामीले वहन गरेको अवस्थामा स्व.आशबहादुरको विवाहित छोरीले यो मुद्दामा फिराद गर्न सक्ने अवस्था छैन । स्व. प्रेमबहादुरको अपुतालीमा हामी प्रतिवादीको हक हुने हुँदा वादीको झुठा फिरादबाट फुर्सद गराइपाउँ भन्ने बेहोराको रामजी प्रजापतीसमेत जना ६ को संयुक्त प्रतिउत्तरपत्र ।

प्रेमबहादुरको हकवाला म प्रतिवादी भएकोले फिरादमा उल्लेख भएका सम्पत्तिमा विपक्षीहरूको हक स्थापित हुने होइन । प्रेमबहादुरको जीवनकालमा शे.व.पाएको भन्ने दाबी होइन । आफ्नो पिताबाट पाएको शे.व.लिखतको आधारमा अन्य व्यक्तिको सम्पत्ति समाउन पाउने होइन । दाबीको सम्पत्तिको एक मात्र हकदार म भएको र मैले आधार कारणसहित अपुताली हक कायममा फिराद गरेको हुँदा विपक्षीहरूको फिराद खारेज गरी न्याय पाउँ भन्ने बेहोराको हरिबहादुर प्रजापतीको प्रतिउत्तरपत्र ।

प्रेमबहादुरको आशबहादुरले हक प्राप्त गरेको अपुताली सम्पत्ति र आफ्ना बाबुको सम्पत्तिसमेत वादी कमला र लक्ष्मीले भोग चलन गरी आएका छन् । प्रेमबहादुरको दाह संस्कार काजक्रिया चलेको अवस्थामा प्र. हरिबहादुर उपस्थित भएको देखेको छैन भन्ने वादीका साक्षी चन्द्रबहादुर श्रेष्ठको बकपत्र ।

मलाई थाहा भएसम्म वादीहरूको बाबुको मृत्यु भइसकेको थियो भनी प्रतिवादीका साक्षी श्रीकृष्ण प्रजापतीले गरेको बकपत्र ।

यसमा यस मुद्दाका प्रतिवादी हरिबहादुरले यस मुद्दाका वादीसमेत उपर दायर गरेको दे.नं. ४५२।६५० अपुताली हक कायम मुद्दामा वादी हरिबहादुर मृतक प्रेमबहादुरको नजिकको हकवाला देखिएको र मुलुकी ऐन, अपुतालीको महलको १ नं.ले निजले नै अपुताली पाउने हुँदा मृतक प्रेमबहादुरको हकभोगको विवादित जग्गामा वादीको अपुताली हक कायम भर्इ निजले नै चलनसमेत पाउने ठहरी आजै निर्णय भएकोले विवादको सम्पत्तिमा यस मुद्दाका वादीको हक कायम नभई यस मुद्दाका प्रतिवादी हरिबहादुरको अपुताली हक कायम हुने ठहरी निर्णय भएकोले सोही मुद्दामा उल्लिखित आधार प्रमाणबाट दाबीको घरजग्गामा यी वादीको हक दाबी पुग्न नसक्ने ठहर्‍याई भक्तपुर जिल्ला अदालतले मिति २०६४।२।१६ मा गरेको फैसला ।

भक्तपुर जिल्ला अदालतको मिति २०६४।२।१६ को निर्णय अपुतालीको १, २ नं.को गलत व्याख्या गरी भएको फैसला कानून तथा प्रतिपादित न्यायिक सिद्धान्तको प्रतिकूल भई गम्भीर त्रुटिपूर्ण भएकोले बदर गरी उल्लिखित सम्पत्तिमा हाम्रो पनि २ भागको १ भाग अपुताली हक कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादी लक्ष्मी प्रजापतीसमेतको पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र ।

वादीको दाबी नपुग्ने गरी फैसला भए पनि फैसलामा आधार, कारण खुलाउँदा हामी पुनरावेदकलाई प्रतिकूल असर पर्ने कुरा उल्लेख भएको सो कुरासम्म बदर गरी पाउन पुनरावेदन गर्नुपर्ने भएको हुँदा लगाउको मुद्दामा गरेको पुनरावेदन पत्रमा उल्लिखित आधार कारणसमेतका आधारमा प्रस्तुत मुद्दामा पनि हामी पुनरावेदकको अपुताली हक पुग्ने स्थिति भएकोले भक्तपुर जिल्ला अदालतको फैसलामा उल्लिखित आधार कारणहरू बदर गरी हामी पुनरावेदक प्रतिवादीहरूको पनि अपुताली हक पुग्ने स्थिति भएको हुँदा उक्त फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीको पुनरावेदन अदालत पाटनमा दायर गरेको संयुक्त पुनरावेदन पत्र । 

यसमा भिमराजको छोरा हरिबहादुर र आशबहादुर दाजु भाइ भएको र आशबहादुरको छोरी यी वादी कमला प्रजापतीसमेत भएकोमा विवाद नभई भाइ प्रेमबहादुरको मृत्यु हुँदा सगोलको दाइ आशबहादुर जीवित नै रहेको अवस्थामा हरिबहादुरलाई मात्र नजिकको हकदार ठहर्‍याई भएको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं.२०२ नं. तथा पु.वे.अ.नियमावली, २०४८ को नियम ४७ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६५।७।२१ मा भएको आदेश ।

प्रेमबहादुर परलोक भई अपुताली पर्न आएको सम्पत्तिमा निज प्रेमबहादुरको परलोक हुँदा जीवितै रहेका आशबहादुर पनि समान पुस्ताको देखिर्इ निजलाई समान हक प्राप्त हुन आउने सो सम्पत्तिमा अष्टलोहसमेतको बकसपत्रबाट आशबहादुरका छोरीहरू कमला र लक्ष्मी प्रजापतीले अपुताली हक खान पाउने देखिई प्रेमबहादुरको अपुतालीको सम्पत्तिमा आधा वादीहरूको र आधा हरिबहादुरको हक हुनेमा वादी दाबी नपुग्ने ठहराएको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६४।२।१६ को निर्णय नमिलेकोले अपुताली परेको सम्पत्तिमा सो हदसम्म केही उल्टी भई अपुताली परेको सम्पत्तिमा हरिबहादुरको आधा र बाँकी आधामा कमला र लक्ष्मीको अपुताली हक कायम हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०६६।७।२९ मा भएको फैसला । 

उपर्युक्त फैसला गर्दा हामी पुनरावेदकलाई भाजुरत्‍नका माहिला छोरा बहादुर सिंह, बहादुर सिंहका छोरा विकुमान, विकुमानका छोरा कान्छा र कान्छाका हामी पुनरावेदक छोरा भएको अर्थात्‌ भाजुरत्नको खनाति र बहादुर सिंहको पनाति विकुमानको नाति कान्छाको छोराको रूपमा हामीलाई देखाइएको छ, हाम्रा बाबु कान्छा हुन्, तर हाम्रा बाबु कान्छा भाजुरत्नका छोरा बहादुर सिंहको दुई छोरामा जेठा विकुमान कान्छोचाहिँ कान्छा र कान्छाका छोराहरू हामी पुनरावेदक हौँ र विकुमान हाम्रो काका नाताका व्यक्ति हुन् । यसरी पुस्तेवारी नै त्रुटिपूर्ण रहेको छ । पुनरावेदन अदालतबाट प्रस्तुत मुद्दामा अंश मुद्दामा जस्तो गरी शे.व. लाई आधार बनाई वादी कमला र लक्ष्मीको अपुताली हक लाग्ने भनी फैसला गरिएको छ । अंश र अपुताली भिन्न प्रकृतिका मुद्दा र अवस्था हुन् । अंश मुद्दा चलिरहेको अवस्थामा अष्टलोह शे.व. गरिएको छ भने सो आधारमा मृत्यु हुनेको अंश हकमा दाबी गर्न पाउने अवस्था रहन्छ । अपुतालीको सम्पत्ति अंश जस्तै गरेर आउने होइन । अपुतालीको १५ नं. अपुताली खान पाउनेले अपुताली खान्न भने कर लाग्दैन, अपुताली खाए पनि नखाए पनि मर्नेको सद्‌गत भने गर्नु गराउनुपर्छ भन्ने व्यवस्था भएको हुँदा प्रेमबहादुरको मिति २०६१।७।७ मा मृत्यु भएपछि आशबहादुर जीवितै रहेको र मिति २०६१।१०।१२ मा आशबहादुर जीवित भएको अवस्थामा प्रेमबहादुरको अपुताली आशबहादुरले खान्छु भनेको अवस्था छैन र मिति २०६१।९।२३ को शे.व. को लिखतमा प्रेमबहादुरको अपुतालीबारेमा केही उल्लेख छैन । यस्तो अवस्थामा मिति २०६१।९।२३ को आशबहादुरले गरी दिएको शे.व. को आधारमा आधामा वादी कमला र लक्ष्मीको दाबी पुग्ने भनी गरिएको फैसला अपुतालीको महलको १, २, ३, ११, १५ नं. को समेत विपरीत 

छ । मर्नेले अपुताली खान इच्छा गरेको थियो वा थिएन भन्ने प्रश्नसमेत महत्त्वपूर्ण हुने र त्यस्तो अवस्थामा शे.व. को आधारमा अपुतालीमा दाबी गर्न कमला प्रजापतीसमेतले अपुतालीमा दाबी गर्न मिल्ने होइन ।

प्रेमबहादुर प्रजापतीको मिति २०६१।७।७ मा मृत्यु भएको र सोभन्दा अघि मिति २०६१।७।१ मा निजले आफ्नो सम्पत्ति शेषपछिको बकसपत्र गरी हामी पुनरावेदकलाई दिनुभएको छ । आशबहादुरको मृत्यु मिति २०६१।१०।१२ मा भएको र आफू जीवित रहेको अवस्थामा निजले प्रेमबहादुरको अपुताली खाने तथा निजलाई स्याहार सम्भार, काजक्रिया केही गरेको छैन । प्रतिवादीमध्येका हरिबहादुर हामी पुनरावेदकलाई प्रेमबहादुरले मिति २०६१।७।१ मा गरिदिएको शे.व.को लिखतमा अन्तर साक्षी बसेका छन् । उक्त शे.व. को लिखतमा पहिलेदेखि लालन पालन हेरचाह गर्दै आएको, अविवाहिता रहेकै अवस्था हुँदा काजक्रिया पिण्डपानीसमेत गर्नु भनी उल्लेख भएबमोजिम हामी पुनरावेदकहरूले प्रेमबहादुरको मृत्युपछि काजक्रिया गरेको र मृत्युभन्दा अघि हामीसँगै बसेको भन्ने कुरा हाम्रा गुठियारहरू विकुमान प्रजापती एवं सुनहरी प्रजापतीले अदालतमा अ.बं.१३९ नं. बमोजिम उपस्थित भई बयान गरेको र हाम्रो साक्षी दानरत्न बज्राचार्यको बकपत्रबाट प्रेमबहादुरको लालन पालन तथा काजक्रिया हामीले गरेको देखिन्छ । यसरी प्रेमबहादुरको लालन पालन काजक्रियासमेत हामी पुनरावेदकले गरेको र मिति २०६१।७।१ मा घरायसी शे.व. गरिदिएको र पास गर्नसम्म बाँकी रहेको अवस्थामा प्रेमबहादुरको मिति २०६१।७।७ गते नै मृत्यु भएको कारणले पास हुन नसकेको हो । उक्त लिखत पारित गर्ने सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा हाम्रो फिराद परी मिति २०६१।१२।१८ मा फैसला गर्दा मालपोत ऐन, २०३४ ले लिखत रजिस्ट्रेसन गर्ने अधिकार मालपोत कार्यालयलाई भएको जिल्ला अदालतमा आएको हुँदा क्षेत्राधिकारको अभाव हुँदा फिराद खारेज हुने भनिएको छ । सो फैसलामा हामीले दायर गरेको फिरादपत्रको विषयवस्तुमा प्रवेश गरी फैसला नगरेकोले उक्त फैसलालाई आधार बनाई फैसला गर्न मिल्ने होइन । विपक्षी वादीले फिरादपत्रमा दाबी गर्नुभएको स्व. प्रेमबहादुरको हकको घर टहरा बगैंचा मिति २०६१।७।७ मा प्रेमबहादुरको स्वर्गे भएपछि हामी पुनरावेदकको हकभोग कब्जामा रहेको छ । सो कुरा मिति २०६२।५।२७ मा मध्यपुर ठिमी न.पा. बाट मलाई हक भोगको सिफारिस दिएकोबाट 

देखिन्छ । यदि उक्त घर जग्गा वादी तथा अन्य प्रतिवादीको हक लाग्ने हो भने हामीहरूले हक भोग कब्जा गरेको मितिले ज.मि.को १८ नं. अन्तर्गत ६ महिनाभित्र खिचोला हककायममा फिराद लिएर आउनुपर्ने हो, निजहरूले हामीले हक भोग कब्जा गरेको मितिले ६ महिनाभित्र दाबी उजुर गर्न सकेको अवस्था नहुँदा प्रेमबहादुरको सम्पत्तिमा वादीको दाबी नपुग्ने सम्पूर्णमा प्रतिवादीमध्येका हरिबहादुरको हक पुग्ने गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०६४।२।१६ मा भएको फैसलालाई पुनरावेदन अदालत पाटनबाट मिति २०६६।७।२९ मा केही उल्टी गरी आधामा वादीहरूको र आधामा प्रतिवादीमध्येको हरिबहादुरको हक पुग्ने भनी गरेको फैसला उल्टी गरी प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा आफ्नो हक कायम गरिपाउँ भनी श्रीकुमार प्रजापतीसमेतले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

पुनरावेदन अदालतले काका नाताको प्रेमबहादुको अपुताली विपक्षीहरूलाई निजका पिताले दिएको शे.व.का आधारमा कायम भएको भनी फैसला गरेको छ । प्रेमबहादुरको मिति २०६१।७।७ मा मृत्यु भएपछि निजको अपुताली हक प्राप्त भनिएका विपक्षीका पिता आशबहादुरले उक्त हक आफूमा कायम गराउन सकेका छैनन् । आफूले प्राप्त नगरेको अपुतालीको हकलाई शे.व. लिखत प्राप्त यी विपक्षीहरूकोमा कायम हुने होइन । विपक्षीका पिता आशबहादुर जीवित हुँदाकै अवस्थामा प्रस्तुत अपुतालीको मुद्दा परी विपक्षीहरूले सो मुद्दा सकार गरेको होइन । अपुतालीको हक प्राप्त गर्न कुनै सम्पत्तिमा जो व्यक्तिको अपुताली परेको भन्ने दाबी छ उसको स्वामित्व कायम भइसकेको हुनुपर्दछ । अपुताली प्राप्त नगर्दै आशबहादुरको पनि मृत्यु भइसकेको अवस्थामा विपक्षीहरूको समेत अपुताली हक कायम गरिएको पुनरावेदन अदालतको फैसलामा अपुतालीको महलको १ नं. र २ नं. को विपरीत छ । प्रेमबहादुरको सम्पूर्ण हक अपुतालीबाट हरिबहादुरकोमा स्थापित भइसकेको अवस्थामा विवादित छोरीहरूले शे.व. को आधारमा अपुताली हक कायम गराई माग्ने हक अधिकार रहँदैन । प्रेमबहादुरको अपुताली हक विपक्षीका पिता आशबहादुरले आफू जीवित हुँदाका अवस्थामा आफूमा स्थापित गराउन कुनै पहल नगर्नुबाटै निजले उक्त अपुताली हक आफ्नो नभएको कुरालाई स्वीकार गरेको र उक्त अपुताली हक निजको देहावसानसँगै समाप्त भइसकेको छ । विपक्षी वादीहरू विवाहिता हुन् । विवाहिता छोरीहरूको अंश हक अपुतालीबाट सिर्जना हुनै सक्तैन । साथै वादीले आफ्नो हकको स्रोत भनी निजहरूका पिता आशबहादुरबाट मिति २०६१।९।२३ मा प्राप्त शे.व.को लिखतलाई देखाएको पाइन्छ । उक्त लिखतमा अन्य जे जो उल्लेख गरे पनि दाता आशबहादुर प्रजापतीले “मेरो हक भोग चलनको जो भएको चल अचल श्री सम्पत्ति मेरो हकको अष्टलोह” लेखिदिएको छु भन्ने हो । सो लिखतले विपक्षीहरू विवाहिता छोरीलाई अपुताली माग्ने अधिकार प्रत्याभूत गरेको छैन र गर्न सक्ने कानूनी अवस्थासमेत हुँदैन छैन । उक्त लिखतका आधारमा वादीका पिता आशबहादुरको स्थापित भए रहेको निजको हक भोग दर्ता स्रेस्ताको सम्पत्तिमा मात्र यी वादीहरूको हक स्थापित गरेको अवस्था 

छ । विपक्षीका पिता आशबहादुर र हरिबहादुर २०२४ सालमा नै छुट्टी भिन्न भइसकेको अवस्था छ । भिन्न भएको कुरा मिति २०३४।९।२६ मा हरिबहादुर प्रजापतीले विकुमान सिंह प्रजापतीलाई पारित गरिदिएको लिखतमा विपक्षीका पिता आशबहादुरले लिखत साक्षीमा “भिन्न भएको दाजु आशबहादुर” भनी उल्लेख गरिदिएबाट देखिएको र प्रेमबहादुरलाई पालन, पोषण र औषधोपचार गर्ने र नजिकको हकवाला अंशियार हरिबहादुरबाहेक अन्यमा उक्त अपुताली हक जाने अवस्था नै छैन । अतः माथि उल्लेख गरेअनुसार पुनरावेदन अदालत पाटनबाट मिति २०६६।७।२९ मा भएको फैसलामा विपक्षीहरूसमेतको आधा हक कायम गर्ने गरी गरेको हदसम्म सो फैसला बदर गरी सुरू भक्तपुर जिल्ला अदालतको फैसला सदर कायम गरिपाउँ भन्‍ने बेहोराको पुनरावेदक प्रतिवादी हरिबहादुर प्रजापतीको मु.स. गर्ने विक्रम प्रजापतीले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

यसमा अपुताली पर्ने प्रेमबहादुर प्रजापतीको मिति २०६१।७।७ मा मृत्यु भएको र वादी लक्ष्मी प्रजापतीसमेतका बाबु आशबहादुरको पनि मिति २०६१।१०।१२ मा मृत्यु भएको देखिन्छ । वादीहरूका बाबु आशबहादुरको आफ्नो जीवनकालमा प्रेमबहादुरको अपुताली सम्बन्धमा कुनै दाबी जिकिर नरहेकोमा आशबहादुरको मृत्यु भएपछि मात्र प्रेमबहादुरको अपुतालीमा निजका विवाहिता छोरी वादीहरूको फिराद परेको अवस्थामा दाबीको जग्गामा वादीहरूको समेत अपुताली हक कायम हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०६६।७।२९ मा भएको फैसला मुलुकी ऐन, अपुतालीको महलको ११ नं. को व्याख्यात्मक प्रश्नको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने बेहोराको यस अदालतबाट मिति २०७२।५।२ मा भएको आदेश ।

हामी प्रतिवादकर्ता वादीहरू आशबहादुरको विवाहित छोरी हौं भन्ने विपक्षीको जिकिर छ । प्रेमबहादुरको परलोक हुँदा पिता आशबहादुर जीवितै रहेको, पिता आशबहादुरउपर परेको मुद्दामा हामीले मिति २०६१।९।२३ मा पाएको शे.व. को लिखतबमोजिम मुद्दामा पैरवी गरी आएको र सो शे.व. हामी छोरीहरूलाई पिता आशबहादुरकै स्थानमा उभ्याएकोले प्रेमबहादुरको अपुताली पिता आशबहादुर र निजको हक खाने हामी छोरीहरूले पाउने हुँदा विपक्षी पुनरावेदकले लिएको पुनरावेदन जिकिर पुग्न सक्ने अवस्था नरहेकोले हाम्रो हक नपुग्ने ठहर गरी भक्तपुर जिल्ला अदालतको मिति २०६४।२।१६ मा भएको फैसलालाई उल्टी गरी पिता आशबहादुर र हरिबहादुरको समान अपुताली हक लाग्ने ठहर गरेको श्री पुनरावेदन अदालत पाटनको मिति २०६६।७।२९ को फैसला सदर गरी विपक्षीको पुनरावेदन जिकिर नपुग्ने गरी फैसला गरिपाउँ भन्ने लक्ष्मी प्रजापतीसमेतको यस अदालतमा पेस हुनआएको लिखित प्रतिवाद ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठले पुस्तावारीमा नै फरक गरी फैसला भएको छ । पुनरावेदकलाई विकुमानको नाति कायम गरिएको छ । जबकि विकुमान हाम्रा काका नाताका व्यक्ति हुन् । अपुतालीको सम्पत्ति अंश जस्तै गरेर आउने होइन । प्रेमबहादुरको मृत्यु भएपछि आशबहादुर जीवितै रहेको र निजले प्रेमबहादुरको अपुतालीमा दाबी लिएको पाइँदैन । कमला प्रजापतीसमेतले बाबुबाट मिति २०६१।९।२३ मा पाएको शे.व. को लिखतमा प्रेमबहादुरको अपुतालीबारेमा केही उल्लेख छैन । यस्तो अवस्थामा आशबहादुरले गरी दिएको शे.व. को आधारमा वादी कमला र लक्ष्मीको दाबी पुग्ने भनी गरिएको फैसला अपुतालीको महलको १, २, ३, ११, १५ नं. को समेत विपरीत छ । प्रेमबहादुर प्रजापतीले आफ्नो मृत्युअघि मिति २०६१।७।१ मा निजले शेषपछिको बकसपत्र गरिदिनुभएको छ । आशबहादुरले आफू जीवित रहेको अवस्थामा प्रेमबहादुरको स्याहार सम्भार, काजक्रिया केही गरेको छैन । प्रतिवादीमध्येका हरिबहादुर मिति २०६१।७।१ मा गरिदिएको शे.व.को लिखतमा अन्तर साक्षी बसेकोले निज आफूले अपुताली खाने भन्ने कुरामा विबन्धनमा परेका छन् । गुठियारहरू विकुमान प्रजापतीसमेतले अदालतमा अ.बं.१३९ नं. बमोजिम उपस्थित भई प्रेमबहादुरको लालन पालन काजक्रिया पुनरावेदकले गरेको भनी लेखाई दिएका छन् । प्रेमबहादुरको हकको घर टहरा बगैंचा निजको स्वर्गेपछि पुनरावेदकले हकभोग गरेको छ । सो कुरा मध्यपुर ठिमी न.पा. को हक भोगको सिफारिसबाट देखिन्छ । विपक्षीको हक लाग्ने भए ज.मि.को १८ नं. बमोजिम दाबी गर्नुपर्ने हो । अतः उक्त कुराको विचारै नगरी पुनरावेदन अदालतले आशबहादुरका छोरीहरू र हरिबहादुरको प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा बराबर हक हुने गरी गरेको फैसला उल्टी गरी पुनरावेदक प्रतिवादीको अपुताली हक कायम गरिपाउँ भनी बहस गर्नुभयो ।

पुनरावेदक / प्रतिवादी हरिबहादुर प्रजापतीको मु.स. गर्ने विक्रम प्रजापतीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री विश्वप्रकाश सिग्देलले प्रेमबहादुर प्रजापतीको अपुताली हक पाउने नजिकको जीवित व्यक्तिमा हरिबहादुर प्रजापती मात्र रहेका छन् । पुनरावेदक / प्रतिवादीहरू श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीको प्रेमबहदुर प्रजापतीसँग काका भतिजाको नाता हो । निजहरूले प्रेमबहादुर प्रजापतीसँग घरसारमा गराएको शेषपछिको बकसपत्र रीतपूर्वक मालपोत कार्यालयबाट पास भएको छैन । निजहरूले प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा भोग रहेको भने पनि भोग र स्वामित्व दुई फरक विषय हुन् । भोगले मात्र स्वामित्व सिर्जना गर्न सक्दैन । त्यसैगरी पुनरावेदक / वादी कमला प्रजापतीसमेत दाजु आशबहादुर प्रजापतीका विवाहित छोरीहरू भएकाले निजहरूले प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा अपुताली दाबी गर्न पाउने होइन । निजहरूका बाबुले छोरीहरूलाई गरिदिएको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख गरेको छैन । अतः प्रेमबहादुर प्रजापतीको अपुतालीमा मेरो पक्षको एकलौटी हक हुने हो भनी बहस गर्नुभयो । 

प्रत्यर्थी / वादी कमला प्रजापतीसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ताहरू श्री देविप्रसाद दाहाल र श्री पूर्ण राजवंशीले कमला प्रजापतीसमेत आशबहादुरको छोरी भएको कुरामा विवाद रहेको छैन । यिनका पिता र हरिबहादुर प्रजापती समान अंशियार हुन् । प्रेमबहादुरको परलोक भएपछि निजको अपुताली खाने नजिकको नातेदार उल्लिखित दुवै भाइ भएकोले यी दुवैको प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा समान हक लाग्ने हुन्छ । आशबहादुरले आफू जीवित छँदै आफ्ना सम्पूर्ण सम्पत्तिमा दुई छोरीहरूको हक हुने भनी शेषपछिको बकसपत्र रजिस्ट्रेसन पास गरिदिएका छन् । सोको आधारमा प्रेमबहादुरको अपुतालीमा पिता आशबहादुर र निजको हक खाने छोरीहरूले पाउने हुँदा विपक्षी पुनरावेदकले लिएको पुनरावेदन जिकिर पुग्न सक्ने अवस्था नरहेकोले लक्ष्मी प्रजापतीसमेतको हक नपुग्ने ठहर गरी भक्तपुर जिल्ला अदालतको फैसलालाई उल्टी गरी निजसमेतको अपुताली हक कायम हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो । 

प्रेमबहादुरको हक भोग चलनमा रहेका घरजग्गाहरूमा निजको अपुताली खाने समान पुस्ताका हाम्रा पिता आशबहादुर प्रजापती र काका हरिबहादुर प्रजापती हुन् । पिताको पनि मृत्यु भएकाले निजले आफ्नो मृत्युअघि नै हामी दुइवटी छोरीलाई आफ्नो सम्पूर्ण सम्पत्तिलाई शेषपछिको बकसपत्र गरी दिएकोले प्रेमबहादुर प्रजापतीको मृत्युपछि निजको हक भोग चलनमा रहेका सम्पत्तिको दुई भागको एक भाग हक कायम गरी अदालतबाटै चलनसमेत चलाइपाउँ भन्ने लक्ष्मी प्रजापती र कमला प्रजापतीको संयुक्त फिरादपत्र रहेकोमा प्रतिवादी श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीले काका प्रेमबहादुर अविवाहित रहेको र हाम्रो घरमा परलोक भई निजको हामीले पिण्डपानी गरिआएको हुँदा निजको अपुताली कानूनबमोजिम हामीले नै खान पाउने भन्ने बेहोरा, प्रतिवादी रामजी प्रजापतीसमेत ६ जनाले स्व. प्रेमबहादुर प्रजापतीका हजुरबुबा भाजुरत्‍नका सन्तान हामी प्रतिवादी भएको अवस्थामा स्व. आशबहादुरको विवाहित छोरीको प्रेमबहादुरको अपुतालीमा हक नभई हाम्रो हक हुने भएकोले फिरादबाट फुर्सद पाउँ भन्ने बेहोरा र हरिबहादुर प्रजापतीले प्रेमबहादुरको हकवाला म प्रतिवादी भएकोले फिरादमा उल्लेख भएका सम्पत्तिमा विपक्षीहरूको हक स्थापित हुने नभई दाबीको सम्पत्तिको एक मात्र हकदार म भएकोले विपक्षीहरूको फिराद खारेज गरिपाउँ भन्ने बेहोराको प्रतिउत्तरपत्र रहेको प्रस्तुत मुद्दामा उल्लिखित जग्गामा प्रतिवादीमध्ये हरिबहादुर प्रजापतीको मात्र अपुताली हक कायम हुने र वादीको दाबी र अन्य प्रतिवादीहरूको जिकिर नपुग्ने गरी सुरू भक्तपुर जिल्ला अदालतले गरेको फैसलाउपर प्रस्तुत मुद्दाका वादीले भक्तपुर जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा २ भागको १ भाग आफ्नोसमेत हक कायम गरिपाउँ भन्ने र प्रतिवादीमध्ये श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीले सुरू भक्तपुर जिल्ला अदालतको फैसला उल्टी गरी प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा आफ्नो एकलौटी अपुताली हक कायम गरिपाउँ भनी पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत पाटनबाट भक्तपुर जिल्ला अदालतले गरेको फैसलामा प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा वादी तथा प्रतिवादीमध्ये हरिबहादुरको अपुताली हक कायम हुने ठहर्‍याई केही उल्टी हुने गरी फैसला गरेको देखिन्छ । सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसलालाई केही उल्टी हुने गरी पुनरावेदन अदालत पाटनले गरेको फैसला उल्टी गरी आफ्नो अपुताली कायम गरिपाउँ भनी प्रतिवादीमध्ये श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीले र पुनरावेदन अदालत पाटनले विवाहित छोरीहरूको समेत अपुताली हक लाग्ने गरी गरेको फैसला उल्टी गरी मेरो एकलौटी अपुताली हक कायम गरिपाउँ भनी अर्का पुनरावेदक प्रतिवादी हरिबहादुर प्रजापतीको मु.स. गर्ने विक्रम प्रजापतीले यस अदालतमा पुनरावेदन गरेकोमा प्रस्तुत मुद्दामा सुरू भक्तपुर जिल्ला अदालतले वादी दाबी नपुग्ने गरी गरेको फैसलालाई केही उल्टी गरी पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम प्रेमबहादुर प्रजापतीको सम्पत्तिमा यी पुनरावेदकहरू श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापतीको एकलौटी अथवा प्रतिवादी प्रेमबहादुर प्रजापतीको एकौटी अपुताली हक कायम हुने हो या होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाका वादीहरूका पिता आशबहादुर प्रजापती र प्रतिवादी हरिबहादुर प्रजापती सहोदर दाजुभाइ हुन् । निजहरूको बाबुका चार भाइ क्रमशः जेठा खड्कबहादुर प्रजापती, माइला बहादुर सिंह प्रजापती, साहिंला भिमराज प्रजापती र कान्छा रत्न प्रजापती रहेको 

देखिन्छ । आशबहादुर प्रजापती र हरिबहादुर प्रजापतीका प्रेमबहादुर प्रजापती निजहरूका कान्छा बाबु रत्न प्रजापतीका एक मात्र छोरा भई दाजुभाइ नाताका रहेका देखिन्छन् । पुनरावेदक प्रतिवादीहरू श्रीकुमार प्रजापती र राजेन्द्र प्रजापती प्रेमबहादुर प्रजापतीका माहिला बाबु बहादुर सिंह प्रजापतीका कान्छो छोरा कान्छा प्रजापतीका छोरा भई प्रेमबहादुर प्रजापतीका भतिजा नाताको रहेको पाइन्छ । त्यसैगरी प्रत्यर्थी / वादी कमला प्रजापती र लक्ष्मी प्रजापती प्रेमबहादुर प्रजापतीका साहिँला बाबु भिमराज प्रजापतीका जेठा छोरा आशबहादुर प्रजापतीका छोरीहरू भई प्रेमबहादुर प्रजापतीका भतिजी नाताको पर्ने देखिन्छन् । प्रस्तुत नातामा विवाद रहेको पनि पाइँदैन ।

३. अब, हरिबहादुर प्रजापतीको मु.स.गर्ने विक्रम प्रजापतीले यस अदालतमा पुनरावेदन गर्दा, लक्ष्मी प्रजापती र कमला प्रजापती जेठा बाबु आशबहादुर प्रजापतीका विवाहित छोरी भएकोले निजहरूले अपुताली पाउने होइन भनी लिएको जिकिरतर्फ विचार गर्दा, आशबहादुर प्रजापती र हरिबहादुर प्रजापती प्रेमबहादुर प्रजापतीका साहिँला बाबुका छोराहरू हुन् । प्रेमबहादुरको मिति २०६१।७।७ मा मृत्यु भई निजको अपुताली परेको देखिन्छ । निज प्रेमबहादुर प्रजापतीले आफ्नो जीवनकाल छँदै आफ्नो मृत्युपश्चात् कसैलाई आफ्नो सम्पत्तिको उत्तराधिकार कायम गर्ने गरी मुलुकी ऐन, अपुतालीको महलको २ नं. बमोजिम लिखत पास गरिदिएको पनि देखिँदैन भने सो नं. अनुसारको अपुताली खाने क्रमका व्यक्ति पनि रहेको देखिँदैन । यस्तो अवस्थामा सोही महलको १ नं. बमोजिम हकवालामा प्रेमबहादुर प्रजापतीको अपुताली जाने देखिन्छ । सोअनुसार निजका सबैभन्दा नजिकका जीवित अंशियार निजका साहिँला बुबाका छोराहरू आशबहादुर प्रजापती र हरिबहादुर प्रजापती रहेको देखिन्छ । यस अवस्थामा प्रेमबहादुरको नजिकको हकवालाको हैसियतले निजको अपुतालीमा यी दुवै भाइको समान हक हुने देखिन्छ । आशबहादुरले पनि आफू जीवित छँदै आफ्नो शेषपछि आफ्नो सबै सम्पत्तिमा आफ्ना दुईजना छोरीहरू कमला प्रजापती र लक्ष्मी प्रजापतीलाई मिति २०६१।९।२३ मा शेषपछिको बकसपत्र गरिदिएको देखिन्छ । सो बकसपत्रले मिति २०६१।१०।१२ मा आशबहादुरको पनि मृत्यु भएपछि निजको सम्पत्तिमा स्वत: उक्त शेषपछिको बकसपत्रले निजका दुईजना छोरीहरूको हक हुने कुरामा विवाद गर्नुपर्ने देखिँदैन । यसरी मिति २०६१।७।७ मा प्रेमबहादुर प्रजापतीको मृत्युपछि निजको अपुताली खाने आशबहादुर प्रजापती र हरिबहादुर प्रजापती सोही मितिबाट कायम भइसकेको र आफू जीवित छँदै आफ्नो सम्पत्ति आशबहादुर प्रजापतीले मिति २०६१।९।२३ मा शेषपछिको बकसपत्र गरी छोरीहरू कमला प्रजापती र लक्ष्मी प्रजापतीलाई दिइसकेको अवस्थामा निजहरू विवाहित छोरी भएकोले उक्त अपुतालीमा निजहरूको हक पुग्ने होइन भनी लिएको पुनरावेदन जिकिरको सान्दर्भिकता देखिँदैन ।

४. पुनरावेदक विक्रम प्रजापतीले मिति २०६१।९।२३ मा शेषपछिको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख नभएकोले सो अपुतालीमा निजहरूको हक हुने होइन भनी लिएको जिकिर सम्बन्धमा विचार गर्दा, कुनै पनि सम्पत्तिको हक भोगको स्वामित्व शून्य अवस्थामा रहँदैन । अतः कुनै व्यक्तिको मृत्युपश्चात् निजको स्वामित्वमा रहेको सम्पत्ति त्यही मितिमा हकवालामा सर्छ । प्रस्तुत मुद्दामा प्रेमबहादुर प्रजापतीको मृत्यु भएको दिन अर्थात् मिति २०६१।७।७ मा नै निजको स्वामित्वमा रहेको सम्पत्तिमा निजको अपुताली खाने आशबहादुर प्रजापती र हरिबहादुर प्रजापतीको हक स्थापित भएको र मिति २०६१।९।२३ मा आशबहादुर प्रजापतीले आफ्नो हक भोगको सम्पत्ति शेषपछिको बकसपत्र गरी छोरीहरू कमला प्रजापती र लक्ष्मी प्रजापतीलाई दिइसकेको हुँदा शेषपछिको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख नभएकोले सो अपुतालीमा निजहरूको हक हुने होइन भनी लिएको जिकिर तथ्यपरक 

देखिँदैन ।

५. प्रेमबहादुर प्रजापतीले आफूहरूलाई मिति २०६१।७।१ मा शेषपछिको बकसपत्र गरिदिएको, सो लिखतमा हरिबहादुर प्रजापती पनि साक्षी बसेको, प्रेमबहादुरलाई आफूहरूले पालेको र दाहसंस्कार गरेको हुँदा निजको अपुताली हक वादी / प्रत्यर्थी कमला प्रजापती र लक्ष्मी प्रजापती तथा पुनरावेदक / प्रतिवादी हरिबहादुर प्रजापतीले पाउने नभई आफूले पाउनुपर्ने भनी लिएको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम शेषपछिको बकसपत्र अनिवार्य रूपले मालपोत कार्यालयमा रजिस्ट्रेसन पास गराउनुपर्ने 

हुन्छ । तर यी पुनरावेदक प्रतिवादीले सो कार्य गरेको देखिँदैन । निजहरूले प्रेमबहादुरले मिति २०६१।७।१ मा घरसारमा उक्त लिखत गरिदिएको र सोको लगत्तै मिति २०६१।७।७ मा निजको मृत्यु भएकोले रजिस्ट्रेसन गराउन नसकिएको भनी जिकिर लिए पनि यसरी अनिवार्य रूपले रजिस्ट्रेसन पास गर्नुपर्ने घरसारमा भएको लिखतलाई सो लिखत पास गर्नुअगावै सो लिखत पास गरिदिने व्यक्तिको मृत्यु भएमा सोही रजिस्ट्रेसनको महलको ९ नं. मा “रजिस्ट्रेसन गराउनुपर्ने घरसारमा भएको लिखत रजिस्ट्रेसन हुन नपाउँदै सो लिखत गरिदिने मानिस मर्‍यो । त्यसको ऐनले अपुताली खाने हकदार कोही छैन रजिस्ट्रेसन गरिपाउँ भनी लिखत गराई लिनेले ऐनका म्यादभित्र दरखास्त दिन आएमा यस्तो बेहोराको लिखत घरायसमा गरिदिई मरेको हो, होइन मर्नेका अपुताली खाने हकदार कोही छौ भने बाटाका म्यादबाहेक पन्ध्र दिनभित्र हाजिर भई जाहेर गर्न आउनु लेखिएका म्यादभित्र मर्नेको अपुताली खान पाउने हकदार हाजिर हुन नआए रजिस्ट्रेसन भई जाने छ भन्नेसमेत बेहोराको म्याद सो लिखत गरिदिई मर्नेको गाउँ सहर टोलमा १ घरमा १ रजिस्ट्रेसन गरिदिने अड्डाको ढोकामा १ र सबैले देख्ने ठाउँमा १ समेत टाँसिदिनुपर्छ । सो म्यादभित्र मर्नेको अपुताली खाने हकदारको वा नेपाल सरकारमा आउने अपुताली भए जोसुकैको लिखत गरी दिएको वा मरेको छैन भन्ने उजुर नपरे म्याद नाघेको मितिले सात दिनभित्र लिखत गरी दिई मरेको जान्ने भनी दरखास्तवालाले लेखिदिएको मानिस र सो लिखतमा लेखिएका साक्षीहरू बुझी बुझिएसम्मका प्रमाणबाट लिखत गरिदिइसकेपछि मरेको ठहर्‍यो र त्यसको अपुताली खाने हकदार पत्ता लागेन भने सोही बेहोरा जनाई कानूनबमोजिमको रीत पुर्‍याई रजिस्ट्रेसन गरिदिनुपर्छ । जीउँदोलाई मर्‍यो भनी वा लिखत गरी नदिएकोमा गरिदिएको छ भनी वा अपुताली खाने हकदार भएको जानी जानी थाहा पाई छैन भनी ढाँटी दरखास्त दिई रजिस्ट्रेसन गराएको ठहरे रजिस्ट्रेसन बदर गरी ऐनबमोजिम सजायसमेत गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । यी पुनरावेदक प्रतिवादी श्रीकुमार प्रजापतीसमेतले उक्त कानूनी प्रक्रिया पूरा गरी आफ्नो लिखतलाई पक्का गराएको देखिएन । यसरी कानूनले नै रजिस्ट्रेसन गर्नुपर्ने लिखत रजिस्ट्रेसन नगराई बसेको कारणले सो लिखतको कानूनी अस्तित्व कायम रहेको मान्न सकिने अवस्था रहेन । त्यसैगरी यी पुनरावेदक प्रतिवादी श्रीकुमार प्रजापतीसमेत प्रेमबहादुरले मिति २०६१।७।१ मा घरसारमा निजहरूलाई गरिदिएको शेषपछिको बकसपत्रको लिखत पारित हुनुपर्ने दाबी लिई फिराद गरेको देखिन्छ । सो फिराद भक्तपुर जिल्ला अदालतले मिति २०६१।१२।१८ मा खारेज हुने गरी गरेको फैसला अन्तिम भई बसेको 

देखिन्छ । यी पुनरावेदक प्रतिवादीहरू पुस्तेवारीमा प्रेमबहादुर प्रजापतीको समान पुस्ताको नभई तल्लो पुस्ताका भतिजा नाताका रहेको देखिन्छ । यिनै पुनरावेदक प्रतिवादीहरूले प्रेमबहादुर प्रजापतीलाई पालन पोषण र दाहसंस्कार गरेको भन्ने भरपर्दो प्रमाण मिसिल संलग्न रहेको नदेखिएबाट निजहरूको उल्लिखित पुनरावेदन जिकिरको प्रामाणिकता रहेन ।

६. उल्लिखित प्रकरणहरूमा विवेचना गरिएबमोजिम पुनरावेदक प्रतिवादी श्रीकुमार प्रजापतीसमेतले प्रेमबहादुर प्रजापतीको अपुतालीमा प्रतिवादी हरिबहादुर प्रजापती र वादी आशबहादुर प्रजापतीका छोरीहरू लक्ष्मी प्रजापतीसमेतको हक हुने होइन भन्नेसमेत र पुनरावेदक / प्रतिवादी हरिबहादुरको मु.स. गर्ने विक्रम प्रजापतीले पुनरावेदक प्रतिवादी श्रीकुमार प्रजापतीसमेत प्रेमबहादुर प्रजापतीको समान पुस्ताको नभई तल्लो पुस्ताका भएको र आशबहादुर प्रजापतीका छोरीहरू लक्ष्मी प्रजापतीसमेत विवाहित भएकोले प्रेमबहादुर प्रजापतीको अपुतालीमा आफ्नो मात्र एकलौटी हक हुने हो भन्ने पुनरावेदन जिकिर तथा निजहरूको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ कानून व्यवसायीको बहस जिकिर एवं यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेशमा उल्लेख भएको बुँदासँग सहमत हुन सकिएन । 

७. तसर्थ, उल्लिखित आधार प्रमाणबाट प्रेमबहादुर प्रजापतीको मृत्युपश्चात् निजको हक भोगको सम्पत्तिमा पुनरावेदक प्रतिवादी हरिबहादुर प्रजापतीको एकलौटी अपुताली हक कायम हुने र वादी लक्ष्मी प्रजापतीसमेत र अन्य प्रतिवादीहरूको हक नहुने गरी सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०६४।२।१६ मा भएको फैसला केही उल्टी गरी प्रेमबहादुर प्रजापतीको मृत्युपश्चात् निजको हक भोगको सम्पत्तिमा २ भागको एक भागमा वादी लक्ष्मी प्रजापती र कमला प्रजापती तथा एक भागमा प्रतिवादी हरिबहादुर प्रजापतीको अपुताली हक कायम हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६६।७।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुंगाना

 

इजलास अधिकृत : नवराज जोशी

इति संवत् २०७७ साल माघ ५ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु