शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०८९७ - चोरी

भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री कुमार रेग्मी 

फैसला मिति : २०७८।३।६

०७५-CR-०३५७

 

मुद्दाः- चोरी

 

पुनरावेदक / वादी : प्रविणकुमार मल्लिकको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : प्रमेश्‍वर रायको छोरा जिल्ला सर्लाही, बेलही गा.वि.स. वडा नं. ६ घर भई हाल ऐ. कलासी गा.वि.स. वडा नं. ९ बस्ने सुरेश राय भन्‍ने रामसुदिष्ट रायसमेत

 

कुनै वस्तुको मूल्य कुनै चरणमा नखुलेको अवस्थामा सोको चलन चल्तीको बजार मूल्यलाई आधार लिनुलाई स्वाभाविक मान्न सकिएला तर कुनै चरणको मूल्य स्पष्ट खुलेको अवस्थामा सो चरण पार गरी अर्को चरणमा प्रवेश नभएसम्म सो चरणको खुलेको मूल्यलाई नमानी बजार मूल्य यति रहेको वा रहन सक्ने भनी त्यसलाई आधार मानी बिगो कायम गर्नु उपयुक्त नहुने ।

(प्रकरण नं.२)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री जवाहरप्रसाद सिंह

सर्लाही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू

माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल

उच्च अदालत जनकपुर

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य एवं उच्च अदालत जनकपुरको फैसलाको बेहोरा सो अदालतको फैसलाबाट देखिने हुँदा यसमा पुनरावृत्ति गरिएको छैन । पुनरावेदक वादीको पुनरावेदन जिकिर तथा यस अदालतको निर्णय यसप्रकार छः 

 

वादी नेपाल सरकारको पुनरावेदनपत्र

प्रतिवादी राम सुदिष्ट रायले स्वस्तिक आयल इण्डष्ट्रिजको प्रतिजार रू.१७४०/- पर्ने तेल जार ५२२ लाई रू.९५०/- का दरले रू.४,५०,०००/- मा प्रतिवादी राम सेवक साहलाई बिक्री गरी कसुर अपराध गरेकोले चोरीको १ र १२ नं. को कसुरमा निजलाई चोरीको १२ नं. बमोजिम सजाय गरी रू.९,०१,३२०/- ऐ. को १०(३) नं. बमोजिम जाहेरवालालाई दिलाई भराई बरामद ४ थान जार स्वस्तिक तेलसमेत जाहेरवालालाई दिलाई पाउन र प्रतिवादी राम सेवक साहले प्रतिवादी राम सुदिष्ट रायबाट चोरीको मालवस्तु जानी जानी बढी मुनाफा कमाउने उद्देश्यले रू.९,०८,२८०/- पर्ने तेल रू.९५०/- को दरले रू.४,५०,०००/- मा खरिद गरेकोले चोरीको २३ र २४ को कसुरमा ऐ.को २४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीमध्ये राम सुदिष्ट रायलाई १ महिना कैद र रू.४,५०,०००/- जरिवाना हुने र प्रतिवादी रामसेवक साहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई सुरू अदालतबाट फैसला भएको थियो । सोउपर वादी नेपाल सरकारको पुनरावेदन परी उच्च अदालत जनकपुरबाट सुरू सर्लाही जिल्ला अदालतको मिति २०७३/१/८ को फैसलामा प्रतिवादीले लिए खाएको बिगोसम्मको जरिवाना गरी बिगो भराउनेतर्फ नबोलेकोले सो हदसम्म केही उल्टी भई जाहेरवालाको रू.१०,२९,५००/- मूल्य बराबरको तेलमध्ये ट्रकमै बरामद भएको १८८ जारको हुने रू.२,७२,६००/- कटाई बाँकी बिगो रू.७,५६,९००/- बिगो कायम हुने देखिँदा प्रतिवादी राम सुदिष्ट रायलाई सो बराबर जरिवाना हुने र सो बिगो प्रतिवादी रामसुदिष्ट रायबाट जाहेरवालाले भराइपाउने र प्रतिवादी रामसेवक साहले अभियोग दाबीबाट सफाइ पाएको सदर हुने ठहरी भएको फैसला त्रुटिपूर्ण छ । 

प्रस्तुत मुद्दामा स्वस्तिक आयल इन्ड्रस्टिज प्रा.लि. मोरङको ७१० थान तेलको जार श्री मनकामना ढुवानी सेवा इटहरीमार्फत ना. २ ख ७९९६ नं.को ट्रकमा लोड गरी विराटनगरबाट काठमाडौं पठाएकोमा सोमध्ये ५२२ थान तेलको जार सोही ट्रकका चालक प्रतिवादी सुरेश राय भन्ने रामसुदिष्ट रायले चोरी गरी बाटैमा प्रतिवादी रामसेवक साहलाई बिक्री गरेको तथ्यमा विवाद छैन । तर चोरी भएको तेलको बिगो कायम गर्दा सुरू जिल्ला अदालतले प्रतिवादीले बेचेको मूल्यलाई नै बिगो कायम गरेको तथा उच्च अदालतबाट सो आयल इन्डष्ट्रिज प्रा.लि.को स्टक ट्रान्सफर चलानमा उल्लेख भएको मूल्यलाई आधार मानी बिगो कायम गरेको देखिन्छ । तर उक्त चोरी भएको ५२२ थान तेलको जारको बजार मूल्य प्रतिजार रू.१,७४०।-का दरले रू.९,०८,२९०।- हुने भनी जाहेरीमा उल्लेख भएको र सोहीअनुसार जाहेरवालाले अदालतमा बकपत्रसमेत गरेको छ । सो चोरीको तेल खरिद गरी बिक्री गर्ने प्रतिवादी रामसेवक साहले पनि आफ्नो बयानमा उक्त तेलको बजार मूल्य प्रतिजार रू.१,७४०।- पर्दछ भनी उल्लेख गरेबाट समेत चोरीको बिगो अभियोग दाबीअनुसार रू.९,०८,२८०।- रहेको पुष्टि हुँदाहुँदै घटी बिगो कायम गरेको फैसला मिलेको छैन । 

त्यस्तै प्रतिवादी रामसेवक साहले अदालतसमक्षको बयानमा आफूले सहप्रतिवादीबाट २६० थान तेलको जार प्रतिजार रू.१,७३५।- को दरले रू.४,५०,०००।- मा खरिद गरेको भनी उल्लेख गरे पनि मौकाको अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा प्रतिजार रू.९५०।- का दरले ५२२ थान नै खरिद गरेको भनी साबित भएको अवस्था छ । सहप्रतिवादी राम सुदिष्ट रायले समेत अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा प्रतिजार रू.९५०।- का दरले ५२२ थान तेलको जार निज रामसेवकलाई बिक्री गरी रू.४,५०,०००।- तत्काल लिएको र बाँकी रकम पछि लिने सल्लाह भएको भनी उल्लेख गरेको देखिन्छ । जम्मा ७१० थान तेलको जार विराटनगरबाट चलान भएकोमा १८८ थान जार मात्र ट्रकमा फेला परेको छ । बाँकी ५२२ थान जार यी प्रतिवादीबाहेक अन्य कसैले खरिद गरेको भन्ने मिसिलबाट देखिँदैन । यसबाट यी प्रतिवादी रामसेवक साहले प्रतिजार रू.१,७४०।- पर्ने तेल प्रतिजार रू.९५०।- मा खरिद गरेको पुष्टि भएको छ ।

मुलुकी ऐन, चोरीको महलको २३ नं. ले मालको मोलमा १५ प्रतिशतभन्दा बढी नाफा हुने गरी खरिद गरेकोमा चोरीको माल भन्ने जानी जानी खरिद गरेको मानिने भन्ने व्यवस्था गरेको छ । प्रतिवादी रामसेवक साहले प्रतिजार रू.१७४०।- को तेललाई रू.९५०।- का दरले खरिद गर्दा ६५ प्रतिशतभन्दा बढी नाफा हुने प्रस्ट छ । त्यति ठुलो मात्रामा तेल खरिद गर्दा बिल बिजकविना नै खरिद गरेकोबाट पनि सस्तोमा पाएको कारण चोरीको माल भन्ने जानी जानी खरिद गरेको पुष्टि भइरहेकोमा निज रामसेवकलाई सफाइ दिएको फैसला मिलेको छैन ।

त्यसैले प्रतिवादी राम सुदिष्ट रायको हकमा कम बिगो कायम गरी तथा प्रतिवादी रामसेवक साहलाई सफाइ दिने गरी भएको उच्च अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी अभियोग दाबीबमोजिमको बिगो कायम गरी प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यस अदालतको ठहर

नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्कीले यसमा प्रतिवादी राम सुदिष्ट रायले स्वस्तिक आयल इण्डष्ट्रिजको तेल जार ५२२ थान राम सेवक साहलाई बिक्री गरेको तथ्य निर्विवाद रहेको छ । सो तेलको बजार मूल्य प्रतिजार रू.१,७४० पर्ने कुरा निज प्रतिवादी रामसेवक साहले नै आफ्नो बयानमा उल्लेख गरिदिएको पाइन्छ । यसरी बजार मूल्य खुलेको अवस्थामा उक्त तेलको मूल्य सोहीअनुसार कायम गरी बिगो कायम हुनुपर्नेमा तेल चलानमा उल्लेख गरेको मूल्यलाई आधार मानी बिगो कायम गरेको मिलेको छैन । त्यस्तै प्रतिवादी रामसेवक साहले प्रतिवादी राम सुदिष्ट रायबाट उक्त रू.१,७४० प्रतिजार मूल्य पर्ने तेल प्रतिजार रू.९५०।- का दरले मात्र खरिद गरेको छ । यति सस्तो मूल्यमा तेल पाएबाट निज रामसेवक एक व्यापारीसमेत भएकोले तेल चोरीको हो भन्ने सहजै अनुमान गर्ने विषय हो । त्यसैले निजले पनि चोरीको तेल हो भन्ने जानी जानी चोरीको वस्तु खरिद गरेकोले चोरीको २३ र २४ नं. को कसुरमा ऐ. को २४ नं. बमोजिम सजाय हुनुपर्ने हो भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

यसमा प्रतिवादी राम सुदिष्ट रायले स्वस्तिक आयल इण्डष्ट्रिजको प्रतिजार रू. १,७४० पर्ने तेल जार ५२२ लाई रू.९५०/- का दरले रू.४,५०,०००/- मा प्रतिवादी रामसेवक साहलाई बिक्री गरी कसुर अपराध गरेकोले चोरीको १ र १२ नं. को कसुरमा निजलाई चोरीको १२ नं. बमोजिम सजाय गरी रू.९,०१,३२०/- ऐ. को १० (३) नं. बमोजिम जाहेरवालालाई दिलाई भराई बरामद ४ थान जार स्वस्तिक तेलसमेत जाहेरवालालाई दिलाई पाउँ र प्रतिवादी राम सेवक साहले प्रतिवादी राम सुदिष्ट रायबाट चोरीको मालवस्तु जानी जानी बढी मुनाफा कमाउने उद्देश्यले रू.९,०८,२८०/- पर्ने तेल रू.९५०/- को दरले रू.४,५०,०००/- मा खरिद गरेकोले चोरीको २३ र २४ नं. को कसुरमा ऐ. को २४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीमध्ये राम सुदिष्ट रायलाई १ महिना कैद र रू.४,५०,०००/- जरिवाना हुने र प्रतिवादी रामसेवक साहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई सुरू अदालतबाट फैसला भएको पाइयो । सोउपर वादी नेपाल सरकारको पुनरावेदन परी उच्च अदालत जनकपुरबाट सुरू सर्लाही जिल्ला अदालतको मिति २०७३/१/८ को फैसलामा प्रतिवादीले लिए खाएको बिगोसम्म मात्र जरिवाना गरी बिगो भराउनेतर्फ नबोलेकोले सो हदसम्म केही उल्टी भई कम्पनीको स्टक ट्रान्सफर चलानमा उल्लेख भएको मूल्यलाई चोरी भएको तेलको मूल्य कायम गर्दा हुन आउने जाहेरवालाको रू.१०,२९,५००/- मूल्य बराबरको तेलमध्ये ट्रकमै बरामद भएको १८८ जारको हुने रू.२,७२,६००/- कटाई बाँकी बिगो रू.७,५६,९००/- बिगो कायम गरी प्रतिवादी राम सुदिष्ट रायलाई सो बराबर जरिवाना भई सो बिगो प्रतिवादी रामसुदिष्ट रायबाट जाहेरवालाले भराई पाउने र प्रतिवादी रामसेवक साहले अभियोग दाबीबाट सफाइ पाएको सदर हुने ठहरी फैसला भएकोमा सोउपर प्रतिवादीहहरूलाई अभियोग दाबीअनुसारको तेलको बजार मूल्यको आधारमा बिगो कायम गरी सजाय गरी सोहीअनुरूपको बिगो जाहेरवालालाई भराइपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको पाइन्छ ।  

उपर्युक्त सन्दर्भमा प्रस्तुत मुद्दामा उच्च अदालत जनकपुरबाट भएको फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने  विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा सर्वप्रथम उच्च अदालतले कम्पनीको स्टक ट्रान्सफर चलानमा उल्लेख भएको मूल्यलाई आधार मानी जम्मा चोरी भएको तेलको मूल्य रू.७,५६,९००/- कायम गरी सोहीअनुसार जरिवाना र बिगो भराएको नमिलेकोले बजार मूल्य प्रतिजार रू.१७४०/- का दरले ५२२ जारको हुने  रू.९,०८,२८०।- लाई चोरी गरेको बिगो कायम गरिनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा कुनै पनि वस्तुको बजार मूल्य सो वस्तु बजारमा पुगी क्रय विक्रयको क्रममा माग र आपूर्ति तथा बजारको नियमले निर्धारण गरिने 

हुन्छ । बजारमा नपुगेसम्म उत्पादन र ढुवानीको क्रममा नै वस्तुको बजार मूल्य अनुमानसम्म गरिए पनि वास्तविक रूपमा निर्धारण नै गर्न सकिँदैन । वस्तुको विभिन्न चरणमा विभिन्न मूल्य निर्धारण हुन 

सक्दछ । जस्तै उत्पादनको चरणमा उत्पादनको लागत मूल्य हुन्छ । उत्पादन भइसकेपछि वस्तु बजारमा पठाउँदा सो उत्पादन लागत मूल्यमा उत्पादक कम्पनीले पाउनुपर्ने नाफासमेत जोडी क्रेताको लागि खरिद मूल्य कायम गरिन्छ । बजार मूल्य निर्धारणमा खरिद मूल्य, उत्पादन गर्ने कम्पनीबाट बजारसम्म पुग्न जम्मा लागेको लागत खर्च, बजारमा बिक्रीका लागि राख्दा र बिक्री गर्दा लाग्न सक्ने लागत खर्च, उक्त लागत खर्चहरूको पाइने ब्याज तथा सोले आर्जन गर्न सक्ने पुँजी आदिलाई आधार मानी माग र आपूर्तिको बजार नियमसमेतका आधारमा बजार मूल्य निर्धारण हुन्छ । त्यसैले कुनै पनि वस्तु बजारमा नपुगी त्यसको बजार मूल्य अनुमान मात्र गरी सोलाई बिगो कायम गर्नु न्यायोचित हुन सक्दैन । त्यस्तै कुनै वस्तुको मूल्य विभिन्न चरणमा कायम तथा निर्धारण हुन सक्दछ । एउटा चरणमा कायम भएको मूल्य अर्को चरणमा पुगी अर्को चरणको मूल्य कायम नभएसम्मका लागि लागु हुने हुन्छ । केही गरी कुनै वस्तुको मूल्य कुनै चरणमा नखुलेको अवस्थामा सोको चलन चल्तीको बजार मूल्यलाई आधार लिनुलाई स्वाभाविक मान्न सकिएला तर कुनै चरणको मूल्य स्पष्ट खुलेको अवस्थामा सो चरण पार गरी अर्को चरणमा प्रवेश नभएसम्म सो चरणको खुलेको मूल्यलाई नमानी अर्को मूल्य अर्थात् बजार मूल्य यति रहेको वा रहन सक्ने भनी सोलाई आधार मानी बिगो कायम गर्नु उपयुक्त हुँदैन ।

३. प्रस्तुत मुद्दामा स्वस्तिक आयल इण्डष्ट्रिजको ७१० थान तेलको जार लोड गरी विराटनगरबाट प्रस्थान गरेको ट्रकबाट बाटोमा नै ट्रक चालक रामसुदिष्ट रायले ५२२ थान तेलको जार अर्का प्रतिवादी रामसेवक रानालाई रू.४,५०,०००।- मा बिक्री गरेको देखिएको छ । उक्त तेल खरिदकर्ता जाहेरवालाकहाँ पुगी बजारमा बिक्रीका लागि मूल्य कायम भइसकेको अवस्था देखिँदैन । तेल बजारमा नपुगी बाटोबाट नै चोरी गरी बिक्री गरेको अवस्थामा चोरीको बिगो कायम गर्ने प्रयोजनको लागि सो तेललाई कम्पनीबाट खरिद गर्दाको मूल्य अर्थात् कम्पनीले ट्रान्सफर चलानमा उल्लेख भएको मूल्यलाई आधार मान्नुलाई अन्यथा भन्न सकिँदैन । यो तेलको सम्बन्धमा तत्काल प्राप्त मूल्य हो । खरिदकर्ता व्यापारीकहाँ नपुग्दासम्म सोको वास्तविक मूल्यको आधार चलानमा उल्लेख भएको अर्थात् खरिद मूल्य नै कायम गर्नु उचित हुन जान्छ । उच्च अदालत जनकपुरबाट उक्त तेलका सम्बन्धमा खरिदकर्ता कम्पनीले आफ्नो स्टक ट्रान्सफर चलानीमा उल्लेख गरेको ७१० थान जारको जम्मा मूल्य रू.१०,२९,५००/- लाई नै तेलको वास्तविक मूल्य कायम गरी सोअनुसार ट्रकमा नै रहे भएका तेलको जार थान १८८ को हुन आउने मूल्य रू.२,७२,६००/- कटाई बाँकी रू.७,५६,९००/- मूल्य बराबरको तेल चोरी गरेको बिगो कायम गरी सोही बिगो बराबरको जरिवाना र सोही बिगो बराबरको रकम निज रामसुदिष्ट रायले जाहेरवालालाई भराइदिनुपर्ने ठहर गरी गरेको फैसला मिलेको नै देखिन्छ । वादी नेपाल सरकारको बजार मूल्यलाई आधार मानी चोरीको बिगो कायम हुनुपर्ने हो भन्ने जिकिरसँग सहमत हुन 

सकिँदैन ।

४. यसपश्‍चात् अर्का प्रतिवादी रामसेवक साहले चोरीको सामान हो भन्ने जानी जानी ५२२ थान तेलको जार प्रतिवादी रामसुदिष्ट रायबाट खरिद गरेकोले अभियोग दाबीअनुसार सजाय हुनुपर्ने हो सफाइ दिएको मिलेको छैन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादी रामसेवकले अधिकारप्राप्त अधिकारीसमक्ष कम मूल्यमा तेलको जार खरिद गरेको भन्ने बेहोराको बयान गरे पनि अदालतमा भने तोकिएको मूल्यमा नै तेलको जार खरिद गरेको भनी बयान गरेका 

छन् । विराटनगरबाट तेल लोड गरी ल्याएको ट्रकबाट ड्राइभरले तेल किन्नु हुन्छ भन्दा आफूसँग भएको नगद बराबरको तेल खरिद गर्नुलाई अस्वाभाविक भन्न मिल्दैन । निजले जङ्गलमा पुगी तेल खरिद गरेको भन्ने तथ्य अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीको बयानबाहेक अन्य स्वतन्त्र प्रमाण अभियोजन पक्षले गुजार्न सकेको पनि मिसिलबाट देखिँदैन । एउटा तेल बोकेको ट्रकको ड्राइभरले तेल किन्नुहुन्छ कि भन्दा तेल चोरीको हो भन्ने मनोगत अनुमान गरी तेल चाहिएको भएर पनि नकिन्नुपर्ने भनी भन्न 

सकिँदैन । यसरी किनेको कुरालाई अन्य सबुद प्रमाणको अभावमा चोरीको भन्ने जानी जानी किनेको भन्ने अर्थ गर्नु न्यायोचित देखिँदैन । निजले तेल किनेको बिल नलिएको भन्ने जिकिरतर्फ हेर्दा बिल नलिनुलाई मात्र कसुरदार ठहर्‍याउने आधारका रूपमा लिन 

सकिँदैन । त्यसैले यी प्रतिवादी राम सेवकलाई सफाइ दिने गरी भएको फैसला सदर गर्ने गरी भएको उच्च अदालत दिपायलको फैसला मिलेको नै देखिन आयो । 

५. अतः माथि विवेचित आधार र कारणबाट प्रतिवादी रामसुदिष्ट रायले लिए खाएको बिगोसम्मको जरिवाना गरी बिगो भराउनेतर्फ नबोलेको र प्रतिवादी रामसेवक साहलाई सफाइ दिने गरी सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०७३/१/८ मा भएको फैसला रामसुदिष्ट रायले लिए खाएको बिगोसम्मको जरिवाना गरी बिगो भराउनेतर्फ नबोलेको हदसम्म नमिलेकोले केही उल्टी गरी जाहेरवालाको रू.१०,२९,५००/- मूल्य बराबरको तेलमध्ये ट्रकमै बरामद भएको १८८ जारको हुने रू.२,७२,६००/- कटाई बाँकी रू.७,५६,९००/- बिगो कायम गरी सो बिगो बराबर प्रतिवादी रामसुदिष्ट रायलाई जरिवाना गरी सोही रकम बराबरको बिगो प्रतिवादी रामसुदिष्ट रायबाट जाहेरवालाले भराइपाउने ठहर्‍याई र अर्का प्रतिवादी रामसेवक साहले सफाइ पाउने ठहर्‍याएको हदसम्ममा सदर गर्ने गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०७४।९।२६ मा भएको फैसला मिलेको नै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत : यदुराज शर्मा

इति सवंत् २०७८ साल असार ६ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु