शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८९१ - लागु ‌औषध (खैरो हेरोइन)

भाग: ६४ साल: २०७९ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७७।२।२६

०७६-CR-०५३८

 

मुद्दाः- लागु ‌औषध (खैरो हेरोइन)

 

पुनरावेदक / वादी : प्र.स.नि. प्रदिपप्रसाद जैसवालको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : रमेश अधिकारीको छोरा जिल्ला सर्लाही, सबिकको ढुङ्ग्रेखोला गा.वि.स. वडा नं. २ परिवर्तित ऐ. बाग्मती नगरपालिका वडा नं. १ वतन भएका गुरुदेव अधिकारी

 

लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय 

होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई वादी पक्षले इन्कार गर्न नमिल्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा निर्णय गर्नेः 

माननीय न्यायाधीश श्री सुर्यप्रसाद अधिकारी

पर्सा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य

माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्‍ज

 

फैसला

न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

तथ्य खण्ड

जिल्ला पर्सा वीरगन्‍ज, उपमहानगरपालिका वडा नं.१० स्थित पूर्व बसपार्क जाने सडक, पश्‍चिम जिल्ला प्रशासन कार्यालय जाने बाटो, उत्तर मुर्लीतर्फ जाने सडक र दक्षिण माइस्थानतर्फ जाने बाटो यति चारकिल्लाभित्र पर्ने सडकको पश्‍चिम किनारा हुँदै दक्षिण माइस्थानतर्फबाट बुद्ध परियार र गुरुदेव अधिकारी पैदल हिँडी आइरहेको अवस्थामा फेला पारी दुवै जनाको शरीर खानतलासी लिँदा बुद्ध परियारले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा प्लास्टिकमा पोका पारी लुकाइ छिपाइ ल्याएको अवस्थामा ३ वटा प्लास्टिकको पुरियामा लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला परेकोले बरामद गरिएको भन्‍नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । 

मिति २०७३।११।५ गते रातको २०:०० बजेको समयमा जिल्ला पर्सा, वीरगन्‍ज उपमहानगरपालिका वडा नं.१० स्थित घण्टाघर चोक सडकमा विभिन्‍न सवारी साधन तथा पैदल यात्रुहरूसमेतको चेकजाँच गरिरहेको अवस्थामा दक्षिण माइस्थान चोकतर्फबाट उत्तर मुर्लीचोकतर्फ जाने उद्देश्यले पैदल हिँडी आइरहेका गुरुदेव अधिकारी र बुद्ध परियारलाई रोकी निज दुवै जनाको शरीर खानतलासी लिँदा बुद्ध परियारले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा ३ वटा प्लास्टिकको पुरियामा लागुऔषध खैरो हेरोइन फेला परेकाले एकै ठाउँमा जम्मा पारी तौल गर्ने सामग्री जुटाई तौल गर्दा १३ ग्राम भएकोले बरामद गरी उक्त लागुऔषध खैरो हेरोइनसहित निज गुरुदेव अधिकारी र बुद्ध परियारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्‍नेसमेत बेहोराको प्र.स.नि. प्रदिपकुमार जैसवालको प्रतिवेदन । 

करिब ८।९ महिनादेखि साथी सङ्गतमा परी लागुऔषध खैरो हेरोइन सेवन गर्ने क्रममा मसँगै पक्राउ परेका बुद्ध परियारसँग चिनजान भई हामीसँगै लागु औषध सेवन गर्दथ्यो । मिति २०७३।११।१ गते बिहान सर्लाहीको नयाँ रोड चोकमा बुद्ध परियारसँग भेट भई लागु औषध सेवन गर्ने सल्लाह हुँदा लागु औषध खरिद गर्न सेवनकर्ताहरूलाई खोज्दा फेला परेनन्, त्यसपछि साथी बुद्ध परियार र म भारतको रक्सौलमा गई खरिद गरी केही सेवन गर्ने र केही सेवन नगर्ने व्यक्तिलाई बिक्री गरी पैसा कमाउने सल्लाह भई मिति २०७३।११।५ गते दुवैजना नयाँ रोड चोकमा भेट भई दिनको १५:०० बजेको समयमा गाडी चढी १८:०० बजे वीरगन्‍ज बसपार्क आई टेम्पो चढी भारतको रक्सौलमा रेल्वे स्टेसननजिक पान पसलमा गई प्रतिग्राम रू.५००।– का दरले १३ ग्राम लागु औषध खैरो हेरोइन जम्मा मूल्य रू.६,५००।– मा खरिद गरी साथी बुद्ध परियारले आफ्नो पाइन्टको खल्तीमा राखी वीरगन्‍ज घुमफिर गरी रात्री बस चढी सर्लाही जाने भन्‍ने सल्लाह भई टेम्पो चढी वीरगन्‍ज आदर्शनगर चोकमा झरी रात्री बस चढनको लागि बसपार्क आउन भनी पैदल हिँडी घुमफिर गर्दै जिल्ला पर्सा वीरगन्‍ज उपमहानगरपालिका वडा नं.१० स्थित चेक सडकमा पुग्दा प्रहरीले हामी दुवै जनालाई रोकी चेक जाँच गर्दा साथी बुद्ध परियारको साथबाट लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला पारी बरामद गरी प्रहरी टोलीले हामी दुवै जनालाई पक्राउ गरी ल्याएको हो, लागुऔषध खरिद गरेको पैसा साथी बुद्ध परियारको हो भन्‍ने बेहोराको प्रतिवादी गुरुदेव अधिकारीको बयान । 

१/२ वर्षअगाडिदेखि लागुऔषध खैरो हेरोइन सेवन तथा बिक्री गर्दै आएकोमा मसँग पक्राउ परेका गुरुदेव अधिकारीसँग चिनजान भई हामीसँगै लागुऔषध सेवन गर्दथ्यो । मिति २०७३।११।१ गते बिहान सर्लाहीको नयाँरोड चोकमा गुरुदेव अधिकारीसँग भेट भई लागु औषध सेवन गर्ने सल्लाह भएको तर हामीसँग लागुऔषध नभएपछि खरिद गर्न वरपर खोज्दासमेत फेला परेनन् । हामी दुवै जनाले भारतको रक्सौलमा गई खरिद गरी ल्‍याई केही सेवन गर्ने र केही सेवन नगर्ने व्यक्तिलाई बिक्री गरी पैसा कमाउने सल्लाह भई मिति २०७३।११।५ गते दुवैजना नयाँ रोड चोकमा भेट भई लागुऔषध खरिद गर्न दिनको १५:०० बजेको समयमा गाडी चढी १८:०० बजे वीरगन्‍ज बसपार्क आई टेम्पो चढी भारतको रक्सौलमा गई रेल्वे स्टेसननजिक पान पसलमा गई प्रतिग्राम रू.५००।– का दरले १३ ग्राम लागु औषध खैरो हेरोइन जम्मा मूल्य रू.६,५००।– मा खरिद गरी मैले आफूले लगाएको पाइन्टको दाहिने खल्तीमा राखी वीरगन्‍ज घुमफिर गरी रात्री बस चढी सर्लाही जाने भन्‍ने सल्लाह भई टेम्पो चढी वीरगन्‍ज आदर्शनगर चोकमा झरी रात्री बस चढ्नको लागि बसपार्क आउन भनी पैदल हिँडी घुमफिर गर्दै जिल्ला पर्सा वीरगन्‍ज उपमहानगरपालिका वडा नं.१० स्थित चोक सडकमा पुग्दा प्रहरीले हामी दुवै जनालाई रोकी चेकजाँच गर्दा मेरो साथबाट लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला पारी बरामद गरी हामी दुवै जनालाई पक्राउ गरेको हो, लागुऔषध खरिद गरेको पैसा मेरो हो भन्‍नेसमेत बेहोराको प्रतिवादी बुद्ध परियारले अनुसन्‍धान अधिकारीसमक्ष गरेको बयान । 

बरामद भौतिक सबुतमा लागु औषध हेरोइन पाइएको भन्‍नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाडौंको परीक्षण प्रतिवेदन ।

मिति २०७३।११।५ गते साँझ २०:०० बजेको समयमा घटनास्थल सडकमा खटिएको प्रतिवेदकसमेतको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिवादीहरू गुरुदेव अधिकारी र बुद्ध परियारलाई दक्षिण माइस्थानतर्फबाट पैदल हिँडी आइरहेको अवस्थामा देखी रोकी निजहरूको शरीर कानूनबमोजिम खानतलासी लिँदा प्रतिवादी बुद्ध परियारको साथबाट लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला परेकोले बरामद गरी दुवै जनालाई प्रहरीले पक्राउ गरी लगेको हो भन्‍नेसमेत बेहोराको सुमित सिंहसमेतले गरी दिएको घटना विवरण कागज । 

प्रतिवादीहरू बुद्ध परियार र गुरुदेव अधिकारीले भारतको रक्सौलबाट बिक्री गर्ने उद्देश्यले लागु औषध खैरो हेरोइन १३ ग्राम रू.६,५००।– मा खरिद गरी नेपाल भित्र्याई लागु औषध ओसारपसार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ) र (च) बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीहरू बुद्ध परियार र गुरुदेव अधिकारीलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम सजाय हुन मागदाबी लिई दायर भएको अभियोगपत्र ।

बरामद लागुऔषध प्रतिवादी बुद्ध परियारको साथबाट बरामद भएको हो । हामी एकै ठाउँको भएकोले सँगै घर जाने सल्लाह भएको थियो । म निजसँग वीरगन्‍ज आएको होइन । मेरो बुबा वीरगन्‍ज स्थित SBI Bank मा काम गर्ने भएकोले म बुबालाई भेट्न आएको थिएँ र घर फर्कने क्रममा बुद्धसँग भेट भएको हो । मैले लागु औषध खरिद नगरेको र बुद्धसँग लागु औषध छ भन्‍ने आफूलाई थाहा नभएकोले मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी गुरुदेव अधिकारीले सुरू अदालतमा आई गरको बयान ।

मसँग ८ ग्राम खैरो हेरोइन बरामद भएको 

हो । सो लागुऔषध आफैँले सेवन गर्नको लागि किनेर ल्याएको थिएँ । प्रतिवादी गुरुदेव मेरो गाउँकै मान्छे भएकोले सँगै घर फर्कनको लागि हामीसँगै थियौँ । मसँग लागु औषध रहेको कुरा गुरुदेव अधिकारीलाई थाहा थिएन । मसँग जम्मा ८ ग्राम लागु औषध बरामद भएको थियो, १३ ग्राम होइन । मैले उक्त लागु औषध बिक्री वितरणको लागि ल्याएको होइन । एकपटक गल्ती भयो अब यस्तो गर्दिन भन्‍नेसमेत बेहोराको प्रतिवादी बुद्ध परियारले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीहरूबिच सामान्य चिनजान मात्र छ । प्रतिवादी लागुऔषध ओसारपसार बिक्री वितरणलगायतका कार्य गर्ने व्यक्ति होइनन् । प्रतिवादीको चालचलन राम्रो छ भन्‍नेसमेत बेहोराको प्रतिवादी गुरुदेव अधिकारीको साक्षी कञ्चन अधिकारीले गरेको बकपत्र ।

मिति २०७३।११।५ गतेको प्रतिवेदनमा भएको बेहोरा र सहीछाप मेरै हो । मिति २०७३।११।५ गते रातको २०:०० बजेको समयमा वीरगन्ज स्थित घण्टाघर सडक खण्डमा शंकास्पद रूपमा यी प्रतिवादीहरू हिँडिरहेको देखी चेकजाँच गर्ने क्रममा प्रतिवादी बुद्ध परियारको साथबाट १३ ग्राम लागु औषध फेला परेकोले निज प्रतिवादीहरूलाई पक्राउ गरिएको हो भन्‍नेसमेत बेहोराको प्र.स.नि. प्रदिपकुमार जैसवालले सुरू अदालतमा गरेको बकपत्र ।

मिसिल संलग्‍न प्रमाणबाट प्रतिवादी गुरुदेव अधिकारीको अभियोग दाबीअनुसारको कसुरमा संलग्‍नता रहेको पुष्‍टि नभएकाले अभियोग दाबी पुग्‍न सक्‍ने अवस्था देखिएन । निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अर्का प्रतिवादी बुद्ध परियारले लागु औषध खैरो हेरोइन भारतबाट खरिद गरी ल्‍याएको, निजबाट नै लागु औषध बरामद भएको र सो बरामदी मुचुल्‍कालाई नै समर्थन हुने गरी यी प्रतिवादीले अदालतमा बयान गर्दा आफूबाट नै बरामद भएको भनी खुलाइदिएको साथै सोही बेहोरा खुलाई प्रतिवेदकले समेत बकपत्र गरिदिएको देखिँदा यी प्रतिवादी बुद्ध परियारले लागु ‍औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ), (च) बमोजिमको कसुर अपराध गरेको पुष्‍टि हुन आएकाले निज प्रतिवादीलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम ७(सात) वर्ष कैद र रू.१०,०००।– (दश हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पर्सा जिल्ला अदालतबाट मिति २०७४।१०।२९ मा भएको 

फैसला ।

अधिकारप्राप्‍त अधिकारीसमक्षको बयान मेरो स्वेच्छाले गराएको बयान होइन । मसँग लागु औषध बरामद भएको छैन भनी भनेको छैन । मसँग १३ ग्राम नभई ८ ग्राम लागु औषध खेरो हेरोइन बरामद भएको थियो । उक्त लागु औषध सेवन गर्नको लागि लिएको हो । मैले अदालतमा बयान गर्दा सेवनको लागि खरिद गरेको तथा सेवन गर्नेसमेत गरेको भन्‍नेसमेत बेहोराको बयान लेखाएको छु । प्रहरीको बकपत्रबाट पनि म सेवनकर्ता हुँ भनी पुष्‍टि प्रमाणित भइराखेको छ । सम्‍पूर्ण मिसिललाई केलाएर हेर्दा कहीँकतै पनि म प्रतिवादीले बिक्री वितरण ओसारपसार गरेको भन्‍ने कुरा उल्‍लेख भएको देखिँदैन । बरामदी मुचुल्‍का प्रहरी प्रतिवेदन कहीँबाट पनि बिक्री वितरण गरेको कुरा खुलेको देखिँदैन । सो कुरा प्रतिवेदकले अदालतमा गरेको बकपत्रबाट पनि पुष्टि भएकै छ । म लागु औषध सेवनकर्ता भएकोमा कारोबारको कसुर कायम गरी सुरूले गरेको फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी गरी सेवनको कसुरमा न्‍यूनतम सजाय होस् भन्‍नेसमेत बेहोराको प्रतिवादी बुद्ध परियारले उच्‍च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा मिति २०७५।४।२१ मा दिएको पुनरावेदन ।

मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी गुरुदेव अधिकारीले बरामद भएको लागु औषध खरिद गर्न पैसा नभएकाले निजको साथी एवं सहप्रतिवादी बुद्ध परियारले लागु औषध खरिद गर्न पैसा हालिदिएको र सो लागु औषध बिक्री गरी आएको पैसाबाट प्रतिवादी बुद्ध परियारले खरिद गरेको पैसा उठाई बाँकी आधा आधा बाँड्ने सल्लाह भएको, सल्‍लाहअनुसार भारतको रक्‍सौलमा गई १३ ग्राम लागु औषध खैरो हेरोइन खरिद गरी लिई आएको, उक्त लागु औषध केही सेवन गर्न र केही बिक्री वितरण गरी मुनाफा आर्जन गर्ने उद्देश्‍यले ल्‍याएको हो भन्‍ने साबिती बयान गरेको, सहप्रतिवादी बुद्ध परियारले पनि सोही बेहोराको बयान गरी यी प्रतिवादीलाई पोल गरेको, प्रतिवेदक प्र.स.नि. प्रदिपकुमार जैसवालले अदालतसमक्ष किटानी बकपत्र गरिदिएको अवस्थामा केवल निजले खरिद नगरेको र साथबाट बरामद नभएको भन्‍ने आधारमा मात्र प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट उच्‍च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा मिति २०७५।४।२९ मा परेको पुनरावेदनपत्र ।

यसमा पर्सा जिल्ला अदालतको मिति २०७४।१०।२९ को फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीको पुनरावेदन परेको तथा अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी गुरुदेव अधिकारी कसुरमा साबित भई बयान गरेका र सहप्रतिवादीसमेतले पोल बयान गरेको अवस्थामा समेत प्रतिवादी गुरुदेव अधिकारीलाई कसुरबाट सफाइ दिने गरी भएको फैसला एवं बरामद लागु औषधको मात्राको अनुपातमा प्रतिवादी बुद्ध परियारलाई भएको सजाय चर्को भएको देखिँदा सुरू जिल्ला अदालतको फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा छलफल प्रयोजनका लागि साबिक मुलुकी ऐन, अ.बं. २०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रतिवादीको पुनरावेदनको जानकारी उच्च सरकारी वकिल कार्यालय, वीरगन्‍जलाई दिई प्रत्यर्थी प्रतिवादी गुरुदेव अधिकारीको नाउँमा सूचना म्याद जारी गरी हाजिर भए वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत बेहोराको उच्‍च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट मिति २०७५।११।७ मा भएको आदेश ।

प्रतिवादी गुरुदेव अधिकारीलाई अभियोग दाबीको कसुरबाट सफाइ दिने गरी र प्रतिवादी प्रतिवादी बुद्ध परियारलाई अभियोग दाबीको कसुर गरेको ठहर्‍याइ पर्सा जिल्‍ला अदालतबाट मिति २०७४।१०।२९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी बुद्ध परियारको पुनरावेदन जिकिर पुग्‍न 

सक्‍दैन । प्रतिवादी बुद्ध परियारलाई भएको सजाय निर्धारणका सम्बन्‍धमा निज प्रतिवादीबाट बरामद भएको लागु ‍औषधको मात्रा र प्रकृति, निजले गरेको कसुरबापत हुन सक्‍ने न्यूनतम र अधिकतम सजायसमेतलाई दृष्टिगत गर्दा प्रतिवादी बुद्ध परियारलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम सात वर्ष कैद र रू.१०,०००।- जरिवाना हुने गरी भएको पर्सा जिल्ला अदालतको मिति २०७४।१०।२९ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीलाई छ वर्ष कैद र रू.१०,०००।- जरिवाना हुने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट मिति २०७६।२।३१ मा भएको फैसला ।

प्रतिवादी बुद्ध परियारले अनुसन्धान अधिकृतसमक्ष निज र सहप्रतिवादी गुरुदेव अधिकारीले सल्लाह गरी, भारतको रक्सौलमा गई १३ ग्राम लागु औषध खैरो हेरोइन खरिद गरी लिई आएको, उक्त लागु औषध केही सेवन गर्न र केही बिक्री वितरण गरी मुनाफा आर्जन गर्ने उद्देश्यले ल्याएको हो । सहप्रतिवादी गुरुदेव अधिकारीसँग लागु औषध खरिद गर्दा लागेको पैसा निज प्रतिवादीले लिई बाँकी दुवै जनाले आधा आधा बाँड्ने सल्लाह भएको थियो भनी बयान गरेको स्थिति छ । प्रस्तुत मुद्दामा प्रतिवादीद्वय बुद्ध परियार र गुरुदेव अधिकारी सँगै पैदल हिँडिरहेको अवस्थामा लागु औषधसहित पक्राउ परी दुवैले बरामदी मुचुल्कामा सहीछाप गरेको, अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा दुवै आरोपित कसुरमा साबित रही एक अर्कालाई पोल गरेको, लागु औषधको परिणाम धेरै रहेको अवस्थामा प्रतिवादी गुरुदेव अधिकारीलाई जोगाउने हिसाबले अदालतमा बयान गरेकै आधारमा प्रतिवादी गुरुदेव अधिकारीले दाबीबाट फुर्सद पाउनुपर्ने 

होइन । यस सम्बन्धमा, सम्मानित सर्वोच्च अदालतबाट लागु औषध बरामद हुनु र अन्य सँगसाथका व्यक्तिबाट बरामद नहुनुले खासै असर नपार्ने भनी शेरबहादुर थापा विरूद्ध नेपाल सरकार भएको लागुऔषध मुद्दा (ने.का.प. २०६८, अङ्क १२, नि.नं.८७२८) मा नजिर सिद्धान्त कायम भएकोमा प्रस्तुत फैसलामा सोको समेत पालना भएको नदेखिँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई समेत सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट मिति २०७६।५।१७ मा यस अदालतमा परेको पुनरावेदनपत्र ।

ठहर खण्‍ड

नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट मिति २०७६।२।३१ मा भएको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा नै निर्णय दिनुपर्ने देखियो ।

प्रतिवादीहरू बुद्ध परियार र गुरुदेव अधिकारीले भारतको रक्सौलबाट बिक्री गर्ने उद्देश्यले लागु औषध खैरो हेरोइन १३ ग्राम रू.६,५००।– मा खरिद गरी नेपाल भित्र्याई लागु औषध ओसारपसार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ) र (च) बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट अभियोगपत्र दायर भएकोमा प्रतिवादी गुरुदेव अधिकारीको अभियोग दाबीअनुसारको कसुरमा संलग्‍नता रहेको पुष्‍टि नभएकाले निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ र अर्का प्रतिवादी बुद्ध परियारले लागु ‍औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ), (च) बमोजिमको कसुर अपराध गरेको पुष्‍टि हुन आएकाले निज प्रतिवादीलाई सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम ७(सात) वर्ष कैद र रू.१०,०००।–(दश हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भनी पर्सा जिल्ला अदालतबाट फैसला भएकोमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट प्रतिवादी गुरुदेव अधिकारीका हकमा भएको फैसला सदर गरी प्रतिवादी बुद्ध परियारका हकमा भएको फैसला केही उल्‍टी गरी निज प्रतिवादीलाई ६(छ) वर्ष कैद र रू.१०,०००।– (दश हजार) जरिवाना हुने ठहर्‍यार्इ भएको फैसलामा चित्त नबुझाई प्रतिवादी गुरुदेव अधिकारीलाई समेत अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन दर्ता हुन आएको देखियो । 

वादी पक्षले यस अदालतमा गरेको पुनरावेदनमा प्रतिवादी गुरुदेव अधिकारी र सहप्रतिवादी बुद्ध परियारले सल्लाह गरी भारतको रक्सौलमा गई १३ ग्राम लागु औषध खैरो हेरोइन खरिद गरी लिई आएको, उक्त लागु औषध केही सेवन गर्न र केही बिक्री वितरण गरी मुनाफा आर्जन गर्ने उद्देश्यले ल्याएको भनी कसुरमा साबित भई मौकामा बयान गरेका छन् । प्रतिवादीद्वय सँगै हिँडिरहेको अवस्थामा लागु औषधसहित पक्राउ परेको देखिन्‍छ । अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा दुवै प्रतिवादीहरू आरोपित कसुरमा साबित रही एक अर्कालाई पोल गरेको देखिन्छ । लागु औषधको परिणाम धेरै रहेको अवस्थामा प्रतिवादी गुरुदेव अधिकारीलाई जोगाउने हिसाबले अदालतमा गरेको इन्‍कारी बयानलाई आधार मानी दाबीबाट उन्‍मुक्ति दिन नमिल्‍ने हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई समेत सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी पुनरावेदन जिकिर लिएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी बुद्ध परियारलाई भएको सजायका सम्बन्‍धमा वादी नेपाल सरकार र निज प्रतिवादीसमेतको पुनरावेदन परेको नदेखिँदा सो सम्बन्‍धमा थप विवेचना गरिरहन 

परेन । जिल्ला पर्सा वीरगन्‍ज उपमहानगरपालिका वडा नं.१० माइस्थानतर्फबाट बुद्ध परियार र गुरुदेव अधिकारी पैदल हिँडी आइरहेको अवस्थामा फेला पारी दुवै जनाको शरीर खानतलासी लिँदा बुद्ध परियारले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अवस्थामा ३ वटा प्लास्टिकको पुरियामा लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला पारी बरामद गरिएको भनी मिति २०७३।११।५ को बरामदी मुचुल्‍कामा उल्‍लेख भएको र उक्त मुचुल्‍कालाई पुष्‍टि हुने गरी प्रतिवेदन पेस भएको देखियो ।

३. प्रतिवादी गुरुदेव अधिकारीले अनुसन्‍धान अधिकारीसमक्ष करिब ८/९ महिनादेखि साथी सङ्गतमा परी लागुऔषध खैरो हेरोइन सेवन गर्ने क्रममा बुद्ध परियारसँग चिनजान भई सँगै लागु औषध सेवन गर्दथ्यौं । साथी बुद्ध परियार र आफ्नो सल्‍लाहमा भारतको रक्सौलमा गई लागु औषध खरिद गरी ल्‍याई वीरगन्‍ज घुमफिर गर्दा बुद्ध परियारको साथबाट लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला पारी बरामद गरी प्रहरीले हामी दुवै जनालाई पक्राउ गरेको हो, लागुऔषध खरिद गरेको पैसा बुद्ध परियारको हो भन्‍ने बेहोरा लेखाएको भए तापनि अदालतको बयानमा लागुऔषध प्रतिवादी बुद्ध परियारको साथबाट बरामद भएको हो । उक्त समयमा म र बुद्ध परियार सँगै 

थियौं । एकै ठाउँमा घर भएकाले सँगै घर जाने भनी सल्‍लाह भएको थियो । मौकामा भएको बयान बेहोरा गलत हो, म निज बुद्ध परियारसँग वीरगन्ज आएको होइन । मेरो बुबा वीरगन्‍ज स्थित SBI Bank मा काम गर्ने भएकोले म बुबालाई भेट्न आएको थिएँ र घर फर्कने क्रममा बुद्धसँग भेट भएको हो । मसँग लागु औषध बरामद भएको पनि होइन । मैले लागु औषध खरिद नगरेको र बुद्धसँग लागु औषध छ भन्‍ने आफूलाई थाहा नभएकोले मलाई सजाय हुनुपर्ने होइन भनी उल्लेख गरेको देखिन्‍छ । निज प्रतिवादीले अदालतसमक्ष गरेको इन्‍कारी बयानलाई निजका साक्षी कञ्चन अधिकारीले गरेको बकपत्रबाट समर्थित भएको देखिन्‍छ ।

४. प्रतिवादी बुद्ध परियारले अदालतसमक्ष बरामद लागुऔषध आफैँले सेवन गर्नको लागि किनेर ल्याएको थिएँ । प्रतिवादी गुरुदेव मेरो गाउँकै मान्छे भएकोले सँगै घर फर्कनको लागि हामी सँगै थियौँ । मसँग लागु औषध रहेको कुरा गुरुदेव अधिकारीलाई थाहा थिएन भनी आफूबाट बरामद भएको लागु औषधको सम्बन्‍धमा प्रतिवादी गुरुदेव अधिकारीको कुनै संलग्‍नता नरहेको भनी प्रतिवादी गुरुदेव अधिकारीको इन्‍कारी बयान बेहोरालाई पुष्‍टि हुने गरी बयान गरिदिएको देखिन्‍छ ।

५. वादी पक्षका साक्षी प्र.स.नि. प्रदिप कुमार जैसवालले मिति २०७३।११।५ गते वीरगन्ज स्थित घण्टाघर सडक खण्डमा शंकास्पद रूपमा प्रतिवादीहरू हिँडिरहेको देखी चेकजाँच गर्ने क्रममा प्रतिवादी बुद्ध परियारको साथबाट १३ ग्राम लागु औषध फेला पारी प्रतिवादीहरूलाई पक्राउ गरिएको हो भनी गरेको बकपत्रबाट प्रतिवादी बुद्ध परियारको साथबाट मात्र लागु औषध बरामद भएको पुष्‍टि हुन आउँछ । मिसिल संलग्‍न प्रमाणबाट प्रतिवादी बुद्ध परियारको साथबाट लागु औषध बरामद भएको देखिएको, उक्त बरामद भएको लागु औषधको कारोबार गर्ने कार्यमा यी प्रतिवादी गुरुदेव अधिकारीको संलग्‍नता रहेको कहीँकतैबाट पुष्‍टि नभएको अवस्थामा प्रस्तुत वारदातमा यी प्रतिवादीलाई समेत अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भन्‍ने वादी पक्षको जिकिर मनासिब देखिन आएन । 

६. लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई वादी पक्षले इन्कार गर्न मिल्दैन । वादीले अनुमानका आधारमा लिएको दाबीबाट मात्र यी प्रतिवादीलाई कसुरदार कायम गर्न कानून र न्यायसङ्गत हुँदैन । प्रस्तुत मुद्दामा प्रतिवादी गुरुदेव अधिकारीको साथबाट लागु औषध बरामद नभएको र निज प्रतिवादीले सहप्रतिवादी बुद्ध परियार र आफू एकै गाउँको मान्‍छे भएकाले सँगै घर फर्कने क्रममा बुद्ध परियारसँग प्रहरीले लागु औषध बरामद गरेको हो, निजसँग लागु औषध छ भन्‍ने आफूलाई थाहा थिएन भनी जिकिर लिएको र सो कुरालाई प्रतिवादी बुद्ध परियारले गरेको बयानबाट पुष्‍टि भइरहेको अवस्थामा प्रतिवादी बुद्ध परियार सँगसँगै भएकै आधारमा मात्र यी प्रतिवादी गुरुदेव अधिकारीलाई कसुरदार ठहर्‍याउन न्यायोचित नहुँदा अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत जनकपुर अस्याथी इजलास, वीरगन्‍जबाट भएको फैसलालाई अन्‍यथा भन्‍न मिलेन । 

७. अतः माथि विवेचित आधार कारण र प्रमाणसमेतबाट प्रतिवादी गुरुदेव अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिने गरी उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगन्‍जबाट मिति २०७६।२।३१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्‍न सक्‍दैन । प्रस्तुत फैसलाको जानकारी महान्‍यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृतः मुना अधिकारी ढकाल

इति संवत् २०७७ साल जेठ २६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु